`

मकवानपुरमा बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

मकवानपुर, १७ भदौः बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बकैया गाउँपालिका–६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय नानिमाया तितुङ मृत अवस्थामा फेला परेकी हुन् ।

आइतबार दिउँसो बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएकी उनको शव आज भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ

काठमाडौँ । संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

समितिको सोमबारको बैठकले प्रस्तावित राजदूत क्रमशः प्राध्यापक धनप्रसाद पण्डित, डा नेत्रप्रसाद तिमिल्सेना, रिता धिताल र प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

बैठकमा उनीहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारी प्रस्ताव गरिएको मुलकबीच द्विपक्षीय सम्बन्ध, व्यापार, पर्यटन, वैदेशिक लगानी र सहयोगका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराए ।

त्यस अवसरमा इजरायका लागि प्रस्तावित राजदूत डा पण्डितले इजरायलको स्थापनादेखि नै मध्यपूर्वमा देखिएको राजनीतिक समस्याको न्यायपूर्ण, दीगो र शान्तिपूर्ण समाधानका सम्बन्धमा नेपालले स्पष्ट धारणा राख्दै आएको बताए ।

उनले भने, ‘नेपाल र इजरायलबीच राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरका सम्बन्ध सुदृढ हुँदै गएको छ । परिणामस्वरुप पर्यटन, वाणिज्य तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्दैआएको छ ।’

मलेसियाका लागि प्रस्तावित राजदूत डा तिमिल्सिनाले नेपाल र मलेसिया संयुक्त राष्ट्रसङ्घका सदस्य र असङ्लग्न आन्दोलनका सहयात्री भएकाले दुवै देशले राष्ट्रसङ्घको बडापत्रलाई आधारभूत सिद्धान्तकारूपमा मान्यता दिएकाले एक अर्कालाई सम्मान गर्दै दुवै देशका जनताको शताब्दी लामो जनस्तरको सम्पर्क र सम्बन्धले द्विपक्षीय सम्बन्ध अझै प्रगाढ तुल्याउन मद्दत गरेको बताए ।

उनले भने, ‘अघिल्लो शताब्दीमा बाह्य र आन्तरिक द्वन्द्वमा गोर्खा सिपाहीले मलेसियाको पक्षमा लडेको त्यहाँका जनताको स्मरणमा ताजै छ । त्यही युद्ध लड्ने पुस्ताका सन्तती मलेसियामै नागरिक भइ बसोबास गर्ने नेपाली समुदायको सङ्ख्या ठूलो छ । नेपालमा मलेसियन पर्यटक भित्राउन ठूलो सम्भावना छ ।’

पाकिस्तानका लागि प्रस्तावित राजदूत धितालले निकट छिमेकी राष्ट्रका हैसियतले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक र सांस्कृतिक विकासमा पाकिस्तानको सदैव सद्भाव रही आएको बताए ।

उनले भने, ‘नेपाल र पाकिस्तानबीच उच्चस्तरमा भएका द्विपक्षीय भ्रमणको आदान प्रदानले दुई देशबीचको सम्वन्धलाई अझ प्रगाढ बनाएको छ । पाकिस्तानले मेडिकल, इन्जिनियरिङ, फर्मेसी र पत्रकारिताजस्ता विषयमा अध्ययनका लागि नेपाललाई वार्षिक ३० वटा छात्रवृत्ति प्रदान गर्दैआएको छ ।’

पोर्चुगलका लागि प्रस्तावित राजदूत पौडेलले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रलाई अझ सक्रिय बनाइ त्यसमार्फत द्विपक्षीय सम्बन्धका विविध आयमलाई थप मजबुद बनाउन प्रयास गर्ने बताए ।

उनले भने, ‘पछिल्लो समय नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रुपमा रहेको पोर्चुगलबाट उच्चस्तरीय राजनीतिक भ्रमणका लागि आवश्यक पहल गर्नेछु ।’ यसअघि समितिले भारत, चीन, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरिसकेको छ ।

कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेको संसदीय सुनुवाइ बाँकी नै छ ।

स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको पनि संसदीय सुनुवाई केही दिनभित्रै हुनेछ ।

पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’

काठमाडौँ, १७ भदौ : कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका अलावा बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय रहेको छ ।

सङ्कल्प भुजेलको छाँयाङ्कन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।

तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबु आमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताउनुभयो ।

चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा हुनुहुन्छ ।

तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै

काठमाडौँ, १७ भदौ : तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ ।

प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।

तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ ।

असोज ४ देखि रामेछाप–दुक्ला उडान

 यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

यस्तै यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ ।

ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ ।

विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उहाँले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताउनुभयो । उक्त विमानस्थलमा आठ वटा पाकिङ्ग, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।

नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छुः अध्यक्ष प्रचण्ड

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका प्रचण्डले सोमबार बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भने, ‘गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ ।’

आइसिपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले पहिला बनेका आइसिपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आइसिपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उनले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गरे ।

अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आइसिपीका बारेमा जानकारी गराएका थिए ।

आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ ।

भारत सरकारको एक अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ । सो अवसरमा पूर्वअर्थमन्त्री एवं पार्टी उपमहासचिव वर्षमान पुनलगायत नेताहरूको सहभागिता रहेको थियो ।

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

म्याग्दी, १७ भदौः विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भन्नुभयो, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् ।

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताउनुभयो ।

“उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्”, उहाँले भन्नुुभयो, “स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुुलनामा केही समयअघि पाक्ने देखिएको छ ।” उपकरणको सहायताले स्याउको गुलियोपना नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखि नै टिप्न थालिएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा यही भदौ ६ गते बसेको बैठकले जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र किसानको बैठकले स्याउ टिप्ने समयतालिका बनाएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समयतालिका बनाइएको छ । तिजलाई लक्षित गरेर उच्च घनत्वको जातका स्याउ टिपेर बजार पठाउन थालिएको छ । व्यापारीले नपाकेको र ढिलो पाक्ने प्रजातिका स्याउ पनि टिपेर बजार लैजान सक्ने भएकाले नाकामा अनुुगमन गर्नुुपर्ने बताइएको छ ।

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टरमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारी बगैँचामा नपाकदै अग्रिम भुक्तानजी दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसः ‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

कञ्चनपुर, १७ भदौः गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताउनुभयो ।

गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताउनुभयो । “दशकअघि गिद्ध सहजै देखिने गरेका थिए”, उहाँले भन्नुभयो, “हाल गिद्ध देख्नै दुलर्भ भएको छ ।” बासस्थानको सुरक्षासँगै जनावरमा प्रयोग हुने घातक विषादीको प्रयोगमा कमी ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखालालगायत रोगको देखियोे बताउनुभयो । पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाइए पनि अन्य गिद्धका लागि घातक मानिएका औषधिको प्रयोग नरोकिँदा चुनौती थपिँदै गएको उहाँले बताउनुभयो ।

चराविज्ञ हिरुलाल डगौराले अव्यवस्थित विद्युतीय तारमा परेर गिद्धको मृत्यु हुने गरेको पाइएकाले नगरपालिकाले अव्यवस्थित विद्युतका तार व्यवस्थित गर्न अग्रसर हुनुपर्ने र अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धको उद्धार हुन नसक्दा मृत्यु हुने गरेको उल्लेख गर्नुभयो । आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपाया गाड्ने चलनले गिद्धलाई खानाको अभाव हुँदै आएको उहाँको भनाइ छ ।

नब्बेको दशकमा ९५ प्रतिशतसम्म घटेका गिद्धको सङ्ङख्या जनचेतनाको प्रभावका कारण बढ्दै गएको छ । उहाँले भन्नुभयो, “हराउँदै गएका गिद्ध पुनः देखिन थालेका छन्, गिद्ध जोगाउन युवाले अग्रसर भएर समुदायमा सचेतना छर्नुपर्ने भएको छ ।”

चराविज्ञ हिरुलाल डगौराका अनुसार नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राजगिद्ध छन् । बेलौरी नगर युवा सञ्जालका अध्यक्ष विष्णुदत्त अवस्थीले गिद्धबारे आयोजना गरिएको कार्यक्रमबाट गिद्धको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी पाएर सचेत भएको बताउनुभयो ।

