`

सात महिनाअगावै लिदीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न

पर्वत- यहाँको मोदी गाउँपालिका–६ तिलाहारस्थित लिदीखोलामा मोटरेबल पुल निर्माण भएको छ । डिमुवा–राम्जा चित्रे सडकमा पर्ने लिदीखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिना अगावै निर्माण सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०८० असोज २२ गते ठेक्का सम्झौता भएको थियो ।

मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदीखोलामा ‘सिङ्गल स्पान’को १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्माण सम्पन्न पुल निर्माणको ठेक्का कस्तुरी कन्स्ट्रक्सनले पाएको थियो । यो पुलको भारवहन क्षमता ७० टन रहेको छ । 

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीको सहयोगका कारण  निर्धारित समय अगावै निर्माण भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण सम्झौता आगामी फागुनसम्म रहेको थियो । 

यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित  भएका छन् । पुल निर्माण भइ सवारीसाधनसमेत सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जिता गिरीले जानकारी दिनुभयो । 

विगतमा वर्षायामको बेला खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रुपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । 
स्थानीय सडक पुल कार्यक्रम ‘एलआरबिपी’ र प्रादेशिक सडक पुल सहयोग इकाई ‘पिआरवी एसयु’को प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । स्थानीय सडक पुल कार्यक्रमका ‘टेक्निकल अफिसर’ लोकेश राईले सबै अवस्था सहज भएकाले निर्धारित मिति अगावै पुल निर्माण भएको बताउनुभयो । 

पर्वतमा गत आर्थिक वर्षमा योसँगै अन्य तीनवटा मोटरेवल पुल निर्माण सुरु भएका थिए । ती पुलहरु धमाधम निर्माण भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडकअन्तर्गत छत्तिसेघाट मोटरेबल पुल निर्माण भइरहेको छ । रु चार करोड ४३ लाखको लागतमा निर्माणाधीन  उक्त पुल २५ मिटर लामो हुने छ । 

कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका वडा नं ३ शङ्करपोखरी जोड्ने मल्याङ्दीखोला माथि पुल निर्माण भइरहेको छ । १६ मिटर लामो यो पुल रु चार करोडको लागतमा सम्पन्न हुने छ । यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिका–७ भोर्लेमा पनि भोर्ले खोला मोटरेबल पुल निर्माण सुरु भएको कार्यालयले जनाएको छ । 

असोजदेखि राप्रपाले पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आईतबार साँझ केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।  सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले आगामी असोजदेखि पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । 

स्वदेशमा र प्रवासमा पार्टी र पार्टीको एजेण्डाप्रति देखिएको आकर्षणलाई पार्टी सङ्गठनको दायरामा ल्याउन राप्रपाले अभियान सञ्चालन गर्न लागेको जनाएको छ । राप्रपाले २०८१ साललाई पार्टी प्रवेश वर्षको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीको वडादेखि सबै तहको अधिवेशन गर्ने प्रयोजनका लागि कार्यसम्पादन समितिका सदस्य तोरणबहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिइएको, समितिमा केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, सहमहामन्त्री अमृत पुडासैनी, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्यहरु डा जयन्तनाथ खनाल, भरतजङ्ग उप्रेती र स्वाती थापा तथा समितिको सदस्य सचिवमा सहमहामन्त्री अधिवक्ता श्यामबहादुर शाहीको मनोनयन यसअघि भएको  विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राप्रपाले आफ्नो पार्टी कार्यालय भवन चाबहिलमा निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि कार्यसम्पादन समितिका सदस्य, आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


बैठकले सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने भनी गरेको फैसलाप्रति राप्रपाको ध्यानाकर्षण भएको तथा अदालतको फैसलाबाट लाखौँ नागरिक प्रभावित हुन पुगेका एवं क्षतिपूर्तिको सुनिश्चितता विना जनताको निजी सम्पत्तिमाथि कुनै प्रकारको खलल पु¥याइनु हुन्न भन्ने दृष्टिकोण रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकूल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुुखसहित आईतबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुुकूल र वस्तुनिष्ट बनाउनुपर्ने बताउनुुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । 

ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गर्नुभयो । ती दुवै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्रको प्राथमिकतामा परेको छ ।

छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताउनुुभयो  । गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गर्नुभयो ।

श्री एयरले काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

काठमाडौँ- निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले भदौ २३ देखी आगामी असोज ४ गतेसम्म काठमाडौँ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो ।

एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिनुभयो । “पोखरा–काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्दका लागि यो अफर ल्याएका हौँ, यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौँ ।”

आसोज ४ गतेसम्म टिकट खरिद गर्नेले उक्त अफर पाउनेछन् । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्नेछ । श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ विमान १० विमान र आठ रोटर (हेलिकप्टर) छन् । कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास–८–क्यू–४०० विमान छन् । आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ । कम्पनीले काठमाडौँबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ ।

घरदैलोमा इलाका प्रशासन, गाउँमै सिंहदरवारको अनूभूति

वीरगञ्ज (पर्सा) २४ भदौ : पर्साका जिराभवानी गाउँपालिका–४ का वृजालाल प्रसाद यादवलाई नागरिकता, राष्ट्रिय परिचयलगायत कागजात बनाउन वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता थियो । आफ्नो गाउँपालिकाबाट २५ किलोमिटर लामो दुरी तय गरेर वीरगञ्ज आउँदा एकातिर समयको खर्च र अर्काेतर्फ गाडी भाडाले आजित हुनुभएको थियो । अहिले उहाँकै घरदैलोमा इलाका प्रशासन कार्यालय, सुपौली सञ्चालनमा आएसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायत कागजात बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

‘‘पहिला नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका कागजात बनाउन वीरगञ्ज धाउनुपर्ने समस्या थियो’’, उहाँले भन्नुभयो, ‘‘वीरगञ्ज जाँदा एक दिनको पूरै समय छुट्टाएर जानुपर्ने हुन्थ्यो । पैसा पनि त्यतिकै खर्च हुन्थ्यो । अब त हिँडेरै सेवा लिन पाइने भयो ।’’ 

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि जिराभवानी गाउँपालिका–४ स्थित इलाका प्रशासन कार्यालय, सुपौली पुनःसञ्चालनमा ल्याएसँगै वृजालाल मात्रै होइन, पर्साका जिराभवानी, जगरनाथपुर, पर्टेवा सुगौली र ठोरी गाउँपालिका सर्वसाधारणलाई नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायत प्रशासनिक कागजात बनाउन वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । 

जिराभवानी गाउँपालिका महादेवपट्टीका रामविजय चौधरी पनि घरदैलोमा सरकारी कार्यालय आएकोमा हर्षित हुनुहुुन्छ । ‘‘अब त कम्तीमा साइकल चढेरै नागरिकता र पासपोर्ट बनाउन पाइने भयो’’, उहाँले भन्नुभयो, ‘‘पर्साको उर्खुमाउलो गर्मीमा कम्तीमा धेरै हिँड्नु त परेन नि ।’’ 

उहाँले वीरगञ्जमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन जाँदा मात्रै यातायात र नास्ता बापत् एक हजारभन्दा धेरै खर्च हुने अनुभव सुनाउनुभयो । ‘‘अहिले त इलाका प्रशासन कार्यालयमा साइकल चढेरै आउन पनि सकिने भयो । कुनै कागजात छुटे पनि तुरुन्तै घरबाटै ल्याउन सकिने भएको छ’,’ उहाँले भन्नुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले  सार्वजनिक सेवालाई जनतामैत्री बनाउन इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याएको बताउनुभयो ।

