`

बिर्तामोडमा बसको ठक्करबाट ३० वर्षीया महिलाको मृत्यु

झापा, १५ भदौः पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्र १–०२–००२ ख ००३५ नंको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उहाँ घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । 

गण्डकी, १५ भदौः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्राकृतिक सम्पदाको विकासमा सामूहिक प्रयासको खाँचो आँैल्याउनुभएको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिकस्थल गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले गुफाको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण सबैको दायित्व भएको बताउँदै उहाँले यसका लागि स्थानीयवासी र गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना गर्नेतर्फ सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बर्सेनि लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक पाँच करोडभन्दा बढी आम्दानी शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले भन्नुभयो, “जनसहभागिताबाट सञ्चालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरेको छ ।” गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु आपैmमा प्रशंसनीय काम भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले गुफालाई थप आकर्षक बनाउनका लागि गुरुयोजना बनाउनुपर्ने बताउँदै त्यसका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संस्थाका पूर्वअध्यक्षहरूलगायत विभिन्न सङ्घसंस्थाका तर्पmबाट गुफाको महत्त्व र यसले सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका सम्बन्धमा चर्चा गर्नुभएको थियो । 

समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रवक्ता डा महत

बागमती, १५ भदौ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।जय नेपाल फाउण्डेशनले आज मकवानपुरको हेटौँडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उहाँले महिला, मधेशी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

‘‘महिलाको ३३ प्रतिशत र अरू समुदायको प्रतिनिधित्व नघट्ने गरी प्रत्यक्ष निर्वाचन विधिबाट समानुपातिक समावेशितालाई सुनिश्चित गर्दै संविधान संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, ‘‘यसबाट महिलालगायत वर्गमा प्रत्यक्ष चुनाव लड्ने गरी नेतृत्वको विकास हुन्छ । एउटै दलले बहुमत ल्याउन सक्छ । यस्तो भन्दैमा पार्टीको त्यसै बहुमत आउँदैन । त्यसका लागि पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर जनताको घरमा पुग्नुपर्छ ।”

चुनौती स्वीकार गरेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा महतको स्पष्टोक्ति थियो । ‘‘तेस्रो दल भए पनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन । त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो । यो सहकार्य कम चुनौतीपूर्ण छैन भन्ने कुरामा हामी प्रष्ट छौँ”, उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सांसद डा महतले अब नेपालमा केही गर्न सकिँदैन, केही हुँदैन भनेर बन्दै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘‘आजभन्दा केही वर्षअघिसम्म नेपालका दुर्गम गाउँ बस्तीमा सडक पूर्वाधार पुग्छ भन्ने कसैले कल्पना गरेको थियो ? तर आज गाउँगाउँमा सडक, स्वास्थ्य, शिक्षालगायत पूर्वाधार पुगेका छन् । त्यसैले यहाँ पनि धेरै कुराहरू सम्भव छ भन्ने कुरा युवामा बुझाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले व्यवस्था मात्र फेरिएकाले अब जनताको अवस्था फेर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । सामाजिक र आर्थिक विकासमा युवा शक्तिलाई सदुपयोग गर्न सकिए छिट्टै मुलुक सम्बृद्ध बन्ने जिकिर गर्नुहुँदै उहाँले युवाहरूमा बढ्दै गएको निराशा र असन्तुष्टिलाई दृष्टिगत गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फाउण्डेशनका अध्यक्ष भुपेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा कांग्रेसका तर्फ निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

धरान (सुनसरी), १५ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उहाँले जनताको पहिलो चासोको विषय शान्तिसुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पार्नुभयो ।

जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैँ सहयोग गर्न तयार छ ।”    धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनीने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण छ भन्नुभयो ।

हिरासत भवनको उद्घाटनका अवसरमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुख इन्द्र लामा, सशस्त्र प्रहरी बल नेपाल ४ नं गण जिल्ला हेडक्वार्टर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलगायतको उपस्थिति थियो ।

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी ( एसडीएआईए ) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ ।

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ ।

उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रुपमा संचालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने छ ।

रूसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता

रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन्।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समय अनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकप्टरसँगको सम्पर्क विच्छेद भएको छ । हेलिकप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए।”

रूसी अधिकारीका अनुसार अन्य हेलिकप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकप्टरको खोजी गरिरहेका छन्।

एमआई–८ सोभियतकालिन डिजाइनको सैन्य हेलिकप्टर हो जुन रूसमा यातायातको लागि व्यापक रूपमा प्रयोग गरिन्छ।

हराएको हेलिकप्टरले जङ्गली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो।

आपतकालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन।

मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ ।

रूसको प्रायः उडानका लागि प्रतिकुल मौसम रहने सुदूर पूर्वी क्षेत्रमा विमान र हेलिकप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो वस्ती र कम जनसङ्ख्या रहेको छ ।

सन् २०२१ को अगष्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो ।
सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र छ जना चालक दलका सदस्य थिए।

जापानमा सानसान आँधीको गति घट्यो : यातायात अवरुद्ध जारी

जापानमा आएको शक्तिशाली आँधीका कारण शनिबार पनि उडान तथा रेलसेवा अवरुद्ध जारी रहेको जनाउदै अधिकारीहरूले भारी वर्षाका कारण सम्भावित बाढी–पहिरोको चेतावनी दिएका छन् ।

सानसान दशकौँको अन्तरालमा जापानमा आएको सबैभन्दा भयानक आँधी हो जुन बिहीबार क्युसु टापुमा अवतरण भएको थियो । सुरुवाती समयमा २५२ किलोमिटर प्रति घण्टाको दरमा वहेको उक्त आँधीको गति पछिल्लो समयमा ९० किलोमिटर प्रति घन्टामा झरेको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाइएको छ ।

फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार आँधीका कारण समाचार तयार पार्दा सम्म कम्तीमा छ जनाको मृत्यु भएको भने १२० जनाभन्दा बढी घाइते भएका छन् ।

एजेन्सिका अनुसार पछिल्लो समयमा आँधीको गति घटेसँगै “डाउनग्रेड” गरिएको, सानसान शनिबार पश्चिमी क्षेत्रबाट पूर्वतिर सर्दै गएको छ ।

आँधीको गति घटे पनि प्रभाव कायम रहेकाले एएनए र जापान एयरलाइन्सले शनिबारका लागि करिब ६० वटा आन्तरिक उडानहरू रद्द गर्दा करिब सात यात्रुहरू प्रभावित भएका छन् । यसै गरी बाढीको कारण देखाउदै मध्य सहर नागोयामा सिकाङ्नसेन बुलेट ट्रेनहरू पनि स्थगित गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले बाढी पहिरो तथा नदीमा पानीको उच्च बहावको अनुमान गरी चेतावनी जारी राखेको छ ।

यसै गरी मध्य गिफु क्षेत्रमा नदीमा उच्च बहावको जोखिमका कारण नदी नजिकैका करिव दुई हजार बासिन्दालाई निकासी चेतावनी जारी गरेको छ भने उत्तरी होक्काइडोका केही सहरहरूमा भारी वर्षा भएको छ ।

अपरेटरका अनुसार दक्षिणी कागोशिमा क्षेत्रका ३२ हजार भन्दा बढी घरहरु सानसानको प्रभावले गर्दा बिद्युत बिहिन भएका छन् ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापान लगायत अन्य ठाउँमा मौसमी प्रतिकुलता र जोखिम बढिरहेको छ ।

सन् २०२१ अत्यधिक बर्षाका कारण केन्द्रीय रिसोर्ट सहर अटामीमा विनाशकारी बाढी पहिरो आउदा २७ जनाको मृत्यु भएको थियो ।

यसै गरी सन् २०१८ मा पश्चिमी जापानमा बाढी पहिरोले २०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो ।

इराकमा १५ आइएस लडाकूको मृत्यु

अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमिमा इस्लामिक स्टेट समूहका १५ लडाकू मारिएका छन् भने सात अमेरिकी सैनिक घाइते भएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।

‘सेन्टकम’का अनुसार इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समय अनुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ जना आइएस लडाकूको मृत्यु भएको थियो।

आइएस लडाकू ‘सयौँ हातहतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्ट’ सहित सुसज्जित थिए । सेनाले घटनास्थल र वरपरका क्षेत्रमा थप खोजी जारी राखेको छ।

आक्रमणका क्रममा पाँच अमेरिकी सैनिक र अन्य दुई घाइते भएको एक रक्षा अधिकारीले जानकारी दिएका छन् ।

इराकी अधिकारीले उक्त क्षेत्रमा छापा मारेको जानकारी गराएको केही घण्टापछि सेन्टकमको वक्तव्य शनिबार बिहानै आएको हो ।

इराकी गुप्तचर संस्थाले ‘दुई महिनाभन्दा बढीको मानव र प्राविधिक निगरानी’ ले जिहादीहरूले प्रयोग गर्ने ‘चार सुरक्षित घर’ पहिचान गर्न अनुमति दिएको बताएको छ।

