`

टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट

काठमाडौँ, २६ भदौ : आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।

त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् । टि–ट्वान्टी विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।

‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक’ : मन्त्री पाण्डे

काठमाडौँ, २६ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताउनुभएको हो ।

पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँ उक्त प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

“हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुनेछ ।”

नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (युएसओएपी) कार्यान्वयनका विषयमा नेपालले सन् २०२२ मै विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०२२ को लेखापरिक्षणमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु । नेपालले ‘ग्लोबल एभियसन सेफ्टी प्लान’का मुख्य सिद्धान्तलाई ‘नेशनल सेफ्टी प्लान’मा सफलतापूर्वक एकीकृत गराइसकेको छ ।”

मन्त्री पाण्डेले सिकागो सम्मेलनको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले नेपालले सम्मेलनका सिद्धान्तलाई स्वीकार गरेको बताउनुभयो । उहाँले दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले नेपालमा क्षेत्रीय अनुसन्धान तथा तालिम केन्द्रको स्थापना गर्नुका साथै एयर नेभिगेशन सर्भिस (एएनएस)सँग सम्बन्धित खोजी तथा उद्धार, मौसमसम्बन्धी सेवा र एयर ट्राफिक फ्लो म्यानेजमेन्टजस्ता विषयमा भएका राम्रा प्रयासको प्रवद्र्धनका लागि संयुक्त रुपमा काम गर्न सकिने धारणा राख्नुभयो ।

नयाँ दिल्लीमा जारी दुईदिने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गरेको हो । एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले आयोजित सो सम्मेलन बिहीबार समापन हुने छ । समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा .करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग

काठमाडौँ, २६ भदौः सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले आज उक्त विवादमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले मङ्गलबार जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

परीक्षामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ ।

पार्टीले अघि सारेको एजेण्डाका कारण माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् ।

महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले पार्टीको ‘एजेण्डा’ र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण बढेको बताए ।

‘पहिचानका पक्षमा लड्ने पार्टीका रूपमा माओवादी केन्द्र स्थापित भएको छ, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको बढेको छ’, उनले भने ।

राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ–नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उनले बताए ।

‘जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत सङ्घीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्थालगायत सबै एजेण्डा माओवादीले नै अघि सारेका हुन्’, अध्यक्ष दाहालले भने, ‘हामीले जति पटक सरकारको नेतृत्व गरेका छौँ, नयाँ–नयाँ काम गरेका छौँ ।’

जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोक मार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना तथा सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको उनले बताए ।

भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया थाल्नेदेखि मधेसलगायत देशैभरिको ठूलो समस्याका रूपमा रहेको मिटरब्याज (अनुचित लेनदेन)को समस्या समाधान र लाखौँ नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायत काम गरिएको उनले बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, काँग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, वीरेन्द्र मण्डल, विजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दीपेन्द्रकुमार चौधरी, वसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा, उमेश मण्डललगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विकास–निर्माणका काममा अवरोध नगर्न मन्त्री खड्काको आग्रह

मुढेशनिश्चरे, (सङ्खुवासभा), २६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।
धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास–निर्माणका काम प्रभावित भएका बताउनुभयो । उहाँले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा समस्या समाधानमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यले जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला सङ्खुवासभाले ती स्रोतको सदुपयोग गरी विकासमा फड्को मार्नसक्ने उल्लेख गर्नुभयो । उहाँले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सचिवालयले काम गरिहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सङ्खुवासभाको ९० प्रतिशत भाग पूर्ण विद्युतीकरण भइसकेकाले बाँकी स्थानमा पनि चाँडै बिजुली पु¥याइने बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पहाडी जिल्ला सङ्खुवासभामा पहिरोको जोखिमलाई दृष्टिगत गर्दै साना–साना सिँचाइका आयोजना आयोजना कार्यान्वयन गरिने बताउनुभयो ।

जुम्लामा उत्पादित स्याउ कैलालीमा बेचेर हंशिलाले जोडिन् घरजग्गा

भजनी (कैलाली), २६ भदौः कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्नुहुन्छ । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उहाँले कैलालीमा घर र जग्गा जोड्नुभएको छभने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

“श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो”, उहाँ भन्नुहुन्छ, “मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।” यो वर्ष उहाँले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताउनुभयो । मागका आधारमा देशका अन्य जिल्लामा उहाँले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहनुभएको छ ।

जुम्लामा उत्पादित स्याउ प्रतिकेजी रु ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि एक सय २० मा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । “एक ट्रक स्याउ ल्याउन रु एक लाखभन्दा बढी खर्च हुन्छ”, हंशिला भन्नुहुन्छ, “ जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ” उहाँले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गर्नुभएको छ । उहाँका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गर्नुभएको छ । चार महिनादेखि स्याउको व्यापारमा लाग्नुभएका उहाँ हरेक साता जुम्ला पुग्नेगरेको बताउनुहुन्छ । “चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ”, उहाँ भन्नुहुन्छ, “मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।” उहाँले सडक सञ्जाल नभएका कारण वगैचामा नै स्याउ कुहिने गुनासो गर्नुभयो । कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोप्नुभएको छ । “मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पु¥याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँ भन्नुहुन्छ, “कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यलाई अझै बुझेको छैन ।”

बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति

पर्वत, २६ भदौ : जिल्लाको दक्षिणी भेगमा पर्ने बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु १३ किलोमिटर सडक स्तरोन्नति प्रारम्भ भएको छ । महाशिला गाउँपालिका र पैँयु गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो सडक स्तरोन्नतिसँगै कालोपत्र पनि गरिनेछ ।

प्रस्तावित पोखरा–सेतीवेणी–रिडी पर्यटकीय राजमार्गसँग जोडिने बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति र कालोपत्रको मङ्गलबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गर्नुभएको छ । उक्त सडक रु पाँच करोडको लगानीमा स्तरोन्नति थालिएको हो । बहुवर्षीय योजनामा समावेश भएको सडकका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र सङ्घीय सरकारको भौतिक मन्त्रालयमार्फत चालु वर्षका लागि रु एक करोड २० लाख विनियोजन भएको छ ।

उक्त बजेटले विभन्न ठाउँमा नाली, कल्भर्ट, ढलान तथा ‘ग्रेड’मिलाउने र चक्ल्याउने काम गरिने पैैँयु गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र उक्त बजेटअन्तर्गत तोकिएको काम सकिने पालिकाले जनाएको छ ।

आयोजनाको शिलान्यास गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले सडक नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले गाउँका उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसान र उद्यमी व्यावसायिक बन्न नसकेकाले गुणस्तरीय सडक निर्माणपछि ग्रमीण क्षेत्रका नागरिक स्वरोजगारमुखी हुने बताउनुभयो ।

कार्यक्रममा पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्लले सबै सडक क्रमशः स्तरोन्नति गरिने बताउनुभयो । पालिकाको बजेटले मात्र स्तरोन्नति सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारमार्फत बजेट माग गरेर भए पनि बाह्रैमास सञ्चालन हुनेगरी सडक स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।

पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’को फस्ट लुक सार्वजनिक, सुधनले डेब्यु गर्दै

काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्।

यस चलचित्रको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ। छायाङ्कनमा जानु अघि यस चलचित्रमा प्रमुख भूमिका निभाउन लागेका अभिनेता पोखरेललाई सबै पक्षबाट तयार पारिने निर्देशक चानस पुन मगरले बताए। अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने चलचित्रका निर्माता कुमार भास्करले बताए।

चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा बन्ने यो चलचित्रको छिट्टै टिजर सार्वजनिकको पनि तयारी गरिएको छ। यो चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी दिए।

चलचित्र ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन्। चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए।

चलचित्रमा राजु तामाङको एक्सन निर्देशन रहनेछ। सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायाकार यज्ञलाल ज्ञवाली हुन्। मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, बर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ। चलचित्रका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन्।

दीपक बराईलीको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक

काठमाडौं । गायक दीपक बराईलीको स्वरमा रहेको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार सार्वजनिक गरिएको हो ।ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा बिकास लामिछाने र श्रीसा कुँवरको अभिनय रहेको छ । रोमान्टिक लभस्टोरीमा तयार पारेको गीतमा विजेश्वर तण्डुकारको मिक्सिङ छ ।

