`

शिलान्यास गरिएको छ वर्षमा पनि नमुना सदरमुकाम निर्माण अगाडि बढ्न सकेन

त्रिवेणी (नवलपरासी), २० भदौः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटान नहुँदा सो काम अगाडि बढ्न नसकेको हो । आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुपूर्व रूख कटानको आदेश पर्खिरहेको कार्यालयका इञ्जिनियर द्रोण कट्वालले बताउनुभयो ।

नवलपुरको सदरमुकाम निर्माणका लागि यहाँ एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । उक्त जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ विसं २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो । शिलान्यासको भएको छ वर्षको अन्तरालमा अहिले भवन निर्माणको काम अघि बढ्न थालेको छ । पहिलो चरणमा हाल विनियोजन गरिएको रु ८० करोडको लागतमा जिल्ला प्रशासन कार्यालयसहित अन्य दुई वटा भवन निर्माणको काम अघि बढाउन थालिएको छ । यस कामका लागि चौधरी कन्स्ट्रक्सन रौतहट छनोट भएको छ ।

सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले असोजदेखि स्थलगत रुपमा नमुना सदरमुकाम निर्माणको काम अघि बढाउने तयारी गरेको छ । तर निर्माणको प्रक्रिया अघि बढाउन थाल्दा यहाँ रहेका रूख कटानको आदेश भने अझै आई नसकेको इञ्जिनियर कटवालले बताउनुभयो । “हाल निर्माण गर्न थालिएको भवनको ठाउँमा रूख पर्दैनन् कि भन्ने हो, तर उक्त आदेश आए काम गर्न सहज हुने थियो”, इञ्जिनियर कटवालले भन्नुभयो । रुख कटानको आदेश नआए निर्माणको काम प्रभावित हुनसक्ने उहाँले बताउनुभयो ।

नमुना सदरमुकाम निर्माणस्थलमा ठूला पाँच सय ५२ र साना ९० गरी छ सय ४२ रूख रहेका छन् । नमुना सदरमुकाम निर्माणस्थलमा रूख हटाउने मापदण्डअनुसार प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो । आवश्यक निर्णयका लागि सबै कागजातसहित वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको उहाँले बताउनुभयो । मन्त्रालयको निर्णय पछि रूख कटान अघि बढ्ने उहाँले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयले जतिसक्दो चाँडो निर्णय गरिदिन्छ उति चाँडो काम अघि बढाउन सहज हुने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका इञ्जिनियर कट्वालले बताउनुभयो । हाल तीन वटा कार्यालय भवन निर्माण सुरु हुने साथै यस वर्ष थप अन्य भवन निर्माणको प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

नमुना सदरमुकाम निर्माणको थालनी गर्न ढिलो भइसकेको र जतिसक्दो चाँडो स्थलगत रुपमा काम सुरु गर्नुपर्ने यसै क्षेत्रका पूर्व सांसद तिलक महतले बताउनुभयो । जिल्लाकै गौरवको आयोजनाका रुपमा रहेको नमुना सदरमुकाम निर्माण गर्ने कामलाई चाँडो सुरु गराउन सम्बन्धित सरोकारवालाले आवश्यक पहल गरिदिनुपर्ने उहाँले बताउनुभयो ।

“जिल्लाका सबै कार्यालय अहिले पनि भाडामा रहेका छन्, साँघुरा ठाउँबाट सेवा दिइरहेका छन्, यसले सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ, यी सबै समस्याको समाधान भनेकोजति सक्दो चाँडो भवन निर्माण गर्नु हो”, उहाँले भन्नुभयो ।

नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिमेट स्टेडियम, कर्मचारीका लागि आवसगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भूभागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भूभाग कङ्क्रिटविहीन राखिनेछ । आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

वीरगञ्ज (पर्सा), २० भदौः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव नहुने बताउनुभयो । “विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अब कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव हुने छैन”, केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको रु १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताउनुभयो । केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो । केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ ।

यो त बालेनको आफ्नै कर्तव्य पालनाभित्रको न्यायिक लडाइँ हो

नारायण गाउँले ।
काठमाडौँ महानगरले बालश्रम र शोषणमा रहेका करिब ५० जना बालबालिकाको उद्धार गरेर तिनको हेरचाह गरिरहेको रहेछ । तीन महिनाअघि एमाले प्रदेश सांसद रेखा शर्माको घरबाट १४ वर्षकी एक बालिकाको उद्धार गरिएको रहेछ ।
त्यो उद्धारसँग बालेनको प्रत्यक्ष सम्बन्ध पनि रहेनछ । महानगरले बालबालिकाको हक, सुरक्षा र श्रमशोषणबारे अध्ययन गर्न र सचेतना फैलाउन केही विद्यार्थी स्वयंसेवक नै छनोट गरेर विभिन्न क्षेत्र र विद्यालयमा पठाएको रहेछ ।
बालेन होइन, तिनै विद्यार्थीको टोली ती बालिका पढ्ने विद्यालयमा पनि पुगेको रहेछ । विद्यालयमा कुनै एक शिक्षकलाई बालसंरक्षणको फोकल पर्सन तोकिएको हुन्छ । तिनै शिक्षकको समन्वयमा आफ्ना आमाबुबाबाहेक अरूसँग बस्ने पाँच जना विद्यार्थीको नाम टिपेर त्यो टोलीले बालअधिकार र श्रमबारे केही प्रश्न सोधेको रहेछ ।

तिनै पाँच जनामध्ये एक बालिकाले विगत ६ वर्षदेखि आफूलाई बन्धकजस्तै बनाएर राखिएको र घरपरिवारसँग भेट गर्नसमेत नदिइएको जवाफ दिइन् । हात, पाइप र लठ्ठीले पिटेर यातना दिने गरेको अनि घरमा पोछा लगाउनेदेखि बगैँचा रेखदेख गर्नेसम्मका काममा लगाउने गरेको जवाफ उनले दिएपछि विद्यार्थीको त्यो टोली अचम्म पर्यो । यो उत्तरले जसलाई पनि सजग बनाउन सक्थ्यो र पर्थ्यो । श्रमशोषण र यातना दुबै गम्भीर अपराध थिए ।

जब यो जानकारी मेयर बालेनसम्म पुग्यो, उनले त्यही गरे, जे म या तपाईं भएको भए गर्ने थियौँ । बालसुरक्षा कानुनी जिम्मेवारी पनि हो । गत जेठ १४ गते बालिकाको उद्धार भयो । नेपाल प्रहरी, बालबालिका खोजतलास गर्ने सरकारी निकाय, सम्बन्धित वडाका जनप्रतिनिधि र महानगरको बाल–उद्धार कर्मचारीसहितको टोलीले उनलाई उद्धार गरेको रहेछ । उनलाई अस्थायी संरक्षण गृहमा राखिएको थियो ।

यो गम्भीर अपराध भएकाले नेपाल सरकार र प्रहरी आफैं वादी भएर तत्काल कानुनी उपचार खोजिनुपर्ने थियो । तर यहाँ राजनैतिक कनेक्शन बीचमा आयो । प्रहरीले आलटाल गर्यो । सांसद शर्मा दाङ जिल्लाकी हुन् र त्यहाँ केही वर्षअघिसम्म पनि कमैया र कमलरी प्रथा कायम थियो । कुनै तलब र सुविधाबिनै बन्धक जस्तै बनेर थारू समुदायका बालबालिकादेखि महिला–पुरुषसम्म जमिनदारको घरखेतमा काम गर्थे । पाँच–सात वर्षका कलिला बालिकाले जूठा भाँड़ा माझ्दै गरेको दृश्य सामान्य थियो । हरेक वर्ष माघीमा कलिला बालिकालाई कमलरीको रूपमा बेचबिखन हुन्थ्यो । यो पूर्वतिर धेरैलाई थाहा नभए पनि मध्यपश्चिम नेपालको पाशविक इतिहास थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५७ साल साउन २ गते यो प्रथालाई औपचारिक बन्देज गरिएको भए पनि आर्थिक रूपले विपन्न हुनाले अझै पनि यो समुदाय श्रमशोषणको मारमा छँदै छ । एमालेकी प्रख्यात युवानेतृ शान्ता चौधरी स्वयं पूर्व कमलरी हुन् ।

यो उद्धारपछि प्रहरीले नै अगाडिको काम कारवाही गर्नेछ भन्दै महानगर कुरेर बसेछ । तर प्रहरीले मुद्दा दर्ता गर्नुअघि नै उल्टो महानगरले आफ्नी छोरी अपहरण गरेको र भेट्न समेत नदिएको भन्दै छोरीको बुबा अदालत पुगेछन् । यहाँ लोभलालच, धम्की प्रयोग भएको थियो या बुबाको स्वेच्छा थियो भन्ने खुलेको छैन । प्रायः अलिकति पैसा लिएर छोरीलाई कामदारका रूपमा पठाउने त्यहाँको पुरानो चलन थियो । छोरी कामबाट हटेपछि पैसा फिर्ता मगिएको हुनसक्छ ।
महानगरले लहडको भरमा उद्धार गरेको थिएन, अदालतले अपहरण मान्ने कुरो भएन । बालिकाले त्यही बयान त्यहाँ पनि दिइन् । अझ बुबा भनिने त्यो व्यक्तिलाई त उनले चिन्न पनि सकिनन् । स्कुलको रेकर्डमा बाबुको नामसमेत अर्कै टिपाइएको रहेछ । अदालतले त्यो रिट खारेज गर्यो र महानगरलाई नै संरक्षण गर्न आदेश दियो ।

