`

पर्यटनमन्त्री पाण्डेद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

लुम्बिनी, १४ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउनुभएको छ ।

भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले सरकारले विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएर अगाडि बढेको समेत बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुटसहित हवाई कम्पनीलाई आर्कषित गराउन खोजेको बताउनुभयो । “अध्यागमन, श्रमलगायत अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरू गर्ने निर्णय गरेका छौँ । बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको छ”, मन्त्री पाण्डेले भन्नुभयो ।

यसअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा उहाँले विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । यसका लागि स्थानीयस्तरमा गर्नुपर्ने आवश्यक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको भन्नुहुँदै अब बुद्धजन्मस्थल आएको अनुभूति हुने गरी सौन्दर्यकरणमा लाग्न आग्रह गर्नुभयो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले विमानस्थल नेपालको पूर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताउनुभयो ।

उहाँकानुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकामा सन् २०२३ मा चार हजार र सन् २०२४ को जुलाइसम्म नौ सय २३ जनाले मात्रै उडान भरेका छन् । मन्त्री पाण्डेसहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गर्नुभएको थियो । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको बारे त्यहाँ गुनासो गरिएको थियो ।

भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा माओवादीले रेकर्ड कायम गर्‍यो : अध्यक्ष दाहाल

कर्णाली, १३ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गर्नुभयो । यति ठूलो अभियान चलाएको देखेर विरोधी शक्तिहरुमा छटपटी पैदा भएको उहाँले बताउनुभयो ।

“यसबाट नेपाली जनतामा आशा र उत्साह पैदा हुँदै गर्दा दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषमा भने आतङ्क सिर्जना भयो”, उहाँले भन्नुभयो, “त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ भए लगत्तै कांग्रेस र एमालेको एकथरी नेतृत्व छटपटिन थाल्यो । त्यसकै परिणाम स्वरुप दुई ठूला राजनीतिक शक्तिबीचको रातारात सहमतिबाट सरकार निर्माण भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले माओवादी सरकारबाट बाहिरिँदा जितेजस्तो र कांग्रेस–एमालेले हारेर नेतृत्व लिएजस्तो बनेको टिप्पणी गर्दै भन्नुभयो, “यो पार्टी र आन्दोलनका लागि ठूलो पूँजी हो । अब भने उनीहरू हामीलाई कमजोर बनाउने नाममा बलिदानपूर्ण सङ्घर्षमार्फत स्थापित गरेका एजेण्डासहितको संविधानमाथि प्रहार गर्न चाहन्छन् । हामीले अगाडि बढाएको भ्रष्टाचार विरुद्धको अभियानलाई निस्तेज कोसिस गर्दैछन् । ती सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउन सुसङ्गठित पार्टी निर्माण गरेर अगाडि बढौँ ।”

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिक क्षेत्रमा मिटरब्याजीको समस्या समाधान, हजारौँ नागरिकताविहीनलाई नागरिकता पाउने व्यवस्था मिलाउनुको साथै देशबाहिर तथा भित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी नयाँ आशाको जगाएको पनि उहाँले जनाउनुभयो । माओवादी नेतृत्वको सरकार हुँदा अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरे पनि अर्थतन्त्र पुनरुत्थानमा लिइएका नीतिगत पहलबाट अर्थतन्त्रमा देखिएका सङ्कट क्रमशः समाधान हुँदै अर्थतन्त्रले पुरानै लय समात्न थालेको उहाँको भनाइ थियो ।

परामर्श बैठकमा उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, नेता गिरिराजमणि पोखरेल, स्थायी कमिटी सदस्य टेकबहादुर बस्नेत, सत्य पहाडी, कालीबहादुर मल्ल, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, नरेश भण्डारीलगायतको सहभागिता रहेको छ । बैठक शनिबारसम्म चल्नेछ ।

भारतको आर्थिक वृद्धि दर ६.७ प्रतिशत

जुनमा समाप्त हुने त्रैमासिकमा भारतको आर्थिक वृद्धि घटेर छ दशमलव सात प्रतिशत भएको शुक्रबारको आधिकारिक आँकडाले देखाएको छ । कम सरकारी खर्च र कम उपभोक्ता खर्चका कारण विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्र भारतको अर्थतन्त्रमा असर गरेको छ ।

शुक्रबारको आँकडाले अझै पनि विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी स्तरमा सबैभन्दा तीव्ररूपमा वृद्धि हुने प्रमुख अर्थतन्त्रहरूमा राखेको छ ।

यद्यपि यो आँकडा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अप्रिय खबर हो । उहाँको पार्टीले जुनमा भएको निर्वाचनपछि आश्चर्यजनक रूपमा संसदीय बहुमत गुमाउनुपरेको थियो ।

यसले भारतीय रिजर्व बैंकमाथि ब्याज दरहरूलाई १८ महिनाभन्दा धेरै समयसम्म छ दशमलव पाँच प्रतिशतमा स्थिर राखेपछि कटौती गर्न पनि दबाब दिन सक्छ । वार्षिक आधारमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिले बढेको छ र भारतीय केन्द्रीय बैंकको सात दशमलव एक प्रतिशतको अनुमानभन्दा तल आएको छ ।

गत वर्ष मार्चमा समाप्त हुने त्रैमासिकमा भारतीय अर्थतन्त्र वार्षिक आधारमा सात दशमलव आठ प्रतिशतसम्म विस्तार भएको थियो । सरकारी पूँजीगत खर्चमा सुस्तताका कारण वृद्धिको गति केही हदसम्म सुस्त भएको विशेषज्ञहरूले बताएका छन् । व्यवसायहरूले पसलमा ग्राहकहरूको सङ्ख्या र सहरी उपभोगमा अवरोधका लागि मुलुकका केही भागमा लामो समयसम्म चलेको गर्मीलाई पनि जिम्मेबार मानेका छन् ।

महिला फुटबल खेलाडीको छनोटप्रति असन्तुष्टि

सुदूरपश्चिम, १४ भदौ : काठमाडौँमा हुन लागेको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको तयारी स्वरुप प्रशिक्षणमा रहेका सुदूरपश्चिम प्रदेशका महिला खेलाडीले खेलाडी छनोटप्रति असन्तुष्टि जनाएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा महिला टोलीका कप्तान अञ्जली चन्दले प्रशिक्षणमा रहेकालाई अवसर नदिएर बिहीबार मात्रै नयाँ १८ खेलाडीलाई छनोट गरिएकाले विरोध गर्नुपरेको बताउनुभयो ।

“२६ खेलाडी एक महिनादेखि प्रशिक्षणमा रहेका थियौँ”, क्पाप्टन चन्दले भन्नुभयो, “हामी कसैलाई पनि छनोट नगरी हतारमा नयाँ १८ खेलाडीको छनोट गरेर प्रशिक्षणमा रहेका खेलाडीप्रति अन्याय गरिएको छ ।”

क्वालिफाई गर्नुअघि छनोट प्रक्रिया पूरा भएर खेलाडीको नाम दर्ता भइसक्दासम्म प्रशिक्षणमा रहेकालाई अवसर नदिएर नयाँ १८ खेलाडी सहभागी गराइएको उनीहरुको भनाइ छ ।

पढाइ र घर छोडेर एक महिनादेखि प्रशिक्षण गरिरहेका खेलाडीप्रति नयाँ प्रशिक्षकबाट अन्याय गरिएको क्याप्टेन चन्दले बताउनुभयो । प्रशिक्षणमा रहेका सबै खेलाडीलाई लिग प्रतियोगितामा सहभागी गराउनुपर्ने महिला खेलाडीको माग छ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि सुर्खेतमा हालै भएको पहिलो चरणको छनोटमा सुदूरपश्चिम प्रदेशको महिला फुटबल टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो । दोस्रो चरणको छनोट काठमाडौँमा हुन लागेको जनाइएको छ ।

प्रशिक्षण दिँदै आउनुभएका प्रशिक्षक सुरज तामाङ र राघब कार्कीसँग प्रदेश फुटबल सङ्घले कुनै समन्वय नै नगरी आफूखुसी ढङ्गले नयाँ प्रशिक्षक दीपु लामालाई नियुक्त गरेको बताइएको छ । यही भदौ १६ गतेदेखि काठमाडौँमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता हुन लागेको छ ।

सुदूरपश्चिम प्रदेश महिला फुटबल टोलीका संयोजक राघब कार्कीले महिलातर्फको राष्ट्रिय फुटबलमा विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको महिला टोलीपछि चौथौ स्थानमा सुदूरपश्चिम प्रदेशको महिला फुटबल टोलीको स्थान रहेको बताउनुभयो । सार्क स्तरीय अण्डर–१९ को महिला फुटबल टोलीमा सहभागी राष्ट्रिय टोलीमा सुदूरपश्चिम प्रदेशका आठ महिला फुटबल खेलाडी सहभागी भएका थिए ।

मदन पुरस्कार मैनाली र जगदम्बा श्री पुरस्कार यादवलाई

काठमाडौँ, १४ भदौः मदन पुरस्कार गुठीले विसं २०८० को जगदम्बा श्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादव र मदन पुरस्कार मोहन मैनालीलाई दिने निर्णय गरेको छ ।

गुठीको आज बसेको बैठकले ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान गर्नुभएको भन्दै यादवलाई जगदम्बा श्री पुरस्कार र २०८० सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मैनालीले लेख्नुभएको ‘मुकाम रणमैदान ः नेपाल–अङ्ग्रेज युद्धको बखान’ पुस्तकका लागि मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पुस्तकलाई परिश्रमपूर्वक ऐतिहासिक सन्दर्भ खोजबिन र सामग्रीलाई सरल, सरस एवं प्रवाहमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्‍याएकाले मैनालीको कृतिलाई मदन पुरस्कार दिइएको विज्ञप्तिमा उल्लेख छ । मदन पुरस्कारका लागि गुठीमा तीन सय चारवटा पुस्तक प्राप्त भएका थिए । त्यसमध्ये मैनालीसहित पाँचजनाको पुस्तक छनोटमा परेको गुठीले जनाएको छ ।

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा भएको थियो । सम्मान कार्यक्रम भने २०१४ सालमा गरिएको थियोे । गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम रु चार हजार थियो । समयक्रममा बढ्दै २०७५ सालदेखि रु चार लाख राशि बनाइएको छ ।

विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोक संस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । जोशीले तीनपटक मदन पुरस्कार पाउनुभएको छ ।

रानी जगदम्बाको स्वर्गारोहणपछि उहाँको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा ‘जगदम्बा–श्री’ सम्मान स्थापना गरेको थियो । रु एक लाख राशिको सम्मान २०४५ सालदेखि नै समर्पण गर्न थालिएको हो ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा प्रकाशित उत्कृष्टमध्ये एक कृतिलाई प्रदान गरिन्छ । ‘जगदम्बा–श्री’ नेपाली भाषा, संस्कृति, साहित्यलगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार भएको गुठीले जनाएको छ ।

द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा

काठमाडौँ, १४ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्द्वक्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न आह्वान गर्नुभएको छ ।

पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले विगतको द्वन्द्वपछि स्थापना भएको शान्तिलाई दिगो बनाउँदै सबै वर्ग र समुदायका जनताको पूर्ण सहभागितामा समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “सबै नेपालीको मर्म र भावना अटाउने संविधानलाई समयसापेक्षा तुल्याउँदै जानुपर्छ । हामी सबै मिलेर डर–त्रास र भयबाट मुक्त समाज बनाउने कार्य गरौँ । त्यसका लागि सरकारले प्रयास गरिरहेको छ ।”

एउटा सभ्य समाजका लागि लोकतन्त्र र मानवअधिकार सबैभन्दा ठूलो विषय रहेको भन्नुहुँदै उहाँले वर्तमान संविधान समावेशी भएकाले सबै जातजाति र समुदायका भावनालाई समेटेर अझ राम्रो र साझा बनाउने प्रयास भइरहेको धारणा राख्नुभयो । “विगतमा ठूलो द्वन्द्व थियो, धेरै लडाइँ भयो । कसैले जित्ने र हार्ने विषय थिएन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र योगदानका आधारमा वार्ताका माध्यमबाट मुलुकमा शान्ति स्थापना भयो । अब यसलाई दिगो व्यवस्थापन गर्दै उपलब्धिलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो ।

सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरणसमेत हुनु द्वन्द्व व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको बताउनुहुँदै उहाँले विगतका अनुभवसहित मुलुक विकासमा अघि बढिरहेको विचार व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव लेखराज भट्टले मुलुकको राजनीतिक परिवर्तन र समाजमा रहेको अन्याय र अत्याचार अन्त्यका लागि माओवादी सशस्त्र युद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र द्वन्द्वका क्रममा कतिपय स्थानमा चिताउँदै नचिताएका घटना भए, त्यो समय म पार्टीको सेती महाकाली इन्चार्जको जिम्मेवारीमा थिए, अझै पनि त्यस्ता घटनाका पीडितको अवस्था देख्दा मन दुख्छ ।”

युद्धका क्रममा दोहोरो भिडन्तमा क्षति भए पनि व्यक्ति हत्या हुनुहुन्न भन्नेमा आफूहरू सचेत रहेकाले सुदूरपश्चिममा त्यस्ता अप्रिय घटना नभएका स्मरण गर्नुहुँदै सचिव भट्टले सुदूरपश्चिममा आफ्नै खाले राजनीतिक अभ्यासको इतिहास भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका युुवा नेता नैनसिँह महरले द्वन्द्वका समयमा निर्भिक कलमलाई भाँच्ने प्रयास भए पनि कलमकै बलमा वर्तमान शासन व्यवस्था यहाँसम्म आइपुगेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “त्यस बेला आशा र कल्पना गरेको शान्तिको रुपान्तरण अझै हुन सकेको छैन, नेपालको द्वन्द्व अध्ययन गर्नेका लागि पुस्तक महत्वपूर्ण दस्तावेज साबित हुनेछ ।”

पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपालको शान्तिप्रक्रियालाई मौलिक रुपमा टुङ्ग्याउन पत्रकारिता क्षेत्रको पनि ठूलो योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता हरेक घटनाको साक्षी हो तर राज्य अहिले पनि यो विधाप्रति अनुदार छ । सरकार र संसद्को प्राथमिकताको ‘एजेन्डा’मा पत्रकारिता क्षेत्र परेको देखिन्न । त्यसैले कतिपय महत्वपूर्ण कानुनसमेत बनेका छैनन् ।”

त्यस अवसरमा वरिष्ठ पत्रकारहरु कुन्दा दीक्षित, बबिता बस्नेत, लेखक उपाध्यायले माओवादी सशस्त्र द्वन्द्वका समयमा पत्रकारका भोगाइ, क्रूरता, पीडा, यातना र अवस्थाको वर्णन गरिएको पुस्तक शान्ति पत्रकारिताको अद्भुत नमूना रहेको बताउनुभयो ।

मुलुकमा भएको १० वर्षे माओवादी द्वन्द्वको साक्षी र इतिहासका रुपमा रहेको पुस्तकमा घटनाको तिथि, मिति, स्थान, संलग्न व्यक्ति र भोगाइबारे सविस्तार समेटिएको उहाँहरुको भनाइ छ ।

सङ्गम बुक्स पब्लिकेसन प्रालि प्रकाशक रहेको एक सय ५४ पृष्ठका उक्त पुस्तकमा बिथोलिएको माओवादी आमसभा, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दाेष मारिएका दुई घटना, कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमणलगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धी घटना समेटिएका छन् ।

जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री दाहाल

दमौली (तनहुँ), १४ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ । हामी त्यसमा प्रतिबद्ध छौँ । हामी कोही पनि निराशा नभइ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

मन्त्री दाहालले तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको बजेट विनियोजन भइसकेकाले बजेट परिमार्जन भएमा तपाईहरूले भनेअनुसार र परिमार्जन नभए केही न केही सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछु ।”

फरक प्रसङ्गमा मन्त्री दाहालले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने बताउनुभयो । एमालेलाई देशको प्रमुख शक्तिका रुपमा निर्माण गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

त्यस अवसरमा एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सचिव प्रदीपराज अधिकारीले जिल्लाका विभिन्न महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिदिन आग्रहसहित मन्त्री दाहाललाई मागपत्र बुझाउनुभएको थियो ।

बारामा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बारा, १४ भदौ : बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्तीमा आज धान खेतमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

स्थानीय ५३ वर्षीय टीकाबहादुर खनाललाई धान खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उहाँको उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

महिला उद्यमीलाई विकास गर्न आवश्यक सहयोग गर्नेछौँः मुख्यमन्त्री कार्की

मोरङ, १४ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा आज विराटनगरमा आयोजना गरिएको तीनदिने ‘नारी उत्सव–२०८१ व्यापार मेला’को उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत महिला उद्यामीहरूको विकासका लागि आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा सहभागी गराएमा समाज र मुलुकमा आर्थिक समृद्धि कायम हुनेछ । महिला उद्यमी तथा व्यवसायीलाई सम्मान एवं प्रोत्साहन गर्नु सरकारको नीति नै हो । त्यसैले गत असारमा १४ जिल्लाका महिलालाई नगदसहित सम्मान पनि गरेका थियौँ । यसलाई निरन्तरता दिनेछौँ ।” उहाँले महिलालाई आर्थिक क्षेत्रमा समान जिम्मेवारी दिएमा मुलुकमा रोजगारी एवं आर्थिक क्षेत्र चलायमान हुने भएकाले राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले महिलालाई स्वरोजगार बनाउन यस वर्षदेखि सीपमूलक तालिम केन्द्रको सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सङ्घका अध्यक्ष अनुपम राठी, नारी उत्सवकी संयोजक श्रुति शर्मा, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल वल्र्ड आश्माकुमारी केसीले यस प्रकारका मेलाले महिलालाई उद्यम क्षेत्रमा आउन प्रोत्साहन गर्नुका साथै आर्थिक क्षेत्र चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मेलामा महिलाद्वारा उत्पादित विभिन्न सामग्रीका ५५ वटा स्टल रहेका छन् ।

गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी, १४ भदौः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताउनुभएको छ । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

युवा उद्यमी मञ्च रुपन्देहीले आज रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा पनि सहभागी गराउने बताउँदै भन्नुभयो, “निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउँछौँ ।”

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकाङ्क सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताउँदै त्यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको बताउनुभयो ।

सार्वजनिक ऋण बढेको बताउँदै ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, “रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ठीक छन् तर आन्तरिक समग्र उत्पादन र माग घटेको छ ।” उहाँले उद्योगहरुको उत्पादन औसत ४० प्रतिशत मात्रै रहेको भन्दै अर्थतन्त्रको समग्र परिसूचकले अझै दबाबमै रहेको बताउनुभयो ।

अहिलेको मागअनुसारका योजना अगाडि बढाउनु नै महत्त्वपूर्ण रहेको बताउँदै उहाँले युवा पुस्ताले देशलाई कसरी सोचेको छ, नेतृत्वबाट के आशा र अपेक्षा गरेको छ भन्ने विषयमा सरकारले निरन्तर चासो राखिरहेको बताउनुभयो ।

व्यवस्था परिवर्तन मात्रै होइन हामी अवस्था परिवर्तन गर्न पनि तयार छौँ भन्ने सन्देश युवा पुस्ताले दिनुपर्ने बताउँदै अर्थमन्त्री पौडेलले नेपालमै बसेर उद्यम गर्ने सम्भावना धेरै रहेको भन्दै यस्ता सम्भावना अरू मुलुकमा नहुने भन्दै बताउनुभयो । “विकसित मुलुकहरुमा सीमित क्षेत्रमा काम गर्न सकिन्छ, तर नेपालमा जलविद्युत्, पर्यटन, कृषि र सेवा उद्योग सबै क्षेत्रमा ठूला–ठूला सम्भावना छन्, युवाले देश छाड्ने गल्ती गर्न हुँदैन”, उहाँले भन्नुभयो, “अहिलेको सरकार नीतिमा स्थिरतासहितको सबैभन्दा बलियो सरकार हो ।”उद्योगमा लगानी भित्र्याउन रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र बनाउन लागिएको बताउनुभयो ।

ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा अधिकारी नियुक्त

काठमाडौँ, १४ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ भदौ १३ को निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको हो ।

इलेक्टिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी झन्डै तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील हुनुहुन्छ ।

विशेषतः ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभारसमेत ग्रहण गर्नुभएको छ ।

कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित

विराटनगर, १४ भदौ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पेश गर्नुभएको सो प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतले पारित भएको हो ।