“गिद्धले वातावरण सन्तुलन गर्ने कार्यमा अहम् भूमिका खेल्ने गरेको जानकारी पायौँ”, उहाँले भन्नुभयो, “संरक्षणका लागि अग्रसर भएर लाग्ने प्रतिबद्धता गर्दछौँ ।” प्रत्येक वर्षको सेप्टेम्बर पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ । आफ्नै योजना तथा अनुकूलताअनुसार यो दिवस नेपालमा सप्ताहव्यायी रूपमा सेप्टेम्बर १ देखि ७ सेप्टेम्बरसम्म मनाइँदै छ ।

बाँकेको नरैनापुरमा झाडापखालाबाट चारजनाको मृत्यु, सातजना बिरामी

बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

उनले भने,’आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदे भक्तजनको घुँइचो

जलेश्वर (महोत्तरी), १७ भदौ : आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

स्थानीयवासी वीरेन्द्र यादवका अनुसार अन्धाअन्धी स्थानको सम्बन्ध रामायणकालीनसमयसँग रहेको छ । उहाँले भन्नुभयो “यही सम्बन्धका कारण कुशे औँसीका दिन यहाँ भक्तजन आउने गर्दछन् ।”उहाँले श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको जनश्रुती रहेको बताउनुभयो ।

पछिल्लो समय यस स्थानको संरक्षण संवर्द्धनका लागि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । स्थानीयवासीले धार्मिक एवं ऐतिहासिक अन्धाअन्धी स्थानको संरक्षण, संवर्द्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन् ।

पर्यटकीयस्थल बाटुलेचौरमा एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण

पर्वत, १७ भदौ : यहाँको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । कालिका भगवती मन्दिर र शिवको विशाल मूर्तिसमेत रहेको बाटुलेचौर आउने भक्तजन र पर्यटकको सहजताका साथै बाटुलेचौरलाई आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय आठ भन्दा बढी बर पिपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको छ । बर पिपल रोप्न चाहने हरेक व्यक्ति वा परिवारले रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । यस्ता चौतारी एक सय २४ वटा रहेको पौडेलले बताउनुभयो । विशेष गरी शनि त्रयोदशीमा एक सय आठ पिपल चौतारी घुम्न र पूजा गर्न यहाँ दर्शनार्थी आउने गर्छन् । 

त्यसैगरी मन्दिर परिसरमै सत्तल निर्माण गरिएको छ । मन्दिर परिसरमा घुम्न र दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाख  लागतमा भवन निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन गरिएको थियो । चालु आवमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

यसैगरी भगवान् शिवको अग्लो मुर्ति निर्माण गरिएको छ । बाटुलेचौर मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिम दुवैतर्फ आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् । मन्दिर परिसर, पिपल चौतारी हुँदै प्रवेशद्धारसम्म आकर्षक पदमार्ग र मञ्च निर्माण गरिएको छ । 

सदरमुकाम कुश्माबजारबाट १२ किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा पछिल्ला केही वर्षयता दर्शनार्थी मात्र नभई पर्यटक र विभिन्न भिडियो तथा वृत्तचित्र छायाङ्कन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल विस्तार भएका छन् । बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताउनुभयो । 

राजा दशरथले आफ्ना भान्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न यहाँ आइ अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिर निर्माण गरिएको किंवदन्ती छ । भृगु ऋषिको तपस्यास्थल मानिने सो ठाउँको सम्पदा संरक्षण नहुँदा चोरी भएका थिए । संरक्षण अभावमा हालको मन्दिरका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराएका छन् । स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा दुई सय वर्ष पुराना संरचना भएपनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको हो । 

यहाँ विशेषगरी दसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रीलगायतका चाडपर्वमा भव्य मेला लाग्ने गर्दछ । यहाँ मेला भर्न पर्वतको कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थीसमेत आउने गरेका छन् । यहाँबाट पर्वत सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । 

बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्न यस वर्ष हरितालिका तीजको अवसरमा दोस्रो बाटुलेचौर तीज मेला आयोजना गरिएको छ । आगामी भदौ २१ गते हरितालिका तीजको अवसरमा बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गरिएको हो ।    मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती राखिएको आयोजकले जनाएको छ । 

युवा नहुँदा ठिनीमा परम्परागत रुपमा मनाइने मेला धान्नै मुस्किल

म्याग्दी, १७ भदौ : मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो ।

आइतबार सकिएको ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौरे मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो । 

“ठिनीवासीले मनाउने सबैभन्दा ठूलो पर्व भदौरे मेला हो”, उहाँले भन्नुभयो, “मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुको कार्यव्यस्तताले मेला अवधि छोट्याइएको हो ।”

विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र ज्येष्ठ नागरिकको भरमा भदौरे मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्रीलगायत नाचलाई निरन्तरता दिइएको थकालीले बताउनुभयो । पहिले युवा मात्र सहभागी हुने नाचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुने गरेका छन् । 

यहाँ खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेलाई मनोरञ्जन र हिउँद सुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन छ । तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका यी बस्तीमा जनैपूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन् । 

भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका विकृति, विसङ्गतिलाई ब्यङग्यमार्फत खबरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लबका सचिव नीरज थकालीले बताउनुभयो । लामाहरुबाट गुम्बामा देवीदेवताको पूजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमूलक नाटक प्रर्दशन हुुन्छन् ।

भदौरे मेला र मौलिक नाचहरु लोप हुन नदिन पाका पुस्ताका कलाकारबाट किशोर किशोरीहरुलाई नृत्य कला र सीप हस्तान्तरण गराउने प्रयास भइरहेको  घरपझोङ–५ ठिनीका वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो । 

भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आउने गरेका छन् । पृथक भूगोल, ताल तलैया, गुम्बा, गुफालगायत प्राकृतिक, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनीबाहेक मौलिक कला, संस्कृति र मेला पर्वहरु पनि मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम हुन् । 

इरानका राष्ट्रपति राइसी चढेको हेलिकप्टर खराब मौसमका कारण भएको इरानको भनाइ

मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ ।

त्रिसठ्ठी वर्षीय राइसी र उहाँको टोलीलाई लिएर गएको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढाकेको पहाडमा खस्दा राष्ट्रपति र अन्य सात जनाको मृत्यु भएको थियो । साथै यसले मुलुकमा राष्ट्रपति पदका लागि मध्यावधि निर्वाचन सुरु भएको थियो । 

राज्य प्रसारक आइआरआइबीका अनुसार हेलिकप्टर दुर्घटनाको आयाम र कारणहरूको अनुसन्धान गर्ने विशेष बोर्डले हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘वसन्त ऋतुमा उक्त क्षेत्रको जटिल मौसम र वायुमण्डलीय अवस्था’ थियो भनेको छ । 

‘अचानक बाक्लो कुहिरोको उदय’ ले हेलिकप्टर पहाडसँग ठोक्किएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मे महिनामा इरानको सेनाले यस्तै किसिमले उक्त दुर्घटनामा आपराधिक गतिविधिको कुनै प्रमाण फेला नपरेको बताएको थियो । दुर्घटनामा रायसीका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानको पनि मृत्यु भएको थियो । 

अगस्टमा फार्स समाचार एजेन्सीले मे १९ को दुर्घटनाको मुख्य कारणमा खराब मौसमको अवस्था र सुरक्षा प्रोटोकलविरुद्ध दुई अतिरिक्त यात्रीसहित हेलिकप्टर चढ्न नसक्ने अवस्थालाई उल्लेख गरेको थियो । 

तथापि इरानी सशस्त्र बलहरूले ‘सुरक्षा प्रोटोकलविरुद्ध हेलिकप्टरमा दुई यात्रीको उपस्थितिका बारेमा फार्स समाचारमा उल्लेख गरिएको अवस्थालाई पूर्णरूपमा गलत भएको’ भन्दै उक्त निष्कर्षलाई तत्काल खारेज गरेको थियो ।

दशकौँमा इराकको पहिलो जनगणनाका लागि दुई दिने कर्फ्यु

इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । “जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ”, प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भन्नुभयो ।

