`

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो ।
यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको संख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको संख्या दुई हजार ९७९ रहेको तथ्याङ्क छ ।

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेर एक सय शय्याबाट सुरु भएको अस्पतालमा हाल पाँच सय शय्याबाट सेवा प्रवाह भइरहेको छ । यसैबीच, अस्पतालले आफ्नो वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाउने जनाएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराउँदै असोज १० मुख्य कार्यक्रम रहेको जानकारी दिए ।

अस्पतालले रक्तदान, ३० वर्षदेखि ५० वर्षसम्मका महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बाल क्यान्सरसम्बन्धी सचेतना, विदेशी विज्ञसहितको गोष्ठी, म्याराथुनलगायत कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको अध्यक्ष डा न्यौपानेले बताए ।

दिपायलका चार युवा मिलेर सुरु गरे १८ रोपनी जमिनमा व्यावसायिक बेसारखेती

काठमाडौँ, ५ असोज : डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् ।

वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् ।

प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताउनुभयो । “एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो । योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर का सुरु ग¥यौँ । अनलाइनका माध्यमबाट रु एक लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेका थियौँ”, उहाँले प्रारम्भिक योजनाबारे सुनाउनुभयो ।

दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ । एकपटक बेसारको गोडमेल पनि भइसकेको छ । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको र त्यसका लागि केहीसँग सामान्य कुरा भए पनि ठोस निर्णय भइनसकेको खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।”

उहाँहरूले बेसारलाई मात्रै होइन पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाउनुभएको छ । बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ ।

कृषक तेज द्वारियाले बेसारको व्यावसायिक उत्पादनका लागि पहिलो चरणको काम सम्पन्न भएको र अब उत्पादनको बजार हेरेर थप योजना अगाडि बढाइने बताउनुभयो । अपेक्षा गरेअनुसार कारोबार भएमा करिब ५० रोपनीमा खेती विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । “हामीले खेती गरेको वरपरको ३०–३५ रोपनी जमिन खाली नै छ, त्यो जमिनवालाले पनि बेसार रोप्नुस् भनेका छन्, यो वर्ष राम्रो कारोबार भएमा अर्को वर्ष ५० रोपनीभन्दा बढी जमिनमा खेती विस्तारको योजना छ”, द्वारियाले भन्नुभयो ।

बेसारखेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।

गाजामा चिकित्सा क्षेत्र गम्भीर अभावको अवस्थामा

गाजा । गाजाको स्वास्थ्य मन्त्रालयको फिल्ड अस्पतालका निर्देशक डा मारवान अल हम्सले चिकित्सा क्षेत्र इन्धन, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको अवस्थामा रहेको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयको गोदामबाट औषधिको ६५ प्रतिशत भण्डारण, चिकित्सा आपूर्तिसहित सघन उपचार सामग्रीको ८५ प्रतिशतभन्दा बढी सकिएको र अभावले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई असर गरेको कतार समाचार एजेन्सी (क्यूएनए) सँग कुरा गर्दै अल हम्सले बताए ।

अस्पतालहरूमा सबै बर्न युनिटहरू इजरायली सेनाको आक्रमणमा ध्वस्त भएको उनको भनाइ छ । यसबाहेक, इजरायली आक्रमणबाट अस्पतालहरूको लक्षित विनाशको कारणले आवश्यक चिकित्सा उपकरणहरूको अभाव रहेको उनले बताए ।

इजरायली पक्षबाट बारम्बार जमिनी आक्रमण हुँदा सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधारलाई जानाजानी निशाना बनाउने गरेको उनको दावी छ । चिकित्सा क्षेत्रमा नाकाबन्दी लगाएकाले भारी बोझको सामना गर्न तत्काल थप फिल्ड अस्पतालको स्थापनाको आवश्यकता रहेकोबारे उनले जोड दिएका छन् ।

कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले भने,’हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।’

यसैबीच, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच आजै राष्ट्रसङ्घ भवनमा स्थानीय समयानुसार अपराह्न ५:१५ बजे भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न छन् ।

लोकतन्त्रमा दल बलियो हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, ६ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखेरलले लोकतन्त्रमा दल बलियो हुनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा एमाले घोराही उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उहाँले राजनीतिक स्थिरता र विकासका लागि दलहरू बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले हाम्रो संविधान मौलिक अधिकारका दृष्टिले उत्कृष्ट रहेको बताउनुभयो । “कमजोर राज्य भयो भने जनताका पक्षमा काम गर्न सक्दैन, त्यसैले जनता र राज्यबीचको सम्बन्ध गहिरो बनाउन लोकतन्त्रमा राजनीतिक दल बलिया हुनुपर्छ”, उहाँले भन्नुभयो, “एमालेले सङ्कल्प गरेको छ, अठोट गरेको छ की मिसन ८४ का माध्यमबाट एकल बहुमतको सरकारको नेतृत्व गर्न चाहन्छौँ ।”

महासचिव पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वले मुलुकको विकासलाई पछि धकेलेको कुरा गर्नै नपाउने गरी माओवादीले कुरा गर्नु गलत भएको उल्लेख गर्नुभयो । मुलुकका ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले देशले गति लिने उहाँको भनाइ थियो । कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

विदेशिए गोठाला, हराए गोठ

काठमाडौँ, ६ असोज : मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।

बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैँसी पाल्ने चलन हराउन थालेको बताउनुभयो । अढसठ्ठी वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएको छ । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उहाँ आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा हुनुहुन्छ ।

“देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्”, उहाँले भन्नुभयो, “वृद्धहरूको भरमा गोठ धानिएका छन् ।”

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै जानुभएको छ । पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाउनुभयो ।

“पहिले एक सय भेडाबाख्रासँगै आठ–दशवटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथँे । गाईभैँसी बेचेर सकिए । चालीसवटा भेडाबाख्रा छन्”, उहाँले भन्नुभयो, “छोराछोरीले यो पेशा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन् । वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।

“गोठ बस्ने गोठाला पाइनै छाडे”, पाँच सय भेडा पालेका उहाँले भन्नुभयो, “भेडाबाख्रा बेचेर वर्षमा रु आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ ।” मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक रु एक लाख ५० हजार तलब छ ।

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताउनुभयो । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मानेका छन् ।

धवलागिरि गाउँपालिका–३ मुनाका ७७ वर्षीय गङ्गाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिककार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो । “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे”, उहाँले भन्नुभयो, “ट्रयाक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताउनुभयो । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् ।

पर्यटन प्रवर्द्धनका लागि तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा बृहत् ताल निर्माण सुरु

काठमाडौँ, ६ असोज : तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयोे । “आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित यहाँ ताल निर्माण सुरु गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ”, अध्यक्ष चुमानले भन्नुभयो । उहाँले यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको सुनाउनुभयो ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको र ताल निर्माणपछि आन्तरिक पर्यटक वृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँकानुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताका रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको छ । त्यसैले माछा मरेमा पुजारीले खाल्डो खनेर अन्त्येष्टि गर्दै आएका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । यहाँ हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ग्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको हो । पृथ्वीराजमार्गको सत्रसयबाट साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । त्यसमध्ये करिब एक किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यहाँ रहेको मन्दिर, २३ वटा धारालगायतले पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बलि दिने प्रचलन पनि छ । धार्मिक तथा पर्यटकीयस्थल भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि पनि यहाँ टाढा–टाढाबाट मानिस आउने गरेका छन् ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचनाले यहाँको सुन्दरतामा थप महत्व थपेको छ । यहाँ तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो । “यहाँ दर्शन गरेमा मनले चिताएको विश्वास रहेकाले टाढा-टाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् । पछिल्लो समय पर्यटकी पूर्वाधार निर्माण, सडक कालोपत्र भएकाले थप सहज भएको छ । अब ताल निर्माण भएमा थप आकर्षण गर्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल

काठमाडौँ, ६ असोज : हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ । यहाँ ‘याक र हिउँचितुवा’को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल रौनकले मनाङवासी व्यस्त छन् ।

बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउण्डेशनको संयुक्त आयोजनामा मनाङमा यस मैत्रीपूर्ण खेलले निरन्तरता पाइरहेको छ । मनाङको प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएर स्थानीयवासीमा हिउँचितुवा, याकलगायत वन्यजन्तुको संरक्षणमा लाग्न अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा सूचित गर्ने तथा पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भइरहेको छ । त्यस्तै तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा यही असोज ६ गते मैत्रीपूर्ण खेल प्रदर्शन हुने जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा पारसविक्रम सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मनाङको जैविक विविधताको संरक्षणका लागि खेलकुदको माध्यमबाट यहाँका स्थानीयवासीमा सचेतना र सुसूचित गराउने उद्देश्यले मैत्रीपूर्ण खेल गर्दै आएका छौँ । यसले यहाँको जैविक विविधता संरक्षणका लागि हाम्रो जीवनसँग जोडिएको हिउँचितुवा र याक महत्त्वपूर्ण छन् । यीबिना हाम्रो जीवन छैन । जसले गर्दा प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन कार्यक्रम गर्दै आएका छौँ ।”

स्पर्धामा टोली हिमालयन स्नो लिवपर्ड (राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडी, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता) र स्थानीय खेलाडी टोली कान्जिसरा याक र मनाङ ङिस्याङ याक स्थानीय युवाहरू)बीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गराइने आयोजक एन्ट फाउण्डेशनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार काजिनसरा याकको खेल सकिएको छ भने मनाङ ङिस्याङ याकको खेल आज हुँदैछ ।

हिमालयन स्नो लिवपर्डमा कालाकार प्रशान्त ताम्राकार, मेनुका प्रधान, सुशील श्रेष्ठ, रेशमा पुन र असुसेन लामा रहनुभएको छ । यस्तै खेलाडी अनिल गुरुङ, अस्मिता रान्पाल, राजेन्द्र लामा र विनोद डङ्गोल रहनुभएको छ । प्रतिस्पर्धामा मिस नेपाल वल्र्ड आस्माकुमारी केसी, मिस्टर नेपाल सन्तोष लोकसुम, पर्वतारोही माया शेर्पा, निर्देशक (हिमालयन रोडिज, पोयट आइडोल) अमन प्रताप अधिकारी, संरक्षणविद् डा पारसविक्रम सिंह, आँखा विशेषज्ञ डा किशोर प्रधान र उद्घोषक महिमा पण्डित भट्टराई रहेको आन्ट फाउण्डेशनले जनाएको छ ।

मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजन रहेको छ । मैत्रीपूर्ण खेलले यहाँका स्थानीयमा सचेतना जगाउन टेवा पुगेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष आयोजना भएको मैत्रीपूर्ण खेलमा भएको सूचनाले यहाँका स्थानीयवासीमा हिउँचितुवा, याकका साथै हाम्रो जीवनसँग परस्पर जोडिएको जीवजन्तुको संरक्षण गर्नुपर्ने रहेछ भनेर सचेत भएको पाएका छौँ ।”

