`

लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशीता : अध्यक्ष यादव

मोरङ, १८ भदौः जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशीता भएको बताउनुभएको छ ।पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित अभियन्ता अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङ्घीयतालाई संस्थागत गर्र्नु पार्टीको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “राज्यद्वारा प्रदान गरिने अवसरमा सबै जनताको पहुँच पुर्‍याउनु पार्टी अभियानको मुख्य कार्यभार हो ।” उहाँले मुलुकमा देखिको महङ्गी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने पार्टी निरन्तररूपमा खबरदारी गर्ने बताउनुभयो ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङ्गले ठूला दुई दलका कारण मुलुकमा राजनैतिक अस्थिरता कायम भएको आरोप लगाउनुभयो । पार्टीका केन्द्र महासचिव रामकुमार शर्माले पिछडिएका क्षेत्रमा वसोवास गर्ने जनताको राज्यको नीति निर्माण पहुँच पुर्‍याउने कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

पार्टीका उपमहासचिव रेखा यादव, केन्द्रीय कार्यकारणी सदस्य जयराम यादव, केन्द्रीय सदस्य सञ्जय सिंह, जिल्ला अध्यक्ष राजकुमार यादवले संविधानमा रहेको समानुपातिक र समावेशीका सम्बन्धमा कुनै सम्झौता नहुने दृढता व्यक्त गर्नुभयो ।अभिमुखीकरणमा कार्यक्रममा प्रदेशका आठ जिल्लाका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्छ : पूर्वमन्त्री डा महत

मोरङ, १८ भदौ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।बिपी चिन्तन प्रतिष्ठान कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘नेपालमा कृषि क्रन्ति : सम्भावना र चनौती’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषिमा आश्रित दुई तिहाइ जनतालाई उद्योग, व्यवसायमा वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा महतले विदेशबाट शीप सिकेर फर्केका युवालाई तराई पहाडमा सामूहिक खेतीमार्फत उत्पादनको आधारमा अनुदान उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो । उहाँले कृषिमा आत्मनिर्भर हुन स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै कृषि उत्पादनमा अतिरिक्त भन्सार महसुल लगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

फरक प्रसङ्गमा नेकां प्रवक्ता डा महतले राजनीतिक स्थायित्व कायम राख्न अहिलेको समानुपातिक प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचनमा लग्नेगरी संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य भीम पराजुली र डोल्मा तामाङले तीन तहको सरकारले पालिकास्तरमा शीतभण्डार निर्माण गरेमा कृषकले कृषि उत्पादन बृद्धि गर्नुका साथै कृषिउपजको उचित मूल्य पाउने विचार राख्नुभयो ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसाईं, सहअध्यक्ष पुष्पराज पराजुली, नेकां प्रदेश सहमहामन्त्री प्रमिला गच्छदारलगायतले कृषकलाई कृषि उत्पादन प्रशोधनमा विद्युत्मा छुट दिनुपर्ने सुझाव दिएका छन् ।

महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते, तीनको अवस्था गम्भीर

जलेश्वर, १८ भदौ : महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार पाठकले बताउनुभयो ।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीपकुमार मण्डल र सात वर्षीय अर्पितकुमार महतोलाई घरै अगाडि वन क्षेत्रबाट आएको स्यालले टोकेर घाइते बनाएको छ । त्यस्तै जलेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी र १२ वर्षीया सङ्गीता मण्डललाई वन क्षेत्रबाटै आएको स्यालले टोकेर घाइते बनाएको जनाइएको छ ।

विगत दुई दिनदेखि जलेश्वर नगरपालिका–३ र ६ को वन क्षेत्रमा स्यालले आतङ्क नै मच्चाएको छ भने वनक्षेत्र वा साँझ र एकाबिहानै वन क्षेत्रको बाटो भएर आउजाऊ गर्नेमाथि स्यालले आक्रमण गरेर घाइते बनाउने गरेकोछ ।

स्यालले जिल्लामा आतङ्क नै मच्चाइरहेका बेला जिल्लामा कुकुरले टोकेर सात जना घाइते भएका छन् । कुकुरले टोकेर घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–२ का ६० वर्षीया सागर देवी, ४० वर्षीय विलास साह, जलेश्वर–१० का ६९ वर्षीया निर्मला देवी, ६४ वर्षीय रासिद अन्सारी, बलवा नगरपालिका–३ का ३७ वर्षीय जुगेश्वर यादव र लोहारपट्टी नगरपालिकाका ५३ वर्षीय नसरुद्दिन राईन रहेको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ ।

स्याल र कुकुरले टोकेर घाइते भएकालाई उपचारको लागि चाहिने एन्टिरेबिज भ्याक्सिन ५० जनालाई पुग्ने रहेकाले तत्कालै भ्याक्सिनको अभाव नहुने जनाइएको छ ।

यसै क्रममा अनुहार, मुख र ओठ नै काटिने गरी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि ‘इमिनो ग्लोबिन’ लगाउनुपर्ने तर सो भ्याक्सिन प्रादेशिक अस्पताल जलेश्वरमा उपलब्ध नरहेको कारण उनीहरूलाई थप उपचारको लागि जनकपुर पठाइएको हो ।

स्याल र कुकुरले टोकेर घाइते भएकालाई एन्टि रेबिज भ्याक्सिन (एआरभी) को तीन/तीन डोज लगाउनुपर्ने छ । विगत दुई दिनमा जिल्लामा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भए पनि स्याल र कुकुर नियन्त्रणको लागि कुनै निकायबाट कुनै पहल भएको छैन ।

सङ्खुवासभाको चैनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा), १८ भदौः यहाँको चैनपुर नगरपालिका– २ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा आज दिउँसो खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुनुपर्छः मन्त्री चौधरी

बोदेबरसाइन (सप्तरी), १८ भदौः युवा तथा खेलकुदमन्त्री तैजुलाल चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइनले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठासमेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको हो । मन्त्री चौधरीले खेलाडीलाई अवसर, सेवासुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएकाले खेलकुद क्षेत्रमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

नेपालमा क्रिकेट रङ्गशालाको अभावलगायत समस्या भए पनि खेलाडीको मेहनत, नेपाल क्रिकेट सङ्घको योगदान, खेलप्रेमीको मायाले खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित भएको भन्नुहुँदै उहाँले अब खेलाडीलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधारको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित छन्, खेलाडीहरू राष्ट्रका गहना हुन् तर हामीले सुविधा र भौतिक पूर्वाधार दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजरगरी मधेस प्रदेश राजधानी जनकपुरधाम, वीरगञ्ज र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताउनुभयो । उहाँले एघारौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने विश्वास दिलाउनुभयो ।

त्यस अवसरमा बोदेबरसाइन नगर बजार व्यापार सङ्घका पदाधिकारीले मन्त्री तैजुलाल चौधरीलाई स्वागत गर्दै बजारको विकासका लागि भन्सार कार्यालय स्थापना, कबडहल र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापनाका लागि आग्रह गरेका थिए ।मन्त्री चौधरी सप्तरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