मृत्यु हुनेमा वरिष्ठ नेतासमेत रहेको र फरेन्सिक परीक्षणको काम भइरहेको बताइएको छ ।

इराकमा इस्लामिक स्टेट समूहका ‘गतिविधि धेरै हदसम्म नियन्त्रण भएको’ भए पनि यो समूह छिटपुट र प्रभावशाली आक्रमण गर्न सक्षम छ,” संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ।

नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा

त्रिशूली (नुवाकोट), १५ भदौः नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको आज गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थानान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो ।

विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिनुभयो । “देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ । आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ ।”

कारागारलाई सुधार गृहका रुपमा अघि बढाउन सरकारले विभिन्न योजना बनाए पनि भौतिक पूर्वाधार अभावले समस्या भइरहेको समयमा नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ ।

सुविधासम्पन्न नयाँ भवनमा उद्यम र सीप सिकाइ हस्तकलाका सामग्री उत्पादन गराई त्यसको बिक्रीबाट कैदीबन्दीको आम्दानी र स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पहिलो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको पहिलो युनिटका संरचनाको निर्माण सम्पन्न भएसँगै आज नै जिल्ला कारागार नुवाकोटमा रहेका १४ जना महिलासहित एक सय ४८ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यको अनुसार केन्द्रीय जगन्नाथदेवल, नख्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँबाट थप पाँच सय कैदी नुवाकोटमा स्थानान्तरण गरिनेछ । त्यसपश्चात् आसपासमा पर्ने रसुवा, धादिङ, गोरखाबाट ल्याएर पूर्ण क्षमतामा एक हजार तीन सय ७० कैदीबन्दी पु¥याइने भएको छ ।

काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई विसंं २०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा स्थानान्तरण गर्ने निर्णयपश्चात् निर्माण थालिएको पाँचमध्ये पहिलो युनिटअन्तर्गतका संरचना (भवन) गत साउन १ मा पूरा भएसँगै कारागारलाई सञ्चालनमा ल्याइएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार आर्थिक वर्ष २०७२/७३ मा रु एक करोड ५० लाख लागतमा कारागारका नाममा रहेको ६ सय ४५ रोपनी जग्गामा घेराबार लगाएर संरक्षण थालिएको थियो । सोही वर्ष थप रु ४५ करोड ४२ लाखमा लगाएको ठेक्कामार्फत लामा–रमण जेभी निर्माण कम्पनीले निर्धारित समयभन्दा ढिलो गरेर गत साउनमा सरकारलाई हस्तान्तरण गरेको हो ।

पहिलो युनिटअन्तर्गत पाँच ब्लकमा रहेको कारागारसहित प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकाइ कार्यालयलगायत विस्तारित केन्द्रीय कारागारका लागि चाहिने अत्यावश्यक संरचनाको निर्माण गरिएको छ ।

कारागार भवन उद्घाटनका क्रममा बागमती प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सम्पन्न गर्न बाँकी रहेका संरचनाको निर्माणमा सहयोगको प्रतिबद्धता जनाउनुभयो । आधुनिक र सुविधासम्पन्न कारागारका रुपमा स्थापित गर्ने लक्ष्यका साथ नुवाकोटमा सुरु गरिएको कारागारलाई सङ्घ र प्रदेश सरकारको साझा अधिकारअन्तर्गत थप संरचना निर्माणलगायत प्रदेश सरकारले बहन गर्नुपर्ने दायित्वको जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री लामाको भनाइ छ ।

कार्यक्रममा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायाधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सीता मिजार, निमत्त गृहसचिव नारायणप्रसाद भट्टराईलगायतले सात हजार कैदीबन्दी क्षमतामा रहने केन्द्रीय काराकारलाई पूर्णता दिन बाँकी रहेका कामलाई यथाशक्य अघि बढाउन सुझाव दिनुभयो ।

अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल

न्यूयोर्क (अमेरिका), १५ भदौ : अमेरिकाको ओहायोमा इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्प्लेक्समा अगष्ट ३० तारिक शुक्रबारदेखि सुरु भएको हो । प्रतियोगितामा अमेरिकामा रहेका नेपाली मूलका ३० वर्षमुनि, ३० देखि ३९ वर्ष र ४० वर्षदेखि माथिका पुरुष भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरू तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिस्पर्धा हुनेछ । यसैगरी १६ वर्षमुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिस्पर्धा हुनेछ ।

पिसजोन क्लबसँगको सहकार्यमा इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित खेलमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टीम दर्ता भएका छन् । किशोर किशोरीतर्फ २९ वटा टीम दर्ता भएका छन् । सबै उमेर समूह र सबै टीमका गरी करिब एक हजार चार सय खेलाडी सहभागी प्रतियोगिता उद्घाटन इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले गर्नुभएको थियो । त्यस अवसरमा उहाँले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी खेलप्रेमीलाई एक ठाउँमा ल्याइ आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले खेल आयोजना गरिएको बताउनुभयो ।

३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् । ४० वर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स, सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन् । यसैगरी ४० वर्षमाथिका भेट्रान्स समूहतर्फ कोलम्बस भेट्रान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेट्रान्स, सागिना भेट्रान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेट्रान्स एफसीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पिसजोन एकेडेमी गर्ल्स, माउण्टेनियर्स एफसी, नर्थ डकोटा साइनिङ्ग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ, १५ भदौः काठमाडौँको कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलङ्कीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बा५२प ९६८० नंको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भइ बसमा ठोक्किएको थियो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधासम्पन्न बसपार्क निर्माण ,सञ्चालनमा ढिलाइ

पर्वत, १५ भदौः सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ ।कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकामा गत असार १५ मा सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको बसपार्क सञ्चालनमा भने ढिलाइ भएको छ । रु सात करोड १५ लाख ३० हजार लागतमा निर्माण भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउनसकेको छैन ।

बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले गत असारमै बसपार्क सम्पन्न भए पनि स्वामित्व हस्तान्तरणमा ढिलाइ भएकाले सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गत असारमै बसपार्क सम्पन्न गरिसकेका छौँ तर कार्यालयलाई हस्तान्तरण गरिएको छैन । सघन सहरी तथा भवन निर्माण कार्यालयले स्थानीय कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्न समय लागेकाले सञ्चालनमा आउन ढिलाइ भएको हो ।”

बसपार्क टर्मिनल भवन, यात्रीकक्ष र पसलका लागि सटर निर्माण, रङरोगनलगायत सम्झौतानुसारको काम सकिएको छ । बसपार्कमा साना र ठूला सवारीलाई छुट्टाछुट्टै पार्किङको व्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्नेगरी टिकट बुकिङ काउन्टरको व्यवस्था गरिएको छ ।

एघार महिना निर्माण अवधि रहे पनि नौ महिना ढिलागरी बसपार्क सम्पन्न भएको थियो । समयमै पर्याप्त बजेट निकासा नहुँदा पनि केही ढिलाइ भएको सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले जनाएको छ । कार्यालय प्रमुख सुनिता श्रेष्ठकले कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया लम्बिएका कारण बसपार्क सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । उहाँले नगरप्रमुख रामचन्द्र जोशी र प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमसँग समन्वय भइरहेको र अब केही समयमै हस्तान्तरण प्रक्रिया अघि बढाइने बताउनुभयो ।

निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या भने ज्युँका त्युँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले बताउनुभयो । ओझाकानुसार कुश्माबजारबाट दिनहुँ काठमाडाँै, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभिटालगायत सहरमा सार्वजनिक सवारीसाधन छुट्ने गर्छन् भने दैनिक हजारौँको सङ्ख्यामा सवारी बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हँुदै जाने गर्दछन् । सवारी साधन असुरक्षित ढङ्गले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । आफूले बसपार्क सञ्चालनका लागि पटकपटक सम्बन्धित निकायमा अनुरोध गरे पनि सुनुवाइ हुन नसकेको ओझाले बताउनुभयो ।

‘पौडी खेलको विकास र विस्तार गरेर खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्छ’ : पूर्वमन्त्री बस्नेत

पाटन (ललितपुर), १५ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पौडी खेलको विकास र विस्तार गरेर खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पौडी सङ्घले आज यहाँस्थित सातदोबाटोमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले पौडी जस्तो स्वास्थ्यका लागि महत्वपूर्ण खेललाई नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरिनुपर्ने बताउनुभयो । पूर्वमन्त्री बस्नेतले पौडी क्षेत्रका प्रशिक्षक र खेल पूर्वाधार विकासका लागि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले सङ्घले यस क्षेत्रका खेलाडीको क्षमता अभिवृद्धिका साथै संरक्षणका लागि ध्यानपूर्वक लागिरहेको बताउनुभयो । सङ्घका महासचिव ईश्वर कार्की पानीमा हुने दुर्घटनाबाट बच्न महत्वपूर्ण हुनुका साथै दिनहुँ पौडी खेल्न सक्दा मुटु र फोक्सो स्वास्थ रहने जानकारी गराउनुभयो । उहाँले पौडी खेलबाट नाम र दाम दुवै कमाउने अवस्था रहेको उल्लेख गर्नुभयो ।

