`

जनमुक्ति सेनासँग संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली चीन प्रस्थान

काठमाडौँ, ४ असोज : नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिप’ अभ्यास हुनेभएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

विसं २०७४ देखि सुरु भएको उक्त अभ्यासअन्तर्गत यो चौथो संस्करण चीनको चोङ्क्वीङमा हुनेछ । उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, प्रतिआतङ्कबादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सेनाले स्पष्ट गरेको छ ।

नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।

कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा महत

सुदूरपश्चिम, ४ असोज : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको उत्पादन बढाउन यस क्षेत्रको व्यवसायीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज धनगढीमा आयोजना गरेको ‘आपूर्ति व्यवस्थापन र उपभोक्ता अधिकार’ सम्बन्धी अन्तरक्रियामा उहाँले कृषि उत्पादन बढाउन सकिएमा आत्मनिर्भर हुन सकिने बताउनुभयो ।

नेपालमा झण्डै ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेपनि उत्पादनमा उनीहरूको करिब २५ प्रतिशत मात्रै योगदान रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा महतले भन्नुभयो, “लागत बढी हुँदा कृषि पेशामा त्यति आकर्षण बढ्न सकिरहेको छैन, त्यसले बजार पनि पाउन सकिरहेको छैन ।”

कार्यक्रममा सरोकारवालाहरूले बजार नियन्त्रणमा नहुँदा उपभोक्ताले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नुपरेको, पहुँचवालाको हालीमुहाली हुँदा वास्तविक किसानले अनुदानलगायत सुविधा पाउन नसकिरहेको जस्ता समस्या सुनाएका थिए ।

उहाँहरूले सरकारले अनुदान दिँदा लागतमा नभएर उत्पादनमा दिनुपर्ने, कृषिलाई मर्यादित पेशा बनाउन त्यसअनुसारको नीति बनाएर कार्यान्वयन गर्नुपर्ने र अहिलेको आपूर्ति व्यवस्थापनमा सुधार गर्नुपर्नेलगायत सुझाव दिनुभएको थियो ।

दुई करोडको लागतमा नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै

नवलपरासी, ४ असोजः पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका–१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो ।

नगरपालिकाले सिँचाइ सुविधा नभएका सुक्खा क्षेत्र छनोट गरी रु दुई करोडको लागतमा नौ स्थानमा सिँचाइको व्यवस्था गर्न डिपट्युबेल जडानलाई तीव्र गतिमा अघि बढाएको छ ।

रामग्राम नगरपालिका–१३ बाट काम सुरु भएको र आवश्यकताअनुसार अन्य स्थानमा पनि डिपट्युबेल जडानलाई तीव्रता दिइने नगरप्रमुख धनपत यादवले बताउनुभयो । किसानलाई सिँचाइको सुविधा दिनसके आर्थिक अवस्था सुधारमा टेवा पुग्ने भएकाले नगरपालिकाले सिँचाइका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

सिँचाइ सुविधा नहुँदा नगरका केही स्थानमा अकासे पानीको भर पर्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिँचाइ पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्रामका अधिकांश परिवार कृषिमा आश्रित छन् । रामग्राम–१३ पाडाटिकरमा रु १६ लाख लागतमा डिपट्युबेल निर्माण सुरु भएको छ । उक्त डिपट्युबेलमार्फत एक सय ५० बिघाभन्दा बढी जग्गामा सिँचाइ सुविधा पुग्नेछ ।

सिँचाइको सुविधा नहुँदा समस्या भएको बताउँदै स्थानीय समाजसेवी अवधराज यादवले अब सिँचाइ कार्यक्रम विस्तार हुने खबरले आफू उत्साहित भएको बताउनुभयो ।

वडाध्यक्ष असनारायण चौधरीले वडा नं १३ भित्रै अन्य स्थानमा पनि भूमिगत सिँचाइको व्यवस्था गर्नसके कृषि उत्पादनमा वृद्धि हुने बताउनुभयो ।

नगरपालिकाका कृषि शाखा प्रमुख किरणकुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रम विस्तारमा जोड दिनुभयो ।

गायक यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर सार्वजनिक

गायक यश कुमारले आज बिहीबार आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरियो ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोले सडक दुर्घटनाले निम्त्याएको अकल्पनि निधन र त्यसले भर्खर मात्रै गम्भिर बिरामीबाट निको भएकी प्रेमीकामाथी परेको बज्रपातको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ । सार्वजनिक भिडियोमा मोडल अनु थापाको अभिनयले दर्शकलाई मन्त्र मुग्ध बनाउँछ ।

गीतको भिडियोमा लिम्बु संस्कृति र पालमलाई पनि सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियोमा गायक यश कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीले अभिनय गरेका छन् । हरि हुँमागाईले खिचेको भिडियोमा हाङ चेम्जोङको कोरियोग्राफी रहेको छ । यो १५ मिनेट लामो म्युजिक सिनेमामा प्रेम, रोमान्स, ड्रामा र विछोडको मर्म मिश्रण गरिएको छ ।

सार्वजनिक गीतको फिमेल पार्टमा सशिकला राईले स्वर दिएकी छन् । समरा जोशीको मेकअप रहेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन तथा कलर गरेका हुन् । यसअधिको सुपहिट गीत ‘तिमी छौ र त’को दोस्रो पार्टको रुपमा यश कुमारले ‘आँखा बन्द गरेर] सार्वजनिक गरेका हुन् ।

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा (अन्तर्वार्ता)

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले पहिलोपटक संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी गर्यो । जारी भएको ती संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन भएसँगै अहिले तीन तहका सरकार क्रियाशील छ । नेपाली जनताको ठूलो सङ्घर्षबाट प्राप्त संविधान जारी भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउँदै आएको छ । यस सन्दर्भमा संविधानको कार्यान्वयनको अवस्था र चुनौती, प्रदेश सरकारले खेल्दै आएको भूमिकालगायतका विषयमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसँग रासस बागमती प्रदेश कार्यालय हेटौँडाका प्रमुख राजु विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको संविधान, २०७२ जारी भएपछि प्रदेशमा भएका महत्त्वपूर्ण उपलब्धिहरू के–के हुन् ? अहिलेसम्म सम्पादित कामलाई कसरी हेर्नुभएको छ ?

थुप्रै समस्याहरूका बाबजुद प्रदेश सरकारका निकायहरूले जनताको नजिक भएर काम गरिरहेका छन् । नागरिकले सहज रूपमा मुख्यमन्त्री र मन्त्रीसम्म पुगेर आफ्ना गुनासो, माग राखिरहेका छन् । नागरिकले लिएर आएका गुनासा र मागहरूलाई भ्याएसम्म प्रदेश सरकारले सम्बोधनसमेत गरिरहेको छ । विगतमा सङ्घीय सरकारसम्म पहुँच नभएका नागरिकहरू अहिले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसमक्ष आएर निर्धक्कपूर्वक आफ्ना कुरा राख्न पाएका छन् । नागरिकले सङ्घीयताको अनुभूति गर्न पाएका छन् । प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकार समन्वय र सहकार्य गरी आफ्ना कामलाई छिटोछरितो ढङ्गबाट सम्पादन गरिरहेको छ । हो कतिपय कठिनाइका कारण नागरिकको काम छिटोछरितो गर्न पाएका छैनौंँ । तर विस्तारै नागरिकको भरोसा बढ्दै गएको छ । नागरिकको नजिक भएर काम गर्न पाउँदा म सन्तुष्ट छु ।

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् । यो सात वर्षको अवधिमा जनताले अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गरेको छ । प्रदेश सरकारले बनाउनुपर्ने महत्त्वपूर्ण ऐन, कानुन निर्माण भएको छ । सडक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएका छन् । प्रदेश सरकारले एक हजार ६८ किलोमिटर नयाँ सडक बनाएको छ । त्यसमध्ये एक हजार ४० किलोमिटर सडकको कालोपत्रसमेत भइसकेको छ । एक सय सात वटा पुल र तीन हजारभन्दा बढी सामुदायिक भवन प्रदेश सरकारमार्फत निर्माण भएका छन् । प्रदेशका पाँच हजारभन्दा बढी जनताको खानेपानीमा पहुँच पुगेको, १३ हजार हेक्टर जग्गामा सिँचाइ विस्तार भएको छ ।

संविधानअनुसार बीचमा रहेको प्रदेश सरकारलाई आफ्ना नीति तथा कार्यक्रम र कार्ययोजना कार्यान्वयन गर्ने सन्दर्भमा हालको संरचनागत र कानुनी व्यवस्था कस्तो छ ? प्रदेश सरकारलाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन के–कस्तो संरचना र कानुनी व्यवस्था आवश्यक छ ?

प्रदेश सरकारलाई आफ्ना नीति तथा कार्यक्रम र योजना कार्यान्वयनमा पक्कै पनि समस्या छ । प्रदेश सरकारलाई चाहिने ऐन कानुनमध्ये धेरै बनाइसकेको छ । तर प्रदेश सरकारलाई समन्वयकारी भूमिका दिएकाले सङ्घीय सरकार र स्थानीय निकायसँग समन्वय गरेर नीति तथा कार्यक्रम र कार्ययोजनाहरू बनाउनुपर्ने हुन्छ । यस्तो गर्दा केही समस्या भइरहेको छ । प्रदेश सरकारले लगानी गरेको ठाउँमा केन्द्र वा स्थानीय सरकारले लगानी गर्नुहुँदैन । तर यस्तो भइरहेको छैन ।

प्रदेश सरकारले सडक बनाएकै ठाउँमा सङ्घीय सरकारले पनि आफ्नो योजना लैजाने गरेको छ । प्रदेश सरकारले विकास गर्ने, उद्यमशीलता सिर्जना गरेर रोजगारी प्रवर्द्धन हो । त्यसमा सङ्घीयले हस्तक्षेप गर्नु हुँदैन । हामीले नीति कार्यक्रम बनाउँछौँ तर सङ्घीय सरकारले त्यसलाई छेक्ने काम गर्दछ । प्रदेशभित्रको शान्ति, सुरक्षाको दायित्व प्रदेश सरकारको पनि हो । यहाँको शान्ति सुरक्षा कायम गर्ने, नागरिकलाई शान्ति अमनचयनको अनुभूति गराउने काम प्रदेश सरकार पनि हो । तर त्यसका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्ने अवस्था छ । किनकि प्रहरी अझै पनि सङ्घीय सरकारकै मातहतमा छ । त्यसैले प्रदेश सरकारलाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन संविधानमा उल्लेख भएको राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकारले ध्यान दिनुपर्छ । प्रदेश सरकारले पनि ऐन, कानुन छिटो निर्माण गरी त्यही ऐन, कानुनलाई टेकेर जनताको माग सम्बोधन गर्न सकिए प्रदेश सरकारप्रति नागरिकको विश्वनीयता अझ बढ्न सक्छ ।

नेपालको संविधान २०७२ कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व पनि कायमै छ । केन्द्रले प्रदेश एवं प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको भन्ने कुरा पनि बेलाबेलामा आउने गरेको छ, विशेषगरी प्रदेशबाट यस सम्बन्धमा कस्तो भूमिका निर्वाह भएको छ ?

