`

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत, रमेश उप्रेतीदेखि प्रकाश सपुतसम्मको अभिनय

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्।


गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई सहित मेलिना राई बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।रमेश उप्रेती, रमेश उप्रेती प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ।
त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन रहेको छ।

‘यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ, गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्,’ ‘यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।’

‘पूर्ण बहादुरको सारङ्गी’: विजय बराल भन्छन्– चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ

काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक हुनबित्तिकै धेरैले सामाजिक सञ्जालमा टिजरले मन छोयो भन्दै सेयर गरे ।चलचित्रकर्मी र आम दशर्कले टिजरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको चलचित्रमा थप मेहनत गर्ने उत्साह पलाएको बताएका छन् । सँगै उनीहरूले चुनौती र जिम्मेवारी थपिएको महसुस पनि गरेका छन् ।

चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, “यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा उर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ ।”

दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन् । आफूले ‘पूर्ण बहादुरको सारङ्गीमा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए ।

“मलाई टिजरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ,” उनी भन्छन्, “मलाई धेरैले व्यक्तिगत रुपमा र कमेन्ट गर्दा त्यही प्रतिक्रिया आइरहेको छ । टिजर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइदिनु भएको छ ।”

कलाकारका लागि यही माया र विश्वास नै सबैभन्दा ठूलो उपलब्धी र सम्पत्ति भएको उनको भनाइ छ ।

“चलचित्रको टिजर रिलिज भएपछि, हामीले सामाजिक सञ्जाल, युट्युबका कमेन्ट र व्यक्तिगत सन्देशहरूमा उत्कृष्ट प्रतिक्रिया पाएका छौँ,” निर्माता प्याट्रिक सुवेदीले भने, “धेरै दर्शकले नेपाली चलचित्र प्रायः आमाको संघर्ष देखाउन केन्द्रित हुने तर बुवाछोराको सम्बन्धलाई ठूला पर्दामा विरलै देखाइने गरेको बताइरहेका छन् । सिनेमाको यो आइडियालाई पनि मन पराइरहनु भएको छ ।”

उनले कमेन्टमा दर्शकले टिजरले मन छोयो भनेर लेखेको भन्दै अब चलचित्र पनि त्यस्तै मन छुने बन्ने बताए । “धेरैले गीतका शब्दहरूलाई निकै माया गरेको पाएका छौँ । हजारौँ दर्शकले यो टिजरलाई बुवाको दिनको उपहारको रूपमा सेयर गर्नु भएको छ,” उनले भने, “अब चलचित्र नै बुवालाई छोराछोरीले बुवालाई समपर्ण गर्नेगरी बनाइरहेका छौँ ।” दर्शकले टिजर हेरेर गरेको भरोसालाई पूरा गर्न आफूहरू प्रयत्नशील रहेको उनले बताए ।

निर्माता विनोद पौडेलले टिजरले चलचित्रप्रति आशा र अपेक्षा दुवै बढाएको बताए । यो अपेक्षालाई अब जसरी पनि पूरा गर्नु आफूहरूको दायित्व भएको उनको भनाइ छ ।

“टिजर आएपछि यति धेरै माया पाइयो, सायद हामीले टिजरबाटै यति धेरै अपेक्षा गरेका थिएनौँ होला । टिजरले चलचित्रप्रति धेरै दर्शकको आशा बढेको छ,” विनोद दर्शकलाई आश्वस्थ पार्दै भन्छन्, “तर चलचित्रको कन्टेन्ट बलियो भएका कारण हामी दर्शकको आशा चलचित्रबाट पूरा हुनेमा ढुक्क छौँ ।” आफूहरूले गरेको मेहनतको प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

निर्देशक सरोज पौडेलले दर्शकको प्रतिक्रियाले थप मेहनत गर्ने उर्जा भरेको बताएका छन् । उनले यो प्रतिक्रियालाई आफूले मायाभन्दा पनि चुनौतीका रूपमा लिएको बताए ।

“हामीले चलचित्रमा जे कुरा भन्दैछौँ र टिजरमा जे देखायौँ वास्तवमा यो हामी आम निम्न मध्यमबर्गीय परिवारका नेपालीको कथा हो,” निर्देशक पौडेलले भने, “त्यसैले धेरैलाई आफ्नै कथाजस्तो लागेर मन पर्यो होला, कतिले आफ्नै टोल छिमेकमा देखेको विषय र घटना भएर मन पर्यो होला ।”

आफूहरूले आफ्नै गाउँ ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन भइरहेको रुपमा आफूले यसलाई लिएको पौडेलले बताए ।सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो । चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ ।

‘प्रविधि पूजा’ गर्दै चलचित्र ‘बलिदान’को छायाङ्कन शुभारम्भ, निर्देशक भन्छन्, ‘बलिदानको बिगुल’ फुक्यौँ

इटहरी। छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’सँगै शुभारम्भ गरिएको छ। हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ।

शनिवार मोरङको इटहरीमा चलचित्रको पहिलो शट लिइने छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहनेछ। निर्देशक सन्तोष सेनका अनुसार, केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारहरूको छायाङ्कन सुरु हुनेछ।

“बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज अनुसन्धान, र सिर्जनासँगै प्री-प्रोडक्सनमा गरिएको सम्पूर्ण तपस्यापछि आज प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा प्रवेश गरेका छौँ। भारतका प्रख्यात प्राविधिकहरू र नेपालका सम्पूर्ण प्राविधिक तथा कला डिपार्टमेन्टका सदस्यहरूलाई एकत्रित गर्दै हरितालिका तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै ‘बलिदानको बिगुल’ फुकेका छौँ,” पूजापछि निर्देशक सेनले भने, “पर्दापछाडि बसेर स्मार्ट तरिकाले काम गर्ने प्राविधिक र प्रविधिलाई हामीले सधैँ ‘रियल हिरो’ मान्छौँ, त्यसैले सर्वप्रथम प्रविधिको पूजा गरेर हामीले यो यात्रा सुरु गरेका हौँ।”

चलचित्रको कथा नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित छ। निर्देशक सेनले यस चलचित्रलाई ‘महाकथा’ का रूपमा चित्रण गर्दै यो प्रोजेक्टका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन्।

‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्नेछ। चलचित्रमा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो। छायाङ्कनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि सेट निर्माण भएको छ। करिब ६० प्रतिशत छायाङ्कन स्टुडियोमै हुने निर्देशक सेनले जानकारी दिएका छन्।

चलचित्रमा प्रमुख भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट रहेका छन्, जसले मुम्बईमा लामो समयदेखि अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका छन्। साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ।आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन्।

बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु

नेपालगञ्ज (बाँके) २३ भदौः जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

“परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उहाँले भन्नुभयो । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताउनुभयो ।

कर्णाली राजमार्ग पुनः अवरुद्ध , सवारीसाधनका यात्री अलपत्रमा

जुम्ला, २३ भदौः कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

थारू समुदायको अटवारी पर्वः दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

घोडाघोडी (कैलाली), २३ भदौः पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिनुभयो ।

अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ । नगरप्रमुख चौधरीका अनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । अटवारीको तयारी शनिबारसम्ममा पूरा हुनुपर्ने थारू अगुवा पञ्चराम चौधरी बताउनुहुन्छ । शनिबारको राति भिन्सर्या (दर भात) खाने चलन छ । आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।

अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताउनुभयो । दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दार्शाउने विशेष अवसर नै अटवारी हो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिइने गरेको उहाँले बताउनुभयो ।

भोदी खेलको संरक्षणमा जुट्दै बर्दघाट सुस्तापूर्वका थारू समुदाय

मध्यविन्दु (नवलपरासी), २३ भदौ : बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।

नवलपरासीसहित तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रो फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थारू कल्याण कारिणीसभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले बताउनुभयो ।

“अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवान्को उपासनासँगै भोदी खेल खेल्ने चलन जिल्लामा २०५२ सालदेखि सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला, संस्कृति र परम्परासमेत उजागर भएको छ ।”

इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको अध्यक्ष महतोले बताउनुभयो ।

“भोदी खेलमा एक समूहमा १० जना हुने गर्छन्, भुइँमा नौवटा लट्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लट्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लट्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”, उहाँले भन्नुभयो ।

भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका थारू महिला अगुवा ओमकुमारी महतोले बताउनुभयो । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उहाँले बताउनुभयो ।

“यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्छन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ”, उहाँले भन्नुभयो । भाद्र चतुर्दशीमा मनाइने अनतपर्व १८२५ सालदेखि मनाउन थालिएको बताइन्छ । तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस खेलको महत्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन थारू समुदायको बाहुल्यता रहेको गाउँहरूमा प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता आयोजना गरिन्छ ।

दाउराको मूल्य बढेपछि माटाका भाँडा बनाउन छाड्दै प्रजापति समुदाय

बर्दघाट सुस्तापश्चिम (नवलपरासी), २३ भदौ : नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् ।

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताउनुभयो । पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने र बिक्री गर्ने कार्यलाई मुख्य व्यवसाय बनाएका थिए । पूजाआजामा बढी प्रयोग हुने भएपछि माटाका भाँडा बनाउने तथा ग्राहकको घरघरमा पुुर्याउने गर्दैआएका थिए । दाउराको मूल्य बढेपछि माटाका भाँडा पकाउन असहज भएको उनीहरुको भनाइ छ । घाटा बेहोर्नु परेको भन्दै अहिले उनीहरूले यसको व्यापार छाडेको वडाध्यक्ष त्रिपाठीले बताउनुभयो ।

विद्युुतीय बत्तीको प्रयोगले माटाका दियो र भाँडाको प्रयोगलाई विस्थापित गरेपछि उक्त काम छाडेर वैदेशिक रोजगार तथा अन्य काममा लाग्नुपरेको पाल्हीनन्दन‐५ का ७४ वर्षीय भिखन प्रजापतिले बताउनुभयो । उहाँका अनुसार माटाको दियो तथा भाँडा पकाउने दाउराको मूल्य बढेपछि घाटा बेहोर्नु परेकाले स्थानीय माटाका भाँडा बनाउने काम छाडेर अरु काममा लागेका छन् ।

केही वर्ष पहिला पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुुदानमा भाँडा बनाउने प्रजापति समुदायलाई आठ मेसिन वितरण गरेको थियो । दिपावली र छठ पूजामा बढीजसो माटाका दियो प्रयोग गर्ने चलन छ । अन्य बेला पनि पूजाआजा तथा घरायसी प्रयोजनका लागि यसको प्रयोग गरिन्छ । स्थानीय तहले माछापालनका लागि पोखरी ठेक्कामा दिएको र ठेकेदारले पोखरीमा पानी भरेपछि आफूहरूलाई माटो झिक्न नमिल्ने भएपछि प्रजापति समुदायलाई माटाका भाँडा बनाउन समस्या भएको छ । माटाका भाँडा बनाउन स्थानीय तहले केही प्रतिशत छुुटमा वन कार्यालयबाट दाउरा उपलब्ध गराए पनि यो प्रर्याप्त नभएको सो समुदायको गुनासो छ ।

एक करोड लागतमा बागलुङ नगरपालिकामा फोहर व्यवस्थापनको काम धमाधम

गलकोट (बागलुङ), २३ भदौः बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ ।

‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ । नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहर सङ्कलन गर्ने तीनथरि रङका बाल्टी वितरण गर्न थालेको छभने सोही रङकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहरको छुट्टाछुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

आज तीनवटा प्रदेशमा प्रदेशमा भारी वर्षा

काठमाडौँ, २३ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

आसियानद्वारा हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन विकसित र विकासोन्मुख देशलाई आह्वान गरेको छ ।

इन्डोनेसियाको जकार्तामा बिहीबारदेखि शुक्रबारसम्म आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगोपन सम्मेलन (आईएसएफ) को पहिलो दिनमा यो प्रतिबद्धता गरिएको थियो । सम्मेलनमा विश्व नेता, निर्णय निर्माता, सीईओहरू र विशेषज्ञहरूको सहभागिता रहेको थियो ।

इन्डोनेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अर्सजाद रसजिदले सम्मेलनलाई सम्बोधन गर्दै दक्षिणपूर्वी एसियामा नवीकरणीय उर्जा र प्राकृतिक स्रोतको ठूलो सम्भावना भएकोले बताउनुभयो । “आसियानसँग हरित अर्थतन्त्र र ऊर्जा क्षेत्रहरूमा अगुवा बन्ने क्षमता छ”,रसजिदले भन्नुभयो , “यसका लागि विकासोन्मुख मुलुकलाई विकासशील मुलुकसँगको सहकार्य आवश्यक छ ।”

लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार र धेरै फसेको आशङ्का

लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु, २८ जनालाई उद्धार र धेरै जना फसेका छन् ।लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । “हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नी नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्,” लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले एएनआइलाई भन्नुभयो ।

प्रमुख अग्नी नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशङ्का गरिएको बताउनुभयो । “अझै धेरै मानिसहरू फसेको भनिएको छ । फसेकाहरुको यकिन सङ्ख्या थाहा हुन सकेको छैन,” कुमारले भन्नुभयो ।

अलपत्र परेकाहरुको उद्धार कार्य जारी रहेको छ । दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको छ । थप विवरणहरू आउन बाँकी छन् ।

बेलायती प्रधानमन्त्री स्टारमर डब्लिनको ‘ऐतिहासिक’ भ्रमणमा

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उदेश्यले बेलायतका प्रधानमन्त्री कीर स्टारमरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गर्नुभएको छ ।
यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्याण्ड भ्रमण हो ।

डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई “संयुक्त राह्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण” भनेर वर्णन गरेको छ । आयरल्याण्डका समकक्षी साइमन ह्यारिसले स्टारमरलाई डब्लिनमा स्वागत गर्नुभएको छ । “यो भ्रमणले बेलायत र आयरल्यान्डबीचको सहयोग र मित्रताको नयाँ युगलाई चिह्नित गर्दछ”, स्टारमरको कार्यालयले आयरल्यान्ड भ्रमण घोषणा गर्दै एक विज्ञप्तिमा भन्यो ।

