`

सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्ने

Nepal One HD १२ फागुन २०८१ १८:१९
राजनीति

काठमाडौं, १२ फागुन : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

“सशस्त्र प्रहरीको बढुवाको पहिलो आधार ज्येष्ठता नै बनाउनुपर्छ । कार्यसम्पादन मूल्याङकनलाई बढुवाको पहिलो आधार बनाउँदा चलखेलको आशङ्का हुन्छ”, सांसद पाण्डेले भन्नुभयो ।

सांसद पाण्डेले ‘चेन अफ कमाण्ड’मा विधेयक फितलो देखिएको टिप्पणी गर्नुभयो । सो विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अलग अलग जिम्मेवारी भएकाले त्यसलाई अझ स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।

“सशस्त्र प्रहरीले अनुसन्धान गर्ने हैन । नेपाल प्रहरीले अनुसन्धान गर्ने हो । आआफनो क्षेत्राधिकार स्पष्ट गर्नुपर्छ”, सांसद परियारले भन्नुभयो, “सशस्त्रलाई सीमा सुरक्षाको छुट्टै मापदण्ड बनाएर अधिकार दिन सक्यौँ भने ऐन समृद्ध हुन सक्छ ।”


प्रतिक्रिया