`

कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने

मोरङ, ३१ भदौः कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन सम्म मनाउने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले विविध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनःविद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने जनाइएको छ ।

प्रदेश मूल समारोह समितिद्वारा आयोजित उक्त दिवसको अवसरमा झाँकी प्रदर्शनी, खेलाडी कौशल प्रदर्शन र मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सदानन्द भट्टराईले जानकारी दिनुभयो ।    

असोज २ गतेदेखि ४ गतेसम्म तीन दिन मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घर आँगन सफाई, अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण, साँझ घर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

तुलसीपुर (दाङ), ३१ भदौः नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिनुभएको छ । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उहाँले राजीनामा बुझाउनुभएको हो ।

उहाँले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको हो । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त हुनुभएको थियो ।

तल्लो अरुण आयोजनाबाट प्रभावितका लागि मुआब्जा वितरण गरिने

किमाथाङ्का (सङ्खुवासभा) ३१ भदौ : सङ्खुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेभएको छ ।

छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले दुई सय ६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ । तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने सतलज कम्पनीका सिइओ अरुण धिमानले बताउनुभयो ।

कूल छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजनाबाट सङ्खुवासभाको चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका तथा भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।

सरकारले तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो । छ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत् निगम (एसजेभीएन) लाई दिने निर्णय भएको थियो । हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुनःवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने आयोजनाले जनाएको छ । यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा छ हेक्टर अधिग्रहण हुने सतलज कम्पनीले जनाएको छ ।

तल्लो अरुण बन्ने निश्चित भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफलअघि बढाएको हो । निर्माण अवधि पाँच वर्ष बनाइएको छ । लागत रु ९२ अर्ब ६७ करोड रहने अनुमान गरिएको छ । तल्लो अरुण परियोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ ।

आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ ।

इरानी नोबेल पुरस्कार विजेताद्वारा महिलामाथि हुने ‘उत्पीडन’ विरुद्ध कारवाही गर्न आग्रह

महिलाको नेतृत्वमा भएको विरोध आन्दोलन सुरु भएको दुई वर्षपछि जेलमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीले सोमबार इरानमा महिलामाथि हुने ‘उत्पीडन’ अन्त्यका लागि कारवाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ ।

“म अन्तर्राष्ट्रिय संस्थाहरू र विश्वभरका मानिसहरूसँग सक्रिय कारवाही गर्न आह्वान गर्दछु”, उहाँले शनिबार तेहरानको इभिन जेलमा लेख्नुभएको र सोमबार उहाँको फाउन्डेसनले प्रकाशित गरेको पत्रमा भन्नुभएको छ, “म संयुक्त राष्ट्रसङ्घसँग लैङ्गिक रङ्गभेदलाई अपराध बनाएर महिलाविरुद्ध धार्मिक र अधिनायकवादी सरकारहरूले गरिरहेको विनाशकारी उत्पीडन र भेदभावको सामना गर्न आफ्नो मौनता तोड्न र निष्क्रियता अन्त्य गर्न आग्रह गर्दछु ।”

आफ्नो लिङ्गका लागि मुलुकको कठोर ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको सन् २०२२ सेप्टेम्बर १६ मा हिरासतमा मृत्य भएपछि ‘महिला, जीवन, स्वतन्त्रता’ का लागि विरोध प्रदर्शन सुरु भएको थियो ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब लगाउनु पर्ने र मृत्युदण्डको सजायविरुद्ध अभियान चलाउनुभएकी मोहम्मदी सन् २०२१ नोभेम्बरदेखि तेहरानको इभिन जेलमा हुनुहुन्छ । उहाँले विगत एक दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताउनुभएको छ ।

आइतबार ‘सरकारको दमनकारी नीतिहरूविरुद्ध इरानका प्रदर्शनकारी जनतासँग ऐक्यबद्धतामा’ विरोध आन्दोलनको दोस्रो वार्षिकोत्सवमा २४ घन्टाको प्रतीकात्मक भोक हडताल गर्ने इभिन जेलका ३४ महिलामध्ये मोहम्मदी एक हुनुहुन्थ्यो ।

मोहम्मदी जेलमा रहेका बेला उहाँका छोराछोरीलाई सन् २०२३ मा उहाँको तर्फबाट नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल र गर्धन छोप्नुपरेको छ ।

‘महिला, जीवन, स्वतन्त्रता’ का प्रदर्शनहरूलाई अधिकारीहरूले दबाएपछि मानवाधिकार समूह एमनेस्टी इन्टरनेसनलले सुरक्षा बलहरूले कारबाहीमा अल्सट राइफल र शटगनहरूको प्रयोग गरेको बताएको छ ।

कारबाहीका क्रममा कम्तीमा पाँच सय ५१ जनाको मृत्यु भएको मानवाधिकार समूहहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ मानिसलाई पक्राउ गरिएको छ ।

तर मोहम्मदी निडर हुनुहुन्थ्यो । “अगाडिको बाटो चुनौतीपूर्ण भए पनि पहिले जस्तो केही पनि छैन भन्ने हामी सबैलाई थाहा छ”, उहाँले लेख्नुभएको छ, “मानिसहरूले आफ्नो विश्वास, जीवन र समाजमा सबैभन्दा ठूलो परिवर्तन महसुस गर्दछन्, यस्तो परिवर्तनले अहिलेसम्म इस्लामिक गणतन्त्र शासनलाई पतन गराएको छैन तर धार्मिक अत्याचारको जगलाई हल्लाएको छ ।”

नुवाकोटमा स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता

त्रिशूली (नुवाकोट), ३१ भदौ : नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता हुनुभएको छ ।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आउनुभएका ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।
खोलाले बगाए लगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उहाँको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो ।

हराइरहेको वृद्धालाई खोजतलासमा सहयोग पु¥याउन गाउँपालिकाले आह्वान गर्दै उहाँलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप रु ५० हजार नगद दिने घोषणा गरेको छ । बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत

सुदूरपश्चिम, ३१ भदौ : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट आज प्रदेशसभामार्फत सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारले चालु आवमा लिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

चालु आवका लागि कूल विनियोजन मध्ये चालुतर्फ रु १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार र पुँजीगततर्फ रु १८ अर्ब ७६ करोड २४ लाख २३ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक करोड विनियोजनको व्यवस्था गरिएको छ ।

चालु आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनबाट रु एक अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु नौ अर्ब ९९ करोड ९९ लाख, सङ्घीय रोयल्टी बाँडफाँटवाफत प्राप्त हुने रकम रु चार करोड चार लाख ५५ हजार रहेको छ ।

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ७२ करोड २७ लाख, आर्थिक वर्ष २०८०/८१ को विनियोजनबाट बचत हुने अनुमानित रकम रु छ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रु तीन अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु एक अर्ब ४२ करोड र विशेष अनुदानवापत रु ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसअघि आर्थिक मामिलामन्त्री थापाले प्रस्तुत गर्नुभएको विसं २०८१ असार १ गते प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत गरिएको ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१’ र ‘बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८१’ लाई फिर्ता लिनेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।

अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर सरकारले यो बजेट ल्याएको हो । गत असार १ गते तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारीको सरकारले ल्याएको बजेटमा समान्य हेरफेर एवं परिमार्जन गरेर अर्को बजेट प्रस्तुत गरिएको हो ।

तत्कालीन सरकारले पनि चालु आवका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । सत्ता समीकरण फेरिएसँगै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो ।

बजेट पारित नहुँदा साउन १ गतेदेखि सरकारको राजस्व सङ्कलन र खर्च गर्ने लगाएतका काम ठप्प रहेको थियो । नेपाली कांग्रेसका नेता कमलबहादुर शाह नेतृत्वमा गठन भएको नयाँ सरकारले अध्यादेश ल्याएर राजस्व सङ्कलन कार्य सुचारु गरेको भएपनि बजेट शून्यताको अवस्था भने यथावत थियो ।

यसअघि आजको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाउनु भएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

त्यसक्रममा सभामुखको अनुमतिमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावलले चालु आवका लागि असार १ गते बजेट प्रस्तुत गरिसकिएको र आज पुनःबजेट प्रस्तुत गर्ने काम संविधान र कानुन विपरीत भएकाले आफूलाई स्वीकार्य नहुने भन्दै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।

दोस्रो बैठक प्रारम्भ हुनासाथ पनि प्रतिपक्षी सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले आफ्नो भनाइ राख्न प्रतिपक्षीलाई समय दिनुभयो । त्यसपछि धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामीले संविधान र ऐनले तोकिदिएको समयमा बजेट ल्याउनुपर्नेमा त्यस विपरीत बजेट ल्याइएको भन्दै विरोध गर्नुभयो । त्यसपछि प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सदस्य सदस्यहरू सदनको कारबाही अगाडि नबढाउन मागसहित नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिनुभएको थियो ।

आजै बसेको तेस्रो बैठकमा आर्थिक मामिलामन्त्री थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति, उक्त बजेटसँग सम्बन्धित विधेकय २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१ लाई सभासमक्ष टेबुल गर्नुभयो ।

कैदी फरार भएपछि छानबिन गर्न चार सदस्यीय समिति गठन

सुरुङ्गा (झापा) ३१ भदौ : जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

भद्रपुर नगरपालिका–५ घर भएका २४ वर्षीय जीवन साह शनिबार राति प्रहारीलाई छक्याएर अस्पतालबाट फरार भएका थिए । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो ।

छातिमा समस्या भएपछि साहलाई भदौ २५ गते मेची प्रादेशिक अस्पताल भद्रपुर लागिएको थियो । उनलाई मेची प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । उनी सोही अस्पतालबाट प्रहरीलाई छक्याएर फरार भएका थिए ।

साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादब, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई खटिएका थिए । उनीहरूलाई साहकी श्रीमतीले मादकपदार्थ सेवन गराएको र प्रहरीलाई छक्याएर साह श्रीमतीसहित स्कूटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको छ ।

उनी फरार भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी नेपालसहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला कारागार झापाका प्रमुख सदस्य रहनेगरी समिति गठन भएको प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्काे यस्ता घटना घट्न थालेको बताइएको छ ।

फरार भएका साह भद्रपुर–३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको बताइएको छ । उनले श्रीमतीलाई समेतसँगै लिएर भारततर्फ लागेको बताइन्छ । भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचाररत उनी अस्पतालको दोस्रो तलको दुई नम्बर क्याबिनमा बसेका थिए । उनी शौचालय जाने वहाना बनाएर अस्पतालबाट फरार भएको बताइएको छ ।

स्थानीय तहमा आधारभूत अस्पताल : कतै भवन बन्यो, कतै सुरु नै भएन

खोटाङ, ३१ भदौ : नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा १० र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार विसं २०७७ मङ्सिर–१५ गते जिल्लाका चार स्थानीय तहमा एकैदिन अस्पताल शिलान्यास गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा मङ्सिर–१५ गते तथा केपिलासगढीमा मङ्सिर–२३ गते शिलान्यास गरिएको थियो । साकेला गाउँपालिकामा निर्माण गरिने अस्पतालविना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ को अठोटअनुसार बिना शिलान्यास काम सुरु गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोटिब्यूरो सदस्य विशाल भट्टराईले प्रतिनिधिसभा सदस्य एवं प्रमुख सचेतक रहनुभएको समयमा हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा शिलान्यास गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ ले तत्कालीन १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री भएको समयमा जन्तेढुङ्गा गाउँपालिका तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राजन राईले तत्कालीन १ नं प्रदेश सरकारको सामाजिक विकासमन्त्री भएको समयमा ऐसेलुखर्क गाउँपालिकामा शिलान्यास गर्नुभएको हो ।

सबै स्थानीय तहमा शिलान्यास गरिएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला तथा केन्द्रीयस्तरका नेताको उपस्थिति रहेको थियो । आफूले शिलान्यास गरेको अस्पताल भवन निर्माणका योजनाको काम अगाडि बढ्यो या बढेन अहिलेसम्म प्रमुख अतिथि भएर शिलान्यास गर्ने नेताहरूलाई जानकारी छैन ।

ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले रु १८ करोड बजेट उपलब्ध गराए पनि रु २० करोडको डिपीआर तयार भएको गाउँपालिकाले जनाएको छ । ऐसेलुखर्क बजारमा निर्माणाधीन अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकामा निर्माण गरिने अस्पतालका लागि विसं २०७७ असारमा ठेक्का आह्वान गरिए भदौ–२९ गतेमात्र ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । नगरपालिकाले रु २३ करोडमा ठेक्का आह्वान गरे ठेकेदार कम्पनी नमूना हिमालयन जेभी विराटनगरले भ्याटसहित रु १३ करोड ५५ लाख नौ हजार एक सय ८० मा सम्झौता गरेर निर्माणको काम सुरु गरेको थियो ।

अस्पताल भवन निर्माण सुरु गरेको योजनाको रु चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी भएपछि ठेकेदार कम्पनीले अलपत्र पारेको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले जनाएको छ ।

केपिलासगढी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल विवस कन्ट्रक्शन एण्ड सप्लायर्स प्रालिले ठेक्का पारेको छ । रु १८ करोड २५ लाखमा ठेक्का आव्हान गरिएको १५ शय्याको अस्पतालको लागि गाउँपालिकाले रु १२ लाख ५० हजारमा ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।

निर्माणाधीन अस्पताल भवनको काम ७० प्रतिशत सम्पन्न भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “निर्माणाधीन अस्पताल भवनमा स्ट्रक्चरको काम सम्पन्न भएको छ । अहिले वर्षात्को समय भएकाले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “अस्पताल भवनका लागि ठेकेदार कम्पनीसँग गरिएको सम्झौता आगामी असोजसम्म छ । त्यो समयभित्र सकिने अवस्था छैन । पुनः म्याद थप गर्ने तयारी भइरहेको छ ।”