यसैबीच प्रहरीले जाहेरी लिएको र अनुसन्धान अघि बढाउने सम्भावना देखेर सांसद रेखा शर्मा धरपकड नगर्ने निषेधाज्ञा आदेश माग्दै आफै अदालत गइन् । मुद्दामाथि मुद्दा हुँदै जाँदा गत साउन २३ गते निषेधाज्ञा दिन अदालतले अस्वीकार गर्यो । अब प्रहरीले यो केस अघि बढाउन या पक्राउ गर्न बाटो खुल्यो । तर प्रहरी माथिल्लो दबाबमा पर्यो ।

बालिकाको भरणपोषण र शिक्षादीक्षा हेरिरहेको महानगरले प्रहरीलाई यो केसमा मुद्दा दर्ता र छानबिन के हुँदै छ भनेर गत भदौ ९ मा समेत लिखित रूपमैं सोधेको रहेछ । तर कतैबाट जबाफ आएन । तपाईं या म रेखा शर्माको ठाउँमा भएको भए तत्काल पक्राउ पर्ने केस थियो यो । तर उनी सत्ताधारी दलकी सांसद थिइन् ।

अब तपाईं बालेनको ठाउँमा आउनुहोस् र सोच्नुहोस् । तपाईंसँग के विकल्प बाँकी रहन्थ्यो ? यो विषयलाई यत्तिकै छोड्ने या आफ्नो पदीय र मानवीय दायित्व पूरा गर्दै सकेको गर्ने ? सामान्य घटना थिएन यो । गम्भीर बालअधिकार उल्लङ्घनको घटना थियो । उन्मूलन भएको कमलरी प्रथाको अवशेष थियो । एक साँझको झोक या भावुकताको कुरो थिएन । चार महिनादेखि न्यायलाई दबाउने अनेक कदम, दबाब र उपेक्षाको फ्रस्ट्रेशन थियो ।

प्रहरीले नसघाई यो मुद्दा किनारा लाग्दैन र केपी ओलीले नचाही एमाले सांसदविरुद्ध प्रहरी खुलेर जान सक्दैन । यो एमालेसँग बालेनको राजनैतिक दुश्मनीको विषय नै होइन । यो त आफ्नै कर्तव्य पालनाभित्रको न्यायिक लड़ाइँ हो नि, होइन र ? नढाँटी भन्नुस् त, तपाईं भए के गर्नुहुन्थ्यो ? एकछिन राजनीति, नेता, दल, सिद्धान्त, जित, हार या ईगोभन्दा माथि उठेर सोच्नुस् र भन्नुस् त, तपाईं के गर्नुहुन्थ्यो ?

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), २० भदौः यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा रु ८८ करोड छ लाख ८७ हजार दुई सय ४७ राजस्व सङ्कलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उहाँले बताउनुभयो । यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो ।

गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार छ सय १५ मोटरसाइकल दर्ता हुँदा एक हजार सात सय पाँच इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, नौ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिनुभयो ।

आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक, के छ पर्यटक बढाउने सरकारी योजना ?

काठमाडौँ, २० भदौः सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताउनुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्तमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

के छ पर्यटक बढाउने सरकारी योजना ?

कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।

धुलिखेल–खावा सडक : आज र भोलि मालवाहक गाडी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, २० भदौः अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।

निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ ।

निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका हुन् ।

सडक निर्माणार्थ दुई दिन पूर्ण रुपमा मालबहाक यातायातका साधान बन्द गर्न कार्यालयले बुधबार सार्वजनिक सूचनामार्फत अनुरोध गरेका हो । मङ्गलबार राजमार्गअन्तर्गत पर्ने धुलिखेल नगरपालिका–८ र पाँचखाल नपा– ५ का वडाध्यक्षद्वय विनोद गौतम र सीतारामा ढुङ्गाना सडक विस्तारको करिब पाँच महिना बितिसक्दा पनि निर्माण कम्पनीले लापर्वाही गरेका कारण मध्यपहाडी क्षेत्रका नागरिकले निकै सास्ती ब्यहोर्नु परेपछि मङ्गलबार सडक डिभिजन कार्यालय भक्तपुरको कार्यालयमा तालाबन्दी गर्न स्थानीयसहित पुगेका थिए ।

कार्यालयका प्रमुख मेघराज मरासिनीले आजदेखि निर्माणको कामलाई निरन्तरता दिने मौखिक सहमतिपछि बिहीबार र शुक्रबार निर्माणलाई निरन्तरता दिन मालवाहक यातायातका साधनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो । यसअघि पनि गत जेठमा उक्त सडकखण्ड विस्तार कार्यका लागि करिब एक हप्ता दैनिक चार घण्टा यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक)बन्द गरिएको थियो । यसकासाथै दुई साता टिपरलगायत मालवाहक यातायातका साधनलाई पनि पूर्ण रुपमा निषेध गरिएको थियो ।

यसैबीच बनेपाको चार दोबाटो–रविओपी हुँदै पाँचखाल र बिपी राजमार्ग–तीनपिप्ले–पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । यसका अतिरिक्त साना सवारीसाधनले नगरकोट–कुन्ताबेंसी–जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन् भने दोलालघाट–पाँचखाल हुँदै काठमाडौँतर्फ आउने सबै प्रकारका सवारीसाधनले जिरोकिलोबाट कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न सक्नेछन् ।

निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । उक्त सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोकिएको थियो । उक्त खण्डका लागि रु २० करोड १९ लाख ४६ हजार पाँच सय बजेट विनियोजन गरिएको थियो ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो ।

नेपालको उत्तरी नाका अर्थात् पूर्वी–उत्तरी क्षेत्र तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग हुन्छ ।

मेलम्ची बाढिपीडितले तीन महिनादेखि पाएका छैनन् अनुदानबापतको रकम

सिन्धुपाल्चोक, २० भदौः यहाँका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ ।

आवास निर्माण सुरु गरे पनि अनुदानबापतको किस्ता रकम भुक्तानी हुन नसक्दा मनसुनको समयमा थप समस्या भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ । “कतिपयले ऋण लिएर आवास पुनःनिर्माण गरेका छन्, सरकारले दिने अनुदान रकमबाट ऋण तिर्ने आसमा बसेका लाभग्राहीको अनुदान रकम निकासा नहुँदा समस्यामा भएको गुनासो दिनहुँजसो आउने गरेका छन्”, उहाँले भन्नुभयो,“विगत तीन महिनादेखि अनुदान प्राप्त गर्न नसकी विपद् प्रभावित लाभग्राहीको मर्कामा परेका छन् । घर निर्माण नहुँदा प्रभावितहरू जोखिम भएकै स्थानमा बस्न बाध्य छन् । नेपाल सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस विषयलाई गम्भीरतापूर्वक लिएर निकास दिनुपर्छ ।”

जिल्ला प्रशासन कार्यालयका विपद् सम्पर्क व्यक्ति रविराज धितालले २०७७ मा निर्माण भएको कार्यविधिमा सुधार गरी एकीकृत कार्यविधि निर्माण गर्न थालिएको र सो काम नसकिएकाले भुक्तानीमा समस्या भएको बताउनुभयो । पश्चिम नेपालका भूकम्पपीडितलाई समावेश गरेर नयाँ एकीकृत कार्यविधि निर्माण गर्ने र सोहीअनुसार आवास निर्माण गरी अनुदान रकम उपलब्ध गराउने भन्दै प्राधिकरणबाट नै भुक्तानी रोकिएको उहाँले बताउनुभयो । कार्यविधिको टुङ्गो लाग्नेवित्तिकै समस्या समाधान हुने धितालको भनाइ छ ।

प्राधिकरणले २०७७ मा बनाएको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधिबमोजिम कायम भएका लाभग्राहीको तथ्याङ्कअनुसार यहाँ एक हजार आठ सय ९३ परिवार मनसुनजन्य विपद्बाट प्रभावित छन् । त्यसअघिका मनसुनजन्य विपद्पीडितको यकिन तथ्याङ्क भने छैन । विसं २०७७ मा निर्माण गरिएको कार्यविधिबमोजिम २०७७ जेठ पछाडि घटेका विपद्जन्य घटनाबाट प्रभावितका आवास पनःनिर्माण तथा पुनःस्थापनाका लागि हिमाली जिल्लामा रु पाँच लाख, पहाडी जिल्लामा रु चार लाख र तराईका जिल्लामा रु तीन लाख उपलब्ध गराउने व्यवस्था भए पनि पीडितले हालसम्म सो रकम पाउन सकेका छैनन् । सिन्धुपाल्चोक हिमाली जिल्लाभित्र पर्दछ । यसरी दिइने रकममा सङ्घीय सरकारबाट नगरपालिकाको हकमा ५५ र गाउँपालिकाको हकमा ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र गाउँपालिकाबाट १० र नगरपालिकाबाट १५ प्रतिशत बेहोर्ने गरी कार्यविधिमा उल्लेख छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय तहले बाढी प्रभावितको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा आवश्यक निर्णयका लागि पठाए पनि कार्यविधिका कारण पीडितको अनुदान रकम भुक्तानी नआएको जानकारी दिइएको बताउनुभयो । उहाँले जिल्ला प्रशासनमार्फत प्राधिकरणसँग समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