‘‘हामीले सार्वजनिक सेवालाई विकेन्द्रीकरण गर्ने हेतुले इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याएका हौं,’’ उहाँले भन्नुभयो, ‘‘चार पालिकाबाट दैनिक एक सय ५० भन्दा धेरै सेवाग्राहीले आफ्नो घरआँगनबाटै सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’’ 

 इलाका प्रशासन कार्यालय, सुपौली विसं २०७५ पुस ११ गतेदेखि सञ्चालनमा आएको थियो । तर, विविध कारण २०७९ सालदेखि सेवा स्थगित भएको थियो ।  स्थानीय प्रभु चौधरी थारु, बिन्दा देवि चौधरी थारु र रामकलिया देवी गुरो थारुले उपलब्ध गराएको एक कठ्ठा १७ धुर जग्गामा नयाँ भवन निर्माण गरेर इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको हो । सो अवसरमा जग्गादाता तीनै जनालाई दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरियो ।

संविधानसभा सदस्य जयप्रकाश थारु इलाका प्रशासन कार्यालय पुनः सञ्चालन भएसँगै सेवाग्राहीले सहज र सुलभ सेवा प्राप्त गर्ने बताउनुहुन्छ । पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीले संविधानको मर्म अनुरुप जनताको घरदैलोमा इलाका प्रशासन कार्यालय आउनु निकै सुखद् रहेको बताउनुभयो । ‘‘जनताको घरदैलोमा सिंहदरबार भन्ने कुरा यो कार्यालय स्थापना भएर केही हदसम्म भए पनि स्थानीयले अनुभूति गर्न पाएका छन्’’, उहाँले भन्नुभयो, ‘‘इलाका प्रशासन कार्यालय मात्रै होइन, मालपोत, नापीलगायत कार्यालय ल्याएर जनताको घरदैलोमा सरकारको अनूभूति दिलाउन जरुरी छ ।’’

ठोरी गाउँपालिकाका अध्यक्ष सुवर्ण श्रेष्ठले यस अघि पनि कर्मचारी नबस्ने समस्याले इलाका प्रशासन बन्द भएकाले आगामी दिनमा कर्मचारी अभाव नहुने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानोबाबु अधिकारीले इलाका प्रशासन कार्यालयमा एक जना अधिकृतसहित  आठ जना कर्मचारी रहने जानकारी दिनुभयो । कार्यालय शाखा अधिकृतको नेतृत्वमा सञ्चालन हुनेछ । सहायक लेखापाल, तीन नायब सुब्बा, कम्प्युटरसँग सम्बन्धित प्राविधिक एक जना र दुई जना कार्यालय सहयोगी रहने जिल्ला प्रशासनले जनाएको छ ।

डेङ्गीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

झापा, २४ भदौः कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ ।गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो ।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ ।

चालीस वर्षदेखि सारङ्गी रेट्दै मिठो धुन सुनाउँदै सल्यानका ५५ वर्षीय लालबहादुर

देउखुरी (दाङ), २४ भदौ : टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको छ ।

“सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,” उहाँ भन्नुहुन्छ । सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उहाँले बताउनुभयो । 

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिक्नुभएका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाउनुभयो । “हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,” उहाँले भन्नुभयो । 

जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उहाँको भनाइ छ । उहाँले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसक्नुभएको छ । दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उहाँले बताउनुभयो । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्नुहुन्छ । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।  

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गर्नुभयो । रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताउनुभयो । सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उहाँलाई छ । “मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,” उहाँले भन्नुभयो । 

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उहाँको अनुभव छ । उहाँ गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्नुहुन्छ ।    पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन  ।

मुस्ताङको लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

म्याग्दी, २४ भदौ : मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासकीय र सबै वडा कार्यालयको भवन निर्माण गरेको छ । स्थापना भएको सात वर्षपछि चराङमा प्रशासकीय र पाँच वटा वडाका केन्द्रमा भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याएको हो ।

प्रमुख प्रशासकीय अधिकृत विशाल भण्डारीले गाउँपालिकाको नयाँ भवनबाट सेवा प्रवाह थालिएको जानकारी दिनुभयो । “भवनको औपचारिक उद्घाटन बाँकी भए पनि सेवा प्रवाह सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ भवन बनेपछि साँघुरो कोठा भएको अस्थायी भवनबाट कार्यालय सञ्चालन गर्नुपर्ने समस्या हटेको छ ।”

व्यवस्थित र सुविधायुक्त नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनुभयो । विसं २०७३ मा स्थापना लगत्तै केही समय भाडाको घरमा राखिएको गाउँपालिकाको कार्यालय पछिल्लो समय अस्थायी टहरा बनाएर सञ्चालन गरिएको थियो । 

दुई तले भवन निर्माणका लागि इमाटोल–कोमल कन्ट्रक्सन जेभीले विसं २०७७ असार ११ गते रु चार करोड २४ लाख ५८ हजार छ सय ९२ मा ठेक्का सम्झौता गरेको थियो । विसं २०७९ असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको भवन दुई वर्ष ढिला गरी सम्पन्न भएको हो ।

 ३० वटा कोठा रहेको भवनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सभाहल, बैठक, प्रशासन, विषयगत शाखाका लागि कक्ष छन् । यसअघि लो–घेकर दामोदरकुण्डले पाँचवटै वडा कार्यालयको एकतले छ÷छ वटा कोठा भएका भवन निर्माण गरेको छ । 

स्थानीय डिजाइन, निर्माण सामग्रीको प्रयोग गरेर मौलिकता झल्कने किसिमको वडा कार्यालय भवन निर्माण गरेको हो । भवनमा वडाध्यक्ष, सचिव, सदस्य, बैठक कक्ष र सभाहल छन् । एउटा वडा कार्यालय भवन बनाउन रु ५० लाख देखि रु ६० लाख खर्च भएको गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो । भवन अभावका कारण सामुदायिक भवन, क्लब, आमा समूह र स्वास्थ्य चौकीबाट वडा कार्यालय सञ्चालन गरिएको थियो । 

पाँच वटा स्थानीय तह रहेको मुस्ताङमा यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कागबेनी र घरपझोङ गाउँपालिकाले जोमसोममा प्रशासकीय भवन निर्माण गरेर सेवा प्रवाहका लागि प्रयोगमा ल्याएका छन् । वारागुङ मुक्तिक्षेत्रको भवन निर्माणमा तिब्बती शैली प्रयोग भएको छ । 

चीनको सिमानामा रहेको लोमान्थाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधीन छ । खन्तीमा रहेको तत्कालीन कोवाङ गाविसको भवनमा रहेको थासाङ गाउँपालिकाले हालसम्म आफ्नै भवन निर्माणको प्रक्रिया अगाडि बढाउन सकेको छैन । 

असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

भैरहवा (रुपन्देही), २४ भदौ : तत्कालीन मर्चवारको १८ गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो, इलाका प्रशासन कार्यालय मझगावा । अहिले पनि उक्त कार्यालयले रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ । तीन वटा पालिकालाई सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयको भवन भने जीर्ण बनेको छ ।

सिँचाइ कार्यालयको भवनबाट सेवा दिइरहेको यो भवनमा चार कोठा रहेको छ । राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कोठामै स्टोर रुम बनेको छ । एका तिर विभिन्न कबाड रहेको छ भने सोही कोठाको अर्को तिर राष्ट्रिय परिचय बनाउनेको चाप हुन्छ । नागरिकता बनाउने कोठामा बिजुलीको तारमा पङ्खा झुण्डिरहेको छ । सुस्त गतिमा चलिरहेको पङ्खा गति बढाए कर्मचारीमाथि खस्ने जोखिम छ ।

