`

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको हो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत हुने जनाइएको छ । यस्तै समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिने छ ।

समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा हुने उक्त कार्यक्रमका चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कन्सर्टमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी भएका छन् । कार्यक्रममा राष्ट्रिय भावनाले प्रेरित १६ वटा गीत प्रस्तुत गरिनेछ ।

‘नेसनल डे कन्सर्ट’ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

सो क्षेत्र भएर आवतजावत हुने सवारीसाधनलाई आज राति आठ बजेसम्मका लागि डाइभर्ट गरिएको छ भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ तोकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ, ३ असोजः संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले बहुमतका आधारमा प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको हो ।

समिति सदस्य महेश बर्तौलाले आवश्यक कागजात नपुगेका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको जानकारी दिनुभयो । “उहाँले आवश्यक कागजात बुझाएपछि मात्रै नाम अनुमोदन गर्नेछौ”, उहाँले भन्नुभयो । 

बर्तौलाका अनुसार समिति सदस्यद्वय डोलप्रसाद अर्याल र प्रकाश अधिकारीले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिना, भारतका लागि प्रस्तावित डा शङ्कर शर्माको नाम अनुमोदनमा असहमति जनाउनुभएको थियो ।

सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, रुसका लागि जङ्गबहादुर चौहान, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिनालाई राजदूतमा सिफारिस गरेको थियो ।  

यसैगरी सरकारले चीनका लागि कृष्णप्रसाद ओली, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शैल रुपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, भारतका लागि शङ्कर शर्मा, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई र  स्पेनका लागि सनिल नेपाललाई राजदूतमा प्रस्ताव गरेको थियो ।  

संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिएका छन् ।  पार्टीको संसदीय दलले बिहीबार आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा उनले संविधान संशोधनमार्फत प्रदेशसभाको संरचना व्यापक परिवर्तन र स्थानीय तहको सङ्ख्या घटाउन उपयुक्त हुने सुझाव दिए ।

‘बोझिलो र खर्चिलो मानिएको प्रादेशिक संरचनालाई व्यवस्थित गर्ने कोणबाट छेडिएको बहसलाई एउटा निष्कर्षमा पुर्‍याउनैपर्छ’, उनले भने, ‘कानुनी र आर्थिक पाटोबाट बलियो, स्वच्छ र सुदृढ सङ्घीय सरकार, समन्वय र प्रभावकारी प्रदेश तथा जनतालाई चुस्त सेवा प्रवाह गर्ने छरितो स्थानीय तह हुनुपर्छ ।’

उनले संविधान ऐन, नियम, कानुन कसरी बनाउने भन्ने राजकीय शक्तिको सङ्ग्रह र गतिशील दस्तावेज भएको उल्लेख गरे । उनले संविधान मन्थनबाट संविधान, ऐन, नियम, कानुन तथा राज्यका महत्वपूर्ण नीति र पद्धतिका विषयमा पार्टी पङ्क्ति दीक्षित हुने विश्वास व्यक्त गरे ।

रास्वपाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र मौद्रिक नीतिलगायत नागरिकसँग चासो जोडिएका विषयवस्तुमाथि विज्ञसँग मन्थन कार्य गर्दै आएको छ ।

संविधान मन्थन कार्यक्रम अन्तर्गत आज भएको ‘समावेशिताको सकस : संविधान र कार्यन्वयन’ शीर्षकको सत्रमा सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले नेपालको इतिहासमा लोकतन्त्रका लागि सङ्घर्ष गर्नेका लागि संविधान दिवस महत्वपूर्ण दिन भएको बताए ।

उनले भने, ‘मुलुकले यसअघि छवटा संविधान पायो । तथापि जनताले आफ्ना प्रतिनिधिमार्फत लामो बहस र छलफलपछि वर्तमान सातौँ संविधान पाएका हुन् ।’

संविधानले समावेशी, गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयतालाई आत्मसात् गरेको बताउँदै उनले यसलाई समृद्ध तुल्याएर कसरी अघि लैजान सकिन्छ भन्नेमा राजनीतिक नेतृत्वको बहस केन्द्रित हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले परीक्षा दिएर पास हुन नपर्ने राजनीतिक दलमै पनि नेतृत्व तहमा महिलाको उपस्थिति कमजोर भएको टिप्पणी गरिन् । उनले भनिन्, ‘सबै समुदायमा महिला पछि परेका छन्, हाम्रो सामाजिक परिवेशले पनि त्यसमा मलजल गरेको छ । नेतृत्व तहमा महिला नपुगेसम्म परिणाम दिन चुनौती छ ।’

अधिकारकर्मी कुञ्जनी परियारले प्रस्तावनादेखि नै समानुपातिक र समावेशीको पाटो झल्केको वर्तमान संविधान नेपालको राजनीति तथा संवैधानिक इतिहासमा महत्वपूर्ण दस्तावेज भएको बताइन् ।

संविधान सामाजिक न्याय र मौलिक हकका हिसाबले निकै प्रगतिशील रहेको उल्लेख गर्दै उनले संविधानले परिकल्पना गरेको समावेशी र समानुपातिकको विषय कार्यान्वयनमा आउँदा फरक देखिएको प्रतिक्रिया दिइन् ।

राजनीतिक विश्लेषक तुलानारायण साहले नेपालको संविधान पूर्ण रुपमा राजनीतिक दस्तावेज भएको बताए । उनले यसलाई विगतको सङ्घर्ष र बलिदानीको उपलब्धिका रुपमा लिन सकिने धारणा व्यक्त गरे । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार कानुनी अभ्यास भएको छैन, पार्टी र राज्यका माथिल्लो तहलाई समावेशी बनाउन सकिएको छैन ।’

संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना

काठमाडौँ, ३ असोजः सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन दिन नियमित रुपमा सञ्चालन गर्न सकिने बताउनुभएको छ । संवैधानिक कानुन व्यवसायी मञ्चले संविधान दिवसका अवसरमा आज आयोजना गरेको ‘अन्तर–सरकारी विवाद निरुपणः संवैधानिक इजलासको प्रभावकारिता’ विषयक संवैधानिक संवादका क्रममा न्यायाधीश ढुङ्गानाले सर्वोच्च अदालतमा पूर्ण न्यायाधीश भएमा संवैधानिक इजलास तीन दिन चलाउन सकिने धारणा व्यक्त गर्नुभएको हो ।

“हाल बुधबार र शुक्रबार संवैधानिक इजलास सञ्चालन गर्दै आएका छौँ, आवश्यक पर्दा तीन दिन पनि सञ्चालन गर्न सक्ने व्यवस्था छ”, उहाँले भन्नुभयो, “तर पूर्ण न्यायाधीश हुनुपर्छ, संवैधानिक इजलास परेको दिन बिदामा नबस्ने पनि अनुरोध गर्नुपर्छ ।”

न्यायाधीश ढुङ्गानाले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा पनि संवैधानिक इजलासलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो ।   

नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीले संवैधानिक इजलासलाई प्रभावकारी बनाउनुपर्ने र उक्त इजलासमा भएका मुद्दालाई प्रकृति छुट्याएर चाँडै न्याय निरुपण गर्नुपर्नेमा जोड दिनुभयो ।

  संविधानविद् डा भीमार्जुन आचार्यले संवैधानिक इजलास गठन गर्दादेखिका मुद्दा अहिलेसम्म पनि विचाराधीन अवस्थामा उक्त इजलास कार्यशैलीको औचित्यमाथि प्रश्न उठेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अन्तर सरकारी विवाद निरुपण गर्न संवैधानिक इजलास गठन गरिएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउने विषयमा बृहत् छलफल जरुरी रहेकाले स्थायी न्यायाधीश नै त्यही इजलासका लागि तोक्नुपर्ने भनाइ राख्नुभयो ।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले संवैधानिक इजलासले विगतमा संविधान विघटनका दुई ठूला मुद्दा, स्टिङ अपरेसनलगायत मुद्दा राम्रोसँग हेरेको तर संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विवाद अहिलेसम्म पनि टुङ्गिन नसक्नु दुःखद् भएको धारणा राख्नुभयो ।

वरिष्ठ अधिवक्ताहरु रविनारायण खनान, दिनेश त्रिपाठी, महेशकुमार उपाध्याय र अधिवक्ताहरु शालिग्राम सापकोटा, डा रुद्र शर्मा, बाबुराम दाहाल, शान्ति खनाल, रोशनी पौडेल, विष्णुमाया भूसाल, प्रकाश महर्जन, ज्योति बाँनियालगायतले संवैधानिक इजालसमा धेरै समयदेखि मुद्दा भएको र छिटो विवाद निरुपणमा ध्यान दिन जरुरी भएको धारणा राख्नुभएको थियो ।

‘अन्तर–सरकारी विवाद निरुपणः संवैधानिक इजलासको प्रभावकारिता’ विषयमा अधिवक्ताहरु राजुप्रसाद चापागाई, शर्मिला श्रेष्ठ र डा लीलाधर उपाध्यायले तयार पार्नुभएको आधारपत्रमा सर्वोच्च अदालतको पूर्ण बैठकमा संवैधानिक इजालसमा देखिएको विवादको न्याय निरुपणमा देखिएका समस्याको तत्काल समीक्षा गर्नुपर्ने र त्यस्ता मुद्दाहरुको पहिचान गरी तिनलाई यथोचित सम्बोधन गर्नुपर्ने, उक्त इजलास नियमित सञ्चालन गर्ने व्यवस्था गर्र्न विषय राख्नुभएको थियो ।

मञ्चका अध्यक्ष ओमप्रकाश अर्यालले संवैधानिक विवादका मुद्दाको सुनवाइ गर्ने संवैधानिक इजलाजस नियमित सञ्चालन गर्नुपर्ने र त्यसलाई प्रभावकारी बनाउन जरुरी भएकाले छलफल चलाएको बताउनुभयो ।

जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का

काठमाडौँ, ३ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताउनुभएको छ ।नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उहाँले आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताउनुभयो ।

फिल्म ‘ज्वाइँ साब’का प्रमुख कलाकार जितु नेपाल र नीति शाह दर्शकका लागि ‘हट केक’

काठमाडौं । यही असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह फिल्मवृत्त र दर्शकका लागि ‘हट केक’ हुन् । फिल्ममा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचारप्रसार सामाग्री पोस्टर, टिजर र ‘कसम बत्तीको’ गीत सार्वजनिक भएपछि अहिले सबैको नजर उनीहरुतिरै सोझिएको छ ।

फिल्ममा जितु र नीति अनुबन्धित भएपछि उनीहरुको जोडी कस्तो बन्ला भन्ने फिल्मवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । फिल्मको पोस्टर, टिजर र गीत ‘कसम बत्ती’को रिलिजले फिल्मप्रति फिल्मकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ ।

अभिनयमा झण्डै दुई दशक बिताइसकेका जितु र फिल्मवृत्तमा नयाँ अनुहारका रुपमा उदाएकी नीतिको क्यामेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्वीकारिसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले अत्याधिक छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।

फिल्म निर्माण टिमले प्रचारप्रसार सामाग्रीमा जितु र नीतिलाई बेहुला बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिएकी छिन् । यो पोस्टरले पनि फिल्मको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता फिल्मकर्मीसँगै दर्शकमा व्याप्त छ ।

सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ । तर यो फिल्मको पोस्टर, टिजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ ।