दशकौँको द्वन्द्व र हिंसाले ग्रस्त इराकले विशेषगरी विवादास्पद क्षेत्रहरूमा समुदायहरूबीचको तनावका कारण धेरै पटक जनगणनालाई स्थगित गरेको छ ।    पछिल्लो पटक स्वायत्त कुर्दिस्तान क्षेत्र बन्ने तीन उत्तरी प्रान्तलाई छाडेर सन् १००७ मा इराकका १५ प्रान्तमा सामान्य जनगणना भएको थियो । 

छिटपुट हिंसा र राजनीतिक उथल–पुथल भए पनि इराकले हालैका वर्षहरूमा स्थिरताका केही झलक हासिल गरेको छ । हालको अनुमानले आजको जनसङ्ख्या करिब चार करोड ३० लाख राखेको छ ।    अधिकारीहरूले आगामी जनगणनाका लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए) सँग साझेदारी गरेका छन् । 

“इराकलाई सही जनसाङ्ख्यिकीय जानकारी प्रदान गर्न, प्रभावकारी नीति निर्माण गर्न गर्न र समावेशी विकासलाई प्रवर्द्धन गर्न यो पहलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, एजेन्सीले भनेको छ ।  विगतमा इराकमा प्रत्येक १० वर्षमा जनगणना हुने गर्थ्यो । सन् २००७ मा मुलुकमा साम्प्रदायिक हिंसामा फसेको बेला जनगणना हुन सकेन ।

चितवनमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु

चितवन, १७ भदौः डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

काठमाडौँ- प्रधानमन्त्री निवास, बालुवाटारमा आईतबारदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो ।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गर्नुभएको थियो । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिनुभयो । पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको स्मरण गर्नुहुँदै उहाँले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताउनुभयो ।

काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु

काभ्रेपलाञ्चोक, १७ भदौः काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नपा–५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उहाँको उपचारका लागि काठमाडाँैको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा–७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १७ भदौः राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनुभएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र््याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।

यसै अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि नेपाली समाचार सेवा औपचारिक रुपमा २४सै घण्टा सञ्चालनमा ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवाको आज औपचारिक शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवाको २४सै घण्टा सञ्चालन गरिरहेको छ ।

आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व,गोकर्णेश्वर महादेव मन्दिरमा भीड

काठमाडौं ।  भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गराएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतसमेतबाट हजारौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन् ।

चाडपर्वलाई भड्किलो नबनाउन महासचिव पोखरेलको सुझाव

काठमाडौँ,- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चाडपर्वलाई भड्किलो नबनाउन सुझाव दिनुभएको छ । नेपाल बुद्धिजीवि परिषद् केन्द्रीय महिला विभागले आयोजना गरेको ‘सामाजिक रुपान्तरणका लागि तीज’ कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो, “खर्च गर्ने कुरा आफैँमा नराम्रो होइन । तर के गर्दा अर्थतन्त्रको आधार विकास हुन्छ र के गर्दा अर्थतन्त्र कमजोर हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्दछ ।” नेपालको मौलिक संस्कृतिको महत्वलाई बुझ्नुपर्ने उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले तीज पर्वलाई संस्कृतिको माध्यमबाट जागरणको पर्व बनाउन सकिने बताउनुभयो । पर्वमा सही बिचारलाई सम्प्रेषण गर्न सकिए त्यसले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । महासचिव पोखरेलले नेपाली संस्कृतिको जग भनेको नेपाली समाजको विविधताबीचको एकता भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतको सहभागिता रहेको थियो । 

माओवादी पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु : अध्यक्ष दाहाल

खजुरा (बाँके-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउनुभएको छ । माओवादी केन्द्र बाँकेद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढाउने काम गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा जनसमर्थन घटेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले छोटो समयमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकाले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताउनुभयो । 

अध्यक्ष दाहालले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौँ नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर नयाँ आशा जागृत गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले बाँके मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकाले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवालाई स्थापित गर्न जिल्ला नेतृत्व तथा केन्द्रबाट खटिएका नेतालाई निर्देशन दिनुभयो । 

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, नेतृ पूर्णाकुमारी सुवेदी र पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी, पार्टीका नेता बलदेव शर्मा, महेश्वर गहतराजलगायतको उपस्थिति थियो ।

बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरु

म्याग्दी, १७ भदौ : सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूूर्ण रुपमा स्तरोन्नति भइसकेको छैन ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत स्तरोन्नतिको चरणमा रहेको सडकको म्याग्दी खण्डको यात्रा मुस्ताङको तुलनामा असहज छ । 

कालीगण्डकी नदीको किनारै किनार मुस्ताङ उक्लिने बेनी–जोमसोम सडक छेउछाउका मनमोहक झरनाहरुले यात्राको दुुःख, कष्ट भुुलाइदिने गरेको यात्रुहरु बताउँछन् । “गाडीबाटै देखिने झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन्”, मुुस्ताङ घुमेर फर्किनु भएका बेनीका विनोद खत्रीले भन्नुभयो, “झरनाहरुको सौन्दर्यले यात्राको दुुःख, कष्ट र पीडा भुलाएर उत्साह र उमङ्ग ल्याउँछ ।” बेनीदेखि पाँच किलोमिटर उत्तरमा पर्वतको बाँसखर्कबाट झर्ने बाउसे झरना छ । बाउसे झरनादेखि एक किलोमिटर माथि म्याग्दी र पर्वतको सिमाना भएर बग्ने पुम्दी खोलाको छहरा देखिन्छ । 

अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर झरनाले पर्यटक लोभ्याउने गर्छ । पूर्वाधार निर्माण गरेसँगै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक महभिर झरनामा भुुल्ने गर्छन् । पहिले सुनसान हुुने महभिर झरनामा भीडभाड हुन थालेको स्थानीयवासी कृष्ण पुनले बताउनुभयो । 

पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने झरना निकै आकर्षक र मनमोहक छ । झरना परिसरमा पुुग्दा गर्मी याममा शितल हुुन्छ । गर्मी छल्न पनि महभिर झरना उपयुुक्त गन्तव्य हो । झरनाको फेदीमा बनाइएको पोखरीमा पौडी खेल्न र माछा मार्न सकिन्छ । झरनाको सौन्दर्यमा रमाउँदा समय बितेको पत्तै नहुुने बेनीका किरन कार्कीको अनुभव छ । 

अन्नपूूर्ण गाउँपालिकाले झरनाको फेदीमा ग्याबीन पर्खाल लगाएर पोखरी र भिरालो पाखा सम्याएर दृश्यावलोकन स्थल बनाएको छ । सडकदेखि झरनाको फेदसम्म पदमार्ग र नजिकै सार्वजनिक शौचालय निर्माण भएका छन् । बेनी जोमसोम सडकको ५० मिटर नजिकमा झरना भेटिन्छन् । सडकमा गाडी रोकेर पर्यटकले झरना अवलोकन गर्ने गरेका छन् । 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेँशी गाउँमा झर्ने नारच्याङ झरना बेनी–जोमसोम सडकको अर्को आकर्षण हो । सडकको नागढुुङ्गादेखि दुई किलोमिटर गाडी र १५ मिनेट उकालो हिँडेपछि पुुगिने नारच्याङ झरना सडकबाटै यात्राका क्रममा अवलोकन गर्न सकिन्छ । बाह्रै महिना उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्य अस्ताउँदा देखिने इन्द्रेणी मनमोहक देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से यस सडकमा यात्रा गर्ने पर्यटकको प्रमुख आकर्षण हो । अन्नपूर्ण तथा धौलागिरि हिमालको फन्को मारेर फर्केका पदयात्री तथा मुस्ताङ जाने यात्रुले सवारी साधन रोकेर यस छहारामा आराम गर्छन् ।

कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरि र अन्नपूर्ण हिमश्रृङ्खला बीचको छ हजार नौ सय ६७ मिटर गहिरो खोचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि÷कलाकारले सयौँ कविता र चित्र कोरेका छन् ।

अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले रुप्से झरनामा पूूर्वाधार निर्माण गर्न ठेक्का सम्झौता भइसकेको र अन्य झरनालाई पनि व्यवस्थित बनाउन पहल गरिरहेको जानकारी दिनुभयो । रुप्सेमा पर्यटन पूर्वाधार निर्माण गर्न रु तीन करोड ६५ लाख बराबरको लागत अनुमान गरिएकामा रु तीन करोड २३ लाख ५५ हजार तीन सय ६९ मा सुन्दर निर्माण सेवा कास्कीसँग ठेक्का सम्झौता भएको छ । गत जेठ ३० गते भएको ठेक्काको म्याद विसं २०८२ पुष २५ गते सम्म छ । 

