`

नेपालले एएफसी यु–२० मा भाग लिँदै

काठमाडौँ, १ असोज : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी यु–२० एसियनकप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ गरेको छ । एन्फाद्वारा आज यहाँआयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन् । यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ । नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ तारिखमा उज्वेकिस्तान र २७ तारिखमा बहराइनसँग खेल्नेछ । नेपाली टोलीको गोलकिपरमा जियारथ शेख, क्रिशल मोक्तान र अमित टमाटा छन् । 

त्यसैगरी रक्षकमा सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, रामथापा, सिमान्त थापा, आयुष तिम्सिना र दीपक थापामगर छन् । मिडफिल्डरमा अभिनाश स्याङ्ताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी र प्रशान्त लक्छम रहेका छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामी र समीर तामाङ छन् । 

त्यसैगरी एन्फाले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियन सिपका लागि भुटान जाने नेपाली टोलीलाई पनि सफलताको शुभकामना दिँदै आजै बिदाइ गरेको छ । सेप्टेम्बर २० देखि ३० तारिखसँग भुटानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, श्रीलङ्का र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् ।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलङ्का र २५ मा भुटानको सामना गर्नेछ । नेपाली टोलीको गोलकिपरमा पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा र भक्तबहादुर परियार रहेका छन् । 

यसैगरी रक्षकमा शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराजलावत, भुवनकामी र एकराज विश्वकर्मा छन् । त्यस्तै मिडफिल्डरमा कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ र सविनकुमार लुङ्गेली छन् भने फरवार्डमा रोहित श्रेष्ठ, सन्तोष गोङ्वा र सुजन डङ्गोल छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामील र समीर तामाङ छन् ।

भैरव पुरस्कार गुठीद्वारा तीन पुरस्कार घोषणा

काठमाडौँ, १ असोजः नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम आज घोषणा गरिएको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरी घोषणा गरिएको हो ।

सार्वजनिक विवरणअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । रु एक लाख एक हजार १११ राशीको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतम र रु ५१ हजार १११ राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने गुठीले जनाएको छ ।

पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको एक समिति गठन गरेको थियो । यही असोज १९ गते भैरव स्मृति दिवसको दिन पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।

माओवादी केन्द्र प्रवास प्रदेशको बैठक सुरु

काठमाडौँ, १ असोज : नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच श्रव्यदृश्यका माध्यमबाट बैठक सुरु भएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ । बैठक सुरुआत गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र यसको विकल्प नभएको बताउनुभयो ।

“माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ,” उहाँले भन्नुभयो, “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” अध्यक्ष दाहालले अब सम्पूर्णरूपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो ।

बैठकमा सहभागीका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

अब केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।

प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्छः सभापति देउवा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधानको एकदशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा सभापति देउवाले हाल देखिएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताएका हुन् ।

उनले सबै जातजातीलाई मूलप्रवाहीकरण गर्न समानुपातिक समावेशीताको सान्दर्भिकता रहेको भन्दै यस व्यवस्थालाई पनि थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

‘कतिपय समुदायलाई समानुपातिक प्रतिनिधित्व गर्नैपर्ने बाध्यता छ । यो देश सबैको हो, त्यसैले समावेशी सिद्धान्तका आकारमा सबै जातजातिलाई राज्यको मूल शासनप्रणालीमा ल्याउन पनि यो समानुपातिक समावेशी प्रणालीको आवश्यकता छ’, सभापति देउवाले भने ।

संविधानले परिकल्पना गरेअनुसार समानुपातिक विकासका लागि पनि यस व्यवस्थालाई पूर्ण रूपमा लागू गर्नुपर्ने भन्दै उनले सोहीअनुसार संविधान संशोधन गरिनुपर्ने धारणा राखे ।

‘जातीय छुवाछूत अन्त्यका लागि भएको कानुनी व्यवस्था व्यवहारमा लागु हुनसकेको छैन । प्रजातन्त्र स्थापना भएको लामोसमय भए पनि अझै धेरै सुधारको खाँचो छ । स्वतन्त्र न्यायपालिकालाई बचाउनु छ’, पूर्वप्रधानमन्त्री देउवाले अगाडि भने,’प्रजातन्त्र नै लोकतन्त्रकने मूलकडी हो, प्रजातन्त्रलाई बन्धक बनाउने गरी संविधान संशोधन हुँदैन । प्रधानमन्त्री ओलीजी स्वयं प्रजातन्त्रको लागि लागेको, जेलनेल भोगेको व्यक्ति हो, यसमा सम्झौता गर्नुहुन्न भन्ने विश्वास छ ।’

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको जग सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता नै भएकाले त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

‘कांग्रेसले समावेशीतालाई अपनाउन, विभेद र असमानता हटाउन गरेको योगदानको चर्चा जनसमक्ष पुग्न सकेन’,उनले भनिन्,’बहुमत प्राप्त स्थिर सरकार नहुँदा हाम्रो परिकल्पनाअनुसार घोषणापत्र कार्यान्वयन गर्न सकिएन । त्यसो भएको भए थप काम गर्न सकिन्थ्यो । गठबन्धन सरकार बनाउनु हाम्रो बाध्यता हो ।’

अबको निर्वाचनमा कांग्रेसले युवाको अपेक्षालाई सम्बोधन गर्न सक्ने गरी स्थिर सरकारको नारा लिएर जनतामा जानुपर्ने धारणा राखिन् ।

डकुड्रामा ‘हामी छौं (सिजन १)’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को ट्रेलर सार्वजनिक भएको छ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरुको कथालाई देखाइएको छ । वास्तविक घटनाको पीडालाई कलाकारहरुले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन् ।

७ एपिसोडको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन गुरुङ, सुशान्तकुमार श्रेष्ठ, उमा कार्की, पुरन थापा, लय सङ्ग्रौला, सुस्मा लामा, समीर खान र गणेश बुढाथोकीको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो । शोभितका अनुसार यो डकुड्रामा असोज १२ गतेबाट हरेक शनिबार ओएसआर डिजिटलबाट प्रसारणमा आउनेछ ।

डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

रुसको सुदूर पूर्वमा तीन जना सवार हेलिकप्टर बेपत्ता

रुसको सुदूर पूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् ।
रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमबार आफ्नो आपत्कालीन ‘बीकन सिग्नल’ सक्रिय गर्यो ।

बिकन साना भौतिक यन्त्र हुन्, जसले रेडियो सिग्नल प्रसारण गर्छ । यो स्मार्टफोनद्वारा पत्ता लगाउन सकिन्छ । हाल खोजी तथा उद्धार कार्य जारी छ । जेया नगरपालिका जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको प्रेस सेवाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

सुदूरपश्चिम, १ असोज : सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिनुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेशसभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताउनुभयो ।

यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व सङ्कलन गरी सेवा सञ्चालन गर्न पाउने कानुनी बाटो खुलेको छ ।

गएको साउन २९ गतेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ लाई स्वीकृत गरेको थियो ।

तत्कालीन सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन लगायतको काम यो अध्यादेश जारी भएसँगै सञ्चालन आएको थियो ।

सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले सोमबार चालु आर्थिक वर्ष२०८१/८२को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेको छ ।

‘घोर अन्याय भो’मा शिल्पा र नेत्रको रोमान्स

काठमाडौंँ । गायक गोविन्द राईको स्वर रहेको गीत ‘घोर अन्याय भो’ सार्वजनिक भएको छ । गजल शैलीमा तयार प्रेमपिडा बोल्ने गीतमा लय संग्रौलाको शब्द तथा विकास चौधरीको संगीत छ । गीतको एरेन्ज संजय हमालले गरेका हुन् ।

गीतको भिडियोमा शिल्पा पोखरेल, नव प्रस्तुति नेत्र चौलागाईको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा शिल्पाले नेत्रलाई प्रेममा धोका दिएर पुष्कर राउतसँग बिबाह गरेको देखाइएको छ । भिडियोमा शिल्पा र नेत्रको जोडी सुहाउँदोछ ।

भिडियोको निर्माण प्रज्ञा फिल्मस्ले गरेको हो । फिल्म तथा टेलिफिल्म निर्माण गर्दै आएको प्रज्ञा फिल्मस्ले अब निरन्तर भिडियो निर्माण गर्दै नव प्रतिभालाई अवसर दिने उदेश्य सहित भिडियो निर्माणमा हात बढाएको हो ।मदन कस्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशक सुरेश पाण्डेको रहेको छ ।

देशमा देखिएका समस्या समाधान गर्न काँग्रेस र एमाले एकठाउँमा आयौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, १ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा उभिनुपरेको बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल पर्वतारोहण सङ्घको ३४औँ वार्षिकोत्सव समारोहमा उहाँले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न नेपाली का‌ंग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकठाउँमा उभिन तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी एकताबद्ध भएर सबै प्रकारका समस्या समाधान गर्न चाहन्छौँ । यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपालगायत सबैलाई जोडेर काम गर्न चाहन्छौँ । दुई पार्टीको मनोमानी कायम गर्नका लागि गठबन्धन बनेको होइन ।”

अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राख्नुभयो । “देश बनेपछि राजनीतिक प्रतिष्पर्धा गरौँला । त्यसैले कम्तीमा विसं २०८४ सम्म नेपाललाई एउटा गतिमा अघि बढाउने गरी सहकार्य गरौँ । त्यसपछि स्थिर शासन, स्थिर अर्थतन्त्रसहित स्वच्छ प्रतिस्पर्धासहित अगाडि बढ्नु त छँदैछ”, उहाँको जिकिर थियो ।

आउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गर्नुभयो । उहाँले संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आफ्नो ध्यान रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वपर्यटनमन्त्री भीम आचार्यले दश वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले ठूला विमानस्थल सञ्चालन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले पर्यटन नीति स्पष्ट र समयसापेक्ष हुनुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न जरुरी रहेकाले त्यसतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।

