`

मेची भन्सार कार्यालयबाट दुई महिनामा ५२ प्रतिशतले बढ्यो चिया निर्यात

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो ।

प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उनको दाबी छ ।

गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो ।

पितृपक्ष सुरु भएदेखि पुरोहितलाई भ्याइनभ्याइ

महोत्तरी । बर्दिबास–२ का दिनेशकुमार झालाई अहिले घरका नियमित कामकाज हेर्ने फुर्सद नै छैन । घरको स-सानो काममा पनि परिवारका अन्य सदस्यलाई सघाउने उनलाई हिन्दू परम्पराको पितृपक्ष सुरु भएदेखि घरबाहिरको काममै भ्याइनभ्याइ छ ।

कर्मकाण्डी पुरोहित झालाई अचेल एकै दिनमा कैयौँ व्यक्तिको श्राद्ध गराई दिनुपर्ने भएपछि धपेडी बढेको हो । ‘यो सयम दौडादौड नै हुन्छ, घरको काम त हेर्नै भ्याइँदैन,’ झा भन्छन्, ‘एकै दिन पाँच ठाउँमा श्राद्ध गराइदिनुपर्ने भएपछि एकाबिहानैदेखि व्यस्त हुन्छु ।’

दिनेश मात्र नभएर उनकै दाजु महेशकुमार झा पनि पितृपक्षमा व्यस्त छन् । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराइदिनुपर्ने भएकाले पुरोहितहरूलाई अहिले भ्याइनभ्याइ छ । सोह्रश्राद्धमा पितृको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चार-पाँच ठाउँमा कर्मकाण्ड गराउनुपर्ने भएपछि आफूहरूका लागि एकछिन पनि थकाइ मार्ने समय नभएको बर्दिबास–१ का अर्का पुरोहित पुष्पराज काफ्ले बताउँछन्।

‘हेर्नोस् न, आफ्नो पनि खेतीपाती छ, पोटाउँदै गरेको धानमा मल छर्ने बेला छ, यहीबेला पितृपक्षमा सबै यजमान कहाँ पुग्नुपर्ने पारम्परिक बाध्यता पनि छ,’ उनी भन्छन्, ‘गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै पर्‍यो, त्यसैले आफ्नै घरका परिवारजनलाई पनि सहयोग गर्न पाएको छैन ।’

यसपालि गत बुधबार पितृपक्ष सुरु भएको हो । आजसमेत गरी तीन दिनमा दैनिक करिब चार घरमा श्राद्ध गराएको उनले बताए । सामान्यतया एकोदिष्ट श्राद्ध (पितृपक्षबाहेकको बेलाको तिथि, आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न एक-डेढ घण्टा लाग्नेमा पार्वण श्राद्ध (पितृपक्षको श्राद्ध) गर्न भने कम्तीमा साढे दुई घण्टा लाग्ने पुरोहित बताउँछन् ।

एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ । तर पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकुल), मावल (मातृकुल) का तीन पुस्तालाई नै सङ्कल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र गुरु, दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवङ्गत काकाबाबुहरूलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको उनीहरूको भनाइ छ ।

यसपालि पहिलो दिनबाहेक सबैजसो तिथि दिनैपिच्छे परेका छन् । प्रतिपदा श्राद्धभने पूर्णिमा कटाएर बुधबार गर्नुपर्दा अपराह्न मात्र गर्न मिलेको थियो । अब तिथिपिच्छेका श्राद्ध गरिँदै यही असोज १६ गते पितृ विसर्जन गरिनेछ । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ तिथि भए पनि पूर्णिमा तिथिको पार्वण श्राद्ध औँसीका दिन गरिने विधानले श्राद्ध १६ हुनेहुँदा यसपक्षलाई सोह्रश्राद्ध भनिएको भङ्गाहा–५ सीतापुरका कर्मकाण्डी पुरोहित ब्राह्मण विष्णुप्रसाद शर्मा बताउँछन् ।
हिन्दू वैदिक परम्पराअनुसार गरिने पार्वण (महालय) र एकोपार्वण (सोह्रश्राद्धभित्र नै दिवङ्गत भएकाहरूको गरिने) तिथि धेरैजसो यजमानको घरमा एकै दिन पर्ने भएकाले पुरोहितहरूको व्यस्तता बढ्ने गरेको हो । पुरोहितको माग नघटे पनि यसमा लाग्नेहरूको सङ्ख्या घट्दै जाँदा पनि एउटैले धेरै ठाउँ खट्नुपर्ने बाध्यता छ । ब्राह्मण परिवारका नयाँ पुस्ताका सन्तानले यो काममा अनिच्छा देखाउन थालेपछि पुरोहित घट्दै गएका स्वयम् पुरोहितहरू नै बताउँछन् ।

‘हाम्रा बाजे, पिताजी र त्यसअघिका पूर्वज पनि कर्मकाण्डमा पारङ्गत हुनुहुन्थ्यो, हामी दाजुभाइलाई पनि बाजे र पिताजीले कर्मकाण्ड अध्ययनमा उत्प्रेरित गर्नुभयो,’ बर्दिबास–१ का भागवत काफ्ले भन्छन्, ‘तर हाम्रा छोराले यता रुचि देखाएनन्, हामीले पनि कर गरेनौँ ।’ सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दक्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेसा अँगाल्ने ब्राह्मण पातलिँदै गएका उनको बुझाइ छ ।

परम्पराअनुसार श्राद्ध र अन्य वैदिक कार्यको आयोजन गर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किल पर्ने छाँट देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायीको चिन्ता छ । ‘खै काम पर्दा पुरोहित हतपत भेटिँदैनन्, अब यो परम्परा के होला ?,’ भङ्गाहा–५ सीतापुरका ८७ वर्षीय शालिग्राम ढकाल चिन्ता व्यक्त गर्छन् ।

वैदिक परम्पराका अनुयायी पाकाजन पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउनुपर्ने बताउँछन् । विश्वका अन्य मुलुकमा आ–आफ्ना परम्पराप्रति गर्व गर्नेहरू देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नुजस्तै ठान्नुपर्ने महोत्तरीकै जलेश्वर–४ का बासिन्दा ८४ वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।

कर्मकाण्ड र वैदिक परम्पराभित्र रहेका उचनिचको चलन, जातिपाती तथा छुवाछूतको रूढिवादी परम्परा र बिरालो बाँध्नेजस्ता विकृत चलन हटाउनुपर्नेमा भने अब बूढापाका पनि सहमत देखिएका छन् ।

एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु

काठमाडौँ, ५ असोज: मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।

एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो  

जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशितगरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँ जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन आग्रह गरेको छ । 

सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२) बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो । 

प्रशासन कार्यालयमा मूल्य निर्धारण समितिको गत बुधबार बसेको बैठकले प्रसारण लाइनअन्तर्गत टावरहरु रहने जग्गाको अन्तिम मूल्य निर्धारण गरेको थियो । प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले तनहुँ जिल्लाभित्र निर्माण हुने सबै टावर रहने जग्गाको उचित मूल्य निर्धारण गरेको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।

जिल्लास्थित आबुँखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गत करिब एक सय ९९ वटा टावर निर्माण हुनेछन् । तीमध्ये कतिपय टावर सरकारी जग्गामा पर्ने र कतिपय विवादित जग्गामा पर्ने हुँदा ती टावरलाई छोडेर बाँकी रहेको टावर रहने जग्गाको मूल्य निर्धारण गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ । 

मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत रुपमा जग्गाको निरीक्षण गरेको र धेरैपटक छलफल गरिएको जनाएको छ । जग्गाको वर्गीकरणअनुसार मुआब्जा निर्धारण गरिएको भन्दै सहायक प्रजिअ भण्डारीले मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको बताउनुभयो । 

मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने रातमाटे, न्यू दमौली, लेखनाथ र न्यू बुटवल सवस्टेशनमा विद्युत् प्रवाहका लागि विद्युत् प्रसारण आयोजनाअन्तर्गत काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी हुनेछ । उक्त प्रसारण लाइनअन्तर्गत तनहुँका पाँच वटा पालिकामा एक सय ९९ वटा टावर रहनेछ ।

एमसिए नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहका लागि महत्वपूर्ण बिन्दुका रुपमा काम गर्नेछ । 

केजरीवालले राजीनामा दिएपछि दिल्लीमा नयाँ मुख्यमन्त्री आतिशीको शपथग्रहण आज

नयाँ दिल्ली । अरविन्द केजरीवालले राजीनामा दिएपछि दिल्लीको नयाँ मुख्यमन्त्रीका रुपमा आतिशीले मुख्यमन्त्रीको रुफमा सपथ लिँदैछिन् ।
सपथ ग्रहण कार्यक्रम राजनिवासमा हुनेछ । कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ । राजनिवास स्रोतका अनुसार आतिशीले अपरान्ह ४ : ३० देखि ५ बजेसम्म मुख्यमन्त्रीको सपथ लिनेछन् ।

