`

भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ– विदेशमन्त्री जयशङ्कर

भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’ बताउनुभएको छ । उहाँले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’ रहेको बताउनुभयो ।

विदेशमन्त्री जयशङ्करको उक्त टिप्पणी जेनेभा सेन्टर फर सिक्योरिटी पोलिसीमा राजदूत जिन–डेभिड लेभिटसँगको छलफलका क्रममा आएको हो । 

“यो (भारत–चीन सम्बन्ध) अत्यन्तै जटिल सम्बन्ध हो... इतिहासमा यिनीहरूको खराब समय थियो, उनीहरू दुवै पुनर्जीवित भइरहेका छन् र एक किसिमले कायाकल्प गरिरहेका छन्, उनीहरू एक मात्र दुई देश हुन् जसको जनसङ्ख्या एक अर्बभन्दा धेरै छ”, उहाँले भन्नुभयो, “कुनै मुलुकको उदय हुँदा यसको प्रभाव छिमेकमा पर्छ र यी दुवै मुलुकलाई एकअर्काको छिमेकी भएको सम्मान पनि प्राप्त हुन्छ, त्यसैले मैले जटिल जस्तो सुरक्षित अभिव्यक्ति शब्द किन चयन गरेँ भन्ने तपाईं समग्रतामा बुझ्न सक्नुहुन्छ ।”

उहाँले दुवै मुलुकबीच अतीतमा कठिन सम्बन्ध रहेको र सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको बारेमा बताउनुभयो । “अतीतमा हाम्रो सम्बन्ध सहज थिएन, सन् २०२० मा जे भयो त्यो धेरै सम्झौताको उल्लङ्घन थियो, चीनले ठूलो सङ्ख्यामा सैनिकहरूलाई वास्तविक नियन्त्रण रेखामा बढायो... चीनसँग सीमा वार्तामा केही प्रगति भयो”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार सैनिक फिर्तीको ७५ प्रतिशत समस्या समाधान भइसकेको बताउनुभयो । 

भारतीय विदेश मन्त्रालयका अनुसार विशेष रूपमा भारत र चीनले अगस्ट २९ मा बेइजिङमा डब्लुएमसिसीको ३१औँ बैठक गरेका थिए र दुवै पक्षले सान्दर्भिक द्विपक्षीय सम्झौता र प्रोटोकलअनुसार संयुक्त रूपमा सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्ने निर्णय गरेका थिए । 

विदेशमन्त्रीले सीमा मुद्दाबाहेक दुवै मुलुकले प्रविधि, दूरसञ्चार र डिजिटलसहित अन्य क्षेत्रमा पनि कठिनाइको सामना गरेको बताउनुभयो । “मलाई लाग्छ भारत–चीन सम्बन्धमा ठूला मुद्दाहरू छन्, व्यापार मुद्दामा हाम्रो लामो सङ्घर्ष छ, चीनसँग आर्थिक सम्बन्ध अत्यन्त अन्यायपूर्ण छ”, उहाँले भन्नुभयो, “यो धेरै असन्तुलित छ, हामीसँग त्यहाँ बजार पहुँच छैन, भारतमा उसको बजारसम्म राम्रो पहुँछ छ, प्रविधि, दूरसञ्चार, डिजिटलजस्ता विभिन्न क्षेत्रमा आज हाम्रा धेरै चिन्ता छन् ।”

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

गलकोट (बागलुङ), २८ भदौः कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो ।

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उहाँले बताउनुभयो । उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाउनुभयो । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ ।

“चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती सुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी रु चार सयमा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको छ”, उहाँल्े भन्नुभयो ।

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताउनुभयो । “एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ”, थापाले भन्नुभयो, “जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ, मैले लगाएको रातो ड्रागन हो ।”

मधेस प्रिमियर लिगमा मुख्यमन्त्री सिंह को चासो, क्यान पदाधिकारीसँग छलफल

जनकपु- क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेस प्रिमियर लिग (एपिएल) आरम्भ हुने भएको छ ।मधेस प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दबीच छलफल भएको छ ।

जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दीपककुमार साह र क्यानका उपाध्यक्ष रोशन सिंहसमेतको सहभागितामा भएको मुख्यमन्त्री सिंह र क्यान अध्यक्ष चन्दबीचको यथाशीघ्र एमपिएलको आयोजना गरिने सहमति भएको छ । बैठकमा लिगको स्वरूप र वित्तीय रूपरेखाका बारेमा समेत चर्चा भएको हो ।

एमपिएलमा पाँचवटा टिमले खेल्ने र प्रत्येक टिममा दुईजनासम्म ए लेभलका खेलाडीको सहभागिता रहने तथा ती हरेक टिममा सातजना खेलाडी मधेस प्रदेशकै रहने तय गरिएको छ । एमपिएलका लागि अन्य प्रिमियर लिगजस्तै खेलाडीको चयन बोल बढाबढ प्रतिस्पर्धाका माध्यमबाट हुनेछ ।

मुख्यमन्त्री सिंहले एमपिएलबाट क्रिकेट खेलको गुणवत्ता, मनोरञ्जनको स्तर र आर्थिक योगदानमा बढोत्तरी हुने बताउनुभयो । उहाँले लिगबाट खेलाडीको आर्थिक सुरक्षा, पर्यटन र आतिथ्यमा गुणात्मक वृद्धि र प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । उहाँले एमपिएलबारे आधारभूत कुराको निक्र्योल भइसकेकाले छिटोभन्दा छिटो यसको आयोजन हुने जानकारीसमेत दिनुभयो ।

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने – जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना हो

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा चलेको दशवर्षे जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएको बताउनुभएको छ ।

आजदेखि प्रसारण हुनलागेको विसं २०५२ देखि २०६२ सम्म चलेको जनयुद्धका घटनामा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उहाँहरूले लाखौँ जनता सहभागी भएको जनयुद्धको आवश्यकता र महत्त्व युगौँसम्म चर्चा भइरहने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताउनुभयो । “पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौँलाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छभने त्यो माओवादी जनयुद्ध नै हो”, उहाँले भन्नुभयो, “लाखौँ जनताले यसमा भागमात्र लिएनन्, वर्षौँदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ ।”

कतिपय शक्तिहरूले लाखौँ जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्नेगरी बहस गर्न खोजिएकोप्रति अध्यक्ष दाहालले असहमति जनाउनुभयो । उहाँले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताउनुभयो ।

“कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौँ भनेको पनि सुन्छु”, उहाँले प्रश्न गर्नुभयो, “हामी मूलधारमा आयौँ कि हामीले मूलधार सिर्जना गर्यौँ ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौँ । अन्य दलहरू हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आउनुभएको हो ।”

इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र विद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौँ जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेसपाका अध्यक्ष डा भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुगौली सन्धिअघिको राज्य विस्तारका क्रममा टिस्टाबाट काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौँ जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो । यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तह र तप्काका जनताले भाग लिए ।”

जनयुद्धकै कारण आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्याङ्कन नहुने बताउनुभयो ।

“बच्चा जन्मँदा सालनालसहित जन्मन्छ, पखालेर सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुसीयाली हो”, उहाँले भन्नुभयो, “माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुुसी नै जनयुद्धको मूल पक्ष हो ।”

कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठले टेलिशृङ्खला ‘राधाकृष्ण’ले जनयुद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रबार साँझ प्रसारण हुने जानकारी दिनुभयो । कार्यक्रममा हास्यकलाकार जितु नेपाललगायतले शुभकामना दिनुभएको थियो ।

प्रधानमन्त्री ओली र खानेपानीमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग खानेपानीमन्त्री प्रदीप यादवले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो ।

मन्त्री यादवका अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजना तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो ।

कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो एक सय दिन (२०८१ कात्तिक ६ सम्म), दोस्रो सय दिन (२०८१ माघ १७ सम्म) र आर्थिक वर्षको बाँकी अवधि यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताउनुभयो ।

पहिलो एक सय दिनको अवधिमा मनसुनका कारण अवरुद्ध मेलम्ची खानेपानी आयोजनालाई पुनःसञ्चालनमा ल्याउने, न्युरोड–ठमेल क्षेत्रमा थप ३० किलोमिटर पाइप लाइन विस्तार गर्ने, निर्माणाधीन कीर्तिपुर र महाँकालचौरका पानी पोखरीको निर्माण सम्पन्न गर्ने, धोबीघाट फोहर पानी प्रशोधन केन्द्रलाई दैनिक तीन करोड ७० लाख लिटर क्षमतासहित सञ्चालन गर्ने कार्य सम्पन्न गरिनेछन् ।

यसका साथै भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता गरी आयोजनाको निर्माणकार्य सुरु गर्ने र जाइकाको अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनालाई पनि अगाडि बढाइनेछ ।