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन हुनेगरी कुनै पनि काम गर्न नदिने स्पष्ट पार्नुभयो ।

नेपालको आफ्नै पहिचान भएकाले कुनै पनि देशको नक्कल गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बङ्गलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ होइन, यहाँ त्यस्तो हुन सम्भव छैन ।”

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध लड्नेहरूले लोकतन्त्रवादीहरूलाई तर्साउन सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन ।”

विगतमा जस्तो नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई सिक भनेर चर्काे स्वरमा बोल्नेहरूलाई म राम्ररी सिक भन्न चाहन्छुु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।”

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दशकदेखि लागिरहेको स्मरण गर्दै समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सृजना गरेकाले राजनीतिप्रति घृणा फैलाउने प्रयास गर्न नहुने बताउनुभयो ।

“अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन । आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र अमनचयन कायम गर्छ,” प्रधानमन्त्री ओलीले थप्नुुभयो, “राज्यका निकायले कानुनको पालना गर्छन् । न्यायोचित कानुनलाई सबैले मान्नुुपर्छ । कानुनको विवेकसम्मत कार्यान्वयन हुुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ ।”

आफ्नो न्यायिक कमाइबाहेक अरु सम्पतिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानीजानी झुठ नबोल्ने, अरुको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरू लागिरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र बालगुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो । प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीति स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गर्नुभएको थियो ।

एमपक्स खोपहरू कङ्गोमा केही दिन भित्र आइपुग्छ – डब्लुएचओ प्रमुख

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आगामी दिनहरूमा एमपक्स खोपको पहिलो डेलिभरी आइपुग्ने अपेक्षा गरिएको बताउनुभएको छ ।

डब्लुएचओले अगस्ट १४ मा एमपक्समा अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको थियो “हामीलाई आशा छ कि केही दिनमा पहिलो डेलिभरी हुनेछ”, शुक्रबार कङ्गोबाट फर्केपछि टेड्रोसले जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो, “यस वर्ष कङ्गोमा हालसम्म १८ हजारभन्दा बढी संदिग्ध घटनाहरू रिपोर्ट गरिएको छ, जसमा छ सय २९ जनाको मृत्यु भएको छ ।”

यो सङ्ख्यामा पाँच हजारभन्दा बढी केस तथा उत्तर र दक्षिण किभुको पूर्वी प्रान्तहरूबाट ३१ जनाको मृत्यु समावेश छ । यहाँ नयाँ क्लेड १ बी स्ट्रेन फैलिएको छ ।

“क्लेड १ बी स्ट्रेनको रिपोर्ट गरिएका केसहरूको सङ्ख्या धेरै हप्तादेखि द्रुत गतिमा बढिरहेको छ”, टेड्रोसले भन्नुभयो ।

यसका साथै बुरुन्डीमा क्लेड १ बी का दुई सय ५८, रुवान्डामा चार, युगान्डामा चार, केन्यामा दुई तथा स्विडेन र थाइल्यान्डमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ । “डब्लुएचओले खोपहरूमा पहुँच र वितरणलाई तीव्रता दिन काम गरिरहेको छ”, संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशकले भन्नुभयो ।

मानुङकोटबाट देखिएको कुहिरो

तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने /रासस

कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् ।

खोटाङमा चट्याङ पर्दा तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

खोटाङ, १५ भदौः गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् ।

डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय एेंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिनुभयो । “चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन् । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्”, उहाँले भन्नुभयो, “उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ ।”

चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो । “चट्याङबाट घाइते बनेकाहरुको अवस्था सामान्य बन्दै गएको छ । हामी अहिले घाइतेहरुको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ”, उहाँले भन्नुभयो, “चट्याङले विद्युत्को मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ । अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौं ।”

चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

कास्य पदक विजेता पलेशालाई राष्ट्रपति पौडेलको बधाई

काठमाडौँ, १५ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । उहाँले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ”

पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो । पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

हिजै भएको पहिलो चरणको खेलमा उहाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित हुनुभयो । दोस्रो चरणमा पराजित भएको कारण उहाँले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्नुभएको थियो ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उहाँले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट हुनुभएको थियो । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी (बेनी), १५ भदौः म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो ।

नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मङ्गलाघाट बजारमा शुक्रबार दिनभर जोगीनाच प्रदर्शन गरिएको थियो । करिब ३० जना बढी युवायुवती र बालक सहभागी भएर शिव, पार्वतीको भेषमा सजिएर परम्परागत जोगी नाच देखाइएको जोगी नाचका संयोजक सुशीलकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नयाँ कलाकारलाई तालिम दिएर जोगी नाचमा सहभागी गराइएको थियो । युवाको समूह नाचगानसहित बजारमा निस्किएपछि दिनभर सर्वसाधारणले रुचिपूर्वक नाच अवलोकन गरेका थिए ।

बजारमा जोगी नाच प्रदर्शन गर्नुअघि लक्ष्मीनारायण मन्दिर परिसरमा महादेव र पार्वतीको पूजागरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित युवालाई जोगी बनाएर बजारमा नचाउने प्रचलन रहेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

नृत्यका साथै घरघरमा पुगेर भिक्षास्वरुप सहयोग जुटाउने चलन पनि छ । भिक्षामा सङ्कलन हुने रकमलाई वर्षे नाचको व्यवस्थापन तथा संरक्षणमा खर्च गरिन्छ । बेनी बजारमा बस्ती बसेदेखि नै यो नाच देखाउन थालिएको हो । यस वर्ष लाखे नाच, घोडा नाच, जोगी नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रालगायत कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।

वायु प्रदूषणको असर न्यूनीकरणका लागि मन्त्रालय संवेदनशील छ : मन्त्री ठकुरी

काठमाडौँ-वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरणका लागि आफू नेतृत्वको मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ ।वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी आज यहाँ आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताउनुभयो ।

जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको उल्लेख गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने जानकारी दिनुभयो ।

वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठूलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा वन तथा वतावरणमन्त्री ठकुरीलाई नेशनल युथ फर चिल्ड्रेन एक्सनले तयार पारेको जलवायु परिवर्तनसम्वन्धी प्रतिवेदन प्रदान गरिएको थियो ।

नेपालको पर्यटन प्रवर्द्धन गर्दै सकियो पाटा ट्राभल मार्टको ४७ औँ संस्करण

बैंकक (थाइल्याण्ड) -नेपालको पर्यटकीय उपजहरुको प्रवर्द्धनका साथै विदेशी क्रेता तथा बिक्रेतामा पर्यटकीय प्याकेज आदानप्रदान गर्दै यहाँ आयोजित पाटा ट्राभल मार्टको ४७औँ संस्करण सम्पन्न भएको छ । दिगो पर्यटन विकासमा अन्तरदेशीय साझेदारी, गन्तव्य प्रवर्द्धनमा सहकार्यलगायत विषयमा सामूहिक पहलकदमी लिने प्रतिबद्धतासहित पर्यटन क्षेत्रको महत्त्वपूर्ण मेला आयोजना गरिएको हो ।

प्यासिफिकएसिया ट्राभल एशोसिएशन (पाटा) द्वारा आयोजितपाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यबाट नौ सयभन्दा बढी प्रतिनिधिहको सहभागिता थियो । जसमा विभिन्न २४ गन्तव्यका एक सय ६८ बिक्रेता संस्थाबाट दुई सय ६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका एक सय ७३ संस्थाबाट एक सय ९१ क्रेताहरू थिए ।

पर्यटन क्षेत्रको कुम्भ मेलाका रुपमा लिइने उक्त मार्टमा नेपालबाट सरकारी र नजी क्षेत्रका १८ कम्पनीको सहभागिता थियो । यो वर्षको मार्टमा पाटा गोल्डलगायत प्रतिष्ठित पुरस्कार पनि नेपालले प्राप्त गरेको छ । पाटाको मुख्यालय थाइल्याण्ड स्थानान्तरणको २५औँ वर्षको विशेष अवसरमा थाइल्याण्डको राजधानी बैंककस्थित ‘ क्वीनसिरिकिट नेशनल कन्भेन्सन सेन्टर’ मा मार्ट आयोजना गरिएको थियो ।

विश्वभरका सबभन्दा सक्रिय पाटा च्याप्टरहरू पाटा नेपाल च्याप्टरले वर्ष २०२३–२४ मा पाटाको उद्देश्य र भावनाअनुरुप पर्यटन क्षेत्रको प्रवर्द्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिको सम्मान स्वरुप’ पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ । पाटा नेपाल च्याप्टरका अध्यक्ष खेमलकाई, निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुर, महासचिव नरेन्द्र भट्ट र प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले यही भदौ १३ मा द अवाण्डण्ड म्यान्सन बैंकक (द कोच होटल) मा आयोजित पाटा पावर अफ नेट वर्किङ कार्यक्रमको क्रममा उक्त पुरस्कार ग्रहण गरेका थिए ।

