`

नेपाली सेना र अमेरिकी सेनाबीच विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न अभ्यास

काठमाडौँ, २९ भदौः नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ । यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको हो ।

यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको नेपाली सेनाले जानकारी दिएको छ । “अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान गरिने खोज तथा उद्धारलाई यप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरुका सम्बन्धमा ज्ञान आदानप्रदान हुनेछ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन् ।”

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यास सञ्चालन हुँदै आइरहेका छन् । सन् २०१२ देखि सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।

चितवनमा अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति

चितवन, २९ भदौः अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।
अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा फिर्ता गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा गोपिचन्द्र दवाडीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पीडितले एक महिनाभित्र रु दुई करोड ४० लाख तिर्ने र पीडकले जग्गा फिर्ता गर्ने गरी सहमति जुटाएर पठाएका छौँ ।” पीडकले पीडितसँग विसं २०७९ भदौमा जग्गा लिएका थिए । 

कार्यालयमा पछिल्लो पटक विसं २०८१ जेठ ११ गतेदेखि साउन ४ गतेसम्म ७० वटा अनुचित लेनदेनसम्बन्धी निवेदन दर्ता भएका थिए । जसमध्ये पाँच वटाको फछ्र्यौट भएको छ । २७ वटा निवेदनमाथि जिल्ला अदालतमा मुद्दा दर्ता भएकाले प्रशासनले हेर्न नमिल्ने भएको उहाँले जानकारी दिनुभयो ।

प्राप्त उजुरीमाथि छलफल गर्नका लागि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा तीन सदस्यीय उजुरी फछर्यौट संयन्त्र गठन गरी छलफल सुरु भएको थियो । 

दवाडीले भन्नुभयो, “संयन्त्रले प्राप्त उजुरीमाथि प्राथमिकताका आधारमा छलफल गरेको छ । अब आपसी समझदारीबाट समाधान निकाल्छौँ ।” विसं २०८० साउनयता विभिन्न समयमा आयोगले उजुरी आह्वान गरेको समयमा ९१ वटा उजुरी दर्ता भएका थिए । कूल ८६ वटा उजुरीको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो ।

अमेरिकाद्वारा चिनियाँ इभीमा तीव्र शुल्क वृद्धिलाई अन्तिम रूप प्रदान

अमेरिकाले शुक्रबार चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क र इभी बेट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै मे महिनामा भारी शुल्क वृद्धिको घोषणा गरेको थियो । अमेरिकाले उक्त कदमको बेइजिङबाट कठोर प्रतिक्रिया प्राप्त गरेको थियो ।

शुल्क वृद्धिको घोषणा अमेरिकामा नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि आएको छ । दुवै मुलुकबीच प्रतिस्पर्धा तीव्र भएको बेला डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीले चीनप्रति कडा अडान देखाउन खोजिरहेका छन् । 

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा भन्नुभयो, “आजको अन्तिम शुल्क वृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको जनवादी गणतन्त्र चीनको हानिकारक नीति र अभ्यासलाई लक्षित गर्नेछ ।”

यस वर्षदेखि सुरु हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागु हुनेगरी सेमीकन्डक्टरमा पहिलाभन्दा तीव्र वृद्धि अर्थात ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ । 

यी कार्यहरू तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा लगाइएको शुल्कको समीक्षापछि लिइएको हो । ट्रम्प प्रशासनले चीनबाट करिब तीन खर्ब डलरको सामानमा शुल्क लगाएको थियो ।

चीनको संस्कृति, पर्यटन उद्योगको प्रदर्शनीमा दुई हजार बढी उद्यम सहभागी

चीनको तियान्जिन नगरपालिकामा शुक्रबार २०२४ चिनियाँ संस्कृति र पर्यठन उद्योग प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा दुई हजारभन्दा बढी संस्कृति र पर्यटन उद्यमको सहभागिता रहेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले आयोजना गरेको चारदिने कार्यक्रमको उद्देश्य चीनको संस्कृति र पर्यटन उद्योगको जीवन्तता प्रदर्शन गर्ने र त्यस्ता उद्योगहरूको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने रहेको छ ।

   प्रदर्शनीमा नौ मुख्य प्रदर्शनी हल छन् । कुल प्रदर्शनी क्षेत्रले एक लाख ५० हजार वर्गमिटर समेटेको छ । संस्कृति तथा पर्यटनउपमन्त्री डु जियाङले यस वर्षको सुरुदेखि नै चीनको सांस्कृतिक उद्योग निरन्तर फस्टाएको र पर्यटन उद्योगले मजबुत जीवन्तता देखाउँदै रोजगारी स्थिरता, उपभोग र आदानप्रदानको प्रवर्द्धनमा सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

   नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार चीनको सांस्कृतिक क्षेत्रले यस वर्षको पहिलो छ महिनामा स्थिर राजस्व वृद्धिलाई निरन्तरता दिएको छ । यस क्षेत्रका प्रमुख कम्पनीहरूको संयुक्त परिचालन राजस्व एच–१ मा झण्डै ६५ खर्ब युआन पुगेको छ । यो वार्षिक आधारमा सात दशमलव पाँच प्रतिशतले बढेको छ ।

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले ।

तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छन् । छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन् ।

‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ’, उर्मिलाले भनिन्, ‘तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।’

२०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गर्नुभएका उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन् । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उनको भनाइ छ । उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमान्ले किराना पसल सञ्चालन गरेका छन् ।

उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेका छन् । ‘तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ’, उर्मिलाले भनिन्, ‘अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।’

उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म ६० लाख खर्च भइसकेको बताइन् । सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ । उनले लहरे तरकारीबाटै सिजनमा  दुई लाख बचत हुने गरेको बताइन् ।

तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन गर्यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध भइन् । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ ।

उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताइन् । ‘हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो’, उनले भनिन्, ‘सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।’ उक्त समुहमा १६ महिला आबद्ध छन् ।

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।

बजेट अभावले दुई सय ८० खानेपानी आयोजना सुधार अधुरै

काठमाडौँ, २९ भदौ : समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सुधार बजेट अभावका कारण अगाडि बढ्न सकेका छैनन् ।

लामो समयदेखि निर्माण अधुरा रहेका खानेपानी आयोजनाका निर्माण पूरा गर्न र विविध कारणले सञ्चालनमा आउन नसकेका विभिन्न आयोजना सञ्चालनका लागि आवश्यक पर्ने तीन अर्ब लागत जुटाउन नसक्दा सुधार गर्न नसकिएका हुन् । 

यसअघि पनि खानेपानी मन्त्रालयले ती अपूरा आयोजनाहरु सुधार गर्न आवश्यक वित्तीय स्रोतका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । तर अर्थ मन्त्रालयले ती आयोजना सुधारका लागि वित्तीय स्रोत उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएसँगै मन्त्रालयले वैदेशिक दातृ निकायसँग आग्रह गरेको थियो । दातृ निकायले समेत लागनीको चाहना नदेखाएपछि आवश्यक बजेट अभाव भएको हो ।

खानेपानी मन्त्रालयले एसियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालित सहरी विकास खानेपानी आयोजनाबाट करिब चार अर्ब रकम बच्न सक्ने जानकारी दिएको छ । बचेको रकममध्येबाट केही रकम यी आयोजना सुधारमा खर्च गर्न मन्त्रालयले एडिबीलाई आग्रह गरेको थियो । सहरी विकास खानेपानी आयोजना सन् २०२५ अप्रिल महिनामा सकिने भएकाले आवश्यक प्रक्रिया अगाडि बढाउने समय नहुँदा अधुरा आयोजना सुधारमा लगानी गर्न नसकिने मन्त्रालयले जनाएको छ । 

खानेपानी मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर मधु तिमिल्सिनाले तराई—मधेस खानेपानी सुधार आयोजनाका लागि आवश्यक बजेट अभावका कारण सुधार अधुरै रहेको र तराईवासी खानेपानीको समस्याबाट गुज्रिरहेको बताउनुभयो । “हामीले यी खानेपानी आयोजनाका लागि आवश्यक लागत जुटाउन धेरै पहल गरेका थियौँ तर यी आयोजना सम्पन्न गर्न लगानीको अभावले गति लिन सकेन,” उहाँले भन्नुभयो, “अहिले चाहिँ प्राथमिकीकरणका आधारमा ती अधुरा आयोजना पूरा गर्न हामीले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सहमति मागेका छाँै, सहमति पाएमा आवश्यकताका आधारमा प्रथामिकीकरण गरेर काम अगाडि बढाउने तयारी गरिरहेका छौँ ।”

उहाँले अधुरा तथा विभिन्न कारणले सञ्चालनमा आउन नसकेका खानेपानीका आयोजनाहरु सञ्चालनमा नआए तराईमा खानेपानीको अभाव बढ्दै जाने बताउनुभयो । आवश्यक लागतका लागि अर्थ मन्त्रालयसँग गरिएको प्रस्ताव अस्वीकार भएपछि विभिन्न दातृ निकायसँग छलफल अगाडि बढाए पनि लागत नजुटेपछि ती आयोजना सम्पन्न गर्ने समयसीमा निश्चित नभएको उहाँको भनाइ छ । 

उहाँका अनुसार सुधार गर्न आवश्यक दुई सय ८० खानेपानीका आयोजनामध्ये सबैभन्दा बढी आयोजना मधेस प्रदेशमा छन् । “मधेस प्रदेशमा एक सय ७६ वटा खानेपानी आयोजना विविध कारणले सञ्चालनमा आउन सकिरहेका छैनन, यसले गर्दा अहिले मधेस प्रदेशका बासिन्दा खानेपानीको माग गर्दै माइतीघर मण्डलामा धर्नामै हुनुहुन्छ,” तिमिल्सिनाले भन्नुभयो, “यसैगरी लुम्बिनी प्रदेशमा ५१, कोशी प्रदेशमा ३६ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा १९ खानेपानी आयोजना अपूरा तथा विभिन्न कारणले सञ्चालनमा आउन सकिरहेका छैनन् ।”

खानेपानी आयोजना निर्माणमा आवश्यक लागतमध्ये २० प्रतिशत जनश्रमबाट जुटाउने नीतिगत व्यवस्था छ तर कार्यन्वयनमा चुनौती थपिँदा आयोजना निर्माण अधुरै रहेको उहाँको भनाइ छ । “जनश्रमका लागि सामान्य काम छुट्याइएको हुन्छ, जस्तै पाइप बिच्छ्याउने, पाइपलाई पुर्नेलगायत कामहरु स्थानीय बासिन्दालाई छोडेका हुन्छौँ,” तिमिल्सिनाले भन्नुभयो, “त्यही कामका लागि युवा जनशक्ति गाउँगाउँमा नहुँदा श्रमदान जुट्न सकिरहेको छैन, समान्य सुधारका काम स्थानीय स्तरबाट हुन सकिरहेको छैन यसले चुनौती थपिँदै गएको हो ।”

उहाँका अनुसार कतिपय खानेपानी उपभोक्ताहरु खानेपानी महसुल भुक्तानी गर्न नचाहँदा नयाँ आयोजनाहरु सञ्चालन हुन सकेका छैनन् । तिमिल्सेनाले बर्सेनि खानेपानी मन्त्रालयको घट्दै जाँदा खानेपानी समस्या समाधान गर्नका लागि यथेष्ट कार्यक्रम राख्न नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार लगानी अभावका कारण तराईवासीले भोगिरहेको खानेपानी समस्या तत्काल समाधान गर्न सकिने अवस्था छैन  । तिमिल्सिनाले अन्तरसरकारी निकाय, तीनवटैै तहको सरकारबीचको समन्वयका आधारमा खानेपानीको समस्या समाधान कार्यक्रम तय गर्न सम्भव हुने बताउनुभयो । 

आयोजनामा आवश्यक लागतमध्ये ८० प्रतिशत सरकारले  बेहोर्ने र बाँकी २० प्रतिशत लागत जनश्रमबाट जुटाउनुपर्ने नीतिगत व्यवस्था छ तर खानेपानी मन्त्रालयका अनुसार जनश्रम नजुटेपछि केही आयोजना निर्माण सम्पन्न हुन सकिरहेका छैनन् । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या वृद्धि भएसँगै स्थानीय तहमा श्रम गर्ने जनशक्ति अभाव भएपछि जनश्रम जुटाउनै मुस्किल परेको मन्त्रालयको भनाइ छ । 

सरकारको चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा घोषणा भएबमोजिम मधेस प्रदेशका सबै जिल्लामा देखिएको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले सुनकोशी–मरिन, सुनकोशी कमला तथा पश्चिमका जिल्लाहरूका लागि भेरी बबईबाट खानेपानी आपूर्ति गर्ने गरी थोक वितरण प्रणालीको अध्ययन आगामी आवबाट गरिने उल्लेख छ । 

सरकारको चालु आर्थिक वर्षमा तराई मधेसका बढी जनघनत्वलगायतका स्थानहरूमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्थापन गर्ने कार्यक्रमहरू समावेश छन् । तराई– मधेसमा हाल देखिएको पानीको समस्याको दीर्घकालीन समाधान चुरे संरक्षण र ठूला थोक वितरण प्रणालीको निर्माण भएकाले मन्त्रालयले यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ । 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले विभिन्न कारण अधुरा रहेका खानेपानीका आयोजना समयमा सम्पन्न गर्न नसक्दा उपभोक्ताले खानेपानी पिउनबाट वञ्चित हुनुपरेको बताउनुभयो । “प्राथमिकताका आधारमा अधुरा खानेपानी आयोजना पूरा गर्नुपर्ने र रुग्ण आयोजनाको सुधार अगाडि बढाउन आवश्यक छ, बीस प्रतिशत श्रमदान अव्यावहारिक छ तर  थोरै श्रमदान या श्रमदान दिन नसक्नेबाट रकम लिएर खानेपानी आयोजनामा जनताको लगानी हुँदा अपनत्व हुन्छ,” उहाँले भन्नुभयो । 

उहाँले तीनवटै तहका सरकारहरुबीच खानेपानी व्यवस्थापनका क्रममा समन्वय अभाव हुँदा कतिपय स्थानमा खानेपानीका योजनाहरु नपाउने त कतिपय स्थानहरुहरुमा ‘डुप्लिकेसन’ हुने समस्या आइरहेको जानकारी दिनुभयो । संविधानको धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको व्यवस्था गरिएको छ तर नागरिकहरुले उक्त मौलिक हकको प्रत्याभूति गर्न पाएका छैनन् ।   

राष्ट्रिय जनगणना २०७८ को प्राप्त नतिजाअनुसार कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा÷पाइप (घरपरिसरभित्र) प्रयोग गर्ने ३४ दशमलव छ प्रतिशत र धारा÷पाइप (घरपरिसर बाहिर) २२ दशमलव चार प्रतिशत, ट्युबवेल/हाते पम्प २९ दशमलव आठ प्रतिशत, ढाकिएको इनार/कुवा एक दशमलव पाँच प्रतिशतले प्रयोग गरेका छन् । दिगो विकासको लक्ष्यले सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहको जनसङ्ख्यालाई उल्लेख्य रूपमा घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता उल्लेख्य मात्रामा वृद्धि गर्ने र स्वच्छ पानीको दिगो निष्कासन तथा आपूर्ति गर्ने दिगो विकास लक्ष्य लिएको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम सबै नागरिकको स्वच्छ खानेपानीमा पहुँच र स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहहरुबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तका आधारमा कार्यक्षेत्रको बाँडफाँट गरी खानेपानी, सरसफाइ र स्वच्छताको विकासलाई व्यवस्थित र प्रभावकारी बनाउन यो नीतिगत व्यवस्था गरिएको छ ।

अधुरै रह्यो उपाध्यक्ष भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्राको बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’ को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’ मार्फत भोट मागेकी थिइन् ।

तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जीप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो । आमाको खुट्टाको उपचारपछि घर फर्किदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाइन् । आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौं बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो ।

उनीहरुसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जीप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको थियो ।

‘गाउँपालिका उपाध्यक्ष बुढा आमालाई खुट्टाको उपचार गराएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो’, सूचना अधिकारी पौडेलले भने, ‘उहाँ शी लिड्स आइकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो, शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि उहाँले सामाजिक सञ्चालमा भोट माग्दै काठमाडौँबाट घरतर्फ लाग्नु भएको रहेछ ।’

प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो । ‘अनलाइन’ मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए । तर, उक्त सूचीबाट एक जनाको संख्या शुक्रबारबाट घटेको छ । सो दुर्घटनामा जीपचालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते भएका छन् ।

उनको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । शुक्रबार रा१ज २०० नम्बरको पिकअप जीप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो ।
उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राखेकी थिइन् ।

उनले बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौं समेत घुमाएकी थिइन् । सात वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाएकी थिइन् । उनले आमाको हेरचाह आफै गर्दै आएकी थिइन् । आमालाई उपचार गरी सहर घुमाएर घर फर्किएकी उपाध्यक्षको जीप दुर्घटनामा आमासँगै र वडाअध्यक्षको समेत मृत्यु भएपछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ ।

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

काठमाडौँ, २९ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभएको हो ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।”

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ । “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइरहेका छौ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बालबालिका तथा बालबालिका अभिभावकहरुलाई हार्दिक बधाई तथा शुभकामना”, उहाँले भन्नुभयो, “हामी ६०औँ बाल दिवस मनाइरहँदा बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन सकिरहेका छैनन् ।”

उहाँले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिनुभएको छ । “पोषणयुक्त खाना, न्यानो नाना, विद्यालय जाने र गुणस्तरीय शिक्षा पाउने अवसर, स्वस्थ्य रहन पाउने अधिकार उपलब्ध गराउनैपर्छ । बालविकास विभिन्न कार्यक्रम सञ्चालन भए पनि ती प्रभावकारी हुन सकेका छैनन्,” उहाँले भन्नुभयो ।

गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उहाँको भनाइ छ । “बालबालिका मानव जातिका भविष्य हुन् । हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो, “आमा बालबालिका लागि पहिलो गुरु हुन् । बालमैत्री वातावरण बनाइयोस् । बालबालिकालाई  माया गराँै । सही आचारण सिकाउँदै जानुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्छ, उनिहरुलाई भविष्यको योग्य नागरिक बनाउन सक्छौँ ।”

बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौँ, २९ भदौः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

नेपालले संयुक्त राष्ट्र सङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै आज मनाइने राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली बालबालिकामा असीम स्नेहका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले बालबालिकाको शारीरिक, मानसिक तथा नैतिकसहितको पक्षलाई उपेक्षा नगर्न दृढ सङ्कल्प लिने अवसरका रुपमा यसलाई लिन सक्नुपर्नेमा जोड दिनुभयो । 

नेपालमा हरेक वर्ष भदौ २९ गते बालबालिकाको सम्मान र उनीहरुको अधिकारप्रति सबैमा जागरुकता ल्याउन यो दिवस राष्ट्रव्यापी रुपमा मनाइन्छ । यस अवसरमा विभिन्न विद्यालय तथा सङ्घसंस्थाहरुले विविध कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् । “ती कार्यक्रमहरुले बाल अधिकारप्रति जनचेतना अभिवृद्धि गर्न सघाउने विश्वास लिएको छु, यस अवसरमा बालबालिकाका लागि बढी रुचिकर हुने क्रियाकलाप खेल र सांस्कृतिक कार्यक्रमको आयोजनाले उनीहरुलाई आफ्नो अधिकारप्रति जागरुक बनाउन सहयोग पुग्दछ,” उहाँले भन्नुभएको छ ।   

उपराष्ट्रपति यादवले मुलुकमा बालबालिकाको वास्तविक अवस्था, बालबालिकाहरुको महत्वबारे जागरुकता बढाउन र उनीहरुको भविष्य उज्ज्वल बनाउँदै उनीहरुको अवस्थामा सुधार ल्याउन बाल दिवसको सान्दर्भिकता र उपादेयता महत्वपूर्ण रहेको जनाउनुभएको छ । नेपालको संविधान, २०७२ को मौलिक हक र कर्तव्यसम्बन्धी भाग ३ को धारा ३९ मा बालबालिकाको हक सुनिश्चित गरेको छ । संविधानले प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ता, परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकाससम्बन्धी हकको व्यवस्था गरेको छ । 

“बालबालिकालाई ईश्वरको रुप र देशको भविष्यका कर्णधार मानिन्छन, मुलुकको उज्ज्वल भविष्य बालबालिकाको उज्ज्वल भविष्यमाथि निर्भर रहन्छ, कुनै पनि मुलुकमा बालबालिका कमजोर, गरिब र खराब पालनपोषण भएको अवस्थामा त्यस मुलुकको विकास प्रभावित हुन सक्छ, यो तथ्य र विषयलाई हामी सबैले चिन्तन र मनन गर्न आवश्यक छ”, उहाँले भन्नुभएको छ । उहाँले बाल श्रम र अन्य सबै प्रकारको सामाजिक शोषण÷हिंसाबाट बालबालिकाहरुलाई बचाउन सार्वजनिक जागरुकतासँगै दृढ प्रतिबद्धता र संविधान प्रदत्त बालअधिकारहरुको अक्षरशः कार्यान्वयनमा जोड दिनुभएको छ । 