२ सय ९६ किलो गाँजा सहित महोत्तरी र मोरङबाट चार जना पक्राउ

काठमाडौं, १ असोज- महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प

क्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक संजिप र सहचालक किशोरलाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय देवराज राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट आइसिपि तर्फ जाँदै गरेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी स्कार्पीयो चालक सुक्षिम र स्कार्पीयोमा सवार देवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, १ असोज- सिराहा, धनगढीमाइ नगरपालिका-९ मुसहरनियास्थित सडकमा स.५ प ११९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१० बस्ने २२ वर्षीय सुमित सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको आरके मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ घोडपाली चोकमा ना.८ ख ७५४९ नम्बरको ट्रक र लु.प्र.०१-००२ प २०५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक प्रहरी चौकी सुक्रौलीआमा रूपन्देहीमा कार्यरत प्रहरी सहायक हवल्दार प्रेम ढाँडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सल्यान, त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित सडकमा फलावाङबाट लुहामतर्फ जाँदै गरेको रा.१ च १०४५ नम्बरको पिकअप जिप अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका-४ फलावाङ बस्ने ५५ वर्षीय टोप बहादुर साहुको जिल्ला अस्पताल सल्यानमा र ५२ वर्षीया लाली रावतको राप्‍ती प्रादेशिक अस्पताल तुल्सिपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिप चालकको त्रिवेणी पोलिक्लिनिक लुहाममा र जिपमा सवार अन्य २ जनाको तुल्सिपुर दाङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इजरायलद्वारा विस्थापित बासिन्दाको सुरक्षित फिर्ताको लागि सैन्य कारबाही विस्तार

इजरायलले मङ्गलबार गाजामा सैन्य कारबाहीको लक्ष्य विस्तार गरेको छ । यसको मुख्य अभिप्राय इजरायल–लेबनान सीमामा हेजबुल्लाहसँग चलिरहेको द्वन्द्वका कारण विस्थापित उत्तरी इजरायली बासिन्दाको सुरक्षित फिर्ता गर्नु रहेको इजरायलले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा सुरक्षा मन्त्रिपरिषद् बैठकबाट यो निर्णय स्वीकृत भएको उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मन्त्रीहरूले कारबाही लक्ष्यहरू अद्यावधिक गरी उत्तरी इजरायलका बासिन्दालाई उनीहरूको घरमा सुरक्षित फिर्ताको लागि प्रयास जारी गरिने उल्लेख छ ।

इजरायली रक्षामन्त्री योव ग्यालान्टले इजरायल र हेजबुल्लाहबीचको तनाव कम गर्ने प्रयासबारे छलफल गर्न तेल अवीव पुगेका ह्वाइट हाउसका विशेष दूत अमोस होचस्टेनलाई कूटनीतिक समाधानका लागि बाटो बन्द हुँदै गरेको उल्लेख गर्नुभयो ।
“उत्तरी सीमामा शान्ति कायम गर्न सैन्य कारबाही नै एक मात्र उपाय हो”, ग्यालान्टले बताउनुभयो ।

लडाइँका कारण सीमाका दुबै किनाराका दशौँ हजार बासिन्दाहरू विस्थापित भएका छन् । हेजबुल्लाहले इजरायल र हमासले लडाइँ अन्त्य गर्न सहमत भएमा युद्धविराम गर्ने बताएको छ ।

रास्वपाको राष्ट्रिय भेलाः आज साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

काठमाडौँ, १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ । बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभयो । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गर्नुभयो ।

उहाँले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्नुहुँदै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गर्नुभयो । “हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ । यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौँ । रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन”, सभापति लामिछानेको भनाइ थियो ।

उहाँले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 

सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामिछानेले आफूलाई लाञ्छाम लाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो मात्रै प्रतिवेदन संसदमा पेश भएको छ । थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, अब सहकारीको कुरा त सकियो । विषय सहकारीबाट गोखा मिडियातिर जान्छ ।” उहाँले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाउनुभयो ।

राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ । 

भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । 

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ ।    भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो । 

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मङ्गलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उहाँको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।

उहाँ भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुनुहुन्छ । उहाँको पार्टीले उहाँको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भनेको छ ।   सर्वोच्च अदालतले गत साता उहाँलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने वा आफ्नो कार्यालय नजाने शर्तमा जमानत दिएको थियो । 

केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।
दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उहाँको स्थान लिनुहुनेछ । त्रिचालीस वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताउनुभयो । “दिल्लीमा एउटै मात्र मुख्यमन्त्री छ, त्यो अरविन्द केजरीवाल हो”, उहाँले भन्नुभयो ।

राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि वर्तमान गठबन्धनः उपप्रधानमन्त्री सिंह

कैलाली, १ असोजः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउनुपरेको धारणा राख्नुभयो । “पटकपटक सरकार परिवर्तन हुँदा विकास निर्माण, शान्ति सुरक्षादेखि आर्थिक गतिविधिमा समेत समस्या देखियो, जसले जनतामा निराशा थप्न भूमिका खेल्यो । त्यसैकारण हामीले सात बुँदे समझदारीसहित वर्तमान सरकार बनेका हौँ । सोहीअनुसार सरकारले काम गरिरहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारीलगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढाएको धारणा राख्नुभयो । सङ्घीयताको मर्म र जनचाहनाअनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गतिदिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

सहकारी बचत रकम दुरुपयोगका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सहरी विकासमन्त्री सिंहले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले काम अगाडि बढाउने स्पष्ट पार्नुभयो । “हिजो मात्रै समितिले प्रतिवेदन बुझाएको छ । सरकारले गर्नुपर्ने कामका विषयमा सिफारिस र सुझाव आएका छन्, त्यसको अध्ययन गरेर थप कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ । आमबचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

काठमाडौँ, १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु हुँदैछ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् ।

राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । 

 भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छभने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ । 

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ ।  राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन् ।

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख घिमिरे(अन्तरवार्ता)

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औँल्याएका छन् ।

विसं २०७२ मा ‘नेपालको संविधान’ जारीपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र समग्ररूपमा जनजीवनमा महसुस हुने गरी उल्लेखनीय सकारात्मक परिवर्तन भइरहेको जिकिर गर्दै उनले राज्यसँग सीमित स्रोतसाधन भए पनि समग्रमा भएका प्रगति धेरै उल्लेखनीय रहेको बताएका छन् । सभामुख घिमिरेले जनताको जीवनस्तर माथि उठेको तथा तिनले आधारभूत स्वास्थ्य सेवा र शिक्षा केही हदसम्म पाएको पनि बताए ।

संविधान दिवस–२०८१ का सन्दर्भमा प्रतिनिधिसभाका सभामुख घिमिरेसँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता कालिका खड्काले संविधान संशोधन, कानुन निर्माण र समसामयिक विषयमा केन्द्रित रही लिएको अन्तर्वार्ताको सम्पादित अंशः
सभामुखज्यू, सङ्घीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्न प्रतिनिधिसभाले के–कस्तो भूमिका निर्वाह गरिरहेकोे छ ?
नेपालको संविधान  जारी भएको नौ वर्ष भयो । यहाँसम्म आइपुग्दा संसद्का कामलाई प्रभावकारी तुल्याउन प्रयत्न भइरहेको छ । संविधान जारी भएको पहिलो निर्वाचनपछि गठित संसद् कानुन बनाउने कार्यमा मूलभूत रूपमा केन्द्रित भयो । त्यसबेला नै जरुरी परेका कानुन धेरथोर बनाउने र सङ्घीय लोकतान्त्रिक  गणतन्त्रात्मक शासन  व्यवस्थालाई प्रभावकारी तुल्याउने काम भयो । दोस्रो निर्वाचनपछि पनि थप आवश्यक कानुन बनाउने कार्यमा संसद् अहिले पनि क्रियाशील नै छ । त्यससँगै कानुन कार्यान्वयन कसरी भइरहेको छ, त्यसको अवलोकन गर्ने तथा  कार्यान्वयनका लागि आवश्यक बहस र छलफल गरी सरकारलाई सल्लाह, सुझाव र निर्देशन दिने काममा अलि बढी ध्यान केन्द्रित भएका  छौँ ।

राजनीतिक फेरबदलले यसबीचमा संसद्को नियमित कार्यमा केही असर पर्यो कि ?
यसबीचमा परिस्थिति अलि भिन्न ढङ्गबाट विकास भएर आयो । सङ्घीय संसद्को बनावट  आफैँमा एउटा दलको मात्र बहुमत र सरकार बन्न सक्ने अवस्थाको छैन । ससाना दल मिलेर सरकार बने । त्यस्ता  सरकार पनि छोटो समयमै फेरबदल भइरह्यो । यसले संसद्का नियमित गतिविधिलाई केही न केही प्रभाव पार्दाेरहेछ, गर्यो पनि । प्रदेशमा पनि त्यसको असर गम्भीर रूपबाट देखापर्यो । सबैजसो प्रदेशमा सरकार बन्ने तथा निरन्तर र नियमित संसद् बैठक चल्ने एवं यसप्रति उत्तरदायी भएर काम गर्ने, बनेका कानुन कार्यान्वयन गर्ने र परिणाम दिनेमा समस्या देखियो ।