विसं २०७८ असार १ गतेको बाढी र त्यसपछि मेलम्ची तथा इन्द्रावती नदिमा आएको बाढीले घर बगाएको तीन वर्ष वितिसक्दा पनि पुनःनिमार्णको लागि रकम नपाउँदा समस्या भएको बाढीपीडित मेलम्ची ११ का हरिशरण श्रेष्ठको गुनासो छ । “किस्ताबन्दीमा रकम दिने कुरा थियो तर नियमित भुक्तानी नहुँदा ऋण गरेर आवास निर्माण गरेका धेरै पीडित समस्यामा छौँ”, उहाँले भन्नुभयो ।

मेलम्ची नगरपालिका–११ फट्टेकी अस्मिता दनुवारको पनि सोही असार १६ गतेको बाढीले घर बगाएको थियो । भूकम्पपश्चात ऋणकर्ज गरेर बनाएको घर ऋण तिरेर नसक्दै बाढीले बढाएपछि उहाँको परिवार टहरोमा बस्न बाध्य छ । घर निमार्णको प्रक्रिया थाले पनि समयमै किस्ता नआउँदा लघुवित्तबाट लिएको ऋणको ब्याज तिर्दै हैरान भएको अस्मिताको गुनासो छ ।

कार्यविधिबमोजिम कायम भएका लाभग्राहीको हालसम्म पनि पूर्ण रूपमा आवास पुनःनिर्माण भइसकेका छैनन् । सुरक्षित आवास बनाउन जग्गा नभएका लाभग्रीलाई जग्गा खरिदबापत लिखतको आधारमा थप रु तीन लाखसम्म उपलब्ध गराउनेसमेत कार्यविधिमा उल्लेख छ तर जग्गा खरिदको लागि आउने रु तीन लाख र घर बनाउन आउने रु पाँच लाखले नयाँ ठाउँमा घर बनाउन गाह्रो भएको र सोही रकम पनि समयमा नपाउँदा थप समस्या झेल्नु परेको मेलम्चीका टासी शेर्पाको गुनासो छ ।

विसं २०७७ सालमा प्राधिकरणबाट कार्यविधि जारी भएलगत्तै सिन्धुपाल्चोकका धेरै स्थानका मनसुनजन्य विपद् प्रभावितलाई कार्यविधिबमोजिम लाभग्राही कायम गर्ने काम सुरु भएको थियो । तथ्याङ्कअनुसार यहाँ एक हजार आठ सय ९३ जना लाभग्राही छन् । तीमध्ये एक हजार ४९ जनाले अनुदान सम्झौता गरी आवास पुनःनिर्माणको काम सुरुआत गरेका छन् । त्यसमध्ये पाँच सय जनाले डिपिसी तहसम्म पूरा गरिसकेका छन् भने दुई सय ३० जनाले पुनःनिर्माण सकेका छन् तर रकम भुक्तानी भने हुन सकेको छैन । हालसम्म पहिलो किस्ता वापतको ५० हजार एक हजार ४९ जनालाई दोस्रो किस्ता चार सय ६ र तेस्रो किस्ता एक सय ६ जनालाई उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सीतापुर–पकरीदेखि–डलवासम्मको सडकखण्ड अधुरै

राजविराज (सप्तरी), २० भदौः ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ ।

मधेस प्रदेश सरकारअन्तर्गतको यो सडकको निर्माणको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषालाई दिइएको छ तर तोकिएको समय सकिँदा पनि सितापुरदेखि पकरीसम्म सात किलोमिटर र पकरीदेखि महादेवा गाउँपालिकाको कजोलीसम्म छ किमी बाटो निर्माण सम्पन्न हुन सकिएको छैन ।

निर्माण कम्पनीसँग २०७८ चैत ७ गते रु ३१ करोड २४ लाख आठ हजार तीन सय २४ (भ्याट बाहेक) मा २०८० चैत ८ गतेसम्म सडक निर्माण गरिसक्ने सम्झौता भएको थियो ।  सोअनुसारको समय बित्दासमेत सडकखण्डअन्तर्गत महादेवा गाउँपालिका–१ को पकरी, सोनरालगायत स्थानमा ग्राभेल हाल्ने काम मात्र भएको वडाध्यक्ष जयश्वरकिशोर दासले बताउनुभयो । सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानीयलाई आवतजावतमा निकै समस्या भएको उहाँले बताउनुभयो । “सडक नबन्दा यहाँ एम्बुलेन्ससमेत जान नसक्दा बिरामीलाई बोकेर हुलाकी राजमार्गसम्म पु¥याउनुपर्ने बाध्यता छ । त्यसैले सम्बन्धित निकायले सडक निर्माण ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो,“ठेकेदार कम्पनीले यहाँका बस्ती क्षेत्रमा ढलान सडक बनाउन र अन्य ठाउँमा कालोपत्र गर्ने गरी सम्झौता गरेको छ तर सम्झौतानुसार ५० प्रतिशत पनि काम हुन सकिएको छैन ।”

उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण

इनरुवा,२० भदौः इटहरीस्थित तरहरामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालयले किसानलाई उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण गर्न थालेको छ ।

भैँसीपालनप्रति कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा पाडापाडी वितरण गर्न थालेको कार्यालय प्रमुख पवनकुमार झाले जानकारी दिनुभयो । बढ्दो सहरीकरण, फेरिएका गाउँबस्ती, चरिचरणको अभाव तथा फेरिँदो जीवनशैलीका कारण पछिल्लो समय भैँसीपालन पेसा सङ्कटमा पर्दै आएकाले कृषिकको उत्साहका लागि पडापाडी प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो । भैँसीपालन गर्न तथा उन्नत जातका बीउ उत्पादनका लागिसमेत स्थानीय किसनको मागका अधारमा वर्षिक रूपमा २० देखि ३० वटासम्म पाडापाडी वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।

हाल अधिकांश परिवारले राँगो, भैँसी पाल्न छाडेपछि राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रमअन्तर्गत मुर्रा र रैथाने जातका पाडापाडी न्यूनतम शुल्कमा वितरण गर्न थालेको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । “उन्नत नश्लको बीउ राँगाको व्यवस्था गरी कार्यालयले कृषकका लागि पाडापाडी वितरण गर्नुका साथै दूध उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका छौँ तर जनशक्ति र बजेट अभावले प्रभावकारी हुन सकेको छैन् । पाडापाडीको माग बढे पनि सोअनुसार वितरण गर्न सकिएको छैन”, उहाँले भन्नुभयो,“प्रत्येक वर्ष ७० देखि ८० वटा कृषकबाट उन्नत जातका पाडापाडीको माग आए पनि २० देखि ३० जनालाई मात्र वितरण गर्न सकिएको छ ।”

गण्डकी प्रदेशमा एक महिनामा १९ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

कास्की, २० भदौः गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटा जिल्लामा गरी एक महिनामा उक्त सङ्ख्यामा सवारीसाधनलाई कारबाही गरिएको जनाएको छ । यसैगरी सोही अवधिमा सवारीसाधन कारबाहीबाट रु एक करोड ५० लाख ५२ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

यहाँ कास्कीमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । कास्कीमा सात हजार तीन सय १३ सवारी साधन कारबाहीमा पर्दा रु ५४ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपरासीमा दुई हजार आठ सय सतासी सवारीसाधनबाट रु २२ लाख ४१ हजार पाँच सय, तनहुँमा तीन हजार चार सय ४५ सवारीसाधनबाट रु २६ लाख ९७ हजार पाँच सय, स्याङ्जामा एक हजार दुई सय ३५ सवारीसाधनबाट रु नौ लाख ८३ हजार पाँच सय, बागलुङमा नौ सय ७० बाट रु आठ लाख ४१ हजार, लमजुङमा एक हजार सात सवारीसाधन कारबाहीबाट रु सात लाख ६८ हजार राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