जैविक विविधताको संरक्षणमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले नै खेलकुदको माध्यमबाट सचेतना फैलाउन लागिपरेको हो । यसले जिल्लाका स्थानीय तह र आम नागरिकमा सचेतना वृद्धि भएको स्थानीय बताउँछन् । केही स्थानीय तहले वन्यजन्तुको संरक्षणका लागि विशेष रूपमा नै बजेटको व्यवस्थापनमा समेत जोड दिँदै आएको छ । ‘हिउँचितुवा र याकका लागि सँगसँगै’ भन्ने नाराका साथ जिल्लाका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल सञ्चालन भइरहेका छन् ।

मिथिलाक्षेत्रमा सन्तानवती मिथिलानी जितीयाको पूर्वतयारी

काठमाडौँ, ६ असोज : पितृपक्ष सुरु भयो कि मधेसको मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु हुन्छ । महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू अहिले जितियाको तयारीमा छन् । पितृपक्ष (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने यो व्रत यसपालि आउने मङ्गलबार परेको छ ।

असोज कृष्णपक्ष अर्थात् पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो व्रत कमसेकम एक अहोरात्रको हुने चलन छ । अष्टमी तिथि टेकिएकै दिन गरिने यो व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमी एक घडी कटाएरमात्र समापन गरिन्छ । यसअनुसार यसपालि आउने मङ्गलबार साँझ ६ः०० अष्टमी तिथि लाग्ने हुँदा सोही दिन सन्तानवती मिथिलानीले व्रत गर्ने निधो गरेका छन् । कमसेकम एक अहोरात्रको व्रत विधानले सोमबार मध्यरातअघि ओगटन (दर) खाएका मिथिलानीले बुधबार साँझ ५ः४५ बजे नवमी तिथि लागेपछि व्रत समापन गर्नेछन् ।

यसपालिको व्रत अवधि झण्डै ४० घण्टाको हुने व्रतको तयारीमा रहेकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारू बताउनुहुन्छ । सन्तानको सौर्यवृद्धि र सद्गुणको कामनाका साथ गरिने यो पर्वका बर्तालु आमाले आफ्ना सन्तान परोपकारी र आपत्मा परेकाहरूलाई सघाउनसक्ने होउन् भन्ने इष्टदेवसँग पुकारा गर्छन् । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै सन्तानवती आमाहरू आफ्ना सन्तान सुयोग्य हुने कल्पना गर्छन् ।

जितिया व्रत छोराका लागि बस्ने केही वर्ष पहिलेको मिथिलाको चलन अब परिष्कृत हुँदै गएको छ । अब बर्तालु आमाले यो व्रत आफ्ना सन्तानका लागि गरिएको बताउन थालेपछि छोरीहरूले पनि सन्तान हुनुको गर्वानुभूति गर्न थालेका महिला नेतृ मञ्जु यादव बताउनुहुन्छ ।

छोराका लागि व्रत भनिँदा छोरीहरूप्रति विभेद भएको कुरा मधेसमा महिला अधिकारकर्मीहरूले सघन रूपमा उठाएपछि अचेल सन्तानका लागि व्रत गरिएको भन्ने चलन चलेको सम्सीको गेढाभेटपुरकी अगुवा महिला रेखा झाकोे भनाइ छ । मधेसका मिथिला क्षेत्रका थारू बाहुल्य बस्तीमा यो पर्वको बढी चर्चा हुनेगर्छ । मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भए पनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष सुरु हुनासाथै गरिन थालिन्छ । झुरुमुट्ट घरैघर देखिने थारू बस्तीमा सबै जितीया केन्द्रित सरसफाइ र अन्य तयारीमा लागेपछि यहाँ यो पर्वको रौनक केही दिन पहिले नै देखिन्छ ।

देवदूत मानिने जितवाहनको आराधना गरिने यो पर्व निष्ठा र सन्तानप्रतिको समर्पणभावको प्रतीक मानिन्छ । व्रतको अभिष्ठ नै उपकारी सन्तान हुन् भन्ने हुँदा धन, वैभव र सुखसयलका कुरा यो पर्वमा आमाहरूले सोच्दैनन् । ‘सबदिस स तोहर बेटाबेटी बड सज्ञान अई कहल सुन पाबी’ (सबैतिरबाट तिम्रा सन्तान ज्ञानी छन् भनेको सुन्न पाऊँ) व्रतको तयारीमा रहेकी बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्नुहुन्छ, “हमर बेटा÷बेटी ककरो धारबिगार नई करोक, भगवान् जितवाहन’क आशिर्वाद स हमर सन्तानसब सत्यपर चलवाला आ उपकारी बनौक’ (मेरा छोराछोरीले कसैको बिगार नगरुन्, भगवान् जितवाहनको कृपाले मेरा सन्तान सत्यको पक्षमा हिँड्ने र उपकारी बनुन्) ।

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि एक घडि कटाएर व्रत समापनको परम्परा छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडि पूर्व नै खाइसक्नु पर्ने व्रत विधान रहेको बर्तालु बताउँछन् । यद्यपि व्रत सरल बनाउन नयाँ पिँढीका आमाहरूले व्रतको दिन सूर्योदय हुन एक घडी (साढे दुई घण्टा) अघि ओगटन खान सकिने बताउन थालेका छन् । यसरी व्रत लिनेका लागि पनि ३६ घण्टाको व्रत हुने देखिन्छ ।

जितिया पर्वको ‘ओगटन’मा दही, चिउरा खाने चलन छ । यस चलनले अहिले मिथिलाका बस्ती–बस्तीमा जितियाकै लागि शुद्ध दूधको जोहोमा व्रतको तयारीमा रहेका आमाहरू लगेका छन् । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।

मिथिलामा यो पर्व सबै आमाले निष्ठापूर्वक मनाउँछन् । “सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै शारीरिक तन्दुरुस्ती र सामाजिक इज्जत प्राप्त हुने जनविश्वास छ”, मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झा भन्नुहुन्छ, “समाजमा कुनै लुरे वा डरछेरुवा देखिए यसका लागि आमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्छन् ।” मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने झाको थप भनाइ छ ।

पर्वका बर्तालुले दिवङ्गत मातृवंश (आमा, सासू, फूपू, दिदी, जेठानी÷देउरानी आदि)लाई तृप्त गर्न तर्पण दिन्छन् । दिवङ्गत मातृवंशलाई तर्पण दिँदै आफ्ना सन्तानसँगको नाता खुलाएर उसको कल्याण गर भन्ने कामना हुन्छ । पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुुले त्यहीँ नै तीन पुस्ताभित्रका दिवङ्गत मातृवंश ( दिवङ्गत आमा, बज्यै, सासू, जेठानी, बूढीसासू, नन्द–आमाजु, जेठानी, देउरानी आदि)लाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरूको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवी बन्ने आशीर्वाद देऊ’ भन्ने कामना गरिन्छ ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख छ । यसकारण यो पर्वको थालनी भविष्यपुराणकै रचनाकाल द्वापरयुगमा सुुरु भएको मानिने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ :प्रधानसेनापति सिग्देल

काठमाडौँ, ६ असोज : ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ ।

प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य भएको स्पष्ट पार्नुभयो । भूकम्प र कोभिड–१९ महामारीलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार, राहत र उपचारमा राष्ट्रिय एकताका साथ गरिएको कार्यले उत्प्रेरणा प्रदान गर्दै असल नतिजा प्राप्त गर्न सकिएको सेनाको ठम्याइ छ ।

‘गौरवका आयोजनामा ढिलासुस्ती र अनियमिता अस्वीकार्य’

वर्तमान सैनिक नेतृत्वलाई पूर्वाधार निर्माणका हिसाबले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग र प्रतिरक्षा विश्वविद्यालय निर्माणसम्बन्धी कार्यादेशमा अतिउत्तम अङ्क प्राप्त गर्नुपर्ने चुनौती छ । दुवै आयोजना महारथी सिग्देलकै कार्यकालभित्र पूरा गर्नुपर्ने कार्यदेशसमेत छ ।

सैनिक सङ्गठनभित्र कुनै पनि प्रकारका ढिलासुस्ती, अनभिज्ञता, अनियमिततालगायत क्रियाकलाप अस्वीकार्य हुने नेतृत्वबाट विचार सार्वजनिक भइसकेको छ । प्रधानसेनापति सिग्देल भन्नुहुन्छ, “तहगत रूपमा तैनाथ कमाण्डरद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ ।”

संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोचका आधारमा सङगठनको सुदृढीकरण गर्दै लैजाने वर्तमान सैनिक नेतृत्वको अठोट छ । देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाइ र समान धारणा विकास गर्ने हेतुले प्रतिरक्षा विश्अघि बढाइएको हो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखी राष्ट्रको परराष्ट्र नीतिलाई टेवा पुर्याउन तथा सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उहाँले स्पष्ट पारिसक्नुभएको छ ।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवाविस्तारजस्ता महत्त्वपूर्ण क्षेत्रबारे प्राथमिकता निर्धारण गर्न मार्गनिर्देशन जारी गर्दै हुनुहुन्छ ।

सेनाका प्रवक्ता गौरवकुमार केसी वर्तमान नेतृत्वले व्यावसायिक चरित्र, अनुशासन र ‘चेन अफ कमाण्ड’का आधारमा संस्थागत सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुहुन्छ । सेनालाई आधुनिकीकरणतर्फ अघि बढाउन तालिम तथा बन्दोबस्तीका सामग्री चुस्त तुल्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यसम्पादनलाई उत्तिकै प्राथमिकता राख्ने विषय प्रधानसेनापतिको पहिलो सम्बोधनमा व्यक्त भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानसेनापतिसँग देश र जनताका हितमा काम गर्ने अथाह ज्ञान

नेपाली सेनाका पूर्वसहायक रथी धर्म बानियाँ राष्ट्रिय सुरक्षालाई सबल बनाउने भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय चुनौती विश्लेषण गर्दै नेपाल राष्ट्र र नेपाली जनताको कसरी हित गर्न सकिन्छ भन्ने विषयमा महारथी सिग्देलमा अथाह ज्ञान रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सैद्धान्तिक, व्यावहारिक, रणनीतिक कौशल र पेशागत सीपमा निपूर्ण महारथी सिग्देलले सेनालाई आधुनिकीकरण गर्दै लैजाने क्रममा आवश्यक उपकरणसहित हातहरितयार, सूचना सङ्कलन, तल्लो दर्जाका जनशक्तिलाई लक्षित गरी कल्याणकारी कार्य अघि बढाउन ध्यान पुर्याउनुहुने छ ।”

नेतृत्वबाट कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता व्यक्त भइसकेको छ । हिताधिकारीलाई बहिरङ्ग उपचार सेवाको वार्षिक सीमा पुनरावलोकन गरिने र द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने विषय पनि पहिलो सम्बोधनमै परेको छ ।