फिल्मका निर्देशक वसन्त निरौला नेपाली फिल्ममा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने बताउँछन् । ‘पोस्टर, टिजर र गीत रिलिज पछि फिल्मले राम्रो हाइप पाएको छ । प्रमुख कलाकार जितु नेपाल र नीति शाहको गेटअपले पनि फिल्मप्रति चासो बढाइदिएको छ’, वसन्त भन्छन्, ‘दुवै कलाकारले फिल्ममा चरित्र अनुसार न्याय दिनुभएको छ ।’

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।
रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो फिल्म निर्माण भएको हो । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरनेमेन्ट, एफडी कम्पनीले गर्नेछन् ।

‘देश र जनतालाई केन्द्रमा राखौँ’ – प्रभु साह

काठमाडौँ, ३ असोजः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले संविधानबारे विभिन्न कोणबाट भइरहेका बहसमा सहभागी हुन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनताबाट भएकोे योगदानको स्मरण गर्दै सन्देशमा उहाँले हाम्रोजस्तो सानो मुलुकमा तीन तहका सरकार र यति धेरै सङ्ख्यामा स्थानीय तह आवश्यकपर्ने वा नपर्नेबारे बहस गर्न आवश्यक भएको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल

काठमाडौँ, ३ असोजः क्यानडा भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ ।

समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबीच अनुभव आदानप्रदान हुनुपर्नेमा जोड दिनुभएको छ ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एकअर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदानप्रदान र सिक्ने एउटा महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध प्रवद्र्धनमा समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गर्नुभयो ।

साथै उहाँले नेपालको सङ्घीय संसद्मा नेपाल–क्यानडा संसदीय मैत्री समूह गठनका बारेमा जानकारी दिँदै यस्ता समूहबाट दुई देशका संसद्बीच सहयोग आदानप्रदान र सहकार्यलाई प्रवद्र्धन गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष सिद्धुले क्यानडा र नेपालका सांसदहरुबीचको सहकार्यले दुवै मुलुकका सांसदबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभयो । उहाँले लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरणमा संसद् र स्थानीय सरकारमा नेपाली महिलाको बढी प्रतिनिधित्वका साथै सार्वजनिक जीवनमा उनीहरूले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल र दूतावासका अन्य अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । बुधबार नै परराष्ट्रमन्त्रीले राजदूतावासको भ्रमण गरेर नियोगका गतिविधिबारे जानकारी लिनुभएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौँ, ३ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुुभएको छ । संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गर्नुभएको छ ।

“संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ ।’’, सन्देशमा भनिएको छ, “जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन ।

यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ ।’’

संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी, ३ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले सङ्घीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्ना कामलाई जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनकेन्द्रित विकासको माध्यमबाट ‘समृद्ध लुम्बिनी प्रदेश’ निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री आचार्यले सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउँदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नु भएको छ ।

“सेवाप्रवाहको नवीन भूमिकामा प्रदेश संरचना रहेको छ । कानुन निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको कुरा सगौरव उल्लेख गर्न चाहान्छु”,शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “समृद्धि प्राप्तिको जनताकोे तीव्र आकाङ्क्षालाई पूरा गर्न हामी प्रदेश सरकारको तर्फबाट दृढ छौँ । संविधानको पूर्णपालना गर्नु हामी सबैको कर्तव्य हो ।”

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु: मन्त्री गुप्ता (अन्तर्वार्ता)

काठमाडौँ । मुलुकको स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रको व्यवस्थापन र सङ्घीयता कार्यान्वयनमा समन्वयकारी भूमिमा रहेको सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले लामो प्रतीक्षामा रहेको नेपाल निजामती सेवा विधेयकलाई यथाशक्य छिटो टुङ्ग्याउने प्रयत्न गरिरहेको छ ।

स्थानीय तहमा कर्मचारी अभावमा राज्यद्वारा उपलब्ध गराईका सेवासुविधा प्रभावकारी रुपमा प्रवाह हुन नसकेको गुनासो अझै व्याप्त छ । देशभरमा करिब एक सयभन्दा बढी पालिका निमित्तका भरमा चलिरहेका छन् । प्रस्तुत छ, संविधान दिवस २०८१ को अवसरमा कर्मचारी व्यवस्थापन, सङ्घीयता कार्यान्वयनलगायत विषयमा केन्द्रित रही सङ्घीय तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग राष्ट्रिय समाचार समिति (रासस)का निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

–नेपालका संविधान जारी भएको नौ वर्ष भयो, यसबीचमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ तुल्याउन मन्त्रालयले के–के काम गरिरहेको छ ?

सङ्घीयताको घोषणापछि धेरै काम यस मन्त्रालयले सम्पन्न गरिसकेको छ । यद्यपि, ती कामलाई व्यवस्थितरुपले अघि बढाउन केही बाँकी छ । त्यसमा निरन्तर लागि परेकै छौँ ।

–संविधानतः तीन तहकै सरकार क्रियाशील छन्, कानुन, समन्वय र बजेटमा देखिएको चुनौतीका कारण जनअपेक्षाअनुरुप काम नभएको भन्ने गुनासो छ, यसलाई यहाँले कसरी लिनुभएको छ ?

तीन तहकै सरकारले आ–आफनो ठाउँबाट काम गरिरहेका छन् । स्रोतको पनि खासै समस्या छैन । आवश्यक बजेट पनि तीन तहकै सरकारले पाएकै छन् । ती सरकारबाट प्रभावकारी रुपमा काम भइरहेको छ ।

–निजामती र प्रहरी समायोजनसम्बन्धी विधेयक नआउँदा प्रशासनिक सङ्घीयता लागू गर्न अझै सकिएको छैन, किन ढिलाइ भयो, त्यो काम अब कहिले हुन्छ ?

मैले जिम्मेवारी सम्हालेको करिब दुई महिना भयो । जिम्मेवारी सम्हाल्ने क्रममा पहिलो प्रतिबद्धता र प्रथामिकता सङ्घीय निजामती ऐन हो भनेको थिएँ । त्यो आठ वर्षदेखि अलपत्र थियो । त्यसलाई व्यवस्थित गर्दै निजामती दिवसका दुई दिन पहिला समितिमा प्रवेश गराई छलफल सुरु गरेका छौँ । राज्य व्यवस्था समितिमा भ्रष्ट्राचारसम्बन्धी ऐनमा छलफल भइरहेको छ । त्यो दुई/तीन दिनमा सकिन्छ । त्यसपछि यो विधेयकमा निरन्तर छलफल हुनेछ । करिब एक हजार पाँच ८३ को हाराहारीमा संशोधन परेको छ । सम्पूर्ण राजनीतिक दलका अध्यक्षसँग पनि छलफल गर्छौं । संशोधन प्रस्तावलाई न्यूनीकरण गर्नेबारे उहाँहरुबाट सुझाव लिन्छौँ । अब केही समयभित्रै निजामति ऐन पारित गर्छौं ।

–संविधानअनुरुप नै तीन तहका सरकारका लागि निर्धारण गरिएका अधिकार क्षेत्रका बारेमा अझै अन्योल देखिन्छ, यो कहिलेसम्म समाधान हुन सक्छ ?

तीन तहकै सरकारको अधिकार क्षेत्रबारे मैले बुझेसम्म प्रदेशका केही अधिकारको कुरा भएको छ । हामी अब तुरुन्तै प्रदेशका मुख्यमन्त्रीसँग बसेर छलफल गर्छाैं । उहाँहरुको अधिकार क्षेत्र कहाँ कटौती भएको छ ? त्यो पनि तत्कालै आवश्यक प्रयत्न गरेर समाधान गर्छाैं ।

–तीन तहकै सरकारबीच समन्वयको अभावमा एकै किसिमका स–सना आयोजनालाई तीन तहबाटै बजेट विनियोजन भएको देखिन्छ, यो किन र कसरी भयो ?

यसमा जिम्मेवार निकाय तीन तहकै सरकार हौँ । यसपालिको बजेटपछि हामीले गाउँका स–साना बाटो र योजना स्थानीय सरकारले गर्ने, त्यसभन्दा ठूला आयोजना प्रदेशले हेर्ने र महत्वकांक्षी आयोजनादेखि लिएर ठूला सडक र पुल भने केन्द्रीय सरकारबाट सञ्चालन हुने भनी कामको बाँडफाँट गरी योजना सुचारु गरेका छौँ ।
–प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धिमा सङ्घीय सरकारले नेतृत्वदायी भूमिका खेल्न नसकेको आरोपलाई यहाँले कसरी लिनु भएको छ ?

प्रदेश र स्थानीय तहका काम कारबाही र सेवा प्रवाहलाई चुस्त दुरुस्त तुल्याउन केन्द्रीय सरकारका हैसियतले हामीले नेतृत्वदायी भूमिका खेल्छौँ । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै म यसमा निरन्तर लागि परेको छु । मन्त्रालयसँग प्रदेश र स्थानीय तहलाई लक्षित गरिएका क्षमता अभिवृद्धिका कार्यक्रम र योजना छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) मार्फत स्थानीय तहको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

–स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्रलाई राजनीतिक दबाबमा अवधि नपुग्दै सरुवा हुने आरोप छ, यस्तो प्रवृत्तिबाट प्रशासनिक स्थायित्व कसरी सम्भव हुन्छ ?

एकदमै महत्वपूर्ण सवाल उठाउनुभयो । कर्मचारी उच्च मनोबलका साथ गर्न अलि अप्ठ्यारो नै देखिन्छ । तर पछिल्लो समय सरुवालाई व्यवस्थित गर्न कोसिस गरिरहेका छौँ । केहीहदसम्म सम्पन्न गरिसकेका छौँ । हामीले मन्त्रालयस्तरीय निर्णय गरेर अन्यथा केही नभएको खण्डमा कम्तिमा पनि एक वर्ष कार्यरत स्थानबाट सरुवा गर्दैनौ । ताकि ती कर्मचारी उच्च मनोबलका साथ तोकिएको स्थानमा गएर कार्यसम्पादन गर्नुहुनेछ । कर्मचारीलाई निर्भिकताका साथ काम गर्ने वातावरण बनाइ रहेका छौँ । धेरै ठाउँमा व्यवस्थित पनि भइसकेको छ । अझ केही गर्न बाँकी छ, त्यो जिम्मेवारी पूरा गर्छाैं ।

–स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनमा देखिएको चुनौतीलाई कसरी समाधान गर्नुहुन्छ ?

दश/बाह्र दिन पहिला मात्रै जिल्ला समन्वय समितिमा एकैपटक लोक सेवा उतीर्ण भएर आएका ६८ जना इन्जिनियर पठाएका छौँ । केही जिल्लाबाहेक अरुमा माग भएका त्यो खालका जनशक्ति पठाइसकिएको छ । एक सय चार जना अधिकृत यसै साता छनोट गर्न दिएर पालिका पठाएका छौँ । अझ पनि केही ठाउँमा भने पूरा गर्न सकिएको छैन । त्यसको सूची बनाइरहेका छौँ । आगामी एक महिनाभित्रै हरेक ठाउँमा दरबन्दी अनुसारको कर्मचारी पठाइन्छ । पालिकामा निमित्त दिने अभ्यास हटाउन कोसिस भइरहेको छ । एक महिनाभित्रै कर्मचारीको आवश्यक प्रबन्ध मिलाउने काममा लागि परेको छु ।

–कर्मचारी समायोजन एक ढङ्गले पूरा भएको छ, अझैपनि व्यवस्थित हुन सकेको पाइदैन । यसमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले के–कस्तो काम गरिरहेको छ ?

