`

स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिनेछ – स्वास्थ्यमन्त्री पौडेल

पाटन (ललितपुर), २ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७औँ गणेशमान सिंह स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा भएको बताउनुभएको हो ।

“स्वास्थ्य बीमा सबै स्थानीय तहमा लागु गर्ने अभियानमा छौँ, अहिले व्यवस्थापकीय कमजोरीका कारण समस्या देखिएको हो, यसमा सुधार गर्न सकिन्छ, सरकारले स्वास्थ्य सुविधा दिन ३१ अर्ब व्यवस्थापन गरेको छ, स्वास्थ्य बीमा एकद्वार प्रणालीबाट एकीकृत ढङ्गले चलाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले अरु देशमा व्यक्तिको योगदानका आधारमा स्वास्थ्य बीमा सञ्चालन हुने गरेको बताउनुभयो । नेपालमा यसलाई व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट रकम बीमा कोषमा जम्मा गर्नुपर्नेमा जोड दिनुभयो । “तिर्न नसक्नेको दायित्व राज्यले दिने व्यवस्था गर्न सकिन्छ, सक्नेले योगदान गर्नुपर्छ, ठूला कम्पनीहरुले सामाजिक उत्तरदायित्वको रकम स्वास्थ्यमा खर्च गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

रोग लागेपछि उपचारभन्दा रोग नै लाग्न नदिने अवस्था सृजना गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले खाद्यान्न स्वास्थ्यको मुख्य विषय भएकाले निरोगी बनाउने गरी खाने कुरालाई स्वास्थ्यसँग जोड्न सक्नुपर्नेमा जोड दिनुभयो ।

अस्पतालले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको उहाँको धारणा थियो । उहाँले देशमा कुनैपनि विषयमा अनुसन्धान नहुने गरेको बताउनुभयो । मन्त्री पौडेलले गणेशमान सिंह विचारलाई पदसँग नसाट्ने र प्रधानमन्त्री पद समेत त्याग्न सक्ने प्रतिबद्धता भएको व्यक्ति भएको स्मरण गर्नुभयो । सङ्घर्ष र निष्ठामा गणेशमानको जस्तो उचाइ कसैले प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपकप्रकाश बास्कोटा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, सहमहामन्त्री ऋषिराम घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो ।

आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार

काठमाडौँ, २ असोज : राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेका दीपक सिलवालको अवस्थाबारे अनुगमन गरी जीवनरक्षाका लागि गृहमन्त्रालाई पत्राचार गरेको छ ।

प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकको स्वास्थ्योपचार गर्न आपत्कालीन हेली उद्धार गरी पाउँ भनी गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनशनमा रहनुभएका तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवालको स्वास्थ्यावस्था सम्बन्धमा आयोगले अनुगमन गरी उक्त पत्राचार गरेको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले सिलवालको जीवनरक्षाका लागि आजै गृहमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो ।

पत्रमा भनिएको छ, “अनुगमनका क्रममा निज सिलवालको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको पाइएकाले निजको स्वास्थ्योपचारसहित जीवनरक्षाका लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिलबमोजिम पत्राचार गरेको छ ।”

प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन

काठमाडौँ, २ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई चुस्त, छरितो र विश्वसनीय बनाउन प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ ।

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको आज निरीक्षण गर्दै मन्त्री गुरुङले सबैभन्दा संवेदनशील सेवा भएकाले सेवाग्राहीमैत्री एवं विश्वसनीय भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

यो वर्ष राष्ट्रिय हुलाक नीति बनाएर हुलाकसँग सम्बन्धित अधिकांश समस्या समाधान गर्ने विश्वास दिलाउँदै सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले हप्ताको एक दिन ट्रकमार्फत डाँक सेवा प्रदान गर्दैै आएकामा अबदेखि दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । “किन हप्ताको एक दिन सेवा दिने ? सहजीकरण गर्न मन्त्रालय तयार छ । तर, दैनिक रुपमा ट्रक डाँक सेवा सञ्चालन गर्नुहोस्”, उहाँले भन्नभुयो, “अहिलेको समयमा जतिसक्दो चाँडो सेवा दिन जरुरी छ ।”

हुलाक कार्यालयका सबै गतिविधिलाई डिजिटल बैंक (इसेवा, क्युआर) बाट भुक्तानी गर्ने व्यवस्थामा लैजानुपर्नेमा जोड दिँदै उहाँले विश्व हुलाक सङ्घसँग सम्झौता गरिएकाले सङ्घको मापदण्डअनुसार हुलाक कार्यालयको संरचना बन्नुपर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना मन्त्रालयका सचिव राधिका अर्यालले विसं १९३५ मा ‘नेपाल हुलाक घर’ को नामबाट सेवा सुरु गरेको गोश्वारा हुलाक आफैमा ऐतिहासिक महत्त्व रहेको बताउनुभयो । समयानुकूल प्रविधिमैत्री हुलाक बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पु¥याउने रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

“हुलाक सेवा विश्वसनीय र भरपर्दो छ भन्ने जनमानसमा धारणा सिर्जना गराउने काम कर्मचारीको हो”, उहाँले भन्नुभयो, “तपाईँहरूलाई आवश्यक के के स्रोतसाधन चाहिन्छ, मन्त्रालय सधैँ सहकार्य गर्न तयार छ ।”

गोश्वारा हुलाक कार्यालय प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीले गोश्वारा हुलाक कार्यालयले प्रदान गर्दै आएको सेवा, समस्या, चुनौती र भावी अपेक्षाबारे मन्त्री समक्ष प्रस्तुति दिनुभयो । उहाँले विना तालिम, सिमित जनशक्ती र व्यवस्थित नीति नहुँदा हुलाक सेवा प्रवाहमा चुनौती खेप्नुपरेको बताउनुभयो । हुला कार्यालय थुप्रै आधुनिक सेवा प्रवाह थालनी गरेको भए पनि प्रचारको अभावका कारण जनस्तरले अपेक्षाकृत सेवा लिन नसकेको बताउनुभयो । उहाँले पार्सल सेवामा निजीस्तरबाट मनपरी शुल्क लिने गरेकोे बताउँदै यसको नियमन गर्न आग्रह गर्नुभयो ।

स्थानीय तह उपनिर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौँ, २ असोजः निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कार्यतालिकाअनुसार यही असोज ९ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशित गरी असोज १० देखि १६ सम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ ।

यस्तै निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ ।

आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ ।

‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’

काठमाडौँ, २ असोज : मुलुकमा गणतन्त्र स्थापना पछिका १५ वर्ष र विद्यमान संविधान जारी पछिका नौ वर्षमा अर्थतन्त्रका सूचकहरूमा स्वभाविक परिवर्तन भए । यो अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू साह्रै सुस्त रहे भने केही औसत र निकै कम मात्र सन्तोषजनक छन् ।

नेपालको संविधान २०७२, पछि नेपालले आर्थिक प्रणालीमा सङ्घीयता र वित्तीय विकेन्द्रीकरणको अवधारणामार्फत परिवर्तनको खाका त कोरेको छ, तर प्रभावकारी कार्यान्वयनका लागि अझै धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेको अर्थतन्त्रका जानकारहरू बताउँछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहित संविधान जारी भएपछि संविधानबाटै तीन खम्बे अर्थनीति, समाजवाद उन्मुख अर्थ व्यवस्थालगायतका कार्यदिशा तय भए । ‘नेपालको संविधान, २०७२’ को प्रस्तावना मै ‘आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ उल्लेख गरियो भने ‘समाजवाद उन्मुख’ अर्थतन्त्रको परिकल्पना गरियो । रोजगारी, श्रम, सम्पत्ति, खाद्य, आवासलगायत मौलिक हकको प्रत्याभूति संविधानमार्फत गरियो ।

राज्यका निर्देशक सिद्धान्तमा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने’ उल्लेख गरियो । राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य संविधानबाट तय गरियो । मुलुक सङ्घीय संरचनामा गएपछि तीनवटै तहबीच स्रोत तथा राजश्व बाँडफाँट लगायत विभिन्न आर्थिक अधिकारहरू प्रत्यायोजन गरियो ।

संविधानले देखाएका यी बाटाहरूलाई गणतन्त्र पछिको महत्त्वपूर्ण उपलब्धिका रूपमा मान्न सकिन्छ । तर, कार्यान्वयनको पक्ष भने कमजोर देखिएको छ । अर्थविद्हरू भन्छन्, “अस्थिर राजनीतिको प्रतिच्छाया सबैभन्दा बढी अर्थतन्त्रमा देखियो । विकास र समृद्धिको गति निराशाजनक छ । आर्थिक लोकतन्त्रमा नेपाल चुकिरहेको छ ।”

संविधानले जे–जस्तो आर्थिक समृद्धि र सामाजिक न्यायको दिशा देखाएको छ, त्यसको कार्यान्वयनमा देखिएका अवरोध र मुख्यगरी राजनीतिक अस्थिरतालाई नहटाएसम्म अर्थतन्त्रको अवस्था नसुध्रिने धारणा अर्थविद्हरूबाट आएका छन् । समग्र आर्थिक सुधार र स्थिरताका लागि एकीकृत दृष्टिकोण बन्न नसकेको पनि उहाँहरूको भनाइ छ ।

अर्थविद् डा चन्द्रमणि अधिकारी विद्यमान संविधानले आर्थिक दृष्टिकोणले ‘विस्तारकारी’ र पर्याप्त स्रोतको माग गर्ने बताउनुहुन्छ । “संविधानमा राखिएका १० वटा मौलिक हकले प्रत्यक्ष र चारवटाले अप्रत्यक्ष रूपमा आर्थिक स्रोतको माग गर्दछन् । यसअर्थमा संविधान आर्थिक दृष्टिकोणले फराकिलो र धेरै स्रोतको माग गर्ने भएका कारण यसलाई विस्तारकारी भन्न सकिन्छ”, उहाँले भन्नुभयो, “तीन तहका सरकार, विभिन्न संवैधानिक निकाय तथा आयोगलगायत संरचना धेरै भए । यसले पनि आर्थिक दायित्वको सिर्जना गर्दछ ।” मुलुकको आर्थिक विकासका लागि संविधान बाधक नरहे पनि अस्थिर राजनीति, प्राथमिकतामा पर्न नसकेका आर्थिक एजेन्डा, चुनौतीपूर्ण देखिएको वित्तीय सङ्घीयता कार्यान्वयनलगायत विषयलाई हल गर्न नसकिएको डा अधिकारीको बुझाइ छ ।

अर्का अर्थविद् हरि रोका पनि नेपालको राजनीतिक परिवर्तनले आर्थिक संरचनामा तात्विक सुधार ल्याउन नसकेको स्वीकार्नुहुन्छ । आर्थिक लोकतन्त्र स्थापनाका लागि राजनीतिक स्थिरतालाई हुनु पहिलो शर्त रहेको उहाँको भनाइ छ । कृषिको आधुनिकीकरण र पूर्वाधारको पर्याप्त विकास गर्नेगरी संरचनागत सुधारको आवश्यकता रहेको रोकाको धारणा । अर्थतन्त्रको पुनःसंरचना गर्ने विषय सधैँ राजनीतिक उपेक्षामा पर्दा विभिन्न राजनीतिक परिवर्तन पछि पनि मुलुकको आर्थिक अवस्थामा तात्विक फरक देखिन नसकेको उहाँको भनाइ छ ।

“२०४६ सालको पहिलो जनआन्दोलन र २०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि मुलुकमा राजनीतिक पुनःसंरचना भए पनि आर्थिक पुनःसंरचना हुन सकेन”, अर्थविद् रोका भन्नुहुन्छ, “राजनीतिक तहमा आर्थिक पुनःसंचना भनेको के हो र यो कसरी गर्ने भनेर पर्याप्त छलफलसमेत भएनन् । हाम्रो यहाँको मान्छे, माटो, पानी र प्रविधिलाई आधार बनाएर अर्थतन्त्र पुनःसंरचनाको खाका तयार पारिनुपर्नेमा हामी त्यसमा चुक्यौँ ।” अर्थतन्त्र पुनःसंरचना र आर्थिक सुधारको प्रयास तत्काल नथाल्ने हो भने मुलुक थप समस्यामा पर्ने उहाँको बुझाइ छ ।

