`

तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

काठमाडौँ, ४ भदौ : काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ ।

आज आयोजित एक समारोहका बीच काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले पुनःनिर्मित फल्चाको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनःनिर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ समुद्घाटन गरिएको बताउनुभयो । “काठमाडौँ महानगरपालिका–८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो”, संयोजक सङ्गतले भन्नुभयो,“वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ । यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुनः निर्माण गरिएको हो ।” उहाँले ध्वाखा छें (नरसिंह) पाटी ३४ लाख र ‘ग्वलः दे फल्चा’ १५ लाखको लागतमा पुनःनिर्माण गरिएको बताउनुभयो ।

हाल वडा नं ८ मा ग्वलः दे फल्चा पुुनःनिर्माण भइरहेको र रावण पाटी पनि पुनःनिर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुनःनिर्माण गरिने महानगरले जनाएको छ ।

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु: स्वास्थ्यमन्त्री पौडेल

दमौली (तनहुँ), ४ भदौ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको टोलीसँग आज मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

गत साता अस्पतालको निरीक्षण गरिसक्नुभएका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । “दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु । प्रदेशबाट स्वीकृति आउना साथ विस्तारको काम अघि बढ्नेछ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शय्यामा स्तरवृद्धि गर्ने काममा सहयोगका लागि समितिका अध्यक्ष वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले आग्रह गर्नुभएको थियो ।

दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएकाबारे जानकारी गराएको अध्यक्ष वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ । यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।”

पन्ध्र शय्या क्षमताको स्वीकृति भए पनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । अस्पतालसँग हाल १५ रोपनी जग्गा रहे पनि कृषि ज्ञान केन्द्रको दुई रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ ।

अस्पतालले गत वर्ष ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालका प्रमुख डा परिवर्तन बरालले प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले अस्पताललाई ५० देखि एक सय शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको बताउनुभयो । यस्तै, अस्पतालमा सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको उहाँको भनाइ छ ।

यो अस्पताल विसं २०३४ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।

वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध

गलेश्वर (म्याग्दी), ४ भदौः अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

“बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो, “म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ । बेनी –४ र मङ्गला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहँुदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आवतजावत गर्न समस्या हुने गरेको यात्री बताउँछन् ।

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै रमेस गड्तौला

इलाम, ४ भदौः सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”

काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “रु छ–सात लाख आम्दानी भयो होला”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।”

काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताउनुभयो । सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गर्नुभएको छ । “सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला”, उहाँले भन्नुभयो ।

अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ ।

अघिल्लोपटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।

अठार किलोमिटर कालोपत्रको काम भइसकेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । यस्तै, अहिलेसम्ममा एक सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको संयोजक शर्माले जानकारी दिनुभयो ।

बाह्मासे सडकका लागि प्रत्येक वडाले बर्सेनि कम्तीमा रु ५० लाख बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकतानुसार वडाले रु एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्दै गएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

“कृषिजन्य उत्पादन गाउँमा छ, त्यसलाई बजारसम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नाश हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउँमा सहज यातायातको पहुँच पुग्न थालेको छ”, उहाँले भन्नुभयो, “यातायात र ढुवानी अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुन पाउने छैन, किसानले सहज रूपमा बजारसम्म पुर्याउन सक्ने भएका छन्, यसमा हामीलाई गौरव छ ।”

वर्षायाम सुरु भएपछि विगत वर्षमा सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायत कृषि उत्पादन बारीमै कुहिने गरेको थियो । सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन् । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताउनुभयो ।

“मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु”, उहाँले भन्नुभयो, “यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा पुर्याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ ।” यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।

अभिनेत्री नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा

सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको हो ।

अभिनेत्री नीता ढुंगानाको निर्माण भएको सिनेमा कार्तिक ३० बाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी निर्माण कम्पनिले दिएको छ । हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भैरहेको छ । दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने सिनेमा पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

लेदोसहितको पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, गैँडाकोट हुँदै पहाडी क्षेत्रमा जाने सवारी रोकिए

त्रिवेणी (नवलपरासी), ४ भदौः बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

अरुणिमा लम्सालले कांग्रेस नेतासँग कसिन् लगनगाँठो

अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाधिएकी छन् । लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसेका हुन् ।श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।

उनीहरुले मागी विवाह गरेको बताइएको छ । । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरेको जनाइएको छ ।केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन् ।अरुणिमाको यो दोस्रो विवाह हो । उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् ।

उनले धेरै नेपाली फिल्ममा सफल अभिनय गरेकी छन् । उनकी एक छोरी पनि छन् । उनी विाह बन्धनमा बाधिएपछि बधाइको ओइरो नै लागेको छ ।केही समयअघि एक अन्तर्वार्तामा उनकी आमा भावु लम्सालले छोरीको विवाह हुन लागेको संकेत गरेकी थिइन् । उनको विवाहबारे थोरै व्यक्तिमात्र जानकार थिए ।रुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् । नेपाल आएर उनी परिवारसँग घुमघाम गरिरहेकी थिइन् । विवाहपश्चात फेरि अमेरिका फर्किनेछिन् ।

यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले एक छोरीलाई जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।

सामूहिक भक्तिगान गर्दै मिथिलामा १३ दिने झुला पर्व मनाइयो

महोत्तरी, ४ भदौ : साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ)मा भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन् ।

साउन शुक्लपक्ष लाग्नुअघि मुख्यबाली धान रोपाइँ सकेका किसान तथा अन्य पेशाका सर्वसाधारण आफ्नो बस्ती नजिकका मठमन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउदै नाच्छन् । झुलाउत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । साउन पूर्णिमाको मध्यरातमा झुला झुलाइने रेशमको डोरी छिनाएर यो पर्व सम्पन्न गरिन्छ ।

झुलाउत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायणा मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । साउनको पनि पछिल्लो शुक्लपक्ष मिथिलामा मुख्यबाली धान रोपेर सकिएपछिको समय हुन्छ । यतिखेर किसान मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन् । यसैबेला धानको रोपो हरियो फेरिएर लहलहाएको दृश्यले किसान आफ्नो मेहनतप्रति मख्ख पर्छन् । प्रकृतिले जताततै सुन्दरता बिखेरेको यो बेला रमाउन नै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना इष्टदेवदेवी राम, कृष्ण एवं सीता, राधासँग खेलेको अनुभूति सँगाल्न झुलापर्वमा रमाउने गरेका मैथिल परम्परा र संस्कृतिका जानकार बताउँछन् ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रशन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार साउन शुक्लपक्षका पछिल्ला १३ दिन यो पर्व विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराउनुभएको लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउनुभयो ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हीरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पाहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल त्रितीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

पर्वभरि मटिहानी र जनकपुरधाम आसपासका मठमन्दिरबाट देवदेवी प्रतिमा झुलाका लागि जम्मा पारिन्छन् । एक ठाउँलाई मुख्य केन्द्र बनाएर यो पर्व मनाउने परम्परा छ । महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठमन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा भुलाइन्छ । मटिहानीमा नेपाल–भारतका गरी दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइने चलन छ । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् । यो मिथिलाको परम्परासँग जोडिएको खास सांस्कृतिक पर्व रहेको लोकसंस्कृतिका अध्येता डा राजेन्द्रप्रसाद विमलले जानकारी दिनुभयो ।

यमनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, हजारौँ प्रभावित

युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण जुलाईदेखि अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका र कूल दुई लाख ६८ हजार मानिस प्रभावित भएका छन् ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएले सोमबार जारी गरेको रिपोर्टमा जुलाईपछि अचानक आएको बाढीका कारण होडेडा प्रान्तमा ३६, इब्बमा नौ, मारिबमा आठ र ताइजमा सात जनाको मृत्यु भएको उल्लेख छ ।