केन्द्रमा पनि अपेक्षाकृत रूपबाट दोस्रो संसद्ले पनि काम गर्न सकेन । करिब दुईवर्षे यस अवधिमा संसद्ले अति गति लिनुपथ्र्याे तर  यसको भूमिका र संविधान कार्यान्वयनको पाटो प्रभावकारी भएन तथा संविधान र संसद्को लोकप्रियता घट्यो भन्ने ढङ्गको  टीकाटिप्पणी हुनु पनि आवश्यक छैन । बरु जनताका भावना सांसद्मार्फत प्रत्यक्ष आउने कुरा अझ मुखरित गरिएको छ । तलका आवश्यकता र जनताका भनाइ के छन् भन्ने कुरा  देशको कार्यकारी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा सामूहिक विषयमा बहस र छलफल चलाउने कार्यबाट सजीव, प्रभावकारी र नियमित ढङ्गबाट प्राप्त भइरहेको छ । त्यस्तै जरुरी परेका विधेयकमाथि प्राथमिकताका साथ छलफल गरी समयसीमाभित्र टुङ्ग्याउने कार्यमा अहिले संसद् केन्द्रित छ । यसलाई नियमित ढङ्गबाट सञ्चालन गर्न ‘क्यालेन्डर’ बनाएर कार्यसूचीका आधारमा जान प्रयत्न भइरहेको छ ।

   एकातिर नेपालको संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका अझै केही ऐन बनाउनुपर्नेछ भने अर्कातर्फ बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो पाउनुभएको छ ?
कुन कानुन, कुन क्षेत्रमा बनेन र कुन कानुनको अभाव भयो वा कुनै क्षेत्रमा काम भएन भन्ने कुरा मूर्त रूपमा आएको छैन । बरु यसलाई नकारात्मक सोचबाट प्रचार गर्न खोजिएको छ । संविधानसम्मत कानुन पहिलो निर्वाचनपछिको संसद्बाट बनिसकेको छ । कतिपय कानुनमा पुराना प्रावधान, भनाइ र शब्दावली मिलाउनुपर्ने छ ।

खासगरी सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती सेवा ऐन परिवर्तित सन्दर्भमा समयसीमाभित्र आउनुपथ्र्याे, त्यो अहिले पनि आउन सकेको छैन । त्यसबाट देशका कर्मचारी कोप्रति उत्तरदायी हुने, खासगरी प्रदेश र स्थानीय तहमा कसरी उनीहरूले काम गर्ने भन्ने थोरै  समस्या देखिएको छ । त्यसलाई प्राथमिकताका साथ पेस गर्नुपर्छ भनी संसद्ले कोसिस गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीलाई यसमा संसद्ले प्रेरित र सहयोग ग¥यो । परिणामस्वरूप अहिले संसद्मा पेस भएको छ । यसलाई प्राथमिकताका साथ दफावार छलफल गरी टुङ्ग्याउन समितिमा पठाइएको छ । संसद्को अहिले चलिरहेको अधिवेशनमा बढी समय यसमा बिताउनुपरेको छ । त्यसमा पनि कतिपय बजेटसँग सम्बन्धित कानुनलाई प्राथमिकताका साथ तुरुन्त पारित गर्नुपरेको छ । त्यसले पनि निजामती सेवालगायत विधेयक अघि बढाउन केही ढिला भएको छ, अब छिटो टुङ्ग्याउने गरी जानुपर्छ ।

अर्काे विद्यालय शिक्षा विधेयक छ । संविधानअनुरूप तलका निकायले शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषय छ । प्रदेश र स्थानीय तहमा उठेको विषय र शिक्षासँग जोडिएको विधेयक महत्त्वपूर्ण छ । यसलाई पनि प्राथमिकताका साथ अघि बढाएर टुङ्ग्याउनुपर्छ । यसैसँग गाँसिएको प्रहरी समायोजन कसरी गर्ने भन्ने छ । समायोजनसँग सम्बन्धित भई विधेयकलाई पनि निष्कर्षमा पुर्याउन अहिलेको सरकार सञ्चालनमा आइरहेका फेरबदलले पनि केही ढिलाइ ग¥यो । संसद्को यसमा आवश्यक ध्यान पुगेको छ र  सरकारसँग छलफल र कुराकानी भइरहेको छ । यस अधिवेशनमै ती विधेयक ल्याउन सरकारले प्रयत्न गरिरहे पनि सदनमा प्रवेश भने पाएको छैन । सरकारको प्रयासप्रति संसद्को ध्यानाकर्षण भइरहेको छ । संविधान कार्यान्वयनसँग जोडिएका विधेयकलाई अब समयभित्रै परिणाम देखिने गरी टुङ्ग्याऔँ भन्ने छ । महत्त्वपूर्ण विधेयक आउने क्रममा छ ।

संसद्मा प्रतिनिधित्व गर्ने ठूला दलको स्पष्ट बहुमत प्राप्त सरकार छ, विधेयकहरू छिटो अघि बढाउने सन्दर्भमा संसद् स्वयंले केकस्तो कार्यतालिका बनाएको छ ?
हो, संसद्ले कार्यतालिका बनाएको छ, विधेयकलाई यसरी छिटो लैजानुपर्छ भनी छलफलको सुरुआत गराएको छ । समयमै यसलाई प्राथमिकताका साथ समितिमा पुर्याइएको छ । त्यहाँ बहस र छलफल भइरहेको छ । असार मसान्तभित्रमै  बजेट पारित गर्नुपर्ने र त्यससँग आश्रित विधेयक पास गरी कानुन बनाउनुपर्नेतर्फ ध्यान र समय  खर्चनुप¥यो । अब भने ती महत्त्वपूर्ण विषयसँग सम्बन्धित विधेयकमा केन्द्रित भएका छौँ । नतिजा निकाल्न ‘क्यालेन्डर’ बनाएर कोसिस गरिरहेका छौँ । समितिलाई तलसम्मको राय–परामर्श, आवश्यक बहस, छलफल र अवलोकनसमेत गरी त्यसमा लाग्नूस् भनिएको छ । मिल्दाजुल्दा प्रणाली अवलम्बन गरेका मुलुकको अभ्यास समेत बुझ्नुपर्ने आवश्यकता छ । यसरी विधेयक सिलसिलेवार ढङ्गबाट लैजानुपर्छ भनी कार्ययोजना बनाएर अघि बढाउने काम भइरहेको छ ।

 सुदृढ संसदीय व्यवस्था भएका मुलुकमा धेरैजसो सांसदका तर्फबाट गैरसरकारी विधेयक संसद्मा पेस गर्ने अभ्यास देखिन्छ, संसद्को अभिभावक भएका हिसाबले यसमा यहाँले केही सोच्नुभएको छ ?
जरुर ।  परम्परागत ढङ्गबाट चार सय वर्षसम्म संसदीय अभ्यास गरेका, दुई सय वर्षदेखि प्रयास गरेका मुलुकका तुलनामा हामीले करिब एक दशकका बीचमा यी  क्षेत्रमा धेरै सोचिरहेका र प्रगति गरिरहेका छौं  । निजी  क्षेत्रबाट आउने प्राइभेट बिल वा सरकारले ल्याउने सरकारी विधेयक बीचमा तादात्म्य मिलाउनुपर्नेछ । विधेयक भन्नासाथ व्ययभारको कुरा स्वाभाविक आउँछ । राज्यलाई व्ययभार कति पर्छ, कहाँबाट पूरा गर्छाैं,  हाम्रो स्थिति के छ, त्यसले राष्ट्रिय आम्दानीमा कति फाइदा गर्छ  भनी लेखाजोखा गरिनुपर्छ । यी सबै सरकारसँग गाँसिएको विषय भएकाले तादात्म्य मिलाउन र सल्लाह गर्नुपर्ने जरुरी छ । अर्कातर्फ यस अवधिमा निजी क्षेत्रका तर्फबाट  बिल भटाभट ल्याउन सक्ने सांसदका क्षमता र  व्यावहारिकता पनि हेर्नुपर्छ ।

 नेपाली जनताले पहिलोपटक आफैँले लेखेको संविधान बनेपछि  प्रत्यक्ष रूपमा के के लाभ प्राप्त गरे त ?
जनप्रतिनिधिमार्फत हाम्रा माग राज्यले सम्बोधन गर्छ, चाहनालाई प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयनमा लान सकिन्छ,  स्थानीय तहमार्फत न्याय–निसाफ निरुपण हुन्छ । प्रादेशिक अवस्थाका आधारबाट ऐन, कानुन र नीति निर्माण गरी प्रत्यक्ष सरकारको महसुस गर्छाैं भन्ने जनतामा अनुभूति भएको छ । तथापि केही ठाउँमा भइरहेका विकृति र गलत अभ्यास, न्याय निरुपण गर्ने सन्दर्भमा भएका कतिपय पक्षपात, समयमा योजना पूरा गरेर प्रतिफल पाउने कार्यमा भएका कमजोरीलाई लिएर अलि बढी नै प्रचार भइरहेको छ । यदि यस प्रणालीअन्तर्गत खासगरी संविधानका मातहतबाट गरिएका यी काम नभएको भए राज्यबाट जनताले ‘डेलिभरी’ प्राप्त गर्न सम्भव थिएन ।

योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम विभिन्न ठाउँमा स्थानीय तहले नै अपनाउन पुगेका छन् । उदाहरणका लागि मकवानपुरको भीमफेदी गाउँपालिकामा भारी बोकेर जीवन निर्वाह गर्नेहरू सामाजिक सुरक्षा कोषमा समेटिएको अवस्था छ । यस तरिकाबाट भविष्य सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन भएको छ । हामीले यस खाले संरचना र व्यवस्था तल कायम गरेका हुँदैनथ्यौँ भने त्यहाँका जनता केन्द्रको नीति र कार्यक्रमबाट के प्राप्त हुन्छ भनेर पर्खेर बस्नुपथ्र्याे । अहिले ठाउँका विशेषताका आधारमा जनहितका विभिन्न कार्यक्रम अघि बढिरहे पनि  कमीकमजोरी नै बढी प्रचारित छ ।

