`

गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय

Nepal One HD ९ चैत २०८१ ६:५७
राजनीति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उपत्यका प्रदेश कमिटीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकाे पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा पछिल्लो विकासित घटनाक्रमका बारेमा आज समीक्षा गरिएको बताउँदै उहाँले गणतन्त्रको पक्षमा रहेका सबै दलसँग भेटघाट, छलफल र वार्ता गरी समन्वय गर्न बैठकले पार्टी केन्द्रलाई आग्रह गरेको उल्लेख गर्नुभयो ।

देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै बैठकले प्रतिगामी क्रियाकलापलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा गर्ने आमसभामा अधिकतम जनसहभागिता जुटाउने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया