`

पवित्रस्थल देवघाटमा श्रावणी स्नान गर्दै पुरोहितहरु (फोटोफिचर)

जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु ।

गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ । तस्बिर ः सनद अधिकारी

धनगढीमा गौरा महोत्सव हुने

कैलाली – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको छ ।

धनगढी उपमहानगरपालिका–१ स्थित खुला मञ्चमा यही भदौ ८, ९ र १० गते नवौँ संस्करणको गौरा महोत्सव आयोजना गर्न लागिएको प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले जानकारी दिनुभयो । हरेक वर्ष गौरा पर्वको महत्व झल्किने गरी आयोजना हुँदै आएको गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा झाँकी प्रदर्शनी, बाल प्रतिभा प्रर्दशनीलगायत परम्परागत संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिने देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले जानकारी दिनुभयो ।

यस वर्षबाट महोत्सवमा विद्यालयस्तरीय देउडा प्रतियोगिता पनि समावेश गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ११ हजार एक सय ११, द्वितीय हुनेलाई रु सात हजार सात सय ७७, तृतीयलाई रु पाँच हजार पाँच सय ५५ र सान्त्वनातर्फ रु तीन हजार तीन सय ३३ नगदसहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेमविवश चन्दले बताउनुभयो ।

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा भक्तजनको घुइँचो

रसुवा, ३ भदौ : जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण भैराखेको बताउनुभयो । तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा यथेष्ट सुरक्षा गस्ती परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले बताउनुभयो ।

लेक लागेका यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।

तीर्थयात्रीका लागि एक सय ३० बस, तीन सय पाँच जिप, कार, भ्यान र चार सय २० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका–६ ले व्यवस्थापन गरेको पार्किङभित्र रहेको प्रहरीले जनाएको छ । यस्तै यात्रुका लागि नपुग सवारीसाधन निजी क्षेत्रको यातायात व्यवस्था गर्ने चेम्बर अफ कमर्सले जनाएको छ । कमर्सका अध्यक्ष सञ्जीव अमात्यले यात्रीमाझ यातायात व्यवस्था थप मजबुत पार्न निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रो बसको व्यवस्था गरेका कारण यात्रामा समस्या नआउने बताउनुभयो ।

रक्षाबन्धन राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व हो – सभामुख घिमिरे

काठमाडौँ, ३ भदौः सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने बताउनुभएको छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको छु ।”

रक्षाबन्धन भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व भएको र यस पर्वलाई पारिवारिक मेलमिलाप बढाउने उत्सवको रुपमा लिइने उहाँले उल्लेख गर्नुभएको छ । रक्षाबन्धनमा हिन्दू ब्राम्हण तथा क्षेत्रीय पुरुषले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक हो । नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको छ । कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य हो”, शुभकामना सन्देशमा भनिएको छ ।

सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछ – प्रधानमन्त्री ओली

काठमाडौँ, ३ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सो अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको उल्लेख गर्नुभएको छ ।

“लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरु नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक छ । जवाफदेहीता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्दछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल सरकारको सुशासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकारलगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगले सूचनाको हक जस्तो महत्वपूर्ण हकलाई आगामी दिनमा थप प्रभावकारी र जिम्मेवार बन्न यस दिवसले हौसला प्रदान गरोस् भनी सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती – बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा सुकदेव काफ्ले नियुक्त हुनुभएको छ । मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को सिफारिसमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिबक्तामा नियुक्त गर्नुभएको हो ।

नेपालको संबिधान २०७२ को धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चौलागाईले जानकारी दिनुभयो ।

दोलखाको तामाकोशी गाउँपालिका( निवासी काफ्ले विगत २५ वर्षदेखि कानून व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएको छ ।

दमौली बजारका घर हटाउने प्रक्रिया अगाडि बढाउने सहमति

दमौली (तनहुँ) – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घरहरु हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आइतबारको बैठकले छ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनुपर्ने घर हटाउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको हो ।

व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत् पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले सम्बन्धित वडाध्यक्ष, प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा उक्त सहमति गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

बैठकले सडक निर्माण गर्दा क्रसिङको माग ज्यादा भएकाले सुरक्षा र सम्भावनालाई मध्यनजर गरी सो सम्बन्धमा आयोजनाबाट तत्काल सम्बोधन गर्ने निर्णय भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार भत्काउने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने र घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय भएको छ ।

राजमार्गको पूर्वी खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म आर्थिक वर्ष २०८०÷८१ मा एकतर्फी रुपमा हिसाब गर्दा ५५ किलोमिटर खण्ड दुई लेन कालोपत्र भएको हो ।

हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ । उहाँले भन्नुभयो, “अन्य काम भइरहेपनि वर्षाका बेलामा कालोपत्र गरेका छैनौ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।”