वित्तीय स्रोतको अभाव, दक्ष जनशक्तिको कमी, राजनीतिक अस्थिरतालगायत समस्याहरू समाधान नगरिँदासम्म संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न नसकिने समान धारणा अधिकारी र रोका राख्नुहुन्छ । सुशासन अभाव र सेवा प्रवाहमा सहजता नहुँदा विद्यमान व्यवस्था र शासन शैलीप्रति नागरिकस्तरमा वितृष्णा बढ्दो छ । मुलुकको बिग्रँदो आर्थिक अवस्थालाई देखाएर संविधान र शासन व्यवस्था माथि नै प्रश्न गर्न थालिएको छ । तर, अर्थतन्त्र सङ्कटको डिलमा एकाएक पुगेको भने होइन । वर्षौंदेखिका समस्या थपिँदै र गहिरिँदै गएर दुर्घटनाको अवस्थासम्म पुगेका हुन् ।

संविधानले मुलुकलाई सङ्घीय प्रणालीमा विभाजन गर्दै केन्द्र, प्रदेश र स्थानीय तहबीच सत्ता र स्रोतहरू बाँडफाँड गर्‍यो । यसले वित्तीय विकेन्द्रीकरणको खाका प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारहरूलाई समेत कर सङ्कलन, बजेट निर्माण, र खर्चको अधिकार प्रदान गर्‍यो । अहिले स्थानीय तहहरूले आफ्नो क्षेत्रको आवश्यकताअनुसार विकास योजना बनाउन र कार्यान्वयन गर्न पाएका छन् । तर, वित्तीय सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको तथ्य कसैबाट लुकेको छैन । वित्तीय स्रोतहरूको बाँडफाँटमा असमानता एवं अस्पष्टता, नीतिगत विवाद, र स्रोत वितरणमा ढिलाइले गर्दा स्थानीय सरकारहरूले पूर्ण क्षमतामा काम गर्न नसकेको अर्थविद् डा अधिकारी बताउनुहुन्छ ।

तीन तहका सरकारबीचको समन्वय हुन नसक्दा पनि विकास योजनामा ढिलासुस्ती हुने गरेको उहाँको बुझाइ छ । त्यस्तै, स्थानीय तहहरूले आफूमा आवश्यक दक्षता र प्रशासनिक क्षमता विकास गर्न सकेका छैनन् । जनप्रतिनिधिहरूको अनुभवको कमी र दक्ष जनशक्तिको अभावले गर्दा बजेटको सदुपयोगमा समस्या उत्पन्न भएको छ । केन्द्र सरकार परिवर्तन भएसँगै प्रदेश सरकार पनि परिवर्तन हुने परिपाटी कै कारण ती संरचनाले सोचेअनुरूप काम गर्न नसकेको र नागरिक तहबाटसमेत प्रदेशको औचित्यताबारे प्रश्न उठेको डा अधिकारीको बुझाइ छ ।

संविधानले प्राकृतिक स्रोतहरूको उपयोगमा केन्द्र, प्रदेश र स्थानीय तहहरूबीच साझा जिम्मेवारी तय गरेको छ । संविधानअनुसार कर सङ्कलन र स्रोतको विकेन्द्रीकरण भए पनि धेरैजसो स्थानीय तहले स्रोत अभावको सामना गरिरहेका छन् । आफ्नै स्रोत सीमित भएका कारण आर्थिक विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको छ । केन्द्रबाट प्राप्त अनुदानमा निर्भर रहनुपर्ने स्थिति अझै कायम छ ।

त्यस्तै, विकासको आवश्यकता पूरा गर्न विदेशी लगानीलाई कानुनी सुरक्षा र स्थिरता प्रदान गर्दै आर्थिक सुधार गर्न सकिने बाटो संविधानबाटै पहिल्याएको छ । उत्पादन, पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा विदेशी लगानी आकर्षित गरिनु, देशको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण कदम मानिएको छ । विदेशी लगानीका लागि संविधानले कानुनी सुरक्षा दिएको भए पनि राजनीतिक अस्थिरता, अस्थिर आर्थिक नीति, र निर्णय प्रक्रियामा हुने ढिलासुस्तीले ठूला विदेशी लगानीकर्ताहरू नेपालमा लगानीका लागि आकर्षित हुन सकेका छैनन् । वर्तमान संविधान जारी भएपछि पनि सरकारले दुई वटा अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिसकेको छ । तर, नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको आँकडा हेर्दा सन्तोष गर्ने ठाउँ छैन । सरकारले गत वैशाखमा आयोजना गरेको लगानी सम्मेलनका क्रममा जम्मा दुईवटा आयोजनामा मात्र लगानीकर्ताबाट आशयपत्र पेश भएको लगानी बोर्डको तथ्याङ्कले पनि हाम्रो कमजोर अवस्था प्रदर्शित गर्छ ।

लेखापरीक्षण, राजस्व सङ्कलन, र भ्रष्टाचार नियन्त्रणजस्ता संवैधानिक निकायहरूको सशक्तिकरणले सरकारी स्रोतहरूको पारदर्शिता बढाउँछ र आर्थिक अनुशासनलाई सुधार्न सहयोग पुर्‍याउँछ । तर, अहिले ती निकायहरूकै कार्यक्षमता र कार्यशैलीमा गम्भीर प्रश्न देखिन थालेका छन् । अर्थविद् रोका नेपालको कर प्रणाली पुनःसंरचना अपरिहार्य भइसकेको बताउनुहुन्छ । “अहिले गरिबलाई बढी कर लगाउने र धनीलाई कर छुट दिइरहेको अवस्था छ । अर्कोतर्फ नेपालमा आर्जन गरेको पैसा विदेशमा लैजाने र पुँजी पलायन गर्ने प्रवृत्तिलाई रोक्न सकिएको छैन । यी समस्या समाधानका लागि विद्यमान कर प्रणालीमा पुनःसंरचना अति आवश्यक छ”, रोका भन्नुहुन्छ ।

सङ्घीयता कार्यान्वयनपश्चात विकासका अवसर सहर केन्द्रित भएका छन्, जसले ग्रामीण क्षेत्रहरूमा वित्तीय असमानता र विकास अन्तर बढाएको छ । ग्रामीण क्षेत्रहरूमा पहुँच र सेवा प्रवाहको अभावले गर्दा आर्थिक समृद्धिमा अवरोध आएको छ । संविधान जारी भएपछि शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा केही सुधार भएको, मानव विकास सूचकाङ्कमा नेपालले आफ्नो अवस्थामा सुधार गरेको, प्रतिव्यक्ति आय बढेकोजस्ता सुधार देखिए पनि विकासमा सन्तुलन भने कायम हुन नसकेको डा अधिकारी बताउनुहुन्छ । “प्रादेशिक, क्षेत्रीय, भौगोलिक दृष्टिकोणबाट समान विकास हुन सकेको छैन । अहिले काठमाडौँमा प्रतिव्यक्ति आय अमेरिकी डलर तीन हजार चार सय हुँदा मधेस प्रदेशमा अमेरिकी डलर आठ सय हाराहारी मात्रै छ । बहुआयामिक गरिबीका दृष्टिकोणले पनि मधेश र सुदूरपश्चिम प्रदेश निकै पछाडि छन् । यो असन्तुलनले संविधानले राखेको सामाजिक न्याय र समतामुलक समाज निर्माणको लक्ष्य पूर्ति गर्नमा समस्या सिर्जना गर्छ”, उहाँले रासससँग भन्नुभयो ।

यसरी नेपालको संविधान, २०७२ पछि नेपालले आर्थिक प्रणालीमा सङ्घीयता र वित्तीय विकेन्द्रीकरणको अवधारणामार्फत परिवर्तनको खाका त कोरेको छ, तर प्रभावकारी कार्यान्वयनका लागि अझै धेरै चुनौतीको सामना गर्नुपरेको छ । वित्तीय स्रोतहरूको अभाव, दक्ष जनशक्तिको कमी, र राजनीतिक अस्थिरता जस्ता समस्याहरू समाधान नगरिँदासम्म संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न कठिन हुने देखिन्छ । मुलुकको अर्थतन्त्रको समग्र आकार, सरकारको आय तथा व्यय रकम, बाह्य क्षेत्रलगायत सूचकहरूमा केही सुधार भएका छन् भने सार्वजनिक ऋण, व्यापार घाटालगायत सूचकहरू झन् खराब स्थितिमा पुगिरहेका छन् । कूल गार्हस्थ्य उत्पादनको आकार करिब रु ५७ खर्ब पाँच अर्ब पुग्दा सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ ।

सरकारले पुँजीगत शीर्षकमा छुट्याउने खर्चको तुलनामा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने वित्तीय व्यवस्था शीर्षकको बजेट बढी देखिन थालिसकेको छ ।

अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसक्नुमा २०७२ वैशाख १२ को विनासकारी भूकम्प, कोभिड–१९ महामारीलगायत विभिन्न कारणहरूलाई पनि जिम्मेवार मान्न सकिन्छ । अर्थतन्त्र सुधारका लागि केहि नीतिगत, प्रणालीगत र प्रक्रियागत प्रयासको थालनी भए पनि नतिजा भने औसतभन्दा कमजोर छ । यसरी अर्थतन्त्रका विविध क्षेत्रहरूको स्थिति, परिवर्तन, प्रवृत्ति, उपलब्धिहरूका मूल्याङ्कन तथा क्षेत्रगत समस्या र चुनौतीको विश्लेषण गर्दा सन्तोष गर्नसक्ने पर्याप्त ठाउँ देखिन्न । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी उपलब्ध सम्भावना तथा अवसरलाई पूर्णरूपमा सदुपयोग गर्दै समग्र अर्थतन्त्रलाई माथि उठाउनु आजको मुख्य आवश्यकता हो ।

सोह्र श्राद्ध सुरु, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

काठमाडौँ, २ असोज : यहाँको गोकर्णेश्वर उत्तरगया धाममा सोह्र श्राद्ध गर्नेको भीड लाग्न थालेको छ ।

सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा श्राद्ध गर्न श्रद्धालुको भीड लागेको हो । राजधानीमा डेरा लिएर बसेकाहरु यहाँ श्राद्ध गर्न आउने गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्ड दान गरिने भएकाले सोह्रश्राद्ध भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिने समितिका सदस्य एवं धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । चाडपर्व यज्ञ आदि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहून्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । बडादशैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्नेमा शिक्षामन्त्री विद्या भट्टराईको जोड

काठमाडौँ, २ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने बताउनुभयो ।

नमुना बनाएका विद्यालयको नतिजा खस्कँदै गएको उहाँको भनाइ छ । “हामीले नै नमूना बनाएका विद्यालयको नतिजा खस्कँदै जानुमा हामीबाहेक अरु जिम्मेवार छैन । यसको गम्भीर समीक्षा गर्दै शैक्षिक प्रणालीलाई सुधार गर्न हामी तयार छौँ”, उहाँले भन्नुभयो ।

उहाँले विद्यालय शिक्षा ऐन छिटो पारित गर्न पहल गरिरहेको बताउनुभयो । मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयन गर्न कार्यान्वयन ढाँचा तयार गरेको जानकारी दिनुभयो ।
“स्थानीय विद्यालय नक्साङ्कन गरी विद्यालयको सेवा क्षेत्र तोक्न तथा स्थानीय तहभित्रका बालबालिकाको आधारभूत शिक्षासम्म पहुँचको अवस्था यकिन गर्न कार्यान्वयन ढाँचा विकास गरिएको हो”, उहाँले भन्नुभयो, “यसअनुसार स्थानीय तहबाट शिक्षा योजना निर्माण गर्ने तथा तीनै तहका सरकार र गैरसरकारी क्षेत्रसँग साझेदारीको ढाँचा विकास गरी शिक्षा कोषको स्थापना गरेर शिक्षा प्राप्तिको हकलाई प्रभावकारी बनाइने छ ।”

मन्त्री भट्टराईले शिक्षाको पहुँचका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउँदै अनुगमन सूचक तयार गरी त्यसको प्राप्तिका लागि समुदाय परिचालन र अभिभावक सहयोगलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकलाई मासिक पारिश्रमिक प्रदान गर्न सबै स्थानीय तहलाई अनुरोध गर्नुभयो ।

मन्त्री भट्टराईले विद्यालयमा विद्यार्थीको पहुँच बढाउन र साक्षर नेपाल बनाउने अभियानका लागि बालविकास केन्द्रको सबलीकरण आवश्यक रहेको बताउनुभयो । बालविकास केन्द्रमा सिकाउने शिक्षकका समस्या समाधान गर्न स्थानीय तहले योजना बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले विद्यालयमा दिवा खाजाको व्यवस्था अपुग रहेको भन्दै यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित दिवा खाजाको प्रारूप तयार पारिएको जानकारी दिनुभयो ।