युके–आयरल्यान्ड सम्बन्ध “कहिले पनि आफ्नो पूर्ण क्षमतामा पुगेको छैन र म यसलाई परिवर्तन गर्न चाहन्छु”, डाउनिङ स्ट्रीटले जारी गरेको टिप्पणीमा स्टारमरले भन्नुभयो ।
बेलायतीहरूले सन् २०१६ मा एउटा ऐतिहासिक जनमतसंग्रहमा युरोपेली सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेका थिए र वर्षौँको राजनीतिक विभाजन र गतिरोधपछि अन्ततः सन् २०२० मा देश युरोपेली सङ्घबाट बाहिरिएको थियो। कन्जर्भेटिभ पूर्व प्रधानमन्त्री बोरिस जोनसनको यो कदमलाई आयरल्यान्ड र उत्तरी आयरल्यान्डको ब्रिटिश प्रान्त बीचको सम्बन्धलाई अस्थिर पारेको भन्दै आलोचना गरिएको थियो ।

शनिबारको भ्रमणका क्रममा दुई देशका नेताहरुले ’गुड फ्राइडे सम्झौता, सन् १९९८ मा भएको ऐतिहासिक शान्ति सम्झौता र उत्तरी आयरल्यान्डमा मेलमिलापका लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ ।

गैँडाको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

गुलरिया (बर्दिया-बर्दियाको मधुवन नगरपालिकाको सूर्यपटुवास्थित शिव सामुदायिक वनको डल्लामा शुक्रबार एकसिङ्गे गैँडाको आक्रमणबाट ज्यान गुमाएका प्रकृति पथप्रर्दशक (नेचर गाइड) मनमोहन चौधरीको परिवारलाई जीविकोपार्जनवापतको सहयोग रकम उपलब्ध गराइएको छ । मृतक चौधरीको घरमै पुगी रु ५० हजार सहयोग हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय प्रकृृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी)ले डिभिजन वन कार्यालय बर्दियामार्फत मृतक चौधरीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत टङ्कबहादुर गुरुङले जानकारी दिनुभयो । केही दिनभित्र लुम्बिनी प्रदेश सरकारले ‘पीडितसँग प्रदेश सरकार’ कार्यक्रमअन्तर्गत रु एक लाख राहत हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

मृतकका परिवारलाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको राष्ट्रिय प्रकृृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी)का संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताउनुभयो । वन्यजन्तुबाट ज्यान गुमाउने मृतकका परिवारलाई एनटीएनसीले जीविकोपार्जनवापत सहयोग गर्दैआएको छ ।

शुक्रबार मधुवन नगरपालिका–१ स्थित डल्ला सामुदायिक वनमा विदेशी पर्यटकलाई वन्यजन्तु अवलोकन गराउने क्रममा एकसिङ्गे गैँडाले पर्यटकलाई आक्रमण गरेपछि बचाउने क्रममा ठाकुरबाबा नगरपालिका–९ का ३५ वर्षीय नेचर गाइड चौधरीको घटनास्थलमै ज्यान गएको थियो । गैँडाको आक्रमणबाट अमेरिकी नागरिक ५६ वर्षीय एमसी लेनडन शावन घाइते भएका थिए । घटनास्थल भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने जैविकमार्गमा पर्छ ।

भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम ५१ दिनपछि पुनः सुरु

दमौली (तनहुँ), २३ भदौः भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।

संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ ।

गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो । यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई वटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् ।

आयोजनाको एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छभने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन् ।

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

म्याग्दी, २३ भदौ : कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू ।

यी दृश्यहरू मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङगाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको सङ्गम हो । बीच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर बर्सेनि लाखौँ पर्यटक मुस्ताङ ओहोरदोहोर गर्छन् । जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङगाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीयवासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडासदस्य वीरप्रसाद थकालीले सुनाउनुभयो ।

“धेरै पर्यटक सिधैँ मुक्तिनाथ पुगेर फर्किन्छन्”, उहाँले भन्नुभयो, “घुम्न र हेर्नलायक धेरै ठाउँ भए पनि ओझेलमा परेको स्याङ गाउँमा जोमसोम र मुक्तिनाथ आउने पाहुनालाई भित्र्याउने प्रयास थालेका छौँ ।” आठवटा घरमा घरबास सञ्चालन भएको स्याङ गाउँमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङफोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताउनुभयो । थकाली खानाको परिकार देशविदेशमा प्रसिद्ध छ ।

अल्पसङ्ख्यक जातिमा सूचीकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् । स्याङवासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालीमा भरसक आफ्नै भाषा प्रयोग गर्छन् । एक सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ । गाउँको डिलमा रहेको उद्यानमा रातो (रेड डेलिसियस) र पहेँलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ । सँगै बौद्ध धर्मगुरु रिम्पोचेको सालिक र जङ्गली जनावर नाउरको पनि प्रतिमा छ । सालिक र प्रतिमाको पृष्ठभूमिमा निलगिरि हिमाल, जोमसोम, ठिनी, धुम्बा, मार्फाबजार र स्याउबारी देखिन्छ । उद्यानलाई स्थानीयवासीले ‘मानशान्ति पार्क’को नाम दिएका छन् ।

सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भए पनि प्रचारप्रसारको कमीले स्याङ गाउँ ओझेलमा परेको ठहर गरेका स्थानीयवासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । हरेक वर्षको साउनमा लाग्ने खिला मेलालाई उनीहरुले संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् । घरपझोङ गाउँपालिकाले स्याङ र जोमसोम बजार जोड्ने पदमार्गको परिकल्पना गरेर किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल बनाएको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो ।

जोमसोमबाट सिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हँुदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाइ लम्ब्याउने र उनीहरूलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने विश्वास वडाध्यक्ष थकालीको छ । स्याङखोलाको किनारमा रहेको कैह्योलोङ गुफा पनि अर्को आकर्षण हो । थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ ।

गुफाभित्र तीनवटा खाना पकाउने, ध्यान बस्ने, सामान राख्ने कोठा छन् । सो गुफामा परापूर्वकालमा लामा ध्यान बस्ने गरेका स्थानीयवासी बताउँछन् । स्याङका पूर्व वडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेहरूका लागि खोजको विषय बन्न सक्ने बताउनुभयो । स्याङखोलाको मोटरेबल पुलबाट १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ । जनकल्याण युवा क्लबले स्याङखोलाको किनारबाट गुफासम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाएको छ ।

तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी गर्दै कञ्चनपुरका वीरबहादुर

वेदकोट (कञ्चनपुर), २३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । सुरुआतमा उहाँ घरमा खानलाई मात्र तरकारीखेती गर्नुहुन्थ्यो ।

तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुट्नुभएको हो । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उहाँ सुनाउनुहुन्छ । “घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ”, खड्काले भन्नुभयो, “धान, गहुँखेती कम गरिन्छ । तरकारीखेतीमै लागिएको छ ।”

