`

टर्किएमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

टर्किएको उत्तरपश्चिमी साकारिया प्रान्तमा रहेको पास्ता कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

   घटना हेन्डेक जिल्लाको औद्योगिक क्षेत्रको अनाटोलियन राजमार्ग नजिकैको ओबा पास्ता कारखानामा भएको हो । बोयलर विस्फोट भएर आगलागी भएको समाचार च्यानलले उल्लेख गरेको छ ।

   घटनास्थलमा अग्निनियन्त्रक र एम्बुलेन्सहरू तुरुन्तै पठाइएको थियो । विस्फोटको समयमा उपस्थित कामदारहरूको सही सङ्ख्या अस्पष्ट रहेको बताइएको छ ।   घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर, ३१ भदौ : नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ ।

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु

काठमाडौँ, ३१ भदौः पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हाल सूर्य सिद्धान्त नामक ज्योतिष शास्त्रको ग्रन्थका आधारमा गणना गरिएका पात्रोलाई स्वीकृति दिने गरेको छ । सूर्य सिद्धान्तअनुसार गणना गर्दा ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा मेल हुन छोडेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

केतकी ग्रह गणितका आधारमा पञ्चाङ्ग गणना गर्ने कि भन्ने विषयमा समितिले बहस सुरु गरेको उहाँले जानकारी दिनुभयो । केतकी ग्रह गणितअनुसार ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा गणित र आकाशीय ग्रह स्थितिमा फरक नपर्ने भनी बहस सुरु भएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल गणना र आकाशीय ग्रह अवस्थाका बारेमा देखिएका समस्या सकेसम्म हटाउने, हटाउन नसके घटाउने गरी ग्रह गणना विधि स्थापित गर्न अध्ययन भइरहेको बताउनुभयो ।

आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

तनहुँ, ३१ भदौ : यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ ।भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको बाजा (पुतुङ) र खैँजडी बजाउँदै धार्मिक ग्रन्थपूजन गरिएको हो । भुजेल जातिको धार्मिक ग्रन्थका लेखकद्वय विशम भुजेल र प्रदिप भुजेलद्वारा लिखित पुस्तक विमोचनको पूर्वसन्ध्यामा ग्रन्थपूजन गरिएको हो ।

उक्त कार्यक्रममा दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद् (फोरो) रतन खवास र प्रमोद खवास लगायतको सहभागिता रहेको थियो । भुजेल संस्कृति एशोसिएनका प्रमोद खवास र भुजेल भाषामा विद्यावारिधि गर्नुभएका डा. बिधुप्रकाश कायस्थ पनि सहभागी ग्रन्थपूजनमा सहभागी हुनुहुन्थ्यो । 

भुजेल जातिका संस्कार, संस्कृति र प्रकृति पुजनमा आधारित धार्मिक ग्रन्थ “म्याहङो इम्याहङअ” ग्रन्थ आज विमोचन कार्यक्रम छ । भुजेल जातिको भाषा संस्कार र संस्कृतिको संरक्षणका लागि यस पुस्तक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको लेखक विशम भुजेलले जानकारी दिनुभयो ।  

उहाँका अनुसार पछिल्लो समय भुजेल जातिको रैथाने ज्ञान, सीप लगायत भाषा संस्कार, संस्कृति लोप हुँदै जान थालेपछि संरक्षण गर्न पुस्तक लेखिएको हो । “राज्यले हाम्रो भाषा संस्कृतिको संरक्षणतर्फ ध्यान दिन सकेको छैन् । जातीय सङ्घसंस्थाहरु लोपोन्मुख भाषा, संस्कार र संस्कृतिको पक्षपोषण भन्दा बाहिर गएर दलीय भागबन्डामा लिप्त हुँदा लोप हुने खतरामा पुगेको छ”, उहाँले भन्नुभयो । 

म्याहङो इम्याहङअ पुस्तक खोज अनुसन्धान गरेर सन् २०१२ मा पाण्डुलिपी तयार गरिएको अर्का लेखक प्रदिप भुजेलले बताउनुभयो । प्रकृतिपूजक भुजेल समुदाय बसोबास गर्ने नेपाल र भारतका विभिन्न स्थानमा पुगेर उनीहरुको भाषा संस्कृतिको विषयमा खोजी गरी पुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो । 

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

म्याग्दी, ३१ भदौः मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो ।

अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । “पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले पाउने सेवा सुविधाबापतको रकमबाट ‘स्टेप लाइट’ किनेर विद्युत्को पोलमा जडान गरिएको छ”, उहाँले भन्नुुभयो, “वडा नं १ को छैरो, चिमाङ र वडा नं ३ को पुथाङ एयरपोर्टबाहेकका धेरै ठाउँमा सडकबत्ती जडान भएको छ ।”

ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ र मार्फामा बत्ती जडान गरेर रातको समयमा झिलीमिली बनाइएको छ । सडकबत्तीको महसुल गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ । घरपझोङका बस्ती रातको समयमा झलमल्ल र मनमोहक देखिन्छन् ।

बाँकी ठाउँमा पनि बत्ती जडानको तयारी गरेको अध्यक्ष लालचनले बताउनुभयो । पर्यटकीय बस्तीको सौन्दर्यकरण र सुरक्षाका लागि चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार सडकबत्ती जडान गरेको लालचनले बताउनुभयो ।

“मैले जनप्रतिनिधिको हैसियतमा प्राप्त गर्ने सेवा सुुविधाबापतको रकमलाई कार्यपालिकाको बैठकले गर्ने निर्णयानुसार आवश्यक ठाउँ र योजनामा खर्च गरेको छु”, उहाँले भन्नुभयो, “निर्वाचित भएको करिब साढे दुई वर्षको अवधिमा करिब रु छ लाख सामाजिक क्षेत्रमा खर्च भएको छ ।”

व्यावसायिक पृष्ठभूमिका लालचन नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । गण्डकी प्रदेशका गाउँपालिकाका अध्यक्षले मासिक रु ३६ हजार दुई सयका दरले पारिश्रमिक पाउने नीतिगत व्यवस्था छ ।

घरपझोङका सबै बस्तीको डाँडामा विद्युतीय होडिङ बोर्ड राख्न थालिएको छ । बेनी–जोमसोम–कोरला सडक र पोखरा–जोमसोम हवाई उडानका क्रममा देखिने गरेर मार्फा र स्याङमा मेटलको विद्युतीय होडिङ बोर्ड राखिएको छ । जोमसोम र ठिनीमा पनि सो बोर्ड राखिने गाउँपालिकाले जनाएको छ । गाउँको पहिचानका साथै पाहुनाहरूले चिन्न सजिलो हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष लालचनले सेवा सुविधाबापत पाएको रकमबाटै जोमसोममा रहेको मातृचक्रलाई रङरोगन र व्यवस्थापन गरिएको छ । करिब २० वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गाको पर्खाल चिनेर गोलो आकारको बनाएका थिए । मातृचक्रलाई गाउँपालिकाले आमाको गर्भमा हुँदाको कल्पना गर्न मिल्ने गरी घुम्ने र आमाको सम्मान गर्ने ठाउँको रुपमा विकास गर्न खोजेको जनाएको छ ।

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौँ, ३१ भदौ : वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो ।

गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको हो । फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पु-याएको निर्देशक वसन्त निरौलाले बताउनुभयो । “पोस्टर र टिजरले चलचित्रको ‘हाइप क्रिएट’ गरेको थियो,” उहाँले भन्नुभयो, “यो गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ ।” उहाँले  विदेशमा र स्वदेशमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताउनुभयो । 

चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताउनुभयो । ‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो । 

यस चलचित्रमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ । 

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहनुभएको छ । संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको छ । द्वन्द्व निर्देशन सञ्जय थापाले गर्नुभएको छ भने छायाङ्कन श्याम तामाङले गर्नुभएको हो । चलचित्रको सम्पादन सन्देश शाहले गर्नुभएको छ ।  