रुप्से झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भ-याङ, पदमार्ग र खाजाघर लगायतका पूर्वाधार निर्माण गरिने गाउँपालिकाका सब–इञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो । रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्टसमेत निर्माण गरिने जनाइएको छ । 

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

गलकोट (बागलुङ), १७ भदौ : हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ ।

बागलुङ बजारमा पछिल्लो दिनमा रोपाइँ नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेका छन् । घोडा नाच, थेतर नाच, होवा नाच प्रदर्शनको तयारीमा छन् । यहाँको पुरानो विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र गुञ्जायमान भएको हो । लोपोन्मुख अवस्थाका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षण गर्न थालेका छन् । 

निकै खर्चिला मानिने थेतर, नागनागिनी र शिखारी नाच लोप भइसकेको छ । बागलुङमा नौ वर्षपछि हनुमान नाचसमेत देखाइएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । शाक्य कल्याण समाजले लाखे र जोगी नाच संरक्षण गर्दै आएको छ । हनुमान नाच संरक्षण परिषद्ले हनुमान नाचलाई जीवित तुल्याएको छ ।  यस्तै नेवा ल्याम्ह पुच बागलुङले कटुवाल, होवा, घोडा नाच र रोपाइँ नाचलाई व्यवस्थित बनाएर देखाउँदै आएको छ । नेवा ल्याम्ह पुचकै अगुवाइमा वर्षौसम्म देखाउन नसकिएको बाटो नाप्ने परम्परा सुरु गरिएको छ । 

मङ्का खल बागलुङका अध्यक्ष मुशेकचन्द्र राजभण्डारीले गाईजात्रापछि बागलुङ बजारमा जात्राको रौनताका छाउने गरे पनि भदौरे जात्रा जोगाउनै मुश्किल भएको बताउनुभयो । उहाँले बागलुङमा घण्टाकर्ण पर्वपछि लाखे नाच देखाइने, गाईजात्राका दिन बास्सा नाचसमेत देखाइने जानकारी दिनुभयो । 

“विसं १८४३ अघि बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायका शाक्य, श्रेष्ठ, राजभण्डारीलगायत समुदाय मिलेर वर्खे जात्रालाई संरक्षण गरिएको छ”, उहाँले भन्नुभयो, “सिखारी नाच, थेतर नाच र नाग नागिनी नाच लोप भइसके, लाखेको तीन नाचमध्ये एउटा मात्रै जीवित छ ।”

स्थानीय काजी गाउँले श्रेष्ठका अनुसार भदौरे नाच दुई सय ३८ वर्ष पुरानो हो । यसको संरक्षण गर्न स्थानीय तहले साथ दिनुपर्ने उहाँको भनाइ छ ।  श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गतका  केही नाच खर्चिला भएकाले देखाउन छोडिएको बताउनुभयो । अहिले भदौरे नाचका कारण बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण नौ वर्षपछि देखाइएको बताउनुभयो । 

गाईजात्राको दिन बास्सा नाच देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेको पाइन्छ । भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि वर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको हुन्छ । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने गर्दछन् । भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय हुने गर्छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ ।

भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको छ । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएको नेवार समुदायको भनाइ छ । 

बहुदलीय व्यवस्थापछिको अवधिको पुनःमूल्याङ्कन गर्न आवश्यक : अध्यक्ष यादव

वीरगञ्ज (पर्सा- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछिको ३५ वर्षको अवधिमा भएका गतिविधिको गम्भीर ढङ्गले समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।

वीरगञ्जमा   आयोजित ‘जनतासँग जसपा नेपाल ः आधारभूत सङ्गठन निर्माण’ अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले भन्नुभयो, “२०४६ सालदेखि २०८१ सालसम्म भए÷गरेका कामको गम्भीरतापूर्वक पुनःमूल्याङ्कन र समीक्षा गर्नुपर्ने बेला भएको छ ।” 

अध्यक्ष यादवले बहुदलीय व्यवस्था स्थापनाको ३५ वर्षे अवधिमा पनि जनताले अपेक्षाकृत ढङ्गले विकास र अन्य कुराको अनुभव गर्न नपाएको बताउनुभयो । “यस विषयमा समीक्षा गर्न जरुरी भइसकेको छ,” उहाँले भन्नुभयो, “मुलुकमा गणतन्त्र स्थापना भएको पनि करिब १६ वर्ष भइसक्यो तर जनताको आवश्यकता र चाहनामा अपेक्षाकृत सुधार हुन नसक्नु गम्भीर विषय हो ।”

अध्यक्ष यादवले मुलुकमा गरिबी र बेरोजगारी समस्याले जनताको अवस्था नाजुक बन्दै गएको बताउनुभयो । “अहिले मुलुकमा बेरोजगारी र गरिबी मुख्य चुनौतीका रुपमा देखापरेको छ,” उहाँले भन्नुभयो, “अर्काेतर्फ मुलुकमा कृषक र मजदुरको अवस्था पनि झन् कठिन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा मधेसी जनताको संरक्षण र प्रवद्र्धन गर्ने पार्टीको रुपमा क्षेत्रीय पार्टी अग्रसर हुन जरुरी  छ ।”

बीमाको दायरा पाँच लाख पु-याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा लागू गर्न काग्रेसको माग

काठमाडौँ-नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई रु पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागू गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिएको हो ।

पार्टी केन्द्रीय समितिको  बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलतालाई हटाइ सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न यस्तो माग गरिएको उल्लेख छ ।

सहमतिअनुसार बुटवल–नारायणगढ सडक नबनाए सरकारले विकल्प खोज्छः मन्त्री दाहाल

मध्यविन्दु (नवलपरासी- भौतिक पूर्वाधार तथा योजनामन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि ठेकेदार पक्षसँग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने बताउनुभएको छ ।

बुटवल नारायणगढ सडकको अनुगमनका क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका पुग्नुभएका मन्त्री दाहालले ठेकेदारले कुनै पनि बहानमा पछिल्लो सहमति कार्यान्वयनमा आनाकानी गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताउनुभएको हो । “देशको मुख्य राजमार्गको हालत यस्तो छ । सबैको ध्यान यो सडक कहिले बनिसक्ला भनेर हेरिरहेका छन्”, उहाँले भन्नुभयो, “अब पनि ठेकेदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ, एउटा ठेकेदारका कारण देशको महत्वपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनै पनि अर्थमा स्वीकार्य हुँदैन ।”

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सडक विस्तार योजनाको शिलान्यासको काम भएको स्मरण गर्नुहुँदै मन्त्री दाहालले अब ओली नेतृत्वको सरकारले नै सडक विस्तारको काम सम्पन्न गर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार पक्षले कामको समय मिलाउन नसक्दा अहिलेको अवस्था आएको बताउनुभयो । स्थलगत अनुगमनका क्रममा ‘पिच’ गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटरभन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्नुहुँदै उहाँले ठेकेदार पक्षले कार्य समय मिलाउन नसक्दा समस्या भइरहेको उल्लेख गर्नुभयो । मन्त्री दाहाललाई मध्यविन्दु नगरप्रमुख भीमलाल अधिकारीले सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेका समस्याबारे जानकारी गराउनुभएको थियो ।

बागलुङ बसपार्क २३ वर्षपछि सम्पन्न

गलकोट (बागलुङ) १७ भदौ : पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो । जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको थिएन । ढिलै भए पनि बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् ।

बागलुङ नगरपालिकाले केही महिनाअघि बसपार्कको पहुँचमार्ग विस्तार गरेको थियो । पहुँचमार्ग साँघुरो हुँदा बस आउजाउमा समस्या भएको थियो । हाल बसपार्क सञ्चालनमा आइसकेको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । 

