`

मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ, ६ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न एउटा समिति गठन गर्नुभएको छ ।

मन्त्रालयमा आज सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुनेगरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह उत्पादक किसानको समस्या तत्काल समाधान गर्न जरुरी रहेको बताउनुभयो । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताउनुभयो । मह उत्पादक किसानले हाल मौज्दात रहेको दुई हजार १०० मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग गरेका छन् । मह आयात रोके पनि सिरफका रुपमा यस्को आयात भइरहेको भन्दै किसानले आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकारसमक्ष राखेका छन् ।

शिक्षामन्त्री भट्टराईद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल

काठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनवटा विश्वविद्यालयका उपकुलपतिसँग विश्वविद्यालयको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ ।

उहाँले आफ्नो मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसँग संयुक्त रुपमा विश्वविद्यालयको व्यवस्थापन र अध्यापनबारे छलफल गर्नुभएको मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ ।

उहाँले देशका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्नेगरी शैक्षिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्रिविविका उपकुलपति डा केशरजङ्ग बरालले शैक्षिक ‘क्यालेन्डर’का आधारमा अध्यापन तथा परीक्षा र प्रश्नपत्रमा सुधार, विश्वविद्यालयको पुनःसंरचना, पाठ्यक्रम संरचना एवं पुनरवलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको ‘डिजिटाइजेसन’ र विश्वविद्यालयलाई विद्यार्थी तथा समाजको समुदायको नजिक पु¥याउने विषयमा जानकारी दिनुभएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछाने शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एकीकरण एवं आयुर्वेदका कार्यक्रम सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन तथा पुस्तकको डिजिटाइजेसन गर्न प्रारम्भ भएको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले आङ्गिक क्याम्पसको व्यवस्थापन, गाभ्ने र गाभिने तथा सम्बन्धन, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवं विश्वविद्यालय अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि मन्त्री भट्टराईसँग अनुरोध गर्नुभयो । 

बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस

मकवानपुर, ६ असोज : बागमती प्रदेशसभाको आज बसेको बैठकमा तीनवटा प्रतिवेदन पेस गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उक्त बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेस गर्नुभयो ।

सोही बैठकमा सभामुख भुवनकुमार पाठकले कार्य व्यवस्था परामर्श समितिको हेरफेरका क्रममा सांसद किरण थापा मगरको स्थानमा सांसद एकालाल श्रेष्ठलाई हेरफेर गरिएको जानकारी गराउनुभयो । तीनवटै प्रतिवेदनमाथि असोज ७ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।   

यसैगरी, उक्त बैठकमा मुख्यमन्त्री बहादुर सिं लामाले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ प्रस्तुत गर्नुभएको थियो । सत्तापक्षका प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले राख्नुभएको ध्यानाकर्षणको प्रस्तावप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको सभामुख पाठकले बताउनुभयो ।

उक्त प्रस्तावमा काठमाडौँ जिल्लाको चन्द्रगिरि नगरपालिका–९ को २ (ख) मा विद्युत्को उच्च भोल्टेज भएको ट्रान्समिटर राखिएको जग्गामा सर्वसाधारणले आफ्नो कारोबार गर्ने अवसरबाट वञ्चित भएकाले प्रदेश सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणले ती नागरिकलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।  प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक असोज ७ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।  

प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी

वासिङटन, डिसी, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।

केहीबेर अघि प्रारम्भ भएको उक्त समिटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आजै समिट फर फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा लगियो

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

जोशीलाई काठमाडौँमा पक्राउ गरेर आइतबार साँझ पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले जानकारी दिए ।

उनलाई सोमबार अदालतमा पेस गरिनेछ । कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई आइतबार दिउँसो शंखमूलबाट पक्राउ गरेको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ ।

मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन

दाङ, ६ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । सङ्ग्रहालयमा थारू समुदायको कला, संस्कृति, रीतिरिवाज, वेशभूषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तथा लोप हुने अवस्थामा पुगेका वस्तुहरु संरक्षण गरेर राखिएका छन् ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको उक्त सङग्रहालयमा थारू समुदायको जन्म, मृत्यु, विवाहलगायत संस्कारसँग जोडिएका चित्र, मूर्ति, गरगहना, वेशभूषालगायत राखिएका छन् । सङ्ग्रहालय पछिल्लो समय थारू कला, संस्कृतिको सोधकर्ताका लागि आकर्षणको थलो बन्दै गएको छ ।

यहाँ धेरैजसो विद्यार्थीहरु थारू समुदायको संस्कार अध्ययन गर्न आउने गरेका थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो । सङ्ग्रहालय अवलोकन गर्न मुख्यमन्त्री आचार्यसँगै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापालगायत आउनुभएको थियो ।

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण,६ जनाको मृत्यु

काठमाडौँ, ६ असोज : हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने बताउनुभयो । “साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ”, उहाँले भन्नुभयो, “त्यसपछि जाडो याम सुरु हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।”

प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेङ्गी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, ६ असोजः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले राससलाई जानकारी दिनुभयो ।

“गृहमन्त्रालयसँग सम्बन्धित सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट पत्र प्राप्त भएको छ । त्यसलाई तत्काल कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरेका छौँ,” उहाँँले भन्नुभयो, “प्रहरी प्रधानकार्यालयले प्रतिवेदनका सिफारिस अध्ययन गर्नेछ र सोहीअनुसार कार्यान्वयन प्रक्रियामा अगाडि लैजानेछ ।”

विभिन्न सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको विषयमा र सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्न प्रतिनिधिसभाबाट २०८१ जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गरी सुझाव पेस गर्न समिति गठन भएको थियो ।
समितिले गत भदौ ३१ गते आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिनिधिसभाले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई बुझाएको थियोभने मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएउने निर्णय गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले विभिन्न चारवटा विषयमा अध्ययन अनुसन्धान गरी सुझाव तथा सिफारिसका लागि कार्यादेश पाएको थियो । विभिन्न सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा प्रवाह भएको रकमको विषय पनि एउटा थियो ।

छानबिन समितिले सहकारी कानुनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक एवम् निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउन सरकारलाई सिफारिस गरेको थियो ।

गोरखा मिडिया कम्पनीमा रकम पठाएको देखिएका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइएमई कोअपरेटिभ्सलगायत कानुनविपरीत कार्य गरेका सहरकारी संस्थाका सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सरकारलाई सिफारिस गरेको थियो ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं, ६ असोज-सुनसरी, कोशी गाउँपालिका-१ यादव टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय समिम मिँया र रामधुनी नगरपालिका-३ बस्ने २८ वर्षीय अमित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौक‍ही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ३०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार कार्यालयस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका-५ बस्ने ३० वर्षीय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० बस्ने २९ वर्षीय बिकास अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले बा.४९ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय सन्दिप चापागाइ र सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय अर्जुन बिक रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुल सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित इलाम सुर्योदय नगरपालिका-६ बस्ने २८ वर्षीय अनिल प्रधानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामारा चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सरेन किश्‍कुलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले भद्रपुरबाट घोडामारतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा मेचिनगर नगरपालिका-१४ बस्ने २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका-२ बस्ने २४ वर्षीय साहिल दर्नाल र भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय सामेल मगरले उक्त लागूऔषध खरिद गर्ने भन्ने खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-७ नयाँ बस्तिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गुलरा बस्ने ३७ वर्षीय जनक कुमार मिजार र बर्दगोरिया गाउँपालिका-४ बस्ने २६ वर्षीय तेज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ डेरा गरी बस्ने जानकी गाउँपालिका-५ घर भएका ३५ वर्षीय फैयाज अलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित अलि रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनि लामा सिनेमाजले झण्डै साढे २ मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो ।काठमाडौं । यहि असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनि लामा सिनेमाजले झण्डै साढे २ मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो ।

यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा छन् ।

बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठान गरेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पतिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ ।

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयमा छन् ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह-निर्मातामा रेनुका कार्की ढोली छिन् । फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ ।

फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ । ‘आँखा’लाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर, ६ असोजः बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको सार्वजनिक गरेको छ ।प्रदेशसभा सचिवलायमा मुख्यमन्त्री बहादुरसिंह तामाङले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै त्यसमा आर्थिक समृद्धि हासिलका साथै विकास पूर्वाधार निर्माणलाई जोड दिइएको बताउनुभयो । पर्यटन क्षेत्रको विकास र सुशासन कायम गर्नेेतर्फ विशेष ध्यान दिने विषय समेटिएका बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संसद्मा रहेका विभिन्न दलहरुको भावनालाई समेटेर राष्ट्रिय गौरवको आयोजना, विकासका पूर्वाधार तथा बजेटको बाँडफाँट निष्पक्ष ढङ्गबाट गरिने विषयलाई प्राथमिकता दिइएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकार जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकारसँगको समन्वयमा प्रदेश प्रहरी तथा प्रदेश अनुसन्धान ब्युरो स्थापना, तीनवटै तहका सरकारको अन्तरसम्बन्ध, सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संवैधानिक व्यवस्थानको पूर्ण पालना , राष्ट्रिय हितको रक्षा र प्रदेशबासीको समृद्धि, सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ । कार्यक्रममा प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्य, प्रदेशसभा सदस्य र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