सर्वोत्कृष्ट च्याप्टरका रुपमा पुरस्कार प्राप्त गरेकोमा अध्यक्ष लकाइले भन्नुभयो, “कारण महत्त्वपूर्ण हैनकी; नतिजा महत्त्वपूर्ण हुन्छ । पाटा नेपाल च्याप्टरले चुनौतीपूर्ण समयमा गरेका काम अहिले विश्वभर मान्यता पाएको छ, र हामी नेपाल टिमको रूपमा गौरवान्वित भएका छौँ । हामी हाम्रो देशको पर्यटनमार्फत साझा समृद्धिमा विश्वास गर्छौँ ।”

त्यसैगरी भदौ १२ मा आयोजित पाटा गोल्ड अवार्ड कार्यक्रममा नेपाल पर्यटन बोर्डको एसटीएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपीड डीएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एण्ड सोसियल रेस्पोन्सी बिलिटी’ विधामा ग्राण्ड टाइटल विजेता अवार्ड प्रदान गरियो ।

पाटा ट्राभल मार्टमा नेपाल पेभिलियनअन्तर्गत सहभागी १८ वटा पर्यटन सेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स, हेरिटेज टुर्स एण्ड ट्राभल्स, लेमन ट्री प्रिमियर, भृकुटी हिमालयन ट्रेक्स, डेस्टिनागो टुर्स एण्ड ट्राभल्स, होटल हिमालय, एक्सपेडिसन हिमालय र होटल रत्नसँभवा थिए । समुदाय होमस्टे नेटवर्क, लक्जरी डीएमसी ट्राभल्स, हिमालयन होलिडेज ट्रेकिङ, बुद्धिस्ट सर्किट्स डट कम, सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटी, केजि एच ग्रुप अफ होटल्स, युरो एसिया टुर्स एण्ड ट्राभल्स, माउन्टेन टाइगर नेपाल, भिजिट हिमालय ट्रेक्स, अफ द वाल ट्रेकिङ र नेपाल योगाहोको सहभागिता थियो ।

पाटाका प्रमुखकार्यकारी अधिकृत नूर अहमदहमिदले पाटा ट्राभल मार्टले एसिया प्यासिफिक पर्यटनको भविष्यप्रतिको सामूहित प्रतिबद्धतालाई उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मार्टले यस क्षेत्र र बाहिरका उच्च गुणस्तरका खरिदकर्ता र बिक्रेताका लागि प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दछ । यसले दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने संस्थाको लक्ष्यलाई झल्काउँछ र बैंककमा यस वर्षको कार्यक्रमको आयोजनाले एसिया प्यासिफिक क्षेत्रभित्र नवीनता र सहयोगलाई बढावा दिँदै थाई पर्यटन सङ्गठनसँग पाटाको स्थायी साझेदारीलाई जोड दिएको छ ।”

एसिया प्यासिफिकमा एक अग्रणी माइस गन्तव्यको रूपमा थाइल्याण्डको प्रतिष्ठा कायम राख्ने हाम्रो साझा प्रतिबद्धतालाई बलियो बनाएको उहाँको भनाइ थियो । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत बुडालले पाटा ट्राभल मार्टमा नेपालको उत्साहजनक सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई बढावा दिन र विश्वबजारमा यसको अतुलनीय आकर्षण र पर्यटन उपजको प्रवर्द्धन गर्न सहयोग पुगेको बताउनुभयो ।

सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा नायव कार्यकारी निर्देशकसँग आज मन्त्रालयमा भएको छलफलमा नेपाल विद्युत् प्राधिकरण सरकारकै अङ्ग भएकाले सरकारप्रति र जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।

“सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ठूलो लक्ष्य राखेको छ, सरकारले राखेको लक्ष्य पूरा हुनेगरी तपाईंहरुले काम गर्नुपर्छ,” मन्त्री खड्काले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको योग्यता र क्षमतामाथि सरकारले ठूलो आशा गरेको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले हिजोका दिनमा बत्ती बाल्नका लागि मात्र बिजुली चाहिए पनि आजका दिनमा यसको प्रयोग अत्यधिक बढेकाले ऊर्जा खपतलाई बढाउँदै राज्यलाई आर्थिक लाभ हुनेगरी प्राधिकरणले काम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले चाँडो सेवा प्रदान गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । विगतमा भएका कमीकमजोरीलाई सुधार्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपाल विद्युत् प्राधिकरण सरकारको मातहत रहेको संस्था भए पनि निजी संस्थाजस्तो देखिएको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणमा भएका गतिविधि र समस्यालाई दैनिक मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कतिपय विद्युत् गृहका प्लान्टमा समस्या रहेकाले त्यसलाई तत्काल मर्मतसम्भार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणमार्फत हाल देशभर ५४ लाख ६० हजार जनताको घरमा बिजुली जडान गरिसकिएको जानकारी दिनुभयो । सोही अवसरमा उहाँले नेपाल विद्युत् प्राधिकरणले गरेका काम र त्यसभित्रका समस्याको बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस

काठमाडौँ, १५ भदौः मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पताल लहानमा ९ बजे राति छड्के अनुगमन

सिरहा- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा शुक्रबार राति ९ बजे छड्के अनुगमन गर्नुभएको छ । रातका समयमा चिकित्सक तथा अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले अनुगमन गर्नुभएको हो ।

“अस्पतालको सेवा प्रवाहसम्बन्धी धेरै नजगुनासो आइरहेको छ । नेपाल सरकारको मापदण्डअनुसार मेसु तथा डाक्टर र कर्मचारीले ड्युटी गर्नुपर्छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “कमी कमजोरी सुधार गरी प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक छ ।” व्यवस्थापनमा कमी कमजोरी देखिएको भन्दै अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेन्ट) सुनिलकुमार कुसवाहलाई सम्बन्धित मन्त्रालयका तर्फबाट सोमबारसम्म स्पष्टीकरण सोधिने पनि मुख्यमन्त्री सिंहले बताउनुभयो । 

अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, प्रयोगशालालगायत निरीक्षण गर्नुभयो । उहाँले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए, नआएका विषयमा खोजीनीति गर्नुभयो । त्यस्तै, अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गर्नुभयो । 

त्यस क्रममा मुख्यमन्त्री सिंहले ड्युटीमा रहेका चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै लापरबाही सह्य नहुने भन्दै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिनुभयो । त्यसैगरी अस्पतालमा सरसफाइको थप राम्रो व्यवस्थापन गर्न पनि निर्देशन दिनुभयो । रातका समयमा बिरामीको उपचारमा बेवास्ता भइरहेको गुनासोबीच मुख्यमन्त्री सिंहले राति अस्पतालको अनुगमन तथा निरीक्षण गरेकामा बिरामी तथा कुरुवाहरूले खुसी व्यक्त गरेका छन् ।

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा पाँच हजारभन्दा बढी डेङ्गीका बिरामी

काठमाडौँ-देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीनजना डेङ्गी रोगको सङ्क्रमणका कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । 

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार चार सय ४० देखिएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकी दुई हजार चार सय ४०, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमण देखिएको छन् । 

उपत्यकामा ६ सय १६ 

काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

हैजा ६८ जनामा 

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६८ जना पुगेका छन् । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई र मकवानपुर एकजनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शीघ्र फैलिने पखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

काठमाडौँ, १५ भदौः पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०-८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् । 

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । 

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

यसैगरी  सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । 

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

काठमाडौँ, १५ भदौः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ ।

कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुँदैछ । यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो ।

वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताउनुभयो ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) लाई अन्तिम रुप दिने र यसमा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूमध्ये कसले कति रकम राख्ने भन्ने बारेमा टुङ्गो लाग्ने बताइएको छ । साथै रकमको मात्रा खोल्ने कि नखोल्ने तथा के के विषयलाई जलवायु वित्त भन्ने विषयमा समेत टुङ्गो लगाउने काम यो सम्मेलनमा हुनेछ ।”

यस विषयमा नेपालले तयारीका लागि हाल वातावरण संरक्षण नियमावली संशोधन प्रक्रियालाई अघि बढाएको, बजारमा कार्बन बेच्नका लागि स्विडेन र दक्षिण कोरियासँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढाएको र यसका लागि आवश्यक पर्ने निर्देशिका बनाउन समूह गठन गरिएको सहसचिव डा पौडेलले जानकारी गराउनुभयो ।

कोप–२८ को ठूलो उपलब्धिका रुपमा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोष कार्यान्वयनमा आउन अझै केही समय लाग्ने भएको छ । हाल उक्त कोष कार्यान्वयनका लागि कार्यविधि, प्रक्रिया र मोडालिटी बनाउने काम भइरहेको छ ।