हामीले संविधान बनायौैँ । संविधानले तीनै तहको सरकारलाई अधिकार प्रदान गरेको छ । संविधानप्रदत्त अधिकारमाथि कसैले पनि हस्तक्षेप गर्नु हुँदैन । संविधानले दिएको अधिकार सङ्घले रोक्नु हुँदैन । अधिकार सङ्घीय सरकारले दिने होइन, संविधानले दिइसकेको छ । त्यसैले यसलाई कार्यान्वयन मात्र गर्नुछ । प्रहरी, कर्मचारी प्रदेश सरकारमा हस्तान्तरण गर्नुपर्छ । सङ्घीय सरकारले ठूलाठूला आयोजना, राष्ट्रिय नीतिहरू बनाउने हो । प्रदेशले विकास गर्ने हो । स्रोतहरूको समुचित सदुपयोग गरी रोजगारी सिर्जना गर्ने हो । प्रदेशले स्थानीयलाई ‘डेलिभरी’ दिने हो र विकास गर्ने हो । पर्यटन प्रवर्द्धन गरेर आर्थिक विकासमा टेवा पुर्याउने काम प्रदेशको हो । तर त्यो भइरहेको छैन । सङ्घीय सरकारले पनि प्रदेशले गर्ने काममै अल्झिएको छ । त्यसैले हामीले सङ्घीय सरकारलाई संविधानप्रदत्त प्रदेश सरकारको अधिकारलाई हस्तान्तरण गर्न भनिरहेका छौँ । संविधानमा सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व कायम छ । खासमा दुई तहबीच साझा अधिकार क्षेत्र देखिएको विषय सङ्घीय ऐनअनुसार व्यवस्थापन गर्नुपर्ने र त्यसका आधारमा प्रदेश ऐन बन्नुपर्ने थियो । तर सङ्घीय ऐन नबन्दा प्रदेशले पनि कतिपय कानुन बनाउन सकिरहेको छैन । हामीले संविधानप्रदत्त प्रदेशको अधिकार हस्तान्तरण गर्न आवाज उठाइरहेका छौँ । तर सङ्घले त्यसमा खासै ध्यान दिएको छैन ।

प्रदेश सरकार खर्चिलो भयो, आर्थिक रूपमा आत्मनिर्भर र राजनीतिक रूपमा स्वतन्त्र नभएको भनी संरचना खारेज गर्नुपर्दछ भन्ने आवाज आउन थालेको छ, यसै सन्दर्भमा प्रदेश सरकारलाई स्थिर, सक्षम, थप कामकाजी, जनपक्षीय, परिणाममुखी र सुदृढ बनाउन के गर्नुपर्ला ?

पहिलो त प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन । यसअघि पनि प्रदेश संरचना सरहकै संरचनाहरू थिए । त्यतिबेलाको संरचनामा पनि खर्च हुन्थ्यो । अहिले नै भने हो भने सातवटै प्रदेश सरकारको बजेट सङ्घीय सरकारको एउटा मन्त्रालयको भन्दा कम छ । अनि कसरी भन्नुहुन्छ कि प्रदेश सरकार खर्चिलो भयो भनेर । बरु प्रदेश सरकार आइसकेपछि गाउँगाउँमा सडकहरू बनेको छ । जनताले विकास भएको अनुभूति गरेका छन् । नागरिकले प्रदेश सरकारसँग राखेको अपेक्षा एकै पटक पूरा नहुँदा केही गुनासो बढेको छ । प्रदेश सरकारका सवारीसाधन देखेर लागेको होला कि प्रदेश सरकार खर्चिलो भयो भनेर । तर त्यसमा कुनै तर्क छैन । पहिलाको क्षेत्रीय र गाविसको संरचनाभन्दा प्रदेशको संरचना कम खर्चिलो छ । सङ्घीय सरकारको कुल बजेटको तीन दशमलव ४७ प्रतिशतमात्रै वित्तीय हिस्सा बागमती प्रदेश सरकारले ओगटेको छ ।

प्रदेश सरकारलाई स्थिर, सक्षम र थप कामकाजी र सुदृढ बनाउन सबैभन्दा पहिला सुशासन प्रवर्द्धन गर्नपर्छ । हरेक क्षेत्रमा सुशासनको प्रत्याभूति दिलाउनुपर्छ । भ्रष्टाचार चरम रुपमा बढेको छ । भ्रष्टाचार न्यूनीकरण गर्न पहिला सबैको सम्पत्तिलाई ‘अपडेट’ गरौँ । सम्पत्ति अपडेट भएपछि को सँग कति सम्पत्ति छ भने यकिन हुन्छ र त्यसपछि सम्पत्ति बढ्यो भने त भ्रष्टाचार गर्यो भन्ने थाहा हुन्छ । यसरी भ्रष्टाचार न्यूनीकरण हुन्छ । प्रदेशहरूमा उद्योगधन्दा खोल्नुपर्छ । उद्योग नखोली रोजगारी सिर्जना गर्न सकिँदैन । त्यसै लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको छ । यसका साथै प्रदेश सरकारले आम्दानीको स्रोत खोजी गरिरहेको छ । बागमती प्रदेश सरकारको प्रमुख आम्दानीको स्रोत यातायात क्षेत्र हो । यसलाई व्यवस्थित बनाउन अहिले यातायातलाई ‘डिजिटल डाटा’मा राख्ने काम भइरहेको छ । यसबाहेक अन्य आम्दानीको स्रोत पहिल्याउने कार्य भइरहेको छ ।

प्रदेश सरकारलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सन्दर्भमा संविधानमा भएको व्यवस्थाअनुसार यस प्रदेशमा कुन–कुन कानुन बने र कुन बन्न बाँकी छन् ?

पछिल्लो सात वर्षको उपलब्धिको विश्लेषण गर्ने हो भन्ने कानुन निर्माणको हिसाबले हाम्रो प्रदेश अग्रणी देखिन्छ । संविधानतः प्रदेश सरकारले ९९ वटा कानुन निर्माण गर्नुपर्ने हो । हामीले अहिलेसम्म ८० वटा कानुन बनाइसकेका छौंँ । बाँकी १९ वटा कानुनमध्ये कतिपय निर्माणको चरणमा छन् भने कतिपय सङ्घीय ऐन र कानुनको प्रतिक्षामा छन् । यसरी हेर्दा हामीले बनाउनुपर्ने धेरै कानुन बनाइसक्यौँ । तर बनेका कानुनको कार्यान्वयनमा केही समस्या छ हामीले त्यसलाई सहजीकरण गर्दै अघि बढिरहेका छौँ । कानुन बनाउनु समान्य कुरा होइन, एकदमै जटिल कार्य हो । एउटा कानुन बन्यो भने यसले ठूलो महत्व राख्छ । सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर कानुन बनाएका छौँ ।

विकास आयोजनालाई गति दिन के–कस्ता नीतिगत र संरचनागत सुधारहरू गर्दै हुनुहुन्छ ?

म मुख्यमन्त्री हुनुभन्दा पहिलादेखि नै प्रदेशमा प्रादेशिक गौरवका आयोजनाहरू कार्यान्वयनमा छ । कतिपय प्रादेशिक गौरवका आयोजना कार्यान्वयनमा छ भने कतिपय बजेट अभावले रोकिएको छ । प्रादेशिक गौरवका आयोजनामध्ये बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष भर्खरै नियुक्त भएको छ । विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा  आठ करोड ५० लाख बजेटसमेत विनियोजन गरिसकेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणको काम भइरहेको छ । सो विज्ञान प्रतिष्ठानका लागि चाल आव २०८१/८२ मा रु १५ करोड विनियोजन भएको छ । यस्तै प्रादेशिक गौरवकै आयोजनामध्ये पोष्टबहादुर बोगटी सुरुङ मार्गको लागत स्रोत सुनिश्चितता नहुँदा तीन वर्षदेखि काम अघि बढ्न सकेको छैन । पुष्पलाल प्रदेश चक्रपथ निर्माणअन्तर्र्गत विभिन्न जिल्लाको सडकखण्डमा काम भइरहेको छ । यसरी प्रादेशिक गौरवका आयोजनालाई प्रदेश सरकारले महत्वका साथ अघि बढाइरहेको छ ।

दोस्रो पञ्चवर्षीय योजना पारित भएर कार्यान्वयनको चरणमा गएको अवस्था छ । उक्त योजनाले निदृष्ट गरेका लक्ष्य र योजना पूरा हुने आधार के छन् ?