इजरायली सेनाद्वारा वेस्ट बैंकमा अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश

वैश्विक समाचार च्यानल अल जजिराले आइतबार कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा रहेको आफ्नो कार्यालयमा सशस्त्र र मास्क लगाएको इजरायली सेनाले छापा मारेको र ४५ दिनका लागि बन्द गर्ने आदेश जारी गरेको बताएको छ । अरब प्रसारक अल जजिरा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबीच लामो समयदेखि चलिरहेको झगडाको यो पछिल्लो घटना हो । गाजामा भइरहेको युद्धको समयमा यो अझ बिग्रिएको छ ।

अक्टोबर ७ मा हमास लडाकूहरूले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएयता अल जजिराले इजरायलको अभियानको प्रभावबारे निरन्तर प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ । इजरायली सेनाले बारम्बार कतारस्थित नेटवर्कका पत्रकारहरूलाई हमास वा यसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ ।

अल जजिराले इजरायलका आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । साथै इजरायलले गाजा पट्टीमा आफ्ना कर्मचारीहरूलाई व्यवस्थित रूपमा लक्षित गर्ने गरेको अल जजिराको भनाइ छ ।गाजामा युद्ध सुरु भएयता अल जजिराका चार जना पत्रकार मारिएका छन् । गाजामा रहेको नेटवर्कको कार्यालयमा पनि बम हमला गरिएको थियो ।

इजरायली सेनाले बन्द गर्ने आदेशको कारण नबताएको जनाएको छ अल जजिराले बताएको छ ।“अल जजिरालाई ४५ दिनका लागि बन्द गर्ने अदालतको फैसला छ”, एक इजरायली सैनिकले अल जजिराका वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कुराकानीमा भने । फुटेजअनुसार ती सैनिकले भने, “म तपाईंलाई सबै क्यामेराहरू लिएर यही क्षण कार्यालय छोड्न अनुरोध गर्दछु ।”

अल जजिराका अनुसार ओमारीले आदेशमा नेटवर्कमाथि ‘आतङ्कवादलाई उक्साएको र समथर्न गरेको’ आरोप लगाइएको बताउनुभयो । ओमारीले भन्नुभयो, “पत्रकारहरूलाई यस प्रकारले लक्षित गर्नुको उद्देश्य सधैँ सत्यलाई मेटाउनु र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।”

इजरायली सेनाले टिप्पणीको अनुरोधमा तत्काल जवाफ दिएको छैन । 

मल्लाहस्थित प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबारको कारबाहीलाई प्रेस स्वतन्त्रताको ‘घोर उल्लङ्घन’ भनेर निन्दा गरेको छ । “अल जजिरा कार्यालय बन्द गर्नुले प्यालेस्टिनी जनताविरुद्ध (इजरायली) कब्जाका उल्लङ्घनहरू बताउने मिडियाको कामलाई अवरोध गर्ने कब्जाको प्रयासलाई पुष्टि गर्दछ”, वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण रहेको प्यालेस्टिनी प्राधिकरणको सरकारी मिडिया कार्यालयका निर्देशक मोहम्मद अबु अल–रुबले भन्नुभयो ।

अप्रिलमा, इजरायली संसद्ले राज्यको सुरक्षाका लागि हानिकारक मानिने विदेशी मिडिया प्रसारणमाथि प्रतिबन्ध लगाउने अनुमति दिने कानून पारित गरेको थियो ।

उक्त कानूनको आधारमा इजरायल सरकारले मे ५ मा अल जजिरालाई इजरायलबाट प्रसारण गर्न प्रतिबन्ध लगाउने र यसका कार्यालयहरू प्रारम्भिक ४५ दिनका लागि बन्द गर्ने निर्णय अनुमोदन गर्यो र यसलाई गत साता तेल अभिव अदालतले चौथो पटक थप गर्यो । अल जजिराले अदालतको उक्त निर्णयलाई ‘आपराधिक’ भनी निन्दा गर्दै यसले सूचना पाउने मानव अधिकारको उल्लङ्न गर्ने बतायो ।

इजरायल सरकारले गत हप्ता देशमा रहेका अल जजिराका पत्रकारहरूको प्रेस प्रमाणपत्र खारेज गर्ने घोषणा गर्यो ।  यो बन्दले अल जजिराले अझै पनि इजरायलको प्यालेस्टिनी लडाकूहरूसँगको युद्धको कभरेज गरिरहेको वेस्ट बैंक वा गाजा पट्टीबाट हुने प्रसारणलाई प्रभावित गरेको थिएन ।

अल जजिराकी संवाददाता निदा इब्राहिमले नेटवर्कको वेस्ट बैंक कार्यालय बन्द गर्ने कार्य इजरायल भित्रबाट रिपोर्टिङमा लगाइएको पहिलेको प्रतिबन्धपछि ‘आश्चर्यजनक’ नभएको बताउनुभयो । “हामीले इजरायली अधिकारीहरूले ब्युरो बन्द गर्ने धम्की दिएको सुनेका थियौँ”, उहाँले भन्नुभयो ।  

गाजामा हमास–शासित सरकारको मिडिया कार्यालयले आइतबारको छापालाई निन्दा गर्दै वक्तव्यमा भनेको छ,  “एक गम्भीर अपमान र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन हो ।”  अल जजिरालाई आंशिक रूपमा वित्त पोषण गर्ने कतार हमासका राजनीतिक नेता इस्माइल हनियाको आधार पनि थियो । हानियाको जुलाईमा तेहरानमा भएको आक्रमणमा मृत्यु भएको थियो । इरान र हमासले हानियाको हत्यामा इजरायलको हात रहेको आरोप लगाएका थिए । 

ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो प्रतिष्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँगको दोस्रो प्रत्यक्ष बैठकको प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

उहाँले केही राज्यहरूमा पहिले नै प्रारम्भिक मतदान भइरहेको हुनाले बहसका लागि ‘धेरै ढिलो’ भइसकेको बताउनुभएको हो । ट्रम्पले प्रस्ताव अस्विकार गरेको अघिल्लो दिन ह्यारिसले अक्टोबर २३ को बहसका लागि प्रसारणकर्ता सिएनएनको निमन्त्रणा स्वीकार गरेको बताउनुभएको थियो । यदि बहस भएमा सेप्टेम्बर १० मा भएको प्रत्यक्ष बहसपछि दुई प्रतिष्पर्धी उम्मेद्वारबीचको यो दोस्रो बहस हुनेछ ।

“अमेरिकी जनतासँग उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पको अर्को बहस हेर्न पाउने अधिकार छ,” ह्यारिसको चुनावी अभियानका अध्यक्ष जेन ओमाले डिलनले एक विज्ञप्तिमा भन्नुभयो ।

“मलाई आशा छ ट्रम्प मसँग बहसमा सामेल हुन तयार हुनुहुनेछ,” ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको थियो । उत्तरी क्यारोलिनाको एक चुनावी ¥यालीमा ट्रम्पले आफू बहसका लागि इच्छुक रहेको तर केही राज्यहरूमा प्रारम्भिक मतदान सुरु भइसकेकाले धेरै ढिला भइसकेको बताउनुभएको थियो ।

मिसेस नेपाल वल्र्ड २०२४ मा देशका विभिन्न भागका २९ महिलाबीच अन्तिम प्रतिस्पर्धा हुने

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ मा देशका विभिन्न भागका २९ महिलाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ।राजधानीमा हालै आयोजित अडिसनबाट मिसेस नेपाल वल्र्ड २०२४ को अन्तिम स्पर्धाका लागि २९ जना महिला छानिएका हुन्। यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २÷२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन्।

प्रतियोगितका लागि विभिन्न क्षेत्रमा संलग्न प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, साहारा आचार्य तिमल्सिना, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ , संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा छानिएका छन्।

अन्तिम स्पर्धाका लागि छानिएका महिलाहरुलाई राजधानीमा स्यासिङ समारोहको आयोजना गरी ट्याग नम्बर प्रदान गर्दै स्यास पहिराइएको छ। समारोहमा स्पर्धामा सामेल महिलाहरुले आप्mनो परिचय दिएका थिए।