संविधान कार्यान्वयन गर्ने सन्दर्भमा कतिपय कानुन र  कर्मचारीको अभाव छ, कर्मचारीको वृत्तिविकास र ती कोप्रति उत्तरदायी हुने भन्ने विषय स्पष्ट छैन । त्यस्तै शिक्षा सञ्चालन गर्ने,  तदनुकूल पाठक्रम तयारी गर्ने र काम लगाउने विषयको अभाव छ । आधारभूत सेवा प्रवाह गर्ने कुरामा निकायहरू लागिरहेकाले परिणाम जनताका जीवनमा सकारात्मक नतिजा आएको छ जुन ठुलो उपलब्धि हो ।

तलका जनताले प्रत्यक्ष के पाइहेका छन्, तिनको  जीवनस्तर माथि उठ्यो कि उठेन, आधारभूत शिक्षा र स्वास्थ्य सेवा पाए/पाएनन् भन्ने दृष्टिबाट हेर्दा तुलनात्मक र समग्र रूपमा  भएका प्रगति उल्लेखनीय छन् । सुधार्ने धेरै ठाउँ छ, यसलाई मसिनो गरी हेर्ने, देख्ने र बुझ्ने तथा महसुस गर्ने र प्रचार गर्ने कुराको अझै अभाव छ ।

राजनीतिक दल सत्ता प्राप्तितिर नै केन्द्रित भए, जनताले ‘सर्भिस डेलिभरी’ पाएनन् भन्ने गुनासो पनि छ नि ?
सरकारप्रति मात्रै राजनीतिक दल लागे भन्ने कुरा मिल्दो छैन । अहिले म यो वा त्यो गरिदिन्छु भनेर कोही चुनाव प्रसार र भोट माग्दै हिँडेका छन् र ? फेरबदलको जहाँसम्म कुरा छ, बहुमतका लागि  एउटा दलको मात्र सांसद सङ्ख्या नपुगेपछि, दलबीच कुरा नमिलेपछि, सहमति नभएपछि, हिजो सहमति भएका विषयमा पनि अससहमति भएपछि परिवर्तन हुन्छ नै । यसलाई दलहरू सरकार परिवर्तनमा मात्रै लागे भन्ने अर्थमा बुझ्नुहुँदैन ।

सरकार सञ्चालनमा नीतिगत, व्यावहारिक एकता हुनुपर्छ ।  स्थिर सरकारका अभावमा एउटा सरकारले एउटा नीति र कार्ययोजना तयार गरिरहेकै अवस्थामा सरकार परिवर्तन हुन सक्छ । जुन जनमत प्राप्त गरेर बनेको संसद् हो, त्यसप्रति उत्तरदायी  हुनुपर्ने सरकार अघि बढ्न नसकेपछि अर्काे सरकार त त्यहीँ भित्रबाट बन्ने हो नि ! उसका योजना कार्यान्वयन हुन नपाउँदै नयाँ सरकार आउने परिस्थिति बन्यो । यो कार्यकालमै पनि तीनचारपटक परिवर्तन भइसकेको छ । अनि यसले जसरी परिणाम दिनुपथ्र्याे, त्यो सकेको अवस्था छैन । तथापि “मलाई मतदान गर्नूस्, मेरो कार्यक्रम यो छ” भनेर अहिले  दलहरू गए भने मात्र ती सरकार बनाउन लागिरहे भनी आलोचना गर्दा उचित हुन्छ ।

अहिले त्यो स्थिति होइन, भइरहेकै अवस्थाबाट अघि बढ्ने हो । कतिपय नीति तथा कार्यक्रम र बजेटले नै पनि निरन्तरता पाएकै छ । विसं २०८१ को बजेट ल्याउँदा एउटा सरकार थियो, असार मसान्तसम्म आइपुग्दा नयाँ सरकार गठनको परिस्थिति बन्यो । एउटाले नीति र कार्यक्रम पेस गर्यो, अर्काे सरकारले निरन्तरता दिइरहेको छ । सरकार  फेरबदल भए पनि कतिपय  नीति र कार्यक्रम वा बजेट जस्ता आधारभूत विषयलाई निरन्तरता दिने बाध्यता र अवस्था छ । यद्यपि स्थिर सरकारले जनतालाई दिने ‘डेलिभरी’ बारे मात्र   मूल्याङ्कन गर्न सजिलो हुन्छ ।

यस  अवधिमा राजनीतिक विकास र स्थायित्वको पक्षलाई कसरी अघि बढाइयो ? त्यसमा यहाँका केही सुझाव पनि छन् कि ?
राजनीतिक दलको उपस्थिति संसद्मा जे–जसरी भयो,  त्यसमा सम्भव भएसम्म अलि फराकिलो ढङ्गबाट हिँड्नुपर्ने थियो । सरकारलाई टिकाउ बनाएर लैजान नयाँ गठबन्धन बनेको छ, नतिजा हेर्न बाँकी नै छ । यो हाम्रो अस्थिरता र निरन्तरताले ल्याएका समस्या हुन् । यसको अन्त्य गर्दै सेवा प्रवाहलाई चुस्त तुल्याउनुपर्छ । विकास निर्माणलाई परिणाममुखी बनाएर लैजानुपर्छ  भन्ने कुराको महसुस गरेर नै अहिले ठूला दल मिलेर सरकार बन्यो । यसबाट तुुलनात्मक ढङ्गबाट  राजनीतिक स्थिरता हुन्छ । अब परिणाम दिनेगरी अघि जानुपर्छ ।

नयाँ सरकार गठनको पृष्ठभूमि संविधान संशोधनसँग पनि  जोडिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
सभामुखः संविधान कार्यान्वयन गर्ने सन्दर्भमा देखिएका अप्ठयारा  हटाउन संशोधन जरुरी र स्वाभाविक हो । तर अहिले नै कुन कुन विषयले संविधान कार्यान्वयनमा असजिलो देखापर्यो र  त्यसमा के के कुरा संशोधन गर्नुपर्छ भन्ने तहमा बहस र छलफल विधिवत् ढङ्बाट अगाडि आइसकेको छैन । तर यसबीचमा संविधान जति कार्यान्वयन गरियो, त्यस सन्दर्भमा संशोधन गरेर जाँदा राम्रो हुने पक्ष पनि छन् । संशोधनमा पक्ष र विपक्षभन्दा पनि  यथार्थ के हो, कार्यान्वयनमा जाँदा अप्ठेरो देखा परेका के हुन्, त्यस अनुभवका आधारमा सौहार्द्र  र विधिवत् ढङ्गबाट विषय प्रवेश गर्ने, विषयको छनोट गर्ने, बहस र छलफल गर्ने, कसलाई सजिलो वा अप्ठयारो तथा जित वा हार नभई व्यावहारिक रूपमा के कुराले अप्ठेरो भयो, संविधानका कुन कुन धारा, उपधाराले समस्या भयो भनी छलफल गर्ने वातावरण बन्दै आएको छ । हिजो संसद्मा सहमति र समझदारीको स्थिति नहुँदा जरुरी कुरा पनि सम्भव थिएन, अहिले सम्भव देखिएको छ । अहिले नै यो यो गर्न सरकार बनेको हो भने जसरी बाहिर विषय आएका छन्, त्यो  भने अलि सतही हो ।

महत्त्वपूर्ण विधेयक छलफल भइरहेका बेला विगतमा परामर्शको पक्ष बेवास्ता गरी अचानक सदनको अधिवेशन अन्त्य गरियो भन्ने आरोप सुनिन्थ्यो, यसमा सरकार र संसद्बीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
विधेयक त संसद्ले बनाउँछ तर चाहिएको त सरकारलाई नै हो नि ! त्यसैले अचानक बन्द गर्ने, चाहिँदा खोल्ने र फेरि बन्द गर्ने भनेकै विधेयकको आवश्यकतानुसार हो । अचानकभन्दा पनि उसको आवश्यकता कस्तो छ, त्यसका आधारमा विगतमा गरिएको भन्ने बुझेको छु, अहिले पनि त्यही होला भन्ने लाग्छ ।

 संसद्  र संसदीय समिति कहिलेकाहीँ सदस्यले संसदीय मर्यादाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको सुनिन्छ । बहस स्वस्थ्य तुल्याउन यहाँको भूमिका र सुझाव के छ ?
राष्ट्रियसभा र प्रतिनिधिसभा तथा मातहतका समितिमा हुने बहस, छलफल, वादविवादबारे मलाई कम अनुभव छ किनभने त्यहाँ सभामुख आफैं सहभागी हुने अवस्था कम हुन्छ । तथापि त्यहाँ दफावार छलफल, दलीय दृष्टिकोण आउन सक्ने भए,  सांसदका आफ्ना विश्वास र बुझाइ पनि आउने भए, निर्वाचन क्षेत्रका जनताका माग र भनाइ आउने भए । त्यसका आधारमा विभिन्न कोणबाट बहस र छलफल हुनु नितान्त स्वाभाविक हो । विभिन्न सदस्यका बीचमा एउटै विचार, सोच, धारणा, प्रस्तुति, व्यवहार र भनाइ हुन्छ भन्ने छैन । जनताको भावना र विचारलाई जितेर आउनुभएका जनप्रतिनिधिका विभिन्न  राजनीतिक आबद्धता, सामाजिक पृष्ठभूमि र  घोषणापत्र हुन्छन् । त्यहाँका छलफल र निर्णयले नै विधेयक पास गर्न सर्वसम्मति वा बहुमत–अल्पमत भन्ने बाटो खुल्छ ।

संसद् खुला भएकाले अभद्र र अशिष्ट गतिविधि, अभिव्यक्ति र प्रयुक्त शब्द पारदर्शी नै हुन्छ । तर हामीसँग कतिपय पराम्परागत सञ्चालनको ढाँचा छ, त्यसमा देखिएका कमीकमजोरी सुधार गर्दै जानुपर्छ । यो स्वयंले आत्मप्रशिक्षित हुने र उदाहरण दिने कुरा हुन् । कैयौँ कुरा अनुभव प्राप्त गरी नियमावलीमा समावेश गरेर पास गरेका छौँ, त्यसकै आधारमा सभालाई सञ्चालन गर्ने हो । अभिव्यक्तिलाई संसदीय भाषा, मर्यादा, परम्परा र शैलीमा राख्ने हो । तोकिएका मार्गबाट सांसद बाहिर नजाऊन् भन्नाका लागि सभा सञ्चालनका ठाउँबाट निर्देशन गर्ने, सच्याउने, नियन्त्रण गर्ने काम गरिन्छ । अझै स्तरीय, प्रभावकारी, शिष्ट र मर्यादित रूपमा कसरी लैजाने भन्नेमा स्वयं दल, सदस्य सचेत हुनुपर्छ ।