बसपार्कको औपचारिक उद्घाटन हुन भने बाँकी छ । २०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ  । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने सम्झौता छ । “नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि बाँकी दाताको जग्गा फिर्ता गर्ने योजनामा छ, चार बर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यातायात व्यवसायीसँग समन्वय भइरहेको छ, बसपार्क सञ्चालनमा आउनासाथ बागलुङ बजारको ट्राफिक समस्या आधा घटेर जान्छ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ ।”

बागलुङ नगरपालिका–४ मा बनाइएको बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन ।  हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन् ।  नगरपालिकाले बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको छ । 

नगरपालिकाले बसपार्कमा व्यावसायिक सटर बनाएकाले बसपार्कबाट नगरपालिकाले आम्दानी गर्न सक्नेछ । अहिले नगरपालिकाले वार्षिक एक करोडका दरले ऋणको साँवा तथा ब्याज नगर विकास कोषलाई तिरिरहेको छ । बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको विकल्पमा दाबगरामा आधुनिक बसपार्क बनाइएको हो । 

बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने आशामा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो । राजभण्डारीले ५१ परिवारले दिएको जग्गामा बसपार्क बनाएर बाँकी जग्गा फिर्ता गर्न नक्सा तयार भइसकेको जानकारी दिनुभयो । 

दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । यहाँ एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ । बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरमा चल्ने लामा दुरीका बस यही बसपार्कमा रोकिने भएकाले पर्यटन क्षेत्रमा समेत बागलुङले फड्को मार्ने बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले विश्वास व्यक्त गर्नुभयो । 

अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने शिक्षामन्त्री भट्टराईको प्रतिबद्धता

लेखनाथ (कास्की), १६ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्यादेवी भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पोखरा–३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै उहाँले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसद्मा छलफल भइरहेको बताउनुभयो । 

मन्त्री भट्टराइएले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारीसमेत दिनुभयो । “विद्यालयलाई वर्गीकरण गरी धेरै विद्यार्थी रहेका विद्यालयमा लगानी बढाउने र स्मार्ट विद्यालयका रूपमा विकास गर्ने योजना शिक्षा मन्त्रालयको छ । हाल त्यसमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सङ्घ सरकारको उद्देश्य स्थानीय तहलाई बलियो बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु हो । यसमा हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।”

केही सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफलता प्राप्त गरेको, पछिल्लो समय अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले यो अवस्थामा थप सुधार ल्याउन जरुरी रहेको धारणा राख्नुभयो । प्राविधिक शिक्षाका साथै पाठ्यक्रम र सिकाइको स्तर वृद्धि गरी अनलाइन प्रणालीमार्फत पढाइलाई विकास गर्न जरुरी रहेको उहाँको भनाइ थियो । “संसद्मा छलफल भइरहेको विद्यालय शिक्षा ऐन पारित भएपछि सामुदायिक विद्यालयको शिक्षाले फड्को मार्ने छ । स्थानीय तहले सामुदायिक विद्यालयमा अनुगमन गरी विद्यालयका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सृजना गरिदिनुपर्ने आवश्यकता छ”, मन्त्री भट्टराईले भन्नुभयो ।  

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले विद्यालयस्तरको शिक्षा निःशुल्क प्रदान गर्ने दायित्व सरकारको भएकाले त्यो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेम आचार्यले गाउँगाउँमा उच्च मावि सञ्चालन गरेर बन्द गर्नुभन्दा विद्यार्थी भएका विद्यालयले मात्र उच्च मावि खोल्नुपर्ने सुझाव दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सूर्यराज अधिकारीले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । 

त्यस अवसरमा विभिन्न अक्षयकोषको रकमबाट एसइई तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । साथै मन्त्री भट्टराईले विद्यालय हाताभित्र निर्माण गरिएको प्रतीक्षालयको उद्घाटनसमेत गर्नुभएको थियो । 

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलङ्गानामा भारी वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । भारी वर्षाका कारण आन्ध्र प्रदेशमा नौ जना तथा तेलङ्गानामा तीन जनाको मृत्यु भएको हो ।

   शनिबार आन्ध्र प्रदेशको विजयवाडा र गुन्टुर सहरका धेरैजसो भाग अत्यधिक वर्षाका कारण डुबानमा परेका थिए । बङ्गालको खाडीमा रहेको न्यून चापीय रेखाको प्रभावले आइतबार बिहानै कलिङपट्टनमको तटीय क्षेत्र पार गरी राज्यका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

  विजयवाडाको मोगलराजपुरममा शनिबार पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुन्टुर जिल्लाको मङ्गलागिरीको गण्डलयपेटामा एउटा घरमा ढुङ्गा खसेर एक वृद्धाको मृत्यु भएको छ । अर्को घटनामा गुन्टुर सहर नजिकै उप्पलापाडु गाउँमा बाढीले कार बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

   अधिकारीहरुका अनुसार स्थानीय प्रहरी तथा विभिन्न निकायले तल्लो क्षेत्रका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारेका छन् । हालसम्म विभिन्न स्थानबाट करिब ८० जनाको उद्धार गरिएको छ ।

–––

२५ वर्षमा पहिलो मामिला देखिएपछि युद्धग्रस्त गाजामा ठूलो मात्रामा पोलियो खोप अभियान सुरु

प्यालिस्टिनी स्वास्थ्य अधिकारी र संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले आइतबार गाजापट्टीमा पोलियो खोप अभियान सुरु गरेका छन । यसबाट इजरायल–हमास युद्धबाट ध्वस्त भएको यस क्षेत्रमा यसको प्रकोप रोक्न सकिने अपेक्षा गरिएको छ ।

अधिकारीहरूले गाजा पट्टीको अधिक विनाशकारी उत्तरी र दक्षिणी क्षेत्रमा जानुअघि बुधबारसम्ममा मध्य गाजामा बालबालिकालाई खोप सुरु गर्ने योजना बनाएका छन् । शनिबार यो अभियान थोरै सङ्ख्यामा खोप दिएर सुरु भयो र यसको लक्ष्य करिब छ लाख ४० हजार बालबालिकासम्म पुग्ने रहेको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजरायल खोप अभियानलाई सहज बनाउन युद्धमा सीमित विश्राम गर्न सहमत भएको बताएको छ ।  

आइतबार बिहानै मध्य गाजामा इजरायली आक्रमण सुरु भएको समाचार थियो तर आक्रमणमा मारिएको वा घाइते भएको तत्काल थाहा भएको छैन । इजरायलले जारी गरेको कार्यक्रमअनुसार यो विश्राम आइतबार दिउँसो समाप्त भएको छ । 

देयर अल–बलाह र नुसिरतका अस्पतालहरूले खोप अभियान सुरु भएको पुष्टि गरेका छन् । इजरायलले खोप अभियान कार्यक्रम प्रत्येक दिन आठ घन्टाका हिसाबले सेप्टेम्बर ९ सम्म जारी रहने बताएको छ । 

गाजामा हालै २५ वर्षमा पहिलो पटक हाल खुट्टामा पक्षघात भएका १० महिनाका बालकमा पोलियो भएको फेला परेको छ । डब्लुएचओका अनुसार पक्षघातको मामिला देखिनुले सङ्क्रमित भएका तर लक्षण नदेखिएका सयौँ बढी हुनसक्ने सङ्केत गर्दछ । 

पोलियो भएकाहरू अधिकांशले लक्षणहरू अनुभव गर्दैनन् र तिनीहरू सामान्यतया एक वा दुई सातामा ठीक हुन्छन् । तर पोलियोले पक्षघात निम्त्यायो भने यसको उपचार छैन । पक्षघातले श्वासप्रश्वासका मांसपेशीहरूलाई प्रभावित गर्यो भने यो रोघ घातक हुनसक्छ । 

जारी युद्धदेखि लिएर ध्वस्त सडक र युद्धका कारण बन्द भएका अस्पतालहरूसम्म खोप अभियानले चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । 

गाजाका २३ लाख जनसङ्ख्यामा करिब ९० प्रतिशत मानिस घेरामा परेको क्षेत्रमा विस्थापित भएका छन् र तीमध्ये हजारौँ मानिस पालका शिविरहरूमा भरिएका छन् । 