यस्तै गीतमा विभोर पोखरेलको सम्पादन, नहकुल खड्काको कलर ग्रेडिङ र बिशाल थापाको सिनमाटोग्राफी रहेको छ । दीपक बराईलीले आफ्नो गायकीमा ‘म बाट’, ‘शराबको सारै राम्रो’, ‘सुख दुःख’, ‘इशारा देऊ’, ‘तिम्रो लागि’, ‘आँशु दिने’लगायत दर्जन बढि गीत बजारमा ल्याईसकेका छन् ।

दीपक बराईलीको सबै गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ भने अधिकांश गीतमा उनी आफै मोडलको रुपमा देखिएका थिए ।

भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड बढीका सामान बरामद

भद्रपुर (झापा), २६ भदौः स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले आव २०७८/७९ मा रु चार करोड पाँच लाख छ हजार एक सय ८१, आव २०७९/८० मा रु तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ र आव २०८०/८१ मा रु पाँच करोड ७० लाख ४६ हजार चार सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा रु एक करोड ७८ लाख ९७ हजार आठ सय ४६ मूल्यका चार हजार दुई सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आव २०७८÷७९ मा एक हजार दुई सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा दुई हजार चार सय ७२ क्यूबिक फिट र आव २०८०÷८१ मा पाँच सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।

अब सरकारी कार्यालयमा सेयर कारोबार गरिने ‘टिएमएस’ चलाउन नपाइने

काठमाडौँ, २६ भदौ : सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त भई नाफा घाटाको हिसाब गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ ।

विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक काम छाडेर कर्मचारी शेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो ।

आयोगको अनुमगनपछि यही भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो । आयोगको निर्देशनका आधारमा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली (टिएमएस) सञ्चालन नगर्न आग्रह गरेको छ । कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु जायज नभएको ठहर गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको हो ।

“नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी आवश्यक जाँच गर्न सकिने व्यवस्था मिलाउनु”, पत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगले गरेको पत्राचारको छायाप्रति राखेर सबै मन्त्रालय, आयोग र सचिवालयलाई आग्रह गरेको छ ।

मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत सरकारी कार्यालयमा टिएमएस प्रतिबन्ध लगाएको जानकारी दिनुभएको थियो । उहाँले उल्लेख गर्नुभएको थियो,“सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।”

पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढ्यो

दमौली (तनहुँ), २६ भदौ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताउनुभयो । “यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ”, उहाँले भन्नुभयो,“करिब तीन महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा हुने बताउनुहुन्छ । “देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो । यसले पक्कै पनि यहाँका पर्यटकीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर लाभ लिन सघाउ पुग्ने छ”, उहाँले भन्नुभयो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोखरेलले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरी केबलकार सञ्चालनमा ल्याइएको र अब यसको प्रचारप्रसारको काम भइरहेको सुनाउनुभयो ।

केबलकारबाट यहाँको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शनसमेत गर्न सकिन्छ । यसअघि वर्षको नवरात्रको नौ दिन मात्र खुला हुने मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने व्यवस्था मिलाइएकाले पनि धार्मिक पर्यटकलाई थप सहज भएको छ ।

प्रति घण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने,     साँझ ५ बजेदेखि राति ११ बजेसम्म छ वटा रेष्ट्रो क्याबिन रेस्टुरेण्ट एवं आराम कक्ष सञ्चालन गर्ने योजनासमेत कम्पनीको छ ।

यहाँ जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आइसकेको छ । यहाँ कूल रु छ सय २९ करोडमध्ये हालसम्म रु चार सय ३३ करोडको काम सम्पन्न भइसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यस्तै निर्माणाधीन १७ तले कुइन टावर नामक पाँच तारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।

यस्तै, दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको दुई सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायत संरचनाको काम पनि हुने हुने कम्पनीले जनाएको छ ।

बागलुङका चार घरबासको आकर्षण : चाख्न पाइन्छ ३० थरीका परिकार

गलकोट (बागलुङ), २६ भदौ : घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् । यही मान्यताअनुसार बागलुङका चार घरबासका सञ्चालकहरू स्थानीय उत्पादनलाई स्वादिष्ट परिकार बनाउँदै पाहुनाको मन जित्ने गरी तयार भएका छन् । यहाँको काठेखोला गाउँपालिकाका चार घरबासका सञ्चालक खानाका स्वादिष्ट ३० थरी परिकार बनाउन पोख्त भइसकेका छन् । यसका लागि उनीहरूले तालिम नै लिएका छन् । पाक कलामा पोख्त मनिषा श्रेष्ठले यहाँ चार घरबासमा आएका पाहुनालाई स्वादिष्ट खानाका थरी–थरी परिकार बनाउन सिकाउनुभएको थियो ।

सञ्चालकले श्रेष्ठले चियादेखि जुससम्म र ढिडोदेखि मासुका परिकार बनाउन सिकाउनुभएको छ । “१२ दिनभित्र चार घरबासका ८० सञ्चालकलाई ३० थरीका परिकार बनाउन सिकाइयो । अब पाहुनाको रोजाइ अनुसारको खाना बनाउन सकेमा घरबास दिगो चल्ने छ”, श्रेष्ठले भन्नुभयो । 

यहाँ भदौ पहिलो साता प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको बौर सामुदायिक घरबास, काठेखोला गाउँपालिका–३ धम्जास्थित देउराली सामुदायिक घरबास र काठेखोला गाउँपालिका–८ लेखानीको खानीगाउँ सामुदायिक घरबासका २०÷२० जान सञ्चालकलाई घरबासमै पुगेर घरबास व्यवस्थापन तथा खानाका परिकार बनाउने तालिम दिइएको थियो ।

प्रशिक्षणसँगै प्रशिक्षार्थीहरूले खानाका परिकार बनाउन थालिसक्नुभएको छ । “एक दर्जन खानाका परिकार त हामीले परम्पराकालदेखि नै बनाउँदै आएका थियौँ । तालिमपछि त्यही परिकारलाई नयाँ स्वादमा पस्कन सिकेका छौँ”, धम्जा देउराली सामुदायिक घरबासका सञ्चालक अनिशा थापाले भन्नुभयो ।  उहाँले स्थानीय स्तरमै पाइने आलु, सिस्नो देखि कोदो परिकार बनाउने नयाँ तरिका सिक्दा घरबासका पाहुँनालाई नयाँ स्वाद चखाउन उत्साहित भएको बताउनुभयो । 

घरबास सञ्चालकको क्षमता बढाउनका लागि पहिलो चरणमा काठेखोला गाउँपालिकाका चार घरबासलाई खानाका परिकार बनाउन र आतिथ्यतासम्बन्धी तालिम दिइएको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनका सचिव उमेश गौतमले जानकारी दिनुभयो । उहाँले घरबासलाई चलायमान बनाउन सञ्चालक आतिथ्यता र परिकार बनाउन अब्बल हुन आवश्यक रहेको बताउनुभयो । 

घरबासमा आतिथ्यतासम्बन्धी तामिल दिँदै आउनुभएका सुरज बाँस्तोलाले घरबासको दिगोपनाका लागि सञ्चालक सक्षम रहन आवश्यकता रहेको बताउनुभयो । उहाँले समुदायको आर्थिक उपार्जनसँगै पर्यटनको विकासमा घरबास महत्वपूर्ण सावित हुँदै गएको घरबास महासंघ नेपालका कोषाध्यक्ष बाँस्तोलाको भनाइ छ । 

घरबासमा चाख्न पाइन्छ ३० थरीका परिकार

“लहडमा आएर खुलेका घरबास चल्दैनन्, अबका घरबास प्राकृतिक सुन्दरता, सरसफाइ तथा स्वादिष्ट खानाका परिकार चखाउन सक्ने हुन आवश्यक छन्, मकैको खिरदेखि आलुका परिकार, चियाको स्वाददेखि मासुका परिकार पस्कन आवश्यक छ”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो, “घरबासमा पुगेका पाहुना पैसा खर्च गर्न पुगेका हुन्छन् भन्ने हुँदैन पाहुनाको रोजाइँअनुसार खानाका परिकार पस्कन सके पैसा कमाउन समस्या छैन, कम्तीमा घरबास सञ्चाकले ३० थरीका परिकार बनाउन सिपालु हुन पर्दछ ।”

तालिमका क्रममा सैद्धान्तिकसँगै खानाका परिकार नै बनाएर देखाइने र सञ्चालकलाई खानाका पारिकार बनाउन सिकाइने भएकाले तालिमले घरबास सञ्चालकलाई उत्साहित बनाएको उहाँको भनाइ छ ।