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी, २८ भदौः जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् । पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस । यो क्याम्पस हाल आएर पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्चशिक्षाको अवसर दिने थलो बनेको छ ।

क्याम्पसमा बर्दिबास घर वा माइती भएका र धनुषाको मिथिला नगरपालिका लालगढका छोरीबुहारीको सङ्ख्या उल्लेख्य छ । विभिन्न क्षेत्रमा कार्यरत र घरगृहस्थी गरिरहेका छोरीबुहारीहरु यहाँ क्याम्पस सञ्चालन भएपछि उच्चशिक्षामा अध्ययनरत् छन् । बर्दिबास–३ पाटुकी गीता खड्काले स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर गर्न विविध कारणले सक्नुभएको थिएन । बर्दिबासमै स्नातकोत्तरको पठनपाठन सुरु भएपछि उहाँले भर्ना गर्नुभयो । खड्का अहिले नेपाली विषयको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा हुनुहुन्छ । 

लालगढकी विमला मोक्तान, गौरी जर्घा, चुरेकी मीना तामाङ र बर्दिबास माइती भएकी प्रियङ्का सुवेदीलगायत स्नातकोत्तर पार लगाउने तयारीमा छन् । उनीहरु सबै शिक्षण पेसामा आबद्ध छन् । “हामी विद्यालयमा गुरुआमा, क्याम्पसमा विद्यार्थी”, प्रियङ्का सुवेदीले भन्नुभयो, “यहीँबाट स्नातक गरेँ, विवाह रौतटहको चन्द्रपुर भयो, अब पढ्न पाइन्न भन्ने थियो, तर माइत बसेर पढ्ने वातावरण मिल्यो ।” बर्दिबासमा यो तहको पठनपाठन सुरु हुनु आपूmहरुलाई बरदान बनेको प्रियङ्कासहितका छात्राहरुको सामूहिक प्रतिक्रिया छ ।

घर नजिक क्याम्पस भएकैले आफूहरु उच्च शिक्षामा जोडिन पाएको उनीहरुको भनाइ छ । “घरकै सिठोपीठो खाएर डिग्री गर्न पाइयो,” अहिले स्वास्थ्य विषयको चौथो सेमेस्टरकी छात्रा मीना तामाङ भन्नुहुन्छ, “यहाँ क्याम्पस नभएको भए हामीजस्ता कमजोर आर्थिक अवस्थाका छोरी पढ्न बाहिर जान सक्दैनथ्यौँ ।” छोरीको उच्चशिक्षामा बाहिर जाने कुरा आर्थिक अवस्था मात्र नभई सुरक्षा संवेदनशीलताले पनि अभिभावक हच्किने गरेका मीनाको बुझाइ छ । क्याम्पसमा अहिले स्नातकोत्तर तहका २१ विद्यार्थीमध्ये १५ जना छोरीबुहारी रहेको क्याम्पस प्रमुख तेजबहादुर खड्का बताउनुहुन्छ । 

क्याम्पसले विसं २०७५ देखि शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरेको हो । बर्दिबास जनता बहुमुखी क्याम्पस सञ्चालनमा आएसँगै उच्चशिक्षा आर्जन गर्ने रहर मारेर बसेका बर्दिबास र वरपरका छोरीबुहारीले पढ्ने अवसर पाएका हुन् । क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्ने प्रायः सबै पाको उमेरका छन् । स्नातक सकेर विभिन्न क्षेत्रमा काममा लागेकाहरु यहाँ स्नातकोत्तर तह अध्ययन गर्न भर्ना भएका छन् । 


स्नातक सकेर स्वास्थ्यक्षेत्रमा सरकारी जागिरे हुनुभएका  रामबाबु यादव र मोहन माझी अहिले स्वास्थ्य विषयमा स्नातकोत्तर गरिरहनुभएको छ । “यहीँ काममा छौँ, यहीँ पढ्न पाइने अवसर जु-यो,” बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखामा कार्यरत ४० वर्षीय यादव भन्नुहुन्छ,  “पढाइमा उमेरको केको छेकवार !”  

स्नातकोत्तर तहमा मात्र नभई स्नातक तहमा पनि छात्राको सङ्ख्या उल्लेख्य छ । स्नातक तहसम्म शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन हुने क्याम्पसमा एक हजार बढी विद्यार्थीमा सात सय बढी छात्रा छन् । स्नातक तहमा अधिकांश नियमित विद्यार्थी कक्षा १२ सकेपछि लगत्तै पढाइ जारी राखेका छन् । बर्दिबास–२ घर भएकी श्वेता अर्याल भन्नुहुन्छ, “मेरो त १२ सकेपछि दुई/तीन वर्ष बाबाको जागिरसँगसँगै हिँड्दा पढाइ नियमित हुन सकेन, विवाह बर्दिबास–२ मा भएपछि कलेज जोडिएँ, स्नातक यहीँबाट सकेँ,” अर्याल भन्नुहुन्छ, “स्नातकको पढाइ र छोरी हुर्काउन सँगसँगै प-यो, तर परिवारजनको मेरो पढाइप्रतिको वास्ताले सहजै पार लगाएँ । वाणिज्य विषयकी छात्रा अर्यालले चौथो वर्षकोे परीक्षा दिइसके पनि परिणाम (नतिजा प्रकाशन) आउन बाँकी रहेको बताउनुभयो ।

घर नजिक क्याम्पस भएपछि छोरीबुहारी पढ्न जान अनुकूल भएको अभिभावक बताउँछन् । आफ्नै घर नजिक क्याम्पस भएपछि गरिबीबीच पनि दुःखसुख पढ्न सकिने वातावरण हुँदा यहाँको क्याम्पसमा छोरीबुहारीको सङ्ख्या बढी भएको अभिभावक हरि दाहाल बताउनुहुन्छ । यस कलेजमा १५ किलोमिटर दूरीसम्मका विद्यार्थी अध्ययनरत् छन् । यसै क्याम्पसबाट स्नातकोत्तर पूरा गर्नुभएकी औरही–७ टिम्कियाकी सुनिता ठाकुरले पढ्ने सङ्कल्प भएपछि केही टाढा र कमजोर आर्थिक अवस्थाको कुराले छेक्न नसक्ने बताउनुभयो ।

तराईमा शिक्षा, स्वास्थ्य र अन्य अवसरमा निकै पछि देखिने गरेका बरही (लोहार, डकर्मी पेसाका तराईको जाति) परिवारकी ठाकुरले करिब १५ किलोमिटर दूरी छिचोलेर स्नातक र स्नातकोत्तरको अध्ययन यसै क्याम्पसबाट पूरा गर्नुभएको हो ।

“एसएलसीपछि मेरो स्टाफ नर्स पढ्ने रहर थियो, गरिबी बाधक बन्यो,” सुनिताले भावुक हुँदै भन्नुभयो, “जे होस् अभावै अभावका बीचमा पनि स्नातकोत्तर पूरा गरेँ ।” नातेदार आफन्तहरुले स्नातक सकिएपछि विवाहको प्रस्ताव ल्याइरहे पनि बुबा रामदुलार ठाकुरले त्यतिखेर यो छोरीको निर्णयमा भरपर्ने बताइदिएर आपूmलाई पढ्ने वातावरण मिलाइ दिनुभएको सुनिताको भनाइ छ । “सम्पत्ति नभएर बुबाले स्टाफनर्स पढ्ने मेरो रहर पु¥याउन सक्नुभएन,” सुनिताले भन्नुभयो, “तर, मेरो पढ्ने इच्छाको सधैँ उहाँले सम्मान र समर्थन गर्नुभयो, मलाई पढ्न र इच्छित काम गर्न छेकवार भएन ।” स्टाफनर्स बन्ने सपना सँगालेकी ठाकुरले स्वास्थ्य विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

विसं २०६४ मा सञ्चालनमा आएको यो क्याम्पसले स्नातक तहका लागि शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पठनपाठन सञ्चालन गर्दै आएको छ । स्नातक तहमा यी सङ्कायभित्र विद्यार्थीले विभिन्न विषयको अध्ययन गर्दै आएका छन् । त्यसैगरी, २०७५ सालदेखि शिक्षाशास्त्रअन्तर्गत नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन क्याम्पसले सुरु गरेको हो ।

क्याम्पसमा अहिलेलाई दुखजिलो कोठा पुगे पनि बढ्ने विद्यार्थी सङ्ख्यालाई अब थप भवन चाहिने क्याम्पस प्रमुख खड्का बताउनुहुन्छ । अहिले छ कट्ठा क्षेत्रफलको आफ्नै नाउँको जग्गामा तीनतले क्याम्पस भवन छ । क्याम्पसमा छजना कर्मचारी र २८ जना शिक्षकसहित ३४ जनाको जनशक्ति कार्यरत छ । यद्यपि शिक्षकमा नौ जनामात्र पूर्णकालीन भएको खड्काले स्पष्ट पार्नुभयो । क्याम्पसलाई बर्दिबास नगरपालिकाले नौ बिघा एक कट्ठा एक धुर जग्गा भोगाधिकारसहित उपलब्ध गराएको छ । यो जग्गा क्याम्पसकै नाउँमा दर्ता हुने प्रक्रिया अघि बढेको छ । अहिले काँडेतार लगाएर घेरिएको यो जग्गामा भविष्यमा क्याम्पस भवन विस्तार गर्न सकिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल बताउनुहुन्छ । 

जताततै सामुदायिक क्याम्पसको शाख गिर्दै गएको प्रतिक्रिया अन्त सुनिए पनि बर्दिबासमा भने शाख बढेको छ । अभिभावकको चासो, शिक्षकको समर्पण, व्यवस्थापन समितिको लगन र विद्यार्थीको मेहनतले बर्दिबास जनता बहुमुखी क्याम्पसले सुनाम कमाएको लामो समय शिक्षण पेसामा रही हाल सेवा निवृत्त हुनुभएका बर्दिबास–१ का केदारबहादुर कोइराला बताउनुहुन्छ ।

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

तुलसीपुर (दाङ), २९ भदौः यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताउनुभयो ।

कार्य योजना बनाइ बजार अनुगमन गर्न मुख्य सचिव अर्यालद्धारा निर्देशन

  काठमाडौँ-नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बजारमा माग र आपूर्तिको अवस्था बुझेर योजनाबद्ध रुपमा बजार अनुगमन गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

तराई विकास सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजारको सुशासनमा देखिएका चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा मुख्यसचिव अर्यालले कार्य योजना बनाई बजार अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “चाडपर्व सुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट सुरु हुने गरेको गुनासो आउने गरेको छ, उपभोक्तालाई ठगिन नदिन कार्य योजना बनाएर बजार अनुगमन गर्नुहोला ।” उहाँले बजार अनुगमनको सङ्ख्या बढाउने भन्दा उपभोक्ताले महसुस गर्नेगरी अनुगमन गर्न निर्देशन दिनुभयो । चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूल्य वृद्धि गर्ने र कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउनसमेत उहाँले निर्देशन दिनुभयो ।

स्थानीय तहसँग समन्वय गरेर मिसावट भएका, गुणस्तर नभएका सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेलाई कारबाही गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उपभोक्ता ठग्नेलाई कारबाहीको दायरामा ल्याउनु होला, कसैले धम्क्याए मलाई जानकारी दिनुहोला ।”

मुख्य सचिव अर्यालले चाडपर्वको बेलामा भएका आपराधिक गतिविधिहरुको रिपोर्ट प्रस्तुत गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभयो । सडकलाई खाल्डाखुल्डीरहित बनाउन, पहिरोहरु पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि गाडीको टिकट खुलाउन मुख्य उहाँले आग्रह गर्नुभयोे ।

नागरिकले शान्तिपूर्वक चाडपर्व मनाउन उहाँले निर्देशन दिनुभयो । उक्त कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले नागरिकको अपेक्षाअनुसार अनुगमन गरिँदै आएको जानकारी दिनुभएको थियो ।

कार्यक्रमका सभापति एवं तराई विकास सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागार्इँले स्वच्छ र प्रतिस्पर्धी बजार बनाउन सरकारी अनुगमन मात्रै पर्याप्त नहुने भएकाले स्वच्छ बजार कायम गर्न उत्पादक, उद्योगी, व्यापारी जिम्मेवार एवं जवाफदेही हुनुपर्ने तथा स्वयं उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

 

अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक तीन सातादेखि बेपत्ता

कास्की-अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसकेको हो । उनीसँगै सम्पर्कविहीन भएका ३७ वर्षीय इरिकका शव दुई दिनपछि स्थानीय भुरुङदी खोलामा फेला परे पनि मोलासको अवस्था अझैसम्म यकिन हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बताउनुभयो ।

घटनापछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले विरेठाँटीदेखि घटनास्थल मौजाखोलासम्मको पाँच किमी क्षेत्रमा खोजी गरेको थियो । “पर्यटक हराएको दिनदेखि नै हामीले नदी किनार तथा अन्य आशङ्का गरिएको स्थानमा खोजी जारी राखेका छौँ तर केही जानकारी हुन सकेको छैन”, गुरुङले भन्नुभयो ।

एक्यापको विरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेकाले पर्यटक हराएको जानकारी त्यस क्षेत्रका होटलव्यवसायी, स्थानीय पालिका, जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीलाई जानकारी गराइए पनि फेला नपरेको गुरुङले बताउनुभयो ।

बाटोमा बेवारिस अवस्थामा दुई वटा झोला फेला परेपछि पर्यटक हराएको पुष्टि भएको थियो । पदयात्रा मार्गमा पर्ने भुरुङदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक चिप्लियर खोलामा खसेको अनुमानसहित खोजी गरिएकामा झरना नजिक आल्मुनियमका दुई वटा स्टिक (लौरी) भेटिएको थियो । 

पदयात्रामा जाँदा पथप्रदर्शक (गाइड) नलिइकन जाँदा पर्यटक हराउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ एजेन्ट्स एशोसिएशन नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गाइडविना गएका पर्यटक पदयात्रामा हराउने, दुर्घटनामा पर्ने तथा दुःख पाउने गरेको बताउनुभयो । 

“नेपाली सहयोगी वा गाइडविना विदेशी पर्यटक पदयात्रामा जान नपाउने नियम छ । तर सो नियमको पालना नहुँदा समस्या पर्ने गरेको छ,” आचार्यले भन्नुभयो । पदयात्रामा हराएका स्पेनिस पर्यटकले नेपाली सहयोगी लगेका थिएनन् । 

कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारियो

कैलाली- कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।अविरल वर्षाका कारण बिहीबारदेखि नदीमा बाढी गएपछि जोखिममा रहेका एक सय ६२ घरका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

कैलालीका पथरिया, कटैनी, काँडालगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकपुर, भजनी नगरपालिका–८ र ३ अन्तर्गतका स्थान डुबानमा परेका उहाँले बताउनुभयो । सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४, ९४ जनालाई जानकी गाउँपालिका–७ फरेला, चार सय जनालाई टिकापुर नगरपालिका–८ वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ । यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९ कुणी खुरखरिया स्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको पनि जोशीले जानकारी दिनुभयो ।

आठ जनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चार जनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, आठ जनालाई सोही स्थानका राधिका ढोली र मधुरा दमाईको घरमा सारिएको छ ।

जिल्लामा छ सय परिवारका दुई हजार सात ८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन् । अविरल वर्षापछिको बाढीबाट दुई जना घाइते भएका छन् । बाढीले छ कच्ची घर र पाँच बिघा जमिन कटान गरी क्षति पुर्‍याएको सूचना अधिकारी जोशीको बताउनुभयो ।

जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ । मोहना, खुटिया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान हुने स्थानका नागरिकलाई उच्च सतर्कता सअपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २९ भदौः आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौँ, २९ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज भने एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यसैगरी, शुक्रबार युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ३८ पैसा कायम भएकामा आज बढेर एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कका अनुसार शुक्रबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा तोकिएकामा आज एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

आज स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा कायम भएको छ ।

जापानी येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ । राष्ट्र बैङ्कका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ

विराटनगर, २८ भदौ : कोशी प्रदेशसभा, विषयगत समितिका सभापतिहरूले आज सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।

यहाँ न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोेत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यस अवसरमा सभामुख विष्टले विषयगत समितिका सभापति निर्विरोध निर्वाचन हुनुले दलका बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कारलाई देखाएको बताउनुभयो । उहाँले लामो समयपछि ‘मिनि संसद्’ का रूपमा रहेका विषयगत समितिले आफ्ना कामकारबाही उचित र प्रभावकारी ढङ्गले सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एमाले सचिवालय बैठकबाट वार्षिक कार्ययोजना पारित

काठमाडौँ, २८ भदौ : नेकपा (एमाले) ले वार्षिक कार्ययोजना पारित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ ।  सबै तहको अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उहाँले बताउनुभयो । 

पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनका लागि विधि बनाइएको छ । पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलले बताउनुभयो ।

पार्टी स्कुल अभियानको रुपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रुपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जोड दिइएको छ । 

पार्टी कार्यालय व्यवस्थित बनाइने

पार्टीले केन्द्रदेखि वडासम्म कार्यालयलाई व्यवस्थित गर्ने उल्लेख गरेको छ । कार्ययोजनामा हरेक कमिटीले आफ्नो बजेट तयार गर्नुपर्ने र वार्षिक बजेट बनाएर आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने रहेको महासचिव पोखरेलले बताउनुभयो । पार्टीका नेता तथा कार्यकताको जीवनशैली, आर्थिक अनुशासन र चारित्रिक प्रश्नमा जनताका लागि प्रिय र स्वीकार्य हुने स्थिति बनाउने कुरा कार्ययोजनामा समेटिएको उहाँले बताउनुभयो । 

बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका विषयलाई वार्षिक कार्ययोजनामा समेटिएको छ । पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको ‘सेल्टर’ प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् । 

युथ समिट गर्ने

एमालेले ४० वर्षभन्दा मुनिका युवालाई समेट्नका लागि ‘युथ समिट’ आयोजना गर्ने भएको छ । युवाको राष्ट्र निर्माण भूमिका स्थापना गर्ने उद्देश्यले समिट आयोजना गर्ने कुरा कार्ययोजनामा राखिएको महासचिव पोखरेलले बताउनुभयो ।

पार्टीले भारत कम्युनिष्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले यचुरीको अन्तिम संस्कारमा सामेल हुनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जानुहुने निर्णय गरेको छ । महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनता जागृत भएको मूल्याङ्कन भएको बताउनुभयो । उहाँले सत्तामा रहेका दलबीचको सहकार्यलाई अझ धनिष्ट बनाउने हिसाबले संसद् र सरकारलाई अझ प्रभावकारी काम गर्ने बताउनुभयो ।

अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : नेता महत

त्रिशूली (नुवाकोट) २८ भदौ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बाध्यामक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको बताउनुभएको छ ।नुवाकोटको सूर्यगढी गाँउपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रममा उहाँले नेकपा (माओवादी केन्द्र) लाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गर्ने निर्णय गर्नुपरेको बताउनुभयो ।

“जनताको सेवा र सरकारी बजेटको सही कार्यान्वयनको लागि (माओवादी केन्द्र) सँगको सहकार्यमा कांग्रेसले त्याग गर्दै आए पनि जथाभावी बजेट बाड्न खोजेर समस्या उत्पन्न गराएपछि दुई ठूला पार्टीबीचको गठबन्धन बनेको हो ।” उहाँले भन्नुभयो, “एमालेसँगको गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ ।”

अहिलेको सरकार तथा गठबन्धनको लक्ष्य देशमा सुशासन दिने, जनताको मागअनुसार विकास निर्माण गर्ने र बजेटको सही कार्यान्वयन गर्ने मान्यता रहेको नेता महतले बताउनुभयो । अहिलेको सरकारको न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै आउने र त्यो अहिलेसम्मकै उत्कृष्ट हुने उहाँको दाबी छ ।

जलवायु परिवर्तनले हिमालयमा अकल्पनीय असर गरिरहेको छ : परराष्ट्रमन्त्री राणा

पाटन (ललितपुर), २८ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा अकल्पनीय असर गरिरहेको छ भन्दै यसको असर रोक्न समयमै सोच्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सात वटा संस्थाको संयुक्त आयोजनामा ललितपुरमा आज आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयका अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्तव्य राख्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने क्रम तीव्र रुपमा बढिरहेको बताउनुभयो । यसले हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैलीमा मात्र नभई पूरै पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारिरहेको उहाँले बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशमा अकल्पनीय रूपमा असर परिरहेको छ, यो ज्यादै चुनौतीको विषय बन्दै गएको छ, हामीले यसबारेमा समयमै सोच्नुपर्ने अवस्था छ । यस क्षेत्रमा बसोबास गर्ने समुदायमा जलवायु परिर्तनका कारणले पारेको प्रभाव अहिले उनीहरूको व्यक्तिगत जस्तो देखिए पनि त्यहाँ सामना गर्नुपरेको जलस्रोतको अभाव र यसबाट उक्त क्षेत्रको कृषि प्रणालीमा परिरहेको छ । जसको प्रभावले हिमालसँगसँगै मानवीय अस्तित्वकै सङ्कट उत्पन्न हुने अवस्था छ”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण निम्तिदै गएका सङ्कटका विषय अत्यन्तै गम्भीर भएर समयमै सोच्नुपर्ने आवश्यकता आवश्यकता औंल्याउँदै उहाँले हिमालय क्षेत्रमा देखिएको यस्तै असरकै कारण केही समय मात्रअघि पूर्वी नेपालको सोलुखुम्बू जिल्लाको थामेमा हिमनदी फुटेर असर परेको बताउनुभयो । 