मोहम्मद जयन्तीको जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन

राँझा (बाँके), ३१ भदौः इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बनेको छ ।

बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।

“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले  भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।”

मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि -याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिनुभयो । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव -यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । 

बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना

काठमाडौँ, ३१ भदौ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदिबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

“यस पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास लिएको छु”, उहाँले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि आज बिदा दिने भएको छ । 

धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर, एक वर्षमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरे

दमौली (तनहुँ), ३१ भदौ : यहाँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका छन् । छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका छन् । 

एक वर्ष अवधिमा ६५ जिल्लाबाट भक्तजन छाब्दीवाराही आएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोषको तथ्याङ्क अनुसार पाँच लाख बढी भक्तजन यहाँ आएका छन्, ६५ जिल्लाबाट भक्तजनको आगमन भएको छ ।”

छाब्दीवाराही मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ भक्तजन आउने गरेको थापाको भनाइ छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको छ ।

साउन महिना पूरै र प्रत्येक महिनाको एक दिन औंसी र दुई दिन एकादशीका दिन मन्दिरमा पूजाआजा बन्द हुने गरेको छ । छाब्दीवाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।

मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र आंैशी बाहेकका दिनमा बली चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीबाराही मन्दिर पुग्न कालोपत्र सडकको व्यवस्था छ ।

मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बली दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणको रुपमा रहेको छ ।

मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छ ।  गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रबद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । 

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

काठमाडौँ, ३१ भदौ : सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । 

स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति

काठमाडौँ, ३१ भदौ : स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । अब सङ्घीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त प्रस्ताव स्वीकृत गरेसँगै समस्यामा परेका सयौँ स्वास्थ्यकर्मीको व्यवस्थापन हुने भएको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आठ बुँदे प्रस्ताव तयार पारेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति प्रदान गरेको हो ।

समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीलाई चालु आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै स्वास्थ्य मन्त्रालयले सोही अनुसार पत्र जारी गर्ने निर्णय गरेको छ । केही दिनभित्र पत्र जारी गर्ने तयारी मन्त्रालयले गरेको छ । संघ पुलमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकर्मीलाई प्राथमिकता दिँदै रिक्त दरबन्दी व्यवस्थापन गर्ने विषयमा मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । यी निर्णयले स्वास्थ्य क्षेत्रको सुधारका साथै स्वास्थ्यकर्मीको व्यवस्थापनमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

‘कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन हुँदा समायोजन हुन नसकी फाजिलमा रहेका, दरबन्दी नभएको तहमा समायोजन भएका र दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीको सम्बन्धमा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमति र त्यस्ता कर्मचारीको मागबमोजिम प्रदेश वा स्थानीय तहमा एक पटकका लागि चालु आर्थिक वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत रिक्त दरबन्दीमा समायोजन गर्ने’, निर्णयमा भनिएको छ । 

कर्मचारी समायोजनको क्रममा प्रदेश र स्थानीय तहमा समायोजन भएका तर सो समयमा पत्र जारी हुन बाँकी स्वास्थ्यकर्मीको हकमा समायोजन पत्र स्वास्थ्य मन्त्रालयले जारी गर्ने भएको छ । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ पुलमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकर्मीको प्राथमिकतासमेतलाई हेरी चालु आर्थिक वर्ष भित्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघ÷प्रदेश÷स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गरिने जनाएको छ । 

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भई कार्यरत स्वास्थ्यकर्मीलाई प्रदेश वा स्थानीय तहको दोहोरो सहमतिका आधारमा मागबमोजिम दरबन्दी तथा तलब सुनिश्चित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायबमोजिम कामकाजमा खटाउने समेत निर्णय गरिएको छ । 

‘साबिकमा मेडिकल अधिकृतको पदमा स्थानीय तहमा समायोजन भई हाल विशेषज्ञता (एमडी÷एमएस) हासिल गरेका चिकित्सकलाई निज कार्यरत रहेको स्थानीय तह तथा सम्बन्धित प्रदेशको सहमतिका आधारमा आवश्यकताअनुसार निजको योग्यता र विशेषज्ञताको उपयोग हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई प्रदेश वा अन्तर्गत कामकाजमा खटाउने’, निर्णयमा भनिएको छ । 

स्वास्थ्य मन्त्रालयले स्थानीय तह र प्रदेशमा स्वीकृत दरबन्दीभन्दा बढी कामकाजमा खटिएका स्वास्थ्यकर्मीलाई स्वीकृत दरबन्दीभन्दा बढी नहुने गरी अन्तर स्थानीय तह समन्वय गरी प्रदेशभित्रको स्थानीय तहमा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आ.व. भित्र दरबन्दी मिलान गर्ने भएको हो । 

भक्तपुरका टोलटोलमा उठाइयो यम्बद्यः आठ दिनसम्म यसरी मनाइन्छ इन्द्रजात्रा

भक्तपुर, ३१ भदौः भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

भाद्रशुक्ल त्रयोदशी अर्थात् दोस्रो दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भनी मान्ने प्रचलन रहेको छ । भाद्रशुक्ल चतुर्दशी अर्थात् तेस्रो दिन साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने प्रचलन छ । यस दिन रातभरि सिद्धपोखरी अर्थात् इन्द्र दहमा देवतालाई राखेर भव्य मेला भर्ने गरिन्छ ।

भाद्रशुक्ल पूर्णिमा अर्थात् चौथो दिन भक्तपुरका बासिन्दा बिहानै सिद्ध पोखरी पुगेर ‘इन्द्र दह स्नान’ गर्ने गर्दछन् । यस दिन बिहानदेखि सिद्धपोखरीमा स्थानीयको भीड लाग्ने गर्दछ । त्यस दिन समय् (भोज) चढाएर, खाएर येँयापुन्ही मान्छन् । समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह देवता भित्र्याउने गरिन्छ । 

आश्विनकृष्ण प्रतिपदा अर्थात् पाँचौँ दिन नित्य पुजा र आरती गर्ने गरिन्छ । आश्विनकृष्ण द्वितीया अर्थात् छैटौँ दिन इन्द्रजात्रा उत्सवका रुपमा विशेष महत्वका साथ सला गणेश, यामता, मुपात्र जात्रा मनाउने गरिन्छ । त्यस दिन तचपाल टोलबाट ‘यामता’ इन्द्रबत्ती बालेर जात्राको शुभारम्भ गरिन्छ । यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्न ठूलो भीड लाग्ने गर्दछ । साकुलान टोलका मानन्धरहरूले बाँसले बनेको त्रिशूल आकारको यामतालाई आँगनमा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्ने प्रचलन छ । 

जात्राको सातौँ दिन अर्थात् आश्विन कृष्ण तृतीयाका दिन चोछे टोलका छुमा गणेश र गोलमढी टोलका मानन्धरहरूले यामतासहित देश परिक्रमा गरी जात्रा मनाउँछन् । मूपात्र पनि आङ्खना दुईजना धिचाहरू लिएर अघिल्लो दिनमा जस्तै नगर परिक्रमा गर्दै सामुन्नेमा परेका यम्बद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा मनाउने गरिन्छ । जात्राको अन्तिम दिन आश्विनकृष्ण चतुर्थीमा भैरवनाथको जात्रा, पुलुभैलद्य जात्रा, यामता जात्रा, पुलुकिसी जात्रा, मूपात्र जात्रा भव्य रुपमा मनाउने गरिन्छ । 

