`

प्रगतिशील इञ्जिनियर्स एशोसिएसनका उम्मेदवारलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, २५ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूूलाई शुभकामना दिनुुभएको छ ।

इ प्रा डा विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा सङ्क्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिलगरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

“यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्नसक्षम समूह देखिएको छ । तपाईंहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला ।”

कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) जनसङ्गठनका संयोजक भानुुभक्त ढकाल, बागमती प्रदेशका भौतिक पूूर्वाधारसम्बन्धी मन्त्री अमन मास्केलगायत उपस्थित हुनुहुन्थ्यो ।

राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

काठमाडौँ, २५ भदौ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६१औँ वार्षिकोत्सवको उपलक्ष्यमा पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपीशर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभाहलमा सम्मान गर्ने कार्यक्रम तय भएको राखेपले जनाएको छ ।

राखेपका अनुसार सिनियर र जुनियरमा समान १–१ पुरुष÷महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिनेछ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी, २ खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल सङ्घलाई पुरस्कृत गरिनेछ ।

स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल सङ्घलाई कदरपत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने राखेपले जनाएको छ । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका दुई सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने भएको छ । वर्षमा हासिल गरेको उपलब्धि, सक्रिएता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सव उपसमिति–२०८१ गठन गरिएको छ । उपसमितिको सचिवमा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल हुनुहुन्छ ।

त्यस्तै पुरस्कृत गर्ने खेलाडीलगायत छनोट गर्न विभिन्न पाँच कार्यदल पनि गठन गरिएको छ । तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक सङ्गीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल, राष्ट्रिय टिम तयारीका उप–निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरिएको छ ।

खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल सङ्घ तथा प्रायोजक छनोट कार्यदल, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माको संयोजकत्वमा स्थानीय तह छनोट कार्यदल गठन गरिएको छ ।

विसं २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवका दिन यही भदौ १३ गते राखेपले त्रिपुरेश्वरस्थित आफ्नै हातामा कार्यक्रम आयोजना गरेको थियो ।

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको अवस्था बिग्रँदै गएकोमा राष्ट्रसङ्घको चिन्ता

गत अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि इजरायली हिरासतमा रहेका प्यालेस्टिनी नागरिकहरुको अवस्थामा नाजुक बन्दै गएकोे वर्णन गर्दै द्वन्द्वमा यौन हिंसा सम्बन्धी राष्ट्रसङ्घकी महासचिव तथा विशेष प्रतिनिधि प्रमीला प्याटनले ओएचसीएचआरसहित राष्ट्रसङ्घले हालै प्रकाशित प्रतिवेदन प्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रसङ्घका विशेष प्रतिनिधिले जेलमा भएका हिंसा ,अमानवीय र अपमानजनक व्यवहारका गथिविधिहरु औल्याउदैै यस्ता कार्यले मानव अधिकार तथा अन्तराष्ट्रिय कानुनको उल्लङ्घन भएकाले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि गरिएका प्रयासहरू पनि कमजोर भएको जनाउनुभएको छ ।

उहाँले सम्बन्धित निकायलाई छिटै समस्या समाधान गरी पीडितहरूलाई आवश्यक चिकित्सा र मनोवैज्ञानिक सहयोगको व्यवस्था गर्न आह्वान गर्नुभएको छ ।

प्याटनले अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड अनुसार नजरबन्दको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्ड कडाइका साथ लागु गर्न जोड दिदै इजरायली अधिकारीलाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा सान्दर्भिक अन्तर्राष्ट्रिय निकायको निर्बाध पहुँच प्रदान गर्न आग्रह गर्नु भयो ।

उहाँले पद तथा सम्बद्धताको अवस्था जस्तोसुकै भएपनि न्यायको सिद्धान्त अनुसार व्याप्त असान्दर्भिक क्रियाकलापहरु नियन्त्रण गर्न सक्षम संयुक्त राष्ट्रसङ्घीय निकायद्वारा स्वतन्त्र र गहन अनुसन्धानको लागि आह्वान गर्नु भएको छ ।

पाकिस्तानको रेमिट्यान्स ४० प्रतिशतले बढ्यो

पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढेको छ । स्टेट बैङ्क अफ पाकिस्तानले गत वर्षको अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४० दशमलव पाँच प्रतिशतले बढेको जनाएको छ ।

बैंकका अनुसार सन् २०२४ मा दुई अर्ब नब्बे करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ । गत महिना साउदी अरबबाट ७१३ दशमलव एक मिलियन डलर, संयुक्त अरब इमिरेट्सबाट ५३८ दशमलव चार मिलियन डलर, बेलायतबाट ४७४ दशमलव ८ मिलियन डलर र अमेरिकाबाट ३२२ दशमलव ४ मिलियन डलर विप्रषण आएको बैङ्कले जनाएको छ ।

विदेशमा रहेका कामदारले पठाएको विप्रेषणको पाकिस्तानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । पाकिस्तानले प्राप्त गर्ने विदेशी मुद्राको प्रमुख स्रोतमा विप्रेषण पनि एक हो ।

चालु आर्थिक वर्षमा सहरी विकास ऐन तर्जुमा हुन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २५ भदौः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चालु आर्थिक वर्षभित्रै सहरी विकास ऐन तर्जुमा गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री सिंहले उक्त ऐन तर्जुमा गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनःसरचनासम्बन्धी काम अगाडि बढाइने बताउनुभएको हो ।

बैठकमा सांसद प्रेम सुवालले सबै स्थानीय तह वरिपरी खेती र वनजङ्गल क्षेत्र कायम गर्ने योजना सरकारले बनाएको छ कि छैन ? भनी प्रश्न गर्नुभएको थियो । उहाँले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कामको प्रभावकारिताको पनि प्रश्न उठाउनुभएको थियो ।

जवाफमा सहरी विकासमन्त्री सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट अनुमति नलिई जग्गा खण्डीकरण गर्ने व्यवसायीहरुलाई कारबाही गरिएको बताउनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत बाटोको लागि न्यूनतम १५ प्रतिशत र खुल्ला क्षेत्रका लागि कम्तीमा पाँच प्रतिशत जग्गा छुट्याई भौतिक विकास योजना सञ्चालन गर्न अनुमति दिइने गरिएको पनि सिंहको भनाइ छ । भू–उपयोग योजना तयार गरी कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको रहेको र स्थानीय तहबाट बस्ती विकासको क्षेत्रमा सहयोग माग भएमा सहरी विकास मन्त्रालयबाट आवश्यक सहयोग भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

“भू-उपयोग ऐन २०७६, भू-उपयोग नियमावली २०७९ अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्राविधिक सहयोगमा कृषि क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदि, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, संस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्र गरी १० क्षेत्र सहितको भूृउपयोग योजना तयार गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो”, उहाँले भन्नुभयो ।

नगरहरूको विकास र विस्तारको साथै नयाँ नगरहरूको निर्माण गरी नगरबासीलाई आवश्यक सेवा सुविधा पु¥याउन तथा सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा एवं आर्थिक हित कायम राख्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न नगर विकास ऐन २०४५ कार्यान्वयनमा रहेको पनि सहरी विकास मन्त्री सिंहले बताउनुभयो ।

उक्त ऐनअनुसार नगरपालिकाहरुको सहरी योजना तर्जुमा तथा कार्यान्वयन गर्ने संयन्त्रको रुपमा नगर विकास समिति रहेको छ ।

कोशी प्रदेश : विधेयक सर्वसम्मतले पारित

विराटनगर, २५ भदौः कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सो विधेयक पारित गरियोस् भत्रे प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।

सो प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित हुनुअघि प्रस्तावमा दफावार छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य रामप्रसाद महतो र सदानन्द मण्डलले संशोधित विधेयकबाट वास्तविक किसानले राहत पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रदेशसभाको आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट रमेशकुमार बस्नेतले सर्दु खोला जलाधारको नाम चार सय विघा जग्गाभन्दा बढी भोग चलन एवं स्वामित्वमा रहेका जग्गा रोक्का भएको लामो समय बितिसक्दा पनि सो जग्गाको स्वामित्व हस्तान्तरण, बेचबिखन हुन नसकेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बाबुराम गौतमले जटिल रोग लागेका बिरामी सहजरुपमा उपचार पाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पहाड र हिमाली क्षेत्रमा विकासका ठोस योजना नपरेका कारण त्यस क्षेत्रका जनता उपेक्षित हुन गएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत) समाजवादीका खिनु लङ्वा लिम्बूले ताप्लेजुङको पाथिभरामा निर्माण गर्न लागिएको केबलकार स्थानीय जनताको भावना विपरीत भएको बताउनुभयो । उहाँले केवलकार निर्माणका नाममा दुर्लभ वनस्पति कटान भइरहेको बताउनुभयो ।

आजको शून्य समयमा प्रदेशसभा सदस्यहरुले मुलुकको समसायिक विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

कृषि क्षेत्रमा लागत कम र उत्पादन धेरै हुने अवस्था सिर्जना गर्नुपर्छ : कांग्रेस प्रवक्ता

पाटन (ललितपुर), २५ भदौ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषि क्षेत्रमा आश्रित जनसङ्ख्या न्यूनीकरणगरी लागत कम र उत्पादन धेरै हुने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल किसान महासङ्घ केन्द्रीय समितिको छैटौँ बैठकको सुभारम्भका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले कृषि क्षेत्रमा आश्रित जनसङ्ख्याको तुलनामा अन्य क्षेत्रमा आश्रितको आयस्तर र जीवनशैली उच्च भएकाले त्यहीअनुसार कृषि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

