`

करण राई र मलिका महतको ‘काँडा भएनि’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ । थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिकाको जोडी जमेको छ । प्रेमि–प्रेमीकाको एक मिलनको सम्योगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ । सार्वजनिक गीतको बारेमा बोल्दै मलिकाले गीत मनपरेकै कारण काम गरेको बताइन् ।

करणको काम प्रतीको लगनशिलताको तारिफ गर्दै मलिकाले भनिन्, ‘उहाले हाम्रो यो सहकार्य राम्रो बनाउनको लागी छोटो समयमा धेरै राम्रो डान्स सिक्नु भएको छ ।’ त्यस्तै करणलेपनि सार्वजनिक गीतको बारेमा बोल्दै डान्सिङ गीतमा आफ्नो प्रस्तुती बेस्ट दिने प्रयास गरेको बताए । मलिकाको तारिफ गर्दै करणले भने ‘मलिका जी संग काम गर्दा धेरै कुराहरु सिक्न समेत पाए ।’

बिक्रमकै निर्देशनसंगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।
गायक करण अहिले नेपालमा रहेर धेरै गीतहरु सार्वजनिक गरिरहेका छन् । केहि समय अगाडी राई इज किङ राजेशपायल राईसंगपनि गीत ल्याएका थिए । त्यस भन्दा अगाडी करणले अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायतसंग सहकार्य गरिसकेका छन् ।

हरर कमेडी ‘फिरफिरे फिरिरी’ कार्तिक २२ छठ पर्वमा

काठमाडौँ। हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी चलचित्र निर्माणमा फर्किएका हुन्।

अब निरन्तर चलचित्र निर्माणमा लाग्ने उनको योजना रहेको छ। सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

नबिन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रहरुलाई देखाईएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरुले तानातान गर्दै गरेको देखाईएको छ। चलचित्रको फर्स्टलुक संगै प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ। चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।

‘फिरफिरे फिरिरी’ चलचित्रको नाम पहेलो रंगले हाईलाइट गरिेको छ जस्मा स्लोगन आज साईकल.. भोली फरारी लेखिएको छ। यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी

काठमाडौँ, ७ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी, कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजनाको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकाले यसको आधुनिकीकरण जरूरी रहेको बताउनुभयो ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) मा लगभग २४ दलशमलव पाँच प्रतिशत योगदान कृषि क्षेत्रले पु¥याएको चर्चा गर्नुहुँदै मन्त्री अधिकारीले भन्नुभयो, “कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्री (बीउ, मल, सिँचाइ, यन्त्र) मा सीमित पहुँच र अव्यवस्थित बजारले बाधा पुर्‍याइरहेको छ ।”

किसान र उद्यमीले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको गुनासा आइरहेकाले त्यसलाई सहज, सरल र छिटोछरितो बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो । मन्त्री अधिकारीले जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेकाले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । “यस्तो अवस्थामा कृषि क्षेत्रलाई व्यावसायिकीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारको समन्वयात्मक प्रयास आवश्यक छ । विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नवप्रवद्र्धनशील विचार, अनुभव र स्रोतका लागि सरकार हातेमालो गरेर अघि बढ्न तयार छ”, उहाँले भन्नुभयो ।

सरकारले कृषिमा लगानी दशक घोषणा गरेर काम गरिरहेकाल लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्न आवश्यक कानुन संशोधनको तयारी भइरहेको पनि मन्त्री अधिकारीले जानकारी दिनुभयो । उहाँले ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने र निजी क्षेत्रको लगानी बढाउने नीति बनाउन मद्दत पुग्ने विश्वस व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसन, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) नेपालका मिसन निर्देशक मिस क्याटी डोनोहोलगायतको सहभागिता थियो ।

गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने

वीरगञ्ज (पर्सा),७ असोज : अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।

वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बढ्दो गर्मीका कारणबाट विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकू प्रभावलाई मध्यनजर गर्दै यही असोज ८ र ९ गते पठनपाठन कार्य स्थगित गर्न लागिएको जानकारी दिनुभयो ।

“अत्यधिक गर्मीको कारणले पठनपाठन गराउँदा धेरै ठाउँबाट गुनासो आएकाले पनि दुई दिनको लागि स्थगित गर्न लागेका हौँ,” उहाँले भन्नुभयो, “पठनपाठन बन्द भए पनि विद्यालयको प्रशासनिक कार्य भने सञ्चालन हुनेछ ।” महानगरले सम्बन्धित विद्यालयलाई आवश्यक गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण मिलाउन पनि अनुरोध गरेको छ ।

महानगरले यसअघि पनि गर्मी बढेको भन्दै गत जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य स्थगित गरेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय रहेका छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ ।

समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे

काठमाडौँ, ७ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रुपमा देखाउन सकिने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रुपमा स्थापित भएको बताउनुभयो ।

“साहित्यले अप्ठ्याराकाबीच आशाका सञ्चार गर्छ, समाजमा पुनःजागरण र जागृतिको आवश्यकता रहेकाले यसमा साहित्यकारले योगदान गर्न सक्छन्, बिपी कोइरालाले आत्मवृत्तान्तमा धेरै व्यावहारिक मान्छे भावुक जति पवित्र हुँदैन भन्नुभएको छ, साहित्यकारले भावुकतासँगै पवित्रताको प्रतिनिधित्व गर्छन्”, मन्त्री पाण्डेले भन्नुभयो ।

प्रतिष्ठानको कविता महोत्सवले समावेशी नेपालको प्रतिनिधित्व गर्ने गरेकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । भाषा, संस्कृति, वेशभूषाका दृष्टिले नेपाल विविधतापूर्ण रहेकाले ती सबैको प्रतिनिधित्व गर्दै प्रतिष्ठानले काम गर्नुपर्ने संरक्षकसमेत रहनुभएका मन्त्री पाण्डेको भनाइ थियो । साहित्यकार निष्ठा र सदाचारको बाटोमा लागेर समाजलाई पनि त्यतै अघि बढाउनुपर्ने उहाँको विचार थियो ।

प्रतिष्ठानका कुलपति भूपाल राईले लोकतान्त्रिक शासन व्यवस्थामा समावेशी र सहभागिताको आवश्यकता पर्ने भएकाले त्यसै आधारमा काम गर्ने गरिएको बताउनुभयो । भाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले काम गरिरहेको उहाँले सो अवसरमा जानकारी गराउनुभयो ।

कार्यक्रममा कविता महोत्सव, २०८१ उत्कृष्ट स्थान हासिल गर्ने अग्र आवाज, अनिता न्यौपाने, अन्जान प्रदीप, छविलाल कोपिला, दिलीप बुढामगर, रुमानी कुलुङ, रुपक ‘जमरा’ घलान, रेजिना खालिङ, शर्मिला दुलाल, सुमन सहयात्री योङहाङलाई पुरस्कार प्रदान गरिएको थियो । कविता महोत्सवमा उत्कृष्ट हुनेलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी र प्राज्ञ परिषद् सदस्य एवं कविता महोत्सव, २०८१ का संयोजक बाबा बस्नेतले भाषा, साहित्य एवं संस्कृति क्षेत्रको उन्नयनमा प्रतिष्ठानले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना

वासिङ्टनले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ ।

ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै आइतबार संयुक्त राज्य अमेरिकाले चीनमा निर्मित हार्डवेयर र सफ्टवेयरलाई आफ्ना सवारी साधनमा प्रतिबन्ध लगाउने नयाँ नियममा विचार गरिरहेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो, “चीनले अमेरिकालाई बजार सिद्धान्तको सम्मान गर्न र चिनियाँ उद्यमका लागि खुला, निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्न आग्रह गरेको छ ।

लिनले भन्नुभयो, “अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई व्यापक बनाई चिनियाँ कम्पनी तथा उत्पादनविरुद्ध गरिएको विभेदकारी कदम लिएपछि यसकोको चीनले विरोध गरेको छ ।”

उहाँले भन्नुभयो, “चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ ।” यदि यो नियमको पुष्टि भयो भने, अमेरिका र चीनबीच बढ्दो व्यापार विवादको पछिल्लो वृद्धिको प्रतीक हुनेछ।

गत मे महिनामा वासिङ्टनले विद्युतीय सवारी साधन र सेमीकन्डक्टरजस्ता चिनियाँ आयातमा चर्को कर वृद्धि गरेको थियो ।ह्वाइट हाउसका अनुसार विद्युतीय सवारी साधन, ब्याट्री, महत्वपूर्ण खनिज पदार्थ र चिकित्सा उत्पादनजस्ता रणनीतिक क्षेत्रलाई लक्षित गरी १८ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमा कर वृद्धि भएको छ ।