पूर्वसहायक रथी बानियाँ सरकारको अभिन्न अङ्ग हुनुका नाताले राष्ट्र विकासमा सेनाको भूमिकालाई थप विस्तार गर्न महारथीलाई सुझाव दिनुहुन्छ । सैनिक–नागरिक सम्बन्ध र सैनिक कूटनीतिक सम्बन्ध विस्तारमा पनि ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभयो । वर्तमान सैनिक नेतृत्वले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने विश्वास दिलाएको छ । सैनिक–नागरिक सम्बन्धलाई थप घनिष्ट तुल्याउन शिक्षा, स्वास्थ्य, कला संस्कृति, परम्परा, पर्यावरण संरक्षण तथा राज्यका सम्पदाहरूको सुरक्षामा पनि सेना तल्लीन छ ।

महारथी सिग्देल भन्नुहुन्छ, “समग्र संस्थाको हितमा काम गर्न, असल नियतले काम गर्ने मामिलामा नडराउन, व्यक्तिगत आकाङ्क्षा, कुण्ठा र सस्तो लोकप्रियताका लागि संस्थाको ‘तेजोबध’ नगर्न तथा मूलमन्त्रका रूपमा रहेको ‘सैनिक अनुशासन र मर्यादा’ कायममा उच्च ध्यान दिन आवश्यक छ ।”

भूगोल सुहाउँदो सैनिक ज्ञान, सीप र युद्धकला क्षमता वृद्धिका लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन समयसापेक्ष सुधार गरिने उहाँको सम्बोधनमा उल्लेख छ ।

विश्वमा शान्ति सैनिकको धेरै सङ्ख्या खटाउने मुलुकको सूचीमा पछिल्लो वर्षदेखि नेपाल शीर्षस्थानमा रहँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म विश्वका विभिन्न ४४ शान्ति मिसनमा एक लाख ५३ हजार एक सय आठ नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् भने हाल छ सय ७९ महिलासहित पाँच हजार नौ सय १८ शान्ति सैनिक ११ मिसनमा परिचालित छन् ।

शान्ति स्थापना कार्यका लागि सेनाले तालिम तथा बन्दोबस्ती सामग्रीको व्यवस्थापनमा विशेष पहलको अठोट व्यक्त गरेको छ । ‘बङ्कर टु ब्यारेक’, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायत कार्यलाई व्यवस्थित गर्दै राष्ट्रिय खेलकुद विकासलाई पनि प्राथमिकता दिएर काम गर्ने सेनाले जनाएको छ ।

नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्ने तथा राष्ट्रिय लक्ष्य हासिल गर्न सेना र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने विषय पनि सम्बोधनमा समेटिएको छ ।

राष्ट्रियता, जनता र सङ्गठनको पक्षमा दह्रो अभिव्यक्ति

पूर्वउपरथी जगदीशचन्द्र पोख्रेलले महारथी सिग्देलबाट सकलदर्जालाई भएको सम्बोधन र आफूसँग नजिकको चिनाजानीका आधारमा राष्ट्रियता, जनता र सङ्गठनको हितमा उहाँको दह्रो अभिव्यक्ति आएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “संस्थागत ‘इन्ट्रेस्ट’लाई कसरी कायम राख्ने भन्ने सन्दर्भमा विषयवस्तु प्रष्ट रूपमा आएको छ । प्रधानसेनापतिले सकलदर्जालाई आफ्नो कार्यकालमा अनुशासन, विधि र प्रणाली कसरी अघि बढ्छ भन्ने सुविचारित मार्गनिर्देश गर्नुभएको छ ।”

राष्ट्रिय सुरक्षा अवधारणालाई केन्द्रमा राखेर भएको मन्तव्यबाट राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विश्वविद्यालय अलि खटेरै काम गर्ने विषय आएका उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको द्रुतमार्गको जिम्मेवारी समयमै पूरा गर्ने मामिलामा कुनै अलमल नहोस् भन्ने प्रधानसेनापतिबाट स्पष्ट सङ्केत भएको प्रतिक्रिया दिनुभयो ।

सेनालाई ठिक बाटोबाट अघि बढाउन आन्तरिक अनुशासन कायम गर्ने, नियमित तालिम र प्रशिक्षणका आधारमा जनशक्तिलाई चुस्त तथा दुरुस्त राख्ने, विश्वशान्ति कार्यलाई प्रभावकारी तुल्याउने विषय सङ्गठन सुदृढीकरणका हिसाबले निकै महत्त्वपूर्ण र सान्दर्भिक रहेको उहाँको भनाइ छ ।

नेपाली सेनाका पूर्वप्रवक्तासमेत रहनुभएका पोख्रेलले भन्नुभयो, “उहाँको नेतृत्वमा सङ्गठनलाई अघि बढ्दा उपलब्धि हासिल गर्ने सन्दर्भमा आशा गर्ने धेरै ठाउँ छ, उहाँको नेतृत्वमा राष्ट्र र सङ्गठन सुधारमा पक्कै पनि धेरै काम हुने विश्वास लिएको छु ।”

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

काठमाडौँ, ६ असोज : लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गर्नुभएको हो । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।

मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरी निर्देशन जारी गर्नुभएको हो । उहाँले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन दिर्नेशन दिनुभएको छ । “सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकले गुनासो गर्ने र त्यसलाई सम्बोधन गर्नेगरी योजना बनेको छ”, उहाँले भन्नुभयो, “बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्बोधन नगर्नेजस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न निर्देशन जारी गरेका हौँ ।”

प्रदेशस्थित निकाय तथा कार्यालयहरूले सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्न, आर्थिक गतिविधिमा मितव्ययिता कायम गर्न, खरिद एवं जिन्सी व्यवस्थापन, सूचना व्यवस्थापन एवं गुनासोको प्रभावकारी सम्बोधन गर्न, निकायगत समन्वय, अनुगमन एवं प्रतिवेदनका साथै सार्वजनिक जवाफदेहिता र सुशासन प्रवर्द्धनका लागि निर्देशन जारी गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको उद्देश्य प्राप्तिका लागि प्रदेश सरकारका निकाय तथा कार्यालयले वार्षिक विकास कार्यक्रमको कार्यायोजना बनाएर कार्यान्वयनका चरणमा लागेको छ । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी भएको निर्देशनमा सेवाग्राहीमैत्री सेवालाई प्राथमिकतामा राखिएको छ । प्रत्येक मन्त्रालयले अनिवार्य रूपमा ई–हाजिरीको प्रबन्ध मिलाउने, ई–हाजिरीलाई एकीकृत कार्यालय व्यवस्थापन प्रणालीसँग अनिवार्य आबद्ध गर्ने, कर्मचारीको बिदा, काज तथा भ्रमण स्वीकृत गर्दा कार्यसम्पादन सेवा प्रवाहमा असर नपर्ने सुनिश्चित गरेरमात्र गर्ने, बिदा, काज तथा भ्रमण स्वीकृति अनिवार्य रूपमा जिआइओएमएस प्रणालीमार्फत गर्ने, कार्यालयमा अनावश्यक मौज्दात नरहने गरी एवं आवश्यकता र औचित्यका आधारमा मात्र जिन्सी सामान खरिद गर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै रु ५० लाख वा सोभन्दा माथिका आयोजना कार्यक्रमको हकमा कार्यतालिका कार्ययोजनाअनुसार कार्यसम्पादन भए÷नभएको मासिक रूपमा अनुगमन गरी प्रतिवेदन लिने एवं अद्यावधिक गर्ने, कार्यसम्पादन अवस्था सन्तोषजनक नभएकाहरूलाई तत्काल पृष्ठपोषण, प्राविधिक सहायता आवश्यक भए उपलब्ध गराउने, मन्त्रालय वा मातहत कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन एवं कार्यप्रक्रिया सहज बनाउनेगरी महाशाखा, शाखा, फाँट, सहायता कक्ष (हेल्प डेस्क), प्रतिक्षालयको व्यवस्थापन गर्ने विषय समेटिएको छ ।

यस्तै प्रचलित कानुनबमोजिम प्रवक्ता एवं सूचना अधिकारीको फोटोसहितको विवरण सहजै देख्न सकिनेगरी अनिवार्य रूपमा कार्यालयमा राख्ने साथै उक्त विवरण वेबसाइटमा समेत अद्यावधिक गर्ने, सूचनाको हकसम्बन्धी कानुनबमोजिम स्वतः प्रकाशनलाई सबै निकायले अनिवार्य रूपमा समयमा नै वेबसाइटमार्फत प्रकाशन गर्ने, मन्त्रालयले मातहत निकायहरूको गुनासो सुनुवाइको अवस्थाका बारेमा नियमित प्रतिवेदन लिई समीक्षा गर्ने विषयलाई प्राथमिकताका साथ निर्देशनमा समेटिएको छ ।

परराष्ट्रमन्त्री डा राणा न्यूयोर्कमा

काठमाडौँ, ६ असोज : संयुक्त राष्ट्रसङ्घको ७९आँै महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुग्नुभएको छ । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उहाँ न्युयोर्क आउनुभएको हो ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उहाँ न्युयोर्क आउनुभएको हो ।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुहुने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जनाउनु हुनेछ । उहाँले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

काठमाडौँ, ६ असोज : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।

भेटमा विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ।यसअघि प्रधानमन्त्री ओलीले दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गरेका छन् । उनले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताए ।

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत संलग्न छन् ।

अल्जाइमर रोग न्यूनीकरणका लागि सरकार र समुदायको सहकार्य आवश्यक

काठमाडौँ, ५ असोज : अल्जाइमर (बिर्सने) रोगको न्यूनीकरणका लागि सरकार र समुुदायको सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।
विश्व अल्जाइमर दिवसका अवसरमा आज पोखरा वृद्धाश्रमद्वारा यहाँ आयोजित कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा देवेशचन्द्र घिमिरेले घरपरिवार, समुदाय एवम् सरकारको सहकार्यमा यसको न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले यस रोगका बारेमा विभिन्न भ्रम रहेकाले यो पूर्व जुनीको पाप वा सरुवा रोग नभएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका स्रोतव्यक्ति घिमिरेले बिर्सने रोगको तथ्याङ्क नेपालमा विश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो डरलाग्दो ढङ्गले बढेको बताउनुुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले अल्जाइमर रोगको न्यूनीकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नुपर्ने बताउनुुभयो ।

उक्त अवसरमा मनिपालमा अध्ययनरत विद्यार्थी विशेष श्रेष्ठ र उहाँको समूह, शुक्लेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अलकापुरका अध्यक्ष विष्णुहरि सापकोटा पूर्वशिक्षक बुद्धि गिरी लगायतले रोट्र्याक संस्थामार्फत जनचेतना जगाउने नाटक मञ्चन गर्नुुभएको थियो ।

कार्यक्रममा गण्डकी ज्येष्ठ नागरिक सङ्घका उपाध्यक्ष धर्मबहादुर गुरुङ, आश्रमका कोषाध्यक्ष भीमप्रसाद सुवेदी, अलकापुर ज्येष्ठ नागरिक दिवासेवाका अध्यक्ष ढकाल, सिद्धिकुमार रेग्मी, थेरापिष्ट शान्ता अधिकारीलगायतले अल्जाइमर समस्या र स्याहारबारे धारणा राख्नुभएको थियो । गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसँग सरोकार राख्ने सङ्घसंस्थाहरु साथै चिकित्सक, नर्स, स्वयम् ज्येष्ठ नागरिकहरूको सहभागिता थियो ।

