`

गैँडाको आक्रमणमा परी मृत्यु भएका चौधरीका परिवारलाई राहत

गुलरिया (बर्दिया), २५ भदौः बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

अमेरिकी पर्यटक शावन एमसीलाई जङ्गल लिएर गएका बेला संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका–९ निवासी ३७ वर्षीय चौधरीको मृत्यु भएको थियो । 

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको पीडितसँग प्रदेश सरकार कार्यक्रमअन्तर्गत मृतकका बाबु तिदुराम चौधरीलाई डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामकुमार चौधरीमार्फत लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले रु एक लाख राहत रकम हस्तान्तरण गर्नुभएको छ । 

मन्त्री कुर्मीले पर्या–पर्यटनका क्रममा अकस्मात वन्यजन्तुबाट भएको दुर्घटना दुःखद् भएको बताउँदै परिवारमा धैर्यधारणको कामना गर्नुभयो । यस क्षेत्रमा मानव वन्यजन्तुबीच द्वन्द्व रहेकाले तीन तहकै सरकारको पहलमा काम गर्नुपर्ने बताउनुभयो । मृतकका पीडित परिवारलाई बाँकी राहत उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने पनि उहाँको प्रतिबद्धता छ । 

मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले वडामा दुःखद् घटना घटेकाले मृतका पीडित बालबालिकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुवन क्षेत्रमा वन्यजन्तुबाट बर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने गरेकाले दीर्घकालीन समस्या समाधानका लागि योजना बनाउन प्रदेश सरकारसँग अनुरोध गर्नुभएको छ । दुई ठूला निकुञ्जलाई जोड्ने मधुवनमा अवस्थित खाता जैविकमार्गलगायत पत्थरबोझी र भगरैया क्षेत्रमा द्वन्द्वको चुनौती रहेको वडाध्यक्ष थापाले स्मरण गराउनुभयो । 

जिल्ला अस्पतालमा हुम्लामा बिरामीको चाप बढ्यो

सिमकोट (हुम्ला), २५ भदौः हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ ।

मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको पनि अभाव हुन थालेको अस्पतालका डाक्टर सुनिल पुजाराले बताउनुभयो । १५ श्ययाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उहाँको भनाइ छ ।

अस्पतालमा आइतबार मात्रै एक सय ५० जना विरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायत बिरामी छन् । सोमबार साँझ ४ बजेसम्म झण्डै ९० जना बिरामीको उपचार गरिएको अस्पताल स्रोतले बताएको छ । 

केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेको भएपछि पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका बिरामी बढ्ने गरेको डा पुजाराले बताउनुभयो । 

जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ । 

वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान

काठमाडौँ, २५ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ । ‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री ठकुरीले भदौ २८ गते सम्बोधन गर्नुहुने तालिका छ ।

न्यायोचित तथा दिगो भविष्य बनाउनका लागि जलवायु परिवर्तनजस्ता सङ्क्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्कनुहुनेछ ।

डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी, २५ भदौः गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।

धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ । डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उहाँको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गुले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो ।

डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ । डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गत पुसयता पाँच हजारभन्दा बढीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमणबाट कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ । तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गु सङ्क्रमणबाट बढी प्रभावित छन् ।

पछिल्लो तीन महिनामा डेङ्गु सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गुले महामारीको रुप लिन सक्ने प्रमुख नेपालीले बताउनुभयो ।
“डेङ्गुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “डेङ्गु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।”

डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उहाँको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उहाँले बताउनुभयो ।

सङ्क्रमण बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालय, मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत निकायले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गु फैलाउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गु रोकथाममा जुटेका हुन् ।

जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५४ र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा कायम भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६९ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल एयरलाइन्समा सुधारका लागि नीतिगत हस्तक्षेप गर्छु: मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाहरूबीचको परिचयात्मक कार्यक्रममा उहाँले निगमको नीतिगत सुधारका लागि अब हस्तक्षपकारी योजना अगाडि बढाउने बताउनुभयो । “नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ । म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन, अब नीतिगत हस्तक्षेपको बाटोमा अगाडि बढ्छु । यथास्थितिलाई भत्काएर सुधारको दिशामा लैजान्छौँ, सुधारिएको नेपाल एयरलाइन्स बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले निगम सुदृढ भएमा हवाई उडानमा निजी क्षेत्रको मनोमानी घट्ने विश्वास व्यक्त गर्नुभयो । निगमले न्यूनतम शुल्कमा सेवा दिने वातावरण बन्नेबित्तिकै हवाई यात्रा सुलभ र सहज हुने उहाँको भनाइ थियो । मन्त्री पाण्डेले ठूलो खर्च गरेर बनाइएका विमानस्थल सञ्चालन गरेर जनतालाई सर्वसुलभ सेवा दिइनुपर्नेमा जोड दिनुभयो । “आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाइ विमान सेवा बढाएर दुर्गममा बढीभन्दा बढी सेवा दिन जरूरी छ । बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालन गर्नेतर्फ पनि ध्यानदिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले ठूलो लगानीमा बनेका पर्यटकीय पूर्वाधारको उपयोगका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सहकार्यलाई फराकिलो बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव शोनाम ग्यालजेन शेर्पा र प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्र भट्ट, वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीलगायतले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री नीति बनाउन आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले बोर्डलाई नयाँ ढङ्गले अगाडि बढाएर प्रवर्द्धनात्मक कामलाई तीब्रता दिइने बताउनुभयो । बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बोर्डले सक्षम र जुझारु नेतृत्व पाएकाले आगामी कार्यक्रम परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

धरान (सुनसरी) २४ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चतराक्षेत्रमा कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज उदयपुरको बेलका नगरपालिकास्थित श्री वरपिपल माध्यमिक विद्यालय कमलाबारीको शैक्षिक भवनको उद्घाटन गर्दै उहाँले कोशी नदी किनारमा पर्यटनको सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले त्यस क्षेत्रमा उद्योग व्यवसायको उत्तिकै सम्भावना रहेकाले समग्र विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हुन त म अहिले प्रधानमन्त्री छैन, तर पनि विपक्षी दलको नेता भएकाले आफूले गर्ने सहयोगको ठाउँहरु अहिले पनि भएकाले सुनसरीको बराहक्षेत्र चतरा कोशी आसपासमा पर्यटन प्रवर्द्धनको विकासमा सक्दो सहयोग गर्नेछु”, उहाँले भन्नुभयो ।

प्रधानसेनापति सिग्देलद्वारा पदबहाली

काठमाडौँ, २४ भदौः प्रधान सेनापति अशोकराज सिग्लेलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गर्नुभएको छ । यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गर्नुभयो ।

विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मनुभएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गर्नुभएको थियो । गत साउन २५ गतेबाट उहाँले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति

काठमाडौँ । सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।


त्यस्तै बैठकले कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको उनले बताए । बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरु गर्नेलगायत विषयमा छलफल भएको थियो ।


प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवान्छित रुपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।


बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यका साथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको उनले बताए ।


यसैगरी सत्तारुढ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भए पनि सरकार र संसद्का काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको मुख्य सचेतक बर्ताैलाले जानकारी दिए ।


बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी थिए ।

छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने विश्वास छः सभापति लामिछाने

सुदूरपश्चिम, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विषेश समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

धनगढीमा आज बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उहाँले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताउनुभयो । सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टिकाटिप्पणी भइरहेका भन्नुहुँदै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राख्नुभयो । “जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उहाँले भन्नुभयो,“यस विषयमा समितिले विधि र पद्दतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।”

पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी गर्नुभयो । पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उचारचडाबबाट बिचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नयाँ सरकार गठन भएसँगै नागरिकमा आशा पलायो पलाएको एमाले उपमहासचिवको दाबी