यही तालिको सिकाइबाट यहाँका घरबास सञ्चालकहरूले हाल तिब्बतियन रोटी, थेन्दुक, मुलाको पकौडा, आलुको अचार, दूध चिया, फापरको केके, जिरा आलु, मेथी आलु, आलुको पकौडा, टिम्मुरे आलु, सागको पकौडा, चिउराको पुलाउ, जाम, केराको चिप्स, अण्डा, अण्डाको अम्लेट, फर्सीको हलुवा, कोदोको सुप, झानेको सागको परिकार बनाउन थालिका सकेका छन् । यस्तै मकैको बिस्कुट, मकैको खिर, सिस्नोको सुप, हाँसको छोयला, पुलाउ, जिरा भात, जागर भात, जोगी भात, झोल तरकारी, चिकेन, मिक्स अचार, चिकेन फ्राइ, कक्टेल जुस, सर्वत र लस्सी बनाउन पनि उनीहरू तयार भएका छन् ।

भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ

त्रिशूली (नुवाकोट), २६ भदौः भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो ।

चिनियाँ पक्षले अब भने नियमित काम अघि बढाउने जनाएको विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ ।

भूकम्पले क्षति पुर्याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठवटा संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनःनिर्माण तथा प्रवलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनःनिर्माण गर्ने योजना छ । सबै सम्पदाको मौलिकपन कायम गरिने नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिनुभयो ।

विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो । त्यसपश्चात् सोही वर्षको असारमा दरबार पुनःनिर्माणअन्तर्गत कार्यप्रारम्भ गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको थियो ।

द्विपक्षीय सम्झौतापश्चात् असारमा काम गर्न आएको चिनियाँ टोली ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले यहाँको सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन भन्दै फर्किएको थियो । विसंं २०७६ को मङ्सिर अन्तिम साता चीनमा देखापरेको कोरोना सङ्क्रमणका कारण चिनियाँ टोली फर्केको थिएन । त्यसको तीन वर्षपश्चात् २०७९ साल असोजमा चिनियाँ प्राविधिक टोली आएर साततले दरबारको भूमितह, गारो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रवलीकरण गरेर फर्किएको थियो ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, २६ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधाणलाई सचेत रहन आग्रह गरेको छ ।

राष्ट्रपति पदको निर्णायक बहसमा भिड्दै ह्यारिस र ट्रम्प

कमला ह्यारिस र डोनाल्ड ट्रम्प मङ्गलबार टेलिभिजनमा उच्चस्तरीय बहसमा आमनेसामने हुन तयार हुनुहुन्छ । उक्त बहस अमेरिकी राष्ट्रपति निर्वाचनको दुई महिनाभन्दा कम समयअघि सम्भावित रूपमा खेल परिवर्तन गर्ने क्षण हुनेछ ।

दशौँ लाख अमेरिकी मतदाताले पूर्वी समय (जिएमटी ०१ः००) राति नौ बजे आफ्नो पहिलो र सम्भवतः एक मात्र बहसको मञ्चमा प्रवेश गरेको हेर्न ट्युन गर्ने अपेक्षा गरिएकाले डेमोक्रेटिक उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पूर्वराष्ट्रपति ट्रम्पका लागि यो बहस सम्भवतः उच्च हुनसक्छ । 

नोभेम्बर ५ को मतदानअघि दुवै प्रतिद्वन्द्वी आमनेसामने हुँदा एउटा पनि तिखो टिप्पणी वा गल्तीले पनि अमेरिकी इतिहासमा सबैभन्दा नाटकीय ह्वाइट हाउसको दौडमा सन्तुलनलाई बिगार्न सक्छ ।

जुलाईमा अचानक राष्ट्रपति जो बाइडेनको स्थान लिनुभएकी ५९ वर्षीया ह्यारिसका लागि उहाँका बारेमा थोरै जानकारी भएका मतदाताहरूको मन जित्ने यो महत्त्वपूर्ण अवसर हुनेछ । 

यसैबीच ७८ वर्षीय ट्रम्पले अर्थतन्त्र र आप्रवासनजस्ता मुद्दामा ह्यारिसलाई घेर्ने प्रयास गर्नुहुनेछ । तर अभियानका क्रममा उहाँले आफूलाई निर्देशित नस्लवादी र यौनवादी अपमान पनि बाहिर ल्याउन सक्नुहुनेछ । 

निर्वाचन सर्वेक्षणअनुसार महिलाहरूबीच महत्त्वपूर्ण बढत हासिल गर्नुभएकी ह्यारिसबाट उहाँले ट्रम्पमाथि प्रजनन अधिकारमाथि दबाब दिन सक्नुहुने अपेक्षा गरिएको छ । ट्रम्पले हालै गर्भपतनको पहुँचलाई लिएर धेरै विरोधाभासपूर्ण टिप्पणी गर्नुभएको छ । 

फिलाडेल्फियामा एबिसी न्युज बहसमा दुवै उम्मेदवार व्यक्तिगतरूपमा पहिलो पटक भेट्दै हुनुहुन्छ । यसले भीषण टक्करको सम्भावना बढेको छ । एबिसी न्युज बहस ९० मिनेटसम्म चल्नेछ र बहस दर्शकहरू बिना आयोजना हुनेछ । 

रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

जर्मनी, फ्रान्स र बेलायतले मङ्गलबार युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै निन्दा गरेका छन् र हवाई यातायातलाई लक्षित गर्ने नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

“हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ”, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन्, “इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले यसअघि लन्डनको भ्रमणमा रुसलाई ब्यालेस्टिक मिसाइलको खेप प्राप्त भएको र ‘सम्भवतः केही साताभित्र युक्रेनमा तिनीहरूको प्रयोग गरिने’ बताउनुभएको थियो । 

लन्डन, पेरिस र बर्लिनले ‘इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण चेतावनी’ का बाबजुद यदि उसले मिसाइल पठाएको छ भने ‘इरानले यी हतियार स्थानान्तरण गरेको पुष्टि भएको छ’ भनेका छन् । 

“यो युक्रेनविरुद्ध रुसको आक्रामक युद्धमा इरानको सैन्य समर्थनको थप वृद्धि हो र यसले इरानी मिसाइलहरू युरोपेली भूमिमा पुगेको देखिनेछ, यसले युक्रेनी जनताको पीडा बढाएको छ”, उनीहरूले भनेका छन्, “यो कृत्य इरान र रुस दुवैले बढाएको कदम हो र युरोपेली सुरक्षाका लागि सिधै खतरा हो ।”

तीनै मुलुकले इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्नका लागि तत्काल कदम चाल्ने बताएका छन् । “यसबाहेक हामी इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र रुसलाई ब्यालेस्टिक मिसाइल तथा अन्य हतियार स्थानान्तरणमा सामेल महत्त्वपूर्ण संस्था र व्यक्तिहरूको ओहोदाको जाँच गर्नेछौँ”, उनीहरूले भनेका छन् ।

वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट रु एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद तथा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भइ हाल कलङ्की बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँकानुसार साउदले ईटली पठाउने भन्दै आठ जनाबाट रु नौँ लाख तथा घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी रु एक करोड ६५ लाख रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

साउदलाई आज काठमाडौँ महानगरपालिका–२८ बागबजार तथा रणबहादुर घर्तीलाई काठमाडौँ महानगरपालिका–१६ वनस्थलीबाट हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई आजै आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

स्थानीय तहमा आएको बजेटलाई पूर्ण कार्यान्वयन गर्न मन्त्री खड्काको आग्रह

मादी (संखुवासभा-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय तहमा आएको बजेटको पूर्ण कार्यान्वयनका लागि आग्रह गर्नुभएको छ ।संखुवासभाको मादी नगरपालिकाले मंगलबार साँझ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले सबै राजनीतिक दल, सरोकार भएकाहरू र जनतालाई साथमा लिएर बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । “जनतालाई स्थानीय सरकार भएको आभाष गराउने गरी काम गर्नुपर्छ । सबै पार्टीसँग हातेमालो गरेर स्थानीयस्तरका समस्या समाधान गर्न र बजेटको सही कार्यान्वयन भएमा पक्कै पनि यहाँको विकास हुनेछ । यसतर्फ लाग्न यहाँहरू सबैलाई मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले जनताको ईच्छा र आकाङ्क्षानुसार सबै तहका सरकारले काम गर्नुपर्ने उल्लेख गर्नुभयो । “म यस क्षेत्रको जनप्रतिनिधि सङ्घीय सरकारको मन्त्री भएको छु, यसर्थमा पनि मादी र सिङ्गो संखुवासभाको विकासमा मेरो पनि दायित्व छन् । त्यसैले संखुवासभाबासीले थप लाभ पाउनेगरी काम गरिरहेको छु ।”, उहाँको भनाइ थियो । ऊर्जामन्त्री खड्काले यस वर्षभित्र संखुवासभाका सबै स्थानमा विद्युतीकरण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