यसैगरी गोरखामा नौ सय ७२ सवारीसाधनबाट रु नौ लाख २८ हजार पाँच सय, पर्वतमा छ सय ११ सवारीसाधनबाट पर्दा रु पाँच लाख ७५ हजार, म्यादीमा पाँच सय ७४बाट रु चार लाख २५ हजार पाँच सय, मुस्ताङबाट ७५ सवारीसाधन कारबाहीबाट रु ७१ हजार पाँच सय र मनाङमा २४ सवारीसाधनबाट रु २२ हजार राजस्व जम्मा भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । “ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेको सङ्ख्या बढ्न थालेपछि जिल्ला जिल्लामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ । दैनिकजसो सवारी जाँच गरिएको र नियमविपरित चलाउनेलाई कारबाहीस्वरूप जरिवाना गर्ने गरिएको छ”, प्रनाउ विकले भन्नुभयो ।

कार्यालयले यस अवधिमा सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रदेशभर तीन हजार दुई सय ५७ ट्राफिक जनचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । ती कार्यक्रमबाट महिला ५६ हजार दुई सय ५३ र पुरुष ९८ हजार आठ सय ८१ जना गरी एक लाख ५५ हजार एक सय ३४ जना लाभान्वित भएको बताइएको छ ।

‘भीरबाट खसेर र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद्मा राख्नुपर्छ’

मान्म (कालीकोट), २० भदौः कालीकोटमा भीरबाट खसेर र माथिबाट खसेको ढुङ्गा लागेर धेरै मानवीय क्षतिका घटना हुने गरेका छन् । यसरी हुने क्षति बाढीपहिरोलगायत प्राकृतिक प्रकोपले भन्दा बढी हुने गरेको छ ।

उच्च पहाड, भीरलगायत प्रतिकूल भौगोलिक अवस्था र यिनै भीरमा गाईवस्तुका लागि घास काट्न जानुपर्ने बाध्यताका कारण यहाँ मानवीय क्षति बढी हुने गरेको जानकारहरू बताउँछन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले यहाँ भीरबाट लडेर र माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु हुने धेरै रहेको बताउनुभयो । “सरकारले विपद्को सूचीमा नराखे पनि कालीकोटको प्रमुख विपद् नै यही रहेछ”, उहाँले भन्नुभयो, “बाढीपहिरोभन्दा भीरबाट लडेर र ढुङ्गा खसेर मृत्यु हुनेको सङ्ख्या दोब्बर रहेको छ ।”

यहाँ आर्थिक वर्ष २०७९÷८० मा १३ जनाले भीरबाट खसेर ज्यान गुमाएकामा छ पुरुष र सात महिला रहेका थिए । यसैगरी भीरबाट खसेको ढुङ्गा लागेर १२ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष भीरबाट लडेर नौ जनाले ज्यान गुमाउँदा छ जनाको ढुङ्गाले लागेर मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा बाढीपहिरोबाट यी दुवै वर्षमा गरी १२ जनाले ज्यान गुमाएका प्रहरीको तथ्याङ्क छ ।

राहत तथा क्षतिपूर्तिका लागि पहिरोबाट ज्यान गुमाउनेको विवरण प्रहरीकहाँ जानकारी गराउने भए पनि भीरबाट खसेर र ढुङ्गाले लागेर ज्यान गुमाउने आधाभन्दा बढी घटनाबारे प्रहरीलाई जानकारी नै नदिइ गाउँमा नै दाहसंस्कार गर्ने चलन रहेको जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत (विक)ले बताउनुभयो । “यस्ता घटना विपद्मा नसमेटिने र पोस्टमार्टम गर्न झन्झटिलो हुने ठानेर प्रहरीलाई खबर नै गर्दैनन्”, उहाँले भन्नुभयो, “भीरबाट लडेर, भवितव्यमा परेर ज्यान गुमाउनेको सङ्ख्या अझ धेरै हुनसक्छ ।”

विपद्को घटनामा राख्न माग

भीरबाट लड्ने र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद् मान्नुपर्ने जिल्लाका राजनैतिक दल, नागरिक समाज, विपद्का क्षेत्रमा काम गर्ने सङ्घसंस्थालगायतले माग गरेका छन् ।

उनीहरूले जिल्ला विपद् व्यवस्थापन समितिमा यस्तो माग गर्दै आएका छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बलप्रसाद सज्यालले भौगोलिक अवस्था, बाटोघाटो राम्रो नहुनु, भीरलगायत भिरालो जमिन भएकाले माथिबाट खसेको ढुङ्गा लागेर ज्यान गुमाउनुपरेकाले यस्ता घटनालाई विपद्मा राखेर राहत दिनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । “कालीकोटको कठिन भूगोलका कारण भीरबाट खसेका र ढुङ्गा लागेर ज्यान गुमाएकालाई विपद्बाट भएको मृत्युमा राखेर राहत दिँदा स्थानीयलाई न्याय हुन्छ”, उहाँले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिसँग हामीले निरत्नर यस्तो माग गरिरकेका छौँ तर सम्बोधन हुन सकेको छैन ।’

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यसरी भएको क्षतिका घटनालाई विपद् नमानेकाले राहात र क्षतिपूर्ति दिन नसकिएको बताउनुभयो । “कानुनमै सम्बोधनका लागि गृह मन्त्रालयमा अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “एक महिनाअघि गरिएको अनुरोधका विषयमा गृह मन्त्रालयमा सायद छलफल भइरहेको होला ।”

सरकारले विपद्मा परी मृत्यु भएका परिवारलाई किरिया खर्चबापत रु २५ हजार र राहतस्वरूप रु दुई लाख दिने गरेको छ । कर्णाली प्रदेश सरकारबाट पनि प्रतिमृतक रु दुई लाख थप रकम दिने व्यवस्था गरेको छ तर भीरबाट लडेर र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद् नमानेकाले समस्या भएको रेडक्रस सोसाइटीका जिल्ला सभापतिसज्यालले बताउभयो । “यो घटनालाई विपद्को घटना मान्दा पीडित परिवारलाई केही राहत र आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा सहयोग पुग्थ्यो । त्यसका लागि हामीले पहल थालका छौँ, केही हुन्छ होला भन्ने आस छ”, उहाँले भन्नुभयो ।

४२ वर्षको सैन्य सेवाबाट अवकाश हुन लागेका प्रधानसेनापति शर्माको बिदाई

काठमाडौँ, २० भदौ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लाग्नुभएको हो ।

प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पु¥याउनु भएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताउनुभयो । साथै उहाँले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उल्लेख गर्नु भयो ।

मन्तव्यकै क्रममा सचिव दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लाग्नुभएका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

कामु प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताउनुभयो । उहाँले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पु¥याउन महारथी शर्माले प्रदर्शन गर्नुभएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताउनुभयो ।

प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताउनुुभयो । उहाँले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्नु हुने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सम्झनास्वरूप उपहार प्रदान गर्नुभएको थियो भने नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गर्नुभएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झना स्वरूप मउपहार प्रदान गर्नुभएको थियो । यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबिच सम्झनास्वरूप उपहार आदानप्रदान भएको थियो ।

त्यस अवसरमा पूर्वप्रधानसेनापतिहरू, पूर्वरक्षा सचिवहरू, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, अधिकृत, सञ्चारकर्मीहरूलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यस अघि प्रधान सेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गर्नुभएको थियो भने प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ, २० भदौः यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् ।

पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन् ।

तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ ।

शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।

मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

 यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि  एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । यस सिजनका लागि हिमाल आरोहणबापत रु एक करोड ३० लाख ९६ हजार दुई सय ६४ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६१ र बिक्रीदर एक सय तीन रुपैयाँ ७ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ र बिक्रीदर १३ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २१ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : तीन प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ, २० भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थलमा पुनः उडान

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ ः प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहााले भन्नुभयो, “ मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो । ”

निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ ।

बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि सुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ । यद्यपि, पहिलो उडानमा काठमाडौँ–ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार–प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ ।

उडान पुनः सञ्चालन भएसँगै दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् । सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । ताप्लेजुङ–काठमाडौँ उडानका लागि हालको भाडादर प्रतिव्यक्ति रु नौ हजार चार सय ७६ रहेको निगमले जनाएको छ ।

डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज

राँझा (बाँके), १९ भदौः नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो ।

डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताउनुभयो । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उहाँको भनाइ छ । यो पुलको निर्माण तोकिएको समयभन्दा करिब छ महिनाअघि नै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि नेपालगञ्जले गत असारभित्रै सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, हुलाकी सडकअन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो । नयाँ पुल दुवैतर्फ एक दशमलव ७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । दुई स्पान रहेको पुल ६६ मिटर लामो छ ।

पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्नेगरी २०७९ असार ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्धारित समयभन्दा छ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो । रु १० करोड ७१ लाखमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि रु १० करोड ४३ लाखमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

यो पुल निर्माण भएपछि बाँकेको डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगञ्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने नागरिकलाई आवागमनमा सहजता भएको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो ।

नेपालगञ्ज–बघौडा सडकको पुष्पलाल चोकबाट डुडुवाखोला पुलसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएको छ । सडकखण्डमा दुवैतर्फ सडक विस्तार गरी कालोपत्र भएपछि सवारीको चाप पनि बढ्दै गएको छ । नेपालगञ्जबाट राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारूले बताउनुभयो ।

नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्म सडकको दूरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दूरी छ । दूरी छोटो पर्ने भएकाले सवारीसाधनले अगैयासम्म पुग्नका लागि डुडुवा पुल हुँदै राप्तीपारीकै सडक रोज्ने गरेका छन् ।

अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

काठमाडौँ, १९ भदौः अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ । सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र काठमाडौँ–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मङ्गलबार हस्ताक्षर गर्नुभयो ।

कार्यकारी निर्देशक गोसाईँका अनुसार सम्झौतामा काठमाडौँ–१२ मा मोतियाबिन्दु छनोट शिविर, सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाका लागि आँखा उपचार सम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । शिविरमा मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीको आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया गरिने छ भने दृष्टि न्यून भएका विद्यार्थीका लागि निः शुल्क चस्मा वितरण गरिने छ ।

अस्पतालले यसप्रकारको सहकार्य काठमाडौँ–११, ललिपुर महानगरपालिका वडा नं १८ र चन्द्रागिरि नगरपालिका वडा नं ७ सँग गरिसकेको छ । अस्पतालका कार्यकारी निर्देशक गोसाईँका अनुसार आँखा उपचार सम्बन्धी सबै उपचार सेवा प्रदान गरिराखेको सो अस्पतालले विगत वर्ष एकलाख ७५ हजारलाई वहिरङ्ग सेवा , १२ हजार शल्यक्रिया सेवा, घुम्ति आँखा उपचार सेवा प्रदान गरेको थियो ।
अस्पतालले बाराको सिमरा , गोरखाको भच्चेक र काठमाडौ उपत्यकाका तीनस्थानमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

पर्वत, १९ भदौः आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडाँै मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन ।

पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू कक्ष निर्माण गरिएको थियो । तीनजना डाक्टर र तीनजना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन । पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।

भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उहाँले बताउनुभयो । एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उहाँको भनाइ छ ।

सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एकजना पनि नहुँदा समस्या भएको उहाँले बताउनुभयो । “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ । त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।

कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झण्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उहाँको भनाइ छ ।
अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “हामीसँग स्रोत भएर के गर्नु ? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?”, गिरीले भन्नुभयो ।

‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताउनुभयो । पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रीयाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको रु दुई करोडबाट सामग्री किनिएका थिए ।

त्यहीबेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । “सबै भयो जनशक्ति भएनन् । यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ? यसमा खास तीनजना डक्टर चाहिने रहेछन् । एकजना इन्टरनल मेडिसिन पढेको, एकजना एनेस्थेसियोलोजिष्ट, एकजना नेफ्रोलोजिष्ट चाहिने रहेछ”, उहाँले भन्नुभयो, “यी तीनजना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन् ।”

पर्वत अस्पतालमा आइसीयू र भेन्टिलेटरको सुविधा भइदिएको भए पोखरा र काठमाडौँका अस्पतालमा जान सक्ने उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामा जीवन बचाउने मौका पाउन सक्ने उहाँको गुनासो छ ।

‘ओलीजी, तपाईं भ्रष्ट हुनुहुन्छ भन्ने यो मन मान्न तयार छैन’

नारायण गाउँले । ओलीजी, तपाईं भ्रष्ट हुनुहुन्छ भन्ने यो मन मान्न तैयार छैन, तर भ्रष्टाचारलाई संस्थागत गर्न, ऊर्जा प्रदान गर्न र सुरक्षित अनुभव गर्न तपाईंको जान-अनजान ठूलो योगदान छ !

-घूस माग्दै गरेको अडियो नै बाहिर आउँदासमेत गोकुल बाँस्कोटामाथि कुनै छानबिन र कारवाही भएन । बाँस्कोटाले आफ्नै आबाज भनेर स्वीकार गर्दासमेत तपाईंले यो झुटो अडियो भनेर बचाउ गर्नुभयो । तपाईंलाई “बा” मानेकै कारण उनी आज संसदमा भ्रष्टाचार छानबिन गर्ने समितिमा छन् र पार्टी सदस्यलाई सुशासनबारे प्रशिक्षण दिन्छन् !

-माफिया र नेता मिलेर देशभर सरकारी जग्गा कब्जा गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता प्रत्यक्ष देखिने गरी थियो । शायद जग्गा नै उपहार पाउने उनी एक्लो नेता थिए । अरूले अरू नै उपहार लिए होलान् । फेरि उनको यो पहिलो जग्गा काण्ड थिएन । नक्कली सुकुम्बासी बनेर त्यसअघि नै उनले बुटवलमा सरकारी जग्गा कब्जा गरेका थिए । त्यसर्थ उनी पटके थिए । तर तपाईंले बलियो काख दिएपछि उनी आज देशकै ढुकुटीको चाबी लिएर अर्थमन्त्री बनेका छन् । जबकि पार्टीभित्र आरोप नलागेका र पढेका थुप्रै अर्थशास्त्री पनि छन् ।

३-यतिदेखि ओम्नीसम्मका काण्डमा तपाईंले आरोपीभन्दा एक कदम अगाडि बढेर कुनै घोटाला नभएको दाबी गर्नुभयो । एकपल्ट त्यति गम्भीर विषयमा छानबिन हुनेछ भनेर सामान्य औपचारिकतासम्म देखाउनुभएन ।

४-संसदीय उपसमितिले वाइडबड़ी काण्डमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित कांग्रेस र एमालेका धेरैको नाम नै तोकेर छानबिन र कारवाही गर्न भनेको थियो । तपाईंले सोझै संसदीय समितिलाई मान्दिन भन्दै छुट्टै छानबिन समिति गठन गर्नुभयो । केहीले तलब खाए तर समितिको रिपोर्ट आफैले राख्नुभयो । न आफ्नो निजी रिपोर्ट सार्वजनिक गर्नुभयो न संसदीय समितिले दिएको निर्देशन अनुसार छानबिन अगाडि बढाउनुभयो । संसदीय मर्यादालाई यसरी चुनौती दिएको पहिलोपल्ट थियो ।

५-गिरिबन्धु काण्ड बाहिर आयो । यसको नियत र प्रक्रियाप्रति त सर्वोच्चले नै प्रश्न उठायो । यसमा तपाईंको नियत खराब थिएन होला, तर पनि पुनर्विचार या गल्ती भए सच्याउने विनम्रताको सट्टा तपाईंले अहम् मात्रै प्रस्तुत गर्नुभयो !
६-नक्कली शरणार्थी प्रकरणमा पनि तपाईंले कायरतापूर्ण तरीकाले पक्राउ गर्न खोजिएको भन्दै सुरुमैं एमाले नेताको प्रतिरक्षा गर्नुभयो ।
यस्ता उदाहरण धेरै छन् ।

विरोध गर्नेहरू आफै थाक्छन् र त्यसपछि सबै सामान्य हुन्छ भन्ने रणनीति तपाईंको देखिन्छ । होला पनि । तर सोच्नुस् त, यस्ता काण्ड बाहिर आउनेबित्तिकै सबैभन्दा पहिले तपाईं बचाउमा उत्रिनुको साटो तत्काल छानबिन र कारवाहीतिर लागेको भए तपाईं र पार्टीको लोकप्रियता, विश्वास र जनमत कति बलियो हुँदो हो ! अर्को पल्ट घूस माग्दै गर्दा अर्को नेताले तीनपल्ट सोच्दो हो ! तत्काल एक दुई नेता गुमाउँदा हुने घाटा दीर्घकालमा पार्टी र देश दुबैका लागि वरदान हुने थियो । समकालीन नेतामध्ये सबैभन्दा बढ़ी फलोअर्स तपाईंकै थिए ।

आज एउटा मेयरले प्रश्न उठाउँदा छाती खोलेर जबाफ दिन सकिन्थ्यो, पोस्ट हटाउन साइबर शक्ति प्रयोग गर्न पर्दैनथ्यो । जसले जति धक्का दिए पनि एमाले सजिलै ढल्दैन, त्यो सत्य हो ! यसको लामो इतिहास छ, हजारौं सक्रिय कार्यकर्ता छन् र शुभचिन्तक छन् । एमालेले चाहेन भने देश बन्न सक्दैन, यो पनि सत्य हो ! तर, अब नामको नभई कामकै परिवर्तन देश र जनताले खोजेका छन् र यो ‘खोज’ पनि जसले जति बुट दबाए पनि दब्दैन, यो पनि त सत्य हो !

