`

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

भक्तपुर, २२ भदौः यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाडौँ पु¥याइएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पु¥याइएको केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिनुभयो ।

यही भदौ ३० गते आइतबार बिहान ८ः२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउन गत बिहीबार बिहान १० बजेर ४७ मिनेटको साइतमा वसन्तपुरबाट भक्तपुर प्रस्थान गरेकोे केन्द्रीय मानन्धर सङ्घको टोलीले सोही दिन बेलुकी ७ बजे भक्तपुरको चित्तपोलमा पुगेर हनुमानढोका दरबारबाट आएको ब्राह्मणद्वारा पूजा विधि सम्पन्नगरी राति ८ः२७ बजेको साइतमा यःसिंको लागि रानी सल्लाको रूख काटिएको थियो । 

शुभसाइतमा पूजा गरेर छाडेकोे बोकाले जुन रुखमा छुन्छ त्यही रुखलाई काट्ने प्रचलन छ । रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी अर्पण गरेको थियो । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय तथा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई इन्द्रजात्रासम्बन्धी विभिन्न सांस्कृतिक गतिविधिको शुभसाइत उल्लेखगरी पठाइएको पत्रबमोजिम सङ्घले इन्द्रध्वज (यःसिं)का लागि रानीसल्लाको रुख काटिएको मानन्धरले जानकारी दिनुभयो ।

रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्षबढाईं दिएको थियो । भक्तपुरमा यःसिं लिने जानेदेखि काठमाडौँसम्म पुर्‍याएर ठड्याउने र ढाल्नेसम्मको काममा हनुमानढोका दरबारस्थित श्री शार्दूल जङ्ग गुल्म (नेपाली सेनाको गुरूजुको पल्टन)ले सहकार्य गर्दै आएको छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ । 

यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ । इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ ।

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, २२ भदौः सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो ।

मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

बागमती, २२ भदौः प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ ।

केन्द्रका नाममा रहेको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कट्ठा १० धुर जग्गा अतिक्रमण हुँदा माछापालन प्रभावित भएको हो । “केन्द्रका नाममा भएका जग्गा अतिक्रमणमा परेको छ, सो जग्गामा अनधिकृत रुपमा संरचना निर्माण भएका छन्”, कार्यालय प्रमुख सरोजकुमार यादवले भन्नुभयो, “यसले माछापालन प्रभावित भएको छ ।”

कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कट्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागार्इं, पद्मबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायत संरचना निर्माणगरी भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

अतिक्रमणमा परेको जग्गा खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि हालसम्म उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्साङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भएपश्चात् केही व्यक्तिहरुले अतिक्रमित जग्गामध्ये छ कट्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ ।

“अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन, मकवानपुर इजलासमा मुद्दा गरेका थिए”, प्रमुख यादवले भन्नुभयो, “त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन् ।”

अतिक्रमण जग्गामध्ये छ कट्ठा जग्गामा भएका संरचना हटाएपछि उक्त जग्गामा हाल माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाइएको छ । बाँकी जग्गामा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष भइसकेको छ ।

“अहिलेसम्म अतिक्रमण गरेको जग्गा खाली गरिदिनुस् भनिरहेका छौँ”, प्रमुख यादवले भन्नुभयो, “तर उहाँहरुले अटेर गरिरहनुभएको छ, खाली गर्न चासो देखाउनुभएको छैन । अब संरचना भत्काउनुको विकल्प छैन ।”

यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नापी कार्यालय, हेभिइक्युपमेन्ट डिभिजन मकवानपुर र नेपाल विद्युत् प्राधिकरण, मकवानपुरलाई जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराउन आवश्यक सहयोग गर्न पत्राचार गरिएको पनि प्रमुख यादवले बताउनुभयो ।

“अनधिकृत रुपमा निर्माण गरिएको घरटहरा गत वैशाखमै हटाउन लागेका थियौँ”, प्रमुख यादवले भन्नुभयो, “त्यतिबेला जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलगायत जग्गा खाली गर्न सात दिनको थप समय दिएका थियौँ ।”

कार्यालयकै नाममा रहेको कित्ता नम्बर ९६ को आठ बिघा १३ कट्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, स्वास्थ्य चौकी र कार्यालयको भवनसमेत निर्माणगरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । हाल सो जग्गा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिनेगरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुुवालले अतिक्रममा परेको मत्स्य कार्यालयको सरकारी जग्गा खाली गराउन पहल भइरहेको बताउनुभएको छ । उहाँले चाडपर्व नजिकिएकाले यतिबेला संरचना हटाउँदा समस्या हुनसक्ने भएकाले चाडपर्व सकिएलगत्तै प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने

धनुषा, २२ भदौः चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो

सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौँ – स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभयो ।

उहाँका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ । “यो ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम छ”, उहाँले भन्नुभयो, “लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्दछन र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग लाग्छ ।” जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन ।

डा गौतमका अनुसार सन् २०२४ को जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६८० मध्ये ४२ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । उहाँका कैलाली, चितवन, सर्लाही र सुनसरी जिल्लामा रोग सङ्क्रमणबाट छ जनाको मृत्यु भइसकेको छ । सामान्यतयाः लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखापर्छन् ।

सरकारले सन् २०१६ बाट १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिँदै आएको छ । सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिने गरे पनि पछिल्लो समय सबै बालबालिकालाई उक्त खोप दिन सुरु गरिएको हो ।

शाखा प्रमुख डा गौतमले १२ महिनामा खोप लगाउन छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने बताउनुभयो । जापानिज इन्सेफ्लाटिस धेरै जसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छन् ।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् । विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालको पहुँचले नागरिकको मौलिक अधिकार सुदृढ तुल्याउँछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूसुचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

औपचारिक रुपमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको सन्दर्भमा प्रेस नोट जारी गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टिकटकलगायतका सामाजिक सञ्जाल विचार अभिव्यक्त, सार्वजनिक बहस, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्द्धन र मनोरञ्जनका लागि समेत महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्नुभएको छ ।

“अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशिला हो, लोकतन्त्रको प्राण वायु होे, यी ‘डिजिटल प्लेटफर्म’ पछिल्ला दिनमा लोकतान्त्रिक अभ्यासको उत्तम माध्यम पनि बनिरहेका छन्”, उहाँले भन्नुभएको छ । उहाँले कुनै पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्धले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अभ्यासमा खलल पुग्न जाने उल्लेख गर्नुभयो ।

टिकटकमाथि प्रतिबन्ध लगाएर नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने र विचार बन्धक बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सधै संवैधानिक अधिकारलाई सुनिश्चित गर्न लागिपर्ने स्पष्ट पार्नुभयो ।

“हामी कुनै पनि किसिमले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित गर्ने गतिविधिको विरोधमा छौँ, टिकटकमाथिको प्रतिबन्धले साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्द्धनमा असर परेको थियो, व्यवसायी मारमा परेका थिए, इन्टरनेट प्रदायक कम्पनीको आम्दानीमा गुमेको र सरकारको राजस्वमा पनि असर परेको थियो”, मन्त्री गुरुङका स्वकीय सचिव बिक्रम न्यौपानेद्वारा प्रेस नोटमा उल्लेख छ ।

लामो समयदेखि नेपाल सरकारको सम्पर्कमा रहेको टिकटकको सञ्चालक कम्पनीले नेपाली समाजको मर्यादा तथा सुरक्षा चासोलाई सम्बोधन गर्ने र सोहीअनुसार टिकटकलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सरकारले टिकटक खुला गर्ने निर्णय गरेको जनाइएको छ ।

यसैगरी मन्त्रालयले टिकटकका सञ्चालकले देशव्यापी साइबर सुरक्षामा प्रतिबद्धता जनाउनुका साथै नेपालको पर्यटन, डिजिटल साक्षरता, युवालाई रोजगारी प्रवर्द्धन गर्ने तथा नेपाली राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु ‘फिल्टरिङ’ र ‘मोडरेसन’लाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको प्रेस नोटमा उल्लेख छ ।