मादी नगरप्रमुख जीवन लिंथेपले निर्वाचनताका गरिएका बाचा पूरा गर्न स्थानीय सरकार लागिरहेको र यसमा केन्द्र सरकारले सहयोग गरे थप सहज हुने बताउनुभयोे । उहाँले विकास निर्माणको काममा नगरपालिकाले राजनीति नगर्नेसमेत जिकिर गर्नुभयो ।

हुप्सेकोट पहिरो विस्थापित १८ परिवार तीन वर्षदेखि अस्थायी शिविरमा बस्न बाध्य

मध्यविन्दु (नवलपरासी), २६ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका-५ बागखोरमा गएको पहिरोबाट विस्थापित १८ परिवार तीन वर्षदेखि अस्थायी शिविरमा बस्न बाध्य छन् । विसं २०७८ असार २४ गते पहिराले विस्थापित भएका परिवारको हालसम्म स्थायी बसोबासको टुङ्गो लागेको छैन ।

पहिराका कारण पूर्ण रूपमा विस्थापित भएपछि विद्यालय र सामुदायिक भवन हुँदै अहिले दुई कठ्ठाको सानो चौरभित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसिरहेका छन् । त्यही चौरमा बसिरहेका तिलबहादुर सोमै मगरले हालसम्म आफूहरूको बसोबासको टुङ्गो नलागेकाले पीडा थपिँदै गएको गुनासो गर्नुभयो । 

“यो अस्थायी भनेर राखिएको शिविरमा बस्न थालेको पनि तीन वर्ष भएको छ , पहिला अस्थायी भनेर राखे अब यही नै हाम्रो स्थायी बास हो कि जस्तो लाग्न थालेको छ”, उहाँले भन्नु भयो, “यो जङ्गल छेउको बसाइमा वर्षात र झरीमा झन् मन आत्तिने गरेको छ । सानो ठाउँमा कोचिएर बस्दा दुर्गन्ध, बालबालिकाको वृत्तिविकासमा समस्या छ । अझै बसोबासको टुङ्गो लागेको छैन, खै! यसरी कहिलेसम्म पो बस्नुपर्ने हो !”

गाउँपालिकाले अस्थायी घरबास बनाइदिएको छ । ब्लक र टिन लगाइएको एउटा कोठा र टेण्टमा बास बसे पनि आवश्यक खाद्यान्नको जोहो गर्नु यी परिवारका लागि अर्को समस्या छ ।  छाक ज्याला मजदुरीकै भरमा बिहान–बेलुकाको छाक काटे पनि बर्खा र जाडो समयमा भने निकै समस्या हुने गरेको सोमै मगरले बताउनुभयो । यहाँ सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा सबैभन्दा चुनौती रहेको उहाँले गुनासो गर्नुभयो । “सानो एउटा कोठाभित्र आठदेखि १२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ”,उहाँले भन्नुभयो, “पहिरो पीडितका एउटै चाहना छ । कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।”

पहिलो पहिरो भएको ठाउँमा प्रतिघर एकदेखि तीन बिघासम्म जमिन थियो तर त्यहाँबाट उठिबास भयो । स्थानीय दिलमाया सोमै मगर हुँदाखाँदाको घरबास उठिबास भएर अर्कोको जमिनमा शरण लिएर बस्नुपर्दा निकै पिरोलिरहेको बताउनुहुन्छ । “विस्थापित भएको तीन वर्ष भइसक्यो, दैनिकी कष्टपूर्ण बनेको छ । यही आएर सुत्केरी भए, बच्चा पनि यहीको भुइँमा हुर्किएर तीन वर्षको भइसक्यो । तर हाम्रो स्थायी बासको टुङ्गो लाग्न सकेन”, उहाँले दुःखेसो पोख्नुभयो । 

सोही स्थानका खेमबहादुर सोमै मगरले १३ रोपनी जग्गासहितको घर, खेतबारी गुमाउनु भएको थियो । “केही समयका लागि भनेर यो अस्थायी शिविरमा राखेको तीन वर्ष भयो । स्थायी ठाउँमा राख्नका लागि केन्द्र सरकारले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “तीन तहको सरकार छ भन्छन्, हामीलाई स्थायी बासको टुङ्गो लगाउन अहिलेसम्म कुनै पनि सरकारले सकेनन् ।”

विस्थापितलाई अहिलेसम्म गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ तर स्थायी व्यवस्थापनका पालिकाले मात्रै नसक्ने गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । यसका लागि सङ्घीय र प्रदेश सरकारले पहल गर्नुपर्ने  उहाँको भनाइ छ । “स्थायी बसोबासका लागि जग्गा प्राप्तिका लागि गाउँपालिकाको तर्फबाट आवश्यक प्रक्रिया पूरा गरिए पनि केन्द्र सरकारबाट कुनै निर्णय नआउँदा अन्यौल सिर्जना भएको छ”, उहाँले भन्नुभयो,“यो समस्या अब धेरै दिनसम्म बल्झाउनु हुँदैन । तीनै तहका सरकार मिलेर पहिरो विस्थापित १८ परिवारको चाँडै व्यवस्थापन गर्नुको विकल्प छैन । यसका लागि पालिकाले पहल गरिरहेको छ ।” 

समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

काठमाडौँ, २६ भदौः कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ ।

कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना ९आइआरडिपी० का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका गर्नुभयो । कोइकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका आठ स्थानीय तह हुनेछन् ।

परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवद्र्धन गर्नु हो ।

त्यस अवसरमा देशीय निर्देशक मोह्युनले परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताउँदै नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयन भएको जानकारी दिनुभयो । कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६–२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो । नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरणसमेत गरिएको थियो ।
कोरिया सरकारले सन् १९९१ देखि कोइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा ९प्राविधिक०, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली

काठमाडौँ, २६ भदौ : काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ ।

रतनपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६.३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।

यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सवस्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म  बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ । “तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउन सक्ने छ । बिजुली काटिन गई सेवाग्राहीमा पर्न गएको मर्काप्रति प्राधिकरण क्षमायाचना गर्दछ”, सूचनामा भनिएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ । 

नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरलाई आकर्षक बनाउन थालियो

राँझा (बाँके), २६ भदौ – नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तरोन्नति भइरहेको छ ।

आगामी शिवरात्रीमा दर्शनार्थीले पूजा गर्न पाउने गरी काम भइरहेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट बताउनुहुन्छ । “नेपालकै ऐतिहासिक मन्दिरको रूपमा रहेको जुङ्गे महादेव मन्दिरलाई धार्मिक पर्यटक आकर्षित गर्ने गरी स्तरोन्नति तथा पुनःनिर्माण भइरहेको छ । जुङ्गे महादेव मन्दिर पुनःनिर्माणसँगै बागेश्वरी मन्दिर परिसर पनि थप आकर्षक बन्ने छ”, उहाँले भन्नुभयो ।

मन्दिर र पुल निर्माणका लागि विसं २०७९ चैत २ गते रु एक करोड आठ लाख ७३ हजार आठ सय ९९ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा काम पनि भएको छैन । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि आगामी पुस १ गतेसम्म म्याद थपिएको छ ।

उपमहानगरपालिकाका इञ्जिनियर भूपेन्द्र बोहराले पुलको ढलान र पूर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको र तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान, फ्लोरिङ, रङ्गरोगन र अन्य काम बाँकी रहेका बताउनुभयो । 

जीर्ण अवस्थामा रहेको मन्दिर स्तरोन्नति गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुङ्गे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै कुनामा थन्क्याइएको छ । समयमा काम सम्पन्न नहुँदा भक्तजनलाई समस्या भइरहेको नेपालगञ्जका अगुवा ऋषिराज देवकोटाको गुनासो छ ।  

नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले पुनःनिर्माणको काममा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएकाले अब समय सीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो । “यो बागेश्वरी मन्दिरको आकर्षण पनि हो तर समयमा निर्माण नहुँदा समस्या भइरहेको छ । त्यसैले उपमहानगरले अब तोकिएकै समयमा काम हुने गरी आवश्यक समन्वय गर्न आवश्यक छ”, उहाँले आग्रह गर्नुभयो । 

बागलुङमा मसानघाट नै अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या

ढोरपाटन (बागलुङ), २६ भदौ : मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।

कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन् । तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ । खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन् । वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजोआज कतै खेत बनेका छन् त कतै घर तथा भवन बनेका छन् । 