“सम्पूर्ण राष्ट्रिय उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै छ, ७६ प्रतिशत योगदान अन्य क्षेत्रमा रहेका ४० प्रतिशत जनसङ्ख्याको रहेको छ, यसले कृषिमा निर्भर जनसङ्ख्याको आयस्तर कमजोर भएको देखाउँछ,” प्रवक्ता महतले भन्नुभयो, “अहिले कृषिमा निर्भर रहेका ६० प्रतिशत जनसङ्ख्याको आयस्तर वृद्धि गर्नुपर्ने हाम्रोसामु चुनौती रहेको छ । यसका लागि कृषिमा आश्रित केही जनसङ्ख्यालाई अझै अरु क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ र अर्कोतिर कम जनसङ्ख्यालाई सहभागी गराई उत्पादकत्व वृद्धि गर्नेतीर ध्यान दिनुपर्छ । अहिले हाम्रो कृषि उत्पादनमा खर्च ज्यादा आम्दानी कम भएको अवस्था छ, यसलाई परिवर्तन गर्न आवश्यक छ ।”

नेपालमा कुनै समय ९५ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेकामा अहिले ६० प्रतिशत मात्रै रहेको जानकारी दिँदै उहाँले उत्पादकत्व वृद्धि गर्न अझै केही प्रतिशत जनसङ्ख्यालाई कृषिमा निर्भरताबाट अन्य क्षेत्रमा प्रोत्साहित गरिनुपर्ने बताउनुभयो ।

“अमेरिकामा दुई प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छन्, उनीहरुले आफ्नो देशलाई चाहिने सम्पूर्ण खाद्यान्न पु¥याएर संसारभर निर्यात गरिरहेका छन् । हामी कृषि प्रधान देश भन्छौँ, ६० प्रतिशत जनता कृषिमा लाग्दा पनि हामी गैर कृषिमा लागेका ४० प्रतिशत जनसङ्ख्यालाई पनि खाद्यान्नलगायत कृषि उत्पादन पु¥याउन सकिरहेका छैनौँ,” डा महतले भन्नुभयो, “कृषिमा आश्रित जनसङ्ख्यासँग खेतीका लागि पर्याप्त जमिन छैन, सबै ठाउँमा मल र सिँचाइको व्यवस्था गर्न सकेका छैनौँ । हामी पुरानो प्रविधिमा छौँ, नयाँ प्रविधिलाई कृषि क्षेत्रमा लागू गर्न सकेका छैनौँ । यातायात र पूर्वाधारका क्षेत्रमा पनि हामीले पर्याप्त व्यवस्था गर्न सकेका छैनौँ, भण्डारणको व्यवस्था पनि गर्न सकेका छैनौँ ।”

डा महतले विदेशबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन भने सरकारले अनुदान दिएर प्रतिस्पर्धी बनाउन सक्नेगरी प्रोत्साहित गर्नुपर्छ भन्नुभयो । उहाँले नेपाली उत्पादनलाई प्रोत्साहित गर्न विदेशबाट आउने पदार्थको भन्सार वृद्धि गर्न सकिन्छ भन्दै जापानले पनि आत्मनिर्भर हुन त्यही गरेको उल्लेख गर्नुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफू खेतीकिसानी गरेर आएको व्यक्ति भएको भन्दै मन्त्रालयमा रहेर कृषि क्षेत्रको उत्थानका लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापा, नेपाली कांग्रेस कृषि तथा किसान विभागका प्रमुख उमेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

आइकाओको सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौँ, २५ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको राजधानी नयाँदिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।

बुधबारदेखि दिल्लीमा सुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन भारत जानुभएको मन्त्रालयले जनाएको हो । दुईदिने सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गर्न लागेको जनाइएको छ । एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।    उक्त सम्मेलनमा करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

चाडपर्वमा साल्ट ट्रेडिङ र खाद्यलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

काठमाडौँ, २५ भदौ : सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५/१५ हजार मेट्रिकटन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले दसैँ, तिहार तथा छट पर्वमा चिनीको अभाव हुन नदिने उद्देश्यका साथ सरकारी स्वामित्वका दुई कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिइएको स्पष्ट पार्नुभयो । 

बैठकले सिराहा निवासी चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पद र फिजी, न्युजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, पलाउ, नाउरु, मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यका लागि गैरआवासीय राजदूतका पदमा नियुक्तिका लागि सिफरिस गरेको छ । 

मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरण र एसजेभिएन लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत् आयोजनाको विकासका लागि हस्ताक्षर भएको समझदारीको म्याद एक वर्ष थप गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो । 

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १२ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा चार राजपत्राङ्कित पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्ले भू–उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृतगरी संयुक्त राष्ट्रसङ्घीय समितिमा पेस गर्ने निर्णय गरेको छ । 

वैदेशिक भ्रमण स्वीकृत

सरकारले आगामी असोज २१ गते थाइल्याण्डमा आयोजना हुने सामाजिक संरक्षणसम्बन्धी बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठलाई स्वीकृति दिएको छ । 

बैठकले आगामी असोज ८ देखि १० गतेसम्म इन्डोनेसियामा आयोजना हुने पाँचौँ मन्त्रिस्तरीय कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई स्वीकृति दिएको छ । यही भदौ २५ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नागरिक उड्डयनसम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा सहभागिताका लागि बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिएको छ । 

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छः अध्यक्ष यादव

सुदूरपश्चिम, २५ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताउनुभएको छ ।सो पार्टीको आज धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका बिकृति विसङ्गतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “जनता सङ्गठित, सचेत र जागरुक भइसकेपछि मात्र बिसङ्गति विकृतिविरुद्ध सङ्घर्ष गरेर परिवर्तन सम्भव हुनसक्छ ।” पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादवले भ्रष्टाचार, कमिशनतन्त्रजस्ता बेथिति बढ्दा दलित, थारु, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य घनश्याम कुश्मि, केन्द्रीय अनुशासन विभागका सदस्य आरसी यादव, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भगतराम थारु, उपाध्यक्षद्वय निर्मला रिजाल र गोविन्दराज रानाथारु, कैलाली जिल्ला अध्यक्ष गयाँप्रसाद कुश्मीलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा बोल्नुभएको थियो ।सो पार्टीले सङ्गठन सुदृढीकरणका लागि ‘जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल’नाम दिएर अभियान सञ्चालन गरिरहेको छ ।

सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउँछु : अध्यक्ष दाहाल

सिरहा, २५ भदौः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउने बताउनुभएको छ । आज गोलबजारका स्थानीयसँग कुराकानी गर्दै उहाँले खानेपानी, कृषि उपजको उचित बजार व्यवस्थापन र पूर्वाधार विकासको विषयमा संसद्मा कुरा उठाउने बताउनुभएको हो ।

सिरहाको उत्तरी क्षेत्रका जनताले खानेपानीको समस्याबाट अझै पार पाउन नसकेको भन्दै अध्यक्ष दाहालले आफू यहाँको जनप्रतिनिधि भएका बेलाका आयोजना अझै अधुरो भएकोमा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष दाहाल २०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट निर्वाचित हुनुभएको थियो ।

“जनप्रतिनिधि हुँदा गोलबजारमा मात्र नौ वटा खानेपानीका आयोजना स्वीकृत भएको थियो । काम सम्पन्न भयो, समस्या सामाधान हुन्छ भन्ने जस्तो पनि भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “म यसलाई तत्काल पूरा गराउन संसद्मा कुरा उठाउँछु ।”

अध्यक्ष दाहालले यहाँका किसानले उत्पादन गरेको आँपले बजारको समस्या झेलिरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आँप र तरकारीको बजार व्यवस्थापन र चिस्यान केन्द्र निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो ।

पार्टीको कोशी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक उदयपुरको बेलकामा सम्मन्न गरी फर्कने क्रममा अध्यक्ष दहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हरिबोल गजुरेललगायतका नेताले गोलबजारमा आज कार्यकर्ता तथा स्थानीयसँग अन्तक्रिया गर्नुभएको थियो ।

भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ, २५ भदौः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताउनुभएको छ ।उहाँले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना व्यस्थापन प्रणालीका लागि तयार गर्न लागिएको भवन निर्माणकार्यलाई चाँडो सम्पन्न गर्न मन्त्रालयले ताकेता गरिरहेको बताउनुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भट्टराईले निर्माण अलपत्र रहेको ३२ कोठे भवनको हालसम्म ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । उक्त विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

 शिक्षामन्त्री भट्टराईले उक्त भवनको पहिलो तला निर्माण सकिएर कक्षा सञ्चालन भइरहेको बताउनुभयो । सो विद्यालयको भवन निर्माण भारतीय राजदूतावासमार्फत हुने मन्त्रालयलाई जानकारी प्राप्त भएको बताउनुभयो । 

विसं २०७१ मा निर्माण सुरु भएको उक्त भवन भूकम्पका कारण रोकिएको थियो । पछि ठेकेदार कम्पनीले निर्माणको म्याद थप्न आग्रह गरे पनि नथपिएको जनाइएको छ । रु तीन करोड ४६ लाख लागतको उक्त भवनमा दुई करोड बढी खर्च भइरहेको छ ।शिक्षामन्त्री भट्टराईले भारतीय दूतावासमार्फत हुने विद्यालय भवन सोझै सम्झौता हुने गरेको मन्त्रालयलाई विवरण प्राप्त भएको बताउनुभयो ।

निर्यात प्रवर्द्धन गर्ने उद्योग मन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौँ, २५ भदौ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी निर्यात प्रवर्द्धन गर्ने एवं व्यापार घाटा न्यूनीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई आज सम्बोधन गर्दै भण्डारीले मुलुकको आर्थिक समृद्धि आसिल गर्न र दिगो विकासले लिएको लक्ष्य पूरा गर्न स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात बढाउने सरकारको नीति रहेको बताउनुभयो ।

