`

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको अध्यक्षमा खड्का

लिस्बन (पोर्चुगल), १८ भदौः अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको अध्यक्ष पदमा सूर्य खड्का चयन हुनुभएको छ । लिस्बनमा सम्पन्न भएको समाजको विशेष अधिवेशनले आगामी चारवर्षे कार्यकालका लागि ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धर्मध्वज लामा, मनोज कठायत, नरेश भाट , जयसुजन केसी र महिला उपाध्यक्षमा कल्पना भण्डारीलाई चयन गरेको छ ।

समाजको महासचिवमा प्रशान्त घिसिङ, सचिवमा विवश कटुवाल र कोषाध्यक्षमा एनडी शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले सुरज पौड्यालको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन गरेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष कमल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेम सुवेदी, समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्कालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

समाजले विश्वभरका नेपालीलाई सङ्गठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्दै आइरहेको समाजका केन्द्रीय अध्यक्ष घिमिरेले बताउनुभयो । विश्वभरका विभिन्न मुलुकमा गरी ८३ देशमा समाजको राष्ट्रिय समिति गठन भइसकेको उहाँले बताउनुभयो ।

ताप्लेजुङमा सात सय २६ जनाले पाए राष्ट्रिय परिचयपत्र

फुङ्लिङ (ताप्लेजुङ), १८ भदौः जिल्लामा हालसम्म सात सय २६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो ।

कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म तीन सय ४७ महिला र तीन सय ७९ पुरुषले परिचयपत्र लिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा तयार भएका सात हजार नौ ६७ परिचयपत्रमध्ये सात हजार दुई सय ४१ कार्यालयमा छन् ।

परिचयपत्रको विवरण दर्ता गराएका अधिकांश नागरिकले लामो समयसम्म कार्ड छपाइ भएर आएको जानकारी नपाएकाले कार्यालयमा उक्त सङ्ख्यामा परिचयपत्र थन्किएका निरौलाले बताउनुभयो । परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति कार्यालयमा उपस्थित हुनुपर्ने नियमका कारण पनि कार्ड कार्यालयमा थन्किएको उहाँको भनाइ छ ।

“प्रशासनले कार्ड आइसकेपछि बुझ्नका लागि नागरिकलाई पटकपटक आह्वान गरिरहेको छ । प्रशासनद्वारा जारी सूचनाको पहुँच नहुनु वा बेवास्ताका कारण अपेक्षित सहभागिता नदेखिएको परिचयपत्र फाँटका कर्मचारी निरौलाले उल्लेख गर्नुभयो ।

यसैबीच कतिपय नागरिकले चार वर्षसम्म पर्खँदा पनि परिचयपत्र नपाएको गुनासो गरेका छन् । विवरण दर्ता गरेको चार वर्षसम्म पनि परिचयपत्र उपलब्ध नगराएपछि प्राप्त गर्ने आशा हराएको सेवाग्राहीको गुनासो छ ।  

आर्थिक वर्ष २०७७÷७८ देखि परिचयपत्रका लागि विवरण सङ्कलन थालिएको थियो । हालसम्म ६९ हजार पाँच सय ९८ जनाको विवरण सङ्कलन भइसकेको निरौलाले जानकारी दिनुभयो । 

स्थानीय तहमा सञ्चालन भएका अभियानमार्फत ४६ हजार दुई सय पाँच र प्रशासन कार्यालयमा २३ हजार तीन सय ९३ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा नौ सय ३७ जनाको विवरण सङ्कलन भएको छ ।

खहरे खोलामा आएको बाढीले कटान गर्न थालेपछि बस्ती जोखिममा

धरान (सुनसरी), १८ भदौः भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् ।

धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्छ । कहिलेकाहीँ आफन्तकामा राति बास बस्न जाने गरेका छौँ ।” 

“खहरे खोलामा बाढी आएपछि ज्यान जोगाउन नै सास्ती हुने लिम्बूले बताउनुभयो । “घर होचो छ, खहरे खोला माथिबाट आउनसाथ सिधैँ घरभित्र छिर्छ, एकदमै त्रासमा रात बिताउने गरेका छौँ”, उहाँले भन्नुभयो । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि यहाँका स्थानीय रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बस्तीका बासिन्दा बताउँछन् । 

सोही स्थानकी कमला राईले भन्नुभयो, “घरमा बस्न नसकिने अवस्था भएर केही दिनदेखि बेलुका अर्काको घरमा जाने गरेका छौँ । पानी पर्न सुरु भएपछि घर छोडेर सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था छ ।”

स्थानीय कौशिला श्रेष्ठले खोला नजिकै घर भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । “घरमा केटाकेटी, बूढाबूढी बाबाआमा हुनुुहुन्छ । बेलुका बाढी आइहाले कहाँ जाने भन्ने चिन्ताले रातभर निन्द्रा नलागेर जाग्राम बस्नु परेको छ”, उहाँले भन्नुभयो । 

खहरे खोलामा आउने पानीको भर नहुने भन्दै कुनबेला कस्तो वितण्ड मच्चाउँछ थाहै नहुने धरान–१३ का स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले आधुनिक प्रविध र दक्ष प्राविधिक लगाएर खहरे खोलामा आउने बाढीको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्छ । स्थानीय कतिदिनसम्म यसरी त्रासमा रातभर जाग्राम बस्ने ?” 

आज दिउँसोको वर्षासँगै आएको बाढीले एउटा घरमा आशिंक क्षति भएसँगै परिवारलाई आफन्त कहाँ सर्न आग्रह गरिसकिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “खहरे खोलामा आएको बाढीले कही बिजुलीका खम्बामा क्षति हुने सम्भावना छ, तत्काल खोला नियन्त्रण गर्न सकिएकाले अहिलेसम्म क्षति हुन पाएको छैन ।”

धरान–१३ का सात घरमा क्षति भएको छ भने करिब १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष काफ्लेले जानकारी दिनुभयो । “खहरेमा आएको बाढीले पूरै खोला कटान गर्न सुरु भएपछि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसिभी ल्याएर बस्ती जोगाउने काम भएको छ ।” 

यही भदौ १३ गते र १७ गते दिउँसो आएको वर्षाका कारण करिब तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।  

यातायात कार्यालय वीरगञ्जद्वारा डेढ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १८ भदौः यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०÷८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताउनुभयो । कार्यालयले आव २०७९÷८० मा भने रु एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रकम राजस्व सङ्कलन गरेको थियो । सो आवमा सवारीतर्फ रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व सङ्कलन भएको थियो ।

सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आव २०८०÷८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने छ सय ४५ वटा दर्ता भएका छन् ।

गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार नौ सय ७२ वटा दर्ता भएका छन् । मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन् । त्यस्तै ट्रयाक्टरलगायत सवारीसाधन भने चार सय १३ वटा दर्ता भएका छन् । गत आवमा सबैखाले नयाँ सवारीसाधन गरेर ३८ हजार चार सय ५६ वटा दर्ता भएका छन् ।

एक वर्षमा २२ हजार हजार बढी पर्यटक लमजुङ हुँदै मनाङ पुगे

लमजुङ, १८ भदौः एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ विदेशी पर्यटक बेँसीसहर हुँदै यस पदमार्गबाट मनाङ पुगेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये सार्क राष्ट्रका एक हजार तीन सय ७७ र अन्य मुलुकका २० हजार नौ सय ९४ पर्यटक यस पदमार्ग भएर आएको बताउनुभयो । उहाँका अनुसार १२ हजार छ सय ७५ महिला, नौ हजार छ सय ८९ पुरुष र अन्य सात जना पर्यटक यहाँ आएका छन् ।

केन्द्रका अनुसार अन्य देशबाट आएकामध्ये १२ हजार चार सय ४७ महिला, आठ हजार पाँच सय ४० पुरुष र अन्य सात जना पर्यटक रहेका गुरुङले जानकारी दिनुभयो । त्यस्तै सार्क राष्ट्रका एक हजार एक सय ४९ पुरुष र दुई सय २८ महिला पर्यटक आएका केन्द्रले जनाएको छ । केन्द्रका इञ्चार्ज गुरुङका अनुसार पदमार्गमा आएकामध्ये इजरायल, जर्मन, फ्रान्सलगायत देशका नागरिक बढी छन् ।

आव २०७९÷८० मा भन्दा गत आवमा पर्यटक आगमनमा वृद्धि भएको केन्द्रका इञ्चार्ज गुरुङले बताउनुभयो । आव २०७९÷८० मा २० हजार दुई ६७ पर्यटक यहाँ आएका थिए । अन्य मुलुकका १९ हजार चार सय २३ आगमन हुँदा सार्क राष्ट्रका आठ सय ४३ पर्यटक आएका उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको पहिलो लहर आएयता प्रभावित बनेको यहाँको पदमार्ग पर्यटन केही वर्षदेखि विस्तारै चलायमान हुँदै जान थालेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा पर्दछ । यस पदमार्गसँग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीगरी पाँच जिल्ला जोडिएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, वेषभूषा, प्राकृतिक सुन्दरता हेर्न, मनाङबाट संसारको अग्लो थोराङला पारगरी मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गरेको केन्द्रका इञ्चार्ज गुरुङले उल्ल्ेख गर्नुभयो ।