गुल्मी, २४ भदौ : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार निर्माण भएसँगै नागरिकमा आशा पलाएको दाबी गर्नुभएको छ । उहाँले एमाले र कांग्रेस दुई दल मिलेर नयाँ कोर्ष सुरु गरेको बताउनुभयो ।

सोमबार गुल्मीको छत्रकोट गाउँपालिकाअन्तर्गत हर्दिनेटामा आयोजित नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले देश असामान्य अवस्थाबाट गुर्जिरहेको र धेरै नै लथालिङ्ग हुने बाटोमा जाने भएका कारण त्यसलाई आत्मसात गरेर नयाँ यात्रा सुरु गरेको जिकिर गर्नुभयो ।

जो प्रतिपक्ष भए पनि गणतन्त्र, संविधान र लोकतन्त्रको कोही पनि प्रतिपक्ष नहुने बताउँदै पूर्वमन्त्री ज्ञवालीले भन्नुभयो, “हामी सबै पक्ष हौँ, यसलाई सफल बनाउने दायित्व हामी सबैको हो ।” देशमा निजी क्षेत्रले सरकारमाथि ठूलो भरोसा गरेको भन्दै उहाँले देश विकासको लागि सरकार एउटा नेतृत्वदायी शक्ति भए पनि सबैभन्दा धेरै लागानी गर्ने निजी क्षेत्र रहेको बताउनुभयो ।

बिपीको आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्छ – सभापति बानियाँ

पाटन (ललितपुर), २४ भदौ : बिपीको आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्नेमा जोड दिइएको छ । १११औँ नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘स्मृतिमा विपी’ विषयक विचार गोष्ठीका वक्ताहरूले आदर्श बोल्नका लागि भन्दा पनि कार्यान्वयनका लागि भएको बताएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बिपीको सोच अनुसारको चेतनालाई हरेक जनप्रतिनिधिहरूले व्यवहारमा लागू गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीलाई पर्व विशेष र दिन विशेषमा सम्झिनेभन्दा दिनप्रति दिन व्यवहारमा लागू गरौँ, पद ठूलो हैन, लक्ष्य र चिन्तन ठूलो हो ।”

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले बिपीको नेतृत्वमा गठन भएको सरकारले १८ महिना गरेको काम अहिलेसम्म कुनै सरकारको पालामा नभएको दाबी गर्नुभयो । बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले विसं २०३६ को जनमत सङ्ग्रहको समयमा बिपीले ललितपुरको चापागाउँमा सम्बोधन गर्नुभएको स्मरण गर्नुभयो ।

जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले बिपीको आदर्श र चरित्रलाई अवलम्बन गर्ने पार्टी कांग्रेसले अब ललितपुरका जनतामा जाँदा कुनै दाग नदेखिने र पार्टीको अनुशासनमा रहने निष्ठावान व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

चलचित्र विकास शुल्क तिर्न र बक्स अफिस जडान गर्न बोर्डको ताकेता

काठमाडौँ, २४ भदौ : चलचित्र विकास बोर्डले लामो समयदेखि चलचित्र विकास शुल्क नतिर्ने तथा बक्स अफिस जडान नगर्ने १९ वटा हललाई तत्काल बाँकी शुल्क तिर्न पत्राचार गरेको छ । बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार विदेशी चलचित्रमा १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने हुन्छ । हल सञ्चालकले उक्त रकम पहिले (टिकटमै) लिइसकेको हुन्छ । लामो समयदेखि उक्त रकम नतिरेकालाई तत्काल बुझाउन पत्राचार गरिएको हो । उहाँले भन्नुभयो, “समयमै नतिरे कानुन बमोजिम कारबाही हुन्छ ।”

चलचित्र विकास बोर्डले चलचित्र मन्दिर लमजुङ, पुष्पटाकिज मलङ्गवा, विराट सिनेमा विराटनगर, सिवि सिनेमा धनकुटा, सेती महाकाली टाकिज महेन्द्रनगर, बुद्ध सिनेमा सिराहा, म्याङ्गो प्लेजर परासी, नारायणी मल आचार्य प्लाजा हेटाँैडा, ब्लुमुन इन्टरटेन्मेन्ट बुटवल, आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, जगदम्बा चलचित्र मन्दिर नुवाकोट, ओमेक्स चलचित्र मन्दिर हेटौँडा, भिएफएक्स सिनेमाज् प्रालि दाङ, हिमाजजादुज पोखरा, हिमालय टाकिज विराटनगर, द्वारिका उदयसिनेमा बुटवल, बजरङ्गी पिक्चर्स प्रालि वीरगञ्ज तथा छाब्दी बाराही फिदिम नगरपालिका–१ फिदिमलाई पत्राचार गरेको हो ।

चलचित्र विकास बोर्डको पत्रमा भनिएको छ –चलचित्र घरलाई आर्थिक ऐन, २०५१ को दफा १० सँग सम्बन्धित अनुसूची–३ ले तोकेको नियमानुसारको बाँकी बक्यौता चलचित्र विकास शुल्क बुझाउन, विद्युतीय प्रणाली (इ–टिकेटिङ सिस्टम) बाट टिकट जारी गर्न र केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीको सर्भरसँग लिङ्क गर्न दिर्नेशन दिइएको छ । त्यसैगरी कानुन बमोजिम चलचित्र प्रदर्शन इजाजत पत्रको नवीकरण गरी समयमै अद्यावधिक गरी सञ्चालन गर्न अनुरोध गरिन्छ ।

“यस बोर्डबाट पटकपटक लिखित तथा मौखिक अनुरोधका साथै राष्ट्रिय दैनिक पत्रिकामा २०८० पुस १२ मा सूचना प्रकाशित गरी जानकारी गराउँदा चलचित्र घरले अटेर गरी कानुनको पालना नगरेको हुँदा पत्रको मितिले एक महिनाभित्र बक्स अफिस जडान गरी, बक्यौता चलचित्र विकास शुल्क तिरेर चलचित्र घर अद्यावधिक गराई सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारबाही गरिने व्यहोरा अनुरोध छ,” चलचित्र विकास बोर्डको पत्रमा भनिएको छ ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिद्वारा अरनिको लोकमार्गको अनुगमन

सिन्धुपाल्चोक , २४ भदौ : प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले अरनिको लोकमार्गअन्तर्गत विभिन्न भागको अनुगमन गरेको छ । काठमाडौँदेखि चीनसँगको सिमाना लिपिङसम्म पुगेर आइतबार र सोमबार संसदीय समितिका ११ सदस्यले सडकको विभिन्न खण्डको स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा विभिन्न स्थानमा सडकको अवस्था निकै नाजुक र जीर्ण पाइएको भन्दै समितिले सम्बद्ध पक्षलाई बैठकमा बोलाएर छलफल गर्ने एवं सरकारलाई लिखित निर्देशन दिने भएको छ ।

समितिका सदस्यहरूले लोकमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको ‘धुलीखेल खावा’ खण्ड, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने कोठे पहिरो क्षेत्र, खाडीचौरमा मुआब्जा विवादले रोकिएको पक्की पुल निर्माणको काम, जुरे पहिरो खण्ड, बाह्रबिसेको खागदल, भोटेकोशीको डाकलाङ, १० किलो, कोदारी र लिपिङ क्षेत्रको अनुगमन गर्नुभएको हो । समिति सदस्यहरूले नेपाल–चीन सीमा नाकासम्म पुगेर सडक, अध्यागमन, भन्सार संरचनाको अवस्था पनि अवलोकन गर्नुभएको थियोे ।

समितिका सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद माधव सापकोटाको प्रस्तावमा अनुगमनको कार्यक्रम तय भएको समितिले जनाएको छ । अनुगमन कार्यक्रमका संयोजक शङ्कर भण्डारीले संसद र समितिमा लोकमार्गका कठिनाइबारे पटकपटक विषय उठान भएपछि सापकोटाको प्रस्तावमा कार्यक्रम तय भएको बताउनुभयो ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सडक विभागका प्रमुख तथा प्रतिनिधि, प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा समितिले अनुगमन र छलफल गरेको हो ।