मन्त्रीहरुको सपथग्रहणको फाइल राष्ट्रपतिको स्वीकृतिका लागि पठाइएको आधिकारिक स्रोतले जनाएको छ । शुक्रबार साँझसम्म यसबारे कुनै जानकारी आएको छैन । तर यो फाइल शनिबार बिहान राष्ट्रपति भवनबाट राजनिवाससम्म पुग्ने सम्भावना रहेको छ । अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामा र आतिशीको नेतृत्वमा नयाँ सरकार गठन राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ।

सञ्चार माध्यमहरूका अनुसार मुख्यमन्त्री केजरीवाल फेरिएपनि मन्त्रीहरू भने पुरानैलाई दोहोल्याउने तयारी छ । आतिशीको मन्त्रिपरिषद्‌मा केजरीवाल सरकारका चारै मन्त्रीहरूलाई फेरि मन्त्री पद दिइँदैछ। यससँगै अनुसूचित जातिको लागि आरक्षित सिटमा प्रतिनिधित्व गर्ने मुकेश अहलावत नयाँ अनुहार हुनेछन्। मन्त्रिपरिषद्मा अझै एउटा पद रिक्त छ । यसका लागि पार्टीभित्र विचारविमर्श भइरहेको छ ।

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा, आज २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्दै

चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी नेपाल)ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो ।

शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् ।

पहिलो दिन दुई जना भारतीय विज्ञसहित १२ जनाले मुटुको भिडियो एक्स–रेसम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए। आज दुई जना भारतीय र एक जना मालदिभ्सका विज्ञ चिकित्सकसहित २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सोसाइटीका अध्यक्ष डा लौडारी, पूर्वअध्यक्ष प्रा डा श्यामराज रेग्मी र प्रा डा मणि गौतमले पहिलो दिन संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरेका हुन् । सोही अवसरमा सोसाइटीले प्रकाशन चौथो जर्नल विमोचन गरिएको थियो ।
‘प्रथम इकोकोन नेपाल’ नाम दिइएको सम्मेलन मुटुको भिडियो एक्स–रेलाई नै लक्षित गरेर नेपालमा पहिलो पटक भएको डा लौडारीले बताए ।

सम्मेलनमा मुटुको भिडियो एक्स–रेबाट कस्ता रोग पत्ता लाग्न सक्छन् ? मुटुको उपचारमा भिडियो एक्स–रेको के–कस्तो योगदान हुन्छ ? भन्ने विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ । नेपालको चितवनसहित काठमाडौँ, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, वीरगञ्जबाट र भारतको दिल्ली, चेन्नाइ, मालदिभ्सबाट मुटुरोग विशेषज्ञको सहभागिता रहेको छ ।

सम्मेलनले मुटुरोग उपचारको गुणस्तरमा थप वृद्धि गर्ने उनको भनाइ छ । मुटुको भिडियो एक्स–रेसम्बन्धी विभिन्न देशमा भएका अत्याधुनिक प्रविधि र ज्ञानको आदानप्रदान हुनेछ ।

मुटुको भिडियो एक्स–रेबाट मुटुमा जन्मजात प्वालहरु, मुटुको खुम्चिनसक्ने क्षमता, मुटुको भल्बसम्बन्धी अवस्था, मुटुमा पानी जम्ने रोग, मुटुबाट निस्किने प्रमुख धमनीसम्बन्धी रोग पहिचान गर्न सहज हुने गर्दछ ।

विश्वमा मृत्युको पहिलो कारण मुटु तथा मुटुका रक्तनलीसम्बन्धी रोगहरु रहेको डा लौडारीको भनाइ छ ।

संघीयता आयो, मानसिकतामा परिवर्तन आएन : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनाअनुसार अझै मानसिकतामा परिवर्तन हुन नसकेको बताएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले देश सङ्घीय संरचनामा गए पनि मानसिकता भने परम्परागत केन्द्रीयतानुसार नै रहेको बताए ।

मुख्यमन्त्री कँडेलले विकास साझेदार तथा दातृ निकाय पनि काठमाडौँ केन्द्रीत मानसिकतामा रहेको धारणा राखे। ‘राजनीतिक रूपमा पालिका र प्रदेश सरकारका संरचना बनायौँ तर त्यहीअनुसार सुदृढतापूर्वक अगाडि बढ्न सकेका छैनौँ । यसमा सुधार गर्नुपर्ने आवश्यकता छ,’ उनले भने,’सबै तहका संवैधानिक अधिकारको कार्यान्वयनका लागि समयसापेक्ष संविधान संशोधनका लागि मतैक्यता बनाउनतर्फ लाग्नुपर्छ । यसमा निर्वाचित जनप्रतिनिधि, मन्त्री र विशेष गरी दलका नेतृत्वहरूको भूमिका बढी छ ।’

मख्यमन्त्री कँडेलले कर्णालीमा वित्तीय स्रोतको वितरण असन्तुलित रहेकाले यसका सूचक बदल्नुपर्ने र वित्तीय सङ्घीयताका विषयमा सङ्घीय सरकार थप उद्धार हुनुपर्नेमा जोड दिए । सङ्घीय सरकारले अन्य प्रदेश सरह बाँडफाँड गर्ने राजश्व कर्णालीका लागि न्यायोचित नभएको उनको भनाइ थियो ।

कार्यक्रममा आयोजक फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टर ललितपुरका अध्यक्ष डा खिमलाल देवकोटाले संविधान कार्यान्वयन, सङ्घीयता सबलीकरण, सङ्घ, प्रदेश र स्थानीयमा स्रोत बाँडफाँड सुनिश्चितताको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। सेन्टरका निर्देशक तथा संविधानसभा सदस्य प्रल्हाद लामिछानेले पछिल्लो समय संविधान र सङ्घीयताका विषयमा उठेका सवालमा सहजीकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम अगाडि बढाइएको बताए ।

भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा सञ्जय महतो निर्वाचित

काठमाडौँ । नेपाल भ्यालुयर्स एसोसिएसनको छैटौँ अधिवेशनले सञ्जय महतोको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

शुक्रबार भएको अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास वाग्ले, मनिष कर्ण, यमलाल पाण्डे र प्रज्ञान घिमिरे चयन भएका छन् । यसैगरी महासचिवमा अशोक सिलवाल, सचिवमा रविन्द्र अधिकारी र कोषाध्यक्षमा सन्देश श्रेष्ठ निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमिति सदस्यमा सचिन भट्टराई, श्रीबोध ज्ञवाली, आश्मा पोखरेल, उपेन्द्र लुईटेल, हृदय खड्का र सरोज श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा सङ्लग्न एक हजार २०० इञ्जिनियरको सहभागिता रहेको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक इन्जिनियर सुवास जोशीले प्रमाणपत्र वितरण गरे ।

अधिवेशनका लागि जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठत्त गरिएको थियो । समितिको सदस्यमा अधिवक्ता नारायण कोइराला र इञ्जिनीयर अमित थकाली थिए। एसोसिएसन नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र मुख्यतया आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा कार्यरत व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन गर्ने इन्जिनियरको संस्था हो ।

प्रदेशहरूको सीमांकन सच्याएर पूर्ण अधिकार दिनुपर्छ : अध्यक्ष राउत

धनुषा । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा पार्टीका कार्यकर्ताको प्रशिक्षण तथा शुभकामना कार्यक्रममा अध्यक्ष डा राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने र प्रदेशहरुको सिमाङ्कन पनि सच्याउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले संविधान संशोधन गरी नागरिकका थप अधिकार समेट्न आवश्यक रहेको बताए ।
कार्यक्रममा पार्टीका सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत, राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य ई वसन्त कुशवाहा, प्रतिनिधिसभा सदस्य अनिता देवी साह, कार्यकारिणी सदस्य शम्भुनाथ साहलगायतले पार्टी सङ्गठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द

रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९÷८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । सोही आवमा कृषि तथा वनजन्य ४१९, उत्पादनमूलक २८१, सेवामूलक २४४ र पर्यटन उद्योग १८६ वटा गरी एक हजार १३० वटा उद्योग दर्ता भएको थिए ।

