`

परीक्षण भएको एक वर्षसम्म पनि सञ्चालन भएन रातोढुङ्गा सबस्टेसन

Nepal One HD १० फागुन २०८१ २१:५२
अर्थ समाचार

म्याग्दी, १० फागुनः जिल्लाको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको रातोढुङ्गा प्रसारण लाइन र सबस्टेसन परीक्षण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेसन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो । 

विसं २०८० माघमा गरिएको परीक्षण सफल भए पनि आयोजना, निर्माण कम्पनी र नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको समन्वय नहुँदा उक्त प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आउन नसकेको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । 

छ वर्ष अघि सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको उहाँले बताउनुभयो । 

हाल मिलनचोक सबस्टेसनमार्फत चार वटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किमीसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन प्राविधिक समस्या भइरहेको उहाँको भनाइ छ । 

बेनीबाट ‘टिपिङ’ (लाइन जोडेर) प्रसारण लाइन र सबस्टेसनको परीक्षण गरिए पनि नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मिलनचोक सबस्टेसनबाट लाइन जोड्नुपर्ने अडान लिएको छ । 

केन्द्रका प्रमुख सत्यनारायण गामीले ठेक्का सम्झौता र प्राविधिक हिसाबले दीर्घकालीन रूपमा सञ्चालन गर्न मिलनचोकबाट लाइन आपूर्ति गराउन अडान लिएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । 

निर्माण कम्पनीका प्रतिनिधि पद्यमसागर लुइटेलले बेनीबाट मिलनचोकसम्म थप ५० वटा खम्बा गाड्नुपर्नेमा आनन्दबगर क्षेत्रमा पाँच वटा खम्बा पर्ने ठाउँमा जग्गाधनीले अवरोध गरेकाले काम रोकिएको बताउनुभयो । आयोजना प्रमुख बोधराज ढकालले स्थानीय जनप्रतिनिधि र प्रशासनसँग विवाद समाधानका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।  

रोकिएको खम्बा गाड्ने र तार तान्ने काम सकिएपछि प्रसारण लाइन र सबस्टेसन सञ्चालन गर्न सकिने ढकालले बताउनुभयो । सुरुमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । खम्बा गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम विसं २०८० जेठमा चार वर्षपछि पुनः सुरु भएको थियो ।

प्रतिक्रिया