अर्घाखाँचीमा खोलाले बगाएर दुई जनाको मृत्यु

अर्घाखाँची, १८ भदौ : अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।शीतगङ्गा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताउनुभयो ।

आज दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवैजनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताउनुभयो ।

संविधानले महिलालाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हकअधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएका छन्।

प्रथम महिला सविता पौडेलले  मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड दिनुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ। महिलाको अवस्था अब पहिलोको जस्तो छैन् भन्ने मलाई लाग्दछ। नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ, महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदैछ तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हकअधिकारको प्रभावकारी कार्यान्वयनका लागि भने अझै क्रियाशील हुनुपर्ने आवश्यकता छ।’

राष्ट्रपति पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्री, महिला सांसद, विभिन्न ओहोदामा रहेका उच्चपदस्थ महिला अधिकारीको उपस्थिति रहेको थियो।

विराटनगर महानगरद्वारा पाँच स्थानमा ट्राफिक लाइट जडान

विराटनगर, १८ भदौ : ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभित्र पाँच स्थानमा ट्राफिक लाइट जडान गर्दैछ । महानगरले रु ७७ लाख लागतमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्दै आएका छन् । अगामी असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी काम भइरहेको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा सहज हुने प्रमुख कोइरालाको भनाइ छ ।

महानगरको गुरुयोजनामा विराटनगर विभित्र सात स्थानमा ट्राफिक लाइट जडान गर्ने भनिए पनि हाल पाँच स्थानका लागि काम भइरहेको बताइएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा सडक पेटीमा हिड्ने वातावरणलाई सहज बनाउन र सवारी सहज बनाउन यो व्यवस्थाले धेरै हदसम्म नगर क्षेत्रको शोभा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताउनुभयो । अब लाइट जडानपछि भने थोरै जनशक्त्ति भए पनि ट्राफिक व्यवस्थापनमा केही सहज हुने उहाँको भनाइ थियो । यसअघि प्रदेश सरकारको लागतमा विराटनगरको बरगाछी चोकमा ट्राफिक लाईट जडान भइ सञ्चालनमा आएपछि सो क्षेत्रमा सवारी व्यवस्थित भएको ट्राफिक प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंह शिक्षा नीति निर्माण गर्ने तयारीमा

जनकपुर, १८ भदौ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रोजगारमूलक गुणस्तरीय शिक्षा नीति निर्माण गरेर प्रदेशमा योग्य एवं सक्षम नागरिक उत्पादन गर्नेगरी सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

मधेसप्रदेशको धेरै पुराना याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको ‘याज्ञवल्क्य सदन’ छात्रावासको जनकपुरधाममा आज उद्घाटन गर्दै मुख्यमन्त्रीले सिंहले शैक्षिकस्तर माथि नउठेसम्म विकासले गति नलिने भएकाले शैक्षिक विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभयो ।

माध्यमिक शिक्षा प्रदेश सरकारमा नभए पनि माध्यमिक तहको शिक्षामा सुधारका लागि सरकारले सबै प्रकारको सहयोग एवं लगानी गरेको र गरिरहने बताउँदै मुख्यमन्त्री सिंहले शिक्षामा भएको विकृति तथा विसङ्गतिको अन्त्य गर्नका लागि सरकारले शिक्षा नीति बनाउन लागेको जानकारी दिनुभयो ।

मधेस प्रदेशको केही जिल्लाहरूमा नमुना शैक्षिक पार्कको निर्माण गर्नका प्रदेश सरकारको चालु आर्थिक वर्षमा कार्यक्रम नै ल्याएको समेत उहाँले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विसं १८८५ मा ज्ञानकुप संस्कृत माध्यमिक विद्यालय आवासीय विद्यालयका रूपमा परिणत भएको बताउँदै अहिले विद्यालयमा दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा विद्यालय परिसरमा निर्माण भएको खेलकुद मैदानको पूर्णता दिनका लागि आग्रह गर्दै अहिलेको सम्पूर्ण छात्रावासलाई विस्थापित गरेर नयाँ छात्राबासको निर्माण आवश्यक रहेको जानकारी गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का वडाध्यक्ष दिनेशकुमार सिंहले नमुना विद्यालयको रूपमा रहेको ऐतिहासिक विद्यालयको विकासमा थप लगानी गर्नका लागि प्रदेश सरकारसँग माग गर्नुभएको छ ।

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

आज बागलुङ नगरपालिका–४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारसँग ढुकुटी र स्रोतसाधन निकै कम भएकाले जनताको माग र आवश्यकतानुसार सबै ठाउँमा एकैपटक काम गर्न नसकेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण सरकार बन्ने र ढल्ने गरेकाले हाल संसद्का प्रमुख दुई पार्टीसहितको गठबन्धन सरकार बनेकाले सुशासन, विकास र समृद्धिका लागि काम हुने विश्वास दिलाउनुभयो । “एकातिर प्रदेश सरकारसँग स्रोतसाधनको कमी छ, अर्कोतिर राजनीतिक अस्थिरताका कारण छिटोछिटो सरकार बदलिने समस्या छ । यसकारण पनि जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतानुसार काम हुनसकेको छैन”,उहाँले भन्नुभयो, “अहिले प्रदेशमा नयाँ सरकार बनेको छ, यो सरकारले नागरिकको निरासालाई चिर्नेगरी काम गर्नेछ । त्यसमा हामी एकताबद्ध भएर लागिरहेका छौँ ।”

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको हुँदा पोखरासँग सबै जिल्लालाई जोडेर पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लालाई पर्यटनसँग जोड्नका लागि गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभो ।

वैदेशिक रोजगारमा पठाउने भन्दै रु २२ लाख ५० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १८ भदौः विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यकानुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र उज्वेकिस्तानलगायत देशमा लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यार विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

लामाले विदेश पठाउने भन्दै सात जनाबाट रु १० लाख तथा चौधरीले छ जनाबाट रु १२ लाख ५० हजार लिएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट घोडाघोडीका दुई जनाको मृत्यु

घोडाघोडी (कैलाली), १८ भदौः जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिनुभएको छ ।

जोशीकानुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ । गौरीगङ्गा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको जोशीले बताउनुभयो । 

गौरीगङ्गामा छ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको उपचार भइरहेको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् । 

‘बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना छ’ : मन्त्री यादव

काठमाडौँ, १८ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम सम्वत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराउनुभयो । उहाँले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनामा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताउनुभयो ।

“मनसुन सक्रिय हुन छाडेपछि वैकल्पिक पथान्तरण सुरुङको मर्मत सम्पन्न गरी असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराइनेछ,” मन्त्री यादवले भन्नुभयो, “मेलम्चीको पानी नियमित आपूर्ति नहुँदा बागमती तथा धाप ड्यामको पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी आपूर्ति भइरहेको छ ।”