 कार्यपालिकाले व्यवस्थापिकालाई आवश्यक बजेट उपलब्ध गराएन भनी बेलाबेलामा सुनिएको छ, यसमा यहाँको धारणा के हो ?
यथार्थ के हो भने कार्यपालिकालाई विभिन्न क्षेत्रबाट आएका प्रस्तावका आधारमा कार्य सम्पन्न गर्नुपर्ने दायित्व हुन्छ । व्यवस्थापिकाको व्यवस्थापकीय काम गर्नका लागि उसको विधेयक निर्माणसँग सम्बन्धित आवश्यक साथ सहयोग सबैबाट आवश्यक हुन्छ ।

संसद्लाई बजेट पनि पर्याप्त मात्रामा चाहिन्छ । तर राष्ट्रिय ढुकुटी कस्तो छ,  आम्दानी स्थिति के छ बुझ्नुपर्छ, त्यसभन्दा फरक ढङ्गले संसद्का मात्रै आवश्यकता पूर्ति गरेर राज्य जान सक्दैन । अर्कातिर विकासका काममा कार्यपालिकाले अहिले सकिएन भने ६ महिनापछि गरौँ भन्न सक्छ ।  बजेट विनियोजन भएका अत्यावश्यकबाहेकका योजना पनि रोक्न सकिन्छ तर संसदीय गतिविधि कसैले रोक्न सक्दैन । त्यसैले यसलाई सञ्चालन गर्न आवश्यक बजेट, प्रविधि र जनशक्ति चाहिन्छ । कुनै घटना भएमा अवलोकन गर्न टोली बनाएर जानुपर्ने हुन्छ । त्यसमा सक्दैनौं भनियो भने उसको दायित्व पूरा हुन सक्दैन, कार्यपालिकालाई गर्नुपर्ने निगरानी हुन सक्दैन ।

संसद्का गतिविधि राज्यकै  हुन् । संसद्भित्र चाहिने आर्थिकलगायत कामकारबाही पूरा गर्ने दायित्व राज्यको हो । कार्यकारीले नै बजेट निर्माण र विनियोजन गर्ने काम नीतिभित्र बसेर गर्छ । यस्ता अवस्थामा एकले अर्कालाई आरोप होइन, साथ र सहयोग दिँदै आवश्यक न्यूनतम बजेट, जनशक्ति पुर्याउनुपर्छ ।  संसद्को  काम केही छैन, यसले आफूलाई धेरै बजेट किन माग्नुपर्यो भन्ने बुझाइ र प्रचार गराइ  यसको वास्तविकतालाई नबुझेर हो भन्ने लाग्छ । अरू मुलुकमा संसद्को सबैभन्दा पहिला न्यूनतम आवश्यकता पूर्ति गरेर मात्रै  अन्य काम गर्नुपर्छ भन्ने मान्यता छ । त्यस्तै सोच यहाँ पनि क्रमशः विकास हुँदैछ।

संविधान दिवसका अवसरमा नेपाली जनतालाई यहाँको केही सन्देश छ त ?
हामीले ठूलो मेहनत र मूल्य चुकाएर लामो सङ्घर्षबाट संविधानसभाबाट संविधान ल्याएका छौँ । अहिले संविधान संशोधनको कुरा चलिरहँदा त्यसलाई मनोगत ढङ्गबाट नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट लैजानुपर्छ । संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरीमा ध्यान दिनुपर्छ ।  लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई जनताका हितमा प्रयोग गर्न सबै राजनीतिककर्मी खासगरी दल, नेतृत्वमा रहेका  नेताहरूलाई नवौँ संविधान दिवसले प्रेरणा देओस् । यसबीचको अनुभवले माग गरेको कुरा पूरा गर्दै आगामी दिनमा संविधानलाई प्रभावकारी ढङ्गबाट व्यवहारमा प्रयोग गरियोस् । यो अझ प्रभावकारी बन्न सकोस् । संविधानलाई सदा सदा कार्यान्वयन गर्न सक्ने एउटा अझै महत्त्वपूर्ण दस्तावेजका रूपमा लिन सकियोस् । सबैलाई शुभकामना छ ।

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

म्याग्दी, १ असोजः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको हो ।

विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिनुभयो । “गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचरसहितको सबै काममा पहिलो चरणमा रु २० करोड लगानी भएको छ,” उहाँले भन्नुभयो “पाक्लिङलाई बोन धर्मको अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित १५ रोपनी क्षेत्रफलमा पूर्वाधार निर्माण भइरहेको छ ।” 

अस्टे«लिया र अमेरिकामा रहेको मुस्ताङ बोन फाउन्डेसनले समाज कल्याण परिषद्मार्फत गुम्बासहितका पूर्वाधार निर्माणका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रलाई सहयोग उपलब्ध गराएको हो । 

दोस्रो चरणमा गुुम्बा परिसरमा रु १८ करोडको लागतमा अस्पताल, बहुउद्देश्यीय सभाहल र अतिथिगृहको भवन निर्माण सुरु भएको छ । तेस्रो चरणमा लामा विद्यालय भवन निर्माणका लागि डिजाइन तयार भएको इन्जिनियर थकालीले बताउनुभयो । सो विद्यालयमा एक÷एक सय जना लामा विद्यार्थी र भिक्षुहरुलाई आवासीय सुविधा दिने केन्द्रले जनाएको छ । 

तिब्बतमा बुद्ध धर्मको प्रचार हुनुअघि नै बोन धर्मको स्थापना भएको र मुस्ताङमा पनि सोही धर्मको प्रभाव रहेको मानिन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले यो गुम्बाले धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो । जोमसोम–कागबेनी सडकको एक्लेभट्टी नजिकै गुम्बा रहेको छ । 

पाक्लिङको छिमेकी गाउँ लुप्राका बासिन्दाहरुले अझै बोन धर्म मान्दै आएका छन् । १४ घरधुरी रहेको लुप्रा गाउँका सबैले बोन धर्म मान्छन् । थासाङको नाउरिकोट र मुक्तिनाथ नजिकैको झारकोटमा पनि बोन धर्म मान्ने दुई÷चार घरधुुरी रहेको लुप्रामा रहेको योङफुुङ फेनलेलिङ गुम्बाका लामा योङडोङ फेनछोक गुरुङले बताउनुभयो । उहाँका अनुसार बोन धर्म बुद्ध धर्मअन्तर्गतकै हो ।  मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले मुस्ताङ बोन फाउन्डेसनको सहयोगमा मुस्ताङका ६५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि स्नातक तहसम्म छात्रावृत्तिमा पठनपाठनको व्यवस्था मिलाएको छ । 

शिव परियार र उषा गजुरेलको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक

काठमाडौं । गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा अभि सुनारको शब्द र संगीत, पुर्ण संयोग र सन्जिब बराइलीको एरेन्ज तथा नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ ।

निकेश खड्का निर्देशित गीतको भिडियोमा विद्या कार्की, अभि सुनार, उषा गजुरेल र आदित्य ठकुरीको अभिनय छ । गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ । घरको एक्लो छोरो विदेशिएपछिको आमाको पीडालाई भिडियोमा देखाइएको छ ।

भिडियोमा विकास धमलाको सम्पादन र कलर, स्वस्तिका श्रेष्ठको मेकअप, सुदीप ढकालको प्रोडक्सन तथा बुद्ध थापा एण्ड टिमको छायांकन छ ।उषा गजुरेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोका निर्माता सम्राट ढकाल र डा. युवराज कँडेल हुन् ।भिडियो लिंक

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

चितवन, १ असोजः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छवटा जन्मिने क्रममाछन् ।

तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उहाँले बताउनुभयो । उहाँका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् ।

प्रमुख चौधरीले भन्नुभयो “एक–दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन् ।” यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् ।  विसं २०७९ मा ६ छावा जन्माएका थिए ।

बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने जनाइएको छ । उहाँका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, धु्रवे र मकुनाका हुन् । खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उहाँले जानकारी दिनुभयो ।

 जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् । विसं २०४४ देखि सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।

मणिपुरमा छ दिनपछि इन्टरनेट सेवामा लगाइएको प्रतिबन्ध हटाइयो

मणिपुर सरकारले सोमबार राज्यमा विद्यमान कानून र व्यवस्थाको स्थितिको समीक्षापछि इन्टरनेट र मोबाइल डेटा सेवाहरू पुनःस्थापित गरेको छ ।

राज्यको गृह विभागले इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा भिस्याट र भिपिएन सेवासहित इन्टरनेट र मोबाइल डेटा सेवाहरूको निलम्बन हटाउने आदेश जारी ग¥यो । सेप्टेम्बर २० सम्मका लागि थपिएको निलम्बन अहिले खारेज भएको छ ।

यसअघि राज्य सरकारले सेप्टेम्बर १० बाट पाँच दिनका लागि इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो । सुरुमा आइतबार नै प्रतिबन्ध फुकुवा गर्ने भनिए पनि शान्ति सुरक्षाको अवस्थाका कारण लम्बिएको हो ।  

इरानमा बस र कार ठोक्किँदा एकको मृत्यु, ३७ घाइते

दक्षिणपूर्वी इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा सोमबार एउटा कार र बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् ।