हामीले छिट्टै सङ्घीय निजामती ऐन ल्याउँछौँ । स्थानीय तह र प्रदेशका कर्मचारीको ‘अप्ठ्यारो’ मलाई थाहा छ । उदाहरणका लागि, पर्सा जिल्लामा घर–व्यवहार भएका मानिस कर्णाली खटाइएको छ । यस्ता समस्या स्थायीरुपमा समाधान गर्न प्रयास गर्छाैं । पहिला मन्त्रालयले नै त्यो सरुवा गथ्र्याे । पछि अदालतको आदेशबाट रोकिएको छ । अहिले पनि सात हजारको हाराहारीमा त्यस्तै अप्ठ्यारामा परेको अवस्था छ । उहाँहरुलाई अपायक ठाउँमा खटाइएको छ । यसलाई पनि व्यवस्थित गर्ने प्रयासमा मन्त्रालय छ ।

–स्थानीय तहमा आर्थिक अनियमित, हिनामिना, भ्रष्टाचार र प्रशासनिक विकृतिका घटना दिनहुँजसो समाचार आइरहेको छ, यस्ता घटनाले जनतालाई निराशा तुल्याउँछ होइन र ?

पक्कै तुल्याउँछ, तर यस्ता घटनाको अनुगमन, नियमन र नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायबाट कारबाही भइरहेको छ । सबै स्थानीय तहमा यो अवस्था छ भन्दिन तर, केही ठाउँमा छ, तिनीहरु कारवाहीमा पर्दैछन् । कति ठाउँमा निलम्बन भइसकेका छन् । यो विषय गम्भीर हो, तर यसलाई सम्बन्धित निकायले हेरिरहेको छ ।

–केही स्थानीय तहका पदाधिकारी आर्थिक अनियमिताको आरोपमा अदालतमा मुद्धा दायर भएसँगै निलम्बनमा परेका छन् । त्यस्ता निकायबाट सेवा प्रवाह कसरी भइरहेको छ ?

हामीले मूलतः एउटा छलफल गरेका छौँ । यो टुङ्गिसकेको छैन । तथापि, प्रमुख निलम्बनमा परे उपप्रमुख, दुबै परेको अवस्थामा ज्येष्ठ वडाध्यक्षलाई जिम्मेवारी तोक्ने तयारीमा छौँ ।

–सर्वसाधारणले कुनै मोलाहिजा र लगानी बिना राज्यबाट प्रदान गरिने सेवा सहजरुपमा कहिले प्राप्त गर्न सक्छन् भन्ने लाग्छ ?
अहिले मन्त्रालयबाट दिइरहेको सेवामा सहजरुपमा उपलब्ध गराउन दृढ र प्रतिबद्ध छौँ । कर्मचारी सरुवाका लागि महिनौं काठमाडौँ बस्न र धाउनुपर्ने अवस्था बन्द गरेका छौँ । पहिलादेखिको विकृति र बेथिती अन्त्यको प्रयत्न भइरहेको छ । धेरै कर्मचारी अतिरिक्त समूहमा रहने परिस्थिति थियो । त्यो क्रमशः अन्त्य हुँदैछ । खटाएको ठाउँमा नजाने कर्मचारीको हाजिरी रोकिएको छ । त्यो हिसाबले देशभरकै पालिकालाई व्यवस्थित तुल्याएर सेवा प्रवाह चुस्त बनाउने सङ्कल्पका साथ काम गरिरहेका छौँ । समन्वय समिति व्यवस्थित भइसकेको छ, पालिका बाँकी छन् । त्यो पनि अब तुरुन्त गर्छाैं, प्रयास जारी छ । काम गरिरहेका छौँ ।

–स्थानीय तहका पदाधिकारी र राजनीतिक दलले यही कर्मचारी चाहियो भनेर कतिको दबाब दिन्छन् ?

अझ पनि देशभरमा करिब एक सय पालिका निमित्तको भरमा चलिरहेको छ । निमित्त लिने र यही कर्मचारी चाहियो भनी केही ठाउँबाट दबाब छ । त्यो दबाब थेगिरहेको छु । कर्मचारी भनेको कुनै राजनीतिक दल विशेषको हुन्न । जुन कर्मचारी मन्त्रालयले खटाउँछ, त्यसले इमान्दारिताका साथ काम गर्छ । दबाब भने थेग्छु ।

–युवाको विदेश पलायन रोक्ने कार्ययोजनासहित संविधान दिवसका उपलक्ष्यमा जनतालाई यहाँको केही सन्देश छ ?

सरकार गठन भएसँगै प्रधानमन्त्रीज्यूले युवाको विदेश पलायन रोक्न कार्ययोजना बनाएर ल्याउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ । सरकारले यस विषयलाई गम्भीरताका साथ लिएको छ । प्रधानमन्त्रीसमेत यसलाई कसरी रोक्न सकिन्छ भन्नेमा चिन्तित हुनुहुन्छ । विदेश पलायन रोक्ने योजना ल्याइँदैछ । यो रोकिन्छ, रोक्नै पर्छ । अहिले जुन हिसाबले युवा विदेश जाँदैछन्, त्यो हिसाबले हेर्ने हो भने मुलुकमा वृद्धा र बालकबाहेक कोही रहन्नन् । यो पाटोमा सरकार अत्यन्त गम्भीर छ । हामी सबै मिलेर देश बनाउनुपर्छ । संविधानमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ । संविधान दिवसका उपलक्ष्यमा सबै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ।

पोखरामा असोज ८ देखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल

कास्की- भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि गण्डकी प्रदेश राजधानी पोखरामा आठौँ संस्करणको खुला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौँ वार्षिकोत्सवको अवसरमा केन्द्रले यही असोज ९ देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजघरको भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको संयोजक मनोज खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद रु एक लाख ३० हजार, उपविजेताले रु ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फको विजेताले नगद रु ५० हजार र उपविजेताले रु ३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौँ, आठौँ र नवौँ प्रतियोगितामा सहभागिता जनाएका तीन जना र महिलातर्फ दुई जना मात्र खेलाडी समावेश गर्न पाउने संयोजक खड्काले बताउनुभयो ।

पुरुष तर्फका खेल ‘लिगकम नकआउट’ र महिला तर्फका खेल ‘नकआउट सिस्टम’ मा सञ्चालन गरिने छ । विसं २०७३ मा पोखरा भलिबल प्रशिक्षण केन्द्र स्थापना भएको ले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा काम गर्दै आएको छ ।

प्रतियोगिताका लागि रु १० लाख ३२ हजार खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर कायम गरिने बताइएको छ ।

श्रीलङ्कामा ३८ हजार जनामा डेङ्गु संक्रमण, १७ जनाको मृत्यु

श्रीलङ्कामा जनवरीदेखि सेप्टेम्बर १७ सम्म ३८ हजार भन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएका छन् । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइको पछिल्लो तथ्याङ्कअनुसार सोही अवधिमा डेङ्गुका कारण शून्य दशमलव शून्य चार प्रतिशत अर्थात १७ जनाको मृत्यु भएको छ ।

   श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा सबैभन्दा धेरै डेङ्गुका घटनाहरू रिपोर्ट गरिएका छन् । प्रदेशमा १६ हजार २१ घटना रिपोर्ट गरिएको छ । यो कुल मामिलाको ४१ दशमलव नौ प्रतिशत हो ।

   उत्तरी प्रान्तमा चार हजार सात सय ४४ मामिला अर्थात कूमिलाको १२ दशमलव चार प्रतिशत रिपोर्ट गरिएको छ । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइले डेङ्गुका १० उच्च जोखिम क्षेत्र पहिचान गरेको छ ।    एकाइका अनुसार गत वर्ष ८८ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए भने मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको थियो ।  

क्यामरुनले बाँध खोलेपछि नाइजेरियाद्वारा बाढीको चेतावनी

छिमेकी क्यामरुनले आफ्नो एउटा बाँधबाट पानी छोड्ने भएपछि नाइजेरियाका अधिकारीहरूले यसका मुख्य नदीमध्ये एउटाबाट कम्तीमा ११ राज्य बाढीको जोखिममा रहेको चेतावनी दिएका छन् ।

जलस्रोतको व्यवस्थापन गर्ने सङ्घीय संस्था नाइजेरिया हाइड्रोलोजिकल सर्भिसेज एजेन्सी (एनआइएचएसए) का महानिर्देशक उमर इब्राहिम मोहम्मदले क्यामरुनका अधिकारीहरूले मुलुकको उत्तरी क्षेत्रमा लाग्डो बाँधबाट ‘नियन्त्रित जल छाड्ने’ योजना बनाइरहेको बताउनुभयो । 

उहाँले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा सेप्टेम्बर १७ देखि पानी छाड्ने तालिका थियो भन्नुभएको छ । 

उक्त पानी नाइजेरियाको बेन्यु नदीसम्म आउनेछ र मुलुकको उत्तर–पूर्व, उत्तर–मध्य, दक्षिण–दक्षिण र दक्षिण–पूर्व क्षेत्रका समुदायहरूमा बाढी आउन सक्ने अपेक्षा गरिएको छ । 

“बेन्यु नदी प्रणालीसँग जोडिएका सबै राज्यका लागि बाढीको सम्भावित प्रभावहरू कम गर्न सतर्कता बढाउन र पर्याप्त तयारीका उपाय लागु गर्न अत्यन्त आवश्यक छ”, मोहम्मदले भन्नुभयो । 

क्यामरुनका अधिकारीहरू बाँधबाट पानी छाड्ने विषयमा टिप्पणी गर्न तुरुन्तै उपलब्ध थिएनन् । 

राज्यहरूलाई तयारी गर्न दिइएको चेतावनीका बाबजुद मोहम्मदले बाँधको पानी छोड्दा आफूले ठूलो क्षति हुने आशा नगरेको बताउनुभयो । 

नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता इजेकिल मन्जोले कुनै पनि सम्भावित बाढीका लागि तयारी गरिरहेको बताउनुभयो । “हामीले राज्यहरूलाई चेतावनी दिइरहेका छौँ”, उहाँले भन्नुभयो । 

व्यापक वर्षा र क्यामरुन बाँध खोल्दा नाइजेरियामा विगतमा ठूलो मात्रामा बाढी आएको छ । सन् २०२२ मा मुलुकमा एक दशकको सबैभन्दा खराब बाढीमा पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १४ लाख विस्थापित भएका थिए । 

नाइजेरियामा पछिल्लो गम्भीर बाढीको प्रकोपमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने उत्तरपूर्वी सहर मैदुगुरीमा चार लाख मानिसलाई उनीहरूको घरबाट बाहिर निकालिएको छ । आपत्कालीन अधिकारीका अनुसार करिब १० लाख मानिस विस्थापित हुनसक्छन् । 

यस वर्ष सेप्टेम्बर १८ सम्म नाइजेरियामा बाढीबाट कम्तीमा दुई सय ८५ जनाको मृत्यु र छ लाख ४० हजारभन्दा धेरै मानिस विस्थापित भएको एनइएमएले प्रकाशित गरेको आँकडामा उल्लेख छ । करिब एक लाख २७ हजार पाँच सय हेक्टर कृषिभूमि प्रभावित भएको छ । 

क्यामरुनको गारौआ सहरदेखि ५० किलोमिटर दक्षिणमा तीन सय मिटरको लाग्डो बाँध सन् १९८२ मा निर्माण सम्पन्न भएको थियो र यसले मुलुकको उत्तरी क्षेत्रमा विद्युत् आपूर्ति गर्दछ ।

सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछः मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)

विराटनगर-नेपालको संविधान–२०७२ जारी भएको नौ वर्ष हुन लागेको छ । यस अवधिमा नेपालको संविधान कार्यान्वयनको स्थितिका बारेमा चर्चा परिचर्चा भइरहेको छ । खासगरी सङ्घीय ढाँचा बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई लिएर बहस हुने गरेको छ । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नेतृत्व पटकपटक लिइसक्नु भएको छ । उहाँलाई राष्ट्रिय समाचार समिति कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुल र पत्रकार मनोज दाहालले संविधान कार्यान्वयन, प्रदेश संरचना र प्रदेशको समग्र विकासमा प्रदेश सरकारले गरिरहेको सहजीकरण समेतका विषयमा मुख्यमन्त्री कार्कीसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

नेपालको संविधान, २०७२ जारी भएपछि प्रदेशमा भएका महत्वपूर्ण उपलब्धिहरू के के हुन् ? अहिलेसम्म सम्पादित कामबाट सन्तुष्ट हुन सकिन्छ ?