सङ्कलन नगरिएका फोहरको थुप्रो र अत्यावश्यक पूर्वाधारमा भएको बमबारीले सडकमा फोहर पानी बगिरहेकाले स्वास्थ्य अधिकारीहरूले पोलियो रोगको प्रकोप बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पोलियो दिसाबाट फैलिन्छ । व्यापक भोकमरीले मानिसहरूको रोगलाई अझ संवेदनशील बनाएको छ । 

चिकित्सा केन्द्र र विद्यालयसहित सम्पूर्ण क्षेत्रमा करिब एक सय ६० स्थानमा खोप दिइने छ । दश वर्षभन्दा कम उमेरका बालबालिकालाई मौखिक पोलियो खोप दुई थोपा दुई चरणमा दिइने छ । दोस्रो खुराक पहिलो खुराकको चार सातापछि दिइने छ । 

इजरायलले गत महिना करिब १३ लाख खुराक आफ्नो क्षेत्रमा ल्याउन अनुमति दिएको थियो । ती खोपलाई अहिले देयर अल–बलाहको गोदाममा फ्रिजमा भण्डारण गरिएको छ । चार लाख खुराकको खेपलाई चाँडै गाजामा पुर्याइने छ । 

सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या

सुदूरपश्चिम, १६ भदौः लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गी रोगबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार पछिल्लो डेढ महिनामा मात्रै एक सय ७३ जनामा सङ्क्रण भएको छ । प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी डेङ्गीबाट अहिलेसम्म ८६ जना सङ्क्रमित छन् ।

यस्तै, अछाममा ६७, डोटीमा ५५, कञ्चनपुरमा ४७, दार्चुलामा २४, बाजुरामा १९, बैतडीमा १८, डडेलधुरामा १३ र बझाङमा पाँच जना सङ्क्रमित छन् । गत पुस महिनामा प्रदेशभरिमा १३ बिरामी फेला परेकामा त्यसयता सङ्क्रमण निरन्तर बढ्दै गएको छ । सबैभन्दा बढी अगस्तमा (साउन/भदौ) महिनामा ८८ व्यक्तिमा सङ्क्रमण देखिएको छ । 

कैलालीको गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले डेङ्गी रोकथामका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतको संयुक्त पहलमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइहेको बताउनुभयो । “यसबाहेक लामखुट्टेको वृद्धि हुन नदिन शुक्रबारका दिन हरेक विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय आसपास सरसफाइसमेत गर्ने गरिएको छ”, उहाँले भन्नुभयो ।

शङ्कास्पद बिरामी जाँच गर्न आवश्यकताअनुसार कीटको व्यवस्थापन हुन नसक्दा बिरामीको पहिचानमा भने केही समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ । उहाँले भन्नुभयो, “आवश्यकतानुसार कीटको व्यवस्थापन नहुँदा कतिपय समयमा शङ्कास्पद बिरामी पहिचान गर्नमा समस्या भएको छ ।” 

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी आसारदेखि कात्तिक महिनामा पानी पर्ने भएकाले लामखुट्टेको वृद्धि भई सङ्क्रमणको बढी जोखिम रहने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस मौसममा डेङ्गीको जस्तो लक्षण देखिने अन्य रोगका धेरै बिरामी भेटिने भएकाले सबैका लागि कीट व्यवस्थापन गर्दा निकै खर्चिलो हुन्छ, डेङ्गीको गम्भीर प्रकृतिका बिरामीका लागि भने कीटको व्यवस्थापन गर्ने गरिएको छ ।”

डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । गत वर्ष प्रदेशमा डेङ्गीबाट तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोग रोकथामको प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीको भनाइ छ ।  रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने बताइएको छ ।

भागवण्डा मिलाउन गण्डकीमा फुटाएर नौवटा मन्त्रालय बनाइयो

गण्डकी । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर नौवटा बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नौवटा मन्त्रालय बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिअनुसार नौवटा मन्त्रालय बनाइएको जानकारी दिँदै उनले सङ्घीय गठबन्धनअनुुसार नै अघि बढेको बताए । मुख्यमन्त्री पाण्डेकानुुसार नौवटा मन्त्रालयमध्ये कांग्रेसले पाँच र एमाले चार मन्त्रालय लिनेछन् । प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय विभाजन गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री पाण्डेले वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत यसअघि दुई/दुुईवटा सङ्गठन संरचना रहेकाले सोहीअनुसार विभाजन गरिएको बताए । “यी मन्त्रालय एउटै भए पनि सङ्गठन संरचना दुईवटा थिए र सचिव पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर नौवटा मन्त्रालय कायम गर्ने निर्णय गरेका छौँ”, उनले भने ।

अब चाँडै नै एमालेका तर्फबाट चारजना मन्त्रिपरिषद्मा समावेश हुने र सङ्घीय गठबन्धनअनुसार गठबन्धन अघि बढिने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

संशोधित न्याय परिषद् नियमावलीको विरोधमा बार आन्दोलित

काठमाडौँ, १६ भदौः नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली तत्काल खारेज गर्न माग गर्दै धर्ना दिएको छ ।बारले आज न्याय परिषद् अगाडि धर्ना गर्दै नियमावलीमा भएका व्यवस्था हटाउन बारले अघि सारेका माग सम्बोधन हुनुपर्ने, संशोधित नियमालीअनुसार न्यायाधीश नियुक्ति गर्न नहुने र न्यायालयमा न्यायिक स्वच्छता कायम गर्नुपर्ने माग गरेको छ ।

अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद् नियमावालीमा भएको असंवैधानिक व्यवस्था खारेज गरेर मात्र न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने माग सम्बोधन नभए बारले निरन्तर आन्दोलन गर्ने बताउनुभयो ।

बारले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै सोलाई अविलम्ब खारेज गर्न सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको उहाँले बताउनुभयो ।

नेपाल बारको सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभा तथा चितवनमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र काठमाडौँमा सम्पन्न १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०८१ बाट समेत सो संशोधन गैरसंवैधानिक घोषणा गरी नेपालका प्रधानन्यायाधीश र प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकिएको बारेले जनाएको छ ।

बारले सरोकारवाला निकायसँग परामर्श नै नगरी एकपक्षीय ढङ्गले गरिएको न्याय परिषद् नियमावली संशोधनले संविधानको धारा १४१ (३) को आत्मा नै मर्न गएको र कानुनको सिद्धान्तविपरीत रहेको भन्दै विरोध गरिरहेको छ ।

अध्यक्ष नेपाल आज रुस जाँदै

काठमाडौँ, १६ भदौ : नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज रुसको भ्लादिभोस्तक जानुहुने भएको छ ।

यही भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म हुने ‘एसिया इकोनोमिक फोरम’ छलफलमा सहभागी हुन अध्यक्ष नेपाल आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने नेकपा (एकीकृत समाजावदी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपाल अन्तरर्राष्ट्रिय सम्मेलन उक्त कार्यक्रममा वक्ताको रुपमा सहभागी हुनुहुने सो पार्टीले जनाएको छ ।

टान निर्वाचन : यस्ता छन् उम्मेदवारका साझा ‘एजेन्डा’

काठमाडौँ, १६ भदौ : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरुले प्यानल नै बनाएर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । अध्यक्षका दुई आकाङ्क्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले समूहगत रुपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर उनीहरुका चुनावी एजेन्डा भने अधिकांश समान छन् । अध्यक्षको प्रतिस्पर्धा भए पनि उहाँहरुले उठाएका केही मुद्दा भने समान छन् ।

टानको सोमबार हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षका दुवै प्रत्याशीले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले पदयात्रा संरक्षण, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को व्यवस्थापनदेखि पर्यटन ऐनलाई समयसापेक्ष संशोधनलगायत मुद्दालाई अगाडि सारेका छन् । मुलुकको पर्यटन क्षेत्रको विकासका लागि टानलाई सक्षम र पर्यटन क्षेत्रलाई बलियो बनाउनुपर्नेमा दुवै अध्यक्षका प्रत्याशीले जोड दिएका छन् ।