तराई मधेस क्षेत्रमा डिपबोरिङ्गका आयोजना सञ्चालन गरी स्वच्छ खानेपानी सेवा उपलब्ध भइरहेको बताउँदै मन्त्री यादवले यसलाई थप विस्तार गर्दै लगिने जानकारी गराउनुभयो । “अधुरा तथा निर्माणाधीन आयोजना समयमा नै सम्पन्न गरी सेवा उपलब्ध गराइने योजना रहेको छ,” उहाँले भन्नुभयो ।

“खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पु¥याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचीमा समावेश गरिएको छ,” सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो, “हालसम्मको प्रगतिअनुसार, आर्थिक वर्ष २०७९/८० सम्म ९४.९३ प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याइएको छ भने सत प्रतिशत जनसङ्ख्यामा आधारभूतस्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५.८१ प्रतिशत जनतामा उच्च तथा मध्यमस्तरको खानेपानीमा पहुँच पुर्‍याइएको छ ।”

उहाँले थप प्रष्ट पार्दै भन्नुभयो, “भक्तपुरको महादेव खोला, ठोस्ने खोला, सिस्नेरी खोलाको पानी वितरणको लागि सम्भाव्यता अध्ययन पूरा भएको छ र यसपछि काठमाडौँ उपत्यकामा थप पानी उपलब्ध गराइनेछ ।” सरकारले पहाडी सुक्खाग्रस्त क्षेत्रमा लिफ्टीङ आयोजना तथा तराई मधेसका जिल्लामा नदीहरूबाट थोक पानी वितरणको लागि सम्भाव्यता अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि उहाँले बताउनुभयो ।

सरकारले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत दीर्घकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा वर्षातको पानी सङ्कलन र पुनर्भरणको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो ।

एमाले पोलिटब्युरो बैठकः वार्षिक कार्ययोजनामाथि छलफल सुरु

काठमाडौँ, १८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजदेखि सुरु पोलिटब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शङ्कर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय सङ्गठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्याङ्कन गरिने कुरा समेटिएको उहाँले बताउनुभयो । “पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गदैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ । विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन कि छैनन् भनेर पनि मूल्याङ्कन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन्”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो । 

यस्तै सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ । प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन् । 

भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ । प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन

एमालेले विश्वभरका कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्रचार विभाग प्रमुख गौतमकानुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकको अनुभवमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आगामी मङ्सिर वा वैशाखमा महिनामा गर्ने गरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

भोलि सबै पोलिटब्युरो सदस्यले आ–आफ्नो भनाइ राख्ने कार्यतालिका छ । कार्ययोजनालाई पोलिटब्युरो सदस्यको सुझावका आधारमा अन्तिम रूप दिएपछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा परी १४ जनाको मृत्यु

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले मङ्गलबार जनाएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताउनुभएको छ ।

उहाँका अनुसार मनिलाको दक्षिणपश्चिम प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने मनिलाको पूर्वी प्रान्तमा अझै चार जना बेपत्ता छन् ।उष्णकटिबन्धीय आँधीको प्रभावका कारण भएका डुबान, पहिरो, बिजुलीको करेन्ट लगायतका दुर्घटनामा परी अधिकाशं महिला तथा बालबालीकासहित पीडितहरूको मृत्यु भएको जनाइएको छ ।
साता व्यापीरुपमा कायम रहेको यागी आँधी र मनसुनले निम्त्याएको भारी वर्षाले फिलिपिन्सको राजधानी मनिला र द्वीपसमूहका अन्य भागमा आएको पहिरोले घर तथा गाउँहरू प्रभावित भएका छन् ।

फिलिपिन्सको मौसम विभागका अनुसार यागी मङ्गलबार उत्तरी फिलिपिन्सको इलोकोस नोर्टे प्रान्तको पश्चिमतर्फ २५ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको छ भने ८५ किलोमिटर प्रति घण्टा हावा तथा १०५ किलोमिटर प्रति घण्टाको गतिमा आँधीबेहरी बहेको छ ।
यागीले बुधबार फिलिपिन्स छोड्ने , पूर्वानुमान अवधिभर तीव्र हुने र आगामी १२ घण्टामा गम्भीर उष्णकटिबन्धीय आँधीबेहरी तथा बिहीबार टाइफुनको श्रेणीमा पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मङ्गलबार बताउनु भएको छ । यस घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराउनुभएको हो ।

उहाँका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताउनुभएको छ ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको बताउनुभएको छ भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केहि उल्लेख गरेका छैनन् ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई छिट्टै सम्पन्न हुन्छ : मन्त्री खड्का

काठमाडौँ, १८ भदौः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई छिट्टै सम्पन्न गर्न सरकारले आवश्यक तदारुकता देखाएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खड्काले कैलालीको ३८ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु भएको आयोजना सम्पन्न गराउन स्पष्ट कार्ययोजनाका साथ काम भइरहेको बताउनुभयो । आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएको सो आयोजना आव २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

गुरुयोजना बमोजिम पर्याप्त रकम व्यवस्था नहुनु, जग्गा मुआब्जाको समस्या, वनको रुख कटानमा समस्याजस्ता कारणहरुले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको उहाँको भनाइ छ । आयोजना लम्कीतर्फ विस्तार गरी कूल छ हजार हेक्टरका लागि सिँचाइ सुविधा उपलब्ध गराउन शाखा–प्रशाखा नहरलगायतका काम बाँकी रहेको छ ।

हालसम्म सो आयोजनामा रु २० अर्ब पाँच करोड बढी खर्च भएको छ । सो आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत बराबर भएको छ । आयोजनाको दुई वटा खण्डको काम अन्तिम चरणमा रहेको भए पनि तेस्रो खण्डको काममा केही ढिलाइ भएको जानकारी दिँदै समस्या समाधानका लागि पहल भएको मन्त्री खड्काले बताउनुभयो । सो आयोजनाको कूल लागत रु २७ अर्ब ७० करोड बराबर रहेको छ ।

अधुरा आयोजना सम्पन्न गर्ने र परिमाणमुखी बनाउने सरकारको लक्ष्य रहेको मन्त्री खड्काले सदनलाई जानकारी दिनुभयो । यस्तै, बुढीगण्डकी जलविद्यत्् आयोजनालाई अगाडिबढाउन सरकारले आवश्यक पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । सुनकोशी मरिण डाइभर्सन आयोजनालाई पनि उत्तिकै प्राथमिकता दिएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘आदिवासी जनजाती आयोगको आव २०७९/८० को चोथो वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नुभयो ।

त्यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते मङ्गलबार १ : १५ मा बस्नेछ ।

‘सञ्चालकको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक’

काठमाडौँ, १८ भदौः नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७९ को नियम ३८ (१ क ) अनुसार सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको सङ्घको भनाइ छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “शेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौँ ।