डेढ दशक अगाडिसम्म सुनसान रहेको गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा पनि ठूलो बस्ती बसेको छ । गलकोटको हटिया बजार पनि खोला किनारमै बनेको छ । गौदीखोला किनारमा हटिया, नरेठाँटीसहितका बस्ती छन् । पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेका गलकोट नगरपालिका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुहुन्छ । उहाँकानुसार कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको हुन् । 
प्रवक्ता भण्डारीले भन्नुभयो, “पहिले हटिया बजार छेउमा दाहसंस्कार गर्ने ठाउँ थियो, अहिले बजार बस्यो । पहिलेका धेरै ठाउँ सार्वजनिक ठाउँ अतिक्रमण भएका छन्, त्यसमा मसानघाटसमेत बाँकी नरहनु दुःखको विषय हो । यसैले नगरपालिकाले अतिक्रण रोक्नका लागि निरन्तर प्रयास गरिरहेका छ ।” प्रवक्ता भण्डारीले हाल नगरपालिकाका विभिन्न १० स्थानमा व्यवस्थित मसानघाट बनाइएको जानकारी दिनुभयो । 

निसीखोला गाउँपालिका पूर्णबहादुर क्षेत्रीले मसानघाट रहेका स्थानमा व्यक्तिगत तथा अन्य संरचना निर्माण गरिँदा समस्या भएको गुनासो गर्नुभयो । “निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेत बनेका छन् । कतिपय ठाउँमा सडक, सार्वजनिक तथा व्यक्तिगत संरचना बनेका छन् । मान्छेले आफ्नो अन्तिम गन्तव्यस्थानसमेत बाँकी नछोड्न जस्तो लाजमर्दो कुरा अरू के होला !”, उहाँको कथन छ ।

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण र केही बाढीले बगाउँदा समस्या देखिएको बताउनुभयो । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको र अतिक्रमित अन्य ठाउँ खाली गर्ने विषयमा पनि आवश्यक तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताउनुभयो । उहाँले जिल्लाका १० वटै पालिकामा अक्रिमण भएका जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध हुन नसकेको जानकारी दिनुभयो । “धेरै ठाउँका नदी किनारमा सार्वजनिक जग्गा अतिक्रमण भएको देखिन्छ तर कसैले पनि लिखित रूपमा उजुरी गरेको अवस्था छैन । त्यसैले कारबाही प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो, “उजुरी आउनेवित्तिकै नाप जाँच गरी सार्वजनिक जग्गा फिर्ता लिने काम अगाडि बढाउछौँ ।”

विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?

काठमाडौँ, २६ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ । यूरोको मूल्य भने घटेको छ ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

मङ्गलबार युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

 केन्द्रीय बैंककानुसार मङ्गलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १४ पैसा रहेकामा आजका लागि खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७५ र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा कायम भएको छ ।

जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ३६ र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८३ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

मादी नदीले बगाउँदा बालक बेपत्ता

दमौली (तनहुँ), २५ भदौः तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीहरुसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नदीले बगाउने सम्भावित ठाउँमा आज खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन । खोजी जारी छ ।”

मुलुकको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नु सेनाको प्रमुख कार्यः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको बताएका छन् ।

जङ्गी अड्डास्थित सभामण्डपमा सकलदर्जालाई मंगलबार पहिलो पटक सम्बोधन गर्दै उनले आफ्ना प्राथमिकता र आगामी कार्यदिशाबारे जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन दिए ।

उनले भने, “नेपालको संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच–२०८७ लगायतलाई आधारमानी सङ्गठनको सुदृढीकरण गर्दै लगिनेछ ।”

प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय संयन्त्रहरुको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरुको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

उनले सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनका लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरुको सुरक्षामा योगदान पुर्याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख गरे ।

राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुर्याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउंदै लगिने उनको भनाइ थियो ।

प्रधानसेनापति सिग्देलले नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बङ्कर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायतका कार्यलाई व्यवस्थित गर्दै लगिने जानकारी गराए ।

उनले काठमाडौं–तराई÷मधेस द्रुतमार्गलगायत अन्य सडक तथा करिडोर निर्माणमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमिततालगायतका क्रियाकलाप अस्वीकार्य हुने बताए । नेपाली सेनाका सबै युनिटमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति थियो ।

खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालय अगाडि बढ्छः खेलकुदमन्त्री चौधरी

दोलखा, २५ भदौः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै युुवा तथा खेलकुद मन्त्रालय अगाडि बढ्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ दोलखाले आज आयोजना गरेको स्व भीमबहादुर तामाङ स्मृति नेविसङ्घ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नति तीन सय दिनभित्रै पूरा गर्ने बताउनुभयो ।

उहाँले केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले उक्त अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । कीर्तिपुर खेलमैदानमा निर्धारित समयमा प्यारापिट, फ्लडलाइट जडान हुने उहाँको भनाइ थियो । 

मन्त्री चौधरीले पारा ओलम्पिक खेलकुदमा नेपाललाई कास्य पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवद्र्धनलाई सरकारकातर्फबाट कर छुट गरेर रु ६५ लाख नगद शुक्रबार हस्तान्तरण गरिने बताउनुभयो । 

दोलखालगायत हिमाली जिल्लामा पनि खेल क्षेत्रको विकासका लागि सरकारले महत्वपूर्ण योजना बनाइरहेको उहाँले बताउनुभयो ।     कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, नेता ईश्वर नारायण मानन्धरलगायतले मन्तब्य व्यक्त गरेका राख्नुभएको थियो । 

आरुघाट–आर्खेत–लार्के सडकखण्ड डेढ महिनादेखि अवरुद्ध

गोरखा, २५ भदौः उत्तरी गोरखा जोड्ने एकमात्र आरुघाट–आर्खेत–लार्केभञ्ज्याङ सडकखण्ड झण्डै डेढ महिनादेखि अवरुद्ध भएको छ । गत साउन दोस्रो साता परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ स्थित खानीबेंसी खोलामा आएको भीषण बाढीले अवरुद्ध भएको सडक अझै सञ्चालन हुन नसकेको हो ।

आर्खेतदेखि माछीखोलासम्म दुई ठाउँमा ठूलो पहिरो र बाढीले सडकमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकासम्म पुग्ने सो सडकखण्डकमा बाढी र पहिरोले क्षति पु¥याउँदा त्यस क्षेत्रका स्थानीयलाई आवतजावत गर्न समस्या परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

“सडक अबरुद्ध भएपछि पैदल यात्रीलगायत उत्तरी भेगका बासिन्दा तथा आन्तरिक र बाह्य पर्यटकसमेतलाई ओहोरदोहोरमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “खानीबेंसी खोलामा आएको बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधन खानीबेंसीबाट उतै रोकिएर बसेको पनि डेढ महिनाबढी भइसक्यो ।”

खानीबेंसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । उत्तरी गोरखा जोड्ने मुख्य सडक भएकाले अवरुद्ध सडक खुलाउनका लागि पहिरो माथिबाट अस्थायी सडक निर्माण गर्न खोजिएको भए पनि भौगोलिक जटिलता, कडा चट्टान र भिर भएकाले अहिलेसम्म सडक सञ्चालनमा ल्याउन नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

पोखरामा प्याराग्लाइडिङको सोलो उडान खुलाउन व्यवसायीको माग

कास्की, २५ भदौः पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् । प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्लाइडिङको सोलो उडान प्रतिबन्ध भए पनि व्यावसायिक उडान भने भइरहेको छ ।

नेपाल हवाई खेलकुद संस्था(ना)को २१औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले उडान बन्द हुँदा नेपाली प्राविधिक खेलाडीको सीप क्षमता विकासमा असर पुगेको बताउनुभयो । पोखरामा विसं २०७९ असोज अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको दौरान ग्लाइडर दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका सोलो उडानमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले विभिन्न देशबाट सोलो उडानका पारखीहरु हरेक वर्ष पोखरा आउने गरे पनि अहिले आउन नपाएको बताउनुभयो ।