मिस नेपाल वल्र्ड २०२४ को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले आगामी कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने जानकारी गराए। यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए।

अश्विनी झाको कोरियोग्राफीमा हुने मिसेस नेपाल वल्र्ड २०२४ को सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ। यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन्।

९७औँ एकेडेमी अवार्ड (अस्कर) मा नेपालको तर्फबाट चलचित्र ‘शाम्बाला’ छनोट

काठमाडौं – द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ।

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन्।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले दिएको जानकारी अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको छ।समितिका अनुसार चलचित्र ‘शाम्बाला’ ले अस्कर अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ।

चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो। नेपाली चलचित्र जगतमा यस चलचित्रको विशिष्ट स्थान रहने विश्वास गरिएको छ।

एसिएन कराते च्याम्पियनसिपमा एरिकाले नेपाललाई दिलाइन रजत पदक

काठमाडौँ, ६ असोज : २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छिन् । चीनको हाङ्जाउमा आज भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग ६–० अङ्कले पराजित भइन् । यसअघि सेमिफाइनल खेलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

एसियन कराते फेडरेसनले आयोजना गरेको एसियन च्याम्पियनसिपमा एरिकाले प्राप्त गरेको रजत पदक नै नेपालका लागि पहिलो हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेका छै्रनन् । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने व्रिटोलाई ४–० अङ्कले पराजित गरेकी थिइन । उनले क्वाटरफाइनल खेलमा कजाकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपाली नाट्यविमर्श’ विमोचन

काठमाडौँ, ६ असोजः पूर्वराष्ट्रपति डा रामवरण यादवले नाट्य विधा अभिव्यक्तिको एउटा सशक्त माध्यम भएको बताउनुभएको छ ।नेपाल नाट्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाली नाट्यविमर्श’ को लोकार्पण कार्यक्रममा उहाँले साहित्यकारहरुले नाटकमार्फत आफ्नो देश र समाजलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विमोचित ग्रन्थमा नेपालको इतिहास समेटिएको बताउनुभयो । प्रतिष्ठान अध्यक्ष रामचन्द्र पोखरेलले सम्पादन गर्नुभएको उक्त ग्रन्थमा चार खण्ड छन् । ग्रन्थमा नाटक र रङ्गमञ्चसँग सम्बन्धित सामग्री, नाट्यवार्ता, समावेश छन् ।
उक्त कार्यक्रममा नाट्यकर्मीहरु शकुन्तला शर्मा, अशेष मल्ल, सुनील पोखरेल र माधव बराललाई सम्मान गरिएको थियो ।

माओवादी केन्द्रको परामर्श र दक्षिण एसिया सङ्गठन समितिको बैठक

काठमाडौँ, ६ असोजः नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया सङ्गठन समितिको बैठक श्रव्यदृश्यका माध्यमबाट शुरु भएको छ ।बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया सङ्गठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट श्रव्यदृश्यका माध्यमबाट जोडिनुभएको छ ।

माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम शृङ्खला हो । योस ँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ ।

बैठक सुरु गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य शृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा बृहत् भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो ।

बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेस प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा युरोप सङ्गठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट

काठमाडौँ, ६ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गर्नुभएको छ ।

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ले यही सातादेखि काठमाडौँमा आयोजना गर्न लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आउनुभएका मन्त्री छिरिङ र मन्त्री भण्डारीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । सो अवसरमा मन्त्री भण्डारीले नेपाल र भूटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको तथा जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूपरिवेष्ठित भूबनावट, हिमाली भूगोल, विकासका चुनौती र जलवायु परिवर्तनको सामना लगायतका विषय हाम्रा साझा मुद्दा हुन् ।”

.
भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले भूटानी मन्त्री छिरिङलाई बधाई ज्ञापन गर्नुभयो । “भुटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरुका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रका लागि महत्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको सङ्घीय संसद्ले नेपाल–भूटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

नेपाल र भूटानले दुई देशबीचको व्यापारको पूर्ण सम्भावनालाई साकार पार्न प्राथमिकतामा आधारित व्यापार वार्ता सम्झौता गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “नेपाल र भूटान दुवै संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन (नाम) र क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली सङ्गठन (सार्क) लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाका सदस्य रहेर र यी संस्थामा हाम्रा साझा विषयहरुमा पहल गरिरहेका छौँ ।”

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जलविद्युत् विकास, वातावरण संरक्षण, अर्गानिक कृषि प्रविधि, उद्योगको क्षेत्रमा भूटानी अनुभव, ज्ञान, सीप र प्रविधिबाट नेपालले लाभान्वित हुन चाहेको मन्त्री भण्डारीको भनाइ थियो । विकसित हुँदै गइरहेको व्यापार सम्बन्धले दुवै देशले आ–आफ्नो अर्थतन्त्रमा सकारात्मक योगदान गर्दै आर्थिक आदानप्रदानबाट प्राप्त हुने पारस्परिक लाभ लिन सकिने उहाँको भनाइ थियो । उहाँले नेपालले भूटानको सफल जलविद्युत् विकासबाट महत्वपूर्ण पाठ सिक्न सक्ने बताउनुभयो । 

भूटानका मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । उहाँले धार्मिक रुपमा भुटानी नागरिकलाई स्वयम्भू र लुम्बिनी भ्रमणमा नेपाल सरकारले सहजता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । साथै मन्त्री छिरिङले दुई देशबीच विद्युत्को क्षेत्रमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपालीका लागि क्यानडा उपयुक्त शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीका लागि जुनसुकै देस शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन्।
शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाले स्वविवेकले छनोट गर्न सुझाए।

उनले नेपाली युवाका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहे पनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए। उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए।

‘विद्यार्थीलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ। आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन्। आफूमा भएको ऊर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन्। यद्यपि, पछिल्लो समय क्यानाडा धेरै नेपालीको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुईमत छैन,’ उनले भने।

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाको रोजाइमा रहेको बताए।

उनले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देस बाहिर आए पनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए। कार्यक्रममा २५ बढी लोकप्रिय कलेज र विश्वविद्यालयले परामर्श सेवा उपलब्ध गराएका थिए। उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिले सयौं विद्यार्थीलाई परामर्श दिएका थिए।

‘क्यानडाले लिएको नयाँ नीतिप्रति नेपाली विद्यार्थी निराश हुनपर्दैन’

काठमाडौं । क्यानडाले विदेशी विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको संख्या कम गर्नेलगायतका नीतिहरू लागू गर्न थाले पनि त्यसले नेपाली विद्यार्थीहरूमा ठुलो असर नपर्ने परामर्शदाताहरूले दाबी गरेका छन् । आवश्यक प्रक्रिया पुर्‍याउने विद्यार्थीहरूका लागि नयाँ नीतिले थप सहजीकरण गरेको उनीहरूको भनाइ छ ।

क्यानडाले देशको आर्थिक अवस्था र श्रम बजारको आवश्यकतालाई ध्यानमा राख्दै अध्यागमन नीतिमा सामान्य फेरबदल ल्याएको थियो । सरकारले विदेशी विद्यार्थीको संख्या कटौती, अस्थायी विदेशी कामदारको संख्या कटौती, अध्ययनपछि दिइने वर्क परमिटमा कडाइ जस्ता नीति लिने क्रम जारी राखे पनि न्यूनतम प्रक्रिया पुर्‍याउने विद्यार्थीको हकमा समस्या नपर्ने नेपाली परामर्शदाताहरूको दाबी छ ।

वानेश्वरमा रहेको गोरेटो एजुकेशनल कल्सल्यान्सीका प्रबन्ध निर्देशक धिरज कंडेल पछिल्लो समयमा वैदेशिक अध्ययनको लागि जाने विद्यार्थीको संख्या बढिरहेका बेला क्यानडा जानेहरूको संख्यामा उल्लेखनीय रूपमा कमी आएको भन्ने किसिमका समाचारहरूमा सत्यता नभएको बताए । ‘यसबीचमा केही समाचारहरू धेरै नै नकारात्मक आए । तथ्यको गहिराइमा नपुगी सतही रूपमा विद्यार्थीको मनोविज्ञानमा असर गर्ने किसिमका समाचार आए । क्यानडामा काम पाइँदैन, बस्नको लागि समस्या छ भन्ने किसिमका नकारात्मक कुराहरू आए त्यो सत्य थिएन । त्यो सही सूचना थिएन । सरकारी नीतिमा परिवर्तन आउँदैमा ठप्प भयो भन्नु र समस्या भयो भन्नु गलत हो,’ उनले भने,‘हामीसँग क्यानडाका लगभग २३–२४ भन्दा बढी कलेज र विश्वविद्यालयका प्रतिनिधिहरू नेपालमै आएर हाम्रो परामर्श कार्यक्रममा सहभागी हुनुभयो । उहाँहरूको आगमनले क्यानडामा नेपाली विद्यार्थीलाई समस्या छैन भन्ने नै हो ।’

