‘तालिमलाई व्यवसायसँग जोड्नसके मात्र बढ्दो बेरोजगारी अन्त्य हुनेछ’ – मन्त्री भण्डारी


गोदावरी (कैलाली), ८ फागुनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तालिमलाई रोजगारसँग जोड्न आवश्यक भएको बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिकाले आजदेखि सुरु गरेको सीप तथा रोजगार मेलाको उद्घाटन कार्यक्रममा उहाँले तालिमलाई व्यवसायसँग जोड्नसके मात्र बढ्दो बेरोजगारी अन्त्य हुने दिशातर्फउन्मुख हुने बताउनुभयो ।
उहाँले विगतदेखि नै विभिन्न मन्त्रालयले लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँदै तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तालिम त दिइरहेका छौँ तर त्यसबाट कति जना रोजगारीसँग जोडिए त्यो हेर्नुपर्ने हुन्छ ।”
उहाँले एक महिने तालिमको समयावधि पर्याप्त हो होइन छलफल गर्न आवश्यक रहेको बताउँदै तालिम परिणाममुखी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहले छरिएर नभएर एकीकृत ढाँचामा तालिम सञ्चालन गर्न सरकार लागिपरेको बताउनुभयो ।
उहाँले धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेर राम्रो कामको सुरुआत गरेको बताउँदै यसको अपनत्व सिङ्गो सुदूरपश्चिमका साथै देशले ग्रहण गर्नुपर्ने बतानुभयो ।
नेपाली श्रमबजारमा बाहिरबाट आयात भएको जनशक्तिले श्रमबजारको मुनाफा लगिरहेको बेला सीप तथा रोजगार मेलाको सान्दर्भिकता, आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले बजारको मागअनुसार युवालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ३९ वटा स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न आठ विधाका २९ विषयमा प्राविधिक तालिम प्रदान गरिनेछ । धनगढीको खुला मञ्चमा आजदेखि सुरु भएको सो मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।