क्यानाडाले लगाएको अतिरिक्त करबारे छानविन गर्न डब्लुटीओसँग चीनको आग्रह

चिनियाँ विद्युतीय सवारी साधन, स्टिल र आल्मुनियमको आयातमा क्यानाडाको नयाँ प्रतिबन्धबारे प्रतिक्रिया दिँदै बेइजिङले विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा गरिएको कानुनी प्रतिवद्धताको पालना गर्न ओटावालाई आग्रह गरिएको चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत महिना चिनियाँ विद्युतीय सवारीसाधनमा शतप्रतिशत र चिनियाँ स्टिल तथा आल्मुनियम उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो ।

चीनले यो कदमलाई अनुचित भन्दै आलोचना गरेको छ र यसै हप्ता आयातित क्यानेडाली क्यानोला र रासायनिक उत्पादनहरूमा एन्टी–डम्पिङ अनुसन्धानको शुरूवात गरेको छ।

शुक्रबार बेइजिङको वाणिज्य मन्त्रालयले ओटावाको थप करका उपायहरूको बारेमा ‘डब्ल्यूटीओमा क्यानाडाली पक्षसँग परामर्शका लागि अनुरोध गरेको’ बताएको थियो।

“क्यानाडाले विश्व व्यापार सङ्गठनको नियमलाई बेवास्ता गरेको र सङ्गठनमा आफ्नो प्रतिबद्धतालाई उल्लङ्घन गरेको छ,” मन्त्रालयका प्रवक्ताले एक अनलाइन विज्ञप्तिमा भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, “यो व्यापार संरक्षणवादी र एकपक्षीय कार्य हो। प्रतिबन्धले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर रूपमा क्षति पु¥याउँछ र विद्युतीय सवारीका साथै स्टील र आल्मुनियम उत्पादनहरूको लागि विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृङ्खलामा बाधा पुर्‍याउँछ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “चीनले यसको पूर्ण विरोध गरेको छ। हामी क्यानाडालाई विश्व व्यापार सङ्गठनका नियमहरू पालना गर्न र यसको गलत अभ्यासहरू तत्काल सच्याउन आग्रह गर्दछौं।”

चिनियाँ विद्युतीय र केही हाइब्रिड प्यासेन्जर कार, ट्रक, बस र डेलिभरी भ्यानमा ओटावाले लगाएको अतिरिक्त कर अक्टोबर १ देखि लागू हुनेछ र ६.१ प्रतिशतको विद्यमान आयात शुल्कको शीर्षकमा सङ्कलन गरिनेछ ।यसको स्टिल र आल्मुनियममा अतिरिक्त कर अक्टोबर १५ देखि लागू हुनेछ ।

अगस्टमा खाद्यान्नको मूल्य स्थिर – एफएओ

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को खाद्य मूल्य सूचकाङ्क अगस्टमा स्थिर रहेको छ । अघिल्लो महिनाको तुलनामा अगस्टमा चिनीको मूल्य विश्वव्यापीरूपमा घटेको छ भने दुग्ध उत्पादनको मूल्य बढेको छ ।

दुग्धजन्य उत्पादनको उप–सूचकाङ्क जुलाईको तुलनामा अगस्टमा औसतमा २.२ प्रतिशतले र एक वर्ष अघिको तुलनामा १४.२ प्रतिशतले बढेको एफएओले शुक्रबार जनाएको छ । यो वृद्धि उच्च आयात माग र युरोप र ओशिनियाका मुख्य दुग्ध उत्पादन गर्ने देशहरूमा सूचीको अभावको कारणले भएको हो ।

यो अवधिमा नौनी घ्यू (मक्खन) को मूल्य सबैभन्दा बढी बढेको र अहिलेसम्मको सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

यसैबीच, चिनीको मूल्य जुन जुलाईको तुलनामा ४.७ प्रतिशतले घटेको छ । भारत र थाइल्याण्डमा उत्पादनमा देखिएको वृद्धि मूल्यमा आएको कमीका लागि जिम्मेवार मानिएको छ

दुई दर्जनभन्दा बढी रूसी ड्रोन खसालेको युक्रेनको दाबी

युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ ।

आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौं ड्रोन युक्रेनी हवाई क्षेत्रमा रहेको वायुसेनाले जनाएको छ ।

ड्रोन बाहेक, रूसले युक्रेनमा केएच–५९ गाईडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइलहरू प्रहार गरेको थियो ।

मध्य निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभलोग्राद सहरमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएको क्षेत्रीय गभर्नर सर्गी लिसाकले जानकारी दिनुभयो ।

स्पेस एक्सद्वारा २३ वटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले बिहीबार २१ वटा स्टारलिङ्क स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

स्पेसएक्सको अनुसार, उपग्रहहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान ११ः३३ मा फाल्कन–९ नामक रकेटमा प्रक्षेपण गरिएको थियो ।स्पेसएक्सले २१ स्याटेलाइटको सफल तैनाथीको पुष्टि गरेको थियो ।

स्पेसएक्सका अनुसार बिहीबारको प्रक्षेपण पहिलो चरणको सेवा वृद्धिका लागि १५ औं प्रक्षेपण र अवतरण थियो ।

अगष्टमा अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ ।रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो । श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ०.१ प्रतिशतले कमी आई ४.२ प्रतिशत कायम भएको छ ।

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी), २२ भदौः नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते हुनुभएको थियो । घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक, दामोदरकुण्ड नजिकैको पाखामा देखिन्छ वन्यजन्तु

म्याग्दी, २२ भदौ : मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ ।

लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताउनुभयो । लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरु छेउमै भए पनि नाउरहरु चरिरहेको देखेर पर्यटक दङ्ग परेका बताउनुभयो ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराका पेमाछिरिङ गुरुङले दामोदरकुुण्डदेखि घारा आउने क्रममा बिहीबार पाँच ठाउँमा नाउरको बथान देखेको बताउनुुभयो । “दामोदरकुुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्,” घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आउनुभएका पेमाले भन्नुभयो, “दामोदरकुुण्ड पारिको पाखा, सन्ताउन्नको डाडा, खेता क्षेत्रमा नाउरका बथान जहिले पनि भेटिन्छन् ।”

समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुुवा, ब्याँसो, नाउर, रातोभालुलगायत दामोदरकुण्ड नजिकैको पाखामा वन्यजन्तु भेटिने पेमाले बताउनुभयो । दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तुु देखिन थालेका छन् । तनहुँका दुुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जङ्गली जनावरहरु देख्न पाएकामा दङ्ग परेको बताउनुभयो ।

समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–सिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो । “विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्,” उहाँले भन्नुभयो, “तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षीहरु देखिने भएकाले यस क्षेत्रको अध्यताहरुका लागि धेरै सम्भावना छ ।” मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताउनुभयो । “ब्वाँसो र हिउँ चितुवाले भेँडाच्याङग्रा मारेर किसानलाई दुःख दिएको छ,” उहाँले भन्नुभयो “घुम्ती गोठमा पालिने भेँडाच्याङग्रा र चौँरीलाई ब्यासो र चितुवाबाट बचाउन चुनौती भएको छ ।” वन्यजन्तुु पीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने मुस्ताङका किसान बताउँछन् ।

आज छोनाम (न्वागी)मनाउँदै चेपाङ समुदाय

मुग्लिन (चितवन), २२ भदौः चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो ।

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।

उहाँका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।

चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।

न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

‘अग्निदहन’ भारतको विहारमा प्रदर्शन

काठमाडौँ, २२ भदौ : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र ‘अग्निदहन’ हालै भारतको विहार राज्यको सीतामढीमा प्रदर्शन गरिएको छ ।

विहारको सीतामढीस्थित कमान्डेन्ट अफ एसएसबी–२०औँ बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको निर्देशक घनश्याम लामिछाने जानकारी दिनुभयो । यो चलचित्र नेपालमा आगामी मङ्सिर ७ गते प्रदर्शन हुँदैछ ।

चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले विहारमा आफ्नो चलचित्रको ऐतिहासिक प्रदर्शन भएको जानकारी दिनुभयो । “हामीले त्यहाँ भोजपुरी भाषामा चलचित्र प्रदर्शन ग¥यौँ । निकट भविष्यमै भारतका विभिन्न राज्यमा र विशेष गरी सीमावर्ती क्षेत्रमा चलचित्र प्रदर्शनको तयारीमा छौँ”, उहाँले भन्नुभयो । परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा चलचित्र ‘अग्निदहन’को राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा प्रिमियर हुँदैछ ।

