`

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन

काठमाडौँ, १६ भदौ : अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ ।

पहिलो टोली चितवनबाट पूर्वमेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी, आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो । यसैगरी, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो ।

रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला

रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो ।

उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको उक्त हेलिकप्टर कामचट्का जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो ।

उद्धारकर्ताहरूले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गर्नुभएको श्रव्यदृश्यमा उल्लेख गर्नुभएको छ । दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष एउटा ठूलो जङ्गलको पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ ।

सो दुर्घटनाग्रस्त हेलिकप्टर राडार रहेको स्थान नजिकै भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारी इभान लेमिखोभले भन्नुभयो, “उक्त क्षेत्रमा हामीले १७ शव फेला पारेका छौँ ।”

दुर्घटनाग्रस्त एमआई हेलिकप्टर सोभियत सङ्घले निर्माण गरेको सैन्य हेलिकप्टर हो ।

यअघि सन् २०२१ अगस्त १३ तारिखमा पनि १६ जना पर्यटक सवार रहेको एमआई–८ हेलिकप्टर कमजोर दृश्यताका कारण कामचट्काको तालमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा पनि एउटा विमान प्रायद्वीपमा अवतरण गर्ने क्रममा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

प्रस्तावित चार मुलुकका राजदूतको संसदीय सुनुवाइ

काठमाडौँ, १६ भदौः संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।समितिको आजको बैठकले प्रस्तावित राजदूतहरू क्रमश ः प्राडा कृष्णप्रसाद ओली, डा शङ्कर शर्मा, डा शैल रुपाखेती र सुम्निमा तुलाधरको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

उहाँहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै जिम्मेवारीका लागि प्रस्ताव गरिएको देश र नेपालबीच सरकार र नागरिकस्तरको सम्बन्ध, व्यापार, लगानी, सहयोग र भ्रमण आदानप्रदानसम्बन्धी वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराउनुभयो ।

त्यस अवसरमा भारतका लागि प्रस्तावित राजदूत डा शर्माले खुला सिमाना, साझा संस्कृति, आर्थिक अन्तरनिर्भता र जनस्तरको सम्बन्धका कारण नेपाल–भारतबीचको मित्रता विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी तहमा मात्र नभइ जनस्तरमा समेत दुई देशबीच गहिरो सम्बन्ध छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार, पर्यटकका लागि ठूलो स्रोत, पेट्रोलियम पदार्थको एक मात्र आपूर्तिकर्ता र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत हो ।”

चीनका लागि प्रस्तावित प्राडा ओलीले सभ्यता, ज्ञानविज्ञान, दर्शन, बुद्धिज्मसम्बन्धी विषयको साटासाट तथा मञ्जुश्रीको नेपाल आगमन, बुद्धभद्रको चीन भ्रमण, वैवाहिक सम्बन्धलगायत कारण नेपाल र चीनबीच परापूर्वकालदेखि नै ऐतिहासिक तथा घनिष्ट सम्बन्ध रहिआएको बताउनुभयो । “दुई देशबीचमा उच्च तहका भ्रमण, व्यापार, शिक्षा, पर्यटन, भौतिक पूर्वाधार निर्माण, लगानी, अनुदानलगायत विभिन्न क्षेत्रमा आर्थिक सम्बन्ध र सहयोग विस्तार भएको छ ।”

जर्मनीका लागि प्रस्तावित राजदूत डा शैल रुपाखेतीले युरोपेली मुलुक जर्मन र नेपालबीचको सम्बन्ध निकै घनिष्ट रहेका जनाउँदै आफनो नाम अनुमोदन भएमा उच्चस्तरीय भ्रमण, लगानी प्रवर्द्धन र आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जर्मनमा करिब १० हजार नेपाली विभिन्न पेसा व्यवसायमा संलग्न रहेको तथ्याङ्क छ । जर्मनी नेपालको पुरानो मित्रवत् सम्बन्ध भएको मुलुक हो, दुई देशबीच सिधा हवाई सेवा सञ्चालनका लागि नेपाल वायु सेवा निगमको जहाज युरोपेली आकाशमा उडाउने अनुमतिका लागि आफ्नो विशेष पहल हुनेछ ।”

डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले डेनमार्क र नेपालबीच प्रगाढ सम्बन्ध रहेकै कारण नेपालको आर्थिक विकासमा डेनमार्कको निरन्तर सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

सरकारले इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ । यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेलाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि नाम पठाएको छ । स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस गरिएको छ ।

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन-२ घोषणा

न्युयोर्क (अमेरिका), १६ भदौः सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्टिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ ।

एक्रोन सहरको कोप्ले खेलमैदानमा नेपालका वरिष्ठ कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको साङ्गीतिक समारोहमा आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गर्नुभएको हो ।

प्रतियोगिताको अडिसनका लागि विश्वका विभिन्न मुलुकमा स्थलगत अडिसन तय गरिएका छन् । नेपालभित्र र संसारका जुनसुकै ठाउँमा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास राख्ने नेपालीभाषी समुदायका लागि रियालिटी शो आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताउनुभयो । ‘रियालिटी शो’ का लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, मध्यपूर्वका लागि दुबई, अष्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिक्किम र नेपालमा दमक, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसनहरू आयोजना गरिने उहाँले बताउनुभयो । “भ्वाइसका लागि यसरी छनोट भएका एक सय २० र डान्सका लागि एक सय २० गरी दुई सय ४० कलाकारलाई अन्तिम प्रतिस्पर्धीका लागि काठमाडौँ लगिनेछ । ‘रियालिटी शो’ का विजेतालाई रु एक करोड, दोस्रो हुनेलाई रु २५ लाख र तेस्रोलाई रु १० लाख पुरस्कार प्रदान गरिने छ”, उहाँले भन्नुभयो ।

‘रियालिटी शो’दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, नायक दिलीप रायमाझी, गायिकाहरू अञ्जु पन्त, मिलन नेवार, सुजाता वर्मा, गायकहरू यम बराल, केशव पौडेल, खेम सेन्चुरी, मन आले, प्रवीण बर्देवा, बाल गायिका अनुया तामाङ, नृत्य निर्देशक शङ्कर बिसी र पार्वती राई, नृत्य प्रशिक्षक रुपेश उप्रेती, विकास घले एवं इन्टाको डान्स स्कूल अमेरिकाका किशोर–किशोरी कलाकारहरूले आ–आफ्नो प्रस्तुति तथा विचार व्यक्त गर्नुभएको थियो । यी दुई ‘रियालिटी शो’ को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

रुकुम, १६ भदौः डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवरण गरेको छ ।

डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्राइले जानकारी दिनुभयो ।

हेलिकोप्टरमा मुख्यमन्त्रीसहित उहाँकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित पाँच जना रहेका बताइएको छ ।

यहाँ आज बिहानैदेखि वर्षा भइरहेको छ ।

जेलमा १५० विदेशी रहेको अफगानिस्तानको भनाइ

अफगानिस्तानको जेलमा करिब १५० जना विदेशी नागरिकलाई राखिएको त्यहाँको कारागार प्रशासनका एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।

“हाल अफगानिस्तानको जेलमा छली तथा जालसाजीलगायत विभिन्न अपराध गरेको अभियोगमा करिब १५० जना विदेशी थुनिएका छन्”, प्रशासनका कार्यवाहक प्रमुख मौलवी मोहम्मद युसुफ मुस्तारीले भन्नुभयो, “उनीहरू छिमेकीमुलुक लगायत विभिन्न देशबाट अफगानिस्तान आएका समय पक्राउ परेका हुन् ।”

मुस्तारीले भन्नुभयो, “अहिले आठदेखि नौ हजार अफगानी नागरिक विदेशका जेलमा छन् भने र तीमध्ये अधिकांश इरानमा छन्।