   उत्तरपूर्वी इरानको खोरासान रजावी प्रान्तबाट फर्कंदै गरेको पाकिस्तानी नागरिक बोकेको बस सिस्तान र बलुचेस्तानको निमरुज काउन्टीको इन्टरसिटी सडकमा कारसँग ठोक्किएको युनिभर्सिटी अफ मेडिकल साइन्सेसका मेडिकल आकस्मिक सेवा र सङ्कट व्यवस्थापन प्रमुख मोहम्मद मोहम्मदीले भन्नुभयो ।

   कार चालकले एम्बुलेन्स आउनुअघि नै ज्यान गुमाए र घाइतेमध्ये दुई जनालाई अस्पतालमा सारिएको मोहम्मदीले भन्नुभयो । अन्य ३५ घाइतेले घटनास्थलमा प्राथमिक आकस्मिक उपचार पाएका थिए । 

बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने

बागमती, १ असोजः बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

गत भदौ १३ गते बसेको प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो । 

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेशसभामा पठाउने निर्णय गरेको थियो । यी तीनवटै विधेयक पारित गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । 

यही असोज ६ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । बागमती प्रदेशसभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुईवटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । 

आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित

काठमाडौँ, १ असोजः नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो ।

खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन बनाएका हन् । 

त्यसैगरी, ‘ओपनर’ कुशल भुर्तेल एक रनमा नै आउट भए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, गुलशन झा १५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी आठ, सोमपाल कामी ६ तथा कप्तान रोहितकुमार पौडेल पाँच रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा क्यानडाका तीव्र गतिका ‘बलर’ डिलोन हेलिगरले पाँच विकेट लिएभने अखिल कुमार र अंश पटेलले समान दुई–दुई विकेट लिए । त्यस्तै, सादविन जाफरले एक विकेट झारे । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५३ रनको योगफल बनाएको थियो । उसका लागि कप्तान निकोलस किर्टोनले सर्वाधिक ७३ रनको योगदान गरे । उनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेलेका हुन् ।

यसैगरी, नवनीत धालिवालले ४८, डिलोन हेलिगर ३०, हर्ष थाकेर २७ रन जोड्दा परगत सिंह र साद बिन जाफरले समान १७ ÷१७ रन बनाए । त्यस्तै, आरोन जोनसनले १० रन बनाए ।  नेपालका सोमपाल कामी र ललित राजवंशीले समान दुई–दुई विकेट लिएभने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले समान एक–

‘देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी छ’ : मन्त्री दीपक खड्का

काठमाडौँ, १ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताउनुभएको छ ।नेपालमा क्यान्सरका क्षेत्रमा क्रियाशील अर्बुद रोग निवारण संस्थाको ४२औँ वार्षिकोत्सवको सोमबार यहाँ उद्घाटन गर्दै मन्त्री खड्काले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको भन्दै क्यान्सरलाई कम गर्न देशभर यससम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको उल्लेख गर्नुभयो । क्यान्सरसम्बन्धी जनचेतना फैलाउने काममा अर्बुद रोग निवारण संस्थाले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

मन्त्री खड्काले देशभरि क्यान्सरका बिरामीको उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन महत्वपूर्ण कार्य रहेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरका क्षेत्रमा संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले अर्बुद रोग संस्था क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने भन्दै उपचारको क्षेत्रमा ४२ वर्षदेखि निरन्तर लागिरहेको उहाँले जानकारी दिनुभयो ।

संस्थाका महासचिव दीपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखामा रहेका १५ हजारभन्दा बढी स्वयंसेवकले क्यान्सरबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा देशभर स्वयंसेवकमार्फत जनचेतना अभियान सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा क्यान्सरसम्बन्धी उपचारमा संलग्न नौ जना चिकित्सकलाई सम्मान गरिएको थियो । साथै नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा प्रकाशित स्मारिका मन्त्री खड्काले विमोचन गर्नुभएको थियो ।

लोकगायक विष्णु खत्रीले १७औँ दसैँगीत ल्याउँदै

गण्डकी, १ असोजः दसैँगीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँगीत ल्याउने तयारी गर्नुभएको छ । बडादसैँको अवसर पारेर उहाँको नयाँ गीत ‘रित्तो भकारी…’ सार्वजनिक हुन लागेको हो । विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत ल्याउँदै आउनुभएको छ । उहाँको पहिलो दसैँगीत ‘सुनको जलप…’ हो । उक्त गीत तत्कालीन समयमा चर्चित बनेको थियो ।

पछिल्लो समय खत्रीले गीत सार्वजनिक गरेपछि दसैँको माहोल आउने श्रोता/दर्शकको प्रतिक्रिया छ । ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’ भन्ने प्रतिक्रिया आउने गरेको उहाँले बताउनुभयो । “यसपालिको गीतले देशको वर्तमान अवस्था र नेपालीको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ”, खत्रीले भन्नुभयो, “गीतको चलदृश्य छायाङ्कनको काम भइरहेको छ, चाँडै मेरो युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी छ ।” 

सत्र वर्षको अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विष्य, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उहाँका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख, बेदना समेटिएका पाइन्छन् । मार्मिक सिर्जना र ग्रामीण परिवेशको झझल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत हुनुहुन्छ । 

“हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ”, खत्रीले भन्नुभयो, “दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।” 

दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय खत्रीका बडादसैँ, तिहार, तीजजस्ता पर्वका अवसरमा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमार्फत उठान गरिरहनुहुन्छ । गत वर्षको बडादसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा...’ ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँ–तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । पहिलो दसैँगीत ‘सुनको जलप...’ मा खत्रीलाई गायिका विमाकुमारी दुराले साथ दिनुभएको थियो । 

पछिल्ला गीतमा उहाँले विभिन्न गायिकासँग सहकार्य गर्दै आउनुभएको छ । प्रायः सबै गीतमा शब्द र सङ्गीत गायक खत्रीकै हुन्छ । खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहनुभएको छ ।

पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, १ असोजः उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गर्नुभएको छ ।

कुमारी इन्द्रजात्रा, विश्वकर्मा पूजा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले चाडपर्वले परस्पर मेलमिलाप, भ्रातृत्व, प्रेमभाव, सदाचार, भाइचारा, सद्भाव र सम्मानको मार्गमा डो¥याउन सहयोग पुग्ने बताउनुभएको छ ।    

उपराष्ट्रपति यादवले मौलिक चिनारी र अद्भूत परिचय बोकेका यी जात्रा, पर्व, त्योहार भूगोल, भेग, क्षेत्र र समुदायगत रुपमा फरकफरक नामले मनाइए पनि यसको महत्वपूर्ण उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोगभावलाई उत्प्रेरित गर्नु रहेको उल्लेख गर्नुभएको छ । यसले मानिसको मन, वाणी र कर्ममा पवित्रता तथा शुद्धता सञ्चार गर्दै देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउन सघाउ पुग्ने विश्वासका साथ उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । 

काठमाडौँ उपत्यकालगायत देशको विभिन्न भूभागमा अत्यन्तै हर्षोल्लास र धुमधामका साथ मनाइने इन्द्रजात्रामा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजाअर्चना गर्ने परम्परा छ । यस अवसरमा ठड्याउने लिङ्गो र विश्वमै अनौठो परम्परा जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो ।

त्यस्तै, प्रत्येक वर्षको कन्या सङ्क्रान्तिका दिन शिल्पकार, कालीगढ, उद्योगपति तथा सवारीसाधनका मालिकलगायतले निर्माण, वास्तुकला, औजार÷यन्त्र, सृजन, शिल्पकला, मूर्तिकला र सवारीसाधनका देवताका रुपमा भगवान विश्वकर्माको पूजा (विश्वकर्मा जयन्ती) पनि भक्तिभाव र श्रद्धाभावका साथ मनाउने परम्परा छ ।

आजकै तिथिमा तराई–मधेसतिर देवी लक्ष्मी र भगवान् विष्णुको धार्मिक विधिविधानअनुसार पूजाअर्चना गर्दै अनन्त चतुर्दशी (अनवत) बनाउने मौलिक परम्परा छ । यस अवसरमा श्रद्धालुले भगवान् विष्णुको अनन्त रुपको प्रतीक, १४ वटा गाँठो हालिएको विशेष खालको अनन्त सूत्र (डोरो) पाखुरामा बाँध्ने चलन छ ।

स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता

मनाङ, १ असोजः हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा एकअर्कामा सञ्चार गर्न पनि मुस्किल छ । यस पालिकाका विभिन्न वडाबाट ‘मोबाइल’मार्फत सञ्चारसँग जोडिन समस्या हुने गरेको हो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामा मोबाइलबाट सञ्चारसँग जोडिन झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । स्मार्ट फोनको समयमा उहाँसँग स्मार्ट फोन नभएर होइन । उहाँ भन्नुहुन्छ, “स्मार्ट फोनको युग छ । फोन स्मार्ट भएर नहुने । मोबाइलको टावर नै टिप्दैन । अग्लो र कता टिप्छ भन्दै हिँड्न बाध्य छौँ । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । न त यो विकटमा यही टुकटुके नै उपयोगी छ ।” 

मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई सास्ती भोग्नुपरेको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै भौँतारिनुपर्ने बाध्यता रहेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या भोग्न बाध्य छन् । 

वडा नं. १ का वडाध्यक्ष फुर्वाठेले लामाले गाउँपालिकाको केन्द्र च्याँखुमा नै सबैभन्दा बढी समस्या भोग्नुपर्ने बताउनुभयो । नेपाल टेलिकमको नमस्ते मोबाइलको ‘टुजी’ मात्र चल्ने भएकाले यसलाई स्तरोन्नति गरी ‘फोरजी’ बनाए स्थानीयलाई सुविधा पुग्ने उहाँको भनाइ छ । क्याङमा पनि ‘टेलिफोन’ सुविधा राम्रो नहुँदा सास्ती बेहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