पर्यटकीय गाउँ मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, ५ असोज । मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ ।

थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन (थकाली)ले उद्घाटन गर्नुभयो । खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिनुभयो ।

“५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्व छ”, उहाँले भन्नुभयो, “पुरुष, महिला भलिबल, तारा खेल (घनुषवाण) (४० वर्ष माथिका) र आर्चरी (खुल्ला), लोक नृत्य र थकाली गीत प्रतियोगिता आयोजना गरिएको छ ।”

छवटा क्लबले सहभागिता जनाएको पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिनेछ । तीनवटा क्लब सहभागी महिला भलिबलको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

धनुुषवाण र आर्चरीमा विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने सङ्घले जनाएको छ । मार्फाको मिलीजुली युवा क्लब सहआयोजक रहेको प्रतियोगिताअन्तर्गत कृषि मेला प्रदर्शनी पनि आयोजना भएको छ । नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३५ हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र र मेडल वितरण गरिने भएको छ । उद्घाटन समारोहमा झाँकी सहितको ¥यालीले मार्फा गाउँ परिक्रमा गरिएको थियो ।

संस्थाका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचन, संस्थाका पूर्वसचिव राजु लालचन, आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी योगेन्द्र शेरचन र बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पहिलो दिन पुरुष भलिबलको पहिलो चरणको तीनवटा खेल भएका छन् । उद्घाटन खेलमा मिलीजुली युवा क्लब मार्फासँगै पराजित भएको नीलगिरि युवा क्लब टुकुचेले अर्को खेलमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ । धौलागिरि युवा क्लब कोवाङले निर्मल स्पोट्र्स क्लब लेतेलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको थियो ।

महिला भलिबलमा नीलगिरि युवा क्लबले राष्ट्रिय टोलीका प्रतिभा माली, सलिना श्रेष्ठ, सोफिया पुनलाई मैदानमा उतार्ने भएको छ । मिलीजुली युवा क्लबले म्याग्दी र कास्कीबाट प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको छ ।

काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गरेका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने भनाइ राखे । उनले सेवा गरेमात्र जनताले पत्याउने बताए । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उनले व्यवहारिक कुरा गर्नुपर्ने बताए ।

उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकताले इमान्दार र नैतिक आचारण हुनुपर्नेमा जोड दिए । “हामीभित्र पनि खराव बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्दछ,” उनले भने, “आफूलाई बदल्न सकेमात्र देश र जनतालाई बदल्न सकिन्छ ।”

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छ : पूर्वराष्ट्रपति भण्डारी

पाटन (ललितपुर), ५ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनको आज ललितपुरमा आयोजित २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा उहाँले जबजको मुख्य नीति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने रहेको र त्यसका लागि हरेक नागरिक आत्मनिर्भर हुँदै जानुपर्छ भन्नुभयो । “जबज क्रान्तिकारी परिवर्तनको नवीन विचार हो । कम्युनिष्ट पार्टीमा लागेर प्राप्त गरेको पद, प्रतिष्ठान पनि जबजको प्रतिफल नै हो । यसैका आधारमा सामाजिक जागरण र जनतालाई आत्मनिर्भर बजाउन क्रियाशील हुनुपर्छ । दलाल पुँजीवादको भरमा समाजवादमा पुग्न सकिँदैन, त्यसकारण आत्मनिर्भर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय पुँजीको प्रवद्र्धन गरेर समाजवादमा पुग्न सकिने धारणा राख्नुहुँदै संरक्षणमा उत्पादन वृद्धि र व्यापारको सन्तुलन कायम गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “कृषि प्रधान देशमा हामी परनिर्भर छौँ । बाहिरबाट सामान ल्याउने, भन्सार उठाउने, अनि तलब खुवाउने कार्यले देशको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो,“हामीसँग आधारभूत स्रोत छ, यसलाई आधुनिक ढङ्गले प्रयोग गरेर युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’

नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल शनिबार ललितपुरमा आयाेजित मदन भण्डारी फाउण्डेशनकाे २५ओैँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा मन्तव्य राख्दै।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरू गर्दै आएको बताउनुभयो । “सीमित स्रोतसाधन र प्रतिकूलताका बीच पनि राष्ट्रिय जीवनका लागि काम गर्नु महत्वपूर्ण हो, विसं २०५० मा स्थापना भए पनि संस्थागत हिसाबले २०५६ सालदेखि फाउन्डेसन क्रियाशील छ । रजत जयन्ती मनाउँदासम्म यसले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ”, उहाँले भन्नुभयो,“म पनि जबजकै स्कुलिङबाट आएको हुँ, फाउन्डेसनको सुरुआतले वामपन्थी आन्दोलनमा प्रगतिशील काम भएको छ । फाउन्डेसन समाजिक संस्था भए पनि वैचारिक सामाजिक संस्थाका रूपमा परिचित छ, फाउन्डेसनलाई कम्युनिष्ट फलाउने शक्तिका रूपमा लिइएको छ, यसलाई साझा बनाउन सक्दा राम्रो हुन्छ ।”

अहिले देशको मौलिक कला, संस्कृतिमाथि हस्तक्षेप भएको छ भन्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले कला, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । “कलासंस्कृतिमाथि समस्या देखापरेको छ, भाषा संस्कृतिमाथि हस्तक्षेप भइरहेको छ, राष्ट्र र जनता पहिलो हो, तसर्थ यसलाई ध्यान दिएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरमा शनिबार आयोजित मदन भण्डारी फाउण्डेशनको २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा मन्तव्य राख्दै ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको सन्दर्भमा जबज सक्रियता, जनसेवा, पहलकदमी प्रतिस्पर्धा र श्रेष्ठता हो भन्नुभयो । “जबज नेपालको मौलिकतामा विकसित भएको विचार हो, द्वन्द्वलाई विधिसम्मत ढङ्गले प्रस्तुत हुन दिनुपर्छ भन्ने यसको मान्यता हो । माक्र्सवादको प्रयोगको सिलसिलामा नेपाली मौलिकतामा प्रतिपादन भएको यस सिद्धान्त प्रतिवादबारे हामीले आफ्नो विशिष्टतामा रहेर विश्लेषण गर्नुपर्छ”, पोखरेलले भन्नुभयो ।

उहाँले नेपालमा एउटा उदार पुँजीवादलाई प्रोत्साहन गर्ने र अर्काे सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने दुई धारका शक्ति रहेको उल्लेख गर्नुहुँदै प्रतिस्पर्धामा रहेका दुईवटा धारबीच आपत्कालीन अवस्थामा सहकार्य र प्रतिस्पर्धा दुवै हुन्ने गरेको धारणा राख्नुभयो ।

कार्यवाहक अध्यक्ष पोखरेलले नेपालको परिवर्तन पृथक ढङ्गले अगाडि बढेको सहमतिको साझा दस्तावेजका रूपमा रहेको संविधानले त्यसलाई संस्थागत गरेको बताउनुभयो । सबै दलहरूको सहमतिका र छलफलका आधारमा संविधान संशोधन अगाडि बढाउन जरूरी रहेको उहाँको भनाइ थियो । “दलहरूका बीचमा विषय र प्रक्रियाका बारेमा छलफल भएन भने संविधान संशोधन हुन सक्दैन । सहमतिका साथ सहकार्य गर्दै जानुपर्छ भन्ने एमालेको धारणा हो, संविधानका आधारभूत कुराबाट विमुख हुनुहुँदैन, संशोधनका विषयमा हिजो संविधान निर्माणमा मुख्य भूमिका खेल्ने राजनीति दलहरुबीच छलफल र सहमति हुनुपर्छ”, पोखरेलले भन्नुभयो ।

फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन भण्डारीको योगदानलाई स्थापित गर्ने अभिप्रायले फाउन्डेसनको कार्यक्रम भइरहेका बताउनुभयो । उहाँले लोकतन्त्रका नाममा हुने वैमनस्यतालाई रोक्दै देशको परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने धारणा राख्नुभयो ।

‘मिडियामा मदन भण्डारी’ विषयमा प्रकाशित पुस्तकको सम्पादन गर्नुभएका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले मदन भण्डारीले त्यतिबेला दिएका सबैजसो अन्तर्वार्ताहरू दूरगामी महत्वका भएको बताउनुभयो । उहाँले भण्डारीका अन्तर्वार्ताहरूको सँगालोका रूपमा प्रकाशित यस पुस्तकमा विसं २०४७ को प्रारम्भदेखि २०५० सम्मका ६३ अन्तर्वार्ता रहेका जनाउनुभयो ।

कार्यक्रममा जनगायक रामकृष्ण दुवाललाई रु एक लाख एक हजार राशिको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । त्यस अवसरमा डा भेषराज अधिकारी, सुशील प्याकुरेल, रामकृष्ण दुवाललगायतले मन्तव्य राख्नुभएको थियो । जननेता मदन भण्डारीका नाममा विसं २०५६ असोज ५ गते फाउन्डेसन स्थापना भएको हो ।

सुदूरपश्चिम प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले तत्कालीन सरकार अल्पमतमा परेपछि उत्पन्न विशिष्ट परिस्थितिले प्रदेशमा बजेट शून्यताको अवस्था देखिएको र सो अवस्था हटाउन सरकारले अर्को बजेट ल्याउनुपरेको बताए ।

बजेटमाथिको छलफलमा भाग लिने सत्ता र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले न्यायोचित ढङ्गले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । छलफलमा सत्तापक्षका विक्रमसिंह धामी, चक्रबहादुर मल्ल, जानकी ऐर बम, खुशिराम डगौरा थारू, प्रतिपक्षका अक्कलबहादुर रावल, गीतादेवी माल, खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीले भाग लिएका छन् ।

राप्रपाकी खेमादेवी विष्टले सरकार र जनप्रतिनिधिलाई कुनै ठाउँमा ‘चोर रहेछन् भन्ने गरिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) का धर्मराज पाठकले नियमापत्ति जनाएका थिए ।

पाठकले ‘चोर’ शब्द असंसदीय रहेकाले यसलाई रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएपछि सभामुख भीमबहादुर भण्डारीले बोलिएको शब्दका बारेमा छानबिन गरेर आवश्यक परेमा हटाउने जानकारी गराएका थिए ।

यसअघि आर्थिक मामिलामन्त्री थापाले बजेटमाथि सभामा छलफल गरियोस् भनेर प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
सरकारले गत भदौ ३१ गते आव २०८१–८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको थियो । तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गएको असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा सामान्य हेरफेर एवं परिमार्जन गरेर हालको सरकारले अर्को बजेट ल्याएको जनाइएको छ ।

श्रीलङ्काको राष्ट्रपति चयनका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

कोलम्बो । श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न भएको हो । मतदानका लागि १३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । यसका लागि करिब ६३ हजार प्रहरी अधिकारीलाई निर्वाचनको लागि तैनाथ गरिएको थियो ।