“विद्यार्थीको ठूलो सङ्ख्या कक्षा तहभन्दा तल छन् र यसले अपेक्षित पाठ्यक्रम र प्राप्त पाठ्यक्रमबीच खाडल देखाएको छ”, उहाँले भन्नुभयो, “विद्यालयको प्रकारअनुसार उपलब्धिमा असमानता छ । विद्यार्थीको शैक्षिक उपलब्धि र सामाजिक–आर्थिक स्थितिबीचको सम्बन्ध सकारात्मक छ, तर यसको परिमाण विषयअनुसार भिन्न छ ।”

मन्त्री भट्टराईले पाठ्यक्रम सुधारको योजना बनाउन थालिएको जानकारी दिनुभयो । उहाँले पढेरभन्दा गरेर व्यवहारमा सिक्ने पक्षको मूल्याङ्कन गर्ने योजनाले विद्यार्थीको नतिजास्तर उक्सिने बताउनुभयो । शिक्षा सचिव डा दीपक काफ्लेले शिक्षाको गुणस्तर सुधार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

सोही अवसरमा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस वर्षको दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः प्रणालीगत सक्षमता’ रहेको छ । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ जारी भएको दिनको सम्झनामा आज शिक्षा दिवस मनाउन थालेको हो ।

दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल, यात्रुलाई सुरक्षित रुपमा घर पु-याउने व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, २ असोज : दसैँ लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौँबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो ।

आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पु-याउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उहाँले निर्देशन दिनुभयो । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भईरहेको बताउनुभयो । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी दिनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिनुभयो ।

अवैध लागूऔषध सहित २७ वर्षीय सुमन पक्राउ

कैलाली, २ असोज- घोडाघोडी नगरपालिका-१ लुहारपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुमन बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

देउखुरी (दाङ), २ असोज : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा(माओवादी केन्द्र) की नेतृ रेखा शर्माका पीता वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवामा बसोबास गर्दै आउनुभएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि आज बुटवलस्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५  बजे निधन भएको अस्पतालले जनाएको छ ।

शर्माको पार्थिव शरीर आज साँझ दाङको घोराही–१८ मसिनास्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ । उहाँको भोलि बिहान मसिना सतीघाट कटुवाखोलामा अन्त्येष्टि गरिने शर्माको परिवारले जनाएको छ ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति र दर्जनौँ कविता प्रकाशित छन् । निवृत्त शिक्षक शर्माका चार छोरी र एक छोरा हुनुहुन्छ । शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भइसकेको छ ।

नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?

काठमाडौँ, २ असोज : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गर्नुभयो ।

“केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम रु ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम रु पाँच÷छ अर्बमा खुम्चिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।”

वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चाँसो थियो । “स्थिर र बलियो सरकार छ । बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ । तर तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन । यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु ।”, उहाँले भन्नुभयो । अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विस्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिनुभयो । पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुगेको थियो । पुँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफल पछि राजस्व सचिव घिमिरेले पुँजीबजार सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापनलगायतका काममा प्राथमिकतामा रहने उहाँको भनाइ छ ।

इन्द्रजात्राका अवसरमा आज बिहानैदेखि इन्द्रदहमा मेला भर्नेको भीड

भक्तपुर, २ असोज : इन्द्रजात्राका अवसरमा आज बिहानैदेखि भक्तपरको इन्द्रदहमा मेला भर्नेको भीड लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवगृहबाट बाजागाजासहित देवताको मूर्ति खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ मङ्गलबार साँझ इन्द्रदह पुर्याइएको थियो ।

उक्त खटलाई दह किनारमा रातभरि राखेर दीपावली गरी आज बिहानैदेखि इन्द्रदहमा स्नान एवं पूजा गर्नेको भीड लागेको हो । आज दिनभर मेला लाग्ने छभने साँझ उक्त खट देवगृहमा पुर्याएपछि जात्रा सम्पन्न हुने संस्कृतिका जानकार प्रा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण पोखरीको नाम इन्द्रदह रहन गएको उहाँले बताउनुभयो । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास छ ।

ओटावामा आज नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

काठमाडौँ, २ असोजः नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुग्नुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन मङ्गलबार क्यानडा पुग्नुभएकी मन्त्री देउवालाई मन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल, नेपाली दूतावासका कर्मचारीका साथै क्यानडा सरकारका शिष्टाचार अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

राणा न्यायाधीश हरिशमशेरलाई ‘महाराज’ नभनेर गणेशमानले ‘तँ’ भनेपछि…

– डा शोभाकर पराजुली

‘न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते
न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति’

एक यो गीतांशको भावार्थ हुन्छ– कुनै बाटो बदलिन सक्छ तर आफूले अपनाएको कर्म फेर्न जरुरी छैन । जब मान्छेले आफ्नो कर्म छोड्छ न उसलाई निस्कर्मता न उसलाई सिद्धी प्राप्त हुन्छ ।

वि.सं. २००६ को अन्त्यतिर राणाविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा राणा शासकहरूले गणेशमान सिंहलाई ठोरीको जङ्गलबाट समाएर जेल हाले । त्यसपछि राणा शासकका अघि उहाँलाई केरकार गर्न थालियो र राणा न्यायाधीश हरिशमशेरलाई ‘महाराज’ नभनेर गणेशमानले ‘तँ’ भन्नुभयो । त्यही बेलै न्यायाधीशको ठाडो आदेशमा उनलाई हजार कोर्रा हान्ने आदेश भयो । त्यसका लागि गणेशमानले आफूलाई पहिलादेखि नै तयार पारिसकेका थिए । राणा सिपाहीहरूले ६ सय कोर्रा हान्दासम्म गणेशमानले सहिरहनुभयो । त्यसपछि भने उहाँ बेहोस हुनुभयो । त्यही बेलादेखि अहिलेसम्म सायद सधैँसधैँ गणेशमानजी ‘लौहपुरुष’ भनेर चिनिइरहनु हुनेछ ।

राणा शासक र त्यो शासनविरुद्ध विद्रोह गरेबापत गणेशमानले भोगेको यी कुनै पहिलो र अन्तिम सजायका कोर्रा थिएनन् । तथापि राष्ट्र, जनता अनि प्रजातन्त्रका लागि उहाँले थाल्नुभएको त्यो सङ्घर्षलाई उहाँले कहिल्यै त्याग गर्नुभएन । बाटाहरू बदलिए होलान्, लडाइँका स्वरुपहरू फेरिए होलान् तर उहाँले आफ्नो लक्ष्यमा आफूलाई कहिल्यै बिचलित पार्नुभएन । कहिल्यै विचलन हुनुभएन । विद्रोहको ‘स्पात’ बनेको एउटा योद्धाका लागि यो जीवन सूत्र नै हो । जीवन हरेक पलहरू गणेशमानजीले प्रजातन्त्रकै लागि त्याग, समर्पण, विद्रोह र सङ्घर्षमै बिताउनुभयो ।

विद्रोहको चेत त उहाँले जन्मजात नै लिएर आउनुभएको थियो । राणा शासकको जागिरे उहाँका पितापुर्खाको बिरासतलाई उहाँले विद्रोह गरेर त्याग्नुभयो र स्वतन्त्रताको लडाइँमा आफ्नो जीवन अर्पण गर्नुभयो । सुब्बा ज्ञानमान सिंह र सुभद्राकुमारीको जेठो सन्तानका रूपमा १९७२ कात्तिक २४ काठमाडौंमै जन्मिनुभएका गणेशमानलाई उहाँका परिवारले प्रेम गरेर ‘हिराकाजी’ नामले बोलाउँथे । त्यो भनेको उहाँको परिवार ‘काजी’को उपाधिप्राप्त थियो । उहाँका हजुरबुवा राणा सरकारको सरदर हुँदै बडाकाजीसम्म हुनुभएको थियो । र उहाँका पिता ज्ञानबहादुरको मृत्यु हुँदा गणेशमानजीहरू सानै हुनुहुन्थ्यो । उहाँका बडाकाजी हजुरबुबा रत्नमानकै छत्रछायाँमा उहाँ हुर्किनुभएको थियो ।

काठमाडौंको काजी खानदान । राणा शासनमा बेग्लै छाँट थियो । अलग्गै ठाँट थियो । तर गणेशमानजीको कलिलो मस्तिष्कमै विद्रोह र स्वाभिमानको चेत भरिइसकेको थियो । उहाँको शिक्षादीक्षा दरबार हाइस्कुलमा सुरु भएको थियो । त्यो स्कुलमा राणा र राणा शासकहरूका उच्चपदस्थ कारिन्दाहरूका छोराछोरीले पढ्न पाउँथे । बडाकाजीका नाति भएका कारण गणेशमानजी पनि त्यो स्कुलमा भर्ना हुन पाउनुभएको थियो । त्यहाँ धेरैजसो त राणाहरूका छोरा, नाति पढ्न आउँथे । गणेशमानजीले राणाका ती छोरा नातिहरूलाई कहिल्यै ‘सरकार’ भनेर पुकार्नुभएन र त्यही ‘अनादर’ गरेका कारण उहाँलाई राणाहरूले स्कुलबाट निकालिदिए । त्यसको केही समयपछि उहाँले राणाहरूकै ‘बहिदार’का रूपमा जागिर पाउनुभयो ।

एकदिन राणाको दरबारअघि साइकल कुदाएको आरोपमा उहाँलाई सजाय दिइयो । राणाका अघि ठाँटले हिँडनु, कुद्नु भनेको उनीहरूको अपमान गरे सरह मानिन्थ्यो । तर पनि गणेशमानजी झुक्नुभएन । बरु उहाँले राणाको जागिर छोडिदिनुभयो र त्यसपछि उहाँ कोलकाता जानुभयो । त्यहीँबाट उहाँले मेट्रिक (एसएलसी) पास पनि गर्नुभयो । त्यहाँकै विद्यासागर कलेजमा पढ्दापढ्दै उहाँका पाइलाहरू राजनीतितिर मोडिएका थिए । त्यसपछि उहाँका पाइलाहरू कहिल्यै पछाडि फर्किएनन्, बरु राणा शासनविरुद्ध उहाँले आफूले आफूलाई सधैँ अग्रमोर्चामै उभ्याउनुभयो ।

उच्च शिक्षाको अध्ययन गर्दागर्दै घरबिदामा आउनुभएका गणेशमान सिंह १९९७ सालमा राष्ट्रिय प्रजा परिषदमा आबद्ध हुनुभएको थियो । यो नेपालकै पहिलो राजनीतिक दल भनेर चिनिन्छ । राजनीतिक जीवनसँगै उहाँको वैवाहिक जीवन पनि सुरु भएको थियो । त्यही वर्ष हजुरबुवा र आमाको आग्रहमा उहाँको विवाह मङ्गलादेवीसँग भयो । विवाहको लगभग तीन महिनापछि उहाँलाई राणा सरकारले फेरि गिरफ्तार गर्‍यो । सरकारविरुद्ध जनतालाई उक्साएको आरोपमा उहाँलाई राणा शासकले सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनाएका थिए । उहाँसँगै गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई पनि राणाले जेल हालेका थिए । यी चारजनालाई राणाले झुन्ड्याएर अनि गोली ठोकेर मृत्युदण्ड दिए । उहाँहरू नेपालका अजर अमर शहीदका रूपमा इतिहासले सधैँ चिनाइरहेको छ ।

राणा शासकप्रतिको एक प्रकारको घृणा अनि प्रजातन्त्रका लागि विद्रोहले खारिएका गणेशमानलाई ती जेलका पर्खालहरूले के छेक्न सक्थे र ! भद्रगोल जेल पर्खाल फोडेर उहाँ त्यहाँबाट मुक्त हुनुभयो । त्यसपछि राणाले देश निकाला गरेका भारतमा निर्वासित नेपाली विद्रोहीहरूसँग मिलेर उतैबाट नेपालमा राणा विरोधी आन्दोलनमा आफ्नो उपस्थिति जनाउनुभयो । राणाविरुद्ध सङ्घर्षकालको त्यो बेला उहाँलाई भूमिगत नाम ‘कृष्णबहादुर प्रधान’को नामले चिनिनुहुन्थ्यो ।