चलचित्रका निर्देशक लामिछानेले एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताउनुभयो । “चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ”, उहाँले भन्नुभयो । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले चलचित्र निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गर्ने उद्देश्यले २०७१ सालमा स्थापना भएको हो ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङलगायतको अभिनय रहेको छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ । उक्त चलचित्रले चलचित्र विकास बोर्डले प्रदान गर्ने ‘विशेष चलचित्र अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।

‘संविधान दिवस, २०८१’ तीन दिनसम्म विशेष रुपमा मनाइने

काठमाडौँ, २२ भदौ : नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षाेल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन गर्नाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक एवं निजी क्षेत्रका अन्य विद्युतीय तथा छापा सञ्चारमाध्यमहरूबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण÷प्रकाशन गराउने तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।

त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र र सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने व्यवस्था मिलाइने छ । आम नागरिकलाई आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झन्डा सजाउन र साँझ दीपावली गर्न आह्वान गर्ने, सम्भाव्य फराकिला सार्वजनिक चोकहरूमा राष्ट्रिय गान र राष्ट्रभक्तिका साङ्गीतिक महोत्सव आयोजना गरिने छ ।

आगामी असोज ३ गते नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ (स्याल्भो र भली फायर) गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट ‘संविधान दिवस, २०८१’ अङ्कित ब्यानर रिङ्गरोड वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र ब्यानर प्रदर्शन गर्ने कार्यक्रम छ । नेपाली सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस, २०८१ को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारीहरू, कर्मचारीहरू तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गरिने छ ।

त्यसैगरी, असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्रमा दीप प्रज्वलन गर्ने समितिको निर्णय छ ।

विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा असोज २, ३ र ४ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी समुचित प्रचारप्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक निकायहरुमा पठाइने समितिले जनाएको छ ।

यसैगरी, प्रदेश राजधानी (केन्द्र), जिल्ला र स्थानीय तहस्तरका लागिसमेत विभिन्न कार्यक्रम तय गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा प्रचारप्रसार र प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा जनस्तरको सहभागितासहित राष्ट्रिय गीतहरुको कार्यक्रम व्यवस्थापन उपसमितिहरुसमेत गठन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा सांस्कृतिक झाँकी व्यवस्थापन, रक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउन्ड, कवाज तथा व्यायाम व्यवस्थापन एवं काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति समिति गठन गरिएको छ ।

अर्थ समितिको बैठक भोलि बस्ने

काठमाडौं, २२ भदौ : सङ्घीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ – प्रधानमन्त्री ओली

काठमाडौँ, २२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताउनुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताउनुभयो । निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका र कर्मचारीका मागहरु क्रमशः पूरा हुँदै गएका उल्लेख गर्नुभएको छ । “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौँ, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन तथा व्यापक हुुँदै गएको बताउनुभएको छ ।

“लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिकामार्फत नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्नेछ”, प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ छ । निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम गुुनासालाई चिर्दै पेसागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रुपान्तरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको सुझाव छ । उहाँले मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोप बाढी, पहिरो, आगलागीजस्ता विपद्जन्य घटनामा राष्ट्रसेवकले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको उ

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २२ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । साथै ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

आठ वर्षमा पनि सकिएन काम, एक महिनाभित्र सक्न निर्देशन

कीर्तिपुर (काठमाडौँ), २१ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारमा संरचनाको निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ । फूल र फलफूलको बिक्री वितरणलाई व्यवस्थित गराउने उद्देश्यले आठ वर्षअघि सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन समयमा दुई वर्षको म्याद राखिएको थियो । कालिमाटीस्थित फलफूल तथा तरकारी विकास समितिको स्वामित्वको उक्त बजार निर्माण भएपछि फलफूलको बिक्री वितरण सुविधा सम्पन्न बहुतले दुई भवनबाट हुनेछ ।

विगतमा कृषि चुन कारखाना सञ्चालन भएको कूल २३ रोपनी फराकिलो जमिनमा आधुनिक फलफूल बजार सञ्चालमा ल्याउन विसं २०७३ असोजमा करिब रु ३५ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । हाल संरचना निर्माणको भौतिक प्रगति ८७ प्रतिशत मात्रै भएको जनाइएको छ । हालसम्म आयोजनाको म्याद ११ पटक म्याद थप गरिएको छ । 

मन्त्री अधिकारीलाई निर्माण व्यवसायी रवि सिंहले हालसम्म भएका प्रगति, अहिलेको अवस्था र समस्याबारे  जानकारी गराउनुभएको थियो । “निर्माणस्थलको दक्षिण–पश्चिम कुनाबाट अनेक्षित ढङ्गबाट ठूलो मात्रामा पानी आइरहेको छ, त्यसको निकासका लागि संरचना बनाउन निर्देशन र आवश्यक बजेटको व्यवस्था नभएसम्म निर्माण अघि बढ्ने अवस्था छैन”, उहाँले भन्नुभयो । उहाँले दुवै भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । 

त्यसअवसरमा सांसद राजेन्द्रकुमार केसीले निर्माण तत्काल सकेर बजार सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । कीर्तिपुर नगरपालिका–६ का अध्यक्ष खीरमानसिंह बस्नेतले केही स्थानीयले जग्गाको मुआब्जा नपाएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न आग्रह गर्नुभयो । पाँच तले भवनमा करिब ७० वटा स्टल र दुई तले भवनमा ३० वटा स्टल रहनेछन् । साथै भवनमा समितिको कार्यालय, बैंक र सभाहल पनि हुनेछ । 

जलस्रोत विधेयकलाई थप समृद्ध बनाइने

काठमाडौँ, २१ भदौः संसद्को पूर्वाधार समितिले ‘जलस्रोत विधेयक २०८१’ का सम्बन्धमा यस क्षेत्रका जानकार एवं विज्ञहरुसँग सुझाव लिने प्रक्रियालाई तीव्र पारेको छ । सङ्घीय संसद्बाट उक्त विधेयक पारित भएपछि ३२ वर्षअघि ल्याएको जलस्रोत ऐन प्रतिस्थापन हुनेछ ।

समितिले यसका लागि किसान व्यवस्थित सिँचाइ प्रवर्द्धन गुठी, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घ, गभर्नेन्स ल्याव र अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थालगायतसँग छलफल गरेको छ ।

यस्तै, पूर्वसचिव, विश्वविद्यालयका प्राध्यापक, प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ, नीतिगत दखल राख्ने विज्ञलगायत सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको छ । छलफलमा सहभागीले सो विधेयकमा खानेपानी, सिँचाइलगायत अन्य सामाजिक, आर्थिक, सांस्कृतिक प्रायोजनका लागि सामुदायिक रुपमा प्रयोग र व्यवस्थापन गर्दै आइरहेका जलस्रोतमाथि स्थानीय समुदायको हकअधिकारलाई विधेयकमा समावेश हुन नसकेको गुनासो गरिएको थियो ।

“जलस्रोत ऐन २०४९ मा धेरै कुरा समेटिएको थियो । तर अहिलेको जलस्रोत विधेयक अझ साँघुरिएको छ”, पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले भन्नुभयो । विधेयकले केवल ठूला नदी मात्र नभएर ताल, तलैया, कुलो, कुँवा, सिमसार, ढुङ्गेधारा जस्ता सबै प्रकारका पानीको स्रोेतको संरक्षणलाई जोड दिनुपर्ने, विधेयकले कल्पना गरेको जल तथा ऊर्जा आयोगको कार्यक्षेत्र र अधिकारसँग प्रदेश र स्थानीय सरकारको अधिकार बाझिनु नहुने विषयको ऐनले सुनिश्चित गर्न जरुरी भएको कुरा विज्ञको धारणा छ ।

