`

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जनालाई पक्राउ

राजविराज (सप्तरी) – प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरतत हुनुहुन्छ ।

पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको समेत जानकारी दिनुभयो ।

एकीकृत समाजवादी बैठक : नेतात्रयलाई वरिष्ठ नेतामा मनोनित, पदाधिकारी सङ्ख्या तीन थप्ने

काठमाडौँ, १३ भदौः नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पार्टीको उपाध्यक्षत्रय घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी सङ्ख्या तीन थप गरेर २४ पुर्याउने निर्णय गरेको हो ।स्थायी कमिटी निर्माण गर्दा सबै पदाधिकारीलाई स्वतःकमिटीमा लैजाने निर्णय गरेको बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गरी विभाग र आयोगलगायत संरचना छिट्टै निर्माण गर्ने निर्णय गरेको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

पार्टीको एकसय पाँच सदस्यीय पोलिटब्युरोको एकतिहाइ सदस्य स्थायी कमिटी बनाउने व्यवस्था छ । त्यस अवसरमा नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ सदस्यको निर्वाचन गरिएको थियो ।महाधिवेशनमा पारित गरिएको क्रान्तिकारी समाजवादी कार्यदिशाबारे छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो ।

महको बजारीकरणका समस्या समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १३ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मौरीपालक किसानका समस्या, महको बजार विस्तार र आयातित महका कारण आन्तरिक उत्पादन खपतमा देखिएको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कृषि मन्त्रालयमा आज चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित मौरीपालक व्यवसायी तथा सरोकारवाला प्रतिनिधिले गरेको भेटमा उहाँले किसानको अहितमा हुनेगरी कुनै पनि निर्णय नगरिने विश्वास दिलाउनुभयो ।

“मह नबिकेर थन्किएको बारे मलाई जानकारी भयो, हामी फेरि पनि यस विषयमा सबै निकायलाई बोलाएर बृहत छलफल गर्छौं”, छलफलमा मन्त्री अधिकारीले भन्नुभयो, “मन्त्रालयगत र सरोकार राख्ने निकायबीचको छलफलले एउटा निष्कर्ष दिन्छ ।”

भेटघाटमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मन्त्री अधिकारीलाई नेपाली महको बजारीकरणबिना बाहिरी महको आयात नखोल्न अनुरोध गर्दै कालिका व्यावसायिक मौरीपालनका हिसाबले देशकै उत्कृष्ट नगरपालिका रहेको जानाकारी गराउनुभयो ।

उक्त पालिकामा वार्षिक छ करोडभन्दा बढीको मह उत्पादन हुने गरेको जानाकारी दिँदै प्रमुख रेग्मीले उत्पादित महमध्ये ७५ प्रतिशतभन्दा बढी जङ्गली स्रोतको रहेको बताउनुभयो ।

सो क्रममा नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले नेपाली महको खपतका लागि उचित व्यवस्थापन नगरेसम्म बाहिरको मह आयात गर्न नहुनेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले यदी ल्याउनै पर्ने अवस्था आएमा भन्सारदर बढाउनुपर्नेमा जोड दिनुभयो । सो क्रममा मौरीपालक किसानका समस्या समेटेर उहाँहरूले मन्त्री अधिकारीलाई धनाकर्षणपत्रसमेत बुझाउनुभएको छ ।

मौरीपालक व्यवसायीका अनुसार सरकारले अहिले मह आयात रोकेकाले स्टक रहेको मह बजारमा जाने क्रम बढे पनि अझै दुई हजार मेट्रिकटन मह घरघरमै थन्किएर बसेको सो क्रममा जानकारी गराइएको थियो ।

आजको छलफलमा कृषि सचिवसहित नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालक केन्द्रीय सहकारी सङ्घ, मह व्यवसायी सङ्घ, डाबर नेपालका प्रतिनिधि तथा मौरी र महसम्बन्धी विभिन्न क्षेत्रमा सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

माओवादी केन्द्र फुट्दैछ भनेर गरिएको हल्ला खारेज भइसक्यो – अध्यक्ष दाहाल

सुदूरपश्चिम, १३ भदौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताउनुभएको छ ।

सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र फुट्दैछ भनेर गरिएको हल्ला गएको स्थायी समितिको बैठकले खारेज गरिसक्यो, पार्टी एकताबद्ध छ ।”

अध्यक्ष दाहालले माओवादी घटकसँग एकता गर्नेबारे वार्ता भइरहेको र समाजवादी मोर्चामा रहेका अन्य क्रान्तिकारी शक्तिसँग एउटै पार्टी बनाउने छलफल चलिरहेको बताउनुभयो ।

भेनेजुएलाका विपक्षी नेताले इयुलाई विवादित मतदानबारे जानकारी दिने

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले बिहीबार भेनेजुएलामा भएको विवादास्पद मतदानबारे युरोपेली सङ्घ (इयु) लाई जानकारी दिनुहुने इयुका शीर्ष कूटनीतिज्ञले बताएका छन् ।

उरुटियाले भिडियो लिङ्कमार्फत इयुका विदेशमन्त्रीहरूलाई गत महिना राष्ट्रपति निकोलस मदुरोको पुनर्निर्वाचनमा व्यापक धाँधलीले असर गरेको दाबीबारे जानकारी दिनुहुनेछ ।

“भेनेजुएलामा स्थिति गम्भीर छ, त्यसैले मैले एडमन्डोलाई आमन्त्रित गरेको छु, राष्ट्रपतिका उम्मेदवार एडमन्डोले मदुरोले निर्वाचन नजितेको नतिजा प्रस्तुत गर्नुभएको छ”, इयुका विदेश नीति प्रमुख जोसेप बोरेलले ब्रसेल्समा पत्रकारहरूसँग भन्नुभयो ।

भेनेजुएलामा ‘विपक्षी नेताहरूको अवस्थाबाट इयु ज्यादै चिन्तित’ रहेको बोरेलले बताउनुभयो । भेनेजुएलाका शक्तिशाली नेता मदुरोले गोन्जालेज उरुटियालाई पक्राउ गर्न आह्वान गर्नुभएको छ । गोन्जालेज उरुटिया जुलाई ३० को विपक्षीको जुलुसपछि सार्वजनिकरूपमा देखिनुभएको छैन ।

साथी विपक्षी नेता मारिया कोरिना मचाडो मदुरोको पुनर्निर्वाचनविरुद्ध विरोध प्रदर्शनको नेतृत्व गर्न बुधबार लुकेर बाहिर आउनुभयो । मचाडोलाई राष्ट्रपतिमा उम्मेदवारी दिनबाट रोकेपछि गोन्जालेज उरुटियाले उम्मेदवारी दिनुभएको थियो । इयुको अनौपचारिक बैठकमा कुनै निर्णयको अपेक्षा गरिएको थिएन तर बोरेलले फेरि पनि इयुका २७ सदस्य राष्ट्र मतदानको नतिजामा साझा स्थितिमा पुग्नसक्ने आफूले आशा गरेको बताउनुभयो ।

“स्पष्टरूपमा मदुरोलाई यो राष्ट्रपति निर्वाचनमा वैध विजेताका रूपम मन्यता दिन सकिँदैन भन्ने मेरो विश्वास छ भनेर मैले बैठकअघि भनेको थिएँ, तर हेरौँ, मन्त्रीहरूले के भन्नुहुन्छ”, बोरेलले भन्नुभयो ।

भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक सङ्कटलाई लिएर इयुले यसअघि नै ‘अत्यन्त चिन्तित’ रहेको घोषणा गरिसकेको छ । मुलुकको सिएनई निर्वाचन परिषद्ले मतदान समाप्त भएको केही घन्टापछि ५२ प्रतिशत मत हासिल गरेको भन्दै मदुरोलाई विजेता घोषित गरेको थियो । सिएनईका अधिकांश सदस्य ६१ वर्षीय मदुरोप्रति बफादार छन् ।

विपक्षीको आफ्नै मतदान केन्द्रस्तरीय रेकर्डबाट ७४ वर्षीय सेवानिवृत्त कूटनीतिज्ञ गोन्जालेज उरुटियाले भारी बहुमतले जित हासिल गरेको सङ्केत प्राप्त भएको छ । धेरै ल्याटिन अमेरिकी मुलुक, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले सिएनईसँग मतदान आँकडा जारी गर्न आह्वान गरेका छन् । सिएनईले सन् २०३१ सम्म तेस्रो छ वर्षको कार्यकालका लागि मदुरोका लागि पुनर्निर्वाचित प्रमाणित गरेको छ । सिएनईले कम्प्युटर ह्याक भएकाले मतदान आँकडा जारी गर्न असमर्थ रहेको बताएको छ ।