“अघिल्लो वर्ष पश्चिमको मुस्ताङ जिल्लाको कागबेनीमा बाढीले जनधनको ठूलो क्षति भयो यो जलवायु परिवर्तनको असरले नै भएको हो,” उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न त्यहाँका समुदाय लक्षित कार्यक्रम तत्कालै थाल्नुपर्छ, यो असर हाम्रो देशमा मात्र अन्यत्रका पनि हिमालय क्षेत्रमा भइरहेकाले सबैले सामूहिक रुपमा काम गर्नुपर्छ ।”

हिमाली क्षेत्रमा हिमाल पग्लिएर काला पहाडहरू देखिने, हिमनदीहरू बढ्ने तथा हिमतालहरू फुट्ने, बमौसममा र हिमाली क्षेत्रमा भीषण वर्षा हुने र बाढी आउने आदि जस्ता असर जलवायु परिवर्तनका कारण देखिइरहेको बताउँदै मन्त्री डा राणाले जलवायु परिवर्तनका कारण धेरै क्षेत्रमा असर देखिएको भए पनि हिमाली क्षेत्र बढी जोखिममा परेकाले सो क्षेत्रलक्षित कार्यक्रम सुरु गर्नुपर्ने बताउनुभयो ।

जलवायु परिर्तनका कारण उत्पन्न हुने र भइरहेको असर सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउनका लागि अन्तर्राष्ट्रिय रुपमा नै सबै देश एकताबद्ध भइ लागि पर्नुपर्ने मन्त्री डा राणाको भनाइ छ । 

हिमालयन क्षेत्रका समुदायलाई जलवायु परिवर्तनका असरबाट बच्ने खालका तालिम दिने, जलवायु परिवर्तनले कम असर गर्ने खालका आधुनिक कृषि प्रणालीको विकास गरी त्यहाँका किसानलाई आवश्यक अभ्यासहरू गराउने, उनीहरूलाई जलस्रोतको व्यवस्थापन तथा विपद् जोखिम पूर्वतयारीका अभ्यास गराउने र यसमार्फत दिगो समाधान खोज्ने काम तत्कालै थाल्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री डा राणाले यसका लागि नेपाल र नेपालजस्ता हिमालय क्षेत्रका देशलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग अवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहमा पर्वतारोहण र पर्यटनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्घको वरिष्ठ उपाध्यक्ष आङ छिरिङ शेर्पालाई सम्मान गर्नुभयो । 

माओवादी केन्द्रले राष्ट्रियसभाको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने

काठमाडौँ, २८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभाअन्तर्गतको समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । ती समिति सभापतिको निर्वाचन यही भदौ ३१ गते सोमबार दिउँसो १ बजे हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ । माओवादी केन्द्रले सहमतिका लागि पहल गर्ने नभए प्रक्रियामा गएर भए पनि विजयी गराउने निर्णय गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं सङ्घीय संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

माओवादी केन्द्रले आफूहरूले सञ्चालन गरेको ‘जनयुद्ध’ को अपमान गर्ने गरी प्रतिनिधिसभामा पटक पटक अभिव्यक्ति आएको भन्दै सो विषयमा उचित निरूपण नहुँदासम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

एडिबीसँग अनुदान तथा सहुलियत ऋण सहायता प्राप्तिका लागि वार्ता गर्न टोली गठन

काठमाडौँ । सरकारले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन आयोजना कार्यान्वयनका लागि अनुदान तथा सहुलियत ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेको छ ।

यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) समेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

बैठकले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष ‘रेजिलिएन्ट हाइ भ्यालु एग्रिकल्चरल प्रोगाम’ का लागि प्राप्त हुने करिब नौ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले आगामी असोज २७ देखि २९ गतेसम्म जर्मनीको बर्लिनमा हुने विश्व स्वास्थ्य सम्मेलन र असोज २९ देखि कात्तिक १ गतेसम्म इटालीको रोममा हुने ‘ह्याण्ड इन ह्याण्ड (एचआइएच) इनिसिएटिभ इन्भेष्टमेन्ट’ मा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई स्वीकृति दिएको छ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाललाई आगामी असोज ८ देखि ११ गतेसम्म चीनको बेइजिङमा हुने भ्रष्टाचारविरुद्ध कानुन कार्यान्वयन गर्ने संस्थाहरुको पाँचौँ बैठकमा सहभागी हुन स्वीकृति दिएको छ ।

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्ति गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलगायत आयोजनामा चालु आवका लागि दुई सय १० अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

बैठकले नेपाल सरकारका नाममा दर्ता रहेको काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ को पाँच रोपनी १४ आना सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले हुलाकी राजमार्ग चितवन खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बैठकले गल्छी त्रिशूली मैलुङ स्याफ्रूवेँसी रसुवागढी सडकको स्याफ्रुवेँसी बजार खण्डमा ११ मिटर चौडाईमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनासमेतका आयोजना÷योजनामा तीन सय ५१ राजपत्राङ्कित अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमको चालु आवका लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

बैठकले अन्तरिमरुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजनालगायत निकायको चालु आवका लागि चार सय ७९ अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी रिक्त पदमा सहसचिव माहादेव पन्थलाई बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गरेको छ ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालय, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा हरिप्रसाद लम्साललाई बागमती प्रदेशको प्रमुख सचिव र बागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

मन्त्रिपरिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेल (शर्मा)लाई सुदूरपश्चिमको प्रमुख सचिवमा र निर्वाचन आयोगका सहसचिव रघुराम विष्टलाई गण्डकी प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गरेको छ ।

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : अध्यक्ष दाहाल

काठमाडौं, २८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाधार विकासका लागि मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको समापनमा कार्यक्रममा उहाँले पछिल्लो समय मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको यसलाई अझै बढाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको भन्नुहुँदै अध्यक्ष दाहालले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउ आफूहरूले प्रयास गरिरहेको बताउनुभयो । “हामीले जुन प्रकारको राजनीतिक परिवर्तन गरेका छौँ, त्यसको तुलनामा पूर्वाधार निर्माणलगायत आर्थिक रूपान्तरणका काम अघि बढ्न सकेनन् तर जतिसक्यो राम्रो प्रयासचाहिँ  गरिरहेकै छौँ”, उहाँले भन्नुभयो, “मैले सरकारको नेतृत्व गरेको बेलामा लगानीमैत्री वातावरण बनाउन अत्यधिक प्रयत्न गरेको छु । देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको छ ।”

उहाँले नेपाल पूर्वाधार सम्मेलनले पनि लगानीमैत्री वातावारण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यसका निष्कर्षलाई राज्यले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गर्नुभयो । आफू हाल सरकारमा नभए पनि प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले लगानीमैत्री वातावरण बनाउन र आर्थिक रूपान्तरणमा योगदान दिन लागिरहने उहाँको प्रतिबद्धता थियो ।

अध्यक्ष दाहालले दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाल उद्योग परिसङ्घले सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आइरहेकामा आयोजकलाई धन्यवाद दिनुभयो । “सार्वजनिक–निजी साझेदारीकै आधारमा नेपालमा आर्थिक रूपान्तरण सम्भव भएको र नेपालको मूल अर्थनीति यही भएकाले निजी क्षेत्रबाट गरिने यसप्रकारका पहललाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ । 

यस्ता सम्मेलनबाट प्राप्त निष्कर्षलाई कार्यक्रमिक रूपमा अघि बढाउन पनि आवश्यक छ”, उहाँको भनाइ थियो ।  कार्यक्रममा प्रतिनिधिसभा सांसद विनोद चौधरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको सहभागिता थियो ।

त्यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन लक्ष्य राखेको र उक्त लक्ष्य पूरा गर्न सकिने बताउनुभयो । “नेपालले भारतमा १० वर्षमा १० हजार मेगावाट लैजाने सम्झौता गरेको छ । बंगलादेशसँग समेत हामी सम्झौता गर्दैछौँ”। उहाँले भन्नुभयो, “त्यसका लागि रु ४६ खर्ब लगानी चाहिन्छ, हामी १० हजार मेगावाट उत्पादनका लागि तयार छौँ । नीतिगत रूपमा सहजीकरण चाहिन्छ ।”

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले सरकारले प्रतिस्पर्धी वातावरण बनाउन लागेको बताउनुभयो । “हामीसँग जनशक्तिको सानो क्षमता छ तर काम गरिरहेका छौँ । प्रतिस्पर्धी वातावरण कसरी बनाउन सकिन्छ भनेर हामी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्रसारणलाइनलाई व्यवसायका रूपमा विकास गर्न लागिएको छ । नियमन आयोगले ‘कस्ट रिकभरी’ मोडलका विषयमा गृहकार्य गरिरहेको छ । उत्पादन बढिरहेको छ तर प्रसारणलाइन पर्याप्त छैन ।” 

अध्यक्ष डा धितालले निजी लगानीकर्तासँग छलफल गरेर प्रसारणलाइनको मोडल र जलासय तथा हाइड्रो पम्प स्टोरेजको मोडल तयारीको काम भइरहेको जानकारी दिनुभयो ।

सच्चा वामपन्थी नेतृत्वले मात्र गणतन्त्र र देशलाई अगाडि बढाउन सक्छ : अध्यक्ष नेपाल

गाइघाट (उदयपुर) २८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सच्चा वामपन्थीले मात्रै गणतन्त्र र देशलाई अगाडि बढाउन बताउनुभएको छ । ए

कीकृत समाजवादीले आज यहाँ आयोजना गरेको सन्देशसभामा उहाँले कम्युनिष्ट पार्टी र नेतृत्वले मात्रै प्रजातन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताउनुभयो । सन्देशसभामा नेताहरू राजेन्द्रकुमार राई, बलदेव चौधरी, दुर्गा परियारलगायतले सम्बोधन गर्नुभएको थियो ।

सबैले राष्ट्रका लागि योगदान गर्नुपर्छ : नेता कोइराला

चितवन, २८ भदौ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले हरेक व्यक्तिले योगदान राष्ट्रका लागि गर्नुपर्ने बताउनुभएको छ । स्व.चन्द्रकान्त न्यौपानेको १२ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृतिसभामा उहाँले हरेक व्यक्तिबाट राष्ट्र र जनतामा योगदान हुनुपर्ने बताउनुभयो ।