जलस्रोतको उपयोग तथा संरक्षणमा केवल जलस्रोत मात्र केन्द्रित नभई जल, ऊर्जा, खाद्य र पारिस्थितीय प्रणालीको अन्तर सम्बन्ध, निर्भरता र एकअर्कामा पार्ने प्रभावलाई ध्यानमा राखेर विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी आवासीय प्रतिनिधि प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ डा मनोहरा खड्काले ३२ वर्षमा राजनैतिक, सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले धेरै परिवर्तन भइरहेको अवस्थामा जलस्रोत ऐनले जलसुरक्षालगायत समावेशी विकासमा योगदान गर्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंहले जलविद्युत् आयोजनाले तोकिए बमोजिम पानी नछोड्दा जलचरमा समस्या परेको बताउनुभयो । उहाँले ऊर्जाको विकल्प भए पनि पानीको विकल्प नभएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका पूर्वाधार समितिका सदस्य गोकर्ण विष्टले जलस्रोतको संरक्षण र प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विज्ञको सुझावलाई मनन गर्दै विधेयकलाई थप समृद्ध बनाउने प्रतिबद्धता सो अवसरमा व्यक्त गरिएको थियो ।

पश्चिम किनारबाट इजरायली सेना फिर्ता

इजरायली सेना १० दिनको अपरेसनपछि शुक्रबार जेनिन सहर र त्यहाँका शरणार्थी शिविरबाट हटेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । कब्जा गरिएको पश्चिम किनारमा भएको इजरायली आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो ।

बख्तरबन्द सवारी र बुलडोजरको सहयोगमा सेनाले विनाशकारी आक्रमण गरेको धेरै दिनपछि भागेका बासिन्दाहरू शिविरमा फर्केका छन् । उक्त क्षेत्र इजरायलविरुद्ध लड्ने प्यालेस्टिनी सशस्त्र समूहको गढ थियो ।

अगस्ट २८ मा सेनाले जेनिनलगायत उत्तरी पश्चिम किनारका धेरै सहर र गाउँमा सैन्य अभियान चलाएको थियो । ‘जेनिन क्षेत्रमा आतङ्कवाद विरोधी गतिविधि सञ्चालन गरिरहेको’, इजरायली सेनाले फिर्ताको बारेमा पुष्टि नगरी शुक्रबार विज्ञप्तिमा बताएको छ । “आतङ्कवाद विरोधी अभियानको उद्देश्य हासिल गर्न इजरायली सुरक्षा बलले लगातार कारबाही गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

जेनिनमा भएको अपरेसनमा १४ लडाकूको मृत्यु भएको, संदिग्ध ३० जनालाई पक्राउ गरेको, सडकमुनि राखिएका करिब ३० वटा विस्फोटक पदार्थ नष्ट गरिएको र चार वटा हवाई आक्रमण गरिएको सेनाले बताएको छ ।

अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु भएको छ । अक्टोबर ७ मा दक्षिणी इजरालयमा आक्रमण गरेर गाजामा जारी युद्धलाई जन्म दिएको हमास र प्यालेस्टिनी इस्लामिक जिहादले मारिनेहरूमा कम्तीमा १४ लडाकू रहेको बताएका छन् ।

जेनिन शिविरका धेरै घर बुलडोजरहरूले क्षतिग्रस्त वा नष्ट भएका छन् । इजरायली बख्तरबन्द सवारीहरू फिर्ता भएपछि शुक्रबार बासिन्दाहरूले भग्नावशेष सफा गर्न आफ्नै बुलडोजर प्रयोग गरिरहेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

फर्किने बासिन्दाहरूको प्रारम्भिक चाल भीडमा परिणत भयो र चाँडै नै बालबालिकाहरू सडकमा खेल्न थाले । इजरायलले सन् १९६७ देखि पश्चिम किनारलाई कब्जा गरेको छ र उसका सेनाले नियमित रूपमा प्यालेस्टिनी समुदायमाथि आक्रमण गर्दछ । अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि इजरायली सेनाले पश्चिम किनारमा गरेको आक्रमणमा कम्तीमा छ सय ६१ प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजामा ‘विशुद्ध सैन्य दृष्टिकोण’ समाधान होइन– जर्मन विदेशमन्त्री

जर्मन विदेशमन्त्री एनालेना बेयरबकले शुक्रबार गाजा पट्टीमा हमासविरुद्ध इजरायलको युद्धको समाधान सैन्य दृष्टिकोण मात्र नभएको बताउनुभएको छ ।

इजरायलको तटीय सहर तेल अभिवमा आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको बैठकपछि पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गत साताले गाजाको स्थितिका लागि विशुद्ध सैन्य दृष्टिकोण समाधान होइन भन्ने नाटकीय रूपमा देखाएको छ ।”

उहाँले आइतबार घोषित थप छ मृतक बन्धकहरूको बरामदबारे सङ्केत गर्नुभएको थियो । उनीहरूको मृत्युले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि गाजा युद्धविराम र बन्धकको आदानप्रदान सम्झौताका लागि हमाससँग सम्झौता गर्न घरेलु दबाब बढाएको छ । यद्यपि दुवै पक्षले यसै साता रोकिएको वार्तालाई लिएर एकअर्कामाथि दोषारोपण गरेका छन् ।

बेयरबकले शुक्रबार ‘अहिले युद्धविराम’ को आह्वान गर्नुभयो र पश्चिम किनारका बारेमा इजरायली अधिकारीहरूको आक्रामक वयानविरुद्ध कुरा गर्नुभयो । पश्चिम किनारमा अगस्ट २८ मा इजरायली सेनाले धेरै सहरमा गरेको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।

इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरले शुक्रबार एक्समा पोस्ट गर्दै नेतान्याहुसँग पश्चिम किनारमा हमास र अन्य लडाकू सङ्गठनहरूको हारलाई युद्धको उद्देश्यमध्ये एक बनाउन भनेको बताउनुभयो ।

“इजरायली सरकारका सदस्य आफैँले गाजाको जस्तै पश्चिम किनारमा पनि सोही दृष्टिकोणको आह्वान गर्दछ भने यसले वास्तवमा इजरायलको सुरक्षालाई गम्भीर रूपमा जोखिममा पुर्याउँछ”, बेयरबकले भन्नुभयो ।

सन् १९७२ को ओलम्पिक खेलकुद हत्याको वार्षिकीका अवसरमा म्युनिखको इजरायली वाणिज्य दूतावासमा असफल ‘आतङ्कवादी आक्रमण’ का रूपमा व्यवहार गर्ने क्रममा उनीहरूमाथि गोली चलाउने एक व्यक्तिलाई जर्मन प्रहरीले गोली हानेर मारेको एक दिनपछि मन्त्री बेयरबकको उक्त टिप्पणी आएको हो ।

आफूले काट्जसँग ‘गहिरो र पूर्ण ऐक्यबद्धता’ व्यक्त गरेको उहाँले बताउनुभयो । “यो भयानक अवस्था हो, विशषगरी म्युनिख सन् १९७२ को वार्षिकीमा यो हाम्रा लागि भयानक क्षण हो”, उहाँले भन्नुभयो ।

आरटी विवादमा रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउने

क्रेमलिनले शुक्रबार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले बुधबार आरटीका दुई कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

“समरूप प्रतिक्रिया सम्भव छैन, अमेरिकामा कुनै सरकारी समाचार एजेन्सी छैन र अमेरिकामा कुनै सरकारी टेलिभिजन छैन”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले आरआइए नोभोस्ती समाचार एजेन्सीसँग भन्नुभयो, “तर पक्कै पनि त्यहाँ उपायहरू हुनेछन् जसले उनीहरूको मिडियालाई उनीहरूको जानकारी प्रसारण गर्न प्रतिबन्धित गर्नेछ ।” रुसको कडा पकडको दुर्लभ स्वीकारोक्तिमा पेसकोभले युक्रेनमाथि आक्रमणका क्रममा मस्कोको अभूतवपूर्व सेन्सरसिपलाई पनि जायज ठहर गर्नुभयो । उहाँले तास समाचार एजेन्सीलाई दिनुभएको भिन्नै टिप्पणीमा भन्नुभयो, “हामी जुन युद्धको अवस्थामा छौँ त्यसमा प्रतिबन्ध जायज छ र सेन्सरसिप पनि जायज छ ।”

उहाँले अमेरिकी मिडियाविरुद्ध रुसले कस्तो प्रतिबन्ध लगाउने भन्नेबारेमा बताउनुभएन । मस्कोले युक्रेनमा आक्रमण सुरु गर्दा द्वन्द्वमा स्वतन्त्र रिपोर्टिङलाई लक्षित गर्ने कानूनका बीच अधिकांश अमेरिकी मिडिया आउटलेटले रुसबाट आफ्ना कर्मचारी घटाए वा हटाए । अमेरिकी अर्थ मन्त्रालयले बुधबार प्रतिबन्ध लगाइएका १० व्यक्ति र दुई संस्थामा आरटीका प्रधानसम्पादक मार्गरिटा सिमोनियन र उहाँका डेपुटी एलिजाभेटा ब्रोडस्किया समावेश छन् ।

म्यान्मारको याङ्गुनमा झाडापखालाका कारण ६०० भन्दा बढी अस्पताल भर्ना

म्यानमारको याङ्गुन क्षेत्रको ह्लिङथारिया सहरमा जुलाईदेखि सोमबारसम्म झाडापखालाका कारण ६०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको म्यान्माको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार यो अवधिमा झाडापखालाका कारण दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

उहाँका अनुसार मङ्गलबारसम्म अस्पतालमा भर्ना भएका मध्ये ५७९ जना डिस्चार्ज भइसकेका छन् भने ३६ जना उपचाररत रहेका छन् ।

उहाँले भन्नुभयो, “झाडापखाला नियन्त्रणका लागि ह्लिङथार्या नगरमासामुदायिक क्लिनिकहरू स्थापना गरिएको छ, र स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञसहितको टोली पठाएर रोग नियन्त्रणका उपायहरू अपनाइएको छ ।”

सामाजिक सेवा एकाइबाट तीन वर्षमा ३२ हजार बढीले लिए सेवा

भरतपुर (चितवन), २१ भदौः चितवनस्थित भरतपुर अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट प्रत्येक वर्ष ११ हजार बढीले निःशुल्क सेवा लिने गरेका छन् । पछिल्लो तीन वर्षमा यसरी सेवा लिने गरिब तथा विपन्न नागरिकको सङ्ख्या ३२ हजार दुई सय ८९ पुगेको छ ।

अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख रामहरी ढकालले आर्थिक वर्ष २०८०/८१ मा एकाइमार्फत ११ हजार चार सय १३ जनाले रु चार करोड ७४ लाख ९० हजार पाँच सय ६४ बराबरको सेवा लिएको जानकारी दिनुभयो । यहाँ २०७० सालदेखि सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएको थियो । त्यसयता उपचार गर्न आउने बिरामीले पूर्ण तथा आंशिक छुट पाउँदै आएका छन् । “यहाँबाट गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, विपन्न, सीमान्तकृत लोपोन्मुख आदिवासी जनजातिलगायत बिरामीलाई पूर्ण र आंशिक छुट दिने गरिन्छ”, एकाइ प्रमख ढकालले भन्नुभयो, “भरतपुर अस्पतालमा आएका बिरामी आर्थिक अभावका कारण उपचार नगरी फकर्नु पर्दैन ।”

गत आर्थिक वर्ष एउटै बिरामीले रु आठ लाखसम्मको सेवा सुविधा पाएको उहाँले बताउनुभयो । “सेवा सुविधा पाउनेमा कर्णाली प्रदेशका हुम्ला, मुगुलगायत जिल्लासम्मका नागरिक छन् । औसतमा एकजना बिरामीले रु चार हजार एक सय ६१ छुट पाएका छन्”, उहाँले बताउनुभयो, “भरतपुर अस्पताल केन्द्रीय अस्पताल पनि हो । बिरामीलाई सम्बन्धित निकायको सिफारिसका आधारमा अस्पतालबाट हुने छुट प्रदान गरिरहेका छौँँ ।”

भरतपुर अस्पतालले बाढीपहिरो, आगलागी र दुर्घटनाका बिरामीलाई २४ घण्टासम्म निःशुल्क उपचार गर्ने गरेको छ । यस अवधिमा शल्यक्रिया गर्नुपरे पनि पूर्ण रूपमा छुट दिने गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष दुई हजार १३ जनाले निःशुल्क आकस्मिक सेवा लिएका थिए, जसमा रु ८१ लाख ४२ हजार एक सय आठ खर्च भएको थियो ।

सरकारले यस असस्पताललाई विपन्न नागरिकको उपचारका लागि वार्षिक रु एक करोड ५० लाख दिने गरेको छ । सो रकमले नपुगेर बाँकी रकम अस्पताल विकास समितिले व्यहोर्ने गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो । पछिल्लो तीन वर्षमा विपन्न नागरिकको उपचारका लागि अस्पताल विकास समितिले रु सात करोड २६ लाख खर्च गरिसकेको उहाँले जानकारी दिनुभयो ।

यसरी सेवा प्रवाह गरेको भरतपुर अस्पताल नेपाल सरकारको सङ्घीय अस्पतालमध्ये प्रथमसमेत भएको छ । न्यूनतम सेवा मापदण्डमा शतप्रतिशत अङ्क प्राप्त गरेको भन्दै स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई सम्मान गरेको थियो ।

एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकलसहित दुई पक्राउ

काठमाडौँ, २१ भदौ: काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो ।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो ।

मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिनुभयो । कार्यालयले आज घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेको छ ।

उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौँस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो । रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा सङ्लग्न कुँवरबाट खुलेपछि उक्त मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानका क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुङ्गाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशङ्कामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

थप अनुसन्धान गर्दै जाँदा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको थियो । वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए ।

थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से ७ प ८५६२ भएको भन्सार पठाइएकोमा उक्त मोटरसाइकल आरोपी खत्रीको रहेको तथ्य खुलेको छ । उनले उक्त मोटरसाइकलको वास्तविक कागजात प्रयोग गरी अन्य मोटरसाइकलसमेत त्यही नम्बर राखेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथको दर्शनका लागि अझै धेरै वर्तालु लामो लाममा बसेका छन् । वर्तालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ ।

पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो । बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो ।

मूल मन्दिरभित्र प्रवेश गरिसकेपछि एउटा ढोकामा दुईदेखि तीन लामको व्यवस्था गरिएको उहाँले बताउनुभयो । तीजका अवसरमा प्रथम महिला सविता पौडेलले आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुहुने कार्यक्रम छ । यसैगरी तीजको व्यवस्थापन अवलोकन गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पशुपति क्षेत्र जानुहुने जनाइएको छ ।

पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ । धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट

काठमाडौँ, २१ भदौः नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो । गृहमन्त्री लेखकले विसं २०७२ को भूकम्पपछिको पुनःनिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले पुनःनिर्माणमा सहयोग पुगेको बताउनुभएको थियो ।

विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्वकार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राख्नु भएको थियो । “ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ । विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने उल्लेख गर्दै विश्व बैंकले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो ।

“जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनःनिर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौँ ? त्यसैले अनुदानका परियोजनाहरु बढाउनु पर्‍यो”, उहाँले भन्नुभयो । —

अटोमोटिभ ब्यवसायीले गरे तीज बिशेष शुभकामना आदानप्रदान

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । ब्यावसायीहरुले महिला दिदीबहिनीहरुको महान पर्वमा संस्कृति, परम्परा जोगाउने उद्देश्यले संस्थामा रहेका नारीहरुलाई दर खुवाउने सँगै शुभकामना आदान प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष खगेन्द्र बहादुर बमले तीजको अवसरमा बिशेष गरी महिला दिदीबहिनीहरुका लागी भन्दै शुभकामना आदान प्रदान कार्यक्रम राखेको बताए । उनले यस्ता किसिमका कार्यक्रमले तीजको रितिरिवाजलाई जोगाइराख्नेमा विश्वास राखे । यस्तै सस्थाका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले सम्पुर्ण महिना दिदीबहिनिहरुलाई तीजको शुभकामना दिए । साथै चिमोरियाले तीजको अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रमले तीजको महत्व थप बढेर जाने बताए । उनले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आयोजना गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व डिआईजी अशोक सिंहले नेपाल अटोमोटिभ ब्यवसायीमा आवद्ध महिलाहरुलाई तिजको शुभकामना दिए । साथै उनले तीजलाई सम्पुर्णले सम्य र भब्य तरिकाले मनाउनुपर्ने बताए । यस्तै कलाकार तथा ब्यवसायी शेर बहादुर केसी, प्रकाश बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए । तिजको शुभकामना आदानप्रदान कार्यक्रम गोदावरीस्थित गोदावरी रिसोर्टमा राखिएको थियो ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध,सयौँ यात्रु अलपत्र