“विद्यालय, सडक र स्वास्थ्य सुविधा लगायतका सार्वजनिक पूर्वाधार प्रभावित भएका छन्”, ओसिएचएले भनेको छ ।

होडेडा र मारिबमा मात्रै बाढीका कारण कम्तीमा छ सय जना घाइते भएका छन् र होडेडा र ताइजमा १३ जना अझै हराइरहेका छन् ।

नोट्रे डम विश्वविद्यालयका ग्लोबल एडप्टेसन इनिसिएटिभले यमनलाई यस क्षेत्रको सबैभन्दा जलवायु–संवेदनशील देशहरू मध्ये एक भएको बताएको छ ।

हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण वर्षाको आवृत्ति र तीव्रतामा वृद्धि भएको अनुभव गरेको रेडक्रस र नर्वेली रेडक्रसको अन्तर्राष्ट्रिय समितिको २०२३ को प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले गत हप्ता यमनको चरम मौसम अवस्थाका लागि आपत्कालीन प्रतिक्रिया मापन गर्न तत्काल चार लाख नौ हजार डलर आवश्यक रहेको चेतावनी दिएको छ ।

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

खोटाङ, ४ भदौः झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ । लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो । 

प्राकृतिक रुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ । हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्बिर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ ।

यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ । यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ । 

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ । 

सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्दुम ट्रेलको प्रवेशस्थलमा अवस्थित ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण सुरु गरिएको रक गार्डेनलाई महत्वका साथ हेरिएको छ । लामो समयदेखि प्रयोगविहीन ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माण सुरु गरिएपछि  स्थानीय बासिन्दा पनि हर्षित बनेका छन् । 

ककनीडाँडामा रक गार्डेन निर्माण सुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रुपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्यस्थल बनेको छ । रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन । निर्माण सम्पन्नपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ । यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”

फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खला, छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट अवलोकन गर्न सकिन्छ । 

रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रुपमा विकसित हुन थालेको छ । हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ । तराईका जिल्लाबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुँदै पनि यहाँ आउन सकिन्छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडकबाट रक गार्डेन पैदल २०–२५ मिनेटमा र सवारीसाधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । 

रक गार्डेन सम्पन्न गर्न रु पाँच करोडभन्दा बढी लाग्ने गरी डिपिआर तयार भएको नगरउपप्रमुख रमेश राउतले जानकारी दिनुभयो । “रक गार्डेन निर्माणमा अहिलेसम्म करिब रु तीन करोड खर्च भइसकेको छ । निर्माणाधीन अवस्थामै पर्यटकको रोजाइमा परेकाले निर्माणको कामलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले रक गार्डेन आवतजावत गर्ने सडक ढलान भइरहेको छ । सडक ढलानको काम सम्पन्न भएपछि सहजरुपमा आवतजावत गर्न हुन्छ ।”

तीन तहका सरकारको संयुक्त लगानीमा रक गार्डेन निर्माण गर्नेगरी स्तरोन्नति थालिए हो । नगरपालिकाभित्र पर्ने सबै पर्यटकीयस्थलको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकाभित्र विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुमलगायत दर्जन बढी धार्मिक तथा पर्यटकीयस्थल छन् । ती सबै धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवर्द्धन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका धार्मिक तथा पर्यटकीयस्थललाई समेटेर क्युआर कोड विकास गरिरहेका छौँ । यसभित्र धार्मिक तथा पर्यटकीयस्थलको परिचय, महत्व, विशेषता, दूरीलगायत विषय समेटिनेछन् । यसले बाहिरबाट आउने पर्यटकका लागि यहाँका धार्मिक तथा पर्यटकीयस्थलका बारेमा बुझ्न र घुम्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” नगरपालिकाले सुरु गरेको पर्यटन प्रवर्द्धनका कामप्रति प्रदेश तथा सङ्घीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् ।

दिवङ्गत आफन्तको सम्झना गर्दै बनेपा र धुलिखेलमा गाईजात्रा मनाइँदै

काभ्रेपलाञ्चोक, ४ भदौः एक वर्षभित्र दिवङ्गत आफन्तजनको सम्झनास्वरुप आत्माको शान्तिको कामना गर्दै नेवार समुदायद्वारा मनाइने गाईजात्रा पर्व काभ्रेका दुई ठूला सहरमा मनाइँदैछ । विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन अर्थात् आज मनाइँदैछ । यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृङ्गारी बजार परिक्रमा गराई मनाइन्छ । विशेषगरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो । “आफ्ना धर्म संस्कृति–पराम्पराअनुसार बर्सेनि जात्रालाई निरन्तरता दिँदै आएका छौँ”, बनेपाका माधव श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार जात्रामा परिवारका सदस्य तथा नातेदारको सहभागिता रहने गर्दछ ।

केही वर्षअघिसम्म बनेपा र धुलिखेलमा मल्लकालीन नेवारी सस्ंकृति धुमधामका साथ मनाइने गरिएको बनेपाका साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । उहाँका अनुसार भक्तपुरको गाईजात्रा संस्कृति–मौलिकतालाई यहाँका नेवार समुदायले अनुशरण गर्दै नाटक, व्यङ्ग्य–प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएका हुन् । मल्लकालीन अवस्थादेखि नै गाईजात्रा पर्व भक्तपुरबाट सयौँ वर्षअघि सुरुआत गरिएको विभिन्न लेख–अभिलेखबाट प्रष्ट देखिने उहाँ बताउनुहुन्छ ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँगा, नालालगायत जिल्लाका मुख्य सहरबजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई श्रृङ्गारी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोशाकको मुखुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहँदै आएको छ ।

जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिहरू ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । विशेषतः पितृमोक्षका रुपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको छ, बनेपाका इतिहासविद् स्व ज्ञानकाजी मानन्धरको बनेपाको इतिहास पुस्तकमा उल्लेख गरिएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइएको जनश्रृति रहेको छ । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ ।

विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोकमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो । पछिल्लो केही वर्षदेखि जिल्लाको अन्य स्थानमसमेत जात्रा विस्तार गरिँदै आइएको छ । ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दिन भने क्वाँटी खाने प्रचलन रहँदै आएको छ । 

यसैबीच जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा तेमाल गाउँपालिकाले धार्मिक जात्रा मनाउन हिजोदेखि तीन दिन सार्वजनिक बिदासमेत दिएको छ । तेमालमा अवस्थित सत्यनारायण मन्दिर परिसरमा जनैपूर्णिमाका अवसरमा परापूर्वकालदेखि नै विशेष धार्मिक जात्रा हुने भएकाले उक्त जात्रामेला तेमालको सांस्कृतिक पर्वका रुपमा विकसित भएको जनाउँदै गाउँपालिकाले बिदा दिएको जनाएको छ । 

उक्त जात्रामा तेमाललगायत आसपासका स्थानीय तह र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी उपस्थित भई अनुष्ठान गर्ने गर्छन् । यस जात्रा र मेला मनाउन गाउँपालिकाअन्तर्गतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडा कार्यालय बन्द हुने सूचनामा जनाइएको छ ।

मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको सङ्कट बढ्दै

संयुक्त राष्ट्रसङ्घले सोमबार मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ ।

“मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा सात करोड ७० लाख अर्थात तीनमध्ये एक बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले पीडित छन्”, संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले विज्ञप्तिमा भनेको छ ।

मूल्याङ्कन गरिएका २० देशमा पाँच करोड ५० लाख बालबालिका मोटोपनले पीडित रहेको विज्ञप्तिमा उल्लेख छ । मोटोपनलाई युनिसेफले एक प्रकारको कुपोषण मानेको छ । युनिसेफका अनुसार थप दुई करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको शिकार छन् ।