चीनले युरोपेली ब्रान्डीमा भन्सार नलगाउने

चीनले युरोपेली ब्रान्डी निर्माताहरूमाथि अस्थायी शुल्क नलगाउने सरकारले बिहीबार घोषणा गरेको छ । यद्यपि उसले डम्पिङ (अर्को देशमा उत्पादनहरू धेरै सस्तोमा बिक्री गर्ने अभ्यास) प्रमाण फेला पारेको बताएको छ ।

युरोपेली सङ्घ (इयु) ले चिनियाँ विद्युतीय सवारी अनुदानमा अनुसन्धान गरेको महिनौँपछि बेइजिङले जनवरीमा इयुबाट आयातित ब्रान्डीको अनुसन्धान सुरु गर्यो । घरेलु ब्रान्डी उद्योगका तर्फबाट चीनको मदिरा सङ्घले नोभेम्बरमा दायर गरेको उजुरीपछि अनुसन्धान गरिएको वाणिज्य मन्त्रालयले बताएको छ ।

बेइजिङले गरेको अनुसन्धानमा इयुबाट आयात गरिएको ब्रान्डी चीनमा सस्तोमा बिक्री गरिएको पाइएको र यसले ‘घरेलु ब्रान्डी उद्योगलाई धेरै ठूलो नोक्सान हुने खतरा रहेको’ मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

“तर यस अवस्थामा अहिले कुनै अस्थायी एन्टी–डम्पिङ उपाय अपनाइने छैन”, भविष्यको शुल्कलाई अस्वीकार नगरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ । चीनको उक्त घोषणापछि फ्रान्सेली स्पिरिट निर्माता रेमी कोइन्ट्रेउ र परेनोड रिकार्डको सेयरहरूमा बिहीबार उछाल आएको छ ।

अनुसन्धान समूह ड्याक्सु कन्सल्टिङको एक प्रतिवेदनअनुसार चीनले सन् २०२२ मा कुनै पनि अन्य स्पिरिटको तुलनामा धेरै ब्रान्डी आयात गरेको थियो । तीमध्ये अधिकांश फ्रान्सबाट आयात भएको थियो ।

इयुले चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म पाँच वर्षको आयात शुल्क लगाउने योजना बनाएको बताएको भोलिपल्ट यसै महिना बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा इयु अनुदानको अनुसन्धान सुरु गर्यो ।

दुवैबीच व्यापार गतिरोधमा पछिल्लो टिप्पणीलाई दर्शाउने अनुसन्धानमा ताजा पनिर र दही, केही दूध र क्रिमसहित धेरै वस्तुलाई समावेश गर्नेछ ।

हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल गरेको छ : मन्त्री पाण्डे

काठमाडौँ, १३ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल थालेको बताउनुभएको छ ।

प्रतिनिसभाको आजको बैठकमा सांसद सोविता गौतमले राख्नुभएको ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वाससमेतमा असर परेको हुँदा तत्काल सुधारगरी विश्वसनियता बढाउन आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सावर्जनिक महत्त्वको प्रस्तावमाथिको छलफलका उठेका प्रश्नको जवाफमा मन्त्री पाण्डेले हवाई सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र कामकाजी निकायका रुपमा छुट्याउनका लागि सांसदका तर्फबाट प्राप्त भएको सैद्धान्तिक सहयोगप्रति धन्यवाद दिनुभयो । प्राधिकरणलाई विभाजन गर्ने सम्बन्धी दुई वटा विधेयकलाई समयानुकूल रुपमा मस्यौदा गर्न आवश्यक पहल तथा प्रक्रिया शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । नागरिक उड्डयनसँग सम्बन्धित अन्य कानुन निर्माणका लागि पहल थालीसकेको र त्यसमा जोडिएर आउने बीमालगायत विषयलाई समेत सम्बोधन गरिने बताउनुभयो ।

हवाई दुर्घटनाका सम्बन्धमा छानबिनका लागि स्थायी संयन्त्र स्थापनाका लागि सरकारका तर्फबाट आवश्यक तदारुकता देखाइएको र त्यसका लागि कानुनी प्रबन्धसमेत हुने मन्त्री पाण्डेले सदनलाई जानकारी गराउनुभयो । विगतमा हवाई दुर्घटना छानबिनका लागि गठित समितिले दिएका सुझाव र प्रतिवेदनमाथि थप अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्न लागिएको उहाँको भनाइ छ ।

यस्तै, भैरहवाको गौतमबुद्ध विमानस्थल एवं पोखरा क्षेत्रीय विमानस्थलको सहज सञ्चालनका लागि सरकारले आवश्यक कार्ययोजना आगडि बढाइएको उल्लेख गर्नुभयो । उक्त प्रस्तावमाथिको छलफलमा सांसद उदयशम्सेर जवरा, हितबहादुर तामाङ, अब्दुल खान, सञ्जयकुमार गौतम, राजेन्द्र बजगाईंले, अनिसा नेपाली, मैना कार्की, सुदन किराँती, विरेन्द्रप्रसाद महतोलगायतका सांसदले भाग लिनुभएको थियो । यस्तै, बैठकले संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधनप्रति श्रद्धाञ्जलि अर्पण शोक प्रस्ताव पारित गरेको छ ।

मधेशी जनअधिकार फोरम, नेपालका तर्फबाट अग्रवाल २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । हाल जनता समाजवादी पार्टी, नेपालमा आवद्ध अग्रवालको गत साउन २१ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

बाजुरामा भूकम्पको धक्का

बाजुरा, १३ भदौ : बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।

बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन

शैलजा आचार्य हृदय रोग केन्द्रको सुविधा विस्तारमा सघाउने मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौँ, १३ भदौः विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालमा अस्पतालमा विस्तारित सेवा दिने विषयमा भक्तपुर क्यान्सर अस्पताल तथा सेवा सञ्चालन गर्ने विषयमा कोशी अस्पतालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलसमेत उपस्थित कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रविनराज सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

गत साउन २७ गते मन्त्री पौडेलले सार्वजनिक गर्नुभएको योजना तथा प्राथमिकतामा सबै प्रदेशबाट क्यान्सरको उपचार सेवा उपलब्ध गराउने उल्लेख थियो । सोहीअनुसार भक्तपुर क्यान्सर अस्पतालले अब कोशी अस्पताललाई क्यान्सरसम्बन्धी बिरामीको पहिचान र निदानसम्बन्धमा सेवामा सहकार्य गर्ने भएको हो । कोशीमा क्यान्सरपीडितको चापका आधारमा सेवामा सघाइने भक्तपुर क्यान्सर अस्पतालले बताएको छ ।

मन्त्री पौडेलले लामो समयपछि सबै प्रदेशमा क्यान्सरको परीक्षण र निदान सुरु हुने अवस्था आएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकिए नागरिकको ठूलो धनराशि जोगिने र राज्यको छरिएको रकम एकीकृत हुँदा उपचार सहज हुने बताउनुभयो ।

मन्त्री पौडेलले कोशी प्रदेश सरकारको सक्रियतामा विराटनगरस्थित शैलजा आचार्य हृदयरोग केन्द्रको निरीक्षणसमेत गर्नुभएको छ । त्यसक्रममा उहाँले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग समन्वय गरेर केन्द्रको उपचार प्रभावकारी बनाउन सघाउने बताउनुभयो । जनशक्ति र प्याथ ल्याब सञ्चालनमा सहजीकरण गर्ने उहाँले प्रतिबद्धता गर्नुभयो ।

‘जनयुद्धलाई हिंसा देखे आफूहरूलाई मान्य हुन्न’ – रेखा शर्मा

दाङ, १३ भदौ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताउनुभएको छ । दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनयुद्धले ल्याएको उपलब्धीमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गतल भएको धारणा राख्नुभयो ।

पटकपटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने बताउनुभयो । देशको शान्ति प्रकृया निष्कर्षमा पुग्ने बेला यस्ता अभिव्यक्ति आउनु गलत भएको उहाँको भनाइ छ । उहाँले माओवादीले दशवर्ष युद्ध लडेर ल्याएको उपलब्धीको जगमा देशको शासन व्यवस्था सञ्चालन भइरहेकाले त्यसको विरोध गर्नु औचित्यहिन भएको बताउनुभयो ।

भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

बैतडी, १३ भदौः भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको सतह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिन्छ । परियोजनाले बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रकम बराबरको क्षति भएको थियो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको विभिन्न देशद्वारा स्वागत

काठमाडौँ, १३ भदौः नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न १० देशले स्वागत गरेका छन् ।

अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले आज संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त विधेयकको स्वागत गरेका हुन् ।

ती देशले पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पु¥याउने सम्भावित संयन्त्रको खोजी गर्ने उल्लेख गरेका छन् । निर्णय प्रक्रियामा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने विज्ञप्तिमा उल्लेख छ ।

“हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी हस्ताक्षरकर्ता सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकता छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पु¥याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको ती देशले जनाएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणिकरण गर्नुभएको हो ।

सभापति देउवाद्वारा कोइरालाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा, प्रजातन्त्र सेनानी एवं कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

कोइरालाको आज ८५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत कोइरालाको निधनको खबरले स्तब्ध र दुखित बनाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

कांग्रेसले सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा कोइरालाले निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । विसं २०४८ देखि २०५२ सम्म उहाँ पाल्पा जिल्लाको सभापति हुनुहुन्थ्यो । उहाँ विसं २०१५ मा युवा कांग्रेस पाल्पाको अध्यक्ष हुनुहुन्थ्यो ।

पाल्पा जिल्ला तानसेन नगरपालिका–६ निवासी स्व कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षका क्रममा पटक–पटक जेल जीवन बिताउनुभएको थियो । उहाँको निधनबाट कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धालाई गुमाएको जनाएको छ ।

समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्युरो कमिटी तथा सिङ्गोे केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले पारित गरेको क्रान्तिकारी कार्यदिशा पूरा गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतले पारित गरेका दस्तावेजले नेपाली विशेषताको समाजवादी कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्ने पार्टीको काँधमा ऐतिहासिक अभिभारा आएको बताउँदै अध्यक्ष नेपालले त्यसलाई पूरा गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ता सङ्कल्पबद्ध, योजनाबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ पोलिटब्युरो सदस्यलाई सपथ गराइएको छ । पार्टी अध्यक्ष नेपालले ती सदस्यलाई सपथ गराउनुभएको हो । पदाधिकारी तथा पोलिटब्युरो सदस्यलाई पूर्णता दिन निर्वाचन गरिएको थियो ।

एमाले सचिवालय : वार्षिक कार्ययोजनामाथि छलफल

काठमाडौँ, १३ भदौ : नेकपा (एमाले) ले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको तयार पारेको छ । आज ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पार्टीको यस आर्थिक वर्षका लागि तयार गरिएको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल सुरु गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आजको बैठकमा सचिवालय सदस्यले मस्यौदामाथि सुझाव दिनुभयो । उहाँले मस्यौदालाई आगामी बस्ने पोलिटब्युरो बैठकले अन्तिम रुप दिने बताउनुभयो । उहाँका अनुसार पोलिटब्युरो बैठक यही भदौ १८ र १९ गते पोलिटब्युरो बैठक केन्द्रीय कार्यालयमा राखिएको छ ।

“बैठकमा पार्टीको वार्षिक कार्ययोजना मस्यौदा प्रस्तुत गरिएको छ । बैठकमा प्राप्त सुझावलाई समेटर आगामी बस्ने पोलिटब्युरो बैठकबाट अन्तिम रुप दिइने छ”, उहाँले भन्नुभयो ।

कार्ययोजनामा प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने, सदस्यता विस्तार गर्ने, नवीकरणको कामलाई प्रभावकारी बनाइने, बाँकी रहेका जिल्ला र पालिका अधिवेशनलाई व्यवस्थित गर्ने कुरा उल्लेख गरिएका छन् ।

पार्टी प्रवेश र जिम्मेवारीविहीन भएका नेता तथा कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कार्ययोजनामा उल्लेख गरिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । हरेक कमिटीले नेता तथा कार्यकर्ताको मूल्याङ्कन गर्ने कुरा समेटिएको छ ।

कार्ययोजनामा केन्द्रमा एउटा स्थायी रुपमा पार्टी स्कुल र प्रदेश तहमा सात वटा स्थायी स्कुल राख्ने उल्लेख छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कुलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको उहाँले बताउनुभयो ।

बैठकले पार्टी स्थापना ७५ वर्ष पूरा गरेको अवसरमा बाँकी रहेका कुरालाई पनि वार्षिक कार्ययोजनामा समेटिएको छ । पार्टीको इतिहास, आन्दोलनका विभिन्न घटनाको अभिलेख लेख्ने र पुस्तक पार्टीको सेल्टर प्रकाशन गर्नेजस्ता कुरा कार्ययोजनामा समेटिएका छन् । बैठकले पार्टीको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीका पूर्वउपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको प्रथम स्मृतिमा भदौ २६ गते मनाउने निर्णय गरेको छ ।

बैठकले नयाँ सरकार बनेसँग सरकारी र निजी क्षेत्रमा सकारात्मक देखिएको सन्देश गएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । उहाँले लगानीमा व्यावसायिक क्षेत्र आशावादी र भरोसा बढ्दै गएको बताउनुभयो । लामो समयदेखि अल्झिएको सङ्क्रमणकालीन न्याय टुङ्गिने प्रक्रिया रहेको र यसलाई पार्टीले कोशेढुङगाको रुपमा लिएको उहाँले बताउनुभयो ।

अहिलेको सरकारले सरकार सञ्चालन र प्रशासनमा आशाको भरोसा बढाएको र सरकारले अझ गतिका साथ काम अगाडि बढाउनुपर्ने बैठकले निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । संसद्मा रहेका दलले सत्ताबाट बाहिरिसँगै आवेशपूर्ण प्रतिक्रिया दिन थालेकोप्रति ध्यानाकर्षण भएको पार्टीले जनाएको छ ।

“मुलुक असहज अवस्थामा रहेको र यसलाई सहज तुल्याउँदै जाने कुरा सबै राजनीतिक दलको जिम्मेवारी रहेको छ”, उहाँले भन्नुभयो, “मुलुकको संवेदनशीलबारे गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिलाई कसैले पनि बढावा दिनहुन्न ।” प्राकृतिक विपत्ति परेर ज्यान गुमाएको श्रद्धाञ्जली व्यक्त गर्नुको साथै घाइतेको शीघ्र स्वास्थ्यको कामना बैठकले गरेको छ । बैठकले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै बैठकले सडक दुर्घटना र हवाई दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै सरकारले सडक र हवाई दुर्घटना न्यूनीकरणलाई विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायक निकाय छुट्टयाउने विधेयकमा अर्थको स्वीकृति

काठमाडौँ, १३ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । सो सहमतिपछि विधेयक कानुन, न्याय तथा संसदीय व्यबस्था मन्त्रालय पुगेको छ ।

नागरिक उड्डयनसम्बन्धि मौजुदा ऐनमा सेवा प्रदायक र नियामक निकायलाई एउटै भएका कारण यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा त्यसको विरोध हुँदै आएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीपसाद पाण्डेले मन्त्रालय सम्हाले लगतै लामो समयदेखि रोकिँदै आएको उक्त विधेयकलाई प्राथमिकताका साथ अघि बढाउनुभएको थियो । अर्थ मन्त्रालयको सहमतिसँगै कानुन मन्त्रालयबाट सहमति पाएपछि उक्त विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा पेश हुनेछ । यस विषयमा मन्त्री पाण्डेले पूर्वपर्यटनमन्त्री र सम्बन्धित सरोकारवालासँग छलफल गर्नुका साथै सर्वसाधारणसँग सुझाव पनि माग्नुभएको थियो ।

यो वर्ष मन्त्रालयको कानुन तथा नीति निर्माण गर्ने वर्ष हुनेछ : मन्त्री गुरुङ

काठमाडौँ १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र हुलाकदेखि सञ्चारसँग जोडिएका सबै कानुन बनाउने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सँग आज कुराकानी गर्दै मन्त्री गुरुङले यो वर्षलाई ऐन संशोधन र कानुन निर्माणको वर्षका रुपमा गृहकार्य थालेको जानकारी दिनुभयो । “यो वर्ष मन्त्रालयको कानुन तथा नीति निर्माण गर्ने वर्ष हुनेछ”, उहाँले भन्नुभयो, “पुराना ऐनले चलेका सञ्चार नीतिहरू संशोधनमा लगेका छौँ । आवश्यकता परेको खण्डमा नयाँ नीतिहरू पनि बनाउँछौँ ।”

