`

भुकम्पले पूर्णरुपमा क्षति पुर्याएको धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

गोरखा, २७ भदौ : उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखरामार्फत काम भएको जानकारी दिनुभयो । गत माघमा भवन निर्माण सकिनुपर्नेमा केही ढिलाइ भएको बताउनुभयो ।

भवन निर्माणका लागि कार्यालयले धुलिखेल जेएल जिभी सेवासँग विंस २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि आगामी माघसम्मका लागि म्याद थप गरिएको थियो ।

थपिएको म्याद अघि नै भवन निर्माण सकिएको प्रशासकीय अधिकृत सुनारले उल्लेख गर्नुभयो । नयाँ निर्माण गरिएको भवन यथाशीघ्र औपचारिक रुपमा सञ्चालन गरी सेवा प्रवाहको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

५ महिनादेखि चिकित्सक बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध

जलेश्वर, २७ भदौः भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता हुनुभएको छ । काठमाडौँमा बस्दै आउनुभएका उहाँ कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उहाँले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उहाँकी श्रीमतीले बताउनुभयो । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।

बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २७ भदौः वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७  घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ घर भई काठमाडौँ सिनामङ्गल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै रु आठ लाख ४० हजार, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै रु सात लाख २० हजार तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै रु आठ लाख २५ हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।  पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमा परिवर्तनका सम्बाहकः अध्यक्ष दाहाल

काठमाडौँ २७ भदौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका सम्बाहक भएको बताउनुभएको छ ।

चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपन्थी रुझानबाट अघि बढाउँदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीतिक, सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि बिरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताउनुभयो ।

धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपन्थी झुकाव हुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ठ व्यक्तित्वहरु सधै समाजको अग्रस्थानमा रहने बताउनुभयो ।

जुत्ता सिलाउने पेशा अङ्गालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुन सक्छन् भन्ने थप पुष्टि भएको पनि बताउनुभयो ।

नेपाली समाजको रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीतिक व्यवस्था स्थापना भएको चर्चा गर्दै उहाँले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताउनुभयो ।

दिवङ्गत बुद्धरामको जीवनीबारे उहाँका जेठा छोरा एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शङ्कर दुलालले जानकारी दिनुभएको थियो । उहाँले पञ्चायतकालमै बाम अन्दोलनको समर्थनमा लाग्नुभएका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताउनुभयो ।    कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । 

प्रधानमन्त्री ओलीद्वारा सभापति देउवा र अध्यक्ष दाहालसँग छलफल

काठमाडौँ, २७ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।

मकवानपुरमा एक वर्षमै छ सय चार उद्योग बन्द

बागमती, २७ भदौः आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०÷८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०÷८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९÷८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताउनुभयो ।

मकवानपुरमा आव २०८०÷८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताउनुभयो । आव २०७९÷८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए ।

आव २०८०÷८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार एक सय आठ वटा नवीकरण, चार सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो । 
सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार चार सय २२ वटा उद्योगको नवीकरण भएको छ ।     नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु तीन करोड २२ लाख ४९ हजार नौ सय १० राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताउनुभयो । 

पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने

चितवन, २७ भदौः पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा), योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो ।

भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र विकास समिति र उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न लागेका हुन् । भरतपुर महानगरपालिका र देवघाट गाउँपालिका महोत्सवका प्रवद्र्धक रहने छन् । गैंडाकोट नगरपालिकालाई पनि प्रवद्र्धक लागि आग्रह गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको एक टोलीले महोत्समा उपस्थित हुनका लागि बागेश्वर बाबा, योगगुरु रामदेव र आचार्य बालकृष्णलाई निम्तो गरेर आएको हो । दिल्लीमा निम्तो गरेपछि उहाँहरुकै आग्रहमा हरिद्वार पुगेर बैठक बसी कार्यक्रममा सहभागी हुने निर्णय भएर आफूहरु फर्किएको दाहालले बताउनुभयो । उहाँहरु तीन दिनसम्म देवघाटमा रहनु हुनेछ ।

महोत्सव आगामी कात्तिक २७ गते ठूली एकादशीबाट पाँच दिनसम्म चल्नेछ । भरतपुर–१ देवघाटस्थित नदी तटीय क्षेत्रमा महोत्सव हुनेछ । प्रमुख दाहालले भन्नुभयो, “महोत्सवमा लाखौंको उपस्थिति रहने र अन्तर्राष्ट्रिय जगतलाई देवघाटको महिमाका बारेमा बुझाउने अवसर मिल्ने छ ।” धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने उहाँको भनाइ छ ।

महोत्सवका संयोजक देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले यो महोत्सव अहिलेसम्मकै यहाँको ठूलो महोत्सव हुने बताउनुभयो । यो शङ्कर मोचन महायज्ञ भएको भन्दै उहाँले दैनिक एक लाख बढी भक्तजन आउने अपेक्षा गरिएको बताउनुभयो ।

महोत्सवमा नेपाल र भारतका सन्त महन्त, महामण्डलेश्वर, जगतगुरु, पीठाधिश, धार्मिक गुरुलगायतको उपस्थिति हुने पौडेलको भनाइ छ । यो महोत्सवले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पौडेल बताउनुहुन्छ । धार्मिक गुरुहरुको उपस्थितिमा गण्डकी परिक्रमा लगायतका धार्मिक कार्यक्रमसमेत गरिँदै छ ।

दाहालसँगै पौडेल र सामाजिक व्यक्तित्व उमाशङ्कर अग्रवाललाई दिल्लीस्थित हाम्रो स्वाभिमान ट्रष्टले सम्मान गरेको थियो । सम्मानपछि उहाँहरुले औपचारिक रुपमा धार्मिक गुरुहरुलाई निम्तो दिनुभएको हो । सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षको रुपमा मनाइरहेको छ । कोभिडपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन केही हदसम्म भ्रमण वर्ष सहयोगी बनेको छ ।

ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल

काठमाडाँै, २७ भदौ- “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थाल्नुभयो । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिनुभएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने अलि संवेदनशील रहेको बताउनुभयो । अग्लो कुर्सीमा बसेर भूइँसम्मै सेवा पु¥याउनुपर्छ भन्ने उहाँको मानसपटलमा स्पष्ट छ । त्यसैले उहाँ भन्नुहुन्छ, “मैले कहिल्यै पद हेरिन, कर्म हेरेँ । कर्मले डो¥याउँदै यहाँसम्म ल्याइपु¥यायो ।”

काठमाडौँको पुतलीसडकमा जन्मिनुभएकी अर्यालले डिल्लीबजारस्थित पद्म कन्या विद्याश्रम विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो । दुई दाजु र दुई दिदीकी कान्छी बहिनी भएकाले सबैले पुलपुलाएर हुर्काएको क्षण उहाँका लागि सुनौलो समय थियो । बुबा अधिवक्ता हुनुहन्थ्यो भने आमा गृहिणी । तर, लगभग चार दशकअघिको नेपाली समाजमा उहाँलाई इञ्जिनीयर बन्छु भन्ने सोच कसरी आयो ? उहाँ यसको सबै श्रेय आफ्ना दुई इञ्जिनीयर दाजुलाई दिन चाहनुहुन्छ । उहाँहरु त्यतिबेला इञ्जिनीयर भइसकेका थिए । स्कुल पढ्दापढ्दै भविष्यमा दाजुहरु जस्तै पेसा अगाल्ने रहर पलायो उहाँमा । छोरीले देखेको सपनामा मलजल लगाउने काम परिवारले पूरा रुपमा निर्वाह गरेकै कारण आफू आज नेृतत्व तहमा पुग्न सफल हुनुभएको उहाँ बताउनुहुन्छ ।

प्रवेशिका परीक्षा पास गरेपछि उहाँले त्रिचन्द्र कलेजमा विज्ञान सङ्कायको भौतिकशास्त्र विषयमा इन्टरमिडियट गर्नुभयो । उहाँका अनुसार त्यतिबेला फिजिक्स पढ्ने युवती जम्मा तीन जना मात्रै थिए । तिमीहरुले पढेर के हुन्छ ? भन्दै नाक खुम्चाउने समाज थियो । यद्यपि उहाँले अर्काले के भन्छ भन्ने कुराको पछाडी कहिल्यै लाग्नुभएन र कर्ममै जोड दिनुभयो । अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बिई गर्नुभयो । त्यतिबेला इञ्जिनीयरिङ पढ्न जाने नेपाली विद्यार्थीमा उहाँ मात्रै एक महिला हुनुहुन्थ्यो । 

“उतिबेला छोरीहरु विद्यालय जान त मुस्किल हुन्थ्यो, भारतसम्म जाने कुरा सजिलो थिएन”, उहाँ भन्नुहुन्छ,“म भाग्यमानी थिएँ, पढ्न खुलेर पाएँ ।”भारतबाट अध्ययन गरी फर्किएलगत्तै २०४९ चैत २३ गतेदेखि उहाँ तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभयो । २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभयो । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको शिखरबाट तल नियाल्नुपर्दा अर्याललाई उही पहिलो पटक छाउनीमा पोष्टिङ भएको समय फ्ल्यासब्याक हुन्छ । ३२ वर्षअघिको जागिरे जीवन सम्झिदै उहाँ भन्नुहुन्छ,“ट्रान्समिटरमाथि चढ्नुपर्छ भनेर छाउनीमा महिला कर्मचारी जान मान्दा रहेनछन्, मैले आफैँले त्यो पोष्टिङ रोजेकी थिएँ ।”