यसैगरी, मन्त्री अधिकारीले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेस गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री अधिकारीले प्रदेश सरकार बनेको समयदेखि नै जनताको चाहना र आवश्यकतामा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले प्रदेशमा हालै आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार राहत, उद्धार एवं खोजमा निकै क्रियाशील भएर काम गरेको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले सोलुखुम्बुको थामे गाउँमा आएको बाढी र पहिरोमा परेका परिवारलाई आवश्यकताका आधारमा तत्काल राहत वितरण गरेको जानकारी दिँदै उहाँले भत्रुभयो, “सरकार जनताको जीउधनको रक्षा गर्न क्षमताले भ्याएसम्म काम गर्छ ।”

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता तिलकुमार म्याङ्बोले विशेष समयमा पटकपटकको परिवर्तन र फरेबदलले सरकारले स्थिरता नपाउँदा जनताका धेरै काम हुन नसकेको बताउनुभयो । उहाँले अहिलेको सरकार जनताले अपेक्षा गरेअनुरुप काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनताका मुद्दामा बृहत् छलफल हुन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र)ले सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभयो ।

प्रतिपक्षको भूमिका निर्वाहमा कुनै कसर बाँकी नराख्ने भन्दै नेता आङ्बो सरकारलाई जनताका तर्फबाट राम्रो कामको समर्थन र गलत कामका लागि खबरदारीको भूमिका निर्वाह गर्न पछि नपर्ने प्रतिक्रिया दिनुभयो ।

शून्य समय

मुलुकको समसामयिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल, यशोदा कायस्त, मैयाँ श्रेष्ठ, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, गीता रेग्मी र गोपालबहादुर विश्वकर्माले पनि बोल्नुभएको थियो । सभाको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

पाकिस्तान : बलुचिस्तानको शान्ति र विकासका सरकार प्रतिवद्ध

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले आफ्नो देश नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कडा परिश्रमबाट प्राप्त शान्ति र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रान्तमा भएको पछिल्लो आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको केही दिनपछि उहाँको यो भनाइ आएको हो ।

“बलुचिस्तानमा अशान्ति मच्चाउन उद्यत पाकिस्तानका शत्रुहरूलाई पूर्ण शक्ति र राष्ट्रिय समर्थनका साथ परास्त गरिनेछ,” बिहीबार राष्ट्रिय कार्ययोजनाको एपेक्स कमिटीको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री सरिफले भन्नुभयो ।

राष्ट्रिय प्रगति र विकासमा बलुचिस्तानका जनताको योगदानमाथि प्रकाश पार्दै शरीफले बलुचिस्तान पाकिस्तानको एक महत्वपूर्ण प्रान्त हो र यसको विकास र समृद्धिको मार्गमा रहेका सबै अवरोधहरू हटाइने बताउनुभयो ।

प्रान्तमा हालै भएको आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको उल्लेख गर्दै प्रधानमन्त्री शरिफले पाकिस्तानको संविधानको सम्मान गर्नेहरूसँग मात्र संवाद सम्भव हुने बताउँदै देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नेहरूको बलिदान खेर नजाने बताउनुभयो ।

उहाँले प्रान्तमा आतङ्कवाद उन्मूलन गर्न प्रतिआतङ्कवाद विभाग, प्रहरी र अन्य विभागहरूको क्षमता बढाउन पनि आग्रह गर्नुभयो।

तालिवानको सत्ता बहिर्गमनपछि जर्मनीबाट पहिलो पटक २८ अफगानी नागरिकको सुपुर्दगी

जर्मनीले सन् २०२१ को अगष्टमा तालिवान अधिकारीहरूले सत्ता सम्हालेपछि पहिलो पटक अफगानी नागरिकहरूको एउटा समूहलाई उनीहरूको देश फर्काइएको बताएको छ।

सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यी सबै अफगानी नागरिकसँग जर्मनीमा बस्ने कुनै आधार नभेटिएपछि निर्वासन आदेश जारी गरिएको छ।”

काबुलका लागि उडेको कतार एयरवेजको चार्टर्ड विमान लेइपजिग विमानस्थलबाट २८ जना अफगानी नागरिकलाई लिएर स्थानीय समयानुसार बिहान ५:०० बजेअघि उडेको डेर स्पीगेल पत्रिकाले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

दुई महिनाको ‘गोप्य वार्ता’मा कतारले बर्लिन र तालिवान अधिकारीबीच मध्यस्थताको भूमिका निर्वाह गरेको स्पीगेलले जनाएको छ ।

जर्मनीले ‘प्रमुख क्षेत्रीय साझेदारहरूलाई निर्वासनको सुविधाका लागि सहयोग गर्न आग्रह गरेको’ पत्रिकाले उल्लेख गरेको छ । सन् २०२१ मा तालिवान प्रशासनले सत्ता कब्जा गरेपछि जर्मनीले काबुलमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो भने अफगानिस्तानमा सुपुर्दगी पूर्णरूपमा रोकेको थियो।

जर्मन सरकारले अवैध आप्रवासन रोक्न र खतरनाक तथा दोषी ठहरिएका शरणार्थीविरुद्ध कडा कदम चाल्नुपर्ने माग उठिरहेका बेला शुक्रबारको निर्वासन आएको हो।

गत हप्ता पश्चिमी शहर सोलिङ्गेनको एक सडक उत्सवमा भएको चक्कु आक्रमण र यसमा तीन जनाको मृत्यु भएसँगै जर्मनीको यो निर्णय आएको हो । आक्रमण इस्लामिक स्टेट समूहसँग सम्बन्ध भएका २६ वर्षीय सिरियाली युवकले गरेको जर्मन प्रहरीको प्रारम्भिक अनुसन्धानपछि अधिकारीहरूले बताएका छन् ।

संदिग्धलाई केही हप्ताअघि बुल्गेरियामा निर्वासित गर्ने योजना रहेको तर अधिकारीहरूले उनलाई फेला पार्न नसकेपछि उक्त प्रयासले सार्थकता पाउन सकेको थिएन ।

अफगानी २५ वर्षीय एक युवकमाथि गत मे महिनामा जर्मनीको मानहाइम शहरको एक चोकमा चक्कु प्रहार गरी एक प्रहरी अधिकारीको हत्या गरेको आरोप लागेको थियो ।

छुरा प्रहारले जर्मनीलाई स्तब्ध तुल्यायो र अफगानिस्तान वा सिरियाजस्ता असुरक्षित ठानिएका देशहरूबाट आए पनि गम्भीर अपराधीहरूलाई देश निकाला गर्ने बहसलाई पुनर्जीवित गर्‍यो।

जर्मनीका गृहमन्त्री न्यान्सी फैजरले बिहीबार सुरक्षा र शरण नीतिलाई कडा बनाउने उपायअन्तर्गत जर्मनीले सिरिया र अफगानिस्तानबाट गैरकानुनीरूपमा आई जर्मनीमा बसेका नागरिकलाई देश निकाला गर्ने कार्य ‘चाँडै’ सुरु गर्ने बताउनुभएको थियो ।

आप्रवासनसम्बन्धी असन्तोषले यस आइतबार पूर्वी जर्मनीमा नजिकबाट हेरिएको दुई क्षेत्रीय चुनावमा प्रभाव पार्ने र अति दक्षिणपन्थी एएफडी पार्टीले यसबाट ठूलो फाइदा उठाउने अपेक्षा गरिएको छ।

स्पेनी प्रधानमन्त्री सान्चेजले सेप्टेम्बरमा चीन भ्रमण गर्ने

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी सेप्टेम्बरमा चीन भ्रमण गनुृहुनेभएको छ । बेइजिङ र युरोपेली सङ्घबीच विद्युतीय सवारी साधनका लागि चिनियाँ अनुदानको विषयमा व्यापार गतिरोध जारी रहेका समय प्रधानमन्त्री साञ्चेजको भ्रमणको कार्यक्रम सार्वजनिक भएको हो ।

स्पेनी प्रधानमन्त्रीकोे कार्यालयले सेप्टेम्बर ७ देखि १२ सम्म हुने भ्रमणको विस्तृत विवरण उपलब्ध नगराए पनि भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ को मार्चमा आफ्नो अन्तिम चीन भ्रमणका क्रममा स्पेनी प्रधानमन्त्री साञ्चेजले चिनियाँ राष्ट्रपति सीसँग भेट गर्नुभएको थियो ।

सीले युक्रेनका लागि चीनको शान्ति प्रस्तावलाई समर्थन जुटाउने प्रयास गरिरहेका बेला र युरोजोनको चौथो ठूलो अर्थतन्त्र स्पेनले सन् २०२३ को उत्तराद्र्धमा युरोपेली सङ्घको आलोपालो अध्यक्षता सम्हाल्ने तयारी गरिरहेका बेला यो भ्रमण हुन लागेको हो ।

सान्चेजको आसन्न चीन भ्रमण युरोपेली आयोगले गत हप्ता चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा ३६ प्रतिशतसम्म पाँच वर्षका लागि आयात शुल्क लगाउने घोषणा गरेपछि हुन लागेको हो ।

बदलामा बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको छ । उक्त अनुसन्धानमा ताजा चीज र दही, केही दूध र क्रिमलगायत विभिन्न वस्तुहरू समावेश हुनेछन्।

ईयूले युक्रेनी सैनिकलाई थप तालिम दिने

युरोपेली सङ्घ (ईयू) ले युक्रेनी सैनिकलाई थप तालिम दिन चाहेको तर युक्रेनमा नै सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा सदस्य राष्ट्रहरू विभाजित रहेको युरोपेली सङ्घका विदेश नीति प्रमुखले शुक्रबार बताउनुभएको छ । ईयूले यस वर्ष करिब ६० हजार युक्रेनी सैनिकलाई तालिम दिने लक्ष्य राखेको हो ।

युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ जोसेप बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी युक्रेनी सैनिकको प्रशिक्षण अभियान कसरी बढाउने भन्ने विषयमा छलफल गर्नेछौँ ।”

“हामी युक्रेनमा समन्वय केन्द्र बनाउनेबारे सोचिरहेका छौँ, तर युक्रेनी भूमिमा युक्रेनी सैनिकहरूलाई युरोपेली प्रशिक्षकहरूसँग प्रशिक्षित गर्ने कुनै सम्झौता भएको छैन,” बोरेलले भन्नुभयो ।