नेपालको संविधान २०७२ जारी भएपछि यस संविधानको माध्यमबाट नेपालको शासकीय स्वरुपमा आमूल परिवर्तन भयो । नेपाल दुई तहको शासन प्रणालीबाट सङ्घीय व्यवस्था सहितको तीन तहको शासन प्रणालीमा प्रवेश गरेको छ । सङ्घीय ढाँचाबमोजिम सम्पन्न आमनिर्वाचनअनुसार हामी छ वर्ष पूरा भएर सातौँ वर्षमा हिँडिरहेका छौँ । सङ्घीयता कार्यान्वयनमा यसबीचमा हामीले धेरै अनुभव प्राप्तिसँगै सुखद अनुभव हासिल भएको छ । 

यसबीचमा सङ्घीयता कार्यान्वयनका सन्दर्भमा राजनीतिक सङ्घीयता, वित्तीय सङ्घीयता र प्रशासकीय सङ्घीयताको जति मात्रामा विकास हुनुपर्थो त्यति हुन सकेन । अहिले धेरै हदसम्म सङ्घीयता कार्यान्वयनमा गैसकेको छ । तर अझै पनि हामीले गर्नुपर्ने धेरै काम छन् । राजनीतिक सङ्घीयताको व्यवस्थापन पेचिलो प्रश्न बनेको छ । सङ्घीय व्यवस्थापिकाहरु ठूला भए, धेरै जनप्रनिनिधि भए भन्ने गुनासा जनताले गरेका छन् । यसलाई व्यवस्थित गर्नुपर्ने खाँचो देखिएको छ । आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न सङ्घीय शासन प्रणाली लागू गरियो भत्रे आरोप दलहरुमाथि छ । वास्तवमा त्यस्तो विल्कुलै होइन । जनताको यो आरोपलाई हामीले चित्तबुझ्दो रुपमा खण्डन गर्नुपर्ने आवश्यकता छ । 

प्रशासनिक सङ्घीयताको स्थिति के रहेको छ ?

सङ्घीय शासन प्रणालीको कुरा गर्दा राजनीतिसँगै प्रशासनिक सङ्घीयताको कुरा पनि उठ्ने गर्दछ । सात वर्षको यस अवधिमा यसले पूर्णता प्राप्त गरिसकेको छैन । जसका कारण जति मात्रामा सेवाग्राहीलाई सेवा प्रदान गर्नुपर्ने हो त्यति हुन सकेको छैन । यसलाई अब हामी छिट्टै नै प्रदेश सेवा आयोगको माध्यमबाट प्रदेशलाई चाहिने जनशक्तिको आन्तरिक सर्वेक्षण गरेर व्यवस्थापन गर्ने तयारीमा छौं । प्रदेश निजामती सेवा ऐन पारित हुँदैछ । यद्यपि निजामती कर्मचारीहरुको समायोजनले पूर्णता प्राप्त गर्न नसक्दा समस्या देखियो । प्रदेशमा पठाइएका कर्मचारीहरु बीच बाटोबाटै फर्कने, प्रदेशमा हाजिर नै नहुने तथा प्रदेशमा समायोजन भएका धेरै कर्मचारी अवकाश भइसकेका छन् । 

कर्मचारी व्यवस्थापनमा देखिएको अन्यौलले प्रदेश संरचनामै अन्यौल भइरहेको छ । राम्रो सन्देश दिन सकेको छैन । हामीले कर्मचारी प्रशासनलाई गुणात्मक बनाउन र जनविश्वास सिर्जना गर्ने किसिमले काममा लगाउन छलफल गरिरहेका छौँ । मलाई विश्वास छ, हामी निजामती सेवा ऐन आइसकेपछि यसको माध्यमबाट हामीलाई चाहिने जनशक्ति परिपूर्ति गर्ने, जनशक्तिलाई समानुकूल गर्दै लैजाने, यसको माध्यमबाट सेवा प्रवाहलाई चुस्तदुरुस्त र स्तरीय बनाउने कुरामा लागेका छौँ ।

राजनीतिक र प्रशासनिक सङ्घीयतासँगै वित्तीय सङ्घीयताको पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । यस सन्दर्भमा प्रदेशले के गरिरहेको छ ?

भन्नैपर्छ, प्रदेशहरुको वित्तीय सङ्घीयता अहिलेसम्म कमजोर छ । हामीले आफ्नो आन्तरिक आयआर्जनलाई बढाउन सकेका छैनौँ । आन्तरिक आय नबढ्दा हामीले सोचेजति काम गर्न सक्ने कुरै भएन । वित्त आयोगको बाँडफाँट, आन्तरिक राजश्व, रोयल्टी इत्यादि स्रोतबाट हामीहरु चलिरहेका छौँ । त्यो पनि हिजोभन्दा आज घट्दो क्रममा छ । हामी प्रदेशको आय कसरी वढाउन सकिन्छ र आन्तरिक  राजश्वलाई कसरी फैलाउन सकिन्छ, जनतालाई करको बोझ नबढाइ करको दायरा कसरी बढाउन सकिन्छ भन्ने खोजी गरिरहेका छौं । राजनीतिक क्षेत्रमा स्पष्ट बहुमत प्राप्त नभएको सङ्घ र प्रदेशमा पनि हामीले जति कामहरु गर्न चाहेका छौँ, ती कामहरु राजनीतिक अस्थिरताका कारणले रोकिएका छन् । छिटोछिटो सरकार परिवर्तन हुनाले यसलाई अवरोध गरेको छ । अहिले नेकपा एमाले र नेपाली कांग्रेस बीचमा नयाँ राजनीतिक समीकरण तयार भएसँगै अलिकता दिगो र भरपर्दो गरेर हामी अगाडि बढ्ने पक्षमा छौँ ।    

संविधानअनुसार बीचमा रहेको प्रदेश सरकारलाई आफ्ना नीति तथा कार्यक्रम र कार्ययोजना कार्यान्वयन गर्ने सन्दर्भमा हालको संरचनागत र कानुनी व्यवस्था कस्तो छ ?

सङ्घीयता भइसकेपछि यसलाई कार्यान्वयन गर्न चाहिने कुरा भनेको संविधान र कानुनी व्यवस्था हो । संविधानमा धेरै कुरा उल्लेख भएका छन् । संवैधानिक व्यवस्था स्पष्ट छ । अर्को संविधानले अनुसूचीमार्फत यसले क्षेत्राअधिकार तोकेको छ, तर अहिलेसम्म निजामती सेवा ऐन बनेको छैन । प्रहरी समायोजन भएको छैन । शिक्षा ऐन, स्वास्थ्य ऐन बनेका छैनन् । सङ्घीयता कार्यान्वयनमा प्रत्यक्ष जोडिएका सङ्घीय कानुनको अभावले प्रदेशहरुले प्रभावकारी काम गर्न नसकेका हुन् । यी कुरामा सङ्घ र प्रदेशबीच निरन्तर छलफल भइरहेको छ । आशा छ, चाँडै यसले निकास पाउँछ । 

संविधानले जति क्षेत्राधिकार दिएको छ, हामीले त्यसैभित्र रहेर काम गर्नुपर्छ भनेर सङ्घीय ऐन नआउँदै पनि कामलाई अगाडि बढाइरहेका छौँ । हामीलाई केही वर्ष ढिला भयो, अब हामी गतिका साथ अगाडि बढ्ने, कानुन निर्माण गर्ने, संविधानले दिएका अधिकारहरु, जिम्मेवारहरुलाई पूरा गर्ने सन्दर्भमा नीतिगत प्रबन्ध, कानुनी व्यवस्था र व्यवस्थापकीय प्रबन्ध भएर अगाडि बढ्ने तयारीमा छौँ । यस मामिलामा प्रदेश सरकारहरु, हिजोका केही अलमलहरु, समस्याहरुबाट पाठ सिकेर अब यी समस्याहरुबाट मुक्त भएर अगाडि बढ्दै छौँ । कोशी प्रदेशको हकमा यो सरकार बनेपछि यसले गतिका साथ अगाडि बढेको छ र प्रदेश सरंचनालाई जनताले बुझ्ने, जनताले देख्ने, जनताले हेर्न सक्ने गरी संरचना बनाएर स्थापिन गर्ने काममा हामी लागिरहेका छौँ । त्यसका लागि कानुनी आधार, व्यवहारिक र व्यवस्थापकीय कुराहरुलाई पूरा गरेर र सङ्घीयतालाई जनताको शासन प्रणाली, जनताले मेरो शासन प्रणाली हो, यो सङ्घीयता मेरो माग हो भन्ने कुरा र भन्ने अनुभूति हुने गरी कामहरु हामीहरु गर्दैछौँ ।

नेपालको संविधान २०७२ कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व पनि कायमै छ । केन्द्रले प्रदेश एवम् प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको भन्ने कुरा पनि बेला बेलामा आउने गरेको छ, विशेष गरी प्रदेशबाट यस सम्बन्धमा कस्तो भूमिका निर्वाह भएको छ ?

नेपालको सन्दर्भमा हामी २५० वर्षभन्दा लामो अवधि केन्द्रीकृत शासन व्यवस्थामा रह्यौँ । मुलुकलाई विकेन्द्रीकरणको उच्चतम रुपमा तीन तहको सङ्घीयतामा लैजाने कुरा आफैँमा चुनौतीपूर्ण कुरा हो । संविधानले के कुरा ग्यारेण्टी गरेको छ भने तीन तहको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तको आधारमा यो सङ्घीयतालाई अघि लैजाने कुरा लेखिएको हुनाले हामीसित अहिले अरु विकल्प छैन । यो मोडललाई पालना गर्नुपर्छ, यस कुरामा कहिलेकाहीँ केन्द्र चुक्ने, कहिले प्रदेश चुक्ने, कहिले स्थानीय तह चुक्ने कारणले ठाउँ ठाउँमा केही गुनासा आएका छन् तर ती कुराहरुलाई माझ्दै, हल गर्दै हामी सङ्घीयता कार्यान्वयनलाई अघि लैजादैछौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक प्रधानमन्त्री भएपछि उहाँले साउन महिनामा एउटा निर्णय गर्नु भएको छ कि प्रदेशमा पठाउने कर्मचारीहरु सङ्घको तर्फबाट पठाउने कर्मचारीहरु एकमुष्ठ रुपमा प्रदेशको मुख्यमन्त्री मातहतमा  कार्यालयमा पठाउने, त्यसले त्यहाँ पजनी गर्ने भनेको छ । अब सङ्घीयता कार्यान्वयनले अलिक बढि छिटो गर्ने, दु्रत गति लिने विश्वास छ । प्रहरी समायोजनका विषयमा पनि छलफल हँुदैछ । मेरो विश्वास छ, अब चाँडै हुन्छ, हामी त्यसको लागि माग पनि गरिरहेका छौँ, छिटो गर्नका लागि प्रोत्साहन गरिरहेका छौँ, दवाव दिइरहेका छौँ । सङ्घीयता अब देखिने गरी कार्यान्वयन हुने चरणमा यो वर्षबाट प्रवेश गरेको छ र यो सातौँ वर्ष सङ्घीयता कार्यान्वयनको यो एउटा नयाँ उचाईको वर्षको रुपमा स्थापित गर्ने प्रयासमा लागेका छौँ । आशा छ, अब हामी त्यो कुरामा सफलता प्राप्त गर्छौँ    । 

प्रदेश सरकार खर्चिलो भयो, आर्थिकरूपमा आत्मनिर्भर र राजनीतिकरूपमा स्वतन्त्र नभएको भनी संरचना खारेज गर्नुपर्दछ भन्ने आवाज आउन थालेको छ नि ?