मन्त्री गुरुङका अनुसार बन्दै गरेका कतिपय विधेयक अन्तिम चरणमा पुगेका छन् । सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ अन्तिम राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । सामाजिक सञ्जाललाई मर्यादित, व्यवस्थित, स्वायक्त र स्वतन्त्र बनाउने उद्देश्य राखी बन्दै गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक पनि बन्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

लामो समयदेखि रोकिएको आमसञ्चार नीति छिट्टै टुङ्गोमा पुग्ने जानकारी दिँदै मन्त्री गुरुङले आम चासो रहेको मिडिया विधेयक पास गर्न भने आफूले हतार नगर्ने स्पष्ट पार्नुभयो । सञ्चारसँग सम्बन्धी विधेयक संवेदनशील भएकाले यसमा सरोकारवालाको साझा मनोभाव समेटेर मात्रै टुङ्गोमा पु¥याउने उहाँले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयको सुझावअनुसार दूरसञ्चार विधेयक र सूचना प्रविधि (साइबर क्राइम) विधेयक एउटैमा गाभिएको हुँदा तुलनात्मक रुपमा बृहत् बनेको उहाँले सुनाउनुभयो । “यो वर्ष हुलाकदेखि सञ्चारसँग जोडिएका सबै कानुन बनाउँदैछौँ”, उहाँले भन्नुभयो ।

कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् । 

चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमनसम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

“कृतिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्रीवितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोगी हुनुसक्छौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्यो”, उनले भने ।

यसपालिको चाडपर्वमा तीन–चार कुरामा परिणाम देखिनेगरी काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।  “कृतिम अभाव कुनै हालतमा पनि हुनु भएन । कृतिम अभाव देखाउने कुरा कुनै हालतमा सह्य हुँदैन । त्यसका लागि हेर्ने निकायले हेर्नुप¥यो । त्यसमा गृह मन्त्रालयको पूरा सहयोग रहन्छ”, उनले भने । 

दसैँ तिहारका बेला एकै रातमा हुने मूल्यवृद्धिलाई सुक्ष्म ढङ्गले हेरेर नियन्त्रण गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । “मूल्य वृद्धिको उचित कारण हुनुप¥यो नि ? उही सामान एक दिनअघि एउटा मूल्य छ, अर्को दिन अर्को मूल्य हुन्छ । यो कुरालाई सबैले गम्भीरताका साथ लिएर परिणाम आउनेगरी काम गर्नुपर्यो”, उनले भने, “गुणस्तरहीन खाद्यवस्तुको बिक्री चाडवाडमै बिक्री गरिन्छ । गुणस्तरहीन वस्तु उपभोक्ता कहाँ पुग्ने यही बेला हो । यसलाई कडाइका साथ हेर्न जरुरी छ ।”

सरोकारावाला पक्षमा समन्वय हुँदा परिणाम दिन सकिने भन्दै चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मूल्याङ्कन हुने गृहमन्त्री लेखकले बताए ।

“गृह मन्त्रालय एकातिर, वाणिज्य मन्त्रालय एकातिर, अनुगमन एकातिर, गणस्तर नापजाँच एकातिर भयो भने राम्रो हुँदैन । एकीकृत रुपमा काम गर्नुपर्यो”, उनले भने, “अहिले छलफल भएका विषयमा कसलाई कहाँनिर सहयोग चाहिन्छ । तमतयार भएर सहयोग दिनुहोस् । परिणाम आउनेगरी काम हुनुपर्यो । चाडपर्वपछि आजको छलफलमा भएका कुराको मूल्याङ्कनका लागि हामी फेरि बैठक बस्छौँ ।”

छलफलमा गृहसचिव एकनारायण अर्यालले वाणिज्य विभागले सबै सहायक जिल्ला अधिकारीसँग जुम मिटिङ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । यसपालि दसैंमा सुपथ पसल बढाइने भन्दै कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने उनको भनाइ थियो । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण संरक्षण विभागका महानिर्देशक राजन पौडेलले छलफलमा बजार अनुगमनको अवस्था, बजार अनुगमनको अपेक्षा, अत्यावश्यक दैनिक खाद्य तथा उपभोग्य वस्तुको आपूर्तिबारे जानकारी गराएका थिए । यस्तै बजार अनुगमनको दोहोरोपना हटाएर सरकारले मूल्य निर्धारणको हक राख्नुपर्नेमा सरोकारवालाको जोड थियो ।

सानसान जापानको कागोसिमामा अवतरण

जापानमा आएको शक्तिशाली आँधी सानसानले जापानको दक्षिणपश्चिमी प्रान्त कागोसिमामा अवतरण गरेको जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले बिहीबार जनाएको छ ।

यस वर्षको १० औँ आँधी, सानसानलाई ‘धेरै शक्तिशाली’ आँधीका रूपमा वर्गीकृत गरिएको छ । जापान मौसम विज्ञान निकायले लगभग १५ किलोमिटर प्रति घण्टाको गतिमा सत्सुमासेन्डाई सहर नजिकै उत्तरतर्फ अघि बढिरहेको छ ।

चक्रवात स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेसम्म उत्तरमा ३१.५५ डिग्री उत्तरी अक्षांश र १३०.०५ डिग्री पूर्वी देशान्तरमा सरेको र यसको गति १५ किलोमिटर प्रति घण्टा रहेको छ ।

हावाको गति र प्रभावित क्षेत्रहरूबारेको पूर्वानुमान धेरै हदसम्म अपरिवर्तित रहेको जेएमएले जानकारी गराएको छ ।

दक्षिणी क्युसुमा यस अघि नै अत्यधिक बर्षा भएको छ जेएमएले कागोसिमा प्रान्तमा हुरी, उच्च सामुद्रिक छालहरू र आँधीबेहरीको विशेष चेतावनी जारी गरेको छ ।

बासिन्दाहरूलाई पछिल्लो चक्रवातबारे जानकारीलाई अद्यावधिक गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई देशव्यापी रुपमा निलम्बन गर्ने चेतावनी

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल एक्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।

न्यायाधिश मोरोसले मस्कले कानुन व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल एक्सलाई देशव्यापी रुपमा निलम्बन गरिने चेतावनी दिनुभएको छ ।

सर्वोच्च अदालतको आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत एलोन मस्कलाई २४ घण्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न समाह्वान जारी गरेको हो ।

“ सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बुधबार राति व्यवसायी एवं सामाजिक सञ्जाल एक्सका प्रमुख एलोन मस्कलाई ब्राजिलमा २४ घण्टाभित्र कम्पनीको तर्फबाट नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ”, अदालतको आधिकारिक साइटमार्फत जानकारी गराइएको छ । “सन् २०२४ अगस्ट १८ मा नै सामाजिक सञ्जालमा अदालतको आधिकारिक पोस्टमार्फत एक्सको तर्फबाट नियुक्त गरिएको कानुन व्यवसायीलाई अदालतमा उपस्थित हुनका लागि समाह्वान जारी गरिएको थियो ।”

सर्वोच्च अदालतले न्यायप्रक्रियामा बाधा पुरÞ्याएमा ब्राजिलमा सामाजिक सञ्जाल एक्सको सञ्चालन निलम्बन हुने चेतावनी दिएको छ ।

मोरेसले न्यायामा बाधा पुर्याएकोसहित अन्य आरोपमा मस्कलाई अनुसन्धानकोे दायरामा राख्नुभएको छ ।

यस वर्षको सुरुमा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले न्यायाधीश मोरेसले एक्सका विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद सुरु भएको हो ।

तर एक्सका प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ नेता सीबीच वार्ताको तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताउनुभएको छ ।

सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गर्नुभएको छ ।

अमेरिकी सहयोगी जापान, फिलिपिन्ससँग चीनको सुरक्षासम्बन्धी विवाद बढेका समय सुलिभानले बेइजिङको भ्रमण गर्नुभएको हो ।