विद्युतीय सवारी साधनमा यस वर्ष चार गुणाले बढेर १०० प्रतिशत र सेमीकन्डक्टरको शुल्क आगामी वर्ष २५ प्रतिशतबाट बढेर ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा यसै महिना यी योजनालाई अन्तिम रूप दिइएको थियो, जहाँ डेमोक्र्याट र रिपब्लिकन दुवैले चीनविरुद्ध कडा अडान देखाउन खोजिरहेका छन्।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा चीनबाट आयात हुने करिब ३०० अर्ब अमेरिकी डलरबराबरको सामानमा लगाइएको करको पुनरावलोकनपछि १८ अर्ब अमेरिकी डलर बराबरका सामानमा कर वृद्धि गरिएको हो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सोलार ब्याट्रीलगायत अन्य कर वृद्धिका साथै सेमीकन्डक्टरमा ५० प्रतिशत कर वृद्धि सन् २०२५ देखि सुरु हुने पुष्टि गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले बेइजिङले व्यापारमा प्रतिस्पर्धा गर्नुको साटो ‘ठगी’ गरेको आरोप लगाउनुभएको छ ।

बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो

सोमबार जारी गरिएको अस्थायी तथ्याङ्कअनुसार सन् २०२४ को सुरुदेखि हालसम्म साना डुङ्गाहरूमार्फत च्यानल पार गरेर बेलायत पुग्ने आप्रवासीहरूको सङ्ख्याले २५ हजार नाघेको छ ।

अघिल्लो कन्जरभेटिभ प्रशासनको जस्तै नयाँ लेबर सरकारले च्यानल पार गरेर आउनेहरूको सङ्ख्या घटाउन सङ्घर्ष गरिरहेको बेला यी तथ्याङक आएका हुन् ।

गृह मन्त्रालयका अनुसार आइतबार सात सय १७ आप्रवासीले उत्तरी फ्रान्सबाट च्यानल पार गरेका छन् । यसले सन् २०२४ को हालसम्मको कूल आगमन सङ्ख्यालाई २५ हजार ५२ पुर्याएको छ । शनिबार पनि सात सय सात जनाले च्यानल पार गरेका थिए ।

यो कूल सङ्ख्या गत वर्षको समान अवधिको तुलनामा चार प्रतिशतले बढी हो तर सन् २०२२ को सोही अवधिको तुलनामा २१ प्रतिशतले कम हो ।इङ्ग्ल्यान्डको दक्षिणी तटमा साना डुङ्गाहरूको आगमन रोक्ने विषय जुलाईमा भएको बेलायतको निर्वाचनमा एउटा प्रमुख मुद्दा बनेको थियो ।

सत्ता सम्हालेको केही दिनभित्रै लेबर प्रधानमन्त्री केइर स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा निर्वासन गर्ने कन्जरभेटिभहरूको विवादास्पद योजनालाई खारेज गर्नुभयो । यसको सट्टा उहाँले जोखिमपूर्ण यात्रा आयोजना गर्ने र प्रत्येक आप्रवासीबाट हजारौँ युरो लिने मानव तस्करका ‘गिरोहहरूलाई नष्ट गर्ने’ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस वर्षको अहिलेसम्म ४६ जना आप्रवासीले अत्यधिक भरिएका रबरका डुङ्गाहरूमा बेलायतको किनारमा पुग्ने प्रयासमा ज्यान गुमाएका छन् । सरकारले आगामी छ महिनामा असफल शरणार्थी आवेदकहरूको निर्वासन दर पाँच वर्षकै उच्च बनाउन लक्ष्य राखेको गृहमन्त्री इभेट कुपरले गत महिना घोषणा गर्नुभएको थियो ।

जापानद्वारा रुसी गस्ती विमानद्वारा हवाई क्षेत्र ‘उल्लङ्घन’ को विरोध

एउटा रुसी गस्ती विमानले तीन पटक जापानको हवाई क्षेत्रमा प्रवेश गरेपछि जापानले मस्कोसँग ‘अत्यन्त गम्भीर विरोध’ दर्ता गरेको रक्षामन्त्रीले सोमबार बताउनुभएको छ । उहाँले यसलाई सन् २०१९ यताको पहिलो पुष्टि गरिएको अतिक्रमण भन्नुभयो ।

सेनाले लडाकू विमानहरू उडाएर र रेडियो तथा फ्लेयर चेतावनीहरू जारी गरेर प्रतित्रिया दिएको रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूलाई बताउनुभयो ।

“एउटा रुसी आइएल–३८ गस्ती विमानले होक्काइडोको रेबुन द्वीपको उत्तरमा हाम्रो क्षेत्रीय पानीमाथिको हाम्रो हवाई क्षेत्रलाई तीन पटक उल्लङ्घन गरेको हामीले आज पुष्टि गर्यौँ”, उहाँले भन्नुभयो, “हवाई क्षेत्रको उल्लङ्घन अत्यन्त दुःखद् छ, आज हामीले कूटनीतिक च्यानलमार्फत रुसी सरकारसँग अत्यन्त गम्भीर विरोध दर्ता गर्यौँ र पुनरावृत्तिलाई रोक्न दृढतापूर्वक आग्रह गर्यौँ ।”

जापानले युक्रेनमा पश्चिमी दृष्टिकोणलाई समर्थन गरेको छ, किएभलाई वित्तीय र भौतिक सहयोग प्रदान गरेको छ र युक्रेनमाथि मस्कोले आक्रमण गरेपछि रुसी व्यक्ति र सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएको छ ।

रक्षामन्त्री किहाराले सन् २०१९ जुनमा टियु–९५ बमवर्षकले दक्षिणी ओकिनावा र टोक्योको दक्षिणमा रहेको इजु द्वीप समूह वरपर जापानी हवाई क्षेत्रमा प्रवेश गरेयता कुनै पनि रुसी विमानद्वारा सार्वजनिक रूपमा घोषित पहिलो हवाई क्षेत्र अतिक्रमण भएको बताउनुभयो ।

रक्षा मन्त्रालयका अनुसार सन् २०२३ मा रुसी भनेर विश्वास गरिएको तर पुष्टि नभएको एउटा विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेको थियो । सरकारका वरिष्ठ प्रवक्ता योशिमासा हयाशीले पनि सोमबार भन्नुभयो, “हामी यस कार्यको उद्देश्य र प्रयोजनबारे कुनै निश्चित जानकारी दिनबाट बच्नेछौँ तर युक्रेन आक्रमणपछि रुसी सेना हाम्रो मुलुक वरपर सक्रिय रहेको छ ।”

रुसी विमानहरूले सन् २०१९ पछि पहिलो पटक मुलुक वरपर उडान भरेपछि प्रतिक्रिया दिएजस्तै जापानले यस महिना पनि लडाकू विमानहरू उडाएको थियो । टोक्योका अनुसार टियु–१४२ विमानहरूले जापानी हवाई क्षेत्र प्रवेश गरेनन् तर जापान र रुसबीच क्षेत्रीय विवाद रहेको क्षेत्रमाथि उडान भरे ।

रुसी र चिनियाँ युद्धपोतहरूले हालै जापान सागरमा संयुक्त अभ्यास गरेका थिए । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दशकयताकै सबैभन्दा ठूलो नौसैनिक अभ्यास भन्नुभएको थियो ।जापानले अगस्टमा चिनियाँ सैन्य विमानद्वारा आफ्नो हवाई क्षेत्रमा पहिलो पुष्टि गरिएको अतिक्रमणपछि लडाकू विमानहरू उडाएको थियो । उक्त अतिक्रमणलाई टोक्योले आफ्नो सार्वभौमसत्ताको ‘गम्भीर उल्लङ्घन’ भनेको थियो ।

त्यसपछि गत साता एउटा चिनियाँ विमानवाहक पोत पहिलोपटक ताइवान नजिकका दुई जापानी टापूबीच पार भयो । उक्त घटनालाई जापानले ‘जापान र क्षेत्रको सुरक्षा वातावरणको दृष्टिकोणबाट पूर्णतया अस्वीकार्य’ भनेको थियो ।चीनले भने उक्त मार्ग अन्तर्राष्ट्रिय कानूनअनुरूप भएको बताएको छ ।

तनहुँका गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

दमौली (तनहुँ), ७ असोजः तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ ।

गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गर्नुभएको हो । भदौ १४ गते काठमाडौँबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुग्नुभएका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गर्नुभएको हो । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले राससलाई जानकारी दिनुभयो ।

“सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौँ,” उहाँले खुसी साट्दै भन्नुभयो, “हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पु¥यायो ।” विश्वको आठौँ अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ ।

गुरुङले सगरमाथाको दुईपटक सफल आरोहण गर्नुभएको छ । विसं २०८० जेठ ११ र विसं २०८१ जेठ ७ गते उहाँले सगरमाथा आरोहण गरिसक्नुभएको छ ।

सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लाग्नुभएको हो । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसक्नुभएको छ ।

पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।”

गुरुङले गत वर्षको पुस महिनामा छ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गर्नुभएको थियो । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण गरिएको थिएन ।

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई

म्याग्दी, ७ असोजः ५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लव टुकुचेले जितेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् ।

पुरुषतर्फ अन्नपूर्ण युवा क्लव ताक्लुङलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै लेतेले उपाधि चुमेको आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

महिलातर्फ राष्ट्रिय टिमकी प्रतिभा माली, सलिना श्रेष्ठलगायतका खेलाडीलाई मैदानमा उतारेको निलगिरिले मार्फाको मिलीजुली युवा क्लवलाई सोझो तीन सेटमा पराजित गरेको थियो । लिग सिस्टम र वेष्ट अफ फाइचमा खेलाइएको प्रतियोगिताको पुरुषतर्फ छ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए ।

आर्चरी प्रतियोगितामा धौलागिरी युवा क्लब कोवाङ प्रथम र निर्मल स्पोटिङ लेते दोस्रो भएका छन् । पुरुष भलिबलमा बिजेता र उपबिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिएसको छ ।

महिला भलिबलको बिजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आर्चरीमा बिजेतालाई रु ५० हजार र उपबिजेतालाई रु २५ हजार प्रदान गरिएको छ ।

पचास वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्त्व छ । सो अवसरमा कृषि मेला प्रर्दशनीका साथै लोक नृत्य र थकाली गीत प्रतियोगिता पनि भएको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो ।

प्रधानसेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच भेटवार्ता

काठमाडौँ, ७ असोज : प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित

मकवानपुर, ७ असोजः बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको हो ।

सो बैठकमा क्रमशः प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि पेश गर्नुभएको थियो ।

प्रदेशसभाको आइतबार र आजको बैठकको छलफलमा उठेका प्रश्नको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जवाफ दिनुभएको थियो । उहाँले प्रदेश सरकारले प्रदेशसभाका सदस्यको भावना र चाहनालाई मध्यनजर गरी प्रदेशको सबै जिल्लामा समानुपातिक योजना र बजेट वितरण हुने, त्यसको अनुगमन गर्न सरकारले संयन्त्र तयार गर्न लागेको बताउनुभयो ।

उहाँले मौजुदा सरकारले अहिले न्यूनतम ६७ बुँदे साझा कार्यक्रम ल्याइएको र त्यसमा प्रदेशको सबै जिल्लाको भौगोलिक अवस्थाअनुसार राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार निर्माण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने रचनात्मक कार्यक्रम भएको उल्लेख गर्नुभयो । त्यसमा सबै प्रतिपक्ष दललाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

हेटौँडा–नारागणगढ सडकखण्ड, त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–काठमाडौँ तथा काठमाडौँबाट सिन्धुली, नुवाकोट, काभ्रे र रसुवा जोड्ने सडकलाई तत्काल मर्मत सम्भार र ढल निर्माण गरी दशैँमा सबै यात्रुलाई यात्रा सहज बनाउन सम्बन्धित निकायलाई परिचालन गरिसकिएको जानकारी दिनुभयो ।

प्रदेशमा सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले छिट्टै कार्यदल गठन गरी कार्यविधि तयार गरी लागू गर्ने र आ–आफ्नो दलगत स्वार्थ नहेरी दोषी पाइएमा कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो । मुख्यमन्त्री लामाले सर्वसाधारणलाई प्रदेशको विभिन्न अस्पतालमा गुणात्मक उपचार सेवा पु-याउन आवश्यक चिकित्सक स्वास्थ्यकर्मी दरबन्दी र उपकरण उपलब्ध गराउने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभयो ।

भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गर्नुभएको हो ।

“राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा उहाँले व्यक्त गर्नुभयो । “यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङमयप्रेमीले स्रस्टाको सम्मानमा कन्जुस्याँइ गर्न हुँदैन,” उहाँले भन्नुभयो ।

भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको उहाँले बताउनुभयो । “यिनको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित मुलुकको वाङ्मयकै विकासका लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उहाँको भनाइ थियो । राष्ट्रकविको जन्मजिल्ला लमजुङमा उहाँको प्रतिमा बनाएर राष्ट्रकविको विहङ्गम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भइरहेको प्रयासले छिट्टै सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

पर्व नजिकिएसँगै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप

फुङ्लिङ (ताप्लेजुङ), ७ असोजः ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम रु १८ लाख २६ हजार पाँच सय ५५ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा रु छ लाख ९१ हजार र भदौमा रु ११ लाख ३५ हजार पाँच सय ५५ भेटी सङ्कलन भएको हो ।

समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको छ । दशैँ र तिहारपर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गर्छ ।

पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । समुद्री सतहदेखि करिब तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित छ । यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने भएकाले नेपालका विभिन्न स्थानबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गर्छन् । पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ । यस मन्दिरमा आउने भक्तजनले देवीलाई बलि दिनेसमेत प्रचलन छ ।

दशैँ र तिहार पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप बढ्न थालेको छ । दशैँमा विशेषगरी दुर्गा पूजा गर्ने र देवीको आशीर्वाद प्राप्त गर्ने विश्वास राखिन्छ । पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्य पनि यसको अर्को विशेषता हो । मन्दिर क्षेत्रबाट देखिने हिमशृङ्खला, वरपरका जङ्गल र हरियालीले धार्मिक यात्राका साथसाथै पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ ।

समितिका अनुसार यस वर्षको दशैँ र तिहारको समयमा अझ बढी भक्तजन आउने अपेक्षा गरिएको छ, यसका लागि आवश्यक तयारीसमेत भइरहेका छन् । तीर्थयात्रीहरूको सुविधाका लागि मन्दिर क्षेत्रमा खानेपानी, आवास र अन्य सेवा–सुविधाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या

वीरगञ्ज (पर्सा), ७ असोजः जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनूमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून रहेको बताउनुभयो । पर्सामा आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका मध्ये ३१ जनाले मात्रै औषधिमार्फत सुरक्षित गर्भपतन गराएका छन् । त्यसैगरी सोही उमेर समूहका १२ हप्तासम्मको गर्भ रहेका ९१ जनाले ‘सर्जिकल’मार्फत गर्भपतन गराएका छन् । आव २०८०/८१ मा २० वर्षमाथिका र १२ हप्तामाथिकोे मेडिकल औषधिमार्फत पाँच सय ३१ जनाले गर्भपतन सेवा लिएका छन् भने नौ सय ७३ जनाले सर्जिकलमार्फत सुरक्षित गर्भपतन गराएका छन् ।

नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा मञ्जु रोयले पर्सामा सुरक्षित गर्भपतनसँग सम्बन्धित जानकारी नपाएर सेवाग्राही निकै न्यून मात्रामा मात्रै अस्पतालमा गर्भपतन सेवा लिन आउने बताउनुभयो । “बाहिर असुरक्षित ढङ्गले गर्भपतनको औषधि सेवन गरेपछि गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि मात्रै अस्पताल आउने परिपाटी विकास हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “निश्चिित अवधिसम्मको गर्भपतन गर्नु जोखिमयुक्त कार्य होइन । तर सूचीकृत र अनुमति नपाएका संस्थामा गएर गर्भपतन गर्दा भने स्वास्थ्य नै ठूलो जोखिममा पर्ने गर्छ ।”