युनिसेफका क्षेत्रीय निर्देशक एडेल खोडरले साना बालबालिकामध्ये एक तिहाइलाई मात्र पौष्टिक खाना उपलब्ध गराइएको बताउनुभयो ।

युनिसेफले सरकारहरूलाई उनीहरूको योजना र नीति बनाउँदा पोषणलाई ध्यान केन्द्रीत गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले गत महिना द्वन्द्व, आर्थिक उथलपुथल र जलवायु परिवर्तनले गत वर्ष विश्वको करिब नौ प्रतिशत जनसङ्ख्यालाई प्रभावित तुल्याउँदै भोकमरी कम गर्ने प्रयासमा अवरोध सिर्जना गरेको बताएका थिए ।

भारत सरकारद्वारा राज्यहरूलाई एमपक्स विरुद्ध निगरानी बढाउन आग्रह

भारतको सङ्घीय सरकारले राज्यहरूलाई निगरानी बढाउन र एमपक्स मामिलाहरू तुरुन्तै पत्ता लगाउन प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री कार्यालयका प्रमुख सचिव पिके मिश्रको अध्यक्षतामा देशमा एमपक्सको पूर्वतयारी र जनस्वास्थ्यका उपायहरूको समीक्षा गर्न उच्चस्तरीय बैठक बसेको थियो ।

मिश्रले प्रारम्भिक निदानका लागि परीक्षण प्रयोगशाला सञ्जाललाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार एमपक्सको अन्तिम केस मार्च सन् २०२४ मा फेला परेको थियो ।

रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् ।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ ।

न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले ‘बाइडेन परिवार र बाइडेन व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ देखाएको बताउनुभयो ।

यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन् ।

बाबु र छोराबीचको सम्बन्धका बारेमा अनुमान र सङ्केतका आधारमा बनाइएको प्रतिवेदनमा बलियो प्रकारको परिस्थितिजन्य कुनै प्रमाण थिएन । प्रतिवेदनमा लगाइएको आरोपहरू बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा सेवा गरेपछि बाइडेन कार्यालयबाट बाहिरिएपछको अवधिसँग सम्बन्धित थिए ।

सेवानिवृत्त हुनुअघि डेमोक्रेटिक कन्भेन्सनमा भाषण दिन र उपराष्ट्रपति कमला ह्यारिसलाई राजनीतिक मशाल सुम्पिन तयार बाइडेनले युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गर्नुभएको छ ।

रिपब्लिकनहरूले वर्षौंदेखि राष्ट्रपति बाइडेनलाई शर्मनाक बनाउने प्रयासमा हन्टर बाइडेनको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई लागुपदार्थको दुर्व्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा प्रयोग गरेका छन् ।

कर्णालीका सबै जोखिमयुक्त घरहरुको बीमा गर्दैछौंः मुख्यमन्त्री कँडेल

कर्णाली, ४ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ ।

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ मा घर बीमामा बजेट छुट्याएको उहाँले बताउनुभएको हो । प्रदेश सरकारले यसका लागि रु.चार करोड ५० लाख बजेट विनियोजन गरेको छ, उहाँले भन्नुभयो ।

“राष्ट्रियस्तरको यो बहसमा सङ्घ, प्रदेश र स्थानीय सबै तहका सरकार तथा साझेदार निकायहरु छौं,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य सम्बन्धी यसले जारी गर्ने घोषणापत्र कर्णाली सरकारले सम्बोधन गर्ने होस् ।”

उहाँले प्रदेश सरकारले गत वर्षको जाजरकोट भुकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई रु.दुई लाखका दर विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा रकम दिइएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले रु.एक करोड ७५ लाख बजेट छुट्याएको छ ।

खाद्य तथा कृषि सङ्गठनका नेपाल–भुटानका देशीय प्रतिनिधि केन सिमिजुले विपद जोखिमको बेला सक्दो मानवीय सहायता प्रदान गरिआएको बताउनुभयो । उहाँले विपद् जोखिम प्रतिकार्यमा सबै सरोकारवाला एक भएर जानुपर्ने सुझाउनुभयो ।

उक्त बहसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली समेतले विपद् जोखिम बढ्दो रुपमा देखिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

घोडेपानी सडक अवरुद्धः पर्यटक र स्थानीयलाई सास्ती

म्याग्दी, ४ भदौः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानीका होटल व्यवसायी तारा पुनले बताउनुभयो ।

“गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय याम सुरु हुन लागेपनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।”

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडकअन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुनसकेको छैन ।

वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।

अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेट गरी पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

जलसतह मापकहरूको पारिश्रमिक बढाउन माग

गोदावरी (कैलाली) – सुदूरपश्चिम प्रदेशमा कार्यरत जलसतह मापक ९गेज रिडर०को पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसका अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल प्रदेश समितिले धनगढीमा आयोजना गरेको एक कार्यक्रममा सरोकार भएकाहरूले हाल दैनिक रु दुई सय ज्याला दिने गरिएकामा सो रकम बढाउन माग गरेका हुन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अत्यन्त न्यून ज्याला दिने गरिएकाले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकअनुरूप समायोजन हुनुपर्ने बताउनुभयो । उहाँले पारिश्रमिक बढाउने सवालमा आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलसतह मापकको जोखिम बीमा गर्नका लागि प्रदेशसभामा छलफल चलाइएकाले चाँडो निकास निस्किने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले जलसतह मापकले गरेका माग जायज भएकाले निर्णय प्रक्रियामा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विशेष पहल आवश्यक रहेकामा जोड दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जय साहले मापकको पारिश्रमिक बढाउनका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको बताउनुभयो । सुदूरपश्चिमका विभिन्न नदीमा गरी हाल ३१ जना जलसतह मापक कार्यरत रहेका उहाँले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका प्रदेश समितिका अध्यक्ष देवीप्रसाद खनालले सरकार आफैँले न्यूनतम पारिश्रमिक निर्धारण गरे पनि त्यसलाई कार्यान्वयन नगर्नु राम्रो नभएको बताउनुभयो । जलसतह मापक मानबहादुर चौधरीले आफूहरूले धेरैको ज्यान बचाउने काम गर्दै आए पनि न्यूनपारिश्रमिकका कारण दैनिक गुजारा टार्न समस्या भएको गुनासो गर्नुभयो ।

यसैबीच, जलसतह मापकहरूले पारिश्रमिक वृद्धि, आवश्यक सेवासुविधा तथा सुरक्षासम्बन्धी सामग्री, स्वास्थ्य बीमा, जीवन बीमा, दुर्घटना बीमालगायतको माग गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीलाई मागपत्र बुझाएका छन् ।

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा होः सभापति देउवा

काठमाडौँ, ४ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताउनुभयो ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो”, शुभकामना सन्देशमा उल्लेख छ ।

सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताउनुभएको छ ।सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने उहाँले उल्लेख गर्नुभएको छ ।

पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद

वीरगञ्ज, (पर्सा) ४ भदौ : डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिनुभयो ।

‘‘दुई आवमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौं,’’ उहाँले भन्नुभयो ।

कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ । कार्यालयले एक सय ४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ ।

डिभिजन वन कार्यालयले आव २०७९÷८० मा एक सय २६ वटा वन मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए । त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो ।

आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ । कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फस्र्यौट गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलन गर्ने प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौटले गति लिनेछ ।’’

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा बिहानैदेखि मेघगर्जनसहित बर्षा

काठमाडौँ, ४ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व – सभामुख घिमिरे

काठमाडौँ, ४ भदौः सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ ।

उहाँले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म मनाउने यो पर्व राष्ट्रिय सांस्कृतिक पनि पर्व हो ।

“नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो । हाम्रा धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठूलो योगदान दिएका छन् । धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताका कारण नेपाललाई विश्वमै सांस्कृतिक वैभवशाली मुलुक मान्ने गरिएको छ”, शुभकामना सन्देशमा उल्लेख छ।

