म्याक्रोनले युक्रेनमा शान्तिका लागि ट्रम्पलाई ‘प्रस्ताव’ पेस गर्ने


फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट गर्दै युरोपमा ‘रुसी खतरा’ को सामना गर्न र युक्रेनमा शान्ति सुनिश्चित गर्न ‘कार्यका लागि प्रस्तावहरू’ प्रस्तुत गर्ने बताउनुभएको छ ।
युक्रेन युद्धको तेस्रो वार्षिकोत्सवमा दुई नेताले भेट गर्दा म्याक्रोनले ट्रम्पलाई रुस र संयुक्त राज्य अमेरिकाबीचको वार्तामा युरोपेली नेताहरूलाई समावेश गर्न मनाउने आशा गर्नुभएको छ ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कूटनीति पुनः सुरु गर्न र युरोपेली राष्ट्रहरू वा किएभको संलग्नता बिना वार्ता गर्न तयार रहेको घोषणा गरेर युरोपभर तरङ्ग ल्याउनुभएको थियो ।
उहाँले युद्ध सुरु गर्नमा युक्रेनको कथित जिम्मेवारीको बारेमा रुसी कुराहरू दोहोर्याउनुभएको छ । यसले उहाँ मस्कोको सर्तहरूमा सहमत हुन सक्नुहुन्छ भन्ने युरोपमा चिन्ता जगाएको छ ।
म्याक्रोनले गत हप्ता प्रमुख नेताहरूसँग दुई बैठक आयोजना गर्दै वासिङ्टनको अचानक नीति परिवर्तनप्रति युरोपेली प्रतिक्रियालाई समन्वय गर्ने प्रयास गर्नुभएको छ । “रुस युरोपेलीहरूका लागि अस्तित्वको खतरा हो”, उहाँले त्यस समयमा भन्नुभएको थियो ।
“तपाईंसँग यस्तो शक्ति छ जसले आफूलाई अत्यधिक हतियार जम्मा गरेको छ… र हतियार जम्मा गर्न जारी राखेको छ”, म्याक्रोनले वासिङ्टन प्रस्थान गर्नुअघि भन्नुभयो, “आज यो कहाँ रोकिनेछ हामीलाई थाहा छैन । त्यसैले हामी सबैले यसलाई नियन्त्रण गर्न कार्य गर्नुपर्छ ।”
युरोपेली सङ्घ (इयु) ले सोमबार रुसको युद्ध प्रयासलाई रोक्ने उद्देश्यले नयाँ चरणको प्रतिबन्ध लगाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले संयुक्त राज्य अमेरिकाको विपरीत युरोपले लडाइँ लम्ब्याउन चाहेको आरोप लगाउँदै प्रतिक्रिया दिनुभयो । “युरोपेलीहरूको यो विश्वास युक्रेनमा सम्झौता खोज्ने मानसिकतासँग पूर्ण रूपमा विपरीत छ, जुन हामीले अहिले अमेरिकीहरूसँग गरिरहेका छौँ”, पेसकोभले प्रतिबन्धहरू घोषणा भएपछि पत्रकारहरूलाई भन्नुभयो ।
– म्याक्रोनका लक्ष्यहरू –
मस्को–मैत्री हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बन लगायत महादेशभरका नेताहरूसँगको बैठकपछि म्याक्रोनले आफ्नो भ्रमणका क्रममा समग्र युरोपको प्रतिनिधित्व गर्नुहुने राष्ट्रपतिका सल्लाहकारले बताएका छन् ।
“उहाँ वार्ताहरूबाट देखा परेका एकरूपताहरूलाई प्रतिबिम्बित गर्ने कार्यका लागि प्रस्तावहरू लिएर वासिङ्टन जाँदैहुनुहुन्छ”, सल्लाहकारले भन्नुभयो ।
युक्रेनको सार्वभौमसत्तालाई सम्मान गर्दै र युरोपेली हितलाई पूर्ण रूपमा विचार गरिएको सुनिश्चित गर्दै युक्रेनका लागि अमेरिकी समर्थन जारी राख्न ट्रम्पलाई राजी गराउने म्याक्रोनको लक्ष्य रहेको सल्लाहकारले उल्लेख गरे ।
म्याक्रोनले ट्रम्पलाई रुसले युरोपका लागि ‘अस्तित्वको खतरा’ को प्रतिनिधित्व गर्दछ र पुटिनले युद्धविरामलाई ‘सम्मान गर्नुहुन्न’ भनेर विश्वास दिलाउन खोज्ने पनि सल्लाहकारले बताए ।
म्याक्रोन र बिहीबार ह्वाइट हाउसको भ्रमण गर्नुहुने बेलायती प्रधानमन्त्री किर स्टार्मरले यस सप्ताहन्तमा फ्रान्सेली राष्ट्रपति संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि सन्देशमा समन्वय गर्नुभयो ।
– सैन्य बलको तैनाथी –
बेलायत र फ्रान्सले शान्ति सम्झौता भएपछि रुसको भविष्यको आक्रमणबाट बच्न युक्रेनमा युरोपेली सेनाको तैनाथीका बारेमा पनि छलफल गरिरहनुभएको छ ।
“विचार भनेको सैनिकहरूलाई दोस्रो पङ्क्तिमा तैनाथ गर्ने हो, अग्रपङ्क्तिमा होइन । यसलाई गैर–युरोपेली दलहरूसँग बहुराष्ट्रिय सञ्चालनसँग जोड्न सकिन्छ”, छलफलहरूसँग नजिकको एक फ्रान्सेली स्रोतले भन्यो ।
म्याक्रोन र स्टार्मरले ट्रम्पलाई तैनाथ फौजका लागि ‘ठोस सुरक्षा ग्यारेन्टी’ उपलब्ध गराउन आग्रह गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि ट्रम्प प्रशासनले युद्ध प्रयासमा अमेरिकी सैनिकहरू पठाउने कुरालाई अस्वीकार गरेको छ । युरोपले यसले लजिस्टिक्स वा खुफिया जस्ता अन्य समर्थन प्रदान गर्न सक्ने आशा गरेको छ ।
ट्रम्पले अमेरिकी प्रतिबद्धता घटाउन खोज्दै क्षेत्रको सुरक्षाको भार बोक्न नचाहेको अवस्थामा युरोपेली नेताहरूले आफ्नो रक्षा खर्च बढाउने प्रतिबद्धता पनि जनाउनेछन् ।
“युरोपेलीहरूसँग काम गर्नु उहाँको हितमा छ किनभने युरोपसँग अमेरिकीहरूसँग सहकार्य गर्ने आर्थिक सम्भावनासहित वृद्धिको क्षमता छ”, म्याक्रोनले भन्नुभयो ।