नेपाल टेलिकममा उतिबेला ट्रान्समिसन विभाग, कम्युटर विभाग, स्वीचिङ विभाग थिए । अर्यालका अनुसार छाउनीमा ‘ट्रान्समिसन विभाग’ मा जाँदा कार्यरत हुँदा ट्रान्समिटरमा चढ्नुपथ्र्यो । त्यसबेला ककनी, धुलिखेल, नगरकोटदेखि दोलालघाटसमेत ट्रान्समिटरको काम गर्न पुग्नुपथ्र्याे । पाटनमा ५० मिटर अग्लो टावरमा चढ्ने कर्मचारीमा महिला अर्याल मात्रै हुनुहुन्थ्यो । त्यसैले अहिले पनि उहाँलाई चिनजानहरुले ‘टावर चढ्ने महिला’ भन्दै सम्झाउँछन् । ट्रान्समिटर चढेर कर्मचारीको बहादुरी देखाउन मात्रै होइन, अर्यालले मोबाइल एक्पोर्टको रुपमा बौद्धिक क्षमतासमेत प्रदर्शन गर्न अब्बल हुनुभयो । 

महिलाले के गर्न सक्छ र ? धेरैको मनमा उठेका प्रश्नमाथि उहाँले व्यवहारबाटै उत्तर दिँदै आउनुभएको छ । उहाँलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गिकताले मापन गर्न सक्दैन । मैले यो सुरुदेखि नै कर्मबाट सिद्ध गर्दै आएको छु ।” २०५६ सालदेखि मोबाइल सञ्चालन सुरु भयो । एक वर्षअघिदेखि नै मोबाइल सेवा ल्याउने योजनाबद्ध समूहमा आबद्ध अर्यालले थिङ्कट्याङ्कको समूहमा आबद्ध भई काम गर्नुभयो । साथै, यससम्बन्धी प्रविधि ल्याउने योजनाकारका रुपमासमेत उहाँले धेरै समय बिताउनुभयो । सुरुमा ५० हजार लाइनबाट सुरु भएको मोबाइल सेवा अहिले तीन करोडभन्दा बढी क्षमता विस्तार भएको छ । मोबाइलमा काम गर्ने इञ्जिनीयर पनि कम थिए उतिबेला । अहिले जनशक्तिमासमेत वृद्धि भएको छ ।

निजीस्तरका टेलिकम विश्वमा अनुभव बटुलेर नेपालमा अभ्यास गरेका थिए । उनीहरु बराबर नेपाल टेलिकमले प्रतिस्प्रर्धा गर्न योग्य बनाउनु भनेको कर्मचारीको मेहनत नै भएको उहाँ बताउनुहुन्छ । जसमा अर्याल पनि त्यो सङ्घर्षको एउटा योद्धा हुँ भन्न रुचाउनुहुन्छ । २०७० सालअघिसम्म नेपाल टेलिकम हार्डकपि सिस्टममा काम गथ्र्यो । जिल्लाभरिको नक्शा ल्याएर काम गर्दा झन्झटिलो प्रक्रिया हुन्थ्यो । त्यसपछि नेपालभरको नक्सालाई सफ्टवेयरमा राखेर कार्य सुरु गरेको अर्याल सम्झनुहुन्छ । नेपाल टेलिकमका जे जति प्रगति भएका छन्, यी सबै कर्मचारीले अनुभव बटुल्दै आफ्नै क्षमता प्रदर्शन गरेर भएको अर्याल बताउनुहुन्छ । “नेपाल टेलिकम सरकारको भए पनि अरु देशको कम्पनीसँग प्रतिस्पर्धा गर्न योग्य बनेको छ”, उहाँ भन्नुहुन्छ,“बाहिरी कुनै खाले प्रशिक्षण नलिई अनुभवकै आधारमा परिश्रमले हामी यहाँसम्म आयौँ । जुन गर्वको विषय हो ।”अहिले नेपाल टेलिकमको सेवा तीव्र रुपमा विस्तार भएको उहाँले बताउनुभयो ।

अहिले ट्रान्समिटरबाट सातवटै प्रदेशमा अप्टिकल फाइबर पु¥याउन सकेका छौँ भने अब गाउँघरमै फाइवर पु¥याउने काममा टेलिकम लागेको छ । माइक्रो वेभ टेक्नोलोजीबाट पनि देशभर सेवा सञ्चालित छ । दुर्गम ठाउँमा जहाँ विद्युत्को सुविधा छैन त्यहाँ सोलारबाट सेवा पु¥याउदै आएको उहाँले जानकारी दिनुभयो टेलिकमको केन्द्रीय कार्यालयअन्र्तगत विभिन्न विषय र क्षेत्रगत छ वटा चिफ अफिसर्स हुन्छन् । अर्यालले चिफ कर्मसियल अफिसरको रुपमा पनि दुई वर्ष काम गर्नुभयो । त्यस पदमा रहँदा नेपाल टेलिकमको व्यापारलाई विस्तार गर्ने मुख्य जिम्मेवारी उहाँले सम्हाल्नुभयो । त्यसपछि चिफ कर्मसियल अफिसरसँगै केही समय मिडिया म्यानेजमेन्टको भूमिका निर्वाह गर्नुभयो । प्याकेज सेवा ग्राहक समक्ष विस्तार गर्न उहाँको नेतृत्वले कदम चालेको थियो ।

अर्याल मिडिया समन्वय गर्नसमेत अब्बल हुनुभयो । फलस्वरुप एनटिसीले चिफ टेक्निकल अफिसरको रुपमा काम गर्ने जिम्मेवारी दियो । यसैक्रममा तत्काल प्रबन्ध निर्देशकको पद खाली भयो । आइपरेका हरेक जिम्मेवारी सम्हाल्दासम्हाल्दै अर्याल २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभयो । तत्काल प्रबन्ध निर्देशकको पद रित्त भएको परिस्थितिलाई पुन उहाँले सम्हाल्नुपर्ने भयो ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णय (मन्त्रीस्तर) बमोजिम उहाँले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभयो । 

एघार महिनासम्म निमित्त प्रबन्ध निर्देशक भई टेलिकमको सेवा गर्दै आउनुभएकी अर्यालले भदौ २२ गते प्रबन्ध निर्देशकमा पदवहाली गर्नुभयो । संस्थाले आवश्यक परेको खण्डमा ट्रान्समिटर समेट चढ्न सक्ने अर्याल अहिले सबै जिम्मेवारी सम्हाल्न सक्ने काँध बलियो भएको छ । काम गर्नेहरुको लागि चुनौती सहज बन्दै जान्छ भन्ने उहाँको भोगाइले बुझाएको छ । अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चारमा विप्रेषण घट्दो छ । इन्टरनेट भाइवर, ह्वाट्स एपजस्ता एपले फोन कल घट्दै गए । नेपाल टेलिकमलाई जनस्तरसम्म सुलभ तरिकाले पु¥याउनु मुख्य सेवा रहेको उहाँ बताउनुहुन्छ । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य पूरा गर्न एनटिसीले सक्दो प्रयासमा जुटेको उहाँले सुनाउनुभयो । ‘फाइवर टु द होम ! अर्थात अप्टिकल फाइबरबाट सेवा पुराउनमा एनटिसीले जोड दिएको छ । अर्यालका अनुसार ९० प्रतिशत कपरको सिस्टम विस्तापित भएर अहिले अप्टिकल फाइबरबाट देशभर सेवा प्रवाह भइरहेको छ । उहाँ भन्नुहुन्छ, “हामी इन्टरनेट सेवा गाउँगाउँमा पु¥याउन चाहन्छौँ । जसको लागि निरन्तर प्रयत्नरत छौँ ।” 

परिस्थितिले दिएका जिम्मेवारी कुशलताका साथ निभाउन अर्याल अनुभवी हुनुहुन्छ । कार्यालयको जिम्मेवारी, परिवार सम्हाल्दै उहाँले पढाईमा पनि निरन्तरता दिनुभयो । यसै दौरान उहाँले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभयो । सङ्घर्ष गरेरै ट्रान्समिटर र मोबाइल एक्पोर्टको रुपमा आफूलाई अब्बल बनाउनुभएकी उहाँले महिलाले के गर्न सक्छ र ? भन्नेहरुका लागि शब्दले होइन, व्यवहारबाटै उत्तर दिदै आउनुभएको छ । उहाँलाई लाग्छ, कुनै पनि विज्ञता लैङ्गीकताले मापन गर्न सक्दैन । मैले यो सुरु देखि नै कर्मबाटसिद्ध गर्दै आएकी छु ।”    

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

विराटनगर (मोरङ), २७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताउनुभयो । “दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

पार्टी र जनप्रतिनिधिबीच एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका नेता खड्काले पार्टी सङ्गठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले कोशी प्रदेशबाट कांग्रेसको प्रतिनिधित्व गरी आफू मन्त्री बनाएकाले यो प्रदेशप्रति जिम्मेवार बोध हुनेगरी काम गर्ने उल्लेख गर्नुभयो । उहाँले संस्थागत रूपमा विकास योजनाका काम ल्याउनसमेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताउनुभयो । सुशासनलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले कांग्रेस सरकारमा सहभागी भएको अनुभूत जनतालाई हुनेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीसँग समन्वय गरेर ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्छ भन्नुभयो । 