दोस्रो एक सय दिनमा काठमाडौँ उपत्यकाभित्रका ढुङ्गेधारा, इनार, पोखरी संरक्षण गर्ने, वर्षाको पानी सङ्कलन तथा पुनःभरणका कार्य सञ्चालन गर्ने योजना रहेको छ । यस चरणमा नेपाल खानेपानी संस्थानबाट थप चार हजार घरमा खानेपानी प्रणाली सुधार तथा विस्तार गरिनेछ । सहरी खानेपानी आयोजनाअन्तर्गत छवटा आयोजनाको समापन गरिनेछ । आर्थिक वर्षको बाँकी अवधिमा नगर क्षेत्रका थप चार हजार घरमा खानेपानी प्रणाली सुधार गरिनेछ ।

साथै, दमक र विदुर ढल आयोजनाको निर्माण सम्पन्न गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका थप परम्परागत पानीका स्रोतको संरक्षण, वर्षाको पानी सङ्कलन तथा पुनःभरणको काम गरिनेछ । सल्लाघारी, कोड्कु र धोबीघाट ढल प्रशोधन केन्द्रको डिजाइन र निर्माणकार्य अगाडि बढाइनेछ ।

मन्त्री यादवले खानेपानी मन्त्रालयका ठूला परियोजनाले जनताको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । सम्झौता राष्ट्रिय लक्ष्य हासिल गर्न सशक्त आधार रहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “यो सम्झौता केवल कागजी प्रक्रियामा सीमित नरही जनताको जीवनमा सुधार ल्याउनेगरी कार्यान्वयनमा ल्याइनेछ । खानेपानी पहुँच र गुणस्तरको क्षेत्रमा देखिएका चुनौती समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ र निर्धारित समयमा काम पूरा गरेर जनतालाई सेवा प्रवाहमा सहजता ल्याउनेछ ।”

सम्झौताअनुसार तोकिएका काम समयमा पूरा गर्न मन्त्रालयले नियमित अनुगमन गर्ने, जनतालाई प्रत्यक्ष लाभ पुर्याउने योजना र परियोजनाको प्रगति समय–समयमा सार्वजनिक पनि गरिनेछ ।

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो

रसुवा, २८ भदौः गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् ।रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए । उनीहरूको साथमा करिब दुई सय अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ ।

धार्मिकयात्रीमध्ये काठमाडौँबाट टिमुरे तथा स्याफ्रुबेँसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । मानसरोवर कैलाशयात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट पाइएको छ । नेपालीका लागि कुनै ट्राभल एजेन्सीले रु एक लाख ३५ हजार र कुनैले रु एक लाख ७० हजारसम्म लिने गरेको यात्रीले बताएका छन् ।

समुद्र सतहबाट पाँच हजार सात सय मिटरको उचाइमा जानुपर्ने भएका कारण ट्रेकिङ एजेन्सीले ठाउँठाउँमा बास राखी हावापानीको वातावरण मिलाउँदै लाने गरेको र १० दिन अन्तरालमा धार्मिकयात्रा सम्पन्न गराई नेपाल फर्काउने गरेको बताइएको छ । यात्री टिमुरे तथा घट्टेखोला क्षेत्रका होटलमा एक रात बस्ने गरेका कारण सीमावर्ती स्थानका होटल तथा लज व्यवसाय चलायमान भएको व्यवसायीले बताएका छन् ।

टिमुरेको घट्टेखोला तथा स्याफ्रुबेँसीमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निजी जग्गामा मात्र भएकाले हेलिप्याड बनाउने दुई स्थानीयवासीले पनि मनग्य आम्दानी लिन सफल भएका छन् । प्रहरीको तथ्याङ्कानुसार नेपालका विभिन्न हेलिकप्टर कम्पनीले जेठदेखि भदौ २४ सम्म चार सय दुई उडान भरेका थिए ।

मानसरोवर कैलाश जाने सवारीसाधन सिधैँ टिमुरेतर्फ प्रस्थान गर्ने भएका कारण धुञ्चेका व्यवसायीले ती यात्रुबाट कुनै पनि लाभ लिन नसकेको बताउँदै यहाँका व्यवसायीले एक रात धुञ्चेमा बसाल्ने वातावरण मिलाउन आग्रह गरेका छन् । धुञ्चेमा बास राख्दा यात्रीलाई यहाँबाट देखिने लाङ्टाङ हिमालको अवलोकन गर्न र नेपालको एकमात्र तामाङ सङ्ग्रहालय अवलोकन गराई हिमाली बासिन्दाको परापूर्वका इतिहास हेर्न सहज हुने बताइएको छ ।

यस्तै रसुवागढी नाकाबाट एक हजारभन्दा बढी विदेशी पर्यटक ल्हासातर्फ गएका छन् । मानसरोवर कैलाश जानका लागि भारतीय नागरिक भने नआएको अध्यागमन कार्यालयले जनाएको छ ।

कैलाश तीर्थ गएका यात्रीमध्ये लेक लाग्ने समस्याका कारण एक विदेशीसहित चारजना नेपालीको मृत्यृ भएको र आठजना नेपाली बिरामी परेको जानकारी सुरक्षाकर्मीले दिए । रसुवागढीको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । दैनिक रूपमा मानिस तथा मालवाहक सवारीसाधन ओहरदोहर भइरहने नाका क्षेत्रमा हुनसक्ने अवैध चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीद्वारा विभिन्न कोणबाट जाँचकार्य तीव्र बनाइएको छ ।

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ ।

विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ ।

नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ ।

विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो ।

टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । रु पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ ।

विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ ।

भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो ।

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

कीर्तिपुर (काठमाडौँ), २८ भदौ : उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ ।

“यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ”, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाउनुभएको छ ।

“गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ”, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उहाँको भनाइ छ ।

कृषिमा निर्यात गर्दै आएका संस्थाहरूले टाटेसिमीको निर्यात सम्भावना देखेपछि दक्षिणकालीका किसानलाई सो बाली लगाउन प्रोत्साहन गरेका थिए । प्रायः काउली र काँक्रो लगाइरहेका किसानले पनि दुवै बालीमा रोेग कीरा बढ्न थालेपछि वैकल्पिक बाली खोजिरहेका थिए । यस्तैमा ललितपुरस्थित कृषि विकास कार्यालयले किसान समूहलाई रु तीन लाख अनुदान दिएको जानकारी पनि उहाँले दिनुभयो । तरकारी निर्यातका लागि भने एक एग्रोजस्ता संस्थाले किसानलाई सघाउँदै आएका छन् ।

अब नासपाती र लप्सी पनि निर्यात गर्न पाए हुने थियो, बलामी थप्नुहुन्छ । कोरोनाकालमा ‘लकडाउन’का कारण लाखौँका लप्सी खेर गएको पनि उहाँले बताउनुभयो ।

अर्का किसान गीता बलामी महिलामध्ये ठूलो परिमाणमा खेती गर्नेमा पर्नुहुन्छ । आफू १७ वर्षको हुँदा कारितास नेपालले दिएको अग्र्यानिक खेतीसम्बन्धी तालिमबाट कृषिकर्ममा प्रवेश गरेकी उहाँले बिहीबार झण्डै तीन सय केजी टाटेसिमी निर्यातका लागि पठाउनुभएको थियो । वर्षायामभरि टाटेसिमी र खुर्सानीको खेती र हिँउदभरि लप्सीको क्याण्डी बनाएर बेच्ने उहाँ पनि लप्सी निर्यात गर्नसके फर्पिङका किसानले थप फाइदा पाउने बताउनुहुन्छ । बालबच्चा सानो भएका कारण केही वर्षयता लप्सीको क्याण्डी बनाउने काम रोक्नुपरेको थियो । विदेश पठाउन सकिने अवस्था आए फेरि त्यो उद्योग सुरु गर्न चाहन्छु, उहाँको भनाइ छ ।

यसबारे रासससँग कुरा गर्दै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले कृषिबाटै नगरपालिकाले समृद्धि हासिल गर्न सक्छ भन्ने मनन् गरी विदेश निर्यात हुनेगरी उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिएको बताउनुभयो ।

दक्षिणकाली नगरपालिकाकी कृषि शाखा प्रमुख पविता राईका अनुसार नगरपालिकाका विभिन्न स्थानमा गरी करिब ३२ रोपनी जमिनमा अर्को महत्त्वपूर्ण नगदेबालीका रूपमा जिम्बुको खेती हुन्छ । जिम्बु दाल, तरकारी अचार आदिमा विशेष स्वाद कायम गर्न प्रयोग हुन्छ । विगतमा हिमाली क्षेत्रमात्र स्रोत रहेका जिम्बुलाई हिमाली क्षेत्र मुस्ताङबाट ल्याइएका बीउले अहिले फर्पिङभरि फैलिएका छन् । नगरपालिकाका करिब ६५ घरका किसानले जिम्बुखेती गरेका छन् । हरेक घरले प्रतिमहिना दुईदेखि तीन क्विन्टल जिम्बु बेच्छन् । वर्षायाममा त १५–१५ दिनमै काटिरहेका हुन्छन्, राई बताउनुहुन्छ ।