अधिकारीका अनुसार अफगानिस्तानका नागरिक इरान, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानलगायत देशका जेलमा छन् । मुस्तारीका अनुसार अफगानिस्तानको जेलमा हाल एक हजार महिलासहित करिब ११ हजार व्यक्ति रहेका छन् ।

हात्तीबाट जुम्ल्याहा सन्तानको जन्म

दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ ।

अगष्ट २६ मा जन्मिएका केटाकेटी (एक भाले र एक पोथी) दुबै स्वस्थ रहेका र उनीहरूकी आमा पनि स्वस्थ रहेको विङगबाउ हात्ती शिविरका पशु चिकित्सक मायो मिन आङले बताउनुभयो ।

आङका अनुसार पहिले केटो र त्यसको चार मिनेटपछि केटी जन्मिएका थिए ।

जुम्ल्याहा हात्तीले सुरुमा दुई दिनसम्म आमाको दूध पिउन नसक्ने भएकाले उनीहरूलाई बोतलबाट दूध खुवाइएको थियो । तेस्रो दिनदेखि जुम्ल्याहा बच्चाले आमाको दूध खान थालेका छन् ।

सन् १९६० पछि म्यान्मामा हात्तीको जुम्ल्याहा सन्तान जन्मेको जानकारी भएको यो १२ औं घटना हो ।

अहिले विङबाउ हात्ती शिविरमा नयाँ जुम्ल्याहा केटाकेटीसहित नौ वटा हात्ती रहेको र यो दुर्लभ जन्म भएकाले उनीहरूलाई विशेष हेरचाहका लागि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकमा सिफारिस समितिको संयोजक लोक सेवा आयोगका प्रतिनिधि राख्ने सहमति

काठमाडौँ, १६ भदौः सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकमा सिफारिस समितिको संयोजक लोक सेवा आयोगका अध्यक्ष वा सदस्य रहने प्रस्तावमा सहमति जुटेको छ ।

आज बसेको प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा छनोट सिफारिस समितिको संयोजक लोक सेवा आयोगका अध्यक्ष वा सदस्य रहने प्रस्तावमा बहुमतले सहमति जुटाएको हो ।

रेडियो नेपाल र नेपाल टेलिभिजन समायोजन गर्न बनेको सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक लामो समयदेखि छलफलमै छ ।

समितिका सभापति अम्मरबहादुर थापाले छनोट समिति संयोजकको विषयमा विवादका कारण रोकिएको विधेयकमा आज सहमति जुटेको बताउनुभयो । अब कानुनी भाषा मिलाएर विधेयकको प्रतिवेदन तयार पार्न सूचना तथा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सह–सचिव मानबहादुर अर्याललाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

विधेयकमाथिको छलफलका क्रममा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी मातहतका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक र सक्षम बनाउन खुला प्रतिस्पर्धाबाट नेतृत्व छनोछ गर्ने विधिमा जोड दिनु उपयुक्त हुने बताउनुभयो । “हामी व्यक्ति केन्द्रित नभइ प्रतिस्पर्धात्मक विधिलाई अवलम्बन गर्नुपर्छ र संस्थालाई आत्मनिर्भर बनाउने जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

छलफलमा सांसद सुमना श्रेष्ठले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक’को परिषद् गठन प्रक्रियामा भने फरक मत राख्नुभएको छ । परिषद्को गठनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री अध्यक्ष हुने प्रस्ताव छ । उक्त प्रस्तावमाथि सांसद श्रेष्ठले परिषद्को प्रमुख सरकारको प्रतिनिधि हुने हो भने समाचार सेवा प्रभावित हुने भन्नुहुँदै उहाँले नागरिकलाई निष्पक्ष सूचना प्रदान गर्न स्वतन्त्र नेतृत्व हुनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीको व्यवस्थापनबारे छलफल गरिएको थियो । सांसद छविलाल विश्वकर्मा, प्रभु हजारा, दीपा शर्मा, डिगबहादुर लिम्बु, देवेन्द्र पौडेल, रामप्रकाश चौधरीलगायतले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।

मधेस द्रुतमार्ग सडक आयोजनाः पुँजीगत लाभकरमा छुट दिइने

काठमाडौँ, १६ भदौः सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ ।

यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोजिम त्यस्तो जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिन स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले पीपलटार देउडी सडक निर्माणका लागि नुवाकोटको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको पाँच दशमलव एक सय ४२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

अनुदान सहायता स्वीकार

बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपेली सङ्घबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताका रूपमा प्राप्त हुने दुई मिलियन युरो गरी २५ मिलियन युरो (करिब रु तीन अर्ब ६७ करोड ४७ लाख) बराबरको अनुदान सहायता, जर्मनी सरकारबाट विद्युत् वितरण सुदृढीकरण कार्यक्रमअन्तर्गत प्राप्त हुने १० मिलियन युरो (करिब रु एक अर्ब ४६ करोड) बराबरको अनुदान स्वीकार गर्ने निर्णय भएको मन्त्री गुरुङले बताउनुभयो ।

ज्यान मार्ने उद्योग मुद्दाका पीडित विन्दवासिनी कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराइने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा शोधभर्ना गर्ने व्यवस्था मिलाइने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

विदेश भ्रमण स्वीकृत

यस्तै, आगामी असोज ८ देखि १० सम्म सिङ्गापुरमा आयोजना हुने इन्टरनेसनल फाउन्डेसन फर इलेक्ट्रोरल सिस्टमको एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिइएको छ ।

थाइल्यान्डको बैङ्ककमा यही भदौ २४ देखि २८ सम्म आयोजना हुने एसियन अफ्रिकन लिगल कन्सल्टेटिभ अर्गनाइजेसनको ६२औँ वार्षिकसभामा सहभागिताका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरिएको छ ।

इन्डोनेसियाको जाकार्तामा आगामी असोज १० मा सञ्चालन हुने पाँचौँ मन्त्रिस्तरीय बैठकलगायत कार्यक्रममा सहभागिताका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई स्वीकृति दिइएको छ ।

यसैगरी, सोही बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकको सरुवा गरिएको छ । सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग, मानव स्रोतमा कार्यरत चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षामा र कार्य विभागमा कार्यरत वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

यस्तै, सहसचिव भरत खनाललाई महावाणिज्यदूतावास ग्वान्जाओको महावाणिज्यदूत, झक्कप्रसाद आचार्यलाई महावाणिज्यदूतावास कोलकाता, लक्ष्मीप्रसाद निरौलालाई ल्हासास्थित महावाणिज्यदूत पदमा एक अवधिका लागि नियुक्त गरिएको छ ।

सरकारले भुम्लु गाउँपालिका काभ्रेपलाञ्चोकलाई गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि सोही गाउँपालिकामा रहेको राष्ट्रिय वनको शून्य दशमलव तीन हेक्टर जग्गा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छभने सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहनेगरी स्थान तोकिएको छ । यस्तै, चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा दिनेशराज दहाल (डिसी)लाई नियुक्त गरिएको छ ।

एनसेललाई किस्ताबन्दी सुविधा

सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको तेस्रोपटक अनुमतिपत्र नवीकरणका लागि किस्ताबन्दीको सुविधा दिएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा २० अनुसार उक्त सुविधा दिइएको हो । नवीकरण दस्तुर प्रत्येक वर्ष रु पाँच अर्बका दरले चार किस्तामा विभाजन गरी भुक्तानी गर्न सुविधा दिइएको हो । किस्ता सुविधा लिएमा १० प्रतिशत बराबर ब्याजसमेत लाग्नेछ ।

यस्तै, सरकारले मुख्यसचिवमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गरेको छ । नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलाको यही भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जानुभएकाले अर्याललाई मुख्यसचिवका रूपमा नियुक्त गरिएको हो ।

