`

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, ३० भदौः ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो ।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।

एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

पर्वत ३० भदौ : जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।

विगत साढे दुई दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण रूपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन बनेका छन् ।

सात वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेका भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो ।

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, वडा नं ४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं. ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुँवाकोट, फलेवास नगरपालिका वडा नं ११ पाङराङको साढे सात किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, मोदी गाउँपालिका वडा नं ४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत आयोजना पूर्ण रूपमा बन्द रहेका छन् ।

त्यस्तै विहादी गाउँपलिका–१ बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । मोदी गाउँपालिका–१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत् आयोजना पनि सात वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ ।

उता महाशिला गाउँपालिका–२ भोक्सिङमा छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि पाँच वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र थोरै क्षमता हुने भएपछि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् ।

तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताउनुभयो । पछिल्लो समय स्थानीय तहहरूले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भीमबहादुर खड्काले बताउनुभयो ।

जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट एक सय ५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार चार सय तीन घरका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । “पच्चीस वाट क्षमताको बल्ब महिनाभर चलाएको रु २५ तिरे पुग्थ्यो”, तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भन्नुभयो, “केन्द्रीय लाइनभन्दा लघुजलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।”

युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । एघारवटा आयोजनाका लागि रु दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारणको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले प्रयोगविहीन बनेका हुन् ।

बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण

म्याग्दी, ३० भदौः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ ।तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँले ११ मिटर फराकिलो सडक बनाउन ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु भएको जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो । क्षतिपूर्तिबापत रु ७९ लाख ७३ हजार राज्यकोषबाट खर्च हुने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । कालोपत्र गर्न रु ५२ करोड ८६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

सडक फराकिलो, वर्षाको पानी निकासको व्यवस्थाका साथै र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छभने मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर खण्ड कालोपत्र गर्न ‘सबबेस’ बिछ्याएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा ‘कल्भर्ट’ निर्माण गरिएको छ । फर्सेबाट लामाखेत खण्डमा बाटो चौडा गर्ने, नाली र पर्खाल निर्माणको काम भइरहेको छ ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो ।

दश लाखभन्दा बढी अफगानी नागरिकलाई मानवीय सहायता प्राप्त

अफगान रेड क्रिसेन्ट सोसाइटीले गत वर्ष युद्धग्रस्त अफगानिस्तानमा दश लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायता वितरण गरेको छ ।
“गत वर्ष १४ लाख ३० हजार भन्दा बढी जोखिममा परेका र प्रभावित मानिसहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य सहायता प्राप्त गरेका छन्,” रेड क्रिसेन्टका उपमहासचिव अब्दुल लतिफ साबितले भन्नुभयो ।

अफगानिस्तान सरकारले जहिले पनि जोखिममा परेकाहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्नका लागि काम र रोजगारीका अवसरहरू उपलब्ध गराउने आवश्यकतामा जोड दिएको छ ।

अफगान रेड क्रिसेन्ट सोसाइटीको वार्षिक प्रतिवेदन अनुसार ‘भेन्ट्रिकुलर सेप्टल डिफेक्ट’बाट पीडित करिब दुई हजार २१२ जना बालबालिकाले उपचार पाएका र झण्डै ६० लाख अन्य बिरामीले गत वर्ष स्वास्थ्य सेवा पाएका छन् ।

अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तानभरि स्वास्थ्य क्षेत्रसहित सार्वजनिक सेवाहरू सुधार गर्ने वाचा गरेको छ । यहाँ देशका अधिकांश भागहरूमा सर्वसाधारणका लागि स्वास्थ्यको पर्याप्त पहुँच पुगेको छैन ।

देशको विशिष्ट परिस्थितिमा कांग्रेस र एमाले मिलेर सरकार बनेको हो : उपसभापति खड्का

सुदूरपश्चिम- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देशको विशिष्ट परिस्थितिमा कांग्रेस र एमाले मिलेर सरकार बनेको बताउनुभएको छ । राजनीतिक अस्थिरता र जनतामा देखिएको नैराश्यता हटाउन तथा दलहरूबीच बढेको अविश्वास चिर्न कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसद्वारा सनिबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले भन्नुभयो, “राजनीतिक स्थिरता दिने अभियानसहित गठन भएको अहिलेको सरकारले गर्ने कामका उपलब्धिलाई जनतामाझ पुर्याउँदै पार्टीको सङ्गठनमा लाग्नु जरुरी छ ।”

आपसी असन्तुष्टिलाई मेट्दै एकताको भावनासहित पार्टी सङ्गठनमा लाग्न उहाँले नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उपसभापति खड्काले विधि पद्धतिसम्मत तरिकाले पार्टीभित्रका कमी–कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरलगायतले समसामयिक विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । शुक्रबारदेखि सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम आज सकिएको छ ।

गुडिरहेको गाडीमाथि पहिरो खस्दा २६ वर्षीया निर्मला मृत्यु

फुङ्लिङ (ताप्लेजुङ-ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतकानुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

पोखरा महानगरले पलेशालाई दुई लाख २२ हजारसहित सम्मान गर्ने

कास्की- पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको बताउनुभयो ।

पोखरा रङ्गशालामा आइतबार आयोजना गरिने एक कार्यक्रमका बीच पलेशालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो । “नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेशाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पु¥याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो । पलेशालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि पोखरा महानगरपालिकाले सम्मान गर्न लागेको हो,” आचार्यले भन्नुभयो । 

पोखरा महानगरपालिका सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूका साथमा रहेको आचार्यले बताउनुभयो । समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेलप्रतिको रुचिको प्रवद्र्धनलगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । विसं २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक नेपाली सैनिकको मृत्यु , अर्का एक घाइते

गोरखा-सवारी दुर्घटनामा एक नेपाली सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा रिपुमर्दन गण गोरखामा कार्यरत इलाम जिल्ला देउमाई गाउँपालिका–२ का लेसनायक को २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ५६५४ नम्बरको टिपर र विपरीत दिशातर्फबाट आइरहेको बा७०प २८७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही गणमा कार्यरत नेपाली सेनाका लेसनायक सङ्खुवासभा नगरपालिका–३ खपाङका २४ वर्षीय जनम राई गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उनलाई उपचारका लागि काठमाडौँ लगिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, ३० भदौ : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९÷८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०÷८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०÷८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नुहुनेछ ।

यस्तै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पाण्डेयले जानकारी दिनुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ र ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

पर्यटकीयस्थल ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो

दमौली (तनहुँ), ३० भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।

झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताउनुभयो । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उहाँले बताउनुभयो । नेपालीले भन्नुभयो, “गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ ।”

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताउनुभयो । चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताउनुभयो । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