सुरुमा काभ्रेको धुलीखेल खावा क्षेत्रको अनुगमन र सम्बद्ध सबै पक्षसँग छलफल गरेको समितिले दिउँसो सिन्धुपाल्चोकमा पर्ने सडक खण्डको अनुगमन गरेको थियो । अनुगमन र विस्तृत छलफलपछि समितिले २०८० चैतमा सम्पन्न भइसक्नुपर्ने धुलीखेल खावाको चार किलोमिटर सडक निर्माण पक्षले गरेको चरम लापरबाहीका कारण अझै अन्योलग्रस्त अवस्थामा रहेको एवं सडक प्रयोगकर्ताले पीडा भोग्नुपरेको निष्कर्ष निकालेको छ ।

यस सम्बन्धमा समितिको बैठकमा थप छलफल गरेर सरकारलाई लिखित निर्देशन दिइने अनुगमनमा सहभागी समितिका सदस्य सांसद ठाकुर गैरेले जानकारी दिनुभयो । सडक अनुगमनपछि साँझ तातोपानी भन्सार कार्यालयमा भएको अन्तरक्रियामा समिति सदस्य सापकोटाले राष्ट्रिय महत्त्वको लोकमार्गको दुरावस्था र यसको स्तरोन्नतिको विषयमा संसद र समितिमा विषय उठान गरेको बताउनुभयो । उहाँले यस वर्ष जुरे–तातोपानी खण्ड स्तरोन्नतिका लागि रु एक अर्ब २३ करोड विनियोजन भएकाले सो बजेटको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिले सिन्धुपाल्चोकको जुरेदेखि तातोपानी नाकासम्मको सडक स्तरोन्नतिमा ढिलाइ गर्दा सिन्धुपाल्चोकका जनतालाई मात्रै नभएर सिँगो राष्ट्र र अन्तर्राष्ट्रिय छविमा असर गर्ने निष्कर्षसहित यस विषयमा छलफल गर्न सम्बद्ध अधिकारीहरू डाकेर छलफल गरी लिखित सुझाव दिने बताएको छ ।

अनुगमन संयोजक भण्डारीले तातोपानी देशको महत्त्वपूर्ण नाका भएको बताउँदै सीमासम्म पुग्ने लोकमार्गको स्तरोन्नतिका लागि समितिमा गम्भीर छलफल गरी सम्बद्ध पक्षलाई लिखित निर्देशन दिने बताउनुभयो । समिति सदस्य बिना लामाले अरनिको लोकमार्गको विभिन्न स्थानको अवस्था कष्टप्रद पाइएको बताउनुभयो ।

अनुगमनमा समिति सदस्यहरू सापकोटा, गैरे, भण्डारी, विना लामा, कल्पना चौधरी, दयालबहादुर शाही, मैना कार्की, लालबिर चौधरी, प्रतिमा गौतम र सुशीला श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । यस्तै अनुगमनमा बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, आयोजनाका निर्माण पक्ष, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

कूल एक सय १४ किलोमिटर लामो अरनिको लोकमार्गको ५७ किलोमिटर सिन्धुपाल्चोकमा र ५७ किलोमिटर काभ्रे र भक्तपुरमा पर्छ । विसं २०७१ सालको जुरे पहिरो, विसं २०७२ को महाभूकम्प र सो क्षेत्रमा पटकपटक गएको बाढीपहिराका कारण सिन्धुपाल्चोकको जुरे लिपिङ खण्डको २६ किलोमिटर सडकको अवस्था जीर्ण छ । धुलीखेल खावा खण्डको चार किलोमिटर बाटो तीन वर्षयता समस्याग्रस्त छ ।

सबै दलको सहमतिमा मात्रै संविधान संशोधन हुन्छ : ऊर्जा मन्त्री खड्का

किमाथाङ्का (सङ्खुवासभा), २४ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयानुकूल संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ । आज गृह जिल्ला सङ्खुवासभामा जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सबै दलहरूको सहमतिमा हाल देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधान संशोधन अहिलेको आवश्यकता भए पनि पाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले मात्र संविधान संशोधन सम्भव नहुने भएकाले नेकपा (माओवादी केन्द्र) लगायतका दलको सहमति जुटाएर अगाडि बढ्न सरकारले सहजीकरण गर्ने बताउनुभयो । यसैगरी मन्त्री खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रूपमा अगाडि बढाएको र निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभयो ।

मन्त्री खड्कासँगै मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली सङ्खुवासभा पुगेको छ ।

‘ बिपीले देखाएको बाटो अवलम्बन गरेर अगाडी बढ्न सकेमात्र कांग्रेसको भलो हुन्छ’

दमौली (तनहुँ), २४ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीले बिपीको बाटो भुल्न नहुने बताउनुभएको छ । आज १११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस तनहुँद्वारा प्रकाशित बुलेटिन सार्वजनिक गर्दै उहाँले बिपीले देखाएको बाटो अवलम्बन गरेर अगाडी बढ्न सकेमात्र कांग्रेसको भलो हुने बताउनुभएको हो ।

देशमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्दै समृद्ध मुलुक निर्माण गर्ने अभिभारासहित दुई ठूला दल मिलेर सरकार बनेको उहाँको भनाइ थियो । पार्टीका गतिविधिहरुको सूचना प्रवाह गर्न र पार्टीलाई वैचारिक रुपमा सशक्त एवं साङ्गठनिक रुपमा चुस्त, प्रभावकारी तुल्याउने उद्देश्यले पार्टीले बिपी जयन्तीको अवसरमा बुलेटिन प्रकाशन गरेको हो ।

केन्द्रीय सदस्य भट्टराईले उक्त बुलेटिनको विमोचन गर्नुभएको थियो । बुलेटिनमा बिपी कोइरालाले विसं २०३६ मा दमौलीमा गर्नुभएको भाषण, विसं २००७, २०१८, २०४६ र सशस्त्र द्वन्द्वकालका तनहुँ सहिदहरुको चिनारी, नेपाली काङ्ग्रेस तनहुँका केही प्रजातन्त्र सेनानी र अग्रजहरुको चिनारी, सशस्त्र द्वन्द्वकालका पीडितको विवरण र नेपाली कांग्रेस तनहुँका गतिविधि समेटिएको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा पञ्चायतकालमा कांग्रेस तनहुँको हितमा योगदान गर्ने २२ जनालाई सम्मान गरिएको थियो । कांग्रेसका पूर्व जिल्ला सभापति बैकुण्ठ न्यौपाने, रघुनाथ पौडेल, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, पूर्वमन्त्री डोवाटे विक लगायतले बिपीको योगदान बारे चर्चा गर्नुभएको थियो ।

सन् २०२२ देखि युक्रेनमा क्लस्टर बम विस्फोटमा एक हजारभन्दा धेरैको मृत्यु

रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ । संस्थाले सबै मुलुकसँग क्लस्टर हतियारमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गर्दा युक्रेनले विश्वमा सबैभन्दा बढी रेकर्ड गरिएको वार्षिक क्लस्टर हतियार हताहतको सङ्ख्या दर्ता गरेको क्लस्टर म्युनिसन कोलिसन (सिएमसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ ।

युक्रेनमा दुवै पक्षबाट क्लस्टर बमको प्रयोग गरिएको र युद्ध सुरु भएपछि हतियारबाट त्यहाँ एक हजारभन्दा बढी मानिस मारिएको वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा धेरै मृत्यु सन् २०२२ मा दर्ता भएको थियो । यद्यपि प्रतिवेदनले सन् २०२३ को आँकडा सम्भवतः नाटकीयरूपमा कम अनुमान गरिएको बताएको छ ।