कोलकातामा २००१ सालतिर बीपी कोइरालासँग भेट भएपछि गणेशमानले पनि बीपीसँगै राणारोधी आन्दोलनमा आफूलाई सक्रिय बनाउनुभएको थियो । २००३ सालमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेसका संस्थापकमध्ये गणेशमान पनि एक पात्र हुनुहुन्छ । २००६ सालमा सुवर्णसमशेर नेतृत्वको प्रजातान्त्रिक कांग्रेससँगको एकीकरणपछि बनेको अहिलेको ‘नेपाली कांग्रेस’ हो । जसको गर्भास्थानमा गणेशमानहरूकै नाम रगतले लेखिएको थियो ।

२००७ सालमा भारतको बिहारमा भएको नेपाली कांग्रेसको ‘बैरगनिया’ सम्मेलन राणा शासन अन्त्यका लागि एउटा निर्णायक प्रस्थानबिन्दु बन्यो । जहाँ बीपी, गणेशमान, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, खड्गजीत बराल र बहादुर सिंहजस्ता नेपाली कांग्रेसका बलिया खम्बाहरू हुनुहुन्थ्यो । त्यही सम्मेलनमा उहाँहरूले ‘कि राणा शासनको अन्त्य गर्ने, कि आफूहरूको अन्त्य हुने’ कसम लिनुभयो र जहाँनिया राणा शासनविरुद्ध निर्णायक क्रान्तिको सुरुआत गर्नुभयो । फलतः २००७ फागनु ७ गते १०४ वर्षे राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्र आयो ।

२००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषिमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गणेशमानले बीपीको निर्देशनमा मन्त्री पद त्याग गर्नुभएको थियो । २०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह पराजित हुनुभयो । त्यो महाधिवेशनले सुवर्णसमशेरलाई पार्टीको सभापति छानेको थियो । २०१४ सालमा भएको ‘भद्र अवज्ञा’ आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउनुभएको गणेशमान सिंह २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा काठमाडौंबाट सांसदमा निर्वाचित हुनुभएको थियो । त्यसपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारमा उहाँ यातायातमन्त्री हुनुभएको थियो ।

नेपालीले प्रजातान्त्रिक अभ्यास गर्दागर्दै त्यो कलिलो प्रजातन्त्रको घाँटीमा दरबार झुन्डियो । र फेरि बीपी अनि गणेशमानहरूलाई राजा महेन्द्रले जेल हाले । २०१७ सालदेखि लगातार आठ वर्षसम्म उहाँ सुन्दरीजेलमा हुनुहुन्थ्यो । जेलबाट रिहा भएपछि उहाँ पनि निर्वासित हुनुभयो र फेरि प्रवासबाटै देशको पञ्चायती निरङ्कुशताविरुद्ध आन्दोलनमा होमिनुभयो । २०३३ सालमा मेलमिलापको नीति लिएर देश फर्किएका बीपी र गणेशमानलाई विमानस्थलबाटै पञ्चायती सरकारले गिरफ्तार गरेको थियो । त्यो बेला उहाँलाई क्रुर शारीरिक यातना दिइएको थियो । उहाँमाथि राजकाजको मुद्दा चलाइयो र पञ्चहरूले बीपी अनि गणेशमानलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । उहाँलाई पञ्चायती सरकारले चारपटकसम्म मृत्युदण्डको सजाय सुनाएको थियो ।

२०३७ को जनमत सङ्ग्रहमा गणेशमान र बीपीबीच मतभेद भएको थियो । बीपीले त्यो जनमत सङ्ग्रहमा बिनासर्त सहभागी हुने प्रस्ताव राख्नुभएको थियो तर गणेशमान भने त्यसको विरोधमा हुनुहुन्थ्यो । बिडम्बना त्यो जनमत सङ्ग्रहमा पञ्चहरूको धाँधलीका कारण बहुदल पराजित भयो । २०३९ सालमा बीपीको निधन भयो र नेपाली कांग्रेसले उहाँलाई ‘सर्वोच्च’ नेताको मानार्थ जिम्मेवारी दियो । त्यसअघि २०३७ सालमै भारतको पटनामा भएको कांग्रेसको सम्मेलनले उहाँलाई पार्टीको ‘नेता’ छानिसकेको थियो ।

बीपीको निधनपछि २०४२ सालमा उहाँकै नेतृत्वमा नेपाली कांग्रेसले मेलमिलाप नीतिलाई पुर्नव्याख्या गर्‍यो र त्यसपछि गणेशमानले ‘सत्याग्रह’को नेतृत्व गर्नुभयो । २०४६ सालको चैत ५,६ र ७ गते सिंहकै निवासमा भएको नेपाली कांग्रेसको सम्मेलनले जनआन्दोलनको घोषणा गरेको थियो । त्यो जनआन्दोलनलाई तत्कालीन ६ वटा कम्युनिस्ट पार्टीहरूले पनि समर्थन गरे र गणेशमानलाई त्यो जनआन्दोलनको सर्वोच्च कमाण्डर स्वीकार गरे । त्यही बेला फेरि पञ्चायती सरकारले उहाँलाई घरमै नजरबन्द गर्‍यो । उहाँ बिरामी भएपछि पनि अस्पतालमै नजरबन्द गरियो । २०४६ साल चैतमा उहाँहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । त्यो विजयोत्सव मनाउनका लागि टुँडिखेलमा भएको विशाल जनसभाले गणेशमानलाई ‘फादर अफ दि डेमोक्रेसी’ अर्थात प्रजातन्त्रका पिता भनेर सम्मान दिइएको थियो ।

जनआन्दोलनपछि गठन हुन लागेको अन्तरिम सरकारमा प्रधानमन्त्री हुन तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको प्रस्तावलाई गणेशमानजीले अस्वीकार गर्नुभएको थियो । बरु आफ्ना समकालीन कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुभयो । यसरी जीवनभरि राष्ट्र र प्रजातन्त्रका लागि त्याग, सङ्घर्ष र विद्रोह गर्नुभएका नेता गणेशमान सिंहले कहिल्यै उच्च पदको लालसा राख्नभएन ।

चाणक्यले भनेका छन्–

‘त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत्
ग्रामं जन पदस्यार्थे आत्मार्थे पृथिवीं त्यजेत्’

यसको अर्थ हुन्छ, ‘एउटा कुल रक्षाका निम्ति कुनै व्यक्तिलाई छोड्नू, एउटा गाउँको भलोका लागि कूलको त्याग गर्नसम्म पछि नपर्नू, अनि देशको हित हुन्छ भने गाउँ त्याग गरिदिनू र आत्मसम्मानका लागि बरु यो धर्ती नै त्याग गरिदिनू’ ।

जीवनको उत्तरार्द्धमा उहाँले भोग्नुपरेको पारिवारिक वियोगको पीडा अनि राजनीतिक जीवनको बिरक्तिले उहाँलाई केही शिथिल पनि बनाएको थियो । प्रजातन्त्रिक लडाइँका लागि आफूलाई सुम्पिनुभएका गणेशमानजीले बरु आफ्नो घरसंसार त्याग्नुभयो, आफन्त अनि देश त्याग्नुभयो तर स्वाभिमान र आत्मसम्मान अनि प्रजातन्त्रका लागि कहिल्यै झुक्नुभएन । यसरी नेपाली राजनीतिको लौहपुरुष अनि प्रजातन्त्रका पिता गणेशमानजी २०५४ साल असोज २ गते सदाका लागि हामीमाझबाट महाप्रस्थान हुनुभयो ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धनद्वारा चार करोड २५ लाख भुरा उत्पादन

बागमती, २ असोजः हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो ।

मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको छ ।

उत्पादित भुराको बिक्रीबाट रु ३५ लाख ४५ हजार पाँच सय १९ राजस्व सङ्कलन भएको सूचना अधिकारी बलराम आचार्यले जानकारी दिनुभयो । यसअघि सो कार्यालयले आव २०७९÷८० मा चार करोड ३५ लाखभन्दा बढी भुरा उत्पादन गरी बिक्री गरेको थियो ।

विगतमा तीन करोडदेखि तीन करोड ३४ लाख भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा पोेखरीको मर्मतसम्भारलगायत व्यवस्थापनमा सुधार गरिएपछि आव २०७९÷८० देखि माछा र भुराको उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताउनुभयो । थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिनुभएको प्रमुख यादवले बताउनुभयो ।

कार्यालयको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएकामा हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको क्रममा रहेको जनाएको छ ।

न्यानो पानीमा फस्टाउने सरकारी स्तरवाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री गरिएको छ ।

एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरु गरिएको छभने भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरिएको प्रमुख यादवले वताउनुभयो ।

यसैगरी घट्टेखोलाको पानी सङ्कलन गर्ने चेम्बर मर्मत तथा नाला निर्माण, ह्याचारीमा पानी व्यवस्थापनका लागि पाइप लाइन मर्मत तथा सुदृढीकरण, ह्याचरी रङरोगन तथा सुदृढीकरणलगायत कार्य गरिएको छ ।

मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाका नमूना तथा ‘लाइभफिस म्युजियम’को स्थापना तथा सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ ।

उक्त कार्यालयले जलीय विविधता एवं प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
–––

बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौँ । नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दै आर्थिक सहकार्य र साझेदारीमा जोड दिनुभएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरेका थिए ।

भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उनले द्विपक्षीय साझेदारीमा जोड दिएका हुन् । दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका थिए ।

प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)लगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

त्यस अवसरमा राजदूत भण्डारीले सरकार प्रमुखको रुपमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्र हस्तान्तरण गरेका थिए । नेपाल सरकारले बङ्गादेशप्रति दर्शाएको समर्थन र ऐक्यबद्धताको सरकार प्रमुख युनुसले प्रशंसा गर्दै दुई देशबीच राजनीतिक र जनस्तरमा सौहार्दपूर्ण सम्बन्ध रहेकोमा सन्तोष व्यक्त गरेको दूतावासले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

बङ्गलादेश सरकारले हालैको आन्दोलनका क्रममा नेपाली नागरिक तथा विशेष गरी नेपाली विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै राजदूत भण्डारीले आगामी दिनमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

विश्वको सबैभन्दा पुरानो रविवारीय समाचार पत्र द अब्जर्भर बिक्रीमा

विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भर एक अनलाइन स्टार्टअप मिडिया समूहलाई बिक्री गर्न सकिने यसको ३० वर्षभन्दा बढीको मालिकले मङ्गलबार घोषणा गरेको छ ।

द गार्जियन मिडिया ग्रुप (जिएमजी) ले सन् २०१९ मा लन्च गरिएको टोर्टोइज मिडियालाई अज्ञात राशिमा साप्ताहिक प्रकाशन द अब्जर्भर बिक्री गर्न कुरकानी गरिरहेको विज्ञप्तिमा बताएको छ ।

मङ्गलबार विज्ञप्तिमा भनिएको छ, “द गार्जियनको मूल कम्पनीले विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भरको सम्भावित बिक्रीबारे टोर्टोइज मिडियासँग औपचारिक वार्तामा रहेको घोषणा गरेको छ ।”जिएमजीले उक्त प्रस्ताव ‘थप विवरणमा हेर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो’ भनेको छ ।

जिएमजीका प्रमुख कार्यकारी अन्ना बेटसनले भन्नुभयो, “बिक्रीले महत्त्वपूर्ण लगानीका साथ द अब्जर्भरको भविष्यको स्थिति निर्माण गर्न अवसर दिनेछ र द गार्जियनलाई थप विश्वव्यापी, अधिक डिजिटल र थप पाठक–अनुदान प्राप्त गर्न आफ्नो विकास रणनीतिमा ध्यान केन्द्रित गर्न अनुमति दिनेछ ।”

सन् १७९१ मा स्थापना भएको द अब्जर्भरलाई सन् १९९३ मा जिएमजीले खरिद गरेको थियो । मूल समूहले मङ्गलबार भनेको छ, “त्यसबेला देखि यो गार्जियनको सहअस्तित्वमा छ, जुन वार्ताको नतिजा पर्वाह नगरी हप्ताको सात दिन डिजिटल अपरेसन रहनेछ ।”

चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने

चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।

यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सिएइए) का उपाध्यक्ष लिउ जिङले जानकारी दिनुभयो ।

चाइना नेशनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले एक कार्यक्रममा कम्पनीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्यलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले चीनको आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आइएइएका उपमहानिर्देशक मिखाइल चुडाकोभले आणविक ऊर्जा विकासमा चीनको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्नुभयो ।

