गगन पक्राउ गर्न तम्सिएका बालेन किन डराए?
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पक्राउ गर्ने चर्चा सेलाउँदै गएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र उनको सल्लाहकार समूहले थापालाई पक्राउ गर्ने योजना बनाएको चर्चा चले पनि पछिल्लो समय सरकार उक्त रणनीतिबाट पछि हटेको प्रधानमन्त्रीनिकट स्रोतहरूको दाबी छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारहरूको जिज्ञासामा ‘गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन’ भन्दै दिएको अभिव्यक्तिले पनि यस विषयलाई थप चर्चामा ल्यायो।
सरकारले थापामाथि निगरानी बढाएको र उनको गतिविधि नियाल्न सादा पोसाकका प्रहरी परिचालन गरेको कांग्रेस नेताहरूको दाबी थियो । तर, तत्काल पक्राउ गर्ने सम्भावना भने कमजोर बनेको स्रोतहरूको भनाइ छ ।
थापालाई पक्राउ गर्ने चर्चा चुलिनुको एउटा प्रमुख कारण गत कात्तिक १३ गते विभिन्न सञ्चारगृहका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई पक्राउ तथा धरपकड गरिएको घटनाप्रति उनले जनाएको विरोधलाई मानिएको छ । उक्त घटनापछि थापाले सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका थिए । कात्तिक १५ गते पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पनि उनले पत्रकार पक्राउलगायतका विषयमा सरकारको आलोचना गरेका थिए ।
त्यसपछि थापालाई पक्राउ गर्न सक्ने चर्चा राजनीतिक वृत्तमा फैलिएको थियो । उनलाई पक्राउ गर्ने उद्देश्यले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गरिएको आरोपसमेत सार्वजनिक भएको थियो । कांग्रेसले आफ्ना सभापतिमाथि प्रहरीबाट निगरानी र रेकी भइरहेको दाबी गर्दै आएको थियो ।
यसबीच कांग्रेसको आधिकारिकतासँग जोडेर बिचौलिया भनिएका इनम सापकोटाको नामसमेत चर्चामा ल्याइएको थियो । पार्टीको आधिकारिकताका लागि १८ करोड रुपैयाँ लेनदेन भएको दाबी गरिएको अप्रमाणित अडियो सार्वजनिक भएपछि त्यसलाई थापाविरुद्ध सम्भावित कारबाहीको आधार बनाउन खोजिएको चर्चा चलेको थियो ।
तर, थापा र कांग्रेसले उक्त आरोपको संस्थागत रूपमा खण्डन गरे । पार्टीको वैधानिकताका लागि कुनै आर्थिक लेनदेन नभएको थापाको दाबी थियो ।
प्रधानमन्त्रीनिकट स्रोतहरूका अनुसार थापालाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्रीले सुरक्षा निकायका अधिकारीहरूसँग परामर्शसमेत गरेका थिए । तर, पक्राउको निर्णयले विपक्षी दलहरूलाई थप एकजुट बनाउने र सरकारविरुद्ध ठूलो आन्दोलन उठ्न सक्ने आकलन सुरक्षा निकायबाट प्रस्तुत भएको बताइन्छ ।
यही सम्भावित राजनीतिक जोखिमका कारण प्रधानमन्त्री तत्काल पक्राउको निर्णयबाट पछि हटेको जानकारहरूको भनाइ छ ।
गत बिहीबार प्रधानमन्त्री बालेनले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए । त्यसै दिन भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए ।
मिश्रीको भ्रमणका क्रममा कांग्रेस सभापति थापासँग भएको आकस्मिक भेटलाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । विपक्षी दलका नेतासँग भेट्ने पूर्वनिर्धारित कार्यक्रम नभए पनि मिश्रीले थापासँग भेट गरेपछि त्यसबारे प्रधानमन्त्रीको टोलीले चासो राखेको स्रोतहरूको दाबी छ ।
त्यसपछि थापाको अन्तर्राष्ट्रिय सम्बन्ध र सम्भावित पक्राउबाट उत्पन्न हुन सक्ने कूटनीतिक प्रतिक्रियाबारे पनि प्रधानमन्त्रीनिकट समूहले विश्लेषण गरेको बताइएको छ ।
जानकारहरूका अनुसार थापालाई पक्राउ गर्दा देशभित्र विपक्षी दलहरू एक ठाउँमा उभिन सक्ने, सरकारमाथि राजनीतिक दबाब बढ्ने र अन्तर्राष्ट्रिय तहमा समेत सरकारको कदममाथि प्रश्न उठ्न सक्ने आकलन गरिएको थियो ।
यिनै सम्भावित परिणामलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले तत्कालका लागि पक्राउ रणनीति स्थगित गरेको स्रोतहरूको दाबी छ ।
यसरी पत्रकार पक्राउ प्रकरणपछि सरकारको आलोचनामा उत्रिएका कांग्रेस सभापति थापालाई नियन्त्रणमा लिने चर्चा तत्कालका लागि मत्थर भएको हो ।