कम्पनीमा कायम रहेका सबै शेयर धनी जस्तै सञ्चालक पनि लगानीकर्ता नै रहेको र शेयरधनीको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा उनीहरूमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौँ ।”

सङ्घका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मूल, महासचिव महेन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला एवं सदस्यहरू आजाद श्रेष्ठ र कुनाल कयल नेतृत्वको टोलीले धितोपत्र बोर्डका अध्यक्ष महेश बराललाई उक्त प्रावधान सच्याउनका लागि आग्रह गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकको वित्तीय स्वार्थमा कुनै फरक नरहेको सङ्घका अध्यक्ष मल्लले बताउनुभयो ।

सञ्चालकले अन्य शेयर धनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट बञ्चित गर्ने कार्य न्यायोचित नभएको उहाँको भनाइ छ । “कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा अवरोध सिर्जना हुने देखिन्छ”, अध्यक्ष मल्लले भन्नुभयो ।

सङ्घले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ, “कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधनगरी सञ्चालक पदमा बहाल रहेकै बखत शेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ ।”

मुलुक र जनता लाभान्वित हुनेगरी कार्य गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, १८ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ ।

विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका’माथिको छलफलमा उहाँले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताउनुभएको हो ।

“सुशासन र न्यायिक सुधारको काम गर्दा नत्थी लगाउने गरीकनको व्यवस्था गर्नुभएन, कानुन, नियम अग्रगामी हुनुप¥यो, पश्चगामी हुनुभएन”, उहाँले भन्नुभयो । मन्त्री खड्काले सरकारले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“हामीले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुनेगरी काम हुन सकेको छैन, निजी र अन्तर्राष्ट्रियजगत्लाई विश्वासमा लिएर उक्त लक्ष्य हासिल गर्न लाग्नुपर्छ”, मन्त्री खड््काले भन्नुभयो ।

ऊर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणबीच एकापसमा समन्वय गरेर ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नियमावली तथा कार्यविधि बनाउनुपर्ने उल्लेख गर्नुभयो । जहाँ समस्या छ त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले जलविद्युत् उत्पादनको लाइसेन्स लिने तर काम नगर्ने प्रवृत्ति बढेकाले यसको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि देखिएको बाधकलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउँदा सरकारले राखेको ऊर्जा विकासको लक्ष्यलाई हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आयातीत इन्धनलाई न्यूनीकरण गर्दै विद्युत्

‘सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ’ : सांसद डा चन्द्रकान्त भण्डारी

काठमाडौँ, १८ भदौ: नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिनुभयो । “विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन”, उहाँले भन्नुभयो, “यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ । अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ ।”

सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउनुहुँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिनुभयो । उहाँले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताउनुभयो । “एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ?” सांसद भण्डारीले प्रश्न गर्नुभयो, “बत्ती बालेपछि बिल तिर्नुपर्दैन ? यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ ।”

उहाँले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । सांसद भण्डारीले भन्नुभयो, “सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ ।” यसैगरी तीजको अवसरमा गरिबी, अभावमा पनि नेपाली महिलाले तीज भनाइरहेको स्मरण गर्नुहुँदै उहाँले तीज गीत गाउने विष्णु माझीलाई धेरै नेपालीले हेर्न चाहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले सदनबाट समानता, स्वतन्त्रता र निष्पक्षताको सन्देश जानुपर्ने र लोकतन्त्र जनपक्षीय र समानुपातिक विकास भए÷नभएको अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले देश र जनताका लागि राजनीति गर्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । “जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्छ, कुनै पार्टी ठूलो र सानो हुदैन । शोखको राजनीतिक मौलाएर गएको छ, दल खोल्ने सांसद हुने, मुलुकमा अस्थिरता खडा हुने स्थिति छ । त्यसैले जनतामा रहेको बेचैनी, अस्थिरता र अराजकता अन्त्य गर्न जरुरी छ ।”

नेकपा (माओवादी केन्द्र) अमनलाल मोदीले मधेश, दलित, महिला, जनजातिको हकहितका लागि आन्दोलन र क्रान्ति भएको हुनाले शान्ति प्रक्रियामा असरपर्ने काम कसैबाट हुन नहुने बताउनुभयो । उहाँले जनयुद्ध लोकतन्त्र र समानताका लागि भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले नेपालमा आएका औषधिको गुणस्तरमा समस्या देखिएको र धेरै गर्भवती महिलाले समस्या भोग्नुपरेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा महँगी चरम रूपमा बढ्दै गएकाप्रति सरकारको ध्यान जान नसकेको र व्यापारीहरू किन कर तिर्न हिचकिचाउछन् भन्ने प्रश्न उठेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरले चाडवाड नजिकिँदै जाँदा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुने गरेकाले कालोबजारी र चर्को मूल्यवृद्धि रोक्न माग गर्नुभयो । जनमत पार्टीका अब्दुल खानले अवधी समाजमा स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था उकास्न सीपमूलक तालिम जरुरी भएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका दीपक कार्कीले पूर्वपश्चिम राजमार्ग हुँदै पहाडी लोकमार्ग जोड्ने पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीले खेल क्षेत्रको विकास गर्न सकेमा खेलाडीले खेल खेलेरै जीविका चलाउनसक्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारतको खुल्ला सीमानाका कारण नेपालीले भोगेका समस्या, नेपाली भूमिका विषयमा कुरा उठाएको भए राम्रो हुने बताउनुभयो ।

नेपालको विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ, १८ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आज ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फ्ररेन्स फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

मन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घको आसन्न महासभासँगै हुन लागेको ‘समिट अफ द फ्युचर’लाई नेपालले महत्व दिएको र उक्त समिटमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले नेपाल विश्वव्यापी सुशासन, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका पक्षमा रहेको पनि स्पष्ट गर्नुभयो ।

नेपालले आगामी सन् २०२६ सम्ममा अल्पविकसित मुलुक (एलडिसी स्टाटस) को स्तरबाट माथि उठ्ने विषयमा तयारी गरिरहेको र यसका लागि स्मुथ ट्रान्जिसन स्ट्राटेजी (एसटिएस) बनाएको जानकारी दिनुहुँदै मन्त्री डा राणाले एलडिसीबाट स्तरवद्धि गर्ने योजनालाई अपरिवर्तनीय एवं दिगो बनाउन पनि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “नेपाल अल्पविकसित मुलुक (एलडिसी स्टाटस) को स्तरबाट माथि उठ्ने कुरा छ । साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्नका लागि हामी सबै एकताबद्ध हुनुपर्छ । गत महिना मात्र सार्वजनिक एक प्रतिवेदनले नेपालमा दिगो विकासका लक्ष्यहरूमध्ये ४१ प्रतिशत जति पूरा हुने बाटोमै रहेका देखाएकाले यसका लागि सबैको संयुक्त प्रयास जारी रहनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री डा राणाले नेपाल सधैँ बहुपक्षीयता, विधिको शासन, प्रजातन्त्र, समावेशी र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीका पक्षमा रहेको स्पष्ट गर्नुहुँदै यसका पक्षमा अन्तर्राष्ट्रिय फोरमहरूमा गर्ने वकालतमा नेपालको नागरिक समाजले पनि योगदान पुर्याउन सक्ने धारणा राख्नुभयो ।