मुस्ताङको साङ्तामा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान

म्याग्दी, ३० भदौ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ।

साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताउनुभयो । “रु ४४ लाख बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो”, उहाँले भन्नुुभयो, “साङ्ताका १३ घर लाभान्वित भएका छन् ।” विद्युत् सुविधा भएपछि स्थानीयवासीको जनजीवन सहज भएको छ ।

मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको छ । स्थानीयवासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए । गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएका छन् । सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ । प्यानल र ब्याट्री भएको घर परिसरलाई तारको घेराबार बनाइएको छ । पोल गाडेर तारमार्फत घर–घरमा विद्युत् आपूर्ति गरिएको छ ।

कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ । साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ । सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको हो । साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा पुुगेको छैन । सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गर्छन् । वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोबाइल फोन सेवा विस्तारको तयारी गरेको बताउनुभयो ।
दश वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा हालै एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण गरिएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३० भदौः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

कृषि क्षेत्रको प्रवर्द्धनबाटै देश विकास हुन्छ : अध्यक्ष दाहाल

मोरङ, २९ भदौः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको प्रवर्द्धनबाटै देशको विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले मोरङको कटहरीमा आयोजना गरेको ‘कृषि एक्स्पो’ को आज अवलोकन गर्दै उहाँले कृषिमा निजी क्षेत्रको लगानीबाट मुलुक आत्मनिर्भर निर्यात हुनाका साथै निर्यात गर्न सक्षम हुने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रिकीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, “हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौँ र अब पनि प्रयास गरिरहने छौँ ।”

सो अवसरमा अध्यक्ष दाहालले एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै महासङ्घ प्रतिनिधिहरूसँग कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो ।

महासङ्घका कोशी अध्यक्ष राजेन्द्र राउतले प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा एक्स्पोमार्फत भेला पारिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न र अबका योजना पहिल्याउन एक्स्पो सहयोगी धारणा राख्नुभयो ।

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । “चाम्रन–१ अनुसन्धान उपग्रहलाई गाएम–१०० रकेटले सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको छ,” राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

करिब ६० किलोग्राम (१३२ पाउण्ड) तौल भएको उक्त स्याटेलाइटलाई कक्षीय प्रविधिका लागि हार्डवेयर र सफ्टवेयर प्रणालीको परीक्षण गर्न डिजाइन गरिएको समाचारमा जनाइएको छ । रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन बनाई र निर्माण गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा सरकारहरूले इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् र यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन्।इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ ।

इरानको रिभोल्युसनरी गार्ड कोप्र्सको अन्तरीक्ष हेर्ने सङ्गठनले गाएम–१०० रकेटको निर्माण गरेको हो ।यो क्यारियर देशको पहिलो र तीन तहको ठोस–ईन्धन उपग्रह प्रक्षेपक हो । इरानी सरकारी सञ्चारमाध्यमले जनवरीमा ५०० किलोमिटर भन्दा माथिको कक्षमा पहिलो पटक उपग्रह पठाउनको लागि यसको प्रयोग गरेको जनाएका छन् ।

इरानले वर्षौंदेखि आफ्नो अन्त्रिक्ष गतिविधिलाई शान्तिपूर्ण र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावअनुसार रहेको बताउँदै आएको छ ।गत फेब्रुअरीमा रूसले इरानी रिमोट सेन्सिङ र इमेजिङ स्याटेलाइटलाई अन्तरिक्षमा पठाएको थियो।

त्यतिबेला इरानका सञ्चारमन्त्रीले विगत दुई वर्षमा इरानले एक दर्जन स्याटेलाइट प्रक्षेपण गरिसकेको बताउनुभएको थियो । गार्ड्सले एउटा अनुसन्धान उपग्रह प्रक्षेपण गरेको करिब एक हप्तापछि जनवरीमा इरानले एकैपटक तीन वटा उपग्रहलाई कक्षमा पठाएको बताएको थियो।

इस्लामिक गणतन्त्र इरानले विगतमा धेरै उपग्रह प्रक्षेपण विफलताहरूको सामना गर्नुपरेको छ।सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले तेहरान र प्रमुख शक्तिराष्ट्रहरूबीच भएको ऐतिहासिक आणविक सम्झौतालाई एकतर्फी रूपमा त्यागेपछि इरानले वर्षौंदेखि पश्चिमा प्रतिबन्धहरूको सामना गर्दै आएको छ।

युक्रेनमा प्रयोगका लागि रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र आपूर्ति गरेको आरोपमा इरानले बिहीबार युरोपका चार राजदूतसँग स्पष्टीकरण मागेको छ ।

जापानमा गर्मीको उच्च रेकर्ड कायम

जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ ।

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरेको छ ।

नागासाकी प्रिफेक्चरको मिनामिशिमाबारा सहरमा राष्ट्रव्यापी सबैभन्दा बढी तापक्रम ३७.८ डिग्री सेल्सियस रहेको तथ्याङ्कले देखाएको छ ।

मध्य टोकियोको चियोडामा ३४.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । जेएमएका अनुसार चियोडामा सन् १९४२ सेप्टेम्बर १२ मा ३५ डिग्री तापक्रम रेकर्ड गरेको थियो ।

जेएमएका अनुसार आइतबार मौसम परिवर्तन हुने अपेक्षा गरिएको छ । उत्तरबाट पूर्वी जापानको दक्षिणतर्फ सर्ने मौसमी चक्रले कान्टो–कोशिनजस्ता क्षेत्रमा वर्षा ल्याउनेछ । जापानको राजधानी टोकियोको तापक्रम त्यसपछि पनि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल

दमक ९झापा०, २९ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र दमकको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले देशैभरि भ्रष्टाचार बढ्दै गएकाले यस्ता जनविरोधी गतिविधिविरुद्ध पार्टीले आन्दोलन तथा खबरदारी गर्ने बताउनुभयो ।

पार्टी अध्यक्ष दाहालले पहिचानको मुद्दामा माओवादी केही चुकेको स्वीकार्नुहुँदै अब त्यसलाई सच्याएर सम्पूर्ण आदिवासी, जनजाति, शोषित, पीडित समुदायको आशा र भरोसाको पार्टी बनाएर छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “लामो शसस्त्र युद्ध, विभिन्न खाले आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो पार्टीले कसैसँग सम्झौता र सहमति गर्दैन । यसमा हामी दृढ छ ।”

दमक–८ स्थित बालुवाटारमा निर्माण गरिएको तीनतले सुविधासम्पन्न कार्यालय भवन उद्घाटनमा पार्टीका दमक नगरअध्यक्ष रवि बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो ।

सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गर्नुपर्छः अध्यक्ष लिङ्देन

बनियानी (झापा), २९ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा क्षेत्रमा भइरहेको विभेद अन्त्य गर्न लागिपर्ने धारणा राख्नुभएको छ ।

बाल दिवसका अवसरमा आज बाल सञ्जाल भद्रपुर–७ द्वारा यहाँ आयोजित ‘विद्यार्थीहरूसँग सांसद कार्यक्रम’मा उहाँले सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गरिनुपर्ने बताउनुभयो । “अहिलेको शिक्षा नियमावलीका कारण भइरहेको विभेद अन्त्य गर्न अर्को ऐन संसद्मा छलफलकै क्रममा छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “बालबालिकाले दुई थरीको शिक्षा पाउने अवस्था अन्त्यका लागि आफ्नो तर्फबाट दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता जनाउँछु ।”

सरकारी उदासीनताका कारण वर्तमान शिक्षा प्रणालीमा परिवर्तन हुन नसकेको बताउनुहुँदै उहाँले अबको पुस्ता नेपालमै बस्ने वातावरण बनाउन सोहीअनुसारको शिक्षा जरुरी रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पछिल्लो समय बालबालिका लागुऔषधको दुव्र्यसनमा फस्न थालेकाले यसप्रति सबै सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । भद्रपुर–७ बाल सञ्जालका अध्यक्ष नवीन तिम्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर युवा परिषद्का अध्यक्ष आरोग्य तिम्सेनाले गर्नुभएको थियो । भद्रपुर नगरक्षेत्रमा २२ हजार नौ सय ७५ जना बालबालिका रहेका छन् ।

नारायणगढ–मुग्लिन सडकमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन, २९ भदौः नारायणगढ–मुग्लिन सडकमा आज सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नंको ‘पिकअप गाडी’लाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नंको बसले ठक्कर दिएको थियो । बसको ठक्करपछि अनियन्त्रित भएको गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिनुभयो ।

ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

कीर्तिपुर (काठमाडौँ), २९ भदौ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकालाई बस्न लायक सहर बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

कीर्तिपुरमा आज आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौँ प्रथम जिल्ला परिषद्लाई सन्देश दिँदै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि देशका दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएको बताउनुभयो ।

कांग्रसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले ट्रेड युनियन ध्यान अब मुलुकको स्रोत साधनलाई कसरी उच्चतम रुपमा उपयोग गर्ने र युवा शक्तिलाई देशकै श्रम बजारतर्फ कसरी अकर्षित गर्ने भन्नेमा जानुपर्ने बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपालीले ट्रेड युनियन बलियो भए मात्र कांग्रेस बलियो हुने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुँवरले मजदुर आन्दोलनले औपचारिक र अनौपचारिक दुवै क्षेत्र समेट्नुपर्ने धारणा राख्नुभयो ।

युएईको मध्यस्थतामा रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान

रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको छ । सम्झौताअनुसार दुबैतर्फका बराबर सङ्ख्या गरी कुल २०६ बन्धक सैनिकको शनिबार आदानप्रदान गरिएको छ ।

रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका युक्रेनी सेनाको आदानप्रदान भएको हो ।

युक्रेनी पक्षबाट यसबार तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन । रुसी रक्षा मन्त्रालयले भनेको छ, “वार्ता प्रक्रियाको परिणामस्वरुप कुस्र्क क्षेत्रमा पक्राउ परेका १०३ जना रूसी सैनिकलाई किएभ प्रशासनको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ ।

त्यसको बदलामा युक्रेनी सेनाका १०३ जना युद्धबन्दीलाई सुपुर्दगी गरिएको थियो ।“अहिले सबै रुसी सैनिक बेलारुस गणराज्यको भूमिमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गर्नुका साथै उनीहरूका आफन्तसँग सम्पर्क गर्ने अवसर प्रदान गरिएको छ,” मन्त्रालयले भनेको छ।

जारी शत्रुताको बावजुद, रूस र युक्रेनले संयुक्त अरब इमिरेट्स, साउदी अरब वा टर्कीको मध्यस्थतामा साढे दुई वर्षको द्वन्द्वको दौडानमा सयौँ कैदीहरू साटासाट गरेका छन्।युएईको मध्यस्थतामा भएको आदानप्रदान सम्झौतामा रूस र युक्रेनबीच दुबै तर्फका बराबर गरी कुल २३० युद्धबन्दी साटासाट गरेको तीन हप्तापछि यो घोषणा भएको हो ।

नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन् : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताउनुभएको छ ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरू प्रवेश हुँदा समस्या सिर्जना भएको बताउनुभयो ।

“नियमभित्र बसेका सहकारी डुबेका छैनन् । जो नियमभित्र बसेनन् वा बस्न जानेनन् तिनीहरूमा समस्या देखिएको छ । कुनै पनि सहकारी संस्थामा कसैले अनुचित ढङ्गले लाभ लिएको भए सरकारले कडाईका साथ नियमन गर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संविधानले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बाका रुपमा लिएकाले सरकारले सोहीअनुरूप मुलुकको आर्थिक विकासमा यसलाई महत्त्व दिँदै आएको उहाँले स्पष्ट गर्नुभयो । “ विश्व अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको अवधारणा सुरु भयो । सोही अवधारणालाई नेपालमा पनि लागु गर्न थालिएको हो । स–साना पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्त्वपूर्ण पक्षहरू छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।”

छानबिन समितिले निष्पक्ष ढङ्गले अध्ययन अनुसन्धान गरी निश्कर्ष निकाल्ने र विद्यमान समस्या समाधानका लागि के–कस्ता सुधार गर्न सकिन्छ भनेर स्पष्ट सुझाव दिने अपेक्षा पनि प्रधानमन्त्री ओलीको छ ।

“सहकारी क्षेत्रको विकृति भयानक राष्ट्रिय समस्याका रूपमा आइसकेको रहेछ । यसको कसरी समाधान गर्न सकिन्छ भनेर सरकारले समितिको सुझावको प्रतिक्षा गरिरहेको छ । सहकारी क्षेत्रको नियमन र सुपरीवेक्षण गर्नका लागि छुट्टै संयन्त्र चाहिन्छ कि अहिलेकै संयन्त्रबाट गर्न सकिन्छ भनेर पनि सुझाव समितिबाट आउनुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सहकारीका सदस्यहरू नठगिउन् र लगानीकर्ताको रकम नडुबोस् भनेर सरकारले आवश्यक काम गरिरहेको छ । ठग्ने मनासाय भएका मानिहरूले त्यसमा सफलता नपाउन् ।”विभिन्न सहकारीको रकम हिनामिना गरेर फरार भएका व्यक्तिहरूलाई सरकारले खोजिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छानबिन सकिएपछि इन्टरपोलमार्फत् नेपाल झिकाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