अझ कार्यालय प्रमुखको कोठामा सेवाग्राही घाइते बनाउने गरी छतबाट इँट्टाका टुक्रा झर्ने गरेको छ । इँट्टाको छत रहेकाले पटक पटक इँट्टा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउनुहुन्छ । “गृहमन्त्रीदेखि यहाँका तीन वटै पालिकालाई मर्मतको लागि अनुरोध गरेँ, कतैबाट सहयोग भएन”, पाण्डेले भन्नुभयो, “अहिले जोखिममै बसेर डराउँदै काम गरिरहेका छौँ ।”

इलाका प्रशासन कार्यालय मझगावामा सेवाग्राहीको चाप पनि उस्तै छ । नागरिकता र नागरिकताको प्रतिलिपि मात्र गरी दैनिक ६० वटाभन्दा बढी बन्ने गरेको छ । कार्यालय भवन साँघुरो मात्र छैन, यहाँ सेवाग्राहीका लागि प्रतिक्षालयसमेत छैन । सेवाग्राहीहरु घाममै बसिरेहका हुन्छन् । एक मात्र शौचालय छ जसलाई सेवाग्राही र कर्मचारीले प्रयोग गर्छन् ।

यस्तो अवस्थामा आफूले चाहेको जस्तो सेवा दिन नसकेको कार्यालय प्रमुख शोभा पाण्डे बताउनुहुन्छ । कार्यालयमा एक जना सुब्बा र एक जना अधिकृत तथा एक जना कम्प्युटर अपरेटर छन् । 

मर्चवारको तीनवटै पालिकालाई जीर्ण भवन मर्मत एवं प्रतिक्षालय निर्माणका लागि आग्रह गरिए पनि कसैले नसुनेको पाण्डेले बताउनुभयो । “नयाँ बजेट बन्ने समयमै हामीले सबै पालिकालाई इलाका प्रशासन कार्यालयको लागि भन्दै बजेट छुट्टयाउन आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर अहिले बुझ्दा कुनै पनि पालिकामा बजेट विनियोजन भएको हामीले थाहा पाएनौँ ।”

कार्यालयमै भेटिनुभएका सेवाग्राही विशेश्वरप्रसाद हरिजनले भवन जीर्ण रहेकाले कार्यालय आउँदा असुरक्षित महसुस गरेको बताउनुभयो । उहाँले भवन जीर्ण भइसकेको कारण यसलाई मर्मत गर्नुको सट्टा नयाँ कार्यालय भवन बनाउनुपर्ने बताउनुभयो ।

‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

काठमाडौँ, २४ भदौ : मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।
ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उहाँहरु नेपाल आउनुभएको हो । कलाकार सिद्दिकीले आफू नेपाल पहिलो पटक आएको बताउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताउनुभयो । “म नेपाल पहिलो पटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ”, उहाँले भन्नुभयो, “ फेरि पनि नेपाल अवश्य आउँछु ।” त्यस्तै, निर्देशक कश्यपले नेपालको चलचित्र क्षेत्रको स्तरोन्नति हुँदै गएकोमा प्रशंसा गर्नुभयो ।

प्रिमियरमा नेपाली, भारतीय कलाकारदेखि नेताहरुको बाक्लो उपस्थिति थियो । चलचित्र हेर्नकै लागि आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन आकर्षित गर्ने अर्को कलात्मक माध्यम चलचित्र रहेको बताउनुभयो । उहाँले सकेसम्म पर्यटक भित्र्याउने र एक पटक नेपाल आएका पर्यटकलाई पटकपटक आउन प्रेरित गर्ने खालका गतिविधि गर्न जरुरी रहेको सुनाउनुभयो । 

भामको चलचित्र साम्बालाले पर्यटन आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो । साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ । 

चलचित्र हेर्नको लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, रास्वपा नेतृ सुमना श्रेष्ठ, सांसद तथा निर्देशक असिम शाहदेखि कलाकार निर शाह, दयाहाङ राई, नाजिर हुसेन, जितु नेपाल, सृष्टि श्रेष्ठ, गायक–गायिका आनी छोइङ डोल्मा, सत्य–स्वरुपराज आचार्य, इन्दीरा जोशी लगायतको उपस्थिति रहेको थियो ।  

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २४ भदौ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा पहिलो दलको रुपमा रहेको छ । कांग्रेस र नेकपा (एमाले) मिलेको लोकतान्त्रिक–प्रगतिशील गठबन्धन सरकारमा सहभागी छ ।  

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भएपनि बिपीले निर्वाचन परिणामलाई स्वीकार गर्नुभयो । क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो ।

विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् । 

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । नेपाली राजनीति र साहित्यमा रुची राख्नेले बिपीका कृति खोजी खोजी पढ्ने गरेका छन् । बिपीका बारेमा लेखिएका कृति प्रत्येक वर्षजस्तो एउटा न एउटा प्रकाशित हुने गरेको छ ।

बिपीले लेख्नुभएका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो । 

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पु¥याएको छ । पुनःनिर्माण सम्पन्न गरेपछि सङ्ग्रहालय सर्वसाधारणले पनि अवलोकन गर्न पाउने गरी खुला गरिने जनाइएको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई कांग्रेस महामन्त्रीद्वयले सम्बोधन गर्नुहुने जनाइएको छ ।

पौडी सङ्घद्वारा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान

काठमाडौँ, २३ भदौ : नेपाल पौडी सङ्घले पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई रु २५ हजार नगदसहित सम्मान गरेको छ ।
सङ्घले प्रशिक्षक कविराज नेगीलाई समेत नगद रु १० हजारसहित सम्मान गरेको छ । आज यहाँ आयोजित एक समारोहबीच पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ तथा कोषाध्यक्ष दिलिप वैद्यले संयुक्त रूपमा पलेशा र कविराजलाई चेक तथा सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थिति रहेको थियो । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जित्नुभएको थियो । पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अङ्कले पराजित गर्नुभएको थियो ।  

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, २३ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा ध्यानाकर्षण गराइएको छ ।आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर त्यहाँबाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य, पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितका प्रतिनिधिले मागपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मागपत्रमा जिल्लाको नामाकरण नवलपुर गरिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमूना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्नेलगायत विषय उल्लेख गरिएका छन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट योगदान गर्न आह्वान गर्नुभयो ।

सत्तारूढ दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ, २३ भदौः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सो पार्टीका नेताहरु गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

छलफलमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

काठमाडौँ, २३ भदौः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्याल नियुक्त हुनुभएको छ ।नेपाल सरकार, मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उहाँलाई चार वर्षको पदावधि रहनेगरी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिनुभयो ।

यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० साल असोज १७ को निर्णय (मा मन्त्रीस्तर) बमोजिम उहाँले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ । उहाँले २०४९ चैत २३ गतेदेखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नु भई २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो । उहाँ २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।

पदभार ग्रहण गर्नुहुँदै प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पदको गरिमा र आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिनेः मुख्यमन्त्री सिंह

राजविराज(सप्तरी), २३ भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिने बताउनुभएको छ । गृह जिल्ला राजविराजमा आज आयोजित सप्तरी क्रिकेट सङ्घको पाँचौँ वार्षिक साधारणसभामा उहाँले कुलतमा लागेका युवालाई खेलकुदतर्फ आकर्षित गरेर भविष्य सुधार्न सकिने बताउनुभयो । मुख्यमन्त्री सिंहले भन्नुभयो, “कुलतबाट जोगाई उनीहरुको ऊर्जा खेलकुद र मुलुक निर्माणमा लगाउनु आवश्यक छ । यसमा युवाहरूलाई प्रोत्साहनका लागि मधेस प्रदेश सरकारले पनि सकेसम्म पहल गर्छ ।”

कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशबाट पनि बढीभन्दा बढी खेलमा सहभागिता जनाई धेरै पदक हासिल गर्नेतर्फ प्रयत्नशील रहन उहाँले सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । “कर्णालीमा हुने राष्ट्रिय खेलकुदलाई लक्षित गरी आवश्यक तयारी गर्नुस् । प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि समेत हामी तयार छौँ । यसका साथै दुई वर्षपछिहुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजना हुने तय भइसकेको छ, यसका लागि जनकपुर, वीरगञ्ज र राजविराजमा खेलमैदानलगायत आवश्यक पूर्वाधार व्यवस्थापनका लागि केन्द्र सरकार समेतको सहयोगमा प्रदेश सरकार अगाडि बढ्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१/८२ को वार्षिक कार्यक्रम प्रस्तुत गर्नुहुँदै अगामी एक वर्षभित्र जिल्लामा आयोजना गरिने महिला तथा पुरुष क्रिकेटका १३ वटा प्रतियोगिता र एक÷एकवटा बन्द प्रशिक्षण तथा ‘टर्फ पिच’ निर्माणबारे जानकारी गराउनुभएको थियो । 

सङ्घका सचिव चन्दनकुमार यादवद्वारा सञ्चालित कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासङ्घ सप्तरीका सभापति श्रवणकुमार देव, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोजकुमार माझी, वडाअध्यक्ष शशी चौधरीलगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । 

जनमत सङ्ग्रह गराउन फ्रान्सका ले पेनको म्याक्रोनसँग आग्रह

फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले आइतबार राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता प्रमुख मुद्दामा जनमत सङ्ग्रह गराउन आग्रह गर्नुभएको छ ।
उहाँले फ्रान्सेलीलाई प्रत्यक्ष मतदान गर्न दिइँदा राजनीतिक गतिरोध तोड्न सहयोग पुग्ने बताउनुभयो ।

गत साता म्याक्रोनले युरोपेली सङ्घ (इयु) को ब्रेक्सिटको वार्ताकारका रूपमा काम गर्नुभएका ७३ वर्षीय पूर्वविदेशमन्त्री मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर ले पेनको युरोसेप्टिक, अध्यागमनविरोधी नेसनल र्याली (आरएन) पार्टीको समर्थनमा निर्भर बार्नियरलाई सत्तामा नियन्त्रण गर्न कमजोर मानिएकाले मुलुक अस्थिरताको अवधिका लागि तयार रहेको विश्लेषकहरूले बताएका छन् । आरएन नयाँ नेसनल एसेम्बलीमा सबैभन्दा ठूलो पार्टी हो ।

निर्वाचनपछि फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक गुटका रूपमा उदय भएको तर बहुमतको कमी रहेको वामपन्थी गठबन्धनले पनि बार्नियरमाथि दबाब बढाइरहेको छ ।   प्रधानमन्त्रीमा बार्नियरको मनोनयनको विरोधमा र म्याक्रोनको ‘सत्ता कब्जा’ को निन्दा गर्न शनिबार एक लाखभन्दा बढी वामपन्थी प्रदर्शनकारीले फ्रान्समा जुलुस निकालेका थिए । 

संसद्मा आरएनका सांसदहरूलाई नेतृत्व गर्नुहुने ले पेनले आफ्नो पार्टी नयाँ मन्त्रिपरिषद्मा सहभागी नहुने बताउनुभयो । 

आइतबार उहाँले म्याक्रोनसँग जनतालाई प्रत्यक्ष मतदान गर्नका लागि अध्यागमन, स्वास्थ्य हेरचाह र सुरक्षा जस्ता प्रमुख मुद्दामा जनमत सङ्ग्रह गराउन आग्रह गर्नुभयो । 

अति दक्षिणपन्थीहरूको परम्परागत गढ उत्तरी सहर हेनिन–ब्युमोन्टमा उहाँले आरएनले ‘जनतालाई प्रत्यक्ष निर्णय लिने शक्ति दिने उद्देश्यबाट कुनै पनि दृष्टिकोणलाई निःशर्त समर्थन गर्ने’ बताउनुभयो । “इम्यानुएल म्याक्रोनसँग आफैँले सिर्जना गर्नुभएको अराजकतामा हाम्रो लोकतन्त्रलाई जीवित गर्ने शक्ति छ”, उहाँले भन्नुभयो ।

आरएनलाई पूर्ण बहुमत प्राप्त गर्न र सरकार बनाउनबाट रोक्न करिब दुई सय उम्मेदवार जुलाईमा विधायिकाको आकस्मिक निर्वाचनको अन्तिम चरणअघि खडा हुँदा अति दक्षिणपन्थीहरूमा आक्रोश बढ्यो । ले पेनले बार्नियरको हरेक चालमा नजर लगाउने सङ्केत दिनुभयो । 

“यदि आगामी साताहरूमा फ्रान्सेलीहरूलाई एक पटक पुनः बिर्सियो वा उनीहरूसँग दुर्व्यवहार गरियो भने हामी सरकारको निन्दा गर्न सङ्कोच मान्दैनौँ”, उहाँले भन्नुभयो ।     पत्रकारहरूसँग कुरा गर्दै ५६ वर्षीया ले पेनले फ्रान्समा ‘एक वर्षभित्र’ नयाँ विधायिकी निर्वाचन हुने अपेक्षा गर्नुभयो । “फ्रान्सलाई स्पष्ट बहुमत आवश्यक छ भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो । 

वामपन्थी गठबन्धनले पनि अविश्वासको प्रस्तावमार्फत बार्नियरलाई सत्ताबाट हटाउने वाचा गरेको छ । वामपन्थी गठबन्धनले ३७ वर्षीया अर्थशास्त्री लुसी कास्टेट्सलाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो तर राष्ट्रपति म्याक्रोनले त्रिशङ्कु संसद्मा उहाँले विश्वासको मत हासिल नगर्ने भन्दै उक्त विचारलाई खारेज गर्नुभयो । 

पहिलो विदेश भ्रमणमा इरानका राष्ट्रपति इराक जाने

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुक इराकको भ्रमण गर्दै हुनुहुन्छ । जुलाईमा पदभार ग्रहण गरेपछि उहाँको यो पहिलो विदेश भ्रमण हुनेछ । पेजेस्कियानले वरिष्ठ इराकी अधिकारीहरूसँग भेट्न बगदादमा उच्चस्तरीय इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ ।

बगदादमा इरानका राजदूत मोहम्मद काजम अल–सदेघलाई उद्धृत गर्दै आधिकारिक आइआरएनए समाचार एजेन्सीले भ्रमण इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको निमन्त्रणामा हुन लागेको हो ।   राजदूत सदेघले दुवै मुलुकबीच सहयोग र सुरक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिनुभयो । उहाँका अनुसार इरानका दिवङ्गत राष्ट्रपति इब्राहिम रायसीको इराकको योजनाबद्ध भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुने भएको थियो । 

यद्यपि मेमा रायसीको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढोकेको पहाडमा दुुर्घटनाग्रस्त हुँदा तत्कालीन विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानसँगै उहाँको निधन भयो । 

पदभार ग्रहण गरेपछि पेजेस्कियानले इरानको छिमेकीहरूसँगको सम्बन्धलाई बलियो बनाउन ‘प्राथमिकता’ दिने वाचा गर्नुभएको थियो । पछिल्लो दुई दशकमा इरान र इराक दुवै शिया बुहल मुलुकबीचको सम्बन्ध घनिष्ठ भएको छ । 