स्व. न्यौपाने जस्तै ठूलो मान्छे होइन असल मान्छे बन्न सके समाज परिवर्तन हुने विश्वास व्यक्त गर्दै नेता कोइरालाले आफ्नो व्यवहारले आफ्नो पहिचान हुने बताउनुभयो । सामाजिक व्यक्तिले समाजको भलो गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र दिनेश कोइरलाले पार्टीका लागि योगदान गर्नेको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँहरूले पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर जनताको काममा कांग्रेस अग्रपङ्तिमा उभिनुनै न्यौपानेको सच्चा सम्मान भएको बताउनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्वसभापतिहरू जीतनारायण श्रेष्ठ, विकास कोइराला, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमानसिंह गुरुङ, टिकाराम न्यौपाने, कांग्रेस नेता डा सूर्यकान्त घिमिरे, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीलगायतले न्यौपानेले पार्टीमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–६ का सभापति प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व न्यौपानेका छोरा बुद्धिकान्त न्यौपाने, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, सचिव ध्रुव पोखरेललगायतले स्व.न्यौपानेप्रति आ–आफ्ना धारणा राख्नुभएको थियो ।

विसं १९९२ पुस २७ गते लमजुङको दुरडाँडाको देउता पानीमा जन्मनुभएका प्रजातन्त्रका शेनानी चन्द्रकान्त न्यौपानेको  विसं २०६९ भदौ २८ गते तत्कालीन सभापति सुशील कोइरालालाई भेट्न काठमाडौँ जाँदै गर्दा सवारी दुर्घटनामा परी निधन भएको थियो । उहाँ विसं २०३६ बाट अनवरत रुपमा कांग्रेसका सबै आन्दोलनमा अग्रपङ्तिमा रहेर भूमिका निवाह गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २८ भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ्गले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रही आएको बताउनुभयो । “हाम्रा द्विपक्षीय सम्बन्ध आपसी सम्मान, समझदारी एवं सहयोगमा आधारित छन्”, उहाँले भन्नुभयो, “यसवर्ष नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा मनाइरहेका छौँ । यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न हामी तत्पर छौँ ।”  

कोरियाली अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ‘कोइका’ मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पु¥याएको योगदान नेपालका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, “हामी कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा विकास, व्यापार र पर्यटन प्रवर्द्धनलगायत जनस्तरको सम्बन्धलगायत क्षेत्रमा अझ विस्तृत र गहन रूपमा अगाडि बढाउन प्रतिबद्ध छौँ ।” 

सोही अवसरमा दक्षिण कोरियाली राजदूत ताएयोङ्गले नेपालमा सामसङ, हुन्डेलगायत कम्पनीहरूले उत्पादनक क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभयो । “नेपालको किसानलाई स्मार्ट फार्मिङको माध्यमबाट कृषिमा हुने नोक्सान न्यूनीकरणमा सहयोग गर्न कोरिया इच्छुक छ”, उहाँले भन्नुभयो, “इपीएसमार्फत कोरिया गएर फर्केकाका लागि उनीहरूको सीप नेपालमै प्रयोग गराउनमा पनि केरियाको सहयोग रहनेछ ।” 

गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा समयसापेक्ष सुधार आवश्यक : मन्त्री गुरुङ

पाटन (ललितपुर), २८ भदौ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले बहुदलीय व्यवस्थादेखि गणतन्त्रमा आइसक्दा पनि पञ्चायतकालीन कानुनकै भरमा काम गर्नुपर्दा सदमस्या भइरहेको धारणा राख्नुभयो ।

आज यहाँ आयोजित सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को १८औँ साधारणसभा तथा आठौँं अधिवेशनको उद्घाटन समारोहमा उहाँले अहिले पनि विसं २०१३, २०१९ सालको सञ्चरसम्बन्धी कानुनकै भरमा काम गर्नुपर्ने अवस्था रहेको र एक वर्षभित्र त्यसलाई प्रतिस्थापन गरी समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यसवर्ष सञ्चार क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न लाग्नेछु । गणतन्त्रसम्म आइपुग्दा पनि सञ्चारसम्बन्धी पुरानै कानुन हुँदा प्रभावकारी काम हुन सकेको छैन । प्रेस स्वतन्त्रता मर्मअनुसार इमानदारीपूर्वक समस्या समाधानमा लाग्नेछु”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले हरेक क्षेत्रमा हचुवाको भरमा लगानी गर्दा धेरै चुनौती धेरै सामना गर्नुपरेकाले अब त्यही समस्या सामुदायिक रेडियोले पनि सामना गर्नु परिरहेको धारणा राख्नुभयो । “विगतमा अध्ययन अनुसन्धान नगरी धेरै सामुदायिक रेडियो खोल्दा अहिले बढी चुनौती देखापरेको छ । अब एक वर्षभित्र धेरै कानुन बन्छन्, आमसञ्चार विधेयकको मस्यौदा तयार गरिसकेका छौँ, अरू कानुनको मस्यौदा तयार हुँदैछन्, केही मन्त्रिपरिषद्मा जाँदैछन् । साइवर सुरक्षा अहिलेको ठूलो चुनौती हो, त्यस विषयमा पनि कानुन बन्दैछ । सामुदायिक रेडियोको पनि समस्या समाधान गर्छाैं” मन्त्री गुरुङले भन्नुभयो ।

नेपाली कांग्रेस सूचना तथा प्रचारप्रसार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले प्रेसविना लोकतन्त्रको संरक्षण नहुने भन्नुहुँदै प्रेसलाई बलियो बनाउने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । “प्रेसलाई झञ्झटिलो माध्यमबाट हिँडाएर न लोकतन्त्र बच्छ, न वाक स्वतन्त्रता । त्यसैले यस विषयमा गम्भीर भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो,“स्थानीय प्रदेश र सङ्घको छुट्टाछुट्टै कानुन हुँदा प्रेसलाई समस्या भएकाले एउटै कानुनले एकद्वार प्रणालीमार्फत काम गर्ने गरी आवश्यक समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।”

विश्वकर्माले सामुदायिक रेडियोलाई राज्यले फरक ढङ्गले संरक्षण गर्दै सञ्चार क्षेत्रमा भएका विकृति, विसङ्गति र चुनौतीलाई समाधान गर्न राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामुदायिक रेडियोले वर्तमान समयमा भोग्नुपरेका समस्या समाधान गर्न सक्ने नेतृत्व अधिवेशनबाट चयन हुने विश्वास व्यक्त गर्नुभयो । “आज सामुदायिक रेडियोको मुख्य चुनौती स्रोतको व्यवस्थापन हो, यसका लागि सरोकारवालसहितको सहभागितामा समाधानका उपाय निकाल्नुपर्छ । प्रसारण गर्ने सामग्रीहरूमा सुधार, दक्ष जनशक्तिका लागि दलीय आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ” उहाँले भन्नुभयो ।

अकोराबका निवर्तमान अध्यक्ष सुवास खतिवडाले नेपालका सामुदायिक रेडियोले तीन तहको सरकारले बनाएका कडा कानुनले सिर्जना गरेका समस्या झेल्नुपरेको गुनासो गर्नुभयो । उहाँले सञ्चारसम्बन्धी धेरै कानुन बनाएर अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले रेडियो बचाउने अभियानमा नेपाल प्रेस युनियन सधैँ क्रियाशील रहने बताउनुभयो । रेडियोको नवीकरणमा सरकारले दिएको अनावश्यक झन्झटलाई समाधान गर्न सञ्चार मन्त्रालयलाई दबाब दिइएको उल्लेख गर्नुहुँदै उहाँले बन्द रहेका ६२ वटा रेडियो सञ्चालनका लागि सरकारले आवश्यक सहयोग गरिदिनुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अकोराबको अधिवेशनले रेडियोको चाहनानुसारको नेतृत्व स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा रेडियो सगरमाथाबाट सुरु भएको सामुदायिक रेडियो अभियान हाल समस्या रहेकाले एकताबद्ध भएर समाधानमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले अकोराबले नेपालका सामुदायिक रेडियोलाई सकारात्मक दिशामा अगाडि बढाउन, आवाजविहीनका आवाज मुखरित गर्न भूमिका खेलेको बताउनुभयो । उहाँले हिजोको समस्या र कमजोरीलाई सुधार गरेर जनताका आशा र अपेक्षालाई सम्बोधन गर्न लाग्नुपर्ने धारणा राख्नुभयो ।
समाजवादी पत्रकार समाजका अध्यक्ष विश्वमणि सुवेदी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, ब्रोडकास्टिङ एशोसियशन अफ नेपाल (बान) का अध्यक्षकुमार भट्टराईले शुभकामना व्यक्त गर्नुभएको थियो ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले पछिल्लो समय सामुदायिक रेडियो सरकारको उपेक्षामा परेको गुनासो गर्नुहुँदै सदस्य रहेकामध्ये तीन सय १६ रेडियो सञ्चालनमा र ६२ रेडियो बन्द अवस्था रहेकाले दीगो व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

गाजा पोलियो खोप अभियान ‘ठूलो सफलता’– डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार युद्धग्रस्त गाजामा विशाल पोलियो खोप अभियानको पहिलो चरणको सफलताको प्रशंसा गर्नुभएको छ । अभियानमा पाँच लाख ६० हजारभन्दा बढी बालबालिकालाई पहिलो खुराक दिइएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “गाजा पट्टीभर जीवनको दुःखद् दैनिक वास्तविकतामा यो ठूलो सफलता हो ।”

गाजा भग्नावशेषका रूपमा परिणत भएको र यहाँका २४ लाख बासिन्दामध्ये अधिकांश इजरायली सैन्य आक्रमणका कारण आफ्ना घरबाट भाग्न बाध्य भएका कारण त्यहाँ रोग फैलिएको छ । पच्चिस वर्षमा पोलियोको पहिलो मामिला पुष्टि भएपछि लडाइँमा स्थानीयकृत ‘मानवीय रुकावट’ को सहायताबाट १० वर्षभन्दा कम उमेरका कम्तीमा ९० प्रतिशत बालबालिकालाई लक्षित गर्दै सेप्टेम्बर १ मा ठूलो मात्रामा पोलियो खोप प्रयास सुरु भयो ।

सबैभन्दा पहिला मध्य गाजा, त्यसपछि दक्षिण र अन्त्यमा उत्तरका सबैभन्दा कठिन क्षेत्रमा बालबालिकालाई खोप लगाउने अभियानको पहिलो चरण बिहीबार समाप्त भएको छ ।

एघार महिनाभन्दा धेरै समयदेखि घेरिएको गाजामा आवश्यक दोस्रो खुराक प्रदान गर्न नयाँ अभियान करिब चार सातामा सुरु हुनेछ ।

टेड्रोसले भन्नुभयो, “हामी यो जटिल अपरेसनलाई सफल बनाउने सबै स्वास्थ्य टोलीको प्रशंसा गर्दछौँ ।” साथै उहाँले आफ्ना बालबालिकालाई पोलियो खोप लगाउन ठूलो सङ्ख्यामा आउने परिवारहरूप्रति आभार व्यक्त गर्नुभयो ।