इन्द्रजात्राको समापनका दिन धुमधामसँग जात्रा मनाउने प्रचलन छ । यस दिनमा टौमढी टोलका भैरवनाथलाई रथमा राखी देश परिक्रमा गरी जात्रा चलाइन्छ । जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा यामता ल्याउने र  बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बालेर भैरवनाथको जात्रामा सरिक हुने गरेको स्थानीय विजयप्रसाद धौभडेल बताउनुहुन्छ ।

त्यस दिन भैरवनाथको मन्दिरको भित्तामा झुन्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाउने उहाँले जानकारी दिनुभयो । ठाउँठाउँमा छ्वाली बाल्दै नीलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि यहाँ मनाइन्छ । भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा चल्ने उहाँले जानकारी दिनुभयो । 

इतिहासविद् प्राडा श्रेष्ठका अनुसार गणेश चतुर्थीका दिनमा बसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तीतो अमिलो फल ) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरेका थिए । उनले फलफूल चोरेको यहाँका बासिन्दाले थाहा पाएपछि उनलाई पक्रेर चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखेका थिए ।

इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि बसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन् र शीत र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ । 

अर्को किंवदन्तीअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाइन् । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लडाइँ गरे ।

लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । त्यस क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रमा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवदन्ती रहेको इतिहास तथा संस्कृतिविद् प्राडा श्रेष्ठ बताउनुहुन्छ ।

जात्रामा पुलुकिसीले केही गरी मुपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने पूर्वमान्यता रहँदै आएको छ । पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।  

इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको हो ।

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, अमेरिकी डलरको मूल्य बढेन

काठमाडौँ, ३१ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो । आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिददर एक सय ७५ रुपैँया ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ४८ पैसा कायम गरिएको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैँया ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ४४ पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैँया ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ८२ पैसा कायम गरिएको थियो । 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ७८ पैसा र बिक्रीदर ९० रुपैँया १८ पैसा कायम भएको छ । आइतबार  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ६५ पैसा र बिक्रीदर ९० रुपैँया पाँच पैसा कायम भएको थियो । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५८ पैसा र बिक्रीदर ९९ रुपैँया दुई पैसा कायम भएको छ । आइतबार क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५५ पैसा र बिक्रीदर ९८ रुपैँया ९९ पैसा थियो । 

सिङ्गापुर डलर एकको खरिददर आज एक सय तीन रुपैँया २० पैसा र बिक्रीदर एक सय तीन रुपैँया ६६ पैसा निर्धारण गरिएको छ ।  आइतबार सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैँया सात पैसा र बिक्रीदर एक सय तीन रुपैँया ५४ पैसा कायम भएको थियो । जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५६ पैसा कायम गरिएको थियो । 

चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८८ पैसा र बिक्रीदर १८ रुपैँया ९६ पैसा कायम भएको छ । सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन । आइतबारझैँ साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ६९ पैसा र बिक्रीदर ३५ रुपैँया ८५ पैसा कायम भएको छ ।  

कतारी रियाल एकको खरिददर ३६ रुपैँया ७४ पैसा र बिक्रीदर ३६ रुपैँया ९० पैसा कायम भएको छ । यो मूल्य पनि आइतबारकै सरह हो ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ०३ पैसा र बिक्रीदर चार रुपैँया ०४ पैसा कायम भएको छ । आइतबार थाइ भाट एकको खरिददर चार रुपैँया एक पैसा र बिक्रीदर चार रुपैँया तीन पैसा कायम भएको थियो । 

युएई दिराम एकको खरिददर ३६ रुपैँया ४६ पैसा र बिक्रीदर ३६ रुपैँया ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १४ पैसा र बिक्रीदर ३१ रुपैँया २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन । 

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया सात पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको छ । आइतबार साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया आठ पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको थियो ।    स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया ०९ पैसा र बिक्रीदर १३ रुपैँया १५ पैसा कायम भएको छ । आइतबार स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया छ पैसा र बिक्रीदर १३ रुपैँया १२ पैसा कायम भएको थियो ।

डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ८८ पैसा र बिक्रीदर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ९० पैसा र बिक्रीदर १९ रुपैँइा ९९ पैसा कायम भएको थियो । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया १७ पैसा र बिक्रीदर १७ रुपैँया २५ पैसा तोकेको छ । यो मुल्यमा पनि आज घटबढ भएन । 

कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार  कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८९ कायम भएको थियो । बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९३ पैसा कायम थियो ।

राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

खानेपानीमन्त्री यादवद्वारा पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ, ३० भदौ : खानेपानीमन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन गर्नुभएको छ । काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिनदेखि देखिएको पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले समस्याको जड पत्ता लगाउन छानबिन समिति गठन गर्नुभएको हो ।

मन्त्री यादवले मन्त्रिस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेस गर्न सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो । उहाँले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रुपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताउनुभयो । बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ ।

उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो ।

उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनामा क्षति पु¥याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री यादवले पाइपलाइन विस्तारका क्रममा गरिएका त्रुटिलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभयो ।

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

हमासका वरिष्ठ अधिकारीले आइतबार गाजामा ११ महिनाभन्दा लामो युद्धमा क्षति भए पनि प्यालेस्टिनी इस्लामिक आन्दोलनसँग इजरायलसँग लड्न जारी राख्न पर्याप्त स्रोतहरू भएको बताएका छन् ।

“प्रतिरोध जारी राख्ने क्षमता उच्च छ”, ओसामा हमदानले इस्तानबुलमा एक अन्तरवार्तामा भन्नुभयो, “त्यहाँ सहिद थिए, बलिदान थियो तर बदलामा अनुभवहरूको सञ्चय भएको छ र प्रतिरोधमा नयाँ पुस्ताको भर्ती भएको छ ।”

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले पत्रकारहरूलाई अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्ने हमास गाजामा सैन्य सङ्गठनका रूपमा ‘अब अस्तित्वमा छैन’ भनेको एक साताभन्दा पनि कम समयमा हमदानको उक्त टिप्पणी आएको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले बन्दी बनाएका बन्धकहरूलाई रिहा गर्ने सम्झौता गर्न बढ्दो घरेलु दबाबको सामना गर्नुभएको छ । 

यसै महिना इजरायलले गाजामा एक सुरुङमा हमासले ‘मृत्युदण्ड’ दिएका छ बन्धकको शव फेला पारेको घोषणा गरेपछि इजरायलमा शोक र क्रोधलाई बढायो भने जेरुसेलम र तेल अभिवमा छोटो तर ठूलो आम हडताल आह्वान भयो । 

तर अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले महिनौँसम्म जारी वार्ता स्पष्ट रूपमा रोकियो । 

आइतबार अन्तरवार्तामा हमदानले इजरायलको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक अमेरिकाले रक्तपात अन्त्य हुनेगरी नेतान्याहुबाट स्वीकृति लिने प्रयास नगरेको बताउनुभयो । “अमेरिकी प्रशासनले इजरायली पक्षमाथि पर्याप्त वा उचित दबाब दिँदैन”, उहाँले भन्नुभयो, “बरु उसले इजरायली पक्षको कुनै पनि प्रतिबद्धतालाई बेवास्ता गरेको औचित्य साबित गर्न प्रयास गरिरहेको छ ।”

प्रिन्स विलियमद्वारा भाइ ह्यारीलाई जन्मदिनको शुभकामना

बेलायतका प्रिन्स विलियमले आफूबाट अलग भएका भाइ ह्यारीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । राजा चार्ल्स तृतीयका कान्छा छोरा ह्यारी आइतबार ४० वर्ष पुग्नुभएको छ । ह्यारी र उहाँकी श्रीमती मेघन मार्कलले शाही जीवन त्यागेर सन् २०२० मा क्यालिफोर्निया गएपछि उहाँको परिवारसँगको सम्बन्ध अझ बिग्रिएको छ ।