चीनको आणविक अनुसन्धान र विकास केन्द्रहरू थप खोल्ने निर्णयको स्वागत गर्दै चुडाकोभले यस कदमले सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने एजेन्सीको प्राविधिक क्षमतालाई अझ बलियो बनाउने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि चीनका स्थायी प्रतिनिधि ली सोङले भियनामा आयोजित स्वागत समारोहमा चीन र आइएइएले विगत ४० वर्षदेखि आणविक ऊर्जाको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै व्यावहारिक सहयोग विस्तार गरेको बताउनुभयो ।

चीनले अन्तर्राष्ट्रिय सुरक्षामा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न, विश्वव्यापी अप्रसार प्रणालीको रक्षा गर्न र ग्लोबल साउटको फाइदाका लागि आणविक ऊर्जा र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

साना तथा मझौला उद्योग प्रवर्द्धनमा उद्योग वाणिज्य महासङ्घको प्रयास

काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताउनुभयो ।

तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उहाँले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ केन्द्र स्थापना गरिने बताउनुभयो ।

साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।

उद्योग व्यवसायसँग सम्बन्धित विवाद निरुपण गर्न महासङ्घमा मेलमिलाप केन्द्र स्थापनासम्बन्धी कार्यविधि तयार भएको बताउँदै उहाँले त्यसबाट व्यवसायी बीचका विवाद समाधानमा योगदान पुग्ने बताउनुभयो ।

देशमा लगानीका सम्भावना प्रशस्त रहेका, जलविद्युत्, पर्यटन, उत्पादन, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी लगानीकर्ता पुँजी परिचालन गर्न इच्छुक रहेका बताउँदै स्वदेशी पुँजीमा नै विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड दर्ता भएको जानकारी दिनुभयो ।

उक्त कम्पनीमा कम्तीमा रु ४० अर्ब दाखिला गरी त्यसबाट प्रसारण लाइन निर्माणलगायत विकास आयोजना सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । “यो महासङ्घको कम्पनी होइन तर यसका सदस्य र गैरसदस्यले पनि लगानी गर्न पाउनेगरी बनेको कम्पनी हो । यसले बजारमा थोरै भए पनि मनोबल बढाउने अपेक्षा गरेका छौँ ।”

मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको भए पनि निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउँदै अध्यक्ष ढकालले आर्थिक सूचक पनि सकारात्मक हुँदै गएका छन् भन्नुभयो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “अख्तियारलगायतका निकायको भूमिका निजी क्षेत्रमा रहने कि नरहने भन्ने विषय प्रष्ट हुनुपर्छ । नियमन मात्रै गर्ने, त्रासमात्रै देखाउने हो भने लगानीकर्ता निरुत्साहित हुनेछन् । उद्यमी व्यवसायीलाई पनि स्वच्छ र स्वस्थ व्यवसाय प्रवर्द्धन गरौँ भन्ने नै छ । उपभोक्ताप्रति जिम्मेवार व्यवसायलाई हामीले बढावा दिनुपर्छ । यसतर्पm हाम्रा कमजारी छन् भने सुधार गर्नुपर्छ ।”

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाख बढीले लिए सेवा

कास्की, २ असोजः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपिडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् ।

ओपिडी सेवा लिनेमध्येमा मेडिकलतर्फ सबैभन्दा बढी छन् । मेडिकलमा एक लाख २६ हजार आठ सय ४५, हाडजोर्नीतर्फ ४८ हजार नौ सय ८४, गर्भवती जाँच ३७ हजार नौ सय ४२, बालरोग ३२ हजार दुई सय ४०, सर्जरीमा २७ हजार चार सय ७५ र प्रसूतिमा २५ हजार आठ सय ८७ जनाले सेवा लिएका छन् ।

यसैगरी आव २०७८/७९ मा ओपिडीमा दुई लाख ७२ हजार तीन सय ५९ र इर्मेजेन्सीमा ४० हजार सात सय ३९ जनाले सेवा लिएका थिए भने आव २०७९/८० मा ओपिडीमा तीन लाख ५६ हजार चार सय दुई तथा इर्मेजेन्सीमा ५४ हजार नौ सय ७१ जनाले सेवा लिएको गौतमले जानकारी दिनुभयो ।

“अस्पतालमा देशका सात प्रदेश तथा ७७ वटै जिल्लाबाट बिरामीले सेवा लिएको देखिन्छ । बर्सेनि ओपिडी र इर्मेजेन्सीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । सेवाग्राही बढेसँगै अस्प्तालको साधनस्रोत र क्षमता वृद्धि गर्नुपर्ने चुनौती थपिँदै गएको छ”, गौतमले भन्नुभयो ।

अस्पतालका अनुसार गत आवमा २२ हजार एक सय ४७ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएका छन् । यो सङ्ख्या आव २०७८/७९ मा २० हजार चार सय ६६ र आव २०७९/८० मा २२ हजार छ सय ८४ रहेको थियो ।

अस्पतालका अनुसार ओपिडी तथा आकस्मिक कक्षमा उपचार सेवा लिने बिरामीमध्ये सवैभन्दा बढी कास्की जिल्लाका छन् । त्यसपछि तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, धादिङ र पाल्पाका नागरिकले सेवा लिएका छन् ।

अस्पतालले भौतिक पूर्वाधार विकाससँगसँगै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिएको अस्पतालले जनाएको छ । अस्पतालले मिर्गाैला प्रत्यारोपणलगायत केही विशिष्ट उपचार सेवा दिन सुरु गरेको छ ।

हालको पोखरा महानगरपालिका–१० मा विसं २०१२ मा सोल्जर बोर्ड अस्पतालका नाममा यो स्थापना भएको हो । त्यसपछि विसं २०१९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो । विसं २०३२ मा ५० शय्या क्षमतामा विस्तार भएर गण्डकी अञ्चल अस्पताल बन्यो । विसं २०४३ देखि एक सय ५० बेड क्षमतामा विस्तार भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विकास भएकामा विभिन्न मितिमा शय्या थपिँदै गएर हाल पाँच सय बेडको अस्पतालमा रुपमा रहेको छ ।
सरकारले विसं २०७२ मा अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने घोषणा गरेको थियो ।

काठमाडौंमा भित्रियो एट्टिक होटल इन, एक वर्षमा एक हजार होटलसँग सहकार्य गर्ने

काठमाडौँ-होटलको बुकिङ्ग र व्यवस्थापनसम्बन्धी काम गर्दै आएको ट्राभियालिटी नेपालले काठमाडौँमा ‘एट्टिक होटल इन’ भित्र्याएको हो । गैरआवासीय नेपालीले स्थापना गरेको ट्राभियलिटीले होटल व्यवस्थानसम्बन्धी तालिम दिने तथा डिजिटल प्रचारको काम गर्दै आएको छ । कम्पनीका स्टाट्रेजी अफिसर सोमनाथ सापकोटाका अनुसार हाल साना ठूला गरी २७ वटा होटलसँग सहकार्य गर्दै आएको कम्पनीले आगामी एक वर्षमा एक हजार होटलसँग सहकार्य गर्ने तयारी रहेको छ ।

एट्टिक होटल इन को आज एक कार्यक्रमकाबीच नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) र होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले संयुक्तरुपमा सुभारम्भ गर्नुभयो ।

सो अवसरमा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा विभागले निजी क्षेत्रसँगको साझेदारिता र सहयोग अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गरेर पर्यटकीय पूर्वाधारको प्रभावकारी सदुपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

बोर्डका उपाध्यक्ष सापकोटाले होटल पूर्वाधारमा भित्रिएका ब्राण्डले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्दनलाई प्रभावकारी बनाउन बोर्डले बजेट तथा आगामी कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो । हानका अध्यक्ष शाहले नेपालमा धमाधम तारे होटल तथा चेन होटल थपिरहेको भन्दै ३५ लाख पर्यटक धान्ने हालको होटल पूर्वाधारको उपयोग हुनुपर्ने धारणा राख्नुभयो ।

कम्पनीका स्टाट्रेजी अफिसर सापकोटाले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय होटल ब्राण्ड भित्रिरहेका र यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ट्राभियालिटी नेपालको पर्यटन क्षेत्रको सुधारसँगै होटलका सेवा सुविधा सुधार गरी विद्यमान ३० देखि ४० प्रतिशतको हाराहारीमा रहेको ‘अकुपेन्सी’ दरलाई सुधार गर्ने उद्देश्यसहित एटिक इन होटल एण्ड रिसोर्ट ब्राण्डको सुरुआत गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यसले फ्रेन्चाइज मोडलमा ‘रिजर्भेसन सिस्टम’को माध्यमबाट मझौला साथै सबै प्रकारका होटलको व्यवस्थापन, प्रवर्द्धन र बजार व्यवस्थापन, गुणस्तर अभिवृद्धि गर्दै आएको सापकोटाले जानकारी दिनुभयो । एट्टिक होटल इन एक्सप्रेसले पर्यटकस्तरीय, एट्टक २ तारे होटल र एट्टिक प्लसले उच्च स्तरको तारे होटलको व्यवस्थापनका साथै कर्मचारीलाई तालिम दिँदै आएको छ ।

कम्पनीले होटल राइनोको व्यवस्थापनमा अमेरिकी ब्राण्ड बेष्ट वेस्टर्न प्लस भित्र्याएको र यो होटल आगामी अक्टोबरबाट सञ्चालनमा आउने जनाइएको छ । यी ब्राण्डको माध्यमबाट नेपालमा पर्यटनको प्रवर्द्धन मात्र नभई वैदेशिक लगानी, रोजगारी, प्रविधि भित्रिनुका साथै गन्तव्यकै प्रचरप्रसार हुने चिफ स्ट्राटेजी अफिसर सापकोटाको भनाइ छ ।

मुलुकको विकासका लागि विश्वविद्यालय सुधार जरुरी : उपकुलपति बराल

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले मुलुकको विकासका लागि विश्वविद्यालयको सुधार जरुरी रहेको बताउनुभएको छ । मंगलबार पद्मकन्या बहुमुखी क्याम्पसको ७४औँ वार्षिकोत्सवका अवसरमा उहाँले विश्वविद्यालयको सुधार नगरेसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभयो ।

उपकुलपति प्राडा बरालले मुलुकको ८० प्रतिशत उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयले ओगटेको उल्लेख गर्दै विश्वविद्यालय सुधार पहिलो सर्त भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले यस विषयमा कुलपति र सहउपकुलपतिसँग स्पष्टसँग भनिसकेको छु, विश्वविद्यालय सुधार नहुँदासम्म मुलुक समृद्ध हुँदैन ।”

उहाँले दाङमा र डोटीमा इन्जिनियरिङ कलेज सञ्चालनमा जनशक्ति र बजेट अभाव भएको समेत बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा आवश्यक दरबन्दी नभएको बताउँदै उहाँले यस विषयमा आफूले सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो । 

त्यसअवसरमा पद्मकन्या बहुमुखी क्याम्पस प्रमुख प्राडा जयालक्ष्मी प्रधानले पद्मकन्या क्याम्पसमा पढेका विद्यार्थीहरु अहिले मुलुकको राजनीति हाँकिरहेको उल्लेख गर्दै क्याम्पसको थप विकास जरुरी रहेको बताउनुभयो ।

नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्छौं: मन्त्री अधिकारी

भक्तपुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्न खोजीकार्य थालनी गरेको बताउनुभएको छ ।आज भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गाको निरीक्षणपछि उहाँले सरकारले ट्रष्टको स्वामित्वमा रहेका देशभरका जग्गा खोजी गरी संरक्षण कार्य सुरु गरेको बताउनुभयो ।

मन्त्री अधिकारीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताललगायतको अवलोकन गर्नु भई भौतिक अवस्थिति र शैक्षिक अवस्थाबारे जानकारी लिनुभयो । उहाँले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवं ऐतिहासिक महत्वका सम्पदाको पनि अवलोकन गर्नुभएको थियो ।

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले जनताको सुखदुःखमा सबैभन्दा नजिक रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिरहेकाबारे जानकारी गराउनुभयो ।

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री

काठमाडौँ, २ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको थियो । यसवर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २०८१ देशभर मनाउन लागिएकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएको छ ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “भएको लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ ।”

 सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारण/प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

 “समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेछ”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रुपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ ।

आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहिनत गर्नुपर्ने देखिएको उहाँको कथन छ । उहाँले त्यसमा थप सुधार गर्न विविधता व्यवस्थापन गर्दै शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील, सीपयुक्त जनशक्ति निर्माणमा हाम्रो प्राथमिकता रहेको बताउनुभएको छ । “विद्यालय तहदेखि उच्च शिक्षासम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाइ विश्वमा उत्पन्न लाभ र अवसरको उपयोगसँगै नवीन र सिर्जनशील कार्यमा केन्द्रित बनाउन र मर्यादित वातावरणमा सिक्न र सिकाउन प्रतिबद्ध हुनु आजको आवश्यकता हो”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जवाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । 

आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने

काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतयामौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ ।

यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

काठमाडौँ, २ असोज : भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सहआयोजनामा गत भदौ २७ र २८ गते सो सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनबाट प्राप्त भएको निष्कर्षलाई सुत्रबद्ध गरेर सरकारलाई बुझाइने आयोजकमध्येको एक परिसङ्घले जनाएको छ । 

सो सम्मेलनमा खासगरी वैकल्पिक सार्वजनिक सवारी साधनको रुपमा विकसित पोडवेबारेमा अधिकांशको चासो रहेको पाइएको थियो । सम्मेलनस्थलमा पूर्वाधार, यातायात, बैंक, बीमा, निर्माण क्षेत्रका २० वटाभन्दा बढी व्यावसायिक कक्षमध्य पोडवेको कक्षमा चासो राख्नेको सङ्ख्या उल्लेख्य थियो । पछिल्ला दिनमा सार्वजनिक यातायात असुरक्षित र अव्यवस्थित बनिरहेको सन्दर्भमा पोडवे एउटा विकल्प बन्न सक्ने अध्ययनले देखाएको छ । 

तारमा आधारित सो प्रणाली नेपालमा सञ्चालन भए सार्वजनिक यातायातमा क्रान्ति नै हुने जानकारहरु दाबी गर्छन् । नेपालमा पोडवे प्रणाली भित्र्याउन लागीपर्नुभएका काठमाडौँ पोडवेका उपाध्यक्ष निल भट्टराई सम्मेलनमा क्रममा प्राप्त सकारात्मक सन्देशले आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले पोडवेको प्रविधि, लगानीका ढाँचालगायतका विषयमा चासो राख्दै आफूहरुले सहजीकरण गर्ने बताउनुभएको थियो । 

काठमाडौँ पोडवेका उपाध्यक्ष भट्टराई सरकारी तहमा चासो बढ्दै गएको एवं चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएकाले अब प्रक्रिया सहज रुपमा अगाडि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो । “पूर्वाधार सम्मेलनका क्रममा उपस्थित सरकारी एवं निजी क्षेत्रबाट व्यक्त भएको चासोले हामीलाई प्रेरित गरेको छ । हामी थप आशावादी छौँ, अब वैकल्पिक यातायात प्रणालीको विकासमा थप सहजीकरण हुनेछ”, उपाध्यक्ष भट्टराईले भन्नुभयो । 

उहाँका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा खतिवडाले चासोपूर्वक पोडवे प्रविधिबारे जानकारी लिनुभएको थियो । सरकारले आवश्यक नीतिगत व्यवस्था गरी पोडवेको अध्ययन तथा निर्माणका लागि सरकारले सहजीकरण गरिदिए एकाध महिनाभित्रै परिणाम दिन सकिने भट्टराईको भनाइ छ । काठमाडौँको गोणर्केश्वर नगरपालिकामा पोडवे सञ्चालनका लागि आवश्यक अध्ययन भइसकेको छ । क्यानडाका प्राविधिकले यसअघि नै सो क्षेत्रमा अध्ययन गरिसकेका छन् । 

सडक एवं नदी कोरिडोरमा पोड वे निर्माण गर्न सकिने अध्ययनबाट देखिएको छ । यातायातको असुविधा रहेको काठमाडौँ उपत्यका र अन्य सहरी क्षेत्रमा यो प्रविधि उपयुक्त विकल्प हुन सक्ने देखिएको उपाध्यक्ष भट्टराइको भनाइ छ । 

कम्पनीले काठमाडौँ उपत्यकाभित्रका विभिन्न नगरपालिकालाई जोड्ने गरी पहिलो चरणमा एक सय किलोमिटरमा पोडवे सञ्चालनका लागि प्रारम्भिक अध्ययन गरेको जनाएको छ । विद्यमान चक्रपथ, कौशलटार–नैकाप, बुढानीलकण्ठ–कीर्तिपुर, तारकेश्वर–टोखा हुँदै चक्रपथ, रत्नपार्क–बानेश्वर हुँदै चक्रपथ, गोकर्णेश्वर–बौद्ध–आरुबारी–दक्षिणढोका क्षेत्रसम्म उक्त प्रविधि विस्तार गर्न सकिने अध्ययनबाट देखिएको छ । 

कर्णाली प्रदेशमा सुर्खेत–हुम्ला (लिमी)सम्म दुई सय ३१ किलोमिटर लामो पोडवे सञ्चालन गर्न सकिने गरी पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । सो कम्पनीले अध्ययन प्रतिवेदन कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराइ सकिएको उल्लेख गरेको छ । 

यस्तै, कोशी प्रदेशमा कूल ८३ किलोमिटर क्षेत्रमा पहिलो चरणमा काम गर्न मुख्यमन्त्री कार्कीले पनि आफूहरुलाई आग्रह गर्नुभएको जानकारी दिँदै उपाध्यक्ष भट्टराई सङ्घीय सरकारले आवश्यक नीतिगत प्रबन्ध गरिदिए सहज हुने बताउनुहुन्छ । 

सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा मेट्रोरेलको अवधारणा ल्याइए पनि प्राविधिक र आर्थिक कठिनाइका कारण कार्यान्वयनमा जान सकेको छैन । पोडवे हालसम्मकै नयाँ र गुणस्तरीय प्रविधि भएको यसमा संलग्नको दाबी छ । काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले पोडवे सञ्चालनका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरिसकेका छन् । 

पोडवे तार (केवल)मा आधारित प्रविधि हो । यो केवलकारको अर्को र अत्याधुनिक स्वरुप हो । अर्को शब्दमा भन्दा यसलाई रेलको पछिल्लो र अत्याधुनिक संरचनाका रुपमा लिइन्छ । सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा यसलाई लिइएको छ । 

हाल दुबई र बेलारुसले उक्त प्रविधिमा आधारित पोडवे सञ्चालनमा छन् । अमेरिका र भारतमा पनि सञ्चालन हुने क्रममा छ । स्वदेशी बिजुलीको प्रयोग गरेर सञ्चालन गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको आयातमा वार्षिक रूपमा खर्च हुने ठूलो विदेशी मुद्रा देशभित्रै राख्न सकिन्छ । 

पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा उक्त कार्यक्रम समावेश छ । बजेटमा पृथ्वी राजमार्गको विमलनगरबाट गोरखाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण अगाडि बढाउने उल्लेख छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले छुट्टाछुट्टै आयोजनाको प्रस्ताव गरेका छन् ।

लुम्बिनी प्रदेशमा नमूना परियोजनाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको भए पनि सङ्घीय सरकारको अनुमति प्राप्त नहुँदा काम अघि बढ्न सकेको छैन । काठमाडौँ पोडवेले पर्वतमा एउटा नमूना परियोजना सञ्चालनका लागि आवश्यक तयारी भने गरिरहेको जनाएको छ । 

मेट्रोरेलको जस्तै सुविधा दिने पोडवेको गति प्रतिघण्टा एक सय ५० किलोमिटरको दूरी तय गर्न सक्छ । पोडवे सञ्चालनका लागि छुट्टै ट्रयाकको आवश्यकता पर्छ । स्वचालित प्रविधिमा आधारित भएकाले पनि त्यसका लागि छुट्टै मार्ग निर्माण गर्नुपर्छ । पोडवे स्वचालित प्रविधिमा आधारित छ । 

यात्रु चढाउन र ओराल्न आकाशे पुलजस्तै संरचना तयार गर्नुपर्नेछ । केवलकारमा जस्तै पोडवे स्टेसनमा रोक्ने तथा झर्ने समयमा स्वचालित (अटोमेटिक) सुविधा प्राप्त हुनेछ । प्रत्येक दुई किलोमिटरमा स्टेसन निर्माण गरिन्छ । 

हाल सञ्चालनमा रहेका सडकको किनारा वा सडकको माथिबाट हिँड्ने भएकाले निर्माण गर्न सहज हुनेछ । सङ्घीय सरकारले आवश्यक नीति तयार गरी अनुमति दिएको खण्डमा बढीमा तीन वर्षभित्रै काठमाडौँ उपत्यकामा पोडवे सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

सार्वजनिक यातायातका जानकार आशीष गजुरेल नेपालको यातायात क्षेत्रलाई गुणस्तरीय र जोखिमरहित बनाउने हो भने पोडवे नै उत्तम विकल्प भएको बताउनुहुन्छ । सरकारले नै यसका लागि पहलकदमी लिएर निजी क्षेत्रलाई निर्माणका लागि अनुमति दिनुपर्ने उहाँको सुझाव छ । 

 बेलारुसबाट सरु भएको सो प्रविधिमा विश्वव्यापी रुपमा चासो र माग बढ्दै गएको छ । पछिल्लो समय यो प्रविधि मौरिसस, मलेसियामा  पनि सञ्चालनको तयारी छ ।

एउटा पोड (डिब्बा) मा एकपटकमा ४२ यात्रुले यात्रा गर्न सक्छन् । एक घण्टाको समयमा ५० हजार यात्रुले आवतजावत गर्न सक्छन् । हालको मूल्यअनुसार प्रतिकिलोमिटर रु १० मा यात्रा गर्न सकिने अध्ययनले देखाएको छ । यो प्रविधि यात्रुका साथै सामान ओसारपसालमा पनि प्रयोग गर्न सकिन्छ । 

सरकारले २०८० मङ्सिर ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पोडवे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नीति कानुन, मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरिसकेको छ । 

त्यस्तै, लुम्बिनी विकास कोषले २०८० साल मङ्सिर २५ गते काठमाडौँ पोडवेसँग विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माग गर्ने निर्णय गरेको थियो । कोषले काठमाडौँ पोडवेलाई डिपीआर पेस गर्न आग्रह गरिसकेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०८० साल जेठ १२ गते नै काठमाडौँ उपत्यकाको नदी करिडोरमा ट्राफिक जाम कम गर्न माइक्रो रेल, पोडवे सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ । काठमाडौँ उपत्यकाका १३ वटा नगरपालिकाले पोडवेको आवश्यकता र महत्वका बारेमा छलफल गरी आवश्यक नीतिगत व्यवस्थाका लागि सहरी विकास मन्त्रालयलाई अनुरोध गरिसकेको छ । 

काठमाडौँ पोडवेका उपाध्यक्ष भट्टराई बढी जनघनत्व भएको काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा सहज, छिटो एवं भरपर्दोे यातायातको विकल्पमा पोडवे नै रहेको बताउनुहुनछ । खासगरी सडक र नदी करिडोर सङ्घीय सरकार मातहत हुने भएकाले अनुमति लिन जरुरी रहेको उहाँको भनाइ छ । 

विश्वमा करिब चार दशकको अध्ययनपछि सन् २०२० मा मात्र यस प्रविधिले विश्वव्यापी मान्यता पाएको थियो । जानकारहरुका अनुसार एक सय किलोमिटर पोडवे निर्माणमा करिब रु ४० अर्ब बराबर खर्च हुने अनुमान छ । सरकारले सहजीकरण गरिदिए आफूहरुले नमूना परियोजना निर्माण गरेर देखाउने उपाध्यक्ष भट्टराईले विश्वास व्यक्त गर्नुभयो । 

सार्वजनिक यातायातमा सुधार, रोजगारीको अभिवृद्धि र वैदेशिक लगानी भ्यिाउन सकिने भएकाले पनि आफूहरु यस प्रविधिमा आकर्षित भएको र अनुमति पाएको १० वर्षमा एक हजार किलोमिटर पोडवे निर्माण गर्न सकिने उहाँको भनाइ छ ।

भोजपुरको अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

टक्सार (भोजपुर), २ असोज : पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।

ख्ुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडाँैसम्म पनि उत्तिकै छ । 

अकबरेको व्यावसायिक खेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हँुदै आएको छ ।  मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।” 


खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय  वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका धु्रवकुमार राईले त्यसैमध्येको एक हुनुहुन्छ । दश वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताउनुभएका उहाँ पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाउनुभएको छ । राईले गाउँमै धु्रव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आउनुभएको हो । 

“वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, राईले भन्नुभयो । रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ । 


यसअघि मकै, कोदो, आलुलगायतको खेती गनेउहरु प्नि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ । पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गर्नुभएका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताउनुभयो । 

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ ।  प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ । 

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

 म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण हो, पानीको अभाव ।

जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए ।

पानी खोज्दै हिंडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिंदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरू भत्किदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ ।

पानी खोज्दै बसाइ सर्नेह्ररु बढेपछि ध्येको सयौं हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइँसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिए ।

‘सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन’, उनले भने, ‘जमिन सबै बाँझो हुँदै गयो । मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो,’ उनले आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाए ।

खेती किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो । हिउँदमा हिउँ कम पर्न थालेपछि मुहान सुकेको वडाध्यक्ष गुरुङले बताए । ‘पानीको मुख्य स्रोत नै हिउँ थियो, जलवायु परिवर्तनका कारण भने जति हिउँ पर्न छाड्यो’, उनले भने, ‘भएका प्राकृतिक मुहान सुक्दै गए भने हिउँ कम परेकाले पानीको अभाव चर्कियो ।’

उनका अनुसार अहिले स्थानीयहरु बर्खामा भेडा च्याङ्ग्रा चराउनका लागि मात्र गोठ लिएर ध्ये जाने गर्छन् । पानी पर्न छाडेपछि खेतीयोग्य जमिन खेती हुन छाडेको छ ।

ध्ये साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो । अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन् । यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो छ ।

पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए । सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताए ।

नयाँ बस्तीमा उनीहरुले स्याउखेती गरिरहेका छन् । ‘तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ’, उनले भने ।

ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ । ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार सात सय मिटर उचाइमा छ । उक्त गाउँमा हाल २६ घरधुरीको बसोबास छ ।

बस्तीसँगै विद्यालय थामजुङमा सारिएको छ । विसं २०६४ देखि नै ध्येवासी बसाइ सरेर वेँसीमा रहेको थामजुङमा झर्ने क्रम सुरु भएको थियो । चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युत्लगायत सुविधा छ ।

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

काठमाडौँ, २ असोजः बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ ।

गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गर्नुभएको शिष्टाचार भेटमा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल भएको थियो । 

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग मङ्गलबार गर्नुभएको भेटवार्तामा पनि सोही विषयमा छलफल भएको जनाइएको छ । यसअघि गत असारमै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा अवसरमा सम्झौताको तयारी गरिएपनि विभिन्न कारणले तत्कालीन समयमा यसले मूतरुप लिन सकेको थिएन । यसअघि बङ्गलादेशले पहिलो चरणमा ४० मेगावाट बिजुली लैजान सहमति जनाइसकेको छ । 

पछिल्लो समय बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । बङ्गलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल गरिरहेको सन्दर्भमा अब छिट्टै सम्झौता हुने वातावरण निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 

ऊर्जा मन्त्री खड्कासँग भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । सो भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकाले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुग्ने बताउनुभएको थियो । 

सो अवसरमा दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनमा भारतीय पक्षको सहमति र विद्युत् व्यापारको सुरुवातलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुने विश्वास व्यक्त गरिएको थियो । 

ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरी नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत् व्यापारको ढोका खोल्ने बताउनुभएको थियो । 

कूल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । त्यसमा बङ्गलादेश सरकार र यहाँस्थित राजदूतावासबाट आवश्यक पहल गर्नु जरुरी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

सो भेटमा राजदूत चौधरीले बङ्गलादेशले निकट भविष्यमा नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बङ्गलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेकोे बताउनुभएको थियो । उहाँले विद्युत् उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बङ्गलादेशले आवश्यक सहयोग गर्ने धारणा राख्नुभएको थियो । 

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको छ महिना पाँच वर्षसम्म ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिने जनाएको छ । प्रतियुनिट ८ दशमलव १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ । 

 बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख युनुससँग राजदूत भण्डारीले गर्नुभएको शिष्टाचार भेटका क्रममा पनि ४० मेगावाट बिजुलीको विषयमा नै छलफल भएको बताइएको छ । 

नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय लाइन हुँदै बिजुली भारतीय भूमिबाट बङ्गलादेश जानेछ । प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । प्रसारण लाइनको प्राविधिक चुहावट भने ढल्केबर–मुजफ्फपुरबीचको प्राविधिक चुहावट भने प्राधिकरणले नै व्योहोर्नेछ । 

भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ । साङ्केतिक रुपमा नै भए पनि बङ्गलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रुपमा लिइएको छ । भारतपछि उपक्षेत्रीय रुपमा नेपालको बिजुली पुग्नु आफैँमा महत्वपूर्ण हुने सरकारको बुझाइ छ । प्राधिकरणले भारतीय कम्पनी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पु¥याउनेछ । 

खासगरी, प्राधिकरणले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली बङ्गलादेश निर्यात गर्ने बताउँदै आएको छ । बङ्गलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।   

नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । त्यसो त बङ्गलादेशमा समेत बिजुली निर्यात भएको खण्डमा त्यसले रणनीतिक महत्व राख्नेछ । गत साउन १३ गते नेपाल, भारत र बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको थियो । बङ्गलादेशको राजनीतिक परिवर्तनले सो कार्यक्रम स्थगित भएको थियो । 

नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । प्राधिकरणले गरेको प्रक्षेपणअनुसार वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुनेछ ।  

बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली लैजान इच्छा व्यक्त गरेको छ । 

नेपाल र बङ्गलादेशका बीचमा बिजुली आदानप्रदानसम्बन्धी विषयमा पटक–पटक छलफल भइसकेको छ । सरकारी तहका अलावा निजी क्षेत्रले पनि एक अर्कासँग सहकार्य गर्ने विषयमा यसअघि नै छलफल भइसकेको छ । 

सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले गरिसकेको छ । सोही बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो । 

दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकले नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । 

विसं २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुवात गर्ने प्रयोजनाका लागि एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । 

हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ । प्राधिकरणले मङ्गलबार मात्रै १८ हजार एक सय ६४ मेगावाट घण्टा बराबरको बिजुली भारतलाई निर्यात गरेको छ । देशभित्र कूल माग दुई हजार एक सय २६ मेगावाट बराबर छ । 

बाजागाजासहित इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह, रातभर दीपावली गरिने

भक्तपुर, २ असोजः इन्द्रजात्राको दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ ।
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पु¥याई साँझबाट मेला सुरु भएको हो ।

भाद्र शुक्ल चतुर्थीको दिन साँझ दीपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्र दहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरी साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि जात्रा सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उहाँको भनाइ छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँंकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।

इन्द्र दहमा स्नान गरी समय् अर्थात भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमा गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भ्यिाएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ ।

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । 

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ ।  

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो । 

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । 

पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउनुहुँदै उहाँले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिनुभयो । पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि सुझाव दिनुभयो ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौँ, २ असोजः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा आज खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ । 

केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३७ र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा कायम छ । 

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

थाई भाट एकको खरिददर ४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४ रुपैयाँ ०३ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५३ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अस्ट्रेलियाली राज्यमा १० प्रतिशत पुरुषले घरेलु हिंसामा कानूनी कारबाहीको सामना गर्दछन्– अध्ययन

अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआइसी) द्वारा प्रकाशित अनुसन्धानअनुसार पूर्वी तटीय राज्य एनएसडब्लुमा जन्मेका छ दशमलव तीन प्रतिशत व्यक्तिलाई परिवार र घरेलु हिंसाको कसुरमा प्रहरीले कारबाही गरेको पाइयो ।

अध्ययनमा पुरुषहरूको यो दर तीन प्रतिशत महिलाको तुलनामा नौ दशमलव छ प्रतिशत अत्यन्त धेरै रहेको देखिएको छ ।

समग्रमा एनएसडब्लुमा जन्मेका एक दशमलव दुई प्रतिशत व्यक्ति ५० प्रतिशतभन्दा बढी परिवार र घरेलु हिंसाका अपराधहरूका लागि जिम्मेवार रहेको पत्ता लगाएको छ । परिवार र घरेलु हिंसाका अपराधहरू तीन समूहका मानिसद्वारा गरिएका सबै आपराधिक अपराधमध्ये लगभग आधा हुन् ।

एआइसीका उपनिर्देशक रिक ब्राउनले अनुसन्धानले अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाको उच्च प्रचलनलाई उजागर गरेको बताउनुभयो । “घरेलु हिंसा गर्नेहरूलाई पहिचान गरी लक्षित गरेर विशेषगरी अपराधलाई सामान्य रूपमा रोक्न सक्छौँ”, उहाँले विज्ञप्तिमा भन्नुभयो, “यो प्रतिवेदन अस्ट्रेलियामा जनसङ्ख्याको नमूनामा रेकर्ड गरिएको पारिवारिक र घरेलु हिंसा अपराधीहरूको व्यापकताको पहिलो अनुमान हो । यो पारिवारिक र घरेलु हिंसाका अपराधीहरूको दृश्यता बढाउने दिशामा महत्त्वपूर्ण कदम हो ।”

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार अस्ट्रेलियामा चारमध्ये एक महिला र १४ मध्ये एक पुरुषले १५ वर्षको उमेरदेखि नै घनिष्ठ साथीबाट हिंसाको अनुभव गरेका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बरको सुरुमा अस्ट्रेलियाका सङ्घीय, राज्य र क्षेत्रीय सरकारहरूले घरेलु हिंसा रोक्न र पीडितहरूलाई सहयोग गर्न पाँच वर्षे योजनामा चार अर्ब ७० करोड अस्ट्रेलियाली डलर (तीन अर्ब १० करोड अमेरिकी डलर) लगानी गर्न सहमत भएको घोषणा गर्नुभएको थियो ।

‘विपन्न वर्गको पहुँचसम्म स्वास्थ्य सेवा पुर्‍याउँछु’ – प्रदीप पौडेल

लेखनाथ (कास्की), १ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई विपन्न वर्गको पहुँचसम्म पुग्नेगरी आफूले काम गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा अयोजित विभिन्न शुभेच्छुक संस्थाका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यो सेवा सर्वसाधारण जनताले प्राप्त गर्न सकेका छैनन् ।”

सर्वसाधारणको स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले स्वास्थ्य बीमामार्फत पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले काम सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम एकद्वार प्रणालीमार्फत खर्च गरिने बताउनुभयो । स्वास्थ्य बीमाको रकम ४० प्रतिशतभन्दा वढी दुरुपयोग भएकाले त्यस्तो दुरुपयोग हुन नदिन आफूले एकद्वार प्रणालीमार्फत स्वास्थ्य बीमाको रकम खर्च गर्न लागिएको भनाइ उहाँको छ ।

“नेपाली जनतामा राजनीतिप्रति वितृष्णा बढेकाबेला कांग्रेसले नेतृत्व गरेको मन्त्रालयले जनताको हितमा कामगरी कांग्रेसप्रति जनताको आकर्षण बढाउन आवश्यक छ”, मन्त्री पौडेलले भन्नुभयो, “कांग्रेस कार्यकर्ता एकजुट भएर आउँदो निर्वाचनमा कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले कांग्रेसले जनताले महसुस गर्नेगरी आफ्ना सेवा दिनसक्यो भने आगामी निर्वाचनमा पहिलो पार्टी हुने बताउनुभयो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले कांग्रेसलाई बलियो पार्टीका रुपमा विकास गर्न सबै नेता तथा कार्यकर्ता इमान्दार भएर सङ्गठन विस्तारमा जुट्न आवश्यक भएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा, देवराज चालिसे लगायतले कांग्रेस पार्टीलाई बलियो बनाएर लानुपर्नेमा चिन्ता व्यक्त गरेका थिए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

पढाइ स्नातकोत्तर, काम भेडा चराउने !