प्राय ढल र दूषित पानीबाट फैलिने पोलियोभाइरस अत्यधिक सङ्क्रामक हुन्छ । यो विकृति र पक्षघातको कारण बन्न सक्छ र सम्भावित रूपमा घातक हुनक्छ । यसले मुख्य रूपमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई असर गर्दछ ।

४९ युक्रेनी युद्धबन्दी किएभ फर्केको जेलेन्स्कीको घोषणा

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको घोषणा गर्नुभएको छ । युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पार्नुभएन तर एएफपीका पत्रकारहरूले पहिले रुसी युद्धबन्दीहरूलाई सीमा नजिकैको बसमा राख्दै गरेको देखेका थिए । रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ ।

जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’ लगायतका सर्वसधारणहरू फर्किएका थिए । 
उहाँले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताउनुभयो ।

एएफपीले युक्रेनी झन्डामा बेरिएका र फूल ग्रहण गरिरहेका दुई महिलाले उनीहरू सन् २०२२ मा घेराबन्दीपछि रुसको कब्जामा परेको अजोभास्टल संयन्त्रमा रहेको बताए ।     “अन्ततः म घरमा छु, मलाई विश्वास भइरहेको छैन”, युक्रेनको नेसनल गार्डको सशस्त्र वाहनका कमान्डर २८ वर्षीया तमारा मिरोशनिकोभाले भन्नुभयो ।  अजोभास्टलका लागि लडेकी अर्की २९ वर्षीया महिला टेटियाना बुगायले उहाँ अजोभ ब्रिगेडमा चिकित्सक रहेको बताउनुभयो । 

यसअघि एएफपीले युक्रेनी सेनाले एउटा बसमा रुसी युद्धबन्दीहरूलाई लैजाँदै गरेको देखेको थियो । केहीले आफ्नो अनुहार लुकाउन हुड लगाएका थिए । एउटा मिनिभ्यानमा राख्दा उनीहरूको हुड हटाइएको थियो ।   एएफपीले तीमध्ये केहीसँग संक्षिप्त कुरा गरेको थियो र बोल्ने सबैले उनीहरूलाई गत महिना युक्रेनको आश्चर्यजनक कुर्स्क आक्रमणमा बन्दी बनाइएको बताएका थिए । 

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ, २८ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेकोे बताउनुभएको छ । क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको होटेलियर समिटको उद्घाट्न गर्नुहुँदै उहाँले पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भण्डारीले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको पहिलो प्राथमिकता नीतिगत सुधार गरेर समस्याको पहिचान, समन्वय र सहकार्य गरी अहिलेको चनौतीलाई सम्भावनामा बदल्नुपर्नेछ ।”

उद्योगमन्त्री भण्डारीले सबैभन्दा सम्भावना भएको क्षेत्र पर्यटनमा लगानी गर्न बैंक तथा वित्तीय क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो । सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच विश्वासिलो वातावरण आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

मन्त्री भण्डारीले नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको योगदान बढाउन अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली तथा अन्तर्राष्ट्रिय वायुयानको सङ्ख्या बढाउनुपर्ने बताउनुभयो । “यसका लागि थप देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने, विमानस्थल स्तरोन्नति, पर्यटकीय पूर्वाधारको विस्तार हुन आवश्यक छ”, उहाँले भन्नुभयो,“पर्यटकको औसत बसाइँ अवधि बढाउन सक्नुपर्छ । यसका लागि एकातर्फ पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रुपमा प्रवर्द्धन गरी थप विकास गर्नुपर्नेछ ।
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई पूरा गर्न नेपालमा प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा पर्यटन व्यवसायीसँग सहकार्यका लागि सरकार सदैव तयार र प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र व्यावसायिक वातावरण बनेको बताउनुभयो । उहाँले विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा पर्यटनको महत्वपूर्ण भूमिका रहेकोे बताउनुभयो । पर्यटनको महत्वपूर्ण हस्पिटालिटी क्षेत्रमा तारे होटल थपिँदै गएकाले पर्यटन पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गभर्नर अधिकारीले बताउनुभयो
सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटल भित्रिरहेका र यसले पर्यटनमा विश्वको ध्यान खिचेको धारणा राख्नुभयो । “नेपालको मुहार फेर्ने भनेको पर्यटन र होटेल पूर्वाधार हो । नेपाललाई विश्वको आकर्षक गन्तव्य बनाउन यी उद्योगलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्छ”,उहाँले भन्नुभयो ।

नेपालमा पछिल्लो समय सबैभन्दा बढी लगानी भएको क्षेत्रमध्ये होटल पनि एक हो । नेपालमा बाह्य पर्यटकको लागि सन् १९५१ बाट पर्यटन भिसा दिन सुरु गरिएपछि सोही समयमा पर्यटक केन्द्रित होटल खुलेको थियो । तारे होटल खुल्न लागेको पनि ७० वर्ष हुन लाग्यो । यसबीचमा विश्व प्रख्यात चेन होटल नेपाल आइसकेका छन् भने केही आउने क्रममा छन् ।

सरकारी तथ्याङ्कनुसार नेपालमा पाँचतारे होटल एक सय ८२ र पर्यटकीय होटल, लज तथा रिसोर्टको सङ्ख्या १२३४ रहेको छ । नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको सङ्ख्या ३१ पुगेको छ । कोभिड महामारीको अगाडिका दुई वर्ष १० लाख भन्दा बढी पर्यटक भित्रिएको र गत वर्ष पनि १० लाख भन्दा बढी पर्यटक भित्रिएका छन् । सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणबाट रु ६८ अर्ब सात करोड आय भएको थियो । पर्यटकको औषत बसाइँ १३ दशमलव दुई दिन र औषत खर्च प्रतिदिन ४१ अमेरिकी डलर रहेको छ । नेपालमा सबैभन्दा बढी बिदा मनाउन, मनोरञ्जन गर्न, पदयात्रा र पर्वतारोहणका लागि पर्यटक आउने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढिरहेको पाइन्छ ।

चालु आवको बजेट वक्तव्यमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवद्र्धनका कार्यकम सञ्चालन हुने, नयाँ गन्तव्य पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमतिलाई स्वचालित प्रणालीमा आधारित बनाइने, नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने सरकारको योजना छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, २८ भदौ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका-१ नयाँगाउँ घर भई काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् ।

पक्राउ मध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौं थानकोटबाट, शोभालाई काठमाडौं स्युचाटारबाट र अमृतलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

त्रिवेणी (रुकुमपश्चिम), २८ भदौः रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ । गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज बिहान रा१झ २०० नम्बरको गाडी सडकदेखि तीन सय मिटर तल खेसेको थियो । दुई महिलाको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो भने एक पुरुषको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो । 

उक्त गाडी काठमाडौँबाट रुकुमपूर्व आउने क्रममा बागलुङको गलकोट–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण गाउँपालिकाले नसोचको क्षति बेहोर्नुपरेको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो । 

“सुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो, त्यसपश्चात् पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना प¥र्यो भन्ने खबर पायौँ सामान्य दुर्घटना होला घाइते हुनुभएको होला भन्ने लागेको थियो, केहीबेरमा मृत्युको खबर प्राप्त गर्यौं, हामी स्तब्ध भएका छौँ, पालिकालाई अतुलनीय क्षति पुगेको छ”, उहाँले भन्नुभयो । 

अहिले अध्यक्ष घर्तीसहित गाउँपालिको टोली घटनास्थल गएको छ । बागलुङको बुर्तिवाङ पुगेको र दुई÷तीन घण्टामा घटनास्थल पुगिने गाउँपालिका अध्यक्ष घर्र्तीले जानकारी दिनुभयो । घटनास्थल पुगेपश्चात् शव रुकुमपूर्व नै ल्याइने उहाँले बताउनुभयो ।

‘कृषिमा आमूल परिवर्तन व्यावसायिकरण र यान्त्रिकरणबाट मात्रै सम्भव’: मुख्यमन्त्री आचार्य

देउखुरी(दाङ), २८ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायिकरण र यान्त्रिकरण जरुरी रहेको बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यावसायिक कृषिका लागि कार्यक्रम अघि बढाए पनि युवा पुस्ता यसतर्फ आकर्षित हुन नसक्नु समस्याको रुपमा रहेको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरुले अब स्वदेशमा नै अवसरको सिर्जना गर्नेगरी नीतिगत भूमिका बढाउनुपर्ने धारणा राख्नुभयो । कृषिका विषयमा प्रदेश सरकारले काम गरेको उहाँको भनाइ छ । प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजना अघि बढाएको जानकारी दिनुभयो ।

“युवाले चासो नदिँदा प्रभावकारी हुन सकेन”, उहाँले भन्नुभयो, “मुलुकको विकासका लागि दुई ठूला राजनीतिक दलबीचको सहकार्यले राजनीतिक स्थायित्व दिन्छ, यसबाट युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ, कृषिलाई उद्यम र उद्योगका रुपमा विकास गर्न नवप्रवर्तन कार्यक्रम अघि बढाइएको छ ।” लुम्बिनी प्रदेश कृषि उत्पादनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउदै उहाँले तीन भूगोललाई जोडेर अघि बढ्ने योजना सुनाउनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरुले युवालाई स्वदेशमा नै उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोहीअनुसार कार्यक्रम निर्माण गर्ने बताउनुभयो । मुक्तिनाथ कृषि कम्पनी लि. लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले कृषिलाई वैज्ञानिक र सांस्कृतिक रुपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले नीति नियम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको र सहकारीले बचत तथा ऋण परिचालनमा मात्रै ध्यान दिँदा कृषि क्षेत्र फस्टाउन नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “कृषिमा उत्पादन शैली परिवर्तन गर्न नसक्दा बजारमा माग एकथरी छ, उत्पादन अर्कोथरि भएको छ”, उहाँले भन्नुभयो ।

कृषि क्षेत्रमा लगानीअनुसार पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, तीन तहका सरकारले कृषिलाई प्राथमिकता दिनुपर्ने र भूउपयोग नीति निर्माण गरेर जग्गाको चक्लाबन्दी, कृषि पर्यटनको सम्भावनाको विकास गर्न अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । बजार र मागबीचको असन्तुलन हटाउन सरकारले योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या

खोटाङ, २८ भदौः जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका रहेको जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । जेलर आचार्यका अनुसार जबर्जस्ती करणी मुद्दामा ५३ पुरुषले कैद भुक्तान गरिरहेका छन् ।

जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा सातजनाले कैद भुक्तान गरिरहेका छन् भने, हाडनाता करणी मुद्दामा १५ जनाले कैद भुक्तान गरिरहेको जनाइएको छ । यस्तै, कर्तव्य ज्यान मुद्दामा ३६ पुरुष, नागरिकता कीर्ते मुद्दामा आठ पुरुष, बैंकिङ कसुरसम्बन्धी मुद्दामा एक महिला र तीन पुरुष तथा सवारी ज्यान मुद्दामा एक महिला र पाँच पुरुष छन् ।

लागुऔषध हिरोइन र गाँजा मुद्दामा तीन, खुनडाँका मुद्दामा तीन, सार्वजनिकस्थलमा अभद्र व्यवहार मुद्दामा पाँचजना पुरुषले कैद भुक्तान गरिरहेका छन् । कारागारमा मानव बेचबिखन, ठगी, हातहतियार तथा खरखजना, आगजनी, नकवजनी चोरीलगायत मुद्दामा २१ जना कैदीबन्दी रहेको जनाइएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खान, बस्न र सुत्नसमेत समस्या भएको कैदीबन्दीले बताएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अहिले सञ्चालनमा रहेको तान ग्यारेज (कैदीबन्दीले टोपीलगायत सामग्री बुन्ने ठाउँ)लाई अर्को ठाउँमा सारेर पुरुष कैदीबन्दी राख्ने तयारी गरिएको जेलर आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेपछि कारागारमा कैदीबन्दीको सङ्ख्या वृद्धि भएको जनाइएको छ । प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरमा ल्याएको थियो ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । फरार प्रतिवादी पक्राउ अभियानका लागि जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा शान्ति/सुरक्षा कायम राख्न प्रहरीले बढाएको सक्रियताप्रति जिल्लावासी सन्तुष्ट बनेका छन् । प्रहरीको सक्रियतापछि जिल्लामा आपराधिक क्रियाकलाप कम भएको छ ।

रेसेफाँट पहिरोमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

गोरखा, २८ भदौः धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । “पहिरोमा ज्यान गुमाएकामध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट रु पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “रेशम गुरुङ र रमेश परियारको परिवारलाई रु दुई लाख ५० हजारका दरले राहत दिने निर्णय भएको छ ।”

त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ । गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो ।

मध्यपुरथिमिदेखि पशुपतिनाथसम्मको परिक्रमा यात्रा बुधबार

भक्तपुर, २८ भदौः आगामी बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको यो जात्रालाई सहज रुपमा सम्पन्न गर्न नगरवासी, सुरक्षा निकायका साथै अन्य सम्बद्ध सबै पक्षलाई आव्हान गर्नुभएको छ ।

तीन सय पचास वर्षअघिदेखि जिब्रो छेडेर आयोजना हुँदै आएको परम्परागत यो जात्राका निम्ति आर्थिक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । थिमिदेखि पशुपतिसम्मका यात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीलगायत सहभागी जानकारी आफूलाई प्राप्त भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

जात्राका मुख्य व्यक्ति ७१ वर्षीय नायपमा श्यामकाजी श्रेष्ठले जात्रामा १० इन्च लामो सुइरोले जिब्रो छेडेर तीन वटा सियालाई घुमाएर राख्दा पनि रगत नआउने दैवीशक्ति रहेकोे बताउनुभयो । गतवर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा गर्नु भएका मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दैवी शक्तिको बलमा त्यो पू्रा गरेको जानकारी दिँदै तान्त्रिक शक्तिप्रति बेवास्ता गर्ननहुनेमा जोड दिनुभयो ।

यसअघि २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको बालकरामले गतवर्ष जिब्रो छेडेर महाद्धिप बोकेर मध्यपरथिमिदेखि पशुपतिसम्म र पशुपतिबाट मध्यपुरथिमिको बालकुमारीसम्म आएर सियो झिकेर जात्रा सम्पन्न गर्नु भएको थियो ।

येया पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले १७ किलो मिटरको यात्रा मध्यपुरथिमिबाट गुह्येश्वरी हुँदै पशुपतिनाथको दर्शनपछि पुनः मध्यपुरथिमिको बालकुमारी आएर सुइरो निकालेपछि जात्रा समापन हुने बताउनुभयो । जात्रामा रु लाख खर्च हुने उहाँको अनुमान छ ।

वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा, २८ भदौः बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ । गए रातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्घ भएको छ ।

बाढी र आगजनीको उच्च जोखिमको मधेसमा बीमाप्रति कम आकर्षण

वीरगञ्ज (पर्सा), २८ भदौः मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् ।बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि प्राप्त गर्न सकिने लाभबाट वञ्चित भइरहेका छन् । मधेसको कुल जनसङ्ख्या ६१ लाख १४ हजार छ सय छभने जीवन बीमा गर्नेको सङ्ख्या भने कुल जनसङ्ख्याको आठ दशमलव ९५ प्रतिशत छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेस प्रदेशमा बर्सेनि बाढी र आगजनीका घटना हुने गरे पनि बीमा गर्नेतर्फ सर्वसाधारणको रुचि नभएको बताउनुभयो । “मधेस प्रदेशमा गरिबीको रेखामुनि धेरै सर्वसाधारण छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म मधेस प्रदेशमा निर्जीवन बीमाको जारी बीमालेख सङ्ख्या तीन लाख २६ हजार दुई सय ६७ रहेको छ । बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको प्रतिशत भने छ दशमलव ४१ प्रतिशत छ ।

आव २०८०÷८१ सम्म मधेस प्रदेशमा सक्रिय बीमालेखको सङ्ख्या पाँच लाख १५ हजार दुई सय ७३ छ । गत आवसम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन् । प्रदेशमा बालीको जारी बीमालेख सङ्ख्या तीन सय ४० छ । त्यस्तै पशुपक्षीको जारी बीमालेख सङ्ख्या ११ हजार पाँच सय ११ छ ।

सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी, २८ भदौः मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ।

पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मुस्ताङमा तीर्थयात्रीसहित आर्थिक वर्ष २०८०/८१ सडकमार्ग भएर चार लाख २७ हजार पाहुना भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । पृथक भूबनोट, ताल, गुफा, गुम्बा, धार्मिकस्थल, स्याउ बगैँचा, जनजीवन, रहनसहन र संस्कृतिले पर्यटक लोभ्याइरहेको मुस्ताङ पुग्न भने सहज छैन ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरलानाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्ड मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक हो । विसं २०६३ मा मार्ग खुलेको यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी र पर्वत खण्ड स्तरोन्नतिमा भएको ढिलाइले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष लीलाराम गौतमले बताउनुभयो । “मुस्ताङ पुगेपछि सडक सहज भए पनि मालढुङ्गाबाट बेनी हुँदै मुस्ताङको घाँसासम्मको सडक निर्माणले पूर्णता नपाएको, पहिरो, कटान र बाढीको जोखिमले सास्ती बनाएको छ”, उहाँले भन्नुभयो, “धार्मिक हिसाबले मुक्ति पाउन र प्रकृतिसँग रमाउन मुस्ताङको यात्रा गर्नेहरूलाई म्याग्दी खण्डमा भएको सकसले नराम्रो सन्देश प्रवाह भएको छ ।”

दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति विस २०७३ मा सुरु भएको आयोजनाको आठ वर्षमा ८४ प्रतिशत भौतिक प्रगति भएको छ । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ४८ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजना प्रमुख धु्रवकुमार झाले बताउनुभयो । चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ । मालढुङ्गाबाट कागबेनीसम्म आठवटा खण्डमा कालोपत्र गर्ने ठेक्का सम्झौता भएकामा तीनवटा सकिएको र पाँचवटा जारी रहेको छ । बेनी, तातोपानी र रुप्सेमा तीनवटा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गरिएको छ ।

सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा, पूर्वस्वीकृति नलिई जथाभावी शाखा सडक निर्माण गरिनु, कमजोर भूबनोट, नदी कटान र बाढीपहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाउनु आयोजना निर्माणमा ढिलाइका कारण भएको आयोजना प्रमुख झाले बताउनुभयो ।

बाढी, कटान र पहिरोको चुनौती

बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि पहिरो, कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौतीका रूपमा देखिएको छ । पहिरो र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्यभार बढेको छ । बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँका अनुसार बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ माझखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने बैसरी, चमेरे र गलेश्वरपारि राहुघाटमा पहिरोले सडक निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको महभिर, नागढुङ्गा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार खस्ने पहिरोले सडक जोखिम बनाएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानाको गुइठेभिर, खामभित्ता, लाटाखोलामा बर्सेनि निरन्तर पहिरो खस्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ ।

खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ । काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ‘रकफल’को समस्या छ । मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ । लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ ।

पुलमा बाढी र बगर

दानाको रुप्से र घाँसाको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको थियो । धार परिवर्तन गरिरहने कालीगण्डकीले मार्फा, स्याङ, जोमसोममा सडकलाई कटानको जोखिम छ । विसं २०८० असारमा कागखोलामा आएको बाढीले कागबेनीमा निर्माण भएको मोटरेबल पुल बगाएको थियो ।

मुस्ताङका खोलामा आउने बाढीले थुपारेको गेग्रानको सतह बढेर पुललाई छुन थालेको छ । पाण्डाखोलाको बाढीले पुलको सतहसम्मै गेग्रान थुपारेको छभने धार परिवर्तन गरिरहने समस्या छ । मार्फाखोलाको बाढीले मोटरेबल पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ ।

समाधानका प्रयासहरू

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेको आयोजना प्रमुख झाले बताउनुभयो ।

कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिपिआर तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ । ‘रकफल’ हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रकएङ्करिङ/रकनेलिङ’ गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको भिरबाट खस्ने पहिरो नियन्त्रणका लागि पनि हालै रकएङ्करिङ गरिएको आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कर्कीले बताउनुभयो ।

बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाइभर्सन गरेर सडक संरक्षण गर्न थालिएको छ । बाढीले बगाएको निर्माणाधीन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ । भुरुङखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छाउने तथा सडक फराकिलो बनाइएको छ ।

बेनी–जोमसोम–कोरला सडकमा बाढी, पहिरो र कटानको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न आवश्यक देखिएको छ । तत्कालीन कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने गत जेठमा सडकको अनुगमनमा आएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताउनुभयो ।

“पहिरो र कटानको जोखिम भएको ठाउँमा विस्तृत अध्ययन गरी थप आयोजना सञ्चालन गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “नदी कटान र पहिरो प्रभावित ठाउँमा नियन्त्रणका साथै वैकिल्पक सडक तयार पार्न बजेटको अभाव हुन दिनु हुँदैन ।” कोरलानाकालाई व्यावसायिक हिसाबले सञ्चालनका लागि पहुँचमार्गलाई सहज बनाउन सडक स्तरोन्नति र पुल निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गराउन उच्चस्तरबाट पहल गर्नुपर्ने डा श्रेष्ठले बताउनुभयो ।