साथै मनाङमा रहेका विभिन्न हिमाल चढ्न र हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ । यसअघि थोराङ्ला पार गर्न करिब २१ दिन लाग्ने गरेको भन्दै पछिल्लो समयमा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्रा छोटिएर करिब १२ दिनमा टुङ्गिने गुरुङले जानकारी दिनुभयो ।

देशको राजधानी काठमाडौँबाट लमजुङ बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । विदेशी पर्यटकजस्तै आन्तरिक पर्यटकसमेत यस पदमार्ग हुँदै मनाङ पुग्ने गरेका भन्दै आन्तरिक पर्यटकको तथ्याङ्क भने कतै अभिलेख नभएको उहाँले बताउनुभयो । यस पदमार्गमा देशका विभिन्न स्थानबाट स्वदेशी पर्यटक आउने गर्दछन् ।

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती

मधु शाही, काठमाडौं । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन्। छाया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो। कोभिड महामारीपछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ।

सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो।

रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्देश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन्। बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए।

ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन्। रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए।

“क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन”, उनले भने, “प्रहरीमा कुरा पुर्याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ।”

होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए। ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको जानकारी दिए।

सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उनको भनाइ छ। शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन्। कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उनले सुनाए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन्। “यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ”, उनले भने।

अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बाटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए।

परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन्।

कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ। डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र संस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए। परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनको भनाइ छ। 

धार्मिक आस्थाको केन्द्र बन्दै बक्रेश्वर मन्दिर,बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन गराए बोल्छन् भन्ने धार्मिक विश्वास

गोरखा, १८ भदौः जिल्लाको सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो ।

“वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्नुहुन्छ”, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछानेले भन्नुभयो, “यहाँ ल्याएर दर्शनगरी पूजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेकाले अभिभावकले पनि विश्वास गर्नुहुन्छ ।”

बोल्न नसक्ने बालबालिकाको बोली फुट्ने धार्मिक विश्वासका कारण बक्रेश्वर मन्दिरमा भारतबाट भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो । बक्रेश्वरीस्थित घना जङ्गलको बीचमा रहेको मन्दिरको दर्शन गराएपछि २५ वर्षको उमेरसम्म बोली नफुटेको पाइएकाहरु पनि बोल्नसक्ने हुनुभएको पुजारी लामिछानेले बताउनुभयो । उहाँका अनुसार बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर नजिक पर्दछ ।

पढाइमा कमजोर भएका, सन्तान नभएकाले पनि यस मन्दिरको दर्शन तथा भाकलगरी पूजा गर्ने गरेका पुजारी लामिछानेले बताउनुभयो । “बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजन वाक्य माग्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म बोली नफुटेर यहाँ आएर बक्रेश्वर देवताको पूजाअर्चना गरेपछि बोल्ने गरेका पाएका छौँ ।”

बक्रेश्वर मन्दिरमा भाकल गरेकाले भाकल पूरा गर्न मन्दिरमा रहेका महादेवलाई बेलपत्र, गाईको दूध, जनैसुपारी, पहेँलो कपडा, शङ्ख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिर पञ्चवलिसमेत चढ्ने पुजारी लामिछानेले जानकारी दिनुभयो ।

“यो मन्दिरमा हाँस, कुुखुरा, भेडा, राँगो, बोकाको बलि चढ्छ”, उहाँले भन्नुभयो, “मन्दिरमा हरेक दिन बिहान नित्य पूजा हुन्छ भने बेलुकी धूपबत्ती गर्ने प्रचलन रहँदै आएको छ ।” मन्दिरमा शिवरात्रि र तीज पर्वका दिन विशेष मेला लाग्ने जनाउँदै उहाँले साउनको सोमबार पनि विशेष पूजा गर्ने गरिएको बताउनुभयो ।

स्वस्थानी व्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरीर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जङ्गलमा सतिदेवीको जिब्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको उल्लेख गरिएको पुजारी लामिछानेको भनाइ छ ।

मनकामना क्षेत्र विकास समितिले बक्रेश्वरी मन्दिर संरचना निर्माण गर्न सहयोग गरे पनि स्थानीय सरकारले ध्यान नदिएको मन्दिरका पुजारी लामिछानेले बताउनुभयो । मन्दिरसम्म पुग्नका लागि सडकबाटोको स्तरोन्नति तथा गोरेटो बाटो निर्माण गर्न स्थानीय सरकार योजना बनाइ पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै इलाम सन्दकपुरका किसान

मङ्गलबारे (इलाम), १८ भदौः जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् ।

सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताउनुभयो । “रेडसँगै अहिले गोल्डेन जातको उत्पादन सुरु भएको छ”, उहाँले भन्नुभयो, “यसलाई जिल्लास्थित कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी भनेको छ ।”

“पहिला दसैँपछि मात्र टिप्न पाइन्थ्यो । केही वर्षअघिदेखि भने वर्षामा पनि खान पाइएको छ”, किसान ठाकुर खतिवडाले भन्नुभयो । नयाँ प्रविधिको प्रयोगगरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आम्दानी गर्न सकिने उहाँको बुझाइ छ ।

सुरुमा जुन जातको किबी रोपे पनि पछि विभिन्न प्रजातिको आफैँले निर्माण गर्न सकिने ठाकुरले बताउनुभयो । “सुरुमा रोपिएका हरियो बिरुवालाई ग्राफ्टिङ गरेर रेड, गोल्डेनलगायत नयाँ प्रजातिका रुपमा विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यतिबेला यहाँका अधिकांश किसानको बगैँचामा रेड किबी उत्पादन सुरु भएको छ ।

अन्य जातको किबीभन्दा रेडको उत्पादन चाँडो हुने बताउँदै ठाकुरले नेपालीको चाडपर्व अगाडि यो फल पाक्ने भएकाले किसानले उचित मूल्य पाउने उहाँले उल्लेख गर्नुभयो । “यो चिल्लो, बाहिरी भागमा झुस नभएको हुन्छ । बाहिर हरियो भए पनि यसको भित्री भाग रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो”, उहाँले भन्नुभयो ।

इलाममा व्यावसायिक रुपमा रेड किबीखेती हुने गरेको कृषि विकास कार्यालय इलामका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जीवनठाडा मगरले बताउनुभयो । “पछिल्लो समय जिल्लाका किसानको किबीप्रति आकर्षण बढ्न थालेको छ । रेड किबी साउन÷भदौमा उत्पादन हुन्छ । अन्य कात्तिक÷मङ्सिरमा मात्र उत्पादन हुने भएकाले चाडपर्वमा किसानले उचित मूल्य पाउँछन्”, उहाँले भन्नुभयो ।

बर्खामा अन्य कृषि उत्पादनबाट आन्दानी कम हुने गरेकामा रेड बिक्रीको उत्पादन हुन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । रेड किबीबाट प्रशस्त आम्दानी गर्न सकिने किसान ठाकुरले बताउनुभयो । उहाँका अनुसार प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्म पर्दछ ।

अन्य प्रजातिका किबीभन्दा रेड महँगोमा बिक्री हुने भएपछि खेती विस्तार हुँदै गएको कृषि प्रसार अधिकृत मगरले बताउनुभयो । उहाँका अनुसार यो फल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । जिल्लामा रेडसँगै गोल्डेन किबीको उत्पादन पनि सुरु भएको उहाँको भनाइ छ ।

एक दशकअघिदेखि सन्दकपुर गाउँपालिकाको सुलुबुङलगायत जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबीखेती सुरु भएको हो । तत्कालीन समयमा मूल्य नभएको भन्दै किसानले बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएका थिए । किसान ठाकुरले हाल किबीसँगै विकल्पका रुपमा यहाँका किसानले अलैँचीखेती पनि गर्दै आएका बताउनुभयो ।

रेड किबीको सेवनले मधुमेह, मुटुसम्बन्धी, मांसपेसीसम्बन्धी, क्षय, मोटोपना र दम रोग नियन्त्रणका सहयोग पुग्ने चिकित्सक बताउँछन् । सबै उमेर समूह र गर्भवतीका लागि पनि रेड किबी फाइदाजनक हुने कृषि प्रसार अधिकृत मगरले उल्लेख गर्नुभयो । रेड किबीबाट जुस, जाम र अन्य पेयपदार्थ बनाएर सेवन गर्न सकिने उहाँको भनाइ छ ।

बोटमा नै पाक्नसक्ने यो फल टिपेको लामो समयसम्म राख्न मिल्दैन । चाँडोगरी गल्ने र बिग्रिने भएकाले रेड किबी टिपेर तत्काल सेवन गर्नुपर्ने किसान बताउँछन् ।

सन्दकपुर–३ को तालगाउँ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामा किबीखेती बढी हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । सन्दकपुर गाउँपालिकाको पाँच वटा वडा र इलाम नगरपालिका–१, २ र ३ मा किबी जोन कार्यक्रम सञ्चालन गरेर सरकारले खेती प्रवर्द्धनमा जोड दिँदै आएको छ ।

पछिल्लो समय उक्त परियोजनाबाट उल्लेख्य सहयोग नपाएको किसानको भनाइ छ । सुरुमा रु सात सय प्रतिकिलो किनबेच हुने गरेकामा हाल रु एक सयदेखि रु तीन सयसम्ममा कारोबार हुने गरेको किसान खतिवडाले जानकारी दिनुभयो ।