नेपालको संविधानद्वारा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त तथा नीति एवं दायित्व, दिगो विकासका लक्ष्य, १६औँ योजनाले लिएको उद्देश्य तथा लक्ष्य, क्षेत्रगत नीति, वार्षिक नीति तथा कार्यक्रम बमोजिम मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवालाई सरलीकरण गर्ने उहाँको भनाइ छ । मन्त्री भण्डारीका अनुसार स्वचालित प्रणाली अवलम्वन गर्ने, औद्योगिक सम्बन्ध सुमधुर बनाउने, व्यावसायिक लागत घटाउने, उत्पादन वृद्धि गर्ने, निर्यात प्रवर्द्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने, औद्योगिक तथा व्यापारिक पूर्वाधारको निर्माण तथा उचित व्यवस्थापन गर्ने सरकारको लक्ष्य छ ।

उपभोक्ताहित संरक्षण र आपूर्ति व्यवस्था दुरुस्त बनाई बजारलाई स्वच्छ एवं प्रतिस्पर्धी बनाउने उद्देश्यले मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको उहाँको भनाइ छ ।

“चाडपर्व लक्षित गरी चामल र चिनीलगायत खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था मिलाएको छ । साथै चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ बाट सञ्चालन गर्न तयारी भइसकेको छ । उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढाइसकिएको छ,” उहाँले भन्नुभयो, “साथै बजारमा उच्च माग हुने समयमा मूल्य अस्वाभाविक रुपमा वृद्धि गर्न सक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिने, सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणाली कार्यान्वयनमा ल्याउने, संवेदनशील र जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन भइरहेको छ ।”

आपूर्ति व्यवस्थापन प्रभावकारी, व्यवस्थित भरपर्दो तथा स्वचालित बनाउन तथा यस क्षेत्रमा आएका नविन चुनौतीको सम्बोधन गर्न आपूर्ति नीति, २०८१ (मस्यौदा) तर्जुमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

गोरखकाली रवर उद्योग, जनकपुर चुरोट कारखाना लि, नेपाल ओरियण्ट म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी लि, बुटवल धागो कारखाना, विराटनगर जुट मिल्स, हेटौँडा कपडा उद्योगसमेत सात वटा बन्द भएका सार्वजनिक संस्थान तथा हेटौँडा सिमेन्ट उद्योग लि र उदयपुर सिमेन्ट उद्योगजस्ता दुई वटा रुग्ण उद्योगसमेत गरी नौ वटा सार्वजनिक संस्थानको सञ्चालनका विकल्प पहिचान गरी त्यसको कार्यान्वयनको मोडालिटी तय गर्ने कार्य भइरहेको छ उहाँको भनाइ छ । –

इजरायली हमलामा ४० जनाको मृत्यु

प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानवीय क्षेत्रमा मङ्लबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले उक्त क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।गाजाको दक्षिणी सहर खान युनिसको अल–मवासीमा आक्रमण पछि दशौं हजार विस्थापित प्यालेस्टिनीले त्यहाँ शरण लिएका थिए ।

यद्यपि, इजरायली सेनाले यस क्षेत्र वरपर अपरेसन जारी गरेको छ । जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघाइरले आक्रमणमा मृत्यु भएका तथा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताउनुभएको छ ।

खान युनूसमा विस्थापितको शिविरलाई लक्षित गरी आक्रमण गर्दा बेपत्ता भएका १५ व्यक्तिहरूको उद्धारका लागि विभागका कर्मचारीहरू निरन्तर खटिरहेको मुगैरले उल्लेख गर्नुभयो । नागरिक रक्षाका प्रवक्ता महमुद बासलले शिविरमा शरण लिइरहेका मानिसलाई आक्रमणको चेतावनी नदिएको उल्लेख गर्दै आवश्यक सामग्रीको अभावले उद्धार कार्यमा बाधा पुगेको बताउनु भएको छ ।

उहाँका अनुुसार आक्रमणका कारण २०–४० भन्दा बढी शिविरहरु पूर्ण रूपमा क्षतिग्रस्त भएका छन । जरायली सेनाले विज्ञप्ति मार्फत खान युनिसको मानवीय क्षेत्रबाट सैन्य कारवाही गरिरहेका हमासलाई प्रहार गरेको जनाएको हो । गाजामा लडाकु समूहले तोकिएको मानवतावादी क्षेत्रसहित नागरिक र मानवीय पूर्वाधारको व्यापक दुरुपयोग गरेको जनाइएको छ ।

हमासले विज्ञप्ति मार्फत आफ्ना लडाकुहरू आक्रमण स्थलमा उपस्थित नभएको दाबी गरेको छ । युद्धको क्रममा, इजरायलले हमासलाई बारम्बार सर्वसाधारणको नरसंहार गरेको आरोप लगाएको छ भने हमासले आरोपको अस्वीकार गरेको छ ।

गाजा आक्रमणमा हालसम्म कम्तिमा ४० हजार ९८८ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले मृतक मध्ये अधिकांश महिला तथा बालबालिका रहेको र अधिकाशं जनसङ्ख्या विस्थापित भएको जनाएको छ ।अमेरिका, कतार र इजिप्टले इजरायल र हमासबीच युद्धविराम र बन्धक–कैदी आदानप्रदान सम्झौता गर्ने प्रयासमा मध्यस्थता गरिरहेका छन् यद्देपी हाल वार्ता रोकिएको छ ।

सङ्खुवासभावासीको विकासप्रतिको चाहना सरकारले पूरा गर्ने : मन्त्री खड्का

चैनपुर (सङ्खुवासभा), २५ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख)ले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काको सम्मानमा चैनपुरमा आयोजित  कार्यक्रममा बोल्दै उहाँले विकासको हिसाबले पछि परेको सङ्खुवासभालाई अगाडि लैजान प्रतिबद्ध भएर लाग्ने बताउनुभएको हो ।

“वर्तमान सरकार समृद्ध मुलुक निर्माण गर्ने अभियानमा छ, उक्त अभियानमा सङ्खुवासभा छुट्दैन,” उहाँले भन्नुभयो । सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने निर्णय सरकारले गरिसकेको उहाँले जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्काले जलस्रोतको धनी जिल्ला सङ्खुवासभामा पर्यटन र कृषिमा समेत उत्तिकै सम्भावना रहेको उल्लेख गर्नुभयो । सङ्खुवासभाको विद्युत्को सदुपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने मन्त्री खड्काको भनाइ छ । “निराशा हुने होइन, आश जगाएर अगाडि बढेमात्र सङ्खुवासभाको विकास हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले गरिब र विपन्न वर्गलाई सम्पन्न नबनाई मुलुक सम्पन्न नहुने भएकाले उनीहरुलाई सम्पन्न बनाउने गरी सरकारले काम सुरु गरेको बताउनुभयो । जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले सङ्खुवासभा जलस्रोतको भण्डार र ऊर्जाको सम्भावना भएको जिल्ला भएकाले यसको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जलविद्युत्सँगै पर्यटन र कृषिको विकास गर्नसके सङ्खुवासभाले आर्थिक विकासमा फड्को मार्ने उल्लेख गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सङ्खुवासभामा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो । उहाँले सङ्खुवासभाका ९० प्रतिशत भुभागमा विद्युतीकरण भएकाले बाँकी क्षेत्रमा पनि चाँडो विद्युत् विस्तार हुने जानकारी दिनुभयो । सङ्खुवासभाको भाग्य र भविष्य ऊर्जा क्षेत्रमा भएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख)का सभापति दीपेन्द्रमान शाक्य, उपसभापति लोकबहादुर लिम्बूलगायतले समृद्ध सङ्खुवासभा निर्माणका लागि नवनियुक्त ऊर्जामन्त्रीले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले जिल्लाको जलविद्युत् क्षेत्रको विकास, तालको संरक्षण, सौर्यबत्तीको जडान, पर्यटक क्षेत्रको विकास, खानेपानी विकास, कोशी राजमार्गको विस्तार, अस्पतालको क्षमता अभिवृद्धिलगायत माग राख्नुभएको थियो ।

अर्थ समितिको प्रतिवेदनसहित बैंकिङ कसुर विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौँ, २५ भदौः प्रतिनिधिसभाको आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको छ ।

उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले संशोधनसहित पारित गरेको थियो । चेक अनादर (चेक बाउन्स)सम्बन्धी मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५० लाखदेखि रु एक करोडसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद, रु एक करोडदेखि रु १० करोडसम्मको बिगो भए दुई वर्षसम्म कैद र रु १० करोडभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राखिएको छ । त्यस्तै चेकअनादरसम्बन्धी मुद्दा सरकारवादी हुने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

 गतवर्ष साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालिन अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक संसदमा दर्ता गर्नुभएको थियो । 

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानूनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने बेहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाटसमेत बैंकिङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको थियो । विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका थिए ।

 कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन”, विधेयकमा भनिएको छ ।

चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैंक तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ । यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सोको अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । 

त्यसरी सूचना दिएको जानकारी खुलाई बैंकले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्ने विधेयकमा उल्लेख छ ।

प्रतिनिधिसभा : उपसभामुखदेखि खोला किनाराका संरचनाको विषयले पायो प्राथमिकतामा

काठमाडौँ, २५ भदौ : प्रतिनिधिसभाका सांसदहरूले उपसभामुख इन्दिरा रानामाथि लागेको आरोपबारे पक्ष र विपक्षमा धारणा राख्नुभएको छ । बैठकको शून्य समयमा बोल्नुहुने सत्तापक्ष सांसदहरूले उपसभामुख रानामाथिको आरोपबारे छानबिन हुनुुपर्ने बताएका छन् भने प्रतिपक्ष दलका सांसदहरूले भने सत्तापक्षबाट बल मिच्याइ गरेर उपसभामुखमाथि छानबिन गर्न खोजेको आरोप लगाएका छन् ।