कोप–२९ कै तयारीका लागि यही भदौ १३ गते मलावीको लिलोङवेमा सम्पन्न अल्पविकसित देशका मन्त्रीहरुको सम्मेलनले आफ्ना मागसहितको घोषणापत्र जारी गरेको एलडिसिज समूहका अध्यक्षका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिनुभयो ।

कुल ४५ अल्पविकसित देशका मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखसहतिको सम्मेलनले जारी गरेको घोषणापत्रमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन र पेरिस सम्झौता सम्बन्धमा आफ्ना मागका विषय समेटेका छन् ।

नेपाल सरकारद्वारा कोप–२९ को तयारी प्रारम्भ

नेपाल सरकारले कोप–२९ को तयारीका लागि हाल वनमन्त्रीको अध्यक्षतामा सम्मेलनसँग सम्बन्धित सबै विषयमा निर्देशन र समन्वय गर्न उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ । त्यस्तै, वन सचिवको अध्यक्षतामा ‘स्टाटस पेपर’लाई अन्तिम रुप दिन र ‘पोजिसन पेपर’ बनाउन प्राविधिक समिति गठन गरिएको छ । सम्मेलनका लागि विषयगत ‘थिमेटिक पेपर’ बनाउने, छलफल र परामर्शका लागि आवश्यक रायसुझाव सङ्कलन गर्न तथा परामर्श र समन्वय गर्न जलवायु परिवर्तन महाशाखाका प्रमुखको अध्यक्षतामा कार्यदल गठन गरिएको छ ।

वन मन्त्रालयले कोप–२९ मा नेपालको सहभागितालाई समावेशी र उपलब्धिमूलक बनाउनका लागि तयारी सुरु गरेको छ । यसका लागि विगतको वर्षमा जस्तै कोप–२९ को मस्यौदा मार्गचित्र तयार गरिएको छ ।

यसका साथै, नेपाल पक्ष राष्ट्र भएको पेरिस सम्झौता र कोप–२८ को निर्णयबमोजिम सन् २०२५ को फेब्रुअरीसम्ममा सन् २०३५ सम्मको नयाँ लक्ष्य राखी नेपालले पनि ‘एनडिसी–तेस्रो समीक्षा’ पेस गर्नुपर्ने भएको र यसका लागि प्राविधिक समिति गठन गरी प्रक्रिया सुरु अघि बढाइएको डा पौडेलले बताउनुभयो ।

कोप–२९ को मस्यौदा मार्गचित्रलगायत तयारी र ‘एनडिसी–तेस्रो समीक्षा’ तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति तथा ‘एनडिसी–तेस्रो समीक्षा’ तयारी प्राविधिक समितिको संयुक्त बैठक आगामी सोमबार भदौ १७ गते तय गरिएको छ ।

कोप–२९ मा नेपालबाट हालसम्म वन मन्त्रीस्तरको सहभागिता हुने निश्चित भए पनि राष्ट्रप्रमुख वा सरकार प्रमुख तहको उच्चस्तरीय सहभागिता हुने भन्ने विषयमा स्पष्ट भइसकेको छैन् । यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय जलवायु परिवर्तन र वातावरणका विषयलाई प्राथमिकताका साथ चासो दिनुभएकाले उहाँको नेतृत्वमा नेपालले कोप–२९ मा सहभागिता जनाउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । राष्ट्रपति पौडेल यस अघि युएईको दुबईमा भएको कोप–२८ मा जानुहुने चर्चा चलेको थियो ।

नेपालबाट हालसम्मको उच्चस्तरीय सहभागिता

नेपालबाट हालसम्म चार सम्मेलनमा राष्ट्र÷सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपनहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्यान्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्यान्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गत वष युएईको दुबईमा भएको कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

उच्चस्तरीय प्रतिनिधत्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीररुपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा पनि ठूलो महत्व राख्ने जलवायुविज्ञ ढकालले बताउनुभयो ।

राजमार्गको दुरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी

मलेखु (धादिङ), १५ भदौः बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौँ पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ । पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् ।

आज दिउँसो नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौँ पुर्‍याइएको छ । पानी परेको समयमा पहिरो खस्ने जोखिम त छँदैछ सुक्खा पहिराले छिनछिनमै राजमार्ग अवरुद्ध भइरहने भएकाले महँगो शुल्क तिरेर हेलिकप्टर प्रयोग गर्नुपरेको हो ।

राजमार्ग विस्तारको कामले धुलाम्मे, हिलाम्मे र खाल्डोखुल्डी पार गर्न साबिकभन्दा दोब्बर समय लाग्ने भएपछि सुत्केरी बिरामीलाई काठमाडौँ पुर्‍याउन हेलिकप्टर प्रयोग गर्न सुझाव दिइएको धादिङ अस्पतालका डा मधुकर दाहालले बताउनुभयो । “जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्छ । समयमै थप उपचार नपाए बिरामीको ज्यान खतरामा पनि जान सक्छ । त्यसैले काठमाडौँ लैजान सुझाव दियौँ, बाटोकै समस्याले हेलिकप्टर प्रयोग गर्न बिरामीका आफन्त बाध्य हुनुभयो”, डा दाहालले भन्नुभयो ।

धादिङबेँसीबाट काठमाडौँ कलङ्कीसम्म पुग्न सामान्यतय लाग्ने समय दुई घण्टा हो । हिजोआज सार्वजनिक यातायातलाई कति घण्टा लाग्छ अनुमान गर्न सकिँदैन । एम्बुलेन्सलाई धादिङबेँसीबाट काठमाडौँ पुग्न वा काठमाडौँबाट धादिङबेँसी आइपुग्न पाँच घण्टासम्म लाग्छ । बर्र्खाको बेला पानी र पहिराले सडक अवरुद्ध भयो । कुनै कारण जाममा परियो भने त समयको सिमै रहँदैन ।

राजमार्ग लथालिङ्ग नहुँदा एक घण्टा ४५ मिनेटदेखि बढीमा दुई घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले चार घण्टाभन्दा बढी नै समय लाग्ने एम्बुलेन्स चालक भेषराज ठकुरीको भनाइ छ । वर्षाैदेखि यही बाटोमा एम्बुलेन्स चलाइरहेका ठकुरी भन्नुहुन्छ, “सामान्य जाम त जसोतसो खुलाउँदै पार गरिन्छ, पहिरो, हिलो र खाल्डोखुल्डीसँग हाम्रो केही चल्दैन । अहिले हामीलाई धादिङवेसी–काठमाडौँ गर्न सामान्यतया चारदेखि पाँच घण्टा लाग्छ ।”

धादिङबाट मात्रै होइन गोरखा, तनहुँ, चितवनलगायतबाट काठमाडौँ भित्रिन एम्बुलेन्सको समस्या पनि यस्तै छ । यात्रुहरु त जोखिम मोल्न बाध्य छन् नै बिरामी बोकेर हिँड्नुपर्ने एम्बुलेन्सलाई पनि गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने गरेको छ ।

राजमार्गको दुरावस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज स्थलगत निरीक्षण गरी यो बर्खाको समय र चाडपर्व अवधिभर राजमार्ग विस्तारको काम नगर्न र अवरोध भएका स्थानलाई तत्काल सफा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।

लामो समय अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै

भरतपुर, १५ भदौः लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो ।

रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रङ्गशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो ।

“कामले गति लिइसकेको छ । कामदारको सङ्ख्या पनि उल्लेख्य छ”, उहाँले भन्नुभयो, “तोकिएकै समयमा रङ्गशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ ।” उहाँले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताउनुभयो ।

महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो । निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताउनुभयो ।

उहाँका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रङ्गशाला निर्माण फेरि सुरु गरिएको छ । सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले दुई सय ५० जना कामदार खटिएका छन् । उहाँले पहिलो चरणमा रङ्गशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ ।

धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रङ्गशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रङ्गशाला बन्नेछ । फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो । अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उहाँले बताउनुभयो ।

महानगरपालिकाले रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा ठेक्का सम्झौता गरेको हो । फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ । सहयोग जुटाएर निर्माण सुरु गरेको रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । अहिले पनि रङ्गशालाको ऋण रु १२ करोड रहेको फाउण्डेशनले जनाएको छ ।

ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण

म्याग्दी, १५ भदौ : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।

आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा एक सय ८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ । जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो ।

आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन । आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीले ३४ स्थानमा तीन सय ११ घरधुुरीले एक सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेका बताउनुभयो ।

“सिकार आरक्षमा अतिक्रण मुख्य चुनौती बनेको छ,” उहाँले भन्नुभयो, “अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल सरकारका विभिन्न निकाय र सरोकारवालहरुसँग पहल गरेका छौँ ।” वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीका लागि अतिक्रमण भएको छ ।

रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा र काक्री, म्याग्दीको जलजला र गुर्जाघाट तथा बागलुङको छेन्तुङ, स्यालपाखे, नवीलगायत गाउँमा पनि अतिक्रमण छ । अतिक्रमणमा परेको केही जमिनमा खेती लगाइएको छभने केही जमिन कम्पाउन्ड घेरेर मात्रै राखेका छन् ।

आरक्षको तथ्याङ्कमा विसं २०४७ देखि सामान्य अतिक्रमण सुरु भएको देखिन्छ । सशस्त्र द्वन्द्वको समयमा यो क्रम बढेको हो । सरकारले विसं २०३९ सालमा सिकार आरक्ष स्थापना गरेको थियो । अतिक्रमणसँगै संरक्षण अभावमा ढोरपाटनको रुद्रताललगायत केही संरचना लोप हुने अवस्थामा छन् ।

टिआरसी कानुन बनेसँगै बेपत्ताको अवस्था पत्ता लाग्ने आशमा परिवार

कास्की, १५ भदौः पोखरा महानगरपालिका–२४ कास्कीकोटका ७५ वर्षीय शालिग्राम पौडेल दुई दशकअघि देखि बेपत्ता आफ्नो छोराको खोजीमा हुनुहुन्छ ।तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा आबद्ध छोरा हरिप्रसाद पौडेललाई विसं २०५८ मङ्सिर २६ गते तत्कालीन संयुक्त सुरक्षा फौजले कास्कीको पामेबाट गिरफ्तार गरेको थियो ।

हरिलाई सुरक्षाकर्मीले पक्राउ गरेको जानकारी पाएदेखि नै बुबा शालिग्रामले सुरक्षा निकाय, मानवअधिकार आयोग, प्रशासनलगायत धेरै ठाउँमा छोराको जीवन रक्षाका लागि पहल गर्नुभयो तर हालसम्म पनि हरि बेपत्ताको सूचीमा हुनुहुन्छ ।

छोराको अवस्था पत्ता लगाउन उहाँले कास्की र पर्वतका समेत धेरै ठाउँमा पुग्ने र खोजी गरे पनि कतैबाट समेत केही जानकारी नहुँदा परिवार लामो समय पीडामा रहेको शालिग्रामले बताउनुभयो । पछिल्लो समय सदनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित (टिआरसी) कानुन बनाएसँगै छोराको अवस्था पत्ता लाग्नेमा पौडेल आशावादी हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय बेपत्ता पार्ने कार्य विरुद्धको दिवसका सन्दर्भमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनका बारेमा आज पोखरामा आयोजित कार्यक्रममा पौडेलले भन्नुभयो, “बेपत्ता हाम्रा परिवारका बारेमा अवस्था पत्ता लगाउन यति धेरै समय नलाग्नु पर्ने हो तर अहिले ढिलै भए पनि कानुन बनेको सुनेका छौँ । यसबाट शक्तिशाली आयोग बनेर छोराका बारेमा केही जानकारी पाइन्छ कि भन्ने आश बढेको छ ।”

बेपत्ता व्यक्ति अब सकुशल फर्कने सम्भावना नरहे पनि कहिले र कहाँ कुन अवस्थामा थिए भन्ने जानकारी पाए पनि आफूहरुको पीडा कम हुने उहाँ बताउनहुन्छ । सहिद परिवारभन्दा पनि बेपत्ताका परिवार अझ ठूलो पीडामा पर्ने गरेको पौडेलले बताउनुभयो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापका लागि गठन हुने आयोगमा पीडित परिवारलाई समेत समावेश गर्नुपर्ने र आयोगलाई राजनीतिक हस्तक्षेपविना काम गर्न दिनुपर्ने बताउनुभयो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ की द्वन्द्वपीडित हिरामती शाही टिआरसी विधेयक पारित भएसँगै न्याय प्राप्त हुनेमा आशावादी हुनुहुन्छ । उहाँले गम्भीर प्रकृतिको मानव अधिकार उल्लङ्घनमा संलग्नलाई दिइने भनिएको ७५ प्रतिशत माफी हुन नहुने बताउनुभयो । “लामो समय रोकिएको कानुन अहिले बनेको छ । द्वन्द्वपीडितलाई न्याय र जीवन निर्वाहको व्यवस्था राज्यले गर्नुपर्दछ,” शाहीले भन्नुभयो । शाहीले तेस्रो प्रयासमा आफ्ना श्रीमान्लाई राष्ट्रिय सहिदको सूचीमा पार्न सफल भएकामा खुसी व्यक्त गर्नुभयो ।

पूर्वभारतीय सेनामा आबद्ध तत्कालीन राष्ट्रिय जनमोर्चाका कार्यकर्तासमेत रहनुभएका शाहीका श्रीमान्लाई विसं २०५८ पुसमा माओवादी लडाकुलाई तालिम दिने गरेको आरोपमा सेनाले पक्राउपछि मारिएको परिवारको भनाइ छ ।

बेपत्ता योद्धा परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले जेजस्तो अवस्थामा रहे पनि बेपत्ता व्यक्तिका बारेमा परिवारलाई जानकारी दिनुपर्ने बताउनुभयो । बेपत्ता व्यक्तिको छानबिन तथा खोजी सम्बन्धित कानुन पारित भएर आयोग बन्ने खबरले आशावादी भए पनि आयोगले निष्पक्ष भएर काम गर्न सक्छ कि सक्दैन भन्ने आशङ्का रहेको उहाँले बताउनुभयो । “हामीलाई ढिलो नगरीकन बेपत्ता भएका परिवारका सदस्यका बारेमा जानकारी दिनुपर्दछ । आयोगले स्वायत्त ढङ्गले काम गर्न पाउनुपर्दछ,” बरालले भन्नुभयो ।

शान्तिका लागि नागरिक समाजका अध्यक्ष वीना सिलवालले ऐनमा द्वन्द्वमा यातना पाएका व्यक्तिका बारेमा सम्बोधन हुन नसकेको बताउनुभयो । उहाँले ऐनमा अपुग कुराहरू परिमार्जन गर्दै कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । “संसद्भित्रको अहिलेको गतिविधिले बनेको कानुन कार्यान्वयनमा शङ्का छ । नीति बने पनि कार्यान्वयन कसरी जान्छ भन्ने कुरा महत्त्वपूर्ण छ,” सिलवालले भन्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ गण्डकीका कार्यवाहक अध्यक्ष पदमराज पहारी, जिल्ला बारका अध्यक्ष भगवती पहारी, द्वन्द्वपीडित अधिकार मञ्चका अध्यक्ष मीमबहादुर रिजाल, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहनराज काफ्ले, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, इन्सेकका सवनम शर्मा, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्मालगायतले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बनेको कानुन कार्यान्वयन र आयोगको स्वायत्तताका लागि खबरदारी गर्नुपर्ने बताउँदै पीडितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

विश्वमै दुर्लभ डङ्गर गिद्धका कञ्चनपुरमा एक सय चौध गुँड, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर, १५ भदौः विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् ।

निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय १४ गुँड रहेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार डङ्गर प्रजातिका गिद्धको निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको छ ।

“विगतको तुलनामा गिद्धले बढी गुँड लगाएका छन्,” उहाँले भन्नुभयो, “वर्षौंदेखिको संरक्षणको कार्यको प्रभाव देखिन थालेको छ, निकै उत्साहित छौँ ।” डङ्गर गिद्धसँगै अति सङ्कटापन्न अवस्थामा रहेको सानो खैरो गिद्धले पनि गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् । निकुञ्जको भतपुरीफाँटामा दुई, हिरापुरफाँटामा एक गरी तीनवटा सानो खैरो गिद्धको गुँड फेला परेको चराविद् डगौराले जानकारी दिनुभयो ।

“सर्भेका क्रममा कञ्चनपुरसँगै डडेल्धुरामा दुई, कैलालीको चरा तथा जैविक विविधता क्षेत्रमा १२ वटा डङ्गर गिद्धका गँुड फेला परेका छन्,” चराविद् डगौराले भन्नुभयो, “बैतडीको खोड्पेमा नौवटा हिमाली गिद्धका गुँड फेला पारेका छौँ ।”

अति सङ्कटापन्न डङ्गर, सानो खैरो र सङ्कटापन्नको सूचीमा रहेको हिमाली गिद्धका गुँड रहेका क्षेत्रमा नियमित अनुगमनको कार्य भइरहेको छ । चराविद् डगौराका अनुसार डङ्गर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा रहेका छन् ।

नेपालमा नौ प्रजातिका गिद्धहरु पाइने गरेका छन् । जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । डाइक्लोफेनेक औषधि पशु उपचारका लागि उत्पादन, बिक्री वितरणमा र प्रयोगमा पूर्ण प्रतिबन्ध, भेटेरिनरी अनुगमन, गिद्धलाई सेटेलाइट ट्रेकिङ गरी वातावरणमा छाड्ने कार्य, सुरक्षित आहार केन्द्र स्थापनासँगै बासस्थान सुधारमा ध्यान दिइँदा गिद्धको सङ्ख्यामा वृद्धि हँुदै गएको उहाँको भनाइ छ ।