क्यानडा सरकारले जहिले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्दै आइरहेको भए पनि पछिल्लो केही महिना अन्य देशका विद्यार्थीहरूको संख्यामा बढी भएकाले नयाँ नीति लिनुलाई सामान्य मान्नुपर्ने उनको धारणा छ ।

‘विद्यार्थीको संख्यामा आएको वृद्धिका कारण केही समय समस्या आएको कुरामा सत्यता छ तर ठप्प भएको भन्ने हल्ला गलत छ । व्यवस्थित र दिगो समाधानका लागि नयाँ नियम आउँदैमा हामी आत्तिनु पदैन् । क्यानडामा विद्यार्थीले पढिसकेपछि जुन पाउने सेवा सुविधा हुन्छ त्यसमा पुनरावलोकन गर्दै केही महिनाभित्र सहजीकरण गर्ने कुरा सरकारले नै बताइसकेको छ,’ उनको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) विश्व वातावरण कानुन आयोगले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ का केही व्यवस्था हटाउन माग गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै संशोधनमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थप गरिएको दफा ५ क र ६ (१ क) को व्यवस्था हटाउनुपर्ने माग गरेको हो । संशोधित व्यवस्थाबाट नेपालले संरक्षण क्षेत्रमा पुर्‍याएको योगदानलाई कुण्ठित गर्दै विश्वभरि नकारात्मक सन्देश जाने भन्दै सो व्यवस्था हटाउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अध्यक्ष एवं पूर्वन्यायाधीश डा. रवि शर्मा अर्यालले राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र आफैँमा संवेदनशील रहेको र अन्तर्राष्ट्रिय मूल्य, मान्यता र परिभाषा विपरीत ती क्षेत्रभित्र पनि अर्को अति संवेदनशील क्षेत्र तोकी सङ्कुचन गर्न खोजिएकाले उक्त व्यवस्था हटाउनुपर्ने बताए। “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थप गरिएको दफा (५ क) मा उल्लेखित व्यवस्थाअनुसार राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्रको कुनै क्षेत्रलाई नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अति संवेदनशील क्षेत्र तोक्न सक्ने भनी व्यवस्था गरिएको छ”, उनले उल्लेख गरेका छन् । “उक्त संशोधनले संरक्षण क्षेत्रको सिद्धान्त विपरीत राष्ट्रिय निकुञ्ज र आरक्षजस्ता संरक्षित क्षेत्रमा रहेको बाध्यात्मक सर्तलाई निस्तेज गरी सरकारको स्वेच्छा र स्वविवेकमा छोडिएको देखियो । यस प्रकारको स्वैच्छिक एवं स्वविवेक प्रयोग गर्न सकिने व्यवस्थाबाट नेपालको संविधानको धारा ३० (३) को मर्म र भावना अनुरूप वातावरण र विकासबीच समुचित सन्तुलन कायम हुने देखिँदैन ।”

विकासको नाममा संरक्षित क्षेत्रभित्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृत आयोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा संरक्षित क्षेत्रको प्रकृति र प्राकृतिक स्रोतको अन्धाधुन्ध शोषण हुनसक्ने र जसले वातावरणीय असन्तुलन पैदा हुन जाने विज्ञप्तिमा उल्लेख छ ।

“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थप गरिएको दफा ६ (१ क)ले अस्तित्वमा रहेको स्रोतको उपयोगका नाममा गरिने लगानीले ती स्रोतको शोषणमा मानवीय हस्तक्षेप गराउने आधार सृजना गरेको छ । यसर्थ वन तथा वातावरण र संरक्षित क्षेत्रसम्बन्धी कानुनी व्यवस्थालाई निस्तेज गर्ने दुरासयपूर्ण मनसाय रहेकाले उक्त दफा ५ क र ६ (१ क) संशोधन गर्न, हटाउन जोडदार माग गर्दछौँ”, विज्ञप्तिमा अगाडि भनिएको छ । संरक्षण क्षेत्रको परिभाषा र सिद्धान्त विपरीत कानुनको संशोधन थप गर्ने व्यवस्थाले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेको प्रतिष्ठामा समेत नकारात्मक असर पर्ने संघले जनाएको छ ।

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौँ, ६ असोज : समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताउनुभयो ।

वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको जनाइएको छ ।

स्याङ्जाको कालीगण्डकीका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।

स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बङ्गुर मरेपछि लगानी डुब्ने डरले बङ्गुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बङ्गुरपालन सुरु भएको बताउनुभयो । चालीस जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका पाठापाठी र माउ बङ्गुर रहेका छन् ।

स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिनुभयो । “विदेश जान लाग्नुभएका श्रीमान्लाई गाउँमै रोकेकी छु । फार्मका बङ्गुर राम्रै भएका छन्”, उहाँले भन्नुभयो, “बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार ५०० भाडा तिर्नुपर्छ । एक परिवारले पाँचवटासम्म माउ बङ्गुर राखेका छन् । पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ ।”

रानाले बङ्गुर पाल्न सके बजारको समस्या नहुने बताउनुभयो । “यहाँ धार्नीलाई रु नौ सय छ । गाउँमा बङ्गुर काट्दा मासु खोसाखोस हुन्छ । पाल्न सके बङ्गुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्”, उहाँले भन्नुभयो ।

कृषि र पशुपालनमा साढे तीन करोड बजेट

कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको कृषि तथा पशुपालनको माध्यमबाट गरिबी निवारण गर्ने र समृद्धि हासिल गर्ने लक्ष्य छ संस्थाका कालीगण्डकी प्रमुख दीपक विश्वकर्माले गाउँपालिकाको रु दुई करोड ४५ लाख र हेफरको रु एक करोड पाँच लाखमा कृषि तथा पशुपालनका क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा विसं २०७९ चैत १७ गते आयोजना सुरु भएको थियो । “हालसम्म एक सय २४ वटा साना खोर तथा बङ्गुर र बाख्राका तीन–तीनवटा नमूना खोर निर्माण गरेका छौँ । दुई सय ३० वटा बीउ बाख्रा र बीउका लागि एक सय ७० वटा बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, विश्वकर्माले भन्नुभयो ।

यसैगरी १२ वटा भैँसी र तीनवटा गाई खरिदमा ४० हजार अनुदान, नश्ल सुधारका लागि २९ वटा समूहमा बोका वितरण, २७ वटा भकारो निर्माण, साझेदार फार्म तथा व्यक्तिका लागि १५ वटा चापकटर र १० किलो काँटा वितरण, मिर्मीमा डेरी स्थापनाका लागि रु सात लाख अनुदान, बेल्टारीमा घाँस स्रोत केन्द्र स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

लुकाइछिपाई ल्याएको अबस्थामा धुलिखेलबाट छब्बीस बाक्सा पटाका बरामद

काभ्रेपलाञ्चोक । बिपी राजमार्ग सडकखण्ड अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रे भञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिंगल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो ।

यस्तै, खुर्सानी लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७-१८ का दरले जम्मा दुई सय ३९ बण्डल (प्रतिबण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले) गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ । यसरी लुकाइछिपाई पटाका पटाकासहित ट्रक नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । ला लागू औषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो ।

जिल्लामा हाल करिब १० हजार लागू औषध प्रयोगकर्ता रहेको लागु औषध उपचार तथा पुनः स्थापना केन्द्र महासंघका संयोजक रमेशकाजी महर्जनले बताए । “ लागू औषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको छ”, उनले भने “दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवाले दुर्व्यसनमा लागेर जीवन बर्बाद गरिरहेका छन् ।” जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उनको अनुमान छ ।

यहाँ लागू औषध न्यूनीकरणका लागि २० वटा पुनः स्थापना केन्द्र रहेका छन् भने तीमध्ये दुई महिला पुनः स्थापना केन्द्र छन् । “बीस पुनः स्थापना केन्द्रमार्फत चार सय लागू औषध प्रयोगकर्तालाई स्वास्थ्य तथा व्यवहार परिवर्तनका लागि सेवा प्रवाह गरिएका छौँ । दुई महिला पुनः स्थापना केन्द्रमा ५० महिलालाई राखेर सुधारको प्रयास भइरहेको छ”, संयोजक महर्जनले भने।