उहाँका अनुसार नेपाली पाइलटले प्याराग्लाइडिङको अभ्यास गर्न पाएका छैनन् । अध्यक्ष भट्टराईले उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर माग गरे पनि पूरा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा सोलो उडान खुला गरेर पर्यटकीय गतिविधिहरु वृद्धि गर्नुपर्दछ भनेर माग गरिराखेका छौँ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बन्द भएको प्याराग्लाइडिङको एकल उडान खुलाउनुको विकल्प नभएको बताउनुभयो । “पोखरा पर्यटन राजधानी घोषित भएको छ । त्यसैले पनि यहाँ आउने पर्यटकलाई धेरैभन्दा धेरै सुविधा र पर्यटकीय गतिविधिहरुमा सहभागी गराउनुपर्दछ । सोलो उडानबाट पर्यटन विकासमा मद्धत पुग्नेछ”, पहारीले भन्नुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायीको माग पूरा गर्न सरकारले पहल गर्ने बताउनुभयो । उडान खुला गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिने उहाँले विश्वास दिलाउनुभयो ।  “पोखराको पर्यटनका लागि प्याराग्लाइडिङको धेरै महत्व छ । सोलो उडानलाई थप व्यवस्थित बनाउँदै प्रतिबन्ध हटाउने विषयमा सरकारले ध्यान दिनेछ”, मन्त्री थापाले भन्नुभयो ।

विगतमा सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान हुँदै आएकामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि सो क्षेत्रबाट विस्थापित भएर मान्द्रेढुङ्गाबाट उडान र पामेमा अवतरण क्षेत्र तोकिएको थियो । मान्द्रेढुङ्गा टाढा भएको र पर्यटकको आकर्षण घटे पनि व्यवसायीको मागअनुसार पुनःकेही समयपछि तोरीपानीबाट उडान हुँदै आएको छ । नेपाल हवाई खेलकुद संस्थामा हाल ६२ वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनी र पाइलट तीन सय ९९ जना आबद्ध छन् । 

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल

वीरगञ्ज (पर्सा), २५ भदौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।आज यहाँ नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको स्पष्ट पार्नुभएको हो ।

“मन्त्रालय मातहतका सबै स्वास्थ्य निकायमा आवश्यकपर्ने जनशक्ति छैनन् । एकैपटक सय जना डाक्टर र नर्सकोे दरबन्दी सिर्जना गरेर सयौँ जनशक्तिलाई  नारायणी अस्पतालमा आबद्ध गराउने मेरो पनि मन थियो । तर राज्यको आर्थिक अवस्थाले अहिले त्यो सम्भव भने देखिँदैन”, मन्त्री पौडेलले भन्नुभयो । 

उहाँले नारायणी अस्पताललगायत देशभरिका अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित सबै उपकरण भरिभराउ गर्ने रहर भए पनि सो गर्न तत्कालै नसकिने बताउनुभयो । “देशैभरिका अस्पतालमा उपकरण भरिभराउ गराउ भन्ने रहर नभएको होइन । तर, अहिलेको आर्थिक अवस्थाले त्योअनुसारको खर्च गर्नसक्ने अवस्था भने छैन”, उहाँले भन्नुभयो, “त्यसैले अहिले जेजस्तो पूर्वाधार छ, त्यसलाई नै व्यवस्थित गर्र्नेतर्फ अग्रसर हुन जरुरी छ ।” 

मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । 

“नारायणी अस्पतालले आफैँ आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “वीरगञ्ज जस्तो औद्योगिक र व्यापारिक सहरमा स्रोतको कुनै कमी छैन । त्यसैले पनि तपाईंहरुले अस्पताललाई आत्मनिर्भर गराउनेतर्फ अग्रसर हुनेतर्फ आवश्यक योजना ल्याउन अनुरोध गर्दछु ।”

१६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको ‘एटीआर ४२’ विमानको बिदाइ

काठमाडौँ, २५ भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार उत्सव मनाउनेगरी सजधज तय गरिएको थियो । नेपाली आकाशमा १६ वर्ष उडान भरेको बुद्ध एयरको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमानको बिदाइ समारोह भव्य तुल्याइएको थियो । उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक पनि थियो । आफ्नो व्यावसायिक उडानमा रहेको विमानलाई बिदा गर्ने क्षणमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत भावुक थिए । बुद्ध एयरका कर्मचारी परिवार मात्रै हैन उपस्थित सरोकारवाला र सञ्चारकर्मी पनि भावुक भएका थिए । लामो समय यात्रुलाई सेवा दिएको विमान बिदाइ गर्दा भावुक माहोल सिर्जना हुनु स्वाभाविक पनि हो ।

“आजको समारोह विश्वव्यापी रूपमा एटिआर विमान सञ्चालनको इतिहासमा कोसेढुङ्गा हो । हामीले ७० हजार साइकलको पूर्ण आर्थिक जीवन र त्यो पनि व्यावसायिक यात्रु सञ्चालनमार्फत प्रतिस्पर्धा गर्ने पहिलो एटिआरलाई बिदाइ गर्दैछौँ । साच्चै यो ऐतिहासिक क्षण हो”, अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले आगामी दिनमा नेपाल र नेपालीका लागि उत्कृष्ट उड्डयन सेवा प्रदान गर्न प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो । 

अध्यक्ष बस्नेतले एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको दाबी गर्नुभयो । “सन् २००८ मा दुई वटा एटिआर–४२ विमान भित्र्याएर उडानको फड्को मारौँ अब, यो विमान इतिहास बनेको छ । बाँकी १८ एटिआर विमानले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउछौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।

उडान अवधिमा ७० हजार उडान अवतरण (साइकल) गरेको एटिआर–४२  विमानलाई पहिलो पटक आज बिदाइ गरिएको हो । एटिआरको इतिहासमा यो नै पहिलो बिदाइ कार्यक्रम भएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बनाउनुभयो । कूल ४५ सिट क्षमताको एटिआर विमानले १६ वर्षमा ४४ हजार चार सय ७७ उडानमार्फत एक दशमलव आठ मिलियन यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।

बुद्ध एयरको टेक्निकल डिपार्टका निर्देेशक मंगेश थापाले एटिआर कम्पनीको मापदण्डअनुरुप विमानले निश्चित साइकल पूरा गरिसकेपछि उडानबाट ‘रिटायर्ड’ हुने भएकाले विमानलाई उडानबाट बिदाइ गरिएको बताउनुभयो । “अन्य सिरिजका जहाजले ७० हजार साइकल पूरा गरेपछि पनि उडानमा ल्याएका हुन्छन् तर एटिआरको मापदण्ड नै ७० हजार साइकल भएकाले यसलाई उडानबाट बिदा गरिएको हो”, उहाँले भन्नुभयो । उहाँले उडानबाट बिदाइ भएको विमानको बाहिरी भाग नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र विमानभित्रका पार्टपुर्जा अन्य जहाजको मर्मतमा प्रयोग गरिने जानकारी दिनुभयो ।

पहिलो पटक एटिआर विमानको बिदाइ

 बुद्ध एयरको एटिआर–४२ विमान बिदाइ कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोराले सम्मान दिएर उक्त विमानलाई बिदाइ गरिएको छ । एउटै विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको एटिआर विमानले अब कहिल्यै उडान भर्ने छैन ।  
बुद्ध एयरले सन् २००८ भित्र्याएको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त एटिआर विमानलाई अब कहिल्यै नउडाउनेगरी बिदा गरेको हो । कम्पनीसँग ४७ सिटका एटिआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटिआर विमान छन् ।

विमानको उमेर उसको उडान अवतरण सङ्ख्याले निर्धारण गर्ने विज्ञहरू बताउँछन् । “विमानको उमेर अवधि साता, दिन, वर्षका आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित सङ्ख्यापछि मर्मतसम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ”, निर्देशक थापाले भन्नुभयो । उहाँका अनुसार विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन । यसपछि विमानलाई बिदाइ गर्नैपर्ने हुन्छ । बुद्ध एयरले १८ वटा एटिआर विमान भित्रयाइसकेको छ ।

 बुद्ध एयर एटिआर सञ्चालन गर्ने संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी रहेको जनाइएको छ । एटिआरले अहिलेसम्म करिब २५ हजार विमान निर्माण गरिसकेको बताइन्छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पारगरी यसरी बिदाइ गरिएको संसारमै पहिलो पटक हो । यसैगरी एटिआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको विमानको गुणस्तरीय उडान सेवा र दक्ष जनशक्तिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थलका महाप्रबन्धक रिञ्जी शेर्पाले बुद्ध एयरले सुरक्षित उडानमा गरिरहेको अभ्यासको सराहना गर्दै आगामी दिनमा यात्रुको सेवा सुरक्षालाई थप बलियो बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूतावास एल्सा काली, एटिआर कम्पनीका प्रतिनिधि पवन तनवानीलगायत विभिन्न बैंकका सिइओहरुको उपस्थिति थियो । 