यहाँ ‘मोबाइल नेटवर्क’ मात्र होइन बिजुलीको पनि समस्या रहेको छ । ‘सोलार’मा समस्या नभए मोबाइल नेटवर्क पनि चल्ने र ‘चार्ज’ नहुँदा समस्या हुने गरेको छ । यसको स्थायी समाधानका लागि बिजुली नै अन्तिम विकल्प रहेको वडाध्यक्ष लामाको जोड छ । राम्रोसँग मोबाइल नचल्दा स्थानीय मात्रै होइनन्, कर्मचारीलाई पनि हैरानी व्यहोर्नुपर्ने अवस्था छ । 

नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले राम्रोसँग फोनको टावर नटिप्दा काम गर्न धेरै सकस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय लघु जलविद्युत् भएका स्थानमा टावर चार्ज हुँदा काम गर्छ । टावरमा चार्ज नहुँदा काम नगर्ने यहाँको प्रमुख समस्या नै हो ।” उहाँले सम्पर्क गर्ने माध्यम टेलिफोन नै राम्रोसँग नचल्दा बिरामीलाई अझ बढी समस्या हुने गरेको बताउनुभयो । गण्डकी प्रदेशको सबैभन्दा विकट र अहिलेसम्म सडक सञ्जालले छुन नसकेको एउटै मात्र पालिका नार्पाभूमि हो । उहाँले भन्नुभयो, “प्रदेश तथा सङ्घीय सरकारको नजरमा नपरेर पनि होला नार्पाभूमिमा दुःखैदुःख भोग्न बाध्यता छ । यहाँ हत्तपत्त कर्मचारी आउनै मान्दैनन् । काम गर्न पनि धेरै समस्या छ ।” 

नार्पाभूमि – ४ कावडाध्यक्ष कर्मग्यान्जे लामाले मोबाइलको टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वडा कार्यालयमा पटक्कै टावर लाग्दैन जसले गर्दा आफूले पनि कार्यालयको काम परेमा गाउँमा टावर टिप्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको उहाँको दुखेसो छ । उहाँले भन्नुभयो, “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक काम पर्दा आफन्तलाई फोन सम्पर्क गर्न सकिँदैन । वडामा मोबाइलको टावर छैन । वडा कार्यालयभित्र मोबाइल फोन नचलेपछि कसरी काम गर्ने ?” नेपाल टेलिकम मनाङ शाखा कार्यालयमा समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष लामाले बताउनुभयो । 

यहाँका स्थानीयले फोन गर्नुपर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता छ । कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गर्दछ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जोतेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्न बाध्य हुनुहुन्छ । उहाँसँग स्मार्ट फोन नभएको होइन तर मोबाइलको टावर नभेटिँदा समस्या हुने गरेको छ  । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ । मोबाइलको टावर नै आउँदैन । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।” 

मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या हुँदै आएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातर्फ भौँतारिनु परेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या छ । 

अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

पर्वत, १ असोजः ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्राविधिक र निर्माण व्यवसायीको संयुक्त बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सोमबारदेखि मर्मत गर्न थालिएको आयोजनाका इञ्जिनियर अच्युविलास पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार मालढुङ्गाबाट बेनीसम्मको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने, हिलो सफा गरेर सवारीसाधन नियमित सञ्चालन गर्न सहज बनाउने काम भइरहेको छ । तत्कालका लागि मर्मत गरिने र वर्षा रोकिएलगत्तै स्तरोन्नति थालिने उहाँको भनाइ छ । 

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीयका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । चाडपर्व सुरु भएसँगै मुक्तिनाथ र कागबेनीमा जाने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी तत्काल मर्मत थालिएको इञ्जिनियर पन्तले बताउनुभयो । सबैभन्दा बढी जलजला गाउँपालिकाका बासिन्दालाई समस्या परेपछि जनप्रतिनिधि, व्यवसायी र स्थानीयले प्रशासनमा मर्मतको माग गर्दै आएका थिए । 

तीस महिनामा काम सक्नेगरी विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । चार वर्षमा ५५ प्रतिशत मात्र काम भएको छ । १३ किमी लामो सडकमध्ये गत असारमा पाँच किमी कालोपत्र गर्ने तयारी गरिए पनि वर्षा र निर्माण सामग्री अभाव देखाउँदै ठेकेदारले काम रोकेको थियो । 

गण्डकी प्रदेशको लाइफलाइन मानिएको राष्ट्रिय गौरवका रुपमा रहेको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला–८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको इञ्जिनियर पन्तले जानकारी दिनुभयो । 

निर्माण कम्पनीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिटी, बालुवा र रोडा अभाव भएको भन्दै विसं २०७९ कात्तिकदेखि निर्माण रोकेको थियो । 

गत असोजमा म्याद सकिएको उक्त योजनाको यही असोज मसान्तसम्मका लागि म्याद थप गरिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालनका साथै पैदल यात्रीलाई आवतजावतमा समस्या हुँदै आएको स्थानीयले बताएका छन् । 

खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएपछि जिल्ला प्रशासनमा पुगेर दबाब सिर्जना गरेपछि मर्मत सुरु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । 

आयोजना कार्यालयका अनुसार सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । मालढुङ्गाबाट फर्सेसम्मको पाँच किमी दूरिमा कालोपत्र गर्न सबबेस बिछ्याइएको आयोजनाका इञ्जिनियर पन्तले बताउनुभयो । विभिन्न ठाउँमा करिब एक किमी ढलान र खोल्सामा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेबाट लामाखेत खण्ड फराकिलो बनाउने, नाली र पर्खाल निर्माण तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा

मुग्लिन (चितवन), १ असोजः मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ । 

विद्युत् विस्तारमा अनियमितताको आरोप, विरोधमा उत्रिए आठराइका स्थानीयवासी

तेह्रथुम- राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारमा अनियमितता भएको आरोपसहित यहाँको आठराई गाउँपालिकाका स्थानीयवासी विरोधमा उत्रिएका छन् । पालिकाका विभिन्न स्थानमा २०७५ सालमा ठेक्कामार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार भएको थियो । विद्युत् विस्तारमा श्रमदान गराइनुका साथै उपभोक्ताबाट रु पाँच हजारदेखि सात हजारसम्म रकम असुलिएको थियो ।

ठेक्कामार्फत भएको विद्युत् विस्तारमा श्रमदान र शुल्कबारे ठेक्का सम्झौतामा उल्लेख छैन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार विद्युत् विस्तार ठेक्कामार्फत गरिएको हो । 

 तर विद्युत् विस्तार हुनु अगावै पालिकाभरि उपभोक्ता समिति गठन गरिएको आठराई–३ ह्वाकुका स्थानीय प्रेमकुमार तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई विद्युत् विस्तार गर्न भनेर प्रतिपरिवार रु सात हजार उठाउन लगाए । गाउँमा बिजुली आउने भो भनेर केही नसोची प्रत्येक घरले पैसा उठाएर उपभोक्ता समितिका अध्यक्षलाई बुझायौँ । पोल बोक्ने, गाड्ने काममा १५,२० दिन श्रमदान ग-यौँ ।”

आठराई–४ इवाका मनकुमार इङनामले आफूलाई विद्युत् विस्तारका लागि पैसा तिर्नुपर्छ भनेपछि पैसा बराबरको श्रमदान गरेको बताउनुभयो । आफू बसेको टोल इवाका २८ घरले २१ दिन श्रमदान गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार मिटर बक्स जडानका लागि रु चार हजार सात सय उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार बानियालाई बुझाएका हुन् । गाउँलेले पछि मात्रै मिटर बक्स विद्युत् प्राधिकरणले रु दुई हजार दुई सयमा दिनेबारे थाहा पाएका थिए ।

इवा क्षेत्रका उपभोक्ता समिति अध्यक्ष बानियाले विद्युत् प्राधिकरणका कर्मचारी सन्तोष बानियाँलाई उक्त रकम बुझाएको बताउनुभयो । इवाकै रेनुका बास्तोलाले सन्तोष बानियाले श्रमदान गर्नुपर्ने र पैसा तिर्नुपर्ने बताएको सुनाउनुभयो । “श्रमदान गरियो, पैसा पनि उठाइयो, गाउँमा बिजुली ल्याइयो । अहिले बिजुली छिनछिनमा जान्छ । हामी ठगियौँ”, उहाँले भन्नुुभयो । 

आर्थिक वर्ष २०७५/७६ मा ईश्वरी निर्माण सेवा प्रालिले आठराइ क्षेत्रमा विद्युत् विस्तारको ठेक्का पाएको थियो । विद्युत् प्राधिकरण तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार आठराई क्षेत्रका विभिन्न क्षेत्रमा लाइन नम्बर तोकिएर छुट्टाछुट्टै  ठेक्का सम्झौतामा प्रालिले काम गरेको जानकारी दिनुभयो । लाइन नम्बर २ मा रु एक करोड ५३ लाख १३ हजार, लाइन नं ३ मा रु एक करोड ३१ लाख २७ हजार, लाइन नं ५ का लागि रु एक करोड तीन लाख ६४ हजार, लाइन नं ८ मा रु २१ लाख ९३ हजार गरी जम्मा रु चार करोड पाँच लाख ८७ हजार रकममा ठेक्का लगाएको थियो । 

विद्युत् विस्तारका लागि उपभोक्ताबाट शुल्क वा श्रमदान गर्नुपर्नेबारे सम्झौता थिएन । सोही आवमा शशीधर निर्माण सेवा प्रालिले लाइन नं २ मा एक करोड २२ लाख ६३ हजार रकम नेपाल विद्युत् प्राधिकरणसँग ठेक्का सम्झौता गरी काम गरेको थियो । आव २०७७/७८ मा ईश्वरी निर्माण सेवा प्रालिले रु २३ लाख ८३ हजारमा ठेक्का सम्झौता गरी काम गरेको थियो । ठेक्कामार्फत विद्युत् विस्तार भएको उक्त क्षेत्रमा कहीँ पनि श्रमदान गराउने र उपभोक्ताबाट पैसा असुल्ने भनिएको थिएन । 