पछिल्लो पटक लागूपदार्थ प्रयोगको स्वरूपसमेत परिवर्तन भएकाले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको लागू औषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले बताए। विगतमा धुँवाका रूपमा प्रयोग हुने ब्राउन सुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए। नेपालगञ्ज हुँदै लागूपदार्थ अफिम र चरेस भारततर्फ जाने र भारतबाट ब्राउन सुगरलगायत मनोदिपक पदार्थ (नार्कोटिक ड्रग) नेपाल भित्रने गरेको जानकारी दिँदै क्षेत्रीले समस्या समाधानका लागि राजनीतिक दल र राज्यले थप प्रभाकारी कार्यक्रम अगाडि सार्नुपर्ने आवश्यकता औँल्याए ।

लागू औषध कारोबार बढ्दै जाँदा यहाँका युवापुस्ता दुर्व्यसनको उच्च जोखिममा छन् । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पनि लागू औषध कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागू औषध नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको बताए। उनले सबै मिलेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए। डाँगीकानुसार गत आर्थिक वर्ष २०८०र८१ मा जिल्ला प्रहरी कार्यालयमा लागू औषधका एक सय ७७ मुद्दा दर्ता भएका थिए । लागू औषधमा संलग्न दुई सय ६४ लाई पक्राउ गरी नौ सय २५ ग्राम बढी ब्राउन सुगर नियन्त्रणमा लिइएको थियो । त्यसअघि आव २०७९र८० मा एक सय ५७ मुद्दा दर्ता भएकामा दुई सय ३६ जना पक्राउ पर्नुका साथै आठ सय ८२ ग्राम ब्राउन सुगर र छ किलो गाँजा बरामद गरिएको थियो ।

जिल्लामा आव २०७८/७९ मा एक सय ३४ लागु औषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएकामा दुई सय १२ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । “ लागू औषध नियन्त्रणका लागि सीमापारि भारतीय सुरक्षा निकायसँग समन्वय गर्नेदेखि गाउँ-गाउँमा चेतनामूलक कार्यक्रमलाई अघि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक डाँगीले भने, “पछिल्लो समय ग्रामीण क्षेत्रका युवापुस्ता पनि लागू औषधको उच्च जोखिममा छन् । यस्ता क्रियाकलाप रोक्न स्थानीय सरकार, सरोकारवाला र अभिवाकहरू सचेत बन्नुपर्ने आवश्यकता छ ।”

मुस्ताङको लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु

म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ ।पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो ।

गत साउन २९ गते रु. तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ मा ठेक्का सम्झौता गरे अनुसार निर्माण कम्पनीले सडक ढलानका लागि प्रारम्भिक चरणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले जानकारी दिए। सम्झौताअनुसार विसं २०८२ माघ २८ गतेसम्म काम सक्ने गरी नाली निर्माण र दुई किलोमिटर लम्बाइ र सात मिटर चौडाइमा आरसिसी ढलान गरिने उनले बताए। आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. ९६ लाख विनियोजन गरेको छ ।

कच्ची सडकको धुलो र हिलोले स्थानीयवासी तथा पर्यटकलाई प्रभावित बनाएपछि मौलिकतालाई असर नपर्ने गरी सडक ढलान गर्न लागिएको लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताए। यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ र लोमान्थाङ गाउँपालिकाले यहाँको सडक, पैदल मार्ग र गल्लीमा ढुंगा बिछ्याएका थिए । यहाँ पर्खालभित्रको मागमा दरबार, गुम्बा र पुरानो बस्ती रहेको छ भने बाहिर पनि नयाँ बस्ती छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको रु. एक करोड २७ लाखको लागतमा पर्खालभित्रको पदमार्गमा चार हजार ४४ दशमलव २५ वर्ग मिटर क्षेत्रफलमा स्लेटढुंगा छाप्ने काम भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाको रु. ६५ लाख २८ हजारको लागतमा स्लेटढुंगा छपान गर्ने काम भएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएकाले पनि उच्च महत्त्व दिएर सुधारका काम भइरहेका उनले बताए ।

चोक र सडक छेउमा एक सय ५० वटा सडक बत्ती जोडेर रातको समयमा पनि उज्यालो बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ । तीस फिटभन्दा अग्लो पर्खालले घेरिएको बस्तीको बीचमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब दुई सय वटा माटोले बनेका घर छन् । पर्यटकहरू यहाँको प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली अवलोकनका लागि आउने गरेका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयांक एकको खरिद दर एक सय ५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिंगापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ २१ पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०४ पैसा र बिक्री दर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । विसं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो । त्यसयता अस्पतालमा बिरामीको चाप निकै बढेको छ तर अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल रेकर्डर हेरम्ब आचार्यले बताए।

अस्पताल प्रशासनले बिरामीको चाप बढेपछि हाल ७८ शय्यामा सेवा दिइरहेको छ तर स्वीकृत दरबन्दी १५ शय्याको मात्र हुँदा जनशक्ति व्यवस्थापनको समस्या पेचिलो बनेको उनले बताए । “जिल्ला अस्पताल भनेपछि बिरामीको चाप दिनानुदिन बढ्दै गएको छ, हामीले बाध्यताले शय्या थप गर्यौँ तर जनशक्ति कम छ, पूर्वाधार र संरचनाको समस्या उस्तै छ”, आचार्यले भने,“नगर अस्पताल नै १५ शय्यामा सञ्चालन भएको थियो । जिल्ला अस्पतालसमेत सोही बराबरको स्वीकृतिमा सञ्चालन गर्दा निकै समस्या भोगिरहेका छौँ ।”

अस्पतालमा उपचारका लागि आउनुभएका अरुणखोलाका गुणाखर गिरीले सामान्य जाँचका लागि पनि दिनभर बिताउनुपर्ने अवस्था रहेको गुनासो गरे। टिकट काट्नदेखि चिकित्सकलाई देखाउन धेरै समय लाग्ने गरेको र प्रयोगशालामा जाँच गराएको रिपोर्ट प्राप्त गर्न पनि उस्तै समस्या रहेको उनले सुनाए । “ज्वरो आएर जिल्ला अस्पतालमा डाक्टर खोज्दै आउँदा दुःख पाइयो, झन् बिरामी भइएलाजस्तो भयो । जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन आवश्यक छ”, गिरीले भने ।

जिल्ला अस्पतालमा हाल दैनिक सरदर चार सय बिरामीले सेवा लिने गरेका छन् । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने पहल भए पनि गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपुर्याउँदा सो योजनाले मूर्त रूप पाउन सकेको छैन । अस्पतालमा हाल एक सय ५५ जना कर्मचारी छन् तर स्वीकृत दरबन्दी भने ३१ मात्र रहेको छ । अरु करार र विभिन्न कार्यक्रमतर्फका कर्मचारीले अस्पताल चलाउनुपर्ने अवस्था रहेको मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यले जानकारी दिए ।

“अस्पताल समितिले जेनतेन अस्पताल सञ्चालन गरिरहेको छ तर कर्मचारी, पूर्वाधारको समस्याले दैनिक सरदर चार सय बिरामीलाई सेवा दिन निकै समस्या छ । पचास शय्यामा स्वीकृत भए प्रदेशबाट जनशक्ति थप भई सेवा दिन सहज हुने थियो । त्यसैले यो प्रक्रिया छिटो टुङ्ग्याउँन हाम्रो आग्रह छ”, उनले भने ।

शय्या थप नहुँदा भोग्नुपरेका समस्या त छँदैछन् । अस्पतालले जग्गाको भोगाधिकारसमेत प्राप्त गर्न सकेको छैन । दश दशमलव ४९ हेक्टर जमिन अस्पतालले उपभोग गर्दै आएको भए पनि दुई दशमलव पाँच हेक्टरमात्र स्वामित्वमा रहेको अस्पताल प्रशासनले जनाएको छ । बाँकी जमिन भोगाधिकारका लागि पहल नभएको होइन तर त्यो प्रयास सफल भएको छैन । यसले गर्दा दातृ निकायबाट आउने सहयोग प्राप्त गर्न पनि समस्या भइरहेको मेडिकल रेकर्डर आचार्यले बताए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागकमनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो ।
यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको संख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको संख्या दुई हजार ९७९ रहेको तथ्याङ्क छ ।

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेर एक सय शय्याबाट सुरु भएको अस्पतालमा हाल पाँच सय शय्याबाट सेवा प्रवाह भइरहेको छ । यसैबीच, अस्पतालले आफ्नो वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाउने जनाएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराउँदै असोज १० मुख्य कार्यक्रम रहेको जानकारी दिए ।

अस्पतालले रक्तदान, ३० वर्षदेखि ५० वर्षसम्मका महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बाल क्यान्सरसम्बन्धी सचेतना, विदेशी विज्ञसहितको गोष्ठी, म्याराथुनलगायत कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको अध्यक्ष डा न्यौपानेले बताए ।