राष्ट्रपति चुनावमा एक करोड ७० लाखभन्दा बढी व्यक्ति मतदान गर्न योग्य रहेको र दिउँसो २ बजेसम्ममा ६० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घे, विपक्षी सामागी जना बलवेगाका साजिथ प्रेमदासा र नेसनल पिपुल्स पावरका अनुरा कुमारा दिसानायकेसहित कुल ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गरेन भने दोस्रो चरणको मतगणना हुन्छ । दोस्रो चरणको मत गणनामा पहिलो चरणको मतदानमा शीर्ष मत पाएका दुई उम्मेदवारमध्ये मतदाताहरूको दोस्रो वा तेस्रो प्राथमिकता सूचीमा रहेका उम्मेदवारको मतगणना गरिन्छ ।

सन् २०१९ को नोभेम्बरमा राष्ट्रपतिको चुनाव जितेका गोटबाया राजपाक्षले सन् २०२२ को जुलाईमा देशमा गम्भीर आर्थिक सङ्कटका बीच भएको आन्दोलनपछि पदबाट राजीनामा दिनुभएको थियो । राजपाक्षेको राजीनामापछि संसद्मा भएको निर्वाचनबाट विक्रमासिङ्घे राष्ट्रपति निर्वाचित भएका थिए ।

‘कांग्रेस–एमालेको सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ’

कोशी प्रदेशका अर्थमन्त्री राम रानाले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको छ । प्रदेशमा नयाँ सरकार बनेको दुई महिनामा विगतभन्दा २८ प्रतिशत राजस्व वृद्धि भएको र सङ्घमा पनि अवस्था सोहीअनुसार रहेको धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्योदय नगर कमिटी इलामको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै आज उहाँले कांग्रेस–एमाले मिलेपछि देश स्थिरतातर्फ उन्मुख भएको बताउनुभएको छ । एमालेका केन्द्रीय सदस्य रानाले भन्नुभयो, “विगतमा स्थिर सरकार नहुँदा देशमा विकास निर्माणले गति लिन सकेन । दुई ठूला पार्टीबीच सत्ता सहकार्य भएपछि अब यो सरकार र गठबन्धनलाई कुनै पनि बहानामा काम नगर्ने छुट छैन”, उहाँले भन्नुभयो ।

देशमा साना दलहरूले विचारको राजनीति नगर्दा समस्या भइरहेको रानाको आरोप लगाउनुभयो । “भाषा, धर्म, जातिका नाममा दल बनाएर एउटा समूहलाई सामाजिक सद्भाव भड्काउन लगाउने काम हुन थाल्यो । मोलमोलाइ र किनबेचको स्थिति देखियो । मुलुक त्यसरी बन्दैन भनेर दुई ठूला दल मिल्न बाध्य भएको हौँ । अब सोहीअनुसार काम गरेर प्रमाणित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको आसा पूरा गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार समृद्धिको यात्रामा रहेको र नेपाली कांग्रेसजस्तो पुरानो दलसँगको सहकार्यले काम गर्न थप सहज भएको उहाँको भनाइ थियो ।

एमाले इलामका अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरु, प्रदेश कमिटी सदस्य देवेन्द्र विश्वकर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दुर्गादेवी भट्टराई नेतृत्वको नगर कमिटी विघटन गरी आज नै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको सचिव पारस राईले बताउनुभयो ।

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सुधारका कार्यलाई तीव्रता दिएको बताएका छन् ।
आज बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित ‘सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’को २२ औँ वार्षिक साधारणसभामा उनले मधेस प्रदेशका विभिन्न क्षेत्रमा पानीको समस्या देखिएको र त्यसको दीर्घकालीन समाधानमा मन्त्रालय जुटेको उल्लेख गरे ।

मन्त्री यादवले भने, “सफा, सुरक्षित, र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो । मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ । हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ भनेर काम गरिरहेका छौँ, यसमा सामुदायिक सहभागिता अपरिहार्य छ ।”

उनले मधेसमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकल सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले समस्या समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मतसम्भारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

“सुनकोसी–मरिन डाइभर्सन परियोजनामार्फत मधेसको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ, यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पुर्‍याउनेछ”, मन्त्री यादवको भनाइ थियो ।

उनले ४२ हजारभन्दा बढी उपभोक्ता समितिहरूसँग सहकार्य गरेर पानीको सङ्कट समाधान गर्न सकिने विश्वास व्यक्त गरे सिमरा खानेपानी समितिको मागअनुसार नयाँ ट्याङ्की निर्माण र डिप ट्युबवेल जडानका योजनाहरू प्राथमिकतामा रहेको जानकारी दिए ।समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा भएको कार्यक्रममा मधेस प्रदेशकी सांसद मञ्जु थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल

काठमाडौँ, ५ असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको टिप्पणी गर्नुभएको छ ।

माओवादी केन्द्र चितवन–काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्नेलगायत गलत कदमका कारण सरकार सुरुआतकै चरणमा असफल भएको टिप्पणी गर्नुभएको हो ।

“नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठूलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको विरोधपछि सरकार पछि हट्नुपर्‍यो,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यस्तै आफैँले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारबिना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्‍यो ।”

उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिसमेतको बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्नेगरी हटाउनका लागि हस्ताक्षर गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरू पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसद्लाई ढाँटेको पनि देखियो ।”

भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले वर्तमान सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताउनुभयो ।

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दैगर्दा सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरू खुशी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी अभियानका कार्ययोजना निर्माण गर्न यसले ऊर्जा थपेको बताउनुभयो । पार्टी परामर्श बैठकका क्रममा प्रदेशहरूमा पुग्दा र पछिल्लो समय भदौ २९ र ३० गते मोरङ, सुनसरी र झापा पुग्दा प्राप्त गरेको जनसमर्थनले आफू थप उत्साहित भएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

“जनताले ठूलो पार्टी बनाए तर जनताको विश्वास बचाउन सकिएन । हाम्रो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको साँचो हो,” उहाँले भन्नुभयो, “सबै हिसाबले अहिले फेरि पार्टी पुनर्निर्माणको ठूलो अवसर प्राप्त भएको छ, यसलाई खेर जान दिनुहुन्न ।”

खासगरी सरकारमा रहँदा थालेको भ्रष्टाचार विरोधी अभियान हुँदै विश्व मञ्चमा शान्ति र जलवायु परिवर्तनका मुद्दामा नेपालको पक्षमा लिएको अडानका कारण माओवादी केन्द्रको नेतृत्व थप स्थापित हुने अवसर प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा नेतृत्व अहिलेजस्तो स्थापित कहिल्यै भएको थिएन । मलाई फरक खालको जोश आइरहेको छ । अहिले दिनरात खटिरहेको छु ।”

यी दुबै खालेका सोँचका विरुद्ध जनताले नयाँ शक्तिका रूपमा रुचाएका प्रगतिशील, बामपन्थी, लोकतान्त्रिक शक्तिहरू जनताको अधिकारको पक्षमा रहेको उल्लेख गर्दै उहाँले माओवादी केन्द्र यही शक्तिको नेतृत्वको गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता श्रीकृष्ण अधिकारी, यशोदा सुवेदीलगायतको उपस्थिती थियो ।

नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौँ । शनिबार विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले नेपालमा ६० वर्षभन्दा माथिका करिब सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित रहेको जानकारी दिइन् । उनले अल्जाइमरको सङ्ख्या यकिन भए पनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने गरेको बताइन् ।

जनचेतनाका कमीले अल्जाइमर रोगको प्रकोप बढिरहेको र समयमा उपचार गर्न सके यस रोगलाई कम गर्न सकिने निर्देशक निरौलाको भनाइ छ ।

‘समयमा नै रोग पहिचान गरेर कडा खालको बिर्सने रोगको लक्षणलाई अलि ढिला बनाउन सकिन्छ’, उनले भनिन्, “तर बिरामीले उपचार नगर्दा कडा खालको लक्षण चाँडै देखिने गरेको छ ।’

नेपालमा ६० वर्षमाथि उमेरका व्यक्तिमा यस रोगको समस्या देखिने गरे पनि आजकाल ४० देखि ४५ वर्ष उमेर समूहमा समेत समस्या देखिने गरेको निर्देशक निरौलाले बताइन् ।

लक्षण

अल्जाइमर रोग डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने, भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने र क्रमशः पुराना कुराहरू पनि बिर्संदै जाने हुन्छ र साथै एउटै कुरालाई बारबार दोहोर्याउने, ध्यान केन्द्रित गर्न समस्या हुने जस्ता लक्षणहरु देखा गर्ने गरेका चिकित्सकहरू बताउँछन् । पछि गएर उल्लिखित लक्षणहरू क्रमशः कडा रूपमा बढ्दै गइ दैनिक जीवनयापन नै कठिन हुन जान्छ ।

रोगको प्रमुख कारण बढ्दो उमेर भए पनि श्रवण शक्तिमा कमी, नसर्ने रोग (उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह), मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्वको कमी मदिरा र धुम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता जस्ता कारणले पनि हुने गर्दछ ।

महाशाखा प्रमुख निरौला रोग रोकथामको उपाय भनेको नै जोखिमहरू कम गर्नु रहेको बताउँछिन् । उनकाअनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसङ्ख्या १० प्रतिशत रहेको छ र बुढ्यौली जनसङख्याको वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार, हाल विश्वभर पाँच करोड ५० लाख मानिसहरू डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामीहरू थपिन्छन् र यो सङ्ख्या सन् २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ ।

सरकारले अल्जाइमर रोगलाई सम्बोधन गर्नका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत अल्जाइमर रोगका लागि  एक लाखसम्म सुविधा प्रदान गर्दै आइरहेको छ । यस रोगको उपचारका लागि देशभरि १२ वटा अस्पताल सूचीकृत छन् ।

राष्ट्रिय  मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले ज्येष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाइमर्स डिस अर्डरलगायत विस्मृति तथा अन्य मानसिक समस्याको शीघ्र पहिचान र व्यवस्थापन गरी सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको महाशाखा प्रमुख निरौलाले जानकारी दिइन् ।

उनले  अल्जाइमरसँगै डिमेन्सिया रोगको रोकथाम र जोखिम कम गर्न, उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजीकरण गर्न आवश्यक रहेको बताइन् । निरौलाले यी रोग भएका बिरामीलाई सामाजिक कार्यमा लगाउनुपर्ने, मस्तिष्कलाई क्रियाशील बनाउनुपर्ने र पर्याप्त मात्रामा फलफूल खुवाउनुपर्ने बताइन् ।

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको प्रकोप

रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् । सङ्क्रमणको डरलाग्दो वृद्धिपछि स्वास्थ्य अधिकारीले चक जलाल डिनमा एउटा मोबाइल स्वास्थ्य इकाई स्थापना गरी भाइरसको फैलावट नियन्त्रण गर्न आकस्मिक सेवा सुरू गरेका छन् ।

पछिल्लो २४ घण्टामा ४४ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ भने यस क्षेत्रमा मात्र २२६ जनामा डेङ्गु को सङ्क्रमण पुष्टि भएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