तेहरान इराकको प्रमुख व्यापार साझेदारमध्येको एक हो र इरानले बगदादमा उसको इराकी सहयोगी संसद् र वर्तमान सरकारमाथि प्रभुत्व जमाउन पर्याप्त राजनीतिक प्रभाव राख्छ । 

तेहरानले इराकको उत्तरमा कुर्दिश विपक्षी समूहरूमाथि आक्रमण गरेको महिनौँपछि सन् २०२३ मार्चमा दुवै मुलुकले साझा सीमालाई समेट्ने सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । 

त्यसयता उनीहरू इरानी कुर्दिश विद्रोही समूहहरूलाई निशस्त्र बनाउन र उनीहरूलाई सीमावर्ती क्षेत्रहरूबाट हटाउन सहमत भएका छन् । 

इरानले ती समूहहरूमाथि इराकबाट हतियार आयात गरेको र इरानी–कुर्दिश महिला महसा अमिनीको हिरासतमा भएको मृत्यृपछि भड्किएको सन् २०२२ को विरोध प्रदर्शनलाई उक्साएको आरोप लगाएको छ । 

इरानले जनवरीमा ‘यहुदी शासन (मोसाद) का जासुसहरूले’ प्रयोग गर्ने स्थललाई निशाना बनाएको भन्दै उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा घातक आक्रमण गरेको थियो । 

शनिबार निर्वासित एउटा इरानी कुर्दिश समूहले उसको कार्यकर्ता बेहदाज खोसरावीलाई इराकको उत्तरी सहर सुलेमानियाबाट पक्राउ गरेर ‘इरानी गुप्तचर’ लाई सुम्पिएको बताएको छ । 

प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भक्तपुर, २३ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिनुभएको छ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज आयोजित कार्यक्रममा उहाँले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

“सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हँुदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ”, मन्त्री भट्टराईले भन्नुभयो ।

त्यस अवसरमा उहाँले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने छवटा महिला विद्यालयलाई सम्मान गर्नुभएको थियो । सम्मानित हुने भक्तपुरको आस्था महिला विद्यालय, काठमाडौँ चाबहिलको ज्ञानज्योति महिला विद्यालय, तीनकुनेको उत्प्रेरणा महिला विद्यालय, नयाँबजारको नमूना महिला विद्यालय र बुटबलको साधना महिला विद्यालय रहेका छन् । यस्तै, ज्ञानज्योति महिला विद्यालयबाट एसइई उत्तीर्ण गरी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत ४३ वर्षीया दिलमाया तामाङलाई केन्द्रले सम्मान गरेको छ । 

कार्यक्रममा शिक्षासचिव डा दीपक काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निमित्त महानिर्देशक जयराम अधिकारीलगायतले शुभकामना दिनुभएको थियो । दिवसका अवसरमा केन्द्र परिसरमा वृक्षरोपणसमेत गरिएको थियो ।

लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची, २३ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी पर्यटन सर्किट बनाउने योजना अगाडि सारेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत् योजना निर्माण तथा त्यसको गरेर आर्थिक स्वरोजगारमार्फत अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । “गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार सङ्ग्रहालय, रुरु क्षेत्र, रेसुङ्गा, अर्घाखाँचीको छत्रमहाराज, बल्कोट, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, रोल्पाको युद्ध सङ्ग्रहालय, रुकुम पूर्वको सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना छ”, उहाँले भन्नुभयो,“पर्यटकीय स्थल थुपै्र छन् । यहाँ भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तव्यस्थलमा पु¥याउन सकियो भने सोचेको जस्तो विकास हुनेछ । त्यसैले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटका रूपमा विकास गर्ने योजना निर्माण गरिहरको छौँ ।” साथै युवालाई उत्पादनसँग जोड्नका लागि सरकारले काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको र जिल्लाबाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका बिल मन्त्रालयमा पेस नगरिने स्पष्ट पार्नुभएको छ । फजुल खर्च रोक्न पूर्वविशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता

कास्की, २३ भदौः संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा प्रथम प्रदेशस्तरीय पुरुष खुला भलिबल प्रतियोगिता हुन लागेको हो ।

स्व नेम्वाङको प्रथम वार्षिकी पारेर प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिनुभयो । संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको गत वर्ष हृदयाघातबाट निधन भएको थियो ।

अध्यक्ष श्रेष्ठकानुसार प्रतियोगितामा सहभागी हुने टोली अनेरास्ववियुकै हुनुपर्नेछ । टोलीमा गण्डकी प्रदेशका राष्ट्रिय खेलाडी समावेश गर्न पाइने उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र उपविजेतालाई रु ७१ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले जानकारी दिनुभयो । उहाँले टोलीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नेबाहेक अन्य क्षेत्रका राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने जानकारी दिनुभयो । “अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडी राखेर टोली बनाउन सक्नेछन् । राष्ट्रिय खेलाडी भए पनि गण्डकी प्रदेशकै हुनुपर्छ । बाहिरको खेलाडी टोलीमा मिसाएर खेलाउन पाइँदैन”, क्षेत्रीले भन्नुभयो । प्रतियोगितामा भाग लिन रु सात हजार पाँच सय दर्ता शुल्क तोकिएको छ ।

राप्तीमा बेपत्तामध्ये एकजनाको शव भेटियो

चितवन, २३ भदौ : राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एकजनाको शब भेटिएको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका–२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरु बेपत्ता भएका थिए । 

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

काठमाडौँ, २३ भदौः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्‍यो । यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बिपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे ।

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बन्नुभएका बिपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उहाँको धारणा प्रष्ट हुने बताउनुभयो । उहाँले सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको भन्नुहुँदै सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गर्नुभयो । “पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बिपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ”, बिपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहनुभएका वरिष्ठ पत्रकार कमलले भन्नुभयो ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहनुभएका मदनमणि दीक्षितलाई बिपीले भन्नुभएको सरकारका गलत कामको आलोचना गरेर लेख्नु भन्ने भनाइलाई वर्तमान नेतृत्वले पनि अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो । गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बिपीको विचार रहेको पनि कोइरालाले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले बिपीलाई राजनीति, साहित्य, दर्शनलगायत विषयमा विभिन्न कार्यक्रम गर्ने गरिए पनि पत्रकारितासँग जोडेर पहिलोपटक बहस चलाएकामा खुसी व्यक्त गर्नुभयो । बिपीलाई बुझ्न उहाँले पत्रकारिता क्षेत्रलाई कसरी हेर्नुहुन्थ्यो भन्ने अध्ययन हुनु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । बिपीको सान्निध्य र प्रेरणाले नै आफू पत्रकारितामा लागेको उल्लेख गर्नुहुँदै विरहीले पत्रकारिता र पत्रकारले कसरी भूमिका निर्वाह गरेको छ भन्ने बिपीले सूक्ष्मरुपमा हेर्ने गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । “पञ्चायतकालमा बिपी भारत निर्वासनमा बस्नुहुँदा नेपालका गुप्तचर पत्रकारको भेषमा बिपीको कुरा बुझ्न र त्यहाँको अवस्था हेर्न जान्थे, तिनलाई चिनेर पनि बिपी सहज रूपमा अन्तरवार्ता दिनुहुन्थ्यो, उनीहरूलाई नि उहाँले हामीलाई जत्तिकै समान व्यवहार गर्नुभयो”, उहाँले स्मरण गर्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली प्रेस जगत्ले पहिलोपटक बिपी जयन्ती मनाएकामा खुसी व्यक्त गर्नुहुँदै पत्रकारिता क्षेत्रलाई माया गर्ने राजनीतिज्ञ चिन्न यस क्षेत्रले लामो समय लगाएको धारणा राख्नुभयो । उहाँले व्यक्ति केन्द्रित अहिलेको समाजमा भएका विषयलाई पत्रकारिताले पस्कन नसकेको अवस्था रहेको र यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “पत्रकारले समाज र देशलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, भाषाको सही प्रयोग गरेर जनचासोका विषयमा समाचार बनाउनुपर्छ, बिपीले पत्रकारिता क्षेत्रबाट गर्नुभएको अपेक्षा पनि यही हो”, उहाँले भन्नुभयो ।