नेपालमा रातो गुदी भएको रेड, हरियो गुदी भएको हेवार्ड, एलिसन, मोन्टी, ब्रुानो, एवोट, मचुवा र टिमोरी जातको किबी उत्पादन भइरहेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहेँलो गुदी भएको जेस्पिरी र गोल्डसमेत खेती तथा उत्पादन हुने गरेको छ ।

“किबीको बिरुवा हिउँदमा लगाउने गरिन्छ । पात झरेको समयमा पुस र माघमा बिरुवा रोप्ने गरिन्छ । किबी बहुवर्षे फल हो । किबीफल लहरामा फल्ने पत्झर फलफूलअन्तर्गत पर्दछ”, उहाँले भन्नुभयो ।

रेड किबी पाक्न थालेको बताउँदै मगरले अन्य किबी काँचो भएकाले अचारका रुपमा प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म विश्वमा ७६ प्रकारका किबीका प्रजातिको पहिचान भइसकेको छ ।

किबी नेपालको इलामसहित काभ्रेपलाञ्चोक, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खेती हुँदै आएको छ । पश्चिमी जिल्लामा पनि इलामबाट बिरुवा लगेर खेती हुन थालेको छ ।

“यसको बिरुवा रोप्दा भाले र पोथी प्रजाति पहिचानगरी सँगसँगै रोप्नुपर्दछ । भाले, पोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुन्छ”, कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले भन्नुभयो । यसलाई हाँगा (डाँठ) र दिउलबाट थप बिरुवा उत्पादन गर्ने गरिएको भन्दै रोपेको चौथो वर्षदेखि आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो ।

पहाडी भू–भागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्री सहतबाट एक हजार दुई सय मिटरदेखि माथि दुुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषि विकास कार्यालय इलामले जनाएको छ ।

जिल्लामा कूल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अघिल्लो वर्ष दुई हजार आठ सय ५२ मेट्रिकटन उत्पादन भएको थियो ।

हुम्लामा तीन वर्षमा ३४ दुर्घटना, सात जनाको मृत्यु

सिमकोट (हुम्ला), १८ भदौः गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा जिप, ट्र्याक्टर, डोजर (स्काभेटर) गरी छ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उक्त वर्षमा एकजना बालकको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी छजना घाइते भएका थिए । 

आव २०७९÷८० मा विभिन्न स्थानमा १० वटा दुर्घटना भएको थियो । सोही समयमा दुर्घटनामा परी दुई जनाको ज्यान भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । उक्त वर्ष महिला र पुरुषगरी २४ जना घाइते भएका थिए । घाइते सबै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारपछि घर फिर्ता भएका उहाँले बताउनुभयो ।

यस्तै गतमा जिल्लाका विभिन्न स्थानमा १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी महिला र बालक एक/एक र पुरुष दुई जनाले ज्यान गुमाएका प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । यो तीन वर्षमा गत आवमा बढी दुर्घटना हुनुका साथै दुर्घटनामा परी मृत्यु हुनेको सङ्ऋया पनि बढी रहेको उहाँले बताउनुभयो । यो आर्थिक वर्षमा ३५ जना घाइते भएका थिए । 

नरैनापुर अपडेटःशरीरमा पानीको कमीले एकैपरिवारका तीनसहित चारजनाको मृत्यु भएको पुष्टि

जानकी (बाँके) । शरीरमा पानीको कमी भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए।

‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो’, फोकल पर्सन श्रेष्ठले भने।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भने, ‘हामीले मृतकको उपचार गर्न समय पाएनौँ। मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो।’

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उनले बताए।

यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिए। नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो। उनका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिए। मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनले बताए।

शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भने, ‘एकै परिवारका ७५ वर्षीया शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो।’ उनले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिए।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताए। ‘समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो’, उनले भने, ‘परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ। चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो।’

नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताए। गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए।

प्रमुख राइनले भने, ‘महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ। शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो।’ सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उनले जानकारी दिए।

नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिए। गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ। भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँच/छ जना बिरामी आउने गरेका अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिए।

आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौँ, १८ भदौः सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो ।

हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ९२ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि बढेको छ । यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ९८ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७६ रुपैयाँ ७६ पैसा कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो । 

त्यस्तै, आज स्वीस फ्रयाङ्क एकको खरिददर एक रुपैयाँ ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा कायम भएको छ । त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ पाँच पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ छ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा रहेको छ ।

आज हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ चार पैसा रहेको छ ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।

लुगा सुकाउने क्रममा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

बैतडी, १७ भदौ : करेन्ट लागेर यहाँको पाटन नगरपालिका–६ डुङरामा एक महिलाको मृत्यु भएको छ । घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा करेन्ट लागेर ५७ वर्षीया जानकी लुहारको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते लुहारलाई उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेको बेला छुट्टाउन गएका अन्य चार जना घाइते भएका छन् । स्थानीय ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन् ।

घरको भान्सा कोठामा मिटरबक्स राखिएको र सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएकोमा  सोही तारमा करेन्ट प्रवाह भएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शिक्षक सरुवा भएर गएपछि तीन महिनादेखि पठनपाठन ठप्प

कञ्चनपुर, १७ भदौ : विद्यालयमा कार्यरत शिक्षकलाई आन्तरिक सरुवा गरी अन्यत्र पठाइएपछि शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यायको पठनपाठन तीन महिनादेखि प्रभावित भएको छ । गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक अभाव हुँदा पठनपाठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले बताउनुभयो ।

“विद्यालयको पठनपाठन सञ्चालन गराउनका शिक्षक चाहिए,” उहाँले भन्नुभयो, “शिक्षक सरुवा गरिए पनि नगरपालिकाले एक मात्रै शिक्षक पठाएका छन्, अरु शिक्षक अभाव छन्, व्यवस्था गरिएको छैन ।” अहिलेसम्म प्रद्यानाअध्यापकको टुङ्गो नलाग्दा नगर शिक्षक भर्ना गर्न नपाएको उहाँले बताउनुभयो । “निमित्तका भरमा काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तीन पटकसम्म सूचना निकालेर दरखास्त आह्वान गरे पनि शिक्षक भर्ना गर्न पाइएको छैन ।”

गत असार २१ गते विद्यायमा कार्यरत प्रअसहित विषयगत शिक्षक सरुवा गरिएपछि पठनपाठनसँगै प्रशासनिक कार्य पनि ठप्प रहेको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार विद्यालयमा सात सय ८० विद्यार्थी भर्ना भए पनि माध्यमिक तहमा तीन जना र प्लस टुमा दुई जना शिक्षक मात्रै कार्यरत रहेका छन् । आधारभूत तहमा पनि विद्यार्थी अनुपातमा शिक्षक अभाव रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयका प्रध्यानाअध्यापकको सरुवा गरिएपछि अर्काे विद्यालयबाट प्रध्यानाध्यापक पठाइए पनि उहाँले प्रध्यानाअध्यापक पदमा बस्नका लागि इच्छा नदेखाएपछि अन्योलता सृजना भएको छ ।

विद्यालयमा शिक्षकको व्यवस्था गरिदिन माग गर्दै झण्डै १२ किलोमिटरको यात्रा पैदल चर्को घाममा तय गर्दै विद्यालयका विद्यार्थी आइतबार नगरपालिका कार्यालयमा पुगे । विद्यार्थीले नगर प्रहरी लगाएर चर्को घाममै बस्न लगाइएको अरोप लगाएका छन् । चर्को घाममा बसेका केही विद्यार्थीलाई मात्रै नगर प्रमुख कार्यकक्षमा बोलाएर छिट्टै शिक्षकको व्यवस्था गर्ने अश्वासन दिएर पठाइएको विद्यार्थीले बताउनुभयो ।

नगरपालिका कार्यालयमा पुगेका विद्यार्थी रमेश पूजाराले तीन महिनादेखि पठनपाठन नहुँदा दुई साताअघि नगर प्रमुखलाई शिक्षको व्यवस्था गरिदिनका लागि दिएको निवेदनको वेवास्ता भएपछि बाध्य भएर नगरपालिकासम्म पुग्नुपरेको बताउनुभयो । “शैक्षिक सत्र सुरु भए देखिनै शिक्षक अभाव हुँदा पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “हेडसर सरुवा भएपछि शिक्षक नहँुदा विद्यालय पुग्ने र घर फर्कने कार्य मात्रै हँुदै आएको छ ।” विद्यालयमा कक्षा नौमा पढ्दै आउनुभएकी छात्रा विनीता भट्टले शिक्षक व्यवस्था गरी नगरपालिकाले समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताउनुभयो ।

गुणस्तरीय शिक्षाको नारा दिएर शिक्षक सरुवा गरेको नगरपालिकाले विद्यालयको पठनपाठन चौपट पारेको आरोप अभिभावकको छ । “छिटोभन्दा छिटो शिक्षको व्यवस्था गरी पठनपाठन गर्नुपर्छ,” स्थानीय अभिभावक प्रकास भट्टले भन्नुभयो, “विद्यालयमा भर्ना भएका विद्यार्थीको भविष्य वर्वाद पार्ने अधिकार कसैलाई छैन ।” शिक्षक सरुवा गर्ने व्यवस्था गर्न नसक्नु विडम्बना भएको उहाँको भनाइ रहेको छ ।