गाईजात्रा जस्ता चाडपर्वले सामाजिक, धार्मिक एवं सांस्कृतिक मूल्य र मान्यतालाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नसक्ने भावनाको विकास गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

आज भाद्रकृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ, ४ भदौःप्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मुलुकको  समृद्धिका लागि नवीन समझदारी अपरिहार्य छः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको समृद्धिका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन् ।

राप्रपाको प्रवासी सङ्गठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा सोमबार अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उनले  देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताएका हुन् ।

त्यस अवसरमा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजङ्ग कार्कीलगायत सहभागी थिए । उनीहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष शेष घलेले लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला भेट भएको स्मरण गर्दै नेपालमा विदेशी लगानीकर्तामैत्री वातावरण बनाउन जरुरी रहेको बताए । 

प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष अजय राजवंशीले पाँच वर्षअघि मेलबर्नमा स्थापना भएको संस्थालाई यहाँको समुदाय र समाजले देखाएको सद्भावका लागि धन्यवाद दिएका थिए । अध्यक्ष लिङ्देन यही भदौ १० गते स्वदेश फर्किने तालिका छ । 

इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ३ भदौः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउनसक्ने जोखिम औँल्याउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउनसक्ने भन्दै सचेत गराएको हो ।

“पाँचपोखरी गाउँपालिका-७ र ८ मेलम्ची नगरपालिका-७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका-१०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयले आवश्यक परेमा नजिकको सुरक्षा निकाय, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकामा र कार्यालयको फोन नम्बर ९८५१२४३०८४, ०११६२०४७० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सूचनाको हक पाएमात्र लोकतन्त्र पारदर्शी हुन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, २ भदौः उपराष्ट्रपति रामसहाय यादवले आमनागरिकलाई सूचनाको हक प्राप्त भएमात्र लोकतन्त्र खुला र पारदर्शी हुने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको ‘१८औँ राष्ट्रिय सूचना दिवसको अवसर’मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सूचनाको हक भरपूर प्रयोग गर्ने अभ्यासबाट समाज सुशासित र भ्रष्टाचाररहित हुने बताउनुभयो ।

सरकारको गतिविधिबारे नागरिकले जान्न पाउने हक सूचनाको हक हो भन्दै उहाँले कर्मचारी यसप्रति बढी उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

“लोकतान्त्रिक व्यवस्था पारदर्शी र खुला हुनपर्छ । आमनागरिकले सूचना माग्दा कानुनबमोजिम प्रदान गराउने दायित्व कर्मचारीको बढी हुन्छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “सूचनाको हकले सरकारी कर्मचारीलाई जवाफदेही बनाउने मात्रै होइन, भ्रष्टाचार र अनियमिततालाई कम गर्न सघाउँछ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हकलाई फराकिलो र सहज बनाउन नीतिगत परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गुरुङले वर्ष दिनको कार्ययोजना बनाएर पुराना ऐन र नीतिलाई संशोधन गर्न सुरु गरेको जानकारी दिँदै आमसञ्चार विधेयक निर्माणका क्रममा रहेको र मिडिया काउन्सिल ऐन अन्तिम चरणमा पुगेको बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नागरिक शासन पद्धतिमा सूचनाको हक अर्थपूर्ण रहने बताउँदै यसको दायरालाई राज्यले व्यापक र फराकिलो बनाउनुपर्ने बताउनुभयो । सूचनाको हक १८ वर्षका बीचमा कति प्रभावकारी भयो भन्ने गुणात्मक समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यले क्षेत्राधिकार साँघु¥याउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

“सात सय ५३ स्थानीय तहमा अधिकांश तहमा सूचना अधिकारी तोकेका छौँ”, उहाँले भन्नुभयो, “लगभग ९५ प्रतिशत सूचना अधिकारी तोकेको अवस्था छ । यसको अर्थ सूचनाको हक पूरै कार्यान्वयन भयो या भएन भन्ने थाहा पाउन अनुगमन नै गर्नुपर्छ ।”

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बास्कोटालाई सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि बास्कोटाले सूचनाको हक नियमन गर्ने विषय नभई जनतालाई सुसूचीत बनाउने राज्यको दायित्व भएको बताउनुभयो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयन आएपछि राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवस मनाउँदै आएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका प्रमुख उमिद बागचन्दले भ्रष्टाचार न्यूनीकरण गर्न सूचनाको हक रहेको तर, कानुन कार्यान्वयनमा राज्यको भूमिका फितलो देखिएको बताउनुभयो ।

फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो ।

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बनेको छ ।

कागजी सम्झौता गरेसँग स्वस्तिमाले यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साही भएको बताएकी छन् ।

यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । नायिका फाइनल गरेसँगै अब केही महिनामै छायांकनमा जाने तयारी रहेको निर्देशक बस्नेतले जानकारी दिए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने उनको भनाइ छ।

फिल्म ‘कङ्गारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ । ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं । यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने ।

यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन् ।

फिल्मको सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्मको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहेका छन् । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।फिल्ममा सीमा गुरुङको कथा रहेका छ । फिल्मका छायाँकार सुशन प्रजापति हुन् । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

पर्यटकीय क्षेत्र नाम्चे र थामेका नौ सय ६० घरपरिवार अन्धकारमा

सोलुखुम्बु, ३ भदौः थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा झण्डै एक हजार घरपरिवार प्रभावित भएका छन् । गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका-५ थामेमा आएको बाढीले गाउँसहित नौ सय ३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी नौ सय ६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु विजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिका वडा नं ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बाढीका कारण जलविद्युत् परियोजनामा क्षति पुगेको उल्लेख गर्दै सञ्चालनमा ल्याउनका लागि महिना दिनभन्दा बढी समय लाग्न सक्ने बताउनुभयो । “बाढीका कारण परियोजनाको बाँधमा ठूलो क्षति पुगेको छ, मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जानकारी दिइएको छ”, उहाँले भन्नुभयो । 

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले विजुली नहुँदा सञ्चारलगायतका सेवा अवरुद्ध भएको बताउनुभयो । “बाढीले विद्युत् आयोजनामा क्षति पुर्‍याएपछि समस्या भएको छ, बत्ती नुहँदा मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । बाढीका कारण खुम्बुमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो । 

विद्युत् परियोजना मर्मतका लागि आइतबारदेखि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली खटिसकेको इलाका प्रहरी कार्यालय लुक्लाका इञ्चार्ज प्रहरी नायब निरीक्षक हेमबहादुर कट्वालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली मर्मतमा खटिएका छन् । क्षति ठूलो भएकाले तत्काल आयोजना सञ्चालन हुने सम्भावना न्यून भएको जानकारी प्राप्त भएको छ ।” 

विद्युत्गृहमा क्षति नभए पनि बाँध पूर्ण रुपमा क्षतिग्रस्त भएको नाम्चेका स्थानीय समेत रहनुभएका राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । 

बाढी र पहिरोमा बगेर आएर ठूला ढुङ्गा बाँधमा थुप्रिएका छन् । उक्त ढुङ्गा हटाउनका लागि स्काभेटर मेसिन आवश्यक पर्ने उल्लेख गर्दै खुम्बुु विजुली कम्पनीले आयोजना पुनः सञ्चालनका लागि केही समय लाग्न सक्ने जनाएको छ । हाल लुक्लाभन्दा तलको गाउँ थामडाँडासम्म मात्रै सडकको पहुँच रहेकाले सो स्थानसम्म स्काभेटर लैजान सहज नभएको कम्पनीको भनाइ छ । 