खोटाङ, १ असोजः पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो । कतिपयले त पढेको मान्छेले यस्तो काम पनि गर्छन् भनेर हेयको दृष्टिले पनि हेर्छन् तर केपिलासगढी गाउँपालिका–१ तेराहाका लक्ष्मण साम्पाङ ‘समिप’ लाई त्यसको प्रवाह छैन । उहाँ पाँच सय बढी भेडाको बथानमै रमाइरहनुभएको छ ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण साम्पाङले विगत पाँच वर्षदेखि मुन्धुम भेडापालन फार्मदर्ता गरेर व्यावसायिक रुपमा भेडापालन व्यवसायमा रमाइरहनुभएको हो । हाल उहाँको फार्ममा पाँच सयजति उन्नत (बडुवाल) जातका भेडासँगै आफ्नो सुन्दर सपना सजाइरहनुभएको छ ।

दुःखजिलो गरेर स्नातकोत्तर पढाएको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमाको चाहनाविपरीत आफू भेडापालन व्यवसायमा लागेको साम्पाङले बताउनुभयो । “म सानैदेखि स्वतन्त्रतामा रमाउने मान्छे । सरकारी वा अन्य जागिरमा त्यस्तो हुँदैन । राजनीतिशास्त्र पढेको मान्छे राजनीतिमा रुचि हुने नै भयो तर त्यसका लागि आर्थिक अवस्था राम्रो हुनुप¥यो नि! त्यसैले यो व्यवसाय रोजेको हुँ”, उहाँले भन्नुभयो ।

दिक्तेलस्थित सालपा विकास बैंकबाट ऋण लिएर रु २० लाखमा उन्नत जातका एक सय ८० भेडा खरिद गरी व्यवसाय सुरु गर्नुभएका उहाँले हाल वार्षिक करिब रु २० लाख आम्दानी हुने गरेको सुनाउनुभयो । विसं २०५८ देखि राजनीतिमा समेत सक्रिय ३९ वर्षीय साम्पाङले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राजनीति पनि सँगसँग अगाडि बढाएको बताउनुभयो । उहाँले पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसक्नुभएको छ भने हाल पार्टीको केपिलासगढी गाउँपालिका कार्यसमिति सचिव हुनुहुन्छ ।

युवा पुस्तालाई ‘राजनीतिलाई पेसा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ’ भन्ने सन्देश दिन भेडापालन व्यवसाय सुरु गरेको बताउने सम्पाङलाई आफ्नै सहोदर अन्तरे भाइ भैराज साम्पाङले सहयोग गर्दै आउनुभएको छ । यसका साथै उहाँले स्थानीय दुई जनालाई पनि आफ्नो व्यवसाष्मा जोड्नुभएको छ । “म, भाइ र स्थानीय पृथीराज राई र कल्याण राई पछिल्लो समय यही व्यवसायमा रमाइरहेका छौँ । चारै जनाले पालैपालो लेकबेँसी, भेडीचोकमा बसेर भेडाको हेरचाह गरिरहेका छौँ”, साम्पाङले भन्नुभयो,“हिउँदको समयमा बेँसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाद्को समयमा लेकाली क्षेत्र मयुङ लगायतका फाँटहरूमा चरनका लागि पुर्‍याउने गरेका छौँ ।”

चारैजना भेडा फार्ममा हुर्किरहेका भेडाका थुम्बा (साँढ) र पाठापाठीसँगै पर्यटकीयस्थल मयुङ ((झण्डै तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको) का घाँसे मैदानमा रमाइरहेका भेटिन्छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ । बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृष्य देखिने यस ठाउँमा भेडाको बथानले माहोल थप हेर्नलायक हुन्छ । पर्यटकीयस्थल मयुङ समुन्द्री सतहदेखि तीन हजार ३३३ मिटर उचाइमा पर्दछ ।

साम्पाङले भेडाको साँढ, पाठापाठी, मासु, ऊन र घ्यू बिक्रीबाट आम्दानी हुने गरेको बताउनुभयो । यहाँ भेडाको साँढ रु ५० हजार, मासु प्रतिकेजी रु आठ सय, ऊन प्रतिकेजी रु पाँच सयसम्म र घिउ प्रतिकुरुवा रु चार हजारसम्म बिक्री हुने गरेको उहाँले सुनाउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि रु १० करोड प्राप्त

त्रिशूली (नुवाकोट), १ असोज : नुवाकोट र रसुवाको कृषि क्षेत्रका लागि चालु आर्थिक वर्षमा रु १० करोड २० लाखको योजना तथा कार्यक्रम प्राप्त भएको छ ।

दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास कार्यालय नुवाकोटलाई चालु आवमा केही नयाँ कार्यक्रमसहित कृषि विकासका लागि सञ्चालित यसअघिका कार्यक्रमलाई निरन्तरता दिन योजना तथा कार्यक्रम एवं बजेटको अख्तियारी प्राप्त भएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिँचाइ, साना यन्त्र उपकरणमा सहायता, मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, संरक्षित संरचनामा तरकारी खेती, एक वडा एक कृषि उत्पादनसहित रैथाने बाली र तरकारीको संरक्षणका कार्यक्रम प्राथमिकतामा राखिएका छन् ।

“युवालाई स्वरोजगार बनाउन नयाँ कार्यक्रम कृषि उद्यमशीलता विकास कार्यक्रमका लागि रु ३६ लाख बजेट विनियोजन गरिएको छ भने बाँझो रहेका खेतमा बाली लगाउनलाई सहज बनाउन सिँचाइ कार्यक्रम माग गर्नेलाई रु नौ लाखलगायत आकर्षण कार्यक्रम राखिएका छन् ।” वरिष्ठ कृषि विकास अधिकृत खनालले भन्नुभयो, “प्राङ्गारिक मल वितरण, गोठमल र भकारो सुधार कार्यक्रम, हराएका रैथाने अन्नबाली र तरकारीखेतीको प्रवर्द्धनका लागि किसानलाई सहयोग उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ ।”

रैथाने बाली र तरकारीको संरक्षणसहित सम्भाव्यता भएका नयाँ उब्जनीको अध्ययन तथा परीक्षणसमेत गर्ने कार्यक्रम चालु आर्थिक वर्षको प्राथमिकतामा राखिएको छ । नुवाकोटमा धान, चामल, आलु, तरकारी, ट्राउट माछा, स्ट्रबेरी र रसुवामा आलु, स्याऊ, दाल, सिमीको व्यावसायिकखेतीमार्फत उत्पादन वृद्धि र बजारीकरणमा कार्यालयले सहयोग पुर्‍याउँदै आइरहेको छ ।

चालु आवका लागि प्राप्त योजना तथा कार्यक्रमले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गरिबी न्यूनीकरण तथा खाद्य पोषण सुधारमा उल्लेख्य सहयोग पुग्ने लक्ष्य लिइएको छ । त्यसका लागि सहकारी र निजी क्षेत्रको सहभागितामा कृषिजन्य वस्तुको उद्योग तथा व्यवसायको विकास गर्ने उल्लेख गरिएको छ ।

बिरामीको सुरक्षाका लागि आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ, १ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलेले बिरामीको सुरक्षाका लागि आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । विश्व बिरामी सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले बिरामी सुरक्षाको सुनिश्चिता गर्न विद्यमान नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र बिरामीमा हुनसक्ने हानि न्यूनीकरण गर्न सहयोग गर्ने बताउनुभयो ।

बिरामी, स्वास्थ्यकर्मी तथा नीति निर्माताबीच पारस्परिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको बताउँदै मन्त्री पौडेलले बिरामीको रोगका लागि सही निदानात्मक प्रक्रियालाई विशेष जोड दिइएको स्पष्ट पार्नुभयो । उहाँले सही र सुरक्षित निदान प्रक्रियामार्फत निदानात्मक त्रुटिलाई न्यूनीकरण गर्न र प्रणालीगत तथा मानवीय क्षमता अभिवृद्धि गर्न बिरामी स्वयं, उहाँको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सबैको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐनलगायत उपभोक्ता संरक्षण ऐनले बिरामी सुरक्षालाई प्राथमिकतामा राखेका सन्दर्भमा हालै मात्र मन्त्रालयबाट स्वीकृत राष्ट्रिय बिरामी सुरक्षा कार्ययोजना २०२४/२०३० ले थप दिशानिर्देश गरेको बताउनुभयो । “यी पहललाई अर्थपूर्ण बनाउन उपलब्ध स्रोत, साधन, उपकरण र जनशक्तिको उपयोग गर्दै बिरामीको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिगरी निदानात्मक सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन यस वर्षको दिवसले थप ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो ।

दिवस बिरामीको सुरक्षामा सुधार गर्न र स्वास्थ्य संस्थामा हुनसक्ने क्षति हानि कम गर्न बिरामी, स्वास्थ्यकर्मी, नीति निर्माता र स्वास्थ्य सेवा क्षेत्रमा रहनुभएका नेतृत्वबीचमा जनचेतना बढाउने, विश्वव्यापी बुझाइ बढाउन र पैरवी गर्ने अवसर हो । असुरक्षित हेरचाहका कारण वार्षिक ३० लाखभन्दा बढीको मृत्यु हुने र विश्वभरका हरेक १० बिरामीमध्ये एक जना स्वास्थ्य सेवाका क्रममा हानि हुने गरेको अध्ययनले देखाएको छ ।

न्यूनदेखि मध्यम आय भएका देशमा सयमध्ये चार जनाको असुरक्षित हेरचाहका कारण मृत्यु हुने गरेको छ । यीमध्ये ५० प्रतिशत हानिभन्दा बढी औषधिले गर्दा हुने गर्दछ भने करिब ५० प्रतिशत रोकथाम गर्न सकिने स्वास्थ्य सेवा विभागका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले बताउनुभयो ।

औषधिसँग सम्बन्धित त्रुटि, असुरक्षित शल्यक्रिया प्रक्रिया, सङ्क्रमण, निदानका क्रममा हुने त्रुटि, बिरामीको गलत पहिचान र असुरक्षित रक्तक्षेपजस्ता कारणले बिरामीलाई हानि हुने उहाँको भनाइ छ । डा केसीले रोकथाम पहल र प्रभावकारी उपचारका लागि सही र समयमै निदान गर्नु एवं त्रुटि कम गर्नका लागि निदान प्रक्रिया बुझ्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

आधारभूत स्वास्थ्य संस्थाको पहुँचमा प्रगति भए पनि, आवश्यक निदान सेवाहरूको उपलब्धता प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अस्पतालमा केन्द्रित छ जहाँ जनस्वास्थ्य सेवाका लागि सीमित निदान सुविधाहरू छन् ।

गर्भावस्था ४३ प्रतिशत, बालबालिकाको लागि हेमोग्लोबिन र दिसा परीक्षण १२ प्रतिशत, मलेरिया ३६ प्रतिशत र क्षयरोगको निदान २३ प्रतिशत र एचआइभी परीक्षण ५ प्रतिशत मात्र स्वास्थ्य संस्थामा उपलब्ध रहेको तथ्याङ्क देखाएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीले बताउनभयो ।

निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै

काठमाडौँ, १ असोज : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताकासाथ काम गर्न आज विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका नायब महाप्रबन्धक (प्राविधिक), इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विकागका ला विभागीय प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिइएको हो ।

यसैगरी अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीलाई नपठाउन निर्देशन दिइएको छ । उक्त अवधिमा निगमका सबै विभागका इञ्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीलाई कार्यालयको काममा बाध पर्नेगरी बिदा नलिन निर्देशन दिइएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ दलको घोषणा

काठमाडौँ, १ असोजः पूर्वमन्त्री राजेन्द्र महतोको अध्यक्षतामा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक नयाँ पार्टी गठन भएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको आज बसेको राष्ट्रिय समितिको बैठकले अभियानका संयोजक महतोको नेतृत्वमा नयाँ दल गठन गर्ने निर्णय गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वरिष्ठ नेताबाट अलग भएपछि नेता महतोले करिब छ महिना राष्ट्रिय मुक्ति क्रान्तिको अभियान सञ्चालन गरेर आज नयाँ दलको घोषणा गर्नुभएको हो ।

पार्टीका नेता केशव झाकानुसार बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्नेबारे निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ । सबै कानुनी प्रक्रिया पूरागरी विधिवत् रूपमा निर्वाचन आयोगमा दल दर्तासम्बन्धी सबै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ताको गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिइएको छ । पार्टीका पदाधिकारीको भने टुङ्गो लागि नसकेको नेता झाले जानकारी दिनुभयो ।

काभा महिला भलिबलमा पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो

काठमाडौँ, १ असोस : माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको थियो ।

माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एयर फोर्सलाई समान ३–० को सेटमा नै पराजित गरेको थियो ।

आजको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारयो । त्यसैगरी खेलको तेस्रो सेट २५–१५ ले जित्यो । यस जितसँगै पुलिसले ९ अङ्क जोडेको छ ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । उक्त प्रतियोगिताअन्र्गत पुलिसले यही असोज ३ गते माल्दिभ्सको क्लबसँग खेल्नेछ ।