यसअघि श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी शिक्षकको व्यवस्था गर्न माग गर्दै नगरपालिका पुगेका थिए । नगर शिक्षकका लागि सामुदायिक विद्यालयले तीनदेखि चार पटकसम्म दरखास्त आह्वान गरे पनि प्रर्याप्त निवेदन नपर्ने र निवेदक परीक्षमा उत्तीर्ण नहुँदा शिक्षकको समयमै व्यवस्था नगरपालिकाले गर्न सकेको छैन ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षकको अभाव पूर्ति गर्नका लागि दरखास्त दिएका परीक्षार्थीको परीक्षा भदौ २० गते हुने भएको बताउनुभयो । “शिक्षकको व्यवस्था छिट्टै हुन्छ,” उहाँले भन्नुभयो, “प्रअ नियुक्त गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिले गरी सकेको छ ।”

विद्यालय व्यवस्थापन समितिले राष्ट्रिय माध्यमिक विद्यालयबाट सरुवा भएर आएका शिक्षक वीरेन्द्र सिंह साउदलाई प्रध्यानाअध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को  दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो ।  सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

‘विकास निर्माण समयमा सम्पन्न गर्न सरकार गम्भीर’: मन्त्री दाहाल

भरतपुर (चितवन) १७ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणका काम समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

नेकपा (एमाले) चितवनले सोमबार भरतपुरमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले विकास निर्माण गरिरहेको बताउनुभयो । उहाँले नयाँ प्रस्तावित विकास निर्माणबारे आवश्यक अध्ययन गरी काम अगाडि बढाउने जानकारी दिनुभयो । 

“विकास निर्माणमा नागरिकस्तरबाट अनुगमन तथा निरीक्षण आवश्यक छ”,  उहाँले भन्नुभयो, “सबै मिलेर समयमै गुणस्तरीय काम गर्न दबाब दिनुपर्छ ।” मन्त्री दाहालले सरकार मुख्य राजमार्गलाई छिटो विस्तार गरेर नागरिकलाई सहज यात्रा गर्ने वातावरण बनाउनेतर्फ केन्द्रित भएको उल्लेख गर्नुभयो ।

भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, प्रस्तावित वाल्मीकि आश्रमदेखि गोद्धक हुँदै अयोध्याधाम माडी जोड्ने धार्मिक मार्गलगायत विषयमा मन्त्री दाहालको ध्यानाकर्षण गराइएको थियो  । 

१५९औँ मोती जयन्ती : नेपाली साहित्यमा मोतिरामको उल्लेखनीय योगदान

काठमाडौँ, १७ भदौँ : युवाकवि मोतीराम भट्टको १५९औँ जयन्ती आज काठमाडौँमा विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको सोह्रखुट्टेमा समस्यापूर्ति कवि सम्मेलन, सम्मान तथा एक वर्षभित्र दिवंगत भएका कविहरुलाई सम्झिएर आज मोती जयन्ती मनाइएको हो ।

नेपाली शिक्षा परिषद् र लेखनाथ साहित्य सदनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेलले युवाकवि भट्टले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान पु-याएको बताउनुभयो । उहाँले ७० वर्षसम्म संस्थाले नियमित कार्यक्रम राखेर मोतीरामलगायत अन्य कविहरुलाई सम्झिँदै आएको बताउनुभयो ।

नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का सदस्य सचिव एवं राष्ट्रिय युवा सेवा कोषका कोषाध्यक्ष लक्ष्मण थापाले मोतीराम भट्टले ३० वर्षको अल्पआयुमै नेपाली साहित्यको भन्डारलाई उच्च स्थानमा पु-याउनुभएको उल्लेख गर्नुभयो ।

भानुभक्तलाई चिनाउन मोतीरामको अहम भूमिका रहेको उहाँको भनाइ थियो । उहाँले परिषद्ले विसं २०१० देखि भानुजयन्ती मनाउन थालेएको र सोही वर्षको कुशेऔँसीदेखि मोतीजयन्ती मनाउन थालिएको जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले ७० वर्षदेखि निरन्तर सदनले यसरी कवि भट्टको सम्मान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “मोतीराम भट्टले आफू मात्र नभएर मोती मण्डलीलाई अगाडि बढाउनुभएको थियो । भानुभक्तको जीवनचरित्र लेखेर चिनाउने काम उहाँले गर्नुभयो, उहाँलाई नेपाली साहित्यले कहिल्यै विर्सन सक्दैन ।”

उहाँले एक वर्षभित्र दिवंगत हुनुभएका कविहरुलाई सम्झेर उहाँहरुको पनि सँगसँगै जयन्ती मनाउने परम्परा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सो क्रममा उहाँले एक वर्षभित्र दिवंगत हुनुभएका व्यक्तित्वहरुबारे जानकारी दिनुभएको थियो । 

सोही कार्यक्रममा युवा वर्ष मोती पुरस्कारबाट साहित्यकार तथा कलाकार केदार श्रेष्ठ सम्मानित हुनुभएको छ । उहाँलाई रु ४० हजार राशीसहित सम्मान गरिएको हो । कार्यक्रममा कविहरुले गजलवाचन समेत गर्नुभएको थियो ।

विसं १९२३ भाद्र कृष्ण कुशेऔँसीका दिन जन्मिनुभएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।  भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु-याउनुभएको थियो । भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो ।

नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रियालाई तीव्रता दिँदै फ्रान्सका राष्ट्रपति म्याक्रोँ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले व्यवस्थापिका–संसद्को निर्वाचनपछि झण्डै दुई महिनादेखि जारी गतिरोधपछि नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिनुभएको छ ।गत जुलाई ७ मा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन । फ्रान्समा म्याक्रोँका मध्यमार्गी र अति दक्षिणपन्थी समूहसहितको त्रिशङ्कु संसद्मा वाम गठबन्धनले सबैभन्दा ठूलो सङ्ख्यामा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

वामपन्थी नेता तथा पूर्वप्रधानमन्त्री बर्नार्ड काझेनेभ र दक्षिणपन्थी पूर्वमन्त्री जेभियर बट्रान्डले म्याक्रोँसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । फ्रान्सेली राष्ट्रपतिले राष्ट्रिय महत्वका क्षणहरूमा पूर्ववर्तीहरूसँग परामर्श गर्ने परम्परा छ, र म्याक्रोँले सोमबार एलिसीमा दुई जीवित पूर्व राष्ट्रपतिहरू निकोलस सारकोजी र समाजवादी फ्रान्कोइस ओलान्दसँग पनि भेट गर्नुभएको छ । म्याक्रोँले बामपन्थी प्रधानमन्त्रीको मनोनयन स्वीकार गर्न अस्वीकार गर्दै यस्तो व्यक्तित्वले संसदमा विश्वासको प्रस्तावबाट बच्ने कुनै सम्भावना नरहेको तर्क गर्नुभएको छ । यसले बामपन्थी गठबन्धन चिढिएको छ ।

आगामी करिब तीन वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न बाँकी रहेका म्याक्रोँले विपक्षीहरूको बढ्दो असन्तुष्टिका बीच ओलम्पिक र पारालिम्पिक खेलहरूको आयोजना गर्दै राजनीतिक सङ्कटलाई सामान्यिकरण गर्नुभएको छ । एएफपीका एक पत्रकारका अनुसार फ्रान्स बिदाबाट काममा फर्कंदै गर्दा गति बढ्ने सङ्केतका बीच म्याक्रोाले सोमबार बिहानै ओलान्दको सन् २०१२÷०१७ को राष्ट्रपति कार्यकालको अन्तिम महिनाहरूमा सरकारको नेतृत्व गरेका राजनीतिक गतिरोधका बीच पूर्व समाजवादी नेता काजेन्युभसँग छलफल गर्नुभएको थियो ।

विश्लेषकहरूले म्याक्रोँले नामकरण गर्ने सम्भावित व्यक्तिका रूपमा काजेन्युभलाई लिएका थिए तर उनको नियुक्ति पूर्ववत निष्कर्षबाट टाढा देखएको छ।म्याक्रोँंनिकट स्रोतले नाम नबताउने शर्तमा एएफपीलाई भन्यो,“उहाँको नियुक्ति ‘एक वैकल्पिक सम्भावना हो तर यो अनिवार्य होइन’। यसबारे हामीले गम्भीररूपमा सोचविचार गर्नुपर्छ ।”

सन् २०१५ को पेरिस आक्रमणलगायत गृहमन्त्रीका रूपमा वर्षौं बिताएका ६१ वर्षीय काजेन्युभलाई राजनीतिक वृत्तबाट सम्मान प्राप्त भएको छ ।तर कट्टर वामपन्थी फ्रान्स अनबोड (एलएफआई) ले उहाँलाई प्रधानमन्त्री बनाइएमा पदबाट आफूहरूको समर्थन नरहने बताउनुभएको छ । सांसदका प्रमुख म्याथिल्डे पानोटले भन्नुभयो, “म उहाँलाई मौका दिन्नँ । उहाँ पुरानो र परीक्षित व्यक्ति हुनुहुन्छ । प्रधानमन्त्रीमा नयाँ अनुहारको खोजी हुनुपर्छ ।”