दोस्रो पञ्चवर्षीय योजनाले निदृष्ट गरेका लक्ष्य र योजना पूरा गर्न प्रदेशमा अहिले धेरै योजना कार्यान्वयनको चरणमा छन् । अधिकांश योजना जनताको जनजीविकासँग जोडिएका छन् । दोस्रो पञ्चवर्षीय योजनाले निदृष्ट गरेअनुरुपका छन् । प्रदेशमा सञ्चालन भइरहेको ती योजनालाई ‘अपटेड’ गर्न निर्देशन दिइएको छ । योजना ‘अपडेट’ भएपछि मात्र कुन योजनामा कहाँ समस्या छ भने थाहा हुन्छ । पहिला पुराना योजनालाई सफल बनाउने हो । नयाँ योजना नल्याउने सोच छ । नयाँ र टुक्रे योजना ल्याउने र पुरानो योजनालाई अलपत्र पार्ने काम गर्नु हुँदैन । त्यसैले अहिले प्रदेश सरकारले पुरानो र ठूला योजनालाई महत्व दिएर अघि बढेको छ ।

अन्त्यमा, संविधान दिवस, २०८१ को उपलक्ष्यमा नेपाली जनता र विशेषगरी प्रदेशवासीलाई के भन्न चाहनुहुन्छ ?

नेपालको राजनीतिक इतिहासमै पहिलोपटक जनताबाट निर्वाचित प्रतिनिधिबाट संविधानसभामार्फत संविधान जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइरहेका छौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । यसका लागि संविधानले सङ्घीय, प्रदेश र स्थानीय सरकारले पूरा गर्नुपर्ने भनी निदृष्ट गरेका जिम्मेवारी बहन गर्दै राष्ट्रको समृद्धि हासिल गर्नका लागि निर्धारित लक्ष्य प्राप्तिको दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्व हो । यसमा सबै इमान्दार भएर लागौंँ ।

पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल सुनसान

दोधारा चाँदनी (कञ्चनपुर), ४ असोजः पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन् ।

अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ पोखरालगायत सहर घुम्न जाने गरेको बताउनुभयो । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यो वर्ष विदेशी पर्यटक आउनेक्रम बढेको छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन विकासको सम्भावयुक्त क्षेत्र हो । सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्ड र घाँसेमैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षण हन् । यहाँ शुक्लाफाँटा मात्र नभई महाकालीपारिका दोधारा र चाँदनी गाउँलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि छ । धार्मिक महत्वका पर्यटकीयस्थल पनि छन् । बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा यी क्षेत्र ओझेलमा परेका छन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्य स्तरबाट लगानी हुन नसकेको बताउनुभयो । “यहाँ पर्यटनको प्रचुर सम्भावना छ तर पूर्वाधार र प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा छ”, उहाँले भन्नुभयो ।

कञ्चनपुरका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा यहाँ आएका पर्यटक अन्यत्र बासबस्ने गरेका बताउनुभयो । “प्रचारप्रसार र पूर्वाधार अभाव नै यहाँ पर्यटक नबस्ने प्रमुख कारण हुन्”, उहाँले भन्नुभयो, “नाकामा पर्यटक सूचना केन्द्रसमेत सञ्चालनमा आउन सकेको छैन ।” योसँगै हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी यहाँ पर्यटकीय गन्तव्यको रूपमा महाकाली नदी किनार विकसित हुन थालेको छ । महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि चारवटा ताल पनि निर्माण गर्न लागेको छ । तालका समीप पाँच हजार बिरुवा पनि रोप्ने योजना छ ।

उपकरण विस्फोटले समूहलाई ‘ठूलो’ धक्का लागेको हिजबुल्लाह प्रमुखको भनाइ

हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गर्नुभएको छ ।

इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ । 

लेबनानलाई आतङ्कित बनाउने मङ्गलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिनुभयो ।

आक्रमणलाई सम्भावित ‘युद्धको कार्य’ का रूपमा वर्णन गर्दै उहाँले इजरायलले ‘कठोर प्रतिशोध र न्यायपूर्ण सजाय’ को सामना गर्नुपर्ने चेतावनी दिनुभयो । 

‘युद्ध अपराध वा युद्धको घोषणा हुन सक्थ्यो’ भन्दै उहाँले आक्रमणलाई ‘नरसंहार’ भन्नुभयो । उहाँले इजरायलले ‘दुई मिनेटमा कम्तीमा पाँच हजार मानिसलाई मार्न चाहेको’ आरोप लगाउनुभयो ।

उहाँले गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने प्रतिज्ञा गर्नुभयो । “यति धेरै रगत बगे पनि गाजामा आक्रमण बन्द नभएसम्म लेबनानको मोर्चा रोकिँदैन”, उहाँले भन्नुभयो ।

पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

वेदकोट (कञ्चनपुर), ४ असोजः भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गर्नुभएको छ । खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् । पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित हुनुहुन्छ ।

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उहाँको धानखेतीमा क्षति पुर्याएको हो । “वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो । त्यसमै पानीले गह्रा भरिभराउ छ”, उहाँले भन्नुभयो, “धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।”

हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्याएपछि खानलाई समस्या हुने उहाँको गुनासो छ । उहाँ वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आउनुभएको थियो । “आम्दानीको स्रोत कृषि नै हो । धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ”, लुहारले भन्नुभयो, “अब के खाने ? के बेच्ने ?”

भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ । त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उहाँ अधियाँ गर्ने गर्नुहुन्छ । गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उहाँलाई के खाने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

“हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो । न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै”, उहाँले भन्नुभयो, “किनेर खान पनि पैसा छैन ।” बर्सेनि वर्षा र हुरीबतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उहाँको गुनासो छ ।

अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ ।

स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन् । जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ । “डुबान, कटान र पटानले बाली क्षति पुगेको छ । यकिन विवरण प्राप्त भएको छैन”, उहाँले भन्नुभयो, “निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको छ ।”
–––

मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार

जनकपुरधाम, ४ असोजः मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ ।

मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषणगृहका अनुसार कुपोषणका कारण बालबालिकामा मुटु समस्या, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासमा कमी, पुडकोपनलगायत समस्या हुने गरेको छ ।

सो प्रतिष्ठानका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ८६ बालबालिका कुपोषणका कारण उपचारका लागि जनकपुर अस्पतालमा भर्ना भएका थिए भने आव २०८०/८१ मा दुई सय १६ बालबालिका उपचारका लागि भर्ना भएको जनाइएको छ ।

त्यस्तै अस्पतालका बालरोग विभागमा दैनिक एक सय ५० देखि दुई सय ५० बालबालिका उपचारका लागि आउने गरेका छन् । जसमा प्रत्येक १० जनामध्ये चार जनामा कुपोषण समस्या भेटिने गरेको छ । उक्त समस्या छ महिनादेखि पाँच वर्षका बालबालिका अत्यधिक छ ।

बालबालिका कुपोषित हुनुमा गरिबी, अशिक्षा, आर्थिक अभाव, चेतनाको कमी, विपन्नता, समयमा उपचार नगराउनु रहेको छ । साथै सो समस्या दलित तथा पिछडिएको वर्गमा अत्यधिक रहेको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेशमा करिब ५१ प्रतिशत बालबालिकामा रक्तअल्पता, २९ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशमा कम तौल तथा १० प्रतिशत बालबालिकामा क्षयरोगलगायत कुपोषण भएको देखिने गरेको बताइएको छ ।

मधेसमा वार्षिक रूपमा एक लाख ४० हजार बालबालिका जन्म लिने गरेको छ । पाँच वर्षमुनिका मृत्युदर प्रति एक हजार जीवित बालबालिकामा ३३ मृत्यु तथा नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा २१ मृत्यु रहेको बताइएको छ । जसको मुख्य कारण कुपोषण नै रहेको विवरण सार्वजनिक गरिएको छ ।

विगत पाँच वर्षमा कुपोषणको समस्या कम नभएपछि सो समस्याको समाधानका लागि प्रदेश सरकारले जिल्लादेखि वडासम्म पोषणसम्बन्धी कार्य भइरहेको मन्त्रालयले जनाएको छ । यस वर्ष प्रदेश सरकारले पोषणसम्बन्धी कार्यक्रमका लागि रु १० करोड रकम विनियोजन गरेको स्वास्थ्यमन्त्री शत्रुध्नप्रसाद सिंहले जानकारी दिनुभयो ।

पोषणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम, पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पताल तथा राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि पोषणगृह सञ्चालनमा रहेको सिंहले बताउनुभयो । प्रदेश सरकारले कडा कुपोषण देखिएका बालबालिकाको निःशुल्क उपचार, पोषिलो खानपानका लागि प्रोत्साहन तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्रालयले जनाएको छ ।

सरकारले सन् २०३० सम्ममा पाँच वर्षमुनिका नवजात शिशु तथा बाल मृत्युदर अन्त्य गर्नका लागि दिगो विकास लक्ष्य लिएको छ । त्यो चुनौती मधेस प्रदेशमा देखिएको छ ।

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बलेवा (बागलुङ), ४ असोजः धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।

अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताउनुभयो ।

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो । उहाँले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताउनुभयो ।

नगद सङ्कटमा रहेको श्रीलङ्कामा मतदानको पूर्वसन्ध्यामा ऋण सम्झौता सुरक्षित

श्रीलङ्का बिहीबार अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग दीर्घकालीन ऋण पुनःसंरचनासम्बन्धी सम्झौतामा पुगेको छ । मुलुकको खराब वित्तीय स्थिति सुधार गर्न उक्त सम्झौतामा पुग्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रमुख माग थियो ।

यो घोषणा २०२२ को अभूतपूर्व आर्थिक सङ्कटपछि मुलुकले पहिलो राष्ट्रपति चुनाव गर्ने दुई दिनअघि आएको छ । आर्थिक सङ्कटले महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव र व्यापक सामाजिक अशान्ति ल्याएको थियो ।

श्रीलङ्काको आधाभन्दा धेरै अन्तर्राष्ट्रिय सार्वभौम ऋण र विदेशी निजी ऋण सम्हाल्ने ऋणदाताहरू आफ्नो ऋणमा २७ प्रतिशत कटौती गर्न सहमत भएको सरकारी विज्ञप्तिमा बताइएको छ । 

“व्यापक पुनर्गठनको सर्तमा सैद्धान्तिक रूपमा सम्झौतामा पुगेको बताउन पाउँदा श्रीलङ्का खुशी छ”, विज्ञप्तिमा भनिएको छ ।  

शनिबार हुने राष्ट्रपति निर्वाचनको प्रचारमा आइएमएफ कार्यक्रमअन्तर्गत मुलुकको मितव्ययिता उपाय केन्द्रीय मुद्दा बनेको छ । 