उपसभामुख रानाले सङ्घीय संसद्को स्वीकृतिबिना अनधिकृत व्यक्तिलाई भिसा सिफारिस गरेको आरोप लगाउँदै सत्तापक्षका सांसदले पदीय दुरुपयोग गरेकाले छानबिन हुनुपर्ने बताएका हुन् ।

सांसद शोभा ज्ञवालीले केही व्यक्तिलाई उपसभामुखको सिफारिसमा विदेश पठाउन लागिएको विषयमा विवाद उठेको र त्यो विवाद अझै निराकरण हुन नसकेको बताउनुभयो । सांसद हेमराज राई र सराज अममद फारुकीले पनि उपसभामुखमाथि उठेका प्रश्नको निराकरण हुनुपर्ने बताउनुभयो ।

सांसद हितराज पाण्डेले सरकारले उपसभामुखलाई हटाउने तयारी गर्नु अलोकतान्त्रिक र विधिको शासनमाथिको बल मिच्याइ रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यकाका खोला किनार छेउमा २० मिटरभित्र कुनै पनि संरचना बनाउन नपाउने भनेर अदालतबाट भएको फैसलाले उपत्यकावासीलाई समस्यामा पारेको र उनीहरू आन्दोलिन हुनुपरेको विषय पनि संसद्मा उठेको छ ।

सांसद शिशिर खनालले बागमती सभ्यता संरक्षणका लागि अदालतबाट भएको आदेश कार्यान्वयन हुन नसकेको विषय उठाउनुभयो । सांसद सन्तोष चालिसेले नदी किनारमा २० मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने अदालतको आदेशले उपत्यकाका ८० हजार परिवार विचल्ली हुने अवस्थामा पुगेको विषय उठाउनुभयो ।

त्यस्तै, सांसद सपना राजभण्डारीले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारका बासिन्दा आन्दोलित भएको विषय उठाउनुभयो । यो फैसला कार्यान्वयन गर्दा नागरिकको उठिबास हुने अवस्था आएकाले अदालतको फैसला पुनरावलोकनको माग उहाँले गर्नुभयो ।

सांसद हितबहादुर तामाङले नदी किनारमा संरचना बनाउन नपाउने भनेर अदालतको फैसलाले उपत्यकाका स्थानीयलाई समस्यामा पारेकाले उक्त फैसला पुनरावलोकनका लागि माग गर्नुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले पनि उपत्यकाका नदी किनारको २० मिटर वरपरका बस्ती हटाइनुपर्ने अदालतको फैसला कार्यान्वयन गर्दा धेरै घरपरिवार समस्यामापर्ने धारणा राख्नुभयो ।

खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने र उनीहरुको जीविकोपार्जनका लागि सरकारले सहयोग गर्नुपर्ने विषय पनि आजको संसद्मा उठेको छ ।

सांसद विराजभक्त श्रेष्ठले खेलाडीलाई राज्यले सम्मान गर्नुपर्ने र उनीहरुको सहज जीवनयापनको व्यवस्था राज्यबाट हुनुपर्ने बताउनुभयो । अर्का सांसद सरस्वती बजिमयले खेलाडीको मनोबल बढाउने र जीविकोर्पानका लागि तलबभत्ता, सेवा सुविधालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शान्ति विकले खेलाडी देशको प्रतिष्ठासँग जोडिएका हुनाले खेलाडीको जीवनयापनका लागि उचित सेवा सुविधा उपलब्ध गराइनुपर्ने लागि माग गर्नुभयो ।

सांसद बीना लामाले चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा चर्को महँगी, कालोबजारी र कृतिम अभाव सिर्जना भएको विषयबारे संसदमार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद बीना जैसवालले भोजपुरी भाषालाई राज्यले संरक्षण गरिनुपर्ने माग राख्नुभयो ।

अर्का सांसद शेरबहादुर कुँवरले जनताका दैनिक समस्या संसद्मा उठाउने गरेपनि सरकारले संसद्मा उठेका विषयलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । संसद्मा उठेका विषयलाई सुनुवाइ र कार्यान्वयन हुन नसक्नु संसद्प्रतिकै अपमान रहेको उहाँको भनाइ छ ।

सांसद सरस्वती सुब्बाले दलित, भूमिहीन, सुकुम्बासीका समस्या अझै समाधान हुन नसकेकाले वन ऐन र भूमि ऐन संशोधन तथा अधिकार सम्पन्न भूमि आयोग गठनको माग गर्नुभयो । सांसद डा स्वर्णिम वाग्लेले लालबन्दी, सिमरा, चपुर क्षेत्रका व्यवसायी समस्यामा परेको विषय उठाउनुभयो । उहाँले भारतीय बजारबाट नजिकै रहेका नेपाली बजारको व्यापार घट्दै गएको र भारतीय बजारबाट अवैध सामान भित्रिदा नेपाली व्यवसायी समस्यामा परेकाले व्यापार सहजीकरणका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद शान्ति चौधरीले बुटवल–नारायणघाट सडक निर्माण नहुँदा नागरिकले दुःख भोग्नु परेको विषय संसद्मा उठाउनुभयो । देशभरका विभिन्न सडक आयोजनामा भइरहेको ढिलाइबारे अध्ययन गर्न संसदीय अनुमगन समिति बनाइनुपर्ने उहाँको माग छ ।

सांसद सीताकुमारी रानाले पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढिरहेका कारण विद्युतीय सुरक्षा बढाइनुपर्ने बताउनुभयो । सांसद सीता मिजारले ई–गभर्नेन्स को अवधारणा प्रभावकारी हुन नसकेको विषय उठाउनुभयो । देशभर इन्टरनेट सुविधा पु¥याइनुपर्ने र नागरिकलाई डिजिटल साक्षारता बढाइनुपर्ने विषयमा पनि उहाँले संसदमार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद सुमना श्रेष्ठले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि अपिल गर्नुभयो । सरकारले पूर्वाग्रहबाट मुक्त भएर जनताका मुद्दा बोक्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

सांसद सुशीला थिङले विपदबाट प्रभावित निजी आवास निर्माणमा ढिलाइ भएको विषय संसद्मा उठाउनुभयो । अर्का सांसद सुशीला श्रिपाली ठकुरीले संविधान संशोधन गर्दा समावेशी, समानुपातिकको मुद्दालाई कमजोर बनाइने हो कि भन्ने शङ्का देखिएको बताउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले सरकारले जनताको माग र अपेक्षा पूरा गर्दै जानुपर्ने उल्लेख गर्नुहुँदै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार त्यसलाई संशोधन गर्न सकिने बताउनुभयो । संविधान संशोधन गर्दा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने माग उहाँले राख्नुभयो ।

सांसद सूर्यमान तामाङ दोङले वर्षायाममा बाढिपहिरो, डुबानलगायतका समस्यामा समाधानका लागि सरकार गम्भीर हुन नसकेको उहाँले बताउनुभयो । सांसद सोबिता गौतमले सरकारको आलोचना गर्नेलाई कारबाही भइरहेको उल्लेख गर्नुहुँदै सरकारले बहुमतको दम्भले लोकतन्त्रको घाँटी निमोठ्न खोजेको आरोप लगाउनुभयो ।

सांसद सञ्जयकुमार गौतमले जनतामा सरकारप्रति निराशा व्याप्त हुँदैगएको बताउनुभयो । बाढिपहिरो पीडितले राहत पाउन नसकेको विषय पनि उहाँले उठाउनुभयो । सांसद हर्र्कमाया विश्वकर्माले आन्दोलनरत दलित अधिकारकर्मी खगेन्द्र सुनारका माग सुनुवाइका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्डको अध्यक्ष लामो समयदेखि रिक्त रहेको विषय संसद्मा उठाउनुभयो । मितेरी बचत तथा ऋण सहकारीको बचत अपचलन भएको विषयमा छानबिनका लागि पनि उहाँले माग गर्नुभयो । सांसद हृदयराम थानीले कर्णाली प्रदेश तालिम केन्द्र स्थानान्तरणको विषय संसद्मा राख्नुभयो । त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीले मानव–वन्यजन्तुद्वन्द्व बढिरहेको विषयमा संसद्को ध्यानाकर्षण गराउनुभयो ।

बकैया खोलाको बाढीले बगाएर बेपत्ता माझीको शव फेला

बागमती, २५ भदौः बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

कास्की, २५ भदौः यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।

‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।”

अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताउनुभयो । “स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ”, अध्यक्ष ओझाले भन्नुभयो ।

गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।”

नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग : ‘पीडितका कुरा सुन्ने पदाधिकारी आउन’

काठमाडौँ, २५ भदौः लामो प्रतीक्षापछि सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भए पनि पीडित भने आयोगमा कस्ता पदाधिकारी आउलान् भन्ने चासो र चिन्तामा परेका छन् । बेपत्ता पारिका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सङ्क्रमणकालीन न्यायको पखाईमा बसेका पीडितलाई आयोगमा न्याय दिने गरी पदाधिकारी आउलान कि नआउलान् भन्ने चिन्ता लागेको हो ।

द्वन्द्वपीडित महिलाको राष्ट्रिय सञ्जालका उपाध्यक्ष गीता रसाइलीलाई आयोगमा पीडितलाई न्याय दिनुपर्ने भन्ने स्वतन्त्र, सक्षम र विज्ञ व्यक्ति आएमा राम्रो हुन्थ्यो भन्ने लागेको छ । “यौन हिंसामा परेका महिलाको तीन सय १४ जनाले उजुरी दिएका छन्, ती महिलाको स्वास्थ्य अहिले पनि औषधिले धानेको छ”, उहाँले थप्नुभयो, “आयोगमा पीडितमैत्री पदाधिकारी आए सहज हुने थियो, बल्ल ऐन संशोधन भयो तर आयोगमा पदाधिकारी कस्ता आउलान् भन्ने चिन्ता लागिरहेको छ ।”