प्रसूति रोग विशेषज्ञ डा रोयले पर्सा जिल्लामा भ्रुणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गलत परम्पराको विकास भइरहेको गुनासो गर्नुभयो । “कानुनतः गर्भमा भएका भ्रुणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन”, उहाँले भन्नुभयो, “अनुमतिप्राप्त नभएका दक्ष जनशक्तिले यस्तो खालको गलत अभ्यास गरिरहेका छन् । यो निकै ठूलो निन्दनीय कार्य हो ।” सामान्यतया गर्भमा रहेको १४ हप्तापछि गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्न सकिने गर्छ । दश हप्तासम्मको गर्भपतन अनुमतिप्राप्त स्वास्थ्य संस्थाबाट औषधिको माध्यमबाट गर्न सकिन्छ भने १२ हप्तासम्मको गर्भपतन दक्ष स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत गर्नुपर्ने हुन्छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सीमावर्ती जिल्ला भएकाले पनि गर्भपतनका औषधि खुलमखुला बिक्री वितरण हुँदा नियन्त्रण गर्न अप्ठेरो भएको बताउनुभयो । “महानगरले गर्भपतनसँग सम्बन्धित जनचेतनाको कार्यक्रम पर्याप्त रूपमा गर्न नसकेको स्वीकार्दै सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भइसकेको छ”, उहाँले भन्नुभयो, “गर्भपतन सम्बन्धित जनचेतना एक निकायले अर्काेलाई दोषारोपण गरेर नभई एकापसमा हातेमालो गरेर अघि बढ्न जरुरी छ ।”

वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताउनुहुुन्छ । “सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउनुहुन्छ”, उहाँले भन्नुभयो, “कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो ।”

वीरगञ्ज महानगरभित्र सुरक्षित गर्भपतन गराउने निकायमा नारायणी अस्पताल, सुनौलो परिवार नेपाल, मेरिस्टोप्स, ओम हस्पिटल र बगही प्रथामिक स्वास्थ्य केन्द्र रहेको छ । वीरगञ्ज महानगरमा आव २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका २३ जनाले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए । सोही अवधिमा २० वर्षमुनिका १२ हप्तासम्मका गर्भ रहेका ९१ जनाले सर्जिकलमार्फत गर्भपतन सेवा लिएका थिए ।

आव २०८०/८१ मा वीरगञ्ज महानगरमा २० वर्षभन्दा माथिका उमेर समूहका दुई सय ४५ जनाले १२ हप्तामाथिका गर्भवतीले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा छन् । त्यस्तै २० वर्षभन्दा माथिका नौ सय ७३ जनाले १२ हप्ताभन्दा धेरै समयको गर्भ सर्जिकलमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुरले गर्भपतनलाई अस्थायी परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “ सुरक्षित गर्भपतन सेवा अस्थायी परिवार नियोजनको माध्यम होइन । ”

सेवा छ, जानकारी छैन

विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिइएको थियो भने २०७३ देखि सबै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गरिएको थियो । सरकारले आधारभूत स्वास्थ्य सेवाका रूपमा सुरक्षित गर्भपतन सेवालाई लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ४३ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने गरेका छन् । अर्थात् असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ५७ प्रतिशत  छ ।  असुरक्षित गर्भपतनले महिलाको समग्र स्वास्थ्यमा गम्भीर असर पुग्ने बताइएको छ । 

अर्काेतर्फ सुरक्षित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने सेवाग्राहीलाई जानकारी नै छैन । सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक डा केपी उपाध्याय सेवाग्राहीलाई सुरक्षित गर्भपतन सेवा निःशुल्क छ भन्ने जानकारी नहुँदा असुरक्षित गर्भपतनको सङ्ख्या वृद्धि भएको हुनसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ अझै अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम रोकिएको छैन । अनधिकृत औषधिले महिलाको ज्यान नै खतरामा पर्छ, यसतर्फ सरकार थप गम्भीर बन्नुपर्छ । ” 

सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ अनुसार गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा गर्भवतीको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलार्ई गर्भवतीको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ ।

यसैगरी, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले अशक्तता हुने अवस्था रहे उपचारमा संलग्न स्वास्थ्यकर्मीको रायबमोजिम गर्भवतीले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । गर्भवतीको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाइफकाइ, झुक्याइ वा प्रलोभन देखाई, लिङ्ग पहिचान गरी लिङ्गका आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था ऐनमा छ ।  यसैबीच ‘सुरक्षित गर्भपतनका लागी : अधिकार, पहुँच र ऐक्यवद्धता’ भन्ने नाराका साथ यही असोज १० मा दशौँ सुरक्षित गर्भपतन सेवा जनचेतना मूलक कार्यक्रम आयोजना गरि मनाइँदैछ  । 

दर्शकको रोजाईमा पर्दै कमेडी दरबार

काठमाडौँ ।हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ पछिल्लो समय दर्शकसँगै फिल्म प्रमोशनको माध्यम बनिरहेको छ । गएको भदौ १४ गते प्रसारण सुरु भएको कमेडी दरबारको चार एपिसोड प्रसारण भइसकेको छ । चारवटै एपिसोडलाई दर्शकले रुचाएका छन् । पहिलो एपिसोडलाई अहिलेसम्म युट्युवमा मात्रै १२ लाख भन्दा बढी पटक हेरिएको छ । जसमा अतिथि कलाकारको रुपमा अभिनेता दयाहाङ राई र अभिनेत्री रेखा थापा उपस्थित थिए । पहिलो एपिसोड नै नेपालको युट्युवको ट्रेन्डिङमा पुगेको थियो ।

यस्तै दोस्रो एपिसोडमा नेपाली खेलाडीहरु किरण चेम्जोङ, ललित राजवंशी र सरस्वती चौधरी उपस्थित थिए । जुन एपिसोडलाई पनि युट्युवमा अहिलेसम्म झण्डै ९ लाख पटक हेरिएको छ । यस्तै तेस्रो एपिसोडमा चलचित्रमा खुस्माका अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी उपस्थित थिए । यो एपिसोडलाई पनि ८ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै गएको शुक्रबार प्रसारणमा आएको चौथो एपिसोडमा चलचित्र बेहुली फ्रम मेघौलीको तर्फबाट निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का उपस्थित थिए । यस एसिसोडलाई पनि दुईदिनमै ५ लाख भन्दा बढी पटक हेरिएको छ । यसरी अहिलेसम्म प्रसारण भएका एपिसोडहरु हेर्दा दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । तीनवटा एपिसोड लगातार केहिदिनसम्म युट्युवको ट्रेन्डिङमा रहेका थिए ।

कमेडी दरबारमा अभिनेत्री गौरी मल्ललाई महारानी र अभिनेता बिजय बराललाई महाराजको रुपमा प्रस्तुत गरिएको छ । यस्तै सिडी बिजय अधिकारी, नम्रता सापकोटा, पबित्रा साकी, सुजता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, उत्सव सापकोटा, हिमेश पन्त र बिकाश अर्याल कमेडीयनको रुपमा आबद्ध छन् । उनीहरुले जोडीको रुपमा प्रस्तुती दिँदै आएका छन् । बिशेषगरी उपस्थित पाहुनाहरुलाई लक्षित गर्दै गरिएको ब्यंग्यलाई दर्शकले निकै रुचाएको देखिन्छ । शोलाई पुर्व मिस नेपाल नम्रता श्रेष्ठले होस्ट गरिरहेकी छिन् । शोलाई बिक्की अगरवाल र श्रृद्धा प्रसाईले निर्देशन गरिरहेका छन् । शोको राईटरको रुपमा विकाश अर्याल, सुन्दर खनाल र बिक्की अगरवाल रहेका छन् । यस्तै प्रोडक्सनमा आयुष लुईटेल छन् । शोको मिडिया संयाजन र गेष्ट म्यानेजमेन्ट गोपिकृष्ण चापागाईंले गरिरहेका छन् ।

‘फिल्म प्रमोशनको पहिलो रोजाई बन्दै’
कमेडी दरबार पछिल्लो समय फिल्म प्रमोसनका लागी बलियो माध्यम बन्न थालेको छ । दर्शकको राम्रो उपस्थिती हुने भएकाले चलचित्रका मेकरको रोजाईमा कमेडी दरबार पर्न थालेको छ । पुरा एपिसोड चलचित्र मय बनाइने भएकाले पनि चलचित्रका निर्माता तथा निर्देशकको रोजाईमा यो शो पर्न थालेको हो । पछिल्लो चार एपिसोडमा दुई वटा एपिसोडमा उपस्थित कलाकार चलचित्रको प्रमोशनकै लागी उपस्थित थिए । खुस्मा चलचित्रका कलाकारद्धय धिरज मगर र उपासना सिंह ठकुरी, त्यस्तै बेहुली फ्रम मेघौली चलचित्रका कलाकारहरु निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का चलचित्रकै प्रमोशनका लागी उपस्थित थिए । यस्तै यहि असोज ९ (बुधबार) पनि शोको छायांकन राखिएको निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् । अगरवालका अनुसार बुधबार दुईवटा एपिसोडको छायांकन हुनेछ र दशैंको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेका चलचित्रका कलाकारहरु उपस्थित हुनेछन् ।