कूल रु १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने जन्तेढुङ्गा गाउँपालिका–२ चिसापानीमा निर्माण शुरु गरिएको १५ शय्याको अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएर काम सुरु गरेको भए पनि अपेक्षाकृत प्रगति नभएको गाउँपालिकाले जनाएको छ ।

महादेव–खिम्ती–अञ्जना–रुजन जेभीले निर्माणको जिम्मा लिएको रावाबेँसी गाउँपालिकामा निर्माण हुने दश शय्याको अस्पताल अहिले घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ । भ्याडबाहेक रु छ करोड ७० लाख लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको अस्पताल भवनको काम अहिलेसम्म अलपत्र अवस्थामा छ ।

उता साकेला गाउँपालिका–२ रतन्छामा भ्याटसहित रु छ करोड ७६ लाख ७६ हजार ४५५ मा पाँच शय्याको अस्पताल भवन निर्माणको भने, गत वैशाखमै सम्पन्न भएको छ । खानी निर्माण सेवा बानेश्वर काठमाडौँले निर्माणको जिम्मा लिएको अस्पतालको भवन निर्माणको काम तोकिएको मितिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेर भुक्तानीसमेत लिइसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि दिलचक्र राईले जानकारी दिनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्ष दिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तिमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा विसं २०७८ सालमा योजना परेको हो ।

तीन वर्षअघि योजना स्वीकृत भएका तीनवटै स्थानीय तहको काम अलिसम्म अगाडि बढेको छैन । तीनवटै स्थानीयमा निर्माण गर्ने भनिएको अस्पतालका लागि जग्गा व्यवस्थापन गरेर घडेरी सम्याउने बाहेक अन्य काम भएको छैन ।

अस्पताल भवन निर्माणका लागि मन्त्रालयले स्वीकृति दिए पनि बजेटको व्यवस्था नगर्दा निर्माणको काम अगाडि बढाउन नसकिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । “गाउँपालिकाको बजेटले अस्पताल भवन निर्माण गर्न सकिने अवस्था छैन । जग्गाको व्यवस्था गरेर डिपिआर निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न गरेर मन्त्रालयमा बुझाएका छौँ”, उहाँले भन्नुभयो, “योजना स्वीकृत भएको तीन वर्ष बित्यो । मन्त्रालयले बजेट उपलब्ध नगराउँदा समस्या सिर्जना भएको छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । विसं २०४९ वैशाख–१ गते १५ शय्यामा स्थापना गरेर सञ्चालन गरिएको जिल्ला अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम भइरहेको छ ।

काठमाडौँ उपत्यकाका खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता

काठमाडौँ । उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सचिव फणीन्द्र गौतमले महान्यायाधिवक्ताको कार्यालयमार्फत दर्ता गराइएको उक्त निवेदनमा संवैधानिक, कानुनी र व्यवहारिक समस्या सिर्जना हुने तथ्यहरु जानकारी हुन आएकाले उक्त फैसला कार्यान्वयन गर्न नसकिने प्रकृतिको हुँदा पुनरावलोकन निवेदन दर्ता गरिएको उल्लेख छ ।

“नदी÷खोला किनारामा के कति तटीय क्षेत्र छोड्ने भन्ने विषय नितान्त कार्यपालिकाको कार्यक्षेत्रभित्र पर्ने विषय हो”, निवेदनमा भनिएको छ, “यस्ता विषयमा भौगोलिक अवस्था, जनघनत्व, जग्गा तथा संरचना अधिग्रहण गर्दा लाग्ने अनुमानित लागत, सोबाट व्यक्ति संस्था, समुदाय, निकायलाई पर्ने प्रभाव/असरसमेतलाई मूल्याङ्कन, विश्लेषण गरी कार्यपालिकाले निर्णय गर्नुपर्नेमा उल्लिखित आदेश सो को प्रतिकूल छ ।”

अदालतको आदेश सधैँ र सबै अवस्थामा कार्यान्वयनयोग्य हुन नसकी यस्तो विषय न्यायिक व्यवस्थापकीय मापदण्डभन्दा बाहिरसमेत पर्न आउने हुँदा अन्य स्वायत्त निकायले लिने र लिनुपर्ने नीतिगत निर्णयका विषयमा अदालतले हस्तक्षेप नगरी स्वेच्छिकरुपमा न्यायिक आत्मसंयम अपनाउन वाञ्छनीय देखिन आउँछ भन्ने सिद्धान्त विपरीत भएको निवेदनमा उल्लेख छ ।

पुनरावलोकन निवदेनमा भनिएको छ, “आदेश सर्वोच्च अदालतबाट सन्दीप शाहसमेत विरुद्ध काठमाडौँ उपत्यका नगर विकास समितिसमेत भएको मुद्दामा प्रतिपादित, राज्यले नागरिकको बसोबासको अधिकारको सकारात्मक कार्यान्वयनका लागि संविधानले नै दायित्व सृजना गरी राखेको अवस्थामा कुनै नागरिकले आफ्नो सामथ्र्यबाट सृजना गरेको बसोबाससँग सम्बन्धित साम्पत्तिक हकमा अतिक्रमण गर्ने कुरा सामान्य अवस्थामा कल्पनासमेत गर्न सकिँदैन ।”

नागरिकको मौलिक हककारुपमा संविधानले स्थापित गरेको यस्तो अधिकार कार्यान्वयन गर्न राज्यलाई केही पूर्वतयारी आवश्यक पर्नु एउटा पक्ष हुन सक्ने भएको पुनरावलोकन निवेदनमा भनिएको छ । भइरहेको बसोबासमाथि हस्तक्षेप गरी निर्वाधरुपमा उपभोगमा असर पु–याउने काममा राज्य कृयाशील हुन नहुने भनी प्रतिपादित सिद्धान्त समेतको प्रतिकूलमा हुँदा सो परमादेशको आदेश जारी हुने गरी भएको फैसला पुनरावलोकन गर्न भनिएको छ ।

अदालतबाट देवी महर्जन विरुद्ध सडक विभागसमेतको मुद्दामा मिति २०८० असोज २२ मा आदेश हुँदा अन्य कुराका अतिरिक्त विकास निर्माणका क्रममा विस्थापनलाई न्यूनतम गरिनुपर्ने र कम भन्दा कम व्यक्तिलाई क्षति पुग्ने गरी विकास निर्माण गरिनुपर्छ भन्ने विकल्पविहीन अवस्थामा बाहेक व्यक्तिको आवासको सुरक्षालाई असरपर्ने गरी कुनै कार्य गर्नु हुँदैन भन्ने सिद्धान्त प्रतिपादन भएको निवेदनमा उल्लेख छ ।

“संवैधानिक सीमाभित्र रही सरकारले नागरिकको हित र मुलुकको विकासका लागि स्रोत र साधनको समुचित व्यवस्थापन गर्दै क्रमश कार्यान्वयन गर्नुपर्ने विषयमा कुनै विश्लेषण नगरी, प्रभाव, असर सम्बन्धमा कुनै तथ्य, तथ्याङ्क पत्ता नलगाई भएको आदेश कार्यान्वयन गर्दा के कस्तो असर/प्रभाव पर्छ ?” निवेदनमा भनिएको छ, “के कति घर, जग्गाहरु अधिग्रहण गर्नुपर्ने हुन्छ ? यसरी अधिग्रहण गर्दा सोको क्षतिपूर्ति बापत के कति रकम आवश्यक पर्छ ? सो कार्य गर्दा त्यस क्षेत्रमा बसोवास गर्ने जनता, बैंक तथा वित्तिय संस्था तथा सरकारलाई के कस्तो प्रभाव असर पर्छ भन्ने सम्बन्धमा मिति २०८१ भदौ १६ मा गठन भएको कार्यदलले २०८१ भदौ २५ मा दिएको प्रतिवेदन बमोजिम काठमाडौँ उपत्यकामा १९ वटा खोला रहेको हुनाले ती खोलाको दायाँबायाँ अदालतको आदेश बमोजिमको क्षेत्रभित्र करीब आठ हजार तीन सय चार घर तथा टहरा र करीब ३० हजार रोपनी जग्गा समेटिने देखिन्छ ।”

पुनरावलोकन निवदेनमा अदालतको आदेश कार्यान्वयन गर्दा यससम्वन्धी प्राविधिकबाट भएको प्रारम्भिक अध्ययनबाट उल्लिखित संरचना तथा जग्गाको मूल्य बमोजिम अधिग्रहण गर्न करिब २१ बर्ब २६ अर्ब लाग्ने, जुन रकम वर्तमान वार्षिक पूँजीगत खर्चको हिसाबले झण्डै सात वर्षको, विकास बजेट बराबर हुने अनुमान गरिएको उल्लेख छ ।

निवेदनमा उक्त क्षेत्रको घर जग्गालाई बैङ्क तथा वित्तिय संस्थामा धरौट राखि धेरै व्यक्तिले कर्जा लिएको अवस्था भएको र ती बैंक तथा वित्तिय संस्थाको रकमसमेत सङ्कटमा पर्ने, सो क्षेत्रमा बसोवास गर्ने ठूलो सङ्ख्याका जनता पुनःवाससम्बन्धी समस्यामा पर्ने, सरकार र सम्बद्ध निकायवाट प्रचलित कानुन, मापदण्ड बमोजिम स्वीकृति, मान्यता दिएकोमा पुनःफरक मापदण्डका आधारमा सोही स्थानका जमिन तथा संरचना अधिग्रहण गर्नाले राज्यप्रति तीव्र असन्तोष उत्पन्न हुन सक्ने भनिएको छ ।

लोकसंस्कृतिको अभिन्न अङ्ग इन्द्रजात्रा

राममणि सिटौला/काठमाडौँ – संसारका मोहनजोदाडो, हरप्पा, सिन्धु, गङ्गा, रोम आदि सभ्यता नदीकै किनारामा विकास भएका छन् । हाम्रो देशमा पनि गण्डकी, कोसी, कर्णालीलगायत कैयौँ सभ्यता नदीका किनारमा भएका छन् । बागमती सभ्यता नदीका किनारमा विकास भएको हाम्रो प्रमुख सभ्यता हो । सभ्यता भनेको मानवको बाह्य प्रवृत्तिमूलक प्रेरणाले जे विकास भएको छ, त्यही हो । त्यसको अन्तर्मुखी प्रवृतिले जे विकास हुन्छ, त्यो संस्कृति हो ।

बागमती सभ्यताभित्र विकास भएको प्रमुख लोकसंस्कृतिमा इन्द्रजात्रा पनि पर्छ । संस्कृति ब्रह्म झैँ अवर्णनीय हुन्छ, व्यापक तत्त्वबोध गराउने खालको हुन्छ, जीवनको विविध प्रवृत्तिसँग सम्बन्धित हुन्छ । त्यसलाई लोकले अपनाएको हुन्छ । लोक भनेको ती सर्वसाधारण जन हुन् जसको व्यक्तिगत पहिचान नभएर सामूहिक हुन्छ । यी सबैको मिलिजुली संस्कृति नै लोकसंस्कृतिका रूपमा कहलिएको हुन्छ । बाहिरबाट झट्ट हेर्दा लोकमानसका अलग अलग रहनसहन, खानपान, वेशभूषा हुन्छ तर ती सबैलाई लोकसंस्कृतिरूपी एउटा धागाले मालाका रूपमा उनिरहेको हुन्छ । इन्द्रजात्रा यस्तै प्रकारको लोकसंस्कृतिको एक अङ्ग हो ।

‘इन्द्र’ शब्द लोकको जिब्रामा झुन्डिएको छ । ‘इन्द्र’ फूलहरूमा इन्द्रकमलका रूपमा चिनिन्छन् । यसबारेमा त लोकगीत नै छ, “इन्द्रकमल फूलको हजुर बोटै मरिगयो, चल्नै छाड्यो बासना”, “यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना” आदि । तलाउमा मकवानपुर, मार्खुस्थित इन्द्रसरोवर चर्चित छ । वर्षात्मा इन्द्रधनुष र इन्द्रेणीका रूपमा उनकै नाम जोडिएर आउँछ ।

ऋग्वेदमा ‘इन्द्र’ लाई शक्तिशाली देवताका रूपमा बताइएको छ । उनले मानवताको विकास र कल्याणका निम्ति अनेकौँ कार्य गरेको उल्लेख छ । नदीलाई दिशा प्रदान गरेर, पर्वतबाट निस्किएका जलका धारालाई नियन्त्रण गर्दै नदी–समुद्रलाई व्यवस्थित गर्ने काम ‘इन्द्र’ ले नै गरेका थिए । ऋतुअनुसार बादल, बिजुली, वर्षात्, हुस्सु, कुहिरो आदिलाई व्यवस्थित तरिकाले मानव जातिमा सञ्चार गर्नमा पनि उनकै योगदान छ भनिन्छ । वैदिक युगमा ‘इन्द्र’ सर्वश्रेष्ठ देवता मानिन्थे । ‘इन्द्र’ को व्यक्तित्वलाई लिएर मानिसमा एउटा भ्रान्ति छ । इन्द्रको स्थिति सधैँ संदिग्ध छ ।