युनियनका अध्यक्ष शिव लम्सालले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपीको पत्रकारिता बारेको बुझाइ, सहयोग र विविध आयामबारे उजागर गर्न प्रारम्भ गरिएकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । भदौ २४ अर्थात् बिपी जयन्तीको पूर्वसन्ध्यामा युनियनले कार्यक्रम आयोजना गरेको हो ।

कैलालीको खुटिया नदीमा डुबेर १६ वर्षीया जेनिशा बेपत्ता

कैलाली, २३ भदौः कैलालीको खुटिया नदीमा डुबेर आज एक किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१४ जी गाउँ बस्ने की १६ वर्षीया जेनिशा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिनुभयो । उहाँकानुसार धनगढी उपमहानगरपालिका–१५ र ७ को बीचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उहाँकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिउको थियो भने जेनिशा भने बेपत्ता भएकी छन । सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिशाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

गत साता पोल्टावा सहरमा भएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीन जनाको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या ५८ पुगेको युक्रेनले आइतबार बताएको छ । सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा भएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी आक्रमण थियो । उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो ।

युक्रेनी अधिकारीहरूले मृतकहरूमा कति सैनिक वा नागरिक थिए भन्नेबारेमा बताएको छैन । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भन्नुभयो, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीन जनाको अस्पतालमा मृत्यु भएको छ, मृतकको सङ्ख्या बढेर ५८ पुगेको छ ।”

उक्त आक्रमणको किएभका अन्तर्राष्ट्रिय समर्थकहरूले व्यापक आलोचना गरेका छन् । रुसले बाहिर भइरहेको सैन्य समारोहलाई लक्षित गरेको रिपोर्टहरू बाहिरिएपछि किएभमा केही आक्रोश बढेको छ ।  आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी मुलुकहरूसँग हवाई रक्षा प्रणाली प्रदान गर्न आफ्नो आह्वानलाई दोहोर्याउनुभएको छ । 

उत्तरपूर्वी इरानमा बस र ट्रक ठोक्किँदा ५५ जना घाइते

उत्तरपूर्वी इरानको खोरासान रजावी प्रान्तमा आइतबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा ५५ जना घाइते भएका छन् । सब्जेभर र नेशाबुर काउन्टीबीचको सडकमा भएको दुर्घटनाको केही समयपछि चार एम्बुलेन्स र मेडिकल कर्मचारीहरू घटनास्थलमा पठाइएको चिकित्सा सेवा विभागका निर्देशक घोलाम–अब्बास काफीले जानकारी दिनुभयो ।

   उहाँले ५० घाइते यात्रुलाई घटनास्थलमै प्राथमिक उपचार गरिएको र अन्य पाँच जनालाई प्रान्तीय राजधानी मशहदबाट दुई सय ३० किलोमिटर पश्चिममा रहेको सब्जेभरको अस्पतालमा लगिएको बताउनुभयो  ।

   प्रान्तीय ट्राफिक प्रहरी कमाण्डर होसेन मिश्मास्तले स्थानीय समयानुसार बिहान ५ बजे दुर्घटना भएको जानकारी दिनुभयो । बस इराकको तीर्थयात्राबाट अफगान यात्रुहरू बोकेर फर्किरहेको बताइएको छ ।   मिश्मास्तले बस चालकको थकान र निद्राका कारण दुर्घटना भएको आशङ्का गर्नुभयो ।  

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ ।

अर्थ समितिको आजको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५० लाखदेखि रु एक करोडसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद र रु एक करोडभन्दा माथिको बिगो भए दुई वर्षसम्म कैदको सजाय गर्ने व्यवस्था विधेयकमा राखिएको बताउनुभयो । उहाँले सजाय गर्ने र आर्थिक जरिवाना तिराउनेभन्दा पनि पैसा उठाउने विषयलाई विधेयकमा बढी प्राथमिकता दिइएको बताउनुभयो ।

कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि भुक्तानीका लागि रकम पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन”, विधेयकमा उल्लेख छ ।

चेक भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैंक तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ । यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सोको अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । त्यसरी सूचना दिएको जानकारी खुलाई बैंकले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।

“तीस दिनको म्याद समाप्त भएपछि चेक बोक्ने व्यक्तिले रकम भुक्तानी माग्दा पनि खातामा आवश्यक रकम नदेखिएमा बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको प्रमाणति गरी चेक फिर्ता दिनुपर्नेछ”, विधेयकमा भनिएको छ । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन यो कानुन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

समितिको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चेक अनादरका मुद्दा बढ्दै गएका कारण चाँडै प्रभावकारी कानुन बनाएर कार्यान्वयनमा लगिनुपर्ने बताउनुभयो । गत वर्ष साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो । तत्कालिन अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक संसद्मा दर्ता गर्नुभएको थियो । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाटसमेत बैंकिङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको थियो ।

विधेयकमार्फत् चेक अनादरसम्बन्धी बैंकिङ कसुरको जरिवानामा पनि संशोधन गर्न लागिएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा चेक अनादर भएमा बिगो भराई बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था रहेको छ । तर विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद सजाय तोक्ने व्यवस्था राखेको छ ।

पारा ओलम्पिक कास्यविजेता पलेसालाई कांग्रेसले गर्‍यो ५ लाख नगदसहित सम्मान

नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्नुभएको हो ।

कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ भने प्रशिक्षक कविराज नेगि लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महताले नगद ५० हजार प्रदान गरिएको थियो ।

त्यस्तै टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पलेशाको पदकले सबै नेपाली खुसी भएको बताउँदै उज्जवल भविष्यको कामना गर्नुभयो ।

पारालम्पिकमा प्राप्त भएको कास्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाडीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि धारणा राख्नुभयो ।

यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमा टिकाउन र आत्मनिर्भर बनाउनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाले खेल क्षेत्रमा रहेका व्यक्तिहरुको परिवार समेत मध्यनजर गरि उनीहरुको रोजगारको उपयुक्त व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

पलेशाले पारा पारालिम्पिकमा के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामो सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जित्नुभएको थियो । पारालिम्पिकमा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी समेत बन्नुभएको छ ।

अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर बिदा गरियो तीज

काठमाडौँ, २३ भदौ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । आज पनि राजधानीका नदीका मुहानस्थलमा स्नान गर्न महिलाको भीड लागेको थियो ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन्, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

यस वर्ष गत बिहीबार दर खाएर सुरु भएको तीज पर्व आज सकिएको हो । पहिलो दिन भाद्र शुक्ल द्वितीयामा छोरी, चेलीलाई घरमा बोलाएर दर खुवाइएको थियो । दोस्रो दिन भदौ २१ गते भाद्र शुक्ल तृतीयामा नीराहार व्रत बसी उमामहेश्वर पूजाआराधनासहित पारिवारिक कल्याणको कामना गरिएको थियो । तेस्रो दिन भदौ २२ गते अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन हरितालिका व्रत समापन गरी भगवान् गणेशको पूजाआराधना गरिएको थियो । आज खोला, नदी, ताल, तलाउ, पोखरीमा गई अपामार्गले स्नान गरेर अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि तीज समापन भएको हो ।

शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्छ : डा पौडेल

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व अध्यक्ष तथा अभियन्ता डा केशव पौडेलले संघका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्ने जनाएका छन्।

‘हामी शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्छ भन्नेमा छौँ । तर सर्वोच्च अदालतकोको दोस्रो फैसलाले दुई वटै कमिटीलाई अधिकार दिएको जस्तो, अलिकति कन्फ्युजन भएको जस्तो भएको छ । सबै कन्फ्युजनलाई मेट्दै एउटै संगठन र फोरम हुनुपर्छ भन्ने नै हाम्रो माग हो ।’

उनले नेपाल बसाइका क्रममा आफूहरूले विभिन्न दलका नेताहरूसँग पनि भेटेको खुलाउँदै सबैको सुझाव एनआरएनए एक भएर चल्नुपर्छ भन्ने रहेको बताए । ‘विवाद र झगडा गरेर केही हुँदैन भन्ने छ । नेपालको राजनीतिक समीकरणअनुसार अघि बढ्नुपर्छ भन्ने नेताहरूको धारणा छैन । एनआरएनए भन्ने छुट्टै संस्था हो’, उनले भने ।

गत चैत २१ गते सर्वोच्च अदालतले १० ‍औँ महाधिवेशनको वैधानिकताबारेको विवादका सन्दर्भमा फैसला गर्दै शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न आदेश दिएको थियो । साथसाथै एनआरएनएको १० औँ र ११ औँ महाधिवेशनबाट निर्वाचित कमिटी अवैध भएको ठहर पनि अदालतले गरेको थियो । तर, एक अर्को मुद्दामा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते अर्को फैसला गर्दै एनआरएनएका सीइओलाई काम गर्न खुला गरि दिएको थियो।

११ औँ महाधिवेशन पछि डा बद्री केसीले आफु निर्वाचित भएको दावी गरेका थिए भने अध्यक्षका प्रत्याशीहरू महेश श्रेष्ठ र आरके शर्माले समानान्तर समिति संचालन गर्दै आएका थिए। साउन २२ गतेको फैसलापछि केसी समूहले आफ्नो पक्ष आधिकारिक भएको दावी गर्दै आएको छ।

११ औँ महाधिवेशनबाट उपाध्यक्षमा विजयी भएपनि निर्वाचनमा धाँधली भएको दाबी गर्दै पद अस्वीकार गरेका डा केशव पौडेलले आफूहरूले अहिलेसम्म बद्री केसी नेतृत्वको कमिटी नमानेको बताए ।उनले एनआरएनएलाई सहमति, सहकार्य, एकता र सहअस्तित्वका आधारमा चलाउन आवश्यक भएको प्रतिक्रिया दिए ।

हामीले अहिलेसम्म अर्को कमिटी (केसीको नेतृत्व)लाई मानेको पनि छैन । अदालतले जुन किसिमको फरक दुई वटा निर्णय गरेको छ । त्यो निर्णयबाट एनआरएनए अभियानलाई असर परेको छ’, उनले भने, ‘आउने दिनमा चैँ फेरि अदालतले निर्णय सच्याएर पठाउनुपर्छ । हैन भने सबै मिलेर सहमति र सहकार्यका आधारमा काम गर्ने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो ।’

बलिउड अभिनेत्री दीपिका पादुकोणले जन्माइन् छोरी

बलिउड अभिनेत्री दीपिका पादुकोणले छोरीलाई जन्म दिएकी छन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको भारतिय मिडियाले उल्लेख गरेका छन् । गएको फेब्रुअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको बताएका थिए ।

। साथै उनीहरुले बच्चाका लुगा, जुत्ता र बेलुनहरुको फोटो भएको संयुक्त पोस्ट सार्वजनिक गर्दै ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिना पनि उल्लेख गरेका थिए । लामो समयको प्रेम सम्बन्ध पछि रणवीर र दिपिकाले सन् २०१८ मा विवाह गरेका थिए ।दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीलास् रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए ।

व्यथाले च्यापेपछि दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । यसअघि ६ सेप्टेम्बरमा दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । दीपिकाले यसैवर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, २३ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताउनुभएको छ । भाषा आयोगको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भाषाको प्रवर्द्धनका निम्ति कामकाजी भाषाको प्रयोग बढाइनुपर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले नेपालमा हाल भाषाको सङ्ख्या एक सय ३१ वटा पुगेको र यो सङ्ख्या अझै थपिँदै जाने उल्लेख गर्नुभयो । उहाँले ध्वनि जबसम्म लिपीका रूपमा आउँदैन तबसम्म लोप हुन सक्ने धारणा राख्नुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “भाषाको प्रवर्द्धन महत्वपूर्ण छ । व्यक्तिले आफ्नो मातृभाषा कामकाज तथा सम्पर्क स्थापित गर्ने अवसर पाउनुपर्छ ।”

उहाँले आफूले जिम्मेवारीमा आएपछि हालसम्म मन्त्रालयको बारेमा बुझिसकेको र अब सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालय मातहतको संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुधारेर यसप्रतिको विश्वास अभिवृद्धिमा सक्रिय हुने उहाँको भनाइ थियो । मन्त्री पाण्डेले आफूले सत्य र निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्नुहुँदै मन्त्रालयमा भएका बेथितिलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

चितवन, २३ भदौः राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भन्नुभयो, “नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।”

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।

टेकुको ऋषेश्वर मन्दिरमा सप्तऋषिको पूजा गर्न भक्तजनको घुइँचो

काठमाडौँ, २३ भदौः टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन ओइरिएका छन् ।

नदी, खोला र पोखरीमा गई दतिवनले दाँत माझेर महिलाले अरुणन्धतिसहित सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नि, गौतम र विश्वामित्रको पूजा गर्ने प्रचलन छ । माकुरीसहित सप्तर्षिको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ ।

काठमाडौँ महानगरपालिका–१२ वडाले गए राति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो । महिला भक्तजनको सुरक्षा, भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोली खटिएका छन् । महानगरपालिका–१२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडकबत्तीको प्रबन्धलगायत कार्य सम्पन्न गरेको जनाएको छ ।

महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिटो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गरिएको साथै अशक्त तथा वृद्धवृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य सङ्ख्यामा सहभागिता छ । रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले भक्तजनलाई सहयोग गरेका छ्न् । प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविरको व्यवस्था गरिएको छ ।

मन्दिर परिसर बाहिरी भागमा त्यहाँ आउने भक्तजन आकस्मिक बिरामी भएमा उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ । मन्दिर आसपासमा सञ्चालन हुने सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएकाले टेकुबाट कुलेश्वर र सानेपातर्फ प्रस्थान गर्ने सवारीसाधनलाई निषेध गरिएको छ । मन्दिर परिसरमा भक्तजनले आ–आफ्नो समूह बनाएर नाचगान पनि गरिरहेका छन् ।

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ, २३ भदौः सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।

सरकारको रु ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।

आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेवबँेसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मङ्सिरमा सक्नेगरी २०७४ असार २१ मा सम्झौता गरेको थियो । दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटकपटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो ।

खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीयले पेयजल प्राप्तिमा दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिकभार बेहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । “ठेकेदार कम्पनीले चारपटक म्याद थप गराइसकेको छ । ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ”, उहाँले भन्नुभयो, “ यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ । यसमध्ये एक नम्बर ‘प्याकेज’को ‘मेनलाइन’को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ । आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ । उक्त आयोजनाअन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ ।

दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । शाखा लाइन विस्तारको ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन् ।

लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार चार सय नौ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन । भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताउनुभयो ।

लामा कन्स्ट्रक्सनले रु ३७ करोड ९३ लाखको लागतमा २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीनवटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो ।

यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो । रु २६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्याङ्की, डिसी÷डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो । निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन् ।

आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिनुभयो ।

आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुलकुमारलाल दासले जानकारी दिनुभयो । अहिले वर्षाकाल भएकाले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “दसैँअघि मेनलाइनको काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ । ”

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत, रमेश उप्रेतीदेखि प्रकाश सपुतसम्मको अभिनय

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्।


गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई सहित मेलिना राई बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।रमेश उप्रेती, रमेश उप्रेती प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ।
त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन रहेको छ।

‘यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ, गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्,’ ‘यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।’

‘पूर्ण बहादुरको सारङ्गी’: विजय बराल भन्छन्– चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ

काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक हुनबित्तिकै धेरैले सामाजिक सञ्जालमा टिजरले मन छोयो भन्दै सेयर गरे ।चलचित्रकर्मी र आम दशर्कले टिजरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको चलचित्रमा थप मेहनत गर्ने उत्साह पलाएको बताएका छन् । सँगै उनीहरूले चुनौती र जिम्मेवारी थपिएको महसुस पनि गरेका छन् ।

चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, “यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा उर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ ।”

दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन् । आफूले ‘पूर्ण बहादुरको सारङ्गीमा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए ।

“मलाई टिजरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ,” उनी भन्छन्, “मलाई धेरैले व्यक्तिगत रुपमा र कमेन्ट गर्दा त्यही प्रतिक्रिया आइरहेको छ । टिजर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइदिनु भएको छ ।”

कलाकारका लागि यही माया र विश्वास नै सबैभन्दा ठूलो उपलब्धी र सम्पत्ति भएको उनको भनाइ छ ।

“चलचित्रको टिजर रिलिज भएपछि, हामीले सामाजिक सञ्जाल, युट्युबका कमेन्ट र व्यक्तिगत सन्देशहरूमा उत्कृष्ट प्रतिक्रिया पाएका छौँ,” निर्माता प्याट्रिक सुवेदीले भने, “धेरै दर्शकले नेपाली चलचित्र प्रायः आमाको संघर्ष देखाउन केन्द्रित हुने तर बुवाछोराको सम्बन्धलाई ठूला पर्दामा विरलै देखाइने गरेको बताइरहेका छन् । सिनेमाको यो आइडियालाई पनि मन पराइरहनु भएको छ ।”

उनले कमेन्टमा दर्शकले टिजरले मन छोयो भनेर लेखेको भन्दै अब चलचित्र पनि त्यस्तै मन छुने बन्ने बताए । “धेरैले गीतका शब्दहरूलाई निकै माया गरेको पाएका छौँ । हजारौँ दर्शकले यो टिजरलाई बुवाको दिनको उपहारको रूपमा सेयर गर्नु भएको छ,” उनले भने, “अब चलचित्र नै बुवालाई छोराछोरीले बुवालाई समपर्ण गर्नेगरी बनाइरहेका छौँ ।” दर्शकले टिजर हेरेर गरेको भरोसालाई पूरा गर्न आफूहरू प्रयत्नशील रहेको उनले बताए ।

निर्माता विनोद पौडेलले टिजरले चलचित्रप्रति आशा र अपेक्षा दुवै बढाएको बताए । यो अपेक्षालाई अब जसरी पनि पूरा गर्नु आफूहरूको दायित्व भएको उनको भनाइ छ ।

“टिजर आएपछि यति धेरै माया पाइयो, सायद हामीले टिजरबाटै यति धेरै अपेक्षा गरेका थिएनौँ होला । टिजरले चलचित्रप्रति धेरै दर्शकको आशा बढेको छ,” विनोद दर्शकलाई आश्वस्थ पार्दै भन्छन्, “तर चलचित्रको कन्टेन्ट बलियो भएका कारण हामी दर्शकको आशा चलचित्रबाट पूरा हुनेमा ढुक्क छौँ ।” आफूहरूले गरेको मेहनतको प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

निर्देशक सरोज पौडेलले दर्शकको प्रतिक्रियाले थप मेहनत गर्ने उर्जा भरेको बताएका छन् । उनले यो प्रतिक्रियालाई आफूले मायाभन्दा पनि चुनौतीका रूपमा लिएको बताए ।

“हामीले चलचित्रमा जे कुरा भन्दैछौँ र टिजरमा जे देखायौँ वास्तवमा यो हामी आम निम्न मध्यमबर्गीय परिवारका नेपालीको कथा हो,” निर्देशक पौडेलले भने, “त्यसैले धेरैलाई आफ्नै कथाजस्तो लागेर मन पर्यो होला, कतिले आफ्नै टोल छिमेकमा देखेको विषय र घटना भएर मन पर्यो होला ।”

आफूहरूले आफ्नै गाउँ ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन भइरहेको रुपमा आफूले यसलाई लिएको पौडेलले बताए ।सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो । चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ ।

‘प्रविधि पूजा’ गर्दै चलचित्र ‘बलिदान’को छायाङ्कन शुभारम्भ, निर्देशक भन्छन्, ‘बलिदानको बिगुल’ फुक्यौँ

इटहरी। छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’सँगै शुभारम्भ गरिएको छ। हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ।

शनिवार मोरङको इटहरीमा चलचित्रको पहिलो शट लिइने छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहनेछ। निर्देशक सन्तोष सेनका अनुसार, केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारहरूको छायाङ्कन सुरु हुनेछ।

“बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज अनुसन्धान, र सिर्जनासँगै प्री-प्रोडक्सनमा गरिएको सम्पूर्ण तपस्यापछि आज प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा प्रवेश गरेका छौँ। भारतका प्रख्यात प्राविधिकहरू र नेपालका सम्पूर्ण प्राविधिक तथा कला डिपार्टमेन्टका सदस्यहरूलाई एकत्रित गर्दै हरितालिका तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै ‘बलिदानको बिगुल’ फुकेका छौँ,” पूजापछि निर्देशक सेनले भने, “पर्दापछाडि बसेर स्मार्ट तरिकाले काम गर्ने प्राविधिक र प्रविधिलाई हामीले सधैँ ‘रियल हिरो’ मान्छौँ, त्यसैले सर्वप्रथम प्रविधिको पूजा गरेर हामीले यो यात्रा सुरु गरेका हौँ।”

चलचित्रको कथा नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित छ। निर्देशक सेनले यस चलचित्रलाई ‘महाकथा’ का रूपमा चित्रण गर्दै यो प्रोजेक्टका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन्।

‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्नेछ। चलचित्रमा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो। छायाङ्कनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि सेट निर्माण भएको छ। करिब ६० प्रतिशत छायाङ्कन स्टुडियोमै हुने निर्देशक सेनले जानकारी दिएका छन्।

चलचित्रमा प्रमुख भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट रहेका छन्, जसले मुम्बईमा लामो समयदेखि अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका छन्। साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ।आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन्।

बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु

नेपालगञ्ज (बाँके) २३ भदौः जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

“परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उहाँले भन्नुभयो । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताउनुभयो ।

कर्णाली राजमार्ग पुनः अवरुद्ध , सवारीसाधनका यात्री अलपत्रमा

जुम्ला, २३ भदौः कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।