उर्वर भूमिमा धानका बाला लटम्म झुलेका छन् । धानबाली काटेर तरकारी लगाउने तयारी छ । चार कट्ठामा लगाइएको तरकारीका बेर्ना तयार भएका छन् । तरकारीको बेर्ना पनि बिक्री गर्ने गरेको खड्का बताउनुहुन्छ । उहाँको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्च चलेको छ । तरकारीखेतीमा करिब रु सात लाख लगानी लाग्ने गरेको छ ।

“मल, बीउबिजन, सिँचाइलगायतमा वार्षिक लगानी कटाएर रु १५ लाख बचत हुन्छ”, खड्का भन्नुहुन्छ, “तरकारी बिक्रीका लागि सदरमुकाम महेन्द्रनगर लैजाने गरेका छौँ ।”

तरकारीखेतीमा परिवारका सदस्य सबै जुट्ने गरेका छन् । भारतमा काम गर्ने वीरबहादुरका जेठा छोरा उमेश पनि अहिले गाउँमै बुबालाई खेतीमा सघाउँदै आएका छन् । “कोरोना महामारीका समयमा भारतबाट फर्किए, त्यसपछि भारत गएको छैन”, उमेशले भन्नुभयो, “तरकारी खेतीमा बुबालाई सघाएरै भारतमा कमाउनेभन्दा बढी पैसा कमाइ हुन्छ ।”

भारतबाट आयात हुने तरकारीका कारण आफूहरूको उत्पादनले सोचेजस्तो मूल्य नपाएको खड्का परिवारको गुनासो छ । भारतबाट आउने तरकारी बजारमा छ्यापछ्याप्ती हुँदा स्वदेशी उत्पादनले बजार पाउन मुस्किल भएको छ । “विषादी प्रयोग गरिएको तरकारी छिट्टै तयार भएर सस्तोमै बजारमा आउँछ । त्यसले स्वदेशको अग्र्यानिक ताजा तरकारीले मूल्य पाउँदैन”, उहाँले भन्नुभयो, “तरकारी सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”

वीरबहादुरको परिवार आलु, प्याज, भन्टा, खुर्सानी, बैगनलगायत तरकारी उत्पादनमा व्यस्त छ । सरकारले बर्सेनि कृषिमा अनुदान दिने गरेको भए पनि आफूहरूले अहिलेसम्म अनुदान नपाएको उहाँको गुनासो छ । “यत्रो समयदेखि तरकारीखेती गरिरहेको छु । अहिलेसम्म पनि अनुदान पाएको छैन”, खड्काले भन्नुभयो ।

प्रधानमन्त्री ओलीद्धारा अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना

काठमाडौँ, २३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता÷आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो । साक्षरता कार्यक्रम सञ्चालनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबैको एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो ।

गरिबीका कारणले तराई र दुुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुआत गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट ‘ड्रपआउट’ हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धिका रूपमा अथ्र्याउनुभयो ।

“विश्व अहिले सूचना प्रविधिको युुगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घसंस्थालगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबै दृढताका साथ लाग्नुपर्छ ।”

सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हँुदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताउनुभयो । “गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्न आह्वान गर्दछुु”, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

सप्त ऋषिको पूजा आराधना गरी आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, २३ भदौ : ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको प्रा डा भट्टराईले बताउनुभयो ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

ऋषिपञ्चमीको पृष्ठभूमि

महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा भगवान इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो ।

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले बताउनुभयो ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी–नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।

रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।

सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार सात सय ७१ जना भाषा परीक्षामा सहभागी भएका छन् ।

एक लाख बढीले पाए रोजगारी

इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सङ्ख्या लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताउँछिन् ।

इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् । अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउँछिन् । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो ।

अन्य रोजगार गन्तव्यका तुलनामा दक्षिण कोरियामा अनधिकृत रूपमा बस्ने नेपाली श्रमिकको सङ्ख्या न्यून छ । दक्षिण कोरियामा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबाट नेपालले अन्य गन्तव्यका तुलनामा कम सामाजिक मूल्य चुकाउनुपरेको छ । दक्षिण कोरियाले भाषा परीक्षा, रोजगारीबाट फर्केर कम्प्युटर सीप परीक्षा पास गरेका (सिबिटी) र कम्पनी परिवर्तन नगरी पूरा अवधि काम गरी पुनः सोही कम्पनीमा जाने (कमिटेड) गरी तीन वर्गमा नेपाली श्रमिक लैजाँदै आएको छ ।

इपिएसबाट रोजगारीका लागि दक्षिण कोरिया जान प्रत्येक श्रमिकले परीक्षा, स्वास्थ्य परीक्षण, आवेदन फारम दर्ता, प्रवेशाज्ञा, बीमा, हवाई टिकट र प्रारम्भिक तालिमलगायत शीर्षकमा करिब एक हजार तीन सय ५० अमेरिकी डलर तिर्नुपर्छ । दक्षिण कोरिया रोजगारीमा रहेका श्रमिकले चार वर्ष १० महिना काम गर्न पाउँछन् । सो अवधि पूरा गरेपछि उनीहरु अनिवार्य रूपमा स्वदेश फर्कनुपर्छ ।

दक्षिण कोरियाले सुरुआती चरणमा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाने गरेको भए पनि पछिल्ला दिनमा रोजगारीका क्षेत्र फराकिलो बनाउँदै लगेको निर्देशक कँडेल बताउँछिन् । हाल दक्षिण कोरियाले पानी जहाजसम्बन्धी क्षेत्रमा पनि नेपाली श्रमिक लैजान थालेको छ भने वन तथा सेवा क्षेत्र पनि विस्तार गर्ने जानकारी गराएको छ ।

इपिएस प्रणालीका चुनौती

भाषा परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन बुझाएर रोष्टरमा रहेका युवालाई दक्षिण कोरियामा रोजगारीको प्रबन्ध मिलाउन चुनौती देखिएको छ । इपिएस कोरिया शाखाका अनुसार सन् २०२२ देखि हालसम्म ४२ हजार ५९ जना रोष्टरमा रहेकामा १८ हजार २० जनामात्र रोजगारदाताको छनोटमा पर्न सफल भएका छन् । भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षभित्र दक्षिण कोरिया जान नपाएमा पुनः भाषा परीक्षा पास गर्नुपर्ने व्यवस्था छ । बाँकी २४ हजार ३९ जना हालसम्म पनि रोजगारदाताको छनोटमा पर्न नसकेको शाखाको तथ्याङ्क छ । सेवा क्षेत्रमा रोष्टर परिवर्तन गराई ६ सय ९१ जनालाई रोष्टरमा राखिएकामा सातजना मात्र रोजगारदाताको छनोटमा परेको शाखाले जनाएको छ ।