यस्तै, राष्ट्रिय योजना आयोगका सचिव डा तोयानारायण ज्ञवालीले दिनुभएको राजीनामा स्वीकृत गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सङ्गठन र दरबन्दी तेरिज स्वीकृत गरिएको छभने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत चालु आवका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

काठमाडौँ, १६ भदौः आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।

भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानकानुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ ।

टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् । pic – CAN

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

काठमाडौँ, १६ भदौः नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण क्षेत्रमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

महासङ्घले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउनसमेत अनुरोध गरेको छ । श्रमिकका लागि राज्यले एकद्वार प्रणालीमार्फत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले महासङ्घले सुरु गर्न लागेको तालिम केन्द्र सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

महासङ्घले राज्यका विभिन्न निकायले दिने तालिमलाई समयानुकूल बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष सिंहले मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढीलाई रोजगारी दिइरहेको उल्लेख गर्दै स्वदेशमा श्रमिकको अभाव भएर भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीअन्तर्गत निर्माण क्षेत्रमा जाने श्रमिकलाई दक्ष बनाउन महासङ्घसँगको सहकार्यमा तालिम दिइने बताउनुभयो । उहाँले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट प्रदान गरिने सीप तालिमलाई अन्तर्राष्ट्रियस्तरको बनाइने स्पष्ट पार्नुभयो ।

मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधारः डेपुटी गभर्नर मिश्र

काठमाडौँ, १६ भदौः नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताउनुभएको छ ।

‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)ले आज आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रियामा उहाँले मौद्रिक नीतिको कार्यदिशा सजकतापूर्वक लचिलो बनाइएको र नियामक व्यवस्थामा सुधार भएकाले अर्थतन्त्र विस्तारै चलायमान बन्दै गइरहेको उल्लेख गर्नुभयो ।

“बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएका छन्”, डेपुटी गभर्नर मिश्रले भन्नुभयो । पुँजीबजारमा देखिएको वृद्धि पनि मौद्रिक नीतिकै कारण भएको उहाँको भनाइ थियो ।

डेपुटी गभर्नर मिश्रले राजस्व कम भए पनि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीतिगत सम्बोधनको प्रयास गरिरहेको बताउनुभयो । उहाँले नेपालमा एसेम्बल भएका सवारीसाधनलाई प्रोत्साहित गर्दै थोरै मात्रै भए पनि छुट सुविधा दिन सकिए स्वदेशी उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिनेमा विश्वास व्यक्त गनुभयो ।

कार्यक्रममा बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंक तथा वित्तीय क्षेत्रले विद्युतीय सवारीसाधनको प्रवद्र्धन र पर्यावरणमैत्री बनाउन सहकार्य जारी राख्ने धारणा राख्नुभयो ।

बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष उपेन्द्र पौडेलले अटोमोबाइल व्यवसायलाई उत्पादनशील बनाइनुपर्नेमा जोड दिनुभयो । स्वदेशी ऊर्जाको खपत र पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल अटोमोबाइल्स एशोेसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले विद्युतीय सवारीसाधनको प्रोत्साहनका लागि उपभोक्ताको मागअनुसार चार्जिङ सेन्टर पनि विस्तार गर्दै लगिने बताउनुभयो ।

विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल

लुम्बिनी, १६ भदौः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विकास र समृद्धिकै लागि राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउनुभयो ।

“दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता हामीलाई छैन”, उहाँले भन्नुभयो, “अब विकास र समृद्धिका लागि जनचाहनाअनुसार ध्यान केन्द्रित गरेका छौँ ।”

मन्त्री दाहालले सरकारमा जो आए पनि उस्तै हो भन्ने जनतामा रहेको धारणालाई तोड्ने गरी सरकारले विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुुभयो । “सरकारमा जो आए पनि उस्तै त हो, भन्ने मनोविज्ञान बनाउने प्रयास पनि गरिएको छ । अब यसलाई वर्तमान सरकारले तोड्नु छ”, उहाँले भन्नुभयो, “जनताको चाहना विकास निर्माण हो, सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्नेगरी काम अघि बढाएको छ ।”

मन्त्री दाहालले सरकारले एक महिनाभित्र पुराना योजनाको बक्यौता रकम भुक्तानगरी निर्माणलाई आगामी महिनादेखि तीव्रता दिने बताउनुभयो । उहाँले राजश्व सङ्कलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएपनि ती समस्या हल गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिबद्धताहरु आएको र सोहीअनुसार काम अघि बढेकाले स्पष्ट पार्नुभयो ।

सरकारले नयाँ योजनालाई अघि बढाउनेभन्दा पनि पुराना योजनालाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित भएको भन्दै मन्त्री दाहालले असोजपछि निर्माण कार्यलाई तीव्रताकासाथ अघि बढाइने बताउनुभयो ।

बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको कार्यप्रगतिबारे जानकारी लिएपछि मन्त्री दाहालले अबको एक सय दिनभित्रै ‘ब्रेक थ्रु’ हुनेगरी तीव्र्रता दिन निर्देश गरिएको बताउनुभयो ।

यसैगरी बुटवल–नारायणगढ सडक विस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै उहाँले निर्माण कम्पनीले विभिन्न समस्या देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भए पनि उक्त समस्या सरकारका कारणले नभई स्वयं निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताउनुभयो ।

रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, १६ भदौः भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताउनुभयो ।

दुर्घटनामा तीनजना घाइते

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था मध्यम छ । उहाँका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ ।

यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ ।

चौँरीपालन व्यवसायमा भोजपुरका किसानको आकर्षण घट्दो

भोजपुर, १६ भदौः जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो ।

चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौँरीगोठ अहिले आठ÷दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताउनुभयो । पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उहाँको भनाइ छ ।

आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चाँैरीपालनतर्फ आकर्षण घट्दै गएको उहाँको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताउनुभयो । चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उहाँको भनाइ छ ।

“चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ”, किसान राईले भन्नुभयो, “तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ । चरन अभाव हुँदा व्यवसाय नै सङ्कटमा पर्ने अवस्था छ ।” यो व्यवसायबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ । “व्यावसायिक चौँरीपालनमा धेरै चुनौती छन्”, राईले भन्नुभयो, “लेकाली भेगमा पालन गर्नुपर्ने व्यवसाय भएकाले दुःखकष्ट धेरै सामना गर्नुपर्छ । आम्दानी राम्रो हुने भए पनि पछिल्लो समय धेरैले यो व्यवसाय छाडेको अवस्था छ ।”

चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताउनुभयो । नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ । छुर्पी प्रतिकेजी रु आठदेखि एक हजारसम्म बिक्री हुने गरेको छ । यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ । चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झर्ने गरेका छन् ।

चरन अभावमा बाउबाजेको पालाबाट गरी आएको चाँैरीपालन व्यवसाय सङ्टकमा पर्दै गएको किसान विमल राईले बताउनुभयो । चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उहाँको भनाइ छ । सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चाँैरी नफस्टाउने उहाँले बताउनुभयो । चरन क्षेत्र अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपर्दा धेरैले व्यवसाय छाड्दै गएको राई बताउनुहुन्छ ।

पछिल्लो समय चौँरीका लागि चाहिने पोषिलो घाँस मासिँदै गएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ । चौँरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ । चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाछाबाछी चौँरी हुन् । चौँरी गाई तथा याकलाई रिसाहा जनावरका रूपमा पनि लिने गरिन्छ ।

नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही

नवलपरासी, १६ भदौः पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो ।

अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । फार्मेसी सञ्चालक उपस्थित नभई औषधि बिक्री गर्ने गरेको र बिलबिजक नराखेको समिता मेडिकललाई रु १० हजार जरिवाना गरिएको छ ।