मध्य हावामा विस्फोट गर्न वा व्यापक क्षेत्रमा बम छर्नुअघि क्लस्टर हतियारहरूलाई विमानबाट खसाउन सकिन्छ वा तोपखानाबाट प्रहार गर्न सकिन्छ ।

क्लस्टर हतियारले स्थायी खतरा निम्त्याउँछ किनकि धेरै क्लस्टर हतियार विस्फोट नहुन सक्छन् र प्रभावकारी रूपमा वर्षौंपछि विस्फोट हुने बारुदी सुरुङका रूपमा काम गर्दछ ।

युक्रेनमा अहिले धेरै कृषि भूमि बारुदी सुरुङको तुलनामा क्लस्टर हतियारका अवशेषहरूले दूषित भएको प्रतिवेदनमा उल्लेख छ । युद्धअघि युक्रेनले धेरै वर्षसम्म क्लस्टर हतियारबाट कुनै हताहत दर्ता गरेको थिएन । तर सन् २०२२ मा यो सङ्ख्या नौ सय १६ भएको रेकर्ड गरियो र गत वर्ष विश्वभरमा दर्ता गरिएका दुई सय १९ मृत्युमा करिब आधा युक्रेनमा भएको थियो ।

“हताहत हुनेहरूको वास्तविक सङ्ख्या उल्लेखनीय रूपमा बढेको विश्वास गरिन्छ”, सिएमसीले चेतावनी दिएको छ । रुस र युक्रेन दुवैले क्लस्टर हतियारको प्रयोग जारी राखेकाले आक्रमण वा हताहतका लागि कुन पक्ष जिम्मेबार थियो भन्नेबारे व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न वा बताउन असम्भव भएको प्रतिवेदनमा भनिएको छ ।

रुस र युक्रेन जस्ता मुलुकहरूले क्लस्टर हतियारको प्रयोग, उत्पादन वा हस्तान्तरणले उनीहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर बनाएको प्रतिवेदनमा बताइएको छ ।

क्लस्टर बमको प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने सन् २००८ को क्लस्टर युद्धक सम्झौताको पक्षमा रहेका एक सय १२ मुलुकमा कुनै पनि मुलुक छैनन् ।

“क्लस्टर हतियारमाथि प्रतिबन्ध नलगाउने मुलुकहरूको कारवाहीले नागरिकहरूलाई खतरामा पारिरहेको छ र यो घृणित हतियारलाई प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सन्धिको अखण्डता र सार्वभौमिकतालाई खतरामा पारिरहेका छन्”, सिएमसीका प्रमुख तामार ग्याबेलनिकले भन्नुभयो ।

गत वर्ष क्लस्ट हतियार आक्रमणहरू दर्ता गरिएका अन्य दुई मुलुक म्यान्मा र सिरिया पनि सम्झौतामा सहभागी भएका छैनन् ।

संविधान जारी भएको तीन वर्षमा बन्नुपर्ने कानुन नौ वर्षसम्म पनि बनेनन्’

काठमाडौँ, २४ भदौ : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले संविधान जारी भएको मौलिक हकको कार्यान्वयनका लागि तीन वर्षमा बनाइसक्नुपर्ने कानुन नौ वर्षसम्म पनि नबनेको बताउनुभएको छ ।महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको गत आर्थिक वर्षको सामाजिक परीक्षण कार्यक्रममा उहाँले बनेका कानुन पनि सही रूपमा कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा बढ्दै गएको बताउनुभयो । मौलिक हक कार्यान्वयनका लागि बनाउन बाँकी कानुन छिटो बनाएर तिनको अक्षरशः कार्यान्वयन हुनुपर्नेमा सभापति राईले जोड दिनुभयो ।

राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले दुरदराजका महिलाले अझै न्याय पाउन कठिन रहेको सुनाउनुहुँदै यसमा सरकारी र गैरसरकारी क्षेत्रको ध्यान जानुपर्ने बताउनुभयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले मञ्चले नीति, कानुन एवं महिलाका क्षेत्रमा गरेका काम उदाहरणीय रहेको बताउनुभयो । यस क्षेत्रमा भइरहेका प्रवर्द्धनात्मक एवं उपचारात्मक काम पनि उल्लेखनीय रहेको उहाँले सुनाउनुभयो । अध्यक्ष पराजुलीले नेपालले बाल अधिकार महासन्धिमा हस्ताक्षर गरिसकेपछि बाल विवाहबाट हुने जोखिमका बारेमा पैरवी गर्ने भूमिका पनि पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले मञ्चले महिला, कानुन र विकासका क्षेत्रमा गरेका कामको प्रशंसा गर्नुभयो । काठमाडौँ महानगरपालिका– ११ का अध्यक्ष हीरालाल तण्डुकारले कानुनी जटिलतामा फसेका विपन्न वर्गलाई मञ्चले निःशुल्क कानुनी सल्लाह दिँदा धेरैले न्याय पाएको धारणा राख्नुभयो ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सचिव इन्द्रविलास पौडेलले जनप्रतिनिधिलाई पनि सबै कानुनी ज्ञान नहुने र मञ्चले समितिका सदस्यलाई परामर्श दिएर कानुन निर्माणमा सहयोग गर्ने गरेको बताउनुभयो । मञ्चका अध्यक्ष गीता अर्यालले निःशुल्क कानुनी सहायतालगायत कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

मञ्चका सचिव अधिवक्ता लक्ष्मी पोखरेलले सामाजिक संस्थाले वार्षिक रूपमा सामाजिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार कार्यक्रम गरिएको जानकारी दिनुभयो । त्यस अवसरमा सामाजिक परीक्षक विष्णु खत्रीले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कांग्रेस सबैको घर हो यसलाई बिग्रन दिँदैनौँ: महामन्त्री थापा

चितवन, २४ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ ।”

महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो । निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ”, महामन्त्री थापाको भनाइ थियो ।

उहाँले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत बताउनुभयो । अब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले  सङ्गठनलाई एकताबद्ध बनाएर पार्टी आफ्ना विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा रहेका साथीहरूले पार्टीसँगको परामर्शमा मन्त्रालयबाट काम गर्ने र बाहिर रहेका साथीले खबरदारी जारी राख्नुपर्ने छ । यसले राम्रो काम गर्नका लागि सधैँ उत्प्रेरित गर्छ, पार्टीको साख बढ्छ र यसो गरेमा मात्र बिपीको सच्चा कार्यकर्ता बन्न सकिन्छ ।” मन्त्री पौडेलले पार्टी महामन्त्री थापा स्वास्थ्यमन्त्री हुँदा अगाडि सारेका योजनालाई कार्यान्वयनमा लैजान आफूले भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वपार्टी सभापतिद्वय विकास कोइराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

पार्टीका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा एक सय ७४ जना नेताहरुलाई सम्मान गरिएको थियो । उहाँहरूलाई मरणोप्रान्त, विशिष्ट र विशेष सम्मान प्रदान गरिएको हो ।

लेदोसहितको पहिराले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध,सबै सवारी सडकमै रोकिए

मलेखु (धादिङ), २४ भदौ : त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिराले अवरुद्ध भएको छ । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फि अवरुद्घ भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जिम लेदोमा फसेको छ ।

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्घ हुँदा सवारीको जाम लागेको छ । काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन् ।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।

पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी गर्ने कमला पक्राउ

काठमाडौँ, २४ भदौ : वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकी निज चुँडालले एकजनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामनाबाट पक्राउ गरिएको हो ।”

निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गर्नुभएको छ । भेटमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बेइजिङ र युरोपियन युनियनबीचको गतिरोधका बावजुद चीनसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ चीन भ्रमणका क्रममा सोमबार ‘निष्पक्ष व्यापार व्यवस्था’का लागि आह्वान गर्नुभएको छ ।

सान्चेजले सोमबार नै अपराह्न बेइजिङस्थित सुसज्जित ‘ग्रेट हल अफ द पिपुल’मा स्थानीय समकक्षी ली कियाङलाई भेटेर स्पेनले चीनसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताउनुभएको थियो । “हामी एक साथ निष्पक्ष व्यापार व्यवस्थाको रक्षा गर्न पुलहरू निर्माण गर्न चाहन्छौं,” उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

उहाँले अगाडि लेख्नुभएको छ, “यसले हाम्रो अर्थव्यवस्थालाई विकास गर्न र हाम्रा उद्योग र नागरिकलाई फाइदा पुर्‍याउँछ।”सान्चेज भ्रमणको क्रममा साङ्घाई पनि जानुहुने कार्यक्रम रहेको छ । साङ्घाईमा उहाँले स्थानीय अधिकारी र व्यवसायीलाई भेट्नुका साथै नयाँ सेर्भान्टेस इन्स्टिच्युट सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बेइजिङमा सोमबार आयोजित एक मञ्चमा सान्चेजले चीन र स्पेनबीचको ‘बलियो सम्बन्ध’को प्रशंसा गर्नुभयो ।
उहाँले सोमबार नै सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियोमा भन्नुभएको छ, “हामी हाम्रो अडान र पूर्णरुपमा मेल नखाने विषयमा पनि संवाद र सहकार्यमा संलग्न हुन रचनात्मक तत्परता देखाउने छौँ ।”

उहाँले भन्नुभयो, “हामी सकारात्मक एजेन्डा विकास गर्न र सबै पक्षलाई फाइदा हुने गरी सहमतिको समाधान खोज्न प्रतिबद्ध छौं ।”सान्चेजले बेइजिङ्मा ‘स्पेन–चाइना बिजिनेस एडभाइजरी काउन्सिल’ का पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । काउन्सिल दुई देशबीचको ‘व्यापार र लगानी सम्बन्धलाई प्रगाढ बनाउने’ प्रयासको एक हिस्सा हो ।

भेटमा उहाँले भन्नुभयोे, “हाम्रो उद्देश्य दुबै राष्ट्रलाई फाइदा पुर्‍याउने सम्मान र पारस्परिकतामा आधारित सन्तुलित सम्बन्धलाई बढावा दिनु हो ।”

राष्ट्रपति सी चिनफिङ र शीर्ष सांसदहरूसँग अपराह्न भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले उपलब्ध गराएको कार्यतालिकामा उल्लेख छ ।सन् २०२३ को मार्चमा चीनको हाइनान प्रान्तको डाभोसमा आयोजित बोआओ फोरममा भाग लिएका साञ्चेजले आफ्नो अन्तिम चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग भेट गर्नुभएको थियो ।

भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया स्पेनमा निर्वासनका लागि भागेको केही समयपछि प्रधानमन्त्री साञ्चेज बेइजिङ आइपग्नुभएको हो । शनिबार समाजवादी पार्टीको बैठकमा सान्चेजले उरुटियालाई ‘एक नायक’को रूपमा वर्णन गर्दै उहाँलाई शरण दिने घोषणा गर्नुभएको थियो ।

भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकार र बेइजिङबीच घनिष्ठ सम्बन्ध छ ।

सान्चेजको यो भ्रमण यूरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापार तनावको पृष्ठभूमिमा हुन लागेको हो ।युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा अतिरिक्त ३६ प्रतिशतसम्म पाँच वर्षे आयात शुल्क लगाउने घोषणा गरेको थियो भने गत महिना बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको थियो ।

गत जुनमा बेइजिङले घरेलु उत्पादकहरूको तर्फबाट स्थानीय व्यापार समूहले पेश गरेको आवेदनको जवाफमा समूहबाट सुँगुरको मासु आयातमा एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको थियो।स्पेन चीनमा सुँगुरको मासुको आपूर्तिका लागि सबैभन्दा ठूलो निर्यातक हो । गत वर्ष चीनलाई पाँच लाख ६० हजार टनभन्दा बढी मासु बिक्री गरेको थियो।

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु

उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे भने, “आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।”

“पीएमएस (ईन्धन) लोड गरिएको पेट्रोल ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’ सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन् ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्याङ्कर विस्फोट हँुदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय हताहत हुने गरेको छ । इन्धन ट्याङ्करको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ ।

सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।

पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध,यात्रुहरु बीचबाटोमै रोकिए

काठमाडौँ, २४ भदौ : काठमाडौँ–मुग्लिङ सडक खण्डमा आज दिउँसो पहिरो आउँदा सडक अवरुद्ध भएको छ । काठमाडौँ–मुग्लिङ सडक खण्ड अन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ ।” सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएका प्रहरीले जनाएको छ ।

श्रीलङ्काको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

श्रीलङ्काले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा श्रीलङ्काले दुई अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६ दशमलव एक प्रतिशतले बढी हो ।

   सोही अवधिमा पर्यटक आगमनमा पनि ५० दशमलव सात प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो आठ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।

   सन् २०२४ अगस्टमा पर्यटक आगमन एक लाख ६४ हजार छ सय नौ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो ।

   पर्यटन श्रीलङ्काको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो ।    श्रीलङ्का पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलङ्काली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताउनुभयो ।

एमालेको सचिवालय बैठक भदौ २८ मा बस्ने

काठमाडौँ, २४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ ।

यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो ।

प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा बिपीको योगदानको चर्चा

काठमाडौँ, २४ भदौ : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा देशमा प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा उहाँको योगदानको स्मरण गरियो ।

बिपी कांग्रेस, केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोबाट नेपालको समुन्नति र समृद्धिका लागि उहाँले कोर्नुभएको बाटो अहिले पनि त्यतिकै सान्दर्भिक रहेको धारणा राखे ।

पार्टी अध्यक्ष सुशीलमान शेरचन, पूर्वमन्त्री केशवबहादुर विष्ट, प्रा डा सुरेन्द्र केसी, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वसांसद अर्जुन बराललगायतले संविधान संशोधनमार्फत राष्ट्रियता र जनचासोका मुद्दा सम्बोधन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

देशलाई समृद्धितर्फ लैजान कृषिमा जोड दिनुपर्ने भन्नुहुँदै उहाँहरूले राष्ट्रिय उत्पादन र उत्पादकत्व बढाउन तथा स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगधन्दा स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

असफल भएको विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिने योजना पुनः कार्यान्वयनमा

काठमाडौँ, २४ भदौ : वस्तु तथा सेवाको खरिदमा विद्युतीय माध्यामबाट बिल भुक्तानी गर्दा तोकिएको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम खरिदकर्ताको बैंक खातामा फिर्ता हुने व्यवस्था पुनः कार्यान्वयनमा आएको छ ।

आन्तरिक राजश्व विभागले पहिलो चरणमा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुराँ), होटल, मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवाहरूमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । विभागले गत शुक्रबार यी क्षेत्रका सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय गरेको हो ।

विभागका महानिर्देशक रामप्रसाद आचार्यका अनुसार होटल, रेस्टुराँ, गेस्टहाउसजस्ता क्षेत्रमा वास्तविक कारोबारको तुलनामा निकै कम बिलबिजक जारी हुने गरेको र ती क्षेत्रहरूका कारोबार पूर्णरूपमा करको दायरामा आउन नसक्दा सरकारी राजस्वमा गुमिरहेकाले यस्तो व्यवस्था ल्याइएको हो । “हाम्रो अनुभवबाट पनि यस क्षेत्रमा कारोबारको तुलनामा निकै कममात्र भ्याट असुली भएको हो कि जस्तो देखिन्छ । उपभोक्ता पनि बिल बिजक लिनुपर्छ भन्नेमा सजक छैनन्”, उहाँले रासससँग भन्नुभयो, “अहिले विभागले निश्चित क्षेत्र तोकेर विद्युतीय कारोबारमा भ्याट फिर्ता गर्ने भनेको छ । तर बिस्तारै अरु क्षेत्रमा पनि कार्यान्वयन गर्दै जाने योजना छ ।” मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले विभागलाई सूचना प्रकाशित गरेर कुन वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य भुक्तानी विद्युतीय माध्यामबाट भएको अवस्थामा भ्याट फिर्ता दिने भनेर तोक्ने अधिकार दिएको महानिर्देशक आचार्यले स्पष्ट पार्नुभयो ।

राजस्व प्रणाली सुधारका लागि कार्यान्वयनमा ल्याइएको यो व्यवस्था सरकारको एक सय दिनको कार्ययोजनामा रहेको छ । मुख्यगरी वस्तु तथा सेवाको खरिदमा अनिवार्य रुपमा बिल काट्ने प्रद्धति बसाल्न यो व्यवस्था ल्याइएको महानिर्देशक आचार्यले बताउनुभयो । “बिल बिजक लिने दिने प्रणालीलाई कसरी प्रभावकारी तुल्याउने र सबैतिर लागु गर्दै जाने भन्ने हो । उपभोक्तालाई बिल लिनका लागि बानी पार्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

विद्युतीय भुक्तानीमा भ्याट फिर्ताको प्रावधान नयाँ भने होइन । सरकारले पाँच वर्ष अघिदेखि नै कार्यान्वयन गर्न खोजेको भए पनि यो व्यवस्थाको प्रभावकारिता लगभग शून्य र असफल जस्तै छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटमा सरकारले भ्याट सङ्कलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिदको मूल्य कार्ड वा विद्युतीय माध्यामबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित भ्याटको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था गरेको थियो । त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्थासमेत ल्याएको थियो । बजेटको सो व्यवस्था कार्यान्वयनका लागि विभागले ‘विद्युतीय माध्यामबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिनेसम्बन्धी कार्य प्रक्रिया, २०७६’ समेत जारी गरेको थियो । तर बजेटमा परेको पाँच वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटमा फेरी यो व्यवस्था राखेको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा ‘उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यामबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी साउनदेखि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने’ उल्लेख छ । त्यस्तै, मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने र वार्षिक रु २५ करोडभन्दा बढीको कारोबार गर्ने सबै करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा यो विषय परेपछि भाटभटेनी सुपरमार्केट, वल्र्डलिङ्क कम्युनिकेसनलगायत कम्पनीहरूले भ्याट फिर्ता प्रणाली लागू पनि गरेको विभागका महानिर्देशक आचार्य बताउनुहुन्छ । तर सरकारले नै यो व्यवस्था कार्यान्वयनका लागि निरन्तरता दिन सकेन । अहिले पुनः कार्यान्वयनमा ल्याउन खोज्नुको उद्देश्य विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने, हरेक वस्तु तथा सेवाको खरिदमा अनिवार्य रुपमा बिलबिजक जारी गर्ने र सबै व्यवसायलाई कर प्रणालीमा आबद्ध गराउनु रहेको उहाँको भनाइ छ ।

भ्याटमा दर्ता भएका करदाताले विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनका आएको पनि लामो समय भइसकेको छ । आन्तरिक राजश्व विभागले विद्युतीय बिजकसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयनमा छ । तर यसलाई अनिवार्य गर्न भने अझै सकिएको छैन ।

विभागले अहिले विद्युतीय कारोबारमा भ्याट फिर्तासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि निश्चित शर्तसमेत तोकेको छ । भ्याटमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणालीमा आबद्ध हुन सक्नेछन् । त्यस्तै, डेबिट÷क्रेडिट कार्ड, क्यूआर कोड, मोवाइल बैंकिङ जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले भ्याटको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रुपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

विभागमा सूचीकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ बमोजिम प्रणालीमा सामञ्जस्य हुनेगरी आफ्नो सफ्टवेयर परिमार्जन गर्नसमेत निर्देशन दिइएको छ । त्यस्तै, सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्नेछ भने प्रणालीमा आबद्ध बिक्रेताले आफ्नो कारोबारस्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना सार्बजनिक गर्नुपर्ने छ ।

सशस्त्र सङ्घर्ष, शान्ति र मेलमिलाप नीतिका संस्थापक बिपी: महामन्त्री शर्मा

काठमाडौँ, २४ भदौः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा सशस्त्र सङ्घर्ष र शान्ति, सहकार्य एवं मेलमिलाप नीतिका संस्थापकका रूपमा बिपी कोइराला स्थापित हुनुभएको बताउनुभएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहमा उहाँले नेपाललाई लोकतान्त्रिक पद्धतिमा हिँडाएर विकसित देश बनाउन खेलेको भूमिकाले कांग्रेसमात्र नभई अन्य विचार राख्नेले पनि बिपीलाई सम्झिने गरेको बताउनुभयो । अहिलेको संसदीय लोकतान्त्रिक पद्धतिकै लागि बिपीले ठूलो त्याग गर्नुभएको महामन्त्री शर्माको भनाइ थियो ।

“बिपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । तत्कालीन राजा महेन्द्रले नेपाली सेनाको शक्तिका भरमा बन्दी बनाएपछि राजनीतिक नभई साहित्यिक कृतिको रचना गरी नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्बाह गर्नुभयो । राजनेता बन्न नीति, कर्म र त्याग चाहिन्छ भन्ने उदाहरण बन्न बिपी सफल हुनुभयो । त्यही कारण उहाँलाई नेपाली कांग्रेसमात्र नभई सबैले स्मररण र सम्मान गर्छन्”, उहाँले भन्नुभयो ।

नेपालमा विकासको प्रारम्भिक खाका कोर्नुभएका बिपीले सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्ष भएर विश्वमा नेपालको चिनारी बढाउनुभएको महामन्त्री शर्माले स्मरण गर्नुभयो ।

एकअर्को प्रसङ्गमा उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीदेखि हालसम्म कोही पनि पाँच वर्षसम्म नटिकेकाले अब सरकारको स्थिरताका लागि संविधान संशोधनलगायत विषयमा बहस गरिनुपर्नेमा जोड दिनुभयो ।
प्राध्यापक कृष्ण खनालले बिपीले राजनीतिमा चिल्ला सुकिलाको हालीमुहाली हुन्नसक्ने भएकाले असल कार्यकर्ताले फेरि क्रान्ति गर्नुपर्छ भनेको स्मरण गर्नुहुँदै अहिले त्यस्तै अवस्था आएकाले सचेत हुन कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । चेतनाको बिम्बका रूपमा बिपीले काम गर्नुभएको उल्लेख गर्नुहुँदै उहाँले बिपीले बसाल्नुभएको संस्कृतिबाट हाल कांग्रेस र कोइराला परिवार टाढिएको विश्लेषण सुनाउनुभयो । बिपीको जीवनबाट सिकेर कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक अघि बढ्न सक्नुपर्ने प्राध्यापक खनालको भनाइ थियो ।

बिपी जयन्तीका अवसरमा आज सुन्दरीजलमा साहित्यिक महोत्वसवसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा कवि एवं कवयित्रीबाट काव्य पाठ गरिनुका साथै सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिकाको कार्यक्रमको संयोजन र बिपी सङ्ग्रहालय समितिको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको शाखाका उपाध्यक्ष विमुन्स पौडेलले जानकारी दिनुभयो ।

हेमन्त कान्छा र दृविष्टविहिन गायिका मन्दिराले ल्याए मन चाहिन्छ शुद्ध

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृविष्टविहिन गायिका मन्दिरा थापाको स्वरमा मन चाहिन्छ शुद्ध बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायन सँगसँगै सामाजिक कर्ममा पनि उत्तिकै सक्रिय हेमन्तले तनहुँकी दृविष्टविहिन गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै उनीलाई आफ्नो गीतमा स्वर भर्ने अवसर दिएको गीतले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सार्वजनिक गीतको शब्द राजकुमार बगरका हुन् भने सङ्गीत र थेगो हेमन्त कान्छा रसाईलीको नै रहेको छ । संचारकर्मी पारस भट्टराई, मान बहादुर परियार र बिराज गन्धर्वको अभिनय रहेको गीतको छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतले माया गर्ने मान्छेको मन पवित्र चाहिन्द्ध भन्ने कुरालाई जोड दिएको छ ।


नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंले ल्याइन् एक्लैको भिडियो

काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको एक्लै बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो चर्चा पाइएको छ । सार्वजनिक गीतमा अविनाश एसी र गायिका सज्जा स्वयमको शब्द तथा कम्पोज रहेको छ । भिडियोमा प्रेमी बिनाको एक्लो पनाको मर्मस्पर्शी विरहको गाथालार्य नजिकबाट केलाइएको छ ।

जब आँफुलार्य माया गर्ने मायालुले छाडेर जाँदाको पिडालाई भिडियोले बयान गरेको छ । भिडियोमा सज्जाले तिमी बिना एक्लै बाँच्न सक्दिन भनेर आफ्नो प्राण भन्दा प्यारो मान्छेलार्य पटक पटक सम्झिरहेको दृश्यले दर्शकको मन छुन्छ । सन्जीतत जीको निर्देशनमा तयार भएको भिडियोमा सज्जा स्वयम फिचर्ड छिन् ।

प्रेम , विरहले भरिएको भिडियोको छायांकन सम्पादन र कलर निर्देशक घिसिगंले नै गरेका हुन् । सज्जा चौलागाई अफिसियल युट्युबबाट बजारमा आएको एक्लोको कन्सेप्ट नै गायिका स्वयमको हो । गायिका सज्जा चौलागाईले यसअघि ‘बालिका’ बोलको गीतको भिडियो पनि ल्याएकी थिइन् । जसमा गीतकार कैलाश घिमिरेको शब्द तथा संगीतकार श्रीकन्त सोनवानेको संगीत रहेको छ। युवा निर्देशक अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियो नारी शक्तिमा आधारित छ ।

भिडियेमा समाजमा हुने विभेद शोषण लगायतका विषय बस्तुहरुलाई निर्देशक अनुपले कलात्मक शैलीमा देखाएका छन् । जहाँ एउटी नारीले आफ्नो अधिकार लिनका लागि गर्नु परेको संघर्षलाई नजिकबाट देखाइएको छ । भिडियोमा मुख्य रुपमा मोना घिमिरेको अभिनय देख्न सकिन्छ ।

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ ।

मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन् २०२१ डिसेम्वर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए ।

‘तीस महिनामा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ’, उनले भने, ‘राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो ।’

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेशन र प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

एक सय ३२/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेशनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो ।

भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठदेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।

दुई सय २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामले बर्खायाममा पनि तीव्रता दिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए।

‘पक्की नाला बनाएर भूमिगत र सतहको पानीलाई व्यवस्थापन गरेर सबस्टेशनको संरचना बनाउन थालिएको हो’, उनले भने, ‘सबस्टेशनमा जडान गर्ने उपकरण आयात भइसकेको छ ।’ अम्बाङमा सबस्टेशन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ३० वटा निर्माण सकिएको र ४८ वटा निर्माणाधीन रहेका आयोजना प्रमुख अग्रवालले बताए। रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् ।

बेनी नगरपालिका–६ कोठेसाघुमा रहेको एनएलटीको प्रसारण लाइनको सामग्री भण्डारणस्थलमा भदौ ८ गते रातिको बाढीले क्षति पुर्याएको थियो ।

दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवन निर्माण भएको छ । म्याग्दी नदीमा एक सय ७२ दशमलव आठ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।

राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको राहुघाट–मङ्गले र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलव ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

सबस्टेशनमा निर्माणमा भएको ढिलाइले राहुघाट नदीमा निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत् आयोजनालाई समस्या परेको तुदी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मङ्गले राहुघाट जलविद्युत् आयोजना प्रमुख प्रकाश तिमिल्सिनाले बताए।

चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु

मुग्लिन (चितवन), २४ भदौः चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते हुनुभएका थिए ।

घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो । ठक्कर दिने कन्टेनर र चालक बाराको गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा न्युयोर्कमा भोलीदेखि

न्युयोर्क, २४ भदौ : ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलीदेखि सुरु हँुदैछ ।

राष्ट्रसङ्घको महासभा भोलीदेखि सुरु हुनेभए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४मा हुने कार्यतालिकामा उल्लेख छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नुहुने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ ।

विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभाभाग लिनेछन् ।

यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले आफ्नो आन्तरिक द्वन्द्व व्यवस्थापनलाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ ।

नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए÷गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।

भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । पाँच पटकका ओलम्पियन तथा निशानाबाज (सुटर) रहेका ७७ वर्षीय सिंहले सन् २०२४ देखि सन् २०२८ सम्म जिम्मेवारी सम्हाल्नुहुनेछ ।

एसियामा शीर्ष खेलकुदको जागिर लिने पहिलो भारतीय सिंह ४५ मध्ये ४४ मतले निर्वाचित हुनुभएको हो । अध्यक्ष, उपाध्यक्ष र पाँच कार्यसमिति सदस्य सबै निर्विरोध भएका छन् । नयाँ बोर्डका तर्फबाट सिंहले भन्नुभयो, “तपाईंले हामीलाई देखाउनुभएको माया र स्नेहका लागि हामी धेरै सम्मानित छौँ । तपाईंलाई हृदयदेखि नै धन्यवाद ।”

सिंह सन् २००१ र सन् २०१४ को बीचमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य हुनुहुन्थ्यो । त्यसपछि उहाँ विश्व खेलकुद निकायको मानार्थ सदस्यका रूपमा रहनुभयो ।
एसियामा ‘ओलम्पिक काउन्सिल अफ एसिया’ खेलकुदको शासकीय निकाय हो ।

भारतबाट आउँदै गरेको टेप्पोलाई जाँच गर्दा भेटियो भन्सार छलेर ल्याइएको काजु

वीरगञ्ज (पर्सा), २४ भदौः भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान दिनँहुजसो बरामद गर्दै आइरहेको छ ।

सशस्त्रले आइतबार पनि वीरगञ्ज महानगरपालिका–१० स्थित आर्दशनगरबाट घण्टाघरतर्फ जाँदै गरेको ना२ह ५९६ नम्बरको टेप्पोलाई जाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको छ लाख ४५ हजार छ सय मूल्य पर्ने २७ डिब्बा काजु र ६ बोरा मरिच बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियाका घर भएका टेप्पोचालक विनोद कुशवाहालाई समेत पक्राउ गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको छ ।

गणका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले चाडपर्व नजिकिँदै गर्दा तस्कर धेरै सक्रिय भएकाले पनि अवैध सामान बरामद हुने क्रम बढेको बताउनुभयो । “सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी सधैँ सक्रिय नै रहँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएसँगै अवैध चोरी तस्करी गर्नेको सङ्ख्या बढेकाले पनि बरामदको घटनामा वृद्धि भएको हो ।”

सशस्त्र प्रहरी बलले शनिबारमात्र रु १० लाख ५० हजार छ सय बराबरको भन्सार छलीका सामान पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो । सशस्त्रले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित रु चार लाख ७३ हजार आठ सय मूल्य पर्ने काजु, खजुर बदाम, बिस्कुट र किसमिसलगायत सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।

यसैगरी शनिबार नै नगवास्थित खुस्बु चक्लेट उद्योगको गोदाममा भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु तीन लाख छ हजार छ सय ३० मूल्य पर्ने चक्लेट, चिनी र बोरा सिलाउने मेसिन बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–६ स्थित मीनाबजारबाट भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु दुई लाख ७० हजार एक सय ७० मूल्यका आलु र प्याज बरामद गरेको थियो ।

मधेश आन्दोलनका उपलब्धिको रक्षा गर्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

