गृहमन्त्रीद्वारा भूकम्पपीडितलाई लाभग्राही अनुदान हस्तान्तरण,असार मसान्तभित्र आवास निर्माण गरिसक्न आग्रह


डडेल्धुरा- गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटीमा गएको भूकम्पबाट प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गर्नुभएको छ ।गृहमन्त्री लेखकले डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदानवापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गर्नुभएको हो ।
गृहमन्त्री लेखकले प्रभावितलाई आगामी असार मसान्तभित्र आवास निर्माण गरिसक्न आग्रह गर्नुभयो । उहाँले डोटी भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रवलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेका सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर अनुदान दिने अवस्थासम्म ल्याइपुर्याएको बताउनुभयो ।
“निजी आवास निर्माणका लागि डेढ वर्र्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रबन्ध गर्न सकिएको थिएन”, गृहमन्त्री लेखकले भन्नुभयो, “अब प्रभावित जिल्लामा पुनर्निर्माण द्रुतगतिमा गर्न इकाई कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौँ ।”
मन्त्री लेखकले शुक्रबार बझाङ, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गरिने जानकारी दिनुभयो । उहाँले बझाङ, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आकलन गरिएको भए पनि जाजरकोटमा क्षति आकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिनुभयो ।
“जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाई खुलेपछि खटिनेछ”, मन्त्री लेखकले भन्नुभयो, “लाभग्राही छनोटलगायतका विषयमा स्थानीय सरकारको अहम् भूमिका रहन्छ ।” उहाँले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुनर्निर्माणले गति पाउने विश्वास दिलाउनुभयो । “स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौँ”, कार्यकारी प्रमुख डा भुसालले भन्नुभयो, “प्रारम्भ बिन्दु डडेल्धुराबाट भएको छ ।”
त्यसैगरी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुनर्निर्माणमा २६ र प्रवलीकरणमा ५२ गरी ७८ लाभग्राही घरपरिवारलाई सम्बोधन गरिएको जानकारी दिनुभयो ।