कार्यालय प्रमुख लोककुमार कार्कीकानुसार आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा उद्योग दर्ताको सङ्ख्या घटेको र उद्योग बन्द गर्नेको सङ्ख्या बढेको छ । आव २०७९÷८० मा एक हजार १३० वटा उद्योग दर्ता भएकामा गत आवमा ८३७ वटा उद्योग मात्रै दर्ता भए । जबकि आव २०७९÷८० मा २ १७ उद्योग बन्द भएकामा आव २०८०÷८१ मा ३५४ वटा उद्योग बन्द भएका छन् ।

उद्योग बन्द हुने क्रम भने अहिले पनि रोकिएको छैन । चालु आवको दुई महिनामै १०८ वटा उद्योग बन्द भएका छन् । साउनमा ९१ उद्योग दर्ता हँुदा ४१ बन्द भएका र भदौमा १७३ उद्योग दर्ता हुँदा ६७ वटा बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख कार्कीले बताउनुभयो । “रुपन्देहीमा उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता पनि घट्दै जानुले पनि आर्थिक मन्दीको प्रभाव मान्न सकिन्छ”, उहाँले भन्नुभयो, “अर्को कारण अहिले सरकारले पाँच लाखभन्दा मुनिका उद्योगलाई गाउँपालिकामै दर्ताको व्यवस्था गरेकाले पनि दर्ता सङ्ख्या घटेको हुन सक्छ”, उहाँले भन्नुभयो ।

आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउनुहुन्छ । “रुपन्देही औद्योगिक केन्द्रका रूपमा रहेको छ तर पछिल्लो समय ठूला–ठूला उद्योगमध्ये कतिपय बन्द भइसके, सञ्चालनमा रहेकामध्ये ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा रहेका छन् । यहाँ उत्पादित वस्तुहरूका उपभोक्ताको सङ्ख्यामै कमी आएको छ । अधिकांश उपभोक्ता विदेसिएका कारण पनि उद्योगहरु मारमा परेका छन् ।”

यहाँ करिब १० वटा सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्भने व्यवसाय र अन्य निर्माणजन्य उद्योगहरूको अवस्था पनि उस्तै छ । उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सरकारले प्रवर्द्धनात्मक तथा सहुलियतका कार्यक्रम अगाडि बढाउनुपर्ने धेरैको माग छ ।

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

दमौली (तनहुँ), ५ असोज : तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ ।तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र नवलपुरको बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

तनहुँ वितरण केन्द्रअन्तर्गतको डुम्रे सबस्टेसनको ‘ब्रेकर स्विच गियर्स प्यानल’हरू बदली गर्ने कार्यका लागि बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाको सबै क्षेत्रमा उक्त दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । डुम्रे सबस्टेसनमा पोखरीछाप, बन्दीपुर, डुम्रे र पालुङटार फिडरको पुरानो ११ केभी स्विच गियर प्यानलहरू बदली तथा ‘चार्ज’ गरिने उहाँले बताउनुभयो ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रअन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नका लागि खैरेनीटार सबस्टेसनको ३३ केभी प्रसारण लाइन बन्द हुने जनाइएको छ । उक्त सबस्टेसनमार्फत वितरीत शुक्लागण्डकी, भिमाद, घिरिङ, ऋषिङ, म्याग्दे, बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा बिहान १० देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौँ, ५ असोजः नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ ।

यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ । हाल नाउरको रु एक लाख ५० हजार र झारलको रु ७५ हजार न्यूनतम राजस्व तोकिएको छ ।

बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न रु २३ लाखसम्म कबोल गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम रु १८ लाख बोलकबोल गरिएको विभागको तथ्याङ्क छ । आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन ।

सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । सिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ । हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुने गरेको छ ।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ ।

वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छभने स्थानीयस्तरमा पर्यटनको विकास भएको छ ।”

आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका छन् ।

नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४

यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले निश्चित सङ्ख्यामा निर्धारण गरिन्छ । यो वर्ष पहिलो सिजनका लागि २४ नाउर र १६ झारलको सिकार गर्न कोटा निर्धारण गरिएको छ ।

आरक्षमा दुई सिजनमा सिकार खेलाइन्छ । पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन चैत–वैशाखसम्म हुने गर्छ । यहाँ बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ ।

निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार साहले सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरेको बताउनुभयो । “यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु¥याउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न हुँदैन”, उहाँले भन्नुभयो ।

विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो ।

गत आवमा सिकारबाट चार करोड २६ लाख बढी आम्दानी

अघिल्लो आवमा यहाँ १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कुल रु चार करोड २६ लाख ८८ हजार ७०० राजस्व आम्दानी भएको थियो । विभागले यस वर्षको पहिलो सिजनका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।

सिकार कम्पनीहरूले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रति नाउर र झारलको सिकार गरेबाफत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । आरक्षमा सिकार खोलाउने पेसेवर सिकार कम्पनीहरूमा नेपाल वाइल्डलाइफ एडभेन्चर, हिमालयन सफारिज, ट्र्याक्स एन ट्रेल्स, नेपाल वाइल्डलाइफ सफारी, ग्लोबल सफारिज नेपाल, ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेकलगायत रहेका छन् ।

हिमालयन सफारिजका सञ्चालक महेश बस्नेतले आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्ति खटाउने र आवश्यक पूर्वाधार बनाउनुुपर्नेलगायत सुझाव दिनुभयो ।

कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरेको जनाइएको छ । सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् ।

तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो

दमौली (तनहुँ), ५ असोजः तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको हो ।



आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) को एक प्रक्रियाका रुपमा ग्रिड आबद्धताका लागि आयोजनाबाट उत्पादन हुने ऊर्जाको टुङ्गो लागिसकेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादन हुने ५२ करोड युनिट (५२४ गिगावाट घण्टा) वार्षिक ऊर्जा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सहमति भएको उहाँले उल्लेख गर्नुभयो ।

“आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न ग्रिड आबद्धता सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणमा प्रस्ताव पेस गरिएको छ”, श्रेष्ठले भन्नुभयो ।

तल्लो सेती जलविद्युत् आयोजनाको ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इन्जिनियरिङ एन्ड एसोसिएटससँग सम्झौता भएको थियो । सो बमोजिम निर्माण व्यवसायीले अहिले पहुँच मार्ग, अडिट सुरुङलगायत इन्जिनियरिङ सर्भे जारी राखेको श्रेष्ठको भनाइ छ ।

“आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक ‘अडिट’ सुरुङ निर्माण गर्न लागिएको छ । आयोजना सुरु गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन् । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल छ दशमलव सात किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो । यो उक्त सुरुङ पछि अन्य कामका लागि प्रयोगमा आउने छ । डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्ने अवधि रहेको छ”, उहाँले अगाडि भन्नुभयो ।

तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।

तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले लगानीका लागि चासो दिएको छ । आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै छ दशमलव आठ किमी  लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।



आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ ।

देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ ।

यसका लागि करिब दुई किमी प्रसारण लाइन निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमी लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ ।

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

रिलु, मष्टा (बझाङ), ५ असोजः करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको ।

मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो । ७ वर्षदेखि उहाँ एकल महिला हुनुहुन्छ । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार जीविको धानिरहेका श्रीमान् एक्कासि बिरामी भएर थला परेपछि उहाँका दुःखका दिन सुरु भएका थिए ।

“श्रीमान् बिरामी भएपछि धेरै ठाउँमा उपचार ग¥यौँ । आफन्तको सहयोगमा धेरै अस्पताल चहार्दा पनि केही भएन । फेरि घर ल्याएको केही समयमै उहाँले प्राण त्याग्नुभयो”, विष्नाले आँसु चुहाउँदै सुनाउनुभयो ।

श्रीमान्को निधनपछि विष्नाका सबै सपना अधुरा रहे । बालबालिकाको पढ्ने चाहना पनि बाध्यताको पहाडमै थिचियो । परिवारको सहारा टुट्यो । छिमेकीको भरोसा ढल्यो ।

“उहाँको निधनपछि गाउँलेबाट हरेक कुरामा हेपिँदै आयौँ । गाउँमा बस्ने अवस्था रहेन । त्यसैमाथि घर पनि भत्कियो । अन्धकार दुनियाँबाट बाहिर निस्कन पनि लेकको घरमा बसाइँ स¥यौँ । अहिले यहाँ समाज भएर पनि नभएजस्तै जीन्दगी बिताइरहेका छौँ”, उहाँले पीडा पोख्नुभयो ।

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उहाँलाई पेटको भोकभन्दा भविष्यको चिन्ता पिक्का लाग्यो । त्यसैले बालबालिकालाई पढाउने सपना सपनामै सीमित रहन पुगेको थियो, अहिले भने गरिब तथा एकल महिला भनेर सङ्घसंस्थादेखि केही मन मिल्ने आफन्तको सहयोगमा गाउँकै आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गराएको विष्नाले जानकारी दिनुभयो ।