उहाँले नेपालका सामु अहिले जलवायु परिवर्तनको चुनौती देखिएकाले यसको जोखिमलाई कम गर्ने विषय पनि अहिलेको महत्वपूर्ण मुद्दा भएकाले नेपालले संयुक्त राष्ट्रसङ्घगायत विश्वका अन्य मञ्चहरूमा उठाउने आवाजहरूमा नागरिक समाजले थप वकालत गर्नुपर्नेमा पनि जोड दिनुभयो । “नेपालमा जलवायु परिवर्तनका समस्याले प्राकृतिक प्रकोपहरू निम्त्याउन सुरु गरिसकेको छ । हालैमात्र सोलुखुम्बुमा हिमताल फुटेको घटना पनि यसैसँग सम्बन्धित रहेकाले नेपालले आगामी दिनमा यी दुर्घटनाबाट सिकेर जोखिम कम गर्ने विषयमा लाग्नुपर्छ”, मन्त्री डा राणाले अगाडि भन्नुभयो ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, १८ भदौ- mतनहुँ, व्यास नगरपालिका-१० अधेरी भञ्ज्याङ बस्ने ४२ वर्षीय मनभुजा कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा कुमाल समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय १० रूपैयाँ र ८० पत्ति तास सहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-६ धुराफाँटस्थित तारा कुमार श्रेष्ठको अश्विन होटल तथा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५१ वर्षीय शुक्रलाल वाईवा समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ सय ४५ रूपैयाँ र ५ सय ३२ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बालबालिकालाई काममा लगाउने ३५ उद्योगमाथि कारबाही

बागमती, १८ भदौः बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो । कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु ६१ हजार एक सय जरिवाना तथा रु तीन लाख ९१ हजार दुई सय ५६ जरिवाना गराइएको छ ।

सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । आव २०८०/८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

अनुगमनका क्रममा कमजोर पाईएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो । सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको र एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उहाँले बताउनुभयो । सो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६० उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो, सवारीसाधन सञ्चालनमा सहज

गोरखा, १८ भदौः गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो ।

तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सम्पन्न गरेसँगै यसपटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “बर्खामा पानी पर्नेबित्तिकै सधैँजसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको भए पनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म कुनै दुःख दिएन”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थालाई हेर्दा पहिरो रोमथाममा भएको देखिन्छ, यसपालिको बर्खामा यात्रीले विगतका वर्षमा जस्तो हैरानी भोग्नुपरेको छैन ।”

जुगेपानीमा करिब एक सय मिटर सडक हरेक वर्ष बर्खामा पानी परेपछि जमिन भासिने, माटो बग्नेलगायत समस्या हुँदै आएको थियो । भू–गर्भविद्सहितको इन्जिनियर टोलीले पहिरो नियन्त्रणका लागि गहिरो अध्ययन गरी करिब एक वर्ष लगाएर नियन्त्रणको काम सम्पन्न गरेको हो ।

पहिरो रोमथाममा आएपछि गोरखा सदरमुकामबाट उत्तरी गोरखाको धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आवतजावत सजिलो भएको छ । जुगेपानीको पहिरो रोमथाम गर्न तनहुँ सडक डिभिजन कार्यालयमार्फत रु तीन करोड ४५ लाख ४१ हजार नौ सय ९८ खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयले बोलपत्र प्रक्रियामार्फत पहिरो रोमथाम गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

विशेष प्रविधिबाट जमिनलाई सुक्खा बनाएर जमिनको पानीलाई पाइपमार्फत निकासा गरी जुगेपानी पहिरो नियन्त्रणको काम गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर हरिबहादुर लामाले जानकारी दिनुभयो । आउँदो एक वर्षसम्मका लागि पहिरो गइरहेको ठाउँमा सडक ग्राभेल मात्र छाडिएको र थप ‘सेटल’ भएपछि सडक कालोपत्र गरिने उहाँको भनाइ छ ।

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

म्याग्दी, १८ भदौः मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुुुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो ।

“गुुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुुङसी गुुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।” साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुुफामा पुुगिन्छ ।

भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूूला गुुफामा पुुगिन्छ । तीनवटा तला रहेको तल्लो चुुङसी गुुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ ।

गुुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुुम्बामा लामा बस्छन् । भगवान् बुुद्धको मूर्ति रहेको चुङसी गुुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् ।

तल्लो चुुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुुङसी गुफामा पुुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ । उपल्लो र तल्लो चुङसी गुुफाको फेदीमा रहेको अर्को गुुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुुन्छ ।

चुङसी गुुफा अवलोकन गर्नुभएका म्याग्दीका सुुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताउनुभयो । “साङबोचेबाट चुुङसी गुुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उहाँले भन्नुुभयो, “यस्तो अनौठो गुुफा अन्यत्र देखेको थिइनँ ।”

गुुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुुपातमा पर्यटक चुुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् । लो–घेकर दामोदरकुुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुुरुङले बताउनुभयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ ।

पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुुफा हँुदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।

चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च

महोत्तरी, १८ भदौः महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् ।

चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ । अहिले पर्वका लागि आफ्ना उत्पादित कृषि उपज बजार पुर्याउने किसान र व्यापारी तथा सामान किन्न पुग्ने उपभोक्ताको सघन जमघटले पर्वका बजार बिहानैदेखि जम्ने गरेका छन् ।

चौरचन पर्व केराखेती गर्ने किसानलाई खास अवसर बन्ने गरेको छ । अहिले चौरचन पर्वको मुखमा बेचिएको केराबाट रु दुई लाख प्राप्त भइसकेको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बताउनुभयो । उहाँले १० कठ्ठा क्षेत्रफलमा केराखेती लगाउनुभएको छ । जिल्लाभरिमा चौरचन पर्वमा रु ५० लाख हाराहारीको केरा किनबेच हुने महोत्तरी उद्योग वाणिज्य सङ्घको अड्कल छ ।

पर्वका लागि छिप्पी नसकेका कलिला कोसाका केरा पनि प्रशस्तै देखिएको छ । यसैगरी पर्वको बजार भोलिसम्म मात्र हुँदा कलिला केरा कार्वाइड हालेर पकाइएका छन् । पर्वमा भीडभाडका बेला पारेर अन्य कमसल गुणस्तरका सामान पनि बिक्री भइरहेको हुँदा स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य सङ्घ र सामाजिक सङ्घसंस्थाले बजार अनुगमन बढाउनुपर्ने उपभोक्ता हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष दीपेन्द्र पराजुली बताउनुहुन्छ ।