अध्यक्षका प्रत्याशी सापकोटाले पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवद्र्धनको मुद्दालाई प्राथमिकता दिनुभएको छ । समस्याग्रस्त पदमार्ग सुरक्षित गर्ने, भत्केका पदमार्गमा वैकल्पिक मार्ग बनाउने, पदमार्ग जोगाउन र जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि माध्यमिक तहको शिक्षामा नै पर्वतीय पर्यटनको अध्ययनको व्यवस्था गर्नुपर्ने ‘एजेन्डा’ रहेका छन् । टिम्स कार्डलाई व्यवस्थित गरी, गाइड लिएर मात्रै पदयात्रामा जाने व्यवस्था गर्ने, हरेक वर्ष एडभेन्चर ट्राभल मार्ग गर्नेजस्ता विषय पनि चुनावी एजेन्डामा समेटिएका छन् ।

विगत २० वर्षदेखि पर्यटनमा सक्रिय सापकोटा नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य एवं ‘आउटडोर हिमालयन ट्रेक्स’का प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । स्थानीय तहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना गर्ने र मजदुरका समस्या सम्बोधनका लागि पहल गर्ने  प्रतिबद्धता जनाइएको छ । दुई हजारभन्दा बढी पदयात्रा (ट्रेकिङ) व्यवसायी आबद्ध रहेको छाता सङ्गठनलाई सक्षम र बलियो बनाउनुपर्नेमा दुवै अध्यक्षका प्रत्याशीको जोड रहेको छ ।

अध्यक्षका अर्का प्रत्याशी पाण्डेले टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने तथा करसम्बन्धी समस्या समाधान गर्ने उल्लेख गर्नुभयो । टानका पूर्व महासचिवसमेत रहनुभएका पाण्डेले सबल, सक्षम टान निर्माण गर्न, टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । अध्यक्षका प्रत्याशी पाण्डेले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने तथा करसम्बन्धी समस्या समाधान गर्ने उल्लेख गर्नुभयो ।

दुवै उम्मेदवारले पदयात्राको संरक्षण, नयाँ पदमार्गको खोजी, टिम्सको कार्यान्वयन, पर्यटन क्षेत्रका श्रमिक मजदुरको समस्या सम्बोधन, विकासका नाममा क्षति पुगेका पदमार्ग विकास गर्ने एजेन्डा अगाडि सार्नुभएको छ । यस्तै, ६ लाख श्रमिक र तीन हजारभन्दा बढी व्यवसायीको हकहितको संरक्षण, नयाँ पदमार्गको खोजी, प्रचार–प्रसार तथा प्रवद्र्धन, टिम्स कार्यान्वनका साथै टिम्सबापत जम्मा भएको करिब रु ३५ करोड रकम परिचालन गरिनुपर्ने दुवै उम्मेदवारका साझा एजेन्डा रहेका छन् । पर्यटन क्षेत्रका व्यवसायीलाई कर छुट, पदयात्रासम्बन्धी अध्ययन, पर्यटन ऐनको समयसापेक्ष संशोधनका लागि पहल गर्नेलगायतका मुद्दालाई सामूहिक रुपमा उठाइएको छ ।

पर्यटक सवारीसाधन खरिदमा भन्सार छुटको व्यवस्थाको पहल गरी कार्यान्वयन गराइने, जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकमा राखेर उठान गरिने, पर्यटन ऐनलाई समयसापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’को विकास गरिने, अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रशिक्षण कोर्ष सञ्चालन गरिने तथा पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गरिने दुवै उम्मेदवारले उल्लेख गर्नुभएको छ ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । टानका महासचिव विनोद सापकोटाका अनुसार निर्वाचनमा एक हजार तीन सय ९७ मतदाता छन् । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो ।

के भन्छन् टानका पूर्वअध्यक्षहरु

टानका पूर्वअध्यक्ष दीपक महतले सडक पूर्वाधारका कारण पदमार्ग मासिँदै गएकाले तिनको संरक्षण र वैकल्पिक पदमार्गको प्रवद्र्धनमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । पुरानो पर्यटन नीति र पर्यटन ऐनलाई समयसापेक्ष बनाएर टानलाई व्यवसायी र पर्यटनमैत्री बनाउनुपर्ने अपरिहार्य भएको उहाँको भनाइ छ । 

“पदमार्ग मासिँदै गएका छन् । यसलाई वैकल्पिक मार्गका रुपमा जोगाइराख्न जरुरी छ”, पूर्वअध्यक्ष महतले भन्नुभयो, “नियन्त्रित क्षेत्रहरुमा पर्यटकहरु दुईजना नभई प्रवेश पाउँदैनन् त्यसमा एकजनाले पनि अनुमति पाउने व्यवस्था हुन जरुरी छ ।”

टानका अर्का पूर्वअध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो संस्था टानले पर्यटन ऐनको संशोधनका लागि पहल गर्नुपर्ने पहिलो दायित्व भएको बताउनुभयो । पर्यटन क्षेत्रमा लामोसमयदेखि उठेको करछुट र टिम्स कार्यान्वयनका साथै नियन्त्रित क्षेत्रमा पदयात्री सहजीकरण गरिनुपर्ने उहाँको भनाइ छ । पूर्वअध्यक्ष रिजालले पर्यटन बोर्डले अगाडि बढाएको पदयात्री पर्यटकले अनिवार्य रुपमा सहयोगी लैजाने व्यवस्था गर्न आगामी नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, टानका पूर्वअध्यक्ष नवराज दाहालले पदयात्री व्यवसायीले धेरै पहिलादेखि उठाउँदै आएको कर छुटको समस्या सम्बोधन पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । हिमाली क्षेत्रमा नियन्त्रित क्षेत्रमा पदयात्रीलाई सहजीकरण गरिनुपर्ने उहाँको भनाइ छ । बीमा, गाइड र पोर्टको उद्धार, उपचार तथा क्षतिपूर्तिको उचित व्यवस्थालगायत विषयलाई आउने नेतृत्वले ध्यान दिनुपर्ने  पूर्वअध्यक्ष दाहाल बताउनुहुन्छ ।

कति पर्यटकले गरे पदयात्रा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिजम स्टाटिस्टिक २०२३’ का अनुसार सन् २०२३ मा नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये पदयात्रा र पर्वताराहणका लागि १५ दशमलव दुई प्रतिशत विदेशी पर्यटक नेपाल आएका थिए । सो अवधिमा एक लाख ५४ हजार पर्यटक साहसिक पर्यटनका लागि नेपाल आएका थिए । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा १० प्रतिशत बढी हो । 

सन् २०१९ मा एक लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा ७१ हजार सात सय एक, सन् २०२१ मा १५ हजार पाँच सय ४९ तथा सन् २०२० मा २८ हजार पाँच सय ३० पर्यटक पदयात्रा र पर्वतारोहणका लागि नेपाल आएका थिए । आन्तरिक पर्यटक पनि उल्लेख्य सङ्ख्यामा पदयात्रामा जाने गरेका छन् ।

विशेष गरी नेसनल पार्क एन्ड वाइल्डलाइफ रिजर्भ, पशुपति क्षेत्र परिसर, मनास्लु टे«किङ, मुस्ताङ ट्रेकिङ, तल्लो डोल्पा र कञ्चनजङ्घा ट्रेक पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस्तै, विश्व चर्चित खुम्बु क्षेत्र, अन्नपूर्ण आधार शिविर, मकालु आधार शिविर, लाङटाङलगायत पदमार्गमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा एक लाख १४ हजार आठ सय ८२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

आर्थिक अपराधमा पक्राउ गरेर जेलमा राख्नेभन्दा पनि आर्थिक रुपमा नै सजाय गर्ने प्रबन्ध गर्न सुझाव

काठमाडौँ । ‘बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८०’लाई बढीभन्दा बढी समयानुकूल बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । उनीहरुले आर्थिक अपराधमा पक्राउ गरेर जेलमा राख्नेभन्दा पनि आर्थिक रुपमा नै सजाय गर्ने प्रबन्ध गर्दा राम्रो हुने तर्क गरेका छन् ।

अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’का सम्बन्धमा लगातार छलफल गरिरहेको छ । आइतबारको छलफलमा सहभागी अधिकांश सांसदले विधेयकलाई समृद्ध बनाउनुपर्ने र समयानुकूल प्रबन्ध गर्नुपर्ने सुझाव दिए ।