यो मुद्दाले इयूका २७ सदस्य राष्ट्रलाई विभाजित गरेको छ । इस्टोनिया, फ्रान्स र स्वीडेनलगायत धेरै देशहरूले युक्रेनमा प्रशिक्षण सैनिकहरूलाई समर्थन गर्छन् । तर, हङ्गेरीलगायत अन्य देशहरूले यस्तो कदमले द्वन्द्व बढाउन सक्ने डर व्यक्त गरेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा पश्चिमी सेना पठाउने सम्भावनालाई अस्वीकार नगरे पनि त्यस्तो कदम चाल्ने विषयमा कुनै सहमति नभएको बताएपछि अन्य मित्रराष्ट्रहरूले फ्रान्सको भूमिकाप्रति आशङ्का व्यक्त गरेका छन् ।

मन्त्रीहरूले युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिनका लागि युरोपेली मिसनको नवीकरणबारे छलफल गर्नेछन् तर हालको योजनामा युक्रेनी भूमिमा यसलाई सञ्चालन गर्ने उल्लेख गरिएको छैन, ईयूका एक कूटनीतिज्ञले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बिहीबार गरेको अपिलपछि बोरेलले युरोपेली सङ्घका राष्ट्रहरुलाई युक्रेनमा हतियार आपूर्तिको गति बढाउन आग्रह गर्नुभएको थियो ।

“युक्रेन र युक्रेनी शहरहरूमा विशेष गरी ठूला हवाई आक्रमण भइरहेको र जुनदेखि धेरै प्रतिज्ञाहरू गरिएको बताउँदै बोरेलले भन्नुभयो, “हामीले प्रतिक्रिया जनाउनुपर्छ भन्ने स्पस्ट छ।”

उहाँले किएभले हतियार आपूर्ति कसरी प्रयोग गर्छन् भन्ने विषयमा युक्रेनमाथि लगाइएको प्रतिबन्धको पनि आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, “रूसी भूमिभित्र निशाना बनाउन दिनुको अर्थ मस्कोविरुद्धको युद्धमा हुनु हो भन्नु हास्यास्पद हो। हामी युक्रेनलाई समर्थन गरिरहेका छौँ।”

युक्रेनले आफ्ना मित्रराष्ट्रहरूलाई हतियार प्रयोगमा रहेको प्रतिबन्ध फुकुवा गर्न पटक–पटक आग्रह गर्दै आएको छ तर बर्लिन र वासिङ्टनले मस्कोसँग मुठभेड हुने डरले यस्तो कदमको विरोध गरेका छन् ।

रसुवा भन्सारमा पचास करोड राजस्व वृद्वि

रसुवा, १४ भदौः गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व रु ५० करोडले वृद्वि भएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत रु एक अर्ब ५४ करोड राजस्व सङ्कलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा रु एक अर्ब तीन करोड मात्र राजस्व सङ्कलन भएको थियो । राजस्व सङ्कलनका लागि आयात भएका सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, विद्युतीय सामग्री, थरमस, विभिन्न मोडलका सवारीसाधन र तिनका पार्टपुर्जाका साथै स्याउ, ओखरलगायत फलफूल आयात भइरहेका भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका लागि रसुवागढी नाकाबाट चिनियाँ उपकरण आयात हुने गरेका छन् । राजश्व वृद्धि भए पनि यहाँ सडक सुरक्षामा भने ध्यान दिइएको छैन । सडकको क्षमताभन्दा पाँच गुणा बढी वजन भएका उपकरण ल्याउने गरिएकाले पासाङल्हामु मार्गमा पहिरोको जोखिम बढ्दै गएको र ठाउँठाउँका पुल भासिने सम्भावना बढेकाले आवश्यक नियमन र मर्मतमा ध्यान दिन स्थानीयवासीले अनुरोध गरेका छन् ।

यस्तै, देशको अर्थ सङ्कलनमा ठूलो योगदान दिइरहेको स्याफ्रुबेँसी रसुवागढी सडकको १६ किमी खण्ड मर्मतसम्भार नहुँदा खाल्टाखुल्टीका कारण मालवाहक सवारीसाधन गुडाउन कष्टकर हुँदै गएको चालकको गुनासो छ । सडकको क्षमताभन्दा बढी सामग्री बोकेका ट्रक गुडाएका कारण कालिका स्थानमा सडक भासिँदा नियमित यात्रुवाहक बस गुडाउन मुस्किल हुँदै गएको बस व्यवसायी समितिले जनाएको छ ।

भार्खु डाँडामा तीन वर्षअगाडि देखि सुरु भएको मर्मतसम्भार र कटिङ् कार्य हालसम्म सम्पन्न नहुँदा सरकारी व्ययभार बढ्दै गएको छ । मानसरोवर कैलाश यात्रासमेत चलिरहेको अवस्थामा सडक सुधार नहुँदा यात्रामा समस्या छ ।

नेपाल विश्वविद्यालय विधेयकमा ‘अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी’ भन्ने शब्द राख्न सुझाव

काठमाडौँ, १४ भदौ : ‘नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी उपसमिति’ले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ मा ‘अध्यापक तथा कर्मचारी’ भन्ने शब्दहरुको सट्टा ‘अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी’ भन्ने शब्द राख्न सुझाव दिएको छ ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समितिसमक्ष प्रतिवेदन पेस गर्दै उपसमितिले ‘उपकुलपति, रजिष्ट्रार तथा परिषद्, प्राज्ञिक परिषद् र कर्मचारी समितिका’ भन्ने शब्दहरुको सट्टामा ‘उपकुलपति, रजिष्ट्रार, र परिषद्का’ भन्ने शब्दहरु राख्न सुझाव दिएको हो ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा उपसमितिका संयोजक देवेन्द्र पौडेलले समितिका सभापति अम्मरबहादुर थापासमक्ष प्रतिवेदन पेस गर्दै भन्नुभयो, “विधेयकमा उल्लेख गरिएको बैठकमा भन्ने शब्दपछि ‘स्वदेशी’ भन्ने शब्द थपी सोही उपदफामा रहेका ‘वा अनुसन्धानकर्तालाई’ भन्ने शब्दहरुको सट्टा ‘अनुसन्धानकर्ता वा विद्यार्थी प्रतिनिधिलाई’ भन्ने शब्दहरु राख्नुपर्ने सुझाव पेस गरिएको छ ।”

‘मनोनयन भएका सदस्यहरुको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाइ सदस्यको दुई वर्ष, अर्को एक तिहाइ सदस्यको तीन वर्ष र बाँकी एक तिहाइ सदस्यको चार वर्षको हुनेगरी पदावधि कायम गर्नुपर्नेछ’, प्रतिवेदनमा भनिएको छ । त्यसैगरी, उपसमितिले ‘शिक्षाविद्’ भन्नाले नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झ्नुपर्छ’ भनी सुझाव दिएको छ ।

समितिले विधेयकको सम्बन्धमा छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न संयोजक पौडेल र सदस्यहरु डिगबहादुर लिम्बू र दिपा शर्माको सदस्यतामा उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्मा, रामप्रकाश चौधरी, ज्ञानु बस्नेत सुवेदी, डा चन्द्र भण्डारी र कालुराम राईलगायतले उपसमितिको प्रतिवेदनका आधारमा विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइन्छ : मन्त्री भण्डारी

काठमाडौँ, १४ भदौ : श्रम तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइने बताउनुभएको छ ।

श्रम मन्त्रालय, संयुक्त राष्ट्र आप्रवासन सङ्गठन र जर्मनी सहयोग नियोगद्वारा आज आयोजित श्रम सम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री भण्डारीले उक्त नीतिको मस्यौदा तयार गरिएको र त्यसलाई विज्ञहरुको सुझाव लिएर परिमार्जन गरी संसद्मा लैजाने बताउनुभयो ।

नेपाली श्रमिक वैदेशिक रोजगारमा जाँदादेखि फर्कने बेलासम्म सुरक्षित गर्नुपर्नेमा जोड दिँदै उहाँले आप्रवासनका क्षेत्रमा विद्यमान समस्या समाधान गर्न नीतिमा प्रस्ट व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री भण्डारीले कामदारलाई भाषा र सीप सिकाएर दक्ष बनाउने, उनीहरूको मानव अधिकारसम्बन्धी विषयलाई समावेश गरिएको उल्लेख गर्दै नीतिमा समयसापेक्ष सुधार गर्न सकिने बताउनुभयो ।

खाडी मुलुकहरूमा अधिक तापक्रमका कारण त्यहाँ जाने नेपाली श्रमिकको स्वास्थ्यमा समस्या आउने गरेको बताउँदै उहाँले करिब ४६ प्रतिशत युवाको मिर्गाैलासम्बन्धी समस्या देखिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

जुनसुकै विधा र प्रक्रियाबाट पनि विदेश पुगेका नेपालीहरू वैधानिक काममा क्रियाशील रहेमा उनीहरूलाई सरकारले वैधानिकता दिने बताउँदै मन्त्री भण्डारीले विश्वका एक सय ७१ मुलुकमा नेपाली कामदार जाने गरेको जानकारी दिनुभयो ।

श्रम सचिव मुकुन्द निरौलाले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सुरक्षित गर्ने, ठगिएमा, अलपत्र परेमा स्वदेश फिर्ता, क्षतिपूर्तिको व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

संयुक्त राष्ट्र आप्रवासन सङ्गठनले नीतिको मस्यौदा निर्माण, माइग्रेसन स्कूल सञ्चालनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ ।

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

गुलरिया (बर्दिया), १४ भदौः बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ ।

मोहना नदीको कटानले भजनी नगरपालिका जोखिममा

भजनी (कैलाली), १४ भदौ : भजनी नगरपालिका–५ पगियाप्रसारका महेन्द्रसिंह बुढाको घरमा यतिबेला कोही छैन । मोहना नदीले कटान गर्दै घर पूर्ण जोखिममा परेपछि महेन्द्रको घरमा मान्छे बस्न सक्ने स्थिति छैन । बर्सेनि नदीको कटानले घरसँगै जोडिएको सडक आधा कटान गरिसकेको छ ।