बङ्गलादेशमा डेङ्गुबाट ५३४ सङ्क्रमित, पाँच जनाको मृत्यु

बङ्गलादेशमा मङ्गलबार मात्रै डेङ्गु सङ्क्रमणबाट पाँच जना मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार थप ५३४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष हालसम्म डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ््ख्या १०२ पुगेको छ । तथ्याङ्कअनुसार सेप्टेम्बरमा मात्रै तीन हजार नौ सय ७८ डेङ्गुका बिरामी पुष्टि भएका थियो भने अगस्टमा छ हजार ५२१ र जुलाईमा दुई हजार छ सय ६९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार डेङ्गुका कारण सेप्टेम्बरमा १९, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । जुन–सेप्टेम्बर मनसुनको समय भएकाले बङ्गलादेशमा लामखुट्टेबाट हुने रोगको जोखिम उच्च मानिन्छ ।

भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

काठमाडौँ, २५ भदौः काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ ।

सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा बैठक : सार्वजनिक सेवा प्रसारण विधेयक पारित

काठमाडौँ, २५ भदौः प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ बहुमतले पारित भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पारित गरियोस् भनि प्रतिनिधिसभामा प्रस्ताव पेस गर्नुभएको थियो । नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन आवश्यक रहेको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

 राष्ट्रिय आमसञ्चार नीति, २०७३ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य  मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा विकास गर्ने उल्लेख भएकामा सो व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले यो विधेयक ल्याएको हो ।

अहिले रेडियो नेपाल र नेपाल टेलिभिजन छुट्टाछुट्टै संस्थाका रुपमा सञ्चालन भइरहेकामा यी दुवै संस्थालाई सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण गर्दा सुदृढ, सबल र सशक्त सार्वजनिक प्रसारणमाध्यमका रुपमा विकास गर्न सकिने सरकारको बुझाइ छ ।

 यसरी दुई संस्था गाभिएर बन्ने सार्वजनिक सेवा प्रसारण संस्थाको एक छुट्टै कोष रहने व्यवस्था विधेयकमा राखिएको छ । उक्त कोषमा सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान, विदेशी सरकार वा विदेशी सङ्घ संस्थाबाट प्राप्त रकम र सार्वजनिक सेवा प्रसारण संस्थाको आम्दानीबाट प्राप्त रकम जम्मा हुने व्यवस्था राखिएको छ ।

 विधेयकको प्रस्तावनामा संविधानद्वारा पदत्त नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रत्याभूत गर्न, तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार, शिक्षा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी राष्ट्रिय एकता एवम् राष्ट्रिय हित प्रवर्द्धन गर्न तथा समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न जनउत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना र सञ्चालनका लागि यो कानुन आवश्यक रहेको उल्लेख छ ।

 त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्था एक अविछिन्न उत्तराधिकारीवाला स्वशासित र सङ्गठित संस्थाका रुपमा रहने विधेयकमा उल्लेख छ । सार्वजनिक सेवा प्रसारण संस्थाको नीति निर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा एक परिषद् रहने व्यवस्था राखिएको छ । 

त्यस्तो संस्थामा सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष, मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत र मन्त्रालयले मनोनित गरेको कम्तीमा एक जना महिलासहित तीनजना सदस्य रहने व्यवस्था राखिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावपछि विधेयकमाथि प्रतिनिधिसभाको बैठकमा छलफल भएको थियो ।

छलफलमा भाग लिने सांसदहरुले सार्वजनिक सेवा प्रसारण संस्था सरकार र मन्त्रालयको प्रत्यक्ष हस्तक्षेपबाट मुक्त हुनुपर्ने र सम्पादकीय स्वतन्त्रता दिइनुपर्ने धारणा राख्नुभयो सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण संस्था सरकारको हस्तक्षेपबाट मुक्त र स्वायक्त हुनुपर्ने बताउनुभयो । यस्तो संस्था सरकारप्रति आलोचनात्मक हुन सक्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सांसद प्रेम सुवालले राष्ट्रिय एकता र निष्पक्ष प्रेसको प्रत्याभूति हुनेगरी यस्तो संस्था निर्माण गर्न सक्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमबाट तथ्यपरक सूचना सम्प्रेषण नहुँदा आर्थिक अनियमिता मौलाएको पनि उहाँले उल्लेख गर्नुभयो । सार्वजनिक सेवा प्रसारण संस्था तथ्यपरक र निष्पक्ष हुनुपर्ने धारणा सुवालले राख्नुभयो ।

त्यसैगरी, सांसद रघुजी पन्तले नेपालका सञ्चारमाध्यमहरु बिबिसीको मोडलमा सञ्चालन गर्नसक्नुपर्ने बताउनुभयो । मुलुकको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगतमा देखिएका नयाँ अवधारणा र चुनौतीलाई यो विधेयकले समेट्न सक्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सांसद सोबिता गौतमले विधेयकमा उक्त संस्थाको नीतिगत निर्देशन दिनका लागि गठित परिषद्को अध्यक्ष मन्त्री राखिएकोमा विमति जनाउनुभयो । सञ्चारमाध्यमले सरकारका काममा पनि प्रश्न गर्ने र आलोचना गर्न सक्नुपर्ने उल्लेख गर्नुहुँदै गौतमले सञ्चारमाध्यमलाई मन्त्रीको मातहतमा राख्दा स्वतन्त्र र निष्पक्ष रुपमा सरकारको आलोचना गर्न नसक्ने बताउनुभयो । आफूले विगतमा नेपाल टेलिभिजनमा कर्मचारीका रुपमा काम गरेको स्मरण गर्नुभयो ।

त्यस्तै, सांसद अच्युतप्रसाद मैनालीले सार्वजनिक सेवा प्रसारण संस्थाले जनताको बीचमा गएर जनताबाटै सूचना लिने र जनताकै लागि सम्प्रेषण गर्ने भएकाले नागरिकका आवाज बढी सुन्नुपर्ने बताउनुभयो । जनता र सरकारबीच भावनात्मक रुपमा जोड्ने सेतुका रुपमा यो संस्थाले काम गर्नसक्नुपर्ने उहाँको भनाइ छ ।

सार्वजनिक सेवा प्रसारण संस्थाले राज्यपक्षको वकालत मात्र गर्ने नभई जनताका कुरा पनि मुखारित गर्न सक्नुपर्ने बताउनुभयो । त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्थालाई संसदप्रति जवाफदेही बनाउन सक्नुपर्ने धारणा राख्नुभयो । संस्थाको नीतिगत निर्देशन दिनका लागि गठित परिषद्को अध्यक्ष सभामुख, उपसभामुख वा विषयगत समितिका अध्यक्षलाई बनाउने सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।

सांसद प्रेमबहादुर महर्जनले संस्थाले सूचना तथा सञ्चारका क्षेत्रमा भएको परिवर्तनलाई अङ्गीकार गर्ने र नेपालभित्रका विभिन्न भाषामा समाचार दिने तथा कार्यक्रम सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिनसक्नुपर्ने बताउनुभयो ।

सांसद किरणकुमार साहले विधेयकमा राकिएका व्यवस्थाले सार्वजनिक सेवा प्रसारण संस्थाको सम्पादकीय स्वतन्त्रतालाई कायम राख्न नसक्ने दाबी गर्नुभयो । सार्वजनिक सञ्चारमाध्यमहरुको मुख्य उद्देश्य जनताको आवाज सशक्त बनाउनु, सूचना दिने, शिक्षा दिने र मनोरञ्जन प्रदान गर्ने रहेको बताउनुहुँदै उहाँले सरकारको नियन्त्रणमा संस्था निष्पक्ष हुन्छ भन्नेमा शङ्का गर्ने ठाउँ रहेको धारणा राख्नुभयो ।

सांसद मनिष झाले नेपालका सरकारी सञ्चारमाध्यमहरु स्वतन्त्र, निष्पक्ष र बौद्धिक रुपमा उदार हुन नसकेको बताउनुभयो । सार्वजनिक सेवा प्रसारण संस्था सरकार वा मन्त्रीको नियन्त्रणमा रहने भन्दा पनि संसदले नै नेतृत्व दिनुपर्ने विषय सकारात्मक रहेको धारणा राख्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक २०८१ भदौ २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

पर्यटन बोर्डका सिइयोविरुद्ध रिट

काठमाडौँ, २५ भदौः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले आज जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो ।

परीक्षामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ ।

रिट निवेदनमा भनिएको छ, “कानुनतः परीक्षा प्रणालीको नजितामा निर्भर भई नियुक्ति गर्नुपर्नेमा तजबिजि अधिकार प्रयोग गरेर अधिकार क्षेत्र सीमितको आधारमा बदरभागी छ ।”