भरतपुर भूमिगत विद्युतीकरणको काम ६५ प्रतिशत सम्पन्न

चितवन, १८ भदौः भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो ।

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार दुईवटा सबस्टेशनबाट छवटा फिडरमार्फत भूमिगत लाइन छोड्न तयारी गरिएको छ । सबस्टेशनमा आवश्यक पर्ने प्यानल समयमा आइनसक्दा ती फिडरबाट विद्युत् छोड्न कठिन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हेटौँडा ग्रिड कार्यालयले प्यानल ल्याउँदैछ । चाँडै फिडरहरूबाट विद्युत् छोड्ने तयारीमा हामी छौँ ।” एघार केभिए लाइन जडान भएका छवटा फिडर भूमिगत तवरबाट सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको भए पनि अन्डरग्राउण्ड गर्नका लागि सुरुआती प्वाइन्टमा प्रयोग हुने प्यानल अभावले लाइन छोड्न नसकिएको उहाँले बताउनुभयो । इन्जिनियर सुवेदीले भन्नुभयो, “बसेनी सबस्टेशन र आँपटारी सबस्टेशनमा प्यानल आउनासाथ काम सुरु हुन्छ ।”

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसेनीबाट भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीबाट पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडक थपिएको छ ।” केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइनमात्र भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो ।

भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्र भूमिगत गर्न थालिएकामा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उहाँले बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

पाँचखाल नगरपालिकाद्वारा मनसुनका ‘जोखिम परिवार’लाई राहत

काभ्रेपलाञ्चोक, १८ भदौः काभ्रेको पाँचखाल नगरपालिकाले मनसुनमा वर्षा तथा अन्य विपद्का कारण जोखिमयुक्त घरपरिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ । नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण मध्यनजर गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरले बस्नै नहुनेगरी क्षति पुगेका परिवारलाई रु ५० हजार तथा मर्मतसम्भार तथा संरक्षण गर्नुपर्ने घरका लागि प्रतिपरिवार रु १५ हजार राहत उपलब्ध गराउने भएको जनाइएको छ । नगरप्रमुख महेश खरेलले प्रत्येक वडाबाट हालसम्मको क्षतिको विवरण मागिएको बताउनुभयो । “क्षतिको विवरणका आधारमा राहत प्रदान गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पहिलो प्राथमिकता बसोबास गर्दै आएको घरमा भएको क्षतिलाई दिइनेछ ।

यस्तै बसोबास गर्दै गरेको जोखिममा परेको घरका संरक्षणलाई दोस्रो प्राथमिकता दिइने छभने खानेपानीको मुहान, ट्याङ्की तथा पाइप लाइन अवरोध भएकाको लागि तत्काल आर्थिक सहयोग व्यवस्थापन गर्ने जनाइएको छ । प्रारम्भिक अनुगमनमा नगरको ८, ११ र १३ नं वडामा अविरल वर्षाले धेरै क्षति पुर्याएको पाइएको छ ।

नगरको अन्य वडाको क्षतिबारे विवरण आएपछि राहत रकम वितरण गरिने खरेलले बताउनुभयो । “हाल त्रिपाल तथा पलाष्टिक दिने काम सुरु गरेका छौँ थप राहत सामग्रीको व्यवस्थापनमा लागेका छौँ”, उहाँले भन्नुभयो । मनसुनको लगातार वर्षाले पाँचखालका विभिन्न कृषि ग्रामीण सडक अवरुद्ध हुँदा दूध तथा तरकारी ढुवानीमा समस्या हुँदै आएको छ ।

उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार

कञ्चनपुर, १८ भदौः जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो ।

बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ ।     अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताउनुभयो । वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरिसृपको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । 

तनहुँ जलविद्युत् आयोजना : विद्युत्गृहको कङ्क्रिटको काम सकियो

दमौली (तनहुँ)- तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत्गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृहभित्र कङ्क्रिटको काम सकिएको हो ।

प्याकेज दुईको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले विद्युत्गृहभित्र ढलान गरेर कङ्क्रिटको काम सकाएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्युत्गृहभित्र संरचना बनाउने काम चलिरहेको छ । सोही बमोजिम पहिलो चरणको कङ्क्रिट गर्ने काम पूरा भएको हो ।”

प्याकेज दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणमा हालसम्म ५९ प्रतिशत प्रगति भएको छ । यस प्याकेजको निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले गरिरहेको छ । जसअन्तर्गत विद्युत्गृह निर्माणका लागि सुदृढीकरण कार्य जारी रहेको छ । साथै अतिरिक्त मेकानिकल उपकरण तथा पाइप जडान कार्य जारी रहेको बताइएको छ ।

पेनस्टक सुरुङतर्फ पेनस्टक पाइप जडान, वेल्डिङको काम जारी छ भने मुख्य सुरुङतर्फ विसं २०८० चैत १८ गते मुहान सुरुङको ‘ब्रेक थु्र’ भएपश्चात् बेन्चिङ (तल्लो भाग) तथा आवश्यक सहयोगका लागि ‘स्टील रिब्स्’ जडान कार्य सम्पन्न भएको छ । सर्जट्याङ्क ठाडो सुरुङतर्फ स्काफफोल्डिङ, रेबर जडान तथा कङ्क्रिट कार्य भइरहेको आयोजनाले जनाएको छ ।

बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १८ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक ÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ ।

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, १८ भदौः सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

रूसी राष्ट्रपति पुटिनलाई मङ्गोलिया विमानस्थलमा भव्य स्वागत

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया आइपुग्नुभएको छ । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उहाँलाई भव्य स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो ।

पुटिनको यो भ्रमणलाई लिएर आइसिसी , किएभ, पश्चिमा र अधिकारवादी समूहहरूले आइसीसी निर्देशनको अवहेलनाको प्रदर्शनको रूपमा हेरिएको छ ।सन् २०२२ मा युक्रेनी सेनाले युक्रेनमा आक्रमण गरेयता युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको अभियोगमा हेगस्थित अदालतले रूसी नेताविरूद्ध पक्राउपूर्जी जारी गर्दै ‘सर्वाधिक खोजी’ को सूचिमा राखेको छ ।

किएभले गत हप्ता मङ्गोलियाली अधिकारीहरूलाई पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरेका थिए भने आइसिसीले अदालतले मागेकाहरूलाई हिरासतमा लिनु आफ्ना सबै सदस्यहरूको ‘दायित्व’ रहेको बताएको थियो।क्रेमलिनले गत हप्ता पुटिनलाई पक्राउ गर्ने विषयमा रूसलाई कुनै ‘चासो’ नभएको बताएको थियो ।
रुस र चीनको बीचमा रहेको मङ्गोलिया सोभियत कालमा मस्कोको अधिपत्यमा थियो ।

सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि नै उसले क्रेमलिन र बेइजिङ दुवैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न खोजेको छ ।मङ्गोलियाले युक्रेनमा रुसको आक्रमणको विरोध गरेको छैन र संयुक्त राष्ट्रसङ्घमा द्वन्द्वसम्बन्धी मतदानमा अनुपस्थित रहेको छ ।आइसिसीले सन् २०२३ को मार्चमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