यस्तै निर्देशक श्रृद्धा प्रसाईले आफूहरुले नेपाली चलचित्रलाई प्रचार गर्नुपर्छ भन्ने मनसायले नै पुरा एपिसोड भरी चलचित्र बिशेष हास्य ब्यंग्य प्रस्तुती राख्ने गरेको बताइन् । बुझिए अनुसार आउँदो तिहारमा प्रदर्शन हुने तयारीमा रहेका चलचित्रका कलाकारहरु पनि कमेडी दरबारमा उपस्थित हुनेछन् । शो प्राईम टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण भइरहेको छ ।

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौँ, ७ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो ।

महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ । कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ । नेताहरूको कार्यविभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालको अध्यक्षमा शर्मा

काठमाडौँ- ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

 सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्रनारायण श्रेष्ठ, राजेशकुमार जोेशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको कार्यकारी निर्देशक आशीष थापाले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष शर्मा लामो समयदेखि लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आउनुभएको छ । उहाँ संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत चार वर्षदेखि क्रियाशील रहनुभएको थियो । नौ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा छ ।

 सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणालीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । 

सेनाका अवकास प्राप्त मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ बोलको गीत सार्वजनिक

काठमाडौँ, ७ असोजः नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ ।

गायक गुरुङका ९६ वर्षीय पिता अवकाश प्राप्त क्याप्टेन इन्द्रजित गुरुङले एक समारोहबीच उक्त गीत सार्वजनिकीकरण गर्नुभयो । डा आशबहादुर तामाङको शब्दरचना रहेको गीतमा  बद्री शर्माको सङ्गीत संयोजन छ । वरिष्ठ गायिका इन्दिरा गोलेले स्वरमा साथ दिनुभएको छ ।

आउँदै गरेको बडादसैँ र तिहारका लागि श्रोता तथा दर्शकलाई उपहार दिने उद्देश्यसहित सार्वजनिक गरिएको गीतका शब्दमा तामाङ सेलोका ठट्टा तथा रमाइलोको संयोजन छ । तामाङ जाति र समुदायको मौलिकता कायम राख्दै गीतको छाँयाङ्कनमासमेत नयाँपन दिन खोजिएको छ । गायक गुरुङको औपचारिक रेकर्ड भएको यो पहिलो गीत हो ।

बाल्यकादेखि गीत सङ्गीतमा चासो राख्ने मानार्थ उपरथी गुरुङले सैनिक जीवनमा रहँदा अनौपचारिक रुपमा गीत गाउँदै आउनुभएको थियो । तामाङ समुदायको इतिहास र परम्परासँग जोडिएको यस गीतले समुदायको जीवन शैली, भावना र अनुभवलाई प्रतिबिम्बित गरेको छ । तामाङ सेलो भाका नेपाली समाजमा खुसी र उत्सवको प्रतीका रुपमा चिनिन्छ ।  

सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै

दमौली (तनहुँ), ७ असोजः तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।

पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ ।

पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ ।

त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ ।

विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाउनुभएको थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।”

असहाय बालबालिकालाई पढाउँदै व्यास

व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ ।

कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ ।

उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन् । नगरपालिकाले यस विद्यालयलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ ।” न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ ।

बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रुपमा सञ्चालन गरिएको छ । विद्यालयमा अति विपन्न, अभिभावकविहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा ६ सम्म अध्यापन हुँदै आएको छ । निकट भविष्यमा कक्षा थप गरिने योजना बनाइएको छ ।

श्रीलङ्का राष्ट्रपति निर्वाचन : मार्क्सवादी नेता दिसानायका निर्वाचित

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित हुनुभएको घोषणा गरेको छ । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभयो । सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभयो । 

विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गर्नुभएको छैन तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी हुनुभएको स्पष्ट भएको बताउनुभयो । 

“मैले राष्ट्रपति रनिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय गरिसकेका छन् । म अनुरा कुमारा दिसानायकाका लागि प्राप्त जनादेशलाई पूर्ण रूपमा सम्मान गर्छु”, साब्रीले सामाजिक सञ्जालमा भन्नुभयो ।     दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा सपथ लिनुहुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । 

बङ्गलादेशका विश्वविद्यालयमा कक्षाहरू पुनः सुरु

निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण एक हप्ता लामो बन्दपछि बङ्गलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरू आइतबार कक्षामा फर्किएका छन् । रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गर्न राष्ट्रव्यापी सङ्घर्षमा परिणत भएपछि हजारौँले क्याम्पस र वरपरको शाहबाग क्षेत्रहरूमा प्रदर्शन गरे ।

जुलाईमा विरोध प्रदर्शन बढ्दै गएपछि अधिकारीहरूले सयौँको ज्यान लिने प्रदर्शनहरूमा कारवाहीका रूपमा क्याम्पस परिसर बन्द गरे ।
विश्वविद्यालयमा भर्ना भएका धेरै शीर्ष विद्यार्थी आन्दोलनका नेतामध्ये केहीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरी धेरै दिनसम्म हिरासतमा राख्यो ।

आइतबार लेक्चर (व्याख्यान) हलहरू फेरि भरिएका थिए । विद्यार्थीहरूले रूखले ढाकिएको पैदल मार्गहरूमा समूहमा च्याट गरिरहेका थिए र क्यान्टिनमा पेय पदार्थ र खाजाहरू किनेका थिए । “धेरै समयपछि कक्षामा फर्केर धेरै राम्रो महसुस गरिरहेकी छु”, राजनीतिशास्त्र अध्ययन गर्ने अर्पिता दासले भन्नुभयो, “हाम्रा शिक्षकले हामीलाई कक्षामा फूल लगाएर स्वागत गर्नुहुँदा यो नयाँ विद्यार्थीहरूको स्वागतजस्तै थियो ।”

हसिनाको अवामी लिग पार्टीलाई समर्थन गर्ने प्रदर्शनकारी र विद्यार्थीहरूले ढुङ्गा, लाठी र फलामको रडले आपसमा झगडा गर्दा जुलाईमा क्याम्पसमा भएको चर्को लडाइँमा आफू उपस्थित भएको दासले बताउनुभयो ।

“हामीलाई कक्षा, अध्ययन र परीक्षामा जाने दैनिकीमा बानी परेको थियो”, उहाँले भन्नुभयो, “हामी फेरि कक्षा सुरु हुने र हाम्रो पढाइ पूरा गर्न सक्छौँ कि भनेर धेरै अनिश्चिततामा थियौँ ।”

सहायक प्रोक्टर मोहम्मद महबुब क्वैसरले यसअघि हसिनाप्रति वफादार प्रशासकहरूले राजीनामा दिएपछि नियुक्त भएका चार–पाँच विभागबाहेक सबैमा फेरि कक्षा सुरु भएको जानकारी दिनुभयो । “विद्यार्थीहरु खुशीसाथ सहभागी भइरहेका छन्”, उहाँले भन्नुभयो ।

हसिनाको सरकारमाथि राजनीतिक प्रतिद्वन्द्वीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्यालगायत व्यापक दुर्व्यवहारको आरोप लगाइएको थियो । 

संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक प्रतिवेदनअनुसार अगस्टको सुरुमा हसिनालाई पदच्युत गर्ने हप्ताहरूमा छ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । प्रतिवेदनमा मर्नेहरूको सङ्ख्या ‘सम्भवतः कम आकलन’ गरिएको बताइएको थियो ।

छिमेकी भारतमा निर्वासनका लागि हसिनाको प्रस्थानपछि क्याबिनेट मन्त्रीहरू र उहाँको पार्टीका अन्य वरिष्ठ सदस्यहरू पक्राउ परेका छन् र उहाँको सरकारमा नियुक्त भएकाहरूलाई अदालत र केन्द्रीय बैंकबाट हटाइएको छ । 

“यस्तो थियो कि हामी दमनकारी युगमा थियौँ र हामी हामी केही भन्न सक्तैन थियौँ”, हसिनाले आदेश दिएको कारबाहीबारे २५ वर्षीय स्नातकोत्तर विद्यार्थी कलिमुल्ला अल काफीले भन्नुभयो, “आज यस्तो लाग्छ कि म स्वतन्त्रतासँग कक्षामा उपस्थित छु,  हामी स्वतन्त्र रूपमा व्यक्त गर्न सक्छौँ ।”

सोमालियामा तीन लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित

द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी (युएनएचसिआर) ले आइतबार बताएको छ ।