द्वन्द्वमा यौनहिंसा भोगेका अधिकांश महिलाले परिवार र समाजका डरले आफैँले आएर उजुरी दिनसक्ने अवस्था भएन । त्यसले गर्दा महिलाले अन्य शीर्षकमा नै उजुरी दिन बाध्य भए । जसले गर्दा यौनहिंसाका पीडितले अहिलेसम्म राज्यका तर्फबाट कुनै पनि सहयोग प्राप्त गर्न सकेका छैनन् ।

“कतिपय अपराध माफ दिन नसकिने खालको छ, पैसा दिएर मात्रै न्याय हुँदैन, न्यायको अनुभूति त पीडितले गर्नुपर्छ”, उहाँले थप्नुभयो, “न्यायको पखाई धेरै लामो भयो, अब छिट्टै प्रक्रिया अघि बढाउनुपर्छ ।”

आयोगमा पीडितको भावनालाई सम्मान गर्ने खालका पदाधिकारी सिफारिस गर्नुपर्ने तर पदाधिकारी सिफारिसका विषयमा छलफल नभएका विषयमा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीलाई चिन्ता लागेको छ ।  

“ऐनमा सिफारिस समिति गठन गरी दुई महिनाभित्र पदाधिकारी नियुक्त गरिसक्न भनेको छ, पहिलाको सिफारिस समितिले काम गर्ने कि ? नयाँ सिफारिस समिति बन्ने भन्ने विषयमा छलफल भएको देखिँदैन”, उहाँले भन्नुभयो, “आयोगमा पदाधिकारी राम्रो मान्छे आए हुने हो, पीडितले आयोगका कस्ता मान्छे आउँछन् भन्ने विषयमा हेरिरहेका छन्, समाजले पत्याएको, स्वतन्त्र, सक्षम र पीडितले विश्वसनीय पात्र ल्याउनुप¥यो ।”

द्वन्द्वपीडित रहनुभएका अधिकारीले थप्नुभयो, “अब पीडितका कुरा सुन्ने आयोगका पदाधिकारी आउन भन्ने चाहना छ, विगतमा पीडितलाई रुवाएरको उदाहरण पनि धेरै छ ।”

 ऐन संशोधन भएपछि पदाधिकारी सिफारिस गर्ने प्रक्रिया चाँडै अघि बढ्दा उपयुक्त हुने अधिकारीलाई लागेको छ । “आयोगमा कस्ता पदाधिकारी पठाउने भन्ने विषयमा सरकारले छलफल प्रक्रिया अघि बढाएको देखिँदैन”, उहाँले थप्नुभयो, “आयोगमा विषय विज्ञ, काम गर्ने खालको ल्याउन जरुरी छ, राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भइसकेपछि काम तीव्र गतिमा अघि बढ्नुपर्ने हो तर त्यो हुन सकेको छैन ।”

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच गत साउन १७ गते समझदारी भएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा सहमति भएको थियो । सोहीअनुसार ऐन संशोधन भएर आएको छ ।

नेपाल सरकारले २०८० चैत ३० गते सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको थियोे ।

उक्त समितिका सदस्यमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहनुभएको छ । तर अहिले संशोधित ऐनमा दुई महिनाभित्र सिफारिस समितिले आयोगमा पदाधिकारी सिफारिस गरिसक्ने व्यवस्था गरेको छ । सिफारिस समिति बनेको पाँच महिना भइसकेको छ । 

कानुन न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसिया सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री बनेको र पीडितले न्याय पाउने दिने खालको भएको तर्क गर्नुहुन्छ ।

“पीडितमैत्री कानुन बनेको छ, मानवअधिकार उल्लङ्घनका घटनामा पीडितको सहमति भएमात्रै परिपूरणमा जानसक्ने व्यक्ति गरिएको छ”, मन्त्री चौरसियाले भन्नुभयो, “पीडितको सहमतिमा काम अघि बढ्नेछ, कानुनले पीडितलाई पूर्ण रुपमा न्याय गर्नेछ ।” उहाँले चाँडै नै प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको र न्यायको पर्खाइमा बसेका द्वन्द्वपीडितले चाँडै नै न्याय विश्वास व्यक्त गर्नुभयो ।   
विस्तृत शान्तिसम्झौता भएको १७ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसक्दा न्यायको आशामा बसेका पीडित निराश भएका छन् ।

विसं २०६३ मङ्सिर ५ गते भएको शान्ति सम्झौतामा राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोग, सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत सङ्क्रमणकालीन न्यायका विषयलाई सम्बोधन प्रतिबद्धता व्यक्त गरिएको थियो ।    सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहजीकरण गर्न बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनगरी काम गरिरहेको छ । आयोगका पदाधिकारी भने सिफारिस गर्न बाँकी छ ।

बाँकेको नरैनापुरमा एक बालिकामा जापनिज इन्सेफ्लाइटिस पुष्टि : अवस्था सामान्य

नेपालगञ्ज (बाँके), २५ भदौः बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिनुभयो ।

उहाँले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताउनुभयो । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयोे”, उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताउनुभयो । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ । उहाँले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताउनुभयो ।

यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सुनकोशीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग

खोटाङ, २५ भदौः खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न स्थानीय जनप्रतिधिले माग गरेका हुन् । यसका लागि मन्त्रालय सकारात्मक रहेको जनाइएको छ ।

लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बङ्लिाघाटमा बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् । अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच हालै छलफल भएको छ ।

जनप्रतिनिधिबीच भएको भेलाले बेलिब्रिज जडानका लागि तत्काल आवश्यक समान बङ्सिलाघाट ल्याउन मन्त्रालयसँग अनुमति माग गर्ने निर्णय गरिएको छ । यसअघि खोटाङबाट पूर्वीसहर जोड्ने सुनकोशी नदीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिजका सामान बङ्सिलाघाटमा राख्ने तयारी सुरु गरिएको जनाइएको छ ।

दुई जिल्लाका जनप्रतिनिधिबीचको छलफलमा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख करुणा राई, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भुवल राई तथा तीनै पालिकाका वडाध्यक्ष, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीय सहभागी भएका थिए । बङ्सिलाघाटमा २०७५ सालमा रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको दुई सय ३५ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा छ । वारिपारि दुवैतर्फ कच्ची सडक निर्माण गरेर सञ्चालन गरिएको बङ्सिलाघाटमा भ्याटसहित रु १९ करोड १८ लाख ४१ हजार चार सय लागतमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल अलपत्र अवस्थामा छ ।

बङ्सिलाघाटमा निर्माण गरिने पक्की पुलका लागि निर्माण कम्पनीले २०७९ साल मङ्सिर १ गते सडक विभागसँग निर्माणको सम्झौता गरेको थियो । यद्यपि, ३३ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको मोटरेबल पक्की पुलको काम अहिलेसम्म करिब २५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री डा नारायण खड्काले २०७९ साल पुस १ गते शिलान्यास गर्नुभएको पुल निर्माणको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बङ्सिलाघाटमा निर्माणाधीन मोटरेबल पुलमा ठेकेदारको ढिलासुस्तीले समस्या भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । मोटरेबल पक्की पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेपछि मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको थियो ।

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गोरखा, २५ भदौः भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो ।

“सुत्केरी भएका तथा गर्भवती भएर १८ महिना पूरा नभएका वडाभित्रका सबैलाई विभिन्न १२ प्रकारका तरकारीका बीउ वितरण गरेका छौँ, हिँउदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले घरमै आफैँले उत्पादन गरेको पोषणयुक्त तरकारी प्रयोग गर्न सकियोस् भनेर पनि बीउ वितरण गरिएको हो”, उहाँले भन्नुभयो ।

स्वास्थ्यचौकीले उनीहरूलाई हरियो सागसब्जी पालुङ्गोलगायत अन्य सागको बीउ, मुला, काउली, बन्दा, गाँजर, धनियाँ, डल्ले खुर्सानीलगायत तरकारीका बीउ उपलब्ध गराएको उहाँले बताउनुभयो । धावामा ६४ गर्भवती तथा सुत्केरीलाई षोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो । तीमध्ये ११ गर्भवती र ५३ सुत्केरी आमा छन् ।

“हरियो सागपात र गाँजरले सुत्केरी, शिशु तथा गर्भवतीलाई भिटामिन ‘ए’को कमी हुन दिँदैन, त्यसबाहेक वितरण गरिएका अन्य तरकारीका बीउ पनि उत्तिकै लाभदायक छन्, स्वास्थ्यचौकी प्रमुख लामिछानेले भन्नुभयो, “आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकामार्फत नै कार्यक्रम बनाएर तरकारीको बीउ वितरण गरिएको हो ।”

विषादी प्रयोग गरिएका तरकारीको खाँदा आमा र शिशु दुवैलाई बढी असर गर्ने भएकाले गाउँमा आफैँले उत्पादन गर्नसके विषादीको जोखिम नहुने उहाँको भनाइ छ । “हरियो तरकारी सागसब्जी र पहेँला फलफूलका साथै मौसमअनुसारको तरकारी उपभोग गर्दा आमा र बच्चालाई कुपोषण हुनबाट जोगाउन सकिने भएकाले पनि मौसमअनुसारको तरकारीको बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

तरकारीको बीउ लगाएको वा नलगाएको स्वास्थ्यचौकीले आवश्यक अनुगमन गर्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । “वितरण गरिएका तरकारीको राम्रोसँग खेती गरेर उत्पादन गरे कुनै पनि गर्भवती तथा सुत्केरीलाई हिउँदमा तरकारीको अभाव हुँदैन”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनबाट अस्ट्रेलियाका पर्यटकीय स्थलहरू खतरामा

अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक प्रतिवेदनमा जनाइएको छ । जुरिच फाइनान्सियल सर्भिसेज अस्ट्रेलिया र अर्थशास्त्र परामर्श फर्म मन्डला पार्टनर्सद्वारा प्रकाशित अस्ट्रेलियाको पर्यटन उद्योगका लागि पहिलो जलवायु जोखिम सूचकाङ्कमा राष्ट्रिय निकुञ्ज, सङ्ग्रहालय, विमानस्थल र समुद्र तटहरूसहित अस्ट्रेलियाको आधा पर्यटन सम्पत्तिहरू हाल आगलागी जस्ता जलवायु जोखिमहरूबाट संवेदनशील रहेको उल्लेख छ ।

जलवायु परिवर्तन जारी रहेकाले जोखिममा रहेका पर्यटकीय स्थलहरूको अनुपात ५५ देखि ६८ प्रतिशतसम्म पुग्ने प्रतिवेदनले जनाएको छ ।

   चरम विश्वव्यापी तापक्रम परिदृश्यअन्तर्गत औसत तापक्रम पूर्व–औद्योगिकस्तर भन्दा तीन डिग्री सेल्सियसले बढ्दा अस्ट्रेलियाका ८० प्रतिशत पर्यटक स्थलले जोखिममा वृद्धि अनुभव गर्ने सूचकाङ्कले अनुमान गरेको छ ।

   अस्ट्रेलियाका सबै ३१ व्यस्त विमानस्थलहरू तूफान र आँधीको सम्पर्कका कारण दुई उच्च जलवायु जोखिममा आउने र यसमा ९४ प्रतिशत सबैभन्दा चरम जोखिम श्रेणीमा पर्ने प्रतिवेदनले जनाएको छ        उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा ७९ प्रतिशत पर्यटन स्थलले उच्च जलवायु जोखिमको सामना गरिरहेको र ५२ प्रतिशत उच्च जोखिमको श्रेणीमा छन् ।

महत्त्वपूर्ण बहसको अन्तिम तयारीमा ट्रम्प र ह्यारिस

कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमाबार आफ्नो अन्तिम तयारी गर्नुभएको छ । निर्वाचनको दिन आउन दुई महिनाभन्दा कम समयमा डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्वराष्ट्रपतिबीचको कडा प्रतिस्पर्धामा आमनेसामने हुनु निर्णायक मोड हुनसक्छ ।

ह्यारिस स्थानीय समयानुसार सोमबार साँझ ४ः४० बजे बहस हुने पूर्वी सहर फिलाडेल्फिया पुग्नुहुनेछ । ट्रम्प एबिसी न्युजमा मङ्गलबार साँझको टक्करको केही घन्टा अघिसम्म आउनुहुनेछैन । दुवै उम्मेदवारबीच पहिले कहिल्यै भेट भएको थिएन । बहस पूर्वअभियोजक र एक दोषी अपराधीबीचको शैलीविपरीत हुनेछ । 

“उहाँ कति तल जानुहुन्छ र हामी यसका लागि तयार रहनुपर्छ भन्ने सन्दर्भमा कुनै गुन्जाइस छैन”, सोमबार प्रसारित एक अन्तरवार्तामा ट्रम्पको आक्रमणलाई कसरी सम्हाल्ने भन्ने प्रश्नमा रेडियो होस्ट रिकी स्माइलीलाई ह्यारिसले भन्नुभयो, “उहाँ धेरै झुटो बोल्न हुनेछ भन्ने तथ्यका लागि तयार रहनुपर्छ ।” तर केही तरिकामा ह्यारिससँग साबित गर्नका लागि धेरै कुरा छन् । घोटालाहरूका बाबजुद प्रतिद्वन्द्वी ट्रम्पले पराजय भएको अवस्थामा नोभेम्बरको निर्वाचनलाई स्वीकार नगर्ने सङ्केत गर्नुभएको छ । 

टिकटको शीर्षमा वृद्ध जो बाइडेनको स्थान लिनुभएकी ५९ वर्षीया ह्यारिसलाई हनिमुन (मधुमास) खल्लो लागेको देखिन्छ । उहाँको नीतिबारे धेरै थाहा नभएका मतदाताहरूसम्म पुग्नुपर्ने आवश्यकता रहेको सर्वेक्षणहरूले देखाएको छ ।    आफ्नो अभियानले एउटा नीति पृष्ठ निकालेपछि उहाँले आइतबार राति बढ्दो दबाबलाई सम्बोधन गर्नुभयो । नीतिमा युनियन र जीवन यापनको लागतदेखि लिएर स्वास्थ्य हेरचाहजस्ता विषयलाई समावेश गरिएको थियो । 

अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने प्रतिस्पर्धामा मिश्रित नस्लको उम्मेदवारविरुद्ध उत्रिनुभएका अठहत्तर वर्षीय ट्रम्पलाई आफ्नो अपमान र आक्रामकतामाथि लगाम लगाउनुपर्ने दबाब हुनेछ ।     तर उहाँसँग आफ्ना पक्षका छ पूर्वराष्ट्रपतीय बहसको अनुभव छ र जुनमा भएको बहसमा बाइडेनविरुद्ध उहाँको संयमित दृष्टिकोण अत्यन्त प्रभावकारी साबित भयो । ट्रम्पसँगको बहसपछि एक महिनाभन्दा पनि कम समयमा बाइडेन ह्वाइट हाउसको दौडबाट बाहिरिन बाध्य हुनुभयो । 

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दाः चार जना दोषी ठहर, दश जनालाई सफाइ

काठमाडौँ- विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो ।

अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित १० जनालाई सफाइ दिएको छ ।

कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

म्याग्दी, २५ भदौः चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाई पर्खाल निर्माणका साथै जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।

“पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ”, उहाँले भन्नुभयो, “गत साउनको पहिलो हप्तादेखि थालिएको रक एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” अँधेरीखोलाको पाखो बगेर सडकमा ढुङ्गा, गेगर खस्दा सवारीसाधन पुरिने, यात्रीको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या थियो । गत वर्ष एकजनाको ज्यान गएको र एउटा सवारीसाधन पहिरोले पुरिएको थियो ।

गत असारमा गुडिरहेको इकोभ्यानमाथि पहिरो खसेर पुरिएको थियो । खोल्साको पानीले पहिरो बगाएर भेटिएको पहाडमाथि पर्खाल बनाएर खस्ने पहिरो रोक्ने संरचना बनाइएको सबइन्जिनियर कार्कीले बताउनुभयो ।

पहाडको डिलमा ८५ देखि एक दशमलव दुई मिटर गहिरो प्वाल बनाएर रड राखी दुई ठाउँमा ७७ दशमलव पाँच मिटर लामो एकदेखि एक दशमलव पाँच मिटर अग्लो कङ्क्रिट ढलान गरेको पर्खाल निर्माण गरिएको छ । पर्खालभन्दा माथिको पाखोमा बग्ने किसिमका ठूला ढुङ्गा पन्छाएर माटो, जाली बिछ्याएर खिर्रो, सजिवन, बाबियो र खरका बिरुवा रोपिएको निर्माण कम्पनी युवराज कन्ट्रक्सनकी सञ्चालक गौमती बुढामगरले बताउनुभयो ।

“ भिरमा ड्रिल गरेर प्याल पारी रड राख्ने र ढलान गरिएको हो”, उहाँले भन्नुभयो, “पिठ्युमा निर्माण सामग्री ओसारेर पहिरोको जोखिमयुक्त भिरमा दैनिक ३० जना मजदुरले करिब दुई महिना लगाएर एङ्करिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।” भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि केही समय रोकिएको पहिरो यसपालिको बर्खाको सुरु भएसँगै पुनः खस्न थालेको थियो । पहिरोको जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाको लाटोखोला, बादरजुङ र काभ्रेभिर क्षेत्रमा पनि रक एङ्करिङ र नेलिङ प्रविधिको प्रयोग गरेर सडक विस्तार गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले बताउनुभयो । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिको क्रममा छ ।

मधेस प्रदेश : धेरै विद्युत् चुहावट मौलापुर वितरण केन्द्रबाट, कम सिमरा

वीरगञ्ज (पर्सा), २५ भदौः मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् चुहावट भएको देखिन्छ ।

प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेसका अधिकांश वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ । “मधेसका गाउँ–गाउँमा विद्युत् चोरी धेरै भएकाले पनि चुहावटको मात्रा पनि धेरै देखिएको हो”, उहाँले भन्नुभयो, “मधेश प्रदेशका २३ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै चुहावट मौलापुरमा देखिएको छ”, उहाँले भन्नुभयो, “यहाँ विशेष गरेर हुकिङ गरेर, मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति देखिँदै आइरहेको छ । हामीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरेर आवश्यक जरिवाना गर्दै पनि आइरहेका छौँ ।”

मधेस प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा पर्छ– बाराको सिम्रनगढ वितरण केन्द्र । सो केन्द्रमा पनि ४३ दशमलव २३ प्र्रतिशत विद्युत् चुहावट भएको छ । यस्तै तेस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा मलङ्गा वितरण केन्द्र दर्ज भएको छ । सो केन्द्रबाट पनि गत आवभरिमा ४२ दशमलव ९१ प्रतिशतले विद्युत् चुहावट भएको छ ।