हेटौँडा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान

बागमती, १९ भदौः हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो ।

हेटौँडा क्षेत्रमा गत आव २०७९/८० मा छ दशमलव ६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०८०/८१ मा विद्युत् चुहावट एक प्रतशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई शिवराम यादवले जानकारी दिनुभयो ।

आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा रु दुई लाख २९ हजार तीन सय ७९ महसुल सङ्कलन भएको सो कार्यालयले जनाएको छ । यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने दुई हजार एक सय ९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार एक सय १७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु पाँच करोड ६५ लाख ८० हजार चार सय ४३ बक्यौता असुली भएको प्रमुख यादवले बताउनुभयो ।

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उहाँको भनाइ छ । अभियान सुरु भएपछि महसुल सङ्कलनमा सुधार भएको छ । आव २०८०/८१ म सो कार्यालयले रु दुई अर्ब ५४ करोड ५७ लाख पाँच हजार पाँच सय २३ मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार तीन सय २५ महसूल सङ्कलन भएको प्रमुख यादवले जानकारी दिनुभयो । उक्त कार्यालयमा ७७ हजार सात सय ६० ग्राहक छन् ।

गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकारलाई भ्याइनभ्याइ

गण्डकी, १९ भदौ : गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ ।

आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीजका कार्यक्रममा उत्तिकै महत्व दिएर निम्त्याउने गरेका छन् । कलाकारलाई तीव पर्व कमाइको माध्यम बन्ने गरेको छ । यो वर्ष तीन सयभन्दा बढी तीज गीत सार्वजनिक भए । 

गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा...’ ले युट्युबमा सार्वजनिक भएको १० दिनमा (मङ्गलबार दिउँसोसम्ममा) एक करोड १३ लाखभन्दा बढी पटक सुनिएको÷हेरिएको छ । जुन यो वर्ष युट्युबमा सबैभन्दा बढी ‘भ्यूज’ पाएको तीज गीत हो । 

एकातिर युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउँछन् भने अर्कातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बन्ने गरेको छ । अन्य गीतलाई थाँती राखेर अधिकांश लोकगायक÷गायिकाले यस समयमा तीज गीत सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि तीज पर्वलाई उल्लासका साथ मनाउने गर्छन् । नेपालबाट चल्तीका गायकगायिकालाई बोलाएर सँगसँगै नाच्नछन् अनि रमाउँछन् ।  

गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र कलाकार करिष्मा ढकाल तीजको मौका पारेर साङ्गीतिक यात्राका क्रममा यतिबेला अमेरिकामा छन् । झण्डै दुई महिने यात्राका क्रममा उनीहरुले अमेरिकाका २१ सहरमा तीज विशेष कार्यक्रम गर्ने तय भएको जनाइएको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत देशमा कलाकार तीज कार्यक्रममा सहभागी भइरहेका छन् । युरोप र अरब देशहरुमा रहेका नेपालीले पनि तीज पर्वमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

गायक दुर्गेश थापा गत साता अष्ट्रेलिया पुगेर फर्किनुभयो । यसपाली तीज गीत ‘बिच्चबिच्चमा–७’ सार्वजनिक गरेर चर्चामा आउनुभएका उहाँले एडिलेड र सिड्नीका दुई कार्यक्रममा प्रस्तुति दिएको सुनाउनुभयो । “अहिलेको तीजमा विदेश र नेपालका केही सहरमा प्रस्तुति दिँदैछु”, उहाँले भन्नुभयो, “चाडपर्वका बेला कलाकारलाई पनि भ्याइनभ्याइ हुन्छ, अहिले कलाकार धानिने भनेकै यस्तै कार्यक्रमले हो ।”

गायक थापाले यही २० गते बागलुङ र २१ गते तीजका दिन पोखराको लामाचौरमा हुने तीज महोत्सवमा प्रस्तुति दिनुहुनेछ । गायिका समीक्षा अधिकारी, गायक रामजी खाँडलगायत कलाकार पनि तीज विशेष साङ्गीतिक कार्यक्रमका लागि यतिबेला जापानमा छन् । नागोया, फुकोआकालगायतका जापानका विभिन्न सहरमा आफूहरुको प्रस्तुति रहने गायिका अधिकारीले जानकारी दिनुभयो । 

गायक श्रीकृष्ण बम मल्ल तीज विशेष कार्यक्रमका लागि बेलायत पुग्नुभएको छ । गायिका लक्ष्मी मल्ल मल्लले यतिबेला हङकङ हुनुहुन्छ । गायिका कोमल वली, देवी घर्ती, गायक पशुपति शर्मालगायत कलाकारले पनि तीजका अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिइरहेका छन् । विदेश जान नपाएका कलाकार स्वदेशकै विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका छन् । 

बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले जापानमा रहेका नेपाली सङ्घसंस्थाले दिदीबहिनीहरु बोलाएर दर खाने, शुभकामना आदानप्रदानसहित तीज पर्व मनाउने गरेको बताउनुभयो । “नेपाली बस्ने अधिकांश सहरमा तीजको कार्यक्रम हुन्छ, नेपालबाट कलाकार बोलाएर साङ्गीतिक कार्यक्रम गर्ने क्रम पनि पछिल्लो समय बढ्दो छ”, उहाँले भन्नुभयो, “प्रवासमा रहेका महिलालाई तीज पर्वको न्यास्रो नलागोस् भनेर भनेर यस्ता कार्यक्रम गर्ने गरिएको छ ।”

आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षा

काठमाडौँ, १९ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले मौसम बुलेटिनमा उल्लेख छ । वर्षा हुने ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

उत्तरी फ्रान्समा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा १३ को मृत्यु

इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए ।

“दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भन्नुभयो, “यहाँ पीडितहरूको उपचारका लागि प्राथमिक उपचार चौकी स्थापना गरिएको थियो, यो ठूलो नाटक हो ।”

दुर्घटनामा कम्तीमा १३ आप्रवासीको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सामुद्रिक उद्धार अधिकारीले बताए ।  समुद्रको उक्त क्षेत्रको निरीक्षण गर्ने फ्रान्सेली सामुद्रिक प्रान्तका प्रवक्ता एटिने बग्गियोले ‘१० भन्दा धेरै’ को मृत्यु भएको बताउनुभयो । तर उहाँसँग सही सङ्ख्या थिएन । प्रान्तले डुङ्गा ग्रिस–नेज विन्दुदेखि टाढा कठिनाइमा परेको बताएको छ । 

बग्गियो र मेयर दुवैले उद्धारकर्मीहरूले ६१ आप्रवासीलाई पानीबाट उद्धार गरेको बताउनुभयो ।  उत्तरी फ्रान्समा समुद्रको तापक्रम करिब २० डिग्री सेल्सियस अर्थात करिब ६८ फरेनहाइट थियो ।    इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष बेलायत जाने प्रयासमा कम्तीमा ३० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् । 

मङ्गलबार अद्यावधिक गरिएको बेलायती गृह मन्त्रालयको आँकडाअनुसार पछिल्लो सात दिनमा कम्तीमा दुई हजार एक सय नौ आप्रवासीले साना डुङ्गाहरू मार्फत इङ्ग्लिस च्यानल पार गर्न प्रयास गरेका छन् । आँकडामा च्यानलमा वा आगमनमा भेटिएका व्यक्तिहरू समावेश गरिएको हुन्छ ।  युरोपको तीव्र कडा शरण नियम, बढ्दो जेनोफोबिया (अन्य मुलकका मानिसलाई मन नपराउने) र आप्रवासीप्रति शत्रुतापूर्ण व्यवहारले आप्रवासीहरूलाई उत्तरतिर धकेलिरहेको छ । 

–––

भारतद्वारा फुट्ने जोखिम भएका दुई सय हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली स्थापना

भारतले फुट्ने जोखिम भएका करिब दुई सय हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली स्थापना गरिरहेको प्रकोप अधिकारीहरूले मङ्गलबार बताएका छन् । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने घातक खतरा भएको छ ।

भारतका हिमालयमा कम्तीमा सात हजार पाँच सय हिमताल छन् । तीमध्ये धेरैले खतरनाक बाढीको जोखिम निम्त्याउन सक्छन् । 

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) को टोलीहरूले तीन वर्षको मिसनमा सबैभन्दा खतरनाक मानिने एक सय ९० उच्च उचाइका तालहरूलाई लक्षित गरिरहेका छन् । 

मिसनलाई निर्देशन गर्ने एनडिएमएका वरिष्ठ अधिकारी सफी अहसान रिजवीले भन्नुभयो, “हामीले पहिला नै जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण प्रगति गरेका छौँ ।”

ग्लेसियर लेक आउटबर्स्ट फ्लड (जिएलओएफ) पहिलेको ग्लेसियर आधारमा जम्मा भएको पानीको अचानक ‘रिलिज’ हो । यो मानव–जनित जलवायु परिवर्तनको न्यानो तापक्रमका कारण स्वाभाविक रूपमा हुने घटना हो ।

एउटा अभियानले हाल उत्तरपूर्वी राज्य सिक्किममा छ वटा उच्च जोखिमयुक्त ताल वरपर प्रारम्भिक चेतावनी प्रणाली स्थापनाको काम गरिरहेको छ । यहाँ सन् २०२३ मा हिमताल फुटेर आएको बाढीबाट कम्तीमा ७७ जनाको मृत्यु भएको थियो । 