युएनएचसिआर नेतृत्वको संरक्षण र निगरानी रिटर्न्स नेटवर्कले अगस्टमा मात्रै २३ हजार आन्तरिक विस्थापन भएको र तीमध्ये ४३ प्रतिशत द्वन्द्व, असुरक्षा, बाढी वा खडेरीका कारण भएको बताएको छ ।

   “खाना, आश्रय, जीविकोपार्जन, पानी, र स्वास्थ्य नयाँ विस्थापित परिवारहरूको प्रमुख आवश्यकताहरू थिए । बारी, खाडी, मध्य जुबा, गेडो र तल्लो जुबा क्षेत्रहरूले सबैभन्दा धेरै आन्तरिक विस्थापितहरूको आगमन रिपोर्ट गरेका छन् । यो कूल विस्थापितको ६६ प्रतिशत हो”, युएनएचसिआरले सोमालियाको राजधानी मोगादिसुमा जारी गरेको पछिल्लो परिचालन अपडेटमा भनेको छ । 

युएनएचसिआरका अनुसार उच्च संरक्षण जोखिममा रहेका महिला र बालबालिका विस्थापित जनसङ्ख्याको ८० प्रतिशत छन् ।

यसले सोमालियामा असुरक्षाका लागि योगदान गर्ने प्रमुख कारकहरू सोमाली सुरक्षा बल र अल–शबाब बीचको सशस्त्र द्वन्द्व, जातीय द्वन्द्व र आतङ्ककारीहरूले गरेको अन्धाधुन्ध आक्रमणहरू रहेको बताएको छ । एजेन्सीले सोमालियाको समग्र राजनीतिक र सुरक्षा अवस्था अनिश्चित र परिवर्तनशील रहेको बताएको छ ।

   सोमालियामा ४० हजार दुई सय शरणार्थीहरू छन् । यसमध्ये ६६ प्रतिशत महिला, ३० प्रतिशत विद्यालय जाने उमेरका बालबालिका (६ वर्षदेखि १७ वर्षसम्मका) र २६ प्रतिशत प्रजनन उमेरका महिला र किशोरीहरू (१३ वर्षदेखि ४९ वर्षका) रहेको युएनएचसीआरले बताएको छ ।

प्रतिवेदनअनुसार यहाँ इथियोपियालीहरू (६५ प्रतिशत), दोस्रोमा यमन (३० प्रतिशत), सिरिया तेस्रो (चार प्रतिशत) र एक प्रतिशत अन्य राष्ट्रका शरणार्थीहरू छन् ।

युएनएचसीआरले सन् २०१४ डिसेम्बरदेखि एक लाख ३९ हजार दुई सय ६० पूर्वशरणार्थीहरू शरणार्थी देशहरूबाट सोमालिया फर्केका बताएको छ । केन्या र यमन क्रमशः दोस्रो र तेस्रोमा छन् । 

यसले मुख्यतया केन्याबाट स्वैच्छिक स्वदेश फिर्ता कार्यक्रम र यमनबाट असिस्टेड स्पोन्टेनियस रिटर्न कार्यक्रममार्फत शरणार्थी फिर्ता हुनेमध्ये ९५ हजार दुई सय छ व्यक्तिलाई प्रत्यक्ष सहयोग गरेको छ ।

आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित

काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।

हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।

यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।

भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुने : परराष्ट्रमन्त्री डा राणा

न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताउनुभयो । भेटमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिनुभयो ।

दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

सहकारी प्रकरणमा जवरजस्त दोषी देखाएर राजनीतिक प्रतिरोध साध्न खोजियो -रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाउनुभएको छ । प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि आइतबार राती पार्टीका नेताहरुसंगको छलफलपछि पार्टी कार्यालय बनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले सहकारी प्रकरणमा जवरजस्त दोषी देखाएर राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाउनुभएको हो । उहाले आफुलाई पक्राउ गर्ने बिषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयार नभएको जानकारी पाएपनि सरकारको कुनै भरोसा नभएकाले अलर्टमा बस्ने कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सहकारी छानविन समितिको प्रतिवेदनले समेत सहकारी प्रकरणमा कुनै संलग्नता नरहेको देखाएपछि आफुबिरुद्ध मिडिया ट्रयाल गर्न खोजिएको उहाले बताउनुभयो । लामिछानेले आफु निर्दोश रहेकाले जस्तोसुकै अनुसन्धानमा सघाउन तयार रहेको जिकिर गर्नुभयो । लामिछानले आफूले कानून मान्ने, अनुसन्धानमा सघाउने तर कसैको अन्याय नसहने स्पष्ट पार्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा लामिछानेले सम्बन्धीत निकायले पक्रने कुनै तयारी नरहेको भनेपनि आफुलाई राज्यले जुनसुकै बेला पनि पक्रन सक्ने भएकाले व्यक्तिगत रुपमा नभइ पार्टीगत रुपमा प्रतिवादका लागि तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँगकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले यातायात क्षेत्रलाई व्यवस्थित सुरक्षित र सहज बनाउन निर्देशन दिनुभएको हो । “यातायात क्षेत्र जति प्रतिस्पर्धी बन्यो त्यति नै नागरिकले राम्रो सेवा पाउँछन्,” उहाँले भन्नुभयो, “तसर्थ नागरिकको सुविधा दिने दायित्वका साथै तपाईंहरुको प्रभावकारी सेवाका लागि यो क्षेत्रलाई प्रतिस्पर्धी बनाउनूस् ।” 

राजमार्गमा सवारी चेकजाँचका नाममा ठाउँठाउँमा यात्रुहरुलाई असजहज भएको गुनासो यातायात व्यवसायीले गरेपछि मुख्यमन्त्री कँडेलले अधिकार भए पनि आवश्यकताका आधारमा राजमार्गमा चेकजाँचको व्यवस्था मिलाउन सुरक्षा निकायलाई सुझाउनुभयो । छलफलका क्रममा वीरेन्द्रननगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थित बनाउनु लागिएको जानकार दिनुभयो ।

उहाँका अनुसार बजारको चाप बढेसँगै पछिल्लो समय पार्किङको व्यवस्था साँघुरो हुँदै गएकाले व्यवस्थित गर्ने तयारी भइरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले चाडबाडको बेला दुर्घटनाको जोखिम बढी हुने भएकाले चाडबाड लक्षित सडक सुरक्षा बनाएको जनाउनुभयो । 

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले कर्णालीको ठूलो र विकट भूगोलका कारण एकजना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । कम जनशक्ति र सीमित साधन स्रोतमा रहेर ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा अपेक्षाकृत काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेन्डा प्राथमिकतामा

काठमाडौँ, ७ असोजः आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९)लाई उपलब्धिमूलक बनाउन सरकारले तयारी थालेको छ । जलवायुजन्य जोखिम न्यूनिकरण गर्न सरकारले मुख्य छ एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालेको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आगामी कोपमा नेपालको हितका लागि एजेन्डा लिएर प्रस्तुत हुने जानकारी दिनुभएको छ । “हामीले आगामी कोप २९ मा नेपालको हित हुने र अझै बढी उपलब्धिमूलक बनाउने गरी कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ,” उहाँँले भन्नुभयो, “जलवायुजन्य जोखिम भएको क्षेत्रको पनि प्रतिनिधित्व हुने गरी कोपमा सहभागिता गराइने छ, विगतका भन्दा आगामी कोप अझै बढी उपलब्धिमूलक बनाइने छ ।”

उहाँँले २९औँ कोपबाट बढीभन्दा बढी उपलब्धि हासिल गर्न थप छलफल गरिने बताउनुभएको छ । “अझै गोष्ठी, विचार र आवश्यक सेमिनार, सुझाव सङ्कलन गरी अगाडि बढ्ने छौँ, कोपमा उपस्थित हुने सङ्ख्या धेरै भयो भन्ने गुनासो सुनियो । यसलाई व्यवस्थित गर्ने कुरामा ध्यान केन्द्रित गर्नेछौँ,” मन्त्री शाहीले भन्नुभयो, “आगामी कोप–२९ लाई विगतका कोपभन्दा अत्यन्तै व्यवस्थित गरिने छ ।”

वन तथा वातावरण मन्त्रालयकै सचिव डा गोविन्दप्रसाद शर्माले कार्बन व्यापारबाट नेपालले फाइदा लिन नसकिरहेकाले कार्बन व्यापारको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न दवाब दिने बताउनुभयो । “कार्बन व्यापारको चर्चा छ, जति हामीले कार्बन बेचेर आर्थिक लाभ हासिल गर्न सक्थ्यौँ, त्यो सकिरहेका छैनाँै,” उहाँँले भन्नुभयो, “कार्बन व्यापारका लागि लागि स्वीडेन र दक्षिण कोरियासँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको छ, छिट्टै सम्झौता हुने छ, यसका लागि आवश्यक निर्देशिका बनाउने काम भइरहेको छ ।”

