कुकुर तिहारमा सेनाको ‘डग शो’ (तस्वीरहरू)
काठमाडौं । कुकुर तिहारको अवसरमा नेपाली सेनाले आइतबार भक्तपुरको मध्यपुर थिमिस्थित डग गुल्ममा विशेष ‘डग शो’ आयोजना गरेको छ।
कार्यक्रममा कुकुरको विधिपूर्वक पूजा गर्नुका साथै उनीहरूको क्षमता र कार्यकौशल प्रदर्शन गरिएको थियो।
नेपाली सेनाले सुरक्षा, अपराध अनुसन्धान, खोज तथा उद्धारलगायतका काममा तालिमप्राप्त कुकुर परिचालन गर्दै आएको छ। मानिसको तुलनामा कुकुरको सुँघ्ने क्षमता निकै तीव्र हुने भएकाले उनीहरूलाई शंकास्पद वस्तु तथा व्यक्तिको पहिचान गर्न प्रयोग गरिन्छ।
विशेषगरी विस्फोटक पदार्थ, लागूऔषध तथा अन्य शंकास्पद वस्तु पत्ता लगाउन कुकुरको भूमिका महत्त्वपूर्ण मानिन्छ। विपद्का बेला भग्नावशेषमा पुरिएका वा हराएका व्यक्तिको खोजीमा समेत उनीहरूको सहयोग लिइन्छ।
नेपाली सेनाले कुकुरलाई निष्ठा, इमानदारिता र बफादारिताको प्रतीकका रूपमा सम्मान गर्दै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ।
यस अवसरमा आयोजित डग शोले सुरक्षा तथा उद्धार कार्यमा कुकुरले पुर्याउँदै आएको योगदान र उनीहरूको विशेष क्षमतालाई उजागर गरेको छ।






