वैदिककालबाट आजसम्म आइपुग्दा ‘इन्द्र’ बारे धेरै कथा सामुन्ने आइपुगेका छन् जसले उनी कुनै व्यक्ति नभएर पदवी हो भन्ने प्रस्ट पार्छ । ‘पुराण’ कथाको चौधौँ मन्वन्तरमा यज्न, विपस्यति, शिवि, ऋतुधाम, देवास्पति, शुचि, पुरन्दर, अदभुुत शान्ति, वाली आदि चौध अलग अलग ‘इन्द्र’ का बारेमा वर्णन गरिएको पाइन्छ । ‘पद्म पुराण’ मा एक श्रापबाट मुक्त हुनका निम्ति हजारौँ वर्ष तपस्या गर्न जाँदा धर्तीका प्रतापी राजा नहुषलाई स्वर्गमा बोलाएर ‘इन्द्र’ को पदवी दिइएको उल्लेख छ ।

सबै ‘इन्द्र’ को छवि नकारात्मक मात्र छैन । जसले आफू जीवित छँदै अश्वमेध, राजसूय यज्ञ गर्न सक्छ, ऊ नै ‘इन्द्र’ पदको अधिकारी हुन्छ । सनातन धर्ममा अरू देवीदेवता झैँ इन्द्रको मूर्ति बनाएर पूजा गर्ने परम्परा नभए पनि देवराज ‘इन्द्र’ सनातन धर्मका अभिन्न अङ्ग हुन् । साङ्केतिक रूपमा भन्नुपर्दा जसले इन्द्रियलाई जित्न सक्यो, त्यसले ‘इन्द्र’ पद पायो, जसले इन्द्रियलाई वशमा राख्न सकेन, ‘इन्द्र’ पदबाट च्युत भयो ।

काठमाडौँ, भक्तपुर, ललितपुर आदि स्थानमा नेवार जातिमा प्रचलित इन्द्रजात्रा पनि उनै देवराज ‘इन्द्र’ मा समर्पित उत्सव, आराधना र जात्रा हो । इन्द्रजात्रामा नेवार जातिले सहकालका देवता इन्द्रको पूजाराधना गरेर मनाउने गरेको पाइन्छ । यो जात्राको उद्गमस्थल भनेको १२ आँैं शताब्दीमा बनेको अनेकौँ मठमन्दिरले सजिएको हनुमान ढोका क्षेत्र हो । जब यस क्षेत्रमा लिङ्गो ठडाएर इन्द्रध्वज स्थापना गरिन्छ, तब इन्द्रजात्रा प्रारम्भ भएको मानिन्छ ।

इन्द्रजात्राबारे लोककिंवदन्ती यस्तो छ ः जब ‘इन्द्र’ की आमा बसुन्धरालाई विशेष पूजाका निम्ति पारिजात फूलको आवश्यकता प¥यो, उनी स्वर्गलोकबाट ऐरावत हात्तीमा पृथ्वीलोकमा आए । उनी मानव रूप धारण गरेर यहाँको बगैँचाबाट पारिजातको फूल टिप्न थाले । फूल टिप्न लाग्दा उनलाई चोर भनेर समातियो र बाँधियो । त्यतिखेर ‘इन्द्र’ मानव रूपमा थिए, उनलाई ‘इन्द्र’ भनेर मानिसले चिनेका थिएनन् । ‘इन्द्र’ बाँधिएको थाहा पाएपछि उनकी आमा बन्धनबाट मुक्त गर्न आइन् । उनले आफ्ना छोरा ‘इन्द्र’ भएको रहस्य खोलिन् । जब मानिसले ‘इन्द्र’ भन्ने थाहा पाए, तब पछुतामा डुबे । काठमाडौँमा शीत र कुहिरो लगाइदिने वाचा गर्दै ‘इन्द्र’ बन्धन मुक्त भएर स्वर्ग गए । कुहिरो र शीतले गर्दा आर्द्रता पाएर समयमा नै धानबाली पाक्न थाल्यो । त्यही दिनबाट इन्द्रजात्रा मनाउन थालियो ।

इन्द्रजात्रामा जुन इन्द्रध्वजोत्थान गरिन्छ यसबारेमा ‘महाभारत’, ‘हरिवंशपुराण’, ‘कालिका पुराण’, ‘देवी पुराण’ आदिमा उल्लेख छ । प्राचीनकालमा देवता र दैत्य ठुलो युद्धको तयारीमा लागे । त्रिदेव, सम्पूर्ण देवगण मिलेर ‘इन्द्र’ लाई विजयी गराउनलाई ध्वजा बनाएर त्यसको पूजा गर्दै इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यसलाई इन्द्रध्वज भनियो । देवता र दानवका युद्धमा ‘इन्द्र’ ले विजय प्राप्त गरेपछि इन्द्रध्वज पूजाले निरन्तरता पायो । देवराज इन्द्रले उक्त ध्वजा पृथ्वीका राजा उपरिचर वसुलाई दिएपछि उनले सहजै विजय हासिल गरेको उल्लेख छ । यही खुशीयालीमा इन्द्रध्वज स्थापना गरेर यो पर्व मनाउन थालिएको हो भन्ने पनि लोकविश्वास छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि विधिवत् रूपमा यो जात्रा प्रारम्भ हुन्छ । जात्रा विभिन्न प्रकारको नाचगान, रथयात्रा, देवीदेवताको पूजा गरी लगातार आठ दिनसम्म मनाइन्छ । यस जात्रामा काटिने रुख भनेको काभ्रेपलान्चोकको उग्रचण्डी नालामा तान्त्रिक विधिद्वारा छाडिएको बोकाले छोएको रुख हो । हनुमान ढोकाको कालभैरवको मूर्ति अगाडि विधिवत् पूजाआजा गरेपछि जात्राको चहलपहल सुरु हुन्छ । लिङ्गामा नेपालभाषामा मङ्गलसूचकका विभिन्न चिह्नाङ्कित पताका झुन्ड्याइन्छ । लिङ्गाको फेदमा ऐरावत हात्तीमा चढेका सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ । यतिखेर नेपाली सेनाको ब्यान्ड, गुर्जुको पल्टन र पञ्चैबाजाद्वारा मङ्गलधुन बजाइन्छ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि दर्शन र पूजाका निम्ति खुला गरिन्छ । इन्द्रजात्रा सुरु भएपछि जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने प्रचलन पनि छ । रथ तान्ने परम्परा काठमाडाँैका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको भन्ने इतिहासमा उल्लेख छ ।

आठ दिनसम्म चल्ने यस जात्रामा भक्कुनालचोकको सबभकुमा भक्तपुरको महाकाली नाच देखाइन्छ भने दशावतार तथा ‘इन्द्र’ को प्रतीकका रूपमा किलागलमा पुलुकिसी नाच देखाइन्छ । यतिखेर दहचोकको इन्द्रदहमा पनि दर्शनार्थीको घुइँचो लाग्छ । शदियौंँदेखि रातभर जाग्राम बसेर सोे दहमा स्नान गर्ने परम्परा छ । वास्तवमा इन्द्रजात्रा सनातन धर्मकै विभिन्न देवीदेवताको उत्सव, जात्रा हो । यतिखेर कुमारी घर अगाडि त्रिलोक नारायणको मन्दिरमा विष्णुले लिएको दश अवतारहरु देखाइन्छ । वर्षभरि दिवङ्गत भएका आत्माको सुखावती भुवनमा बास होस् भन्ने कामना गर्दै, दियो दान गर्दै, धरणी स्तोत्र पाठ गर्दै सहर परिक्रमा गरिन्छ । विक्रम संवत् ३८८मा राजा मानदेवले राजमाता राज्यवतीको पुण्य बढोस् भनेर निर्माण गरेको तिलगङ्गामा रहेको विष्णु विक्रान्तको मूर्तिमा पूजार्चना गरिन्छ, दियो दान गरिन्छ ।

इन्द्रजात्राको प्रमुख आकर्षण भनेको समयबजी हो । यतिखेर नेवार समुदायमा समयबजी खाने परम्परा छ । अन्तिम दिन नानिचायः भन्दै वसन्तपुरदेखि प्याफल, किलागल, नरदेवी, असन, इन्द्रचोक, वसन्तपुरमा ल्याएर बेलुकाको साइतमा लिङ्गो ढालेपछि विधिवत् रूपमा इन्द्रजात्रा समापन हुन्छ ।

वास्तवमा लोकमा चल्ने इन्द्रजात्रा झैँ उत्सव, जात्राहरू समाजको प्राचीन रूपलाई चियाउने आँखीझ्याल हो । यसले इतिहासलाई प्रतिविम्बका रूपमा प्रस्तुत गर्छ । यस्ता संस्कृतिमा सामान्य जनताको दृष्टिकोणलाई ध्यानमा राखेर ऐतिहासिक घटनाको वर्णन गरिएको हुन्छ । हाम्रो समाजको ढाँचा, प्रथा, परम्परा, रीतिरिवाजज आदि यस्ता जात्रामार्फत बुझ्न सकिन्छ । यस्ता संस्कृतिले एकताको भावनालाई मजबुत बनाउँछ, सामाजिक दूरीलाई निकट ल्याउने काम गर्छ । जब हामी यस्ता जात्रामा भाग लिन्छौँ, तब हामीभित्र भावनात्मक सन्तुष्टि र खुसीको सञ्चार हुन थाल्छ । इन्द्रजात्रा जस्ता संस्कृतिले सामाजिक एकताका लागि एउटा धागाको काम गर्दै आएको छ । यसले समाजको तानाबाना बुन्दै सांस्कृतिक विविधता, राष्ट्रिय एकताको भावनालाई पनि प्रश्रय दिएको छ । (लेखक लोकसंस्कृतिका जानकार हुनुहुन्छ)

चाडपर्वमा भरपर्दो सुरक्षा रणनीति बनाएर लागू गर्न महानिरीक्षकको निर्देशन

काठमाडौँ ३१ भदौ : नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन भरपर्दो सुरक्षा रणनीतिका साथ प्रभावकारी सुरक्षा व्यवस्था मिलाउ निर्देशन दिनुभएको छ ।

महानिरीक्षक कुँवरले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी सेवा प्रवाहमा कटिबद्ध हुन पनि देशभरका प्रहरीलाई निर्देशन दिनुभएको हो । प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्यमद्वारा समसामयिक विषयमा सम्बोधन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

उक्त भर्चुअल सम्बोधनमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गण र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।

सो क्रममा महानिरीक्षक कुँवरले आआफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गर्ने, जनशक्तिको तयारी गर्ने, स्रोतसाधन उपलब्ध गर्ने एवं अन्य सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको अवसरमा सवारी दुर्घटना जस्तो दुःखदायी घटना हुन नदिन ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गर्नुभयो ।

चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना निर्माण गरी अनिवार्य रूपमा कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले तस्करसँग साठगाँठ कुनै हालतमा स्वीकार्य र क्षम्य नहुने उल्लेख गर्दै चोरी, निकासी पैठारी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

सीमा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने उहाँले बताउनुभयो । सिमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई प्राथमिकतामा राखेर नागरिक सुनुवाइ तथा गुनासो सम्बोधनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रहरी कर्मचारी सहनशील भई आचारण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीका समस्याको समाधान प्रेस रजिष्ट्रारबाट खोजिने

लेखनाथ (कास्की), ३१ भदौः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस रजिष्ट्रार नियुक्त गरेसँगै अब गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीका समस्याको समाधान प्रेस रजिष्ट्रारबाट खोजिने बताउनुभएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले केही दिन अघि मात्र बिमला भण्डारीलाई सञ्चार रजिष्ट्रारमा नियुक्त गरेसँगै आज भण्डारीलाई सपथग्रहण गराइएको छ । गण्डकी प्रदेशमा लामो समयदेखि पारित नभएको आम सञ्चार विधेयक पारित भएसँगै सञ्चारकर्मी भण्डारीलाई प्रेस रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

पत्रकारिता क्षेत्रमा हुने जस अपजस अब आफूले लिनु नपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको सञ्चार क्षेत्र अब यहाँको आम सञ्चार विधेयकले बनाएका ऐन नियमअनुसार हुने बताउनुभयो ।

पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै उहाँले सङ्घीय सरकारलाई बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता क्षेत्रबाट गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार नियुक्त भएकाले आफूले ऐन कानुनमा रही पत्रकारको हक हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा

दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र उहाँको जेभीपी भनिने पिपुल्स लिबरेशन फ्रन्टको लोकप्रियता बढेको छ ।

सेप्टेम्बर २१ मा हुने निर्वाचनमा राष्ट्रपतिपदका प्रत्यासी दिसानायकाले सङ्कटग्रस्त मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक क्रान्तिका लागि आफूलाई निर्वाचित गर्न शुभेच्छुक मतदातासँग आग्रह गर्नुभएको छ ।

श्रीलङ्काको माक्र्सवादी पार्टीले दुई चरणमा गरेका विद्रोहमा ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । विद्रोहबाट सत्ता कब्जा गर्न नसकेपछि शान्तिपूर्ण राजनीतिमा समाहित भएको जेभिपीका नेता तथा राष्ट्रपतिपदका प्रत्यासी दिसानायका एक मजदुर परिवारबाट राजनीतिमा आउनुभएको हो ।

लामो समयदेखि स्थापित राजनीतिज्ञहरूबाट निराश पेशेवरहरूसँग गठबन्धन बनाएपछि राष्ट्रपतीय चुनावमा एक प्रबल दाबेदारका रूपमा ५५ वर्षीय दिसानायकाले सामाजिक रूपान्तरणका लागि युवाहरूको समृद्ध र भ्रष्टारामुक्त श्रीलङ्काको आवाजलाई साथ दिने बताउनुभएको छ ।