तर सम्भावित अनिश्चितताको सङ्केतस्वरूप म्याक्रोँले दिउँसो उत्तरी हाउट्स–डी–फ्रान्स क्षेत्रका दक्षिणपन्थी प्रमुख तथा पूर्वमन्त्री जेभियर बट्रान्डसँग पनि वार्ता गर्नुभएको छ । ५९ वर्षीय बट्रान्ड प्रधानमन्त्रीका लागि दक्षिणपन्थीका लागि निकै स्वादिलो पात्र हुनुहनेछ । सार्कोजी दक्षिणपन्थी प्रभावशाली व्यक्तित्वका रुपमा रहेका तर उहाँले अस्वीकार गरेको अभियोगका कारण पद छोडेपछि भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका केही व्यक्तिका बावजुद र म्याक्रोँको सर्कलभित्र पनि उहाँले आफ्नो प्राथमिकता स्पष्ट पारिसक्नुभएको छ ।

“फ्रान्सेली राजनीतिको शक्तिाको केन्द्र दायाँतिर छ,” उहाँले शनिबार फिगारो दैनिकसँगको कुराकानीमा तर्क गर्नुभयो । काजेन्युभको मनोनयनको विरोध गर्दै उहाँले बट्रान्ड ’राम्रो विकल्प’ हुने बताउनुभएको राष्ट्रपति निकट श्रोतले जनाएको छ । सन् २०१७ मा फ्रान्सको शासन प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा आएका राष्ट्रपतिका लागि अघिल्लो प्रशासनका प्रधानमन्त्रीको नाम लिनुलाई फ्रान्सेलीहरूले सकारात्मक रुपमा नलिने उहाँको धारणा छ ।

“इमानुएल म्याक्रोँका लागि बर्नार्ड काजेन्युभलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुले ‘नयाँ संसार’ असफल भएको तथ्यलाई स्वीकार गर्नेछ,” ले मोन्ड दैनिकले आफ्नो सम्पादकीयमा लेखेको छ।यसैबीच, नाम नबताउने शर्तमा एलिसी स्रोतले तेस्रो उम्मेदवार आउन सक्ने सम्भावनालाई इन्कार गरेको छैन।

आर्थिक, सामाजिक र वातावरणीय परिषद् (सीईएसई) सल्लाहकार निकायका प्रमुख थियरी ब्यूडेट र अधिकांश फ्रान्सेलीहरूलाई पूर्ण रूपमा अज्ञात व्यक्तित्वमा खोजी केन्द्रित थियो।“काजेन्युभ र बर्ट्रान्ड परिकल्पनाले स्थिरताको मापदण्ड पूरा गर्छ कि गर्दैन भन्ने सामान्य विचार हो”, स्रोतले भन्यो, ’म्याक्राँंको दिमागमा अन्य नामहरू पनि हुन सक्छन्।

अत्यधिक ध्रुवीकृत राष्ट्रिय सभामा ठूलो चुनौतीको समयमा कानूनमा सहमत हुन खोज्ने सबैभन्दा नाजुक कार्यहरूको सामना गर्नुपर्ने हुन्छ ।नयाँ सरकारले सन् २०२५ का लागि बजेट कानूनको मस्यौदा पेश गर्न अक्टोबर १ को समयसीमा तोकिएको छ, जुन जुलाईदेखि लागू भएको ग्याब्रियल अट्टलको नेतृत्वमा कामचलाउ प्रशासनले निरीक्षण गर्न सक्दैन ।

वार्षिक उत्पादनको ११० प्रतिशतसम्म ऋण थुप्रिएको फ्रान्सले यस वर्ष ‘स्ट्यान्डर्ड एन्ड पुअर्स’बाट क्रेडिट रेटिङ कटौतीको सामना गरेको छ र युरोपेली आयोगले यसलाई अत्यधिक घाटाको लागि जिम्मेवार मानेको छ।

२९औँ जलवायु सम्मेलनको तयारी सुरु, एकरुपताका आधारमा एजेण्डा तय हुने

काठमाडौँ, १६ भदौ : वन तथा वातावरण मन्त्रालयले आगामी नोभेम्बर ११ देखि २२, २०२४ मा अरजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को तयारी सुरु गरेको छ ।

मन्त्रालयले आज काठमाडौँमा विभिन्न अन्तरसरकारी मन्त्रालय, विज्ञ, पत्रकार, गैरसकारी संस्थालगायत अन्य सरोकारवालाहरूसँग आगामी कोपको एजेण्डाका विषयमा छलफल गरेको हो । 

मन्त्रालयका अनुसार कोपको मस्यौदा मार्गचित्र तयार भएको र नेपाल पक्ष राष्ट्र भएको पेरिस सम्झौता तथा कोप–२८ को निर्णय बमोजिम सन् २०२५ को फ्रेब्रअरीसम्ममा सन् २०३५ सम्मको नयाँ लक्ष्य राखी नेपालले पनि राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गर्नुपर्नेछ । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आगामी २९औँ कोपमा विभिन्न सरोकारवालाबीच एकमत कायम गरी एजेण्डा तय गरिने जाानकारी दिनुभयो । “आगामी कोपमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालमा जलवायुजन्य विपद्ले ल्याएको बाढी पहिरोजस्ता प्राकृतिक विपद्को कुरा उठाउने छौँ”, उहाँले भन्नुभयो, “परिस सम्झौता कार्यान्वयनका लागि दबाब दिनेछौँ ।”

जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका लक्ष्य कार्यान्वयनका लागि विकास साझेदारको सहयोग अपरिहार्य रहेको उहाँकोे भनाइ छ । मन्त्रालयको राज्यमन्त्री रुपा विकले पनि जलवायु परिवर्तनको समस्या विश्वव्यापी समस्याको रुपमा देखापरेको भन्दै यसको निराकरणका लागि पहल अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समन्वय र सहकार्यमा मात्रै जलवायु न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम कार्यान्वयन गर्न सकिने बताउनुभयो ।

यसैगरी वन मन्त्रालयलका सचिव डा गोविन्द शर्माले जलवायुजन्य हानिनोक्सानी कोषमा पहँुच पु¥याउन आवश्यक रहेको बताउनुभयो । “कार्बन व्यापारबाट पनि कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तरसरकारी निकाय, सबै तहका सरकार तथा विभिन्न सरोकारवालाबीचका समन्वय आवश्यक छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जलवायुका समस्यालाई जनताको समस्यासँग जोडेर हेरिनुपर्ने बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले अन्तरसरकारी निकायबीच समन्वय नभए जलवायुका लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलाले विगतका कोपलाई समीक्षा गर्दै आगामी कोपको ऐजेण्डा तर्जुमा गर्न सुझाव दिनुभएको छ ।
कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले जलवायुसम्बन्धी बनेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखाका प्रमुख डा बुद्धिसागर पौडेलले २९औँ कोपको पूर्वतयारी भइरहेको जाानकारी दिँदै आगामी कोपमा नेपालका तर्फबाट उठाउने एजेण्डामा जलवायु वित्तका एजेण्डालाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।

विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा बढी हेरिएको/सुनिएको तीज गीतमा पर्न सफल

गण्डकी, १७ भदौ: लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा…’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको/सुनिएको तीज गीतमा पर्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको नौ दिनमा उक्त गीतको म्यूजिक भिडियोलाई एक करोडभन्दा बढी पटक हेरिएको छ ।

‘सपना म्यूजिक इन्ड्रष्टिज’ युट्युब च्यानलबाट यही भदौ ८ गते गीत सार्वजनिक गरिएको थियो । तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमाथि झण्डै २५ हजारले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज गीतका नाममा विकृतियुक्त गीत मौलाइरहेका बेला गायिका माझीको उक्त मौलिक शैलीको तीज गीतले चर्चा पाएको हो । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएका हुन् ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्ष दर्जन बढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीत प्रेमीले विरोधसमेत जनाए । केही रेडियोकर्मीले आफ्ना कार्यक्रममा त्यस्ता गीत नबजाउने घोषणासमेत गरे ।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीत सङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक/कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ । पहिलेका तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदिलाई मुखरित गर्ने गरेकामा अहिलेका तीज गीत भड्किला बन्दै गएकामा लोकसङ्गीत प्रेमीहरु चिन्तित छन् ।

गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिनुभएको छ। गीतको म्यूजिक भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ । तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा…’ पनि त्यो बेला चर्चित बनेको थियो । उक्त गीतलाई हालसम्म युट्युबमा पाँच करोड बढी पटक सुनिएको÷हेरिएको छ ।

अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि साङ्ग्रिला फुटबल क्लबलाई

न्यूयोर्क, १७ भदौ : अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि युवातर्फ साङ्ग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप प्राप्त गरे । त्यसैगरी सिनियर युथ समूहबाट एफसी रिभाइभल, भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरुले क्रमश, १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो । अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा आइतबार सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गर्नुभयो । प्रतियोगिताका उपविजेता टिमले क्रमश १० हजार, आठ हजार र पाँच हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् । 

युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपको लागि लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलसहितले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । 

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली दर्शकहरुको उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका ३४ टिम प्रतिस्पर्धामा सहभागी भएको प्रतियोगिताका संयोजक चन्द्र पराजुलीले जानकारी दिनुभयो । फाउण्डेशनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका  खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

२२ जनाको ज्यान लिएको भूजीखोला बाढीको चार वर्ष : पीडित अझै मारमा

ढोरपाटन (बागलुङ), १७ भदौः यहाँको भूजीखोलामा विसं २०७७ भदौ १७ गतेको बाढीले धेरैलाई घरबारविहीन बनाएको थियो । उक्त बाढीले २२ जनाको ज्यान लिएको थियो । बाढीमा परेका १५ जना अझै फेला परेका छैनन् । पहिरो पीडित परिवार ठूलो वर्षा हुँदा अहिले पनि आनन्दले निदाउन सक्दैनन् ।

ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ मा पर्ने भूजीखोलाको बाढी पीडितले अझै उचित राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो । ११ लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पु-याएको ११ लघु जलविद्युत आयोजना सबै सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो ।

बाढीले ढोरपाटन नगरपालिका–९ सुप्राङ स्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो । सालझण्डी–ढोरपाटन सडक खण्डको २० किलोमिटर सडक बगाएको थियो । सङ्घीय सरकारले १८ जना बाढी पीडितलाई घर बनाउन सबै किस्ता रकम उपलब्ध गराए पनि अझै धेरैले एक किस्ता मात्रै प्राप्त गरेको उपप्रमुख कायतले बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ का बाढी पीडित कुलबहादुर विक ठूलो पानी पर्दा रातभर जाग्राम बस्नुहुन्छ । विकले ऋण गरेर घर बनाएपनि ऋण तिर्न नसक्दा अप्ठ्यारो स्थितीमा पुगेको बताउनुभयो । बाढीले आफन्तसहित सबै सम्पत्ति बगाउँदा बिहान बेलुकाको हात मुख जोड्नसमेत मुस्किल भएको उहाँको गुनासो छ । बाढीले उहाँको घर जग्गासहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भए भएभरको सम्पत्ति बगाइए दिएपछि लामो समय आफन्तकहाँ बस्नुभएका उहाँ भर्खरै घर बनाएर सर्नुभएको छ ।

उहाँले भन्नुभयो, “बर्खाको समय ढोरपाटन बस्छौँ, हिउँद लाग्यो भने तल भूजीखोला झर्ने हो, ठूलो पानी पर्दा निन्द्रा लाग्दैन, पहिलाको जस्तै बगाउँछ कि भन्ने डर लाग्छ, बाढी पीडितलाई सरकारले साथ दिएन ।”

अर्का बाढी पीडित निम प्रकाश विकले आफन्तसहित भएभरको सम्पत्ति बगाएपछि काकालाई एउटा घडेरी मागेर घर बनाएको सुनाउनुभयो । घर बनाएको ऋण तिर्न नसक्दा समस्यामा परेको उहाँको गुनासो छ । बाढीले उहाँको २५ वर्षीया श्रीमति, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरोसहित परिवारका सबै सदस्य बगाएको थियो । सरकारले चार लाख रुपैयाँ दिन्छ भनेर घर बनाए पनि अहिले उक्त रकम नपाएको उहाँले सुनाउनुभयो ।

“अहिले म ठूलो ‘टेन्सन’मा छु, बाढीले परिवारनै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो,” उहाँले भन्नुभयो, “अहिले ऋणमा डुबियो, के गरेर तिर्ने ?”

धनगढी विमानस्थलबाट आठ लाख ४० हजारका आइफोनसहित एक पक्राउ

अत्तरिया (कैलाली), १७ भदौ : प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट रु आठ लाख ४० हजार मूल्य बराबरका आइफोनसहित एक जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् ।

चौधरीलाई आज धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मेसिनमा जाँचका क्रममा आइफोनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । चौधरीले काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

काठमाडौँ, १७ भदौ : गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत शिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

डेङ्गीका बिरामी छ हजार नाघे, सबभन्दा बढी गण्डकी प्रदेशमा

काठमाडौँ, १७ भदौ : देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ ।

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् ।

उपत्यकामा छ सय ८०

काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

हैजा ७५ जनामा

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ ।

हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

कांग्रेसको वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्य मनोनित

काठमाडौँ, १७ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहनुभएको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गर्नुभएको छ ।

यसैगरी उहाँले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहनुभएको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गर्नुभएको छ । वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन (लामा), विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, धु्रव पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित हुनुभएको हो । 

यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

फिल्म ‘रावायण’ बारे के भन्छन् पल शाह?

काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल फिल्म ‘रावायण’मार्फत ‘रावण’ चरित्रमा दर्शकमाझ आउँदैछन् ।

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा उनी रागव र कान्छा नाम भूमिका अर्थात दोहोरो भूमिकामा देखिँदैछन् । ‘मलाई रावायण शब्द नै मनपरेको थियो । रामायण त बच्चैदेखि हेर्दै आएको हो । रावायण चाहिँ रावणको कथा हो । मलाई सुदर्शन दाईले रावणको कथा सुनाउँदा कस्तो होला त भनेर कथा सुनाउनुभयो । फिल्ममा एउटा क्यारेक्टरले दुईवटा चरित्र अर्थात नेगेटिभ र पोजेटिभ चरित्र निभाउनु पर्ने थियो । एकै व्यक्तिले दुई चरित्र निभाउनु पर्ने भएपछि मलाई निकै चाख लाग्यो’, पल भन्छन् ।

फिल्मको टिजर र ट्रेलरमा पललाई दाह«ी जुँगा गेटअपमा निकै आक्रामक देखाइएको छ । उनकै भनाईमा यो लुक्स कान्छाको हो, जो न्यायका लागि आक्रामक हुन्छ । ‘कान्छा तराई बेसको पात्र हो । उसको घर जनकपुरमा छ । बच्चैदेखि उसको बाबुआमा छैन । बाबुलाई नै कान्छाले मार्छ । आमालाई बाबुले गरेको वितण्डा देखेर बाबुलाई मारेर ऊ जनकपुर पुगेको हुन्छ । उसलाई त्यहाँको जमिन्दारले पालेर राख्छ । रागव क्यारेक्टर चाहिँ पाइलट हुन्छ’, पल आफ्नो भूमिका बारे खुल्छन् ।

निर्देशक सुदर्शन थापाले पललाई ‘रावायण’को चरित्र बारे सुनाउदा उनलाई आफूले गर्न सकिन्छ र जस्तो भान भएको रहेछ । ‘मैले दाईलाई ‘तपाईंले गलत तपाईंले गलत कास्टिङ पो गर्नुभयो कि ?’ भनेर सोधें । किनकी यस्तै क्यारेक्टरका लागि अरु पनि कलाकार छन् । तर उहाँले ‘तिमीले गर्न सक्छौं’ अनि वर्कसपमा पनि कान्छाकै लागि मेहनत गर्यौ’, उनले भने ।

पलले फिल्मका लागि ‘रावण’को चरित्र र आनीबानी बारे अध्ययन गरेका रहेछन् । बाल्यकालमा हेरेको ‘रामायण’को ‘रावण’ सम्झँदै कलिउयुगको रावण बन्न उनले रावणको क्यारेक्टरको अध्ययन गरेका हुन् । ‘त्यो बेलाको सीताको कतिपय आनीबानी पुजासँग मिल्थ्यो । सीताले गर्न खाजेको, भन्न खोजेको कुरा पुजाले फिल्म गरेको छ । रामायणकै चिजहरु हामीले किताबबाट खोजेर युट्युबाट हेरेर के के हुनसक्छ भन्ने कुरा फिल्ममा राखेका छौं’, पल भन्छन् ।

फिल्ममा ‘लभर ब्वाई’को छवि बनाएका पलले ‘रावायण’मा चरित्रकै लागि उनले देखेका र चिनेका दाजुहरुसँग केही समय संगत गरेका रहेछन् । फिल्म ‘पुजार सार्की’को सुटिङका क्रममा पोखरामा चिनेका दाजु उमेरका मानिसहरुसँग घुलमिल हुने प्रयास गरेका थिए । ‘मलाई गुण्डाको हिसाबले हाँस्न आउँदैन थियो । उसको शैली, खाने, बोल्ने, हिँड्ने तरिका सबै कुरा फरक नै थियो । त्यसका लागि देखिरहेको र चिनिरहेको दाईहरु हुनुहुन्छ । ती दाईहरुसँग पनि हिँडे । पुजार सार्कीको सुटिङको क्रममा पोखरामा थिएँ । त्यहाँका दाईहरुसँग पनि हिँडे । म वीरगञ्जमा २ वर्ष तराई टिभीमा टेक्निसियन भएर काम गरेको थिएँ । त्यो बेला पनि त्यहाँको रहनसहन हाउभाउ आउँथ्यो मलाई । भोजपुरी रहसहसन पनि थाहा थियो । मेरा साथीहरु सिराहा पनि धेरै भएकाले त्यहाँ गइरहन्थे । त्यहाँ देखिरहेको हुन्थें । साथीका दाईहरु पनि कान्छाको चरित्र जस्तै थिए । त्यसकारण पनि क्यारेक्टरमा ढाल्न मलाई असहज भएन । तर डर चाहिँ के थियो भने रागव क्योक्टर गरेर कान्छा गर्दा गाह्रो हुन्थ्यो भन्ने थियो,’ पल भन्छन् ।