सन् १९९७ मा आमा राजकुमारी डायनाको मृत्यु भएपछि विलियम र ह्यारी एकअर्काका नजिक हुनुहुन्थ्यो । तर बेलायती सञ्चारमाध्यमका अनुसार उहाँहरूले दुई वर्षदेखि एकआपसमा कुराकानी गर्नुभएको छैन । 

विलियम र उहाँकी श्रीमती क्याथरिनको आधिकारिक एक्स अकाउन्टमा ह्यारीको शाही उपाधिलाई उल्लेख गर्दै गरिएको पोस्टमा भनिएको छ, “ड्युक अफ ससेक्सलाई ४०औँ जन्मदिनको शुभकामना ।” 

यसले शाही परिवारको एक्स अकाउन्टमा लेखिएको पहिलेको सन्देशलाई साझा गरेको छ । शाही परिवारको यसअघिको सन्देशमा लेखिएको छ, “ड्युक अफ ससेक्सलाई ४०औँ जन्मदिनको शुभकामना ।” 

उक्त पोस्टका साथमा मुस्कुराएको ह्यारीको फोटो र जन्मदिनको केकको इमोजी पनि थियो । बेलायती सञ्चारमाध्यमका अनुसार सन् २०२१ पछि ह्यारीका लागि शाही परिवारको अकाउन्टबाट पोस्ट गरिएको यो पहिलो सार्वजनिक जन्मदिन सन्देश हो । 

दुई सन्तानका पिता ह्यारीले शुक्रबार आफ्नो तनावपूर्ण पारिवारिक सम्बन्धका बावजुद ‘४० वर्षको उमेरलाई लिएर उत्साहित’ भएको बताउनुभयो । 

“म ३० वर्षको उमेरलाई लिएर चिन्तित थिएँ, म ४० वर्षको उमेरलाई लिएर उत्साहित छु”, उहाँले बिबिसीलाई भन्नुभयो । उहाँले पिता बन्नुले आफूलाई ‘जीवनको नयाँ दृष्टिकोण’ प्राप्त भएको बताउनुभयो ।

“पिता हुनु जीवनको सबैभन्दा ठूलो आनन्द हो र यसले मलाई यो संसारलाई राम्रो स्थान बनाउन र थप प्रेरित र प्रतिबद्ध बनाएको छ”, उहाँले भन्नुभयो ।   विलियम र ह्यारीलाई सन् २०२२ सेप्टेम्बरमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारमा एक साथ देखिएको थियो । तर गत वर्ष आफ्ना पिताको राज्याभिषेकसहित पछिका कार्यक्रमहरूमा उहाँहरूले स्पष्ट रूपमा दूरी बनाउनुभएको थियो । 

सन् २०२३ जनवरीमा प्रकाशित ह्यारीको आत्मकथा ‘स्पेयर’ मा विलियमलाई उहाँको ‘प्रिय दाइ’ भनिए पनि उहाँको ‘प्रमुख प्रतिद्वन्द्वी’ पनि बताइएको छ ।     शाही विज्ञहरूले निकट भविष्यमा उहाँहरूबीच कुनै मिलाप हुने अवस्था नदेखिएको बताएका छन् । 

हाइड्रोजन ऊर्जाको माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान दिन सकिन्छ’

पाटन (ललितपुर), ३० भदौ : हाइड्रोजन ऊर्जाको माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान दिन सकिन्छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल इनर्जी फाउन्डेसनको आयोजनामा आज ललितपुरमा आयोजित ‘नेपालको सन्दर्भमा हाइड्रोजन ऊर्जाको व्यावसायिकीकरणसम्बन्धी छलफलः अवसर र चुनौतीहरू’ कार्यक्रममा मन्तव्य राख्ने अधिकांश वक्ताहरुले विश्वव्यापी चासो र चिन्तालाई सम्बोधन गर्दै हाइड्रोजन ऊर्जा निर्यात गरेर आर्थिक लाभ हासिल गर्न सकिने बताएका हुन् ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले सहुलियत ऋण र अनुदानको प्रयोग गरेर हाइड्रो इनर्जीका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो । “सरकारको हाइड्रोजन नीति पनि छ, यसलाई आधार बनाएर हाइड्रोजन इनर्जीको उत्पादनमा जानुपर्छ, यसमा नमूना परियोजना गरेर नेपाल सम्भव छ है भन्ने सन्देश सरकारलाई प्रमाणित गरेर देखाउनुपर्ने आवश्यकता रहेको छ,” उहाँले भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जालाई अगाडि बढाउन सबै मिलेर लागौँ भन्नुभयो । उहाँले नेपालमा बनेका लघुजलविद्युत् आयोजनालाई दिगो बनाउन राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्छ भनेर पहल गरेको भन्दै अहिलेको समयमा केही सुधार गर्ने हो भने देशका एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म लघुजलविद्युत्हरुलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिन्छ भन्नुभयो ।

उहाँले लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुरक्षामा कुनै पनि सम्झौता नगरी प्रविधिको प्रयोग गरेर सरलीकरण गर्ने कार्यमा लाग्नुपर्छ भनेर जोड दिएका छौँ भन्नुभयो । “लघुजलविद्युत्का बहुआयामिक पाटा छन्, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनेदेखि रोजगारी सृजना गर्ने सम्मका कामहरु हुन्छन्,” कार्यकारी निर्देशक ढकालले भन्नुभयो ।

नेपालमा २० प्रतिशत मात्रै विद्युतीकरण भएको अवस्थामा सुरु भएको लघुजलविद्युत् अहिले राष्ट्रिय प्रसारण लाइनमा स्थापित गरिनुपर्छ भन्नुहुँदै उहाँले विपद्को जोखिममा रहेकाहरुलाई जोगाउन सङ्गठित प्रयास गर्नुपर्छ भन्नुभयो । कार्यकारी निर्देशक ढकालले अब नयाँ बनाउन लाग्ने र अनुदान दिनेभन्दा पनि बढिसकेको परियोजनालाई दिगो सञ्चालनका हिसाबले काम गर्न सकिने देखिन्छ भन्नुभयो ।

नेपाल इनर्जी फाउन्डेसनका उपाध्यक्ष शेरसिंह भाटले नेपालले हरेक वर्ष कुल रु तीन खर्ब ७० अर्ब ऊर्जा आयातमा खर्च गर्नुपरिरहेको छ भन्नुहुँदै देशमै इनर्जी उत्पादन गरेर उर्जा आयात प्रतिस्थापन गर्नुपर्छ भन्नुभयो । उहाँले फोसियल्स फ्युलका कारण भइरहेको वायु प्रदूषण, यसका कारण निम्तिएको जलवायु परिवर्तन रोक्न हाइड्रोजन इनर्जी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हाइड्रो इनर्जीको लाभ नेपालले लिनसक्ने अवस्था छ भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक अच्युतबाबु घिमिरेले नेपालमा हाइड्रोजन इनर्जीको अवसर भएको उल्लेख गर्दै भण्डारण र वितरण व्यवस्थापनलाई ध्यान दिएर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वव्यापी चासो र चिन्तालाई सम्बोधन गर्दै हाइड्रोइनर्जी मात्रै नभएर हाइड्रोजनलाई नै निर्यात गर्न सकिने अवस्था रहेको धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष मोहनदास मानन्धरले हाइड्रोजन ऊर्जा र नवीकरणीय ऊर्जाका लागि छुट्टै नियामक निकाय आवश्यक छ भन्नुहुँदै नियमन निकाय आवश्यक छ, फोसियल फ्युललाई निरुत्साहित गर्न त्यसको स्थानमा प्रतिस्थापन गर्नुपर्छ र यसका लागि कार्वन फन्डलाइ उपयोग गर्नुपर्छ भन्नुभयो । नेपाल इनर्जी फाउन्डेसनका प्रबन्ध निर्देशक डिल्ली घिमिरेले इनर्जी क्षेत्रमा नसमेटिएका विषयलाई अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।