राज्यबाट निःशुल्क रुपमा राष्ट्रिय प्रसारण लाइन विद्युत् विस्तार भएको कुरा २०७७ सालमा मात्रै गाउँलेले थाहा पाएको आठराई –२ खाम्लालुङका अमर विसुङ्खेले बताउनुभयो ।     गाउँबाट विद्युत् विस्तारका लागि प्रतिपरिवार रु सात हजार रकम बुझाइएको र १८ दिन श्रम गरेको विसुङ्खेको भनाइ छ । आफू ठगिएको थाहा पाएपछि उठाइएको रकम र श्रमको ज्याला पाउनुपर्ने मागसहित आठराई सङ्घर्ष समिति गठन भएको छ । उक्त समितिले विरोधमा उत्रँदै गाउँपालिकालगायतका निकायमा उजुरी गर्न पुगेका छन् ।

आठराई गाउँपालिका–३ को सल्ले क्षेत्रमा मिटर बक्स बापत् उठाइएको अतिरिक्त रकम फिर्ता गरिएको आठराई सङ्घर्ष समितिका उपाध्यक्ष तेजकुमार इङनामले बताउनुभयो ।   आठराई क्षेत्रमा विद्युत् विस्तार सकिने बेलामा वडा नं–७ थोक्लुङमा ठेकेदार र फ्युुज सेवाको कर्मचारीबीचमा भएको सम्झौतापत्रमा सानो पोलको रु सात सय र ठूलो पोल गाड्दा रु एक हजार चार सयका दरले उपभोक्ता समितिलाई रकम उपलब्ध गराउने सम्झौता–पत्र सार्वजनिक भएपछि आफूहरु ठगिएको थाहा पाएको उपाध्यक्ष इङनामले बताउनुभयो । 

विद्युत् विस्तारमा गरिएको श्रमदान र उठाइएका रकमबारे ठेकेदार कम्पनीले अनभिज्ञता देखाएको छ । पेटी ठेकेदारमार्फत विद्युत् विस्तार गराएको र सबै हिसाब पेटी ठेकेदारलाई बुझाइएको ईश्वरी निर्माण सेवा प्रालिका सञ्चालक देवेन्द्र अधिकारीले बताउनुभयो । 

इवा क्षेत्रमा पेटी ठेकेदारका रुपमा काम गरेका योगेश इङनामले रु दुई हजार दुई सय पर्ने मिटरबक्स रु तीन हजार सात सय लिएकोमा मिटरबक्स जडानका लागि आवश्यक अन्य सामग्री खरिदमा लागेको बताउनुभयो । विवाद भएपछि प्रतिघर रु दुई सय फिर्ता गरिएको उहाँले बताउनुभयो । 

आठराई गाउँपालिकावासी विद्युत् विस्तारमा ठगिएपनि वास्तविक ठग पत्ता लगाउनुपर्ने अवस्था भएको सङ्घर्ष समितिका सदस्य सुमन हाङस्रोङ बताउनुहुन्छ । उहाँले भन्नुुभयो, “ठेकेदारलाई सोध्यो पेटी ठेकेदार भन्छ । पेटी ठेकेदारलाई सोध्यो प्राधिकरणको कर्मचारी भन्छ । प्राधिकरणका प्रमुखलाई सोध्यो ठेक्कामार्फत सबै काम भएको भन्छ । वास्तविक ठग को हो ? उठाइएको रकम कसले लग्यो ?” 

अख्तियारले छानबिन गरी विद्युत् विस्तारका नाममा भएको अनियमितताबारे पत्ता लगाइ उपभोक्ताबाट लिइएको रकम फिर्ता गरिनुपर्ने र श्रमबापत्को रकम पाउनुपर्ने आठराई सङ्घर्ष समितिको माग छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको र उजुरीका विषयमा अनुसन्धान भइरहेकाले अहिले केही जानकारी दिन नमिल्ने आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । 

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, १ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवीकुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।

राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पयाप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको शुभकामना सन्देशमा भन्नुभएको छ । शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने उहाँको विश्वास छ ।

“मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । 

‘देशैभरि नेपाल ट्रष्टका नामका जग्गाको खोजीकार्य भइरहेको छ’

भक्तपुर, १ असोजः भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप विश्वविद्यालयका लागि नेपाल ट्रष्टका नाममा रहेको उक्त जग्गा विश्वविद्यालय सञ्चालन गर्न नगरपालिकालाई उपलब्ध गराउन माग गरेको हो । 

मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टका नाममा रहेका जग्गाको खोजीकार्य भइरहेको बताउँदै ट्रष्टको नाममा रहेका जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले नेपाल ट्रष्टको स्वामित्व कायम हुनेगरी उक्त जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहे पनि ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने वा नमिल्ने भन्नेबारेमा अध्ययन गरेर मात्रै निर्णय गरिने बताउनुभयो । 

ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक भाडामा दिने विषयमा आवश्यक छलफल गरिने प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका सुवालले जानकारी दिनुभयो । उहाँले सल्लाघारीस्थित उक्त जग्गामा देशविदेशका विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि ख्वप विश्वविद्यालय सञ्चालनको अवधारणालाई अगाडि ल्याइएको बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेज अफ लमा कूल ४१ हजार सात सय ९८ जना विद्यार्थी भर्ना भई अध्ययन गरिसकेका जानकारी दिनुभयो ।  

नेपाल ट्रष्टको नामका सम्पत्ति विद्यालय, महाविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडागरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको भन्दै उहाँले उक्त जग्गा भक्तपुर नगरपालिकालाई उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै

काठमाडौँ, १ असोजः कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । 

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेलले बताउनुभयो । 

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनसमेतमा पूजा आराधना गरिन्छ ।

वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने प्रचलन रहेको वास्तुशास्त्री पोखरेलले जानकारी दिनुभयो । “पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनःजागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ”, उहाँले भन्नुभयो ।

यस अवसरमा आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन कार्यक्रम गरिनेछ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहने जनाइएको छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ, १ असोजः वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । 

अनन्त चतुर्दशी

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रणगरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । 

श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणबस जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमाका दिन इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एककोे खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम रहेको थियो । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो ।

त्यसैगरी आइतबार पनि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको थियो । त्यसैगरी आइतबार युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा कायम गरिएको थियो ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कास्की प्रहरीद्वारा एक महिनामा ८६ जना फरार प्रतिवादी पक्राउ

कास्की, ३१ भदौ : जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखि ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो, “सम्मानित अदालतको फैसला कार्यान्वयन गर्न विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखेका छौँ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट त्यसका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।”

पक्राउ परेकाको कैद हिसाब गर्दा आठ वर्ष १० महिना एक दिन हुन आउँछ । उनीहरूबाट रु ४६ लाख ९२ हजार नौ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा ५२, लागुऔषध मुद्दामा नौ, चोरीसम्बन्धी मुद्दामा एक, अपहरण तथा शरीर बन्धकमा एक, हातहतियार तथा खरखजना मुद्दामा एक, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा एक, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा दुई रहेका छन् । 

यसैगरी बालयौन दुरुपयोग मुद्दामा दुई, बैंकिङ कसुर मुद्दामा छ जना, अभद्र व्यवहारमा तीन, लेनदेनमा तीन, सवारी ज्यान मुद्दामा दुई र जालसाझीमा मुद्दामा तीन जना रहेको प्रनाउ शर्माले जानकारी दिनुभयो । 

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी, ३१ भदौ : सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा ६७ जना दीक्षित भएका छन् ।

४७ हप्तासम्म सञ्चालित तालिमबाट दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष समारोहका बीच शपथग्रहण गराउनुुभएको थियो ।

महानिरीक्षक अर्यालले इमान्दारिता, जिम्मेवारिता र कर्तव्यनिष्ठताका साथ तालिममा हासिल गरेको ज्ञानलाई राष्ट्र र जनताको सुरक्षामा लगाउन आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बलले शान्ति सुरक्षासँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतमा कुशलतापूर्वक आफ्नो जिम्मेवारितालाई निर्वाह गरिरहेको उहाँले बताउनुुभयो ।

आफ्ना कुशल, इमानदार, सीप र क्षमतावान् सन्ततीलाई मुलुकप्रति समर्पण गरेको भन्दै उहाँले अभिभावकप्रति आभार व्यक्त गर्नुुभयो । सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक कमल गिरीले तालिमका सिकाइलाई कर्तव्य परायणता एवं बफादारिताका साथ व्यवहारमा उतार्न आग्रह गर्नुुभयो । तालिम शिक्षालयका समादेशक एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले आधारभूत तालिमको प्रतिवेदन प्रस्तुुत गर्नुुभएको थियो । 

परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान

काठमाडौं, ३१ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज साँझ क्यानाडा प्रस्थान गर्नुभएको छ । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गर्नुभयो । क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुने कार्यक्रम रहेको छ ।

सो सम्मेलनमा परराष्ट्रमन्त्री डा राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरुमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सो बैठकपछि मन्त्री डा राणा अमेरिका प्रस्थान गर्नुहुने छ । उहाँ अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुने छ । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ । अमेरिकामा रहँदा मन्त्री डा राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुनुहुनेछ ।

मन्त्री डा राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नुहुनेछ । उहाँ दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ । सो सम्मेलनलाई परराष्ट्रमन्त्री डा राणाले सम्बोधन गर्नुहुने छ । मन्त्री डा राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कनुहुनेछ ।