नेपालको संविधानको प्रारम्भदेखि अन्तिमसम्म सङ्घीयता बेगरका धारा उपधारा छैनन् । त्यसले गर्दा सङ्घीयता खारेज गर्नु भनेको सङ्घीयता असफल हुनु मात्र होइन संविधान च्यात्नु पनि हो । अब हामी त्यो बाटो जान सक्दैनाँै । त्यो बाटो जानु भनेको मुलुक फेरि अर्को द्वन्द्वमा फस्नु हो । द्वन्द्वमा अझै फस्नु भनेको हामी सयौँ वर्ष पछाडि फर्कनु हो । सन् ८० को दशकमा हामीसँगै रहेका मुलुकहरु आज विकासको गतिले आगाडि बढिसके । उनीहरुले नेपाललाई धेरै पछाडि छाडेका छन् । अब पनि अलमल गरेमा हामी पछाडि पर्ने छौँ । त्यो हाम्रो विकल्प होइन, त्यो हाम्रो बाटो होइन । सङ्घीयता खारेजीको कुरा सम्भव छैन, होइन । 

सङ्घीयता वढी खर्चिलो एवम् बोझिलो भयो भन्ने केही मानिसको बुझाइ पनि गलत छ । अहिले भएका तीन तहमध्ये सबैभन्दा कम खर्चमा, सबैभन्दा बढी आर्थिक अनुशासन भएर चल्ने संरचना यो हो । महालेखा प्रतिवेदनमा पनि यो कुरा उल्लेख छ । यो कहिँकतै खर्चिलो र बोझिलो संरचना छैन ।  कार्यालय खर्चहरु त हिजोको एकात्मक शासन व्यवस्थामा पनि हुने गरेकै थियो । बढी कर्मचारी र जनप्रतिनिधिको बोझिलो संरचना हामीसँग छैन । अलिकति के हो भने हिजो ६०१ को संसद् थियो भने अहिले सात–आठ सय पुगेको छ । त्यसलाई अझै हामी संविधान संशोधन मार्फत् घटाउने प्रयास गर्दैछौँ । यसलाई घटाउन सकियो भने यो कुनै खर्चिलो छैन । 

प्रदेश सरकारले प्रदेशमा आवश्यक के कति कानुन बन्यो र कुन कुन बन्न बाँकी छन् ? कानुन निर्माणको प्रक्रियालाई कसरी अवलम्बन गर्नुभएको छ ?

अहिले प्रदेशमा ७० वटा कानुन बनिसकेका छन् । पहिलो अवधिमा करिब ४८ वटा, दोस्रो अवधिमा संशोधन आदि इत्यादि गर्ने गरी ६० वटा पुगेका छन् । अब हामी हिउँदे अधिवेशनलाई विधेयक  अधिवेशन बनाएर एक दर्जन कानुन बनाउँदै छौँ । त्यसका लागि आन्तरिक तयारी गर्दैछौँ । कानुन निर्माणका लागि मुख्य जटिलता नै हामीसँग दक्ष जनशक्ति छैन । कानुन समूह गठन गर्न सकेका छैनौं । सङ्घबाट खटाइएका सहसचिव, उपसचिव, अधिकृतहरु प्रदेशमा नआएकाले कानुन निर्माण प्रभावित भएको छ । नेपाल सरकारसँग आवश्यक जनशक्ति माग गरिरहेका छौँ । 

प्रदेश सरकारका कतिपय महत्वपूर्ण आयोजनाहरु पूरा हुन सकिरहेका छैनन् । किन होला ?

प्रदेश सरकारले अघि बढाएका केही महत्वका आयोजनाहरु अहिले कार्यान्वयनकै चरणमा छन् । राजनीतिक अस्थिरता, कोभिड महामारी, आर्थिक स्रोतको अभाव समेतका कारणले आयोजना कार्यान्वयनमा जटिलता अनुभव गरिएको छ । यस वर्ष हामी लगानी सम्मेलन पनि गर्दैछौँ । लगानी सम्मेलनका माध्यमबाट यो प्रदेशमा सम्भावना भएका कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा के कस्ता प्रस्तावलाई अगाडि बढाउन सक्छौँ यसको अध्ययन गर्दैछौँ । प्रदेशले १०० वटा परियोजनाको बारेमा छलफल गर्ने तयारी गरेको छ । लगानी सम्मेलनको माध्यमबाट यी परियोजनाहरु मध्ये स्वदेश तथा विदेशी लगानीकर्ता आकर्षित गरेर अगाडि बढाउँछौँ । प्रदेश गौरवका आयोजना नतोकिए पनि प्रदेशका महत्वपूर्ण सडक आयोजनाहरु, पुल, भवन र आफ्नो संरचना बनाउने कार्य हामीले अहिलेसम्म बनाउन सकेका छैनौं । यो वर्षभित्र जग्गा खोजेर प्रदेशका लागि आवश्यक कार्यालयहरु बनाउन, प्रशासनिक संरचना यस वर्ष निर्माण गर्ने, आगामी दुई वर्षभित्र आफ्ना भवनमा सर्ने तयारीमा छौं । हामीले बनाउने कतिपय सडकहरु दुई वर्ष तीन वर्षमा सकिनु पर्नेमा पाँच देखि छ वर्ष लागेको छ । यस वर्ष हामी अधिकांश बहुवर्षीय सडक र पुलहरु सम्पन्न गर्दैर्छौँ । प्राथमिकता तय गरेर हाम्रा पालिकाहरुका सदरमुकाम जोड्ने, जिल्ला सदरमुकाम जोड्ने, पर्यटकीय गन्तव्य जोड्ने, व्यापारिक गन्तव्य जोड्ने बाटाहरु पूर्णरुपमा बनाउने काममा छौँ ।

अन्त्यमा, संविधान दिवस, २०८१ को उपलक्ष्यमा नेपाली जनता र विशेषगरी प्रदेशवासीलाई के भन्न चाहनुहुन्छ ?

समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य लिएर आगाडि बढेको नेपालको संविधान विशिष्ट छ । जनताले लेखेको यस संविधानको रक्षामा हामी सबै लाग्नुको विकल्प छैन । यो संविधान स्थापना भएको, संविधान लागु भएको असोज ३ गते यो दिनलाई स्मरण गर्न चाहन्छु । यो दिवसमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सुख समृद्धि, उन्नति प्रगतिको कामना गर्दै संविधानले निर्दिष्ट गरेका लक्ष्यहरु पूरा गर्न कम्मर कसेर अगाडि बढ्नका लागि सबै दाजुभाइ दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै म आफ्नो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?

काठमाडौँ-नेपालसहित विभिन्न देशका दक्ष्य व्यक्तित्वहरूलाई ‘एसियन प्रोफेसन अचिभमेन्ट अवार्ड २०२४’ बाट सम्मान गरिएको छ । संविधान दिवसको अवसरमा सिजन मिडियाले अवार्ड प्रदान गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न मुलुकका व्यवसायीले अवार्ड वितरण गर्नुभयो । अवार्ड प्राप्त गर्नेमा ग्लोबल डिप्लोमेसी एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि गणतन्त्र भियतनामका अवैतनिक वाणिज्य दूत समेत रहेका उद्यमी, व्यवसायी डा राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरसीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल केसी र लिडरसीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक अनिल पोखरेल रहनुभएको छ ।

यस्तै आइकोनिक बिजनेस आन्टरप्रिनरसीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ, भिजनरी एडुुकेटर एण्ड रिसर्चर अवार्डबाट डा स्वागत श्रेष्ठ, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्डबाट युगेश भक्त बाडे श्रेष्ठ, ग्लोबल एडुकेशन लिडरशीप अवार्डबाट महेन्द्रराज कँडेल, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरसीप अवार्डबाट डा पियारत्न महर्जन सम्मानित हुनुभएको छ ।

यसैगरी सो अवार्ड कार्यक्रममा आउटस्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनऋषि धिताल, इनोभेटिभ लिडरसीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङ शु, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरसीप अवार्डाबाट पूर्वमिस नेपाल एवं सञ्चारकर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पङ्गेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लाकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, सुनिता अधिकारी वुमन आन्टरप्रिनरशी अवार्ड, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट प्रदीप तिमिल्सिना तथा इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत सम्मानित हुनुभएको छ ।

आआफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धिसँगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यावसायिक व्यक्तित्वबाहेक एसियन प्रोफेसनल अचिभेन्ट अवार्ड २०२४ ले विभिन्न मुलुकका व्यावसायिक सफलता हात पारेका व्यक्तिलाई पनि विभिन्न अवार्डबाट सम्मानीत गरेको थियो ।

जसअन्तर्गत पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्रेड लिडरसीप अवार्ड दिइयो । भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाइल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड प्रदान गरियो ।

बङ्गलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्वहरूको उपस्थिति थियो ।

संविधान कार्यान्वनयमार्फत नागरिकका आवश्यकता परिपूर्ति गरौँ : उपाध्यक्ष घिमिरे

काठमाडौँ, ३ असोज : राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्नेमा जोड दिनुभयो ।

“संविधान जारी भएको नौ वर्षको अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न पाएका छैनन्” सन्देशमा उहाँले भन्नुभएको छ, “संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्न सकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराउन चाहान्छु ।”

संविधानअनुसार आवश्यक कानुन नबनाइँदा तीन तह रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनमा समेत कठिनाइ भइरहेको उल्लेख गर्नुहुँदै उपाध्यक्ष घिमिरेले यथाशीघ्र कानुन तर्जुमा गरी संविधान कार्यान्वयनलाई पूर्णता दिन आवश्यक रहेको बताउनुभयो ।

संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ

पृथ्वीसुब्बा गुरुङ मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय/काठमाडौँ – संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीब्र गतिमा भैरहेको छ । यद्यपि मुलुकको आवश्यकता र नेपाली जनताको चाहनाअनुरुप गर्नुपर्ने कतिपय कार्यहरू भने हुन बाँकी नै छन् । हाम्रो जस्तै राजनीतिक सङ्क्रमणबाट गुज्रिएका अन्य कतिपय मुलुकको तुलनामा हामीले छोटो समयमै धेरै उपलब्धि हासिल गर्न सकेका छौँ । नेपाली जनताले लामो सङ्घर्षमार्फत आफनो संविधान आफैँले बनाएको संविधान हो । राज्यको निर्देशक, सिद्धान्त भनेर वा राज्यका दायित्वहरु भनेर हाम्रो राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तनका लागि जे कुरा उल्लेख गरेका छौँ एकदमै महत्वपूर्ण छन् । सारका हिसाबले यो संविधान विश्वको नामी भनिएका संविधानभन्दा कुनै अर्थमा कमी छैन । जनताको लामो बलिदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ र त्यसअनुसार जनप्रतिनिधिबाट तयार गरिएको संविधानले व्यवस्था गरेको तीन तहको सरकार गठन भई तिनीहरूले प्रभावकारी रूपमा काम गरिरहेका छन् भने अन्य संरचनाहरूको गठन एवं ऐन कानुनहरूको तर्जुमा भई कार्यान्वयन भइरहेका छन् । सातवटै प्रदेशहरू र ७५३ वटै स्थानीय तहले योजना, बजेट व्यवस्थापन र आवश्यक कानुनको तर्जुमा गरी सङ्घीयताको मर्म र भावनालाई व्यवहारमा उतार्ने सार्थक प्रयत्न गरेका छन् ।