घुस लिएको आरोपमा रूसी सेनाका जनरल पक्राउ

रूसले घूस लिएको आरोपमा अर्का एक वरिष्ठ सैन्य अधिकारीलाई पक्राउ गरेको छ ।रक्षा मन्त्रालयको स्रोत विभागमा काम गर्ने मेजर जनरल भ्यालेरी मुमिनजानोभले सेनाको पोशाक आपूर्ति गर्न राष्ट्रिय निजी कम्पनीहरूसँग सम्झौता मिलाउन पदीय मर्यादा विपरीत काम (मध्यस्थता) गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

“सम्झौताको मध्यस्थताका लागि ती अधिकारीले २० लाख रूबलभन्दा बढीको ठूलो रकम घुस लिएका थिए,” रूसको अनुसन्धान समितिले जनाएको छ । “मुमिनजानोभ र उहाँको परिवारका सदस्यहरू मस्को र वोरोनेजमा १२ करोड रूबलभन्दा बढीको असङ्ख्य घर जग्गा र सम्पत्ति छ, जसको वैधता जाँच भइरहेको छ,” उहाँले थप्नुभयो ।

उहाँ दोषी प्रमाणित भएमा उहाँले १५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ । मस्कोले अप्रिलदेखि कम्तिमा १० सैन्य अधिकारीहरूलाई गिरफ्तार गरेको छ ।गत हप्ता, पूर्व उपरक्षा मन्त्री पावेल पोपोभलाई मनोरञ्जन पार्कको निर्माणसँग जोडिएको ठगीको आरोपमा पक्राउ गरिएको थियो ।

नर्वेमा विद्युतीय कार बिक्रीमा कीर्तिमान कायम

नर्वेमा विद्युतीय कारको बिक्रीले अगस्टमा बजारको ९४ प्रतिशत हिस्सा ओगटेको छ । यो नयाँ विश्व कीर्तिमान हो । युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ । नर्वेजियन रोड फेडरेशन (ओएफभी) का अनुसार टेस्ला मोडल वाईले बिक्रीको १८.८ प्रतिशत हिस्सा ओगटेको र केही हदसम्म हुन्डाईको कोना र निसानको लिफले पनि बजार लिएको छ ।

नर्वेलीहरूले अगस्टमा १० हजार ४८० नयाँ ईभीहरू किनेका छन् ।युरोपमा अन्य ठाउँमा उच्च मूल्य र अपर्याप्त पूर्वाधारले ईभीको बिक्रीमा बाधा रहेको समयमा नर्वेले यो कीर्तिमान् बनाएको हो ।
“विद्युतीय कारको प्रयोगका शिलशिलामा हेर्दा विश्वको कुनै पनि देश नर्वेको नजिक छैन,” ओएफपी निर्देशक ओभिन्ड सोलबर्ग थोरसेनले एक विज्ञप्तिमार्फत भन्नुभयो ।

“यदि यो प्रवृत्ति जारी रह्यो भने, हामी चाँडै सन् २०२५ सम्म शत प्रतिशत शून्य उत्सर्जन कारहरूको हाम्रो लक्ष्य हासिल गर्ने बाटोमा छौं,” उहाँले थप्नुभयो । युरोपेली अटोमोबाइल उत्पादक सङ्घका अनुसार, जुलाईमा ईयूमा नयाँ कार बिक्रीको विद्युतीय कारले १२.१ प्रतिशत, ३३.४ पेट्रोलबाट चल्ने कारले प्रतिशत, पूर्ण हाइब्रिड कारले ३२ प्रतिशत र डिजेल कारले १२.६ प्रतिशत हिस्सा ओगटेको थियो।

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अध्यक्षमा खड्का

लिस्बन (पोर्चुगल), १८ भदौः अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको अध्यक्ष पदमा सूर्य खड्का चयन हुनुभएको छ । लिस्बनमा सम्पन्न भएको समाजको विशेष अधिवेशनले आगामी चारवर्षे कार्यकालका लागि ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धर्मध्वज लामा, मनोज कठायत, नरेश भाट , जयसुजन केसी र महिला उपाध्यक्षमा कल्पना भण्डारीलाई चयन गरेको छ ।

समाजको महासचिवमा प्रशान्त घिसिङ, सचिवमा विवश कटुवाल र कोषाध्यक्षमा एनडी शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले सुरज पौड्यालको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन गरेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष कमल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेम सुवेदी, समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्कालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

समाजले विश्वभरका नेपालीलाई सङ्गठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्दै आइरहेको समाजका केन्द्रीय अध्यक्ष घिमिरेले बताउनुभयो । विश्वभरका विभिन्न मुलुकमा गरी ८३ देशमा समाजको राष्ट्रिय समिति गठन भइसकेको उहाँले बताउनुभयो ।

ताप्लेजुङमा सात सय २६ जनाले पाए राष्ट्रिय परिचयपत्र

फुङ्लिङ (ताप्लेजुङ), १८ भदौः जिल्लामा हालसम्म सात सय २६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो ।

कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म तीन सय ४७ महिला र तीन सय ७९ पुरुषले परिचयपत्र लिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा तयार भएका सात हजार नौ ६७ परिचयपत्रमध्ये सात हजार दुई सय ४१ कार्यालयमा छन् ।

परिचयपत्रको विवरण दर्ता गराएका अधिकांश नागरिकले लामो समयसम्म कार्ड छपाइ भएर आएको जानकारी नपाएकाले कार्यालयमा उक्त सङ्ख्यामा परिचयपत्र थन्किएका निरौलाले बताउनुभयो । परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति कार्यालयमा उपस्थित हुनुपर्ने नियमका कारण पनि कार्ड कार्यालयमा थन्किएको उहाँको भनाइ छ ।

“प्रशासनले कार्ड आइसकेपछि बुझ्नका लागि नागरिकलाई पटकपटक आह्वान गरिरहेको छ । प्रशासनद्वारा जारी सूचनाको पहुँच नहुनु वा बेवास्ताका कारण अपेक्षित सहभागिता नदेखिएको परिचयपत्र फाँटका कर्मचारी निरौलाले उल्लेख गर्नुभयो ।

यसैबीच कतिपय नागरिकले चार वर्षसम्म पर्खँदा पनि परिचयपत्र नपाएको गुनासो गरेका छन् । विवरण दर्ता गरेको चार वर्षसम्म पनि परिचयपत्र उपलब्ध नगराएपछि प्राप्त गर्ने आशा हराएको सेवाग्राहीको गुनासो छ ।  

आर्थिक वर्ष २०७७÷७८ देखि परिचयपत्रका लागि विवरण सङ्कलन थालिएको थियो । हालसम्म ६९ हजार पाँच सय ९८ जनाको विवरण सङ्कलन भइसकेको निरौलाले जानकारी दिनुभयो । 