राजविराज (सप्तरी)- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस आन्दोलनका सहिद तथा घाइतेहरूको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठान नेपालद्वारा सप्तरीको भारदहमा आयोजित राउतको नवौँ स्मृतिसभामा उहाँले सहिदहरूको बलिदानीले मधेस प्रदेशसहित सङ्घीयता स्थापना भएको उल्लेख गर्नुहुँदै सहिदहरुले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै सरकार सङ्घर्षरत रहेको बताउनुभयो । “सरकार मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै विकसित र समृद्ध प्रदेश निर्माणमा अग्रसर छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “यहाँ व्याप्त गरिब बेरोजगारीलगायत समस्यालाई न्यूनीकरण गर्दै सहिदको रगत र बलिदानीबाट प्राप्त सङ्घीयतासहितको अधिकार रक्षाका लागि सरकार पूर्ण रूपले प्रतिबद्ध छ ।”

मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट सहिद भएका रामकृष्ण राउतलगायत मधेस आन्दोलनका वीर सहिदहरूको स्मरण गर्नुहुँदै उहाँले सहिद परिवारलाई सीपमूलक तालिम तथा रोजगारमा जोड्न आवश्यक काम गरिने विश्वास दिलाउनुभयो । उहाँले सहिदको स्मरणका लागि भारदह अस्पतालको नाम सहिद रामकृष्ण राउत, राजीव राउत अस्पताल नामाकरण तथा स्मारक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष राजकुमार राउतको अध्यक्षतामा भएको कार्यक्रममा हनुमाननगर कङ्कालिनी नगरपालिका नगरप्रमुख वीरेन्द्र माझी, जनमत पार्टीका नेता थानेश्वरप्रसाद साह, वडा नं १ का अध्यक्ष सुरेन्द्र मण्डल, लक्ष्मी व्यापार सङ्घ भारदहका अध्यक्ष कुन्दन मण्डल, जयसुन्दर खिडहरी यादव लगायतकाले सहिदको सम्मानमा स्मारक निर्माणका लागि आग्रह गर्नुभयो । तेस्रो मधेस आन्दोलनका क्रममा भारदह चौकमा प्रहरीको गोली लागेर २०७२ भदौ २३ गते राउतको निधन भएको थियो ।

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको निर्देशन

गण्डकी-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्माणधिन मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई निर्देशन दिनुुभएको छ ।मुख्यमन्त्रीको कार्यालयमा सरोकारवासँगको छलफलमा मुख्यमन्त्री पाण्डेले मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएको भन्दै सहज रुपमा आवतजावत गर्ने गरी छिटो काम गर्न निर्देशन दिनुुभएको हो ।

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत प्राधिकरणका इकाई प्रमुख लगायतको उपस्थिति थियो । पुर्वीखण्डमा अहिले केही सहज भए पनि पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएको र कुनै समस्या भए सरकारले सहजीकरण गर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले कामको गति छिटो बनाउन निर्देशन दिनुुभयो ।निर्माणाधि सडको पूर्वीखण्डमा ६४ प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम भएको छ ।

सरोकारवालाको छलफलले दोहोर कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ । अहिले स्थानीय तहपिच्छे रोयल्टी, करको दर फरक÷फरक हुँदा काममा समस्या भएको गुनासो निर्माण कम्पनीको थियो । सडक क्षेत्रमा पर्ने बिजुलीका पोल विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आवतजावत सहज बनाउने निणर्य बैठकले गरेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सेती नदीको पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक निर्माण गर्ने, निर्माण सामग्रीका बारेमा संम्बन्धित पालिकाले स्रोत जान्न पाउने लगायत पाँचवटा निर्णय भएको जनाइएको छ । छलफलमा निर्माण कम्पनीले अवको १५ महिनाभित्र काम सक्ने लक्ष्य लिएको जानकारी दिएको छ ।  

सडक विस्तार र निर्माणको काम छिटो गर्न आयोजना कार्यालय, निर्माण कम्पनीलाई काममा सहजिकरण गर्ने गरी विभिन्न पाँच वटा निर्णयसमेत गरिएको छ । स्थानीय उत्पादन तथा निर्माण सामग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी वापतको शुल्क रकम सङ्कलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शीर्षकमा थप शुल्क रकम नलाग्ने गरी एकमुष्ट रुपमा प्रचलित कानुन बमोजिम रोयल्टी वापतको शुल्क रकम सङ्कलन गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

निर्माण सामग्री प्रशोधनका लागि निर्माण गरिएको प्लान्टमा सङ्कलन हुने निर्माण सामग्रीको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नुपर्ने, सडक निर्माणकार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत प्राधिकरणको तर्फबाट बिजुली पोल स्थानान्तरण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै चाडपर्व तथा पर्यटकको आवागमनको कारण सडकमा चाप बढ्ने भएकाले मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) मा वर्षातले बिगारेको सडक क्षेत्रमा खाल्टाखुल्टी पुर्ने लगायतका निर्णय गरिएको छ । बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा–भरतपुर भूमिगत विद्युतिकरण आयोजनाको तर्फबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वारादेखि सेती नदीको पुलसम्म बिजुली तार भूमिगत गर्ने काम यही भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशिघ्र न्यूनतम दुई लेन सडक निर्माणकार्य सम्पन्न गर्ने गराउने लगायतका निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने

तुलसीपुर (दाङ), २४ भदौः नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनुभयो ।

निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो । “हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।”

अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उहाँले बताउनुभयो । हाल दाङबाट काठमाडौँ जाँदा रु सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने उहाँले बताउनुभो । अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने उहाँको भनाइ छ ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताउनुभयो ।

उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।

सात महिनाअगावै लिदीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न

पर्वत- यहाँको मोदी गाउँपालिका–६ तिलाहारस्थित लिदीखोलामा मोटरेबल पुल निर्माण भएको छ । डिमुवा–राम्जा चित्रे सडकमा पर्ने लिदीखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिना अगावै निर्माण सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०८० असोज २२ गते ठेक्का सम्झौता भएको थियो ।

मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदीखोलामा ‘सिङ्गल स्पान’को १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्माण सम्पन्न पुल निर्माणको ठेक्का कस्तुरी कन्स्ट्रक्सनले पाएको थियो । यो पुलको भारवहन क्षमता ७० टन रहेको छ । 

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीको सहयोगका कारण  निर्धारित समय अगावै निर्माण भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण सम्झौता आगामी फागुनसम्म रहेको थियो । 

यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित  भएका छन् । पुल निर्माण भइ सवारीसाधनसमेत सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जिता गिरीले जानकारी दिनुभयो । 

विगतमा वर्षायामको बेला खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रुपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । 
स्थानीय सडक पुल कार्यक्रम ‘एलआरबिपी’ र प्रादेशिक सडक पुल सहयोग इकाई ‘पिआरवी एसयु’को प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । स्थानीय सडक पुल कार्यक्रमका ‘टेक्निकल अफिसर’ लोकेश राईले सबै अवस्था सहज भएकाले निर्धारित मिति अगावै पुल निर्माण भएको बताउनुभयो । 

पर्वतमा गत आर्थिक वर्षमा योसँगै अन्य तीनवटा मोटरेवल पुल निर्माण सुरु भएका थिए । ती पुलहरु धमाधम निर्माण भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडकअन्तर्गत छत्तिसेघाट मोटरेबल पुल निर्माण भइरहेको छ । रु चार करोड ४३ लाखको लागतमा निर्माणाधीन  उक्त पुल २५ मिटर लामो हुने छ । 

कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका वडा नं ३ शङ्करपोखरी जोड्ने मल्याङ्दीखोला माथि पुल निर्माण भइरहेको छ । १६ मिटर लामो यो पुल रु चार करोडको लागतमा सम्पन्न हुने छ । यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिका–७ भोर्लेमा पनि भोर्ले खोला मोटरेबल पुल निर्माण सुरु भएको कार्यालयले जनाएको छ ।