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा बुद्धिसागर पौडेलले जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी न्यूनिकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशितासम्बन्धी छ विषयगत कार्यपत्र तयार गरेको जानकारी दिनुभयो । “नेपालको राष्ट्रिय स्थितिपत्र पनि तयार भएको छ, यसमा राष्ट्रिय अवधारणपत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन, ऊर्जा सङ्क्रमण र दक्षता, पानी र जलवायुजन्य विषयवस्तु समावेश गरिएको छ,” उहाँँले भन्नुभयो, “आगामी कोपलाई थप उपलब्धिमूलक बनाउन तयारी भइरहेको छ, सरोकारवालाको धारणा समावेश गरेर कोपको एजेन्डा तर्जुमा गरेका छौँ ।”

गत वर्ष युएइको दुबइमा भएको कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिने पौडेलले जानकारी दिनुभयो । “नेपालले जलवायु परिवर्तनसम्बन्धी पहिलो द्विवर्षीय पारदर्शिता प्रतिवेदन (बीटीआर) तयार गरिरहेको छ,” उहाँँले भन्नुभयो, “नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदान तयारीको लागि बहुपक्षीय प्राविधिक समिति गठन भई कार्य अगाडि बढेको छ ।”

जलवायुविद् बटुकृष्ण उप्रेतीले जलवायु वित्त, कार्बन व्यापार, पर्वतीय मुद्दालगायतका विषयवस्तु प्राथमिकतामा राखेर तय गरिएको एजेन्डा राम्रो भएको भन्दै यी एजेन्डा सम्बोधन हुन सकेमा नेपालका लागि उपलब्धि हुने प्रतिक्रिया दिनुभयो । “विगतदेखि हामीले विभिन्न विषयवस्तुमा ऐजेन्डा लान्थ्यौँ । कतिपय एजेन्डा सम्बोधन नै हुन सकेन । निरन्तर ती एजेन्डामा आवाज उठाउँदै आएका थियौँ,” उहाँँले भन्नुभयो, “एजेन्डा कोपमा लाँदैमा अब जलवायु न्यूनिकरण तथा अनुकूलनका कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने होइन । पक्ष राष्ट्रहरुले कोपमा गरिएका कतिपय प्रतिबद्धता छन् ती कार्यान्वयन हुन सकिरहेको छैनन् ।”

उप्रेतीले कार्बन व्यापारको चर्चा चुलिएजस्तो नेपालले उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । उहाँले आगामी कोपमा कार्बन व्यापारको मुद्दा जोडबलका साथ उठान गर्न सुझाव दिनुभयो । “कार्बन व्यापारको क्षेत्रमा अहिलेसम्म प्रगति हासिल हुन सकेको छैन । अब निजी क्षेत्रलाई कार्बन व्यापारमा समावेश नगरी हुँदैन,” उहाँँले भन्नुभयो, “कार्बन व्यापारबाट आर्थिक लाभ लिन सकेमा जलवायु वित्त व्यवस्थापनमा सहज हुने छ ।”

कोपमा जलवायु अनुदान बढाउन धनि मुलुकलाई नेपाललगायतका विकासोन्मुख मुलुकले दबाब दिँदै आइरहेको छ । अन्तर्राष्ट्रियस्तरबाट जलवायु वित्त जुटाउन नसके नेपाललगायतका विकासोन्मुख मुलुकले बनाएको जलवायु नीति कार्यान्वयन गर्न सम्भव नहुने जलवायु व्यवस्थापनविद् डा धर्मराज उप्रेती बताउनुहुन्छ  । 

नेपालको राष्ट्रिय अनुकूलन योजनाअनुसार यी योजनाको प्राथमिकताका कार्य सन् २०५० सम्म कार्यान्वयन गर्न कुल अनुमानित लागत ४७ दशमलव चार अर्ब अमेरिकी डलर लाग्ने छ ।  आवश्यक लागतका लागि आन्तरिक स्रोत अप्ुग हुने भएकाले दातामार्फत लगानी जुटाएर कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । 

जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकूलन राष्ट्रिय कार्यन्वयन योजना (२०८०–२०८७)अनुसार अनुकूलन योजना कार्यान्वयन गर्न सन् २०५० सम्म नेपालले एक दशमलव पाँच अर्ब अमेरिकी डलर योगदान गर्नेछ । उक्त योजनामा सन् २०५० सम्म कुल ४५ दशमलव नौ अर्ब अमेरिकी डलर बाह्य सहयोग जुटाइने उल्लेख छ । 

पेरिस सम्झौताको धारा ७.१० र ७.११ अनुसार, २०२१ अक्टोबरमा नेपालले राष्ट्रिय अनुकूलन योजना पेश गरेको थियो । राष्ट्रिय अनुकूलन योजनाले पेरिस सम्झौतामा समावेश अनुकूलन लक्ष्य र कार्यान्वयनका आवश्यक माध्यम पूरा गर्नमा नेपालको योगदानलाई प्रष्ट गरेको छ । नेपालको राष्ट्रिय अनुकूलन योजनाले जलवायु– उत्थानशील समाज निर्माण गरी राष्ट्रको सामाजिक–आर्थिक समृद्धिमा योगदान पु-याउने परिकल्पना गरेको छ । यसले जलवायुजन्य विपद् र अतिशय घटनाबाट हुने हानि र नोक्सानीलाई २०५० सम्ममा ९० प्रतिशतभन्दा कममा राख्ने र सबै सङ्कटापन्न समुदाय, जोखिमपूर्ण बस्ती, पूर्वाधार र जीविकोपार्जनका स्रोतको उत्थानशीलता निर्माण गर्ने लक्ष्य राखेको छ । 

“मध्यम अवधिको लागि सरकारलाई राष्ट्रिय अनुकूलन योजनाको कार्यान्वयनमार्फत अनुकूलन सेवा प्रदान गर्न प्रति वर्ष दुई दशमलव एक अर्ब अमेरिकी डलर आवश्यक पर्नेछ । अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न प्रत्येक विषयगत क्षेत्रको लागत अनुमानले सबैभन्दा बढी लागत कृषि र खाद्य सुरक्षा क्षेत्रमा २०५० सम्म (११ दशमलव दुई अर्ब अमेरिकी डलर), त्यसपछि वन, जैविक विविधता र जलाधार संरक्षण क्षेत्र (२०५० सम्म आठ दशमलव सात अर्ब अमेरिकी डलर) र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा (२०५० सम्म आठ दशमलव ०५ अर्ब अमेरिकी डलर) आवश्यक पर्छ,” योजनामा उल्लेख छ, “पर्यटन, प्राकृतिक र साँस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत साना कार्यक्रम रहेकाले २०५० सम्म एक दशमलव १३ अर्ब अमेरकी डलर बजेट आवश्यक देखिएको छ । सन् २०५० सम्म लैङ्गिक समानता, सामाजिक समावेशीकरण, जीविकोपार्जन र सुशासन क्षेत्रलाई सबलीकरण गर्ने अनुकूलनका कार्यक्रममा शून्य दशमलव २३ अर्ब अमेरिकी डलर लागत आवश्यकता छ ।”

नेपाल सरकारद्वारा आवश्यक सबै तहमा अनुकूलन कार्यको कार्यान्वयनमार्फत जलवायु परिवर्तनका असरलाई अल्पकालीन (सन् २०२५ सम्म), मध्यकालीन (सन् २०३० सम्म) र दीर्घकालीन (सन् २०५० सम्म) रूपमा सम्बोधन गर्न राष्ट्रिय अनुकूलन योजना तर्जुमा गरिएको हो ।   नेपालले लिएको शुन्य कार्बन उत्सर्जनसम्बन्धी रणनीतिलगाायतका योजना कार्यान्वयन गर्न वैदेशिक जलवायु वित्तकै भर पर्नुपर्ने अवस्था छ ।

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ ।

उहाँहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो ।

महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता

न्युयोर्क (अमेरिका), ७ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गर्नुभएको छ ।

समिट अफ द फ्युचरको उद'घाटनमा भाग लिएपछि  प्रधानमन्त्री  ओलीले छलफल सत्रको अध्यक्षता गर्नुभएको हो । प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो ।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छभने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो ।

व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् । 

सयौँ व्रतालुहरुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ । 

व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो )’ भनिन्छ । 

त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झा बताउनुहुन्छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भन्नुभयो, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले  खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ । 