सडक कटान भए नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम रहेको स्थानीय चन्द्र बोहरा बताउनुहुन्छ । मोहना नदीको कटानले बर्सेनि आजित बन्दै आउनुभएका उहाँलाई कुन दिन पूर्ण विस्थापित भएर जानुपर्ने हो भन्ने कुराको चिन्ता छ । बर्सेनि नदी कटान गर्दै बस्ती पस्न थालेपछि चन्द्रजस्तै सयौँ परिवार नदीको कटानले आजित बनेका छन् । उहाँका अनुसार जीवनलाई हत्केलामा राखेर मोहनाको तटीय क्षेत्रका नागरिकले जीवनयापन गरिरहेका छन् । स्थानीयको हजारौँ बिघा जग्गाधनीपुर्जा भएको जमिन बगर बनिसकेको छ । नदीले बर्सेनि धार परिवर्तन गर्दै आएको छ ।

“नदी हिजो बग्ने ठाउँ देखायो भने आज कसैलाई पत्याउन गाह्रो हुन्छ । बस्तीमा नदी सर्ने हामी नदीबाट बच्नका लागि घर सार्ने गरेका छौँ । हाम्रो हत्केलामा जीवन छ”, उहाँ भन्नुहुन्छ, “अब त सर्नका लागि ठाउँ छैन । अन्य ठाउँमा जग्गा छैन ।” त्यस क्षेत्रका नागरिक वर्षा सुरु भएपछि दुःखका दिन सुरु भएको महसुस गर्दै आउनुभएको छ । मोहनाको कटानले कैयौँ परिवार सुकुम्बासी बनेको स्थानीयको भनाइ छ ।

सोही ठाउँका झङ्करबहादुर साउद आकाशमा कालो बादल मडारिएपछि रातभर जाग्राम बस्ने गरेको बताउनुहुन्छ । नदी बस्तीसम्मै पुगेपछि नदीको पानीको बहाव हेर्न रातिको समयमा स्थानीय परिचालित गर्नुपर्ने स्थिति आएको उहाँको भनाइ छ । “सुरक्षित स्थानमा जानलाई त्यस्तो ठाउँ छैन । यतै बस्नलाई कतिबेला के हुन्छ त्यसको कुनै जानकारी छैन”, उहाँले भन्नुभयो, “हाम्र पीडा सुन्ने कोही छैन । जसोतसो भगवान् भरोसा आजसम्म सकुशल छौँ भनौँ भोलि कसले देखेको छ र ?”, उहाँले नदी नियन्त्रणको आशा गर्दागर्दै दिन व्यतित भएको गुनासो गर्नुभयो ।

नागरिकहरू बर्सेनि पीडामा जीवन बिताउन बाध्य हुँदा पनि राज्यले बेखबर भएको दुखेसो सिद्धराज जैशीको छ । राहत, उद्धार तथा अनुगमनका लागि बर्सेनि पुग्ने सरकार नदी नियन्त्रण गर्न आउन नसकेको उहाँको भनाइ छ । “नागरिक पीडामा हुँदा राहत र उद्धारका लागि सबैले पहल गर्छन् । त्यसैगरी नदी नियन्त्रणका लागि पहल गरेको भए सायद भजनीले डुबानबाट छुटकारा पाउथ्यो कि ?”, उहाँ भन्नुहुन्छ, “हामीलाई राहत चाहिएको छैन । हामीलाई भजनीको डुबानको दीर्घकालीन समाधान चाहिएको छ । हामीलाई त्रासरहित जीवनयापन गर्ने आधार चाहिएको छ ।”

भजनी चारैतिरबाट नदीले घेरिएको नगरपालिका हो । यहाँ कान्द्रा, मोहना, काँढा र पथरैया नदी भजनीसँग जोडिएका छन् । ती नदीको पानीको सहज निकास हुन नसक्दा भजनी डुबानमा पर्दै आएको छ । हजारौँ नागरिक बाढी र डुबानका कारण बर्सेनि विस्थापित हुने गरेका छन् । “बृहत् योजना ल्याएर चारै नदी नियन्त्रण गर्न सकेमात्र भजनीलाई डुबान र कटानको जोखिमबाट बचाउन सकिन्छ ।” स्थानीय सूर्यबहादुर चौधरी भन्नुहुन्छ, “होइन भने खेतीयोग्य जमिन बगर बन्ने क्रम रोकिने छैन । नागरिकहरूले सहजरूपमा जीवनयापन गर्न सक्ने छैनन् ।”

भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले सङ्घीय सरकारका प्रतिनिधि आएर कैयौँपटक नदी नियन्त्रणका लागि सर्भे गरेर गएको बताउँदै योजनासहित कोही नफर्केको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाको स्रोतसाधनले नदी नियन्त्रण गर्न सक्ने स्थिति नरहेको बताउँदै सङ्घीय सरकारको बृहत् योजनाको आशामा भजनी रहेको बताउनुभयो । “हामीले हाम्रो स्रोतबाट हुनसक्ने काम गरेका छौँ । त्यो भनेको जैविक तटबन्धमात्रै हो । त्यसका लागि गत वर्ष पनि रु १६ लाख खर्च भएकै हो । तर अहिले त्यो जैविक तटबन्ध कहाँ भएको हो थाहा नपाउने स्थिति छ ।” वडाध्यक्ष बुढाले भन्नुभयो, “यसपटक पनि प्रदेश र सङ्घ सरकारलाई आग्रह गरेका छौँ । आशा गरौँ बजेट आउँछ कि ?”

उहाँका अनुसार मोहनाको कटानबाट करिब दुई सय ५० परिवार उच्च जोखिममा छन् । नदीले धार परिवर्तन गर्दा बस्तीसँगै हजारौँ खेतीयोग्य जमिन थप बगर बन्ने देखिएको छ । अहिले पनि स्थानीय सरकारसँगको समन्वयमा जैविक तटबन्धको काम भइरहेको छ । “जहाँ बढी जोखिम छ, त्यहाँ स्थानीयको जनश्रमदानबाट जैविक तटबन्धको काम भइरहेको छ”, वडाध्यक्ष बुढा भन्नुहुन्छ, “जसोतसो यो बर्खा कटे त्यसपछि केही विकल्पमा काम गर्न सकिन्थ्यो”, अहिले पनि भजनी त्रासमा छ ।

फलेवास नगरको आवासगृह : न कर्मचारी बस्छन् न त नगरप्रमुख

पर्वत, १४ भदौः यहाँको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्र्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह प्रयोगविहीन बनेका छन् । नगरपालिकाले ती घरका भाडावापत वार्षिक लाखौँ रुपैयाँ भुक्तानी गर्दै आएको छ । नगरप्रमुखको आवासका लागि फलेवास नगरपालिका–६ देवीस्थानमा र कर्मचारीका लागि फलेवास –५ खानीगाउँमा घर भाडामा लिइएको नगरपालिकाले जनाएको छ ।

आवास गृहमा न कर्मचारी बस्छन् न त नगरप्रमुख नै । नगरप्रमुख गङ्गाधर तिवारी आफ्नै वडा नं ३ शङ्करपोखरीमा तथा सदरमुकाम कुश्माबजारमा रहेको घरमा बस्नुहुन्छ भने केही कर्मचारी नगरले सम्झौता गरेको घरमा नबसी छुट्टै बस्दै आएका छन् ।

नगरपालिकाले नगरप्रमुखका लागि मासिक रु १५ हजारमा घरबहालमा लिएको छभने कर्मचारीका लागि मासिक रु १९ हजार पाँच सय भुक्तानी गर्दै आएको छ । पूर्व नगरप्रमुख पदमपाणि शर्माले आवासीय सुविधा लिनुभएको भए पनि वर्तमान नगरप्रमुख तिवारीले भने आवासीय सुविधा नलिनुको प्रमुख प्रशासकीय अधिृकत नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

जनप्रतिनिधि र कर्मचारी नै नबस्ने आवासका लागि वार्षिक रु चार लाखभन्दा बढी भुक्तानी हुँदै आएको जनाउँदै सरोकारवालाले विरोध जनाएका छन् । नगरभित्रै खाली रहेका वडा नं ५ का पुरानो वडा कार्यालय, पुरानो पशु सेवा शाखा, फलेवास सिँचाइ आयोजना, तत्कालीन कृषि विकासको शाखा कार्यालयलाई प्रयोगमा ल्याउन समेत माग गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफू सरुवा भएर आउनुभन्दा पहिल्यैदेखि कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडा भुक्तानी हुँदै आएको जानकारी दिनुभयो । पुरानै सम्झौताका आधारमा दुवै ठाउँमा भाडा तिर्ने गरिएको जनाउँदै यसलाई दुरुपयोग भएकै भनेर नबुझ्न आग्रह गर्नुभयो । उहाँले ती भवनमा नगरपालिकामा आउने अतिथि पाहुनालाई राख्ने गरिएको दाबी गर्नुभयो ।

“भाडामा लिएको आवास नभएको भए होटल खोजेर वा कुश्माबजारमा पठाउनुपर्ने थियो, तर हामीले तीनै आवासमा अतिथिलाई व्यवस्थापन गर्ने गरेका छौँ”, कार्यकारी अधिकृत आचार्यले भन्नभयो, “नगरप्रमुखको आवासमा आफूलाई बस्न नगरप्रमुखले आग्रह गरेको भए पनि आफू अन्यत्रै बस्ने गरेको छ”, उहाँले भन्नुभयो । प्रयोगविहीन आवासको सम्झौता रकम भुक्तानी रोक्ने प्रक्रियामा आफूले छलफल थाल्ने उहाँले बताउनुभयो ।

यसैबीच नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण पनि तीव्रगतिमा भइरहेको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी प्रशासकीय भवन निर्माण भइरहेको नगरप्रमुख तिवारीले बताउनुभयो । खानीगाउँको झकलक चौरमा निर्माण सुरु भएको भवन ४२ कोठे हुनेछ । निर्माण कम्पनीले विसं २०७८ भदौमा निर्माणको सम्झौता गरेको भवन रु नौ करोड २ रुपैयाँको लागतमा बन्ने छ । डेढ वर्षमा भवन सम्पन्न गर्ने सम्झौता भए पनि केही ढिलाइ भएको नगरप्रमुख तिवारीले बताउनुभयो । नयाँ भवन सम्पन्नपछि अहिले चलिरहेको अस्थायी भवनमा कर्मचारीको आवास सर्ने भएकाले घरभाडा तिर्नुपर्ने समस्या नुहुने बताउनुभयो ।

कावासोतीमा ६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन, बन्यो धुमपान गर्नेको रोजाइको केन्द्र