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।

यसअघि दर्ताबिना सञ्चालन गरिएको उक्त पसललाई अनुगमन टोलीले सिल गरेको थियो । ती दुवै पसललाई सात दिनभित्र आवश्यक कागजपत्र लिएर जिल्ला प्रशासनमा जान निर्देशन दिइएको र कागजपत्र बुझाउन नसके पसल सिल गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिनुभयो । अनुगमनका क्रममा केही पसलले खरिद बिक्री खाता र बिल काट्ने गरेको नपाइएकाले त्यसलाई नियमित गर्न चेतावनी दिइएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताउनुभयो ।

जिल्ला औषधि व्यवसायी सङ्घका अनुसार जिल्लामा दुई सय १० औषधि पसल रहेकामा ६० विनादर्ता सञ्चालनमा रहेको जानकारी आएकाले क्रमशः अनुगमन गरेर कानुनी दायरामा ल्याइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एक सय ५० औषधि पसल औषधि विभागमा दर्ता भएर सञ्चालनमा छन् ।

थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

कञ्चनपुर, १६ भदौः खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।

साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताउनुभयो ।

उहाँका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ । यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ ।

गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दुर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले बताउनुभयो । “पूजा हुनुअघिसम्म मादल बजाउन पाइँदैन”, उहाँले भन्नुभयो, “पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन भने छ ।”

गाँधी, गुभियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ । केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्दछन् । यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ । तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकाको जीउमा देवता सवार गराउने चलन पनि रहेको छ । केशौकाको जीउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्दछन् । शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाध्ने कार्य गरिन्छ । आगोले नछोएमा सुभसङ्केतका रूपमा लिइन्छ । दुई दिन लगाएर यो पूजा सम्पन्न गरिन्छ ।

पूजा सकिएको दिउँसोदेखि रातभर नाचगान गर्ने गरिन्छ । यो पूजा गरेमा धानबाली सप्रिने र खेतबारीमा हरियाली भइरहने भन्ने विश्वास रहेको जोनापुरका बरका गुरुवा फूलराम चौधरीले बताउनुभयो । उहाँका अनुसार पूजाको अर्को दिन खरिभन (दूध र आगो) खेतको पानीमा मिसाउने चलन छ । त्यसो गर्दा धानबाली सप्रिने जनविश्वास रहेको छ । थारू समुदायका गाउँमा अहिले यो पूजा गर्ने क्रम सुरु भएको छ ।

गायक, संगीतकार दुर्गेश थापाले ल्याए ‘बीच्च बीच्चमा ७’, भिडियोको चर्चा

काठमाडौं । तीजको अबसरमा निरन्तर ‘बीच्च बीच्चमा’ नामको सिरिज ल्याएर चर्चा कमाएका गायक, संगीतकार दुर्गेश थापाको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो तीजबाट ‘बीच्च बीच्चमा’ सिरिजलाई बीट मार्ने घोषणा गरेका थापाले अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ ल्याएका हुन् ।

जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । आफ्नै निर्देशनमा भिडियो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफुलाई उभ्याएका छन् ।

मौसम हिमालीको नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामा फिचर्ड छन् । दुर्गेश र पेमा यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिएका थिए । यो गीतमा शब्द, संगीत, स्वर दुर्गेश एक्लैको रहँदा एरेञ्ज शाहष शाक्यको र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोमा छायांकन नवराज उप्रेतीको छ ।

‘बीच्च बीच्चमा’ सिरिज सातौं शृङ्खलासम्म आउँदा दर्शक श्रोता तथा शुभचिन्तकहरूबाट प्राप्त प्रेम र स्नेहप्रति कृतज्ञ छु, दुर्गेशले भने ‘यहाँहरूले देखाउनु भएको मर्गदर्शनलाई सिरोधार्य गर्दै आगामी दिनमा थप उत्कृष्ट र दर्शक अपेक्षित कोशेली ल्याउन प्रतिवद्ध छु ।’ भिडियो:

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

बागमती, १६ भदौः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०÷८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।

अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिनुभयो ।

उक्त आव मा सो कार्यालयले ऐन, नियमबमोजिम सङ्कलित तीन ५०, अनुज्ञापत्र तथा नवीकरण गर्न सङ्कलित दुई हजार ७४, अनुरोधात्मक नमूना एक सय ५२ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि एक सय ६२ गरी दुई हजार सात ३८ नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।

नमूना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमूनाहरूलाई नियामनुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र सिन्धुली तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका खाद्य निरीक्षकहरूबाट आव २०८०÷८१ मा नमूना विश्लेषण प्रयोजनका लागि सङ्कलित तीन सय नौवटा नमूना प्रयोगशाला विश्लेषणका क्रममा नौवटा नमूना प्रतिकूल पाइएकाले प्रतिकूल पाइएका ती नमूनाउपर थप अनुसन्धान अघि बढाइएको प्रमुख घिमिरेले बताउनुभयो ।

सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेका लगायत अखाद्य भएका रु ११ लाख २० हजार सात सय ४६ मूल्य बराबरको वस्तु जफत गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ । यस्तै सो कार्यालयले उक्त आवमा उद्योग स्थापनाका लागि ८६ खाद्य उद्योगलाई सिफारिस तथा ६० खाद्य तथा दाना उद्योगलाई अनुज्ञापत्र जारी गरी कुल तीन सय ११ उद्योगलाई सेवा उपलब्ध गराएको जनाएको छ ।

होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा मुग्लिन, सौरहालगायतका स्थानमा सञ्चालित ४२ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । सो कार्यालयले उक्त आवमा विभिन्न शीर्षकमा रु २२ लाख ३२ हजार नौ सय ६० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

घोडेपानी आउने पर्यटकलाई पोखरेबगर–घोडेपानी सडक नै समस्या

म्याग्दी, १६ भदौः पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौती बनेको छ । लुलिया र हल्लेखर्कमा साँघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गरे पनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्कबिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

“गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीययाम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।”

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । लुुलियामा करिब ५० मिटर र हल्लेखर्कमा एक सय मिटर दूरीमा पहिरोसँगै सडक बगेको छ । लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन नसकेको अन्नपूूर्ण–६ बिरौटाका कृषक शिव खड्काले बताउनुभयो ।

बिरौटाको फार्मबाट पोखरेबगर जाने क्रममा शनिबार खड्का चढेको मोटरसाइकल लुलियाको पहिरोमा पल्टिएर करिब एक सय लिटर दूध, दही पोखिएको थियो । “साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर मोटरसाइकल र जिप उकाल्नुुपर्छ”, उहाँले भन्नुभयो, “याँ ठाउँमा ज्यानको माया मारेर सवारीसाधन चलाउनुपर्छ । यस ठाउँको सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि बेवास्ता भएको छ ।”

अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो । अन्नपूूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दाका साथै घोडेपानी जाने आउने पर्यटकले यो सडक प्रयोग गर्छन् ।

वार्षिक ३० हजारजनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवातिलिजा पुनले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेटेर पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध

भरतपुर (चितवन), १६ भदौः गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिनुभयो । यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो ।

अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन । घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताउनुभयो । यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।

बङ्गलादेशले हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सक्छ : विदेशमामिला सल्लाहकार

पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् ।बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताउनुभएको हो। यसले भारत सरकारलाई अफ्ठ्यारोमा पार्नसक्ने उहाँले बताउनुभएको छ ।

ढाकामा रोयटर्स टिभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले बताउनुभएको हो, “उहाँको विरूद्धमा धेरै मुद्दाहरू छन् । उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ । यदि गृह मन्त्रालय र कानून मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बङ्गलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ ।”

“भारत सरकारलाई यो थाहा छ र मलाई लाग्छ उनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन्,” होसेनले भन्नुभयो ।

बङ्गलादेशमा आन्दोलनमा उच्च सहभागिता देखिएपछि र यो सिधै प्रधानमन्त्रीको कार्यालयतर्फ लक्षित भएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुग्नुभएको थियो। त्यसपछि बङ्गलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको थियो।