उहाँले नेपालमा हाइड्रोजन फ्युलको सम्भावना, सम्भाव्यता, मूल्य र बजारको बारेमा छलफलको आरम्भ गरी यसतर्फ काम गर्न निजी क्षेत्रलाई आकर्षित गर्न सरकारलाई घच्घच्याउने संस्थाको उद्देश्य रहेको जानकारी गराउनुभयो । राससका आलेख विभाग प्रमुख अधिकारीद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का आलेख विभागका प्रमुख कृष्ण अधिकारीद्वारा लिखित ‘लघुजलविद्युत् र दिगो सञ्चालनको अभ्यास’ विषयक पुस्तक लोकार्पण गरिएको थियो ।

नेपालको लघुजलविद्युत् क्षेत्रको विविध पक्षलाई समेटेर पत्रकार अधिकारीले तयार पार्नुभएको पुस्तकमा नेपालमा लघुजलविद्युत्को अवस्था, लघुजलविद्युत्मा समुदाय केन्द्रित अवधारणा, सरकारी नीतिगत व्यवस्था, लघुजलविद्युत्को सम्भावनालगायतका सन्दर्भ सामग्री समेटिएका छन् । विषयवस्तुलाई तीन खण्डमा विभाजन गरेर तयार पारिएको उक्त पुस्तक १३२ पृष्ठको रहेको छ ।

महिला लिग फुटबलः चन्द्रपुर र बागमतीबीचको खेल बराबरी

काठमाडौँ, ३० भदौः एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयका आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे । यो खेलसँगै चन्द्रपुरले चार खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर अङ्क तालिकाको छैटौँ स्थानमा रह्यो ।

त्यसैगरी, बागमती पाँच खेलबाट चार अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ । खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न सङ्घर्षरत रहेका थिए । तर सफल भने हुन सकेनन् । 

त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । जितसँगै एपिएफ पाँच खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट एक अङ्क मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् छ ।

पहिरोले डुम्रे–बेँसीसहर अवरुद्ध

लमजुङ, ३० भदौः अविरल वर्षापछि पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । आज साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताउनुभयो । सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुङ्गा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उहाँको भनाइ छ ।

यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताउनुभयो । “पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले यात्रुहरू थप समस्यामा छौँ”, उहाँले भन्नुभयो । यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, काठमाडौँ, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ ।

शारीरिक सुगठनको उपाधि प्रकाश राईलाई

काठमाडौँ, ३० भदौः पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि फोनिक्स फिट्शालाका प्रकाश राईले जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको विभिन्न पाँच तौल समूहका विजेतालाई उछिन्दै उनी च्याम्पियन बनेका हुन् । पुरुष ७५ किलोमाथि तौलसमूहमा पहिलो हुँदै राई मिस्टर काठमाडौँ उपाधि होडमा प्रवेश गरेका थिए । उनले मिस्टर काठमाडौँका लागि रु एक लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएबापत छुट्टै रु १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, अन्य पाँच स्पर्धामा पहिलो हुँदै मिस्टर काठमाडौँका लागि प्रतिस्पर्धा गर्ने खेलाडीमा पुरुष ५५ किलोतर्फ डिभाइन फिजिकल फिट्नेसका राजकुमार मानन्धर, ६० किलोतर्फ एक्सट्रिम फिट्नेसका चनबहादुर थापा, ६५ किलोमा ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई, ७० किलोमा कालीमाटी फ्रेन्डसिप जिमका देवेन्द्र वज्राचार्य तथा ७५ किलोमुनिमा फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । 

छ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे । काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घद्वारा आयोजित उक्त  प्रतियोगिताको जुनियर पुरुष शारीरिक सुगठनमा डाइन्यास्टी फिट्नेस क्लबका आदित्य श्रेष्ठ पहिलो, दी जिम एक्सका रिसब श्रेष्ठ दोस्रो र अल्टिमेट लिफ्टिङ क्लबका अशिमसिंह थापा तेस्रो भए ।

यस्तै पुरुष मास्टर्स शारीरिक सुगठनमा डिभाइनका रमेश अधिकारी पहिलो, माई फिट्नेस जिमका सलिम कुराइसी दोस्रो र भुमही जिम एन्ड फिट्नेसका नवराज डुम्रे तेस्रो बने । पुरुष स्पोर्ट्स फिजिक एक सय ७० सेन्टीमिटरमाथि नेपाली युथ फिट एन्ड क्यालिस्थेनिकका निरल थापा पहिलो, आइरन प्याराडाइस फिट्नेस एन्ड स्पाका ज्ञानेश्वर चौधरी दोस्रो र फिट्नेस गराजका आकाश श्रेष्ठ शीर्ष तीन स्थानमा रहे ।

यसैगरी, पुरुष स्पोर्ट्स फिजिक एक सय ७० सेन्टीमिटरमुनि अल्टिमेट लिफ्टिङ क्लबका जमेश मगर पहिलो, एक्सपोज जिमका पुकार शाक्य दोस्रो तथा न्यू गोल्डस् फिजिकल सेन्टरका सुरज डङ्गोल तेस्रो भए । यी चार विधामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार र तेस्रोले रु पाँच हजार पुरस्कार पाए ।

महिला एथ्लेटिक फिजिकमा जिम एक्सकी सानु श्रेष्ठ पहिलो, एक्सपोज जिमकी कमला श्रेष्ठ दोस्रो र गोल्डस् जिमकी उर्मिला श्रेष्ठ तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार पाए ।

   विजेतालाई गृहमन्त्री रमेश लेखक, सङ्घीय सांसद ठाकुर गैरे, पूर्वप्रदेशमन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, आयोजक काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष सुरेश सुवेदीलगायतले पुरस्कार प्रदान गर्नुभयो । एकदिने उक्त प्रतियोगितामा दुई सय आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सडक दुर्घटनामा कमी ल्याउन नागरिक समाजको ध्यानाकर्षण

काठमाडौँ, ३० भदौ : नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्मी र नागरिक समाजका अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै त्यसको रोकथामका लागि आवश्यक उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यसबारे उहाँहरुले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउनुभएको छ ।

राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषद्को यथाशीघ्र गठनलगायत देशको सडक सुरक्षाको दिगो समाधान गर्न उहाँहरुले माग गर्नुभएको छ ।

“गत असार २८ गते नारायणगढ़–मुग्लिङ सडकमा गएको पहिरोमा दुई यात्रुवाहक बस हराएका छन्, त्यसमा सवार यात्रुको स्थिति अज्ञात छ । त्रिशूली नदीले बगाएको ठानिएका दुवै बस अझै भेटिएका छैनन्”, ज्ञापनपत्रमा उल्लेख छ । सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले देशैभरि विभिन्न नयाँ एवम् पुराना सडक मार्गमा सडकको अवस्था बिग्रेका कारण यातायात अवरुद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको सन्दर्भमा उहाँहरुले उद्धार र खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी संयन्त्रलाई निर्देशन दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

“प्रहरीको तथ्याङ्कअनुसार विगत १० वर्षको अवधिमा मात्रै करिब २४ हजार जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका र करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका छन्”, ज्ञापनपत्रमा भनिएको छ । एकै वर्षमा करिब एक लाख व्यक्ति सडक दुर्घटनाबाट घाइते भई उपचारका लागि स्वास्थ्य संस्थामा आएको तथ्याङ्क छ ।

सडक सुरक्षा अनुसन्धानकर्ता डा पुष्पराज पन्तले भन्नुभयो, “सामान्य सडक दुर्घटनातर्फ धेरैको ध्यानाकर्षण नहुने अवस्था छ ।”

लाखौँ व्यक्ति सडक दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्था रहेको ज्ञापनपत्रमा उल्लेख छ । भारतलगायत छिमेकी देशले सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटाइरहेको सन्दर्भमा नेपालमा भने विगत १० वर्षमा मृत्यु दर २५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । सडक दुर्घटना कम गरेर देशको सडक यातायात सुरक्षित भएको प्रत्याभूति गर्न सके नेपालमा पर्यटकलाई थप आकर्षित गर्न सकिने तथा देशको आर्थिक प्रगतिमा विशेष टेवा पुग्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा संयुक्त राष्ट्र सङ्घ पूर्वसहायक महासचिव कुलचन्द्र गौतम, जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनका पूर्वनिर्देशक डा शम्भु आचार्य, विश्व खाद्य कार्यक्रमको भारतस्थित कार्यालयका पूर्वप्रमुख विश्व पराजुली, वरिष्ठ पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, डा अरुणा उप्रेती, डा चेतराज पन्त, एनआरएनए आइसिसीका पूर्वकोषाध्यक्ष हिक्मत थापालगायतले हस्ताक्षर गर्नुभएको छ ।

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ३० भदौ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको शिष्टाचार भेट

काठमाडौँ, ३० भदौ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटघाटमा उहाँहरुबीच नेपाल र गणतन्त्र माल्टाबीचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रमलगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको बताउनुभयो । साथै उहाँले मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको उल्लेख गर्दै अगामी वर्षमा यो सम्बन्ध थप सुदृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।  उपराष्ट्रपति यादवले उल्लेख्य सङ्ख्यामा नेपाली नागरिक उच्च शिक्षा तथा रोजगारीको क्षेत्रमा माल्टामा रहेको उल्लेख गर्दै भन्नुभयो, “नेपाल एक भूपरिवेष्ठित मुलुक र माल्टा एक टापु भए पनि हाम्रा दुई राष्ट्रले बहुपक्षीय मञ्चमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा हित र चासोका अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य गरिरहेका छन् ।”

उपराष्ट्रपति यादवले सन् २०१६ सम्म नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई विकास साझेदाराट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्ने बताउनुभयो । उहाँले द्विपक्षीय र बहुपक्षीय तहमा पारस्परिक लाभका लागि माल्टासँग मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल तत्पर रहेको बताउनुभयो ।

यसैगरी राजदूत गौसीले नेपालसँग माल्टाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आफूले ‘नेपाल–माल्टा च्याम्बर अफ कमर्स’ स्थापना गर्न चाहेको बताउनुभयो । उहाँले नेपालको सुन्दरता र आतिथ्यताप्रति खुशी व्यक्त गर्दै माल्टामा १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

इरानले शनिबार बिहान अनुसन्धान उपग्रह चाम्रान–१ को कक्षमा प्रक्षेपण गरेको छ । उक्त उपग्रहलाई क्युएइएम–१०० रकेटद्वारा प्रक्षेपण गरिएको थियो ।
चाम्रान–१ लाई इरान इलेक्ट्रोनिक्स इन्डस्ट्रिजको अन्तरिक्ष समूहले देशको एरोस्पेस रिसर्च इन्स्टिच्युट र निजी प्राविधिक फर्महरूसँगको सहकार्यमा डिजाइन र निर्माण गरेको हो ।

   लगभग ६० किलोग्राम तौल भएको उपग्रहको मुख्य मिशन कक्षीय चाल चलाउनका लागि प्रविधि प्रमाणित गर्न सफ्टवेयर र हार्डवेयर प्रणालीहरू परीक्षण गर्नु रहेको थियो ।

   प्रक्षेपण क्युएइएम–१०० क्यारियर रकेटद्वारा गरिएको दोस्रो अपरेशन थियो । यसलाई इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सको एयरोस्पेस फोर्स द्वारा डिजाइन र विकास गरिएको थियो ।     इरानको आधिकारिक समाचार एजेन्सी इर्नाका अनुसार पृथ्वीमाथि पाँच सय ५० किलोमिटरको कक्षमा काम गरिरहेको चाम्रान–१ उपग्रहले आफ्नो पहिलो सङ्केत फिर्ता पठाएको छ ।  

कांग्रेसले २८ महिनापछि मकवानपुरबाट सुरु गर्‍यो स्थानीय तह निर्वाचनको समीक्षा

मकवानपुर, ३० भदौः नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापछि निर्वाचनको समीक्षा सुरु गरेको छ । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाइका कारण विसं २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा यही भदौ अन्तिमबाट सुरु गरेको हो ।

पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि विभागले आफ्नो पहिलो कार्यक्रम आज बागमती प्रदेशको राजधानी हेटौँडाबाट सुरु गरेको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरू एवम् उम्मेदवारसहित निर्वाचनको समीक्षा र आगामी योजनाबारे छलफल भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई मजबुद बनाउँदै समग्र जनताको हितमा काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले समग्र राजनीतिक विषयका साथै जनप्रतिनिधि र आम जनताबीच कसरीे सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएकाले कांग्रेसमा आवद्ध हरेक नेता, कार्यकर्ताले जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले जनहितको सवालमा आफूले जुनसुकै अवस्थामा सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । कार्यक्रममा विभागका प्रमुख एवम् पार्टी केन्द्रीय सदस्य मधु आचार्यलगायतको टोलीले जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएको थियो ।

सभापति देउवाद्वारा अमात्यको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ३० भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका पूर्वकोषाध्यक्ष केदारबहादुर अमात्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आमात्यको ८६ वर्षको उमेरमा उपचारका क्रममा यही भदौ २८ गते निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

साथै उहाँले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा अमात्यले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेता आमात्यले नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यालयको भवन निर्माण समितिको संयोजक रहेर जिल्ला पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।

कांग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका सङ्घर्ष र आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले अमात्यको निधनबाट एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।

अख्तियारको प्रतिवेदनः एक हजार पाँच सय ५४ प्रतिवादी, आठ अर्ब ४० करोडभन्दा बढी माग दाबी

काठमाडौँ, ३० भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध रु आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरिएको छ ।

आयोगले आर्थिक वर्ष २०८०/८१ मा विशेष अदालतमा कुल दुई सय एकवटा मुद्दा दर्ता गरेको छ । त्यसमा गैरकानुनी लाभ हानिसँग सम्बन्धित ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीसँग सम्बन्धित ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ र विविध विषयका चारवटा छन् ।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०/८१० पेस गर्नुभएको थियो ।

आयोगले आफ्नो टङ्गालस्थित कार्यालय एवम् आयोग मातहतका कार्यालयहरू इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुर तथा बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट कार्यसम्पादन गर्दै आइरहेको छ । हाल आयोगमा कुल नौ सय ९० कर्मचारीको दरबन्दी  रहेको छ । यस्तै, आयोगले ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धानसम्बन्धी अधिकारसमेत प्रत्यायोजन गरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले भ्रष्टाचारसम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं  विस्तृत अनुसन्धान तथा भ्रष्टाचार देखिएका उजुरीमाथि विशेष अदालतमा आरोपपत्र दायर गर्ने र सो अदालतबाट भएको फैसलाउपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्दै आएको छ ।

आव २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार नौ सय १८ उजुरी प्राप्त भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३६ हजार एक सय ८६ रहेको छ । तीमध्ये  ७६ दशमलव ५९ प्रतिशत उजुरी अर्थात् २७ हजार सात सय १४ उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरिएका छन् ।

सङ्घीय मामिलाको उजुरी सबैभन्दा बढी

प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला ९स्थानीय तह समेत० सँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत छन् । यस्तै, शिक्षा ९स्थानीय तहसमेत० १५ दशमलव ७९ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन छ दशमलव ९८, भूमि प्रशासन छ दशमलव ४९, नक्कली शैक्षिक प्रमाणपत्र चार दशमलव ७१, वन तथा वातावरण तीन दशमलव ८२, स्वास्थ्य तथा जनसङ्ख्या तीन दशमलव ६८, भौतिक पूर्वाधार तथा यातायात तीन दशमलव ६१, गृह प्रशासन तीन दशमलव ५२ प्रतिशत र अर्थतर्फ दुई दशमलव १३ प्रतिशत उजुरी छन् ।  

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ दुई दशमलव १०, खानेपानी तथा सहरी विकास एक दशमलव ६१ र अन्य निकाय/क्षेत्रसँग सम्बन्धित उजुरीहरू छ दशमलव ६५ प्रतिशत रहेका छन् । आयोगले कुलमध्ये नौ सय ३२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गरेको, १३ हजार पाँच सय उजुरी तामेलीमा राखिएको, चार सय ९६ उजुरीउपर सुझाव दिई तामेलीमा र १२ हजार सात सय ८६ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको जनाएको छ ।

आव २०८०/८१ मा एक हजार ५० वटा फाइलको विस्तृत अनुसन्धान सम्पन्न गरी आयोगमा पेस भएकामा कुल ८६ वटा बैठक बसी दुई सय एकवटा मुद्दा दायर गर्ने निर्णय गरिएका थिए । विभिन्न विषयमा एक हजार दुई सय ९४ वटा निर्णय भएका प्रतिवेनमा उल्लेख छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेकानुसार प्रतिवादी बनाएकामध्ये सरकारी कर्मचारी पाँच सय २०, निर्वाचित जनप्रतिनिधि एक सय छ, मनोनीत पदाधिकारी एक सय ४८, राजनीतिक नियुक्ति ३२, लेखापढी व्यवसायी, विचौलिया, सङ्घसंस्था र अन्य व्यक्तिहरू सात सय ३९ जना छन् । यस्तै, सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका छ, सहसचिव वा सो सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत दुई सय दुई र सहायक स्तरका दुई सय जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

जनप्रतिनिधि जनताप्रति जवाफदेही भएर काम गर्न सके मात्रै देश बन्छ : सांसद कार्की

भक्तपुर, ३० भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा तोसिमा कार्कीले जनप्रतिनिधि जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटीले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद कार्कीले जनताप्रति जवाफदेही भएर काम गर्न सके मात्रै देश बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको नेतृत्व भनेको शासक होइन, सेवक हुन सक्नुपर्छ, जनता र देशप्रति जवाफदेही बन्नुपर्छ ।”

कार्यक्रममा रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीको राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौँमा हुन लागेको जानकारी दिनुभयो । उक्त भेलामा मुख्यरुपमा अधिवेशनका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ : मन्त्री भण्डारी

काठमाडौँ, ३० भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासायी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस, संस्था चलायमान बनाउन सरकारको आग्रह छ ।”

भारतका विभिन्न ठाउँमा रहेका ‘पोर्ट’लाई व्यवस्थित बनाउन मन्त्री भण्डारीले निर्देशन दिनुभयो । “हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ”, उहाँले भन्नुभयो । साथै उहाँले पारवहनका पदाधिकारीलाई साझेदार संस्थासँग हातेमालो गरेर ठोस योजना बनाउन निर्देशन दिनुभयो ।

संस्थालाई चलायमान बनाएर समयसापेक्ष ढङ्गबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको मन्त्री भण्डारीको भनाइ थियो । पारवहनले सन्तोषजनक ढङ्गबाट कार्यसम्पादन गर्न नसके यसको औचित्य नै समाप्त हुने उहाँले बताउनुभयो । “पारवहन सन्तोषजनक ढङ्गले नचले राज्यका लागि बोझ बनाउन सरकारले चाहेर पनि चलाउन सक्दैन”, मन्त्री भण्डारीले भन्नुभयो ।

नाइजेरियामा डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु

नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको शव फेला परेको छ भने अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

   पच्चासभन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुङ्गा गुम्मी नजिकैको नदीमा पल्टिएको हो ।   डुङ्गामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए । दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए । 

   स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताउनुभयो ।     नाइजेरियामा प्रायः डुङ्गा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुन्छ ।

यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ सुरु

काठमाडौँ, ३० भदौः नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेलमैदानमा आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो ।

आगामी असोजसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विद्यामा प्रतिस्पर्धा हुनेछ । जङ्गी अड्डालगायत उपत्यकाका विभिन्न वाहिनी, गण, तालिम केन्द्र, पृतनामा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, पौडी र जुडो खेल सञ्चालन हुनेछन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष  प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेलको माध्यमबाट मित्रताको अवधारणाअनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको छ ।

यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र  महिलातर्फ एञ्जिला कार्की प्रथम हुनुभएको छ । कार्यक्रममा खेलाडीबाट विभिन्न खेल कौशल प्रदर्शन गरिएको थियो ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, ३० भदौ- मोरङ, ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामान सहित पक्राउ गरेको हो ।

बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेख भगवती माई गाउँपालिका-२ घर भएका ३६ वर्षीय जय बहादुर सुनार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

‘न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत’ : प्रधानन्यायाधीश श्रेष्ठ

किमाथाङ्का (सङ्खुवासभा), ३० भदौ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताउनुभएको छ । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणाअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो । न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको उहाँको भनाइ थियो । संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन् हुन नदिने प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गर्नुभयो ।

नवनिर्मित जिल्ला अदालतको भवनमा २७ कोठा रहेका छन् । उक्त भवन निर्माण गर्न २०७१ जेठमा सम्झौता भएको थियो । रु चार करोड ६१ लाखको लागतमा सो भवन निर्माण गरिएको जिल्ला न्यायाधीश ध्रवराज त्रिपाठीले जानकारी दिनुभयो ।

उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्र्नेमा जोड दिनुभयो ।

उहाँले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित रुपमा हुने भए पनि धेरै लगानी गरेर लामो सयम खाली हुने ‘अपार्टमेन्ट’हरु सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास दिलाउनुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले व्यवस्थित एवं वैज्ञानिक सहरीकरण विकास गर्न, काठमाडौँ महानगरपालिकाबाट सूचना गरिएको नदी किनाराबाट थप २० मिटरको मापदण्ड कार्यान्वयन हुन नहुने, निजी क्षेत्रको सहकार्यमा जग्गा विकास कार्यक्रम ल्याउनुपर्ने, सहरी विधेयक ल्याउनुपर्ने, घरजग्गा कारोबारलाई ‘डिजिटलाइज्ड’ गर्नुपर्नेलगायत माग प्रधानमन्त्री ओली समक्ष राखेको थियो ।

ललितपुरको कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए ।

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौँ, ३० भदौः नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ ।

अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ ।

ध्वजासहितको लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु हुँदै

काठमाडौँ, ३० भदौः आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

एक हजार आठ सय ५० रोपनी बाँझो जग्गा चक्लाबन्दीपछि हराभरा !

गलकोट (बागलुङ), ३० भदौ : बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ ।

तरकारीखेती बाहेक ओखर, कागती, सुन्तला, स्याउ र किबीखेती अधिकांश बाँझो जग्गा सदुपयोग गरी चक्लाबान्दी कार्यक्रमअन्तर्गत विस्तार गरिएको छ । बागलुङमा बाँझो जग्गाको उपगोगिता बढाउन ल्याइएको चक्लाबान्दी कार्यक्रम सफल भएको छ । चक्लाबन्दी कार्यक्रमअन्तर्गत चार वर्षयता सुन्तला एक सय ४० रोपनी, ओखर चार सय ४०, तरकारी चार सय, कागती दुई सय ५०, स्याउ पाँच सय ४० र किबी ८० रोपनी क्षेत्रफलमा विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । चक्लाबन्दीमा खेती गरेको तरकारी र सुन्तलाबोहक अन्य जग्गा खेतीयोग्य भएर पनि बाँझो रहेको उहाँले बताउनुभयो ।

“एउटा चक्लाबन्दी कार्यक्रमका लागि रु १० लाख खर्च हुन्छ, १५ स्थानमा चक्लाबन्दी सम्पन्न भइसकेको छ, चालु आर्थिक वर्षमा तीन स्थानमा चक्लाबन्दीका लागि रु ३० लाख बजेट विनियोजन भइसकेको छ”, निमित्त प्रमुख पौडेलले भन्नुभयो, “ओखरसहित फलफूलखेतीको अधिकांश खेतीयोग्य जग्गा पछिल्लो समय बाँझो रहेको थियो, अहिले त्यही बाँझो जग्गामा चक्लाबन्दीका कारण कागती, स्याउ तथा ओखरका बिरुवा हुर्किरहेका छन् ।”

चक्लाबन्दीका कारण कृषिमा आधुनिकीकरण गर्न सकिने, यन्त्रको प्रयोगले खेती गर्न सकिने र धेरै उत्पादन गर्दा बजारको समस्या नहुने भएकाले किसान चक्लाबन्दीमा आकर्षित भएका हुन् । चक्लाबन्दी कार्यक्रमअन्तर्गत जैमिनी नगरपालिका–२ मा सुन्तलाखेती, महाशिला गाउँपालिका–१, बागलुङ नगरपालिका–९ र जैमिनी नगरपालिका–३ मा ओखरखेती, बागलुङ नगरपालिका–८ सिगाना, जलजला गाउँपालिका–७ र कुश्मा नगरपालिका–११ मा तरकारीखेती, ढोरपाटन नगरपालिका–९ स्थित नवी, मसलगायत गाउँमा स्याउखेती, बागलुङ नगरपालिका–१२ मा कागतीखेती र निसीखोला गाउँपालिका–४ थापागाउँमा किबीखेती विस्तार गरिएको छ ।

बाँझो जग्गालाई एउटै पलट बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रूपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्न किसानलाई चक्लाबन्दी कार्यक्रमले आकर्षित गरेको ढोरपाटन नगरपालिका–९ का चिरनकुमार घर्तीले बताउनुभयो । बाँझिन थालेको एक सय रोपनी जग्गा चक्लाबन्दी गरेर एक हजार दुई सय स्याउका बिरुवा लगाएको बताउनुभयो ।

बसाइँसराइले क्रमशः गाउँका जग्गा बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यन्त्रिकीकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना ल्याइएको छ । चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फर्मको ६० रोपनी र समूहको एक सय रोपनीभन्दा माथि जग्गा हुन आवश्यक छ । चालु आवमा तीन स्थानको चक्लबान्दीका लागि रु ३० लाख बजेट विनियोजन भएको र तिहारपछि चक्लाबन्दी कार्यक्रमको छनोट गरिने छ ।

जोन कार्यक्रमले बाख्रा र आलु उत्पादनमा वृद्धि

बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि आलु र आव २०७८÷७९ देखि बाख्रा जोन सञ्चालन हुँदै आएको छ । उच्च पहाडी क्षेत्रमा आलु र बाख्रापालनको सभावना तथा प्रशस्त चरन क्षेत्र भएको ठाउँमा बाख्रा जोन क्षेत्र बनाएर उत्पादनमा वृद्धि भइरहेको छ । प्रधानमन्त्री कृषि परियोजनामार्फत आलु जोन कार्यक्रमले बागलुङका पाँच पालिकाका केही वडालाई समेटिएको छभने बाख्रा जोन कार्यक्रमले तीन पालिकाका केही वडालाई समेटिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिककीरण प्ररियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत नाराण पौडेलले आलु जोन कार्यक्रमले १२ प्रतिशत उत्पादनमा वृद्धि गराएको र बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएको बताउनुभयो । आलु र बाख्रा जोन कार्यक्रमले आलु र मासु उत्पादनमा समेत वृद्धि गराउन सफल भएको छ । बागलुङको उच्च पहाडी क्षेत्रमा पाइने आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुको उत्पादन बढाउन आलु जोन सञ्चालन गरिएको हो ।

ढोरपाटन नगरपालिका, बडिगाड, ताराखोला, गलकोट नपा, निसीखोला गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले बढाएको तथ्याङ्क छ । ढोरपाटन नगरपालिका, बडिगाड, ताराखोला, गलकोट नपा, निसीखोला गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले बढाएको तथ्याङ्क छ ।

“बागलुङमा क्रमशः अलैँची जोन, गाई तथा भैँसी जोन र त्यसपछि धान जोनको कार्यक्रम ल्याउने लक्ष्य रहेको छ, चालु आवमा अलैँची जोन बनाउन बजेट विनियोजन गरेका छौँ, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट सहित आठ स्थानीय तहलाई समेटेर अलैँची जोन बनाउने तयारी छ”, निमित्त प्रमुख पौडेलले भन्नुभयो ।

यस्तै बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडालाई समेटेर आव २०७८÷७९ देखि सुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो । बाख्रा जोन सुरु हुँदा २६ हजार छ सय ७५ बाख्रा रहेकामा हाल बाख्राको ४१ हजार पाँच सय १३ पुगेको छ । आलु जोन बागलुङका पाँच पालिकाको छ सय १० हेक्टर क्षेत्रफलमा फैलएको छ । बाख्रा जोन कार्यक्रमले तीन पालिकाको २९ बाख्रा फार्मलाई समेटिएको छ । जोनअन्तर्गत बीउपुँजी, यन्त्रिककीरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउँदै आएको पौडेलको भनाइ छ ।

आलु जोन कार्यक्रममा तीन समूहमार्फत सञ्चालन भइरहेको छ भने बाख्रा जोन कार्यक्रम २६ निजी उद्यमी, दुई सहकारी र एक समूहले सञ्चालन गर्दै आएको छ । आलु र बाख्रा जोन प्रभावकारी बन्दै गएपछि बागलुङ र पर्वतका केही पालिकालाई समेटेर अलैँची जोन बनाउन थालिएको छ । अलैँची जोन बनाउन चालु आवमा रु एक करोड दुई लाख बजेट विनियोजन भएको छ । त्यसका लागि घुम्ती तालिम, अलैँचीको समस्या निदान, क्षेत्रफल विस्तार, यन्त्र उपकरण वितरण, सिँचाइ पूर्वाधार निर्माण तथा सुधारिएको आधुनिक भट्टी निर्माणको काम यस वर्षदेखि थालिने छ ।

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, ३० भदौः ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो ।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।

एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

पर्वत ३० भदौ : जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।

विगत साढे दुई दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनेका छन् ।

सात वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेका भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो ।

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, वडा नं ४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं. ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुँवाकोट, फलेवास नगरपालिका वडा नं ११ पाङराङको साढे सात किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, मोदी गाउँपालिका वडा नं ४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत आयोजना पूर्ण रूपमा बन्द रहेका छन् ।

त्यस्तै विहादी गाउँपलिका–१ बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । मोदी गाउँपालिका–१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत् आयोजना पनि सात वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ ।

उता महाशिला गाउँपालिका–२ भोक्सिङमा छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि पाँच वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र थोरै क्षमता हुने भएपछि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् ।

तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताउनुभयो । पछिल्लो समय स्थानीय तहहरूले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भीमबहादुर खड्काले बताउनुभयो ।

जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट एक सय ५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार चार सय तीन घरका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । “पच्चीस वाट क्षमताको बल्ब महिनाभर चलाएको रु २५ तिरे पुग्थ्यो”, तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भन्नुभयो, “केन्द्रीय लाइनभन्दा लघुजलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।”

युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । एघारवटा आयोजनाका लागि रु दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारणको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले प्रयोगविहीन बनेका हुन् ।