मध्यविन्दु (नवलपरासी), १४ भदौः बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।

तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गर्नुभयो । “अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ”, उहाँले भन्नुभयो ।

टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताउनुभयो ।

“भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ”, उहाँले भन्नुभयो, “अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।”

कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताउनुभयो । “तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।”

भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९÷८० मा रु १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।

“यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।” समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।

टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा न्याैपाने निर्वाचित

काठमाडौँ, १४ भदौः पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुनुहुन्छ । यस्तै, टिवानको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिनुभयो । कोषाध्यक्षमा चिरञ्जीवी गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे हुनुभएको निर्वाचन संयोजक आचार्यले बताउनुभयो ।

पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताउनुभयो । यस्तै पर्यटक बस सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

तत्कालीन थारू राजा दङ्गीशरणको हुलाक टिकट प्रकाशन गरिँदै

तुलसीपुर (दाङ), १४ भदौ : तत्कालीन थारू राजा दङ्गीशरणको स्मरणमा हुलाक टिकट प्रकाशन गरिने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–११ सुकौरामा थारू राजा दङ्गीशरणले राज गरेको जनाउँदै उक्त क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि टिकट प्रकाशन गर्न लागिएको हो । सुकौराको इतिहासलाई जीवन्त राख्नका लागि यो कार्यले भूमिका खेल्ने वडाध्यक्ष रावतको भनाइ छ । “यो एतिहासिक ठाउँलाई साँच्चिकै व्यवस्थित गर्नका लागि हामीले हुलाक टिकट प्रकाशन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “यसले सुकौरालाई जीवन्त राख्नेछ ।”

टिकटमा राख्ने नाम र फोटो वडाले सिफारिस गरेर पठाएमा तत्काल टिकट बन्ने जनाउँदै केही दिनमा उक्त सिफारिस पठाइने वडाध्यक्ष रावतको भनाइ छ । उहाँका अनुसार टिकटमा ‘दङ्गीशरण थारू राजाको दरबार, सुकौरा दाङ’ राखेर पठाउने तयारी रहेको छ । थारू अगुवाहरूसँग छलफलपछि उक्त नाम टुङ्ग्याएको जनाउँदै सोही नाम नै सिफारिस गर्ने उहाँले बताउनुभयो । साथै राजदरबार क्षेत्रको भग्नावशेषको फोटो राख्ने सहमति भएको छ ।

थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं ३ का सचिव जितेन्द्र चौधरी टिकट निर्माण कार्य सराहनीय भएको बताउनुभयो । तर नाम भने ‘दङ्गीशरण थारू राजाको दरबार, सुकौरा दाङ’ नै राख्नुपर्ने सुझाव दिनुभयो । त्यसबाहेक अन्य नाम राख्दा थारू राजाको इतिहास नै मेटिने भन्दै यसमा ख्याल गर्नुपर्ने बताउनुभयो । त्यो नाम नराखिएमा थारू समुदायले विरोध जनाउने बताउनुभयो ।

थारू राजाले राज गरेको ऐतिहासिक ठाउँ भएकाले त्यहाँको भग्नावशेष जोगाउनु अतिआवश्यक रहेको भन्दै अन्य संरचना निर्माण गर्ने नाममा इतिहास मेटाउन नहुने सोही वडाका थारू अगुवा महेश थारूले बताउनुभयो । टिकट निर्माण भएमा त्यहाँ हेर्न जानेको पनि उत्तिकै घुइँचो लाग्न सक्ने भन्दै त्यहाँको ऐतिहासिक कुरालाई जोगाउन सक्नुपर्ने उहाँको भनाइ छ ।

सुकौराकोटको इतिहास

सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायत संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटबाट सिधैँ दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दङ्गीशरणले सिकार खेल्ने गर्थे ।

दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती छ । थारू अगुवा महेश थारूका अनुसार दङ्गीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका लागि बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे । राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताउनुभयो ।

अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१ रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुङ्गाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दङ्गीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।

पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । बाह्र ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।

विसं १९४२ मा दङ्गीशरण गाउँपालिका–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सति गएको स्थानमा ‘सतिदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सति जाने बेला सतिप्रथा अन्त्य भइसकेको थियो । सति मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सति जाने इच्छा गरिन् । तर प्रहरी प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सति गएरै छाड्ने अडान लिएको किंवदन्ती छ ।

आजको मौसम : बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १४ भदौः हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ ।

पोलियो खोपका लागि ‘तत्काल’ गाजा युद्धविराम गर्न इयुको आग्रह

युरोपेली सङ्घ (इयु) ले गाजा पट्टीमा सबै बालबालिकालाई पोलियो खोप दिन अनुमति दिन ‘तत्काल’ मानवीय विश्रामको आह्वान गरेको छ । गाजा पट्टीमा गत महिना २५ वर्षमा यस रोगको पहिलो मामिला रेकर्ड गरिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आगामी साताहरूमा सम्पूर्ण क्षेत्रमा दुई वटा खोप अभियानको योजना बनाएका छन् । यसमा छ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस (सिभिडिपिभी२) विरुद्ध मौखिक खोप उपलब्ध गराइने छ । 

“यी अत्यावश्यक अभियानहरूलाई सफल र समयमै कार्यान्वयन गर्न अनुमति दिन सबै पक्षको मानवीय विश्रामप्रति प्रतिबद्धता महत्त्वपूर्ण हुनेछ”, इयुका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले २७ सदस्यीय मुलुकहरूको ब्लकका तर्फबाट विज्ञप्तिमा भन्नुभयो, “दश महिनाभन्दा धेरैको लडाइँ र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र खराब सरसफाइको अवस्थाका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यामा फैलिएको महामारीबाट बच्न आवश्यक छ ।”

राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख प्यालेस्टिनीमध्ये अधिकांश (यसमा करिब आधा बालबालिका छन्) विस्थापित भएका छन् र बढ्दो साना क्षेत्रहरूमा भरिएका छन् । 

संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । गाजामा स्थिर पानी, फोहरको थुप्रो, गर्मीको उच्च तापक्रम र भीडभाडले महामारीका लागि प्रजनन स्थल बनाएको छ ।

पुटिनले आइसिसी सदस्य मङ्गोलियाको भ्रमण गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्नुहुने क्रेमलिनले बिहीबार बताएको छ । मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को सदस्य राष्ट्र हो ।

आइसिसीले पुटिनलाई पक्राउ पुर्जी जारी गरेको छ । हेगस्थित आइसिसीले युक्रेनी बालबालिकाको अवैध निर्वासनमा सन् २०२३ मार्चमा पक्राउ पुर्जी जारी गरेपछि राष्ट्रपति पुटिनले आइसिसीको स्थापना सन्धि र रोम विधानलाई अनुमोदन गरेको मुलुकको भ्रमण गरेको यो पहिलो पटक हुनेछ ।

आइसिसी सदस्य राष्ट्रहरूले रुसी नेताले आफ्नो भूमिमा पाइला राखे पक्राउ पर्ने अपेक्षा गरिएको छ । मङ्गोलियाले सन् २००० मा रोम विधान सन्धिमा हस्ताक्षर गरेको थियो र सन् २००२ मा यसलाई अनुमोदन गरेको थियो ।

पुटिनले सेप्टेम्बर ३ मा ‘खल्खिन गोल नदीमा जापानी सैन्यवादीहरूमाथि सोभियत र मङ्गोलियाली सेनाको संयुक्त जितको ८५औँ वार्षिकोत्सव’ मनाउन छिमेकी मङ्गोलियाको भ्रमण गर्नुहुने क्रेमलिनले बताएको छ । उक्त लडाइँ सन् १९३९ मा जापानीहरूले नजिकैको मन्चुरिया कब्जा गर्दा भएको थियो ।

पुटिन र मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले द्विपक्षीय सम्बन्ध तथा ‘वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा विचार आदान प्रदान’ गर्नुहुने क्रेमलिनले उल्लेख गरेको छ । यो भ्रमण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको मङ्गोलिया भ्रमणको एक महिनापछि हुनेछ । वासिङ्टनले भूपरिवेष्ठित मुलुक मङ्गोलियासँग घनिष्ठ सम्बन्ध खोजेको छ ।

क्रेमलिनले आइसिसीको पक्राउ पुर्जीलाई ‘निरर्थक’ भनेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्णस्तरको आक्रमण सुरु गरेपछि पुटिनले आफ्नो विदेश भ्रमणलाई कम गर्नुभएको छ । आइसिसीले पक्राउ पुर्जी जारी गरेपछि उहाँले भ्रमणलाई अझ सीमित बनाउनुभएको छ ।

नवलपुरमा एक वर्षमा थपियो ३७ किमी कालोपत्र सडक

त्रिवेणी (नवलपरासी), १४ भदौः पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । कार्यालयले गत आवमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीन मोटरेबल पुल निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।

पूर्वाधार कार्यालयले १२ कलभर्ट÷कजवे निर्माण गरेको छ । यस्तै तीन झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माणसहितका बहुवर्षीय एक सय १५ योजना सम्पन्न गरेको उहाँले बताउनुभयो ।

पुल निर्माणले सहजता

बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको गोडारखोलामा मोटरेबल पुल निर्माण भएसँगै यहाँका स्थानीयलाई आवतजावतमा सहजता भएको छ । पूर्वाधार विकास कार्यालयले मध्यविन्दु नगरपालिका–१५ टिकुलीटारस्थित गोडारखोलामा पुल निर्माण गरेको हो । विसं २०८० असोजमा देवचुली निर्माण सेवासँग सम्झौता गरेको ४५ मिटर लम्बाइको पुल २०८२ साल असोज १८ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । रु पाँच करोड ८७ लाख ६४ हजार लागत रहेको पुल निर्माण कम्पनीले यही भदौ ३ गते काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताउनुभयो ।

निर्माण कम्पनीले सम्झौता अवधिभन्दा १३ महिना पहिला काम सम्पन्न गरेको उहाँले बताउनुभयो । निर्माण सुस्तगतिमा हुने गरेको भन्ने गुनासो रहने गरेकामा ठूलो पुलअन्तर्गत पर्ने उक्त योजना तीव्रगतिमा सम्पन्न हुनु सकारात्मक विषय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय योजना समयमा नसकिँदा समस्या हुने गरेको देखिन्छ, तर गरे सम्भव हुँदोरहेछ भन्ने सकारात्मक उदाहरण गोडारखोलाको पुल बनेको छ ।” यस्ता कार्यले अन्य सुस्त योजनालाई समेत समयमा सम्पन्न गर्न ऊर्जा थप्ने उहाँले बताउनुभयो ।