“बत्ती नहुँदा खुम्बु क्षेत्र अन्धकारमा छ, बाढीले क्षतिग्रस्त विद्युत् आयोजना कसरी सञ्चालन गराउने भन्नेबारेमा छलफलमा छौँ”, राष्ट्रियसभा सदस्य शेर्पाले भन्नुभयो । उहाँले आफूहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पनि समस्या समाधानका लागि चासो देखाउनुभएको बताउनुभयो । 

उहाँले उक्त स्थानमा स्काभेटर मेसिन कसरी लैजाने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । “मेसिन जतिसक्दो छिटो पुर्‍याउन सकियो त्यति नै चाँडो परियोजना पुनः सञ्चालनमा ल्याउन सकिन्छ, मानवीय जनशक्तिको मात्रै भरपर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो ।  

उक्त विद्युत् आयोजना सन् १९९३ मा स्थानीयको लगानी र अष्ट्रिया सरकारको सहयोगमा निर्माण भएको हो । सगरमाथा क्षेत्रमा पर्ने सो आयोजनाको क्षमता विस्तार गर्नका लागि भारत सरकारले सन् २०१३ मा रु चार करोड ४६ लाख सहयोग गरेको थियो  ।

उक्त रकमबाट आयोजनाको पेनस्टक पाइप निर्माण गरिएको थियो । छ सय ३० किलोवाट क्षमताको आयोजना भारत सरकारको सहयोगपछि स्तरोन्नति गरी नौ सय ३० किलोवाट क्षमताको बनाइएको थियो । 

उक्त क्षेत्रमा आजदेखि नेपाल टेलिकमको मोबाइल सेवा आंशिक रुपमा सञ्चालनमा आएको जनाइएको छ । यद्यपि नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । 

गत शुक्रबार दिउँसो थामेको शिरमा रहेका दुई वटा हिमताल फुट्दा थामे खोलामा आएको बाढीले खुम्बुसहित तल्लो सोलुका नदी आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो । बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । 

बाढीले खुम्बु पासाङल्हामु-३ फाक्दिङदेखि नाम्चेतर्फको क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको थियो । बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिँसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य-खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको थियो । जसका कारण सल्लेरीबाट खुम्बुसम्मको आवतजावत अवरुद्ध भएको छ । 

श्रावण शुक्ल पूर्णिमाः मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

काठमाडौँ, ३ भदौः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ ।

आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रुपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पूजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा लिइन्छ ।

आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने चलन छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाईलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाईकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । राखी बाँध्ने परम्परा अहिले काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पनि सुरु भएको छ ।

यस अवसरमा आज काठमाडाँैको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डहरुमा मेला लागेको छ ।

मनाइयो गुन्हु पुन्ही

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका छन् ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्माबलम्वीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनामा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृतरुपमा व्याख्या गरिएको छ । यसैकारण आज स्वयम्भूमा पनि विशेष मेला लाग्ने गरेको छ ।

पेरीभरानी तालमा चिच्याएर बर माग्ने मेला

म्याग्दी, ३ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा आज चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा पेरीभरानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको घराम्दी, टिकोट, रिमा, औला, शिख, फलाते, चित्रे, घोडेपानी, घार, खिवाङका साथै पोखरालगायत गाउँबाट पुजाआजाका लागि भक्तजनहरू आएका पेरीभारानी संरक्षण समितिका पूर्वध्यक्ष दुतबहादुर पुर्जाले बताउनुभयो ।

“परापूर्वकालदेखि नै तालको पानीमा बस्ने १० देखि १५ वर्षका अविवाहित पुरुषलाई भक्तजनले नाम, बर माग्ने विषय जानकारी गराउने, चिच्याएर पेरीभरानी मातासँग बर मागिदिने र तालबाट पानी र माटो झिकेर दिएपछि पछाडि नफर्की गन्तव्यतर्फ जाने चलन छ”, उहाँले भन्नुभयो, “मन्दिरमा पनि त्यसैगरी नै मगर समुदायका अविवाहित युवाले भक्तजनलाई बर मागिदिने पुर्खौंअघिदेखिको चलन हो ।”

पेरीभरानी तालमा भाकल गरेमा सन्तान प्राप्ति, शिक्षा, रोजगारीमा सफलता, सम्पत्ति आर्जन हुने जनविश्वास रहेको पुर्जाले बताउनुभयो । भाकल गरेको पूरा भएपछि भेडाको साड र बोका बलि चढाउने चलन छ । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका दलवीर परियारले पेरीभारानी तालमा भाकल गरेको पूरा भएपछि तीन पटकसम्म पूजा गर्न आएको बताउनुभयो ।

घना गुराँसको जङ्गलको बीचमा रहेको अन्य दिन पनि पूजाआजा र भाकलको बलि चढाउन सकिने संरक्षण समितिले जनाएको छ । करिब दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको तालमा वरपर जङ्गल भए पनि पातपतिङ्गर नदेखिनु र नभेटिनु अनौठो किसिमको विशेषता रहेको अन्नपूर्ण–७ को घराम्दी टोलविकास संस्थाका अध्यक्ष अमृत गर्बुजाले बताउनुभयो ।

पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिने तालको वरपर निर्माण थालिएको पदमार्गलाई पूर्णता र तालमा उम्रिएको झार उखेलेर फाल्ने कार्यलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी÷पुनहिलबाट एक घण्टा उत्तर पश्चिम पैदलयात्रापछि पेरीभरानी तालमा पुग्न सकिन्छ । घोडेपानी, महभिर–घराम्दी र खिवाङ गाउँदेखि प्यारीबाराही ताल जोड्ने तीन वटा सडक छन् । घोडेपानी–भरानी तालसम्म छुट्टै तीन÷तीन किलोमिटर दूरीको साइकल र घोडा मार्ग पनि बनाइएको छ ।

पेरीभरानी ताल अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको आकर्षण हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुनले पेरीभरानी ताल जोड्ने सडक स्तरोन्नति, सरसफाइलाई निरन्तरता र पदमार्ग निर्माणलाई पूर्णता दिने बताउनुभयो ।

आइतबार बिहानदेखि कर्णालीमा विद्युत् अवरुद्ध

काँक्रबिहार (सुर्खेत), ३ भदौः आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो ।

विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब छवटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । जङ्गलबीचमा रुख ढलेकाले प्राधिकरणका कर्मचारी आइतबार बिहानदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको छ । विद्युत् अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ । त्यसका कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ हुन्छ । कर्णालीमा आइतबार बिहानदेखि ठूलो वर्षासमेत भइरहेको छ । मर्मत कार्य जारी रहे पनि हालसम्म विद्युत् सेवा सञ्चालन भएको छैन ।

विद्युत नहुँदा कर्णालीका जाजरकोट, सुर्खेत, रुकुम पश्चिमका केही भाग, सल्यानका केही भाग, कालीकोट, जुम्ला, मुगु र दैलेखमा विद्युत् सेवा ठप्प भएको छ । कर्णालीबाट प्रकाशित हुने पत्रपत्रिकादेखि रेडियोको प्रकाशन तथा प्रारणमा समेत अवरोध आएको भेरी मालिका दैनिक जाजरकोटका कार्यकारी सम्पादक रेशमबहादुर खड्काले बताउनुभयो ।

पहिरोका कारण ११ दिन देखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालनमा

दमौली (तनहुँ), ३ भदौ : पहिरोका कारण एघार दिनदेखि अवरुद्ध तनहुँको बुद्धसिंह मार्ग पुनः सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खस्दा बुद्धसिंह मार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

तल्लो सेती जलविद्युत् आयोजनाको सहयोगमा बुद्धसिंह मार्गका विभिन्न ठाउँको पहिरो हटाइएको बन्दीपुर गाउँपालिका–६ निवासी सिद्धान्त गर्जामगरले जानकारी दिनुभयो । उहाँका अनुसार नाल्दीघाट, ढाप, खानीखोला, साराङघाट, पिउघरमा खसेको पहिरा पन्छाइएको छ ।