फिल्ममा क्यारेक्टर चेन्ज गर्दा पललाई निकै गाह्रो भएको रहेछ । ‘नेगेटिभ वाला दृश्य गरिरहँदा एकै छिनमा पोजेटिभ गर्दा मुडदेखि गेटअप सबै परिवर्तन गर्नुपर्ने हुन्थ्यो । परिवर्तनको समय र अर्को क्यारेक्टर भित्र पस्दा निकै गाह्रो हुन्थ्यो’, उनी भन्छन् ।

फिल्ममा दोहोरो चरित्रको संवाद सबैका लागि अर्को गाह्रो अनुभव रहेको पल ठान्छन् । ‘सिंगल फ्रेममा दुईजनाको संवाद छ भने त्यो जस्तो गाह्रो केही रहेनछ । एउटा सिन ओके गर्न हामीले चार टेक खिच्नुपथ्र्यो । एक्सन पार्टमा रियाक्सन लिन गाह्रो हुन्थ्यो । कान्छाले रागवलाई हिर्काउँदा, कुटाइ खाँदा त्यही स्टाइलमा लड्नु पर्यो । आधा घण्टा पछि फेरी रागव बन्नुपर्यो । रागव बनेर कान्छालाई हिर्काउँदा आवेग देखाउनुपथ्र्यो । त्यो एक्सप्रेसनहरु ग्रहण गर्न गाह्रो भयो । मेरो सहायकले मेरो एक्सप्रेसन बिग्रिएला कि भनेर हेरिरहन्थे । म एउटा जोनबाट अर्को जोनमा आउँदा एक्सप्रसेसन बिग्रन सक्छ भनेर म सम्झाइरहन्थें’, पल फाइट दृश्य सम्झन्छन् । आफ्ना लागि ‘ड्रिम क्यारेक्टर’ भएकाले पनि ‘रावायण’को चरित्रले आफूलाई एक स्टेप माथि ल्याउनेमा उनी ढुक्क छन् ।
फिल्ममा एक्सनको दृश्य पलका लागि निकै गाह्रो भएको रहेछ । ‘एक्सनको तालिम लिएर तीन चार दिनसम्म निरन्तर ४० डिग्रीको तापक्रममा फाइट गर्दा कति गाह्रो होला’, पल भन्छन् ।

अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन

अस्टेलियाको दक्षिणर्पूी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले बताएका छन् ।

अस्ट्रेलियाकोे भिक्टोरिया राज्यका केही भागमा आइतबार राति एक सय ४६ किलोमिटर प्रतिघन्टाको हावा रेकर्ड गरिएको राज्य आपत्कालीन सेवाले जनाएको छ ।

मौसम विज्ञान ब्यूरोले सोमबार भिक्टोरियाका लागि अझ तीव्र हावाको पूर्वानुमान गर्दै मङ्गलबार अवस्था सहज हुनुअघि असिना र आँधीबेहरी आउने आकलन गरेको छ ।

बिजुली प्रदायक युनाइटेड इनर्जीले प्रभावित राज्यमा बिजुली पुनः निर्माण गर्न धेरै दिन लाग्न सक्ने चेतावनी दिएको छ ।भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले सोमबार बिहान पत्रकार सम्मेलनमा केही क्षेत्रमा प्रभावित बिजुलीको मर्मत गर्नु धेरै खतरनाक रहेको बताउनुभएको छ ।

आइतबार दक्षिण अस्ट्रेलियामा सात हजार घर बिजुली प्रभावित भएको थिए भने टापू राज्य तस्मानियामा बाढी चेतावनी जारी गरिएको थियो ।

बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन

बङ्गलादेशमा बाढीका कारण ११ प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ ।

द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् ।

बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीया तबाह नुरुन बेगमले बताउनुभयो

वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाले बताउनुभयो ।

मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गर्नुभयो । मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिकारी मोहम्मद सादु मियाका अनुसार जिल्लामा हालै आएको बाढीबाट करिब आठ हजार सात सय ८६ घर क्षतिग्रस्त भएका छन् ।

उहाँले बाढी पीडितको पुनःस्थापनाको माग गर्दै सम्बन्धित उच्च अधिकारीहरूलाई पत्र पठाएको बताउनुभयो । बाढीले घर तथा घरका सबै फर्निचरहरू बगाएकाले मर्मतका लागि पैसा नभएकाले आफ्नो परिवारले आफन्तकोमा शरण लिएको बुरिचाङ उपजिल्लाको मोहिस्मारा गाउँका बासिन्दा एमए आजिमले बताउनुभयो

बुरिचाङ उपजिल्लाकी निर्बाही अधिकारी (युएनओ) शाहिदा अख्तरले यस क्षेत्रमा करिब ४० हजार घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो आइतबार प्रकाशित सरकारी प्रतिवेदनअनुसार बाढीको अवस्था विस्तारै सुधार हुँदै गए पनि सात लाखभन्दा बढी परिवार अझै पनि देशभरि बाढीका काराण विस्थापित छन् ।

चट्टोग्राम, फेनी, खागड़ाचारी, हबिगञ्ज, सिलहट, ब्राह्मणबरिया र कक्स बजारलगायतका जिल्लामा बाढी कम भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयको प्रतिवेदनले जनाएको छ ।यसैबीच मौलवीबाजारमा बाढीको अवस्था सुधार भएको र कुमिला, नोआखली र लक्षमीपुरमा स्थिति विस्तारै सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमा अनुसार हाल सात लाख पाँचहजार ५२ परिवार अझै पनि डुबानमा परेको प्रतिवेदनमा जनाइएको छ । बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले आइतबार एक बुलेटिनमा अधिकांश प्रमुख नदीहरूका वहाव घट्दो क्रममा भएकाले देशभरि बाढीको स्थितिमा सुधार आउने सम्भावना रहेको जनाएको छ ।

जेलमा रहेका सुधारवादी इरानी नेताविरूद्ध नयाँ अभियोग

जेलमा रहेका इरानी अधिकारकर्मी तथा पूर्वमन्त्री मुस्तफा ताजजादेहलाई राज्यविरुद्ध ‘प्रचारबाजी’ गरेको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

इरानको सुधारवादी खेमाका प्रमुख व्यक्ति ताजजादेह तेहरानको इभिन जेलमा जुलाई २०२२ देखि जरहनुभएको छ ।

सन् १९९७ देखि २००५ सम्म पश्चिमा मुलुकसँगको सम्बन्ध सुधारमा जिम्मेवारी पाएका सुधारवादी नेता खतामीको नेतृत्वमा उपगृहमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

उहाँलाई सन् २०२२ को अक्टोबरमा ’राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

सुधारवादी दैनिक हम्मिहानले सोमबार ताजजादेहमाथि ‘राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ र ‘इस्लामिक गणतन्त्रविरुद्ध दुष्प्रचार गरेको’ नयाँ आरोप लगाइएकोे छ ।

सन् २००९ मा कट्टरपन्थी राष्ट्रपति महमुद अहमदीनेजादको पुनः निर्वाचनपछि अन्य सुधारवादी नेताहरूसँगै पक्राउ परेका उहाँले सात वर्ष जेलमा बिताइसक्नुभएको छ ।

आफ्ना नातेदारले सञ्चालन गरेका सामाजिक सञ्जाल च्यानलमार्फत राष्ट्रिय राजनीतिका विषयमा मुखर टिप्पणी गर्ने ताजजादेहले एक पत्रमा नयाँ मुद्दामा आफू अदालतमा उपस्थित नहुने बताउनुभएको छ ।

हम्मिहानका अनुसार यदि ताजजादेह दोषी ठहरिएमा उहाँलाई थप छ वर्षको जेल सजाय हुन सक्छ ।

हालैका वर्षहरूमा, उहाँले इरानी राजनीतिक प्रणालीमा लोकतान्त्रीकरणका लागि ‘संरचनात्मक परिवर्तनहरू’ लागू गर्न अधिकारीहरूलाई आह्वान गर्नुभएको थियो ।

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

जुम्ला, १७ भदौ : जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ । गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी जानेक्रममा क१प १८२० नम्बरको मोटरसाइकल पुलबाट जवा नदीमा खसेको थियो ।

हुम्लामा सवारी दुर्घटनामा तीन वर्षमा सात जनाको मृत्यु

सिमकोट, (हुम्ला), १७ भदौः जिल्लामा तीन वर्ष अवधिमा ३३ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पाँच वटा सवारी दुर्घटना भएका थिए । सो आवमा एक बालकको जीप दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

आव २०७९/०८० मा विभिन्न दश वटा सवारी दुर्घटना भएका थिए । सो आवमा दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटनामा परेका थिए । सोही आवमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए ।

आव २०८०/०८१ मा १८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई गरी चार जनाले ज्यान गुमाएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । सबैभन्दा बढी यही आवमा दुर्घटना भएको थियो । सो आवमा ३५ जना दुर्घटनाकै कारण घाइते भएका थिए ।