पूर्वी खण्डमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइले कालोपत्र काम अगाडि बढ्न सकेको छैन ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएपछि एक सय ५५ दिन पुनः म्याद थप गरिएको आयोजनाले जनाएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु

खोटाङ – झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ ।

तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताउनुभयो ।

बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिनुभयो । बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उहाँले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको पत्रकार हरिबोल आचार्यले बताउनुभयो । स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए । दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन् ।

जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

मध्यविन्दु (नवलपरासी), ३ भदौ : पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।”

केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले बताउनुभयो । “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उहाँले भन्नुभयो, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।”

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ ।

विगत वर्षहरूमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन ।”

पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो । “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”

शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताउनुभयो । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उहाँले भन्नुभयो ।

जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”

पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणमाः जनशक्ति नहुँदा अनुगमन गर्न समस्या

वीरगञ्ज (पर्सा), ३ भदौ : जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका चार सय ६८ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो । ‘‘स्थानीयवासीले साझेदारी तथा धार्मिक वनलाई कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्”, उहाँले भन्नुभयो, “वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले पनि अघोषित रूपमा समर्थन गर्ने परिपाटीले पनि वनजङ्गल जोगाउन समस्या भइरहेको छ । अतिक्रमणमा परेको वन हटाउन जाँदा राजनीतिक तवरबाटै प्रतिरक्षा गर्ने गलत परम्पराको विकास भइरहेको छ ।”

डिभिजन वन कार्यालयका अनुसार पर्सामा चार सय ६८ दशमलव एक सय ४९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । ठोरी गाउँपालिका वराह नजिकै रहेको वन दुई सय दशमलव ७० हेक्टर अतिक्रमणमा परेको छ । यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो ।

त्यसैगरी, गादीमाई साझेदारी वनक्षेत्र एक सय ६७ दशमलव ६८ हेक्टर, मधुवन क्षेत्रको वन ३२ दशमलव ४७ हेक्टर स्थानीयवासीले कब्जामा लिएका छन् । सखँुवापसौनी साझेदारी वन ३३ दशमलव २० हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कर्णले जिल्लाभरिमा अतिक्रमणमा परेको वनमा करिब एक हजार पाँच सयको हाराहारीमा घरटहरा निर्माण भएको बताउनुभयो ।

“कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “बेलाबखतमा स्थानीय प्रशासनसँग समन्वयमा अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको छ ।” डिभिजन वन कार्यालयमा कुल एक सयजना कर्मचारीको दरबन्दी भए पनि अहिले ५९ जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको छ ।

पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । साझेदारी वन ११ हजार चार सय नौ दशमलव १४ हेक्टरमा फैलिएको छभने धार्मिक वन ३४ दशमलव ६३ हेक्टर क्षेत्रफलमा रहेको छ । निजी वन एक सय १० हेक्टर, राष्ट्रिय वन सात दशमलव ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

भरतपुर (चितवन), ३ भदौः खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उपराष्ट्रपतिद्वारा रक्षाबन्धनको शुभकामना

काठमाडौँ, ३ भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

“यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु नै हो”, उपराष्ट्रपतिको सन्देशमा भनिएको छ । 

उहाँले तराई–मधेसमा मधेसीलगायतका समुदायले रक्षाबन्धनलाई राखी त्योहारका रुपमा मनाउने गरेको उल्लेख गर्नुभयो । साथै मधेसी संस्कृतिमा भाइ–बहिनीको अमर प्रेमको प्रतीकका रुपमा मनाइने पर्वहरुमा राखी, भैयादूज (भ्रातृद्वितीया)लगायत रहेको उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । 

लोकपर्वकै रुपमा स्थापित राखी पर्वमा दिदीबहिनीले दाजुभाइलाई नाडींमा रक्षासूत्र (रिखीडोरो)वा राखी बाँध्ने र त्यसो गर्नुको मूल उद्देश्य–भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु रहेको उहाँको भनाइ छ । 

“वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरु अर्थात् जनै लगाउनुपर्नेहरुले श्रावण पूर्णिमामा पुरानो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । यो पर्वमा गुरु/पुरोहितहरुले मन्त्र साधना गरी भयबाट रक्षा हुने धागो बाँधिदिने चलन छ । खासगरी, ब्राह्मणले धागोमा रक्षामन्त्रले साधना गरी सर्वसाधारणमा पुरुष भए दाहिने नाडीं र स्त्री भए देब्रे नाडींमा डोरो बाँधिदिने गर्दछन् । यो पर्व सप्तऋषि एवं पूर्वजहरुको पूजा तथा तर्पण दिनका लागि पनि महत्वपूर्ण मानिन्छ”, शुभकामना सन्देशमा भनिएको छ । 