संविधान कार्यान्वयनमा केही चुनौतीहरू नभएका भने होइनन् । अबको समस्या भनेको संविधानका प्रावधानमा नीहित भावलाई व्यवहारमा कसरी रुपान्तरण गर्छौं भन्ने हो । क्रान्ति गरेर मात्र हँुदैन । क्रान्तिपछि निर्मित संविधानलाई वा क्रान्तिको सन्देशलाई चाहीँ कसरी सामाजिक, आर्थिक एवं सांस्कृतिकरुपमा रुपान्तरण गर्छौं भन्ने कुराको परीक्षा अहिले चलिरहेको छ । सङ्घीय शासनको मर्म र सिद्धान्तअनुरुप हाम्रो आचरण, व्यवहार र शैलीमा परिवर्तन ल्याउन जरुरी छ । हाम्रो प्रणाली नयाँ छ तर हाम्रो सोच पुरानै छ । नयाँ संविधानअनुसार हाम्रो सोचलाई लोकतान्त्रीकरण गर्न गराउन सकिरहेका छैनौँ । हामी नयाँ प्रणालीमा गएपछि नयाँ परिणाम खोज्छांै तर त्यस हिसाबमा संविधान कार्यान्वयनको जुन रफ्तारमा जानुपर्ने हो हामीले त्यो ‘स्पीड’ कायम गर्न सकेका छैनौ कि ? सोचनीय छ ।

संविधान कार्यान्वयनमा एउटा चुनौती भनेको आवश्यक कानुनहरु तर्जुमा हुन बाँकी रहनु हो । संविधानअनुसार धेरै कानून बनेका छैनन् । खासगरी सङ्घीय तहमा प्रहरी र निजामती ऐन परिमार्जन नहुँदा प्रहरीको बाँडफाँट र कर्मचारीको व्यवस्थापन गर्न समस्या भएको छ । संविधानअनुसार प्रहरी र निजामती कर्मचारी तीनै तहको सरकारको अधिकारभित्र राखिएको छ । तर यसको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । सङ्घीय निजामती सेवा ऐन अहिलेसम्म बनेको छैन । निर्माणको काम तीनै तहको सरकारले गर्छ तर सार्वजनिक खरिद ऐन समयानुकूल परिवर्तन भएको छैन । ऐन कानुनको यथोचित व्यवस्थापन नहुँदा पनि संविधानमाथि प्रश्न उठिरहेको छ । संविधानमा तीन तहका सरकारको साझा अधिकारका सूची लामो र एकल अधिकारका सूची छोटो भएका कारण कतिपय अधिकारका विषयमा सङ्घ र प्रदेश, प्रदेश र स्थानीय तहबीच दोहोरोपन देखिएकाले पनि अभ्यासमा अलमल भएको हो । यसले गर्दा योजना तर्जुमादेखि बजेट कार्यान्वयनमा समेत समस्या आएको छ ।

कानुन तर्जुमा हुन नसकेको अवस्था पनि अब धेरै समय रहँदैन । वर्तमान सरकारले छिट्टै सङ्घीय निजामती ऐन ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको छ । हाल प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अन्तिम छलफलमा रहेको यस ऐनलाई छिटोभन्दा छिटो पारित गरी कर्मचारी प्रशासनलाई सङ्घीय ढाँचामा लगिने छ । त्यस्तै प्रहरी ऐनलाई पनि परिमार्जन गरी प्रदेश प्रहरीको व्यवस्था भएपछि सङ्घीयता कार्यान्वयनमा देखिएको अन्योल स्वतः समाप्त भएर जानेछ ।

अहिले पनि थुप्रै पञ्चायतकालीन कानुनहरु कार्यान्वयनमा छन् । तिनले समयको मागलाई सम्बोधन गर्न सक्दैनन् । त्यसैले पुराना व्यवस्थाका कानून खारेज वा आवश्यकताअनुसार संशोधन गरेर समयसाक्षेप नयाँ कानून बनाउन आवश्यक छ । यसतर्फ विभिन्न चरणमा काम भइरहेका छन् । संविधानमा नै संविधान कार्यान्वयन गर्दा हरेक १० वर्षमा यसका सकारात्मक र नकारात्मक पक्षको मूल्याङ्कन गरी आवश्यक संशोधन गर्न सकिने सोच राखिएको छ । त्यस आधारमा अहिलेसम्मको अनुभवबाट संविधान कार्यान्वयनमा देखिएका कमीकमजोरीलाई सच्याएर आगामी दिनमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर लैजाने अवसरको उपयोग गर्ने समय आएको छ । राजनीतिमा विश्वासको वातावरण बनाउन आवश्यक छ । यद्यपि हामी यस्तो भूराजनीतिमा छौँ, जहाँ बोल्दा पनि तौलेर बोल्नुपर्ने, हिडदा समेत चाल पु¥याएर पाइला चाल्नुपर्ने ठाउँमा छौँ । तर जुनसुकै राजनीतिक व्यवस्थामा पनि हामीमा सहकार्यको एउटा राम्रो संस्कार छ । त्यसले ती कठिनाइहरुलाई पनि सजिलै समाधानको बाटो पहिल्याउन मद्दत गर्दछ । यसको पछिल्लो उदाहरण वर्तमान सरकारको गठन पनि हो । संविधान कार्यान्वयनमा रहेका केही कमीकमजोरीलाई देखाएर शासन प्रणालीमाथि नै प्रश्न उठाउन खोज्ने र जनतालाई भड्काउने दुस्प्रयासलाई विफल तुल्याउन नेपाली काँग्रेस र नेकपा (एमाले) बीचको गठबन्धन सरकार बनेको छ । हिजो मुलुकमा प्रजातन्त्र स्थापनादेखि सङ्घीय गणतन्त्र ल्याउने आन्दोलनमा प्रमुख सहयात्री रहेका यी दुई दलबीच पुनः संयुक्त सरकार बन्नुको मुख्य उद्देश्य संविधान कार्यान्वयन गर्नु, शासन प्रणालीलाई जनमुखी बनाउनु र देशलाई समृद्धिको बाटोमा हिंडाउनु रहेको छ । सरकार गठन गर्दा मुख्य सहमतिको विषय भनेकै संविधानमा रहेका कमीकमजोरीलाई सच्याएर जनतालाई सङ्घीयताको प्रत्यक्ष अनुभूत गराउनु रहेको छ । यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको छ । कतिपयले शासन प्रणालीबारे प्रश्न गरे पनि त्यो अहिले सम्भव छैन ।

समानुपातिक प्रतिनिधित्वका कारण सङ्घीय र प्रदेश तहमा राजनीतिक अस्थिरता देखिएको भन्दै कतिपय कोणबाट प्रश्न उठेको अनुभव गरिएको छ । यसो हो भने समानुपातिक प्रणालीलाई पूर्णरूपमा हटाउन नसकिए पनि यसलाई व्यवस्थित गर्नेतर्फ सोच्न सकिन्छ । स्थानीय तहमा प्रत्यक्ष निर्वाचन हुने हुँदा त्यहाँ अस्थिरता छैन । प्रदेशको मुख्य मन्त्रीको निर्वाचन प्रत्यक्ष निर्वाचनबाट गर्ने हो भने त्यसले स्थिरता दिन सक्छ कि भन्ने विषय उठ्न थालेको छ । राजनीतिक प्रणाली फेरिए पनि हाम्रो चरित्र र स्वभाव एकैचोटी फेरिन समय लाग्छ । आफूसँग भएको अधिकार अर्कोलाई दिने भनेको बोले जस्तो व्यवहारमा आउन त्यति सजिलो नहुने रहेछ । यो प्रवृत्तिको कुरा पनि हो । तर विस्तारै त्यसमा परिवर्तन हुँदै पनि गएको छ ।

संविधान तर्जुमा गर्दा तीनै तहका सरकारबीच समन्वय गर्न विभिन्न संयन्त्रको व्यवस्था गरिएको छ । सङ्घ र प्रदेश सरकारबीच समन्वय गर्न प्रधानमन्त्रीको संयोजकत्वमा एक परिषद्को व्यवस्था गरिएको छ । यद्यपि, यस परिषद्को बैठक नियमित हुन नसक्दा एकापसमा अविश्वासको वातावरण बनेको छ । त्यस्तै प्रदेश र स्थानीय तहको प्रतिनिधित्व हुने गरी कानुनले छुट्टै प्रदेश समन्वय परिषद्को व्यवस्था गरेको छ । योजना तर्जुमा, बजेट कार्यान्वयनमा दोहोरोपन नआओस् र विकास निर्माणमा समस्या नरहोस् भन्ने उद्देश्यले राष्ट्रिय विकास समस्या समाधान परिषद् र प्रदेश विकास समस्या समाधान परिषद्को व्यवस्था छ । ती संयन्त्रहरूको राम्रोसँग कार्यान्वयन हुन सके धेरै समस्याको समाधान गर्न सकिन्छ र यसमा पछिल्ला वर्षहरूमा धेरै सकारात्मक पहलहरू भएका पनि छन् ।

जनताको भावनाअनुसार राज्य सञ्चालन गर्ने जिम्मेवारी लिएका राजनीतिक पार्टीको कार्यशैलीका कारण पनि मुलुकमा राजनीतिक अस्थिरता बढेको देखिएको छ । सरकार छिटोछिटो परिवर्तन हुनु भनेको राजनीतिक अस्थिरतालाई निम्त्याउनु हो । यसमा पार्टी र नेताहरु गम्भीर हुनु जरुरी छ । भूराजनीति परिस्थितिका सन्दर्भमा सोचिनु अपेक्षित छ । हाम्रो परराष्ट्र नीति पनि चुस्तदुरुस्त हुुनपर्छ । हामीले कसैसँग बैरभाव नराखी आफनो ‘स्ट्यान्ड’मा स्वाभिमानसहित बस्न सक्नुपर्छ । तेस्रो कारण निर्वाचनबाट जनताले कुनै एक दललाई ‘क्लियर म्यान्टेड’ दिएनन् । कुनै राजनीति दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा सरकार गठन र बिघटन भैरह्यो । यस्तो हुन नदिन निर्वाचन प्रणालीमा सुधार, राजनीतिक दलमा इमान्दारी र जनतामा जिम्मेवारीपनको खाँचो पर्दछ । यी सबै मुद्दाहरुको सैद्धान्तिक रुपमा सम्बोधन गर्ने प्रयत्नको दस्तावेज भनेकै संविधान हो । हाम्रो सामथ्र्यमा मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक सबै कुरा सम्बोधन गर्ने गरेर संविधान बनाएको हो । यसमा समयसाक्षेप परिवर्तन गर्दै लैजान सकिन्छ ।