गर्जामगरले भन्नुभयो, “पटकपटक सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, बन्दीपुर गाउँपालिकालाई अनुरोध गर्दा उहाँहरूले चासो दिनुभएन । तल्लो सेती जलविद्युत् आयोजनालाई आग्रह गरेपछि उहाँहरूले डोजर उपलब्ध गराइदिनुभएको थियो । आइतबारदेखि पहिरा हटाउन सुरु गरेका थियौँ ।”

पहिराले ११ दिनदेखि बाटो अवरुद्ध हुँदा यस भेगका सर्वसाधारणले निकै सास्ती भोग्नु परेको गर्जामगरले बताउनुभयो । बन्दीपुर गाउँपालिका–६ खानीखोलामा पहिरोले बाटो अवरुद्ध हुँदा र खोला बढेर विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सास्ती भएको छ । उहाँले भन्नुभयो, “यहाँ पुलको आवश्यकता छ, तर सरोकारवाला यस विषयमा संवेदनशील छैन ।”

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकले यही मार्ग प्रयोग गर्दै आएका छन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्नपश्चात् बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

मिस एण्ड मिसेस यूनिर्भसल सिजन ३ ले गर्यो ३५ प्रतियोगीको अडिसन

काठमाडौँ । विवाहित र अविवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिसेस यूनिर्भसल २०२४’ को अडिसन सकिएको छ । गएको शनिबार काठमाडौँको अनामनगर स्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । यो मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो ।

प्रतियोगितामा नेपालका ७ वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् । तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन् ।

यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस यूनिर्भसलले विवाहित र अविवाहित महिलाहरुको बौद्धिक क्षमतामा बृद्धि गर्ने बताउँछिन् । श्रेष्ठले महिलाहरु पुरुष सरह समाजमा काम गर्न सक्ने र कुनैपनि ठाउँको नेृतृत्व सम्हाल्न सक्छन् भन्दै बिशेषगरी बिवाहित महिलाहरुलाई घर भित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिइन् ।

अडिसनमा हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) , कोरीयोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई, हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहेका थिए ।

हरितालीका तीजको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘देवी’को ट्रेलर सार्वजनिक

हिंन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न सिनेमा निर्देशन गरेको बताए । कोरोना अगाडीबाट नै सुरु गरिएको सिनेमा निर्माणका क्रममा आफुले विभिन्न उतार चढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरे ।

आफुले यो सामाजिक कथामा सिनेमा निर्माण गर्न लाग्दा धेरैले कमर्सियल कथामा काम गर्न सुझाव आएपनि समाजिक न्यायका लागि यस्ता कथा भनिनु पर्छ भन्ने लागेकाले देवी बनाएको निर्देशक राईले बताए । आफ्नो सिनेमा रिलिजमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई धन्यवाद दिए ।

निर्देशक राईलाई यो सिनेमा निर्माण सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी सिनेमामा सह-निर्माताको रुपमा छिन् । सिनेमाको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं, ३ भदौ – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित कैलाली टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय जिवन सन्ज्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले नुवाकोट त्रिशुलीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ९०७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१० बस्ने ३९ वर्षीय राजन बुढाथोकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१४ मोटरदोभान टोल घर भई लालबन्दी नगरपालिका-७ बजार डेरा गरी बस्ने २६ वर्षीय गंगा बहादुर थोकरलाई अवैध लागूऔषध गाँजा करिब १२ किलो ४ सय ६० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्रदेश ०२-०३-००१ प ४२ ७७ नम्बर र बागमती प्रदेश ०२-०१७ प ७९५२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

झापा, बिर्तामोड नगरपालिका-१ पश्चिम बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१ डेरा गरी बस्ने दमक नगरपालिका-३ भुटानी शरणार्थी सेक्टर जि ३ घर भएका २५ वर्षीय बिशाल राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बैसाली पातेपुर थाना खदनापुरा गाउँ बस्ने ३२ वर्षीय अली हुसेन र भारत बेतिया रामनगर थाना बस्ने ३० वर्षीय सुरज कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ३७६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-२ तेघरी बस्ने २२ वर्षीय हरि महरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-३ तल्लो सिद्धबाबास्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय २१ एम्पुल, डाईजेपाम २ सय २१ एम्पुल, फेनारगन २ सय २१ एम्पुल, नगद ५० हजार रूपैयाँ, मोबाइल २ थान र सिमकार्ड ३ थान सहित कास्की पोखरा महानगरपालिका-३ बस्ने ३१ वर्षीय देवेन्द्र सुनारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गण्डकी एएए २३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ, ३ भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको छ । उहाँले वेद विद्याश्रम वनकालीका गुरु शालिकराम ढकालसहित बटुकहरूबाट रक्षाबन्धन ग्रहण गर्नुभएको हो । त्यस अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए ।

जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्ने परम्परा रहिआएको छ ।

गाजा वार्ता युद्धविरामका लागि वार्ता ‘सम्भवतः अन्तिम’ मौका

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताउनुभएको छ ।

ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा भन्नुभयो, “यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो ।”

शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालार्ई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो काम पूरा गर्ने समय हो । कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् भन्ने पनि सुनिश्चित गर्ने समय आएको छ ।”

उहाँले थप्नुभयो, “त्यहाँ कुनै आक्रमणमा वृद्धि नहोस्, उत्तेजना नहोस्,सम्झौता प्राप्त गर्नबाट टाढा सार्न सक्ने कुनै पनि कार्यहरू नहून् भन्ने सुनिश्चित गर्न आवश्यक छ ।”
अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।इरान र लेबनानी सशस्त्र समूह हेजबुल्लाहले हालै दुई लडाकू नेताको हत्याको बदला लिने चेतावनी दिएपछि इजरायलमा यो ‘डरलाग्दो क्षण’ भएको र क्षेत्रीय तनाव बढाउने कुनै पनि कदम नचाल्न अमेरिकी विदेशमन्त्री ब्लिङकेनले चेतावनी दिनुभएको छ ।

गाजामा अक्टोबर ७ मा भएको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरूलाई जतिसक्दो चाँडो फिर्ता गर्नु इजरायली सरकार र नागरिकको चाहना रहेको राष्ट्रपति हर्जोगले बताउनुभयो । हर्जोगले ब्लिन्केनलाई भन्नुभयो, “हाम्रा बन्धकहरूलाई फिर्ता ल्याउनुभन्दा ठूलो मानवीय उद्देश्य र कारण अरू केही छैन ।”

भारतले नेपालबाट थप दुई सय ५१ मेगावाट बिजुली खरिद गर्ने

काठमाडौँ ३ भदौः नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।

दश जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप एक सय २५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गरिनेछ । प्राधिकरणले हरियाणा राज्यलाई हाल एक सय नौ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।

नेपालमा खपत गरी अतिरिक्त भएको बर्खायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विहार र हरियाणालाई बिक्री गरिनेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण तीन सय ६० मेगावाट पुगेको छ । 

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिइएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५ दशमलव २५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन । 

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ । भारतबाट स्वीकृति पाएसँगै अब विहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै विहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने जानकारी दिनुभयो । “स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप दुई सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । विद्युत् निर्यातको परिणाम बढ्दै जानेछ, चालु आवमा रु २५ अर्ब बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।

विवरणअनुसार ११ दशमलव ६४ मेगावाटको दोर्दी–एक, कूल १४ दशमलव ४५ मेगावाटको मायाखोला, नौ दशमलव ९९ मेगावाटको तल्लो पिलुवा, १० दशमलव ६७ मेगावाटका तल्लो खारे, ११ दशमलव ६४ मेगावाटको माथिल्लो खिम्ती, छ दशमलव आठ मेगावाटको माथिल्लो खिम्ती–दोस्रो, १४ दशमलव चार मेगावाटको मोदी, १४ दशमलव छ मेगावाटको गण्डक, १९ दशमलव २१ मेगावाटको माथिल्लो सोलु र ११ दशमलव ६४ मेगावाटको दूधकुण्ड जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् विहारमा निर्यात हुनेछ । विहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ ।