हसिना प्रधानमन्त्री रहेका समय विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो । उहाँविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो।

ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ ।

बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार मानवअधिकार उल्लङ्घनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन् ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकार पूर्व प्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति ’निकै दुःखी’ रहेको र यसबारे भारतीय राजदूतलाई एक भेटमा अवगत गराएको वर्तमान् सरकारका विदेशमामिला सल्लाहकार होसेनले बताउनुभएको छ ।

होसेनले रोयटर्स टिभीलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “पूर्वप्रधानमन्त्रीबाट भारतबाट जसरी वक्तव्य आइरहेका छन्, त्यसबाट वर्तमान् सरकारका प्रमुख प्रोफेसर युनुस निकै दुःखी हुनुहुन्छ। मैले यो कुरा भारतीय उच्चायुक्तलाई अवगत गराएको छु।”

उहाँले रोयटर्स टिभीसँगको अन्तर्वार्तामा अगाडि भन्नुभयो, “मैले प्रेसलाई पनि भनेको छु कि हामी पारदर्शी सम्बन्धमा विश्वास गर्छौँ । त्यसैले हामीले यो सन्देश दिएका हौँ ।
वास्तवमा त्यहाँ केही गोप्य आधारहरू हुन सक्छन्। हामी आशा गरौं कि उनीहरूले सम्बन्धमा दरार आउने गतिविधिबारे सोचविचार गर्नेछन्।”

होसेनले सेप्टेम्बरसम्ममा बङ्गलादेशमा निर्वाचनको सम्भावनाबारे समयसीमाबारे जानकारी आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सल्लाहकार परिषद्मा रहेका मेरा सबै सहकर्मीहरू वातावरणलाई सामान्य अवस्था फर्काउने काममा निकै व्यस्त छन्। मलाई लाग्छ सेप्टेम्बरदेखि सबै कुरा सामान्य हुनेछ, सामान्य अवस्था र सामान्य काम गर्ने तरिका सुरु हुनेछ।”

रोहिङ्ग्यालाई शरण दिने विषयमा होसेनले बङ्गलादेशले आफ्नो हिस्साभन्दा बढी काम गरेको र थप रोहिङ्ग्र्या प्रवेश गर्न दिन सक्ने अवस्थामा नरहेको बताउनुभयो। उहाँले भारतलगायत अन्य देशले पनि यसको जिम्मेवारी लिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी थप रोहिङ्ग्या प्रवेश गर्न दिन सक्ने अवस्थामा छैनौं । यो एउटा मानवीय मुद्दा हो, जसले बङ्गलादेशलाई मात्र होइन, पूरै विश्वलाई समेटेको छ । हामीले आफ्नो हिस्साभन्दा बढी काम गरेका छौं र यसको जिम्मा विश्वले लिनुपर्छ।”

अन्तवार्तामा होसेनले भन्नुभयो, “अन्य देशहरूले उचित देशहरूमार्फत अहिले रखाइन राज्यको मुख्य अभिनेता अराकान सेनामाथि दबाब दिनुपर्छ।”
ढाका ट्रिब्युनको रिपोर्टअनुसार बङ्गलादेशको अन्तरिम सरकारले हसिना, उहाँका सल्लाहकार, क्याबिनेटका पूर्व सदस्यहरू र १२ औं राष्ट्रिय संसदका सबै सदस्यहरूको राहदानी रद्द गरेको छ।

बङ्गलादेशको अन्तरिम सरकारले आफ्ना पति वा पत्नी र छोराछोरीको कूटनीतिक राहदानी पनि तत्काल प्रभावी हुनेगरी रद्द गरेको ढाका ट्रिब्युनले जनाएको छ।

हसिनाले आफ्नो पदबाट राजिनामा दिएपछि बङ्गलादेशमा तरल राजनीतिक परिस्थिति उत्पन्न भएको छ । गत अगस्ट ५ मा बङ्गलादेशबाट सैनिक विमानबाट भारत आएकी हसिना हाल भारतमा बस्दै आउनुभएको छ ।

अगस्ट ८ मा नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिनुभएको थियो भने सरकारमा अन्य १७ सदस्यले ढाकामा आयोजित एक समारोहबीच शपथ लिएका थिए ।

ग्रीसको भोलोसमा मरेका माछा हटाउन एक महिना सङ्कटकालको घोषणा

मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि यसबाट स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सरकारले सफाइका लागि एक महिना सङ्कटकालको घोषणा गरेको छ।

एथेन्स समाचार एजेन्सीका अनुसार जलवायु मन्त्रालयका नागरिक सुरक्षामामिला मन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्नेछ । भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन्।

एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो ।बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो । “थेसली विश्वविद्यालयका कृषि र वातावरणका प्राध्यापक दिमित्रिस क्लाउडाटोसले भन्नुभयो, “गत शरद ऋतुमा ड्यानियल र एलियासको आँधीबेहरीपछि थेस्सालीको लगभग २० हजार हेक्टर समथर भूमिमा बाढी पसी व्यवसायिकरूपमा पालेका स्वच्छ पानीका माछालाई नदीहरूले समुद्रमा लगेका थिए।”

अहिले बाढीको प्रभाव कम हुँदा तालको पानी ह्वात्तै घटेको र यसले गर्दा तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ । मङ्गलबार मात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका थिए।

एर्टन्यूज च्यानलका अनुसार पागासेटिक नदीमा आएको बाढीमा डुबेका हजारौं मरेका माछामध्ये अधिकांशलाई निकालिएको छ । सिरिया नदीको मुहानमा मरेका माछाहरू राख्न विशेष जाल हरू राखिएको छ ।

रेष्टुरेण्ट तथा बारहरूको स्थानीय सङ्घका अनुसार गत वर्षको बाढीपछि यस क्षेत्रमा पर्यटकको सङ्ख्यामा करिब ८० प्रतिशतले कमी आएको छ ।सङ्घका अध्यक्ष स्टेफानोस स्टेफानोउले भन्नुभयो, “यो मरेको माछाको अवस्था हाम्रो मृत्युको कारण हुने भएको छ।” वातावरणीय सङ्कटले सरकारी अभियोजकहरूलाई अनुसन्धान अघि बढाउन बाध्य गरेको छ।

मधेस अझै अधिकार सम्पन्न भएको छैन : अध्यक्ष यादव

जनकपुर-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकारका लागि मधेसी जनता अझै पनि तत्पर रहनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । जसपा नेपालको मधेस प्रदेश कमिटीले जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले मधेस अझै पनि अधिकार सम्पन्न हुन नसकेकाले विभिन्न रुपमा आन्दोलन जारी राख्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष यादवले मेचीदेखि महाकालीसम्मका मधेसी जनताले आगामी दिनमा मतको लडाइँसमेत लड्नुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “अन्तरिम संविधानमा लेखिएको छ, मधेस प्रदेशसहितको अन्य प्रदेश तर, त्यो कार्यान्वयन हुन सकेको छैन ।” तथापि अब आगामी दिनमा अहिलेको आठ जिल्लाको मधेसलाई समग्र मधेस प्रदेशका लागि मधेसी जनताले मतको लडाइँ लड्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो ।

यो आठवटा जिल्लामात्र मधेस नरहेको उल्लेख गर्दै नेता यादवले अबको लडाइँ आन्दोलनबाट नभई मतको लडाइँ गर्न तयारी थाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यता अभिमुखीकरण कार्यक्रममा आठवटा जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खोटाङ अखिल (क्रान्तिकारी)को अध्यक्षमा चाम्लिङ चयन

खोटाङ, १६ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्ष पदमा डार्विन चाम्लिङ चयन हुनुभएको छ । गए राति सम्पन्न अखिल (क्रान्तिकारी) खोटाङको १९औँ जिल्ला सम्मेलनले ३३ सदस्यीय जिल्ला कार्यसमिति चयन समेत गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।

माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बधाई दिनुहुँदै आफ्नो हक, अधिकारी तथा शैक्षिक सुधकारका निमित्त प्रतिवद्ध भइ लाग्न आग्रह गर्नुभयो । सम्मेलनले सङ्गठनको आर्थिक तथा साङ्गठानिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बसेर अखिल (क्रान्तिकारी)को १९औँ जिल्ला सम्मेलनले पारित गरेका भावी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।

‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, विकृति, विसङ्गति र बेथितिका विरुद्ध १९औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घाटन भएको सम्मेलनमा सांसद राई, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी, प्रदेश उपाध्यक्ष देवान किराती, प्रदेश सदस्य एवं विद्यार्थी फ्रयाक्सन इन्चार्ज गोपालचन्द्र राई, सदस्य सुरशेकुमार राई, जिल्ला संयोजक दीपक पाण्डे, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव रविन खम्बु, सदस्य एलबी मगर, जिल्लास्थित विद्यार्थी सङ्गठनका नेतालगायतको उपस्थिति थियो ।

सम्मेलनमा जिल्लाका दशवटै स्थानीय तह, छवटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित अखिल (क्रान्तिकारी)को सङ्गठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए । सम्मेलनको अवसर पारेर अखिल (क्रान्तिकारी) खोटाङले शनिबार दिक्तेलबजार सरसफाइ गरेका थिए ।

झापाका स्थानीय तहले अहिलेसम्म बैंक खाता सञ्चालन गर्न सकेनन्

भद्रपुर (झापा), १६ भदौः नयाँ आर्थिकवर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् ।

गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् ।

कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले भन्नुभयो, “नीति कार्यक्रम र बजेट गाउँ/नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय तहमा जाने रकम फुकुवा हुन्छ ।”

झापा गाउँपालिका–२ का अध्यक्ष हिमाला चाम्लागाईँले पालिकाको खाता समयमै सञ्चालन नहुँदा दैनिक कार्यालय सञ्चालनमा समेत समस्या भइरहेको बताउनुभयो । “विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएका छन्, मृत्यु संस्कारमा दिने रकम दिन सकिएको छैन, शिक्षक कर्मचारीको तलब तथा यस वर्ष कार्यान्वयन गर्नुपर्ने योजनासमेत ढिला गरी सञ्चालन हुने निश्चित भइसकेको छ”, उहाँले भन्नुभयो ।

यसैगरी विभिन्न स्थानीय तहका कर्मचारीले बर्खाको बेला सञ्चालन हुने बोेटबिरुवा वितरण, वृक्षारोपणलगायत कार्यक्रम बैंक खाता सञ्चालन नहुँदा बजेट अभावले गर्न नसकिएको गुनासो गर्ने गरेका छन् ।

३२ करोड ६० लाखको लागतमा निर्माण गरिएको ‘धनगढी सभागृह’ प्रयोगविहीन

अत्तरिया (कैलाली), १६ भदौ : धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो ।

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारीसाधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको रु ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो ।

विसं २०७५ माघदेखि निर्माण सुरु भएको सभागृह २०७९ असारमा निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनी ‘विकेओआई एमके रोयल’ जेभीले सभागृह निर्माण गरेको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी कलौनीले बताउनुभयो । धनगढी उपमहानगरले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको उक्त सभागृहमा रङरोगन, विद्युत् जडानलगायत काम भइसकेका छन् ।

“निर्माण सम्पन्नपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थियो”, सूचना अधिकारी कलौनीले भन्नुभयो, “उपमहानगरले फर्निचर तथा साउण्डसिस्टम जडान नभएको भन्दै बुझ्न मानेन । त्यसैले अहिलेसम्म हस्तान्तरण हुनसकेको छैन ।”

“साउण्डसिस्टम जडानका लागि हामीले पटक–पटक सङ्घीय सरकारलाई बजेट माग गर्दा पनि सुनावाइ भएन”, उहाँले भन्नुभयो, “अहिले रु १५ लाख बजेट आएको छ । त्यसले पुग्दैन । साउण्डसिस्टम जडानका लागि न्यूनतम रु ८० लाखदेखि रु एक करोडको हाराहारीमा बजेट आवश्यक पर्छ ।”

धनगढीमा हुने सभा, गोष्ठी, बैठक सेमिनारजस्ता ठूला कार्यक्रम गर्ने उद्देश्यले बनेको उक्त सभागृह सञ्चालनमा आउन नसक्दा सरकारी कार्यालयले त्यस्ता कार्यक्रम होटल, पार्टीप्यालेसमा महँगो भाडा तिरेर सञ्चालन गरिरहेका छन् ।

दैलेखमा हेलिकप्टरबाट २४ वर्षीया गर्भवती कठायतको उद्धार

दैलेख, १६ भदौ : दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उहाँले जानकारी दिनुभयो । गर्भवतीको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयले कठायतलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो ।

“अकालमा ज्यान जान दिनु भएन, त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । अत्यधिक रक्तश्राव भएपछि सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन आठबिस नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने

फुङ्लिङ (ताप्लेजुङ), १६ भदौ : लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।

धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ ।

“तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् ।

किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।

दुई वर्षदेखि निर्माणाधीन राजविराज–छिन्नमस्ता सडक अधुरै,पैदल हिँड्न समेत सकिने अवस्था छैन

गोलबजार (सिरहा), १६ भदौ : राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।

ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्न समेत सकिने अवस्था छैन । जताततै  खाल्डाखुल्डी मात्रै छन् । सडकमा पानी जमेर पोखरी बनेको छ । मोटरसाइकल गुडाउन पनि समस्या भएको शक्तिपीठ दर्शन गर्न गएका बोदे बर्र्साइन नगरपालिका–३ का २८ वर्षीय धिरज यादवले बताउनुभयो । “सडकको बेजोग छ, पैदल हिँड्न समेत नमिल्ने अवस्था छ”, उहाँले भन्नुभयो । 

टेम्पो व्यवसायी सत्यनारायण चौधरी ठूलो सङ्ख्यामा आउने दर्शनार्थीलाई छिन्नमस्ता भगवती मन्दिर पुग्न कठिनाइ हुने गरेको बताउनुहुन्छ । “कुनै पनि बेला दुर्घटना हुनसक्ने खतरा छ, जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । 

हाल सो सडकखण्डमा बस सेवा बन्द छ । अटोरिक्सा मात्र चल्ने भएकाले उनीहरुले यात्रुबाट मनपरी भाडा लिने गरेको  ललापटीका रामप्रित यादवले बताउनुभयो । बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँको भनाइ छ । 

सडक मर्मतको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना समेत दिएको थियो । “सडक मर्मतका लागि सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक आग्रह गर्दैआएका छौँ, धर्ना पनि बस्यौँ, तर केही पहल भएको छैन”, उहाँले भन्नुभयो । सडककै कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजनको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । 

स्थानीयले अविलम्ब उक्त सडक स्तरोन्नतिको माग गरेका छन् । राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले रु २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो । सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो । उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले जानकारी दिनुभयो ।

ढोरपाटन सिकार आरक्षको पाखाथरमा घरबास सेवा सुरु

म्याग्दी, १६ भदौ : पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो ।

ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले ६ घरमा एक सय २० जना क्षमताको घरबास सुरु गर्नुका साथै पाखाथरबाट काडेकोडाँडा हँुदै किटेनीसम्म पदमार्ग निर्माण गरिएको जानकारी दिनुभयो । “ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छाँै ।”

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमूना होमस्टे कार्यक्रममार्फत रु १२ लाख बजेटमा घरबासको क्षमता विस्तार र पर्यटकीय पूर्वाधार तयार पारिएको हो । अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै पर्यटकीयस्थलको जानकारी र सूचनामूलक काठको बोर्ड राखिएको सचिव पुनले बताउनुभयो ।