शाखाका निर्देशक कँडेल उत्पादन, कृषि तथा पशुपालन, पानीजहाजजस्ता क्षेत्रसँगै वन र सेवा क्षेत्रमा बढीभन्दा बढी कामदार पठाउन पहल गर्नुपर्ने धारणा राख्छिन् । भाषा परीक्षाको वार्षिक कार्यतालिका स्वीकृत गरी अनुमानयोग्य बनाइनुपर्ने तथा परीक्षा उत्तीर्ण र दक्षिण कोरिया जान पाउने सङ्ख्याबीचको सामञ्जस्यता मिलाउनेतर्फ कूटनीतिक पहल लिनुपर्ने उनको सुझाव छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २३ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ १७ र बिक्रीदर एक सय तीन रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १० पैसा र बिक्रीदर १३ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जलवायु परिवर्तनका असर नियन्त्रणमा तिनै तहका सरकारबीच समन्वयमा जोड

शिवपुरी, २२ भदौः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र क्षयीकरण रोक्नका लागि तिनै तहका सरकारले बजेट सुनिश्चित गर्नाका साथै समन्वय गर्नुपर्ने बताउनुभएको छ ।

सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’ का सम्बन्धमा आज गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, शिवपुरी–७, सूर्यचौर, नुवाकोटमा आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री तामाङले विकासबाट विनाश हुन जोगाइने तथा वातावरण, मानव र वन्यजन्तु संरक्षणका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकारहरूको प्रश्न तथा जिज्ञासामा उहाँले नागमती बाँधबाट बिजुली पनि निकालिने बताउँदै त्यसबाट मानव र मानव बस्तीमा पर्नसक्ने असरबारे अध्ययन–अनुसन्धान गर्नुपर्ने स्पष्ट गर्नुभयो ।

सो अवसरमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले झरना, हरियालीपूर्ण वातावरण, शक्तिपीठहरू भएको तपोभूमि शिवपुरीमा आन्तरिक पर्यटन बढाएर स्थानीय जनताको आयआर्जन बढाउन गाउँपालिकाले प्रचारप्रसार, महोत्सव, घरबास तालिम जस्ता कार्यक्रम आयोजना गरिरहेको जानकारी दिनुभयो । शिवपुरीले छिमेकी ककनी गाउँपालिकासँग पनि मिलेर काम गर्ने सोच बनाएको छ ।

लौके झरना पदयात्रा

समाजको आयोजनामा शिवपुरी–८ स्थित सानो र ठुलो छहरे झरना अवलोकनका लागि राजधानी र नुवाकोटमा कार्यरत सम्पादक, पत्रकारहरुको पदयात्रा र अवलोकन कार्यक्रम सम्पन्न भयो । पदयात्रामा समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्याम डोटेल, वियोगी पत्रकार अध्ययन केन्द्रका संरक्षक किरण वैद्यलगायत करिब एक सय पत्रकारको सहभागिता थियो ।

काठमाडौँ र नुवाकोटको सिमाना गुर्जे भन्ज्याङबाट पश्चिमपट्टि पर्ने करिब १५० फिट अग्लो सो झरना लौका आकारको रहेको छ र त्यसबाट झरेको पानीको प्रभाव टाढासम्म पर्ने गरेको छ । गर्मीले आलसतालस भएका पत्रकार तथा अन्य आन्तरिक पर्यटकले ठुलो मुस्लो गरी झरेको झरनाको छिटाको स्पर्श लिनाका साथै केहीले स्नानसमेत गरेर आनन्द लिए ।

शिवपुरी गाउँपालिकामा आकार र पानीको परिमाणका हिसाबले ठुला झरनामा लौके, लप्से, चिलाउने, लक्षिनेश्वरी र छुङछुङ छन् भने नुवाकोट जाने बाटामा ससाना थुप्र्रै झरना रहेका छन् । टाढा जान नसक्ने र जान नचाहने आन्तरिक पर्यटकहरू त्रिशूली–छहरे काठमाडौँ सडकका छेउछाउमा रहेका ससाना झरनामा पुगी मनोरञ्जन लिने गर्छन् ।

पर्यटकहरूका लागि बाटामा ससाना पसलहरू पनि खोलिएका छन् । त्यस्तै बाटाहरू सम्याइनुका साथै ठाउँठाउँमा सिँढी, काठेपुल पनि बनाइएका छन् । सम्पादक समाज कार्यसमिति सदस्य तथा स्थानीय ‘त्रिशूली प्रवाह’ साप्ताहिकका प्रकाशक एवं सम्पादक शरणउत्सुक सापकोटाले समाजले नुवाकोटका विभिन्न पर्यटकीयस्थलहरूको प्रचारप्रसार गर्न पदयात्रा, अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

नासाद्वारा मङ्गल ग्रहमा नयाँ मिसनमा ढिलाई

नासाले शुक्रबार मङ्गल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने जानकारी गराएको छ ।एस्केपेड मिसनले मङ््गल ग्रहको चुम्बकीय वातावरणसँग अन्तर्क्रिरया र ग्रहको वायुमण्डलीय अवस्थाको अध्ययन गर्न दुई अन्तरिक्ष यान प्रयोग गर्नेछ ।

यस मिसनलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस लन्च कम्प्लेक्स ३६ बाट अक्टोबर १३ भन्दा अगाडी प्रक्षेपण गर्ने योजना छ ।नासाले लागत, तालिका र प्राविधिक चुनौतिहरूबाट बच्नका लागि यो मिसनमा ढिलाई गरेको जनाएको छ ।

थारू बाहुल्य रहेका जिल्लामा अट्वारी पर्व धुमधामका साथ मनाउँदै

देउखुरी (दाङ), २२ भदौ : दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वका रुपमा मनाउने चलन छ । हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ ।

महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलवीर चौधरीले द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमका नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताउनुभयो । उहाँका अनुसार अट्वारी पर्व थारू समुदायको दसैँपछिको ठूलो चाड भएकाले यसको महत्त्व धेरै रहेको छ । “चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवान्हरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ”, उहाँले भन्नुभयो ।

अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुले फलफूललगायत परिकार आफूले खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन रहेको घोराही उपमहानगरपालिका–६ का अगुवा भीमबहादुर चौधरी बताउनुहुन्छ । छोरीचेलीलाई सम्मान गर्ने पर्व हो । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । त्यो कोसेलीलाई ‘अग्रासन’ दिने भनिन्छ । अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, भात, गब्दा, खुर्मा, फुलौरी र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । दर खाएको बिहान सबैजना रोटीका विभिन्न परिकार बनाउँछन् ।

सबै परिकार पकाएर तयार बनाएपछि व्रतालुहरू मध्याह्न नदी, तलाउ, जलाशयमा स्नान गर्छन् । व्रतालुहरू स्नान गर्न गएको बेला घरमा गोबरपानीले लिपपोत गरी शुद्ध पारिन्छ । बस्नलाई काठको शुद्ध मुढा राखिन्छ । व्रतालुहरू स्नान गरेर फर्केपछि त्यही चोखो ठाउँमा बस्छन् । महिलाले खानेकुरा दिन्छन् । व्रतालु पुरुषले खानेकुराको पूजा गरेपछिमात्र खान्छन् । जसरी भीमले बहिनीका लागि परिकार सम्झेर छुट्याएका थिए । त्यसरी नै व्रतालु थारूले एक भाग दिदीबहिनीका नाममा छुट्याएर अर्को भाग परिकार खान्छन् । परिकार खानुअगाडि भीमको स्मरणमा पूजा गर्छन् । सो दिनको परिकारमा नून मिसाइएको हुँदैन ।