बेइजिङको अलङ्कृत ‘ग्रेट हल अफ द पिपुल’मा बिहीबार सीसँगको भेटमा उहाँले भन्नुभयो, “राष्ट्रपति बाइडेन आगामी हप्ताहरूमा तपाईंसँग फेरि संवाद गर्न उत्सुक हुनुहुन्छ ।

उहाँले अगाडी भन्नुभयो, “राष्ट्रपति बाइडेन साउथ चाइना सी क्षेत्रमा देखिएको समस्यालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र यसका कारण प्रतिस्पर्धा द्वन्द्व वा मुठभेड नहोस् भन्नेमा प्रतिबद्ध हुनुहुन्छ । राष्ट्रपति बाइडेनले जहाँ आफुहरूकोे हित मिल्छ त्यहाँ मिलेर काम गर्न सकियोस् भन्नेमा दृढ हुनुहुन्छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीन र अमेरिकाबीच वैचारिक भिन्नताका रहेपनि यसलाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिनेमा चीन विश्वस्त रहेको भेटमा चिनियाँ राष्ट्रपति सीले सुलिभानसँग बताउनुभएको छ ।

“चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासको लक्ष्यप्रति चीनको प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन,” भेटमा सीले भन्नुभयो।

“हामीलाई विश्वास छ अमेरिका र चीनले मिलेर अघि बढ्नेछन्,” चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सुलिभानले भन्नुभयो ।

बुधबार सुलिभान र उच्च कूटनीतिज्ञ वाङले आफ्ना नेताहरूले आगामी हप्ताहरूमा वार्ता गर्ने योजनाबारे छलफल गरेका थिए।

पछिल्लो समय विवादित सामुद्रिक क्षेत्रमा चीनको बढ्दो आक्रामक दृष्टिकोणलाई लिएर उनीहरूबीच तनाव बढेको देखिन्छ ।

भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण

श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टको लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झा ले बताउनुभएको छ । झाले ऊर्जा मन्त्रालयका सचिव तथा श्रीलङ्का दिगो ऊर्जा प्राधिकरण (एसएलएसईए) का अध्यक्ष सुलक्षणा जयवर्धनेलाई भुक्तानी हस्तान्तरण गर्नु भएको हो ।

परियोजनाको उद्देश्य राष्ट्रिय ग्रिडमा नजोडिएका तीन टापुका मानिसहरूको ऊर्जा जन्य आवश्यकता पूरा गर्नु हो । वक्तव्य अनुसार भारतले यस परियोजनाका लागि एक करोड दश लाख अमेरिकी डलर सहयोग गरेको छ । यसअघि अगस्ट २३ मा झाले टापुको पूर्वी प्रान्तको भ्रमणका क्रममा गरी गभर्नर सेन्थिल थोन्डामन र व्यापार तथा वातावरण राज्यमन्त्री एस वियालेन्दिरनसँगको भेटमा भारतको विभिन्न परियोजनाबारे छलफल गर्नुभएको थियो ।

यसअघि अगस्ट–२२ मा, झाले बट्टिकलोआ जिल्ला चेम्बर अफ कमर्स र बट्टिकलोआ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिसँग कुराकानी गरी भारतसँग बी एण्ड बी संलग्नता बढाउने सल्लाह दिनु भएको थियो ।

रूसद्वारा करिब १०० अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध

रूसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो,”रूसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ ।

रूसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता, शिक्षाविद् र रूस–युक्रेन द्वन्द्वकाबीच युक्रेनलाई हतियार आपूर्ति गर्ने रक्षा अनुबन्ध फर्महरू र वित्तीय संस्थाहरूका नेताहरू समावेश रहेका छन् ।

रूसी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो प्रतिबन्धको सुचीमा वाल स्ट्रिट जर्नल, वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सका केही पत्रकारको नाम उल्लेख गरिएको छ ।

प्रतिबन्धित व्यक्तिहरूको सूचीमा ‘रूस र रूसी सेनाबारे वासिङ्टनले फैलाएको प्रोपागान्डाको बारेमा झुटो प्रसारमा संलग्न प्रमुख उदार–विश्वव्यापी प्रकाशनहरूका सम्पादकीय कर्मचारी र पत्रकारहरू समावेश छन्,” विदेश मन्त्रालयले भनेको छ ।

सूचीबद्ध पत्रकारमध्ये वाल स्ट्रिट जर्नल(डब्लुएसजे) का प्रधान सम्पादक एमा टकर पनि रहनुभएको छ ।

सूचीमा रहेका डब्लुएसजेका अन्य १३ जना वर्तमान वा पूर्व कर्मचारीहरूमा सञ्चारमाध्यमका प्रमुख सम्पादक, विश्व समाचार विभागका प्रमुख, यसको किएभ ब्युरो प्रमुख, पूर्व मस्को ब्युरो प्रमुख र यसको सम्पादकीय बोर्डका सदस्य समावेश रहेका छन्।

प्रतिबन्ध गरिएका मानिसहरूको सूचीमा न्युयोर्क टाइम्सका पाँचजना पत्रकार, वासिङ्टन पोस्टका चारजना पत्रकार र केलायती पत्रिकाका केही पत्रकारको नाम पनि सूचीकृत छ ।

अमेरिकी स्पेस कमान्डका कमान्डर स्टिफन ह्वाइटिङ, स्पेस सिस्टम कमान्डका कमान्डर फिलिप ग्यारान्ट र स्पेस पोलिसीका लागि सहायक उप–रक्षामन्त्री जोन प्लम्ब पनि प्रतिबन्धको सूचीमा परेका छन् ।

“अमेरिकी शासक वर्गले रूसमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियामा रूसले यो प्रवेश प्रतिबन्ध जारी गरेको र रूस विरोधी गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई समावेश गरेर यो सूची विस्तार गर्ने अभ्यास दृढता र स्थिरताका साथ जारी रहनेछ,” रूसी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि, अमेरिकाले ‘युक्रेनमा क्रेमलिनको अवैध युद्ध’ का लागि रूस र बेलारूसमा अमेरिकी उत्पादन र ‘अमेरिकी ब्रान्डेड’ वस्तुको आपूर्तिलाई प्रतिबन्धित गरेको थियो ।

जलवायु परिवर्तनले चक्रवात वृद्धि : अध्ययन

जलवायु परिवर्तनले चक्रवात गेमीको हावा र वर्षालाई थप शक्तिशाली बनाएकाले यस वर्षको सुरुमा फिलिपिन्स, ताइवानलगायत मुख्यभूमि चीनमा दर्जनौं मानिसहरूको ज्यान लिएको मौसमविद्हरूले बिहीबार जनाएका छन् ।

गेमीले गत जुलाईमा फिलिपिन्समा बाढी र पहिरो निम्त्याउँदा कम्तिमा ४० जनाको ज्यान लिई ताइवान र चीनमा अवतरण भएको थियो ।

चीनमा, मौसम प्रणालीका कारण भएको भारी वर्षाले ५० जनाको ज्यान लिनुका साथै तीन लाखलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन् ।

मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको मूल्याङ्कन गर्न सहकर्मी–समीक्षा विधि को नेतृत्व गर्ने वल्र्ड वेदर एट्रिब्युसन (डब्ल्युडब्लुए) ले चक्रवातबाट बढी प्रभावित फिलिपिन्स, ताइवान र चीनको अनुगमन गरेको छ ।

डब्ल्युडब्लुएले मानव निर्मित जलवायु परिवर्तनका कारणले हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निश्कर्ष निकालेको थियो ।

‘इम्पेरियल कलेज लन्डन’को ‘ग्रान्थम इन्स्टिच्युट–क्लाइमेट चेन्ज एन्ड द इन्भाइरनमेन्ट’का निर्देशक राल्फ तौमीललाई उदृत गर्दै अध्ययनले तातो समुद्र र वातावरणले अधिक शक्तिशाली र लामो समयसम्म टिक्ने र घातक चक्रवातलाई जन्म दिइरहेको जनाएको छ ।

मौसमसम्बन्धी अनुसन्धानकर्ताहरूले इम्पेरियल कलेज लन्डनद्वारा विकसित नयाँ दृष्टिकोणको प्रयोग गरी उष्ण आँधीबेहरीका सम्बनधमा अध्ययन गरिएको थियो ।यो विधिले उष्णकटिबन्धीय चक्रवातलाई पार गर्न कम्प्युटर मोडलिङ प्रयोग गर्दछ ।