कोशी प्रदेशका सांसद गयानन्द मण्डलले सिँचाइको व्यवस्था ‘इलेक्टिक बोरिङ’बाट गर्न आग्रह गर्नुभयो । उहाँले सिँचाइमा विद्युतीकरण गर्न सके मुलुकको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । बूढीगङ्गा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले बूढीखोला बाढी नियन्त्रणका लागि तटबन्धनको व्यवस्था गर्न माग गर्नुभयो ।

वाइडबडी विमान इटालीबाट फर्कियोः लामो गन्तव्यमा उडान भर्ने

काठमाडौं, २७ भदौः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ । गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौँ अवतरण गरेको छ । योसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ ।    

निगमको अर्को वाइड बडी विमान पनि सी–चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८)मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख  गरेको छ ।

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ, २७ भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण

गोरखा, २७ भदौः सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।

मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबाट प्राप्त रु १० लाख तथा दुई लाख ५० हजार चन्दाका साथै जनश्रमबाट मन्दिर निर्माण भएको हो । सोही रकममध्येबाट राधाकृष्णको मूर्ति पनि खरिद गरिनेछ ।

“पुनःनिर्माण गरिएको मन्दिर यस क्षेत्रको सबैभन्दा पुरानो हो,” उहाँले भन्नुभयो, “भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण नहुँदा धार्मिक अनुष्ठानका लागि हामीलाई समस्या थियो ।”

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

जुम्ला, २७ भदौः पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।

नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा :मन्त्री खड्का

सुनसरी (धरान), २७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले मुलुकमा विद्यमान समस्या समाधान गरी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको बताउनुभयो ।मन्त्री खड्काले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान गठबन्धनले जनतामा आशा जगाउने काम गरेको भन्दै स्थिर सरकारका माध्यमबाट विकास, निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

“विगतमा छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणले गति लिन सकेको थिएन, अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हरेक व्यक्तिले आफ्नो दायित्व निर्वाह गररे देश विकासमा सहयोग पु¥याउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने बताउनुभयो । “देश विकास, स्वदेशमा रोजगारी सिर्जना, स्वास्थ्य सेवालगायत जनतालाई कसरी सहज सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ सरकार लागिरहेको छ”, उहाँले भन्नुभयो । सीमित स्रोतसाधनका बीच सरकारले विकास निर्माणलाई अगाडि बढाएको उहाँको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले पूरा हुन नसकेका जलविद्युत् आयोजनालाई अगाडि बढाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । “कर्णाली चिसापानी, अपर अरुण, पञ्चेश्वर, बुढीगण्डकी, तमोरजस्ता आयोजनालाई अगाडि बढाउन सकिए ऊर्जा र सिँचाइमार्फत देश समृद्ध बनाउन सकिन्छ, त्यसमा सरकारले योजनाबद्ध काम गरिरहेको”, उहाँले भन्नुभयो ।

उहाँले देशमा भएका स्रोतसाधनको अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । आगामी एक वर्षभित्र देशैभरी विद्युतीकरण भइसक्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले स्थानीयस्तरमा देखिएका ऊर्जासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, नेपाली कांग्रेस सुनसरीका सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतले धरान र आसपासबाट बग्ने नदी, खोला तथा खहरेको तटबन्धन गर्नुपर्ने, हाइटेन्सन लाइन व्यवस्थापन गर्नुपर्ने, सडकबत्तीको महसुल घटाउनुपर्नेलगायत माग उर्जामन्त्री समक्ष राख्नुभएको थियो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने

काठमाडौँ, २७ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना पनि छ । यसैबीच विभागले बुधबार अपराह्न विशेष मौसम बुलेटिन निकालेर आज साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

उपत्यकाबाट साउन र भदौ महिनामा हराएका ९६ वटा सवारीसाधन फिर्ता

काठमाडौं ।  काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्।

साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले  जानकारी दिए।

उनका अनुसार पाँच वटा मोटरसाइकलमा एउटै नम्बर प्लेट राखेरसमेत चलाइरहेको भेटिएको छ। ती मोटरसाइकल चोरीमा सङ्लग्न व्यक्ति पनि पक्राउ परेका छन्।

कार्यालयले बुधबार मात्रै २२ वटा हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाएको प्रहरी नायब महानिरीक्षक बोहराले बताए।


गत वैशाख १५ गतेदेखि भदौ २४ गतेसम्म परेका निवेदनका आधारमा खोजतलास गर्दा ती मोटरसाइकल फेला परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। सवारीसाधन जिम्मा लिए पश्चात् सवारी धनीहरुले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलङ्की, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेवीलगायत स्थानबाट हराएका उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी चोरी तथा हराउनबाट रोक्न सकिने भन्दै सुरक्षा विधि अपनाउन प्रवक्ता खड्काले सबैमा अनुरोध गरे।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ। 

कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था

काठमाडौँ, २७ भदौ : राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई उक्त समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाको मङ्गलबारको बैठकबाट पारित भएको हो ।

नेपालमा हाल सञ्चालित सरकारी, निजी तथा सामुदायिक सञ्चारमाध्यमको भन्दा फरक प्रकृतिको स्वामित्व रहनेगरी सञ्चालनमा ल्याउन खोजिएको ‘सार्वजनिक सेवा प्रसारण संस्था’लाई कानुनी आधार प्रदान गर्न ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ ल्याइएको हो ।

दुई सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर पुनःसंरचनासहित स्थापना हुने सार्वजनिक सेवा प्रसारण संस्था कस्तो हुन्छ ? र यसको कार्य सम्पादन कसरी हुन्छ ? भन्ने सवाल संसद्मा पनि उठेका थिए । यस्तो संस्थाको सञ्चालन एवं व्यवस्थापन, आर्थिक तथा प्राविधिक पक्ष, सम्पादकीय स्वतन्त्रता र निष्पक्षतालगायत विषयमा बढी चासो देखिएको छ ।

संस्था सञ्चालनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा एक परिषद् र सरकारबाट नियुक्त कार्यसमिति अध्यक्ष रहने संस्थाको सम्पादकीय स्वतन्त्रता कायम रहनेमा संसद्मा सांसदहरुले प्रश्न उठाउनुभएको थियो । यस्तो व्यवस्थापकीय प्रबन्धले सार्वजनिक सेवा प्रसारण संस्था विद्यमान सरकारी सञ्चार संस्थाहरुभन्दा फरक हुनसक्नेमा सांसदहरुले आशंका व्यक्त गर्नुभएको थियो । संस्थालाई संसद् मातहत राख्नसके सरकारको प्रतिच्छायाबाट मुक्त हुने र जनजीविकाका विषय समेट्न सक्ने धारणा पनि सांसदहरुबाट आएको थियो ।

राष्ट्रिय आमसञ्चार नीतिमा राखिएको सार्वजनिक सेवा प्रसारणको अवधारणाअनुसार सरकारले विधेयक तयार पारेको र लोकतान्त्रिक मूल्य, मान्यता तथा स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष एवम् जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा यो संस्था सञ्चालन गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको दाबी थियो ।

विधेयकले सार्वजनिक सेवा प्रसारण संस्थालाई एक अविछिन्न उत्तराधिकारीवाला स्वशासित र सङ्गठित संस्थाका रुपमा परिभाषित गरेको छ । यस्तो संस्थाको नीति निर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा एक परिषद् रहने व्यवस्था विधेयकमा राखिएको छ । उक्त परिषद्मा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवका सचिव सदस्यका रुपमा रहनेछन् ।

त्यस्तै, विभिन्न पेसाकर्मी र समाजसेवीमध्येबाट प्रत्येक प्रदेश सरकारबाट एक÷एक जनाका दरले मनोनीत सात जना सदस्य रहनेछन् । पिछडा वर्ग, अल्पसङ्ख्यक, किसान, श्रमिक, पिछडिएको क्षेत्र, पर्यटन, शिक्षालगायत क्षेत्रको प्रतिनिधित्व गर्नेगरी मन्त्रालयबाट मनोनीत कम्तिमा दुई महिलासहित सात जना पनि उक्त परिषद्मा रहनेछन् । त्यस्तै, जिल्ला समन्वय महासङ्घ, गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घको प्रतिनिधिसमेत परिषद्मा अटाउने व्यवस्था राखिएको छ ।

स्रोता तथा दर्शक समूहका कम्तीमा एक महिलासहित मन्त्रालयबाट मनोनीत तीन जना, चलचित्र विकास बोर्डको अध्यक्ष, नेपाल पत्रकार महासङ्घको अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष, नेपाल विज्ञापन सङ्घको अध्यक्ष, मान्यताप्राप्त विश्वविद्यालयको पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकमध्येबाट मन्त्रालयले मनोनीत गरेका कम्तीमा एक महिलासहित दुई जना सदस्य रहनेछन् । कार्यकारी समिति अध्यक्ष परिषद्को सदस्य सचिव रहने व्यवस्था विधेयकमा राखिएको छ ।

सार्वजनिक सेवा प्रसारण संस्थाको उद्देश्य प्राप्तिका लागि कार्यकारी समितिलाई आवश्यक निर्देशन दिने, संस्थाको अध्यक्ष, सदस्य र कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने, वार्षिक योजना तथा कार्यक्रमअनुसार भएको कामको समीक्षा गर्ने, सार्वजनिक सेवा प्रसारण सम्बन्धमा अपनाउनुपर्ने नीतिबारे सरकारलाई सुझाव दिनेलगायत विषय परिषद्को काम, कर्तव्य र अधिकारभित्र राखिएका छन् ।