जिम्बुलगायतका खेतका आली र डिलमा फूल र फलफूलको खेती गरेर थप आम्दानी गर्न समेत किसान हौसिएका छन् । सुरुमा घरवरपर त्यत्तिकै उम्रिएका फूल लगेर दक्षिणकाली मन्दिरका आउने दर्शनार्थीलाई बेच्दै सुरु भएको थियो फर्पिङमा फूल व्यवसाय । अहिले अन्यत्रसमेत निर्यात गर्नेगरी फैलिएको छ । मौसमी फूल बटुलेर बेच्ने स्थानीय किसान विगत चार–पाँच वर्षयता प्लाष्टिक टनेलमा बेमौसमी फूलखेती गर्ने भएका छन् । स्थानीय जातका गोदावरी र मखमलीको खेती खास सिजनमा मात्र हुने गरेको छभने फर्पिङमा कलकत्ते जात भनिने सयपत्रीको खेती सधैँ हुने गरेको छ ।

नगरप्रमुख बस्नेतका अनुसार नगरपालिकाले कृषिलाई आफ्नो प्रमुख उत्पादन मानेको छ । कृषिमा पनि परम्परागत निर्वाहमुखी बालीलाई भन्दा निर्यातको सम्भावना रहेका तरकारी, फलफूल र लप्सीजस्ता उत्पादन विगत चार दशकयता हुँदै आएको छ । ‘फर्पिङको नासपाती’ परम्परागत प्रसिद्ध ब्राण्ड हो ।

वीरगंजका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

वीरगञ्ज (पर्सा), २८ भदौः वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको आन्दाजी ६६ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानले मस्तिष्कघातका कारणले बिरामी हुनुभएका वरिष्ठ पत्रकार पाण्डेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार अपराह्न उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।

“वरिष्ठ पत्रकार पाण्डे हाम्रो अभिभावक हुनुहुन्थ्यो । उहाँका परिवारका सदस्यका अनुसार उहाँ मस्तिष्कघातका कारणले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ हुनुहुन्थ्यो । उहाँको निधनले पत्रकारिता जगत्ले एउटा हस्ती नै गुमाउन पुगेका छौँ”, उहाँले भन्नुभयो, “उहाँको निधनले पत्रकारिता क्षेत्रलाई अपुरणीय क्षति भएको छ ।” नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पूर्वअध्यक्ष शत्रुघन नेपालले वरिष्ठ पत्रकार पाण्डे गत भदौ १३ गते बाराको डुमारानास्थित घरमा बिरामी भएर थप उपचारका लागि काठमाडौँ जानुभएको बताउनुभयो ।

“गत भदौ १३ गते बाराको डुमारानामा बिरामी हुनुभयो । उहाँलाई उपचार गर्नका लागि एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याउँदासम्म होसमा हुनुहुन्थ्यो । त्यो बेलासम्म कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “नारायणी अस्पतालले थप उपचारका लागि भनेर सोही दिन नै काठमाडौँमा रेफर गरेको थियो ।”

पूर्वअध्यक्ष नेपालका अनुसार वरिष्ठ पत्रकार पाण्डेलाई भदौ १४ गते शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा राखिए पनि भदौ १५ गते भने उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । पुख्र्यौली घर धादिङ भए पनि उहाँले पर्सालाई कर्मभूमि बनाएर पत्रकारिता गर्दै आइरहनुभएको थियो । पाण्डे यसअघि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको पूर्वसचिवसमेत हुनुहुन्थ्यो । पूर्वअध्यक्ष नेपालले वरिष्ठ पत्रकार पाण्डेको निधनले एक कुशल अभिभावक गुमाउनुपरेको प्रतिक्रिया दिनुभयो ।

“वरिष्ठ पत्रकार पाण्डेले सञ्चालन गर्नुभएको उत्थान साप्ताहिक पत्रिकामा २०४१ सालमा मैले सहसम्पादकका रूपमा काम गरेको थिएँ । उहाँले हामीजस्ता धेरैजनालाई पत्रकारिता पनि सिकाउनुभयो”, उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, “उहाँको निधनले एउटा सच्चा अभिभावक गुमाएको महसुस गरेको छु ।” स्वर्गीय पत्रकार पाण्डेका एक छोरा र एक छोरी हुुनुहन्छ । उहाँकी श्रीमती र एक छोराको यसअघि नै निधन भइसकेको छ ।

कोशी प्रदेशसभा : विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

विराटनगर, २८ भदौः कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित हुनुभएको छ । विषयगत समितिका सभापतिको निर्वाचन तालिकाअनुसार बिहीबार मनोनय दर्ता र आज (शुक्रबार) निर्वाचन हुने जानकारी गराइएको थियो ।

न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईँ, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको थियो ।

प्रत्येक समितिमा एक–एकजनाले मात्र मनोनय दर्ता गराउनुभएकाले उहाँहरू निर्विरोध निर्वाचन भएको घोषणा गरिएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । कोशी प्रदेशसभा नियमावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम १३४ बमोजिम निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

प्राप्त जानकारीअनुसार समितिका सभापतिहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस संसदीय दलतर्फ तीन–तीनजना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट एकजनाले उम्मेदवारी दिएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब

कर्णाली, २८ भदौः कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ ।

दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला १० हजार दर्शक बस्ने क्षमताको छ ।

तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रङ्गशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निक्र्यौल निकालिने भनेर फर्कनुभएको थियो । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणकार्य तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएकाले यहाँको प्रगतिबारे जानकारी गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशालावरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । सधैँ ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन ।”

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको तर सरकारले चाहेमा निर्धारित समयमै हुनसक्ने बताउनुभयो । तोकिएको समयमै दशौँ राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँले जिकिर गर्नुभयो ।

प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्यसचिव सञ्ज्यालका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ । भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रङ्गशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको छ ।

परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । “प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो जुन कुराको सम्पूर्ण तयारी हामीले गरेका छौँ”, सदस्यसचिव सञ्ज्यालले भन्नुभयो, “तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामीले यो धेरैपटक भन्दै आएका छौँ । एक महिनाभित्र रङ्गशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन ।”

तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्दा खेलकुद क्षेत्रमा आशा पलाउँछ र यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने संस्कृतिको विकास हुने उहाँको भनाइ थियो । सदस्यसचिव सञ्ज्यालका अनुसार खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन छ र नेपालमा पनि राष्ट्रिय खेलकुद नसार्ने प्रचलन स्थापित गर्दा भोलिका संस्करण समयमै गर्न सकिने हुन्छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रङ्गशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शङ्का नभएको तर खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताउनुभयो । रासससँग कुरा गर्दै मन्त्री चौधरीले भन्नुभयो, “पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजार बढी खेलाडीको बसाल्ने क्षमता नदेखिएकाले जतिसक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ । हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जानसक्छ ।”

यता खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको बताउँदै मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाउनुभयो । फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उहाँको भनाइ थियो । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र त्यसको सञ्चालनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्रयाकमा सिन्थेटिक लाग्न र एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका हामीसँग खेलाडी पनि छन् ।

हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ ।

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय

काठमाडौँ, २८ भदौः अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।

वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो ।

समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गर्नुभएको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुुसार चाड पर्वादि मनाउन स्पष्ट पारिएको उल्लेख छ ।

अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमीे मनाउनुपर्ने समितिले जनाएको छ ।

यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षत्र पर्दा यसको प्रशस्त्य हुनेमात्र हो । यो नक्षत्र विजयादशमीको कारक नभएकाले विजयादशमीको टीका नेपालमा असोज २६ गते र अष्ट्रेलियामा असोज २७ गते मनाउन समितिले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । यसैगरी अष्ट्रेलियामा लक्ष्मी पूजा औँसी तिथि सन्ध्या काल २०८१ कात्तिक १६ गते (२०२४ नोभेम्वर १ तारिक) भएकाले अस्ट्रेलियामा (नोभेम्वर १ तारिक) यसै दिन लक्ष्मी पूजा गर्नुपर्ने र नेपालमा २०८१ कार्तिक १५ गते (२०२४ अक्टोवर ३१ तारिक) मा सन्ध्या कालमा औँसी तिथि भएकाले १५ गते नै लक्ष्मी पूजा गर्नुपर्ने पनि समितिले विज्ञप्तिमार्फत स्पष्ट गरेको हो ।