जिल्ला स्वास्थ्य प्राधिकरणले डेङ्गुविरुद्ध अभियान चलाए पनि डेङ्गु सार्ने लामखुट्टेको सङ्क्रमण फैलिन नदिन गरिएका प्रयासहरू अपर्याप्त देखिन्छन् । जिल्लाभर डेङ्गुका सङ्क्रमितको सङ्ख्या ५४३ पुगेको छ भने डेङ्गुसङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । पोटोहार शहरमा पछिल्लो २० घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् ।

यस क्षेत्रमा अन्य स्वास्थ्य समस्याहरू पनि चिन्ताको विषय बनेका छन्। यो क्षेत्रमा बर्षा ऋतुमा कङ्गो ज्वरोका दुई र औलोका ६५१ घटनाहरू रेकर्ड गरिएको छ भने जिल्लामा अहिलेसम्म मङ्कीपक्सको कुनै रिपोर्ट नआएको एक्सप्रेस ट्रिब्यूनले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा उल्लेख गरेको छ ।

जिल्ला स्वास्थ्य प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत आसिफ अरबाब नियाजीले सरकारले सङ्क्रमण रोक्न पहल गरिरहेको तर नागरिक सतर्क रहन आवश्यक रहेको बताउनुभएको छ ।

“सर्वसाधारणले अक्टोबर १५ सम्म सावधानी अपनाउनु पर्छ,” उहाँले भन्नुभयो । सङ्क्रमण फैलिन नदिनका लागि पानी जम्न नदिन, साँझपख झ्याल ढोका बन्द गर्न, लामो बाहुला भएको लुगा लगाउन र लामखुट्टेबाट टाढा रहनेजस्ता सावधानीलाई नियमित रूपमा अपनाउनुु पर्नेमा उहाँले जोड दिनुभयो ।

वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहमा सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्ता सहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भन्नुभयो । उहाँले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।” उहाँले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले ठट्यौली शैलीमा ‘काँग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताउनुभयो । “अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्ने गरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीय स्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ”, सभापति देउवाले भन्नुभयो ।

सभापति देउवाले काँग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताउनुभयो । “नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नै पर्‍यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु”, उहाँले भन्नुभयो । हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उहाँको तर्क थियो । “तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ”, उहाँले थप्नुभयो ।

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याउनुभयो । उहाँले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठूलो गौरवको विषय हो ।”

कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री एवं बिपी पुत्र डा शशाङ्क कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उहाँको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।” उहाँले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्तअनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरिब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताउनुभयो ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले बिपी कोइराला समकालीन राजनीतिमा ‘क्रान्तिकारी’ बहुआयामिक नेता भएको उल्लेख गर्दै उहाँले विचार आदर्श कहिल्यै नमर्ने धारणा राख्नुभयो ।

पार्टीका अर्का केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले महामानव बिपीको विचार आज पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले लोकतन्त्र बलियो बनाउन उहाँको आदर्श पछ्याउनुपर्ने बताउनुभयो ।

यस्तै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले महासमितिको निर्णयअनुसार अबका निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताउनुभयो । सो अवसरमा पार्टीको बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेपलाञ्चोक जिल्ला सभापति तिर्थ लामालगायतले महामानव बिपी कोइरालाको आदर्श विचार तथा योगदानबारे चर्चा गर्नुभएको थियो ।

बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा

काठमाडौँ, ५ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिद्वारा बडादशैँ, दीपावली, नेपाल सम्वत, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले बहुमत नभएको अवस्थामा जसले लोकप्रीय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थीर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले दुई पटकभन्दा बढी प्रम बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थीर प्रधानमन्त्री रहनेगरी संविधान संशोधन गर्न आवश्यक छ ।”

पार्टी कार्यकर्तामा आएको निराशा चिर्न आवश्यक रहेको बताउँदै उहाँले नेपालमा केही भएको छैन भन्ने नभई, केही भएको छ, केही अझै गर्न बाँकी भनेर बुझाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलकाबीचमा एक अर्कालाई दोषारोपण गर्नेभन्दा सहयोगी भावना गर्नेतिर ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासमा देखिने गरीनै नीतिगत नेतृत्व नेपाली कांग्रेसले गर्दै आएकाले भविष्यमा पनि त्यो सम्भव छ । माक्र्सवाद र लेनीनवादको विचारले नेपालको हितमा काम गर्न सक्दैन । अहिले राजनीतिमा सड्यन्त्रका तानावाना बुनिन थालेको छ ।”

हामी आफैै आफ्नो माटोमा उभिएर सार्वभौम राष्ट्रलाई आफैले नेतृत्व गर्न सक्छौँ भन्ने साहस देखाउन आवश्यक रहेको उहाँको भनाइ छ । कांग्रेस झापा सभापति देउमान थेवेले पार्टीका गतिविधिअघि बढाउन क्रियाशील सदस्य नवीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ साहित्यकार कृष्ण धरावासीले पार्टी सङ्गठन सुदृढीकरण गर्न र वैचारिकरूपमा अघि बढाउन संस्थापक नेताहरूका विचारलाई अगाल्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रम सम्पर्क समिति अध्यक्ष नवीन जोशीको अध्यक्षतामा भएको थियो ।

‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’

काठमाडौँ, ५ असोजः विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् । संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उहाँहरूको भनाइ छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही सिफारिस गरिएकाले सोहीअनुसार कार्यान्वयन हुनुपर्ने बताउनुभयो । संसदीय समितिको प्रतिवेदनले धेरै कुरा प्रष्ट पारिसकेकाले अब सभापति लामिछाने र उहाँ पक्षधरले गलत कुराको वकालत गर्न जरुरी नरहेको प्रधानको भनाइ छ । “लामिछानेका बारेमा प्रतिवेदनले स्पष्ट रूपमा कारबाही सिफारिस गरेको छ । अब पनि गलत कार्यको प्रतिरक्षा गर्नु राम्रो होइन । हाम्रो पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गर्नुपर्ने समितिको सिफारिस छ, त्यसैले उहाँले अनुसन्धानमा सहयोगका लागि तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट अलग रहनुपर्छ”, उहाँले भन्नुभयो ।

साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले प्रतिवेदनले प्रष्ट पारिसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ, कतिपयले त्यसमा नभएका कुरालाई पनि अतिरञ्जित गर्न थालेका छन् । यसमा सचेत हुनुपर्ने छ ।”

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेको संलग्नताबारे अझै पुष्टि नभइसकेको दाबी गर्नुभयो ।

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु बेपत्ता

टोकियो– जापानको कानागावा प्रान्तको एक सहरमा करिब १० जना यात्रु बोकेको एउटा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । फुजिसावा सहरको इनोशिमामा शनिबार करिब १० जना यात्रु बोकेको डुङ्गा पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीले घटना स्थानीय समय अनुसार दिउँसो करिब ४ः५० बजे भएको हो । उद्धार कार्य जारी रहेकाले यात्रुको हालको अवस्था अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, जापानको इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताएका छन् । जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ ।

इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध भएको छ भने करिब छ हजार घरहरू बिजुलीविहीन भएका छन् ।

बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान अधिकारीहरूले निर्देशन दिएको बताएका छन् ।

परराष्ट्रमन्त्री राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ५ असोज । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा.राणा हाल क्यानाडामा छिन् । सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा.राणाले उनीमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरिन् ।

वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चासो देखाएकी थिईन् ।त्यस्तै, दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।

जापानमा बाढीपहिरोका कारण एकको मृत्यु, सात बेपत्ता

टोकियो, असोज ५ गते । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

सरकारले विज्ञप्ति मार्फत घटनाको पुष्टि गरेको छ । बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताउनुभएको छ ।

जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ । इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन् ।

प्रभावित क्षेत्रका केही मानिसहरु सञ्चार सेवा विहिन भएको अपरेटरहरूले बताएका छन् । बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।

इशिकावाकोे निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

जापान मौसम विज्ञान विभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको छ । प्रधानमन्त्री फुमियो किशिदाले सरकारलाई प्राथमिकताका साथ जनताको जीवन बचाई विपद् व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थाल्यो

काठमाडौँ, ५ असोज ; मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो ।

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले हाल केन्द्रमा दैनिक १२० युनिटभन्दा धेरै रगतको माग हुने गरे पनि ७० देखि ८० युनिटसम्म मात्र सङ्कलन हुने गरेकाले माग धान्न नसकिएको बताउनुभयो । यहाँबाट माग पूर्ति गर्न नसकेपछि दमक, उर्लाबारीलगायत सेवा केन्द्रबाट पनि रगत ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो । “विगतमा भन्दा बिरामीको सङ्ख्या बढ्नु तर रक्तदान कार्यक्रमको आयोजनामा कमी हुनुले यस्तो समस्या आएको देखिन्छ । अब रक्तादान कार्यक्रम आयोजना गर्ने क्रम बढाउनुपर्ने आवश्यकता छ”, प्रमुख यादवले भन्नुभयो ।

प्रदेशभर विभिन्न सङ्घसंस्थाले मासिक रूपमा औसत १५ देखि २२ वटासम्म रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको भन्नुहुँदै उहाँले गर्मीयाममा रक्तदान कार्यक्रमको आयोजना कम हुने भएकाले रगतको अभाव हुने गरेको बताउनुभयो ।

प्रसूति, मिर्गौला डायलासिसका बिरामी, थाल्सेमिया (रगत नबन्ने) बिरामीका साथै दुर्घटनाका घाइतेहरूलाई धेरै रगत चाहिने गर्दछ । थाल्सेमिया विशेषगरी बालबालिकामा देखापर्ने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको सम्पर्कमा रहेका ९० जना बालबालिकाले थाल्सेमियाका कारण १५÷१५ दिनमा नियमित रगत चढाइरहेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जनस्तरमा रक्तदानसम्बन्धी पर्याप्त जनचेतना जगाउन सके रगत सङ्कलनमा केही सहज हुने बताउनुभयो ।

बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेषकुमार श्रेष्ठले रगत अभाव पूर्ति गर्न आफूहरूले पनि रक्तदान कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो । उहाँले शुक्रबार पनि रक्तदान कार्यक्रम आयोजना गरी ५५ युनिट रगत सङ्कलन गरिएको जानकारी दिनुभयो ।

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी हुन उनीहरू बेलायत प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन् ।

पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरू सहभागी हुनेछन् । साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुने तालिका छ ।

संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो

काठमाडौँ, ५ असोज- नेपालको संविधानको मुख्य उपलब्धि हो, समावेशीता । लैंगिक समावेशीता हेर्दा, संविधानले राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न निर्देश गरेको छ । अर्थात् राज्य सञ्चालनका प्रमुख पदसम्म महिला पुग्ने बाटो संविधानले खोलिदिएको छ ।