दिपायलका चार युवा मिलेर सुरु गरे १८ रोपनी जमिनमा व्यावसायिक बेसारखेती

काठमाडौँ, ५ असोज : डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् ।

वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् ।

प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताउनुभयो । “एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो । योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर का सुरु ग¥यौँ । अनलाइनका माध्यमबाट रु एक लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेका थियौँ”, उहाँले प्रारम्भिक योजनाबारे सुनाउनुभयो ।

दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ । एकपटक बेसारको गोडमेल पनि भइसकेको छ । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको र त्यसका लागि केहीसँग सामान्य कुरा भए पनि ठोस निर्णय भइनसकेको खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।”

उहाँहरूले बेसारलाई मात्रै होइन पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाउनुभएको छ । बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ ।

कृषक तेज द्वारियाले बेसारको व्यावसायिक उत्पादनका लागि पहिलो चरणको काम सम्पन्न भएको र अब उत्पादनको बजार हेरेर थप योजना अगाडि बढाइने बताउनुभयो । अपेक्षा गरेअनुसार कारोबार भएमा करिब ५० रोपनीमा खेती विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । “हामीले खेती गरेको वरपरको ३०–३५ रोपनी जमिन खाली नै छ, त्यो जमिनवालाले पनि बेसार रोप्नुस् भनेका छन्, यो वर्ष राम्रो कारोबार भएमा अर्को वर्ष ५० रोपनीभन्दा बढी जमिनमा खेती विस्तारको योजना छ”, द्वारियाले भन्नुभयो ।

बेसारखेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।

गाजामा चिकित्सा क्षेत्र गम्भीर अभावको अवस्थामा

गाजा । गाजाको स्वास्थ्य मन्त्रालयको फिल्ड अस्पतालका निर्देशक डा मारवान अल हम्सले चिकित्सा क्षेत्र इन्धन, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको अवस्थामा रहेको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयको गोदामबाट औषधिको ६५ प्रतिशत भण्डारण, चिकित्सा आपूर्तिसहित सघन उपचार सामग्रीको ८५ प्रतिशतभन्दा बढी सकिएको र अभावले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई असर गरेको कतार समाचार एजेन्सी (क्यूएनए) सँग कुरा गर्दै अल हम्सले बताए ।

अस्पतालहरूमा सबै बर्न युनिटहरू इजरायली सेनाको आक्रमणमा ध्वस्त भएको उनको भनाइ छ । यसबाहेक, इजरायली आक्रमणबाट अस्पतालहरूको लक्षित विनाशको कारणले आवश्यक चिकित्सा उपकरणहरूको अभाव रहेको उनले बताए ।

इजरायली पक्षबाट बारम्बार जमिनी आक्रमण हुँदा सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधारलाई जानाजानी निशाना बनाउने गरेको उनको दावी छ । चिकित्सा क्षेत्रमा नाकाबन्दी लगाएकाले भारी बोझको सामना गर्न तत्काल थप फिल्ड अस्पतालको स्थापनाको आवश्यकता रहेकोबारे उनले जोड दिएका छन् ।

कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले भने,’हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।’

यसैबीच, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच आजै राष्ट्रसङ्घ भवनमा स्थानीय समयानुसार अपराह्न ५:१५ बजे भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न छन् ।

लोकतन्त्रमा दल बलियो हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, ६ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखेरलले लोकतन्त्रमा दल बलियो हुनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा एमाले घोराही उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उहाँले राजनीतिक स्थिरता र विकासका लागि दलहरू बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले हाम्रो संविधान मौलिक अधिकारका दृष्टिले उत्कृष्ट रहेको बताउनुभयो । “कमजोर राज्य भयो भने जनताका पक्षमा काम गर्न सक्दैन, त्यसैले जनता र राज्यबीचको सम्बन्ध गहिरो बनाउन लोकतन्त्रमा राजनीतिक दल बलिया हुनुपर्छ”, उहाँले भन्नुभयो, “एमालेले सङ्कल्प गरेको छ, अठोट गरेको छ की मिसन ८४ का माध्यमबाट एकल बहुमतको सरकारको नेतृत्व गर्न चाहन्छौँ ।”

महासचिव पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वले मुलुकको विकासलाई पछि धकेलेको कुरा गर्नै नपाउने गरी माओवादीले कुरा गर्नु गलत भएको उल्लेख गर्नुभयो । मुलुकका ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले देशले गति लिने उहाँको भनाइ थियो । कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

विदेशिए गोठाला, हराए गोठ

काठमाडौँ, ६ असोज : मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।

बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैँसी पाल्ने चलन हराउन थालेको बताउनुभयो । अढसठ्ठी वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएको छ । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उहाँ आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा हुनुहुन्छ ।

“देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्”, उहाँले भन्नुभयो, “वृद्धहरूको भरमा गोठ धानिएका छन् ।”

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै जानुभएको छ । पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाउनुभयो ।

“पहिले एक सय भेडाबाख्रासँगै आठ–दशवटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथँे । गाईभैँसी बेचेर सकिए । चालीसवटा भेडाबाख्रा छन्”, उहाँले भन्नुभयो, “छोराछोरीले यो पेशा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन् । वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।

“गोठ बस्ने गोठाला पाइनै छाडे”, पाँच सय भेडा पालेका उहाँले भन्नुभयो, “भेडाबाख्रा बेचेर वर्षमा रु आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ ।” मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक रु एक लाख ५० हजार तलब छ ।

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताउनुभयो । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मानेका छन् ।

धवलागिरि गाउँपालिका–३ मुनाका ७७ वर्षीय गङ्गाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिककार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो । “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे”, उहाँले भन्नुभयो, “ट्रयाक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताउनुभयो । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् ।

पर्यटन प्रवर्द्धनका लागि तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा बृहत् ताल निर्माण सुरु

काठमाडौँ, ६ असोज : तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयोे । “आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित यहाँ ताल निर्माण सुरु गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ”, अध्यक्ष चुमानले भन्नुभयो । उहाँले यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको सुनाउनुभयो ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको र ताल निर्माणपछि आन्तरिक पर्यटक वृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँकानुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताका रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको छ । त्यसैले माछा मरेमा पुजारीले खाल्डो खनेर अन्त्येष्टि गर्दै आएका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । यहाँ हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ग्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको हो । पृथ्वीराजमार्गको सत्रसयबाट साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । त्यसमध्ये करिब एक किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यहाँ रहेको मन्दिर, २३ वटा धारालगायतले पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बलि दिने प्रचलन पनि छ । धार्मिक तथा पर्यटकीयस्थल भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि पनि यहाँ टाढा–टाढाबाट मानिस आउने गरेका छन् ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचनाले यहाँको सुन्दरतामा थप महत्व थपेको छ । यहाँ तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो । “यहाँ दर्शन गरेमा मनले चिताएको विश्वास रहेकाले टाढा-टाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् । पछिल्लो समय पर्यटकी पूर्वाधार निर्माण, सडक कालोपत्र भएकाले थप सहज भएको छ । अब ताल निर्माण भएमा थप आकर्षण गर्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल

काठमाडौँ, ६ असोज : हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ । यहाँ ‘याक र हिउँचितुवा’को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल रौनकले मनाङवासी व्यस्त छन् ।

बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउण्डेशनको संयुक्त आयोजनामा मनाङमा यस मैत्रीपूर्ण खेलले निरन्तरता पाइरहेको छ । मनाङको प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएर स्थानीयवासीमा हिउँचितुवा, याकलगायत वन्यजन्तुको संरक्षणमा लाग्न अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा सूचित गर्ने तथा पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भइरहेको छ । त्यस्तै तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा यही असोज ६ गते मैत्रीपूर्ण खेल प्रदर्शन हुने जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा पारसविक्रम सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मनाङको जैविक विविधताको संरक्षणका लागि खेलकुदको माध्यमबाट यहाँका स्थानीयवासीमा सचेतना र सुसूचित गराउने उद्देश्यले मैत्रीपूर्ण खेल गर्दै आएका छौँ । यसले यहाँको जैविक विविधता संरक्षणका लागि हाम्रो जीवनसँग जोडिएको हिउँचितुवा र याक महत्त्वपूर्ण छन् । यीबिना हाम्रो जीवन छैन । जसले गर्दा प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन कार्यक्रम गर्दै आएका छौँ ।”

स्पर्धामा टोली हिमालयन स्नो लिवपर्ड (राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडी, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता) र स्थानीय खेलाडी टोली कान्जिसरा याक र मनाङ ङिस्याङ याक स्थानीय युवाहरू)बीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गराइने आयोजक एन्ट फाउण्डेशनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार काजिनसरा याकको खेल सकिएको छ भने मनाङ ङिस्याङ याकको खेल आज हुँदैछ ।

