`

राष्ट्रिय फुटबलः सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश

Nepal One HD ८ फागुन २०८१ २०:४६
खेलकुद

सुदूरपश्चिम, ८ फागुनः जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश टिम सेमिफाइनल प्रवेश गरेको छ । गौरीगङ्गा–११ स्पोर्टस् क्लबको खेल मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशको नवजनजागृति क्लबलाई ४–० गोलले हराएको हो ।

सुदूरपश्चिमका लागि खेलको आठौँ मिनेटमा कमल देउवाले गोल गरे । साथै १९औँ मिनेटमा हरिश भट्टले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । श्याम विनाडीले ४८औँ र ६०औँ मिनेटमा गोल गरे । सुदूरपश्चिमले सेमिफाइनलमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिमका श्याम विनाडी प्लेयर अफ द म्याच भए । उनले रु पाँच हजारसहित ट्रफी पाए । प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी पाउनेछ भने उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल पाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षकले रु १५ हजार, उत्कृष्टरक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदयमान खेलाडी रु १५ हजार, फेयर प्ले टिमलाई रु १५ हजार पुरस्कार दिइनेछ ।

सातै प्रदेशका फुटबल टोलीको सहभागिता रहेको प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

‘समृद्धिको आधार फुटबलको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहका नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगङ्गा–११ स्पोर्टस् क्लबका अध्यक्ष दिनेश कलेलले बताउनुभयो ।


प्रतिक्रिया