यस्तै, ७५ मेगावाटको लिखु–एक र ५० दशमलव ८९ मेगावाटको लिखु–२ बाट उत्पादित एक सय २५ दशमलव ८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिनेछ । प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८९ करोड युनिट अर्थात् रु  १६ अर्ब ९३ करोडको विद्युत् आयात गरेको थियो । तर यही अवधिमा एक अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १७ अर्ब ६ करोड आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात भएको थियो । गत आवबाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ ।

मधेशमा आज राखीपर्व मनाइँदै

महोत्तरी, ३ भदौः मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो ।
यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ । आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो कटाएर राखी बाँधिनुपर्ने पुरोहित बर्दिबास–२ का महेशकुमार झाले बताउनुभयो । चन्द्रमास गणनामा तिथिको आधा भागलाई करण भनिन्छ । जम्मा ११ करणमध्ये भद्राको भोगभरि शुभकार्य शास्त्रले बर्जित गरेको हुँदा यो कटाएर आज राखी मनाइनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । आज भद्रा करणको भोग अपराह्न १ः३१ सम्म रहने हुँदा सो समय कटाएर राखी बाँधिनुपर्ने झाले स्पष्ट पार्नुभयो ।

यस क्षेत्रका बजारमा रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न र¬ङका रक्षासूत्र (राखी) किन्न मिथिलानी (मिथिलाका नारी)को भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेकाले मिठाइ पसल पनि आज एकाबिहानदेखि भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइसँगैको घर आफ्नो भएकाले यिनीहरू घरमै पर्वको तयारीमा छन् । स–साना नानीहरूका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्छन् ।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ, दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्केका गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ । हिन्दू मैथिल परम्पराको यो पर्व अब पर्वते हिन्दूदेखि सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउनुहुन्छ । सबैतिर राखीपर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको हो । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यो पर्वको तयारी देखिन्छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । सनातन हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रुपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने परम्परा छ । तर मिथिलामा पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको भङ्गाहा–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली भाषा साहित्यका अध्यापक लीलानाथ गौतमले बताउनुभयो ।

सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिबाट हारेका देवतालाई देवगुरु वृहष्पतिले बलिजस्तै बलवान् हुन आशीर्वाद दिँदै शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन बसेको विश्वास गरिन्छ । यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको यस क्षेत्रमा जनविश्वास छ ।

क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन : ‘सिटीस्क्यान’ सेवालिन पालो कुर्नुनपर्ने

चितवन, ३ भदौः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ ’ सेवालिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक साता पालो कुर्नुपर्दथ्यो ।

अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा नितु शर्माका अनुसार विभागमा रिक्त दुईजना रेडियोलोजिष्ट थप गरेर अतिरिक्त समयमा सेवा दिन थालेपछि पालो कुर्नुपर्ने बाध्यता हटेको हो । उहाँले भन्नुभयो, “नयाँ व्यवस्थापन आएपछि पाँच वर्षदेखि रिक्त दुईजनाको दरबन्दी पूरा भएको छ ।”

यससँगै बिहान ८ः०० बाट साँझ ८ः०० वजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा शर्माले बताउनुभयो । विभागमा सातजना रेडियोलोजिष्टको दरबन्दी छ । यसअघि पाँचजना रेडियोलोजिष्टले मात्र कार्यालय समयमा सेवा दिनुपर्दा समस्या भएको थियो । अस्पतालमा एमआरआई दुई दिनमा पालो आउने गरेका छ । विभागीय प्रमुख डा शर्माका अनुसार पहिले एमआरआई सेवा लिन दुई सातासम्म पालो कुर्नुपर्ने हुन्थ्यो । भिडियो एक्सरेमा पालो कुर्नु पर्दैन । यो सेवा लिन पहिले दुई दिनको पालो कुर्नुपथ्र्यो । भिडियो एक्सरे सेवामा पहिला एकजना रेडियोलोजिष्टले मात्र काम गर्दै आएकामा अहिले दुईजनाले हेर्ने गरिएको छ ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालमा बिग्रिएर बसेको पुरानो सिटीस्क्यान मेसिन मर्मत गरिँदैछ । अहिले एउटा सिटीस्क्यान सञ्चालनमा छ । अस्पतालले खरिद गरेको नयाँ एक सय २८ स्लाइसको सिटीस्क्यान सञ्चालनमा छ । चीन सरकारले दिएको पुरानो ६४ स्लाइसको सिटीस्क्यान बिग्रिएको छ । यसको मर्मतका लागि ट्युब भन्सारमा आइपुगेकाले यसै साता मर्मतसम्भार हुने उहाँको भनाइ छ । आज भन्सार छुटेर आउने उपनिर्देशक डा नेपालले जानकारी दिनुभयो । पुरानो सिटीस्क्यान मर्मत गरिएपछि भित्री अङ्गको बायोप्सी निकाल्ने काम सिटीस्क्यानबाट गरिने उहाँले बताउनुभयो । यसलाई ‘इन्टरभेन्सन रेडियोलोजी’ भनिन्छ । हाल अल्ट्रासाउण्डबाट बायोप्सी निकाल्ने काम गरिएको छ ।

अस्पतालमा नयाँ मेमोग्राम मेसिन भित्रिएको छ । स्तन क्यान्सर पहिचान गर्ने यो मेसिन विगतमा भए पनि बिग्रिएपछि अहिले नयाँ भित्र्याइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयमार्फत यो उपकरण अस्पतालमा आइपुगेको छ । सेप्टेम्बरको १ तारिख इटलीबाट सप्लायर्सका प्राविधिक आएर उपकरण जडान गर्नेछन् । उहाँले भन्नुभयो, “स्तन क्यान्सर पहिचानका लागि यो उपकरण अत्यावश्यक छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, क्यान्सर अस्पताल र उपकरण उपलब्ध गराउने कम्पनीबीच सम्झौता भइसकेको उहाँले बताउनुुभयो । आधुनिक प्रविधिका उपकरण भएकाले यो निकै उपयोगी हुनेछ । चार वर्षदेखि अस्पतालमा यो उपकरण नहुँदा बिरामी निजी अस्पतालमा जान बाध्य थिए । अस्पतालमा दैनिक २०–२५ जना बिरामी मेमोग्रामका लागि आउने गर्छन् । यो उपकरण स्वास्थ्य मन्त्रालयले खरिद गरेर क्यान्सर अस्पताललाई दिएको निर्देशक डा पौडेलले बताउनुभयो ।

शान्ति प्रक्रियाको जग हालेको सिक्लेस

गण्डकी, ३ भदौः “तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो”, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भन्नुभयो, “सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए ।” यो विसं २०६३ जेठको अन्तिम साताको कुरा हो । कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए । “अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बस्नुभएको थियो, अन्य नेता, कार्यकतासहित समाजघरमा बाँडिएर बसेका थिए”, शिक्षक गुरुङले भन्नुभयो । माओवादी र तत्कालीन सात राजनीतिक दलबीच विसं २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीपछि शान्ति प्रक्रियाको जग बसेको ठानिए पनि दुईपटकसम्म भएका शान्तिवार्ता असफल भएका थिए ।

तथापि १२ बुँदे समझदारीलाई निष्कर्षमा पुर्याउन माओवादी र सात राजनीतिक दलका नेताहरू प्रतिबद्ध थिए । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीसँगको वार्तालाई सघन रूपमा अगाडि बढाइरहेको थियो । सोही सिलसिलाको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिने गरिन्छ सिक्लेस वार्तालाई । अध्यक्ष दाहाल भूमिगत जीवनबाट पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो ।