बोर्ड सञ्चालक समितिको गत बिहीबारको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँले पदबहाली गरी कामसमेत सुरु गरिसक्नुभएको छ ।

विशेष समयमा उपसभामुखको राजीनामादेखि बिआराईसम्मको चर्चा

काठमाडौ २५ भदौः प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले उपसभामुखको राजीनामा, बिआराई परियोजना, चिकित्सा क्षेत्र सुधार, सडक सञ्जाल, उपभोग्य वस्तुमा कालोबजारी लगायतका विषय उठान गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा तोशिमा कार्कीले निजी मेडिकल कलेजका सञ्चालकले रेजिडेन्ट चिकित्सकलाई आठौँ तह बराबरको निर्वाह भत्ता दिन नसकिने कुरा आपत्तिजनक रहेको बताउनुभयो छ । कलेज सञ्चालकले प्रधानमन्त्रीलाई भेटेर निर्वाह भत्ता दिन नसक्ने र दिनु पर्नेभए भर्ना र शिक्षण शुल्क बढाएर रु ६० लाख पुयाउनुपर्ने गरी गरेको माग अव्यवहारिक रहेको बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले हालै एक निर्देशन जारी गर्दै चिकित्सा शिक्षामा स्नातकोत्तर अध्यापन गराइरहेका निजी मेडिकल कलेजलाई निर्वाह भत्ता आठौँ तहको चिकित्सक बराबर अर्थात् रु ४८ हजार सात सय ३९ कायम गर्नु भनेको स्मरण गराउनुभयो ।

सांसद कार्कीले विगत लामो समयदेखि चिकित्सा शिक्षा सुधारका लागि गरिएको सङ्घर्ष र अभियानबाट बल्ल मेरिट भर्ना र भर्ना शुल्क तोकिएको भन्दै यसलाई असर गर्नेगरी कुनैपनि चलखेल हुन दिन नहुनेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालमा दिनरात खटिएर कामगर्ने चिकित्सक र स्वास्थ्यकर्मीमाथि मनोमानी नगर्न पनि अनुरोध गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपाल र चीनबीच बिआरआई सम्झौता भएको सात वर्ष वितिसक्दा पनि कार्यान्वयनको कुनै सङ्केत नदेखिएको बताउनुभयो ।

सन् २०१७ मा बिआरआईको सम्झौता भएको तर अहिलेसम्म केही प्राविधिक काम पूरा नभएको विषय आइरहेको र यसबारे सरकारी अधिकारीले कुनै प्रतिकृया नदिएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले विदेशस्थित कूटनीतिक नियोगका भवनको स्तरोन्नति गरिनुपर्ने खाँचो औँल्याउनुभयो । अमेरिकास्थित नेपाली राजदूताबास भवन कुनै कार्यालयको क्यान्टिनजस्तो भएको र राजदूत बस्ने भवन राजदूताबास जस्तो रहेको बताउनुभयो । उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप बलियो बनाउन सरकारले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले सुनसरीको बराहा बाङ्गेदेखि धरान १७ सम्म करिब साढे १३ किलोमिटर दुरी सडक कालोपत्रे गर्न ढिलाइ भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त रणनीतिक सडक चाँडो निर्माणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खानले थारु समुदायलाई निजामती प्रशासनमा समानुपातिक पहुँच अभिवृद्धि गर्न सरकार समक्ष माग गर्नुभयो । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले सङ्घीय राजधानी काठमाडौँमा बालश्रम मौलाएको भन्दै बालश्रम उन्मुलनका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बीमा सेवालाई सहज र प्रभावकारी बनाउन सरकार समक्ष माग गर्नुभयो । उहाँले निजामती सेवालाई जनमुखी र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याउनुभो ।

सांसद प्रभु साहले जनताले विकासका लागि कर तिरेको भएपनि त्यसको सदुपयोग हुन नसकेको बताउनुभयो । सरकारी उद्योगको प्रभावकारी सञ्चालन गरेर उपभोक्ताको मागलाई सहजीकरण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले रौतहट र सर्लाही जोड्ने हुलाकी राजमार्गमा १५ वर्षदेखि पुल निर्माण हुन नसकेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशका कतिपय स्थानमा पुल बनेका ठाउँमा सडक नबनेको तथा सडक बनेका ठाउँमा पुल नभएकाले आवतजावतमा समस्या भइरहेको उल्लेख गर्नुभयो ।

सांसद रामकृष्ण यादवले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राख्नुभयो । उहाँले संसदमा विपक्षी दलका सांसदले सत्तारुढ दलप्रति विभिन्न आरोप र टिकाटिप्पणी गर्नेगरेको तर जनताको समस्याप्रति ध्यान नदिएको आरोप लगाउनुभयो ।

राष्ट्रियसभामा दुई वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, २५ भदौ : राष्ट्रियसभामा दुई वार्षिक प्रतिवेदन पेस भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचाँै वार्षिक प्रतिवेदन, २०८०/८१ तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभामा पेस भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेस गर्नुभएको थियो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचाँै वार्षिक प्रतिवेदन, २०८०/८१ सभासमक्ष पेस गर्नुभएको थियो । प्रत्यायोजित विधायनका सम्बन्धमा संसदीय निगरानी गर्ने दायित्व समितिको रहेको उहाँको भनाइ छ ।

राष्ट्रियसभा नियमवाली, २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभाअन्तर्गत रिक्त रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको सभापति पदको निर्वाचनको मिति आगामी भादौ ३१ गतेलाई तोकिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नेपाल विश्वविद्यालय विधेकय, २०७९ का सन्दर्भमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबल गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बस्नेछ ।

सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन आवश्यकः सांसद

काठमाडौँ, २५ भदौः सांसदहरुले सर्वोच्च अदालतले बागमती र अन्य नदी किनारामा थप २० मिटर क्षेत्रमा संरचना बनाउन रोक लगाउने फैसला पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद घनश्याम रिजालले सर्वोच्च अदालतको फैसला पुनरावलोकन नभए हजारौँ नागरिक प्रभावित हुने बताउनुभयो । “यसबाट खर्बौको लगानी डुब्ने र नागरिकको मौलिक हकसमेत हनन् हुने अवस्था छ”, उहाँले भन्नुभयो, “उक्त निर्णय कार्यान्वयन भए राज्यले रु तीन खर्ब १६ अर्ब मुआब्जा तिनुपर्छ । यो निर्णय पुनःविचार गर्न आवश्यक छ ।”

उक्त निर्णय कार्यान्वयनबाट मुलुकको पुरातात्विक सम्पदाको समेत विनाश हुने भएकाले पुनरावलोकनका लागि सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत उहाँले सुझाव दिनुभयो ।

सांसद मोहम्मद खालिदले कृषिमा बर्सेनि सरकारको लगानी बढे पनि कृषि उब्जनीमा वृद्धि हुन नसकेको बताउनुभयो । “किसानले समयमै मल पाएका छैनन्, सिँचाइ सुविधा पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “अनि कसरी कृषि उब्जनी बढ्छ ?”

सांसद बामदेव गौतमले समाजवाद निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । सांसद नारायणदत्त भट्टले सुदूरपश्चिमका सबै जनतामा स्वास्थ्यको पहुँच पुग्न नसकेको बताउनुभयो । सांसद शेखरकुमार सिंहले हजारौँ सहिदका कारण आजको परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । सांसद सुमित्रा विसीले जनताका समस्या समाधान गर्न र सुशासन कायम राख्नुपर्ने बताउनुभएको छ ।

शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै अदालतमा रिट

काठमाडौँ, २५ भदौ : उच्च अदालत पाटनमा ‘डेडिकेटेड’ तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ताहरू यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टीकाप्रसाद ढकाल र दीपक अधिकारी आज दायर गर्नुभएको रिट निवेदनमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गरिएको छ ।

रिट निवेदनमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रङ्क लाइन र डेडिकेटेड फिडर प्रयोग गरेबापतको कानुनबमोजिम बुझाउनुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउनेगरी मन्त्रिपरिषद्लगायत अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो–जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम असुलउपर गर्नु गराउनु तथा असुलउपर गर्ने गराउने कार्यमा अवरोध नगर्नु, नरोक्नु, रोक्न नलगाउनु भनि परमादेशको आदेश माग रिट निवेदनमा गरिएको छ । साथै कानुनबमोजिमको बक्यौता रकम नतिर्ने तथा तिर्न ढिलाइ गर्ने विपक्षीलाई कानुनबमोजिम कारबाही गर भनी परमादेशको आदेशसमेत माग गरिएको छ ।