समुदायस्तरमा आयोजना गरिँदै आएका सचेतनमूलक कार्यहरु पनि गिद्ध संरक्षणमा टेवा पुगेको उहाँ बताउनुहुन्छ । समुदायसँगको सहकार्यमा अहिले गिद्ध संरक्षणका कार्यहरु अगाडि बढ्दै आएका छन् ।

सन् १९९० को दशकमा नाटकीय रुपमा ९९ प्रतिशतले गिद्ध घटेको पाइएको थियो भने नेपालमा सन् २००२ देखि २०१० सम्मको नेपाल पन्छी संरक्षण सङ्घले गरेको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डङ्गर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको पाइएको थियो ।

पछिल्लो अनुसन्धानहरुले किटोप्रोफेन, निमुसलाइड, फ्लुनिक्सिन, कारप्रोफेन, एसिक्लोफनेक आदि औषधिहरु गिद्धहरुका लागि विषाक्तता मानिएको छ । नेपालमा यस्ता औषधिहरुको प्रयोगमा प्रतिबन्ध अझै भइसकेको छैन । विषादीको गैरकानुनी तवरले मृत पशुहरुमा प्रयोग गर्ने, अव्यवस्थित विद्युतीय तारमा परी गिद्धको मृत्यु हुने, अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धहरुको उद्धार हुन नसक्दा गिद्धको मृत्यु हुने गरेको चराविद् डगौरा बताउनुहुन्छ ।

बासस्थान विनाश, आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपायहरु गाड्ने चलनका कारण खानाको कमी तथा अभाव गिद्धविनाको अर्को कारणका रुपमा रहेको छ । “पछिल्ला वर्षहरुमा गिद्ध संरक्षणका लागि गरिएका प्रयासले सार्थकता पाएका छन्,” गिद्ध संरक्षणको क्षेत्रमा क्रियाशील सुवन चौधरी भन्नुहुन्छ, “गिद्ध जोगाउने अभियानमा समुदायलाई जोड्दा बासस्थान सुधार भएको छ, त्यसको परिणामस्वरुप गिद्धको सङ्ख्या बढेको छ ।”

“गिद्ध मांसाहारी चरा भए पनि आफैँले सिकार गर्दैन, मरेका जनावरको सिनो खाएर वातावरणलाई सन्तुलित बनाउनमा अहम् योगदान पु¥याउँछ,” चौधरी भन्नुहुन्छ, “त्यसैले यसलाई प्रकृतिको कुचिकार पनि भनिन्छ ।” सिनोका कारण वातावरण दुर्गन्धित हुँदा फैलिने हैजा, टाइफाइड, आउ, पखालालगायत रोगहरु गिद्धले सिनो खाँदा न्यूनीकरण हुँदै आएको उहाँको बुझाइ रहेको छ ।

धार्मिक मान्यताअनुसार हिन्दू धर्मावलम्बीहरुले गिद्धलाई शनिदेवको वाहनका रुपमा लिने गरेका छन् । धार्मिक महत्त्वको गिद्धलाई जोगाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको चौधरीको भनाइ छ । नेपाल सरकारले सन् २०२३ देखि २०२७ सम्मको गिद्ध संरक्षणका लागि पञ्चवर्षीय योजना बनाई लागू गरेको छ ।

भदौ १५ : सत्रौँ पुस्तकालय दिवस मनाइँदै

काठमाडौँ, १५ भदौ : प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ । कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ ।

मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी भएको छ । शिक्षा मन्त्रालयको २०७८/७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो । तीमध्ये हाल दुई सय २७ वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहनुभएका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले राससलाई जानकारी दिनुभयो । पुस्तकालय दिवसका अवसरमा खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य स्थानमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।

आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो

काठमाडौँ, १३ भदौ : शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको थियो ।

त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । शुक्रबार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ नौ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको छ ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८० पैसा रहेको छ ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १५ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

राजन राज शिवाकोटी र दिलिप समनको सहकार्यमा तयार भयो ए दिदी भिनाजु खै

काठमाडौँ । गायक तथा संगीतकार राजन राज शिवाकोटी र गायिका शसिका राइको स्वरमा ए दिदी भिनाजु खै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै गायक शिवाकोटीले आफ्नै शब्द शृजनामा सार्वजनिक गरेको भिडियोमा दिदीभाईको प्रेमाभावलाई नजिकबाट केलाइएको छ । भिडियोमा वर्ष दिनसम्म आफ्नो माइतीलाई नभेट्दाको पिडा र आफ्नो भाईलाई भेट्दाको खुशीको क्षण देखाइएको भिडियोले राम्रो चर्चा बटुलीरहेको निर्देशक दिलिप समन बताउँछ्न ।

भिडियोमा प्रमुख भूमिकामा मिना बर्तौला, गायक राजन राज शिवाकोटीको अभिनय देख्न सकिन्छ । त्यस्तै टेलिफिल्म कान्छीमा सासुको भूमिकामा देखिएकी गीता थापा, शृष्टि उग्रकोटी , खेम नेपाली , सुनिल न्यौपाने ,सुनिल बुढाथोकीको अभिनय देख्न सकिन्छ । देवेश राईको एरेन्ज रहेको सार्वजनीक गीतमा विशाल थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको छ भने भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बजारमा आएको हो ।

हाइड्रोपावरका पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिमा देखिएको समस्या समाधान हुन्छः वनमन्त्री ठकुरी

काठमाडौँ, १४ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हाइड्रोपावर कम्पनीका पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (सिइआइए) स्वीकृतिमा देखिएका समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले निर्माण सम्पन्न भइसकेका विभिन्न हाइड्रोपावरका प्रतिवेदन स्वीकृतिमा देखिएका समस्याबारे छलफल भइरहेको बताउनुभयो । मन्त्री ठकुरीले भन्नुभयो, “फाइल अड्काउने कसैलाई छुट छैन । कानुन र ऐन नै बाधक बनेको अवस्था छ । ऐनलाई संशोधन र परिमार्जन गरी अघि बढ्नुपर्छ । सबै सरोकार भएकाहरूलाई बोलाएर छलफल गर्ने तयारीमा छौँ । निकास निस्किन्छ । लगानीकर्ताको उत्साह खेर जान दिँदैनौँ ।”

वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले विविधि कारणले अन्तिम चरणमा पुगिसकेका आयोजनाहरू होल्ड गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कसै–कसैको कानुनअनुसार कागजपत्र नभएकाले अड्केका छन् । कसैको अन्तिम चरणमा भए पनि विविध कारणले अड्किएका छन् । धेरैजसो आयोजना संरक्षित क्षेत्रभित्र छन्, त्यसैले पनि अड्किएका छन् । हामी छलफलमै छाँै, छिट्टै समाधानको उपाय निस्कन्छ ।”

बैठकमा एपोलो हाइड्रोपावर लिमिटेड, तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड, कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिलगायत संस्थाहरूका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का सदस्य भरत पराजुलीले निजी क्षेत्र ऊर्जा विकासमा बढिरहँदा टेबलमा फाइल घुमाइने प्रवृत्तिले काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारबाट कार्यविधि स्वीकृत भइसक्दा पनि केही बुँदाहरूमा स्पष्टता नभएको भन्दै वन तथा वातावरण मन्त्रालयले सयौँ जलविद्युत् अयोजनाहरूको काम रोकिदिँदा प्रवर्द्धकको करौडौँ रुपैयाँ लगानी जोखिममा परेको छ ।” बैठकमा रोल्पाको परिवर्तन गाउँपालिकामा भोगचलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याबारे पनि छलफल भएको थियो ।

मेलम्ची मुद्दामा सिएमसी विरुद्ध बलियो प्रमाण जुटाउन खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौँ, १४ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजना विरुद्ध इटालियन निर्माण कम्पनी ‘सिएमसी’ ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा अन्तर्राष्ट्रिय कानुनी परामर्शदाता हार्वड केनेडी लफर्म लण्डनका प्रतिनिधिहरू भिक्टोरीया टइसन, जेम्स रिडर तथा मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूसँग आयोजित भेटघाटका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले मेलम्ची र सिएमसीबीच चलिरहेको मुद्दामा नेपाल सरकारको पक्षमा निर्णय आउने गरी आवश्यक तयारी गर्न र प्रबल प्रमाण प्रस्तुत गर्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “सिएमसीले मेलम्चीका स्थानीय आपूर्तिकर्तालाई भुक्तानी नगरी एकतर्फि रूपमा ठेक्का तोड्यो र उल्टै मुद्दा दायर ग¥यो । अब हामीले उसका गलत क्रियाकलापको बलियो प्रमाण जुटाउनुपर्छ । मुद्दा जित्न सक्षम हुनुपर्छ ।”