थारू कल्याणकारीणी सभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीले दाजुभाइ र दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताउनुभयो । “दिदीबहिनी र दाजुभाइ बीचमा माया, ममता, सद्भाव र भ्रातृत्व जगाउने पर्वका रुपमा अट्वारीलाई लिइन्छ,” चौधरीले भन्नुभयो । अट्वारीका अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा बिदा दिएको छ ।

प्रकाश सपूतको चलचित्र ‘वसन्त’को शुभमूर्हत, ९० प्रतिशत छायाङ्कन बागलुङमा हुने

गण्डकी, २२ भदौः गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ । चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायाँकनको सुरुआत गर्नुभयो । सोही क्रममा चलचित्रमा सपना विकको भूमिकामा रहनुभएकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रहनुभएका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाउनुभएको थियो ।

शुभमूर्हत समारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहनुभएका अभिनेता सपूतले चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताउनुभयो । चलचित्रको ९० प्रतिशत छायाङ्कन आफ्नो गृहथलो बागलुङमा हुने उहाँको भनाइ छ ।

“चलचित्रलमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।”

चलचित्रलमा आफ्नै जन्मगाउँ बागलुङ्को धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ । अभिनेता सपूतले चलचित्र ‘वसन्त’ मार्फत बागलुङको सभ्यता, कला, संस्कृति र जनजीवनका कथाव्यथा उजागर गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अभिनेत्री खड्काले चलचित्र छायाङ्कनका क्रममा बागलुङ आउन पाउँदा थप ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । गलबन्दी प्रडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार दुई महिनामा चलचित्र छायाँकन पूरा गर्ने लक्ष्य लिइएको छ ।

चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौँ र तराईमा गरिने उहाँको भनाइ छ । गायन क्षेत्रमासमेत चर्चित सपूतले पहिलोपटक आफ्नै चलचित्र निर्देशन गर्न लाग्नुभएको हो । गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लाग्नुभएको हो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी–२’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफँै मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ ।

‘परदेशी–२’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उहाँको भनाइ छ । चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक सपूतले बताउनुभयो । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उहाँको भनाइ छ ।

चलचत्रिमा ‘शान्ति’ पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनुभएको छ । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पार्नुभएको छ । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । चलचित्रको शुभमूर्हत समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलगायत उपस्थित रहेका थिए ।

‘जनहितलाई सर्वाेपरि ठानेर काम गर्न खानेपानीमन्त्री यादवको आग्रह

वीरगञ्ज (पर्सा), २२ भदौः जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जनहितलाई सर्वाेपरि ठानेर काम गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

जसपा पर्सागढी नगर समितिद्वारा आज यहाँ आयोजित विस्तारित बैठकमा उहाँले समाजवादको मार्गदर्शनअनुसार जनहितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो । उपमहासचिव यादवले पर्सागढीको विकास र समृद्धिका लागि ठोस योजना बनाएर कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “स्थानीय जनताका समस्यालाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो, “हामीले पर्सागढीका आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष प्याकेज लिएर आउँदैछौँ ।”

मन्त्री यादवले आफूले यहाँका जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजै वीरगञ्ज महानगरपालिका–२१ मा आयोजित सम्मान कार्यक्रममा मन्त्री यादवले जनप्रतिनिधि जनताको सशक्तीकरण र सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी वीरगञ्जलाई समृद्ध र विकासको नमूना सहर बनाउने योजना लिएर आएका छौँ । यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ ।”

मन्त्री यादवले स्थानीयस्तरको विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छन् । त्यसैले सरकार र जनताको संयुक्त प्रयासबाटै विकास अतिविधि अगाडि बढाउन लागौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले मन्त्री यादवको नेतृत्वमा स्थानीय विकास योजनाहरू प्रभावकारी ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए

राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित

म्याग्दी, २२ भदौः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ ।

भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सका मजदुरहरुले समयमा पारिश्रमिक नपाउँदा म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत्को बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य सुस्ताएको हो । आयोजना प्रमुख राजबहादुर बिष्टले सिभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण निर्माण कार्य प्रभावित बनेको बताउनुभयो ।

“केही महिनायता सिभिल ठेकेदार जेपीका मजदुरहरुले काम छोडेर जाने र भएकाले पनि कार्यस्थलमा ताला लगाएर आन्दोलन गरेका छन्,” उहाँले भन्नुभयो, “आयोजनाका तर्फबाट भुक्तिनामा समस्या छैन ।” निर्माण कम्पनीको आन्तरिक समस्याका कारण मजदुर तथा कर्मचारीहरुले समयमा ज्याला पाउन नसकेको आयोजना प्रमुख बिष्टले बताउनुभयो ।

जेपीका करिब सात सयजना मजदुरहरु राहुघाटमा कार्यरत छन् । सुरुङ निर्माण रोकेर आन्दोलनमा उत्रिएका मजदुर र निर्माण कम्पनीका प्रतिनिधिहरूबीच शुक्रबार भएको छलफलमा समयमै पारिश्रमिक दिने प्रतिबद्धता भएपछि शनिबारदेखि निर्माण कार्य सञ्चालन भएको जेपीका वरिष्ठ व्यवस्थापक राम सिंहले बताउनुभयो ।

हरेक महिनाको तलब अर्को महिनाको १५ तरिकमा दिने गरेको थियो । यस पटक एक महिनाको तलब भुक्तानी गर्न ढिलाइ भएकाले मजदुरहरू समस्यामा परेका छन् । शुक्रबार जुलाई महिनाको तलब भुक्तानी गरिएको र अगस्त महिनाको आगामी २० तारिकभित्र पारिश्रमिक भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरेर मजदुरहरु काममा फर्किएको व्यवस्थापक सिंहले बताउनुभयो ।

भारतीय आयात–निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।

गत साउन १५ गते जोडिएको छ हजार दुई सय ७० मिटर लामो सुरुङलाई कङ्क्रिट र विद्युत् गृहको पूर्वाधार निर्माणको काम भइरहेको छ । बाँध निर्माण स्थलमा बाढी आएर थुप्रिएकाले असारयता निर्माण भएको छैन । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

सिभिलतर्फको समग्रमा भौतिक प्रगति करिब ६० प्रतिशत रहेको आयोजना प्रमुख विष्टले बताउनुभयो । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । इलेक्ट्रोमेकानिकलतर्फको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण भइरहेको छ । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । आगामी साउनभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्य राखिए पनि सिभिल ठेकेदार कम्पनीमा देखिएको आर्थिक सङ्कट चुनौती बनेको छ ।

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा, २२ भदौः भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क भन्ने स्थानमा अलपत्र यात्रुवाहक बसलगायत सयौँ सवारी साधन आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण पहिरोसँगै बगेको ढुङ्गा सडक सतहमा थुप्रिएपछि दिनभरको प्रयासबाट नुवाकोटदेखि स्काभेटरसहितको ‘ब्रेकर’ झिकाई ढुङ्गा फुटालेर सडक सफा गरी पूर्ण रूपमा सवारी आवागमन सञ्चालन गरिएको छ ।

सडक सञ्चालनसँगै चीनको मानसरोवर कैलास तथा रसुवाको गोसाइँकुण्ड जाने यात्रु तथा स्थानीय नागरिक र चिनियाँ सामान आयातका लागि ढुवानी गर्ने कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो स्थलमा दिनभर सशस्त्र प्रहरी, नेपाल प्रहरीले पहिरो स्थलमा ओहोरदोहोर गर्ने यात्रुलाई सहजीकरण गरेको जनाइको छ ।

ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा

काठमाडौँ, २२ भदौः टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १२ ले प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन दर्शनार्थी महिलाको सुरक्षा, भीड व्यवस्थापनका लागि बन्दोबस्त, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्दिर तथा त्यसआसपास क्षेत्रका सम्पदास्थलमा समेत सरसफाइ गरिएको छ ।

आज राति १२ बजेदेखि नै मन्दिर दर्शनका लागि खुला गरिने भएकाले वडाध्यक्ष बालकृष्ण महर्जनले मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरिएको जानकारी दिनुभयो । तीजमा व्रत बसेका महिलाले मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजासमेत गराउने व्यवस्था मिलाइएको छ ।

भक्तजनको सुरक्षाका लागि लाइन रहेको ठाउँमा प्रहरी खटाइने छ । कुनै पनि भवितव्य तथा आपतकालीन अवस्थामा उच्च सतर्कता अपनाएर एम्बुलेन्सको व्यवस्था तथा प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविर र अशक्त तथा वृद्धवृद्धालाई सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो । यस्तै, आइतबार टेकुदेखि कुलेश्वर र सानेपा निस्कने सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताए ।

‘यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा असल अभ्यास, विशेषज्ञता एवम् आपसी सूचना आदानप्रदान गर्न आवश्यक छ । साथै समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्छ’, उनले भने ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानुन कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताए ।

यस कार्यक्रमले कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र सहयोगका लागि संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको धारणा राखे ।

‘नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीयर प्रशंसनीय रहेको छ । अपराधलगायतका चुनौती सामना गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील छ’, उनले भने ।

यस्तै, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायत गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था बलियो बनाउन कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त प्रयास आवश्यक रहेको बताइन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कुनै पनि प्रकृतिका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए । उनले कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य र आवश्यक सहयोग आदानप्रदान गर्दै जटिल अपराध तथा अन्य सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताए ।

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौँ, २२ भदौः भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी पर्व मनाइएको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको बताउनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले आज चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । यस पर्वलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गर्दछन् ।

एक हप्तामा ३० हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

गत हप्तामा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान, इरान र टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले भन्नुभयो, “स्वदेश फर्किएकामध्ये करिब २५ सय पाकिस्तान, करिब १९० टर्कीका र बाँकी इरानबाट फिर्ता आएका हुन् ।”

यसबाहेक, गत वर्ष कुल एक लाख ७८ हजार अफगान शरणार्थी विदेशबाट फर्किएका मन्त्रालयले जनाएको छ ।
अफगानस्तानको कार्यवाहक सरकारले अफगानी नागरिकलाई विदेशमा शरणार्थीको रूपमा बस्न छोडेर स्वदेश फर्कन र मातृभूमिको पुनर्निर्माणमा योगदान दिन बारम्बार आह्वान गर्दै आएको छ ।

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

कास्की, २२ भदौः पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागिय टोली एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिस क्लब गत वर्षको उपविजेता हो । नवआदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।

यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट)का कारण १–१ सेटको बराबरीमा रोकिएपछि आज खेलाइएको थियो । पुलिसले पहिलो सेट २५–१६को सहज जित निकाले पनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनःखेलमा फर्कँदै पुलिसले २५–१९ को जित हासिल गर्‍यो तर चौथो सेटमा एपिएफ खेलमा फर्कँदै २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेटसमेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै सङ्घर्ष गरे पनि अन्ततःनतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद रू एक लाख ५० हजार हात पारेको छ । उपविजेता एफिएफले रू एक लाख एक सय ११ प्राप्त गर्यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । सोही क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल विक उत्कृष्ट ब्लकर घोषित भए । यस्तै, एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर र पुलिस क्लबका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँहरू सबैलाई समान रू पाँच–पाँच हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर तेस्रो सेटमा १३–२५ को हार बेहोरेको एपिएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो ।
प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिता यही भदौ १९ गतेदेखि सञ्चालन भएको थियो ।

गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै सङ्केत देखिएको छैन ।
इजरायलमा रहेका कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आ–आफ्नो अडानमा अडिग छन्।

गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको हमासले इजरायललाई उसको सेना पूर्ण रुपमा फिर्ता बोलाउन माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा–इजिप्ट सीमाको एक महत्वपूर्ण भू–भागमा सेना राख्नुपर्नेमा जोड दिनुभएको छ । हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण रहेका थिए।

हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन्।संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिसलाई आदानप्रदान गरिएको थियो ।गत आइतबार इजरायलले एक अमेरिकी–इजरायली नागरिकसहित छ जना बन्धकको शव फेला परेको घोषणा गरेपछि इजरायलमा शोक र आक्रोश छाएको थियो ।संयुक्त राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (यूएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेख्नुभएको छ । “एघार महिनाको समय काफी हो । यसलाई अब कसैले पनि लिन सहज लिन सक्दैन । अब युद्धविराम हुनुपर्छ र मानवताको विजय हुनुपर्छ ।”

टर्कीका एक अमेरिकी कार्यकर्ताले कब्जा गरेको क्षेत्रमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गरिरहेको पश्चिम किनारामा शुक्रबार भएको गोलीकाण्डले युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाबलाई थप बल दिएको छ ।

२६ वर्षीया आइसेनुर एज्जी आइगीको परिवारले उहाँको मृत्युको स्वतन्त्र छानबिनको माग गर्दै शनिबार उहाँको जीवनलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा हत्या गरेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेर हत्या गरेको जनाएको छ ।
अङ्काराले उहाँलाई ‘इजरायली कब्जा क्षेत्रमा सैनिकहरू’ द्वारा मारिएको बताएको छ, र राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कार्यलाई ‘बर्बरता’ को रूपमा निन्दा गर्नुभएको छ ।
वासिङ्टनले उनको मृत्युलाई ‘दुःखद’ भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ ।

करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैंकमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन् ।अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा ६६२ भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी सुरक्षा बलका सदस्यसहित कम्तीमा २३ जना इजरायलीको मृत्यु भएको इजरायली अधिकारीहरुले बताएका छन् ।

इजरायली सेनाले वेस्ट वैङ्कको जेनिन शहरमा १० दिनसम्म चलेको घातक आक्रमणबाट पछि हटेको दिन आइगीको मृत्यु भएको थियो । गाजा युद्धमा युद्धविरामका लागि वार्ता गर्ने विषयमा इजरायल र संयुक्त राज्य अमेरिकाबीच विवाद भएपछि जेनिनको बहिर्गमन भएको हो ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार ‘९० प्रतिशत सहमति भएको’ भन्दै इजरायल र हमासलाई सम्झौतालाई अन्तिम रुप दिन आग्रह गर्नुभएको छ ।

तर इजरायली प्रधानमन्त्री नेतन्याहूले फक्स न्यूजसँग कुरा गर्दै भन्नुभयो, “यो नजिकको कुरा होइन ।”अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमा इजरायल सहमत भएको भन्दै हमासले गाजा पट्टीबाट इजरायललाई पूर्ण रुपमा फिर्ता लिन माग गर्दै आएको छ ।एएफपीका संवाददाताका अनुसार शुक्रबार रातभर र शनिबार बिहानै उक्त क्षेत्रमा कैयौँ हवाई आक्रमण र गोलाबारी भएको थियो ।

गाजाको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी रेड क्रिसेन्टले मध्य गाजाको नुसिरात शरणार्थी शिविर नजिकै इजरायली हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको जनाएको छ ।नागरिक प्रतिरक्षा र एक प्रत्यक्षदर्शीका अनुसार ‘बुरेज क्याम्प’को एक फ्ल्याटलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा अन्य चार जनाको मृत्यु भएको थियो ।जबालियामा इजरायली हवाई आक्रमणमा परी थप चार प्यालेस्टिनीको मृत्यु भएको नागरिक सुरक्षा अधिकारीहरूले बताएका छन् ।

गाजा शहरको उत्तरमा भएको हवाई आक्रमणमा परी एक महिला र एक बालकको पनि मृत्यु भएको बताइएको छ ।बेइट लाहियाको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टिनी घाइते भएको र उनीहरूको अल अवदा, कमल अदवान र इन्डोनेसियाली अस्पतालमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् ।

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् ।हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो।

स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकप्टरहरू तैनाथ गरिएको छ र वरपरको क्षेत्र बन्द गरिएको छ।

शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन वटा विमान र अर्को हेलिकप्टर पनि यस प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ ।अधिकारीले भने, “थप विमानका लागि अनुरोध गरिएको छ। अग्निनियन्त्रकहरूले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।” पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ र शुक्रबार दिउँसो बसमार्फत् ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ ।

सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जङ्गलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपतकालीन अवस्थाको घोषणा गरी सयौँ अग्निनियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए । अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ।वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी सङ्कटको सामना गरिरहेका छन् ।

सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी, २२ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले प्रविधिलाई आत्मसात गर्नुुपर्ने बताउनुुभएको छ ।निजामति सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामति सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवालाई समयसापेक्ष चुस्तदुुरुस्त बनाउनका लागि नविनतम प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिनुभयो ।

जनताका कामप्रति सरकार सकारात्मक तवरले प्रस्तुत हुुनुपर्नेमा जोड दिँदै उहाँले नहुने भएमा के कारणले नहुने हो त्यसबारे स्पष्ट पार्नुुपर्ने बताउनुुभयो । उहाँले तल्लो तहमा काम गर्नेदेखि उच्च पदस्थ पदमा रही काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्व सबै जनताको पक्षमा भएकाले एकापसमा दोषारोपण नगरीकन जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुुभयो ।

सङ्घीय निजामति ऐन नआउँदा कतिपय चाहेर गर्नुुपर्ने काम पनि गर्न नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशतर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुुमारी बस्नेतले सुशासन, समृद्धि र विकास आजको आवश्यकता भएको उल्लेख गर्दै सार्वजनिक सेवामा जनताको पहुँच बढाउनेगरी काम गर्नुुपर्नेमा जोड दिनुुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको निजामति प्रशासन राज्यका हरेक परिवर्तनलाई आत्मसात गर्दै अघि बढिरहेको बताउनुुभयो । पछिल्लो समयमा निजामति प्रशासनलाई नकारत्मक तबरबाट हेर्ने क्रम बढिरहेको बताउँदै उहाँले जनताको मन जित्ने गरी काम गर्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

कर्मचारी मिलन केन्द्र कास्किका अध्यक्ष लोकनाथ आचार्यले चुस्तदुरुस्त प्रशासनका माध्यमबाट निजामति कर्मचारीप्रति बढ्दै गएको नकारात्मक धारणा हटाउनुुपर्नेमा जोड दिनुुभयो । निजामति सेवा दिवसका अवसरमा केन्द्रका तर्फबाट मानव सेवा आश्रम छोरेपाटनमा आश्रित दिदीबहिनीलाई तीजको दरखाने दिनमा दरभोज खुवाउनुुका साथै सरसफाई जस्ता कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुुभयो ।

कार्यक्रममा पूर्वकर्मचारी परिषद्का तर्फबाट स्वास्थ्य सेवातर्फबाट निवृत्त हुुनुुभएकी नानुु थापालगायतलाई सम्मान गर्नुका साथै परिषद्ले प्रकाशन गरेको गोधुुलिको सन्देश लोकार्पण गरिएको थियो । त्यस्तै कर्मचारी सम्बद्ध विभिन्न सङ्घ सङ्गठनका तर्फबाट निजामति सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका विजयी तथा सहभागीलाई पुुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कर्मचारी सङ्घ सङ्गठनका नेताले सेवाग्राहीमैत्री सेवाप्रवाहमा जोड दिँदै राजनीतिज्ञ र कर्मचारीबीचको असलसम्बन्ध आवश्यक भएकोमा जोड दिनुुभयो । सङ्घीय निजामति ऐन चाँडो ल्याएर विद्यमान समस्याको समाधान गर्नुुपर्नेमा उहाँहरूको जोड छ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु, पायो ५० सिट

तुलसीपुर, २२ भदौ(रासस) : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार श्याम लम्सालले बताउनुभयो ।

प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उहाँले भन्नुभयो, “यो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुनेछ ।”

यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो । तर, अब वर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।

धनुषामा दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

धनुषाधाम, २२ भदौः धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिनुभयो ।

सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताउनुभयो ।

यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।

कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना, आठ घाइते

मान्म (कालीकोट), २२ भदौः कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाइसमा १८ जना सवार रहेका थिए । घाइते हुनेहरूमा सिञ्जा–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजिते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी–६ का ३९ वर्षीय कर्ण भण्डारी, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते भएका रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिनुभयो ।

घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रुसको भ्रमण सम्पन्न गरी अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुग्नुभएको थियो ।

रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ यही भदौ १६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । यही भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिनुभएको थियो ।

त्यस अवसरमा अध्यक्ष नेपालले चीन, रुसलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग भेटघाट तथा आपसी हितका बारेमा छलफल गर्नुभएको थियो । अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको जनाइएको छ ।