काठमाडौँ, २९ भदौः जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

डा गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । उहाँले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सजकता अपनाउन आग्रह गर्नुभयो ।

सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ तर जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको डा गौतमको भनाइ रहेको छ ।

महिनामा धान खेतमा जम्मा हुने पानीमा ती प्रजातिका लामखुट्टेले फुल पार्ने र ती फुलबाट लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा सङ्क्रमण सार्दछन् र ती सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सार्ने गर्दछ ।

‘क्युलेक्स’ लामखुट्टेले फोहर पानीमा फुल पार्ने गर्दछ । जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म लक्षण देखापर्ने डा बताउनुभयो । सरकारले सन् २०१६ देखि नै जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिँदै आएको छ ।

सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिए पनि पछि जन्मेका सबै बालबालिकालाई उक्त सङ्क्रमणबाट जोगाउन खोप दिँदै आएको छ । शाखा प्रमुख डा गौतमले १२ महिनामा छुट भएका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने जानकारी दिनुभयो । जापानिज इन्सेफ्लाटिस् धेरै जसो १५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ ।

लामखुट्टेले टोकेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुनेजस्ता समस्या देखिने गर्दछ । लमखुट्टेको टोकाइबाट बच्न झूल टाँगेर मात्र सुत्ने, हाँस, कुखुरा, सुँगुरजस्ता घरपालुवा जनावरलाई घरदेखि टाढा राख्ने, घरबाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने, घरको झ्याल, ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे बृद्धि हुने भएकाले घर वरिपरि पानी जम्न खाल्डाखुल्डी पुर्ने, लामखुट्टे भगाउने धूप बाल्ने वा मलम लगाउनुपर्दछ ।

निर्माण व्यवसायीहरूलाई अन्याय हुन्न : मुख्यमन्त्री शाह

कैलाली, २९ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र रहेका निर्माण व्यवसायीहरूलाई कुनै पनि किसिमको अन्याय हुन नदिने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको आज धनगढीमा आयोजित १७ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उहाँले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने ऐन, नियमावलीलाई संशोधन गर्न तथा कार्यविधि बनाएर अगाडि बढ्ने भए पनि आफू तयार रहेको विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहले काम सम्पन्न भइसकेका, दायित्व सिर्जना भइसकेका, भुक्तानी दिन बाँकी रहेका निर्माण व्यवसायी, कम्पनीहरूलाई भुक्तानी दिनुपर्दछ भनी स्पष्ट निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बजेटमा त्यो सम्बोधन हुन्छ भन्ने मलाई विश्वास छ र यही सेरोफेरोमा यो बजेटलाई अगाडि बढाउन खोजिएको छ ।”

प्रदेश सरकारले काम गर्न खोज्दाखोज्दै पनि कतिपय सङ्घीय ऐन, नियमावली बाझिएका कारणले पनि हामी अगाडि बढ्न नसकेको अवस्था रहेको उहाँको भनाइ छ । “हामीले सबै विकास निर्माणका प्रक्रियाहरूलाई अवरोध गरेर जानुपर्दछ, पन्छाएर जानु पर्दछ भनेको होइन,” उहाँले भन्नुभयो, “हामी सबै मिलेर अगाडि बढ्ने हो ।”

निर्माण व्यवसायहरूलाई हतोत्साहित, निरुत्साहित गर्ने काम सरकारले नगर्ने उहाँले स्पष्ट पार्नुभयो । निर्माण व्यवसायीलाई कुनै पनि समयमा आफूसँग छलफल तथा सम्पादनमा आउन मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो । शाहले भन्नुभयो, “अहिले हामी बजेट निर्माण प्रक्रियामा छौँ यसभित्र थप केही सुझाव छन् भने लिखित रूपमा दिनुहोला ।”

आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायीहरूले सुदूरपश्चिमको विकासका निम्ति सरकारलाई सहयोगी पात्रका रूपमा आफूले मूल्याङ्कन गरेको बताउनुभयो ।

नेपाल निर्माण व्यवसाय महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायसम्बन्धी विधेयकलाई चाँडोभन्दा चाँडो सदनबाट पास हुने, देशको समृद्धि र विकास निर्माणलाई अगाडि बढाउनका लागि, सार्वजनिक खरिद ऐन संशोधन भएर निर्माण उद्योगमैत्री ऐन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घका अध्यक्ष लक्ष्मणकिशोर स्वाँरले निर्माण व्यवसाय सङ्घमा देखिएको समस्या राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका जिल्ला अध्यक्षहरू, आर्थिक मामिला मन्लालयका सचिव, सहायक प्रमुख जिल्ला अधिकारी, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

नीतिगत सुधारको पक्षमा कृषि मन्त्रालयः मन्त्री अधिकारी

काठमाडौँ, २९ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र कृषकका पक्षमा बाधक देखिएका ऐन, नियम संशोधन गरी कृषकमैत्री कानुन ल्याउन लागेका बताउनुभएको छ ।

धादिङ टोखा समाजद्वारा आज यहाँ आयोजित ‘कृषि क्षेत्रको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा समयसापेक्षरूपमा ऐन, कानुनसहित नीतिगत व्यवस्था सुधार गरी कृषि क्षेत्रमा यथासक्य चाँडो सकारात्मक परिवर्तन गर्न चाहेको स्पष्ट गर्नुभयो ।

मन्त्री पदमा नियुक्त भएको दुई महिनाको यस अवधिमा मुलुकका कृषक प्रतिनिधि, कृषि व्यवसायी, विज्ञ एवं कर्मचारी, पत्रकारलगायत सरोकार भएका सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल, अन्तरक्रिया गरी रायसुझाव सङ्कलन गरेको जानकारी दिँदै मन्त्री अधिकारीले भन्नुभयो, “खेतीपातीबाहेक अर्काे कुनै पेसा–व्यवसाय नभएको धादिङे कृषक परिवारको सदस्य अहिले कृषिमन्त्री भएको छ, आफैँ कृषक भएकाले कृषि क्षेत्रका बारेमा केही हदसम्म जानकार छु, सरोकारवाला भएकाहरूबाट प्राप्त राय–सुझावलाई समेत समेटेर आमजनताले महसुस गर्नेगरी काम गर्नेछु ।”