आफ्नो हावा, पानी र माटो सुहाउँदो, भूराजनीतिक परस्थितिअनुसार सङ्घीय प्रणालीमा गएर संविधान निर्माण भएको छ । यसको पूर्ण कार्यान्वयन हुन सकेको अवस्थामा जनतामा देखिएको निराशा स्वतः हटेर जानेछ र देश समृद्धिको यात्रामा धेरै अगाडि पुगिसकेको हुनेछ । (प्रस्तुत विचार सञ्चार तथा सूचना प्रविधि मन्त्राी गुरुङसँग कृष्ण अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश । )

संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध – पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोजःपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै यसले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका साथै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट देशको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।

पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई शासनको मूल प्रवाहमा समाहित गर्न अवलम्बन गरिएको समावेशीकरणलाई लक्ष्यित वर्ग र समुदायमा अझै सशक्त रूपमा पुर्याउनु आवश्यक भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि देशको संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न तथा संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकारहरूको कार्यान्वयन गर्दै राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नका लागि सुदृढ, सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आवश्यक भएको बताउनुभएको छ ।

नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस मनाइरहेको सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिह शुभकामना व्यक्त गर्नुभएको छ ।

समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्छः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, ३ असोजः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विगतका संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानवअधिकार, समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

दशौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले स्थिरता, जनसहभागिता, हकअधिकारको संरक्षण र समृद्धि नै संवैधानिक मार्गचित्र हो भन्नुभयो । “हाल सरकार पक्षबाट संविधान संशोधनको विषय उठाइएको छ, यसमा सार्वजनिक चासो र बहस पनि भइरहेको छ । स्थिरता, जनसहभागिता, हकअधिकारको संरक्षण र समृद्धि नै संवैधानिक मार्गचित्र हो र यसलाई सम्वर्द्धन गर्नु नै आजको लोकतन्त्रको सारभूत विषय पनि हो । हाम्रा सबै क्रियाकलाप यसैतर्फ केन्द्रित हुनुपर्दछ भन्ने लाग्दछ । यसप्रति सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

विगतको लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम् प्रयासबाट नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरेको स्मरण गर्नुहुँदै पूर्वअध्यक्ष रेग्मीले वीर शहीदको बलिदान, घाइते, अपाङ्गता भएकाहरूको सङ्घर्षपूर्ण जीवनले नेपाली जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घच्याइरहेको उल्लेख गर्नुभयो । “अब पनि पछि पर्ने अलमलिने र अलमल्याउने छुट कसैलाई छैन, आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन्”, सन्देशमा भनिएको छ ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण विषय र आवश्यकता भएको औँल्याउनुभयो । साथै सरकार र राजनीतिक दलले जनचाहनाअनुरुप गर्ने परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने र संविधानको लक्षित उद्देश्यतर्फ अघि बढ्ने उहाँको विश्वास छ ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसको शुभ अवसरमा नेपाली जनताको आकाङ्क्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस् भन्ने अपेक्षा र कामना गर्नुभएको छ ।

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

म्याग्दी, ३ असोजः चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् ।

यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए । प्राचिन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।”

समुन्द्रि सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित जोङ्ग गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ्ग’ भन्दछन् । भुइँसहित छ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् ।

हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने झ¥याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताउनुभयो । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ । “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन”, उहाँले भन्नुभयो, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।”

किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ ।

गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताउनुभयो । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ्ग ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उहाँको भनाइ छ ।

यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा अवलोकन गर्दा ढुङ्गे युगको जस्तो कल्पना भएको प्रतिक्रिया दिनुभयो । “बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चार्य लाग्यो”, उहाँले भन्नुभयो,“परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ ।”

लोमान्थाङ गाउँपालिकाले यहाँ आउने पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतिक्षालय भवन निर्माण गरेको अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । “जोङ्ग गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्द्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन,” उहाँले भन्नुभयो “जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भ¥याङ पनि गाउँपालिकाले नै बनाएको छ ।”

बेनी–जोमसोम–कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ्ग गुफाको परिसरसम्म गाडीमा पुग्न सकिन्छ । चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्छन् ।

यसरी अवलोकनका लागि आउनेहरूले यहाँ राखिएको  पुस्तिकामा अवलोकनपश्चात अर्कै संसारमा पुगेको अनुभूति हुने गरेको विचार व्यक्त गरेका छन् । कतिपयले ‘आश्चर्यजनक प्राकृतिक सम्पदा’ भनेर आफ्ना विचार व्यक्त गरेका छन् । यस गुफाबारे अनुसन्धान गरी ऐतिहासिक महत्व र तथ्यको पहिचान तथा तिनको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । यसो गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीमा समेत हुने सम्भावना छ । हाल भइरहेको आम्दानीलाई पनि गाउँपालिकाले सङ्कलन र परिचालन गरी सोहीअनुसार गुफाको संरक्षण, विकास र प्रवर्द्धनमा लाग्नुपर्नेमा धेरैको जोड छ । 

इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस्ः सभामुख घिमिरे

काठमाडौँ, ३ असोज : सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभयो । “नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन” शुभकामना सन्देशमा भनिएको छ,“तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो ।”

सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाईभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गर्नुभयो ।

सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ, “संविधान दिवसका दिन सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गर्दछु । संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।”

सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा सङ्घर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

संविधान संशोधन प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छःअध्यक्ष दाहाल

काठमाडौँ, ३ असोज : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयम्का लागि मान्य हुन सक्दैनन् । विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै यस दिवस मनाउनुको सार्थकता हुनेछ ।”

संविधान जारी भएयता सङ्घीय संसद्ले थुप्रै ऐन कानुन बनाएको र अझैँ केही महत्वपूर्ण कानुन बनाउन बाँकी रहेको जनाउनुहुँदै उहाँले संविधानअनुकूलका कानुन छिटो बनाई शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको दायित्व भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “दिवसले संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहन, इमान्दारितापूर्वक पालना गर्न र जनताप्रति उत्तरदायी बन्न प्रेरणा प्राप्त होस्, संविधान दिवसको हार्दिक शुभकामना ।”

यसैगरी नेपालको राजनीतिक इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना भएको उल्लेख गर्नुहुँदै उहाँले आफ्ना प्रतिनिधिले बनाएको संविधानबाट शासित हुने सात दशक लामो जनचाहना वर्तमान संविधानबाट पूरा भएको स्मरण गर्नुभयो । “दशवर्षे सशस्त्र युद्ध, २०६२÷६३को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका मधेस आन्दोलन, आदिवासी जनजाति, थारू, दलितका विभिन्न आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएको हो”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने गरी जारी संविधानमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी÷समानुपातिक प्रणालीलगायत महत्वपूर्ण उपलब्धि लिपिबद्ध गरी आम नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी भएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्णपालनाका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।” 

अध्यक्ष दाहालले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना र राजनीतिक परिवर्तनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली तथा बेपत्ता तथा घाइते, अपाङ्गप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । 

संविधानको कार्यान्वनयमार्फत जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ: अध्यक्ष दाहाल

काठमाडौँ, ३ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताउनुभयो ।

सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्नुहुँदै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो”, शुभकामना सन्देशमा भनिएको छ ।  

संविधानको थप सुदृढीकरणकका लागि आफ्नो पार्टीले निरन्तर अभियानात्मक कार्यक्रमअघि बढाउने तयारी गरिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यस अभियानमा सहभागी हुन आमजनसमुदायमा अपिल गर्नुभयो । दिवसले संविधान कार्यान्वयनमा बाँकी रहेका काम तदारुकता र दृढताका साथ कार्यान्वयन गर्न उत्प्रेरणा मिलोस् भनी उहाँले कामना गर्नुभएको छ ।

अध्यक्ष दाहालले संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति बधाई र शुभकामनासमेत व्यक्त गर्नुभएको छ । उहाँले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणस्तरसम्म ल्याइपुर्याउन जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायतमा प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण र सम्पूर्ण बेपत्ता योद्धा, घाइते तथा अपाङ्गतालगायतमा सम्मान प्रकट गर्नुभएको छ । 

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा

काठमाडौँ, ३ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । “यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ”, सभापति देउवाले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आजको यस घडीमा संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प जरूरी रहेको सभापति देउवाको भनाइ छ ।

पूर्वप्रधानमन्त्री देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदको समर्पण र बलिदानको उच्च कदर गर्नुहुँदै संविधान दिवसका अवसरमा उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका अग्रज नेतागण, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने वीर सहिदहरू, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, सङ्घर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्व, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौँ, ३ असोज: आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ । गएराति ८ बजे मध्यपुरथिमि –५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिर यात्रा गर्नु भएको थियो ।

श्रेष्ठले जिब्रो छेडाएर थिमिबाट यात्रा गर्नुभई निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपति नाथ दर्शनका लागि पुग्नुभएको थियो ।

आज राति करिब १२ः३० बजेको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिमा जात्राको स्वागत गर्दै पशुपति क्षेत्र विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाएका श्रेष्ठको जिब्रोमा परम्पराअनुसार पशुपति मन्दिर परिसरमा शुद्ध तोरीको तेल राखिदिनुभएको जात्रामा सहभागी रासस फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले जिब्रो छेडेर १७ वटा दीप भएको चन्द्राकारको ‘भ्येय’ बोकेर पैदल यात्रा गरी पशुपति पुग्नुभएको थियो ।

पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कने र सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउँमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा छ ।

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौँ, ३ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । संविधान दिवस–२०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुने बताउनुभयो ।

उपराष्ट्रपति यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेका समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशीतालगायत प्रावधानलाई सबैले पालना गर्न सक्नुपर्नेमा जोड दिनुभयमे । “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँड गर्न अझै पनि विलम्ब हुनुले सङ्घीयताप्रति नै वितृष्णा बढेको जस्तो देखिएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न गराउन अतिआवश्यक र अपरिहार्य छ,” उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले संविधानको मर्म र भावनाअनुसार प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै रोजगारका अवसर प्राप्त हुनेगरी काम गर्न सबैलाई संविधान दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले संविधानको प्रस्तावनामै ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य’ उल्लेख हुनु र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत हुनुले संविधानको गरिमा र जनताको सर्वोच्चतालाई पुष्टि गरेको उल्लेख गर्नुभएको छ ।

संविधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा पनि परिभाषित गरेको जनाउनुहुँदै उहाँले नेपाली नागरिकलाई न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूति गर्दै एकता र बन्धुत्व भावलाई बढावा दिने प्रयास संविधानले गरेको उल्लेख गर्नुभएको छ । “सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानता र न्यायसम्बन्धी हक तथा शिक्षा, स्वास्थ्य, खाद्य, रोजगार, स्वच्छ वातावरण र सामाजिक न्यायलगायत अधिकार ‘मौलिक हक र कर्तव्य’ मै समावेश गरिनु सकारात्मक त छँदैछ, यसले संवैधानिक उच्चता र गरिमालाई पनि दर्शाउँदछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ पटक–पटक भएका जनआन्दोलन, विद्रोह र अधिकार प्राप्तिका सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली, घाइते र अङ्गभङ्ग भएकाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले लोकतन्त्र, समावेशीता एवं अग्रगामी परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण अग्रजप्रति सम्मानका साथ संविधानको कार्यान्वयनमार्फत् नेपाली नागरिक र राष्ट्रहित तथा मुलुकको समृद्धि एवं दिगो विकासको शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल

काठमाडौँ, ३ असोज: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, यसका लागि राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।” उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एकजुट हुन प्रेरणा दिने अपेक्षा गर्नुभएको छ ।