त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्थामा एक कार्यकारी समिति रहने व्यवस्था विधेयकमा राखिएको छ । सरकारले खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट गरी नियुक्त गरेको व्यक्ति समितिको अध्यक्ष रहनेछन् । त्यस्तै, सञ्चार मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत र मन्त्रालयले मनोनीत गरेको कम्तीमा एक महिलासहित तीनजना सदस्य रहने विधेयकमा उल्लेख छ । कार्यकारी समितिको अध्यक्ष सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी प्रमुख हुनेछ भने प्रमुख प्रशासकीय अधिकृतले कार्यकारी समितिको सचिव भई काम गर्नेछ । अध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।

विधेयकमा कार्यकारी समितिको अध्यक्ष र सदस्यको योग्यता तोकिएको छ । अध्यक्षको हकमा कम्तीमा स्नातकतह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, सूचना प्रविधि वा प्रसारणसम्बन्धी इञ्जिनियरिङ क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै, सदस्यको हकमा कम्तीमा स्नातकतह उत्तीर्ण गरी टेलिभिजन, रेडियो वा प्रसारण प्रविधिको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेका व्यक्ति हुनुपर्नेछ । अध्यक्ष र सदस्यका लागि तोकिएको योग्यतामा नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र आमसञ्चार संस्थाको पदाधिकारी, सञ्चालक वा सम्पादक नरहेको हुनुपर्नेछ ।

कार्यकारी समितिले सार्वजनिक सेवा प्रसारण संस्थाको वार्षिक नीति, योजना कार्यक्रम र बजेट स्वीकृत गर्नेछ । त्यस्तै, संस्थाको वार्षिक प्रतिवेदन परिषद्मा पेस गर्ने, संस्थाको आचारसंहिता, मापदण्ड तथा निर्देशिका जारी गर्ने, समग्र व्यवस्थापनको रेखदेख, सुपरीवेक्षण तथा नियन्त्रण गर्ने, सम्पादकीय स्वतन्त्रता र निष्पक्षताको संरक्षणका लागि आवश्यक कार्य गर्नेलगायत काम, कर्तव्य र अधिकार तोकिएका छन् ।

दुई संस्था गाभिएर बन्ने सार्वजनिक सेवा प्रसारण संस्थाको आफ्नो छुट्टै कोष रहने व्यवस्था विधेयकमा राखिएको छ । उक्त कोषमा सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान, विदेशी सरकार वा विदेशी सङ्घसंस्थाबाट प्राप्त रकम र सार्वजनिक सेवा प्रसारण संस्थाको आम्दानीबाट प्राप्त रकम जम्मा हुने व्यवस्था राखिएको छ । विदेशी सरकार वा विदेशी सङ्घसंस्थाबाट रकम प्राप्त गर्नुअघि अर्थ मन्त्रालयको स्वीकृति भने लिनुपर्नेछ ।

विधेयकमा स्रोत तथा दर्शक समूह गठन गर्न सकिने व्यवस्थासमेत राखिएको छ । “सार्वजनिक सेवा प्रसारण संस्थाले प्रसारण गरेको कार्यक्रम तथा समाचारको सम्बन्धमा आवश्यक राय, सल्लाह, सुझाव लिनका लागि श्रोता तथा दर्शक समूह गठन गर्न सकिनेछ”, विधेयकमा भनिएको छ । यस्तो समूहका कम्तीमा एक महिलासहित तीन जना परिषद्मा रहनेछन् ।

त्यस्तै, प्रसारण फ्रिक्वेन्सीको पहिलो प्राथमिकतामा सार्वजनिक सेवा प्रसारण संस्थालाई राखिनुपर्ने पनि विधेयकमा उल्लेख छ । सरकारले यस्तो संस्थालाई उपलब्ध गराउने प्रसारण फ्रिक्वेन्सीमा कुनै शुल्क लाग्ने छैन ।

यो विधेयक प्रमाणीकरण भएर ऐनका रुपमा लागु भएपछि ऐन प्रारम्भ हुँदाका बखत नेपाल टेलिभिजन र रेडियो नेपालमा स्वीकृत दरबन्दीलाई सार्वजनिक सेवा प्रसारण संस्थाको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन गरी दरबन्दी पुनःसंरचना गरिनेछ । ऐन कार्यान्वयनमा जाँदाको बखत नेपाल टेलिभिजन र रेडियो नेपालमा कार्यरत स्थायी कर्मचारी मिल्दो दरबन्दीअनुसार पद, तह र श्रेणीमा समायोजन हुनेछन् । करारमा नियुक्त वा सम्झौता भई कार्यरत कर्मचारीको हकमा संस्थाको आवश्यकताअनुसार मात्र व्यवस्थापन गरिने विधेयकमा उल्लेख गरिएको छ ।

संस्थाका लागि सिर्जना गरिएको दरबन्दी बमोजिम मिल्दो पद, तह र श्रेणीमा समायोजन हुन नसकेका कर्मचारीलाई निजको बाँकी अवधि गणना गरी अवकाश दिने व्यवस्था विधेयकमा राखिएको छ । समायोजन भएका कर्मचारीको सेवा सुविधा खाईपाई आएको सेवा सुविधाभन्दा कम हुने छैन भने नेपाल टेलिभिजन र रेडियो नेपालको अहिलेको सम्पत्ति तथा दायित्व संस्थाको नाममा सर्नेछ ।

विधेयकको प्रस्तावनामा संविधानद्वारा पदत्त नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रत्याभूत गर्न, तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार, शिक्षा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी राष्ट्रिय एकता एवं राष्ट्रिय हित प्रवर्द्धन गर्न तथा समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न जनउत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना र सञ्चालनका लागि यो कानुन आवश्यक रहेको उल्लेख छ ।

सार्वजनिक सेवा प्रसारण संस्थाका कार्य पनि विधेयकमा राखिएका छन् । यस्तो संस्थाले सार्वजनिक सरोकार र नागरिकका आवस्यकताअनुसारको विषयमा कार्यक्रम उत्पादन तथा प्रसारण गर्नेछ । नागरिकको सूचनाको हक कार्यान्वयनका लागि मुलुकका सबै भूभागमा प्रसारण सेवाको पहुँच पु¥याउन संस्थाले काम गर्नेछ । सूचना सम्प्रेषणद्वारा राष्ट्रभाषा, लोपोन्मुख मातृभाषा, कला संस्कृति र सभ्यताको संरक्षण तथा प्रवरद्धनका लागि यो संस्थाले भूमिका खेल्नेछ ।

जनस्वास्थ्य, जनहित, वातावरण, जलवायु परिवर्तन, विपद् र अन्य आपतकालीन अवस्थासम्बन्धी सूचना तथा पूर्व जानकारी प्रवाह गरी जनचेतना जगाउने काम सार्वजनिक सेवा प्रसारण संस्थाले गर्नेछ ।

सचेतना र मनोरञ्जनात्मक कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने, ज्ञान विज्ञान र प्रविधि प्रवर्द्धन गर्ने, कृषि पर्यटन र प्राकृतिक स्रोतजस्ता विषयमा खोजमूलक तथ्य प्रचारमा ल्याई रोजगारमूलक कार्यक्रम प्रवर्द्धन गर्दै नेपालको अर्थ व्यवस्थालाई सबल बनाउन सहयोग पु¥याउने कार्यक्रम प्रसारण गर्ने संस्थाका रुपमा सार्वजनिक सेवा प्रसारण संस्थालाई विकास गर्न खोजेको विधेयकको व्यवस्थाबाट प्रष्ट हुन्छ ।

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

गलकोट (बागलुङ), २७ भदौ : विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो ।

स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गरिने उहाँले बताउनुभयो ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि ढिलोगरी सडक निर्माणको ठेक्का सम्झौता भएको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ–७ को मुलपानीबाट तितौरेसम्म आठ दशमलव छ किलोमिटर, ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किमी र गणेश घुम्तीबाट नीरयघाटको एक दशमलव पाँत किमी सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नगरभित्र सडक कालोपत्र गर्न पहिलोपटक ठूलो रकममा ठेक्का सम्झौता भएको बताउँदै आगामी जेठभित्र कालोपत्र सक्नेगरी निर्माण व्यवसायीले सडक चौडा पार्ने, पर्खाला लगाउने र ग्याबिन जाली भर्ने काम गरिरहेका नगरप्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो ।

“नगरपालिकामा यति ठूलो योजना कार्यान्वयनमा गएको पहिलो पटक हो, सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ”, श्रेष्ठले भन्नुभयो, “ठेक्का सम्झौता गरेको भोलिपल्टदेखि व्यवसायी काममा खटिनुभएको छ, निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ ।”

नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । सडक निर्माणको जिम्मा आशिष÷फेवा जेवीले लिएको छ । नगरपालिका भित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेलसम्बन्धी हुने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्रीसमेत हुनेछन् ।

उक्त सडकहरु आठ मिटर चौडा हुनेछन् भने तीन सडकको लम्बाइ १३ किमी हुनेछ । देशभरका नगरपालिकामध्ये १७ नगरपालिकाले मात्रै विश्व बैकको अनुदान पाएका बागलुङ नगरपालिकाले जनाएको छ ।

अहिले तीनवटै सडक चौडा पार्न, पर्खाल लगाउने काममा दुई सय मजदुर, आठवटा ठूला स्काभेटर परिचालन गरिएको निर्माण व्यवसायी आशिष फेवा जेवीका राजेन्द्र पहाडीले बताउनुभयो । भारी वर्षाका कारण काम गर्न समस्या भइरहेको भन्दै वर्षा रोकिएपछि पुनः कामको गतिलाई वृद्धि गरिने उहाँले जानकारी दिनुभयो ।