सन् २०२२ मा यस टापुको आर्थिक मन्दीका लागि भ्रष्टाचार, नातावाद र अक्षमताका लागि समाजवादी र दक्षिणपन्थी दुवै पुँजीवादी सरकारहरू जिम्मेवार रहेको उहाँको दाबी छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काले बेलायती औपनिवेशिक शासनबाट सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेयताको यो सबैभन्दा खराब आर्थिक मन्दी हो ।

व्यापक आर्थिक मन्दीको असर सर्वसाधारण नागरिकसमेतको दैनिकीमा पर्न थालेपछि सुधारको मागसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले तत्कालीन राष्ट्रपति गोटबाया राजपाक्षको सरकारी कार्यालयमा आक्रमण गरेपछि उहाँले देश छोड्न र राजीनामा दिन बाध्य हुनुभएको थियो ।

“श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा पहिलो पटक, शासन केही भ्रष्ट कुलीन परिवारहरूको नियन्त्रणबाट जनताको सरकारमा सर्नेछ,” उहाँले निराश जनमानसलाई आशाको सङ्केत दिँदै आफ्नो राष्ट्रपतीय घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

पूर्व कृषिमन्त्री दिसानायकाले प्रदर्शनकारीको पक्ष लिए पनि आफ्नो पार्टीका पूर्व सहयोगी राजपाक्षलाई सत्ताच्युत गर्न प्रत्यक्षरूपमा संलग्न भने हुनुभएको थिएन ।

सन् २०१४ मा जेभीपीको नेतृत्व सम्हाल्ने बित्तिकै दिसानायकाले फेरि हतियार नउठाउने र चुनावमार्फत सत्तामा आउने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले जेभीपीलाई हिंसात्मक अतीतबाट टाढा राख्न र व्यापक समर्थन प्राप्त गर्न राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धन गठन गर्नुभएको छ ।

“हामी श्रीलङ्काका जनतालाई विश्वास दिलाउँछौं कि हामी फेरि कहिल्यै हतियार उठाउने छैनौं,” उहाँले सन् २०१५ मा जेभीपीको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

उहाँले जेभीपीको वैचारिक परिवर्तनको सङ्केत गर्दै आफूहरू खुला अर्थतन्त्रमा विश्वास गर्ने र निजीकरणको पूर्ण रूपमा विरोधी नभएको बताउनुभएको छ ।

यद्यपि, उनको घोषणापत्रले घाटामा रहेका राज्य उद्यमहरूलाई बिक्री नगरी सुधार गर्ने प्रतिज्ञा गरेको छ।

उहाँले निर्वाचन अभियानका क्रममा सम्बोधन गर्दै भन्नुभयो, “हाम्रो बदनाम गर्ने अभियान चलिरहेको छ । विरोधीहरूले हामीविरूद्ध घरपालुवा जनावरसमेतलाई राष्ट्रियकरण गर्छन् भनी प्रचार गरेका छन् । हाम्रो अभियान आधुनिक अर्थतन्त्रको सुधार, भ्रष्टाचारमुक्त समाज र समृद्ध तथा सुखी नागरिकका लागि हो ।”

उहाँले भन्नुभयो, “हामी निश्चित रूपमा किसानको समस्यामा सहयोग गर्ने कृषि क्षेत्रको सुधारका लागि सहकारी स्थापना गरी कृषि सामानको लागि बजारको व्यवस्था गर्नु हो ।”

उहाँले आफूहरूबारे फैलाइएका भ्रम चिर्दै भन्नुभयो, “हामीले गरिब र दुखी जनताको पक्षमा काम गर्नेछौँ तर नागरिकको सम्पत्तिको राष्ट्रियकरण गर्ने बजारका हल्ला हाम्रो पक्षमा देखिएको जनमतबाट आत्तिएका र सत्ताको गुलियो चाखेका केही मुठ्ठीभर शासकहरूले उनीहरूका एजेन्टमार्फत् चलाएको अफबाह मात्र हो । हामी किसान र मजदूरका दुःखमा साथ दिने सत्ताको स्थापनार्थ लडिरहेका छौँ । अब, यो धेरै टाढा छैन ।”

सन् १९८७ को भारतविरोधी अभियानपछि दिसानायका र उहाँको पार्टीले नयाँदिल्लीसँग सम्बन्ध सुधारेका छन्, तर उहाँलाई अझै पनि चीनसँग निकट रहेको बताउने गरिन्छ ।

रणनीतिक रूपमा पूर्व–पश्चिम समुद्री मार्गमा अवस्थित श्रीलङ्कामा चीन र भारतको मुख्य प्रभाव रहने गरेको र राष्ट्रिय नेताहरूलाई उनीहरूले आफ्नो निकट ल्याउने कोशिस गर्ने गरेको पाइएको छ।

दिसानायकाले यस वर्ष नयाँ दिल्लीको भ्रमण गरी शीर्ष भारतीय राजनीतिज्ञहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

पार्टीको पहिलो विद्रोह सन् १९७१ मा विश्वकै पहिलो महिला प्रधानमन्त्री सिरिमा बन्दरनाइकेको तत्कालीन समाजवादी सरकारविरुद्ध भएको थियो ।

यो लडाईं छोटो थियो तर यसका कारण करिब २० मानिसको मृत्यु भएको थियो।

जेभिपीको दोस्रो सशस्त्र सङ्घर्ष सन् १९८७ मा छिमेकी भारतको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत टापुका अल्पसङ्ख्यक तमिलहरूलाई राजनीतिक शक्ति हस्तान्तरण गर्ने तत्कालीन सरकारको योजनाको विरोधमा भएको थियो ।

बहुसङ्ख्यक सिंहली समुदायका सदस्य दिसानायका दोस्रो विद्रोहका बेला जेभीपीका सक्रिय विद्यार्थी नेता हुनुहुन्थ्यो र उहाँलाई भारतविरोधी हिंसात्मक अभियानसँग पनि जोडेको थियो।

ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भए र अनौपचारिक अनुमानअनुसार दोस्रो जेभीपी सशस्त्र सङ्घर्षका क्रममा करिब ६० हजार व्यक्तिको मृत्यु भएको र हजारौँ वेपत्ता भएका थिए ।

दुई सन्तानका विवाहित पिता दिसानायका सन् १९९५ मा विश्वविद्यालयबाट स्नातक गरेदेखि नै राष्ट्रिय राजनीतिमा सक्रिय हुनुहुन्छ ।

अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने

अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् ।

मन्त्रालयका उपप्रमुख मावलवी अब्दुल खालिक सादिकले परीक्षार्थीको परीक्षा प्रक्रियामा पारदर्शिता सुनिश्चित गरिने र परीक्षामा उत्तीर्ण हुने जो कोहीलाई पनि बिना पूर्वाग्रह काममा लगाइने बताउनुभयो ।

अफगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल एक करोडभन्दा बढी बालबालिका अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा बालिकाले कक्षा सात भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएको छैन ।

अफगानिस्तानको कामचलाउ सरकार गठनको केही समयपछि जारी गरेको प्रतिबन्धात्मक प्रावधान अनुसार ‘अर्को सूचना जारी नभएसम्म’का लागि छात्राहरू कक्षा सातभन्दा माथिका कक्षामा उपस्थित भई पठनपाठन गर्न पाउँदैनन् ।

फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक

सैन्य गठबन्धनका दुई नयाँ सदस्यले सोमबार छिमेकी फिनल्यान्डमा भावी नाटो ल्यान्ड फोर्स (स्थल सेना) को व्यवस्थापन गर्न स्विडेन तयार रहेको घोषणा गरेका छन् । फिनल्यान्डको सीमा रुससँग जोडिएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमणलाई दृष्टिगत गरी दुवै नर्डिक मुलुकले दशकौँको सैन्य असंलग्नतालाई परित्याग गर्दै नाटो सदस्यताका लागि आवेदन दिएका थिए ।

फिनल्यान्ड सन् २०२३ मा र स्विडेन यस वर्ष नाटोको सदस्य बनेका छन् । नाटोले जुलाईमा रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्ने फिनल्यान्डमा कथित फरवार्ड ल्यान्ड फोर्सेस (एफएलएफ) को उपस्थिति विकास गर्नुपर्ने बताएको थियो ।

फिनिश रक्षामन्त्री एन्टी हक्कानेनले पत्रकार सम्मेलनमा भन्नुभयो, “नाटो देशमा यस्तो प्रकारको सैन्य उपस्थितिका लागि अवधारणाको कार्यान्वयनमा महत्त्पूर्ण भूमिका निर्वाह गर्ने फ्रेमवर्क आवश्यक छ ।”

नाटो देशहरूले स्विडेनलाई फिनल्यान्डले बल व्यवस्थापन गर्न आग्रह गरेको बताए ।

हक्कानेनले स्विडिश समकक्षी पल जोन्सनसँग पत्रकार सम्मेलनमा भन्नुभयो, “फिनल्यान्डमा अग्रिम स्थल सेनाका लागि फ्रेमवर्क मुलुकका रूपमा भूमिका निर्वाह गर्ने स्विडिश सरकारको महत्त्वाकांक्षा छ ।”

जोन्सनले प्रक्रिया अहिले नै ‘प्रारम्भिक चरण’ मा रहेको र नाटोभित्र विवरण तयार गरिने कुरामा जोड दिनुभयो । उहाँले स्विडिश संसद्सँग पनि थप परामर्श गरिने जानकारी दिनुभयो ।

फिनिश रक्षामन्त्री हक्कानेनले वास्तविक बलका बारेमा विवरण नाटोका अन्य मुलुकसँग योजना बनाएर स्पष्ट गरिने बताउनुभयो । उहाँका अनुसार सैनिकहरूको सङ्ख्या र उनीहरूको यकिन स्थानबारे अहिले नै निर्धारण भइसकेको छैन ।

नाटोले हाल पूर्वी युरोपमा बुल्गेरिया, इस्टोनिया, हङ्गेरी, लाटभिया, लिथुआनिया, पोल्यान्ड, रोमानिया र स्लोभाकियामा यस्ता अग्रिम समूवा वा ‘बहुराष्ट्रिय युद्ध समूह’ रहेको बताएको छ ।

एनआरएन विवादमा मिसिल झिकाउने आदेश

काठमाडौँ, ३१ भदौ : सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए । उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुईवटा फैसला सुनाइ सकेको छ ।

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्यान्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि करोडौँ डलरको सहयोग घोषणा गर्नुभएको छ । मुलुकमा मुसलधारे वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

बिहीबारदेखि अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकियाका धेरै क्षेत्र तीव्र हावा र असामान्य रूपमा मुसलधारे वर्षाले प्रभावित भएका छन् ।

“अहिले हामीले बाढीबाट प्रभावित स्थान र मानिसहरूका लागि एक अर्ब ज्लाटी (२६ करोड डलर) को कोष सुनिश्चित गरेका छौँ”, प्रधानमन्त्री टस्कले पत्रकारहरूसँग भन्नुभयो, “आजदेखि बाढीबाट प्रभावित जो कोही र बाढी, भत्किएका भवनहरू, बाढीले बगाएका ग्यारेज, हराएका कारहरू, बाढीसम्बद्ध क्षतिका लागि सजिलै पैसा दाबी गर्न सक्नेछन् ।”

प्रहरीले सोमबार अद्यावधिक गरेको आँकडाअनुसार पोल्यान्डमा आँधीबाट चार जनाको मृत्यु भएको छ । “प्रकोपबाट प्रभावित क्षेत्रमा चार जनाको मृत्यु भएको छ”, पोलिश प्रहरी प्रवक्ता कटारजिना नोभाकले भन्नुभयो । यद्यपि उहाँले मृत्युको सही कारण अझै स्पष्ट गर्न आवश्यक रहेको बताउनुभयो ।

बोरिस आँधीका कारण मध्य र पूर्वी युरोपमा मुसलधारे वर्षा र बाढी आउँदा १४ जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । साथै लाखौँ मानिसलाई उनीहरूको घरबाट स्थानान्तरण गरिएको छ ।

लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, ३१ भदौ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी फिर्ताका लागि सार्थक पहल गर्न कर्मचारी सञ्चय कोषलाई निर्देशन दिनुभएको छ । कोषको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले लगानी गरेर चित्त बुझाउने मात्रै नभई सुक्ष्म निगरानी र कोषको हित प्रभावित नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

“सरकारको ‘जमानी’ मा लगानी गर्ने अवसर पाउनुभयो, कुनै संस्थामा २७ अर्बभन्दा बढी लगानी उठ्न बाँकी छ । सरकार जमानी बसेको छ भनेर ढुक्क भएर बस्नु हुन्छ कि लगानी उठाउनका पहल गर्नुहुन्छ ?”, अर्थमन्त्री पौडेलले प्रश्न गर्नुभयो, “लगानीले कस्तो प्रतिफल दिएको छ भन्नेलाई सुक्ष्म ढङ्गले हेर्नुपर्छ । बढीभन्दा बढी प्रतिफल सुनिश्चित गर्ने र सञ्चयकर्ताले अधिकतम् लाभ प्राप्त गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

अधिकतम प्रतिफल सुनिश्चित हुनेगरी लगानी गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले लगानीका दायरा विस्तार गरेर जानुपर्ने बताउनुभयो । “अहिले लगानी गरिरहेको क्षेत्रमा खुम्चिएर बस्ने कि दायरा अझ विस्तारित गर्ने ?”, उहाँले भन्नुभयो ।