अष्ट्रेलियालगायत नेपाली र भारतीय वैदिक सनातन हिन्दू धर्मावलम्बी बढी भएका देशमा दसैँ, तिहारजस्ता पर्व भव्य रूपमा मनाइन्छ । यी देशमा सूर्योदयकाल फरक हुने भएकाले तिथि पनि फरक पर्न गएको हो । शास्त्रीय रूपमा जुन तिथिमा जे पर्व मनाउनु भनिएको छ । त्यसैअनुसार कर्म गराउने उद्देश्यले नै समितिको गठन भएको हो । समितिले अन्राष्ट्रियस्तरमा चाडपर्वसम्बन्धी विवाद भएमा निर्णय गर्ने गरेको छ । विश्व ज्योतिष महासङ्घअन्तर्गत समितिले काम गर्ने गरेको छ ।

यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो

काठमाडौँ, २८ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ ।

अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो । त्यसैगरी युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७० र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा कायम भएको छ ।

जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ४१ र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने

काठमाडौँ, २८ भदौः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ ।

हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हुरीबताससहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीसहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गण्डकी प्रदेशद्वारा अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी : मुख्यमन्त्री पाण्डे

गण्डकी, २७ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी गरेको बताउनुुभएको छ । राष्ट्रिय अपाङ्ग कोषद्वारा आज पोखरामा आयोजित ह्विलचेयर वितरण कार्यक्रममा उहाँले अपाङ्गतासम्बन्धी ऐनको तयारी भइरहेको बताउँदै प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताउनुुभयो ।

यसका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताउँदै उहाँले भन्नुुभयो, “यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति छ ।”

अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरणलगायत काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयमार्फत प्रदेश सरकारले गरिरहेको उहाँले बताउनुुभयो ।

अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको र यस विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उहाँले लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा  विशेष ध्यान दिइएको बताउनुुभयो ।
जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारका लागि बहस, पैरवी, समुदायमा आधारित पुनःस्थापना, बीउ पुँजी वितरणलगायतका कार्यक्रममा सहभागी हुन उहाँले आग्रह गर्नुुभयो ।

राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले दैनिक आवश्यकपर्ने सहायक सामग्री कृत्रिम हातखुट्टा, क्यालिपर, वैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयरजस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको जानकारी गराउनुभयो  । कोषले विषेशज्ञबाट नापजाँच एवं तालिमसहित ओम हङ्ग गिल ह्युमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई वितरण गरेको छ । 

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

काठमाडौँ, २७ भदौः काठमाडौँको साँखुमा सञ्चालित सुस्मा कोइराला मेमोरियल अस्पतालले आगोले पोलेको तथा जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुमा विसं २०५४ देखि सञ्चालित सो अस्पतालले आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न लागेको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा सन्तोष भण्डारीले देशभरका आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाइ अस्पतालले निःशुल्क उपचार गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले वार्षिक चार सयभन्दा बढी आगोले पोलेका तथा जलनका बिरामीको उपचार गर्दै आएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगोले पोलेका एक सयभन्दा बढी बालबालिका वार्षिक सुस्मा कोइराला मेमोरियल अस्पताल आउने गरेका छन् । यो अस्पताल नेपालकै पहिलो जलनसम्बन्धी उपचार गर्ने अस्पताल हो । अस्पतालले जलनको उपचारका साथै जलन रोकथामसम्बन्धी विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुग्यो,शैययाको अभावले बरण्डामा राखेर उपचार हुँदै

सुरुङ्गा (झापा), २७ भदौ : यहाँको अर्जुनधारा नगरपालिका–९स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीन जना उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।

प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए । तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिनुभयो । बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो । सो पूजामा प्रसाद खानेहरु बिरामी परेका हुन् । ‘फुड पोइजन’ भइ उनीहरु बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ ।

बिरामीका कारण गाउँ नै सोत्तर भएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी लगायतले अस्पताल पुगेर बिरामीलाई भेट गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । प्रसाद खानेलाई सुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो । केही बिरामीमा उच्च ज्वरो (१०४ डिग्रीसम्म) देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

शनिश्चरे आधारभूत अस्पतालमा शय्या अभाव भएपछि बार्दली र भुइँमा राखेर बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिनुभयो ।

सबै बिरामीको अजुर्नधारा नगरपालिकाले निःशुल्क उपचार गर्ने जनाएको छ । बिरामीलाई थप उपचार आवश्यक परे अन्यत्र अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरप्रमुख गोम्देनले बताउनुभयो ।

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ पूरा

काठमाडौँ, २७ भदौ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, स्पेन र श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ ।समितिले प्रस्तावित राजदूत क्रमशः लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, सनिल नेपाल र रामकृष्ण भट्टराईको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद्ले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उहाँहरु सबैको संसदीय सुनुवाइ सकिएको छ ।

बैठकमा प्रस्तावित राजदूतले आआफ्नो शैक्षिक योग्यता, क्षमता, अनुभव, रुची, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारीका लागि प्रस्ताव गरिएका मुलुकबीचको सम्बन्ध, उच्चस्तरीय भ्रमण, लगानी, व्यापार, पर्यटन, आर्थिक कूटनीतिक, सहयोग तथा निर्यातका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराउनुभयो ।

त्यसअवसरमा संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीले नेपाल, नेपाली जनता, नेपाल सरकारको प्रमुख कार्यसूची, प्राथमिकता, चासो, हित, योजना, समग्र विकास अवस्था र आवश्यकताबारे अमेरिकी सरकारलाई जानकारी गराउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, वन, शान्ति प्रक्रिया र विश्वशान्ति लगायतका क्षेत्रमा नेपालको सफलताबारे अमेरिकालाई जानकारी गराउँदै दुई देशबीच सद्भाव, समझदारी, विश्वास र सम्बन्धका नयाँ आयाम विस्तार गर्न सकिने मेरो विश्वास छ ।”

अमेरिकामा नेपाल सरकारका तर्फबाट कूटनीतिक सेवाका कार्य, नेपाली जनताको हित संरक्षण र सुरक्षामा ध्यान दिने जानकारी दिँदै उहाँले अमेरिकाको सहकार्यमा शान्ति, साझा समृद्धि, वातावरणीय सन्तुलन र न्यायपूर्ण विश्व व्यवस्थालाई दिगो बनाउँदै नेपालको प्रभावकारी उपस्थिति र भूमिका वृद्धि गर्न सदा प्रयत्नशील रहने विश्वास दिलाउनुभयो ।

 संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत घिमिरेले नेपालमा पहिलो कूटनीतिक नियोग स्थापना गर्ने बेलायतसँगको दुई पक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान जनस्तरको सम्बन्ध बढाउँदै उच्च तहको भ्रमण आदानप्रदानलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

 उहाँले भन्नुभयो, “नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार, गोर्खा फौजसम्बन्धी विषयमा वार्ता र छलफल, विकास सहयोग, द्विपक्षीय व्यापारिक सम्बन्ध, प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन प्रवद्र्धन, श्रमबजार र विप्रेषण आप्रवाह, शैक्षिक अवसर, कन्सुलर सेवा, दक्ष नेपाली डायस्पोरा स्थापनाका विषय प्राथमिकतामा राखिने छ ।”

श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र नेपाल र श्रीलङ्काबीच रही आएको बहुआयामिक सम्बन्धलाई समधुर र सुदृढ तुल्याउँदै आर्थिक कूटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने बताउनुभयो ।

उहाँले नेपाल र श्रीलङ्काबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ र सार्थक तुल्याउँदै लुम्बिनी विकासका लागि समेत आर्थिक सहयोग जुटाउने बताउनुभयो । प्रस्तावित राजदूत भट्टराईले श्रीलङ्काबाट नेपालको तीर्थाटन गराउन प्रचार प्रसारको माध्यमबाट उत्साहित तुल्याउने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “लुम्बिनी, काठमाडौँ र कोलम्बोबीच नियमित हवाई उडान सञ्चालन, द्विपक्षीय व्यपारबृद्धि र लगानी वातावरण, विद्यार्थीको नियमित भ्रमण आदानप्रदान, सार्क र विम्स्टेकलाई क्रियाशील, उच्चस्तरीय भ्रमणको वातावरण मिलाउन हर प्रयत्न गर्नेछु ।”समितिले संसदीय सुनुवाइ गरेका प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने वा केगर्ने भन्नेबारे यही भदौ ३० गते बस्ने बैठकबाट आवश्यक निर्णय लिने छ ।

कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ : नेता कोइराला

लेखनाथ (कास्की), २७ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘नेपालमा कृषि क्रान्ति ः सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले भन्नुभयो, “सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको उल्लेख गर्दै उहाँले आफ्नो परिवारको मुख्य पेसा पनि कृषि नै भएको बताउनुभयो । नेपालमा थुपै्र कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारीको परिमाण घटाउँदै जानुपर्ने नेता कोइरालाको भनाइ थियो । “कृषिमा आत्मनिर्भर हुन सके  नेपालको अर्बाँै रुपैयाँ नेपालमै रहन्छ”, उहाँले भन्नुभयो । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी कोइरालाको विचारलाई आत्मसात गर्दै कृषि क्रान्ति ल्याउन सके नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनता नै मालिक हुने भएकाले उनीहरु कै सेवामा दलका नेताहरु लाग्नुपर्ने उहाँको भनाइ थियो । कृषिलाई केन्द्रविन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सभापति शर्माले बताउनुभयो । 

नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आबद्ध भएको नेपालमा कृषिलाई वैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी रहेको बताउनुभयो ।  

नेकपा (माओवादी केन्द्र) का नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको उहाँको भनाइ थियो । “कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्छ”, उहाँले भन्नुभयो ।   कार्यक्रममा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेले पनि आफ्नो धारणा राख्नुभएको थियो । 

आफू मातहतका निकायलाई जग्गा खोज्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, २७ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य निकाय तथा अस्पताललाई मन्त्रालयको जग्गा खोज्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालय मातहतका २४ स्वास्थ्य संस्थालाई जग्गाको विवरण तथा उपभोगको अवस्था खोजेर पठाउन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, भेरी अस्पताल, राष्ट्रिय स्वास्थ्य तामिल केन्द्र, कोशी अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नारायणी अस्पताल, कान्ति अस्पताल, किटजन्य रोग अनुसन्धान, तालिम केन्द्रलगायत स्वास्थ्य संस्था रहेका छन् ।

“ती स्वास्थ्य संस्थालाई जग्गाको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई उपभोग वा लिजमा उपलब्ध गराएको छ वा छैन ? र उपभोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ, सो सबै स्पष्ट खुलाइ पठाउन आग्रह गरिएको छ”, प्रवक्ता डा बुढाथोकीले भन्नुभयो ।

प्रवक्ता डा बुढाथोकीका अनुसार सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि मन्त्रालयले प्रशासन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । मन्त्रालय निकायका नाममा रहेका जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा त्यसको जानकारी मन्त्रालयमा आएर वा पत्राचारद्वारा जानकारी गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

नर्वेका संसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल

काठमाडौँ, २७ भदौः नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा आज छलफल गरेको छ । दुई देशका संसदीय समितिबीच पहिलोपटक छलफल भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताउनुभयो । उहाँले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटघाट भएको उल्लेख गर्नुभयो ।

छलफलमा दुवै संसदीय टोलीका सदस्यहरुले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनका प्रभावहरुको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने सहमति नेपाल र नर्वेबीच भएको छ । त्यस क्रममा सभापति यादवले नेपालको सङ्घीय संसद्को गठन प्रक्रिया, सङ्ख्या तथा संसदीय समितिहरुको काम र क्षेत्राधिकारबारे भ्रमण टोलीलाई जानकारी दिनुभएको थियो । उहाँले नेपालको संसद्मा जनताका आवाजले ठाउँ पाउनुका साथै त्यहाँ उठेका सवालहरुको सम्बोधन गर्ने गरिएको बताउनुभयो ।

नर्वेका पूर्वविदेशमन्त्री, रक्षामन्त्रीसमेत रहनुभएकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ । कञ्जरेभेटिभ पार्टीकी सांसद उहाँले सन् २०१३ देखि ०१७ सम्म रक्षा र सन् २०१७ देखि २०२१ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नीतिगत समन्वय प्रभावकारी भएनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २७ भदौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नीतिगत समन्वय प्रभावकारी नहुँदा सरकारले निर्वाह गर्नुपर्ने दायित्व सोचेजस्तो हुन नसकेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “नीतिगत र कार्यगत प्रणालीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर निचोड निकालेर अघि जानुपर्ने छ ।”

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायबीचको अन्तरमन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक बसेको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ आएपछि पहिलो बैठक २०७९ मा बसेको थियो । आजको बैठक दोस्रो हो ।

समितिले आज बैठकमा राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक सञ्चालनसम्बन्धी कार्यविधि –२०८१ माथि छलफल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयका पदाधिकारी तथा संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकले कार्यविधि संशोधनसहित पारित गरेको छ ।

कार्यविधिले महामारी, स्वास्थ्य सुरक्षा तथा आपत्कालीन व्यवस्थापन उपसमिति, मानसिक स्वास्थ्य, लागुपदार्थ तथा दुव्र्यसनी नियन्त्रण उपसमिति, पोषण, खाद्यसुरक्षा तथा विषादी नियन्त्रण उपसमितिलगायत आठ वटा उपसमिति प्रस्ताव गरेको छ ।

उपसमितिले जनस्वास्थ्यका विभिन्न आयाममा अध्ययन, विज्ञ परामर्श, सरोकारवालाबीच छलफल चलाइ अन्तरनिकायगत कार्ययोजना बनाइ लागू गर्न राष्ट्रिय जनस्वास्थ्य समितिसमक्ष पेस गर्ने, कम्तीमा हरेक चौमासिक रुपमा बैठक सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ । समितिको बैठक कम्तीमा वर्षको दुई पटक बस्ने र आवश्यकतानुसार वर्षमा दुईभन्दा बढी पटक बैठक बोलाउन सकिने विषयमा छलफल भएको थियो ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका प्रगति तथा चुनौतीका बारेमा प्रकाश पार्नुभयो । खानेपानी तथा सरसफाइ, सडक सुरक्षा–सडक दुर्घटना न्यूनीकरण, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम, खाद्य, विषादी नियन्त्रण तथा नियमन, विपद् तथा महामारी व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा जलवायु परिवर्तनलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्तरमन्त्रालय विषयवस्तुमा छलफल केन्द्रित रहेको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी विच्छाले समितिको बैठकले आगामी दिनमा १६औँ योजनाका बुँदाहरुलाई केलाएर छलफल हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, २७ भदौ : नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा काठमाडौँको एउटा होटलमा छलफल कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबरजस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको उल्लेख छ ।

सम्प्रेषित समाचारप्रति परेका उजुरी तथा गुनासा हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार बस्नेतलाई पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासङ्घले जनाएको छ ।

“महासङ्घ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्य पाठकद्वारा विश्वविद्यालय सञ्चालन प्रक्रिया सुरु गर्न ध्यानाकर्षण

सुदूरपश्चिम, २७ भदौः सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्कालअघि बढाउन ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्य धर्मराज पाठकले कहिले मेडिकल कलेज र कहिले विश्वविद्यालय स्थापना गर्ने भन्दै राज्यको रु सात अर्ब लगानी भइसकेको गेटामा निर्माण भएका संरचनामा तत्काल विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापनामा केन्द्र सरकारले विभेद गरेको भन्दै उहाँले प्रतिनिधिसभामा छलफलका क्रममा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक तत्काल पारित गरेर विश्वविद्यालय स्थापनाको काम अगाडि बढाउन माग गर्नुभयो ।

प्रदेशसभा सदस्य जानकी बमले देशका अरु छ प्रदेशमा ‘एमबिबिएस’को अध्ययन अध्यापन भइरहे पनि केन्द्रको विभेदकारी नीतिका कारण सुदूरपश्चिम प्रदेशमा यो विषयको अध्ययन नभइरहेकाले गेटामा तत्काल विश्वविद्यालय सञ्चालन गर्न माग गर्नुभयो ।

स्वास्थ्य शिक्षा प्रदान गर्ने देशका विभिन्न २५ स्वास्थ्य संस्थालाई दुई हजारभन्दा बढी कोटा अध्ययनका लागि छुट्याइएको समाचार सार्वजनिक भएसँगै गेटामा विश्वविद्यालय स्थापनाका लागि जनस्तरबाट गठन भएको सङ्घर्ष समितिले विश्वविद्यालय स्थापनाका लागि पुनःदबाबमूलक कार्यक्रम गरिरहेको छ ।

आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’लाई सभासमक्ष टेबुल गर्नुभयो ।

उक्त विधेयक टेबुल गर्नुहुँदै मन्त्री थापाले तत्कालीन सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुननसकेको अवस्थामा प्रदेशको राजस्व सङ्कलनमा देखिएको शून्यताको अवस्थालाई हटाउन राजस्व सङ्कलनसम्बन्धी विधेयक ल्याउनुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री थापाले महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन २०७९, प्रदेश लोकसेवा आयोगको तृतीय वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्नुभयो ।

सभामुख भीमबहादुर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलको सिफारिसमा प्रदेशसभा सदस्य चक्रबहादुर मल्ललाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएको व्यहोरा जानकारी गराउनुभयो ।

रास्वपाको राष्ट्रिय भेलामा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने

काठमाडौँ, २७ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पहिलो राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आज आयोजित पत्रकार सम्मेलनमार्फत भेलाका लागि १५ दिनदेखि तयारी गरिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट एक हजार पाँच सय प्रतिनिधिले सहभागिता जनाउने उहाँले बताउनुभयो ।“तयारी सुरु गरेको १५ दिन भयो । केन्द्रीय समितिदेखि पालिकाका प्रतिनिधिसम्म भेलामा अटाउने कोसिस गरेका छौँ”, कार्यवाहक महामन्त्री बुर्लाकोटीले भन्नुभयो ।