अन्तर्राष्ट्रिय सार्वभौम ऋण मुलुकको विदेशी ऋणको १२ अर्ब ५० करोड डलरभन्दा केही बढीको हिस्सा हो । यो २०२२ मा श्रीलङ्काको पहिलो सरकारको डिफल्टको समयमा ४६ अर्ब डलर थियो ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेको सरकारले जुलाईमा ऋणदाताहरूसँग सम्झौता गर्ने घोषणा गरेको थियो तर अन्ततः यसको प्रावधानहरू आर्थिक रूपमा अस्थिर हुने विश्वासमा उक्त सम्झौताबाट बाहिरिएको थियो ।

बिहीबार भएको सम्झौताअन्तर्गत ऋणदाताहरूले डिफल्टपछि जम्मा भएको विलम्बित ब्याज भुक्तानीमा ११ प्रतिशत कटौती गर्न पनि सहमति जनाएका छन् ।

संसद्ले अक्टोबरको आगामी सत्रमा सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ ।शनिबारको मतदानमा विक्रमसिङ्घेलाई चुनौती दिने दुई प्रमुख प्रतिद्वन्द्वीले पनि निर्वाचित भएमा कुनै पनि ऋण सम्झौतासँग पुनःवार्ता गर्ने प्रतिज्ञा गरेका छन् ।

दुई वर्ष पहिलेको सङ्कटले ल्याएको स्थायी आर्थिक कठिनाइ र सडकमा विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेलाई अपदस्थ गरेको थियो र उहाँ अस्थायी निर्वासनमा जान बाध्य हुनुभएको थियो ।

करलाई दोब्बर बनाएर, ऊर्जा अनुदानलाई फिर्ता लिएर र आवश्यक वस्तुहरूको मूल्य बढाएर सरकारी राजस्व बढाउन श्रीलङ्काले २०२३ मा आइएमएफबाट दुई अर्ब ९० करोड डलरको बेलआउट प्राप्त ग¥यो । 

सन् २०२२ मा आइएमएफले सात दशमलव आठ प्रतिशतको रेकर्ड मन्दीपछि श्रीलङ्का आर्थिक सुधारको मार्गमा आएको बताउँदै तर मुलुकको अर्थतन्त्र अझै पनि सङ्कटमा रहेको चेतावनी दिएको छ ।     जुनमा सरकारले छ अर्ब डलरको आधिकारिक क्रेडिट पुनःसंरचनाका लागि द्विपक्षीय ऋणदातासँग सम्झौता गरेको थियो । 

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत जनता साक्षर

जुम्ला, ४ असोजः जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ ।

साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शङ्कर धितालले बताउनुभयो ।

बाह्रवटा सूचकमध्ये बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ । मूल्याङ्कन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ । पच्चीस प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न मन्त्री यादवको आग्रह

काठमाडौँ- खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका-१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उहाँले उक्त आग्रह गर्नुभएको हो । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो ।

निरीक्षणपछि मन्त्री यादवले भन्नुभयो, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला मुहानमा ढल मिसिँदा  पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्छ, जसले हैजा र झाडापखाला फैलिन सक्छ, त्यसैले उपभोक्ताहरुलाई शुद्ध पानी मात्र वितरण गर्नुपर्छ ।” 

मन्त्री यादवले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र प्रयोग गर्नुपर्ने सन्देश फैलाउन पनि निर्देशन दिनुभयो । 

उहाँले आजै गोदावरी नगरपालिका-१४ मा रहेको नसारहित समाज नेपाल (सुधार केन्द्र)को इनार, गोदावरी खोलाको पानी र त्यहाँको सतह स्रोतको पानीको समेत निरीक्षण गर्नुभयो ।

खानेपानी विभागअन्तर्गतको गुणस्तर सुधार तथा सेवा नियमन शाखाले मोबाइल परीक्षण भ्यान प्रयोग गरी स्थानीय स्तरमा पानीको गुणस्तर मापन गरेको थियो । पानी परीक्षणको नतिजा २४ घण्टाभित्र आउने जानकारी शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले दिनुभयो । 

निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक पौडेल, ठैव खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवबिक्रम राणालगायतको सहभागिता थियो ।

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौँ, ४ असोजः विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन् । अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रियगान तथा ज्ञातअज्ञात सहिदहरूको सम्मान गरेर सुरु भएको कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री, राजदूतावासका कूटनीतिक कर्मचारी र तिनका परिवार र संयुक्त अरब इमिरेट्समा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा त्यहाँ रहेका नेपालीको उपस्थिति थियो ।

त्यस अवसरमा राजदूत क्षेत्रीले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, मूल्य मान्यता र लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।

यसैगरी बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्रकुमार यादवले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नयाँ संविधानले मुलुकमा समानता, समावेशिता, एवं प्रजातान्त्रिक मूल्य, मान्यता स्थापनामा योगदान गरेको बताउनुभयो ।

चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङको प्रमुख आतिथ्यमा भएको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । समारोहमा बेइजिङस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, चिनियाँ उद्यमी–व्यवसायी, सञ्चारकर्मीलगायत दुई सय ५० जनाको सहभागिता थियो । त्यसअघि दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

यसैगरी इजिप्टको राजधानी कायरोमा बिहीबार नै इजिप्टको परराष्ट्र मन्त्रालयका एसिया–प्रशान्त तथा अष्ट्रेलिया र न्यूजील्याण्ड मामिलासम्बन्धी सहायक विदेशमन्त्री अहमद शाहिनको उपस्थितिमा संविधान दिवस समारोह आयोजना गरियो ।

सहायक विदेशमन्त्री शाहीनले दुई देशबीच व्यापार, पर्यटन र शिक्षालगायत क्षेत्रमा आपसी सहयोग विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपालको संविधान देशको आधुनिक इतिहासमा कोशेढुङ्गाका रूपमा रहेको बताउँदै नेपाल र इजिप्टबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा इजिप्टमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो । समारोहमा इजिप्टका फोटो पत्रकार यासेर आला मुबारकले गत वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमा खिचेका तस्बिरहरूको प्रदर्शनी पनि गरिएको दूतावासले जनाएको छ ।

यसैगरी, कोपेनहेगनस्थित नेपाली नियोगमा आयोजित कार्यक्रममा नियोग प्रमुख सावित्रा ओलीले सात दशक लामो सङ्घर्षपछि जनताद्वारा निर्वाचित प्रतिनिधिले नेपालको संविधान बनाएको ऐतिहासिक दिनको सम्झना गर्दै लोकतन्त्रको संस्थागत विकासमा संविधानले योगदान गरेको बताउनुभयो ।

नेपाल–डेनमार्क सम्बन्धबारे चर्चा गर्दै उहाँले व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध वृद्धिमा जोड दिनुभएको थियो । त्यस अवसरमा डेनमार्क सरकारका वरिष्ठ अधिकारी, कोपनहेगन नगरका प्रमुख, त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुख एवं तिनका प्रतिनिधि, प्राध्यापक, नेपालका मित्र, डेनमार्कमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली तथा सञ्चारकर्मीसहित एक सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो ।

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।

कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो,करोडौँ लगानीमा खुलेका होटल सुनसान

सन्तोष गौतम, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन् ।

लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायीहरू निमाजस्तै पलायन हुने अवस्थामा रहेको बताउँछन् ।

‘उपल्लो मुस्ताङ पर्यटकका लागि भर्जिन एरिया’हो । यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन भएसँगै करोडौँ लगानीमा सुविधायुक्त होटल सञ्चालन भए’, उनले भने, ‘अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शूल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायी पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको हो ।’

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरलानाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमै अवस्थित छ ।

करोडौँ लगानीमा खुलेका होटल सुनसान

निषेधित क्षेत्रका कारण विदेशीहरू सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो । बिदा र चाडपर्वको समयमा घुम्न आउने नेपालीले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ ।

लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक चार सय पर्यटक बास बस्न सक्ने क्षमता छ । धेरैजसो होटल सधैँ रित्ता हुने मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताए। पर्यटक आगमन कम हुँदा उपल्लो मुस्ताङमा रहेका ७० वटा होटलका सञ्चालक समस्यामा परेका छन् ।

एउटा होटल स्थापनाका लागि सरदर रु तीन करोड ५० लाख लगानी भएको लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङले बताए ।

दैनिक एक हजार पाँच सय पर्यटक बस्न सक्ने होलटको क्षमता भए पनि वार्षिक तीन हजार जनाको हाराहारीमा मात्र पर्यटक पुग्ने गर्छन् । विदेशीको तुलनामा केही बढी नेपाली उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरूको आधिकारिक तथ्याङ्क छैन ।

अर्धनिषेधित क्षेत्र र महँगो शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासका लागि तगारो बनेको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्यसमेत रहेका व्यवसायी लाक्पा वाङ्दी गुरुङले बताए । ‘पर्यटक आगमनलाई सहज बनाउन सकेमा राज्य, व्यवसायी र समुदायलाई पनि फाइदा पुग्ने थियो’, उनले भने ‘अर्धनिषेधित क्षेत्रका कारण युवायुवतीहरू व्यवसाय छाडेर विदेश पलायन हुने क्रम बढेको छ ।’

दश दिन घुम्न पाँच सय डलर शुल्क

चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सुरक्षा संवेदनशीलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको हो । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) गर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न नेपालीबाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ ।

लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङभन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।

वार्षिक तीन हजार पर्यटक

सन् २०२३ मा ७० देशका तीन हजार ४ सय ८४ जना विदेशी नागरिकले भ्रमण गरेको उपल्लो मुस्ताङमा सन् २०२४ मा पनि सोही सङ्ख्याकै अनुपातमा पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताए ।

सन् २०२२ मा तीन हजार एक सय १२, २०२१ मा ३३२, २०२० मा ६२ र सन् २०१९ मा ३ हजार ९१८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी ४ हजार ११५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

तथ्याङ्कअनुसार मुस्ताङ भित्रने कुल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जाँदैनन् । आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ ।

सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए ।

निषेधित क्षेत्र हटाउन माग

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए । ‘उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र कायम राख्दा पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ’, उनले भने, ‘शुल्कसमेत अत्यधिक बढी भएकाले उक्त निषेधित क्षेत्रलाई हटाउन माग गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत सबैजसो गृहमन्त्रीलाई भेटेर अर्धनिषेधित क्षेत्र हटाउन माग गरिएको अध्यक्ष गुरुङले बताए ।

उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउने यहाँको पछिल्लो समयको राजनीतिक मुद्दा बनेको छ । चीनको सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाएर अर्धनिषेधित क्षेत्र हटाउनुपर्ने मुस्ताङका सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।

अर्धनिषेधित क्षेत्र हटाउन नसकेको अवस्थामा प्रवेश शुल्क घटाउनुपर्ने, छिमेकी चीन, भारत र सार्क राष्ट्रका पर्यटकलाई सहुलियत दिनुपर्ने विकल्प पनि उनीहरूले अघि सारेका छन् । अर्धनिषेधित क्षेत्रका बासिन्दाले आफूहरूमाथि एउटै देशमा दुईथरि कानुन लागू भएको गुनासो गर्छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ र वडा नं ५ साङ्ताका बासिन्दा अर्धनिषेधित क्षेत्र भए पनि सोअनुसार राज्यले उपलब्ध गराउने सेवासुविधाबाट वञ्चित हुनुपर्दा दोहोरो मर्कामा परेका छुसाङका वडाध्यक्ष विनोद गुरुङले बताए ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन (थकाली)ले सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढाउँदै निषेधित क्षेत्र हटाउन आवश्यक ऐन, कानुन संशोधनको प्रक्रियामा रहेको बताए । ‘जिल्ला तहबाट आएको सिफारिसअनुसार गृह मन्त्रालयले अध्यागमन विभागमार्फत राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायसँग राय–सुझाव मागेको छ’, उनले भने, ‘गृहमन्त्री रमेश लेखकसँग बिहीबार भएको भेटमा पनि अर्धनिषेधित क्षेत्र हटाउने विषयमा ध्यानाकर्षण गराएको छु ।’

मन्त्रालयले पहिलो चरणमा वारागुङ मुक्तिक्षेत्रको छुसाङ र साङ्ताको अर्धनिषेधित क्षेत्रलाई आंशिक खुलाउने तयारी गरेको जानकारी दिँदै गौचनले अर्को चरणमा लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको निषेधित क्षेत्र हटाउने अथवा आंशिक हटाउने भन्ने निर्णय हुने प्रतिक्रिया पाएको बताए ।

चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

जानकी (बाँके), ४ असोज : चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिबल प्रतिस्पर्धामा देशभरबाट फोटो पठाउन सकिन्छ ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार नौ विधामा फोटो प्रतिस्पर्धा हुनेछ । उहाँका अनुसार हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटोमध्ये सर्वोत्कृष्टलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ । वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लब पिजे क्लबका पूर्वअध्यक्ष विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनोट गर्नेछन् ।

फोटो प्रतिस्पर्धामा रहेका विधा समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुसी र उत्साह झल्किने फोटो नेपाल स्माइल रहेका छन् । हरेक विधामा एकजना व्यक्तिले दुईवटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेबसाइट अन्तराल डटकम डटएनपी लगइन गरेर फोटो पठाउन सकिनेछ ।

“उक्त फोटो फेस्टिबलमा सिङ्गो नेपाल झल्किने छ । फेस्टिबलका रूपमा नेपालगञ्ज फोटो फेस्टिबललाई सञ्चालन गरिने छ”, अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, “यो फोटोग्राफीसम्बद्ध धेरै व्यक्तिका जमघटको साझा फोरम पनि बन्नेछ ।” फेस्टिबल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रदर्शनीमा देशभरबाट छानिएका एक सय ५१ फोटो राखिनेछ । जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाडौँबाट वरिष्ठ फोटो पत्रकारको उपस्थिति रहनेछ ।

यसैगरी फोटोग्राफी अन्तक्र्रियासमेत आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिबलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम गर्ने आयोजकको विश्वास छ ।

यसैगरी प्रदर्शनीमा राखिएका फोटोलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिबलपछि फोटो राजधानी काठमाडौँ र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा रु २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्दै आएकामा पुरस्कार राशि यस वर्षदेखि दोब्बर गरी रु ५१ हजार एक सय ११ पु¥याइने अध्यक्ष शाहले बताउनुभयो ।

दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटोमात्र सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रियस्तरको स्पर्धा भएकाले यस वर्षदेखि पुरस्कार राशि वृद्घि गरिएको र हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु पाँच हजारसहित प्रमाणपत्र दिने गरिएकामा यस वर्ष वृद्धि गरिने भएको उहाँले बताउनुभयो ।

यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटोमध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिनेछ । यस अवार्ड विजेताले रु ५० हजार एक नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ । टप २५ वटा फोटोमध्ये अनलाइन भोटिङका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् । फोटो छनोटपछि १५ दिनको समय दिएर अनलाइन भोटिङ खुला गरिने आयोजक अन्तरालले जनाएको छ ।

नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा

सिरहा, ४ असोज : लहान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्कामा ढिलाइ गर्दा यहाँको खुट्टीखोलामा ढुङ्गा, गिट्टी, बालुवा चालेर दैनिक गुजारा चलाउने मजदुर समस्यामा परेका छन् । सधैँको वर्षजस्तै नगरपालिकाले आसोज १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन सुरु नगरेकाले आफूहरूले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्थ गर्न मुस्किल परेको उनीहरूको गुनासो छ ।

वर्षायामका असार, साउन र भदौ तीन महिना नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा र माटो) उत्खनन तथा सङ्कलनको काम ठप्प हुन्छ भने असोजदेखि पुनः सुरु हुने गर्छ । स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गराई तोकिएको निश्चित सीमाभित्र उत्खनन गर्नेगरी खोला ठेक्कामा लगाउने गर्छन् ।

लहान नगरपालिकाले गत भदौ २८ गते नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन अर्को निर्णय नभएसम्मका लागि सञ्चालन नगर्ने निणय गरेसँगै ढुङ्गा, गिट्टी, बालुवाको काम गर्दै आएका यहाँका हजारौँ मजदुर यतिबेला चिन्तामा छन् ।

“दैनिक बालुवा चालेर गुजारा चल्छ । काम नपाएपछि मुखमा माड कसरी लाउनु ?”, तीन दशकदेखि खुट्टीखोलामा बालुवा चालेर गुजारा चलाउँदै आएका लहान–९ का ५५ वर्षीय किसुनदेव पासवानले भन्नुभयो, “तीन महिना त जसोतसो बाँचियो, यही बालुवा चाल्न पनि समयमा नपाउँदा बिहान–बेलुका के खाने ? सधैँ बेरोजगार भएपछि परिवार कसरी पाल्ने ? दशैँ आउँदैछ, त्यसको खर्च जोहो कसरी गर्ने भन्ने चिन्ता छ हजुर !” खुट्टीखोला किनारामा बिहान उज्यालो भएदेखि साँझसम्म बालुवा चाल्ने धेरै मजदुरको पीडा पासवानको जस्तै छ ।

यसरी अनिश्चितकालसम्म ढुङ्गा, गिट्टी, बालुवाका काम रोकिँदा त्यसमा आश्रित मजदुरको बिल्लीबाठ भएको भन्दै जनप्रतिनिधिले उनीहरूको समस्या बुझिदिनुपर्ने बताउनुहुन्छ लहान–९ का पूर्ववडाध्यक्ष तथा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्दीय सदस्य प्रदीप चौधरी । उहाँले भन्नुभयो, “तीन महिनापछि पनि ढुङ्गा, गिट्टी, बालुवाको काम सञ्चालन नहुँदा कति युवा विदेश पलायन हुन बाध्य छन् । नगरपालिकाले समयमा कानुनअनुसार खोला ठेक्कामा नलगाउँदा यहाँका हजारौँ मजदुरमात्र समस्यामा परेका छैनन्, बजारमा ढुङ्गा, गिट्टी, बालुवाको कालोबजारी बढेको छ । यसले गर्दा उपभोक्ता पनि उत्तिकै मारमा छन् ।” नगरपालिकाले चाँडै नदीजन्य पदार्थ उत्खनन र सङ्कलन सुरु नगरे मजदुर आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत उहाँले दिनुभयो ।

बजारमा निर्माण सामग्री कच्चा पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अभावमा निर्माणको कामकाज प्रभावित हुन थालेको नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल)का केन्द्रीय सदस्य रामदेव साह रौनियारको भनाइ छ । नगरपालिकाले नीतिगत निर्णय नगर्दा ढुङ्गा, गिट्टी, बालुवाको अवैध कारोबार हुने गरेकाले राज्यलाई नै नोक्सानी पुगेको उहाँले बताउनुभयो ।

यता लहान नगरप्रमुख महेशप्रसाद चौधरीले नदीजन्य पदार्थ उत्खनन र सङ्कलनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नु अनिवार्य भएको भन्दै त्यसका लागि प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको आम्दानीसँग जोडिएकाले हामी पनि यो काम छिटो होस् भन्ने चाहन्छौँ । तर कानुनअनुसार प्रक्रिया पूरा नगर्दा त हामी फस्छौँ नि । त्यसैले केही दिन ढिला हुने देखिएको हो । प्रक्रिया पूरा हुनेबित्तिकै खोला ठेक्कामा लाग्छ ।”

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने

सिमकोट (हुम्ला), ४ असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताउनुभयो ।

कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छभने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताउनुभयो ।

अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५, स्टिम जिरामसिनो रु दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको रु एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा दुई हजार तीन सय ७५ मा विक्री वितरण हुँदै आएको थियो ।

पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु एक सय २५ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार दुई सय ३० र तोरी तेलको प्रतिपेटी रु दुई हजार ३० मा विक्री हुन लागेको हो । सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो ।

अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा गीता शाही सर्वसम्मत निर्वाचित

कास्की, ४ असोजः अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा आज राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित हुनुभयो । सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित हुनुभयो । यसैगरी सहसचिवमा हेमकुमारी सुनार ‘ज्योति’ (नवलपुर) निर्वाचित यचन भएकामा बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ ।

यसअघि सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकारहरू रक्षा गर्नका लागि सम्पूर्ण महिला सचेत र सजग रहनुपर्ने बताउनुभएको थियो ।

उहाँले लामो सङ्घर्षपछि प्राप्त अधिकार र उपलब्धिमाथि षड्यन्त्र हुनसक्ने भएकाले परिस्थितिसँग जुध्न तयार रहन अपिल गर्नुभयो । “अहिलेको संविधान माओवादी जनयुद्धले लेखिएको हो, यसमा धेरै अधिकार स्थापित छन् । संविधान संशोधनको बहानामा पुरानै संविधानतिर फर्काउने षड्यन्त्रसमेत हुनसक्दछ । त्यसैले संविधानको रक्षाका लागि सबै एकजुट हुनु आवश्यक छ”, उपाध्यक्ष भुसालले भन्नुभयो ।

पार्टीलाई आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन एक्लै चुनाव लड्न सक्ने बलियो शक्ति बनाउनेगरी पार्टी निर्माण गरिने उहाँले बताउनुभयो । पार्टी स्थायी समिति बैठकपछि सबै प्रदेशमा पार्टीका बैठक सम्पन्न भएको र आगामी केन्द्रीय समिति बैठकका लागि महत्त्वपूर्ण सुझाव नेता, कार्यकर्ताबाट प्राप्त भएको उपाध्यक्ष भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो संविधानसभा निर्वाचनमा हामीले एकल बहुमत नजिक पुगेका थियौँ । त्यसपछि हाम्रो जनमत कम हुँदै गएको छ । हामी सत्तामा बढी केन्द्रित भयौँ, अब जनतामा जाने र बलियो पार्टी बनाउने गरी कार्यक्रम बनाउँदैछौँ ।” उपाध्यक्ष भुसालले राजनीतिक मान्यतामा पहिलो र दोस्रो ठूलो दलको सरकार बन्न नसक्ने भए पनि अघिल्लो सरकारले सुरु गरेका सुशासनलाई रोक्नका लागि हतार–हतार नयाँ सरकार बनेको टिप्पणी गर्नुभयो ।

माओवादी केन्द्रका सचिव दीननाथ शर्माले जनयुद्धमा नेपाली महिलाले गरेको ठूलो त्याग र बलिदानका कारण संविधानमा धेरै हक अधिकार स्थापित भएको बताउनुभयो । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरले जनयुद्धमा जस्तै अबको समाजवादी क्रान्तिमा समेत महिला शक्ति अग्रणी मोर्चामा उभिनुको विकल्प नभएको बताउनुभयो ।

सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो ।
–––

आजको विदेशी मुद्रा विनिमय : अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौँ, ४ असोज : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ । बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको थियो ।

युरोपियन यूरोको आजको मूल्य एकको खरिदर एक सय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा कामय भएको छभने बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण भएको थियो । बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा कामय भएकामा आज एकको खरिदर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३९ र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ ०८ पैसा छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै

काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

उहाँले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यतालिका छ ।

उहाँले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनुहुनेछ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौँ, ३ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर स्वास्थ्य बीमा सुधार अभियानमा लागिपरेको बताउनुभएको छ ।

 गणेशमान स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ (क) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सुलभ मूल्यमा स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा सुधार अभियान चलाएको बताउनुभयो ।

 “स्वास्थ्यमा राज्यले धेरै ठाउँमा रकम छर्नुभन्दा एकै ठाउँमा सेवा प्रदान गर्न सकिए खर्च समेत जोगिन सक्छ”, उहाँले भन्नुभयो । स्वास्थ्य बीमालाई सुधार गरेर अगाडि बढ्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । गणेशमान सिंहले नागरिक स्वतन्त्रताका लागि गरेको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँको योगदानबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।  

ओपरा विन्फ्रेसँग लाइस्ट्रिम गर्ने ह्यारिसको योजना, इजरायली–अमेरिकी समूहलाई सम्बोधन गर्ने ट्रम्पको तयारी

अमेरिकामा राष्ट्रपतिका दुवै उम्मेदवार बिहीबार आफ्ना प्रमुख समर्थकहरूलाई उत्साहित गर्न उपस्थित हुनुहुनेछ । उपराष्ट्रपति कमला ह्यारिस ओपरा विन्फ्रेसँग लाइभस्ट्रिममा भाग लिने तयारीमा हुनुहुन्छ भने डोनाल्ड ट्रम्प इजरायली–अमेरिकी परिषद्लाई सम्बोधन गर्नुअघि यहुदी दाताहरूसँगको कार्यक्रममा सहभागी हुनुहुनेछ ।

विन्फ्रेले ह्यारिसको समर्थन गर्नुभएको छ र अगस्टमा डेमोक्रेटिक सम्मेलनमा ह्यारिससँग मिचिगनमा दुई घण्टाको ‘युनाइट फर अमेरिका’ रात्रिकालीन स्ट्रिमिङ सत्रको आयोजना गर्न लागेको बताउनुभएको थियो । उक्त सत्रले उपराष्ट्रपतिलाई समर्थन गर्ने तल्लो तहका दर्जनौँ समूहलाई उजागर गर्ने लक्ष्य राखेको आयोजकहरूले बताएका छन् ।

ट्रम्प वासिङ्टनमा ‘अमेरिकामा यहुदी विरोधी लडाइँ’ (फाइटिङ एन्टी–सेमिटिजम इन अमेरिका) साँझको कार्यक्रमलाई सम्बोधन गर्न मिरियम एडेल्सनसँग हुनुहुनेछ । एडेल्सन एनबिएको डलास मावेरिक्सको सह–मालिक तथा क्यासिनो व्यवसायी शेल्डन एडेल्सनकी विधवा हुनुहुन्छ । शेल्डन एडेल्सनले लास भेगास स्यान्ड्स क्यासिनो स्थापना गर्नुभएको थियो र उहाँ रिपब्लिकन पार्टीको सबैभन्दा ठूलो दाता हुनुहुन्थ्यो ।

ट्रम्पले इजरायली–अमेरिकी परिषद्को कार्यक्रममा पनि बोल्नुहुनेछ । परिषद् लामो समयदेखि शेल्डन एडेल्सनका साथै राष्ट्रपति जो बाइडेन र डेमोक्रेटिक कारणका लागि प्रमुख दाता ह्याम सबानले समर्थन गरेको गैरलाभकारी संस्था हो ।

परिषद्ले गाजा युद्ध सुरु गराएको हमासको अक्टोबर ७ को आक्रमणको पहिलो वार्षिकोत्सवको केही साताअघि आफ्नो राष्ट्रिय सम्मेलन गर्दैछ ।

ह्यारिसले शुक्रबार स्विङ स्टेट विसकन्सिन र जर्जियामा अभियान सञ्चालन गर्ने योजना बनाउनुभएको छ । उहाँले गर्भपतनको चक्कीको जटिलताका कारण २० घण्टा अस्पतालको पर्खाइमा रहेकी एक युवतीको केसलाई ध्यानाकर्षण गराउनुहुनेछ । यस घटनालाई ट्रम्पका क्रियाकलापहरूको परिणामको रूपमा देखाएको ह्यारिसको तर्क छ ।

राष्ट्रव्यापी गर्भपतन अधिकारलाई उल्ट्याउने सर्वोच्च अदालतको निर्णयपछि सन् २०२२ मा जर्जियाको कडा गर्भपतन प्रतिबन्ध लागू भएको दुई हप्तापछि एम्बर थरम्यानको मृत्यु भएको थियो । ट्रम्पले उक्त निर्णयमा संलग्न तीन न्यायाधीशहरूलाई मनोनयन गर्नुभएको थियो ।

ट्रम्पले शनिबार कडा प्रतिस्पर्धा हुने उत्तर क्यारोलिनामा र्याली आयोजना गर्नुहुनेछ । 

फेडरल रिजर्भले आफ्नो मानक ब्याजदरलाई असामान्य रूपमा आधा अङ्कले कटौती गरेपछि बिहीबारको अभियानका गतिविधिहरू रोकिएका छन् । दुई वर्षभन्दा बढीको उच्च दरपछि यो नाटकीय परिवर्तन हो । ब्याजदरमा भएको कटौतीले मुद्रास्फीतिलाई नियन्त्रण गर्न सहयोग गर्यो तर अमेरिकी उपभोक्ताका लागि उधारोलाई महँगो बनायो ।

राष्ट्रपति निर्वाचनका लागि सात हप्ताभन्दा कम समय बचेको छ र यसले अमेरिकीहरूको मतदानको तयारीमा आर्थिक परिदृश्यलाई परिवर्तन गर्ने सम्भावना राख्छ । बुधबार न्युयोर्कमा प्रचार गर्दै ट्रम्पले भन्नुभयो, “अर्थतन्त्र धेरै खराब छ भन्ने यसले देखाउँछ, यसमा यति कटौती गर्नु भनेको उनीहरूले राजनीतिमात्र खेलिरहेका छैनन ।”

निर्वाचनको दिन नजिकिँदै गर्दा ब्याजदर घटाउने सम्भावित राजनीतिक प्रभावका बारेमा सोधिएको प्रश्नमा ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन–पियरेले बाइडेन प्रशासन ‘यस बारेमा धेरै स्पष्ट’ रहेको र ‘फेडरल रिजर्भको स्वतन्त्रताको सम्मान’ गरेको बताउनुभयो ।     “अन्य प्रशासनहरूको विपरीत हामी यसमा निकै स्थिर रहेका छौंँ र यसलाई स्पष्ट बनाउन निरन्तर प्रयास गर्दैछौँ”, उहाँले भन्नुभयो ।

दशैँ अघि नै काठमाडौँवासीलाई मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौँमा ल्याउने तयारीमा छौँ ।’ सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ ।

वर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी बितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ । 

काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ ।

काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ । मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७ सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ ।

दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौँ, ३ असोजः संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । आज साँझ ४ बजेदेखि सुुरु कन्सर्ट करिब चार घण्टा चलेको थियो ।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उहाँकी पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सहभागी हुनुभयो । 

त्यसअवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर कन्सर्टमा सहभागीसँग संविधान दिवसको खुसी साट्नुभएको थियो । उहाँले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो । 

कन्सर्टको सुरक्षार्थ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । 

एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा भएको कन्सर्ट सञ्चालनका लागि सरकारले समन्वय र सहजीकरण गरेको थियो । 

कन्सर्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अर्केस्ट्रा प्रस्तुत गरेका थिए भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका थिए । 

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतले प्रस्तुति दिनुभएको थियो ।

दुई महिनामा काँकरभिट्टाबाट नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

भद्रपुर (झापा), ३, असोजः चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बङ्गलादेशबाट आयात भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा रु सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ 
गोदाम व्यावस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडि

संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत

त्रिशूली (नुवाकोट), ३ असोजः नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले आज तादी गाउँपालिका–३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले दुई कार्यकालको संविधानसभाले सबै पक्षलाई न्याय हुनेगरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गर्नुभयो ।

“संविधानमा राज्य सञ्चालनका हरेक तहमा महिलासहित लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ । यो जनताले बनाएको संविधान भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको दायित्व  हो”, उहाँले भन्नुभयो । 

 नेता महतले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनका विषयमा छलफल जारी राखेकाले सहमतिबाट निर्णयमा पुगिने धारणा राख्नुभयो  संविधान संशोधनमा जनताको सुझाव, संसद्मा सहमति र सबै राजनीतिक दलगतको छलफलबाट निष्कर्षमा पुगिने उहाँको भनाइ थियो । 

भन्सार छली अवैध रुपमा ल्याएको लत्ताकपडासहित दुई भारतीय पक्राउ

बागमती, ३ असोजः आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडाँै जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको रु एक करोड ३५ लाख मूल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउपर्नेमा ट्रक चालक भारत विहार राज्य मोतिहारी जिल्ला तुकालिया पूर्वी चम्पारण सपही निवासी ३० वर्षीय जन्दार आलम र सहचालक सोही ठाउँका १९ वर्षीय मुना मियाँ रहेको प्रहरीले जनाएको छ । 

जाँचका क्रममा ट्रकमा तीन सय ४५ बोरा आलुको भन्सार बिल काटेर दुई ६४ बोरा मात्र आलु राखी त्यसको भित्री भागमा ७४ वटा बोरामा करिब रु एक करोड ३५ लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा लोड गरेको अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

बरामद भएको समान, ट्रक तथा चालक र सहचालकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । 

एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा

काठमाडौँ, ३ असोजः एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला नेपालमा हुने भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाको सम्मेलन(एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकाय सहभागी हुनेछन् । ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो ।

शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्सिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ । 

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायको आ–आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिनुभयो । यसपटक सम्मेलनमा नवप्रवर्तनका विषयलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “आफ्नो नयाँ सोचलाई धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ”, उहाँले भन्नुभयो । 

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ । सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।

दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी

काठमाडौँ, ३ असोजः संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु सहभागी हुनुभएको छ ।

कन्सर्टमा उहाँले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरुसँग संविधान दिवसको खुसी साट्नुभयो । प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो । नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रुपमा मनाउन सबैमा आग्रह गर्नुभयो ।

उहाँ उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ...’ बोलको गीत प्रस्तुत भएको थियो । सहभागीहरुले नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । कलाकारहरुले गीत प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री ओली कार्यक्रममा पुग्नुभएको थियो । 

त्यसअघि कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।  कन्सर्ट चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ । 

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको क्रमशः प्रस्तुति भइरहेको छ । 

नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने

काठमाडौँ, ३ असोजः पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित घोषणासभामा जानकारी दिइयो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । 

“पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ”, अध्यक्ष बाडेले भन्नुभयो । 
महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उहाँले बताउनुभयो । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवद्र्धक रहने प्रतिबद्धता व्यक्त जनाउनुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दैै खुसी व्यक्त गरे । “हवाई खेलकुदका गतिविधि अधिकांश पोखराबाटै सुरु भएका छन् । हामी जुनसुकै क्षेत्रमा आबद्ध भई काम गरे पनि ती सबै राष्ट्रिय हितमै छन् । तसर्थ पोखरामा आयोजना हुन लागेको महोत्सवले पनि नेपालको समग्र पर्यटन प्रवद्र्धन नै टेवा पु¥याउनेछ ।”

कम्पनीका निर्देशक बिबि ढकालले महोत्सवमार्फत पोखराको पर्यटनमा नयाँ आयाम थपिने बताउनुभयो । “प्राकृतिक स्रोत र साधनले धनी पोखरा पछिल्लो समय साहसिक पर्यटनका लागि पनि गन्तव्य बन्दै गइरहेको छ । यस सन्दर्भमा बलुन महोत्सव पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने योजनामा थप सहयोगी हुनेमा हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो । 

महोत्सवबाट मुलुकको पर्यटन प्रवद्र्धन मात्रै नभई यसबाट नेपालको साहसिक पर्यटनका क्षेत्रको विकासमा थप टेवा पुग्ने र पोखरामा आउने आन्तरिक तथा विदेशी पर्यटकले नयाँ अनुभव गर्न पाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सविन महर्जनले महोत्सवको मुख्य उद्देश्य पर्यटन पुनरुत्थान भएको बताउनुभयो । महोत्सवमार्फत उक्त क्षेत्रको आर्थिक विकास, सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तारसमेत हुने उहाँको भनाइ छ । 

“महोत्सवमार्फत कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने लक्ष्य लिइएको छ र यसले पोखरामा रहेका होटल, रेस्टुरेन्टलगायतको व्यापार व्यवसायलाई आर्थिक रूपमा मद्दत पु¥याउने हाम्रो विश्वास छ । यसका साथै, महोत्सवले नेपालका संस्कृति र परम्परालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नेछ”, उहाँले भन्नुभयो । 

विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता सुरु भएको थियो । प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन् । उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन् । त्यसबाहेक सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिभलल पनि विश्वभर प्रख्यात छ । 

त्यसबाहेक जापानमा सागा इन्टरनेशनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बलुन फेस्टिभल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन् ।

आयोजकका अनुसार महोत्सवभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । 

महोत्सवका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ । महोत्सवमा एकै पटक धेरै बलुन उडान हुनेहुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक महोत्सवमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ । महोत्सव आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । 

हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ«े र धौलागिरिलगायतका हिमशृङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ ।

विसं २०७३ मा स्थापना भएको बलुन नेपाल प्रालिले विसं २०७५ देखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पन ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।

घोषणसभामा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीले समग्र पोखरेली पर्यटन व्यवसायी महोत्सवलाई सफल बनाउन तयार रहेको बताउनुभयो । त्यसअवसरमा प्यासिफिक एसिया ट्राभल एशोसिएसनका उपाध्यक्ष सुमन पाण्डे, राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र सापकोटा, गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले कार्यक्रमले पोखराको मात्र नभई समग्र नेपालकै साहसिक पर्यटनको प्रवद्र्धन अन्तर्राष्ट्रिय क्षेत्रमा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल

काठमाडौँ, ३ असोज : नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले पार्टीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महाधिवेशनका सम्बन्धमा छलफल भएको प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विद्यार्थी सङ्गठनको महाधिवेशन असोजको पहिलो साता तय भएको भए पनि आवश्यक तयारी पूरा नभएको भन्दै केही दिन सारिएको हो । सोही सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भएको उहाँको भनाइ छ । पार्टी अध्यक्ष, महासचिव, विद्यार्थी मोर्चा हेर्ने प्रमुख र विद्यार्थी सङ्गठनका अध्यक्ष बसेर महाधिवेशनको नयाँ मिति तय गरिने उहाँले बताउनुभयो ।

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको काम कारबाही एवं देशभर भएका बैठक तथा छलफलका बारेमा विचार विमर्श भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । मुलुकभरि अनेकन प्रकारका अराजकता देखापरेकामा माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ । उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध गर्नुपर्छ । जनवर्गीय सङ्गठनलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।”

राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गर्न अपील गरेका छन् ।

संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भने, ‘हामी सङ्कल्प गरौँ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।’

राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प चाहिने उल्लेख गर्दै भने, ‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भई अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण सङ्कल्प गरौँ, पहिलो सङ्कल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौँ । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौँ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ । अर्को सङ्कल्प गरौँ कि हामी सुशासन प्रति प्रतिबद्ध रहने छौँ तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ ।’

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो सङ्कल्प गर्न आग्रह गरे ।

उनले भने, ‘भातृत्व, एकता र समभाव हाम्रो जीवन पद्धति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।’ जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौँ भन्ने अर्को सङ्कल्प गर्न उनले आग्रह गरे । ‘पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ’, राष्ट्रपति पौडेलले भने ।

यी सङ्कल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए ।

‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस’, राष्ट्रपति पौडेलले भने ।

उनले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले वेथिति र अनियमितताको अन्त्यमा जोड दिए । ‘वेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ । यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न सङ्कल्प गर्नुपर्छ’, उनले भने ।

उत्साह र उमङ्गका साथ आज संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बाल्न राष्ट्रपति पौडेलले आग्रह गरे । ‘यो निराश बस्ने समय होइन, यो हामीबीच आरोप प्रत्यारोप गर्ने समय होइन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, यो एकताबद्ध हुने समय हो, यो आफैँप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निरासाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्’, राष्ट्रपति पौडेलले भने ।

आफ्नो संविधान आफैँ लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमैमात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकामा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

काठमाडौँ, ३ असोजः सर्वसाधारणका लागि खुला गरिएपछि आज पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताउनुभयो । 

“अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै एक हजार दुई सय जानाले धरहरा चढेकोे आधिकारिक रेकर्ड छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार कतिपय मानिसहरु विना टिकटक नै धरहरा चढेका थिए । उहाँले भन्नुभयो, “आज अत्यधिक भिड भयो । भोलिदेखि व्यवस्थितरुपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौँ ।”

सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । 

विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो । विसं २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको समुद्घाटन भएको थियो । 

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ । 

विसं १८८२मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । 

विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो । 

त्यसैगरी विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । यसैगरी विसं २०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान सुरु गर्नुभएको थियो । 

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिँगापुर र मलेशियामा

काठमाडौं, ३ असोज- क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् ।

गत वर्षबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्ड बिदेशमा आयोजना गर्न सुरु गरिएको हो । यो अवार्ड गतवर्ष मलेशियामा आयोजना गरिएको थियो । यसपटक यो अवार्ड थाईल्यान्ड, सिंगापुर र मलेशियामा आयोजना गरिने पनि अध्यक्ष उमेश गुरुङले जनाएका छन् । जसमा थाईल्यान्डमा अवार्ड समारोह र मलेशियामा साँगीतिक कार्यक्रम गरिने भएको छ । अवार्डमा सहभागी हुने कलाकारहरुले काठमाडौंबाट थाईल्यान्ड पुगेर अवार्ड ग्रहण गर्नेछन् । त्यसपछि थाईल्याण्डको घुमघामपछि सिँगापुरमा एक दिन बसेर मलेशिया जाने छन् । मलेशियामा साँगीतिक कार्यक्रमको प्रस्तुतिपछि घुमघाम गरेर नेपाल फर्कने आयोजक गुरुङले जानकारी गराएका छन् ।

सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो । बिगत झै यसपटक पनि यो अवार्डलाई प्रतिस्पर्धामुलक रुपमा आयोजना गरिने भएको छ । अवार्डमा प्राप्त भएका सृजनालाई मनोनयन सार्वजनिक गरेर सो मनोनयनबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन् ।

काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ । अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि अध्यक्ष गुरुङले जानकारी गराए । जसमा २०८० साउनबाट २०८१ भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन् ।

विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौँ, ३ असोजः विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले यही असोज ११ गते (सेप्टेम्बर २७ तारिखका दिन) महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौँ पोष्टको सहकार्यमा आयोजना हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताउनुभयो । उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरुलाई एकसाथ ल्याउन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

विगतमा कर्मचारी सञ्चय कोष अगाडि मात्रै आयोजना गरिने कार्यक्रमलाई यो वर्ष व्यापक बनाई ठमलेका विभिन्न सात क्षेत्रमा केन्द्रित रहनेछ । जसअनुसार कर्मचारी सञ्चयकोष परिसरमा सांस्कृतिक उत्सव, नरसिंह चोकमा कान्तिपुरकला, पर्यटन मार्गमा चङ्गाहरुले भरिएको आकाश, सात घुम्तीमा स्वादिष्ट यात्राका साथै मय थाई खेलाडीले मार्सल आर्ट प्रस्तुत गर्नेछन् । त्यस अवसरमा साङ्गीतिक दबूः, टयाटु उत्सवलगायत कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।

ठमेललाई पर्यटनको जीवन्त केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले विगतभन्दा पृथक ढङ्गले पर्यटन दिवसलाई महोत्सवका रुपमा मनाउन लागिएको परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताउनुभयो । उहाँले महोत्सवले ठमेलको प्रमुख पर्यटकीय गन्तव्यको हैसियत बढाउने र साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गर्नुभयो ।

रेष्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले महोत्सवका माध्यमबाट ठमेलको जीवन्त संस्कृति, पाककलाको प्रस्तुतिले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सव बिहान १० बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवका लागि करिब रु १८ लाख खर्च लाग्ने तथा १० हजार बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पर्यटकीय याम सुरु भएका सन्दर्भमा महोत्सवलगायत गतिविधिले मुलुकको पर्यटन बढोत्तरीमा टेवा पुग्ने जनाइएको छ ।

खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री लामा

बागमती, ३ असोजः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज हेटौँडामा आयोजित विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितमा हुनेगरी काम अघि बढाइएको बताउनुभयो । 

युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरेर प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका कार्यक्रमलाई अघि बढाएको उल्लेख गर्दै उहाँले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । 

“खेलकुद राष्ट्रको गहना मात्र होइन यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ”, मुख्यमन्त्री लामाले भन्नुभयो, “यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ ।” 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद र खेलाडीले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुहुँदै प्रदेश सरकारले कार्यविधि तयार गरेर खेलाडीलाई सम्मान र पुरस्कार दिने व्यवस्था गर्ने योजना रहेको बताउनुभयो । 

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पलेशालाई सम्मान

बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक जित्नुभएका पलेशा गोवर्धनलाई आज नगद सहित सम्मान गरेको छ । 

संविधान दिवस २०८१ को अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले संयुक्त रुपमा गोवर्धनलाई नगद रु १० लाख सहित सम्मान गर्नुभयो । 

सो कार्यक्रममा १९औँ एसियाली खेलकुद प्रतियोगितामा करातेमा नेपाललाई रजत पदक दिलाउनुभएका एरिका गुरुङलाई नगद रु पाँच लाख, पेरिस पारा ओलम्पिकमा कास्य पदक बिजेता पेलाशाका प्रशिक्षक कविराज नेगीलाई नगद रु दुई लाख तथा एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठलाई नगद रु एक लाखसहित सम्मान गरेको छ । 

त्यस्तै मुख्यमन्त्री लामाले नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश समिति र नेपाल कराते महासङ्ंघ बागमती प्रदेश समितिलाई नगद रु एक/एक लाख प्रदान गरेको छ ।    

समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा

पाटन (ललितपुर), ३ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताउनुभएको छ ।नेपाली कांग्रेसको पेसागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन ः आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रुप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रुपान्तरणको विषय महत्वपूर्ण भएको बताउनुभयो ।

“आवश्यकताअनुसार संविधान संशोधनको विषय दशकौँसम्म चलिरहन्छ, बदलिएको नागरिकको आवश्यकताअनुसार त्यस बेला रुपान्तरण गर्दै लैजानुपर्छ, सङ्घीयता, समानुपातिक समावेशीको जगमा अडिएर संविधान संशोधन गर्दै गर्दा यसलाई अझ बलियो बनाउने काम हुन्छ, कांग्रेस जिम्मेवार दलका रुपमा प्रतिबद्ध छ”, महामन्त्री शर्माले भन्नुभयो ।

हरेक दलका विमतीबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले संशोधनका विषयमा सबै दलबीच भएको सहमतिका बुँदा पहिचान गर्न सक्नुपर्ने बताउनुभयो । संशोधनले दीर्घजीवन प्राप्त गर्ने भन्दै महामन्त्री शर्माले कांग्रेस बदलिँदो परिस्थितिअनुसार संविधान संशोधन गर्न संयम भएर लाग्ने बताउनुभयो ।

“संविधान संशोधनमा एमाले र माओवादी केन्द्रलाई सँगसँगै लिएर जानुपर्छ, माओवादी केन्द्रसहितको सहकार्य जरुरी छ, उसले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्छ, माओवादी केन्द्रले आवेगमुक्त भएर संशोधनमा सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले अहिले प्रदेशका मुख्यमन्त्रीहरुले आसन पायौँ, शासन पाएनौँ भन्ने गरेका उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न झण्डै तीन दर्जन कानुन बनाउन बाँकी रहेको अवस्थामा संविधान संशोधनको मुद्दा अगाडि बढिरहेको बताउनुभयो । संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हो भने संशोधनको कुनै औचित्य नहुने उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला, संविधानविद्द्वय राधेश्याम अधिकारी र विपिन अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी

काठमाडौँ, ३ असोजः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनुभएको छ ।

विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायत चाड पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित प्राङ्गणमा सुरु भएको सुपथ मूल्य पसल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताउनुभयो । 

चाडपर्वका अवसरमा आजदेखि देशका ७४ स्थानमा सहुलियत पसल सुरु गरिएको मन्त्री भण्डारीले कार्यक्रममा जानकारी गराउनुभयो । सरकारले संविधान दिवसकै अवसर पारेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

मन्त्री भण्डारीले भन्नुभयो, “खाद्यवस्तुमा कृत्रिम अभाव, कार्टेलिङ सुन्नु नपरोस्, सात सय ५३ वटै स्थानीय तहमा कम्पनीको सशक्त उपस्थिति हुनुपर्छ, यसका लागि कार्यक्रम प्रस्ताव गर्नुस्, प्रस्तावअनुसार काम गर्न वित्तीय संस्थामा थुप्रिएको पैसा ऋण लिन सकिन्छ ।” नेपालीले तीन छाक खान पाउनेगरी खाद्य सम्प्रभुता सुनिश्चित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले सहुलियत पसलमा दैनिक जीवनमा आइपर्ने खाद्यान्न व्यवस्था गरिएको जानकारी दिनुभयो । उपभोक्ता अधिकारकर्मीद्वय ज्योति बानियाँ र माधव तिमल्सिनालगायतले बजारमा मूल्य, गुणस्तर र नापतौलमा समस्या देखिने गरेकाले कम्पनीले चलाएको सुपथ मूल्य पसलमा यस्तो समस्या नहुने भएकाले यसलाई सबै स्थानीय तहमा बिस्तार गरिनुपर्नेमा जोड दिनुभएको थियो । 

सुपथ मूल्य पसल बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म नै खोलिनुपर्नेमा पनि उपभोक्ता अधिकारकर्मीको जोड थियो । 

कार्यक्रममा विश्वखाद्य कार्यक्रमको सहयोगमा चामलमा पौष्टिक तत्व स्तरोन्नति गर्ने यन्त्र स्थापना गरिएको थियो । यन्त्रको पनि मन्त्री भण्डारीले आजैदेखि शुभारम्भ गर्नुभएको थियो । 

बर्दियाको राजापुर, धनुषाको जनकपुर र सुर्खेतमा स्थापना गरिएको कम्पनीले जनाएको छ । यस्तो यन्त्रलाई देशव्यापी गर्ने लक्ष्य राखिएको कम्पनीका गुणस्तर एकाइ प्रमुख विशेष कट्टेलले राससलाई जानकारी दिनुभयो ।