हेलिकप्टर लिएर सिक्लेस पुग्नुभएका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासहितको सरकारी वार्ता टोली र माओवादी अध्यक्ष दाहालसहितका नेताबीच पर्यटकीय गाउँ सिक्लेसमा विसं २०६३ जेठ २८ मा भेटवार्ता भएको थियो । अध्यक्ष दाहाल र नेता भट्टराई त्यसको दुई दिनअघि नै सिक्लेस पुग्नुभएको थियो । जेठ २८ को सिक्लेस वार्ता नै दशवर्षे द्वन्द्वको बैठान र शान्तिको प्रस्थानबिन्दुका रूपमा चिनिन पुग्यो । सिक्लेस वार्ताको सफलतापछि माओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराई विसं २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक हुनुभएको थियो ।

सोही दिन बालुवाटरमा माओवादी र सात राजनीतिक दलबीच भएको आठ बुँदे सहमतिका आधारमा विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौतापछि संविधानसभा हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । शान्ति सम्झौतामार्फत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरेको माओवादी मूलधारको राजनीतिमा आएको पनि १८ वर्ष बितिसकेको छ ।

बालुवाटारमा पहिलोपटक सार्वजनिक हुनुपूर्व तत्कालीन गृहमन्त्री सिटौलासँग अध्यक्ष दाहाल र नेता भट्टराईबीच सिक्लेसमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सभाकक्षमा भेटवार्ता भएको थियो । त्यो बेला जनमुक्ति सेनाबाट नेताहरूको सुरक्षार्थ सिक्लेसमै खटिनुभएका नेकपा (माओवादी केन्द्र) कास्कीका इञ्चार्ज दीपक कोइरालाले वार्ता सफल भएपछि विसं २०६३ असार २ गते अध्यक्ष दाहाल र नेता भट्टराई बालुवाटारमा सार्वजनिक भएको बताउनुभयो ।

“वार्तामा समझदारी जुटेपछि गृहमन्त्री सिटौला काठमाडौँ फर्किनुभयो, पुन असार २ गते उहाँ आएपछि अध्यक्ष दाहालसहितका नेताहरु पोखराको लामाचौरबाट हेलिकप्टरमा काठमाडौँ जानुभएको हो”, उहाँले भन्नुभयो । इञ्जार्च कोइरालाले अध्यक्ष दाहालसहितका नेताहरू सिक्लेसबाट हिँडेरै पोखरा महानगरपालिका–१६ मा पर्ने लामाचौरमा आएको सुनाउनुभयो ।

जनमुक्ति सेनाको सुरक्षा घेराबीच सिक्लेस वार्ता भएको उहाँले बताउनुभयो । पार्टी प्रशिक्षण र सांस्कृतिक कार्यक्रमको सुरक्षार्थ जनमुक्ति सेना सिक्लेसमा खटिएका थिए । माओवादी अध्यक्ष दाहालले सिक्लेसमा सार्वजनिक मञ्चबाट पहिलोपटक भाषण गरेको इञ्चार्ज कोइरालाले बताउनुभयो ।

“शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा सिक्लेस बिर्सन नहुने ठाउँ हो, त्यहाँ भएको वार्ताले विस्तृत शान्ति सम्झौतासम्मको बाटो तय गरेको थियो”, इञ्चार्ज कोइरालाले भन्नुभयो, “राजनीतिक दलहरूबीचको बृहत् सहमतिका साथ टिआरसी विधेयक पारित भएकाले अब शान्ति प्रक्रियाका बाँकी कामले छिट्टै निकास पाउनेछ र देश दिगो शान्ति र स्थिरतामार्फ अगाडि बढ्नेछ ।”

बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन (टिआरसी) विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएसँगै शान्ति प्रक्रिया निष्कर्षतिर अगाडि बढेको छ । तत्कालीन सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय निरुपण टुङ्गोमा पुग्ने अवस्था बनेको हो । मादी गाउँपालिका–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सिक्लेसबाट सुरु भएको शान्ति स्थापनाको पहलले अन्तिम रूप लिन लागेकामा खुसी व्यक्त गर्नुभयो ।

“शान्ति वार्ता हुँदा म भर्खर ७ कक्षामा पढ्दै थिएँ, माओवादीले विद्यार्थीलाई पनि कार्यक्रममा लैजान्थे, एक किसिमको त्रास त थियो, तर सिक्लेसमा ततकालीन द्वन्द्वका समयमा कुनै अप्रिय घटना भने भएन”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण परिघटनाको साक्षी सिक्लेस गाउँ र यहाँका बासिन्दा पनि हुन् ।” जोखिमका बीच पनि गाउँलेले माओवादीका नेता, कार्यकर्तालाई आतिथ्यता दिएर महत्त्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ ।

“माओवादी कार्यकर्ताले स्थानीय बासिन्दाको काममा पनि सघाउने गर्थे, कोदो रोप्दा, रोपाइँमा साथ लागेर काम गर्थे”, वडाध्यक्ष गुरुङले भन्नुभयो । सिक्लेस भएको वार्ताको स्मरण र शान्ति प्रक्रियाको प्रारम्भस्थलको प्रतीकका रूपमा वार्ता भएकै ठाउँमा शान्ति स्मारकसमेत निर्माण गरिएको उहाँले बताउनुभयो । मादी गाउँपालिकाको आर्थिक सहयोग र जनश्रमदान जुटाएर ‘एक्याप’को कार्यालय परिसरमा निर्माण गरिएको शान्ति स्मारकको विसं २०७५ मङ्सिर २४ गते माओवादी अध्यक्ष दाहालले नै अनावरण गर्नुभएको थियो । तत्कालीन गृहमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक सिटौला पनि शान्ति स्मारकको अनावरणमा पुग्नुभएको थियो ।

शान्ति स्मारकछेउ गुरुङ संस्कृति झल्काउने गोलघर पनि निर्माण गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । उक्त गोलघरलाई शान्ति सङ्ग्रहालयका रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । सिक्लेस पुग्ने पर्यटकका लागि शान्ति स्मारकले पनि नयाँ आकर्षण थपेको उहाँले बताउनुभयो ।

स्मारक अनावरणका क्रममा सिक्लेस आउँदा माओवादी अध्यक्ष दाहालले सिक्लेसको विकासका लागि पहल लिने प्रतिबद्धता जनाए पनि अपेक्षित उपलब्धि हासिल नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले त्यो बेला सिक्लेसलाई शान्ति प्रक्रियासँग जोडिएको ऐतिहासिक महत्वको स्थलका रूपमा विकास गरिने बताउनुभएको थियो ।

शान्ति प्रक्रियालाई सम्झाउने सिक्लेस पर्यटकीय दृष्टिले उत्तिकै महत्त्वपूर्ण छ । हिउँचुलीको काखमा झुरुप्प परेको बस्तीले सिक्लेसलाई मनप्रिय बनाएको छ । वरिपरि हरिया वनपाखा र खर्क त्यहाँका आकर्षण हुन् । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादीखोला । सिक्लेसको भूगोल आफैँमा चित्रमय लाग्छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यो गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको सङ्गम हो । ग्रामीण पर्यटनको अनुपम धरोहर हो ।

पर्यटकीय राजधानी पोखराबाट ४१ किमी दूरीमा पर्ने सिक्लेस पदयात्राका लागि बढी लोकप्रिय छ । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेकसम्म पुग्ने गरेका छन् । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । वडाध्यक्ष गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताउनुभयो ।

उहाँका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस उद्यान, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दूरीको पदयात्रा तय गर्छन् । पोखराबाट दुई÷अढाइ घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बन्दै गएको छ ।