मन्त्री अधिकारीले देशभरका कृषियोग्य जमिनको सदुपयोग गर्ने, कृषि अनुदानलाई व्यवस्थित, पारदर्शी र कृषकमैत्री बनाउने, बाँदर, हात्तीलगायत जङ्गली जनावरको समस्या समाधान गरी पीडित एवं प्रभावित किसानजनलाई राहत दिने, रासायनिक मल ल्याउने हालको समयसीमा कम्तीमा आधाले घटाउने, गुणस्तरीय बीउबिजन तथा कृषि सामग्रीको व्यवस्था गाउँ तहमा पु¥याउने तथा विचौलियका कारण कृषक एवं उपभोक्ता ठगिन परेको भन्ने आमगुनासो अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा वक्ताहरूले कृषि क्षेत्रमा विचौलिया हावी भएकाले त्यसको अन्त्य गर्ने, दुग्ध तथा उखु किसानको समस्या समाधान गर्ने, पालिका तहमा चिस्यान केन्द्र स्थापना गर्ने, स्वदेशमै रासायनिक मल उत्पादन गर्ने, उन्नत जातका बीउबिजनको व्यवस्था गर्ने, कृषि अनुदानलाई पारदर्शी एवं कृषकमैत्री बनाउने, आधुनिक खेती प्रणालीमा जोड दिने, जग्गा चक्लाबन्दी गरी कृषिजन्य फसलको उत्पादकत्व वृद्धि गर्ने, बजारलाई समेत दृष्टिगत गरी भूगोल र हावापानी सुहाउँदो खेती प्रणाली अवलम्बन गर्नेतर्फ मन्त्रालयको ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

समाजको संयोजक गोकर्ण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ–खनियाबास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङ, टोखा नगरपालिका–७ का अध्यक्ष नरोत्तम राना र वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेल, साउथवेस्टर्न कलेजका उपप्रमुख हरिसिंह केसी, राजनीतिक तथा सामाजिक अभियान्ता वासु तिमिल्सिना, अधिवक्ता दुर्गाप्रसाद अर्याल, प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसन, नेपालका अध्यक्ष लक्ष्मण केसी, वरिष्ठ इन्जिनियर मेघनाथ थपलियालगायतका वक्ताले आवश्यक नीति तथा कार्यक्रमसहित आमजनताले महसुस गर्नेगरी कामकाज गर्न कृषिमन्त्री अधिकारीको ध्यानाकर्षण गर्नुभयो ।

‘सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता छैन’ – प्रवक्ता महत

त्रिशूली (नुवाकोट), २९ भदौः पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभएको छ ।

नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवम् बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण रहेको दाबी गर्नुभयो । “कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,” उहाँले भन्नुभयो, “उत्पादित सामग्री बजारसम्म पु¥याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हँुदै आएको छ ।”

पछिल्ला वर्षमा युवा वर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको भन्नुहुँदै पूर्वमन्त्री डा महतले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गर्नुभयो । युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहेनतले गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उहाँको धारणा थियो । “कृषि उब्जनीले बजार पाउन समस्या छैन । सरकारी अनुदान र सहयोगका कार्यक्रमहरु पनि क्रमशः वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा सडक स्तरोन्नति हुँदैछन् । काठमाडाँैलाई जोड्न सुरुङमार्ग विस्तारको काम भइरहेको छ । गाउँ, जिल्ला हँुदै देशमा क्रमशः विकासको गतिविधि बढ्दै गएको छ । काठमाडौँबाट नजिकको जिल्ला भएकाले यहीबाट विदेश जाने होइन अब स्वदेश फर्कनुपर्छ भन्ने लहर चलाउन लाग्नुपर्छ”, डा महतले भन्नुभयो ।

विदेशी मुद्राका लागि विदेश जाने नभइ विदेशी पर्यटकलाई नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उहाँको भनाइ छ । त्यसका लागि सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा महतले स्पष्टोक्ति थियो ।

तनहुँमा पुल तथा सडकका लागि रु एक अर्ब ३८ करोड बजेट

दमौली (तनहुँ), २९ भदौः गण्डकी प्रदेश सरकारले तनहँुमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो ।

कार्यालय प्रमुख रवीन्द्र तिवारीले १७ वटा सडक तथा पुलका लागि बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँका अनुसार शालिग्राम कोरिडोर (दासढुङ्गा साधेबगर भतेरी खण्ड) का लागि रु २० करोड विनियोजन भएको छ ।

रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि रु १८ करोड, दमौली बिसघरे झापुटार (सेती नदी सडक पुल) का लागि रु पाँच करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि रु तीन करोड, ढोरवाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि रु दुई करोड ५० लाख, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुवर्षे योजनाका लागि रु दुई करोड ५० लाख, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर) सडकका लागि रु दुई करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि रु दुई करोड ५० लाख विनियोजन भएको छ ।

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि रु दुई करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि रु दुई करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीवेशीका लागि रु दुई करोड १६ लाख ५६ हजार, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि रु दुई करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि रु दुई करोड, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि रु दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि रु दुई करोड, दुलेगौडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानीटारी खण्ड) कालोपत्रका लागि रु दुई करोड र सिन्धु मार्गका लागि रु दुई करोड विनियोजन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको थियो । त्यस्तै, ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी रहेको तिवारीले बताउनुभयो । उहाँका अनुसार सालबसाली सम्पन्न भएका योजना एक सय १९ छन् भने सालबसाली सम्पन्न नभएका १४ योजना छन् ।

‘बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्यका लागि लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ’ – मन्त्री सुडी

काठमाडौँ, २९ भदौः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारका विषयगत मन्त्रालयले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता औँल्याउनुभएको छ ।

राष्ट्रिय बाल दिवस–२०८१ का अवसरमा महिला मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी तथा बाल संरक्षणका विविध सवाललाई सम्बोधन गर्न यस आर्थिक वर्षको नीति र बजेट व्यवस्थाले समेत त्यसको अनुभूति भएको धारणा राख्नुभयो ।

मन्त्री सुडीले सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । “हरेक विकास र परिवर्तनसँगै नयाँ समस्या पनि सिर्जना हुन पुग्छन् । आजका दिनमा बालबालिकाको संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतीको सामना गरिरहेका छौँ । बालबालिकाविरुद्ध हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बाल विवाह र लैङ्गिक विभेद तथा अन्य असमानता जस्ता समस्याले उनीहरूको उज्ज्वल भविष्यमा नकारात्मक असर पार्ने अवस्था छ । यसलाई उन्मूलन गर्नु हामी सबैको साझा दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

सोही अवसरमा सांसद सीताकुमारी रानाले पछिल्लो समय बालबालिका यौन हिंसा र दुव्र्यवहारका समस्या बढ्दै गएकाले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित आज देशैभरि राष्ट्रिय बाल दिवस मनाइएको छ ।

दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

डोटी, २९ भदौ : अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भदौ २६ गते रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिबार साढे १ बजेदेखि एकतर्फी सञ्चालन भएको हो । राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम र बाजुराबाट तराई जाने र आउने यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीको अठोट

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ ।

नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो सङ्ख्यामा बालबालिका बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताउनुभयो । प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताउनुभयो ।