महिलाका मामिलामा राजनीतिक दलले संविधानले खोलेको बाटो नै छेकी दिएका छन् । दलले बाटो छेकेकै कारण राज्य सञ्चालन प्रक्रियामा तीन तहकै सरकारका कार्यकारी तहमा महिला प्रतिनिधित्व कमजोर छ । सबैजसो दलले संविधानले बाध्यकारी नबनाएका पदमा महिलालाई भूमिका दिएका छैनन् । संविधानले प्रमुख वा उपप्रमुख लेखेको स्थानमा महिलाहरुलाई सहायक र उप पदमा खुम्चाएका छन् । दलीय व्यवस्थामा राजनीतिक दलले नै प्रमुख भूमिका नदिएपछि महिलाहरु सरकार प्रमुख र कार्यकारी पदमा महिला पुग्ने बाटो छेकिएको छ ।

सङ्घीय संविधानले ल्याएको नयाँ संरचना प्रदेश तहमै हेरौं । संविधानको जगमा बनेका प्रदेश संरचनामै कार्यकारी भूमिकामा महिला सहभागिता असाध्यै कमजोर छ । संविधानले अनिवार्य गरेकाले सङ्घीय संसद्मा जस्तै सात वटै प्रदेशसभामा ३३ प्रतिशत महिला सहभागिता छ । तर, कार्यकारी पद सरकारमा महिला सहभागिता असाध्यै दयनीय छ । प्रदेशसभासम्म आउन संविधानले अनिवार्य गरे पनि सरकारबारे संविधानमा लेखिएन । यही कारण सदनबाट सरकारमा जान आफ्नै दलले रोक्दा महिलाहरु सरकार र सदनका कार्यकारी भूमिकामा जान नसकेका हुन् ।

देशमा सात प्रदेश छन् । हाल सातवटै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुख पुरुष छन् । प्रदेश स्थापनाको सात वर्ष पुग्दासम्म एक महिला सभामुख र एक महिला मुख्यमन्त्री बनेका छन् । अघिल्लो कार्यकालमा असाध्यै चुनौतीपूर्ण अवस्थामा बाग्मती प्रदेशमा करिब एक महिना एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । यसबाहेक अन्य प्रदेशमा महत्वपूर्ण मन्त्रालय समेत महिलाले पाएका छैनन् । सहभागिताका लागि मात्रै कतै एक त कतै दुई जनामात्रै मन्त्रिपरिषद्मा समेटिएका छन् । लुम्बिनी प्रदेशकै कुरा गरौं, सरकार स्थापनाका सात वर्षमा ५४ जना मन्त्री बनेका छन् । त्यसमा आठ जना महिलामात्रै मन्त्री बने । दुई जना राज्यमन्त्रीमा समेटिए । अरु पुरुषकै रजगज छ । यद्यपि, राजनीतिक दलका नेताहरुले एकदुई जना महिला सहभागी गराएपछि त्यसैलाई उपलब्धिको गलत व्याख्या गर्ने गरेका छन् ।

दोस्रो कार्यकालमा कर्णाली प्रदेशले सभामुख महिला पाएको छ । एमालेकी नन्दा गुरुङ कर्णालीकी सभामुख बनेकी छन् । यसबाहेक अन्य प्रदेशमा महत्वपूर्ण संसदीय समितिका सभापतिमा समेत महिला छैनन् । संविधानमा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने भनिएको छ । यसको फाइदा उठाउँदै दलहरुले महिलालाई उपसभामुखमा खुम्चाएका छन् । कतिसम्म भने दलहरुले दल नेता र प्रमुख सचेतकको जिम्मेवारी पनि महिलालाई दिएका छैनन् । आफ्नो दलबाट कसलाई सरकारमा पठाउने र सदनमा कस्तो भूमिका निभाउने भन्ने भूमिका तत् प्रदेशका दल नेता र प्रमुख सचेतकलाई हुन्छ । यी भूमिकामा महिला नहुँदा सदनसम्म पुगेका महिलाले आफ्नो क्षमता देखाउने अवसर पनि खोसिएको छ ।

नागरिकको ढोका अगाडिको सरकार स्थानीय तहमा हेरौँ, यहाँ पनि प्रमुख तहमा महिला सहभागिता दयनीय छ । अघिल्लो निर्वाचन २०७४ मा देशका ७५३ स्थानीय तहमध्ये १८ वटा स्थानीय तहको प्रमुख एवं अध्यक्ष महिला थिए । यो सङ्ख्या बढेर हाल २५ स्थानीय तहमा महिला प्रमुख एवं अध्यक्ष बनेका छन् । तर, प्रमुख पदमा महिला पुगेको यो संख्या असाध्यै कम हो ।

स्थानीय निर्वाचन २०७३ मा स्थानीय तहमा यौटै दलबाट प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षमा एक जना महिला हुनुपर्ने प्रावधान छ । तर, दलहरुले महिलालाई उपप्रमुख र उपाध्यक्षका मात्रै उमेदवार बनाएर प्रमुख हुने बाटो छेकीदिए । गठबन्धन गरेर दलहरु चुनाव लडेका स्थानमा त दुवै पद पुरुषले पाए । महिलाले पाएनन् । स्थानीय निर्वाचन ऐनमा गठबन्दनबारे केही लेखिएको छैन । दलहरुले फरक दलबाट चुनाव लड्दा महिला सहभागिता अनिवार्य हँुदैन भन्ने व्याख्या गरे । बल्लतल्ल उपप्रमुख बन्ने महिलाको अवसर पनि खोसियो । यसले स्थानीय तहमा प्रमुख वा अध्यक्ष मात्र होइन उपप्रमुख वा उपाध्यक्ष बन्ने महिलाको अवसर पनि खोसिएको छ । 

नेपालको संविधानले तीन तहका सरकारबीच समन्वय सहकार्य र सहअस्थित्वको सिद्धान्त अँगालेकोे छ । यसर्थ सङ्घीय सरकारको छाप प्रदेश र स्थानीय तहमा पर्छ । सङ्घीय सरकारले अहिलेसम्म नेपालको प्रधानमन्त्री महिला बनाएको छैन । प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने गरी राजनीतिक दलहरुले नेतृत्वमा महिला पुर्याएका छैनन् । संघमै प्रधानमन्त्री महिला नबनेपछि प्रदेशले बनाउनुपर्छ भन्ने मानसिकता नै ल्याएका छैनन् । ठूला दलमा अध्यक्ष वा मुख्य पदमा महिला नपुर्याउँदा त्यसको प्रतिविम्ब देशको प्रधानमन्त्रीमा दावेदारी पेश गर्ने महिला नभएका हुन् ।

देशको मूल कानुन संविधान हो भने मूलनीति राजनीति हो । तर, ठूला राजनीतिक दलकै प्रमुख पदमा महिला छैनन् । पदाधिकारीमा पनि सहभागिता दयनिय छ । दलकै प्रमुख र निर्णायक पदमा महिला नहुँदा सरकार सञ्चालनका प्रमुख पदमा महिला नपुगेका हुन् । दलीय व्यवस्थामा राजनीतिक दलहरु नै निर्वाचनमा होमिन्छन्, जनमत लिन्छन् र सरकार सञ्चालन प्रक्रियामा जान्छन् । एक, दुई अपवादमा स्वतन्त्र बाहेक निर्वाचन प्रक्रियामा जान कुनै न कुनै राजनीतिक दलमा आवद्ध हुनुपर्छ । टिकट लिन त्यस दलको कुनै न कुनै भूमिकामा हुनुपर्छ । नेतृत्व र कार्यकारी भूमिकामा हुनेले सजिलै टिकट पाउछन् नहुनेले पाउँदैनन् । चुनाव जितिहाले पनि दलको नेतृत्वमा भएका सरकार सञ्चालन प्रक्रियामा सहभागी हुन पाउछन् नहुनेले पाउदैनन् । विडम्बना दलिय भूमिकामा महिला कमजोर हुँदा सरकार संचालन प्रक्रियामा जाने बाटो पनि साँघुरिएको छ । महिलालाई नेतृत्व दिने र निर्णायक तहमा लैजाने बाटोमा दलका नेता अबुझी र असहयोगी छन् । यसले महिलाका लागि नेतृत्वमा पुग्ने बाटो अझ असहज बनेको छ ।

संविधानले सङ्घीयता ल्यायो । सङ्घीयताले एकात्मक र केन्द्रिकृत शासन प्रणालीलाई सङ्घात्मक र विकेन्द्रित बनायो । पुरुषको मात्रै रजगज चलेको शाशन व्यवस्थामा महिला जाने बाटो खोलिदियो । तर, शाशन व्यवस्था जस्तैः राजनीतिक व्यवस्थामा सङ्घीयता आएन । राजनीतिक दलहरुले अहिले पनि शक्ति र स्रोत केन्द्र र पुरुषमा राख्ने प्रवृत्ति फेरेका छैनन् । सङ्घमा हुने असर यतिछिटो प्रदेशमा पर्छकि सङ्घीय राजनीतिमा पानी पर्दा प्रदेशले छाता ओड्नुपर्ने अवस्था छ । महिलाका मामिलामा दलहरुको सोच अझै फराकिलो बनेको छैन । महिलालाई सेवक र पुरुषलाई शासक देख्ने प्रवृत्ति अझै फेरिएको छैन । दलका नेता महिला कार्यकर्ता बन्छन् भन्नेमा निश्चिन्त छन् तर, नेता बन्छन् भन्नेमा ढुक्क छैनन् । महिला मतदाता बन्छन् तर, प्रत्यक्ष चुनावमा होमिने गरी उमेद्वार बन्न सक्छन् भन्नेमा सशंकित छन् । महिलालाई कमजोर देख्ने यही प्रवृत्तिले पुरुषले सम्हालेको राजनीतिक नेतृत्व महिलालाई दिन अटेरी गरिरहेका छन् ।

राजनीतिक दलहरुले निर्णायक तहमा महिला नपुर्‍याउनु र पुरुष मात्रै कार्यकारी भूमिकामा बस्नु संविधानको समावेशी नीति विपरीतको काम हो । संविधानको जगमा शासन चलाएका राजनीतिक दलले सङ्घीयताकै नीति अनुसार सरकार सञ्चालनमा जसरी पनि महिला लैजानुपर्छ । त्यसका लागि दलहरुले पुरुष मात्रै नेता देख्ने प्रवृत्ति सच्चाउन जरुरी छ । संविधानले बाध्यकारी नपारेको स्थानमा महिला नलैजाने परिपाटी नरोकिने हो भने, संविधान र त्यसको आडमा बनेका ऐन परिमार्जन जरुरी छ । जस्तो कि राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गी वा समुदायको सट्टा महिला नै लेखिनुपर्छ ।

सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत महिला भएजस्तै सरकार सञ्चालनका लागि मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सुनिश्चित गरिनुपर्छ । प्रधानमन्त्री र उपप्रधानमन्त्रीमध्ये एक महिला हुनुपर्छ । सङ्घ र प्रदेशमा प्रत्यक्षमै ३३ प्रतिशत महिला उमेदवार बनाउनुपर्छ । स्थानीय तहमा प्रमुख वा अध्यक्षको उमेदवार बनाउँदै ३३ प्रतिशत महिला तोकिनुपर्छ ।