औसत गतिमा काम तथा दैनिक कार्यसम्पादनमा मात्रै सीमित नहुन आग्रह गर्दै अर्थमन्त्री पौडेलले सञ्चयकर्ताको भरोसा संरक्षण, सञ्चयको संरक्षण र कोषमा जम्मा भएको प्रतिफललाई विस्तरित र सञ्चयकर्तालाई अधितम लाभान्वित दिनेबारेमा सोच्नुपर्ने बताउनुभयो । सरकार जीवनचक्रमा आधारित समाजिक सुरक्षाको अवधारणामा जान खोजिरहेको उल्लेख गर्दै उहाँले सामाजिक सुरक्षाको प्रबन्धलाई आफ्नो अभिभारा मानेको र यसको कार्यान्वनमा कोष महत्त्वपूर्ण साधन भएको बताउनुभयो ।

कोषका प्रशासक जितेन्द्र धितालले छ दशक लामो अनुभव, अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरण, सूचना प्रविधिमा आधारित कार्य प्रणाली, आधुनिक बंैकिङ सञ्जालको उपयोग, छरितो व्यवस्थापन प्रणालीको अवलम्बनमार्फत सेवा प्रवाहलाई अत्याधुनिक बनाउँदै लगिएको बताउनुभयो । उपलब्ध दीर्घकालीन वित्तीय स्रोतलाई विविधीकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पु¥याउन कोष प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले कोषको वार्षिकोत्सव विशेषाङ्क विमोचन गर्नुभएको थियो । कार्यक्रममा लामो समय सेवा गर्नुभएका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

कोषमा पौने छ लाख योगदानकर्ता आबद्ध

विसं २०१९ भदौ ३१ गते स्थापना भएको कोषमा ३३ हजार छ सय कार्यालयका पाँच लाख ७५ हजार योगदानकर्ता आबद्ध छन् । यस्तै निवृत्तभरण कोषअन्तर्गत तीन हजार आठ सय कार्यालयका ८० हजार चार सय योगदानकर्ता कोषमा सूचीकृत भएका छन् ।

कोषले सञ्चयकर्तालाई स्वास्थ्य उपचार, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपूर्ति र काजकिरिया अनुदान योजनाअन्तर्गत आर्थिक सुविधा उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्ता वा निजको पति वा पत्नीको उपचार खर्चमध्ये साधारण रोगतर्फ प्रत्येक आर्थिक वर्षमा अधिकतम रु एक लाख र घाट रोगको उपचारका हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म शोधभर्ना गर्दै आएको छ ।

योगदानकर्तालाई दुई पटकका लागि प्रतिप्रसूति रु सात हजार पाँच सय सुत्केरी तथा शिशु स्याहार खर्च, सञ्चयकर्ता वा निजको हकवालालाई रु दुई लाखको दुर्घटना क्षतिपूर्ति र हकवालालाई रु ४० हजार काजकिरिया खर्च पनि उपलब्ध गराइरहेको छ । कोषले सञ्चयकर्तालाई ९० प्रतिशतसम्म विशेष सापटी, रु एक करोडसम्म घर, रु ४० लाखसम्म शैक्षिक, रु ३० लाख घर मर्मत, रु ४० लाखसम्म सरल र रु एक करोडसम्म जग्गा खरिद सापटी प्रदान गर्दै आइरहेको छ ।

आव २०८०÷०८१ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २६ हजारभन्दा बढी सञ्चयकर्ता÷हकवालालाई करिब रु ५४ करोड २५ लाख सुविधा उपलब्ध गराइएको कोषले जनाएको छ । कोषले गत असार मसान्तसम्म ४१ हजार छ सय ७० योगदानकर्तालाई घर सापटी, दुई हजार आठ सय ३१ जनालाई घरमर्मत, दुई हजार पाँच सय ७० जनालाई शैक्षिक, छ हजार एक सय २१ जनालाई सरल, छ सय ७३ जनालाई जग्गा खरिद सापटी प्रवाह गरेको छ ।

कोषले एक हजार एक सय ७२ मेगावट विद्युत् उत्पादनका लागि विभिन्न १० परियोजनामा करिब रु ६८ अर्ब र पूर्वाधार क्षेत्रका विभिन्न परियोजनामा रु २९ अर्ब गरी रु ९७ अर्ब प्रवाह तथा २३ कम्पनीमा रु १२ अर्ब शेयर लगानी गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन गर्नुका साथै विद्यमान योगदानरहित योजनाको पुनरावलोकन तथा तीनै तहका कर्मचारी तथा शिक्षक एवं सार्वजनिक क्षेत्रका कर्मचारीका लागि थप योजना ल्याउने कोषको प्रतिबद्धता छ ।

‘समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार’ : मन्त्री भण्डारी

काभ्रेपलाञ्चोक, ३१ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाल इँट्टा उद्योग महासङ्घको १६औँ साधारणसभा उद्घाटन समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न इँटा उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकार व्यवसायीसँग हातेमालो गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने अभियान छ । व्यवसायीले पनि सहकार्य गर्ने सोच बनाउनुस्, सरकार तयार छ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले व्यवसायीले सरकारलाई विरोधीको आँखाले नहेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्र सफल बने मेरो पनि व्यवसाय सफल हुन्छ भन्ने व्यवसायीले सोच्नुप¥यो ।” 

मन्त्री भण्डारीले व्यवसाय तथा उद्योगमा यथास्थितिकै चुनौति देखिएको उल्लेख गर्दै यसलाई सरकार र व्यवसायी दुवै पक्ष मिलेर सामना गर्नुपर्ने बताउनुभयो । आफ्नो मन्त्रालयको ‘मन्दीदेखि समृद्धि’ सम्मको अभियानलाई व्यवसायीले पूर्ण साथ दिनुपर्ने उहाँको धारणा थियो । 

मन्त्री भण्डारीले देशको आयात र निर्यातको चुनौती समाना गर्न ‘मन्त्रालय–व्यवसायी’ बीच को दूरी कम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मन्त्रालयले उद्योग, व्यवसायसम्बन्धी अध्ययन कार्यदल बनाएकाले कार्यदलको प्रतिवेदनअनुसार व्यावसायिक सुदृढीकरणबारे छिट्टै योजना ल्याइने जानकारी दिनुभयो । इँट्टा उद्योगलाई प्रविधि एवं जलवायुमैत्री बनाइ रोजगारी प्रवर्द्धन गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे श्रेष्ठ र लक्ष्मण लम्साललगायतले मन्दीको अवस्थाबाट माथि उठ्न उद्योग व्यवसायीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । महासंघका अध्यक्ष शंकरबहादुर चन्दले उद्योगीको बैंकको ऋणको समयावधि थप गरिदिन अनुरोध गर्नुभयो । उहाँले आर्थिक मन्दीका कारण ३० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक हजार दुई सय इँट्टा उद्योग महासङ्घमा आबद्ध छन् । 

व्यस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रियसभा–अध्यक्ष दाहाल

काठमाडौँ, ३१ भदौः राष्ट्रियसभाको चालु १६औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । गत वैशाख २८ गते प्रारम्भ भएको चालु अधिवेशन एक सय ३० दिन चालु रहँदा ४० वटा बैठक बसी ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतीत गरेको छ ।

अधिवेशन अवधिमा १७ वटा बैठकमा शून्य समय भयो । उक्त शून्य समयमा ४४ जना सदस्यले दुई घण्टा दुई मिनेट समय उपयोग गर्नुभएको थियो ।
यसअवधिमा १६ वटा बैठकमा विशेष समय भयो । विशेष समयमा ५२ जना सदस्यले २१ घण्टा ५६ मिनेट समय उपयोग गर्नुभयो । यस अधिवेशनका एक बैठकमा प्रादेशिक सरोकार समय रह्यो । प्रादेशिक सरोकार समयमा ११ जना सदस्यले एक घण्टा २६ मिनेट समय उपयोग गर्नुभयो ।

यस अधिवेशनको पाँच वटा बैठकमा आकस्मिक समय रहेकामा १२ जना सदस्यले ४७ मिनेट समय उपयोग गर्नुभयो । यसै अधिवेशनमा सभामा उठेका विषयको सरकारका मन्त्रीबाट समयमै जानकारी दिने र कर्णाली प्रदेशका भूकम्प प्रभावितका विषयमा सुझाव कार्यान्वयन गर्न चार पटक ‘रुलिङ’ भएको थियो ।

सरकारलाई संसद्प्रति जवाफदेही तुल्याउने महत्वपूर्ण औजारको रुपमा रहेको प्रश्नोत्तर कार्यक्रम सङ्घीय संसद स्थापना पछि राष्ट्रियसभामा पहिलो पटक यसै अधिवेशनमा शुरु भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित एउटा लिखित प्रश्न र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित आठ वटा मौखिक प्रश्नोत्तरसभामा सञ्चालन भयो ।

यसै अधिवेशनमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतले स्वीकृतसमेत ग¥यो । अधिवेशनका क्रममा संवैधानिक व्यवस्था अनुरुप विभिन्न आयोगका वार्षिक प्रतिवेदनसमेत पेश भए ।

अध्यक्ष दाहालबाट सम्बोधन

अधिवेशन अन्त्यका क्रममा बैठकलाई त्यससम्बन्धी जानकारी गराउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रदेशको न्यायोचित प्रतिनिधित्वसहित व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलतालाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थायी प्रकृतिको यो सभा उत्पीडित जातजाति, अल्पसङ्ख्यक समुदाय, उत्पीडित क्षेत्रलगायत सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि संविधानमा व्यवस्था भएअनुरुप यसलाई अझै सुदृढ, व्यवस्थित गर्न सभाको भूमिका अपरिहार्य छ ।”

अध्यक्ष दाहालले सभाले संविधान र कानुनको सीमाभित्र रहेर आफ्नो भूमिका प्रभावकारी बनाउने विषयमा निरन्तर पहल गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “बडादशैं, तिहार, छठ पर्व, नेपाल सम्वत्, इदलगायत सबै जातजातिका सांस्कृतिक पर्व र चाडपर्वका उपलक्ष्यमा स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

नेपालको इज्जत तल पर्नेगरी काम गर्दिनँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा नेपालले आफ्नो दृष्टिकोण स्पष्टसँग राख्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानन्त्रीले जलवायु परिवर्तन, वातावरणको संरक्षणलगायतका विषयमा नेपालको आफ्नो धारणा स्पष्टसँग राख्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा गर्नुभएको सम्बोधनको पूर्ण विवरण
सम्माननीय सभामुख महोदय,
आज म विशेष प्रयोजनका लागि यस ‘रोष्टम’मा उभिएको छुु । खासगरी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनका लागि नेपालको प्रतिनिधित्व गर्दै म असोज ४ गते त्यसतर्फ प्रस्थान गर्दैछु । आज त्यस कुराको जानकारी दिन र अलिकति संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रस्तुतिका सम्बन्धमा केही कुराहरु राख्न यहाँ उभिएको छु ।

यद्यपि आज उठेका कुराहरु थुप्रै छन्, जसका बारेमा मैले आफ्ना दृष्टिकोणहरु प्रस्तुत गर्नैैपर्छ कुनै समय, तर आज म प्रस्तुत गर्दिनँ । किनभने आज बेग्लै सन्दर्भमा म यहाँ उभिएको छुु । यतिबेला म देशभरि विभिन्न ठाउँमा केही समययता भएका प्राकृतिक विपत्तिका घटना र दुर्घटनामा जीवन गुमाउने, अङ्गभङ्ग हुने, धनजनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्न चाहन्छु । दिवङ्गतहरुप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छुु, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छुु । र, घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने कुरा पनि स्पष्ट पार्न चाहन्छु । यो सरकारले गर्ने नै गरेको छ, फेरि पनि हामी गर्छौं ।

यसै प्रसङ्गमा मैले प्राकृतिक विपत्ति पनि होइन, पाँचथरमा दुुईजना बालबालिकाको निधन भयो । अहिले त्यति भनौँ । कसरी निधन भयो भन्ने अब पछि कुरा गरौँला । बम विस्फोटबाट भन्न हुने हो कि नहुने हो ! यहाँ त अन्योल भइराखेको छ । तर बम विस्फोटबाट दुुई बालबालिकाको मृत्युु भयो । म दुःख व्यक्त गर्न चाहन्छुु । उहाँका परिवारजनलाई सरकारले  पाँच–पाँच लाखका दरले क्षतिपूर्ति दिने र दुुईजना अरू घाइते छन्, उनीहरुको उपचारको जिम्मा सरकारले लिनेछ । त्यो पनि म यस गरिमामय सभालाई सम्माननीय सभामुखमार्फत जानकारी गराउन चाहन्छु ।

मैले अघि नै भनेँ, थुप्रै विषय भए पनि आज म धेरै विषयहरुमा जान चाहन्न । धेरै विषयमा म आज बोल्न चाहन्न । मैले अघि नै प्रारम्भ गरिसकेको थिएँ कि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संविधान तथा राष्ट्रिय दिवसको भोलिपल्टै ४ गते म संयुक्त राष्ट्रसङ्घको हेडक्वाटरतर्फ प्रस्थान गर्दैछु ।

म यस गरिमामय संसद्लाई सम्माननीय सभामुखज्यूमार्फत स्पष्ट गर्न चाहन्छुु, नेपालका आफ्ना नीति छन्, आफ्ना दृष्टिकोण छन्, आफ्ना अडानहरु छन् । आफ्ना समस्याहरु छन्, आफ्ना उपलब्धिहरु छन् । र, ती हाम्रा समस्याहरु, हामीले प्राप्त गरेका उपलब्धिहरु अगाडि बढ्नुपर्ने हाम्रा अभिभाराहरु छन् । ती कसरी पूरा गर्न सकिन्छ वा कसरी पूरा गर्ने भन्ने कुरा, हामी यस सन्दर्भमा के प्रयास गरिरहेका छौँ, त्यो कुरा विश्वलाई जानकारी गराउने कुरा र हाम्रा मात्रै प्रयासले नहुने ठाउँमा हामी बाह्य जगत्सँग कसरी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ भन्ने कुराहरु समेतमा आफ्ना दृष्टिकोणहरु नेपालका तर्फबाट मैले प्रस्तुत गर्नेछु।

हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हामी आफैँले बनाएको संविधान र संविधानका विभिन्न पक्षको सङ्क्षिप्त र नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता यी सबै कुृराहरुलाई म त्यहाँ स्पष्टताका साथ राख्नेछुु । नेपाल एउटा सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्र हो । यसले आफ्नो राष्ट्रिय गौरवलाई अझ माथि उठाउनेछ र आफ्ना जायज राष्ट्रिय हितहरु, न्यायोचित राष्ट्रिय हितहरु र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवद्र्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता गरेको छ । नेपाल असल छिमेकीका रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । असल छिमेकीका रुपमा, छिमेकीको अहित चिताउने छिमेकीका रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीका रुपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरुबाट पनि चाहन्छ ।

नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्ने हो भने–छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता । यो नीतिबाट नेपाल निर्देशित छ, ‘गाइडेट’ छ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु र आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ । त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसङ्घमा राख्नेछौँ ।

यहाँका केही आन्तरिक प्रवृत्तिहरु होलान् । थुप्रै साथीहरुले आन्तरिक प्रवृत्तिका बारेमा उठाउनुुभएको छ । हाम्रो संसद्को गरिमालाई कमजोर बनाउने खालका भाषा, शैली, उत्तेजना वा व्यवहारजस्ता विषयहरुलाई त्यहाँ लगेर छरिने छैन । त्यहाँ राष्ट्रका विषयहरु, राष्ट्रका कुराहरु, राष्ट्रका समस्याहरु, राष्ट्रका चुनौतीहरु, राष्ट्रका अवसरहरु यसमा केन्द्रित भएर छलफल गरिनेछ ।

यसपटक सामान्य सम्बोधन गर्नेजस्तो विषय मात्रै होइन । विभिन्न विषयमा केन्द्रित भएर संयुक्त राष्ट्रसङ्घको महासभाले नै छलफलको आयोजनाहरु गरेको छ । ‘फ्युचर समिट’ भनेर आयोजना हुँदैछ । फ्युचर समिट भनेको मानव जातिको र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने, यसका निम्ति हाम्रा बालबालिका, हाम्रो वातावरण आदिका पक्षहरुलाई कसरी गम्भीरताका साथ लिने र सहकार्य गरेर आजको विश्व अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुनेछ । म त्यहाँ राम्ररी नेपालको दृष्टिकोणहरु प्रस्तुत गर्नेछु । त्यसै गरेर ‘स्मल आइल्यान्ड कन्ट्री’, समुन्द्रको सतह बढेको विषयलगायतका कुराहरुको छलफल हुनेछ । हामी वातावरणीय विषयमा यसको सन्दर्भमा सबैभन्दा पहिले त हिमाल र समुन्द्रको ‘इकोसिस्टम’का बारेमा त्यहाँ नेपालको दृष्टिकोण पनि प्रस्तुत गर्नेछौँ । इकोसिस्टम र समुन्द्रको सतह बढ्नाका पछाडि हिमालको हिउँ पग्लनु कारण रहेको छ । हिमालबाट हिउँ पग्लिएर हिमालमा हिउँ नअडिएको हुनाले अत्यधिक मात्रामा गएपछि, यो सानो मात्रामा जाँदैन, विशाल नदीहरु हिउँ पग्लिएर अनवरत गइरहेका छन् र एउटा नियमित चक्रमा मात्रै होइन, बढी गइरहेका छन् । जति हिमालले हिउँ बोक्नुु पर्दथ्यो, त्यति नबोकिरहेको छ । त्यस्तो किन भएको छ, त्यसका कारणमा जानुुपर्दछ । समुन्द्रको पानी प्रदूषित हुने कुरा र वायुुमण्डलमा आएको प्रदूषणदेखि लिएर ‘एसिड र सल्टिसिड’हरु हिमालसँग ठोकिन जानेदेखि लिएर यसले पारेको प्रतिकूल असरजस्ता कुराहरुमा हामीले विश्वको ध्यानाकर्षण गराउनुुपर्नेछ । र ‘क्लाइमेटको इस्यूसँग हाम्रा हिमालयको सम्बन्ध के छ र हाम्रो हिमाललाई, हाम्रो हिमाल भनेको हाम्रो मात्रै हिमाल होइन, हाम्रो भूगोलमा अवस्थित छ आमरुपमा । तर यो यसको मात्रै होइन, ‘ग्लोबल कन्सर्न’को समस्या हो ।

जब हामी ‘पिपुल र प्लानेट’को कुरा गर्छौं । आज ध्यान दिनुुपर्ने विषय भनेको दुुईवटा विषय हुन्–पिपुल एन्ड प्लानेट । ‘इन्भाइरोनमेन्ट’को कुरा गरौँ, ‘पोभर्टी एलिभिएसन’को कुरा गरौँ वा अरू जुनसुकै कुरा गरौँ, जेसुकै कुरा गरे पनि–पिपुल एन्ड प्लानेट । प्लानेटको फ्युचर हाम्रो ‘फ्युचर जेनेरेसन’ र आजको चिल्डे«न र भोलिका बालबालिकासमेतको ‘सेक्योर’ कसरी गर्ने ? यी सबै विषयहरुमा छलफल हुँदैछ ।

आज दुनियाँले भोगिरहेको र नेपालले पनि बहुतै ‘सिरियस्ल्ली’ भोगिरहेको ‘ड्रग’को समस्या, यस विषयमा पनि संयुक्त राष्ट्रसङ्घले यसपटक एउटा ‘सेग्मेन्ट’ राखेको छ, एउटा छलफलको विषय राखेको छ । तत्सम्बन्धमा हामीले पनि गम्भीर रुपमा ध्यानाकर्षण गर्नुपर्नेछ । यसमा हाम्रो देशभित्र भइरहेका छलफल र अलिक चर्को गरी उठ्न र उठाउन खोजिएका विषयहरु त्यसका बारेमा म अहिले जान चाहन्नँ । कति मात्रै भन्न चाहन्छुु भने ड्रगजस्ता कुराहरु, लागुपदार्थजस्ता कुराहरु यसले मानव जातिको भविष्यलाई खतरामा पार्छ । यस्ता विषयमा हामी सजग हुनुपर्दछ र हामीले आफ्नो दृष्टिकोण र ड्रग्स नियन्त्रणसम्बन्धी र त्यसको प्रयोगलाई समाप्त पार्ने दिशामा नेपालको योगदान, ड्रग्सको कारोबारलाई अन्त्य गर्ने सम्बन्धमा, ड्रग्सको भूमिकालाई अन्त्य गर्ने सम्बन्धमा नेपालको दृष्टिकोण पनि मैले त्यहाँ प्रस्तुत गर्नेछुु । यस्ता विविध गम्भीर विषयहरु दुनियाँले भोगिरहेको र हामीले पनि भोगिरहेका विषयहरु, जसले हामीलाई ‘अलार्म’ बजाइरहेका छन् । खतरनाक भविष्यको सङ्केत गरिरहेका छन् । त्यस्ता विषयहरुका बारेमा पनि मैले त्यहाँ बोल्नेछु । साथै, यसपटक मैले न्युुयोर्कस्थित धेरै विद्वानहरु जन्माएको र झन्डै तीन सय वर्ष पुुग्न लागेको इतिहास भएको विश्वविद्यालय न्युुयोर्कस्थित ‘कोलम्बिया विश्वविद्यालय’मा एउटा सम्बोधन पनि गर्नेछु । त्यसै गरेर बोस्टर्नमा अवस्थित ’हार्वड विश्वविद्यालय’मा पनि एउटा सम्बोधन गर्नेछु । प्राज्ञिक क्षेत्रबाट विश्वको ध्यान नेपाल र नेपालीको दृष्टिकोणहरु, नेपालको अवस्था र नेपाल जान खोजेको कुरा बताउनेछु । नेपाल डेमोक्रेसीका लागि लडेर आएको छ । ‘पोलिटिकल पार्टी सिस्टम’, प्रतिस्पर्धात्मक ‘डेमोक्रेटिक सिस्टम’ हामीले रोजेर ल्याएका हौँ । मैले पहिले पनि भन्ने गरेको छुु र यसै रोष्टमबाट पनि भन्ने गरेको छुु–प्रतिस्पर्धा स्वस्थ हुनुपर्दछ । प्रतिस्पर्धा भनेको झुटो कुराको बखान होइन । झुटा आरोप, लाञ्छना प्रतिस्पर्धा होइन । कुइनो हानाहान, छिर्के लडाउने प्रतिस्पर्धा होइन । प्रतिस्पर्धा दौडनु हो ।

हामी स्वतन्त्रताका हकहरुको पक्षमा छौँ । वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता तर सामाजिक मर्यादाका प्रबन्धहरु हामी मान्छौँ । हामी ‘एनिमल’ मात्रै होइनौँ, हामी सचेत जीव हौँ । हामीले समाज विकास गरेका छौँ, समाजले थिति र मूल्यमान्यता विकास गरेको छ । हामी ती मूल्यमान्यता, हाम्रा सुन्दर संस्कृति, र परम्पराहरुलाई भत्काउन सक्दैनौँ । यहाँभित्रका बेठीक र अनुपयुक्त भइसकेका पक्षहरुलाई हटाउनु पर्दछ र ठीक कुराहरुलाई जगेर्ना गर्दै अगाडि बढ्नु पर्दछ । ‘एनार्किज्म र डेमोक्रेसी’ यी कुराहरुलाई हामीले छुट्याउन सक्नुुपर्दछ । अराजकता डेमोक्रेसी होइन । मैले २०१९ मा ‘डाभोस इकोनोमिक समिट’मा जाँदा त्यहाँ पनि ‘साइडलाइन’को एउटा भेटघाटमा सायद न्युयोर्क टाइम्सका पत्रकारले सोध्नुभएको थियो कि प्रेस स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, वाक् स्वतन्त्रता, अभिव्यक्ति स्वन्त्रता आदिका बारेमा, मैले त्यस बेला त्यही भनेको थिएँ–पत्रकारिता स्वतन्त्र छ तर पीत पत्रकारिता, झुटो पत्रकारिता, समाजमा बेठीक कुराहरु फैलाउने पत्रकारितााई हामीले अलिकति सोध्नैपर्छ, सोधिखोजी गर्नै पर्छ । झुटा कुराहरुको खेती गरेर समाजको सम्बन्ध बिगार्ने, मान्छेहरुका परिवार बिगार्ने, पारिवारिक सम्बन्ध बिगार्ने, साथीहरुका सम्बन्ध बिगार्ने आदि कुराहरु, अरूका कुराहरु अनावश्यक व्यक्तिगत ‘इस्यु’हरुलाई पनि खोजेर उछालेर नभएका कुराहरु पनि जोडिजोडीकन दिने प्रकारका क्रियाकलापहरु उचित हुँदैनन् ।

सम्मानित सदन र माननीय सदस्यहरु सबैलाई म सभामुखमार्फत भन्न चाहन्छुु, उठ्दै नउठेका कुराहरुमा प्रस्ताव नै नआएको कुरामा छलफल कसरी चलेको हो, त्यो मैले बुुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठान नै नगरेका विषयमा उत्पात्तै ! म त हेरिराखेको थिएँ, के भएको होला ! उठाएकै छैन । त्यो विषयमा कसैले के भनेर छलफल गर्यो  भने त्यो छलफल संसद्मा आएर भएको पनि होइन, कहीँ कसैले कुरा गरे अरे भनेको सुन्दाखेरि के कुरा गरेका थियौं, किन यस्तो कुरा गर्यौं, ए बाबा ! त्यो कस्तो हो ? संसद्मा कुरा उठ्छ, के विषयमा भनेर मान्छेले छलफलमा यस्सो बोल्न पनि के रहेछ भनेर सोध्न पनि नपाउने ? अनि ‘एथ्निसिटी’का कुरा, ‘जेन्डर’का कुरा आदि अनेक कुराहरु उछालेर गालीगलौजका भाषाहरु ! साथीहरु थुप्रैले राखिसक्नुभएको छ, बोलौं ठीक छ । आलोचना गरौँ । तर भाषाको सीमा हुन्छ होला । हामी सभ्य नेपाली समाजमा छानिएका सभ्य प्रतिनिधि हौँ । हाम्रा क्रियाकलाप र बोली व्यवहारमा समाजले एउटा नमूना प्रतिबिम्बको अपेक्षा खोज्ला । आफ्नो सभ्यताको, शिष्टताको, मर्यादाको प्रतिबिम्ब सांसदहरुबाट आयो भन्ने जनताले ठान्नुपर्ला । त्यसो भएर म अहिले त्यता धेरै नजाऔँ ।

म संयुक्त राष्ट्रसङ्घमा जाँदैछुु र म ढुक्क रहन माननीयजीहरुलाई भन्न चाहन्छुु, फर्किएर आएपछि फेरि मैले सदनको बैठकमा के गरेँ, कसो गरेँ भन्नेछु । मेरा सबै वक्तव्यहरु सबै मिडियामा आइसकेको हुन्छ, कुनै गोप्य हुँदैन । त्यसमाथि पनि मैले यस गरिमामय सदनलाई रिपोर्टिङ गर्नेछु कि मैले यो यो चीज गरेर आए, यो यो कुरा बोलेर आए, यसमा प्रकाश पारेर आए, यस्तो गरेर आए भनेर भन्नेछुु । म नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिनँ । एकजना माननीयजीले अघि उठाउनुुभएको थियो कि हामीले गर्ने राजनीति भनेको देश र जनताका लागि हो । आजका लागि हो, आजभन्दा बढी भोलिका लागि हो । त्यसो भएर हामी जुन घरको जग राख्छौँ, जग राख्ने बित्तिकै बस्न पाइँदैन । जहाँ शिलान्यास गर्छौं, त्यहाँ बस्न पाइँदैन, त्यो त भोलि बस्नका लागि हामी बनाउँछौँ । भोलिका लागि केही नगर्ने हो भने त धर्ती बाँझो हुन्छ, उर्वराहीन हुन्छ । हामी भोलिका लागि बढी गर्छौं, आजका लागिभन्दा । असारका लागि असारमा धान रोपिएको होइन, कात्तिक र मङ्सिरका लागि रोपिएको हो । यो कुरा बुझेर नै हामी हाम्रा नीतिहरुमा अगाडि बढ्छौँ ।

अहिले धेरै विषयहरुमा म जान चाहन्नँ । म दुवै सदनका सबै माननीयज्यूहरुमा समेत र यस सदनमार्फत सम्पूर्ण नेपाली जनतामा पनि दशैको धेरै धेरै शुुभकामना भन्न चाहन्छुु र निकट भविष्यमा दुुई दिनपछि संविधान तथा राष्ट्रिय दिवस आउँदैछ । यो हामी सबै नेपालीका सङ्घर्ष र उपलब्धिहरुको साक्षी हो, प्रतिफल हो र प्रतीक हो । यसकारण यस दिवसको पनि धेरै धेरै शुुभकामना भन्न चाहन्छुु । दसैँ–तिहारको पनि शुुभकामना भन्न चाहन्छु र मलाई बोल्न समय दिनुभएकामा सम्माननीय सभामुखज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
धन्यवाद !

नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो

काठमाडौँ, ३१ भदौः यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ ।

नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । 

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ । 

 आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ५९, विकास बैंक दुई दशमलव ७२, होटल तथा पर्यटन दुई दशमलव ४८, जलविद्युत् दुई दशमलव २८, लगानी दुई दशमलव ५३ र जीवन बीमा एक दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ७१, लघुवित्त दुई दशमलव ४३, म्युचुअल फन्ड एक दशमलव १७, निर्जीवन बीमा एक दशमलव ९१, व्यापार दुई दशमलव ७६ र अन्य समूह दुई दशमलव ३३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिदबिक्री भएको छ ।

माओवादीद्वारा सञ्चालित ‘जनयुद्ध’लाई अपमानित गर्ने छुट कसैलाई छैनः सांसद बस्नेत

काठमाडौँ, ३१ भदौः नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र याे विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै धारणा राख्दै उहाँले विगतको सहमति तथा सम्झौता विपरीत सांसदहरुले शब्द प्रयोग गरेको बताउनुभयो । ‘जनयुद्ध’ले उठाएको एजेण्डाका आधारमा मुलुक आजको दिनमा आइपुगेको स्पष्ट पार्दै उहाँले गलत भाष्य स्थापित नगर्न ध्यानकर्षण गराउनुभयो ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका बस्नेतले अरुण तेस्रो जलविद्युत् आयोजनालाई समयमा बन्न दिइएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “सो आयोजना कस्ले किन बन्न दिएन ? कस्को कारण रोकियो ?”

उहाँले सत्तारुढ दलका तर्फबाट सदनमा व्यक्त भएको धारणाप्रति स्पष्ट पार्नसमेत अनुरोध गर्नुभयो । माओवादी केन्द्रका उपमहाससचिव समेत रहनुभएका नेता बस्नेतले इतिहासमा सीमित भएको संविधानसभालाई जनयुद्धले नै स्थापित गरेको बताउनुभयो । क्रान्तिलाई हिंसाका रुपमा मात्रै लिने हो भने २००७ सालको सङ्घर्षलाई के भन्ने ? २०२८ सालको झापा विद्रोहलाई के भन्ने ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले सांसदहरुबाट व्यक्त भएको धारणाप्रति आफ्नो दलको तर्फबाट आपत्ति, विरोध कायम नै रहेको सांसद बस्नेतको भनाइ छ । उहाँले केही महत्वपूर्ण विधेयक अगाडि बढाउनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्न लाग्नुभएको सन्दर्भलाई जोड्दै सदनलाई सञ्चालन गर्न दिने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।

सांसद देवेन्द्र पौडेलले केही दिन पहिले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्षलगायत तीन जनाको निधन भएको जानकारी दिनुहुँदै त्यस्ता दुर्घटना कम गर्न लागि सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले सडक दुर्घटनालगायतका अन्य विपदमा परेका नागरिकलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद माधव सापकोटाले केही दिन पहिले सिन्धुपाल्चोकमा बलेरो गाडी दुर्घटनामा परी बेपत्ता हुनुभएका सोनु शेर्पाको खोजीलाई तीव्र पार्न आग्रह गर्नुभयो ।

सांसद सुशीला थिङले सिन्धुलीको पहिचानको रुपमा स्थापित जुनार खेतीमा कीराको प्रकोप बढेका कारण किसान प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न र प्राविधिक खटाउन आग्रह गर्नुभयो । किसान चिन्तित र आतङ्कित भएको जानकारी दिँदै उहाँले एक प्रकारको पुतली नियन्त्रण गर्न, पीडित किसानलाई राहत दिन माग गर्नुभयो ।

सांसद सूर्यप्रसाद ढकालले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विपरीत गएर जनप्रतिनिधिले आफ्ना धारणा राख्न नहुने उल्लेख गर्नुभयो । उहाँले एक सांसदले एक टेलिभिजन कार्यक्रममा कालापानी र लिम्पियाधुराको सन्दर्भमा दिनुभएको धारणाप्रति आपत्ति प्रकट गर्नुभयो ।

अशोककुमार चौधरीले सुनसरीको एक उद्योगले बिना प्रशोधन फोहर पानी स्थानीय बूढीखोलामा फालिँदा जनजीवन प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले बेरोजगार युवालाई गलत प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पु¥याएर ठगी गरेको भन्दै सम्बन्धित म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । 

सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बिक्री वितरण हुन नसकेको उल्लेख गर्दै विदेशी स्याउ बिना अवरोध व्यापार व्यवसाय भइरहेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाली नागरिकको स्वास्थ्य प्रभावित भइरहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद डा धवलशमशेर जबराले शिख समुदायको धर्मअनुसार कपाल तथा दाह्री राख्ने प्रबन्ध अनुसार सुरक्षा निकायमा भर्तीका लागि आवश्यक व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद तारा लामा तामाङले अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा जनधनको क्षति भएका जानकारी दिँदै प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गर्नुभयो । बाढीपहिरोले कञ्चनपुरको हुलाकी सडक प्रभावित बनाएको, हजारौँ बिघामा लगाइएको धानखेती बगरमा परिणत भएको भन्दै राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद लालवीर चौधरीले कर्णाली नदीका कारण बर्दियाका विभिन्न स्थानमा कटान गरिरहेको जानकारी दिँदै जनधनको सुरक्षाका लागि आवश्यक बजेटको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद राजेन्द्र बजगाइँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतका कारण उडान अवतरणमा रोक लगाइएका कारण स्वदेश फर्कन खोज्ने नागरिकले महङ्गो भाडा तिर्नुपरेकामा गुनासो गर्नुभयो ।

सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गर्न माग गर्नुभयो । उहाँले झापामा जातीय विभेद्को घटनामा वृद्धि भएको भन्दै दोषी उपर कारबाहीको माग गर्नुभयो । 

सांसद रञ्जुुकुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रकाश अधिकारीले तराई–मधेशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको जानकारी दिँदै यही भदौ २८ गते सिरहाको गोलबजारमा एक पत्रकारको घरमा आक्रमण भएको र स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो गर्नुभयो ।

सांसद गङ्गाराम चौधरीले पछिल्ला दिनमा भएको अविरल वर्षाका कारण कैलाली र कञ्चनपुर जिल्लामा जनधन प्रभावित भएकाले पीडितलाई उचित राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराको गढीमाइमा आगामी मङ्सिरमा लाग्ने मेलाको उचित व्यवस्थापन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सो मेला सञ्चालनमा आउने समय आएपछि अनावश्यक प्रचार भएकामा आपत्ति जनाउनुभयो ।

सांसद वासुदेव घिमिरेले फोहरमैलाको उचित प्रबन्ध गरी स्वच्छ र मर्यादत व्यवस्थापन गर्न माग गर्नुभयो । फोहर व्यवस्थापनका लागि आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा जनताको अपेक्षा विपरीतको गतिविधि भएको र नेपाली जनतालाई विश्वस्त बनाउन नसकिएको बताउनुभयो । सहकारी प्रकरणमा सत्तापक्षका सांसद नै जोडिएको उहाँले आरोप लगाउनुभयो ।

सांसद प्रेम सुवालले राजनीति देश र जनताको सेवा गर्ने महत्वपूर्ण काम रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्रीले राख्नुपर्ने केही विषयवस्तुमाथि सुझाव दिनुभयो । सांसद रामहरि खतिवडाले बाढीपहिरोका कारण देशभरका सडक समस्यामा परेको, पहिरो आएको तथा खाल्डाखुल्डी परेको उल्लेख गर्दै तत्काल मर्मत सम्भार गर्न माग गर्नुभयो ।

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

काठमाडौँ, ३१ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को आज काठमाडौँमा सातौँ सम्मेलनको उद्घाटन समारोहमा उहाँले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा गर्नुभयो । “नेपालको भूपरिवेष्ठित स्थिति र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको छ”, उहाँले भन्नुभयो ।

दुवै देशका व्यापारिक समुदायबीच प्राविधिक सहयोग, क्षमता निर्माण र सहयोग बढाउन महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीको भनाइ थियो । “यी क्षेत्रहरूमा संयुक्त राज्य अमेरिकाको सहयोग अमूल्य हुनेछ, किनकि हामी हाम्रो व्यापार सम्बन्ध बढाउन र पारस्परिक ‘ड्राइभ’ गर्न प्रयास गर्दछौँ”, उहाँले भन्नुभयो ।

बैठकलाई सफल तुल्याउन अमेरिका सरकार र काठमाडौँस्थित अमेरिकी राजदूतावासको अटुट सहयोग र प्रतिबद्धताप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । “नेपालको व्यापार र लगानीसम्बन्धी यस महत्वपूर्ण संवादका लागि हामी एकसाथ आउँदा सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट बाहिरिने र हाम्रो प्राथमिकता प्राप्त बजार पहुँचका लागि सम्भावित प्रभावबारे विचार गर्नु जरुरी छ, हामी हाम्रो व्यापारको गतिलाई कायम राख्नका लागि बजार पहुँचको विस्तार र वैकल्पिक उपायको विस्तारका लागि अमेरिकी समर्थन चाहन्छौं”, मन्त्री भण्डारीले भन्नुभयो ।

उहाँले सम्मेलन दुई देशबीच जारी संवाद र सहकार्यमा महत्वपूर्ण हुने बताउनुभयो । सो कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधिमण्डलका सदस्यले दुई देशबीचको व्यापार सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।

काभा महिला भलिबलः पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

काठमाडौँ, ३१ भदौः विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलङ्का एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

माल्दिभ्सको राजधानी मालेमा आज भएको खेलमा पुलिसले श्रीलङ्का एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो । पुलिसले श्रीलङ्का एयर फोर्समाथि पहिलो सेट २५-१६ ले जित्यो भने खेलको दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो । त्यसैगरी, खेलको तेस्रो तथा अन्तिम सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि हिजो भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।  

उक्त प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा पुलिसले भोेलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ । गत चैतमा भएको महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । पुलिस लिग विजेताको हैसियतामा काभा महिला क्लब च्याम्पियनसिपमा खेल्न माल्दिभ्स पुगेको हो ।

विकास आयोजनाका लागि हुने प्रारम्भिक अध्ययनमा विशेष ध्यान दिनुपर्छः मन्त्री ठकुरी

पाटन (ललितपुर), ३१ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विकास आयोजनाका लागि प्रारम्भमा हुने अध्ययन, अनुुसन्धान र परीक्षणलगायतका काममा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

प्रस्तावित सुर्खेत भेरिगङ्गा रामघाट विमानस्थल आयोजनाको वातावरणीय अध्ययन सम्बन्धमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले विकासका काम प्रारम्भ हुनुअघि गरिने अध्ययनलाई सकारात्मक रूपमा अगाड बढाउनुपर्ने धारणा राख्नुभयो । “कुनै पनि आयोजनाको प्रारम्भिक अध्ययन गर्दा सुरुमै नकारात्मक सोच्नुहुँदैन, प्रारम्भिक छलफलमै पूर्वाग्रही भएर हेर्नुहुँदैन, हरेक पक्षलाई सकरात्मक हिसाबले हेर्दै लक्ष्यमा पुग्नुपर्छ”, वनमन्त्री ठकुरीले भन्नुभयो,“कतिपय सन्दर्भमा वन विकासको बाधक भयो भन्ने ढङ्गले कुरा उठ्छन् । वन कति उपयोगी छ भन्ने पनि हेर्नुपर्छ । वन विकास विरोधी हुनुहुँदैन, वन पनि जोगाउनुपर्छ, विकास पनि गर्नुपर्छ ।”