प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट विद्युत् चुहावट एक दशमलव ४० प्रतिशतमात्र रहेको छ । दोस्रो सबैभन्दा कम चुहावट हुने वितरण केन्द्रमा मिर्चैया वितरण केन्द्र रहेको छ । सो केन्द्रको विद्युत् चुहावट तीन दशमलव ०१ प्रतिशत छ । त्यस्तै तेस्रो कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा वीरगञ्ज वितरण केन्द्र पर्छ । सो केन्द्रको चुहावटको हिस्सा पाँच दशमलव ८८ प्रतिशत छ ।

मधेस प्रदेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरका अनुसार गत आवमा प्रदेशमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरेको थियो । प्राधिकरणले गत आवमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै दुई हजार छ सय ५६ जनालाई पक्राउ गरेर आवश्यक कारबाही गरेको थियो । त्यस्तै गत आवमा नै विद्युत् चुहावटमा संलग्न रहेकाबाट रु छ करोड २० लाख तीन हजार नौ सय ५८ रकम जरिवाना सङ्कलन गरेको थियो ।

कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

कर्णाली- कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिले रु एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौटसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा समितिले १६ महिनामा गरेका काम कारबाहीको प्रगति सार्वजनिक गरेको हो । समितिका सभापति जीतबहादुर मल्लले प्रदेश सरकारको रु चार अर्ब ३४ करोड १५ लाख कूल बेरुजुमध्ये समितिले रु एक करोड ३८ लाख फर्छ्यौट एवं सम्परीक्षण गर्न सफल भएको बताउनुभयो ।

“महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/७९ सम्मको पाँच वर्षमा कर्णाली प्रदेश सरकारको सो रकम बेरुजु देखाएको थियो”, उहाँले भन्नुभयो, “उक्त प्रतिवेदनमाथि अध्ययन गर्न समितिले मन्त्रालयदेखि अन्य निकायसँग १७ र दफावार छलफल लागि २४ गरी ४१ पटक बैठक तथा छलफल ग¥यो । प्रदेशसभा सदस्य सन्तोषी शाहीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेर बेरुजुमाथिको अध्ययनलाई थप प्रभावकारी बनाएका थियौँ, त्यसैको सफलता हो यो ।”

सभापति मल्लले सरोकार भएका सबै व्यक्ति तथा निकाय जवाफदेही भएमा बेरुजु शून्य भएको प्रदेश बनाउन सकिने जिकिर गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले पछिल्लो समय सार्वजनिक लेखा समितिले प्रदेश सरकार र मातहतका निकायलाई गरेको उच्च खबरदारी प्रशंसनीय रहेको बताउनुभयो । उहाँले समितिको क्रियाशीलता, निन्तन्तर अध्ययन, अनुगमनले सम्बन्धित निकायलाई जवाफदेही र उत्तरदायी बन्न प्रेरित गराएको धारणा राख्नुभयो ।

प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले नीति र विधिमा टेकेर सुशासन प्रवर्द्धन गर्न समितिले सरकारलाई सहयोग पुर्‍याएको बताउनुभयो । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक कृष्णबहादुर जिसीले बजेट निर्माण र कानुनी जटिलताका कारण बेरुजु देखिने गरेकाले सरकारले त्यसमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक विवरणअनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बेरुजु सबैभन्दा बढी रहेको छ । उक्त मन्त्रालयको रु एक अर्ब ७६ करोड ९५ लाख ७५ हजार बेरुजु छ । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सबैभन्दा कम बेरुजु अर्थात रु पाँच लाख ३२ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । अझै प्रदेश सरकारको बेरुजु रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार रहेको जनाइएको छ । 

दायित्व बोध हुनेगरी कार्यसम्पादन गर्न मन्त्री खड्काको निर्देशन

खाँदबारी (सङ्खुवासभा-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दायित्व बोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा आयोजित जिल्लास्थित कार्यालयका प्रमुखसँगको भेटमा उहाँले सङ्खुवासभाको विकासका लागि कटिबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो ।

मन्त्री खड्काले सङ्खुवासभाका कतिपय स्थानीय तहमा कर्मचारीको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्नुभयो । “म मन्त्रीसँगै यस क्षेत्रको जनप्रतिनिधिसमेत हुँ, यस क्षेत्रको विकासका लागि तपाईंहरु कटिबद्ध भएर लाग्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो ।

उहाँले कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगर्दा यसको असर राज्यलाई पर्ने बताउनुभयो । मन्त्री खड्काले प्रत्येक १५ दिनमा सबै कार्यालयको प्रमुखलाई बोलाएर कार्यसम्पादनका क्रममा भएका समस्यालाई बुझ्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिनुभयो । राजनीतिक पूर्वाग्र्रह राखे विकासको काम न्यायोचित नहुने उहाँको भनाइ थियो ।

स्थानमा पूर्ण विद्युतीकरण भईसक्नेसमेत उल्लेख गर्नुभयो । यस्तै उहाँले अपर अरुण परियोजना र अन्य अन्य आयोजनालाई  चाँडो अगाडि बढाउने गरी सरकारले काम गर्ने बताउनुभयो ।

  मन्त्री खड्काले सबै पालिकाले अग्रीम सूचना पाउनेगरी सूचना प्रणाली जडान गर्ने, बाँझो जमिनमा सिँचाइ सुविधा पु¥याउने, खाली जग्गामा सोलार प्रणाली जडान गर्नेलगायत कामलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले विद्युत्को लाइसेन्स लिने तर काम नगर्नेको लाइसेन्स रद्द गर्ने बताउनुभयो । सङ्खुवासभाका गरिब र विपन्न नागरिकको न्यायोचित व्यवस्थापन गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका सचिव गोपालप्रसाद सिग्देल र जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले सङ्खुवासभाका ९० प्रतिशतभन्दा बढी स्थानमा विद्युतीकरण भएको भन्दै बाँकी स्थानमा पनि चाँडो विद्युतीकरण गरिने बताउनुभएको थियो । उहाँहरुले अपर अरुण जलविद्युत् आयोजनालाई नेपालले आफ्नै लगानीमा भए पनि सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभएको थियो । 

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला-बृद्ध मेल्चा तामाङ…

म्याग्दी, २५ भदौः सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् ।

धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो । भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उहाँ केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिनुभयो । “१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे”, उहाँले भन्नुभयो, “मलाई त यही भिरपाखामै रमाइलो छ ।” 

तामाङको दिनचर्या बिहानैदेखि राति अबेरसम्म भेडा र च्याङ्ग्रा स्याहार्दै बित्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ यारा र घारा गाउँका किसानका भेडाच्याङ्ग्रा चराउँदै छ हजार मिटरसम्मको उचाइमा पुगेर फर्किंदै गर्दा उहाँले सुनाउनुभयो । 

“काम खोज्दै दौतरीहरु विदेश र सहर पसे । म मुस्ताङमै रमाएँ, नपढेकाले जहाँ गए पनि गर्ने दुःखै रहेछ, मलाई यही ठीक छ”, तामाङले भन्नुभयो, “मलाई विदेशको मरुभूमिभन्दा मुस्ताङकै भिरपाखा रमाइलो लागिरहेको छ ।”

तामाङले गोठालो गरिएदिएबापत खाना र कपडाबाहेक वार्षिक रु एक लाख ५० हजार तलब पाउनुहुन्छ । यही आम्दानीले धादिङ झर्लाङमा रहेका श्रीमती र दुई सन्तान चलाउनुपर्छ । गोठालो जाँदा बास कहाँ बस्ने टुङ्गो हुन्न । कहिलेकाँही समयमै खाना खाने मेसो पनि पर्दैन । कहिले गोठ त कहिले ढुङ्गामुनी ओत लागेर रात काट्नुपर्ने बाध्यता छ ।

यसरी बर्खामा हिमालतिर उकालो लाग्ने गोठाला उहाँ एक्लो भने होइन । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका ५८ वर्षीय नवाङ गुरुङ पनि तीन वर्षयता गोठालो गरिरहेका छन् । सात वर्ष साउदी अरबमा काम गरेपछि उनी गोठालै भई काम गरिरहेका छन् । 

“बालबच्चाको लालनपालन र घरव्यवहार चलाउन बाध्यताले भेडा, च्याङ्ग्रा गोठाला बन्नुपरेको हो”, उहाँले भन्नुभयो, “गरिबलाई दुःख नगरी जहाँ गए पनि हातमुख जोर्नकै लागि सङ्घर्ष गर्नुपर्ने रहेछ ।”

गर्मी बढेपछि हिमाली क्षेत्रको चिसो हावापानीमा पलाएको पोसिलो घाँस खुवाउन लेकमा लगिएका भेडा, च्याङ्ग्रा, गाईभैँसी र चौँरी विस्तारै तल झार्नेक्रम सुरु भइसकेको छ । जेठको अन्तिम साता लेक उल्किएका गोठालाहरु घुम्ती गोठ सार्दै जनावरहरुलाई बेंसीतर्फ लागेका छन् । 

दामोदरकुण्डमा भेटिएका मेल्चा र नवाङ जस्तै मुस्ताङका च्याङ्ग्रा गोठमा म्याग्दी, बागलुङ, धादिङ, रुकुम, रोल्पाका धेरै जना काम खोज्दै गोठाला बस्न पुग्छन् । दुःख र जोखिम धेरै हुने भएकाले किसान आफँै गोठमा बस्दैनन् । चार÷पाँच वटा घर मिलेर एउटालाई तलब दिनेगरी गोठाला राखेर भेडाच्याङ्ग्रा पाल्ने गरिएको याराका टासी गुरुङले बताउनुभयो । 

“च्याङ्ग्रापालनबाट दसैँ, तिहारजस्ता चाडपर्वमा सहर बजारमा पोसिलो र स्वादिलो मासु आपूर्ति गर्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “च्याङ्ग्रा गोठालाका रुपमा कतिपयले रोजगारी पनि पाएका छन् ।”