पछिल्ला दिनमा चेक अनादरको घटनामा बढोत्तरी भएको सन्दर्भ जोड्दै सांसदहरुले बैंकलाई पनि उत्तिकै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । चेक अनादरको विषय संस्थागत हो कि व्यक्तिगत हो भन्ने बारेमा पनि प्रष्ट व्यवस्था गरिँदा सहज हुने उनीहरुको भनाइ थियो ।

बैकिङ कसुर ऐनलाई ब्याज, मिटरब्याज र चेक अनादरका कारण उत्पन्न भएका समस्या समाधान गर्ने गरी कानुनी प्रबन्ध गर्न प्रसतावित विधेयकलाई थप समृद्ध बनाउँदा सहज हुने सांसदहरुको भनाइ थियो । समितिको बैठकमा सांसद सोविता गौतम, ध्रुवबहादुर प्रधान, ठाकुरप्रसाद गैरे, रोशन कार्की, पदम गिरीलगायतले विधेयकको विभिन्न दफामा आ–आफ्नो धारणा राखेका थिए ।

बैंक तथा वित्तीय संस्थालाई पनि कानुन कार्यान्वयन र पूर्ण परिपालना गर्ने वातावरण बनाउनुपर्ने तथा नागरिकलाई दुःख नहुने प्रबन्ध गरी ऐन संशोधन हुनुपर्ने सांसदहरुको मत थियो ।

बैंक तथा वित्तीय संस्थामा रकम भएको झुट्ठा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खानेजस्ता प्रवृत्ति बढेको पाइएपछि सरकारले उक्त विधेयक ल्याएको हो । बैकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने अधिकारी तथा निकायमा अत्यधिक कार्य चापसमेत बढ्न गएको छ ।

‘बैंकिङ कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पनि व्यक्ति–व्यक्तिबीच भएको विनिमय कारोबारबाट सिर्जित हुने दुस्कृतिलाई अलग–अलग कानुनले भिन्नभिन्न कसुरको रुपमा परिभाषित गर्दा गलत अभियोजन हुन गएको तथा कानुनी उपचारको मार्ग र प्राप्त हुने उपचारसमेत फरक ढङ्गबाट निर्धारण भई सही निष्कर्षमा पुग्न सकिने भनी ध्यानाकर्षण गराएको थियो ।

प्रचलित बैकिङ कसुर तथा सजाय ऐन, २०६४ मा चेक अनादरसम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र सो पछिको अदालती कारवाहीसमेतलाई सरल, व्यवस्थित, व्यावहारिक र प्रभावकारी बनाउन जरुरी देखिएको भन्दै सरकारले उक्त विधेयक प्रस्तुत गरेको थियो ।

मन्त्रिपरिषद्ले २०८० साउन २३ गते सो विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको थियो । प्रतिनिधिसभाले सो विधेयक २०८० फागुन ११ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो ।

शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको छः मन्त्री पाण्डे

काठमाडौँ, १६ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनुभएको छ ।ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “डोरी टाङ्नेदेखि आरोहीलाई शिखरमा पु¥याउने काममा शेर्पाहरूले योदान गरेकै कारण पर्वतारोहण सहज तथा सफल भएको छ । यसैले शेर्पाका कारण सगरमाथा विश्वमा चिनिन थप मद्दत पुगेको मेरो बुझाइ छ”, मन्त्री पाण्डेले भन्नुभयो ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म रहेका छन् । कार्यक्रममा पालिकाको सद्भावनादूतमा कुङ्गा शेर्पालार्ई घोषणा गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई बालेनको प्रश्न : नबालिकालाई हिंसा गर्ने एमाले सांसद शर्मालाई कहिले समाउने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नाबालिगलाई घरेलु कामदारको रुपमा हिंसा गर्ने एमाले सांसद रेखा शर्मालाई कारबाही गर्न माग गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत मेयर साहले प्रदेश सांसद शर्मालाई दुई महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद शर्मालाई कहिले समाउने भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नुनै होला । कहिले समाउने ?? कि नसमाउने ??’

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन

काठमाडौँ, १६ भदौ : अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ ।

पहिलो टोली चितवनबाट पूर्वमेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी, आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो । यसैगरी, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो ।

रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला

रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो ।

उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको उक्त हेलिकप्टर कामचट्का जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो ।

उद्धारकर्ताहरूले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गर्नुभएको श्रव्यदृश्यमा उल्लेख गर्नुभएको छ । दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष एउटा ठूलो जङ्गलको पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ ।

सो दुर्घटनाग्रस्त हेलिकप्टर राडार रहेको स्थान नजिकै भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारी इभान लेमिखोभले भन्नुभयो, “उक्त क्षेत्रमा हामीले १७ शव फेला पारेका छौँ ।”

दुर्घटनाग्रस्त एमआई हेलिकप्टर सोभियत सङ्घले निर्माण गरेको सैन्य हेलिकप्टर हो ।

यअघि सन् २०२१ अगस्त १३ तारिखमा पनि १६ जना पर्यटक सवार रहेको एमआई–८ हेलिकप्टर कमजोर दृश्यताका कारण कामचट्काको तालमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा पनि एउटा विमान प्रायद्वीपमा अवतरण गर्ने क्रममा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

प्रस्तावित चार मुलुकका राजदूतको संसदीय सुनुवाइ

काठमाडौँ, १६ भदौः संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।समितिको आजको बैठकले प्रस्तावित राजदूतहरू क्रमश ः प्राडा कृष्णप्रसाद ओली, डा शङ्कर शर्मा, डा शैल रुपाखेती र सुम्निमा तुलाधरको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

उहाँहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै जिम्मेवारीका लागि प्रस्ताव गरिएको देश र नेपालबीच सरकार र नागरिकस्तरको सम्बन्ध, व्यापार, लगानी, सहयोग र भ्रमण आदानप्रदानसम्बन्धी वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराउनुभयो ।

त्यस अवसरमा भारतका लागि प्रस्तावित राजदूत डा शर्माले खुला सिमाना, साझा संस्कृति, आर्थिक अन्तरनिर्भता र जनस्तरको सम्बन्धका कारण नेपाल–भारतबीचको मित्रता विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी तहमा मात्र नभइ जनस्तरमा समेत दुई देशबीच गहिरो सम्बन्ध छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार, पर्यटकका लागि ठूलो स्रोत, पेट्रोलियम पदार्थको एक मात्र आपूर्तिकर्ता र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत हो ।”

चीनका लागि प्रस्तावित प्राडा ओलीले सभ्यता, ज्ञानविज्ञान, दर्शन, बुद्धिज्मसम्बन्धी विषयको साटासाट तथा मञ्जुश्रीको नेपाल आगमन, बुद्धभद्रको चीन भ्रमण, वैवाहिक सम्बन्धलगायत कारण नेपाल र चीनबीच परापूर्वकालदेखि नै ऐतिहासिक तथा घनिष्ट सम्बन्ध रहिआएको बताउनुभयो । “दुई देशबीचमा उच्च तहका भ्रमण, व्यापार, शिक्षा, पर्यटन, भौतिक पूर्वाधार निर्माण, लगानी, अनुदानलगायत विभिन्न क्षेत्रमा आर्थिक सम्बन्ध र सहयोग विस्तार भएको छ ।”

जर्मनीका लागि प्रस्तावित राजदूत डा शैल रुपाखेतीले युरोपेली मुलुक जर्मन र नेपालबीचको सम्बन्ध निकै घनिष्ट रहेका जनाउँदै आफनो नाम अनुमोदन भएमा उच्चस्तरीय भ्रमण, लगानी प्रवर्द्धन र आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जर्मनमा करिब १० हजार नेपाली विभिन्न पेसा व्यवसायमा संलग्न रहेको तथ्याङ्क छ । जर्मनी नेपालको पुरानो मित्रवत् सम्बन्ध भएको मुलुक हो, दुई देशबीच सिधा हवाई सेवा सञ्चालनका लागि नेपाल वायु सेवा निगमको जहाज युरोपेली आकाशमा उडाउने अनुमतिका लागि आफ्नो विशेष पहल हुनेछ ।”

डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले डेनमार्क र नेपालबीच प्रगाढ सम्बन्ध रहेकै कारण नेपालको आर्थिक विकासमा डेनमार्कको निरन्तर सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

सरकारले इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ । यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेलाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि नाम पठाएको छ । स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस गरिएको छ ।