स्थानीय तहमा सञ्चालन भएका अभियानमार्फत ४६ हजार दुई सय पाँच र प्रशासन कार्यालयमा २३ हजार तीन सय ९३ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा नौ सय ३७ जनाको विवरण सङ्कलन भएको छ ।

खहरे खोलामा आएको बाढीले कटान गर्न थालेपछि बस्ती जोखिममा

धरान (सुनसरी), १८ भदौः भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् ।

धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्छ । कहिलेकाहीँ आफन्तकामा राति बास बस्न जाने गरेका छौँ ।” 

“खहरे खोलामा बाढी आएपछि ज्यान जोगाउन नै सास्ती हुने लिम्बूले बताउनुभयो । “घर होचो छ, खहरे खोला माथिबाट आउनसाथ सिधैँ घरभित्र छिर्छ, एकदमै त्रासमा रात बिताउने गरेका छौँ”, उहाँले भन्नुभयो । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि यहाँका स्थानीय रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बस्तीका बासिन्दा बताउँछन् । 

सोही स्थानकी कमला राईले भन्नुभयो, “घरमा बस्न नसकिने अवस्था भएर केही दिनदेखि बेलुका अर्काको घरमा जाने गरेका छौँ । पानी पर्न सुरु भएपछि घर छोडेर सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था छ ।”

स्थानीय कौशिला श्रेष्ठले खोला नजिकै घर भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । “घरमा केटाकेटी, बूढाबूढी बाबाआमा हुनुुहुन्छ । बेलुका बाढी आइहाले कहाँ जाने भन्ने चिन्ताले रातभर निन्द्रा नलागेर जाग्राम बस्नु परेको छ”, उहाँले भन्नुभयो । 

खहरे खोलामा आउने पानीको भर नहुने भन्दै कुनबेला कस्तो वितण्ड मच्चाउँछ थाहै नहुने धरान–१३ का स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले आधुनिक प्रविध र दक्ष प्राविधिक लगाएर खहरे खोलामा आउने बाढीको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्छ । स्थानीय कतिदिनसम्म यसरी त्रासमा रातभर जाग्राम बस्ने ?” 

आज दिउँसोको वर्षासँगै आएको बाढीले एउटा घरमा आशिंक क्षति भएसँगै परिवारलाई आफन्त कहाँ सर्न आग्रह गरिसकिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “खहरे खोलामा आएको बाढीले कही बिजुलीका खम्बामा क्षति हुने सम्भावना छ, तत्काल खोला नियन्त्रण गर्न सकिएकाले अहिलेसम्म क्षति हुन पाएको छैन ।”

धरान–१३ का सात घरमा क्षति भएको छ भने करिब १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो । “खहरेमा आएको बाढीले पूरै खोला कटान गर्न सुरु भएपछि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसिभी ल्याएर बस्ती जोगाउने काम भएको छ ।” 

यही भदौ १३ गते र १७ गते दिउँसो आएको वर्षाका कारण करिब तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।  

यातायात कार्यालय वीरगञ्जद्वारा डेढ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १८ भदौः यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०÷८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताउनुभयो । कार्यालयले आव २०७९÷८० मा भने रु एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रकम राजस्व सङ्कलन गरेको थियो । सो आवमा सवारीतर्फ रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व सङ्कलन भएको थियो ।

सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आव २०८०÷८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने छ सय ४५ वटा दर्ता भएका छन् ।

गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार नौ सय ७२ वटा दर्ता भएका छन् । मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन् । त्यस्तै ट्रयाक्टरलगायत सवारीसाधन भने चार सय १३ वटा दर्ता भएका छन् । गत आवमा सबैखाले नयाँ सवारीसाधन गरेर ३८ हजार चार सय ५६ वटा दर्ता भएका छन् ।

एक वर्षमा २२ हजार हजार बढी पर्यटक लमजुङ हुँदै मनाङ पुगे

लमजुङ, १८ भदौः एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ विदेशी पर्यटक बेँसीसहर हुँदै यस पदमार्गबाट मनाङ पुगेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये सार्क राष्ट्रका एक हजार तीन सय ७७ र अन्य मुलुकका २० हजार नौ सय ९४ पर्यटक यस पदमार्ग भएर आएको बताउनुभयो । उहाँका अनुसार १२ हजार छ सय ७५ महिला, नौ हजार छ सय ८९ पुरुष र अन्य सात जना पर्यटक यहाँ आएका छन् ।

केन्द्रका अनुसार अन्य देशबाट आएकामध्ये १२ हजार चार सय ४७ महिला, आठ हजार पाँच सय ४० पुरुष र अन्य सात जना पर्यटक रहेका गुरुङले जानकारी दिनुभयो । त्यस्तै सार्क राष्ट्रका एक हजार एक सय ४९ पुरुष र दुई सय २८ महिला पर्यटक आएका केन्द्रले जनाएको छ । केन्द्रका इञ्चार्ज गुरुङका अनुसार पदमार्गमा आएकामध्ये इजरायल, जर्मन, फ्रान्सलगायत देशका नागरिक बढी छन् ।

आव २०७९÷८० मा भन्दा गत आवमा पर्यटक आगमनमा वृद्धि भएको केन्द्रका इञ्चार्ज गुरुङले बताउनुभयो । आव २०७९÷८० मा २० हजार दुई ६७ पर्यटक यहाँ आएका थिए । अन्य मुलुकका १९ हजार चार सय २३ आगमन हुँदा सार्क राष्ट्रका आठ सय ४३ पर्यटक आएका उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको पहिलो लहर आएयता प्रभावित बनेको यहाँको पदमार्ग पर्यटन केही वर्षदेखि विस्तारै चलायमान हुँदै जान थालेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा पर्दछ । यस पदमार्गसँग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीगरी पाँच जिल्ला जोडिएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, वेषभूषा, प्राकृतिक सुन्दरता हेर्न, मनाङबाट संसारको अग्लो थोराङला पारगरी मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गरेको केन्द्रका इञ्चार्ज गुरुङले उल्ल्ेख गर्नुभयो ।

साथै मनाङमा रहेका विभिन्न हिमाल चढ्न र हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ । यसअघि थोराङ्ला पार गर्न करिब २१ दिन लाग्ने गरेको भन्दै पछिल्लो समयमा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्रा छोटिएर करिब १२ दिनमा टुङ्गिने गुरुङले जानकारी दिनुभयो ।

देशको राजधानी काठमाडौँबाट लमजुङ बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । विदेशी पर्यटकजस्तै आन्तरिक पर्यटकसमेत यस पदमार्ग हुँदै मनाङ पुग्ने गरेका भन्दै आन्तरिक पर्यटकको तथ्याङ्क भने कतै अभिलेख नभएको उहाँले बताउनुभयो । यस पदमार्गमा देशका विभिन्न स्थानबाट स्वदेशी पर्यटक आउने गर्दछन् ।