“बाल्यकालदेखि नै बालबालिकाले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिका अभिभावकबिहीन भएर कोही बालबालिका सडकमा रहन सन्दैन भनेर भनेको थिएँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उनीहरूले आफ्नो नैसिर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।”

कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा

कञ्चनपुर, २९ भदौः बेदकोट नगरपालिका–४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गासमेत कटानी गरेको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताउनुभयो । “थोरै जग्गा थियो, त्यै जग्गा पनि नदीले बगाएको छ, घरसमेत उच्च जोखिममा परेको छ”, उहाँले भन्नुभयो । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सृजना भएको ओडले बताउनुभयो ।

यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास रहेको छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले यसरी नै जग्गा कटानी गर्दै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताउनुभयो । “तटबन्ध निर्माणका लागि पटकपटक नगरपालिका कार्यालयलाई गुहार्दै आएका छौँ, अहिलेसम्म सुनवाइ हुन सकेको छैन”, उहाँले भन्नुभयो । सार्कीकाअनुसार धेरै परिवारको जग्गा बगेको र बचेको जग्गा पनि बगरमा परिणत भएको छ । अब चाँडै तटबन्ध निर्माण नभए पूरै गाउँका बासिन्दाले विस्थापन हुनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

यसैगरी, कृष्णपुर नगरपालिका–२ बङ्कस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटानी गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटानी गर्न थालेको बताउनुभयो । “दुई सय मिटर बाटो बगाई नदीले बस्तीको जग्गा कटानी गरिरहेको छ । रोकथामका लागि तत्काल केही उपाय नहुने हो भने धेरै समस्या निम्तिने देखिन्छ । त्यसैले सम्बन्धित निकायलाई तटबन्ध निर्माणका लागि आग्रह गर्दर्छौं”, उहाँले भन्नुभयो ।

वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो । उहाँले भन्नुभयो,“तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।”

‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ – गृहमन्त्री लेखक

काठमाडौँ, २९ भदौ : गृहमन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वाेच्च अदालतको आदेशका आधारमा नागरिकतासम्बन्धी निर्देशिकालाई समय–सापेक्ष बनाउने बताउनुभएको छ ।

न्यूज एजेन्सी नेपाल (नान)द्वारा आज यहाँ आयोजित ‘नागरिकलाई नागरिकता ः कानुन कि व्यवहार’ विषय कार्यक्रममा उहाँले नागरिकतासम्बन्धी निर्देशिकालाई संविधानको व्यवस्थाअनुरूप हुने परिमार्जन गर्न समीक्षा गर्ने विश्वास दिलाउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो “संविधान, ऐन, नियमावलीमा समस्या छैन, निर्देशिकामा समस्या छ भन्ने कुरा आएको छ । कहाँ समस्या छ, अदालतले दिएका आदेशबमोजिम निर्देशिकालाई परिमार्जन गर्न चाँडै टोली बनाएर समीक्षा गर्नेछौँ ।” उहाँले त्यसबाट के–कति समस्या सम्बोधन हुन्छ भन्ने कुरा विश्लेषण गरी बाँकी पनि सोही प्रक्रियाका आधारमा निरूपण गर्न पहल हुने बताउनुभयो ।

अदालतको आदेशबाट समेत नागरिकता प्राप्त गर्न नसक्नु पीडादायी पक्ष भएको बताउनुहुँदै गृहमन्त्री लेखकले नागरिकता नपाएकै कारण पढ्न र रोजगारी प्राप्त गर्न नसक्ने जस्ता पीडा सम्बोधनका लागि सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अब पानीजस्ता अत्यावश्यक वस्तु किनेर खान पनि नागरिकता चाहिन्छ । त्यसैले नागरिकतासम्बन्धी विषयलाई अब छिनोफानो र निष्कर्षमा पु¥याउनुपर्छ भन्ने लागेको छ ।”

गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि कानुन र नीति निर्माणलाई नै आपूmले प्राथमिकतामा राखेको बताउनुहुँदै मन्त्री लेखकले विस २०१२ मा बनेको प्रहरी ऐन देशमा धेरै शासन व्यवस्था फेरिए पनि कायमै रहेकाले अब एक महिनाभित्र उक्त ऐनलाई समयसापेक्ष तुल्याउनका लागि अन्तिम रूप दिई संसद्मा लैजाने प्रयत्न भइरहेको जानकारी दिनुभयो ।

त्यस अवसरमा महिला कानुन तथा विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठ, लामो समयदेखि नागरिकता प्राप्तिका लागि सङ्घर्ष गरिरहनुभएका कुमार जोशी र नेहा थापाले ‘आमाको नामबाट नागरिकता प्रदान गर्नू’ भन्ने अदालतको फैसला कार्यान्वयन नहुँदा समस्या भएको बताउनुभयो ।

आयोजक संस्था न्यूज एजेन्सी नेपालका संस्थापक अध्यक्ष कृष्णा पौडेलले मुलुकको नागरिकका हैसियतले प्राप्त गर्नु पर्ने नागरिकताको हकअधिकार सुरक्षित गर्न सरकारलाई आवश्यक व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

अधिकारकर्मी होम भट्टराईले अदालतबाट आदेश भए पनि कार्यविधिलगायत समस्याका कारण नागरिकता प्राप्तिका लागि सङ्घर्ष गरिरहेकाले संविधानले सुनिश्चित गरेको नागरिकता प्राप्तिको अधिकार कार्यान्वयनमा सरकार गम्भीर हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ – मुख्यमन्त्री कार्की

मोरङ, २९ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका विकृति, विसङ्गति, लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा कुप्रथा अन्त्यका लागि जागरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले समाजलाई सुसंस्कृत बनाउन स्काउटका स्यवंसेवकहरूलाई आग्रह गर्नुहुँदै स्काउटको विस्तार र विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा आउने प्राकृतिक विपद्, आगलागीलगायत घटनाका समयमा जनधनको संरक्षण गर्न योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयलाई विद्यालय वरिपरि धुम्रपान, मदिराको बिक्री वितरण रोक्न आवश्यक अनुगमनका लागि निर्देशनसमेत दिनुभयो । सरकारले दुई÷तीन वर्षभित्र नमूना प्रदेश बनाउन उद्योग र कृषि उत्पादनमा वृद्धि तथा निर्यात प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मन, वचन र कर्मले राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुहुँदै विद्यालयको शैक्षिक वातावरण राम्रो बनाउन आवश्यक योजनाका साथ अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा स्काउटका बालबालिकाले मुख्यमन्त्री कार्कीलाई विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका स्काउटमा आबद्ध बालबालिकाको सहभागिता रहेको थियो ।

जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

काठमाडौँ, २९ भदौ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा संवाद केन्द्रले आज यहाँ आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक अन्तरक्रियामा उहाँले बिपी कोइरालाले भनेजस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताउनुभयो ।

“आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,” उहाँले भन्नुभयो । कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उहाँको भनाइ थियो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले विसं २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताउनुभयो । उहाँले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेपाली कांगे्रसको विधानले बिपी कोइरालालाई स्पष्ट रुपमा चिनेको बताउनुभयो । बिपी कोइरालाले दिएको विचार र आदर्शबाट पार्टी अहिले अगाडि बढेको उहाँको भनाइ थियो । नेत्री उपाध्यायले सत्ता बाहिर होस् या सत्तामा होस् कांग्रेसले सधैँ बिपीको विचारलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । स्थानीय तह बलियो भए मात्र देशको विकास हुने उहाँको भनाइ थियो ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले बिपी कोइरालाले अगाडि सारेको लोकतान्त्रिक समाजवादको नीतिका कारण संविधानमा हरेक जातजाति र समुदायको प्रतिनिधित्व भएको उल्लेख गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बिपीले देखेको लोकतान्त्रिक समाजवादको सपना कांग्रेसले पूरा गर्दै लगेको बताउनुभयो । उहाँले राज्यमा जबसम्म गरिब तथा विपन्न वर्गको उपस्थिति हुँदैन तबसम्म बिपीको सपना पूरा नहुने भएकाले त्यसलाई पूरा गर्न लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस कोशी प्रदेशका महामन्त्री एवं कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई, कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनलगायतले संविधानले दिएको अधिकार पूरा गर्नसके बिपी कोइरालाले देखेको लोकतान्त्रिक समाजवादको सपना पूरा हुने बताउनुभएको थियो ।

बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

विराटनगर, २९ भदौः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभयो ।

उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गर्नुभयो । 

“नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेट्दै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ”, उहाँले भन्नुभयो । 

मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाटसमेत बञ्चित हुनुपरेको अवस्था रहेको चर्चा गर्दै उक्त समस्या समाधान गर्न सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।  
आज ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ बाल दिवस २०८१ मनाइँदै छ ।

पच्चीस वर्षदेखि घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

रामपुर (पाल्पा), २९ भदौः बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।

हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहनुभएको छ । हरेक दिन ढाका टोपी, इस्टकोटकमा सजिएर पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्नुहुन्छ । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वीटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उहाँको दिनचर्या हो । 

उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उहाँको आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको बताउनुहुन्छ ।

अहिले उहाँ पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्नुहुन्छ । उहाँले सुरुमा करिब पाँच वर्षजति भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाञ्चल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गर्नुभयो । 

नेपाल फर्किएपछि उहाँ पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाउनुभएको छ । तानसेनमा व्यापार गर्ने क्रममा उहाँ रामपुर आउनुभएको हो । तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँगाउँमा राम्रो व्यापार हुन्छ भन्नुभयो, “म त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु”, उहाँले भन्नुभयो ।

रामपुरमा सुरुआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने व्यापार घटेको उहाँको अनुभव छ । रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उहाँको अनुभव छ । पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उहाँको बुझाइ छ । उहाँको मुख्य व्यापार भनेको राडीपाखी हो । तर अहिले बढीमात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ ।

गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरु जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उहाँको अनुभव छ । सुरुआती दिनमा गाउँगाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उहाँको अनुभव छ । 

उहाँ भन्नुहुन्छ, “सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउअनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु ।”

पहिला दिनमा रु २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा रु चार हजार जति कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुसीका साथ जीवन बिताइरहेको उहाँले बताउनुभयो । राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउनुहुन्छ भने अन्य सामान काठमाडौँबाट खरिदगरी व्यापार गरिरहनुभएको छ ।

जुम्लामा राडीपाखी लिन उहाँ चार÷चार महिनामा जानुहुन्छ भने काठमाडौँमा महिनामा एक पटक पुग्नुहुन्छ । राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिने भएकाले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उहाँले बताउनुभयो । राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ । 

काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन् । उनीहरुको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ । एक व्यक्तिको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उहाँ बताउनुहुन्छ । 

जेठो छोरो स्नातक अध्ययन पूरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन् । कान्छो छोरो एसइई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन् । छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उहाँले जनाउनुभयो । 

“अहिले छोराछोरी हुर्केबढेसँगै परिवारको खर्च बढ्दै गयो, थोरै खर्चले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ, एक व्यक्तिको कमाइले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँगाउँमा राडीपाखी, गलैँचालगायतका कपडा बोकेर व्यापारमा हिँडेछु”, उहाँले भन्नुभयो ।

बाउबाजेको पालादेखि नै चलिआएको यो पेसा उहाँले अहिलेसम्म पनि निरन्तरता दिइरहनुभएको छ । यसरी व्यापार गर्ने हिजोआज पुराना व्यक्तिले छाड्दै गएका छन् । बाउबाजेले गरेको पेसा आजसम्म धान्दै आउनुभएका काफ्ले यो पेसा आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न इच्छुक हुनुहुन्न । परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भए पनि पढ्न नपाएको उहाँको गुनासो छ । कक्षा १० सम्म पढ्नु भएका काफ्ले आफूले दुःख गरेरै भएपनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँगाउँमा व्यापारमा खट्नुभएको छ । अहिले उहाँले रामपुरका अलवा पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्नुहुन्छ । 

घुमन्ते व्यापारमा उहाँको साथमा पहिला दुई÷तीन जना साथी थिए, अहिले भने उहाँ एक्लै हुनुहुन्छ । उहाँसँगै व्यापार गर्ने साथीहरु पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन् । लामो समयसम्म रामपुरमा व्यापार गर्दै आउनुभएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोच बनाउनुभएको छ । 

उहाँको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ । जुम्लाबाट सुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर र बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ । त्यहाँबाट सामान यहाँसम्म ढुवानी गर्न सहज छैन । 

बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती

जानकी (बाँके), २९ भदौः बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो ।

बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीन सय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताउनुभयो । “हामीले धानको मूल बीउ उत्पादनका लागि बाँकेका तीनवटा गाउँपालिकामा यो परियोजना लागू गरेका हौँ,” उहाँले भन्नुभयो, “यो परियोजनाले धानखेतीका लागि सिँचाइ, कृषियान्त्रिकीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।”

यादवका अुनसार जानकी गाउँपालिका–२ वनकटवाको ग्रिन नेपाल कृषि फर्म र सोही पालिकाकै वडा नं ३ रामवापुरको बैष्णो कृषि फर्ममार्फत १० हेक्टर क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती गरिएको छ । धानको अवस्था बुझ्न कृषि प्राविधिकहरूले १० हेक्टर क्षेत्रफलमा लगाइएको धानको अनुगमन गरेका छन् ।

यस क्षेत्रका किसानलाई सहज रुपमा बीउ उपलब्ध गराउन राधाचार र रामधानको मूल बीउ उत्पादन गरिँदैछ । जसअन्तर्गत चार सय क्विन्टल मूल बीउ उत्पादन हुने परियोजनाका कृषि अधिकृत गणेश यादवले बताउनुभयो । उहाँले परियोजनाले बिज वृद्धि कार्यक्रमका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उक्त रकम बीउ बिषादी, जिङ्क र साइन बोर्डमा अनुदान दिइएको परियोजनाले जनाएको छ ।

परियोजनाले आधुनिक तरिकाले खेती गर्न तीन ठाउँमा ‘कष्टमहायरिङ्ग सेन्टर’ स्थापना गरेको यादवले बताउनुभयो । “धानखेतीका लागि आवश्यक सबै यन्त्र अनुदानमा उपलब्ध गराइएको छ,” उहाँले भन्नुभयो, “जहाँबाट सहज रुपमा किसानहरु धानखेतीका लागि ती यन्त्रहरु प्रयोग गरिरहेका छन् ।”

जनहित कृषक समूह बैजानाथ–८ झिगौराका अध्यक्ष जगनरायाण थारुले कष्ट महायरिङ्ग सेन्टर स्थापनापछि किसानलाई फाइदा भएको बताउनुभयो । “यो परियोजनाले हामी किसानलाई काम गर्न सजिलो बनाएको छ । सबै कृषियन्त्र एकै ठाउँमा उपलब्ध हुँदा खेती गर्न सहजभएको छ,” उहाँले भन्नुभयो ।

परियोजनाले सहकारी र समूहका किसानहरुलाई ‘कष्टमहायरिङ्ग सेन्टर’मार्फत ट्याक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलरलगायत कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको परियोजनाका कृषि अधिकृत यादवले बताउनुभयो । परियोजनाअन्र्तगत पाँच ठाउँमा ५० हेक्टरमा धानको चकलाबन्दी गरिरहेको छ । 

परियोजनाले समेटेको कार्यक्षेत्रअन्तर्गत आठ सय १४ जना कृषक तथा समूह र सहकारी जोडिएका छन् । ती किसानहरुका लागि यो चालु आर्थिक बर्षमा साना सिँचाइ, धानको चकलाबन्दी, कष्टमहायरिङ्ग सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रिकीकरणमा सहयोग, पोष्टहार्वेष्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम, तरकारी क्षेत्र विस्तार कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसै परियोजनाअन्तर्गत बाँकेमा चालु आर्थिक वर्ष २०८१/८२ बाट तरकारी जोनको कार्यक्रम सञ्चालन गरिँदै छ । जसअन्तर्गत पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले बताउनुभयो  । 

चालु आवमा एक करोड २९ लाख धानखेती र ५० लाख तरकारीखेती प्रवर्द्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ । परियोजनाअन्तर्गत यसै वर्ष बाँकेको जानकी गाउँपालिका–१, २, ३, ४ त्यसैगरी, खजुरा गाउँपालिका–२ र ४ र बैजानाथ गाउँपालिका–२, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ । जसअन्तर्गत दुई हजार तीन सय ४१ हेक्टर क्षेत्रफलमा धानखेतीमा प्रवर्द्धन  कार्यक्रम लागू गरिएको छ । 

— संयुक्त अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न अभ्यास

काठमाडौँ, २९ भदौः नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ । यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको हो ।

यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको नेपाली सेनाले जानकारी दिएको छ । “अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान गरिने खोज तथा उद्धारलाई यप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरुका सम्बन्धमा ज्ञान आदानप्रदान हुनेछ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन् ।”

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यास सञ्चालन हुँदै आइरहेका छन् । सन् २०१२ देखि सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।

चितवनमा अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति

चितवन, २९ भदौः अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।
अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा फिर्ता गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा गोपिचन्द्र दवाडीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पीडितले एक महिनाभित्र रु दुई करोड ४० लाख तिर्ने र पीडकले जग्गा फिर्ता गर्ने गरी सहमति जुटाएर पठाएका छौँ ।” पीडकले पीडितसँग विसं २०७९ भदौमा जग्गा लिएका थिए । 

कार्यालयमा पछिल्लो पटक विसं २०८१ जेठ ११ गतेदेखि साउन ४ गतेसम्म ७० वटा अनुचित लेनदेनसम्बन्धी निवेदन दर्ता भएका थिए । जसमध्ये पाँच वटाको फछ्र्यौट भएको छ । २७ वटा निवेदनमाथि जिल्ला अदालतमा मुद्दा दर्ता भएकाले प्रशासनले हेर्न नमिल्ने भएको उहाँले जानकारी दिनुभयो ।

प्राप्त उजुरीमाथि छलफल गर्नका लागि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा तीन सदस्यीय उजुरी फछर्यौट संयन्त्र गठन गरी छलफल सुरु भएको थियो । 

दवाडीले भन्नुभयो, “संयन्त्रले प्राप्त उजुरीमाथि प्राथमिकताका आधारमा छलफल गरेको छ । अब आपसी समझदारीबाट समाधान निकाल्छौँ ।” विसं २०८० साउनयता विभिन्न समयमा आयोगले उजुरी आह्वान गरेको समयमा ९१ वटा उजुरी दर्ता भएका थिए । कूल ८६ वटा उजुरीको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो ।

अमेरिकाद्वारा चिनियाँ इभीमा तीव्र शुल्क वृद्धिलाई अन्तिम रूप प्रदान

अमेरिकाले शुक्रबार चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क र इभी बेट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै मे महिनामा भारी शुल्क वृद्धिको घोषणा गरेको थियो । अमेरिकाले उक्त कदमको बेइजिङबाट कठोर प्रतिक्रिया प्राप्त गरेको थियो ।

शुल्क वृद्धिको घोषणा अमेरिकामा नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि आएको छ । दुवै मुलुकबीच प्रतिस्पर्धा तीव्र भएको बेला डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीले चीनप्रति कडा अडान देखाउन खोजिरहेका छन् । 

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा भन्नुभयो, “आजको अन्तिम शुल्क वृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको जनवादी गणतन्त्र चीनको हानिकारक नीति र अभ्यासलाई लक्षित गर्नेछ ।”

यस वर्षदेखि सुरु हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागु हुनेगरी सेमीकन्डक्टरमा पहिलाभन्दा तीव्र वृद्धि अर्थात ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ । 

यी कार्यहरू तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा लगाइएको शुल्कको समीक्षापछि लिइएको हो । ट्रम्प प्रशासनले चीनबाट करिब तीन खर्ब डलरको सामानमा शुल्क लगाएको थियो ।