काठैकाठले बनेका परम्परागत घरमा पाहुनाका लागि कोठा बनाइएका छन् । कोदो, फापरको ढिडो, आलु, च्याउ, टुसा, लोकल कुखुरा, खसीको मासु र दुग्धजन्य परिकारको स्वाद चाख्न पाइन्छ । ढोरपाटन सिकार आरक्षका अनुसार त्यहाँ रहेका २९ होटल र होमस्टेमा दैनिक तीन सय पाहुना बास बस्न सक्छन् ।

देशका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको चाप बढेपछि घरबासको क्षमता विस्तार गरिएको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीले बताउनुभयो । पाखाथरमा सञ्चालन हुनुअघि ढोरपाटनमा दुईवटा होमस्टे थिए । पाखाथर होमस्टेमा बास बस्ने पर्यटकका लागि समुद्री सतहबाट काडेधुरी, थारसिङ, गुराँस पार्क र किटीनी धुरीमा हाइकिङ गर्न पाउनु आकर्षण हो ।

पाखाथरबाट तीन घण्टा उकालो पैदलयात्रापछि पुगिने चार हजार मिटर एक सय १० मिटर उचाइमा रहेको किटीनी धुरीबाट ढोरपाटन उपत्यका, सिस्ने, पुथा, गुर्जा, धवलागिरि, चुरेन, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । फराकिलो फाँट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजङ्गलको दृष्यावलोकन गर्न पाउनु पनि यहाँको आकर्षण हो ।

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले पूर्वीरुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार पाँच सय ७३ पर्यटकले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार राजस्व सङ्कलन भएको संरक्षण अधिकृत मण्डिप पङ्गेनीले बताउनुभयो ।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबा २६८ परिवार प्रभावित हुने

खाँदबारी (सङ्खुवासभा), १६ भदौ : पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो । 

प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

विदेश हाेइन स्वदेशमै उद्म : अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती

नारायणगढ (चितवन), १६ भदौ : सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उहाँहरू सङ्खुवासभाबाट चितवन आउनुभएको हो ।

चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उहाँका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गर्नुभएको हो ।  मनकलाले भन्नुभयो, “हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।”

सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७  नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्नुहुन्थ्यो । त्यसैको जगमा उहाँ आज एक व्यवसायी बन्न सफल हुनुभएको हो । उहाँले सुनाउनुभयो, “म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।”

पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आउनुभयो । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गनुर््हुन्थ्यो । जब उहाँहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उहाँहरु सदरमुकाम खाँदबारीतर्फ लाग्नुभयो ।

सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आउनुभएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उहाँका श्रीमान्को साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ ।

कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।”

अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ ।  सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ ।

कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन  । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उहाँहरुको भनाइ छ ।  उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौँ हो ।  मनकलाले भन्नुभयो, “फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।”

कुनैबेला आफैँ कामदार रहनुभएकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उहाँ बताउनुहुन्छ । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाउनुभयो, “आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो”, उहाँले भन्नुभयो । श्रीमान्कोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताउनुभयो  । 

देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाउनुभयो, “सबै योजना उनकै (मनकला) हो ।” उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उहाँहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत हुनुहुन्छ भने छोरा विद्यालयस्तरमा अध्ययनरत हुनुहुन्छ ।

चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउनुहुन्छ । देवेन्द्रले भन्नुभयो, “धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।” ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा उहाँलाई खुसी लागेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।

सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो

दमौली (तनहुँ), १६ भदौ : तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो ।

व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ । स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताउनुभयो ।

स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा ध्यान दिनुपर्छ ।”

शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।” उहाँका खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न आउने गरेका छन् ।

जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ । रु १३ लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो । यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन् । व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ । व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको वडा सदस्य दधिराज घिमिरेले बताउनुभयो ।

‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई

कास्की, १६ भदौ : पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।
यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै सङ्गीत’ नाराका साथ ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ गरिएको हो ।

यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियागिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए ।

त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्याण्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए ।

विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे । महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत सङ्गीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए ।

पूर्वीनाका काँकडभिट्टाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

भद्रपुर (झापा), १६ भदौ : पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । “चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् रु पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो ।

भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउनुहुन्छ । उहाँका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्ने उहाँ बताउनुहुन्छ । आगामी कात्तिक÷मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

सत्रौँ पुस्तकालय दिवस : यस्ता छन् सुधार गर्नुपर्ने काम

काठमाडौँ, १५ भदौः विश्वस्तरमा पुस्तकालयको महत्त्व बढ्दै जाँदा नेपालमा सञ्चालित पुस्तकालयको गुणस्तरवृद्धिमा प्रभावकारी काम हुन सकेको छैन । आज सत्रौँ पुस्तकालय दिवस मनाउँदा अहिलेसम पुस्तकालय ऐन नै बन्न सकेको छैन भने भएको पुस्तकालय नीति पनि परिमार्जन हुन नसकेको गुनासो बढेको छ ।

पछिल्लो सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना भएकामा हाल दुई सय २७ वटा पुस्तकालय मात्र राम्रोसँग सञ्चालन भएको तथ्याङ्कबाट पुष्टि हुने पुस्तकालय अभियन्ता तथा अभियानकर्मीहरु बताउँछन् ।

नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिवसमेत रहनुभएका पुस्तकालय दिवस मूल समारोह समितिको प्रचार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले पुस्तकालयको विकासमा धेरै काम गर्न जरुरी रहेको औँल्याउनुभयो ।

काठमाडौँमा आज आयोजना गरिएको सत्रौँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा पुस्तकालय अभियन्ता तथा पुस्तकालयकर्मीहरुले पुस्तकालयको विकास एवं सुधारका लागि ऐन, कानुन, नीति तथा नियम नै बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदीले खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य स्थानमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो ।

गुणस्तरीय शिक्षालाई उचाइमा पुर्याउनका लागि पनि पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुन्छ । पुस्तकायल सञ्चालन व्यवस्थापन मापदण्ड नभएकाले हाल कम्पनीका रुपमा पुस्तकालय चलिरहेका छन् । त्यसैले दिगो पुस्तकालय सञ्चालनका लागि पुस्तकालय ऐन जरुरी रहेको उहाँले बताउनुभयो ।

आधारभूत रुपमा सिक्न, पढ्न पाउने हक नै स्थापित हुन नसकेको अहिलेको सन्दर्भमा पुस्तकालय नीति २०६४ र पुस्तकालय एवं सूचना व्यवस्थापन निर्देशिका २०५९ समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

“कस्तो पुस्तक नीति भन्ने नै अहिलेसम्म छैन, पाठ्यक्रम कस्तो बनाउने भनेर जग बनाउन सकिएको छैन, हाँगाबिँगा बनाएर मात्रै हुँदैन, अहिले तत्काल राष्ट्रिय शिक्षा नीति बन्न जरुरी छ, अहिलेको सरकारले ध्यान दिनुपर्छ”, सुवेदीले भन्नुभयो ।

अहिले सूचना र प्रविधिको विकासले विद्युतीय पुस्तकालयको अवधारणा आइसक्दा पनि नीति र निर्देशिका परिमार्जन हुन नसक्नुमा दुःखको कुरा भएको पुस्तकालयकर्मी तथा अभियन्ताहरु बताउँछन् । पुस्तकालयकर्मी मीना डल्लाकोटी पुस्तकालयको विकासमा सरकारले ध्यान दिन नसकेको औँल्याउनुभयो ।

विगतमा १०औँ पुस्तकालय दिवस २०७४ मा ‘समृद्ध नेपालको आधार पुस्तकालयको विकास’ भन्ने नाराका साथ सरकारले हरेक विद्यालयमा एक र स्थानीय तहमा एक÷एक सामुदायिक र सार्वजनिक पुस्तकालय निर्माण गरिने जनाइएको थियो ।