हिमालयन स्नो लिवपर्डमा कालाकार प्रशान्त ताम्राकार, मेनुका प्रधान, सुशील श्रेष्ठ, रेशमा पुन र असुसेन लामा रहनुभएको छ । यस्तै खेलाडी अनिल गुरुङ, अस्मिता रान्पाल, राजेन्द्र लामा र विनोद डङ्गोल रहनुभएको छ । प्रतिस्पर्धामा मिस नेपाल वल्र्ड आस्माकुमारी केसी, मिस्टर नेपाल सन्तोष लोकसुम, पर्वतारोही माया शेर्पा, निर्देशक (हिमालयन रोडिज, पोयट आइडोल) अमन प्रताप अधिकारी, संरक्षणविद् डा पारसविक्रम सिंह, आँखा विशेषज्ञ डा किशोर प्रधान र उद्घोषक महिमा पण्डित भट्टराई रहेको आन्ट फाउण्डेशनले जनाएको छ ।

मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजन रहेको छ । मैत्रीपूर्ण खेलले यहाँका स्थानीयमा सचेतना जगाउन टेवा पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष आयोजना भएको मैत्रीपूर्ण खेलमा भएको सूचनाले यहाँका स्थानीयवासीमा हिउँचितुवा, याकका साथै हाम्रो जीवनसँग परस्पर जोडिएको जीवजन्तुको संरक्षण गर्नुपर्ने रहेछ भनेर सचेत भएको पाएका छौँ ।”

जैविक विविधताको संरक्षणमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले नै खेलकुदको माध्यमबाट सचेतना फैलाउन लागिपरेको हो । यसले जिल्लाका स्थानीय तह र आम नागरिकमा सचेतना वृद्धि भएको स्थानीय बताउँछन् । केही स्थानीय तहले वन्यजन्तुको संरक्षणका लागि विशेष रूपमा नै बजेटको व्यवस्थापनमा समेत जोड दिँदै आएको छ । ‘हिउँचितुवा र याकका लागि सँगसँगै’ भन्ने नाराका साथ जिल्लाका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल सञ्चालन भइरहेका छन् ।

मिथिलाक्षेत्रमा सन्तानवती मिथिलानी जितीयाको पूर्वतयारी

काठमाडौँ, ६ असोज : पितृपक्ष सुरु भयो कि मधेसको मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु हुन्छ । महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू अहिले जितियाको तयारीमा छन् । पितृपक्ष (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने यो व्रत यसपालि आउने मङ्गलबार परेको छ ।

असोज कृष्णपक्ष अर्थात् पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो व्रत कमसेकम एक अहोरात्रको हुने चलन छ । अष्टमी तिथि टेकिएकै दिन गरिने यो व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमी एक घडी कटाएरमात्र समापन गरिन्छ । यसअनुसार यसपालि आउने मङ्गलबार साँझ ६ः०० अष्टमी तिथि लाग्ने हुँदा सोही दिन सन्तानवती मिथिलानीले व्रत गर्ने निधो गरेका छन् । कमसेकम एक अहोरात्रको व्रत विधानले सोमबार मध्यरातअघि ओगटन (दर) खाएका मिथिलानीले बुधबार साँझ ५ः४५ बजे नवमी तिथि लागेपछि व्रत समापन गर्नेछन् ।

यसपालिको व्रत अवधि झण्डै ४० घण्टाको हुने व्रतको तयारीमा रहेकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारू बताउनुहुन्छ । सन्तानको सौर्यवृद्धि र सद्गुणको कामनाका साथ गरिने यो पर्वका बर्तालु आमाले आफ्ना सन्तान परोपकारी र आपत्मा परेकाहरूलाई सघाउनसक्ने होउन् भन्ने इष्टदेवसँग पुकारा गर्छन् । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै सन्तानवती आमाहरू आफ्ना सन्तान सुयोग्य हुने कल्पना गर्छन् ।

जितिया व्रत छोराका लागि बस्ने केही वर्ष पहिलेको मिथिलाको चलन अब परिष्कृत हुँदै गएको छ । अब बर्तालु आमाले यो व्रत आफ्ना सन्तानका लागि गरिएको बताउन थालेपछि छोरीहरूले पनि सन्तान हुनुको गर्वानुभूति गर्न थालेका महिला नेतृ मञ्जु यादव बताउनुहुन्छ ।

छोराका लागि व्रत भनिँदा छोरीहरूप्रति विभेद भएको कुरा मधेसमा महिला अधिकारकर्मीहरूले सघन रूपमा उठाएपछि अचेल सन्तानका लागि व्रत गरिएको भन्ने चलन चलेको सम्सीको गेढाभेटपुरकी अगुवा महिला रेखा झाकोे भनाइ छ । मधेसका मिथिला क्षेत्रका थारू बाहुल्य बस्तीमा यो पर्वको बढी चर्चा हुनेगर्छ । मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भए पनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष सुरु हुनासाथै गरिन थालिन्छ । झुरुमुट्ट घरैघर देखिने थारू बस्तीमा सबै जितीया केन्द्रित सरसफाइ र अन्य तयारीमा लागेपछि यहाँ यो पर्वको रौनक केही दिन पहिले नै देखिन्छ ।

देवदूत मानिने जितवाहनको आराधना गरिने यो पर्व निष्ठा र सन्तानप्रतिको समर्पणभावको प्रतीक मानिन्छ । व्रतको अभिष्ठ नै उपकारी सन्तान हुन् भन्ने हुँदा धन, वैभव र सुखसयलका कुरा यो पर्वमा आमाहरूले सोच्दैनन् । ‘सबदिस स तोहर बेटाबेटी बड सज्ञान अई कहल सुन पाबी’ (सबैतिरबाट तिम्रा सन्तान ज्ञानी छन् भनेको सुन्न पाऊँ) व्रतको तयारीमा रहेकी बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्नुहुन्छ, “हमर बेटा÷बेटी ककरो धारबिगार नई करोक, भगवान् जितवाहन’क आशिर्वाद स हमर सन्तानसब सत्यपर चलवाला आ उपकारी बनौक’ (मेरा छोराछोरीले कसैको बिगार नगरुन्, भगवान् जितवाहनको कृपाले मेरा सन्तान सत्यको पक्षमा हिँड्ने र उपकारी बनुन्) ।

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि एक घडि कटाएर व्रत समापनको परम्परा छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडि पूर्व नै खाइसक्नु पर्ने व्रत विधान रहेको बर्तालु बताउँछन् । यद्यपि व्रत सरल बनाउन नयाँ पिँढीका आमाहरूले व्रतको दिन सूर्योदय हुन एक घडी (साढे दुई घण्टा) अघि ओगटन खान सकिने बताउन थालेका छन् । यसरी व्रत लिनेका लागि पनि ३६ घण्टाको व्रत हुने देखिन्छ ।

जितिया पर्वको ‘ओगटन’मा दही, चिउरा खाने चलन छ । यस चलनले अहिले मिथिलाका बस्ती–बस्तीमा जितियाकै लागि शुद्ध दूधको जोहोमा व्रतको तयारीमा रहेका आमाहरू लगेका छन् । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।

मिथिलामा यो पर्व सबै आमाले निष्ठापूर्वक मनाउँछन् । “सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै शारीरिक तन्दुरुस्ती र सामाजिक इज्जत प्राप्त हुने जनविश्वास छ”, मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झा भन्नुहुन्छ, “समाजमा कुनै लुरे वा डरछेरुवा देखिए यसका लागि आमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्छन् ।” मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने झाको थप भनाइ छ ।

पर्वका बर्तालुले दिवङ्गत मातृवंश (आमा, सासू, फूपू, दिदी, जेठानी÷देउरानी आदि)लाई तृप्त गर्न तर्पण दिन्छन् । दिवङ्गत मातृवंशलाई तर्पण दिँदै आफ्ना सन्तानसँगको नाता खुलाएर उसको कल्याण गर भन्ने कामना हुन्छ । पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुुले त्यहीँ नै तीन पुस्ताभित्रका दिवङ्गत मातृवंश ( दिवङ्गत आमा, बज्यै, सासू, जेठानी, बूढीसासू, नन्द–आमाजु, जेठानी, देउरानी आदि)लाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरूको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवी बन्ने आशीर्वाद देऊ’ भन्ने कामना गरिन्छ ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख छ । यसकारण यो पर्वको थालनी भविष्यपुराणकै रचनाकाल द्वापरयुगमा सुुरु भएको मानिने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ :प्रधानसेनापति सिग्देल

काठमाडौँ, ६ असोज : ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ ।

प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य भएको स्पष्ट पार्नुभयो । भूकम्प र कोभिड–१९ महामारीलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार, राहत र उपचारमा राष्ट्रिय एकताका साथ गरिएको कार्यले उत्प्रेरणा प्रदान गर्दै असल नतिजा प्राप्त गर्न सकिएको सेनाको ठम्याइ छ ।

‘गौरवका आयोजनामा ढिलासुस्ती र अनियमिता अस्वीकार्य’

वर्तमान सैनिक नेतृत्वलाई पूर्वाधार निर्माणका हिसाबले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग र प्रतिरक्षा विश्वविद्यालय निर्माणसम्बन्धी कार्यादेशमा अतिउत्तम अङ्क प्राप्त गर्नुपर्ने चुनौती छ । दुवै आयोजना महारथी सिग्देलकै कार्यकालभित्र पूरा गर्नुपर्ने कार्यदेशसमेत छ ।

सैनिक सङ्गठनभित्र कुनै पनि प्रकारका ढिलासुस्ती, अनभिज्ञता, अनियमिततालगायत क्रियाकलाप अस्वीकार्य हुने नेतृत्वबाट विचार सार्वजनिक भइसकेको छ । प्रधानसेनापति सिग्देल भन्नुहुन्छ, “तहगत रूपमा तैनाथ कमाण्डरद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ ।”

संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोचका आधारमा सङगठनको सुदृढीकरण गर्दै लैजाने वर्तमान सैनिक नेतृत्वको अठोट छ । देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाइ र समान धारणा विकास गर्ने हेतुले प्रतिरक्षा विश्अघि बढाइएको हो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखी राष्ट्रको परराष्ट्र नीतिलाई टेवा पुर्याउन तथा सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उहाँले स्पष्ट पारिसक्नुभएको छ ।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवाविस्तारजस्ता महत्त्वपूर्ण क्षेत्रबारे प्राथमिकता निर्धारण गर्न मार्गनिर्देशन जारी गर्दै हुनुहुन्छ ।

सेनाका प्रवक्ता गौरवकुमार केसी वर्तमान नेतृत्वले व्यावसायिक चरित्र, अनुशासन र ‘चेन अफ कमाण्ड’का आधारमा संस्थागत सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुहुन्छ । सेनालाई आधुनिकीकरणतर्फ अघि बढाउन तालिम तथा बन्दोबस्तीका सामग्री चुस्त तुल्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यसम्पादनलाई उत्तिकै प्राथमिकता राख्ने विषय प्रधानसेनापतिको पहिलो सम्बोधनमा व्यक्त भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानसेनापतिसँग देश र जनताका हितमा काम गर्ने अथाह ज्ञान

नेपाली सेनाका पूर्वसहायक रथी धर्म बानियाँ राष्ट्रिय सुरक्षालाई सबल बनाउने भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय चुनौती विश्लेषण गर्दै नेपाल राष्ट्र र नेपाली जनताको कसरी हित गर्न सकिन्छ भन्ने विषयमा महारथी सिग्देलमा अथाह ज्ञान रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सैद्धान्तिक, व्यावहारिक, रणनीतिक कौशल र पेशागत सीपमा निपूर्ण महारथी सिग्देलले सेनालाई आधुनिकीकरण गर्दै लैजाने क्रममा आवश्यक उपकरणसहित हातहरितयार, सूचना सङ्कलन, तल्लो दर्जाका जनशक्तिलाई लक्षित गरी कल्याणकारी कार्य अघि बढाउन ध्यान पुर्याउनुहुने छ ।”

नेतृत्वबाट कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता व्यक्त भइसकेको छ । हिताधिकारीलाई बहिरङ्ग उपचार सेवाको वार्षिक सीमा पुनरावलोकन गरिने र द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने विषय पनि पहिलो सम्बोधनमै परेको छ ।

पूर्वसहायक रथी बानियाँ सरकारको अभिन्न अङ्ग हुनुका नाताले राष्ट्र विकासमा सेनाको भूमिकालाई थप विस्तार गर्न महारथीलाई सुझाव दिनुहुन्छ । सैनिक–नागरिक सम्बन्ध र सैनिक कूटनीतिक सम्बन्ध विस्तारमा पनि ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभयो । वर्तमान सैनिक नेतृत्वले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने विश्वास दिलाएको छ । सैनिक–नागरिक सम्बन्धलाई थप घनिष्ट तुल्याउन शिक्षा, स्वास्थ्य, कला संस्कृति, परम्परा, पर्यावरण संरक्षण तथा राज्यका सम्पदाहरूको सुरक्षामा पनि सेना तल्लीन छ ।

महारथी सिग्देल भन्नुहुन्छ, “समग्र संस्थाको हितमा काम गर्न, असल नियतले काम गर्ने मामिलामा नडराउन, व्यक्तिगत आकाङ्क्षा, कुण्ठा र सस्तो लोकप्रियताका लागि संस्थाको ‘तेजोबध’ नगर्न तथा मूलमन्त्रका रूपमा रहेको ‘सैनिक अनुशासन र मर्यादा’ कायममा उच्च ध्यान दिन आवश्यक छ ।”

भूगोल सुहाउँदो सैनिक ज्ञान, सीप र युद्धकला क्षमता वृद्धिका लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन समयसापेक्ष सुधार गरिने उहाँको सम्बोधनमा उल्लेख छ ।

विश्वमा शान्ति सैनिकको धेरै सङ्ख्या खटाउने मुलुकको सूचीमा पछिल्लो वर्षदेखि नेपाल शीर्षस्थानमा रहँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म विश्वका विभिन्न ४४ शान्ति मिसनमा एक लाख ५३ हजार एक सय आठ नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् भने हाल छ सय ७९ महिलासहित पाँच हजार नौ सय १८ शान्ति सैनिक ११ मिसनमा परिचालित छन् ।

शान्ति स्थापना कार्यका लागि सेनाले तालिम तथा बन्दोबस्ती सामग्रीको व्यवस्थापनमा विशेष पहलको अठोट व्यक्त गरेको छ । ‘बङ्कर टु ब्यारेक’, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायत कार्यलाई व्यवस्थित गर्दै राष्ट्रिय खेलकुद विकासलाई पनि प्राथमिकता दिएर काम गर्ने सेनाले जनाएको छ ।

नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्ने तथा राष्ट्रिय लक्ष्य हासिल गर्न सेना र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने विषय पनि सम्बोधनमा समेटिएको छ ।

राष्ट्रियता, जनता र सङ्गठनको पक्षमा दह्रो अभिव्यक्ति

पूर्वउपरथी जगदीशचन्द्र पोख्रेलले महारथी सिग्देलबाट सकलदर्जालाई भएको सम्बोधन र आफूसँग नजिकको चिनाजानीका आधारमा राष्ट्रियता, जनता र सङ्गठनको हितमा उहाँको दह्रो अभिव्यक्ति आएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “संस्थागत ‘इन्ट्रेस्ट’लाई कसरी कायम राख्ने भन्ने सन्दर्भमा विषयवस्तु प्रष्ट रूपमा आएको छ । प्रधानसेनापतिले सकलदर्जालाई आफ्नो कार्यकालमा अनुशासन, विधि र प्रणाली कसरी अघि बढ्छ भन्ने सुविचारित मार्गनिर्देश गर्नुभएको छ ।”

राष्ट्रिय सुरक्षा अवधारणालाई केन्द्रमा राखेर भएको मन्तव्यबाट राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विश्वविद्यालय अलि खटेरै काम गर्ने विषय आएका उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको द्रुतमार्गको जिम्मेवारी समयमै पूरा गर्ने मामिलामा कुनै अलमल नहोस् भन्ने प्रधानसेनापतिबाट स्पष्ट सङ्केत भएको प्रतिक्रिया दिनुभयो ।

सेनालाई ठिक बाटोबाट अघि बढाउन आन्तरिक अनुशासन कायम गर्ने, नियमित तालिम र प्रशिक्षणका आधारमा जनशक्तिलाई चुस्त तथा दुरुस्त राख्ने, विश्वशान्ति कार्यलाई प्रभावकारी तुल्याउने विषय सङ्गठन सुदृढीकरणका हिसाबले निकै महत्त्वपूर्ण र सान्दर्भिक रहेको उहाँको भनाइ छ ।

नेपाली सेनाका पूर्वप्रवक्तासमेत रहनुभएका पोख्रेलले भन्नुभयो, “उहाँको नेतृत्वमा सङ्गठनलाई अघि बढ्दा उपलब्धि हासिल गर्ने सन्दर्भमा आशा गर्ने धेरै ठाउँ छ, उहाँको नेतृत्वमा राष्ट्र र सङ्गठन सुधारमा पक्कै पनि धेरै काम हुने विश्वास लिएको छु ।”