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

न्युयोर्क (अमेरिका) ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल

न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको हो । उहाँहरुको भेट राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको थियो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनुभएको थियो ।

“नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हुन सक्छ”

त्यसैगरी प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएका राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गर्नुभएको छ । 

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गर्नुभएको थियो । यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गर्नुभएको थियो ।   प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्व दिनुपर्नेमा जोड दिनुभएको थियो । 

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता

न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज भेटवार्ता भएको छ ।

उहाँहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क(अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ ।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।

दक्षिण अफ्रिकामा हालसम्मकै पुरानो मानव डिएनए डिकोड

अनुसन्धानकर्ताहरूले दक्षिण अफ्रिकामा करिब १० हजार वर्ष पहिलेका दुई व्यक्तिको हालसम्मकै पुरानो मानव जिनोम पुनर्निर्माण गरेका छन् । यसले यस क्षेत्रको जनसङ्ख्या कसरी बसोबास गरेको थियो भन्नेबारे राम्रोसँग बुझ्न सकिएको अध्ययनका एक लेखकले आइतबार बताउनुभएको छ ।

केपटाउनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको दक्षिणी तटीय सहर जर्ज नजिकै एक चट्टानको आश्रयस्थलमा भेटिएका एक पुरुष र एक महिलाको अवशेषबाट आनुवंशिक अनुक्रमहरू प्राप्त गरिएको केपटाउन विश्वविद्यालय (युसिटी) का जैविक मानवशास्त्र प्राध्यापक भिक्टोरिया गिब्बनले जानकारी दिनुभयो ।

ती १३ अनुक्रमहरू ओकहर्स्ट आश्रयमा फेला परेका र एक हजार तीन सयदेखि १० हजार वर्ष पहिले बाँचेका मानिसहरूबाट पुनर्निर्माण गरिएका थिए । यी खोजभन्दा पहिला यस क्षेत्रबाट पुनर्निर्माण गरिएको सबैभन्दा पुरानो जिनोमहरू करिब दुई हजार वर्ष पुराना थिए ।

युसिटीले जारी गरेको विज्ञप्तिअनुसार ओकहर्स्ट अध्ययनबाट सबैभन्दा आश्चर्यजनक खोज के थियो भने सबैभन्दा पुराना जिनोमहरू आजभोलि उही क्षेत्रमा बस्ने सान र खोएखोए समूहहरूसँग आनुवांशिक रूपमा समान थिए ।

“युरोपबाट यस्तै अध्ययनहरूले पछिल्लो १० हजार वर्षमा मानव आवागमनका कारण ठूलो मात्रामा आनुवंशिक परिवर्तनको इतिहास पत्ता लगाएका छन्”, अध्ययनमा सहभागी जर्मनीको लाइपजिगस्थित म्याक्स प्लाङ्क इन्स्टिच्युट फर इभोल्युसनरी एन्थ्रोपोलोजीका जोस्चा ग्रेट्जिङ्गरले भन्नुभयो, “दक्षिणी अफ्रिकाबाट प्राप्त यी नयाँ नतिजाहरू निकै फरक छन् र यसले सापेक्ष आनुवंशिक स्थिरताको लामो इतिहासको सुझाव दिन्छ ।”

डिएनए डाटाले हाल देखाएअनुसार नयाँ आगन्तुकहरू आइपुगेपछि यस क्षेत्रमा पशुपालन, कृषि र नयाँ भाषाहरू ल्याए र स्थानीय शिकारी–सङ्कलक समूहहरूसँग अन्तरक्रिया गर्न थाले अनि मात्र करिब एक हजार दुई सय वर्षअघि परिवर्तन भयो ।

“संसारका सबैभन्दा पुराना आधुनिक मानवहरूको केही प्रमाणहरू दक्षिणी अफ्रिकामा पाइए पनि यो सामान्यतया राम्रोसँग संरक्षित हुँदैन”, गिब्बनले भन्नुभयो, “प्रविधिले यो डिएनए प्राप्त गर्न सम्भव बनायो ।”युरोप र एसियामा हजारौँ मानिसको जिनोम पुनर्निर्माण गरिएको भए पनि दक्षिणी अफ्रिकाबाट विशेषगरी बोत्स्वाना, दक्षिण अफ्रिका र जाम्बियाबाट दुई दर्जनभन्दा कम पुराना जिनोमहरू प्राप्त भएका छन् ।

“दक्षिण अफ्रिकामा यस्ता स्थलहरू दुर्लभ छन् र ओकहर्स्टले करिब नौ हजार वर्षको अवधिमा परिदृश्यभर स्थानीय जनसङ्ख्या गतिविधि र सम्बन्धहरूको राम्रो बुझाइ प्रदान गरेको छ”, गिब्बनले भन्नुभयो ।

श्रीलङ्का राष्ट्रपति निर्वाचन : मार्क्सवादी नेता दिसानायका निर्वाचित

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका लाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभयो ।

सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभयो ।

विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गर्नुभएको छैन तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी हुनुभएको स्पष्ट भएको बताउनुभयो ।

“मैले राष्ट्रपति रनिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय गरिसकेका छन् । म अनुरा कुमारा दिसानायकाका लागिल प्राप्त जनादेशलाई पूर्ण रूपमा सम्मान गर्छु”, साब्रीले सामाजिक सञ्जालमा भन्नुभयो ।

दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा सपथ लिनुहुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ, ६ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न एउटा समिति गठन गर्नुभएको छ ।

मन्त्रालयमा आज सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुनेगरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह उत्पादक किसानको समस्या तत्काल समाधान गर्न जरुरी रहेको बताउनुभयो । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताउनुभयो । मह उत्पादक किसानले हाल मौज्दात रहेको दुई हजार १०० मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग गरेका छन् । मह आयात रोके पनि सिरफका रुपमा यस्को आयात भइरहेको भन्दै किसानले आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकारसमक्ष राखेका छन् ।

शिक्षामन्त्री भट्टराईद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल

काठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनवटा विश्वविद्यालयका उपकुलपतिसँग विश्वविद्यालयको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ ।

उहाँले आफ्नो मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसँग संयुक्त रुपमा विश्वविद्यालयको व्यवस्थापन र अध्यापनबारे छलफल गर्नुभएको मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ ।

उहाँले देशका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्नेगरी शैक्षिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्रिविविका उपकुलपति डा केशरजङ्ग बरालले शैक्षिक ‘क्यालेन्डर’का आधारमा अध्यापन तथा परीक्षा र प्रश्नपत्रमा सुधार, विश्वविद्यालयको पुनःसंरचना, पाठ्यक्रम संरचना एवं पुनरवलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको ‘डिजिटाइजेसन’ र विश्वविद्यालयलाई विद्यार्थी तथा समाजको समुदायको नजिक पु¥याउने विषयमा जानकारी दिनुभएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछाने शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एकीकरण एवं आयुर्वेदका कार्यक्रम सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन तथा पुस्तकको डिजिटाइजेसन गर्न प्रारम्भ भएको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले आङ्गिक क्याम्पसको व्यवस्थापन, गाभ्ने र गाभिने तथा सम्बन्धन, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवं विश्वविद्यालय अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि मन्त्री भट्टराईसँग अनुरोध गर्नुभयो । 

बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस

मकवानपुर, ६ असोज : बागमती प्रदेशसभाको आज बसेको बैठकमा तीनवटा प्रतिवेदन पेस गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उक्त बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेस गर्नुभयो ।

सोही बैठकमा सभामुख भुवनकुमार पाठकले कार्य व्यवस्था परामर्श समितिको हेरफेरका क्रममा सांसद किरण थापा मगरको स्थानमा सांसद एकालाल श्रेष्ठलाई हेरफेर गरिएको जानकारी गराउनुभयो । तीनवटै प्रतिवेदनमाथि असोज ७ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।   

यसैगरी, उक्त बैठकमा मुख्यमन्त्री बहादुर सिं लामाले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ प्रस्तुत गर्नुभएको थियो । सत्तापक्षका प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले राख्नुभएको ध्यानाकर्षणको प्रस्तावप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको सभामुख पाठकले बताउनुभयो ।

उक्त प्रस्तावमा काठमाडौँ जिल्लाको चन्द्रगिरि नगरपालिका–९ को २ (ख) मा विद्युत्को उच्च भोल्टेज भएको ट्रान्समिटर राखिएको जग्गामा सर्वसाधारणले आफ्नो कारोबार गर्ने अवसरबाट वञ्चित भएकाले प्रदेश सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणले ती नागरिकलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।  प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक असोज ७ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।