ढोरपाटन । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए ।

लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।

पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उनको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउँछन् ।

उनले भने, “रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन् ।”

मानव बेचबिखनको शैली फेरियो : ‘कहाँ जाने बहिनी भनेर सोध्यो भने दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् ’

झापा, २१ भदौः आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पु¥याउने गरिएको पाइएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

“विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।”

पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उहाँले नेपाली युवतीलाई भारतीय भूमि पु¥याएर भिजिट राहदानीमार्फत घरेलु कामदारका लागि हङ्कङ र खाडी मुलुक लैजाने प्रवृत्तिसमेत बढेको बताउनुभयो । माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ ।

“एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरुलाई भारत पु¥याएर सिधै यौन शोषण हुने कोठीमा बन्धक बनाइन्थ्यो”, उहाँले भन्नुभयो, “ श्रम शोषण गर्ने शैली बदलिएको छ । सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जबर्जस्ती श्रम शोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ ।”

सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा भारत जाँदै गरेका छ हजार सात सय ९१ जनालाई सीमामा रोकेर जाँच गरेको जनाएको छ । यसमध्ये आठ सय एक जनालाई परामर्शपछि सुरक्षित रुपमा फर्काइएको छ ।

सीमामा रोकेर जाँच गरेर फर्काइएका आठ सय एक जनामध्ये १८ वर्ष मुनिका एक सय १९ जना नाबालिग थिए । माइती नेपालको तथ्याङ्कअनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रुपमा २२ जना नाबालिगलाई घर पु¥याइएको छ ।

उक्त अवधिमा भारतको विभिन्न सहरमा जोखिमपूर्ण श्रम शोषणमा परेका चार जना नाबालिगलाई उद्धार गरेर नेपाल ल्याइएको घिमिरेले जानकारी दिनुभयो । माइती नेपालले काँकडभिट्टालगायत विभिन्न नाकामा निगरानीका लागि कर्मचारी परिचालन गर्दै आएको छ । उनीहरुले भारत जान लागेका बालबालिका र शङ्कास्पद व्यक्तिहरुलाई तत्कालै सोधपुछ र जाँच गर्दै आएका छन् ।

भारतको दार्जिलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरुलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ता गङ्गा मगरले बताउनुभयो ।

“ कहाँ जाने बहिनी भनेर सोध्यो भने कोहीले दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् भने कोहीले आन्टीको घरमा पाहुना लाग्न गएको भनेर हामीलाई झुक्याउन खोज्छन्”, सीमा निगरानीकर्ता मगरले भन्नुभयो, “उनीहरुको हाउभाउ र बोलाइबाटै हामीलाई उनीहरुलाई कसैले प्रलोभनमा पारेर भारत लैजाँदैछ भन्ने थाहा भइहाल्छ । घर ठेगाना, जाने ठाउँको नाम र कामको प्रकृति सोधीखोजी गरेपछि उनीहरुको अवस्था खुलिहाल्छ । भारत लैजाने गिरोहले नै उनीहरुलाई बोर्डरमा ढाँट्न सिकाएको हुन्छ । अठार वर्षमुनिका किशोरीलाई हामी कडा निगरानीमा राख्छौँ ।”

केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पु¥याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीलाई फसाउने प्रवृत्ति बढेको माइती नेपाल काँकडभिट्टाका संयोजक घिमिरेले बताउनुभयो ।

भारतको सिलिगुढी, चेन्नाइलगायत सहरमा पु¥याएर ३० हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीलाई फसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुराँ र घरेलु कामदारका रुपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको उहाँले जानकारी दिनुभयो ।

पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङलगायत जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरी इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेडलगायत विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरुले बताउने गरेका छन् ।

आशा जगाउँदै कृषि औजार कारखाना

हिमाल लम्साल,  पर्सा । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उनले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्न दौडधुप गर्दै आएका छन् । उनले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्य छ ।

‘मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रुपमा पुस्तक बिक्री गर्दै आइरहेको छु’, उनले भने, ‘बिहीबारदेखि भने वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको छु । कृषि औजार कारखानालाई जसरी भए पनि सञ्चालन गर्ने अठोटसहित लागिपरेका छौँ । त्यसैले अहिले देशव्यापी रुपमा पुस्तक बिक्री अभियानसहित हिँडिरहेको छु ।’

अध्यक्ष पुनले देशव्यापी रुपमा पुस्तक बिक्री गरेर कम्तीमा पनि कारखानाका लागि पुस्तकको छपाई खर्च कटाएर रु २० करोडको प्रबन्ध आफैँ मिलाउने बताउँछन् । ‘पुस्तक बेचेरै रु २० करोड उठाउने जिम्मेवारी आफैँ लिन्छु । तर त्यति रकमले मात्रै कारखानालाई चलायमान गराउन सकिँदैन’, उनले भने, ‘मेरो अन्तर्राष्ट्रिय पदक र कास्कीको कालीकोटमा भएको २८ रोपनी जग्गा बेचेपछि कम्तीमा पनि  १५ करोडजति आउँला होला अनि त्यो कारखाना चलिहाल्छ ।’

अध्यक्ष पुनले कृषि औजार कारखानालाई पूर्ण रुपमा सञ्चालन गर्र्ने हो भने कम्तीमा पनि रु ६०/७० करोड खर्च गर्नुपर्ने बताउँछन् । ‘केन्द्र आफैंले यो वर्षभित्रै पाँच करोड रुपैयाँ जतिको अत्याधुनिक मेसिन खरिद गर्ने तयारीमा जुटेको छ’, उनले भने, ‘सरकारले पनि अत्याधुनिक खालका मेसिन खरिदमा सहयोगी भूमिका निर्वाह गरिदिएहुन्थ्यो । त्यसले कृषि औजार उत्पादनमा ठूलो महत्व राख्ने थियो ।’

अध्यक्ष पुनले सोभियत संघका पालामा सञ्चालनमा ल्याइएको कारखानामा निकै पुराना र म्यानुअल प्रकृतिका मेसिन रहेकाले पनि अत्याधुनिक खालका मेसिन थप गर्न आवश्यक रहेको जिकिर गरे ।

‘कारखानामा ६ दशकभन्दा पुराना खालका उपकरण र औजार रहेका छन् । ती उपकरण र मेसिनको प्रयोग गरेर उत्पादन गरिने औजारले बजारसँग प्रतिस्पर्धा गर्नै सक्दैनन्’, उनले भने, ‘अहिले त कम्प्युटर प्रणालीबाट चल्ने खालका ‘सिएनसी’ खालका अत्याधुनिक मेसिन ल्याएर औजार उत्पादन गर्नुपर्ने हुन्छ ।’

केन्द्रले अहिलेसम्म कम्तीमा पनि एक लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री गरिसकेको छ । जसबाट हालसम्म पुस्तक छपाइको खर्च नकटाइकन रु साढे नौ करोडभन्दा धेरै रकम संकलन गरिसकेको छ । उनले कम्तीमा तीन लाख पुस्तक बेच्ने लक्ष्य राखेका छन् । उनको एउटा पुस्तकको मूल्य भने रु सात सय ५० तोकिएको छ ।

तत्कालीन सोभियत संघको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना विसं २०२४ फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्रै होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।

विसं २०५९ चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले कारखाना खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै कारखाना दुई दशकसम्म कारखाना अलपत्र अवस्थामा रहिरह्यो । विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखाना फेरि चर्चामा आएको हो ।

विसं २०७९ असोज ११ गते अर्थमन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । तर केन्द्रले औपचारिक रुपमा काम सुरु भने विसं २०७९ माघ महिनामा मात्रै थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो ।

वीरगञ्जस्थित कृषि औजार कारखानाका इञ्चार्ज तथा इञ्जिनियर रितेश देव राष्ट्रिय अविष्कार केन्द्रले कारखानाको जिम्मेवारी लिँदा कारखाना भूतबङ्गला जस्तै भएको स्मरण गर्छन् ।

‘दुई दशकदेखि बन्द भएको कारखानाभित्रै पीपलका बोट उम्रिएका थिए । जताततै माकुरोले जालो लगाएर हेर्नै नसकिने अवस्था थियो’, उनले भने, ‘कारखाना त भूतबङ्गला जस्तै थियो । सुरुआती चरणमा त कसरी काम गर्न सकिएला र भन्ने लागेको थियो ।’

इञ्चार्ज देवका अनुसार कारखानामा भएका अधिकांश पुराना मेसिनलाई मर्मतसम्भार गरेर चल्नसक्ने बनाइएको छ । ‘कारखानामा सानाठूला गरेर ५५ वटा मेसिन छन् । तीमध्ये अहिले ५० वटा मेसिन चल्ने भइसकेका छन्,’ उनले भने । अहिले केन्द्रमा १५ जना कर्मचारीले नियमित रुपमा काम गर्दै आइरहेका छन् ।

गोबरबाट पानी निकाल्ने मेसिन परीक्षण

केन्द्रले दुई दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २३ महिनाकै अवधिमा डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेर परीक्षण गरिसकेको छ । तर केन्द्रलाई सुरुआती छ महिना समय त जीर्ण र अस्तव्यस्त रहेको कारखानाको सरसफाइ तथा मेसिन मर्मतसम्भारमा खर्च गर्नुपरेको थियो ।

कृषि औजार कारखाना वीरगञ्जका इञ्चार्ज देवले केन्द्रले छोटो अवधिमा नै डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेको दाबी गर्छन् । ‘हामीले गोबरबाट पानी निकाल्ने मेसिनको सफलतापूर्वक परीक्षण गरिसकेका छौं’, उनले भने, ‘यो मेसिन व्यावसायिक रुपमा गाईभैँसीपालन गर्ने कृषकको आग्रहमा निर्माण गरेका हौँ । यस्तै प्रकृतिको मेसिन भारतमा रु पाँच लाखभन्दा धेरै पर्ने रैछ । तर हामीले रु तीन लाख ६० हजारमै तयार पारेका छौँ ।’

केन्द्रले पराल काट्ने मेसिन, धान काट्ने मेसिन (रिपर), दाना बनाउने मेसिन, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्याक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटोकोदालीलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ ।

केन्द्रका अध्यक्ष पुनले पछिल्लो एक वर्षको अवधिमा मेसिन निर्माण गरेर परीक्षण गर्दै आइरहेको बताए । ‘केन्द्रले १०–१२ थरिका उपकरण अबको छ महिनाभित्र व्यावसायिक रुपमा उत्पादन गर्नेछ’, उनले भने ।

स्वदेशी उत्पादितभन्दा आयातीतलाई भन्सार छुट

केन्द्रका इञ्चार्ज देवले कृषि औजार निर्माणका लागि आवश्यक पर्ने कच्चा फलामको मूल्यभन्दा तयारी अवस्थाको कृषि उपकरण सस्तो हुँदा पनि औजार निर्माण खर्चिलो हुने गरेको गुनासो गरे । ‘तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यक पर्ने फलामलगायत कच्चापदार्थको आयातमा कम्तीमा पनि २० प्रतिशत पर्न जाने गर्छ’, उनले भने, ‘विदेशीमा बनाइएको तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारले प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ’, उनले भने । यसले पनि उत्पादनमा धेरै समस्या ल्याइरहेको छ ।

साउनको तेस्रो साता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कारखानाको अवलोकन गरेपछि मन्त्रालयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘आविष्कार केन्द्रले जिम्मा लिएपछि यसको जीर्णाेद्धार भएको छ तर यो कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन’, उनले भने, ‘कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरी नेपाली किसानलाई आवश्यक कृषि औजारको उत्पादन गरी स्वदेशी कृषि औजारको प्रयोगमा बढोत्तरी गराएर देशभित्र प्रयोग हुने कृषि औजारमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आवश्यक सहयोग पुर्‍याउने विश्वास लिएको छु ।’

सिबिहा युक्रेनको नयाँ विदेशमन्त्री नियुक्त

युक्रेनी संसदले रिक्त विदेशमन्त्रीमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको सांसद ओलेक्सी होन्चारेन्कोले बताउनुभएको छ ।

सिबिहाले उपस्थित ३१५ सांसदमध्ये २५८ को समर्थन प्राप्त गरेको होन्चारेन्कोले टेलिग्राममार्फत् जानकारी गराउनुभएको छ । बुधबार राजीनामा दिएकी दिमित्रा कुलेबालाई संसदले बर्खास्त गर्ने पक्षमा मतदान गरेको थियो ।

राष्ट्रपति कार्यालयको उपप्रमुखका रूपमा समेत काम गरेकी ४९ वर्षीया सिबिहा अप्रिलदेखि कुलेबाले नेतृत्व गरेको विदेश मन्त्रालयमा उप–मन्त्री बन्नुभएको थियो ।

कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गर्नुभएपछि उहाँको राजीनामा आएको थियो ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना अहिले ‘शान्त बस्नुपर्ने’ : युनुस

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा निर्वासनमा बस्दा ‘शान्त बस्नुपर्ने’ अन्तरिम नेता मोहम्मद युनुसले बिहीबार भारतीय सञ्चारमाध्यमसँग बताउनुभएको छ ।

हसिनाले १५ वर्षसम्म निरन्तररूपमा बङ्गलादेशको नेतृत्व गर्नुभएको थियो । सरकारी जागिरमा आरक्षणमा व्यापक अनियमितता भएको भन्दै यसको खारेजीका लागि भनी सुरू भएको आन्दोलनका क्रममा जनसहभागिता बढ्दै गएपछि र यसको खतरा आफूमाथि देखेपछि केही आफन्तसहित ७६ वर्षीया हसिना हेलिकप्टरमार्फत् भारतको नयाँ दिल्लीमा पुगी शरण लिनुभएको थियो । उहाँ भारततर्फ गएपछि उहाँको राजिनामाको घोषणा बङ्गलादेशको सेना प्रमुखले गर्नुभएको थियो ।

नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले उहाँको सुपुर्दगी र हप्तौंको अशान्तिका क्रममा सयौं प्रदर्शनकारी मारिएको भन्दै उहाँमाथि मुद्दा चलाउन खोजीरहेको छ ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)सँगको कुराकानीमा ८४ वर्षीय युनुसल भन्नुभयो, “यदि भारतले उहाँलाई बङ्गलादेशले फिर्ता नचाहेसम्म राख्न चाहन्छ भने उहाँ त्यहाँ ‘शान्त बस्नुपर्छ’ ।

उहाँले अगाडि थप्नुभयो, “भारतमा बसेर उहाँ बोलिरहनुभएको छ र निर्देशन दिइरहनुभएको छ । यो हाम्रो वा भारतका लागि राम्रो होइन र कसैलाई मन पर्दैन ।”

गत अगस्ट ५ मा सत्ताच्युत भएयता हसिना आफ्नो पूर्व सरकारको सबैभन्दा ठूलो संरक्षक र हितैषी देश भारतमै रहनुभएको छ ।

सन् १९७५ मा आफ्ना पिता तथा स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानको हत्या भएको दिन, अगष्ट १५ मा ढाकामा भेला हुन बङ्गलादेशीहरूलाई आह्वान गर्दै एक सार्वजनिक विज्ञप्ति जारी गर्नुभएको थियो ।

हसिनाको टिप्पणीलाई उहाँको अवामी लिग पार्टीका सदस्यहरूलाई उत्तेजित पार्ने उत्तेजक प्रयासको रूपमा हेरिएको थियो र युनुसले पदभार ग्रहण गरेको पहिलो चरणका दिनमा कानून र व्यवस्थालाई कमजोर बनाएको थियो।

उहाँको बाल्यकालको घरबाहिर भएको विरोध प्रदर्शनका क्रममा अवामी लिगका संदिग्ध समर्थकलाई आन्दोलनकारीले लाठी र रड प्रयोग गरी आक्रमण गरेका थिए ।
युनुसले भारतलाई सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिएको छ वा छैन भन्नेबारे भने केही बताउनुभएन । उहाँको सरकारले हसिनालाई स्वदैश फिर्ता गर्ने माग गरिसकेको छैन ।

हसिनाको सरकारमाथि व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ । आरोपमा हसिनाका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छन्।

हसिना र अवामी लिगका वरिष्ठ व्यक्तिहरूविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको विद्रोहमाथि प्रहरी दमनमा प्रदर्शनकारीहरूको मृत्यु भएको आरोपमा थुप्रै आपराधिक मुद्दाहरू दर्ता भएका छन्।

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्नुहुन्छ, ‘बोर्ड पनि फेर्न सकिएन’

तुलसीपुर (दाङ), २१ भदौ (रासस) : दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ।

“यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भन्नुभयो, “न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।”

शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । विसं २०४५ मा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ ।

विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न दाताहरूको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको छ । त्यो विद्यालयले बोर्डसमेत फेर्न सक्ने अवस्था छैन । सो ठाउँ सङ्घीयतापछि तुलसीपुर–७ नं वडा भए पनि त्यहाँको बोर्डमा अझै ‘तुलसीपुर नगरपालिका–४’ नै लेखिएको छ । जुन बोर्ड सङ्घीयता आउनुभन्दा अघिकै बोर्ड हो ।

आर्थिक अभावकै कारण बोर्ड पनि फेर्न नसकिएको प्रधानाध्यापक केसीले बताउनुभयो । अहिले सोही विद्यालयमा सातजना शिक्षक–शिक्षिका कार्यरत हुनुहुन्छ । सो विद्यालयलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा हेर्नुपर्ने प्रअ केसीले बताउनुभयो ।

‘सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुग्नेगरी तिज मनाउनुपर्छ’ – मुख्यमन्त्री पाण्डे

गण्डकी, २१ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिजको सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुुग्नेगरी पर्व मनाउनुुपर्नेमा जोड दिनुुभएको छ ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

“समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तिज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु”, उहाँको सन्देशमा भनिएको छ ।

हरितालिका तिज एक सनातन सांस्कृतिक पर्वका रुपमा नेपाली महिलाले मनाउँदै आउनुभएको भन्दै मुख्यमन्त्री पाण्डेले “यस पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ”, भन्नुुभएको छ ।

हरितालिका तिजले समाजमा विद्यमान विभेद र सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस् भन्ने मुख्यमन्त्रीले कामना गर्नुुभएको छ ।

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा, २१ भदौः जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन् ।

जनकपुरधामको पेठिया बजार, जानकी चोक, राममन्दिर तथा बाह्रबिघा रङ्गभूमि मैदान क्षेत्रमा किनमेल गर्नेको भीड देखिएको थियो । यसका साथै ग्रामीण क्षेत्रका बजारहरूमा पनि किनमेल गर्नेको अत्यधिक भीड देखिएको थियो । चौरचनमा प्रयोग हुने माटाको भाँडावर्तन एक साता अगाडि नै किनेका भए पनि फलफूल तथा अन्य पूजाका सामग्री आजसम्म किनमेल गरिने भएकाले बजारमा भीड बढेको हो ।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगत्लाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।

चौरचन पर्वका दिन व्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउनुहुन्छ । “खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ”, कापडीले भन्नुभयो ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउनुहुन्छ । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ ।

पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ । ठाकुर आफँै ज्योतिष हुनुहुन्थ्यो । उहाँलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेको मान्यतो छ । मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएका बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ । यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

जनकपुरधाम उपमहानगरपालिका–४ की ज्योतिदेवी झा झण्डै एक दशकदेखि यो व्रत बस्दै आउनुभएको छ । उहाँका अनुसार चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुने झा बताउनुहुन्छ । मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने परम्परा रहिआएको छ ।

चौरचन पर्वको महत्त्व

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद् डा राजेन्द्र बिमलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ जति लोकपरम्परा छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन । यसमा कुनै तामझाम हुँदैन । यसमा प्रयोग हुने विभिन्न सामग्रीजस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घरआँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।”

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ ।

पर्वको प्रारम्भ

मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वको प्रारम्भबारे प्रमाणिक तथ्य केही उपलब्ध छैन । जसरी यो समाजले आफ्नो आवश्यकता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । त्यो कतै अभिलेखका रूपमा पाइँदैन । यो पिँढी दरपिँढी हस्तान्तरण हुँदै आए । तर पनि केही अवधारणा यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ जसलाई यसरी प्रस्तुत गरिएको छ ।

मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिषशास्त्रकै ऋचाजस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ ।

एउटा वचन चलिआएको छ, ‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’ अर्थात् चतुर्थी (शुक्ल चतुर्थी)को चन्द्रमा आकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गइसकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकाले यसको व्यवहार त्यसभन्दा अगाडिदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।

चौरचनको कथा

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको सुन्दर सदनका बाबा नबल किशोर बताउनुहुन्छ । उहाँका अनुसार श्रीकृष्णलाई यसै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक महत्त्व पनि स्थापित भएको छ ।

त्यसैगरी श्रीमदभागवतमा पनि एउटा कथा रहेकोे छ । द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरिब यादव भगवान् सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए । विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे रे यादवले । उनी छिट्टै धनाढ्य हुन पुगे । यो खबर चारैतिर फैलियो । एक दिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चकमक्क भयो ।

श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गर्नुभयो । तर उनले मानेनन् र बहाना बनाई घर फर्किहाले । घरमा गएपछि राजाले मणि लिने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षासाथ जङ्गल पठाए । कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवन्त नाउँको बलशाली भालुले हात पारे । भालुको निवास एउटा विशाल गुफामा थियो ।

जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजाकहाँ आयो तब उसको सन्देह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलङ्क धुन श्रीकृष्ण जङ्गल गए र निकै खोजबिन गरेपछि त्यहाँ उपलब्ध साक्ष्यहरूका आधारमा आशङ्का गर्दै त्यस गुफाभित्र प्रवेश गरे । दश दिनभन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर नआएपछि सँगै आएका सैनिक निराश भई राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो ।

समय बित्दै जाँदा अठ्ठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ राजधानी फर्के । वास्तवमा जामवन्त भालुसँग लडाइँ गर्दै अन्तमा उनलाई हराएर मणिका साथ उनकी छोरी जाम्ववतीलाई लिएर उनी आएका थिए । त्यो दिन भाद्र शुक्ल चतुर्थीकै दिन थियो । श्रीकृष्णको कलङ्क मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको विधान रुपान्तरित भएको विश्वास छ ।

आजको मौसम : बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २१ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागद्वारा आज विहान जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बुलेटिनमा उल्लेख छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सबै प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले अनुरोध समेत गरेको छ ।

साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

वेदकोट (कञ्चनपुर), २१ भदौः पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ ।

“ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ । लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ”, स्थानीय डम्बर कार्कीले भन्नुभयो, “कल्भर्ट चाँडै बनाइदिए सजिलो हुुन्थ्यो ।”

गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो । त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवातजावत नै ठप्प भएको थियो । कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए । एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन् ।

त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन् । सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ । सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेका छन् ।

चाँडै कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्ट बताउनुहुन्छ । “सवारी तथा मालवाहक गाडी सबै त्यस्तै बाटो हुइकिन्छन् । गाडीको चाप र धुलो उड्ने हुनाले दुर्घटनाको जोखिम पनि भएकाले डराएर सवारी चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “धुलो उडेर राम्रोसँग बाटो नै देखिँदैन ।”

सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ ।

“सर्भे, डिजाइन निर्माण र कागजपत्र मिलान गर्नुपर्दा कल्भर्ट पुनःनिर्माणको काम केही ढिलाइ भएको हो । अहिले प्राविधिक टोलीले डिजाइन दिएका छन्”, उहाँले भन्नुभयो, “त्यसको अध्ययन गरेर भदौ अन्तिमतिर डिजाइनले पूर्णता पाउँछ । त्यसपछि ठेक्का प्रक्रियामा गएर निर्माणको काम अघि बढ्छ ।”

भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको छ । विज्ञप्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझावसहित प्रारम्भिक डिजाइन प्राप्त भएको इन्जिनियर सिग्देलले बताउनुभयो । यसअघि भत्किएको कल्भर्ट सात मिटर लम्बाइको एउटै थियो । डिजाइन तयार भएपछि नयाँ कल्भर्ट निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिने छ ।

“आपत्कालीन अवस्थामा काम गर्न हामीसँग थोरै बजेट हुन्छ । त्यसले नयाँ कल्भर्ट निर्माण गर्न सक्ने अवस्था छैन”, इन्जिनियर सिग्देलले भन्नुभयो, “त्यसैले डिजाइन तयार भएपछि बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पठाउँछौँ ।”