इराकसँग सम्बन्ध विस्तार गर्न इरानी राष्ट्रपतिद्वारा १४ सम्झौतामा हस्ताक्षर

इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्नुभएको छ ।

“इरान र इराकबीच १४ सहयोग ज्ञापनपत्रमा हस्ताक्षर भएको छ, यो सहयोग विस्तारको प्रारम्भिक विन्दु हो”, पेजेस्कियानले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँगै उभिएर भन्नुभयो ।

पदभार ग्रहण गरेपछि आफ्नो पहिलो विदेश भ्रमणमा उहाँले आफ्नो इराकी आतिथ्यतासँग ‘दुई मुलुकबीच अधिक सहयोगलाई प्रवर्द्धन गर्ने रणनीतिक तथा दीर्घकालीन योजनाहरूबारे’ छलफल गरेको बताउनुभयो । “हामी सँगै भयौँ भने आगोमा पर्नबाट जोगिन्छौँ”, उहाँले भन्नुभयो ।

सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणले इराकी तानाशाह सद्दाम हुसेनको सुन्नी बहुल शासनलाई पतन गरेपछि शिया बहुल दुवै मुलुक इरान र इराकबीच सम्बन्ध घनिष्ठ भएको छ ।

इरानको अन्तर्राष्ट्रिय एक्लोपनलाई कम गर्न चाहनुभएका र मुलुकको अर्थतन्त्रमा अमेरिकी नेतृत्वको प्रतिबन्धको प्रभावलाई कम गर्न खोज्नुभएका पेजेस्कियानले छिमेकी मुलुकहरूको सम्बन्धलाई प्राथमिकता दिने वाचा गर्नुभएको छ ।

तेहरान इराकको प्रमुख व्यापार साझेदारमध्ये एक हो र इरानले बगदादमा उसको इराकी सहयोगी संसद् र वर्तमान सरकारमाथि प्रभुत्व जमाउन पर्याप्त राजनीतिक प्रभाव राख्छ ।

युक्रेनको जित अमेरिकामा निर्भर– जेलेन्स्की

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताउनुभएको छ ।

“जहाँसम्म जितको योजनाको प्रश्न छ… यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्दछ”, जेलेन्स्कीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको छ । निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किनुभए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ ।

ट्रम्पले निर्वाचन जित्नुभयो भने युद्ध अन्त्य गर्न रुसलाई क्षेत्रीय सहुलियत प्रदान गर्न किएभलाई दबाब दिन उहाँले सहायताको फाइदा उठाउनुहुने ट्रम्पका सहयोगीहरूले सुझाव दिएका छन् ।

जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा तयार गर्ने बताउनुभयो । उहाँले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किएभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको तर्क दिनुभयो ।

युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्यो तर रुसलाई आमन्त्रण गरेको थिएन । त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराइनुपर्ने बताउनुभएको छ ।

कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्तालाई अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ ।

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौँ । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् ।

बुधबार साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन् । मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराइदिए ।

प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की थिए भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार थिए ।

प्रतियोगितामा अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो ।

विजेताले आगामी अक्टोबर २५ (कात्तिक ९) मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन् ।

पोखरामा यही शुक्रबार गायक नितेश जंग कुँवरले आफ्नो प्रस्तुती दिने

काठमाडौं । गायक नितेश जंग कुँवरले पोखरामा यही शुक्रबार आफ्नो प्रस्तुती दिने भएका छन । झण्डै डेढ वर्षपछि नितेश सार्वजनिक रुपमा आफ्ना गीत पोखराका दर्शकलाई सुनाउन लागेका हुन् ।नितेश पोखरास्थित लेकसाइडमा रहेको किङ्ग्स लाउन्जमा गुञ्जिदैछन् । यो कार्यक्रममा नितेशसँगै समृद्धि राईको पनि प्रस्तुती रहनेछ ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आयोजना गर्न लागेको कार्यक्रममा नितेशले ‘फ्लर्टी माया’, ‘म पागल’, ‘माया सस्तो’, ‘सम्हाली राख न’, ‘खोलै खोला’, ‘हितैको माया’लगायतका आफ्ना चर्चित गीत सुनाउनेछन् ।

नितेश यतिबेला उनको इपी ‘जेमिनी’को तयारीमा छन् । ‘जेमिनी’ सार्वजनिक गरेपछि उनी यसै वर्ष युरोप टुरको तयारी गर्दैछन् ।पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । पीभीई नेटवर्कका अनुसार पोखरामा नितेशको कार्यक्रम हुने निश्चित भएपछि उनका फ्यान उत्साहित भएका छन् । नितेशको कार्यक्रम हाउसफूल हुनेमा उनीहरु ढुक्क छन् ।

जलवायु परिवर्तनका समस्या समाधान गर्न एकीकृत ऐन आवश्यक रहेकामा जोड

काठमाडौँ, २६ भदौ : सङ्घीय सांसदहरूले नेपालमा जलवायु परिवर्तनका समस्या बढ्दै गएका बेला त्यसलाई सम्बोधन गर्न एकीकृत कानुनको आवश्यकता रहेकामा जोड दिनुभएको छ ।

पब्लिक पोलिसी पाठशालाद्वारा आज यहाँ आयोजित ‘जलवायु सङ्कट : नेपालको वास्तविकता र नीतिगत प्राथमिकता’ विषयक नीति संवादमा उहाँहरूले जलवायुका सबै विषयलाई समेट्ने गरी एकीकृत ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँहरूले जलवायु परिवर्तनसम्बन्धी नीतिहरू छरिएर रहँदा जलवायुजन्य विपद्को न्यूनीकरण, अनुकूलन तथा हानी नोक्सानीका विषयलाई प्रभावकारी र उत्तरदायी हिसाबले सम्बोधन गर्न नसकिएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न एउटा महाशाखाले मात्र काम गरेर नसक्ने बताउँदै यसमा सबै मन्त्रालय तथा निकायको समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन विषयमा गरिने छलफल र संवादलाई निरन्ततार दिनुपर्ने सुझाव दिनुभयो ।

प्रतिनीधिसभा सांसद दीपा शर्माले परिवर्तित अवस्थामा नेपालमा एकीकृत जलवायु कानुनको आवश्यकता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेकाले यसको समाधानमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । जथाभावी डोजरे विकास गर्दा पहिरो र बाढीको समस्या बढेका बताउँदै उहाँले यसमा हामी आफँैले पहल गर्नुपर्ने तर्क गर्नुभयो ।

प्रतिनिधिसभाका अर्का सांसद माधव सापकोटाले जलवायु परिवर्तनले निम्त्याएको हानी नोक्सानीको क्षतिपूति गर्न विदेशबाट पैसा ल्याए पनि त्यसलाई उपयोग तथा परिचालन गर्ने प्रष्ट कार्य ढाँचा आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले जलवायु सङ्कटको समाधानमा स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकार आपसमा मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका अर्का सांसद रुपा सोशी चौधरीले हिजोआज पक्की घर तथा भवन निर्माण गर्ने होडले गर्मी बढाएको चर्चा गर्दै परम्परागत रुपमा बनाइका घर र माटोले बनेका घरहरू जलवायुमैत्री र चिसो हुने गरेको तर्क गर्दै हाम्रा परम्परागत ज्ञान र सीपले जलवायु सङ्कटका समाधान गर्न सहयोगी हुने सुझाव दिनुभयो ।

राष्ट्रियसभाका सदस्य पदमबहादुर परियारले जलवायु परिवर्तनलाई सम्बोधन गर्न स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले विकसित राष्ट्रले उच्चस्तरमा कार्बन उत्र्सजन गरिरहने र त्यसवापत नेपालजस्ता देशलाई नगन्य सहयोग दिने विषय न्यायिक नभएको जिकिर गर्नुभयो ।

प्रतिनिधिसभाका सांसद प्रतिमा गौतमले जलवायु परिवर्तनको प्रभाव स्थानीयस्तरमा अत्यधिक हुने भएकाले स्थानीय सरकारलाई अझ बढी जिम्मेवार, सक्षम र सशक्त बनाउनुपर्ने बताउनुभयो । साथै उहाँले जलवायु परिवर्तनलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालस्थित वेलायती राजदूतावासका जलवायु सल्लाहकार उगान मानन्धरले जलवायु वित्त आकर्षित गर्न हाल रहेका विद्यमान जटिलतालाई सहज पार्नुपर्ने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा बुद्धिसागर पौडेलले स्वीडेन र दक्षिण कोरियासँग कार्बन व्यापारको प्रक्रिया अगाडि बढिरहेको जानकारी गराउँदै यसमा रहेको प्रक्रियागत झन्भटलाई सरल पार्ने काम भइरहेको बताउनुभयो ।

जलवायु परिवर्तनका विषयमा विश्व मञ्चमा नेपालले आफ्ना आवाजहरू सशक्त रुपमा उठाउँदै आएको उल्लेख गर्दै उहाँले अन्तराष्ट्रिय जलवायु वार्ताका लागि राष्ट्रिय क्षमता बढाउन आवश्यक रहेको तर्क गर्नुभयो । उक्त संवादमा संघीय संसदका सदस्यहरू, सम्बन्धित क्षेत्रका विषय विज्ञ तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।

दसैँलाई असोज १३ देखि २२ गतेसम्म सफा र सुकिलो नोट साट्न पाइने

काठमाडौँ, २६ भदौ : नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादसँैमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।” सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्नेछन् ।

विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।

दसैँको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको भनाइ छ । विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रँने तथा कुहिने अवस्था सिर्जना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भन्दै राष्ट्र बैंकले चलनचल्तीकै सुकिलो र सफा नोट साट्न लागेको हो ।

नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न योग्य नहुने अवस्था आउन सक्दछ । साथै बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हात हातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरुलाई मितव्ययी एवंं प्रभावकारी बनाउन सुकिलो नोटको उपयोग बढाउनु आवश्यक राष्ट्र बैंकको भनाइ छ ।

चाडबाडका समयमा मुख्यतयाः रु पाँच, १०, २०, ५० र १०० दरका नोटहरुको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको होल्डिङ लागत न्यून हुनेहुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटहीगरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलनसमेत रहेको पाइन्छ । पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबारअनुरुप माग हुने गरेको छ ।

देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ । मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७÷६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो । आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोटहरु खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउनका लागि पनि नोट सफा राखिराख्नु आवश्यक छ ।

चलन चल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटमात्र चलन चल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलान मार्फत चलन चल्तीबाट हटाउँदै लैजाने काम राष्ट्र बैंकले गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका नोटलाई गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरे नगरेकोबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएमलगायतका मेसिनहरुका माध्यामबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानीगरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनुपर्ने व्यवस्था छ । बैंक नोटको अवस्थाअनुसार त्यसलाई छुट्याएको÷नछुट्याएका विषयमा राष्ट्र बैंकले अनुगमन गर्ने गरेको छ । एटिएमलायतका मेसिनका माध्यमबाट चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा हरियो रङको, काउन्टरबाट भुक्तानीगरी चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङको स्लिप प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रिनेगरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कित नोटलाई पुनःनिष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंक नष्ट गर्ने गरेको छ ।

टीका लगाइ दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेको वा मैलिएका हातहरुले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउँदैनन् । नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङ्ग लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्यगरी नेपाली नोटको दुरुपयोग गर्ने/गराउने उपर कारबाही गर्न सकिने व्यवस्थासमेत रहेका छ । मुलुकी अपराध संहिता, २०७४ मा परिच्छेद २२ मा मुद्रासम्बन्धी कसुरसम्बन्धी व्यवस्था गरिएको छ । दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यवस्था रहेको छ । यति त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । त्यस्तै अपराध संहिताको दफा २६४ मा झुत्रो बैंक नोट दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था रहेको छ ।

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्नेजस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन । नोटमा स्टिच प्रयोग गर्नुहुँदैन । यसमा आवश्यकताअनुसार रबर, प्लास्टिक, पेपर बैण्ड प्रयोग गर्न सकिन्छ ।

नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारित गर्न पर्यटन बोर्डको ध्यानाकर्षण

काठमाडौँ, २६ भदौः नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारितगरी अन्तर्राष्ट्रिय पर्यटन मेलामा निजी क्षेत्रको सहभागिता सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले बोर्डको ध्यानाकर्षण गराएको छ ।

सङ्गठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा नेतृत्वको सङ्गठनको टोली आज बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलाई भेटी बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न विषय ध्यानाकर्षण गराएको हो । साथै सङ्गठनले सिइओ जोशीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

व्यवसायीको ज्ञापन बुझ्दै सिइओ जोशीले बोर्डको बजेट चाँडो पास गरेर बोर्डका कामलाई गतिशील बनाउन सक्रिय ढङ्गले लाग्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको साथ सहयोग र समन्वयलाई फराकिलो बनाएर पर्यटन प्रवर्द्धनका काममा क्रियाशील हुन सबैमा आह्वान पनि गर्नुभयो ।

बोर्डले प्राथमिकताका साथ गर्नुपर्ने बुँदागत काम कार्यान्वयनका लागि बोर्डको ध्यानाकर्षण गराइएको सङ्गठनका कार्यवाहक अध्यक्ष सापकोटाले बताउनुभयो । सङ्गठनले बोर्डको बजेट कार्यान्वयन, विश्वप्रसिद्ध पर्यटन मेलामा बोर्डमार्फत निजी क्षेत्रको सहभागिता, नयाँ पर्यटन बजारको पहिचान र प्रवद्र्धन तथा हवाई टिकट र पदयात्रामा लगाइएको कर हटाउन माग गरेको छ ।

यस्तै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को प्रभावकारी व्यवस्थापन, ‘नो ट्रेकिङ विदआउट गाइड/पोर्ट’ यथाशीघ्र लागू गर्नुपर्ने, विश्वबजारमा नेपालको प्रचारप्रसार गर्न बिबिसी, सिएनएनजस्ता प्रसिद्ध सञ्चारमाध्यममा नेपालको प्रचार गरिनुपर्ने, श्रमिक कल्याणकारी कोष कार्यान्वयन र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि पर्यटन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्नेलगायत माग रहेका छन् ।

जनताले अनुभूत गर्नेगरी कार्यसम्पादन गर्न प्रहरीलाई गृहसचिवको निर्देशन

काठमाडौँ, २६ भदौ : गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आज नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण भ्रमणपछि यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक सङ्गठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारी इमान्दार, व्यावसायिक, दक्ष र कुशल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रहरी सङ्गठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यकपर्ने स्रोतसाधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयका लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले विभिन्न समस्या, सीमितता र चुनौतीको बाबजुद पनि नेपाल प्रहरीले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवं कानुन कार्यान्वयनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन–२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गर्नुभयो । 

निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीसमक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सङ्गठनका गतिविधिबारे प्रस्तुति दिनुभएको थियो ।  निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुभयो ।  

कोशी प्रदेशमा अब ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने

इटहरी । अब कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ ।

स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स दिँदै मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक उद्‌घाटन गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स पाइने बताए।

उनले आवश्यक व्यवस्था मिलाउन केही दिन समय लाग्ने बताउँदै भने, ‘पासपोर्टजस्तै लाइसेन्स पनि आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गर्दैछौं, तपाईहरुको सहयोग आवश्यक छ ।’

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने गरीको तयारी भइरहेको जानकारी दिए ।

गत साउन ३२ गते सात वटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोड सहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो । सोही अनुसार सबैभन्दा पहिला पटक कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको हो ।

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटा छन् । अब ति सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने ब्यवस्था सुरु गरिएको छ । जसको समयावधि एक वर्षको हुनेछ । एकवर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाईसमेत प्रदेशबाटै गर्ने तयारी भइरहेको छ ।

नयाँ, थप र प्रतिलिपीसमेत गरी अहिले कोशी प्रदेशबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रको लागि निवेदन आउने गरेकोमा यातायात व्यवस्था विभागले स्थायी (स्मार्ट) कार्ड छाप्न ढिलाइ गरेपछि सेवाग्राहीहरू पैसा तिरेको रसिद बोकेर हिँड्ने बाध्य थिए । अब प्रदेशले नै एकै दिनमा लाइसेन्स दिन सुरु गर्नु अत्यन्तै राम्रो भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल बहादुर थापाले बताए।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी दिपाको मृत्यु, चालक नियन्त्रणमा

मुस्ताङ, २६ भदौ-थासाङ गाउँपालिका-२ लार्जुङस्थित सडकमा ग.१ त ४२३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ नाकुम बस्ने ३६ वर्षीया दिपा विकको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं, २६ भदौ – कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय केशव राज भट्ट र २३ वर्षीय भरत जाग्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा दाङ दंगीशरण गाउँपालिका बस्ने ३२ वर्षीय बिक्रम परियार र तुल्सीपुर उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय दिपक गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ६ सय ४० ग्राम सहित स्याङ्जा फेदीखोला गाउँपालिका-५ बागे घर भएका २४ वर्षीय सौगात परियारलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै

ललितपुर, २६ भदौ : ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्‍याएको मन्दिर पुनः निर्माणको काम सुरु भएको चार वर्ष भइसक्दा पनि बजेट अभावले काम अझै नसकिएको जनाइएको छ ।

ललितपुर महानगरपालिकाको सहयोगमा विसं २०७८ देखि रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले काम सुरु गरेको थियो । समितिका अध्यक्ष अध्यक्ष बेखनर महर्जनले महानगरबाट एकमुस्ट बजेट नआउँदा काम समयमै सम्पन्न नभएको बताउनुभयो । उहाँले महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने गरेका सोअनुसार काम भएको जानकारी दिनुभयो ।

भूकम्पले क्षति गरेका ललितपुरका अन्य मन्दिर पुनःनिर्माण भए पनि यस मन्दिरको पुनःनिर्माण ढिलाइ भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डुङ्गोको भनाइ छ । “बजेट अभावले मन्दिर पुनःनिर्माण ढिला भएको हो तर महानगरको वार्षिक बजेटअनुसार काम भने भएको छ । हालसम्म रु चार करोड भन्दाबढी खर्च भइसक्यो । अहिलेकै अवस्थामा मन्दिर पुनः निर्माणको काम सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

सोही गुठीका सदस्य हेराबहादुर डङ्गोलले समयमै मन्दिर निर्माण नहुँदा यहाँ रहेका मूर्तिलाई अस्थायी मन्दिरमा राखेको र छिटो काम सकेर रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज अवस्था बनाउन आग्रह गर्नुभयो ।

रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि २०७८ भदौ २३ गते पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गर्नुभएको थियो । करिब रु आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको उपभोक्ता समितिले काममा ढिलाइ हुँदा लागत बढेर १० करोड भन्दाबढी खर्च हुन सक्ने जनाएको छ ।

काठमाडौँमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, २६ भदौः खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिनुभएको छ ।काठमाडौँको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उहाँले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिनुभएको हो ।

उहाँले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताउनुभयो । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिनुभयो ।

यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता स्रोतहरुको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ ।”

मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीको समस्याबाट देशभरिका जनताले दुःख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु ।”

अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिनुभयो । समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । खानेपानीको दिगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिइरहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “हामी उपत्यकाका बासिन्दालाई सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न निरन्तर लागिरहेका छौँ ।”

खानेपानीका लागि जनताको आशा र अपेक्षा सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजना अघि बढाइने मन्त्री यादवले जानकारी दिनुभयो । उक्त अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।

चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् ।

उद्योग मन्त्रालयमा बुधबार मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका विषयमा छलफल गरेको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । त्यसक्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् ।

चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भने, “नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलता छैन, नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु, लगानी सुरक्षित बनाउने जिम्मा नेपाल सरकारको हो ।”

यस्तै मन्त्री भण्डारीले चीन सरकारको लगानीमा काभ्रेको पाँचखालमा उद्योग सञ्चालनको तयारी भइरहेको जानकारी गराउँदै लगानीकर्तालाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । साथै नेपालमा व्यवसाय सञ्चालन गरेमा आइपर्ने जुनसुकै समस्या समाधान गर्न सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा हेहेहुयी आर्थिक तथा सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष यीन लिउबिङले चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

यस्तै मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्या नरहेकाले यहाँको उद्योग क्षेत्रमा ढुक्क साथ लगानी गर्न आग्रह गरे । उनले नेपालमा कम्पनी दर्ता निःशुल्क रूपमा अनलाइनबाटै प्रक्रिया सुरू भइरहेको बताए ।

राजस्व अनुसन्धानले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने

सिरहा, २६ भदौ : सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ ।

उद्योगमा म्याद गुज्रिएका र ‘रि–लेबलिङ’ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट गत साउनमा जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएको थियो । त्यसलगत्तै राजस्वले उद्योगसँग लिखित जवाफ मागेका छन् ।

उद्योगले गत १९ गते राजस्वको पत्रको जवाफ पठाए पनि त्यसमा सन्तुष्ट हुने अवस्था नभएपछि प्रत्यक्ष बयान लिने तयारी गरिएको राजस्व अनुसन्धान कार्यालय, इटहरीले जनाएको छ । “उद्योगबाट आएको जवाफको पनि हामी अध्ययन गर्दैछौँ, राजस्वका प्रमुख खेमराज ओझाले भन्नुभयो, “त्यसले मात्र सन्तुष्ट हुने अवस्था देखिएन । त्यसैले उद्योगसँग बयान लिने तयारी गरिएको छ ।”

उद्योगलाई चाँडै बयानका लागि बोलाउने तयारी भइरहेको प्रमुख ओझाले जानकारी दिनुभयो । उहाँले बढी मूल्यको स्टिकर टाँसेर चुरोट बेची उपभोक्तालाई ठग्नुका साथै राजस्व पनि छली गरिएको देखिएकाले सूक्ष्म रुपमा अनुसन्धानमा जुटेको बताउनुभयो ।

जापानको समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि स्वस्थ फेला

जापानको समुद्रबाट हराएको पेन्गुइन दुई हप्तापछि सुरक्षित र स्वस्थ फेला परेपछि उसका रक्षकले ‘चमत्कार’ भएको बताएका छन् । बन्दबारमा जन्मिएको र हुर्किएको पोथी केप पेन्गुइन पेन–चान जो पहिले कहिल्यै खुला समुद्रमा पौडिएको थिएन । तर अगस्ट २५मा समुदूमा पसेको र मध्य आइची क्षेत्रबाट हराएकोे थियो ।

उक्त पेनगुइन हराएपछि उसको रक्षक रियोसुके इमाईले एउटा टोलीले तुरुन्तै त्यस क्षेत्रमा खोजी गर्न थालेको तर जापानभरी आएको आँधी र वर्षाले खोजीमा बाधा पु¥याएको बताउनुभयो । पेन–चानको पौडी खेल्ने र जङ्गलमा बाँच्ने कौशलको कमीलाई ध्यानमा राख्दै टोलीले पेन्गुइन धेरै टाढासम्म पुग्न वा एक हप्ता भन्दा बढी बाँच्न नसक्ने अनुमान गरेको थियो ।

तर आश्चर्यजनक रूपमा सेप्टेम्बर ८ मा इमाईले उड्न नसक्ने चरा ३० माइल टाढाको समुद्री तटमा पानीमा खुसीसाथ पौडी खेलिरहेको देखिएको जानकारी प्राप्त गर्नुभयो ।

“मैले सोचेँ ऊ थकित देखिन्छ । तर ऊ सधैँ जस्तै पौडी खेल्न थाल्यो,” पेनगुइनले पुनः नियन्त्रणमा लिएपछि इमाईले भन्नुभयो, “पेन–चान फेला पर्नु मेरो आश्चर्यभन्दा बाहिर थियो । यो एउटा चमत्कार हो ।”

“छ वर्षीया पेन–चानले आफै समातेर माछा र काँक्राहरू खाँदै आएको हुनुपर्छ । ऊ विश्रामका लागि विभिन्न ठाउँमा रोकेर त्यहाँ पुगेको होला, तर यो अझै पनि अविश्वसनीय छ,” इमाईले भन्नुभयो । उहाँले भन्नुभयो, “उसको वजन अलिकति कम भएको छ, बाँकी सबै ठीक छ ।”

इजरायली सेनाको हेलिकप्टर गाजामा दुर्घटना हुँदा दुई सैनिकको मृत्यु

दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।

   इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई चिकित्सा हेरचाहको लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

“प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ”, विज्ञप्तिमा भनिएको छ । घटनाको कारणबारे वायुसेना कमाण्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ ।

बहस समाप्त भएपछि राष्ट्रपति पदका लागि ह्यारिसलाई टेलर स्विफ्टको समर्थन

सङ्गीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ ।
“मलाई लाग्छ कि उहाँ आत्मनियन्त्रण भएकी प्रतिभाशाली नेता हुनुहुन्छ र यदि हामी अराजकताको नभई शान्तिपूर्ण नेतृत्वमा भयौँ भने यस मुलुकमा धेरै नै हासिल गर्न सकिन्छ भन्ने मलाई विश्वास छ”, उहाँले मङ्गलबार राति इन्स्टाग्राममा पोस्ट गर्नुभयो ।

नोभेम्बरको निर्वाचनमा प्रमुख जनसाङ्ख्यिकीयका रूपमा स्विफ्टसँग युवा महिलाहरूमाझ समर्पित अनुयायी छन् । उहाँको पछिल्लो भ्रमणले टिकट बिक्रीमा एक अर्ब डलरभन्दा बढी कमाइ गरेको छ । आधा घन्टाको उहाँको पोस्टलाई २३ लाखभन्दा धेरै ‘लाइक’ प्राप्त भएको छ । 

उहाँले आफ्नो बिरालो बेन्जामिन बटनलाई समातेको एउटा तस्बिर समावेश गर्नुभयो र ‘निःसन्तान बिरालो लेडी’ भन्ने सन्देशमा हस्ताक्षर गर्नुभयो । उक्त टिप्पणी डोनाल्ड ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले गर्नुभएको तीन वर्ष पुरानो टिप्पणीका सन्दर्भमा आएको हो । भान्सले बच्चा नभएका महिलाहरूसँग मुलुकको भविष्यमा समान दाबी नहुने बताउनुभएको थियो । 

ह्यारिसका एक वरिष्ठ अभियान अधिकारीले समर्थन अभियानसँग समन्वित नभएको बताउनुभयो । ह्यारिसका उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज एमएसएनबिसीमा प्रत्यक्ष अन्तरवार्ताको बीचमा समर्थनका बारेमा जान्नका लागि उपस्थित हुनुभएको थियो । राचेल म्याडोले पाठ पढ्दा वाल्जले मुस्कुराउँदै आफ्नो छाती थपथपाउनुभयो । 

“त्यो धाराप्रवाह र स्पष्ट थियो”, वाल्जले भन्नुभयो, “अमेरिकामा हामीलाई खडा हुन यस्तै प्रकारको साहसको आवश्यकता छ ।”

स्विफ्टले आफ्नो समर्थन आंशिक रूपमा ट्रम्पको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) ले उत्पन्न गर्ने चित्रहरू पोस्ट गर्ने निर्णयबाट प्रेरित भएको लेख्नुभएको छ । यसबाट उहाँले ट्रम्पको समर्थन गर्नुभएको थियो भन्ने थाहा हुन्छ । एक जनाले स्विफ्टलाई अङ्कल सामका रूपमा कपडा लगाएको देखाएका छन र पोस्टमा भनेका छन्, “टेलर डोनाल्ड ट्रम्पलाई मतदान गरुन् भन्ने चाहनुहुन्छ ।”

“ट्रम्पको पोस्टले मलाई एक मतदाताका रूपमा मैले यो निर्वाचनका लागि आफ्नो वास्तविक योजनाहरूका बारेमा अत्यन्त पारदर्शी हुन आवश्यक छ भन्ने निर्णयमा पुर्याएको छ”, स्विफ्टले लेख्नुभएको छ, “मैले मेरो अनुसन्धान गरेँ र आफ्नो रोजाइ बनाएँ ।”