उहाँले मेलम्ची खानेपानीका लागि कार्यरत आपूर्तिकर्ता र कामदारको बाँकी तलब, भत्तालगायत भुक्तानी कसरी तिर्न सकिन्छ भन्ने विषयमा कानुनी परामर्शदातासँग जानकारी लिनुभएको थियो ।

हार्वड केनेडी लफर्मको कानुनी टोली छ दिनको नेपाल भ्रमणमा आएको हो । यस छ दिनको अवधिमा उनीहरूले खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, तथा कानुन मन्त्रालयका अधिकारीहरूसँग भेटघाट गरी सिएमसी विरुद्धको प्रमाण जुटाउने कामलाई अघि बढाउनेछन् ।

मन्त्री यादवका निजी सचिव भक्तराज जोसीका अनुसार आजको भेटघाट कार्यक्रममा मन्त्रालयका सचिव इञ्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, मेलम्ची विकास बोर्डका कार्यकारी निर्देशक रत्न लामिछानेलगायत उपस्थिति रहेको थियो ।

गैरसरकारी संस्थाको नियमन र व्यवस्थापनका लागि एकीकृत सामाजिक सेवा ऐन ल्याउँछौँ: मन्त्री सुडी

काठमाडौँ, १४ भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाज कल्याण परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले गैरसरकारी संस्थाको प्रभावकारी नियमन र व्यवस्थापनका लागि एकीकृत सामाजिक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

युवा गैरसरकारी संस्था महासङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गैरसरकारी संस्था र सरकारका विभिन्न निकायबीच समन्वय गर्न देखिएका समस्या समाधान गर्न आफू लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा गैरसरकारी संस्थाका क्षेत्रमा केही सुधारको आवश्यकता खट्किएको छ तर केही हुँदै नभएको भने होइन । समाज कल्याण परिषद्को अध्यक्षसमेत भएकाले नागरिक संस्थाका समस्या समाधानमा सहजीकरणमा लागिरहेको छु । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजना छनौट प्रक्रिया पारदर्शी बनाउने, मानवविकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रमा योजना छनौट गरी प्रभावकारी कार्यान्वयन गर्न थप काम भइरहेको छ ।”

मन्त्री सुडीले नेपालमा रहेका गैरसरकारी संस्था र सरकारका निकायबीच प्रभावकारी समन्वय र नियमन गरी वर्गीकरण तथा विषयगत क्षेत्रमा परिचालन गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो । “यसकार्यमा मेरो टिम उच्च प्राथमिकताका साथ लागिरहेको छ । आवश्यकता र सङ्घीयताको मर्मअनुरुप एकीकृत सामाजिक सेवा ऐन तर्जुमा गरी सेवा प्रवाहलाई थप व्यवस्थित र चुस्त बनाउने काम हुन्छ । सोहीअनुसार यहाँहरूले पनि सहयोग गर्नुहोला”, उहाँको भनाइ थियो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष नारायण गिरीले वर्षौ पुराना नीति तथा कानुनले अहिलेको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले यथाशीघ्र सुधारको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले विभिन्न परियोजनामार्फत आउने सहयोग र स्रोतको सही परिचालनका लागि सरकारका नियमनकारी निकायले अझ बढी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

योजना आयोगकी सदस्य गीता पौडेल अधिकारी, गृह मन्त्रालयका सहसचिव गोगन हमाल, महिला, बलबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव दीपक नेपाल, समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, अन्तर्राष्टिय गैरसरकारी संस्था सञ्जालका अध्यक्ष डा एसपी कलौनी, गैसस महासङ्घका महासचिव अर्जुन भट्टराईलगायतले समाज कल्याण परिषद्लाई प्रभावकारी बनाउन, ऐन संशोधन गरी नियमनका क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँहरूले नीतिगत सुधारसँंगै गैरसरकारी संस्थाभित्र देखिएका समस्या र बेथिति समयमै सुधार नगरेमा नेपालको छविमा कूटनीतिक र अन्तर्राष्ट्रियस्तरमा असर पर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा आएका ६५ बुँदे सुझाव समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइने महासङ्घले जनाएको छ ।

झापामा अनुचित लेनदेनका ९८ उजुरी

भद्रपुर, १४ भदौः झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन ।

जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको मिति २०८१/०२/११ गतेदेखि मिति २०८१/०४/०४ गतेसम्ममा उक्त उजुरी परेका हुन् ।

झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ । जसलाई आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्योट गर्ने अधिकार रहेको सहायक प्रजिअ नेपालले बताउनुभयो । “तीस वर्षभन्दा पहिले अनुचित लेनदेन भएकादेखि हालसालै अनुचित लेनदेन भएका उजुरी परेका छन् । २० हजार देखि ८३ लाखसम्म अनुचित लेनदेन भएको दाबीसहित उजुरी आएका छन्,” उहाँले भन्नुभयो ।

छिट्टै संयन्त्रको बैठक बसी छलफका लागि दुवै पक्षलाई बोलाई उजुरी सम्बन्धमा आवश्यक निर्णय गर्ने काम सुरु गरिने सहायक प्रजिअ नेपालले जानकारी दिनुभयो ।

अढाई महिनापछि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुर, १४ भदौ : हेटौँडा–९ लामसुरस्थित हेटौँडा सिमेन्ट उद्योगले अढाई महिनापछि क्लिङ्कर उत्पादन सरु गरेको छ । उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादन भएको सिमेन्ट बिक्री नहुने, बिग्रेका मेसिन मर्मत गर्ने रकम अभावजस्ता कारणले अढाई महिनादेखि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको थियो ।

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिनाअघिसम्म समस्या थियो तर अहिले उद्योगमा करिब तीन हजार पाँच सय बोरा तयारी सिमेन्ट मौज्दात रहेको हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । करिब २० दिनका लागि आवश्यक कोइला मौज्दात राखेर उद्योग सञ्चालन सुरु गरिएको अध्यक्ष भण्डारीले राससलाई बताउनुभयो ।

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री नभएपछि स्टकमा बसेको र कोइला खरिद गर्न रकम अभाव भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो । उद्योगले केही दिनअघि मात्र कोइला खरिद गरेको कर्णले जानकारी दिनुभयो । भारत, इन्डोनेसिया र भूटानबाट उद्योगलाई आवश्यक पर्ने कोइला बोलपत्रमार्फत आपूर्ति गर्दै आएको छ ।

कच्चापदार्थभन्दा पनि चार दशक पुराना मेसिन पटकपटक बिग्रेर मर्मत गर्ने काममा समस्या रहेको नायब महाप्रबन्धक कर्णले जानकारी दिनुभयो । उद्योगलाई आवश्यक पर्ने कोइला उद्योगमा मौज्दात भएपछि पुनः सिमेन्ट उत्पादन सुरु गरिएको हो । गत साता सङ्घीय उद्योगमन्त्री दामोदर भण्डारी, प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलालगायतको टोलीले हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्था अवलोकन गरेपछि हेटौँडा सिमेन्ट उद्योगलाई विशेष बजेटको व्यवस्था गरेर सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

तत्कालीन सरकारले २०३३ सालमा हेटौँडा–९ लामसुरेमा सिमेन्ट उद्योग स्थापना गरेको हो । तत्कालीन समयमा रु एक अर्ब ३८ करोड ९० लाखको लागतमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । पछिल्लो पाँच वर्ष यो उद्योग घाटामा सञ्चालन भइरहेको छ । विद्युत् महसुल बढेको र सिमेन्टको बजार मूल्य घटेका कारण पनि उद्योगले घाटा ब्यहोर्नु परेको बताइएको छ ।

उद्योगका मेसिनरी उपकरण चार दशक पुरानो भएकाले केही उपकरण तत्कालै फेर्नुपर्ने अवस्थामा रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उद्योगलाई प्रतिस्पर्धात्मक रुपमा सञ्चालन गर्नका लागि पुराना उपकरण हटाएर आधुनिक उपकरण जडान गर्नुपर्ने भण्डारीको भनाइ छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्नका लागि आवश्यक रकम सरकारले व्यवस्था गरेपछि मात्र उद्योग निरन्तर सञ्चालनमा आउने अवस्था रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

उद्योगमा मौज्दात रहेको तयारी सिमेन्ट बिक्री गरी असार मसान्तसम्मको तलब भत्ता उपलब्ध गराइएको बताइएको छ । उद्योग पूर्ण रुपमा बन्द भएको अवस्थामा पनि तलबभत्तामा मात्र मासिक करिब रु एक करोड खर्च आउने अध्यक्ष भण्डारीले बताउनुभएको छ । कुनै समय एक हजार कामदार कर्मचारीले काम गर्ने हेटौँडा सिमेन्ट उद्योगमा अहिले स्थायी, अस्थायी, दैनिक ज्यालादारीका समेत तीन सय कामदार कर्मचारी कार्यरत रहेका छन् ।