अहिलेसम्म कार्यान्वनय हुन नसक्नु दुःखको कुरा भएको नेपाल पुस्तकालय सङ्घका अध्यक्ष सुवेदी बताउनुहुन्छ । पटन संस्कृतिको विकास र शिक्षण संंस्थामा अध्ययन अनुसन्धानको अवस्था नाजुक भएकाले शिक्षा कमजोर हुँदै गएको उहाँको निष्कर्ष छ ।

विश्वविद्यालय, राष्ट्रिय शिक्षा बोर्ड, शिक्षा विकास तथा मानवविकास केन्द्र तथा स्थानीयअन्तर्गत सञ्चालिक सबै विद्यालयमा पर्याप्त सामग्रीसहित तालिमप्राप्त पुस्तकालयकर्मी भए नभएको अनुगमन गरी निर्देशन र नियमित अनुगमन गर्ने संयन्त्रको विकास गर्न ढिलाइ भइसकेको अभियानकर्मीहरु बताउँछन् ।

कतिपय विश्वविद्यालयमा पुस्तकालय कस्तो हुने भन्ने मापदण्ड नभएको र भएका पनि राम्ररी सञ्चालन हुन नसकेको उहाँहरुको भनाइ छ । देशका कतिपय पुस्तकालयमा पुस्तकालय अधिकृतको पदपूर्तिसमेत हुन नसकेको र अदालतले गर भन्दा पनि त्रिवि सेवा आयोगले नमानेकातर्फ अभियानकर्मीहरुले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

उहाँहरुले सेवासुविधा थप गरी पुस्तकालयको विकास गर्नुपर्ने, महत्त्वपूर्ण अभिलेख, दुर्लभ अध्ययन सामग्री व्यवस्थापन, विद्युतीय पुस्तकालयको विकास, पुस्तकालय सङ्ग्रहालय, पुरातात्विक महत्त्वका क्षेत्रहरु र ऐतिहासिक धरोहर, फोटो पुस्तकालय र कला सङ्ग्रहालय व्यवस्थापनमा शिक्षा मन्त्रालयको महत्तवपूर्ण र संयोजनकारी भूमिका हुनुपर्नेमा जोड दिइएको छ । यो सबै काम गर्न राष्ट्रिय पुस्तकालय एवं सूचना विज्ञान आयोग गठन गर्नुपर्ने माग रहेको सङघका अध्यक्ष सुवेदीले बताउनुभयो ।

विकासमा छुटेको कर्णाली रास्वपाले जोड्छ : सभापति लामिछाने

कर्णाली, १५ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीले जितेन, सधैँ हा¥यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।”

राजनीतिमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गर्ने जिकिर गर्नुभयो ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उहाँले भन्नुभयो, “विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन् ।” घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उहाँले दाबी गर्नुभयो ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताउनुभयो । उहाँले रास्वपा चार महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गर्नुभयो ।

सभापतिलाई अनावश्यक दुःख दिन समिति बनाए पनि त्यो गलत साबित हुँदै गएको जनाउँदै उहाँले वर्षौंदेखि रजगज गरेकाहरुले भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो । सासंद विनिता कठायतले रास्वपा कर्णाली विकासको आधारशिला हुने तर्क गर्नुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रबाट पच्चीस हजार बढीले लिए सेवा

तनहुँ, १५ भदौः आर्थिक वर्ष २०८०/८१ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले २५ हजार बढी बिरामीलाई सेवा प्रदान गरेको छ । कार्यालयका अनुसार गत वर्षको साउनदेखि असार महिनासम्म केन्द्रले २५ हजार सात सय ८५ जनालाई सेवा प्रदान गरेको छ ।

पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको पाइन्छ । केन्द्रले प्रभावकारी उपचार सेवा दिन थालेपछि यसतर्फ बिरामीको चाप बढ्ने गरेको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो । 

“स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि ८० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो, “अधिकांश बिरामी अन्यत्र उपचार गराएर निको नभएर हैरानी खेपेका आउने गरेका छन् ।”  

कार्यालयका अनुसार बहिरङ्ग सेवा नौ हजार दुई सय ७१, योग सेवा आठ हजार तीन सय ४३, पूर्वकर्म/पञ्चकर्मतर्फ पाँच हजार पाँच सय १३  जनाले सेवा लिएका छन् । 

त्यसैगरी, ज्येष्ठ नागरिक सेवातर्फ एक हजार छ सय २४, प्रयोगशाला परीक्षणमा सात सय ३६, स्तनपायी आमा तथा शिशु सेवामा दुई सय ८१ र पायल्सका बिरामीको क्षारसूत्र विधिबाट १७  जनाले सेवा लिएका छन् । उक्त स्वास्थ्य केन्द्रमा प्यारालाइसिस, बाथ, ढाड, कम्मर, हाडजोर्नी, नसाका साथै ग्याष्टिक, उच्चरक्तचाप, चिनीरोग, दम, रुघाखोकीलगायत समस्याबाट पीडित बिरामीहरू उपचारका लागि आउने गरेका छन् । 

तनहुँसहित छिमेकी जिल्ला गोरखा र लमजुङबाट समेत उपचारका लागि मानिसहरू आउने गरेको आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्नेहसैदन, कटिबस्ती, नश्य, बमन, बिरेचनलगायत पञ्चकर्म विधिबाट विभिन्न रोगबाट समस्यामा परेका बिरामीको उपचार थालेको छोटो अवधिमै राहतको महसुस गर्न सक्नेछन् । 

“कार्यालयबाट प्रभावकारी किसिमले उपचार सेवा दिन थालेपछि बिरामीको आकर्षण बढेको छ,” उहाँले भन्नुभयो “कार्यालयले निःशुल्क रुपमा औषधि र सेवा प्रदान गरी उपचार गर्दै आएको छ ।” आयुर्वेद व्यवस्थापन समितिले निर्णय गरेर ‘ल्याब टेष्ट’मा न्यूनतम शुल्कमा सेवा दिन थालेपछि उपचारमा आउने बिरामीलाई सहज भएको सो स्वास्थ्य केन्द्रले जनाएको छ ।

यसरी मनाइयो १७औँ राष्ट्रिय पुस्तकालय दिवस

गण्डकी, १५ भदौः ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित आज १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयले पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित उक्त दिवस मनाएका हुन् ।

पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले तीज गीत प्रतियोगिता, सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम गरी दिवस मनाएको उक्त पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाले जानकारी दिनुभयो । 

पोखरा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्लास्तरीय चित्रकला प्रतियोगिता आयोजना गरी दिवस मनाएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरी दिवस मनाएको छ । कास्कीको दीपशिखा सामुदायिक पुस्तकालयले ‘पठन संस्कृतिमा पुस्तकालयले भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितालगायत कार्यक्रम गरी दिवस मनाएको छ । 

विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाएको उक्त पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । दिवसका अवसरमा भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित दिवसको प्रचारात्मक कार्यक्रम, १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको उहाँको भनाइ छ ।  

शुक्रबार ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार, बालविकास केन्द्रका बालबालिका र तिनका अभिभावकको निःशुल्क आँखा जाँच, शैक्षिक सामग्री वितरणलगायत कार्यक्रम गरिएको सचिव शर्माले बताउनुभयो । 

दिवसको मूल समारोह पारेर आज उक्त पुस्तकालयका पूर्वअध्यक्ष एवं पूर्वपुस्तकाध्यक्ष हरिहर श्रेष्ठलाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरिएको थियो ।  राणाकालको प्रतिकूल समयमा पुस्तकालय खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा समेत यस पुस्तकालयलाई लिने गरिन्छ । 

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको जनाइएको छ ।