ट्रम्पले बुधबार स्विफ्टको कदम ‘समयको प्रश्न मात्र थियो’ भन्नुभएको छ । उहाँले ‘फक्स एन्ड फ्रेन्ड्स’ लाई भन्नुभयो, “स्विफ्ट अत्यन्त उदार व्यक्ति हुनुहुन्छ, उहाँ सधैँ डेमोक्रेटलाई समर्थन गरेको देखिनुहुन्छ र सम्भवतः उहाँले बजारमा यसको मूल्य चुकाउनुपर्नेछ ।”

स्विफ्टले सन् २०२० मा डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई समर्थन गर्नुभयो र तत्कालीन उपराष्ट्रपति माइक पेन्सविरुद्ध बहसमा ह्यारिसका लागि खुशी व्यक्त गर्नुभयो । उहाँले ट्रम्पको खुलेआम आलोचना गर्दै भन्नुभयो, “उहाँले श्वेत वर्चस्व र नस्लवादको आगो सल्काउनुभएको छ ।”

स्विफ्ट मुलुकभर विशेषगरी डेमोक्रेटहरूमाझ लोकप्रिय व्यत्तित्व हुनुहुन्छ । सन् २०२३ को अक्टोबरमा फक्स न्युजले गरेको सवेक्षणमा ६८ प्रतिशत डेमोक्रेटसहित समग्रमा ५५ प्रतिशत मतदाताहरूले स्विफ्टप्रति उनीहरूको दृष्टिकोण अनुकूल थियो भनेका छन् । सर्वेक्षणमा ४३ प्रतिशतको राय अनुकूल र ४५ प्रतिशतको प्रतिकूलसहित रिपब्लिकनहरू विभाजित रहेको देखिएको थियो । 

जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

धनकुटा, २६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी जनताको काम छिटोछरितो सक्नेगरी गर्न निर्देशन दिनुभएको हो ।

“उच्च मनोवलका साथ जनताको काम चाँडो सम्पन्न हुनेगरी काम गर्नुहोस्, सरकार तपाईहरुको साथमा छ,”–उहाँले भन्नुभयो । वर्तमान सरकार स्थायी सरकार भएकाले कर्मचारीलाई ढुक्क भएर कार्यसम्पादन गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले पूर्वी पहाडी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जलस्रोत तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले कृषि र पर्यटनमार्फत धनकुटाको विकास सम्भव रहेको बताउनुभयो । उहाँले यहाँका कृषि उत्पादनलाई बजारीकरण गर्नसके यस जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ऊर्जा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो । उहाँले यहाँका बाँझो जग्गालाई सिँचाइ सुविधा पु¥याउन सके कृषिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटाको वर्तमान अवस्था र आगामी गर्नुपर्ने कामको बारेमा जानकारी गराउनुभएको थियो ।

आर्यन सिग्देल ‘होस्टेल ३’ मा ‘वार्डेन’को भूमिकामा अनुबन्ध, परीक्षा लिम्बुको पनि प्रवेश

काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो।

आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनेछन्। निर्देशक सशान कँडेल पछिल्लो समय अत्यन्तै व्यस्त हुँदा पनि आर्यनले ‘होस्टेल ३’मा काम गर्न लागेकोमा खुसी देखिए। “उहाँले निभाउने ‘वार्डेन’को भूमिका चलचित्रको मेरुदण्ड हो। यस अघि पनि ‘होस्टेल’ शृङ्खलामा वार्डेनको भूमिका चर्चित थियो, तर यस पटकको भूमिका अझै बलियो छ,” कँडेलले बताए।

सिग्देलसँगै अभिनेत्री परीक्षा लिम्बु पनि चलचित्रमा अनुबन्धित भएकी छन्। निर्देशक कँडेलले उनको विशेष भूमिकामा अभिनय रहने जानकारी दिएका छन्। यसअघि, आर्यन र परीक्षाले चलचित्र ‘पुजार सार्की’मा सँगै काम गरेका थिए।

‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ। बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ। जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईँले वितरण अधिकार लिएका छन् भने मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले वितरण अधिकार लिएका छन्।

चलचित्रमा आर्यन र परीक्षासँगै ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्।

‘होस्टेल’ शृङ्खलाले नयाँ स्टारहरू जन्माउनेको रूपमा ख्याति कमाएको छ। पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला जस्ता कलाकारले डेब्यु गर्दै नेपाली चलचित्रमा सफलता हासिल गरेका थिए। वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलकै हो। यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

‘पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक’ : प्रवक्ता महत

त्रिशूली (नुवाकोट), २६ भदौः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गर्नुभएको छ । बिपी जन्मजयन्तीका अवसरमा नेपाल तरुण दल क्षेत्र नं १ नुवाकोटले जिल्लाको लिखु गाउँपालिका–४ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबैभन्दा धेरै भ्रातृ र शुभेच्छुक संस्था भएको कांग्रेस पार्टीलाई बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।

“पार्टीले नीति तथा कार्यक्रम बनाउन र जनताको सेवा गर्न प्रतिनिधि खटाएको हुन्छ”, उहाँले भन्नुभयो, “पार्टी र पार्टीका प्रतिनिधिले गरेका राम्रा काम जनतासमक्ष पु¥याइ प्रचारप्रसार गरेर पार्टीलाई लोकप्रिय बनाउनमा केन्द्रित हुुनुपर्दछ ।”

वृक्षरोपण, रक्तदानजस्ता कार्यक्रमलाई सामान्य रुपमा नलिइ यस्ता गतिविधि बढाउन उहाँले आग्रह गर्नुभयो । तरुण दलको अगुवाइमा आयोजित वृक्षरोपण कार्यक्रम वन क्षेत्र विस्तार एवं संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै उहाँले प्रशंसा गर्नुभयो । 

“दल र पार्टीका गतिविधिमा प्रतिबन्ध लगाउँदा जनताका बीचमा पुग्न र गुनासो सुन्न बिपी कोइरालाले वृक्षरोपण र रक्तदान कार्यक्रममार्फत  जनताको मन जित्नुभएको थियो”, प्रवक्ता महतले भन्नुभयो, “अहिलेका सामुदायिक वन र तत्कालीन समयमा रगत अभावमा बिरामीको अकालमा ज्यान जोगाउन बिपी कोइरालाको अभियानको महत्वपूर्ण योगदान छ । यसलाई कांग्रेसले अपनत्व लिएर अहिलेको सन्दर्भमा बढवा दिनुपर्दछ ।”

जनतालाई चाहिएको विकास, सेवा र आवश्यक परेको समयमा सहयोगका लागि पार्टी र भ्रातृ संस्थाका प्रतिनिधिलाई अग्रस्थानमा उभिन उहाँले आह्वान गर्नुभयो । नुवाकोटमा कांग्रेस एक्लै चुनाव लड्न र जित्नसक्ने अवस्था कायम राख्दै तीनै तहमा कांग्रेसका प्रतिनिधिले जित्ने वातावरण तयार गर्न पार्टी र भ्रातृ संस्थाका पदाधिकारीलाई उहाँले निर्देशन दिनुभयो । 

जनकपुर यातायात कार्यालयबाट ३५ हजारले चालक अनुमतिपत्र लिन बाँकी

जनकपुरधाम, २६ भदौ : यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट ३५ हजार जनाले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्न सकेका छैनन् । सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि यहाँ नयाँ अनुमतिपत्र, नवीकरण तथा प्रतिलिपिका लागि निवेदन दिएकाहरूले स्मार्ट लाइसेन्स छापेर नआउँदा यस्तो समस्या भोग्नुपरेको हो ।

विगत अढाइ वर्षदेखि अनुमतिपत्र उपलब्ध गराउन नसकिएको कार्यालयको प्रशासन शाखाले जनाएको छ । यहाँ अनुमतिपत्रका लागि वार्षिक १० हजार व्यक्ति थपिइरहेका छन्् । चालकले कार्यालयबाट काटेको रसिद तथा अन्य प्रमाणको आधारमा सवारीसाधन चलाइरहेका छन् ।

प्राप्त विवरणअनुसार चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट कायालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । त्यस अवधिमा सवारीकरबापत रु ४३ करोड ३३ लाख ५८ हजार दुई सय पाँच, सवारी दर्तासम्बन्धी दस्तुरबापत रु १० करोड ५७ लाख २८ हजार नौ सय १०, सवारी चालक अनुमतिपत्रबापत रु आठ करोड, ४३ लाख, २६ हजार पाँच सय, रु ३७ लाख ६५ हजार सात सय ६०, रुटपर्मिटबापत रु ४१ लाख ६८ हजार छ सय ४०, आयकरबापत रु एक करोड २३ लाख ३३ हजार एक सय ८०, सडक मर्मतसम्भारबापत रु पाँच लाख ५२ हजार चार सय ३१ तथा अन्य रु ४४ हजार राजस्व सङ्कलन भएको छ ।

उक्त अवधिमा ६८ वटा बस, २४ ट्रक, ३८ क्रेन तथा डोजर, छ वटा मिनि बस एवं मिनि ट्रक, ६६ कार र जीप, ५० पिकअप भ्यान, माइक्रो बस तीन, एम्बुलेन्स ११, टेम्पो एक हजार १०, इ–रिक्सा सात सय चार, मोटरसाइकल छ हजार दुई सय ८१, ट्याक्टर तथा पावर टेलर एक सय ६७, इ–भ्यान २८, इ–कार १९ तथा इ–माइक्रोबस सात वटा दर्ता तथा नवीकरण भएका कार्यालयले जनाएको छ ।मधेस प्रदेश सरकारअन्तर्गत यहाँका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छन् ।