“गाउँमा उब्जनी केही हुँदैन, सबै किनेर खानुपर्छ । पहिले पहिले त साग तरकारी पनि गाउँमा पलाउँथ्यौँ, कैयौँ छाक साग सिस्नोले पनि गुजारा चल्थ्यो । आजभोलि बर्खाबाहेक अरू समयमा पानी पाइँदैन । त्यसैले उब्जनी हुँदैन”, उहाँले भन्नुभयो ।

आफ्नो उब्जनीले तीन महिना मात्रै खान पुग्ने गरेको विष्नाले बताउनुभयो । “बाँकी ९ महिना बेसा (अन्न किन्नुपर्ने) अवस्था छ । साउन र भदौ मात्रै अलिकति हरियोपरियो हुन्छ । बाँकी महिना त खडेरी नै हो”, उहाँले भन्नुभयो । ५६ वर्षीया विष्नाका पाँच सन्तानमध्ये कान्छी हुन् छोरी बिमला । बिमलाले अहिले ७ वर्षमा पाइला टेक्नुभयो । उहाँ गर्भमा हुँदा नै बुबाको देहान्त भयो ।



विष्नाले बुबाको अभाव नहुनेगरी छोराछोरीलाई हुर्काउनुभयो । आफूले जति दुःख पाए पनि छोराछोरीले त्यति दुःख नपाऊन् भन्ने विष्नाको चाहना छ तर अभाव अभावमा गुज्रिएका परिवारलाई दुःख मेटिनु सपना झैँ हुन लागेको उहाँको कथन छ ।



विष्ना अहिले लेकमा बसेर वस्तुभाउ पालिरहनुभएको छ । चार सन्तान रिलुकै विद्यालयमा पढ्न जान्छन् भने एक जनालाई वडाध्यक्ष शिवराज बोहराले सदरमुकाम चैनपुरमा आफैँसँग राखेर पढाउन सहयोग गरिरहनुभएको छ । “गाउँमा सबैका दुःख छन्, विष्नाको परिवारलाई त अझ धेरै नै दुःख छ ।

बालबालिका पढ्नसमेत नपाएको हुँदा एक जनालाई आफैँसँग राखेर पढाइरहेको छु”, वडाध्यक्ष बोहराले भन्नुभयो, ““सबै बालबालिकालाई पढाउन सकिएन । गाउँमा धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । त्यसैमा पनि अति धेरै पीडा विष्नालाई भएको हुँदा एक बाबुलाई मैले पढाइरहेको छु ।”

यी समस्या त छँदै थिए, गत वर्ष असोज १६ गतेको भूकम्पले लेकको छानोमा समेत क्षति पु¥याएपछि पीडामाथि थप पीडा थपियो । “पीडै पीडा भइरहेका बेला फेरि भूकम्पले पीडा दियो,” विष्नाले भन्नुभयो, “आफ्नो भाग्यमा खुसी भन्ने लेखेकै रहेनछ ! एउटा च्यातिएको त्रिपालको सहारामा एक साता खुला ठाउँमा काट्यौँ । पालिकाले अरू भूकम्पपीडितका जस्तै हाम्रो लागि पनि सानो टहरा बनाइदिएपछि केही सहज भयो ।”



भूकम्प आएपछि धेरैले सहयोग गर्ने वचन दिएको उहाँ सम्झिनुहुन्छ । “धेरैले सहयोग गर्ने भने पनि एउटा संस्थाले रु १५ हजार सहयोग ग¥यो । सोही रकमबाट चामल किनेर चार/पाँच महिनासम्म खायौँ ।

अरू समस्या त छँदै थियो । बासकै पनि समस्या थपिएपछि घर न घाट जस्तै भएका थियौँ । पछि स्थानीय सरकारको समन्वयमा टहरा पाएका छौँ । बस्ने व्यवस्था भएको छ,” उहाँले भन्नुभयो ।

आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो

काठमाडौँ, ५ असोज ; शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो ।

यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कामय भएको छ भने शुक्रबार यसको एकको खरिददर १४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा निर्धारण भएको थियो ।

केन्द्रीय बैङ्ककानुसार शुक्रबार युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा कामय भएकामा आज एकको खरिदर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २१ र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ ।

राष्ट्र बैङ्ककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २० पैसा र बिक्रीदर ४३९ रुपैयाँ १७ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कले यस विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सुनवलमा डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन

पाल्हिनन्दन (नवलपरासी ब सु प), ५ असोज : जिल्लाको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई दुई वर्षअघि नै हस्तान्तरण गरेको दुुई वर्ष भइसकेको छ । जनप्रतिनिधिहरूबीच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताउनुभयो । उहाँले अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको गुनासो गर्नुभयो ।



“अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ । दिनप्रति दिन भवनको अवस्था बिग्रिन थालेको छ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्डभित्र झारपात उम्रेर जङ्गल जस्तै बनेको छ ।”



सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुननसक्दा केही समस्या रहेको बताउनुभयो ।

उहाँले यहाँ देखिएका समस्या समाधानका लागि छलफल भइरहेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुुभयो । अस्पताल सञ्चालन नहुँदा यहाँका किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि समस्या भोग्नु परिरहेको छ ।

सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री

काठमाडौँ, ४ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापन समारोहमा उहाँले यसप्रकारका कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायनमान बनाउनुका साथै संस्कृति जगेर्ना गर्ने बताउनुभयो । 

“पर्यटन क्षेत्र चलायमान हुँदा मुलुकको अर्थतन्त्र चलायमान मात्रै नभइ संस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ”, मन्त्री पाण्डेले भन्नुभयो । 

साउथ एशियन ट्राभल अवार्डका अध्यक्ष अब्दुल लतिफले यस अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको बताउनुभयो ।     आठौँ संस्करणका लागि दक्षिण एसियाका चार सय होटल र ट्राभल मनोनयनमा परेका थिए । जसमा नेपालले २१ वटा अवार्ड जितेको छ । नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य अवार्ड प्राप्त गरेको छ । नेपालले उत्कृष्ट सांस्कृतिक गन्तव्यस्थलका तर्फ पनि अवार्ड जितेको छ । 

त्यस अवसरमा ‘साटा फेस अफ साउथ एशियन टुरिजम अवार्ड’ द्वारिका होटेलका स्व अम्बिका श्रेष्ठ र पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरियो ।  यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक वर्ष, अवार्ड समारोह र गाला डिनरमा उद्योगका केही प्रख्यात व्यक्तित्वहरू उपस्थित हुन्छन् ।

चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार छ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।उक्त उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ । उपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ स्याटेलाइट प्रणाली हो । यो उपग्रहहरू चाङ गुआङ स्याटेलाइट टेक्नोलोजीद्वारा संचालित छन् ।
यसले प्रयोगकर्ताहरूलाई १५० किलोमिटर चौडाइ, ०.५ मिटर रिजोलुसनको स्याटेलाइट छविहरू प्रदान गर्नेछ । यो प्रक्षेपणले लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५३६ औं उडान मिसनको प्रतीक हो ।

आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने

एप्पलले आईफोन–१६ को लागी एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ ।

यो सुविधा, पहिले नै ‘एप्पल वाच’ र ‘एप्पल टीभी’को लागि उपलब्ध थियो । साथै, यसले आईओएस यन्त्र प्रयोग गरेर रिकभरी प्रक्रियालाई सरल बनाउँछ । आईओएस एप्पलद्वारा विशेष रूपमा स्मार्टफोनहरूको लागि विकसित गरिएको मोबाइल अपरेटिङ सिस्टम हो । यो जनवरी सन् २००७ मा पहिलो पुस्ताको आईफोनको लागि अनावरण गरिएको थियो ।

‘नाइनटुजीरो’ माइकको खोजअनुसार, वायरलेस रिकभरी प्रक्रियाले आईफोन –१६ मोडेलहरूमा आईओएस प्रणाली गैर–कार्यात्मक हुँदा पनि पुनर्स्थापना सुरु गर्न सम्भव बनाउँछ । नाइनटुजीरो आईफोन, आईप्याडको लागि अग्रणी समाचार वेबसाइट हो ।

वातावरणीय अपराध नियन्त्रणका लागि सबैको सकारात्मक सहकार्य आवश्यक छ : वनमन्त्री ठकुरी

जनकपुर, ४ असोज : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वनजन्य अपराध नियन्त्रणका लागि सबैको सिर्जनात्मक र सकारात्मक सहयोग आवश्यकपर्ने बताउनुभएको छ ।

आजदेखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी विवादहरूमा न्यायिक दृष्टिकोण’ विषयक गोष्ठीमा उहाँले वन तथा वातावरणीय अपराध नियन्त्रणका लागि राज्यका सबै निकायको तालमेल हुनुपर्नेमा जोड दिनुभयो ।

“वन र वातावरणीय अपराध नियन्त्रण गर्न न्यायालयदेखि जनतासम्म सबैको अहम भूमिका अपरिहार्य छ,” मन्त्री ठकुरीले भन्नुभयो, “सरकार वातावरणीय न्याय कायम गर्दै वातावरण क्षेत्रबाट जनता र राज्यको आम्दानी समेत बढाएर आर्थिक विकास गर्न चाहन्छ ।” उहाँले ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगटेको देशको वातावरण क्षेत्रमा लगानीमैत्री वातारण निर्माण गर्न सबैको सकारात्मक र रचनात्मक सहयोग खाँचो रहने बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा जारी रहेको दुई दिने सो कार्यशालामा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो, मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहसहितका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

महेन्द्रनगर (धनुषा) ४ असोजः मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो ।

गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । चालु अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेस प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको थियो । 

वीरगञ्ज महानगरभित्र गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने

वीरगञ्ज, पर्सा ४ असोज : वीरगञ्ज महानगरभित्र गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने भएको छ । वीरगञ्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्यको गुरुयोजना तयार गरेर महानगरका ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने तयारी गरिएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संयोजनमा आज बसेको बैठमा गुरुयोजना बनाएर खानेपानीको वितरण गर्ने र सरसफाइलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रमुख सिंहले महानगरवासीलाई दीर्घकालिनरूपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन गुरुयोजना बनाएर कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको बताउनुभयो ।

“सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य प्राथमिकता हो । सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने भएको छ,” उहाँले भन्नुभयो । बैठकले खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्ययोजना लागू गर्ने निर्णय गरेको छ ।

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ४ असोजः एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
सम्मेलनको आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो । एसियाली देशका सुरक्षण संस्थाको ३६औँ सम्मेलन (एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो ।

सम्मेलन उद्घाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको जोखिम न्यूनीककरण गर्न थप विश्वसनीय बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो रहने उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले नविन सोच तथा प्रविधिमा आधारित नवप्रवर्तन व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारले नवप्रवर्तनका लागि ‘इकोसिष्टम’ विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको छ । बजेटमार्फत रु १ अर्बको नेपाल स्टार्टअप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।”

सुरक्षण सेवाका कारण साना व्यवसाय सफल भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बचत गर्ने संस्कारको विकास भई पुँजी परिचालमा पनि सहयोग पुगेको बताउनुभयो । 

उहाँले आर्थिक विकासका लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न जरुरी रहेको बताउनुभयो । कर्जा परिचालन र फिर्ताको सुनिश्चितताका लागि कर्जा सुरक्षण कोषको स्थापना भएको स्मरण गर्दै उहाँले त्यसबाट महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गर्नुभयो ।

उहाँले सोही समारोहमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्षिकोत्सवको समेत उद्घाटन गर्नुभएको थियो ।

एसिक सम्मेलन सोमबारसम्म चल्ने छ । मन्त्री पौडेलले सम्मेलनले आपसी बलियो अन्तर्राष्ट्रिय संस्थागत सञ्जाल निर्माण हुँदा कर्जासम्बन्धी जिम्मेवार संस्थाको क्षमता अभिवृत्ति हुनेमा विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले कर्जा सुरक्षाका लागि रचनात्मक सुधारमा सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मेलनले नेपाल जस्ता देशको आर्थिक विकासमा सहयोग पुर्याउनेमा  अपेक्षा गरिएको बताउनुभयो । सम्मेलनबाट प्राप्त हुने निचोड नेपाललगायतका देशलाई आवश्यक नीति निर्माणमा समेत सहयोग पुर्याउने उहाँको भनाइ थियो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सम्मेलन कर्जा सुरक्षणका लागि बलियो आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । 

सम्मेलनमा विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायका प्रतिनिधिले आफ्नो अनुभव राख्नेछन् ।  सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ देशका प्रतिनिधिहरुको सहभागिता छ ।

भन्सार छली अवैध रुपमा भित्राइएको १७ लाखको अवैध सामान बरामद

वीरगञ्ज (पर्सा),४ असोजः सशस्त्र प्रहरी बल नेपाल, पर्साले आज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रुपमा भित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनवाबाट अवैध रुपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्तालगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार सात सय ७० मूल्य पर्ने सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर कुँवरले शुक्रबार बलले अवैध रुपमा भन्सार छली गरेर भित्राइएका लत्ताकपडासहितका अन्य सामान बरामद गरिएको जानकारी दिनुभयो । “अवैध भन्सार छली गरेर भित्राइएका सामान पक्राउ गरेर शुक्रबार नै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ”, उहाँले भन्नुभयो । 

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर, ४ असोज : कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयो ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्नुभएको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाउनुभएको थियो । गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो ।

वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको छः प्रवक्ता महत

कैलाली, ४ असोजः नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति नै सरकार अघि बढेको र आगामी निर्वाचनसम्म सहमतिकै साथ जाने उल्लेख गर्नुभयो ।

उहाँले दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा, संविधान संशोधन, यसको कार्यान्वयन, अर्थतन्त्र सुधारलगायतका विषय रहेको बताउनुभयो । 

नेता महतले नेपाली कांग्रेसले अहिले देशभर एक सय दिनको अभियान सुरु गरेको बताउनुभयो । उहाँले यस अभियान पार्टी निर्माणमा केन्द्रित हुने बताउनुभयो ।

नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति,के के छ सहमतिमा

काठमाडौँ, ४ असोजः नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् ।

मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला रहेका कृषि तथा पशुपंछीमन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सरकारका मन्त्री मधुकुमार श्रेष्ठलगायत विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । 

निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको छलफलले सडक निर्माणमा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिने सहमति भएको हो । 

के के छ सहमतिमा

सहमति पत्रमा निर्माण सामग्री उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त राजमार्ग निर्माण÷विस्तारका लागि निर्माण व्यवसायीबाट स्रोत पहिचान गरी प्रस्ताव गरेमा पालिकाबाट वा योजना पहिचानको बेलामा वातावरणीय अध्ययन प्रतिवेदनमा भएका खानी योजनाको निर्माणका लागि प्रयोग गर्ने गरी आवश्यक कच्चा निर्माण सामग्री उत्खनन गर्न सहयोग गर्ने र सोबारेमा सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने उल्लेख छ ।

निर्माण व्यवसायीले स्रोत उपयोग गरेको पालिकालाई नियमानुसार राजस्व तिर्नुपर्ने तर ओसारपसारमा थप वा दोहोरो कर नलिने सहमति भएको छ । साथै योजना कार्यान्वयनको सन्दर्भमा निर्माण व्यवसायीले स्थापना गर्नुपर्ने क्रसर प्लान्ट÷अस्फल्ट प्लान्ट राख्नका लागि सम्बन्धित निकायले आवश्यक सहयोग गर्न पनि सम्वद्ध निकायले प्रतिबद्धता जनाएका छन् । 

सडक विभागले तत्कालै सीतापाइला, धार्के, भिमढुङ्गा, लामीडाँडा, गल्छी तथा गल्छी परेवाटार (त्रिशूली पारी पट्टि) भइ रहेका सडकको अवस्थाअनुसार डाइभर्सन सडकका रुपमा प्रयोग गर्ने सहमति पत्रमा उल्लेख छ । आयोजनाको टिम, योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायीले सबै पक्षले डिजाइन कार्यान्वयन र गर्नुपर्ने सुधारका सम्बन्धमा स्थानीय पालिकाहरुसँग नियमित सम्पर्क र समन्वय पनि गर्नुपर्ने भएको छ । 

सडक निर्माण गर्दा प्रचलनमा रहेका सिँचाइ र शाखा सडकमा अवरोध नहुने गरी निर्माण गराउने विषय पनि सहमति पत्रमा समेटिएको छ । छलफलको सहमतिअनुसार निर्माण व्यवसायीले अल्पकालीन रुपमा आगामी चाडपर्वलाई लक्षित गरी असोज १७ गतेभित्रमा सम्पूर्ण मर्मतको काम सक्नुपर्ने भएको छ ।  

आयोजना कार्यान्वयन गर्दा गल्छी, महादेववेशीलगायत स्थानमा छुट भएका थप घर÷टहरा÷संरचनाको नियमानुसार क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति पत्रमा उल्लेख गरिएको छ । 