उहाँका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको पार्टी संरचना छ । वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोटगरी ल्याउने व्यवस्था गरेको महामन्त्री बुर्लाकाटीले जानकारी दिनुभयो ।

“निर्वाचन क्षेत्र समिति, जिल्लाको संयोजक उपसंयोजक, प्रदेशको समिति, विभाग, आयोग र अन्य संयन्त्रसँगै केन्द्रीय समिति, विभाग र संरचना सहभागी हुने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “चाडपर्वको नजिकै भएका कारण एक हजार पाँच सय जना उपस्थित हुनेगरी तयारी गरेका छौँ ।”

यस भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरिरहेको छ । भेलामा राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।

नवप्रवर्तन उद्यमलाई चेम्बर अफ कमर्सले सहयोग गर्ने

काठमाडौँ, २७ भदौः नेपाल चेम्बर अफ कमर्सले नवप्रवर्तन उद्यमशीलताका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको ‘स्टार्टअफ एण्ड इनोभेसन’ समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा नवप्रवर्तन उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पङ्कज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गर्नुभयो । चेम्बरले युवा उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता र लगानीका लागि सहजीकरण गर्ने जनाइएको छ । यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचारप्रसार गर्ने सम्बन्धमा सहमति भएको हो ।

सम्झौता कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नवप्रवर्तन उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो । युवालाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअपप एण्ड इनोभेसन समितिमार्फत काम गरिरहेको अग्रवालले बताउनुभयो । स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवालाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

काठमाडौँ, २७ भदौः रक्षामन्त्री मानवीर राइले मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव कृयाशिल रहेको बताउनुभएको छ ।रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ कार्यक्रममा उहाँले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताका हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो, “नेपाल राष्ट्रको निर्माणदेखि नै सेनाले सरकारको निर्देशनलाई जहिल्यै शिरोधार्य गर्दै मुलुक र जनताको सेवामा तत्पर रहिआएको छ । सेना राष्ट्रिय सुरक्षाका अतिरिक्त द्रुतमार्गसहित रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणमा क्रियाशील छ ।”

प्रधानसेनापति सिग्देलले नेपाली सेना संविधान, कानुन र स्थापित मूल्यमान्यताको परिधिभित्र रही देश र जनताको हितका काम गर्दै सङ्गठनलाई सुदृढ तुल्याउने कार्यमा निरन्तर सक्रिय रहेको बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले लामो अभ्यास, उच्च दृढता, आर्थिक अनुशासन, कानुनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका सङ्गठन प्रमुख भई दुवै जनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको समग्र सुरक्षा एवं प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न मन्त्रालयले नीति निर्माण र सेनाले कार्यान्वयन तहमा अग्रणी भूमिका निर्वाह गर्नुपर्र्ने हुँदा दुवै निकयबीच सदैव सुमधुर र पारस्परिक सहयोगात्मक सम्बन्ध रहिआएको छ ।”

निवर्तमान प्रधानसेनापति शर्माले नेपाली सेनाजस्तो पवित्र सङ्गठनको नेतृत्वमा रही राज्य र जनताको सेवामा राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले मन्त्रालय र सेनाबीच अत्यन्त घनिष्ठ, सौहार्दपूर्ण र सुदृढ सम्बन्ध रही आएको बताउनुभयो । उहाँले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्वर्द्धनलगायत मुलुकको समग्र सुरक्षा प्रणालीलाई सुदृढ तुल्याउन निवर्तमान प्रधानसेनापति शर्माले नेतृत्वमा रहेर निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।

सेनाको थप सङ्गठन सुदृढीकरण, प्रतिष्ठा वृद्धि तथा क्षमता विकासलगायत काममा प्रधानसेनापति सिग्देलको कार्यकालमा विशिष्ट योगदान भएको र काठमाडौँ–तराई–मधेस दु्रतमार्गलगायतका विकास निर्माणलाई उच्च गतिमा अघि बढाउन सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा मन्त्री राईले प्रधानसेनापति र पूर्वप्रधानसेनापतिलाई सम्मान गर्दै मन्त्रालयकातर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।

राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौँ, २७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट गर्नुभयो ।

“पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातोमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौँ ।”

कोभिड–१९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

महिला लिग फुटबल : बागमती युवा क्लबमाथि आर्मीको जित

काठमाडौँ, २७ भदौः विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले बागमती युवा क्बलाई ३–० गोलले पराजित गर्दै विजयी भएको हो । जितसँगै चार खेलमा नौ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती समान खेलबाट तीन अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

यसअघि सङ्कटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग भने हार ब्यहोरेको थियो । यसअघि सुदूरपश्चिमलाई हराएको बागमती, कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

आज आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । खेलको २६औँ मिनेटमा विमलाको गोलमार्फत आर्मीेले पहिलो अग्रता लियो । त्यस्तै खेलको ६१औँ मिनेटमा अमिशाले टोलीको अग्रता दोब्बर बनाइन् । खेलको ९०आँै मिनेटमा बागमतीकी सञ्जी थिङबाट आत्मघाती गोल भएसँगै आर्मीले बागमतीमाथि ३–० को सहज जित दर्ता ग-यो ।

कोलम्बो ‘आर्ट एक्स्पो’मा सुमनका मिथिला चित्रकला प्रदर्शित

काठमाडौँ, २७ भदौ : चित्रकार एससी सुमन श्रीलङ्कामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको छ ।

अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी हुनुभएका सुमनले मिथिला चित्रकला प्रदर्शन गर्नुभएको छ । उहाँको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगत्को भाव समेटिएको छ ।

एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताउनुभयो । एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उहाँले राससलाई बताउनुभयो ।

“सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ”, उहाँले भन्नुभयो, “यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।” एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिनुभयो । चारदशकदेखि मिथिला कलामा सक्रिय उहाँले बेलायत, चीन, श्रीलङ्कामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसक्नु भएको छ । नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गर्नुभएको छ ।

‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलङ्काको कला सङ्कायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएका छन् । सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।

ईसीबीले ब्याजदरमा कटौती गर्ने सङ्केत

मुद्रास्फितिमा आएको सुस्तता र आर्थिक परिदृश्य अँध्यारो हुँदै गएपछि युरोपेली केन्द्रीय बैङ्कले बिहीबार फेरि ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ।बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो।

फ्रयाङ्कफर्टस्थित बैङ्कले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो ।ईसीबीको प्रशासकीय परिषद् (गभर्निङ काउन्सिल)ले जुलाईमा उधारो लागतलाई नियन्त्रणमा राखेको थियो तर अर्को त्रैमासिक बिन्दु बिहीबार ब्याजदरमा कटौती गर्ने अपेक्षा गरिएको छ । यो निर्णयले व्यवसाय र नागरिकहरूलाई थप राहत प्रदान गर्नेछ।

युरो प्रयोग गर्ने २० देशका लागि मौद्रिक नीति तय गर्ने ईसीबीबाट सन् २०१९ पछि यो दोस्रो दर कटौती हुनेछ ।बेरेनबर्ग बैङ्कका अर्थशास्त्री होल्गर स्माइडिङले भन्नुभयो, “हालका सबै ईसीबी वक्ताहरूले दरहरू घटाउन चाहेशो पुष्टि गरेका छन्।”

नीति निर्माताहरूको कटौतीको साथ अगाडि बढ्ने विश्वासलाई विगत एक वर्षमा उथलपुथल भएको मुद्रास्फीति अब अझ निरन्तर गिरावटको मार्गमा रहेको सङ्केतहरूलाई बल दिएको छ ।

युरो जोनको मुद्रास्फीति अगस्टमा तीन वर्षयताकै न्यून विन्दुमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य वृद्धि ठीक एक बर्ष अघिको तुलनामा २.२ प्रतिशतमा खुम्चिएको छ, जुन जुलाईको २.६ प्रतिशतबाट पनि कम हो।

सन् २०२२ को अक्टोबरमा रुसले युक्रेनमाथि गरेको आक्रमण र महामारीपछिको आपूर्ति शृङ्खलाको समस्याका कारण खाद्यान्न र ऊर्जाको लागत बढेपछि मुद्रास्फीति दर १०.६ प्रतिशत पुगेको थियो ।

अमेरिकी फेडरल रिजर्भले पनि हालैको कमजोर तथ्याङ्क र लामो समयकाृ बजारको उथलपुथलपछि अर्को हप्ता आफ्नो बैठकमा ब्याजदर कटौती सुरु गर्ने तयारी गरेको छ ।यसले ईसीबी नीति निर्माताहरूलाई पनि उनीहरूको आफ्नै कटौतीको साथ अगाडि बढ्ने बारेमा आत्मविश्वास बढाउनेछ।

