गाजालाई समुद्र तटीय रिसोर्टका रूपमा देखाउने क्लिप ट्रम्पको सामाजिक मिडियामा पोस्ट


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक सामाजिक मिडिया खाताहरूमा युद्धग्रस्त गाजालाई समुद्र तटीय रिसोर्टका रूपमा पुनर्निर्माण गरिएको आफ्नै अग्लो सुनौलो मूर्तिसहितको एआई–जनित भिडियो पोस्ट गरिएको छ ।
इन्स्टाग्राममा एक करोड पाँच लाखभन्दा बढी पटक हेरिएको र बुधबार बिहान ट्रम्पको ट्रुथ सोसल नेटवर्कमा दुई हजार चार सयपटक सेयर गरिएको भिडियोले केही टिप्पणीकर्तालाई राष्ट्रपतिको खाता ह्याक गरिएको छ कि छैन भनेर प्रश्न गर्न प्रेरित गर्यो ।
मङ्गलबार राति प्रारम्भिक पोस्ट गरिएको केही घन्टापछि पनि ३३ सेकेन्डको क्लिप ट्रम्पको खातामा अस्वीकार वा खण्डनबिना नै रहेको थियो ।
“गाजा २०२५ अब के ?” शीर्षकको भिडियो भग्नावशेषले भरिएको सडकमा रहेका मानिसहरू सुरुङबाट खजुरका रूखहरू र जहाजहरू भएको समुद्र किनारमा निस्कँदै सुरु हुन्छ ।
ट्रम्पले गाजामाथि अमेरिकी नियन्त्रणको विचार प्रस्ताव गर्नुभएको छ । उक्त प्रस्तावमा यसको प्यालेस्टिनी जनसङ्ख्या स्थानान्तरण गरिने थियो । उक्त प्रस्तावले व्यापक आलोचना निम्त्याएको छ ।
पछि यो विचारलाई मात्र सिफारिस गरिरहेको भन्दै उहाँले आफ्नो योजनालाई नरम तुल्याउनुभएको थियो । साथै जोर्डन र इजिप्टका नेताहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको इच्छाविरुद्ध सार्ने प्रस्तावलाई अस्वीकार गरेको स्वीकार गरेका थिए ।
सामाजिक मिडिया क्लिपमा साउन्डटङ्याकमा ‘डोनाल्ड तिमीलाई मुक्त गर्न आउँदै हुनुहुन्छ, सबैले देख्नका लागि उज्यालो ल्याउँदै’ र ‘भोज र नृत्य, सम्झौता पूरा भयो, ट्रम्प गाजा नम्बर एक’ भन्ने गीतका बोलहरू समावेश छन् ।
देखिने गरी एआई–जनित ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका चित्रण पौडी पोखरी छेउमा स्विमसुटमा ककटेल पिउँदै देखिनुहुन्छ भने अन्य दृश्यहरूमा समुद्र किनारमा नगदको वर्षा मुनि नाचिरहेका एलन मस्क देखाइएको छ ।
ट्रम्पको जीवनभन्दा ठूलो सुनौलो मूर्ति पनि चित्रित गरिएको छ ।सामाजिक मिडिया प्रयोगकर्ताहरूले समर्थन र आलोचना दुवै प्रतिक्रिया दिए तर धेरैले ट्रम्प आफैँले यो सङ्कलन पोस्ट गर्नुभएको हो कि भनेर प्रश्न गरे ।
एएफपीले यो भिडियो ट्रम्पको ट्रुथ सोशल र इन्स्टाग्राम खाताहरूमा पोस्ट गरिनुअघि अनलाइनमा साझा गरिएको कुनै प्रमाण फेला पारेको छैन ।तथापि एक दृश्य फेब्रुअरी सुरुमा प्रचलनमा आएको ट्रम्प र नेतन्याहु ककटेल पिउँदै गरेको एआई–जनित तस्बिरसँग मिल्दोजुल्दो छ ।
हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट सुरु भएको १५ महिनाभन्दा बढीको युद्धले गाजा पट्टीको धेरै भाग भग्नावशेषमा परिणत गरेको छ र यसको अधिकांश जनसङ्ख्या विस्थापित भएको छ ।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार पुनर्निर्माणको लागत ५३ अर्ब डलरभन्दा बढी छ ।जनवरी १९ देखि प्रभावमा रहेको नाजुक युद्धविरामले गाजामा मानवीय सहायताको वृद्धि गर्न अनुमति दिएको छ । यद्यपि हमासले इजरायललाई केही आवश्यक आपूर्तिहरूको प्रवेश रोकेको आरोप लगाएको छ ।