‘लाइफलाइन’मा लापरबाही नगर्नुः मन्त्री दाहाल

छफलका क्रममा मन्त्री दाहालले उक्त सडकखण्ड सङ्घीय राजधानीलाई देशका विभिन्न भाग जोड्ने ‘लाइफलाइन’ भएकाले लापरबाही नगरी लक्ष्यअनुसार कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । तत्कालको समस्या समाधानका रुपमा चाडपर्वमा विना अवरोध सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन र दीर्घकालीन रुपमा लक्ष्यअनुसार काम गरी नतिजा निकाल्न उहाँले भन्नुभयो । 

छलफलमा सडक आयोजना पर्ने विभिन्न पालिकाका प्रमुख, प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो । मन्त्रालयका सचिव केशवकुमार शर्माले तीनै तहका सरकार, स्थानीयवासी तथा सरोकारवाला सबैको सहमतिले राष्ट्रिय महत्वको सडकलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी

काठमाडौँ, ४ असोजः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले चाँडै नै औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने बताउनुभएको छ ।

    टोकियोस्थित नेपाली दूतावास र त्यहाँको विदेशी श्रमिकको रोजगारीसम्बन्धी निकायले बिहीबार जापानमा आयोजना गरेको ‘नेपाल–जापान रोजगार सम्मेलन’मा उहाँले दुई देशबीचको निश्चित सीपयुक्त श्रमिक जापान पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताउनुभयो ।

   उहाँले नेपाल र जापानबीच सन् १९५६ देखिको मैत्रिपूर्ण सम्बन्ध रहिआएको स्मरण गर्दै जापान नेपालीको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य भएको बताउनुभएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

    टोकियोमा रहँदा श्रममन्त्री भण्डारीसमक्ष जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीले भेट गरी द्विपक्षीय रोजगारी प्रवद्र्धनका विषयमा छलफल भएको मन्त्रायले जनाएको छ ।

फिल्म ‘कल्ली’मा कलाकार अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । फिल्ममा तीन कलाकारको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा अध्यक्ष नेपालद्धारा चिन्ता

काठमाडौँ, ४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक अस्थिरताका कारण अहिलेको व्यवस्थाविरुद्ध अनेकौँ शक्तिहरु लागि परेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज आयोजित दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको  बताउनुभयो ।

कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकाले त्यसैलाई सुधार्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भ्रष्टाचार, व्यक्तिवाद, कुशासनको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । मुलुकको राष्ट्रियता, अखण्डता साथै जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उहाँको भनाइ छ । 

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रममा आफ्नो पार्टीले वैज्ञानिक समाजवाद अवलम्बन गरेको बताउँदै क्रान्तिकारी कार्यशैली सशक्त पार्टी निर्माणको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो । 

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले हालै सम्पन्न महाधिवेशनले सहमति र अग्रगमनको जनादेश दिएको बताउँदै नीति तथा कार्यदिशाअनुसार निम्न श्रमिक वर्गको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव घनश्याम भुसालले संविधान जारी भएको एक दशकमा अपेक्षाकृत प्रगति हुन नसक्दा मुलुकको समग्र वाम आन्दोलनमा र हामीले गरेको विद्रोहमा चुनौती थपिएकाले वर्गीय विभेद, सामाजिक शोषणविरुद्ध सङ्घर्ष गर्ने कम्युनिष्ट पार्टीको खाँचो औँल्याउनुभयो । मुलुकमा भर पर्दो नेता नभएकाले सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समाजवाद नेतृत्वविहीन रहेको विचार व्यक्त गर्नुभयो । 

पार्टी सचिव एवं कार्यक्रमका संयोजक सावित्रा भुसालले मुलुकको समसामयिक राजनीतिक तथा कार्यक्रमका विषयवस्तुमा जानकारी गराउनुभयो ।

वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल

काभ्रेपलाञ्चोक, ४ असोज : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना हुने बताउनुभएको छ । चैतन्य एकेडेमी नेपालद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘हरित अर्थतन्त्र प्राप्ति : नेपालमा तीन तहको सरकारबीच समन्वय’ विषयक दुईदिने नीति–संवाद कार्यक्रमको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले दिगोपनाको आर्थिक वृद्धिदरले मात्रै राष्ट्रलाई प्रतिफल दिनसक्ने बताउनुभयो ।

“वातावरणीय सन्तुलन कायम नगरी गरिने आर्थिक वृद्धि अन्ततः दिगो हुनसक्दैन र त्यसले राष्ट्रलाई राम्रो प्रतिफल दिन पनि सक्दैन, यसबाट भावि पुस्ताका निम्ति अकल्पिनीय बोझ छाडेर जाने चुनौती सिर्जना हुन दिनुहुँदैन”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले वातावरणीय सन्तुलनसहितको आर्थिक वृद्धिदर बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “हामी नवकरणीय ऊर्जा, कार्बन उत्सर्जन न्यूनीकरण, फोहरको पुनः प्रयोग, वातावरण प्रदूषण र प्राकृतिक सम्पदाको सदुपयोगको विषयमा सन्तुलित दृटीकोणले जानुपर्छ, यसले मात्रै दिगो आर्थिक वृद्धि हुनेछ ।” नेपालमा हरित अर्थतन्त्र पैरवीको चरणमा रहेकाले पैरवी पनि प्राकृतिक सन्तुलनमा आधारित भएर गर्न सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले जे गर्दा आर्थिक समृद्धि हासिल, आर्थिक वृद्धि तथा सम्पन्नता प्राप्त हुन्छ त्यही गर्ने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खा याममा पहाड चिथोरेको जस्तो देखिन्छ, पूर्वाधार चाहिए पनि अध्यानबिना वातावरणमैत्री बनाउन नसक्दा वातावरण बिग्रएको छ, प्रतिकूलस्वरुप विकासमा खर्च बढेको छ ।”

मन्त्री पौडेलले वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा बाढीपहिरोको जोखिम बढेको बताउनुभयो । “बिना अध्ययनका आयोजनाले प्रकोप बढिरहेका छन्, अब यस्तो पद्दतिबाट मुक्त हुनुपर्दछ”, उहाँले थप्नुभयो । उहाँले क्रमशः ऊर्जा उत्पादनलाई निरन्तर दिँदै ‘क्लिन इजर्नी’लाई घर र यातायातमा प्रयोग गर्नेगरी पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ‘स्थिर सरकार’ आएकाले चालु आर्थिक वर्ष र आउँदो आवमा आर्थिक आशा लाग्दो देखिएको बताउनुभयो । उहाँले घाटादर घट्दै रु पाँच अर्बमा झर्नु सकारात्मक भएको उल्लेख गर्दै आवश्यक सम्पूर्ण सामग्री आयात गर्नसक्ने क्षमतामै रहेको बताउनुभयो । पूर्व मुख्यसचिव विमल कोइरालाले सरकारले आर्थिक वद्धिदरको नीतिमा मात्रै लिएर नहुने भएकाले तीनै तहका सरकारले समन्वयात्मक भूमिका खेल्दै पूर्णरुपमा प्रतिफलपूर्ण योजनामा जानुपर्ने धारणा राख्नुभयो ।

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौँ, ४ असोजः नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास सङ्गठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी रहनुभएको छ ।

बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश परामर्श बैठकको अन्तिम चरणमा आएकाले अब केन्द्रीय समितिको बैठकको तयारी लाग्ने बताउनुभयो । सबै प्रदेशको परामर्श बैठक सकिदा पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताउनुभयो ।  

आफूहरुले सरकार छाडेको छोटो समयमै जनताको बीचमा यथार्थ बुझाउन सफल भएको उल्लेख गर्दै अब उहाँले अब जनसम्बन्धलाई केन्द्रमा राखेर पार्टी पुनःगठनको अभियान चलाइने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशअन्तर्गत एसिया सङ्गठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ । 

परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ, ४ असोजः वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” निजलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल

चितवन, ४ असोजः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा उपचारलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको आज निरीक्षण गर्दै उहाँले सरकारी पक्षबाट पनि आँखा उपचारलाई व्यवस्थित रुपमा अघि बढाउन लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापन जरुरी छ, साथै जनशक्ति उत्पादनमा पनि काम गर्नुपर्नेछ ।” नेत्रज्योति सङ्घले देशभरि आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचारलाई सहज बनाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेत्रज्योति सङ्घका अग्रजहरुले मन्त्रालयमा आएर हामीलाई डाक्टर चाहियो भन्नुभएको छ । तर हामीले डाक्टर दिन सकिरहेका छैनौँ ।”

उहाँले आवश्यक जनशक्ति उपलब्ध गराउनका लागि नेत्रज्योति सङ्घसँग सहकार्य गरेर सरकार अघि बढ्न तयार रहेको बताउनुभयो । सरकारले यसलाई प्राथमिकतामा राखेर विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ थियो । 

नेपाल नेत्रज्योति सङ्घ बागमती प्रदेश सभापति ऋषिराम पौडेल, सङ्घ जिल्ला उपसभापति तेजेन्द्रबहादुर खड्का, सचिव केशव अधिकारी, अस्पतालका प्रमुख मेडिकल निर्देशक डा पुष्पा गिरीले अस्पतालको बीमा रकम रु नौ करोडभन्दा बढी बीमा बोर्डले दिन बाँकी रहेको जानकारी गराउनुभयो । 

आजै मन्त्री पौडेलले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्युटको निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालका विभिन्न विभागको निरीक्षण गर्नुभएको हो । शिक्षण अस्पतालको आकस्मिक कक्ष, रेडियोलोजी विभाग, क्रिटिकल केयर युनिटलगायतको निरीक्षण गर्नुभएको छ । मन्त्री पौडेलले अस्पतालले दिएको सेवा सुविधा, स्वास्थ्य बीमा, विपन्न उपचार लगायतका विषयमा चासो व्यक्त गर्नुभयो ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले नेपाल सरकारले तोके बमोजिम विपन्नलाई उपचार सेवा दिएको र स्वास्थ्य बीमा प्रभावकारी भएको मन्त्री पौडेललाई जानकारी दिनुभयो ।

अध्यक्ष प्रा डा न्यौपानेले सरकारी क्यान्सर अस्पतालमा लाग्ने शुल्कमा नै आफूहरुले क्यान्सरको उपचार गर्दै आएको जानकारी गराउनुभयो । अत्याधुनिक उपकरणसहित बोनम्यारो प्रत्यारोपण बाहेकका सम्पूर्ण क्यान्सर उपचार सेवा दिँदै आएको उहाँले बताउनुभयो ।

राष्ट्रिय फुल कन्ट्याक्ट कराते शनिबार

काठमाडौँ, ४ असोजः इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके)को आयोजनामा छैटौँ आइएफकेके राष्ट्रिय तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुनेभएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट करिब एक सय खेलाडीको सहभागिता रहने आइएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । उहँका अनुसार पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौल समूहमा खेल हुनेछ । महिलामा ४० केजीमुनि र ४५ केजीमुनि स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । कूल पुरस्कार राशि एक लाख ३१ हजार रहेको छ ।

एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब रु आठ लाख खर्च लाग्ने आयोजकले बताएको छ । 

म्यान्मामा बाढीका कारण करीब ३०० व्यक्तिको मृत्यु

म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना बेपत्ता भएको म्यान्माको राष्ट्रिय दैनिक ‘द मिरर’ ले शुक्रबार जनाएको छ।रिपोर्टअनुसार बाढीले म्यान्माका विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको र बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिएको एक प्रतिवेदनले जनाएको छ ।

बाढीले सात लाख ६६ हजार ५८६ हेक्टर बाली डुबानमा पर्नुका साथै एक लाख २९ हजार १५० जनावरको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।यागी नाम दिइएको आँधीका कारण बङ्गालको खाडीमा परेकोे न्यून चापीय प्रभावका कारण म्यान्मामा भारी वर्षा भएको र व्यापक बाढी आएको जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रको सरसफाई, स्वास्थ्य सेवालगायत बाढी पीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन् ।

उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा

दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय राष्ट्रिय परिकार किम्चीका लागि प्रयोग हुने तरकारी हो । यसको मूल्य बर्सेनि करिब ७० प्रतिशतले बढेको छ ।

बिहीबार एउटा गोभीको मूल्य नौ हजार तीन सय ३७ वन (सात दशमलव शून्य दुई अमेरिकी डलर) पुगेको छ । यो एक वर्ष अगाडिको तुलनामा ६९ दशमलव एक प्रतिशतले बढेको सरकारी स्वामित्वको कोरिया एग्रो–फिशरीज एन्ड फुड ट्रेड कर्पोरेशनले जनाएको छ । 

बन्दागोभी किम्चीको मुख्य सामग्री हो । किम्ची देशको प्रसिद्ध परिकार हो र यसलाई धेरै कोरियालीले प्रत्येक दिन खान्छन् । 

विशेषज्ञहरूका अनुसार गर्मीमा तापक्रम बढेकाले विशेषगरी चिसो जलवायुमा राम्रोसँग उत्पादन हुने उच्च पहाडी क्षेत्रको बन्दागोभीको आपूर्तिमा अस्थिरता आएको छ । 

“यसबाहेक जलवायु परिवर्तनले माटोका रोगहरूको प्रकोपको ढाँचामा परिवर्तन गरेको छ”, नेसनल इन्स्टिच्युट अफ क्रप साइन्सका भाइरसविज्ञ ली यङ–ग्युले भन्नुभयो, “उदाहरणका लागि माटोमा फैलिएको फङ्गल रोगले जरा सड्दछ र बन्दागोभीमा मुर्झाउँछ, यो रोग फैलिरहेको छ ।”

लीका अनुसार अत्यधिक गर्मीका कारण बिरुवाहरू पनि मर्न थालेका वा चर्को घामले ओइलाएका छन् ।

यसै महिना दक्षिण कोरियाको ग्रामीण विकास प्रशासनले उच्च पहाडी बन्दागोभीको आपूर्ति अस्थिरतालाई समाधान गर्न समर्पित अनुसन्धान संस्था स्थापना गरेको छ ।

संस्थाले जलवायु परिवर्तनको समाधानका लागि कुनै उपाय नलिइए सन् २०९० सम्म गृष्मकालीन बन्दागोभी खेतीका लागि उपयुक्त क्षेत्रहरू हराउने सक्ने चेतावनी दिएको छ । 

मौसम सेवा एजेन्सीले यसै महिनाको सुरुमा यस वर्ष दक्षिण कोरियाले आधा शताब्दीको इतिहासमा सबैभन्दा उच्च औसत गर्मीको तापक्रम अनुभव गरेको बताएको थियो । यो ऐतिहासिक औसतभन्दा लगभग दुई डिग्री सेल्सियसले उच्च छ । 

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् ।दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधिहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधि निर्माताहरूको ती औषधीको पक्षधर समूहको दाबी रहेको छ तर आलोचकहरूको लागि, तिनीहरू महङ्गा असफलताहरूको लामो लाइनपछि अर्को निराशा हुन्।

सन् १९९० को दशकदेखि अल्जाइमरको अध्ययन गरिरहेका बेलायती जीवविज्ञान विशेषज्ञ जोन हार्डीले एएफपीसँग भन्नुभयो, “यी उपचारले गर्दा हामी एक कुनामा पुगेका छौँ ।”

युनिभर्सिटी कलेज लण्डनमा वृद्धावस्था मनोविज्ञानका प्राध्यापक रोब हावर्डले भन्नुभयो, “मलाई लाग्छ कि अल्जाइमर रोग भएका व्यक्ति र उनीहरूका परिवारहरूमा झूटा र अवास्तविक आशाहरू जगाउन औषधिहरू प्रयोग गरिएको छ ।”

यी विरोधी कथनहरूले अल्जाइमरको लागि भर्खरै शुरू गरिएको औषधिबारेकोे अवस्थालाई बुझ्न सजिलो हुनेछ । संसारभरका लाखौं मानिसहरू अल्जाइमरको सबैभन्दा सामान्य रूप डिमेन्सियाबाट पीडित छन् ।

लेकेम्बी नामबाट बिक्री हुने लेकानेमाबलाई अमेरिकी औषधि कम्पनी बायोजेन र इसाईले विकास गरेका हुन् । औषधि कम्पनी एली लिलीले विकास गरेको डोनानेमाब किसुन्लाको नाममा बजारमा बिक्री हुन्छ ।

यो विवादले देशहरूले यी औषधिहरूलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा फरक–फरक अडान लिन बाध्य बनाएको छ ।संयुक्त राज्य अमेरिकाले सन् २०२३ मा लेकानेमाबलाई प्रयोग गर्न अनुमति (ग्रीन सिग्नल) दिएको थियो। यद्यपि युरोपेली सङ्घ (इयू) ले जुलाईमा लेकानेमाबलाई अस्वीकार गरेको थियो, जुन डोनेमाबको अनुमोदनको अवसरको लागि एक खराब शगुन थियो। गत महिना बेलायतले लेकानेमाबको प्रयोगलाई स्वीकृति दिए पनि राज्यको राष्ट्रिय स्वास्थ्य सेवामा उपलब्ध नगराई मध्यम मार्ग अपनाएको थियो ।

कसैले पनि इन्कार नगर्ने कुरा के हो भने यी दुई औषधि अल्जाइमरको अहिलेसम्मकै सबैभन्दा प्रभावकारी उपचार हो तर यसको प्रभावकारिता सीमित छ ।

दुवैले रोगको सुरुवातमा बिरामीहरूमा संज्ञानात्मक गिरावटलाई लगभग ३० प्रतिशतले कम गरेको देखिन्छ।अध्ययनहरूले यी औषधीले डेढ वर्षको अवधिमा तुलनात्मक रूपमा सानो भिन्नताको प्रतिनिधित्व गरेको देखाएका छन् । हावर्डले भन्नुभयो, “यसको फाइदा यति सानो छ कि हरेक बिरामीमा यसको प्रभाव व्यावहारिक रूपमा अदृश्य हुन सक्छ।”

– अत्यधिक लागत –

आलोचकहरूले औषधिहरूको जोखिमभन्दा बढी लाभहरू नभएको बताउँदै कहिलेकाहीँ मस्तिष्क सुन्निने वा रक्तस्रावको कारण हुन सक्ने यसको प्रयोग घातकसमेत साबित भएको छ।

तिनीहरू धेरै महङ्गा छन् । सन् २०२३ को एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा बायोजेन र इसाईले लिने मूल्य अनुसार लेकानेमाब चलाइएमा यहाँका बिरामीहरूका लागि एक बर्षको औषधोपचार मूल्य १३३ अर्ब युरो (१४८ अर्ब अमेरिकी डलर) पर्नेछ ।

धेरै स्नायु विशेषज्ञ (न्यूरोलोजिस्ट) सहितका सम्बन्धित अनुभवीहरूले अल्जाइमरका विरामीलाई चलाउने ती औषधीले बिरामीहरूलाई उनीहरूको स्वतन्त्रत जीवनको केही थप बहुमूल्य महिनाहरू प्रदान गर्न सक्ने बताएका छन् ।

यदि बिरामीहरूले रोगको सुरूवातीमा अर्थात् पहिले चरणमा नै औषधिहरू लिन थाले भने औषधिहरूको प्रभावकारिताको गुणा बढी हुनसक्छ भन्ने उनीहरूको विश्वास छ। यो चाँडै नै अधिक व्यावहारिक हुन सक्छ किनकि अल्जाइमरको अधिक छिटो निदान गर्ने महत्त्वपूर्ण प्रगति गरिरहेको हालैका अनुसन्धानले देखाएका छन् ।

फरक–फरक राष्ट्रिय नीतिहरूको अर्थ यो पनि हुन सक्छ कि गरीब बिरामीहरू पछाडि छोडिएका छन्।
हार्डीले भन्नुभयो, “हामी धनी व्यक्तिहरू ड्रग्सको लागि अमेरिका जाँदै गरेको देख्नेछौं।”

सन् १९९२ मा हार्डीले यो रोगले वास्तवमा कसरी असर गर्छ भन्ने विषयमा लेखेको एउटा लेखमा यो बहसलाई केही हदसम्म पाइदा पुग्नेछ ।

लेखमा अल्जाइमरका बिरामीको दिमागमा स्थिर रहने ‘एमाइलोइड प्लेक’ भनिने प्रोटिनको गुच्छा अरूमध्ये एउटा तत्व मात्र नभई यो रोग निम्त्याउने मुख्य कारक भएको तर्क गरिएको छ ।

लेकानेमाब र डोनेमाबको विकाशसम्म आइपुग्दा दशकौंको दौडानमा यी अमाइलोइड प्लेकहरूलाई लक्षित गर्ने धेरै अन्य औषधिहरू विकसित भएका थिए र ती सबै असफल भएका थिए ।

–परिवारबाट दबाब–

नयाँ औषधिहरूको बारेमा केही तप्काबाट शङ्का उत्पन्न हुनुको कारण यिनीहरूको पक्षधरता र आलोचनाले काम गरेको हुनसक्छ । पहिलेका औषधिहरूको प्रतिरक्षा गरिएको थियो र तिनीहरूको प्रभावकारिताको बावजुद केहीले प्रशंसा पनि गरेका थिए।

फ्रान्सेली संस्था फोरमाइन्डेपका प्रमुख क्रिश्चियन गाइ कोइचार्डले अल्जाइमर्स समूह, अनुसन्धाता र औषधि कम्पनीहरू निकै नजिक रहेको आरोप लगाउनुभएको छ ।

तर फ्रान्स अल्जाइमरका उपनिर्देशक बेनोइट डुरान्डले बायोजेन÷इसाई वा एली लिलीबाट औषधीको विकासमा भएको खर्चको तुलनामा निकै कम रकम प्राप्त भएको बताउनुभयो । उहाँले अनावश्यक बहसका कारण यो उपचार पद्धतिको वदलामा अर्को विकल्प रोज्न विरामीका परिवारले दवाव दिने गरेको बताउनुभयो ।

डुरान्डले एएफपीसँग भन्नुभयो, “उनीहरूले नयाँ औषधिलाई अस्वीकार गर्ने ईयूको निर्णयलाई बुझेका छैनन्। अल्जाइमर रोगका कारण प्रयोगशालाले चासो गुमाउन सक्ने अवस्था आउनसक्छ । यदि यसो भएमा अल्जाएमरका विरामीको उपचारमा दुर्भाग्य आउनेछ ।

औषधि उद्योगभित्र पनि कोही–कोही विगतका असफलताहरूले विश्वास बलियो बनाउन सहयोग नगरेकोस्वीकार्छन् ।

नाम नबताउने शर्तमा एली लिलीका लागि काम गर्ने एक चिकित्सकले आफ्नो प्रतिद्वन्द्वी बायोजेनले अघिल्लो उपचार एडुहेलमको फाइदालाई बढी बताएको आरोप लगाउनुभयो । यो औषधि सन् २०२१ मा अमेरिकामा विवादास्पद रूपमा स्वीकृत भएको थियो ।

उहाँले भन्नुभयो, “अदुहेल्मको अध्ययन अस्तव्यस्त थियो।”ती चिकित्सकले बायोजेनतर्फ सङ्केत गर्दै चेतावनीको रूपमा भन्नुभयो, “यस घटनापछि ‘धेरै हानि भयो र यो क्षेत्रमा अराजकता फैलायो।”

यसको जवाफमा बायोजेनले एएफपीसँग भनेको छ कि उसले ‘वैज्ञानिक अनुसन्धानको सिद्धान्तका साथै कानूनी र नियामक आवश्यकता’ पालन गरिरहेको छ।तर एली लिलीका चिकित्सकले नयाँ उपचारको बचाउ गर्दै मानिसहरूलाई विगतलाई नभई भविष्यलाई हेर्न आग्रह गर्नुभयो ।

अन्य विशेषज्ञहरू जस्तै उहाँले पनि अल्जाइमरको पछाडि हुन सक्ने एमाइलोइडहरू बाहेक अन्य संयन्त्रहरू अन्वेषण गर्न आवश्यक भएको स्वीकार गर्नुभयो ।

विशेषज्ञहरूको एक समूहले गत महिना अल्जाइमर रोगको रोकथामको बिषयमा एक जर्नल (जर्नल अफ प्रिभेन्सन अफ अल्जाइमर्स डिजिज) मा लेखेका छन्, “रोगको जटिलताले गर्दा ‘एकल–लक्षित उपचार’ले लेकानेमाब र डोनेमाबभन्दा धेरै ठूलो प्रभाव प्राप्त गर्ने कुरा सम्भव छैन।” अल्जाइमरको उपचारमा नयाँ औषधि ‘महत्वपूर्ण कदम’ भएको अनुसन्धानकर्ताहरूले उक्त जर्नलमा बताएका छन् ।

महिला फुटबलः एपिएफ विजयी

काठमाडौँ, ४ असोजः एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो ।

प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अङ्क जोडेको छ ।

प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा छ । एपिएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ ।

प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ४ असोज : प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ ।

जनमुक्ति सेनासँग संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली चीन प्रस्थान

काठमाडौँ, ४ असोज : नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिप’ अभ्यास हुनेभएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

विसं २०७४ देखि सुरु भएको उक्त अभ्यासअन्तर्गत यो चौथो संस्करण चीनको चोङ्क्वीङमा हुनेछ । उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, प्रतिआतङ्कबादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सेनाले स्पष्ट गरेको छ ।

नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।