लगानीकर्ताले ईसीबीकी प्रमुख क्रिस्टिन लेगार्डको बैठकपछिको पत्रकार सम्मेलनलाई नजिकबाट नियालिरहेका छन् ।आइएनजी बैंकका अर्थशास्त्री कास्र्टन ब्रेजेस्कीले भन्नुभयो, “यो अव्यवस्थित तस्वीरको अर्थ सेप्टेम्बरपछिको ब्याजदर कटौतीको निर्णय वित्तीय बजारको मूल्यभन्दा बढी जटिल र विवादास्पद हुन सक्छ। फलस्वरूप, हामी बिहीबारको बैठकमा कुनै नयाँ अग्रगामी मार्गदर्शनको अपेक्षा गर्दैनौं।”

रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

दमौली (तनहुँ), २७ भदौ : यहाँको भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर आज एक वृद्धको मृत्यु भएको छ ।

सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

‘निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइनेछ’ – मुख्यमन्त्री कार्की

मोरङ, २७ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनुभएको छ ।नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा आज मोरङको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ सङ्कल्पित रहेको जानकारी दिनुभयो ।

उहाँले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान गराउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिनु आजको आवश्यक्ता रहेको चर्चा गर्नुभयो ।

उहाँले प्रदेशको विसं २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजनामा कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको सहकार्यमा विसं २०८१ मै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सय वटा कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलस्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास राख्नुभयो ।

उहाँले निजी क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट कृषिको बजारीकरण, कृषकलाई उत्पादनमा सहयोग पुग्ने विश्वास राख्नुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधिकरण गरी बजार विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विसं २०८१–९१ कृषि लगानी दशक घोषणा गरेको जानकारी दिनुभयो । उहाँले उक्त कार्यले कृषि क्षेत्रमा निजी क्षेत्रको सहभागिता कायम भइ कृषिमा व्यवसायीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सञ्चालन गरी कृषि प्रवर्द्धनमा सहयोग पु-याउनु पर्नेमा जोड दिनुभयो । महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्वीस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा निजी क्षेत्रलाई आकर्षित गरी निर्यात गर्न सकिने धारणा राख्नुभएको थियो ।

चार दिनेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा एक सय ३० वटा स्टल छन् । स्टलमा कोशी प्रदेश, भारतको विहार र बङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपन्छी, पर्यावरणमैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल, नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, कृषि पन्छी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेका छन् ।

कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु-याउन एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।

इमान्दारिताका साथ जिम्मेवारी सम्पादन गर्न गृहसचिवद्वारा निर्देशन

काठमाडौँ, २७ भदौ : गृहसचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिबिधिका बारेमा जानकारी लिनुभएको छ ।

सो अवसरमा उहाँले सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायत देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनको समस्या तथा चुनौतीका बारेमा जानकारी लिनुभएको थियो । सोही अवसरमा गृहसचिव दुवाडीले सशस्त्र प्रहरील स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको बताउनुभयो ।

उहाँले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूित दिलाउन सकेमा मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालमा श्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरुको सेवा, सुविधा र वृत्तिविकासमा मन्त्रालयको सदैव साथ रहने जनाउँदै उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिता र जवाफदेहितासहित थप प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशन लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू परिचालित कार्यक्षेत्रमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका सम्पुूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

निरीक्षण भ्रमणकाक्रममा गृहसचिव दुवाडीले प्रधान कार्यालयमा रहेको बोर्डर रिसोर्स एण्ड रिसर्च सेन्टर, केन्द्रीय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्धारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरुको अवलोकन गर्नुभएको थियो ।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र वंशिराज दाहाल, गृह मन्त्रालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : राष्ट्रसङ्घ

विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको छ । यद्यपि, अझै पनि जलवायु परिवर्तनको प्रभावलगायत अन्य विषयको न्यूनिकरण आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वको ५२.४ प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ प्राप्त गरेको छ । विश्वको आधाभन्दा बढी मानिसहरूले सामाजिक सुरक्षामा आफ्नो पहुँच सुनिश्चित गरेको यो पहिलो रेकर्ड हो ।

“यो स्वागतयोग्य प्रगति हो । तर अप्रकाशित वास्तविकता यो पनि हो कि अझै पनि ३.८ अर्ब मानिसहरू पूर्ण रूपमा असुरक्षित छन्,” विश्वव्यापी रूपमा तीन चौथाई भन्दा बढी बालबालिकाको अझै पनि कुनै पनि किसिमको सामाजिक सुरक्षा प्राप्त नगरेको जानकारी गराउँदै आईएलओले आफ्नो प्रतिवेदनमा भनेको छ ।

आईएलओले सामाजिक सुरक्षा क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच र विशेष गरी बुढ्यौली, बेरोजगारी, रोगी, अशक्तता, प्रसूति वा परिवारमा मुख्य आम्दानी गर्ने व्यक्तिको मृत्यु साथै बच्चा भएका परिवारहरूका लागि सम्बन्धित आय सुरक्षा उपायहरूको पहुँच समावेश गरेको छ ।

“सामाजिक सुरक्षाको सन्दर्भमा विश्वमा रहेको भिन्नता हटाउन ढिलो भइरहेको छ”, आइएलओले चेतावनी दियो । “यही गतिमा विश्वका हरेक मानिसलाई कम्तिमा एउटा सामाजिक सुरक्षामा समावेश गराउन थप ४९ वर्ष लाग्नेछ”, प्रतिवेदनमार्फत चेतावनी दिइएको छ ।

आईएलओ प्रमुख गिल्बर्ट होङ्बोले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित विश्वका धेरै देशमा देखिएको सामाजिक सुरक्षा दरमा विशेष चिन्ता व्यक्त गर्नुभएको छ । “यस सङ्कटको सबैभन्दा क्रूर परिणाम भोगिरहेका देश वातावरणीय र जीविकोपार्जनका परिणामहरू सामना गर्न असक्षम छन्,” उहाँले भन्नुभयो ।

जलवायु सङ्कटको सबैभन्दा जोखिममा रहेका २० देशको कुल ९१.३ प्रतिशत अझै पनि कुनै पनि प्रकारको सामाजिक सुरक्षाको अभाव छ, बिहीबार सार्वजनिक भएको प्रतिवेदनले जनाएको छ ।

आईएलओले सार्वजनिक गरेको प्रतिवेदनले सामाजिक लाभले मानिसलाई आय सुरक्षा र स्वास्थ्य सेवामा पहुँचजस्ता कुराहरू सुनिश्चित गरेर जलवायुसम्बन्धी आघात अनुकूल बनाउन र सामना गर्न मद्दत गर्न सक्छ भन्ने कुरा औंल्याएको छ ।

आइएलओले विश्व हाल दुई धेरै फरक र भिन्न सामाजिक सुरक्षा मार्गहरूमा रहेको चेतावनी दिएको छ ।

उच्च आय भएका देशहरूको लगभग ८६ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा छन् । उच्च–मध्यम–आय भएका देशका ७१.२ प्रतिशत जनसङ्ख्याले समाजिक सुरक्षाको लाभ लिईरहेका छन् भने कम–मध्यम–आय भएका देशको ३२.४ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा रहेको प्रतिवेदनले जनाएको छ ।

उच्च आय भएका देशहरूले सामाजिक सुरक्षाको क्षेत्रमा आफ्नो कुल गार्हस्थ उत्पादनको १६.२ प्रतिशत खर्च गर्छन् भने जलवायु परिवर्तनको जोखिममा रहेका देशसहित कम आय भएका देशहरूले मात्र ०.८ प्रतिशत खर्च गर्छन्।

गरिब देशहरूलाई कम्तिमा आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्न एक वर्षमा थप ती खर्ब आठ अर्ब ५० करोड डलर चाहिन्छ र त्यो लक्ष्यमा पुग्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकतामा आइएलओले जोड दिएको छ ।

चीनको मन्दीको कारण विश्वव्यापी इन्धनको माग न्युन

चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले बिहीबार जनाएको छ ।

सन् २०२३ को पहिलो छ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेकोमा सन् २०२४ को सोही अवधिमा यो माग प्रतिदिन आठ लाख ब्यारेलमा पुगेको आइइएले आफ्नो मासिक तेल बजारको प्रतिवेदनमा जनाएको छ ।

मन्दीको मुख्य कारण सुस्त भएको चिनियाँ अर्थतन्त्रमा जुलाईमा लगातार चौथो महिनाको लागि उपभोग दरमा सङ्कुचित आएको आइइएले जनाएको छ ।

विश्वको शीर्ष उपभोक्ता र तेलको आयातकर्तामध्ये एक विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीन कमजोर उपभोक्ता खर्च, घरजग्गा कारोबारमा आएको सङ्कट र उच्च बेरोजगारीको बीचमा सङ्घर्ष गरिरहेको छ ।