राजनीतिक दलहरुले कोटा पुर्‍याउन मात्रै महिलालाई पद दिने होइन, निर्णायक र कार्यकारी भूमिकामा लैजानुपर्छ । संविधानले महिलालाई प्रमुख पदमा पुग्न दिएको अवसर दलहरुले छेक्न हुँदैन । संविधान जारी भएको १०औँ वर्ष प्रवेशमा अब महिला सहभागिता मात्र होइन, प्रमुख पदका लागि बहस गरिनुपर्छ ।

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट थानाभ¥याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

काठमाडौँ, ५ असोज: कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखाैँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ।

उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो ।

क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ”, उहाँले भन्नुभयो, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।”

म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका छवटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् ।

अप्राविधिकतर्फको प्रशासन सहायक (पाँचौँ) र खरिदार (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो । तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताउनुभयो । उहाँले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताउनुभयो ।

मेची भन्सार कार्यालयबाट दुई महिनामा ५२ प्रतिशतले बढ्यो चिया निर्यात

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो ।

प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उनको दाबी छ ।

गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो ।

पितृपक्ष सुरु भएदेखि पुरोहितलाई भ्याइनभ्याइ

महोत्तरी । बर्दिबास–२ का दिनेशकुमार झालाई अहिले घरका नियमित कामकाज हेर्ने फुर्सद नै छैन । घरको स-सानो काममा पनि परिवारका अन्य सदस्यलाई सघाउने उनलाई हिन्दू परम्पराको पितृपक्ष सुरु भएदेखि घरबाहिरको काममै भ्याइनभ्याइ छ ।

कर्मकाण्डी पुरोहित झालाई अचेल एकै दिनमा कैयौँ व्यक्तिको श्राद्ध गराई दिनुपर्ने भएपछि धपेडी बढेको हो । ‘यो सयम दौडादौड नै हुन्छ, घरको काम त हेर्नै भ्याइँदैन,’ झा भन्छन्, ‘एकै दिन पाँच ठाउँमा श्राद्ध गराइदिनुपर्ने भएपछि एकाबिहानैदेखि व्यस्त हुन्छु ।’

दिनेश मात्र नभएर उनकै दाजु महेशकुमार झा पनि पितृपक्षमा व्यस्त छन् । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराइदिनुपर्ने भएकाले पुरोहितहरूलाई अहिले भ्याइनभ्याइ छ । सोह्रश्राद्धमा पितृको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चार-पाँच ठाउँमा कर्मकाण्ड गराउनुपर्ने भएपछि आफूहरूका लागि एकछिन पनि थकाइ मार्ने समय नभएको बर्दिबास–१ का अर्का पुरोहित पुष्पराज काफ्ले बताउँछन्।

‘हेर्नोस् न, आफ्नो पनि खेतीपाती छ, पोटाउँदै गरेको धानमा मल छर्ने बेला छ, यहीबेला पितृपक्षमा सबै यजमान कहाँ पुग्नुपर्ने पारम्परिक बाध्यता पनि छ,’ उनी भन्छन्, ‘गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै पर्‍यो, त्यसैले आफ्नै घरका परिवारजनलाई पनि सहयोग गर्न पाएको छैन ।’

यसपालि गत बुधबार पितृपक्ष सुरु भएको हो । आजसमेत गरी तीन दिनमा दैनिक करिब चार घरमा श्राद्ध गराएको उनले बताए । सामान्यतया एकोदिष्ट श्राद्ध (पितृपक्षबाहेकको बेलाको तिथि, आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न एक-डेढ घण्टा लाग्नेमा पार्वण श्राद्ध (पितृपक्षको श्राद्ध) गर्न भने कम्तीमा साढे दुई घण्टा लाग्ने पुरोहित बताउँछन् ।

एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ । तर पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकुल), मावल (मातृकुल) का तीन पुस्तालाई नै सङ्कल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र गुरु, दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवङ्गत काकाबाबुहरूलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको उनीहरूको भनाइ छ ।

यसपालि पहिलो दिनबाहेक सबैजसो तिथि दिनैपिच्छे परेका छन् । प्रतिपदा श्राद्धभने पूर्णिमा कटाएर बुधबार गर्नुपर्दा अपराह्न मात्र गर्न मिलेको थियो । अब तिथिपिच्छेका श्राद्ध गरिँदै यही असोज १६ गते पितृ विसर्जन गरिनेछ । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ तिथि भए पनि पूर्णिमा तिथिको पार्वण श्राद्ध औँसीका दिन गरिने विधानले श्राद्ध १६ हुनेहुँदा यसपक्षलाई सोह्रश्राद्ध भनिएको भङ्गाहा–५ सीतापुरका कर्मकाण्डी पुरोहित ब्राह्मण विष्णुप्रसाद शर्मा बताउँछन् ।
हिन्दू वैदिक परम्पराअनुसार गरिने पार्वण (महालय) र एकोपार्वण (सोह्रश्राद्धभित्र नै दिवङ्गत भएकाहरूको गरिने) तिथि धेरैजसो यजमानको घरमा एकै दिन पर्ने भएकाले पुरोहितहरूको व्यस्तता बढ्ने गरेको हो । पुरोहितको माग नघटे पनि यसमा लाग्नेहरूको सङ्ख्या घट्दै जाँदा पनि एउटैले धेरै ठाउँ खट्नुपर्ने बाध्यता छ । ब्राह्मण परिवारका नयाँ पुस्ताका सन्तानले यो काममा अनिच्छा देखाउन थालेपछि पुरोहित घट्दै गएका स्वयम् पुरोहितहरू नै बताउँछन् ।

‘हाम्रा बाजे, पिताजी र त्यसअघिका पूर्वज पनि कर्मकाण्डमा पारङ्गत हुनुहुन्थ्यो, हामी दाजुभाइलाई पनि बाजे र पिताजीले कर्मकाण्ड अध्ययनमा उत्प्रेरित गर्नुभयो,’ बर्दिबास–१ का भागवत काफ्ले भन्छन्, ‘तर हाम्रा छोराले यता रुचि देखाएनन्, हामीले पनि कर गरेनौँ ।’ सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दक्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेसा अँगाल्ने ब्राह्मण पातलिँदै गएका उनको बुझाइ छ ।

परम्पराअनुसार श्राद्ध र अन्य वैदिक कार्यको आयोजन गर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किल पर्ने छाँट देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायीको चिन्ता छ । ‘खै काम पर्दा पुरोहित हतपत भेटिँदैनन्, अब यो परम्परा के होला ?,’ भङ्गाहा–५ सीतापुरका ८७ वर्षीय शालिग्राम ढकाल चिन्ता व्यक्त गर्छन् ।

वैदिक परम्पराका अनुयायी पाकाजन पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउनुपर्ने बताउँछन् । विश्वका अन्य मुलुकमा आ–आफ्ना परम्पराप्रति गर्व गर्नेहरू देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नुजस्तै ठान्नुपर्ने महोत्तरीकै जलेश्वर–४ का बासिन्दा ८४ वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।

कर्मकाण्ड र वैदिक परम्पराभित्र रहेका उचनिचको चलन, जातिपाती तथा छुवाछूतको रूढिवादी परम्परा र बिरालो बाँध्नेजस्ता विकृत चलन हटाउनुपर्नेमा भने अब बूढापाका पनि सहमत देखिएका छन् ।

एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु

काठमाडौँ, ५ असोज: मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।

एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो  

जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशितगरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँ जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन आग्रह गरेको छ । 

सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२) बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो । 

प्रशासन कार्यालयमा मूल्य निर्धारण समितिको गत बुधबार बसेको बैठकले प्रसारण लाइनअन्तर्गत टावरहरु रहने जग्गाको अन्तिम मूल्य निर्धारण गरेको थियो । प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले तनहुँ जिल्लाभित्र निर्माण हुने सबै टावर रहने जग्गाको उचित मूल्य निर्धारण गरेको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।

जिल्लास्थित आबुँखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गत करिब एक सय ९९ वटा टावर निर्माण हुनेछन् । तीमध्ये कतिपय टावर सरकारी जग्गामा पर्ने र कतिपय विवादित जग्गामा पर्ने हुँदा ती टावरलाई छोडेर बाँकी रहेको टावर रहने जग्गाको मूल्य निर्धारण गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ । 

मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत रुपमा जग्गाको निरीक्षण गरेको र धेरैपटक छलफल गरिएको जनाएको छ । जग्गाको वर्गीकरणअनुसार मुआब्जा निर्धारण गरिएको भन्दै सहायक प्रजिअ भण्डारीले मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको बताउनुभयो । 

मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने रातमाटे, न्यू दमौली, लेखनाथ र न्यू बुटवल सवस्टेशनमा विद्युत् प्रवाहका लागि विद्युत् प्रसारण आयोजनाअन्तर्गत काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी हुनेछ । उक्त प्रसारण लाइनअन्तर्गत तनहुँका पाँच वटा पालिकामा एक सय ९९ वटा टावर रहनेछ ।

एमसिए नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहका लागि महत्वपूर्ण बिन्दुका रुपमा काम गर्नेछ । 

केजरीवालले राजीनामा दिएपछि दिल्लीमा नयाँ मुख्यमन्त्री आतिशीको शपथग्रहण आज

नयाँ दिल्ली । अरविन्द केजरीवालले राजीनामा दिएपछि दिल्लीको नयाँ मुख्यमन्त्रीका रुपमा आतिशीले मुख्यमन्त्रीको रुफमा सपथ लिँदैछिन् ।
सपथ ग्रहण कार्यक्रम राजनिवासमा हुनेछ । कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ । राजनिवास स्रोतका अनुसार आतिशीले अपरान्ह ४ : ३० देखि ५ बजेसम्म मुख्यमन्त्रीको सपथ लिनेछन् ।

मन्त्रीहरुको सपथग्रहणको फाइल राष्ट्रपतिको स्वीकृतिका लागि पठाइएको आधिकारिक स्रोतले जनाएको छ । शुक्रबार साँझसम्म यसबारे कुनै जानकारी आएको छैन । तर यो फाइल शनिबार बिहान राष्ट्रपति भवनबाट राजनिवाससम्म पुग्ने सम्भावना रहेको छ । अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामा र आतिशीको नेतृत्वमा नयाँ सरकार गठन राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ।

सञ्चार माध्यमहरूका अनुसार मुख्यमन्त्री केजरीवाल फेरिएपनि मन्त्रीहरू भने पुरानैलाई दोहोल्याउने तयारी छ । आतिशीको मन्त्रिपरिषद्‌मा केजरीवाल सरकारका चारै मन्त्रीहरूलाई फेरि मन्त्री पद दिइँदैछ। यससँगै अनुसूचित जातिको लागि आरक्षित सिटमा प्रतिनिधित्व गर्ने मुकेश अहलावत नयाँ अनुहार हुनेछन्। मन्त्रिपरिषद्मा अझै एउटा पद रिक्त छ । यसका लागि पार्टीभित्र विचारविमर्श भइरहेको छ ।