उहाँले प्रस्तावित विमानस्थल आयोजनाको वातावरणीय अध्ययनबाट आएको निष्कर्षलाई ध्यान दिएर काम गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “कुनै पनि योजनाका राम्रा र नराम्रा पक्ष हुन्छन्, यसमा भएका नराम्रा पक्षलाई सुधार्न व्यापक बहस गरेर काम गरौँ । वातावरणीय अध्ययनबाट धेरै कुरा आएको छ, आयोजनास्थलमा पनि छलफल होला, राष्ट्र निर्माणमा हुने हरेक विकास निर्माणलाई सकारात्मक रूपले लिऔँ”, मन्त्री ठकुरीको भनाइ थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले हरेक स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा परियोजनालाई सकारात्मक प्रभाव पर्नेगरी कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले प्रस्तावित विमानस्थल राष्ट्रिय रणनीतिक महत्वको प्रादेशिक विमानस्थल भएकाले आयोजनाको सम्भाव्यतालाई अझै ध्यान दिँदै व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो । छलफलमा सहभागी डा विजय सिंहले आयोजना निर्माण गर्दा वातावरणीय पक्ष र अन्तर्राष्ट्रिय मूल्यमान्यताका साथै वातावरण संरक्षणसँग सम्बन्धित पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पुल्चोक इञ्जिनीयर क्याम्पसका प्राध्यापक जगत श्रेष्ठले आयोजना निर्माणका क्रममा भएका स्रोतलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजनाको दिगोपनाका लागि आर्थिक, सामाजिक, पर्यवरणीय पक्ष र जनसङ्ख्याको अवस्थालाई ध्यान आग्रह गर्नभयो ।

नागरिक उड्डयन प्राधिकरणकातर्फबाट प्रस्तावित विमानस्थलको वातावरणीण अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार सात सय मिटर हुने र एक सय ५० वटा जहाजसम्म अटाउने गरी व्यवस्थापन गर्न मिल्ने जनाइएको छ ।

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

काठमाडौँ, ३१ भदौः नेपाल प्रहरीले रु छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँज गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो ।”

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल २८ थान अन्दाजी मूल्य रु दुई लाख, काजु २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलोको अन्दाजी मूल्य रु दुई लाख ८० हजार रहेका छन् ।

यसैगरी खाने बदाम एक प्याक (एक बोरा अन्दाजी २० किलो) अन्दाजी मूल्य रु २० हजार, रोलको कपडा भएको बोरा थान चार (अन्दाजी सात सय मिटर)को अन्दाजी मूल्य रु एक लाख १८ हजार पाँच सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान (एक ठूलो एक सानो)को अन्दाजी मूल्य रु १० हजार तथा फेन्सी कपडा भएको बोरा पाँच थान (कुर्ता सरवाल सेट दुई सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र थान २१ थान)को अन्दाजी मूल्य रु ६८ हजार गरी जम्मा रु छ लाख ९६ हजार पाँच सय बराबरको रहेका प्रहरीले जनाएको छ ।

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवन, ३१ भदौः यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो ।

पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिनुभयो । उहाँले वार्षिक छ टन मह उत्पादन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिनुभयो । यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुभयो, “फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।” गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ । बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ ।”

यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उहाँको भनाइ छ ।

बाँकेमा रगतको मागअनुसार आपूति हुन सकेन, समस्या चर्किँदै

नेपालगञ्ज (बाँके), ३१ भदौः बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ । रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ ।

केही दिनयता विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकाले रगतको अभाव नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल रगतको अभाव नभए पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम नगर्दा समस्या आउने देखिएको छ, त्यसैले रक्तदान भइरहेको छ ।”

प्रमुख रेग्मीले नेपालगञ्ज मेडिकल सहरका रूपमा रुपान्तरण भएको उल्लेख गर्दैै रेडक्रसका खजुरा, कोहलपुर, नेपालगञ्ज कार्यालयबाट दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताउनुभयो । जिल्लामा सिकलसेल, थालसेमियालगायत बिरामीलाई रगत आवश्यक पर्ने भएका कारण बाँकेमा रगतको मागअनुसार आपूर्ति नभएको उहाँको भनाइ छ ।

विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने जानकारी दिँदै प्रमुख रेग्मीले विभिन्न समूहको गरी करिब ५० पिन्ट बढी रगत मौज्दातमा नरहेको बताउनुभयो ।

जिल्लाका विभिन्न अस्पतालमा सोभन्दा बढी रगत आवश्यक पर्ने गरेकाले पूरा गर्न नसकिने हुँदा समस्या चर्किँदै गएको बताइएको छ । मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धवलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारी, असोज ४ गते लायन्स क्लबले रक्तदान गर्न लागिएको छ ।

रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था नरहेको बताइएको छ । यसले सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्तसञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको औँल्याउँदै केही दिनअघि रक्तदान गरेर ४० पिन्ट रगत सङ्कलन गरेको बताउनुभयो । उहाँले रगतको अभाव हटाउन पुनः सङ्घसंस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । सो रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ ।

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

लमजुङ, ३१ भदौः पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडाँै, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताउनुभयो ।

विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् । मनाङवासी, बेँसीसहरलगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरालगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरी रहेको छ ।

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

महोत्तरी, ३१ भदौः इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

पर्वका अवसरमा यहाँ मुस्लिम बस्ती निकै चहलपहल छ । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् । जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् ।

आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने जलेश्वर–६ का स्थानीवासी महमुद आलम बताउनुहुन्छ ।

पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।

पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको सम्सी–६ का समाजसेवी इम्तियाज अहमद बताउनुहुन्छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ भदौ : देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही भागमा हुरीबतासको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

टर्किएमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

टर्किएको उत्तरपश्चिमी साकारिया प्रान्तमा रहेको पास्ता कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

   घटना हेन्डेक जिल्लाको औद्योगिक क्षेत्रको अनाटोलियन राजमार्ग नजिकैको ओबा पास्ता कारखानामा भएको हो । बोयलर विस्फोट भएर आगलागी भएको समाचार च्यानलले उल्लेख गरेको छ ।

   घटनास्थलमा अग्निनियन्त्रक र एम्बुलेन्सहरू तुरुन्तै पठाइएको थियो । विस्फोटको समयमा उपस्थित कामदारहरूको सही सङ्ख्या अस्पष्ट रहेको बताइएको छ ।   घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर, ३१ भदौ : नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ ।

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु

काठमाडौँ, ३१ भदौः पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हाल सूर्य सिद्धान्त नामक ज्योतिष शास्त्रको ग्रन्थका आधारमा गणना गरिएका पात्रोलाई स्वीकृति दिने गरेको छ । सूर्य सिद्धान्तअनुसार गणना गर्दा ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा मेल हुन छोडेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

केतकी ग्रह गणितका आधारमा पञ्चाङ्ग गणना गर्ने कि भन्ने विषयमा समितिले बहस सुरु गरेको उहाँले जानकारी दिनुभयो । केतकी ग्रह गणितअनुसार ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा गणित र आकाशीय ग्रह स्थितिमा फरक नपर्ने भनी बहस सुरु भएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल गणना र आकाशीय ग्रह अवस्थाका बारेमा देखिएका समस्या सकेसम्म हटाउने, हटाउन नसके घटाउने गरी ग्रह गणना विधि स्थापित गर्न अध्ययन भइरहेको बताउनुभयो ।

आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

तनहुँ, ३१ भदौ : यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ ।भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको बाजा (पुतुङ) र खैँजडी बजाउँदै धार्मिक ग्रन्थपूजन गरिएको हो । भुजेल जातिको धार्मिक ग्रन्थका लेखकद्वय विशम भुजेल र प्रदिप भुजेलद्वारा लिखित पुस्तक विमोचनको पूर्वसन्ध्यामा ग्रन्थपूजन गरिएको हो ।

उक्त कार्यक्रममा दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद् (फोरो) रतन खवास र प्रमोद खवास लगायतको सहभागिता रहेको थियो । भुजेल संस्कृति एशोसिएनका प्रमोद खवास र भुजेल भाषामा विद्यावारिधि गर्नुभएका डा. बिधुप्रकाश कायस्थ पनि सहभागी ग्रन्थपूजनमा सहभागी हुनुहुन्थ्यो । 

भुजेल जातिका संस्कार, संस्कृति र प्रकृति पुजनमा आधारित धार्मिक ग्रन्थ “म्याहङो इम्याहङअ” ग्रन्थ आज विमोचन कार्यक्रम छ । भुजेल जातिको भाषा संस्कार र संस्कृतिको संरक्षणका लागि यस पुस्तक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको लेखक विशम भुजेलले जानकारी दिनुभयो ।  

उहाँका अनुसार पछिल्लो समय भुजेल जातिको रैथाने ज्ञान, सीप लगायत भाषा संस्कार, संस्कृति लोप हुँदै जान थालेपछि संरक्षण गर्न पुस्तक लेखिएको हो । “राज्यले हाम्रो भाषा संस्कृतिको संरक्षणतर्फ ध्यान दिन सकेको छैन् । जातीय सङ्घसंस्थाहरु लोपोन्मुख भाषा, संस्कार र संस्कृतिको पक्षपोषण भन्दा बाहिर गएर दलीय भागबन्डामा लिप्त हुँदा लोप हुने खतरामा पुगेको छ”, उहाँले भन्नुभयो । 

म्याहङो इम्याहङअ पुस्तक खोज अनुसन्धान गरेर सन् २०१२ मा पाण्डुलिपी तयार गरिएको अर्का लेखक प्रदिप भुजेलले बताउनुभयो । प्रकृतिपूजक भुजेल समुदाय बसोबास गर्ने नेपाल र भारतका विभिन्न स्थानमा पुगेर उनीहरुको भाषा संस्कृतिको विषयमा खोजी गरी पुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो । 

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

म्याग्दी, ३१ भदौः मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो ।

अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । “पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले पाउने सेवा सुविधाबापतको रकमबाट ‘स्टेप लाइट’ किनेर विद्युत्को पोलमा जडान गरिएको छ”, उहाँले भन्नुुभयो, “वडा नं १ को छैरो, चिमाङ र वडा नं ३ को पुथाङ एयरपोर्टबाहेकका धेरै ठाउँमा सडकबत्ती जडान भएको छ ।”

ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ र मार्फामा बत्ती जडान गरेर रातको समयमा झिलीमिली बनाइएको छ । सडकबत्तीको महसुल गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ । घरपझोङका बस्ती रातको समयमा झलमल्ल र मनमोहक देखिन्छन् ।

बाँकी ठाउँमा पनि बत्ती जडानको तयारी गरेको अध्यक्ष लालचनले बताउनुभयो । पर्यटकीय बस्तीको सौन्दर्यकरण र सुरक्षाका लागि चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार सडकबत्ती जडान गरेको लालचनले बताउनुभयो ।

“मैले जनप्रतिनिधिको हैसियतमा प्राप्त गर्ने सेवा सुुविधाबापतको रकमलाई कार्यपालिकाको बैठकले गर्ने निर्णयानुसार आवश्यक ठाउँ र योजनामा खर्च गरेको छु”, उहाँले भन्नुभयो, “निर्वाचित भएको करिब साढे दुई वर्षको अवधिमा करिब रु छ लाख सामाजिक क्षेत्रमा खर्च भएको छ ।”

व्यावसायिक पृष्ठभूमिका लालचन नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । गण्डकी प्रदेशका गाउँपालिकाका अध्यक्षले मासिक रु ३६ हजार दुई सयका दरले पारिश्रमिक पाउने नीतिगत व्यवस्था छ ।

घरपझोङका सबै बस्तीको डाँडामा विद्युतीय होडिङ बोर्ड राख्न थालिएको छ । बेनी–जोमसोम–कोरला सडक र पोखरा–जोमसोम हवाई उडानका क्रममा देखिने गरेर मार्फा र स्याङमा मेटलको विद्युतीय होडिङ बोर्ड राखिएको छ । जोमसोम र ठिनीमा पनि सो बोर्ड राखिने गाउँपालिकाले जनाएको छ । गाउँको पहिचानका साथै पाहुनाहरूले चिन्न सजिलो हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष लालचनले सेवा सुविधाबापत पाएको रकमबाटै जोमसोममा रहेको मातृचक्रलाई रङरोगन र व्यवस्थापन गरिएको छ । करिब २० वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गाको पर्खाल चिनेर गोलो आकारको बनाएका थिए । मातृचक्रलाई गाउँपालिकाले आमाको गर्भमा हुँदाको कल्पना गर्न मिल्ने गरी घुम्ने र आमाको सम्मान गर्ने ठाउँको रुपमा विकास गर्न खोजेको जनाएको छ ।

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौँ, ३१ भदौ : वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो ।

गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको हो । फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पु-याएको निर्देशक वसन्त निरौलाले बताउनुभयो । “पोस्टर र टिजरले चलचित्रको ‘हाइप क्रिएट’ गरेको थियो,” उहाँले भन्नुभयो, “यो गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ ।” उहाँले  विदेशमा र स्वदेशमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताउनुभयो । 

चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताउनुभयो । ‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो । 

यस चलचित्रमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ । 

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहनुभएको छ । संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको छ । द्वन्द्व निर्देशन सञ्जय थापाले गर्नुभएको छ भने छायाङ्कन श्याम तामाङले गर्नुभएको हो । चलचित्रको सम्पादन सन्देश शाहले गर्नुभएको छ ।  

मोहम्मद जयन्तीको जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन

राँझा (बाँके), ३१ भदौः इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बनेको छ ।

बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।

“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले  भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।”

मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि -याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिनुभयो । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव -यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । 

बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना

काठमाडौँ, ३१ भदौ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदिबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

“यस पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास लिएको छु”, उहाँले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि आज बिदा दिने भएको छ ।