तीन वर्षको तथ्याङ्कमा हरेक वर्ष घाइते हुनेको सङ्ख्या बढ्दो देखिएको छ । तीन वर्ष अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी जम्मा ६५ जना घाइते भएका छन् ।

मकवानपुरमा बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

मकवानपुर, १७ भदौः बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बकैया गाउँपालिका–६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय नानिमाया तितुङ मृत अवस्थामा फेला परेकी हुन् ।

आइतबार दिउँसो बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएकी उनको शव आज भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ

काठमाडौँ । संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

समितिको सोमबारको बैठकले प्रस्तावित राजदूत क्रमशः प्राध्यापक धनप्रसाद पण्डित, डा नेत्रप्रसाद तिमिल्सेना, रिता धिताल र प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

बैठकमा उनीहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारी प्रस्ताव गरिएको मुलकबीच द्विपक्षीय सम्बन्ध, व्यापार, पर्यटन, वैदेशिक लगानी र सहयोगका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराए ।

त्यस अवसरमा इजरायका लागि प्रस्तावित राजदूत डा पण्डितले इजरायलको स्थापनादेखि नै मध्यपूर्वमा देखिएको राजनीतिक समस्याको न्यायपूर्ण, दीगो र शान्तिपूर्ण समाधानका सम्बन्धमा नेपालले स्पष्ट धारणा राख्दै आएको बताए ।

उनले भने, ‘नेपाल र इजरायलबीच राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरका सम्बन्ध सुदृढ हुँदै गएको छ । परिणामस्वरुप पर्यटन, वाणिज्य तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्दैआएको छ ।’

मलेसियाका लागि प्रस्तावित राजदूत डा तिमिल्सिनाले नेपाल र मलेसिया संयुक्त राष्ट्रसङ्घका सदस्य र असङ्लग्न आन्दोलनका सहयात्री भएकाले दुवै देशले राष्ट्रसङ्घको बडापत्रलाई आधारभूत सिद्धान्तकारूपमा मान्यता दिएकाले एक अर्कालाई सम्मान गर्दै दुवै देशका जनताको शताब्दी लामो जनस्तरको सम्पर्क र सम्बन्धले द्विपक्षीय सम्बन्ध अझै प्रगाढ तुल्याउन मद्दत गरेको बताए ।

उनले भने, ‘अघिल्लो शताब्दीमा बाह्य र आन्तरिक द्वन्द्वमा गोर्खा सिपाहीले मलेसियाको पक्षमा लडेको त्यहाँका जनताको स्मरणमा ताजै छ । त्यही युद्ध लड्ने पुस्ताका सन्तती मलेसियामै नागरिक भइ बसोबास गर्ने नेपाली समुदायको सङ्ख्या ठूलो छ । नेपालमा मलेसियन पर्यटक भित्राउन ठूलो सम्भावना छ ।’

पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले निकट छिमेकी राष्ट्रका हैसियतले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक र सांस्कृतिक विकासमा पाकिस्तानको सदैव सद्भाव रही आएको बताए ।

उनले भने, ‘नेपाल र पाकिस्तानबीच उच्चस्तरमा भएका द्विपक्षीय भ्रमणको आदान प्रदानले दुई देशबीचको सम्वन्धलाई अझ प्रगाढ बनाएको छ । पाकिस्तानले मेडिकल, इन्जिनियरिङ, फर्मेसी र पत्रकारिताजस्ता विषयमा अध्ययनका लागि नेपाललाई वार्षिक ३० वटा छात्रवृत्ति प्रदान गर्दैआएको छ ।’

पोर्चुगलका लागि प्रस्तावित राजदूत पौडेलले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रलाई अझ सक्रिय बनाइ त्यसमार्फत द्विपक्षीय सम्बन्धका विविध आयमलाई थप मजबुद बनाउन प्रयास गर्ने बताए ।

उनले भने, ‘पछिल्लो समय नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रुपमा रहेको पोर्चुगलबाट उच्चस्तरीय राजनीतिक भ्रमणका लागि आवश्यक पहल गर्नेछु ।’ यसअघि समितिले भारत, चीन, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरिसकेको छ ।

कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेको संसदीय सुनुवाइ बाँकी नै छ ।

स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको पनि संसदीय सुनुवाई केही दिनभित्रै हुनेछ ।

पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’

काठमाडौँ, १७ भदौ : कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका अलावा बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय रहेको छ ।

सङ्कल्प भुजेलको छाँयाङ्कन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।

तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबु आमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताउनुभयो ।

चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा हुनुहुन्छ ।

तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै

काठमाडौँ, १७ भदौ : तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ ।

प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।

तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ ।

असोज ४ देखि रामेछाप–दुक्ला उडान

 यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

यस्तै यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ ।

ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ ।

विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उहाँले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताउनुभयो । उक्त विमानस्थलमा आठ वटा पाकिङ्ग, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।

नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छुः अध्यक्ष प्रचण्ड

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका प्रचण्डले सोमबार बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भने, ‘गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ ।’

आइसिपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले पहिला बनेका आइसिपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आइसिपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उनले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गरे ।

अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आइसिपीका बारेमा जानकारी गराएका थिए ।

आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ ।

भारत सरकारको एक अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ । सो अवसरमा पूर्वअर्थमन्त्री एवं पार्टी उपमहासचिव वर्षमान पुनलगायत नेताहरूको सहभागिता रहेको थियो ।

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

म्याग्दी, १७ भदौः विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भन्नुभयो, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् ।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताउनुभयो ।

“उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्”, उहाँले भन्नुुभयो, “स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ ।” उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुुगमन गर्नुुपर्ने बताइएको छ ।

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाकदै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसः ‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

कञ्चनपुर, १७ भदौः गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताउनुभयो ।

गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताउनुभयो । “दशकअघि गिद्ध सहजै देखिने गरेका थिए”, उहाँले भन्नुभयो, “हाल गिद्ध देख्नै दुलर्भ भएको छ ।” बासस्थानको सुरक्षासँगै जनावरमा प्रयोग हुने घातक विषादीको प्रयोगमा कमी ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखालालगायत रोगको देखियोे बताउनुभयो । पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाइए पनि अन्य गिद्धका लागि घातक मानिएका औषधिको प्रयोग नरोकिँदा चुनौती थपिँदै गएको उहाँले बताउनुभयो ।

चराविज्ञ हिरुलाल डगौराले अव्यवस्थित विद्युतीय तारमा परेर गिद्धको मृत्यु हुने गरेको पाइएकाले नगरपालिकाले अव्यवस्थित विद्युतका तार व्यवस्थित गर्न अग्रसर हुनुपर्ने र अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धको उद्धार हुन नसक्दा मृत्यु हुने गरेको उल्लेख गर्नुभयो । आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपाया गाड्ने चलनले गिद्धलाई खानाको अभाव हुँदै आएको उहाँको भनाइ छ ।

नब्बेको दशकमा ९५ प्रतिशतसम्म घटेका गिद्धको सङ्ङख्या जनचेतनाको प्रभावका कारण बढ्दै गएको छ । उहाँले भन्नुभयो, “हराउँदै गएका गिद्ध पुनः देखिन थालेका छन्, गिद्ध जोगाउन युवाले अग्रसर भएर समुदायमा सचेतना छर्नुपर्ने भएको छ ।”

चराविज्ञ हिरुलाल डगौराका अनुसार नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राजगिद्ध छन् । बेलौरी नगर युवा सञ्जालका अध्यक्ष विष्णुदत्त अवस्थीले गिद्धबारे आयोजना गरिएको कार्यक्रमबाट गिद्धको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी पाएर सचेत भएको बताउनुभयो ।

“गिद्धले वातावरण सन्तुलन गर्ने कार्यमा अहम् भूमिका खेल्ने गरेको जानकारी पायौँ”, उहाँले भन्नुभयो, “संरक्षणका लागि अग्रसर भएर लाग्ने प्रतिबद्धता गर्दछौँ ।” प्रत्येक वर्षको सेप्टेम्बर पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ । आफ्नै योजना तथा अनुकूलताअनुसार यो दिवस नेपालमा सप्ताहव्यायी रूपमा सेप्टेम्बर १ देखि ७ सेप्टेम्बरसम्म मनाइँदै छ ।

बाँकेको नरैनापुरमा झाडापखालाबाट चारजनाको मृत्यु, सातजना बिरामी

बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

उनले भने,’आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदे भक्तजनको घुँइचो

जलेश्वर (महोत्तरी), १७ भदौ : आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

स्थानीयवासी वीरेन्द्र यादवका अनुसार अन्धाअन्धी स्थानको सम्बन्ध रामायणकालीनसमयसँग रहेको छ । उहाँले भन्नुभयो “यही सम्बन्धका कारण कुशे औँसीका दिन यहाँ भक्तजन आउने गर्दछन् ।”उहाँले श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको जनश्रुती रहेको बताउनुभयो ।

पछिल्लो समय यस स्थानको संरक्षण संवर्द्धनका लागि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । स्थानीयवासीले धार्मिक एवं ऐतिहासिक अन्धाअन्धी स्थानको संरक्षण, संवर्द्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन् ।