“हामीले अहिलेसम्म २० वटा ताल बनाइसकेका छौँ र यस गर्मीमा ४० वटा पूरा गर्नेछौँ”, रिजवीले भन्नुभयो । परियोजनाले तालहरूमा जम्मा भएको पानी र आंशिक रूपमा पग्लिएको बरफलाई ‘तालको स्तर घटाउनमा’ पनि समावेश गर्नेछ ।    टोलीमा सेना र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनलगायत धेरै सरकारी एजेन्सीका विशेषज्ञ, भूगर्भविद्, जलवैज्ञानिक, कम्प्युटर इन्जिनियर र मौसम विशेषज्ञ संलग्न छन् । 

विनाशकारी प्रभाव

मिसनले भारतमा हिमाली क्षेत्रहरू, उत्तरमा काश्मिर र लद्दाखदेखि उत्तरपूर्वमा अरुणाचल प्रदेशसम्म, चीनको सीमासँग जोडिएका धेरै क्षेत्रलाई समेट्नेछ ।     जलवायु परिवर्तनले हिमनदीहरू लोप गराउँदैछ । तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न सकिए पनि यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीका दुई लाख १५ हजार हिमनदीमध्ये आधा पग्लिने अनुमान गरिएको छ । 

उपग्रह तथ्याङ्कमा आधारित सन् २०२० को अध्ययनअनुसार ३० वर्षमा हिमतालहरूको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।   नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनमा एक करोड ५० लाख मानिस हिमतालको ५० किलोमिटरभित्र र दरारबाट सम्भावित बाढीको एक किलोमिटरभित्र बस्ने गरेको उल्लेख छ । 

भारत, पाकिस्तान, चीन र नेपालसहित १२ मुलुकमा ‘हाइ माउन्टेन एसिया’ क्षेत्रमा खतरा सबैभन्दा धेरै थियो । विश्वका अन्य क्षेत्रको तुलनामा चेतावनीको समय अझ छोटो बनाउँदै यस क्षेत्रमा धेरै मानिस हिमतालनजिकै बस्छन् ।  गत महिना छिमेकी मुलुक नेपालको सगरमाथा क्षेत्रमा एउटा हिमताल फुट्दा थामे गाउँमा चिसो पानीको बाढी आएको थियो । बासिन्दाहरूलाई पूर्वसूचना जारी गरिएकाले कुनै हताहत भएन ।

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

बुनु थारु, काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउँछन् । उनीहरुकाअनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।


मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजुकाअनुसार ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ । खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ । 


“धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ । अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ”, डा कोजु भन्छन् ।


नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन् । जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो । हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन् । नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् । 


कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ । सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ । 


विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।


रोकथाममा ध्यान दिन आवश्यक


एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन् । उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ । 


मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भन्छिन्, “वंशाणुगतबाहेक जङ्क फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ । सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ । यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन् ।”


उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताइन् । नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ । 


नसर्ने रोग यदी प्रारम्भिक अवस्थामै पत्ता लगाइ सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ । बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्क÷वृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिने विज्ञ बताउँछन् ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापा धुमपान, मद्यपान, शारीरिक निष्कृयता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक रहेको बताउँछिन् । 


उनले सरकारले नसर्ने रोगको रोकथामका लागि सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको बताइन् । डा थापा भन्छिन्, “समुदायस्तरमा नसर्ने रोगको पहिचान, स्क्रीनिङ र उपचार गर्न यो कार्यक्रम ल्याइएको हो । पाठेघर क्यान्सर स्क्रीनिङ तथा एचपिभी खोप पनि सरकारले सुरु गरिसकेको छ । त्यसैगरी जटिल, दीर्घ, बालबालिका र किशोरकिशोरीमा लाग्ने नसर्ने रोगको रोकथाम गर्न पेन प्लस कार्यक्रम पनि ल्याएका छौँ । त्यो छ जिल्लामा लागू भएको छ । नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता रहेको उनको भनाइ छ ।

मुुटरोग विशेषज्ञ डा कोजुले स्वस्थ्य जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने बताए । मोबाइल हेर्ने बानीले एकोहिरने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ । स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ । गुलियो पेयपदार्थ कम खाने । व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ”, डा कोजु भन्छन् ।


उनकाअनुसार मोबाइल टिभीमा लत लगाउनुभन्दा खेलकुदमा अभिभावकले ध्यान दिनुपर्छ । भन्छन्, “राज्यले पनि स्कुलको पाठ्यक्रममा वा स्वस्थ जीवनशैलीसम्बन्धी पैरवी गर्नुपर्छ साथै व्यायाम गर्ने ठाउँको निर्माण गर्दिनुपर्छ ।” 


नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रुपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ । नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ । 

कोशी प्रदेशः आमसञ्चार विधेयक दसैँ अगाडि सदनमा पेस गर्ने तयारी

इनरुवा (सुनसरी- कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मान्त्री लिलाबल्लभ अधिकारीले आमसञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको प्रस्तावित विधेयक सदनमा पेस गर्ने तयारी भएको बताउनुभएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा  आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको संयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । 

सुशासन, विधिको शासन र सत्यतथ्यमा आधारित भएर स्वच्छ निष्पक्ष पत्रकारिताको आधार तयार गर्नका लागि विधेयक पेस गर्ने तयारी भएको मन्त्री अधिकारीले बताउनुभयो । 

पत्रकारको हितका लागि व्यावसायीक हित, पेशागत सुरक्षा समेतलाई ध्यानमा राखेर कोशी प्रदेश आमसञ्चार माध्यम व्यवस्थापन ऐन २०८१ दसैँ अघि नै ल्याउने गरी तयारी भइरहेको उहाँले जानकार दिनुभयो । विधेयकको मस्यौदाका लागि मन्त्रालयले अग्रज पत्रकार सङ्घ तथा सस्थासंग सुझाव सङ्कलन गरिसकेको छ । 

सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको मृत्यु

बरहथवा (सर्लाही)- सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ ।हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्युभएको हो । आलेलाई शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उहाँलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

सर्पले डसेको परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँको तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता

काठमाडौँ-काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । मंगलबार साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वन अतिक्रमणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न मुख्यमन्त्री सिंहको निर्देशन

धनुषाधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वन अतिक्रमणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न प्रदेशका डिभिजनल वन अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।

जनकपुरधाममा भएको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले प्रदेशअन्तर्गतका आठवटै जिल्लाका डिभिजन वन कार्यालय प्रमुख एवं डिभिजनल वन अधिकृतलाई वनसम्बन्धी मुद्दाका सन्दर्भमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध रूपमा अगाडि बढ्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले कानुनी रूपमा केही समस्या देखिएकाले त्यसको निरुपणका लागि सरकारले पहल गरिरहेको र हाल आफ्नो क्षेत्राधिकारमा रहेर समस्या समाधानमा केन्द्रित हुन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “देशमा तीन तहका सरकार छन्, कानुनी रूपमा केही समस्या देखिएका भन्दै कर्मचारीले प्रभावकारी काम गर्न नसकेका बारेमा हामी जानकार छौँ । सरकार भनेको देशमा रहेका तीनवटै तहका सरकार हुन्, त्यसैले प्रदेश सरकार मातहतका डिभिजनल वन अधिकृतले पनि नेपाल सरकारलाई प्राप्त अधिकारको अभ्यास र प्रयोग गर्नेतिर लाग्नुपर्छ ।”

मुख्यमन्त्री सिंहले मधेस प्रदेशको प्रशासनिक सीमाभित्र रहेको वनक्षेत्रमा बागमती प्रदेशतर्फबाट अतिक्रमण भइरहेको गुनासा आएकाले त्यसरी बसाइँएका बस्ती तथा अन्य प्रयोजनका लागि बनाइएका संरचना खाली गराउन निर्देशन दिनुभयो ।

मधेस प्रदेशको भूगोलमा रहेको बारा र रौतहटमा पर्ने वनक्षेत्रमा बागमती प्रदेशको मकवानपुर जिल्लाअन्तर्गत पर्ने बकैया गाउँपालिकाका तीन वटा वडा दाबी गरिएका छन् । यहाँ बाराको निजगढ नगरपालिकाका– १०, १२ र १३ तथा रौतहटको चन्द्रपुर नगरपालिकाका–२ र ३ मा मकवानपुरस्थित बकैया गाउँपालिकाका—१, २ र ७ रहेका छन् । तीमध्ये वडा नं २ र ७ का कार्यालय मधेस प्रदेशकै वन क्षेत्रमा सञ्चालन भइरहेका त्यस अवसरमा जानकारी दिइयो ।

मुख्यमन्त्री सिंहले चुरे क्षेत्रको वन संरक्षण गर्दै वृक्षरोपणमार्फत हरियाली प्रवर्द्धन तथा त्यसलाई रोजगारीसँग जोड्ने कार्यक्रम तय गर्नसमेत निर्देशन दिनुभयो । छलफलमा वन तथा वातावरणमन्त्री त्रिभुवन साह, डिभिजनल वन अधिकृत धनुषाका विनोद सिंह, महोत्तरीका अजय मिश्र, सिरहाका शैलेन्द्रमोहन मिश्र, सर्लाहीका सन्तोषकुमार झा, रौतहटका हेमन्त साह, बाराका राजीव झा, पर्साका मञ्जुर अहमद र सप्तरीका सुभास दासलगायत उपस्थित हुनुहुन्थ्यो ।

बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

गलकोट (बागलुङ) १९ भदौः सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए ।

लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उहाँले बताउनुभयो ।

“धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो”, भण्डारीले भन्नुभयो, “बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ ।” 

पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् । 

जग्गादाता गोविन्द उपाध्यायले भन्नुभयो, “नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।” उहाँले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताउनुभयो । 

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिनुभयो । “बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताउनुभयो ।

विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ । 
बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ । त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ । 

कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड आर्थिक सहायता

झापा, १९ भदौः कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई रु पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।

जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उहाँले जानकारी दिनुभयो । 

“निवेदन धेरै परेको थियो, बजेट थोरै थियो”, उहाँले भन्नुभयो, “सुरुमा निवेदन दिनेले पाउनुभयो, अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ ।” सरकारले चालू आवमा रु पाँच करोड नै बजेट बिनियोजन गरेको छ ।

कडा रोगीहरुका लागि विनियोजन गरेको रकम वितरणका लागि प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ । जसका कारण पुराना निवेदकले नयाँ कार्यविधिबाट सहयोग पाउन सम्भव नरहेको उहाँले बताउनुभयो । 

प्रदेश सरकारको नयाँ कार्यविधि अनुसार विरामीले अबदेखि मन्त्रालयबाट होइन, अस्पतालबाटै उपचारको रकम शोधभर्ना पाउने व्यवस्था छ । नयाँ कार्यविधि समेत कार्यान्वयनमा आउन सकेको छैन । 

“नयाँ कार्यविधि बन्यो, कार्यान्वयन हुन बाँकी छ । पुरानो निस्क्रिय भइसक्यो”, उहाँले भन्नुभयो, “निवेदन लिएका पुराना सेवाग्राहीले मन्त्रालयमा फोन गरेर सोधिरहनु भएको छ । उहाँहरुलाई रकम दिन अब प्रदेश सरकारले कार्यविधि परिमार्जन गर्न छलफल सुरु गरेको छ ।”

उहाँले वि.सं. २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिनुभयो । प्रदेशमा कडा रोग लागेका विरामीलाई पहिलोपल्ट आव २०७९/८० को असारमा सात जनालाई सहयोग वितरण गरिएको थियो ।

मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

मोरङ, १९ भदौः नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही रु एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको जनाइएको छ ।

महासङ्घका सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानी गर्न अटेर गरेपछि महासङ्घ मोरङकातर्फ सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गर्नुभएको थियो । 

कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासङ्घ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बीमा गरिएको थियो । बीमा अवधिसम्म सङ्क्रमित भएकामध्ये २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए । 
विस २०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।

अदालतको अवहेलना मुद्धा दर्ता अघि उच्च अदालत विराटनगरले गत वैशाख २५ गते आदेश बमोजिम भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि महासङ्घ मोरङले अजोड इन्स्योसेन्स कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते मुद्धा दर्ता गरेको थियो । 

उच्च अदालत विराटनगरले गत असार ११ गते अदालतको अवहेलना मुद्धामा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । 

न्यायाधीशद्वय ममता खनाल र सूर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले पत्रकार महासङ्घ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाण सहित सात दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालतले आदेश दिएको थियो ।

 उच्चको आदेश बमोजिम बीमा कम्पनी र नेपाल बीमा प्राधिकरणले लिखित जवाफ पेस गरिसकेका छन् । अदालतको अवहेलनामा कारवाही मुद्धाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी पठाएको हो ।

गत साउन २२ गते पत्रकार महासङ्घ मोरङको समन्वयमा नेपाल बीमा प्राधिकरणसँग महासङ्घ कार्यालयमा गरिएको अन्तरक्रियामा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी गराउने प्रतिबद्धता जनाउनु भएको थियो । 

तीन महिनादेखि बन्द रहे सुकिलुम्बा बिमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने

मङ्गलबारे (इलाम), १९ भदौः तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो ।

गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो ।

गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताउनुभयो । 

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौँ–इलाम–काठमाडौँ उडान भर्दै आएको थियो । यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुई वटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ । 

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । यहाँबाट पहाडी जिल्ला इलामसहित पाँचथर र भारतका बिभिन्न यात्रुलाई काठमाडौँ आवतजावतमा सहज हुँदै आएको छ । 

‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक

दोधारा चाँदनी (कञ्चनपुर), १९ भदौः जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो ।

यहाँ साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएको छ । “धाममा धार्मिक गतिविधि बढेपछि यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ”, स्थानीय पदम बोहराले भन्नुभयो, “अहिले त चतुराधाम पूर्वको झापासम्मका मानिस यहाँ आउने गरेका छन् ।” 

द्वापार युगमा पाण्डवले वनवासमा रहँदा यस क्षेत्रमा आइ कुवाबाट पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको विश्वास छ । “यो सिद्धबैजनाथको भूमि भएकाले यसको विशेष महत्व छ नै त्यसमा पनि पाण्डवले यो क्षेत्रमा बास बसेको किंम्वदन्ती छ ।”

स्थानीय महेश जोशीका अनुसार यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ । उहाँका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको पहिचान झल्कने गरी फरक–फरक कुण्ड निर्माण गरिएका छन् । 

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रममा गर्दा करिब २२ टन तामा र पित्तल सङ्कलन भएको थियो । त्यसबाहेक तीन टन धातु स्थानीयले दान गरेका थिए । सङ्कलन भएका धातुबाट नेपाल आमाको मूर्ति निर्माण सुरु भएको हो । 

काठमाडौँको विष्णुमति नदीले जलसतह पार गर्‍यो

काठमाडौँ, १९ भदौः काठमाडौँको विष्णुमति नदीले जलसतह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार रातिसम्म नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउनु आग्रह गरेको हो ।

“विष्णुनदीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भइ बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

त्यसैगरी सिन्धुलीको कमलानदी रानीबासस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेको उल्लेख गर्दै विभागले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरुमा रहनेलाई बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आज कोशी, बागमती र गण्डकी प्रदेश भइ बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । साथै  आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने र राति कोशी, मधेस र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । 

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, १९ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनियय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एमाले नेताहरुद्वारा नदी किनारका बस्ती जोगाउने विषयमा कांग्रेस सभापति देउवासँग छलफल

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले मंगलबार भेट गरेको छ । 

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेट गरेको हो । 

भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानुनमन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिए ।

भेटमा  एमालेका बागमती प्रदेश इञ्चार्ज डा भट्टराई, काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेल, काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहरुको सहभागिता थियो ।

काठमाडौँको विष्णुमती नदीले खतराको तह पार गर्‍यो, राती पनि ठाउँठाउँमा वर्षा

काठमाडौँ, १८ भदौ : काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ ।

‘काठमाण्डौँ जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले उच्च सतर्कता अपनाऔँ’, सूचनामा भनिएको छ ।

जल ततथा मौसम विज्ञान विभागका अनुसार उपत्यकालगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । विभागका मोसमविद् प्रतिभा मानन्धरले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जानकारी दिनुभयो ।

उहाँले हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमवर्षा भइरहेको बताउनुभयो । काठमाडौँ उपत्यकाको गोङ्गबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा आज वर्षा भएको थियो ।

नेपाल बाढी सूचनामा जनाइएअनुसार आज बिहान गौरीघाट जल मापन केन्द्रमा बागमती नदी सतर्कता तह आसपास आइपुगेको थियो । आजै साँझ सिन्धुलीस्थित कमला नदी पनि सतर्कता तह आसपास आइपुगेकाले सावधानी अपनाउन सूचना जारी भएको थियो ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आजराति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै भोलि पनि कोशी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

देशभरका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको छ : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौः गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ ।कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले आज आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताउनुभयो ।

“बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार उठाउने काम चइरहेको छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “द्वन्द्वका बेला बन्द भएका भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको छ ।” उहाँले भारततर्फ भन्सार कार्यालय नभएकाले चुनौती भए पनि छोटी भन्सार सञ्चालन गर्नका लागि प्रयास गरिरहेको बताउनुभयो ।

“जुन ठाउँमा भन्सारको कार्यालय छ, जग्गा छ ती छोटी भन्सारलाई सञ्चालन गरौँ भनेको छु”, उहाँले भन्नुभयो, “यहाँमात्रै नभई द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय सञ्चालनका लागि लागिरहेका छौँ ।”

मन्त्री लेखकले देशमा स्थायी सरकार निर्माणगरी सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउँदै एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गन आग्रह गर्नुभयो । “तीन/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो समीकरण बनेको हो,” लेखकले भन्नुभयो, “मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ ।” उहाँले देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास रहेको स्मरण गर्दै स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताउनुभयो ।