क्यानाडाले ‘फ्रान्सजस्ता भरपर्दो सहयोगी’ सँग सम्बन्ध बलियो बनाउनुपर्छ : प्रधानमन्त्री कार्नी


डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध बिग्रँदै गएपछि क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले सोमबार पेरिसमा आफ्नो देशले ‘फ्रान्स जस्ता भरपर्दो सहयोगीहरूसँग आफ्नो सम्बन्ध सुदृढ पार्नु आवश्यक छ’ भन्नुभएको छ ।
क्यानाडाको अर्थतन्त्र र यहाँसम्म कि सम्प्रभुता पनि दक्षिणी छिमेकी संयुक्त राज्य अमेरिकाबाट अभूतपूर्व खतरामा रहेको अवस्थामा यसका नयाँ नेताले परम्परागत मित्रहरू फ्रान्स र बेलायतसँग सम्बन्ध सुदृढ गर्न ट्रान्स–अटलान्टिक यात्रा सुरु गर्नुभएको छ ।
“क्यानाडाका लागि फ्रान्स जस्ता विश्वसनीय मित्रहरूसँग आफ्नो सम्बन्ध सुदृढ गर्न पहिले भन्दा अझ महत्त्वपूर्ण छ”, शुक्रबार प्रधानमन्त्री बनेपछि पहिलो विदेश यात्रामा एलिसी दरबारमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “म यो सुनिश्चित गर्न चाहन्छु कि फ्रान्स र सम्पूर्ण युरोप क्यानाडासँग उत्साहपूर्वक काम गर्छ, यो गैर–युरोपेली देशहरूमध्ये सबैभन्दा युरोपेली हो, तपाईं जस्तै संयुक्त राज्य अमेरिकासँग सकारात्मक सम्बन्ध कायम राख्न दृढ छ ।”
ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि क्यानाडाका सामानहरूमा बढ्दो आयात भन्सार महसुल लगाउनुभएको छ । यसले क्यानाडामा मन्दी निम्त्याउने खतरा उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडालाई विलय गर्ने धम्की पनि दिनुभएको छ ।कार्नीले म्याक्रोनलाई दुवै राष्ट्र ‘सम्प्रभुता’ का लागि उभिएको बताउनुभयो ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई समर्थन गर्ने देशहरूको शनिबार बिहानको भिडियो कन्फरेन्समा दुवै नेताले भाग लिएको दुई दिनपछि क्यानाडाका प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँको नेतृत्वमा युक्रेनलाई हाम्रो अटुट समर्थनले प्रदर्शन गरेको सम्प्रभुता र सुरक्षाका लागि हामी दुवै उभिएका छौँ ।”
म्याक्रोनले भन्नुभयो, “फ्रान्स र क्यानाडा दुवै ‘शान्तिपूर्ण शक्तिहरू’ हुन् जसले किएभलाई समर्थन गरिरहन्छन् र युक्रेनमा स्थायी शान्ति कार्यान्वयन गर्न र ‘सम्पूर्ण युरोपको सुरक्षा’ सुनिश्चित गर्न ‘रुससँग स्पष्ट प्रतिबद्धताहरू माग गर्न जारी राख्छन्’ ।”
पेरिसपछि कार्नी स्टार्मर तथा बेलायत र क्यानाडा दुवै राज्यका प्रमुख राजा चार्ल्स तृतीयसँग वार्ताका लागि लन्डनका लागि प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले एक पटक बैंक अफ इङ्गल्यान्डको गभर्नरका रूपमा काम गर्नुभएको थियो ।