चरनका लागि भिरपाखा चहार्दै दौडिने भेडाच्याङ्ग्राको पछिपछि दौडिनुपर्ने गोठाला पेसा सजिलो भने छैन । बर्खामा गोठ लिएर लेकमा जाँदा तीन महिनासम्म परिवार र आफन्तसँग सम्पर्कविहीन भएर बस्नुपर्छ । भकारीले छाएको र बारेको गोठभित्र झरी र चिसो नभनी पाठापाठीसँगै रात कटाउनुपर्छ । त्यसमाथि जङ्गली जनावरको डर उस्तै । छुट्टी र बिदा हुने कुरै भएन । मोबाइल, रेडियोमा गीत सुन्दै डाँडापाखा डुल्ने गोठालाका सुरक्षाका लागि भोटे कुकुर भने साथैमा हुन्छन् । 

बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत भेडाच्याङ्ग्रापालन हो । हिउँदमा गाउँबस्ती नजिकै ल्याउने भेडाच्याङ्ग्राका लागि उपल्लो मुस्ताङका कृषक हिजोआज घाँसको जोहो गर्ने व्यस्त छन् । हिउँ परेको अवस्थामा चरनमा जान नसक्ने भएकाले च्याङ्ग्रालाई सुकाएको र साइलेज बनाएर राखेको घाँस खुवाउने गर्छन् । 

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुुस्ताङका अनुसार जिल्लाभर रहेका ६५ वटा ठूला फार्ममा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । दसैँ तिहारका लागि गत वर्ष रु २३ करोड मूल्य बराबरको करिब छ हजार च्याङ्ग्रा निकासी भएका केन्द्रको तथ्याङ्क छ । 

हिमचितुुवा, ब्वाँसो र जङ्गली कुुकुरबाट भेडा च्याङ्ग्रालाई बचाउन गाह्रो भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका पासाङ डेण्डुप गुरुङले बताउनुभयो । एक सय ५० वटा च्याङ्ग्रा पाल्नुभएका गुरुङले वार्षिक ४० वटा हाराहारीमा बिक्री गर्नुहुन्छ । उहाँले घरखर्चको मुख्य स्रोत यही भएको बताउनुभयो । जङ्गली जनावरले वर्षमा एउटै फार्ममा २० वटाभन्दा बढी भेडा च्याङ्ग्रा मार्ने गरेको सुनाउनुभयो ।    तीनदेखि चार वर्ष पुगेका च्याङ्ग्रा मासुुका लागि बजार पठाइन्छ । हिमालमा पालिएका भेडा, च्याङ्ग्राको माग दसैँको समयमा सहर बजारमा हुने गरेको छ । 

गैँडाको आक्रमणमा परी मृत्यु भएका चौधरीका परिवारलाई राहत

गुलरिया (बर्दिया), २५ भदौः बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

अमेरिकी पर्यटक शावन एमसीलाई जङ्गल लिएर गएका बेला संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका–९ निवासी ३७ वर्षीय चौधरीको मृत्यु भएको थियो । 

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको पीडितसँग प्रदेश सरकार कार्यक्रमअन्तर्गत मृतकका बाबु तिदुराम चौधरीलाई डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामकुमार चौधरीमार्फत लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले रु एक लाख राहत रकम हस्तान्तरण गर्नुभएको छ । 

मन्त्री कुर्मीले पर्या–पर्यटनका क्रममा अकस्मात वन्यजन्तुबाट भएको दुर्घटना दुःखद् भएको बताउँदै परिवारमा धैर्यधारणको कामना गर्नुभयो । यस क्षेत्रमा मानव वन्यजन्तुबीच द्वन्द्व रहेकाले तीन तहकै सरकारको पहलमा काम गर्नुपर्ने बताउनुभयो । मृतकका पीडित परिवारलाई बाँकी राहत उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने पनि उहाँको प्रतिबद्धता छ । 

मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले वडामा दुःखद् घटना घटेकाले मृतका पीडित बालबालिकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुवन क्षेत्रमा वन्यजन्तुबाट बर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने गरेकाले दीर्घकालीन समस्या समाधानका लागि योजना बनाउन प्रदेश सरकारसँग अनुरोध गर्नुभएको छ । दुई ठूला निकुञ्जलाई जोड्ने मधुवनमा अवस्थित खाता जैविकमार्गलगायत पत्थरबोझी र भगरैया क्षेत्रमा द्वन्द्वको चुनौती रहेको वडाध्यक्ष थापाले स्मरण गराउनुभयो । 

जिल्ला अस्पतालमा हुम्लामा बिरामीको चाप बढ्यो

सिमकोट (हुम्ला), २५ भदौः हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ ।

मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको पनि अभाव हुन थालेको अस्पतालका डाक्टर सुनिल पुजाराले बताउनुभयो । १५ श्ययाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उहाँको भनाइ छ ।

अस्पतालमा आइतबार मात्रै एक सय ५० जना विरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायत बिरामी छन् । सोमबार साँझ ४ बजेसम्म झण्डै ९० जना बिरामीको उपचार गरिएको अस्पताल स्रोतले बताएको छ । 

केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेको भएपछि पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका बिरामी बढ्ने गरेको डा पुजाराले बताउनुभयो । 

जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ । 

वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान

काठमाडौँ, २५ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ । ‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री ठकुरीले भदौ २८ गते सम्बोधन गर्नुहुने तालिका छ ।

न्यायोचित तथा दिगो भविष्य बनाउनका लागि जलवायु परिवर्तनजस्ता सङ्क्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्कनुहुनेछ ।

डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी, २५ भदौः गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।

धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ । डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उहाँको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गुले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो ।

डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ । डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गत पुसयता पाँच हजारभन्दा बढीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमणबाट कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ । तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गु सङ्क्रमणबाट बढी प्रभावित छन् ।

पछिल्लो तीन महिनामा डेङ्गु सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गुले महामारीको रुप लिन सक्ने प्रमुख नेपालीले बताउनुभयो ।
“डेङ्गुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “डेङ्गु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।”

डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उहाँको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उहाँले बताउनुभयो ।

सङ्क्रमण बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालय, मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत निकायले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गु फैलाउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गु रोकथाममा जुटेका हुन् ।

जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५४ र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा कायम भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६९ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल एयरलाइन्समा सुधारका लागि नीतिगत हस्तक्षेप गर्छु: मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाहरूबीचको परिचयात्मक कार्यक्रममा उहाँले निगमको नीतिगत सुधारका लागि अब हस्तक्षपकारी योजना अगाडि बढाउने बताउनुभयो । “नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ । म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन, अब नीतिगत हस्तक्षेपको बाटोमा अगाडि बढ्छु । यथास्थितिलाई भत्काएर सुधारको दिशामा लैजान्छौँ, सुधारिएको नेपाल एयरलाइन्स बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले निगम सुदृढ भएमा हवाई उडानमा निजी क्षेत्रको मनोमानी घट्ने विश्वास व्यक्त गर्नुभयो । निगमले न्यूनतम शुल्कमा सेवा दिने वातावरण बन्नेबित्तिकै हवाई यात्रा सुलभ र सहज हुने उहाँको भनाइ थियो । मन्त्री पाण्डेले ठूलो खर्च गरेर बनाइएका विमानस्थल सञ्चालन गरेर जनतालाई सर्वसुलभ सेवा दिइनुपर्नेमा जोड दिनुभयो । “आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाइ विमान सेवा बढाएर दुर्गममा बढीभन्दा बढी सेवा दिन जरूरी छ । बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालन गर्नेतर्फ पनि ध्यानदिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले ठूलो लगानीमा बनेका पर्यटकीय पूर्वाधारको उपयोगका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सहकार्यलाई फराकिलो बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव शोनाम ग्यालजेन शेर्पा र प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्र भट्ट, वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीलगायतले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री नीति बनाउन आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले बोर्डलाई नयाँ ढङ्गले अगाडि बढाएर प्रवर्द्धनात्मक कामलाई तीब्रता दिइने बताउनुभयो । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बोर्डले सक्षम र जुझारु नेतृत्व पाएकाले आगामी कार्यक्रम परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

धरान (सुनसरी) २४ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चतराक्षेत्रमा कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज उदयपुरको बेलका नगरपालिकास्थित श्री वरपिपल माध्यमिक विद्यालय कमलाबारीको शैक्षिक भवनको उद्घाटन गर्दै उहाँले कोशी नदी किनारमा पर्यटनको सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले त्यस क्षेत्रमा उद्योग व्यवसायको उत्तिकै सम्भावना रहेकाले समग्र विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हुन त म अहिले प्रधानमन्त्री छैन, तर पनि विपक्षी दलको नेता भएकाले आफूले गर्ने सहयोगको ठाउँहरु अहिले पनि भएकाले सुनसरीको बराहक्षेत्र चतरा कोशी आसपासमा पर्यटन प्रवर्द्धनको विकासमा सक्दो सहयोग गर्नेछु”, उहाँले भन्नुभयो ।

प्रधानसेनापति सिग्देलद्वारा पदबहाली

काठमाडौँ, २४ भदौः प्रधान सेनापति अशोकराज सिग्लेलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गर्नुभएको छ । यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गर्नुभयो ।

विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मनुभएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गर्नुभएको थियो । गत साउन २५ गतेबाट उहाँले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति

काठमाडौँ । सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।


त्यस्तै बैठकले कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको उनले बताए । बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरु गर्नेलगायत विषयमा छलफल भएको थियो ।


प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवान्छित रुपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।


बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यका साथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको उनले बताए ।


यसैगरी सत्तारुढ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भए पनि सरकार र संसद्का काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको मुख्य सचेतक बर्ताैलाले जानकारी दिए ।


बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी थिए ।