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य र सुशासनको माध्यमबाट उपलब्ध साधन स्रोतको उचित व्यवस्थापन गर्दै न्यायोचित वितरण गर्न सके नेपाल समुन्नत राष्ट्र हुन सक्दछ ।”

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनामा बहुजातीय, बहुभाषिक एवम् बहुसंस्कृतिक पक्षलाई संविधानले समान संरक्षण प्रदान गरेको जनाउनुहुँदै राष्ट्रपति पौडेलले आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैँबाट हुन नहुने धारणा राख्नुभयो । उहाँले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, बचन र कर्मले समर्पित भई आ–आफ्ना तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि कष्टपूर्ण सङ्घर्ष गरेका योद्धा तथा विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताप्रति सम्मान र लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेपाली जनताको सङ्घर्ष र बलिदानपछि स्थापित संविधानसभाबाट विसं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ, ३ असोज ः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंककानुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ ।
राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २० रुपैयाँ ०३ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल ओमनसँग पराजित

काठमाडौं, ३ असोज : आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौँ, ३ असोज : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । आजै साँझै राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण भएको छ । संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ । यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गर्नुभएको छ ।
सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौँ, ३ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो । आज काठमाडौँको अधिकतम तापक्रम ३१ डिग्रिसेल्सियस रहनेछ । उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम बुलेटिनअनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणयता बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यता सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको छ ।

लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा

ललितपुर, २ असोजः ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज समापन भएको छ । ललितपुरमा हरेक वर्ष मनाइने इन्द्रजात्रा लाखे नाचसहित समापन भएको हो ।

असोज १ गते मङ्गलबार ललितपुरको वडा नं १ स्थित सङ्कटा मार्ग मन्दिर परिसरबाट खट जात्रासहित सुरु भएको इन्द्रजात्रा आज लाखेनाचसहित टोल परिक्रमा र पूजा आराधनागरी समापन गरिएको हो ।

आज लाखेनाचसहित सङ्कटा मार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी मुसिङ्गाल चोक, ग्याँस डिपो, लीलाघर, कुमारी मन्दिर, जनकपुर कलेज, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तिनखम्बा चोक, भजन मण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसर परिक्रमा गरिएको छ ।

जात्रा सुरु भएको पहिलो दिन पनि सङ्कटा मार्ग मन्दिर परिसरबाट लाखेनाचसहित टोल परिक्रमा गरिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा आयोजना गर्दै आएको ललितपुर महानगरपालिका– १ का वडाध्यक्ष निर्मल तण्डुकारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ऐतिहासिक इन्द्रजात्राको आयोजना गर्न पाउँदा खुसी छौँ । यो वर्षको इन्द्रजात्रा हर्षोल्लासको साथ मनाइयो । अर्को वर्ष अझै राम्रोसँग मनाउने अपेक्षा राखेका छौँ ।”

सहकालको देवताका रुपमा इन्द्रजात्रा बाह्रौँ शताब्दीदेखि मनाउँदै आएको किंवदन्ती छ वडाअध्यक्ष तण्डुकारका अनुसार ४० वर्षदेखि रोकिएको इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाने

काठमाडौँ, २ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

उहाँले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरो (एलडिसी) को अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्रीसतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने तालिका छ ।

उहाँले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनुहुनेछ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशन घोषणा

काठमाडौँ, २ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ । रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्नुभएको छ । रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो ।

विश्वकप लिग दुई : नेपालले टस हा-यो, पहिला ब्याटिङ गर्दै

काठमाडौँ, २ असोजः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले टस हारेसँगै पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ ।
क्यानाडाको किङ सिटीमा भर्खरै भएको टसमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नपाललाई ब्याटिङको निम्तो दिएका हुन् । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सन्दीप लामिछाने, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, सोमपाल कामी, गुलशन झा र करण केसी छन् । 

त्यसैगरी ओमानको प्लेइङ ११ मा कप्तान अकिब इलियाससँगै जतिन्दर सिंह, कश्याप प्रजापति, प्रतिक अथभले, खालिद कैल, आयन खान, शोएब खान, फैज बट, जय ओडेरा र कलिमुल्लाह छन् ।  यस त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र आयोजक क्यानडाको सहभागिता रहेको छ । एकदिवसीय त्रिकोणात्मक शृङ्खला यही असोज १० गतेसम्म चल्नेछ । 

रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गलाई पहिलो प्राथमिकता दिएका छौँ : मन्त्री दाहाल

काठमाडौँ, २ असोजः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गलाई सरकारले पहिलो प्रथामिकता दिएको बताउनुभएको छ । आज नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘नेपालमा रेल्वे विकासको रोडम्याम’ अन्तरक्रियामा उहाँले उक्त रेलमार्ग निर्माणको कार्यलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।

“अयोध्या–जनकपुर रेलमार्ग भारतको पनि प्राथमिकतामा परेको छ । यसलाई कसरी लैजाने भन्ने  छलफल गरर निष्कर्ष लैजाने कुरा भएको छ”, उहाँले भन्नुभयो, “रेल्वे निर्माणमा मुआब्जा, रेखाङ्कनलगायत समस्या जटिल रहेको छ, यी समस्या समाधान गरेर अगाडि बढ्नेछौँ ।” रेल्वे निर्माणका क्रममा करिब रु ४० खर्बसम्म मुआब्जा तिर्नुपर्ने भन्दै मन्त्री दाहालले मुआब्जा दिएर जसरी पनि सरकारले योजना बनाउने बताउनुभयो । 

“पूर्वाधार क्षेत्रमा बाहिर लगानीकर्ता आएर बनाइदेलान् भन्ने विश्वास छैन, पूर्वाधार हाम्रै लगानीमा बनाउनुपर्छ भन्ने मलाई लाग्छ”, उहाँले भनुभयो, “राष्ट्रिय यातायात नीति संशोधन गर्नेछौँ, एकीकृत यातायातको अवधारणाको नीतिअनुसार अगाडि बढ्नेछौँ ।” 

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा दिनेश देवकोटाले नेपालका सन्दर्भमा रेल यातायात निर्माण अत्यावश्यक रहेको बताउनुभयो । “काठमाडौँलगायत ठूला सहरमा बढ्दै गएको जनसङ्ख्याको चापसँगै रेल यातायात सञ्चालन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । 

रेल विभागका पूर्वमहानिर्देशक रोहितकुमार विसुरालले आधुनिक उद्योग तथा विकासको क्रमसँगै बर्तमान विश्व रेल्वे सञ्जाल फैलाउनेतर्फ गइरहेको बताउनुभयो । उहाँका अनुसार  ठूलो परिणाममा लामो दूरीमा सस्तो, सुरक्षित र सजिलो विकासले ढुवानीका लागि रेलमार्ग उत्तम विकल्प हो । 

“रेल्वे विकासमा अहिलेसम्म ३३ अर्ब मात्रै खर्च भएको छ, आर्थिक वर्ष २०६८/०६९ पछि मात्रै रेल्वेमा खर्च गर्न थालिएको हो”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार लागत व्यवस्थापन, मुआब्जा विवाद समाधान, राजनीतिक सहमतिलगायत रेल्वे निर्माण कार्य दु्रत गतिमा अगाडि बढाउनका लागि मुख्य चुनौती रहेको छ ।”

देशलाई बाँसमा आत्मनिर्भर बनाइनेछ : वनमन्त्री शाही

काठमाडौँ, २ असोज : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाँस दिवसको अवसर पारेर आज काठमाडौँमा पारिवारिक निजी वन सङ्घ र ग्रीन फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उहाँले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना रहेको बताउनुभयो ।

“बाँसमा आन्तनिर्भर बनाउँदै निर्यात प्रवर्द्धन गरिनेछ, तिनै तहका सरकराले विषेश ध्यान दिएर बाँस उत्पादन बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “पहिरो नियन्त्रण गर्न, भूक्षय रोक्न, आर्थिक सुधारका लागि बाँसको महत्त्व छ, बाँसलाई महत्त्वपूर्ण पार्टका रुपमा विकास गर्नेछौँ, यसका लागि अन्तरसरकारी निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्नेछाँै ।”

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले विश्वमा १५ सय बाँस रहेको र नेपालमा भने ५२ प्रजातिका बाँस पाउने भन्दै विश्वमा नपाइने सात प्रजातिको बाँस नेपालमा पाउने जानकारी दिनुभयो । “बाँसको अनेक तरिकाले प्रयोग गर्ने भएकाले यसको निर्यातको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “बाँसको उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्नसकेमा मुलुकको अर्थतन्त्र सुधार गर्न सकिन्छ, चुरेमा पहिरो नियन्त्रणका लागि बाँस उत्पादन बढाउन जरुरी छ । ”

वनविद् तथा पूर्ववन सचिव डा अन्नपूर्णनन्द दासले नेपाली बजारमा तामाको सम्भावना रहेको र विदेशी बजारमा भने बाँस निर्यात गर्न सकिने बताउनुभयो । सामुदायिक वन अभियन्ता धनश्याम खड्काले बाँसको उत्पादनले आर्थिक विकास तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने बताउनुभयो । पारिवारिक निजी वन सङ्घका अध्यक्ष जोगराज गिरीले बाँसको महत्त्वकाबारे उजार गर्दै सरकारले बाँसखेती प्रवर्द्धनको नीति लिनुपर्नेमा जोड दिनुभयो । 

भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान

नारायणगढ (चितवन), २ असोज : राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा भरतपुर महानगरपालिकाले महानगरभित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान एवं पुरस्कार वितरण गरेको छ । आज भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच महानगर उपप्रमुख चित्रसेन अधिकारीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउने संस्थागत र सामुदायिक विद्यालयका १६ छात्र छात्रा र कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने छ छात्रछात्रालाई शिक्षा दिवसको अवसरमा सम्मान गरिएको हो । महानगरले परीक्षामा उत्कृष्ट नतिजा ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विद्यालय र शिक्षक शिक्षिकालाई सम्मान गरेको हो । संस्थागत र सामुदायिक विद्यालयका ४० उत्कृष्ट शिक्षकलाई सिकाइ उपलब्धिको आधारमा सम्मान गरिएको महानगरले जनाएको छ । सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यालयका रुपमा सामुदायिकका तर्फबाट नारायणी नमूना माध्यमिक विद्यालय र संस्थागत विद्यालयका तर्फबाट लिटिल फ्लावर स्कुललाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा आधारभूत तहस्तरीय निबन्ध प्रतियोगिता र माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । नगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षण सिकाईका लागि हरेक कुरा सिक्न उत्साहित गर्ने शिक्षक आजको आवश्यकता रहेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भुमीलाल सुवेदीले विकासको पुर्वाधार निर्माणको लागि शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो ।

इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न

भक्तपुर, २ असोज : इन्द्र जात्राको अवसरमा आज पूर्णिमाका दिन साँझ बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराएर भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृह भित्र्याएर जात्रा सम्पन्न गरिएको छ ।

इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित देवतालाई हिजो साँझ इन्द्र दहमा पु-याएर रातभर दिपावली गरी आज बिहानदेखि दिनभर इन्द्र दहमा स्नान गर्ने र इन्द्रको पुजा गर्दै मेला भरेर देवतालाई भक्तपुर परिक्रमा गराउँदै साँझ देवगृह भित्र्याए पछि जात्रा सम्पन्न भएको हो ।

नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको किंवदन्ती छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास रहेकाले यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने प्रचलन रहेको संस्कृति एवं इतिहासविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।

इन्द्र दहमा स्नान गरी समय् अर्थात भोज चढाएर, भोज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमान गराई देवगृह पु-याइएको छ ।