एसिया–प्रशान्त क्षेत्रले लामो समयदेखि चक्रवातसँग जुधिरहेको बेला, वैज्ञानिकहरूले ‘चक्रवातको अन्तर र गेमीले निम्त्याएको प्रभाव’लाई थप व्याख्या गरेका छन् ।

वैज्ञानिकहरूले बाढी व्यवस्थापन र लक्षित चेतावनीका लागि आह्वान गर्दै आँधीको सम्भावित प्रभावको बारेमा थप जानकारी प्रदान गरेका छन् । चक्रवात सानसानले जापानमा अवतरण गरेपछि यो अध्ययन रिपोर्ट जारी गरिएको हो ।

वैदेशिक रोजगारमा पठाइदिने भन्दै छ लाख ७७ हजार ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ, १३ भदौ : वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु छ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

मिक्लाजुङ गाउँपालका–७ घर भइहाल काठमाडौँ गोकर्णेश्वर नगरपालका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे« गाउँपालका–६ घर भइहाल काठमाडौँ महानगरपालका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा तथा सिन्धुली कमलामाई नगरपालका–७ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लामाले रु तीन लाख ६५ हजार, विश्वकर्माले रु एक लाख दुई हजार तथा श्रेष्ठले रु दुई लाख दश हजार लिइ क्रोएसिया र दुबई लगायतका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी आरोपीहरू सम्पर्कविहीन भएको पीडितहरूले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।”

निजहरूलाई काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गराउन सुझाव

काठमाडौँ, १३ भदौ : सङ्घीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुको सेवा सुधारका लागि सुझाव दिन गठित कार्य दलले प्रतिवेदन बुझाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमार्फत स्वास्थ्यकर्मीको मनोबल बढाएर गुणस्तर सुधार गर्ने घोषणा गरेका छन् । सोही घोषणाको व्यावहारिक कार्यान्वयनअघि बढाउन भन्दै मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो ।

संयोजक प्रा डा लोचन कार्की संयोजकत्वको पाँच सदस्यीय कार्यदलले मन्त्री पौडेललाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने आवश्यकता, लागू गर्न सकिने आधार, कारण र सम्भावित प्रतिफल तथा कार्यान्वयनका लागि विधि र मापदण्डसहित प्रतिवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन ग्रहण गरेपछि मन्त्री पौडेलले अध्ययनपश्चात प्रतिवेदन कार्यान्वयनमा लैजाने घोषणा गर्नुभयो । सामाजिक सञ्जालमा मन्त्री पौडेलले लेखेका छन्, “अस्पतालमा कार्यरत स्वास्थ्य जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्न कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने हाम्रो योजनालाई अघि बढाउन रचनात्मक सुझाव प्राप्त भएको छ । थप गृहकार्य गरेर प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने र आमनागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने आवश्यकता, लागू गर्न सकिने आधार, लागू गर्नुपर्ने कारण, लागू भएमा प्राप्त हुने प्रतिफल तथा कार्यान्यवनका लागि आवश्यक विधि र मापदण्डलगायत विषय वस्तु समेटेर प्रतिवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

अहिले अस्पतालमा जनशक्ति अभावका कारण सेवाको चाप बढिरहेका बेला मन्त्री पौडेलले स्वास्थ्य कर्मचारीलाई प्रोत्साहन स्वरुप अतिरिक्त सुविधा दिएर दुई सिफ्टमा सेवा सञ्चालन साथै थप सेवा विस्तार गर्ने लक्ष्य राखेका छन् ।

कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनित

काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला प्रमुख रहनुभएको पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गर्नुभएको छ ।

उहाँले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गर्नुभएको हो । विभागमा डा लोकनाथ दुलाल, डा विष्णु बस्याल, डा तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्का र आइएफसीका प्रतिनिधिबीच छलफल

काठमाडौँ, १३ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय वित्तिय निगम (आइएफसी) का नेपाल प्रतिनिधि बाबकर फाएबीच नेपालको ऊर्जा र जलस्रोत क्षेत्रको विकासका बारेमा छलफल भएको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा मन्त्री खड्काले आइएफसीले नेपालको ऊर्जा र जलस्रोतको विकासमा गरेको सहयोग सराहनीय रहेको बताउनुभयो । उहाँले नेपालका गौरवका आयोजनामा आवश्यक वित्तिय परामर्शसँगसँगै ठूला आयोजनालाई समयमा नै काम सम्पन्न गराई आर्थिक विकासमा थप सहयोग गर्न आइएफसीको ठूलो सहयोग रहेको बताउनुभयो ।

उहाँले अपर अरुण, बुढीगण्डकी, अपर कर्णालीजस्ता ठूला आयोजनाको विकासमा राज्य लागेकाले विश्व बैँक र आईएफसीजस्ता संस्थाको विशेष सहयोग रहेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले जलविद्युत् क्षेत्रमा गर्दै आएको विकासका लागि धन्यवाद दिँदै आगामी दिनमा सिँचाइ क्षेत्रसमेतमा सहयोगको खाँचो रहेको बताउनुभयो ।

भेटमा फाएले नेपालले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गरेकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भविष्यमा ग्रीन फाइनान्स र वैकल्पिक ऊर्जामा पनि लगानी विस्तार गर्दै आगामी दिनमा नेपाललाई ऊर्जा क्षेत्रमा समृद्ध बनाउने कोसिसमा आइएफसी रहेको बताउनुभयो ।

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट

काठमाडौँ, १३ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी)ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिनुभएको थियो ।

मन्त्री शाहीले भन्नुभयो, “नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।” नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताउनुभयो ।

उहाँले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमका माध्यमबाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेको बताउनुभयो ।

सो अवासरमा राजदूत थम्प्सनले वन मन्त्रालयको आगामी कार्ययोजना तथा समस्या र समधानका उपायबारे जानकारी लिनुभएको थियो ।

साथै उहाँले युएसआइडीमार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको र नेपाल सरकार जलवायु परिर्वतन क्षेत्रमा केन्द्रित रहँदा खुसी लागेको बताउनुभएको थियो ।

–––

ऊर्जामार्फत विपन्न वर्गको जीवनस्तर उकास्न सरकार लागेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, १३ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा ऊर्जा क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर उकास्न सरकार लागेको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतले दोलखामा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको समस्याबारे बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकार गरिब र निमुखा जनताको जीवनस्तर उकास्न क्रियाशील रहेको बताउनुभएको हो ।

ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको क्षेत्र ऊर्जा रहेकाले यसको विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । “जनतालाई सम्पन्न नबनाइ मुलुक समृद्ध बन्न सक्दैन, सरकार तल्लो वर्गको जनताको जीवनस्तर उकास्न लागेको छ”, उहाँले भन्नुभयो । स्थानीयलाई साथमा लिएर सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउने उहाँको भनाइ थियो ।

भेटमा कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले स्थानीय जनतालाई दिइँदै आएको शेयरको लकिङ पिरियड हटाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरण र अपर तामाकोशी जलविद्युत् आयोजनाबीच असमान विद्युत् खरिद सम्झौतालाई पुनरावलोकन गर्न माग गर्नुभएको छ ।

यस्तै आयोजनाको ड्याम साइटमा पानी चुहिने समस्या रहेकाले मर्मतसम्भार गर्नुपर्ने, हिउँदयाममा सम्झौता भएअनुसारको विद्युत् दिन नसक्दा तिरिँदै आएको पेनाल्टीलाई बर्खायाममा पूर्ण क्षमतामा सञ्चालन गरी परिपूर्ति गर्नुपर्नेमा बिग्रेका मेसिन मर्मत नहुँदा पूर्ण क्षमतामा उत्पादन हुन नसकेको बताइएको छ ।

दोलखाका जनताको भाग्य र भविष्यसँग जोडिएको उक्त आयोजनामा सामान चोरी हुँदै गएको भन्दै त्यसको संरक्षण गर्नसमेत माग गरिएको छ । आयोजनामा कार्यरत दोलखाका कर्मचारीलाई तलब भत्तामा गरिएको विभेद अन्त्य गर्नुपर्ने बताइएको छ । 

पेरिस पारालिम्पिक : नेपालका भरतसिंह जापानका खेलाडीसँग पराजित

काठमाडौँ १३ भदौ : नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत तेक्वान्दोको के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि आज पराजित भएका छन् ।फ्रान्सको पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौँ विश्व वरीयता जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे । भरत विश्व वरीयताको ५७औँ स्थानमा छन् । यस हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा भोलि नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले आगामी सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । भरत र भीम वाइल्ड कार्डमार्फत पारालिम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी हुन् ।

तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ : शिक्षा मन्त्री

काठमाडौँ, १३ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनै सरकारबीच समन्वय हुन सकेमा गुणस्तीरय शिक्षालाई स्थापित गर्न सकिने बताउनुभएको छ । आजको प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयहरूको सन्दर्भमा बोल्दै उहाँले गुणस्तरको सूचकमा धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार नर्सिक शिक्षा, शिक्षा आयोगले सिटिइभिटी २०४५ कै कानुनमा आधारित भएर सञ्चालन भइरहेको छ । “यो कानुन एकीकृत गर्न मस्यौदा तयार भएको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिने, नर्सिङ शिक्षालाई व्यवस्थित गर्ने तयारी गरिरहेका छौँ,” मन्त्री भट्टराइले भन्नुभयो, “मेडिकल शिक्षामा कोटा बढाउने विषयमा छलफल भइरहेको छ ।”

सबै सरकारको लगानीबाट अनिवार्य र निःशुल्क शिक्षा लागू गर्नुपर्ने र नेपालका सबै जिल्लालाई साक्षरता बनाउन गुणस्तरीय शिक्षाको पहुँच आवश्यक रहेको उहाँको भनाइ छ । विद्यार्थीहरूमा पुस्तक नपुगेको विषयमा ध्यानाकर्षण भएको भन्दै उहाँले यस विषयमा जनक शिक्षा तथा पुस्तक वितरकहरूसँग के भएको भन्ने विषयमा बुझ्ने बताउनुभयो । प्रारम्भिक बाल विकासलाई पनि बढुवा दिने, विद्यालय शिक्षा ऐनलाई चाँडो पारित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

“शिक्षा सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट प्रधानाध्यापकको नियुक्ति गरिने विषय पनि शिक्षा ऐन संशोधन भएमा सहज हुनेछ,” मन्त्री भट्टराईले भन्नुभयो, “विश्वविद्यालयभित्र विभिन्न समस्या छन् । स्वायत्त ढङ्गले सञ्चालन गर्नुपर्छ । शिक्षा आयोगलाई स्वच्छ बनाउन जरुरी रहेको छ । थप दरबन्दीको व्यवस्थापनको माग गर्ने निष्कर्ष निकालेका छौँ ।”

उहाँका अनुसार सरकारले करियर काउन्सिल कार्यक्रम यसैबाट सञ्चालनमा आउने छ । सबै तहका सरकारले गम्भीर आत्मसमीक्षा गर्दै सिकाइका लागि थप प्रभावकारी योजना बनाउनुपर्छ । विद्यालयमा विभिन्न सुविधाको व्यवस्था, तालिम तथा शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकेमा मात्रै सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थीको आकर्षण बढ्दै जाने उहाँको भनाइ छ । 

उहाँले निःशुल्क शिक्षा ऐन लागू गर्नेगरी अगाडि बढेमा विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन सकिने बताउनुभएको छ । “शिक्षामा लगानी गर्ने निजी क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइसकेको छ,” मन्त्री भट्टराईले भन्नुभयो, “पुरातन शिक्षा प्रणालीले गर्दा समस्या छ, आधारभूत शिक्षामा सुधारको खाँचो छ ।”

बहुप्रतिष्ठित भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो

कर्णाली । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।

‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो ।

आयोजना निर्माणका लागि तीन अर्ब ५० करोड आठ लाख १५ हजार दुई सय ८० लागतमा उक्त कम्पनीसँग सम्झौता भएको हो ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन एकाइ सुर्खेत र झेजियाङ टिम इन्टरनेश्नल इकोनोमिक एण्ड टेक्निकल को-अपरेसन निङ्बो चाइना कम्पनी लिमिटेडबीच आयोजना निर्माणका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एकाइका तर्फबाट प्रमुख सञ्जीवकुमार साह र कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतितिनिधि सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले सङ्घीयता अभ्यासको पहिलो नमूना आयोजना भेरी पम्पिङ आयोजना भएको बताइन् ।

उनले विश्व बैंकले नेपालको खानेपानीमा लगानी गरेको मेलम्चीपछिको लिफ्टिङ प्रविधिको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएको जिकिर गरिन् ।

उनले भने, ‘सबै क्षेत्र र पक्षलाई एकै ठाउँमा उभिएर यसको निर्माणकार्य सम्पन्न गर्न सहयोग पुर्याउन अपिल गर्छु । भेरी लिफ्टिङ आयोजनाको पहिलो खुड्किलो पार भएको तीन तहका सरकारको स्वामित्वमा अगाडि बढेको यो परियोजनालाई सबैको सहयोगबाट निर्धारित समयमा सम्पन्न हुने विश्वास छ ।’

तीन वर्षसम्म पहिलो चरणको काम सक्नेगरी कामको जिम्मा पाएको चिनियाँ कम्पनीले सातवटा निर्माण कम्पनीलाई पछि पार्दै छनोट भएको एकाइ प्रमुख साहले बताए । सम्झौताअनुसार निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

आयोजना छ पालिकामा लागू हुने भन्दै कार्यान्वयनको सुरुआत वीरेन्द्रनगर नगरपालिकाबाट हुने र यसले प्रतिसेकेण्ड ५६० मिलिमिटर पानी आउने उनले बताए ।

सुर्खेत उपत्यका खानेपानी आयोजनाका अध्यक्ष कुलमणि देवकोटाले धरै लामो प्रतिक्षापछि आयोजनाको काम सुरु हुनुले नयाँ आशा पलाएको भन्दै अबको तीन वर्षभित्र नगरवासीले स्वच्छ पानी पिउन पाउने विश्वास व्यक्त गरे ।

आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनीका प्रतिनिधि श्रेष्ठले तोकिएकै समयमा अयोजना सम्पन्न हुने प्रतिबद्धता जनाए ।

आयोजनाका लागि ७० प्रतिशत सङ्घीय सरकार, ३० प्रतिशत प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट रकम जुटाइनेछ ।

विश्व बैंकको ऋण सहयोगमा सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो । जसअन्तर्गत पहिलो चरणमा तीन अर्बको काम हुनेछ ।

वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्याको आकलन गरेर खानेपानी आयोजना बनाइएको हो । भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर-११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । त्यहाँ ९० लाख लिटरको ट्याङ्की निर्माण गरिनेछ ।

पहिलो चरणका काममा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृतडाडाँबाट वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछन् ।

दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार हुँदा तीन अर्ब लागत लाग्ने जनाइएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्धारा यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन गृहमन्त्रीलाई आग्रह

काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख सवारीसाधनमा १० खर्बभन्दा बढी लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिए । सडक दुर्घटनाबाट अहिले दैनिक सातजनाको मृत्यु हुनुका साथै ४० जना घाइते हुने गरेका छन् ।

उनले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै उक्त राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए । महासङ्घले गत असार २८ गते चितवनको सिमलतालमा पहिरोबाट दुईवटा सवारीसाधन पुरेको घटनाको अध्ययन गरी प्रतिवेदन बुझाएकाले उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।

यस्तै २०७८ माघ ११ गते पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित यातायात सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन यथाशक्य कार्यान्वयन हुनुपर्ने बताएको हो ।

महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्ता, मजदुर, प्रविधिमैत्री र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात प्राधिकरण गठन गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र पाटपुर्जाको मूल्य वृद्धि भएकाले यातायात भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना सवारीको हकमा सर्वोच्च अदालतले फैसला गरिसकेकाले उक्त फैसलाको कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

यसैगरी, रातो नम्बरप्लेटका सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न दिइएको जनाउँदै उक्त कार्य रोक्नुपर्ने, भारतीय मालवाहक सवारीसाधनले सामान ओसारपसार गर्दा नेपाली मालवाहक सवारीसाधन मर्कामा परेकाले यसलाई रोक्नुपर्ने बताइएको छ ।

यस्तै, टिपरलाई काठमाडौँ उपत्यका प्रवेशमा निश्चित समय तोकिँदा बैंकको ब्याजदर, किस्तामा समस्या देखिएकाले उक्त समय पुनरावलोकन हुनुपर्ने, दुर्घटना उद्धार तथा राहत कोष निर्माण गर्न माग गरेको छ ।