जिवावशेष इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चीनको नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आइइएले जनाएको छ । विद्युतीय सवारीको बढ्दो बिक्रीले सडक सवारीका लागि खर्च हुने इन्धनको माग घट्दा उच्च गतिको रेल सञ्जाल विकासले चीनको घरेलु हवाई यात्रालाई सीमित गरिरहेको आइइएले जनाएको छ ।

विश्वव्यापी तेलको माग औसतमा नौ लाख ब्यारेल प्रतिदिनले बढ्ने पूर्वानुमान गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा करिब ७० हजार ब्यारेल प्रतिदिनले कम हो ।यसले कुल माग लगभग १० करोड ३० लाखमा झार्छ ।

‘ग्लोबल इकोनोमिक आउटलुक’ले यस वर्ष तेलको मूल्य घट्ने निश्कर्ष निकालेको छ । यस हप्ता, अन्तर्राष्ट्रिय मापदण्डअनुसार ब्रेन्ट नर्थ सीबाट प्रशोधन हुने इन्धन डिसेम्बर २०२१ पछि पहिलो पटक प्रति ब्यारेल ७० डलरभन्दा तल झरेको छ ।

मूल्यमा आएको गिरावटले साउदी अरब र रूससहित तेल उत्पादन तथा प्रशोधन गर्नेए राष्ट्रहरूको ओपेक समूहले प्रमुख सदस्यहरूलाई नियोजित उत्पादन वृद्धि स्थगित गरी यसको सट्टा नोभेम्बरको अन्त्यसम्म स्वैच्छिक आपूर्ति कटौती विस्तार गर्न प्रेरित गरेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा विभागले अर्को वर्षका लागि मागको सम्भावनाको थप मूल्याङ्कन गर्न केही समय लाग्ने बताएको छ। तर गैर–ओपेक राष्ट्रहरूबाट आपूर्तिमा समग्र मागभन्दा छिटो बढ्दै जाँदा, समूहले यसको अतिरिक्त प्रतिबन्धहरू कायम रहेता पनि पर्याप्त अधिशेषतिर हेरिरहेको हुनसक्ने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी रूसमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने : विदेशमन्त्री

चीनका राष्ट्रपति सी चिनफिङ अर्को महिना रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने चिनियाँ विदेशमन्त्रीले बिहीबार जानकारी गराउनुभएको छ ।

उदीयमान अर्थतन्त्रको शिखर सम्मेलन अक्टोबर २२ देखि २४ सम्म दक्षिणपश्चिमी रूसी शहर कजानमा आयोजना हुनेछ । सम्मेलनमा क्रेमलिनले आफ्नो प्रभाव विस्तार गर्ने र विशेषगरी बेइजिङसँग नजिकको आर्थिक गठबन्धन बनाउने अवसर पाउने अपेक्षा गरेको छ ।

“राष्ट्रपति सी तपाईंको निमन्त्रणा स्वीकार्दै निर्धारित कार्यक्रमअनुसार कजान पुग्न पाउँदा निकै खुसी हुनुहुन्छ”, सेन्ट पिटर्सबर्गमा भएको भेटमा विदेशमन्त्री वाङ यीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भन्नुभयो, “सम्मेलनका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच थप रणनीतिक छलफल हुनेछ ।

उहाँले पुटिन र सीबीच ‘बलियो पारस्परिक विश्वास र गहिरो मित्रता’ रहेको पनि बताउनुभयो ।

स्थापनाकालमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त नामबाट नामकरण गरिएको ब्रिक्स समूहले विश्वको लगभग आधा जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ भने संयुक्त अरब इमिरेट्स र इरानसहित अन्य प्रमुख उदीयमान अर्थव्यवस्थाहरूलाई समावेश गरी यसलाई विस्तारित गरिएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि पुटिनले सहयोगका लागि चीनलाई हेरिरहनुभएको छ र मस्कोले पश्चिमा मुलुकबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेका बेला मित्र राष्ट्रहरूले व्यापारलाई उच्च स्तरमा पु¥याएका छन् गत महिना पुटिनले चिनियाँ प्रधानमन्त्री ली कियाङलाई क्रेमलिनमा स्वागत गर्दै चीनसँग रुसको आर्थिक र व्यापारिक सम्बन्धले ‘परिणाम दिने’ बताउनुभएको थियो ।

‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइनेछ’ – अर्थमन्त्री

काठमाडौँ, २७ भदौः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र लगानी बोर्डको संयुक्त आयोजनामा आजदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको पाँचाँै संस्करणमा उहाँले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढाउने प्रतिबद्धता जनाउनुभएको हो ।

“सरकारले पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ, पुँजीगत खर्च बढाउन विभिन्न कानुनी तथा प्रक्रियागत सुधारलाई अगाडि बढाउने र वैदेशिक सहायतालाई भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्ने नीति छ”, उहाँले भन्नुभयो, “समस्त नेपालीको आकाङ्क्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । सरकार यही आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ । समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।”

एक्काइसौँ शताब्दी अनुकूल एवं नागरिकको चाहनाबमोजिम पूर्वाधार विकास एवं निर्माणमा सरकार केन्द्रित हुने उहाँको भनाइ छ । मन्त्री पौडेलले आर्थिक तथा वित्तीय अनुशासन एवं वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवं उपयोग गर्न चाहेको जानकारी दिनुभयो ।

“सरकारको एक्लो प्रयासबाट पूर्वाधार विकासको कमी पूरा गर्न सम्भव छैन । यसमा निजी क्षेत्र, बाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवं विकास साझेदारसमेतको उत्तिकै भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले वित्तीय नीति, मौद्रिक नीति एवं नियामकीय नीतिहरुमा समयानुकूल परिवर्तन एवं परिमार्जन गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ अनुकूल बनाउँदै लैजाने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्न चाहान्छु ।”

पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक रहेको मन्त्री पौडेलले बताउनुभयो । सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको उहाँको भनाइ छ ।

“हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौँ । भू–परिवेष्ठित अवस्थिति र जटिल भू–बनोटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीका रुपमा लिने गरिएको छ”, उहाँले भन्नुभयो, “सरकारले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधार र त्यसका विविध पक्षबीचको अन्तर आबद्धतालाई महत्वपूर्ण रुपमा लिएको छ । सरकारले यातायात, ऊर्जा, जलस्रोत, सूचना प्रविधिजस्ता प्रमुख पूर्वाधार क्षेत्रलाई केन्द्रित गर्दै बजेट विनियोजन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ ।”

उहाँका अनुसार एकीकृत एवं समन्वयात्मक पूर्वाधार विकासका लागि तहगत सरकारबीच आपसी समन्वय, सहकार्य एवं सहयोगको उत्तिकै भूमिका रहन्छ । यसका लागि विकास नीति, योजना र कार्यक्रमबीच उपयुक्त सामञ्जस्यता कायम गर्न वर्तमान सरकार प्रतिबद्ध र क्रियाशील रहेको उहाँको भनाइ छ ।

“सीमित स्रोतसाधन र पूर्वाधार विकासका आकाङ्क्षाबीचको सन्तुलन कायम गर्न आन्तरिक स्रोतबाट मात्र सम्भव छैन । पछिल्लो समय आन्तरिक राजस्व परिचालनको अवस्था दबाबमा रहेको र सार्वजनिक ऋणको भार बढ्दै गएकाले पूर्वाधार विकासका लागि स्रोतको जोहो गर्नु सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यसैले हामीले निजी क्षेत्रको लगानी आकर्षित गर्न सम्मिश्रित वित्त, सार्वजनिक निजी साझेदारीलगायत अन्य सम्भाव्य विधिहरुको उपयोगका लागि आवश्यक प्रबन्ध गर्न प्राथमिकता दिएका छौँ ।”

उहाँले विकास सहायतालाई छनोटपूर्ण बनाउँदै यसलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न जोड दिइएको बताउनुभएको छ । “सहायता परिचालनका नवीन उपकरणको प्रयोग र परिचालनमा विशेष ध्यान दिइएको छ, सहायता परिचालनलाई थप प्रतिफलयुक्त बनाउन नयाँ विकास सहायता परिचालन नीति तर्जुमा गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । सम्मेलन भोलिसम्म चल्नेछ ।

‘क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल’ – अर्थमन्त्री पौडेल

काठमाडौँ, २७ भदौः नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याङ्कन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताउनुभएको छ । साख मूल्याङ्कनका लागि ‘फिच क्रेडिट रेटिङ’ कम्पनीको टोली नेपाल आएको हो । टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालनलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ, २७ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताप्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधार गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।

अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१÷०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् ।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि सम्बन्धित मन्त्रालयका सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौता पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।

आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने जनाइएको छ ।