पुल निर्माणको अन्तिम म्यादभन्दा अघि नै सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दालाई सुविधा पुगेको मध्यविन्दु नगरपालिका–१५ का वडाध्यक्ष यमबहादुर केसीले बताउनुभयो । पुलले वडा नं १५ सहित ६, ८, १०, ११, १२ का स्थानीयलाई आवतजावत गर्न सहज भएको उहाँले बताउनुभयो । पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर हिँड्नुपर्ने र अन्य समयमा खोला वारपार गर्न समस्या हुने गरेकामा उक्त बाध्यता हटेको अध्यक्ष केसीले बताउनुभयो ।

हुरीबताससँगै परेको चट्याङले लागेर दुईजना घाइते

इनरुवा (सुनसरी- कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् ।स्थानीय ५० वर्षीय हदिस मियाँ र १८ वर्षीय अक्रम मियाँ घाइने भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए । घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छभने दुवैजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारको घटनाका आरोपी सातजना पक्राउ
सुनसरी इटहरी–६ स्थित कुवेर चोकमा भएको खुकुरी प्रहारको घटनमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा इटहरी–२ का २० वर्षीय लोप्सन गुरुङ, इटहरी– १८ का २२ वर्षीय ज्योतिष चौधरी, २२ वर्षीय मनिष चौधरी, इटहरी–१७ का २१ वर्षीय गणेश चौधरी, २१ वर्षीय आशिष चौधरी, इटहरी–१३ का २६ वर्षीय उमेश कोइराला र इटहरी–२० का १६ वर्षीय हिमेश राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार इटहरी–६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका पक्राउ परेकाले लखेटी–लखेटी इटहरी–१६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट घाइते भएका बुढाथोकीको उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

‘जनप्रतिनिधि र नेताले पद र पैसाका लागि नभई देश र जनताको सेवामा लाग्नुपर्छ’ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पद एवं पैसाको निम्ति नभई देश र जनताको लागि निःस्वार्थ सेवामा लाग्नुपर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको भक्तपुर काण्ड कालो दिन विषयक कार्यक्रममा उहाँले देशमा भएको अन्यायको विरोध नगर्ने कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो । राजनीतिक कार्यकर्ताहरू सैद्धान्तिक रुपमा परिपक्व हुनुपर्नेमा जोड दिँदै उहाँले जनप्रतिनिधि र कार्यकर्ताहरूले व्यक्तिगत फाइदाभन्दा माथि उठेर समाजको हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डबारे नयाँ पुस्तालाई सचेत पार्ने उद्देश्यले यस घटनाबारे चर्चा परिचर्चा आवश्यक भएको बताउनुभयो । भक्तपुर काण्डमा समातिएकालाई पञ्चायती सरकारले युद्धमा हारेकालाई भन्दा पनि दर्दनाक यातना दिइएको बताउनुभयो । 

नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायत विभिन्न व्यक्तित्वले भक्तपुर काण्डबाट भक्तपुरका महिलालाई राजनीतिक र सामाजिक रुपमा साक्षर र सङ्गठित गर्ने अभियानको सुरुवात भएको तथा भक्तपुर काण्डलाई सङ्घर्षको रुपमा स्मरण गरेको बताउनुभयो ।

विदेशिएका विद्यार्थी स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न उद्योगमन्त्रीको आग्रह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले इक्यानलाई भूमिका परिवर्तन गर्न अनुरोध गर्दै मुलुकलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा सहयोग गर्न आग्रह गर्नुभयो ।

“पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको छ, अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने ढङ्गले सोच्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको समेत बताउनुभयो । उहाँले नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेको उल्लेख गर्दै यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका रहने बताउनुभयो ।    

“सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेको छ, यसमा निजी क्षेत्र त्यसमा पनि विशेषगरी इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ, म यहाँहरूलाई त्यसका लागि सरकारको योजनामा साथ दिन आग्रह गर्दछु”, उहाँले भन्नुभयो । 

सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको भूमिका बुझेको र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

त्यस अवसरमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शैक्षिक परामर्श मुलुकको सेवामुलक क्षेत्रमा प्रमुखमध्ये एक भएको बताउनुभयो । “लाखौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने र हजारौँलाई रोजगारी दिएको यो सेवामुलक क्षेत्रलाई राज्यले महत्त्वका साथ लिनुपर्छ, यस क्षेत्रका समस्या समाधानका लागि सरकारले साथ दिनुपर्छ, सरकारलाई पनि यस क्षेत्रको साथ र सहकार्य जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले विदेशबाट विद्यार्थी ल्याउन र नेपाललाई शैक्षिक हब बनाउनका लागि इक्यानले देखाएको चासोमा सरकारले प्राथमिकताका साथ सहकार्य गर्ने बताउनुभयो ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले संस्थाको २८ वर्षको इतिहासमा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै आजको सहभागिताले आगामी यात्रामा अझ सशक्त भइ अघि हौसला मिलेको बताउनुभयो । “कुनै पनि देश विकासका लागि उक्त देशका युवापिँढीले उन्नत शिक्षा पाउनुपर्छ, त्यसका लागि इक्यानलगायत संस्थाको महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।  अध्यक्ष भट्टराईले शैक्षिक परामर्श दातृ संस्थाहरू व्यावसायिक क्षेत्र भएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि पूर्ण रुपमा पालना गर्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले लामो समयपछि शैक्षिक परामर्श दातृ संस्थाहरू नवीकरणको प्रक्रियामा गएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यो क्षेत्र नियमनको अभावमा सञ्चालन भइरहेको अवस्थामा इक्यानकै सक्रियतामा विगतमा निर्देशिका बनेको स्मरण गर्र्दै थप नीतिगत स्पष्टताका लागि इक्यानले पहल गरिरहेको बताउनुभयो ।

“नीतिगत रुपमा अझै पनि केही समस्या छन्, ती समस्या समाधानका लागि इक्यान निरन्तर प्रक्रियामा छ, यदि विद्यार्थीलाई विदेश जान रोक्ने सोचका साथ काम गर्ने हो भने विदेशी लगानीमा शैक्षिक परामर्श संस्था पनि बन्द हुनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रत्यक्ष विदेशी लगानीसम्बन्धी नीतिमा कानून व्यवसायीका लागि व्यवस्था गरिएको नियमलाई गलत ढङ्गले व्याख्या गरी शैक्षिक परामर्श दातृ संस्थामा पनि विदेशी लगानी ल्याउने काम भइरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको बताउनुभयो । उहाँले उद्योग मन्त्री भण्डारी समक्ष शैक्षिक परामर्श दातृ संस्थामा विदेशी लगानी ल्याउन नपाउनेगरी नियम बनाउन आग्रह गर्नुभयो ।

पाण्डेले इक्यानअन्तर्गतका शैक्षिक परामर्श संस्थाहरूले विदेशी विद्यार्थी पनि नेपाल ल्याउनेगरी काम गरिरहेको र यसका लागि इक्यानले पनि पहल गरिरहेको बताउनुभयो । उहाँले नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने उल्लेख गर्दै सरकारको यस सोचमा इक्यानको साथ र सहयोग रहने स्पष्ट पार्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले  शैक्षिक परामर्श व्यवसायका लागि छुट्टै कानून आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । नेपालमा पनि विभिन्न देशबाट विद्यार्थी ल्याउन सकिने धारणा राख्दै उहाँले शैक्षिक हबका रुपमा नेपाललाई विकास गर्न सकिने बताउनुभयो । उहाँले यसका लागि सरकारले विदेशी विद्यार्थीलाई भिसामा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

“नेपालमा लगानीको वातावरण बनाउन सकियो र यही रोजगारीलगायत अवसर सृजना गर्न सकियो भने विद्यार्थीलाई रोक्न सकिन्छ त्यसतर्फ सरकारको ध्यान जानुपर्छ, त्यसपछि अहिले विदेश गइरहेका विद्यार्थी पनि स्वदेशमा फर्कने वातारण बन्छ”, उहाँले भन्नुभयो ।

शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले लामो समयदेखि बन्द रहेको शैक्षिक परामर्श संस्थाको नवीकरण प्रक्रिया हालै सुरु भएकाले व्यवसाय सञ्चालनमा अब थप सहज हुने बताउनुभयो । “मन्त्रालयबाट पनि नवीकरणको प्रक्रिया छिटो टुङ्गोमा पु¥याउन निर्देशन प्राप्त भएको छ, नवीकरण छिट्टै पूरा हुन्छ भन्नेमा विश्वास दिलाउन चाहन्छु”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकालले व्यवसायीलाई उच्च शिक्षाका लागि स्वदेशमै पढ्ने खालको पनि परामर्श दिन सुझाव दिनुभयो । उहाँले व्यवसायसम्बन्धी कानुनबारे पर्याप्त जानकारी लिन र सोही बमोजिम काम गर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो । 

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले शैक्षिक परामर्श संस्थाले विद्यार्थी पठाएको मात्रै भन्नु गलत हुने बताउनुभयो । उहाँले विद्यार्थीहरू अन्य कारणले पनि उच्च शिक्षाका लागि विदेश गइरहेको बताउँदै समस्या केन्द्रित छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “हामीले समस्या केन्द्रित छलफल गरेनौँ भन्ने लाग्छ, स्वदेशमै उद्योग स्थापना र रोजगारी सृजना गर्ने हो भने ठूलो सङ्ख्यामा जनशक्ति स्वदेशमै रोक्न सकिन्छ”, उहाँले भन्नुभयो ।

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कुनै समय परामर्श व्यवसाय सञ्चालनका लागि आफै निर्देशिका बनाउन अग्रसर भएको इक्यानले अब ऐन नै बनाउन पहल गर्न सुझाव दिनुभयो । उहाँले विद्यार्थी विदेश जाने सङ्ख्या बढ्नुमा अभिभावक र समाजको सोच पनि जिम्मेवार रहेको उल्लेख गर्दै नेपालमा केही पनि छैन भन्ने ढङ्गले विद्यार्थी र सन्तानलाई पढाउन नहुने बताउनुभयो । उहाँले नेपाललाई मेडिकल शिक्षालगायतको हब बनाउन सकिने कैयौँ आधार भएको उल्लेख गर्र्दै सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक परामर्श व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र बरालले शैक्षिक परामर्श क्षेत्रलाई हेर्ने सोचमा परिवर्तन जरुरी रहेको बताउनुभयो । उहाँले सकारात्मक सोचका साथ अघि बढ्ने जरुरी रहेको उल्लेख गर्दै नेपाललाई शैक्षिक गन्तव्य बनाउनका लागि यस क्षेत्रले काम गरिरहेको बताउनुभयो । 

नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले विद्यार्थीलाई विदेश पठाउने मात्रै नभइ उनीहरुको त्यहाँको अवस्थाबारे पनि जानकारी लिन र उनीहरूका समस्या समाधानमा पनि ध्यान दिन परामर्श व्यवसायीलाई सुझाव दिनुभयो । उहाँले मुलुकको शिक्षाको संरचनामा परिवर्तनको आवश्यकता रहेको र त्यो राजनीतिज्ञ जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष हेमराज ढकालले विद्यार्थीका भविष्य निर्माणमा इक्यानअन्तर्गतका संस्थाहरूले परामर्श दिइरहेको उल्लेख गर्दै सही परामर्शमा मात्रै केन्द्रित हुन सुझाव दिनुभयो । उहाँले आजको युगमा विदेश अध्ययन गर्न जानु स्वभाविक भएको बताउनुभयो । “विदेशमा पढ्न जानु अस्वभाविक होइन, तर उनीहरूलाई स्वदेश ल्याउनका लागि आवश्यक छ । यसका लागि सरकार र इक्यान जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।   

यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन, सेवाग्राहीको गुनासो प्राथमिकतामा

अर्घाखाँची, १४ भदौः लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्नका लागि कार्यदल गठन भएको छ ।प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो । उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ गठन गरिएको जानकारी दिनुभयो ।

यातायात क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले समस्या समाधानका लागि कार्यदल गठन गरेको हो । “यातायात क्षेत्रका विषयमा आम नागरिकबाट केही गुनासा आएका छन्, यसको व्यवस्थापनका लागि माग भएको छ”, रासससँग मन्त्री न्यौपानेले भन्नुभयो, “यातायात क्षेत्रमा भएका समस्या समाधान गरी यसको उचित व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको हो, यो कार्यदलले कसरी यातायात क्षेत्र आम नागरिकका लागि सहज बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने छ ।”

मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत, सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमतिपत्र) का प्रमुख, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी)का प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य रहेका छन् ।

दश सदस्यीय कार्यदलले प्रदेश यातायातसम्बन्धी प्रवाह हुँदै आइरहेको सेवा प्रवाहमा देखिएका नीतिगत जटिलताका बारेमा अध्ययन गर्नेछ । यातायात सेवा प्रवाहमा देखिएका कानुनी जटिलता सम्बोधनका लागि अध्ययन गरिने र सोही अध्ययनअनुसार आवश्यक पहलकदमी लिइने मन्त्री न्यौपानेले जानकारी दिएनुभयो । यसैगरी सेवाग्राहीको जनगुनासोलाई कार्यदलले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । यातायातसम्बन्धी सेवा पाउन आम नागरिकले सास्ती व्यहोर्नुपरिरहेको गुनासो आइरहेको छ ।

यातायात कार्यालयबाट प्राप्त हुने सेवा पाउन झन्झट व्यहोर्नुपरिरहेको गुनासो सेवाग्राहीबाट व्यापक रूपमा आउने गरेको छ । सेवाग्राहीले सेवा लिन भोग्नुपरेका समस्या पहिचानका लागि उनीहरूको गुनासा यो कार्यदलले सुन्ने छ । “सेवाग्राहीले सेवा लिँदा के–कस्ता समस्या वा झन्झट व्यहोर्नु परिरहेको छ भनेर सेवाग्राहीको समस्या पहिचानका लागि गुनासो सुनिने छ”, मन्त्री न्यौपानेले भन्नुभयो, “सेवाग्राहीका गुनासा र सुझावका आधारमा कसरी यातायात क्षेत्रलाई नागरिकमैत्री बनाउने भन्ने योजना कार्यदलको अध्ययनअनुसार बनाइने र यसलाई व्यावहारिक रूपमा लागू गरिनेछ ।”

मुलतः यातायात कार्यालयमा टोकन प्रणाली लागू नहुँदा सेवाग्राहीले लामो समयसम्म सेवा पाउन लाइन बस्नुपर्ने गुनासो गर्दै आएका छन् । मन्त्री न्यौपानेले प्रदेशमा रहेका सबै यातायात कार्यालयलाई तत्काल टोकनको व्यवस्था गर्न केही दिनअघि निर्देशन दिइसक्नुभएको छ ।

यसैगरी प्रशासनिक एवं व्यवस्थापकीय समस्या, अन्तर मन्त्रालय समन्वय र भूमिकाका विषयमा कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने भएको छ । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले समग्र यातायात क्षेत्रको सुदृढीकरण एवं व्यवस्थापनको आगामी कार्ययोजना तथा मार्गदर्शन निर्माण गर्ने मन्त्री न्यौपानेले जानकारी दिनुभयो । सोही प्रतिवेदनका आधारमा यातायात क्षेत्रको सुदृढीकरण एवं व्यवस्थापनको आगामी कार्ययोजना बनाएर यातायात क्षेत्रलाई व्यवस्थित र नागरिकमैत्री बनाइने मन्त्री न्यौपानेले बताउनुभयो ।

बसले ठक्करदिँदा पैदलयात्रुको मृत्यु

काभ्रेपलाञ्चोक, १४ भदौः अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गए राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् । बिहीबार अपराह्न घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुसीको शव फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष किसानको माग

भरतपुर (चितवन), १४ भदौः किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन् ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानले उत्पादन गरेको मह बिक्री भएको छैन, भारतबाट आउने मह ल्याउन छाडिएको छैन, यस्तो अवस्थामा किसान कसरी टिक्न सक्छन् ।”

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कृषिमन्त्री अधिकारीलाई समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या, चितवनको कालिकामा रहेका मौरीपालक किसानद्वारा उत्पादित महको बजारीकरण समस्या आफूले प्रत्यक्ष देखेकोे हुनाले कृषिमन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन मन्त्री अधिकारीसमक्ष नगरप्रमुख रेग्मीले अनुरोध गर्नुभयो ।

“किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, नगरप्रमुख रेग्मीले भन्नुभयो, “उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सृजना हुँदै गएको छ ।”

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले महको बजारीकरणका लागि विशेष योजना बनाउन कृषिमन्त्री अधिकारीलाई अनुरोध गर्नुभयो ।

रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक

कास्की, १४ भदौः जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ । रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको हो । तालको किनारैकिनार बनेको सडकले तालमा पर्यटक आगमन वृद्धि भएको बताइन्छ ।

साविकको रूपाताल एकीकृत संरक्षण परियोजनाले रु २४ करोड ३५ लाख लागतमा रुपा गाउँपालिकाको खोला छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा सडक निर्माणका लागि २०७८ साल असार २३ गते डुकुचु कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सम्झौताअनुसार सडक निर्माणको सम्पूर्ण काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार नालाबाहेक साढे पाँच मिटर फराकिलो सडक निर्माण भएको छ । “सम्झौताको मितिले ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि सुरुमा बजेट अभावमा काममा ढिलाइ भएको थियो । अहिले सम्झौताअनुसारको सबै काम सम्पन्न भएर निर्माण कम्पनीलाई अन्तिम बिल भुक्तानीसमेत गरिसकेका छौँ ।”

सम्झौताअनुसार अन्तिम बिल भुक्तानीको १३ महिनाभित्रमा सडकका कुनै संरचनामा क्षति पुगेमा निर्माण कम्पनीले नै बनाउनुपर्ने उल्लेख छ । विसं २०५९ मा सो सडकको ट्रयाक खोलिएको हो । रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारीले आफ्नै लगानीमा सडक निर्माण सुरु गरेको थियो ।

सडक निर्माणसँगै स्थानीयवासीलाई सहज भएको छ । बेगनासतालबाट सुन्दरीडाँडा, तालबेँसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यो सडक वैकिल्पक सडकका रुपमा प्रयोगमा आइसकेको स्थानीयवासी विश्वराज पौडेलले बताउनुभयो ।

रुपा गाउँपालिकाका थुम्की, तालबेँसी, हंशपुर तथा सौरवासलगायत क्षेत्रका स्थानीयवासीलाई समेत सडक निर्माणले सहज भएको छ । “सडक निर्माणले हामीलाई धेरै सजिलो बनाएको छ । यसबाट तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि भएको छ”, पौडेलले भन्नुभयो । रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ ।

पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने

लिस्बन (पोर्चुगल), १४ भदौः युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । वडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ ।

नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताउनुभयो । प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छभने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै

काठमाडौँ, १४ भदौः विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।

आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताउनुभयो । राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्वार गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उहाँले सुनाउनुभयो ।

महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो । महास्नानघर जीर्णोद्वार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुर बताउनुहुन्छ । लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको उहाँले सुनाउनुभयो । भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको जानकारी पनि कोषले गराएको छ ।

दुई वर्षअघि बैंकले रु पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्वार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको जानकारी गराएको थियो । भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुनःनिर्माणका लागि रु एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ । प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवनको उपयोग गर्ने गरिन्छ । यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो ।

हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ । महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।

आजको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो

काठमाडौँ, १४ भदौ : बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।

नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको थियो ।

हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । बिहीबार एक युरोको खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि घटेको छ । एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७७ रुपैयाँ ४५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर एक सय ७७ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९२ पैसा रहेको थियो ।

त्यस्तै, आज स्वीस फ्याङ्क एकको खरिददर एक रुपैयाँ ५८ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३९ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ४० पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ सात पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर २० रुपैयाँ एक पैसा रहेको छ ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।

आज राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

काठमाडौँ, १४ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । चौतीस वर्षको इतिहासमा यो बैठक पहिलोपटक गर्न लागिएको हो ।”

सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा हुनुहुन्छ । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्नुहुने कार्यक्रम तय भएको छ । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिनुहुनेछ भने बैठकमा अन्य विविध विषयमा पनि विमर्श हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।