सो अवसरमा गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्न र यात्रुलाई चाडपर्वलक्षित प्रभावकारी सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गरेका थिए । उनले भने,“दुर्घटना एकदमै बढ्यो, यो भएन, सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरीलाई भन्न चाहन्छु, आगामी दुई÷तीन महिनामा दुर्घटना कम भएको देखिनुपर्छ, मलाई परिणाम चाहिन्छ ।”

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला, १३ भदौः अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

उहाँले पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

कृषिमन्त्री अधिकारीद्वारा विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन

काठमाडौँ, १३ भदौः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गर्नुभएको छ । केही दिनयता गण्डकी गाउँपालिकाका केही वडामा तरकारीखेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजानिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

गण्डकी गाउँपालिकाका ६१ तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार सार्वजानिक भएको थियो । मन्त्रिस्तरीय निर्णयबाट प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गरिइएको हो ।

कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन् ।

“गण्डकी गाउँपालिका, गोरखामा देखिएको विषादी दुरुपयोगसम्बन्धी समस्याबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न माननीय मन्त्रीज्यूको समुउपस्थितिमा मिति २०८१ भदौ ११ गते बसेको आकस्मिक बैठकको निर्णयानुसार तपसिलबमोजिमका पाँच सदस्यीय कार्यदल गठन गरिएको छ”, निर्णयमा भनिएको छ । सो समितिलाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेश गर्न भनिएको छ । अधिकृत पोखरेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरु गरिसकेको जनाइएको छ । मन्त्री अधिकारीले विषयुक्त होइन, विषमुक्त उत्पादनमा जोड दिँदै आउनुभएको छ ।

नाउरास्थित म्याग्दी नदीमा ४७ मिटर लामो बेलिब्रिज जडान

म्याग्दी, १३ भदौः धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ ।

हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउरास्थित म्याग्दी नदीमा ४७ मिटर लामो बेलिब्रिज जडान गरेका धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । नाउराको बेलिब्रिजले जलविद्युत् आयोजना निर्माणस्थलमा यातायात पहुँच स्थापित हुनुका साथै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेका नाउरा, बगर, सिम्कोस, खिवाङ, खाम्लाका बासिन्दालाई सहज भएको उहाँले बताउनुभयो ।

म्याग्दी नदीमा निर्माणाधीन म्याग्दीखोला, अपर म्याग्दी र अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलाबाट कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगरगाउँ नजिकैसम्म करिब १६ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् । बर्खालगत्तै बगरगाउँमा सडक पुर्याउने लक्ष्य राखेको म्याग्दीखोला जलविद्युत् आयोजनाले जनाएको छ । म्याग्दीखोला, अपर म्याग्दीखोला र अपर म्याग्दीखोला–१ जलविद्युत् आयोजनाको साझेदारीमा धवलागिरि गाउँपालिका–४ केङ्कीबाट ८० घरपरिवारको बसोबास रहेको खिवाङ जोड्ने तीन किलोमिटर सडक निर्माण भएको थियो ।

नेपाल विद्युत प्राधिकरणले डाडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवर्द्धकहरू सक्रिय भएका छन् । विद्युत् विकास विभागका अनुसार धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणका क्रममा छन् ।

जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिएको, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुगेको, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

जुटखेतीले किसानको लागत खर्च पनि उठ्न छाडेपछि चिन्तामा किसान

बेलबारी (मोरङ), १३ भदौः जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ । धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले भन्नुभयो, “जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्पादनमा लगानी धेरै लाग्छ । लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुटखेती छाड्दै गएका हौँ ।”

विगत वर्षहरूमा तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरिएको उहाँले चौधरीले बताउनुभयो । तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको जनाइएको छ । विगत वर्षहरूमा जुट सफाइ (धुने) गर्ने मजदुरलाई ४० मुठा धोएबापत छ मुठा दिने चलन थियो, अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको किसान काशीनाथ चौधरी बताउनुभयो ।

धनपालथानका किसान चौधरीजस्तै जहदा–७ का किसान राजनिश सिंहले जुटखेतीलाई आधुनिकीकरणतर्फ जोड्न नसक्दा र उचित मूल्य नपाउँदा पछिल्लो समय जुटखेतीको आकर्षण घट्दो रहेको बताउनुभयो ।

किसानले जुटखेतीतर्फको आकर्षण घट्दो बताए तापनि तथ्याङ्कमा भने वार्षिक रूपमा उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन, आव २०७९/८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन र आव २०८०/८१ मा सात हजार सात सय ३१ मेट्रिक टन जुट उत्पादन भएको हुँदा विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

उहाँले मोरङमा गत वर्ष पाँच हजार एक सय १० हेक्टर जमिनमा जुटखेती गरिएकामा यस वर्ष वृद्घि भई पाँच हजार एक सय २५ हेक्टर जमिनमा जुटखेती गरिएकोे बताउनुभयो । उहाँका अनुसार यस वर्ष प्रतिहेक्टर एक दशमलव ४५ मेट्रिक टन उत्पादन भएको छ । आव २०७८/७९ मा प्रतिक्विन्टल रु ११ हजारमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९÷८० मा प्रतिक्विन्टल नौ हजार पाँच सयसम्ममा र हाल प्रतिक्विन्टल आठ हजार एकसय ५० मा कारोबार भइरहेको प्रमुख सिंहले बताउनुभयो ।

कोशी प्रदेशमा छ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुटखेती गर्ने गरिएको छ ।

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयात हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।

कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो : व्यवसायी उत्साहित

झापा, १३ भदौः दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो ।

नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले मौज्दातमा रहेका दुग्धजन्य पदार्थको दसैँतिहारसम्म ५० देखि ६० प्रतिशत खपत हुने बताउनुभयो । विगतमा सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै यहाँ उत्पादित सामग्रीले बजार पाएको हो ।

कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताउनुभयो । यसका कारण किसान पनि उत्साहित बनेका छन् । छ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख केजीभन्दा ज्यादा रहेको थियो । भारतीय दूधको आयात घटेसँगै आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने सरकारको निर्णयले हाल व्यवसायमा सुधार आएको उहाँले बताउनुभयो ।

उहाँले कोडिभ महामारीपछि ठूला गाईफार्म धामधम बन्द हुन थालेपछि हाल दूध उत्पादन घटेको बताउनुभयो । “किसान पछिल्लो समय पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत स्थानमा सञ्चालित धेरै गाईफार्म बन्द भए”, उहाँले भन्नुभयो, “करिब ३० प्रतिशत उत्पादन घटेसँगै बजारमा यसको बिक्रीमा सुधार आयो ।”

उहाँले यहाँ उत्पादित छुर्पी भने अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा निर्यात भइरहेको बताउनुभयो । छुर्पीजस्तै घिउ, बटर र पाउडर दूध निर्यातमा समेत सरकारले गम्भीर भएर पहल गर्न आवश्यक रहेको उपाध्यक्ष चिमिरियाको भनाइ छ । उहाँका अनुसार देशभर हाल आठ लाख ५० हजार लिटर खुला दूधको दैनिक कारोबार हुँदै आएको छ । यसमध्ये कोशी प्रदेशमा मात्र तीन लाख ५० हजार लिटरको कारोबार हुने गरे तापनि रु ४५ करोड बढीको बटर नौनी अझै मौज्दात रहेको उहाँका भनाइ छ ।

बागमती प्रदेशमा घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा गिरावटसँगै राजस्व सङ्कलन घट्यो

बागमती, १३ भदौः बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०÷८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो आवमा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु छ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् रु पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत आव २०८०÷८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । उक्त शीर्षकमा रु सात अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा रु छ अर्ब ११ करोड ५७ लाख ३८ हजार राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले बताउनुभयो ।

यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु सात अर्ब ७९ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकामा रु छ अर्ब ७५ करोड ३७ लाख सङ्कलन भएको छभने अन्तःशुल्क करबापत रु तीन अर्ब ३४ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएकामा रु दुई अर्ब ३२ लाख १२ हजारमात्र प्राप्त भएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु आठ अर्ब एक करोड ३५ लाख प्राप्त हुने अनुमान गरिएकामा रु पाँच अर्ब ९३ करोड ८८ लाखमात्र प्राप्त भएको प्रमुख उपाध्यायले बताउनुभयो ।