नेपालका नेवार समुदायले यो पर्वलाई ‘गुँःपुन्हि’को रुपमा मनाउँछन् । यो समुदायमा गुँःपुन्हिमा नौ किसिमका गेडागुडीको क्वाँटी पकाएर, गहुँको पीठोको रोटी पोलेर देवदेवीलाई चढाई परिवारका सदस्यहरु मिलेर खाने चलन छ । यस अवसरमा  जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सबै प्राणी÷वस्तुलाई तिनको सदासयता सम्झी पूजा गर्ने चलन पनि छ । यस अवसरमा विभिन्न कुण्डहरुमा जात्रा/मेलाको परम्परा रही आएको छ । 

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्भाव अभिवृद्धि गराउँछः अध्यक्ष यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उक्त पर्वका अवसरमा अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले हिन्दू धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाले आपसी सद्भाव र भाइतारा अभिवृद्धिमा मद्दत पुग्ने बताउनुभयो । 

“आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रुपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, ३ भदौः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । 

नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।

यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।

    यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

    अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

    वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ । 

क्वाँटी खाने दिन

जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

    नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

    काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

खोटाङ, ३ भदौः जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गर्नुभएको हो ।

समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उहाँले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिनुभएको थियो । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन ।

विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पथ्र्याे । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो ।

अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।

तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले आरोप लगाउनुभएको छ । “स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ”, उहाँले भन्नुभयो, “नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गरिरहेका छौँ । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन् । यसप्रति ध्यान जान जरुरी छ ।”

लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ ।

विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताउनुभयो । “लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो । राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल छ वर्षदेखि उडान अवरुद्ध छ”, उहाँले भन्नुभयो, “नियमित उडान भर्नेगरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन । यद्यपि, पहल गर्ने काम भइरहेको छ ।”

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।

प्राधिकरणको रु सात करोड २४ हजार तीन सय ८० लागतमा लामा बुइल्डर्स÷चाङ्मिला जेभी निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको रु १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरेको हो ।

जनैपूर्णिमामा भद्राको दोष नलाग्ने

काठमाडौँ, २ भदौः जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले राससलाई जानकारी दिनुभयो ।

“कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हँुदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ”, उहाँले भन्नुभयो ।

ज्योतिष शास्त्रको ग्रन्थ बृहत्संहितामा भनिएको छ–
कुंम्भकर्कद्वये मत्र्येकब्जे स्वर्गेकजात्रयेकलिगे ।
स्त्रीधनुर्जूकनक्रेकधो भद्रा तत्रैव तत्फलम् ।।

यही प्रमाणका आधारमा पनि भद्राको दोष नलाग्ने ज्योतिषाचार्यहरुको निष्कर्ष छ । बैठकमा प्रा डा माधवप्रसाद पाण्डेय, सह प्राध्यापक जयन्त आचार्यलगायत ज्योतिषाचार्यहरुको उपस्थिति थियो ।

यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने भएकाले जनैपूर्णिमा र रक्षाबन्धनका कर्म गर्न कुनै समस्या नरहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।

परिवर्तनका लागि महिलाको अर्थपूर्ण सहभागिता जरुरीः महामन्त्री शर्मा

बनियानी (झापा), २ भदौः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताउनुभएको छ ।

नेपाल महिला सङ्घ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा गर्नुहुँदै उहाँले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताउनुभयो ।

“मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ ।”

नेपाल महिला सङ्घ १ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको अभिमुखीकरण प्रशिक्षणमा महिलाको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवम् कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता वसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला सङ्घका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला सङ्घ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, नेपाल महिला सङ्घ झापा अध्यक्ष टीका सिटौला मैनालीलगायतले मन्तव्य राख्नुभएको थियो ।

इयूको कालो सूचीबाट नेपाललाई हटाउनका लागि पहल गर्न वायुसेवा संचालकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग मुलुकको समग्र हवाई क्षेत्रका समसामयिक विषयमा कुराकानी भएको वायुसेवा सञ्चालन सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिए । “हवाई क्षेत्रका समसामयिक गतिविधिबारे प्रधानमन्त्रीले जानकारी लिनुभयो । सञ्चालकका तर्फबाट विद्यमान समस्या र समाधानका उपायबारे सकारात्मक छलफल भएको छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिएका थिए । यस क्षेत्रमा देखिएका समस्याको समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरेका थिए ।

साथै उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो जनाउँदै यसलाई कसरी हटाउन सकिन्छ भनेर जिज्ञाशा राखेका थिए । यस्तै युरोपेली सङ्घ (इयू)को कालो सूचीबाट नेपाललाई हटाउनका लागि पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले पहल गरिरहेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढेको जानकारी दिएका थिए । उनले हवाई क्षेत्रको नीति र संरचनागत सुधारका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यसचिव लीलादेवी गड्तौला तथा वायुसेवा सञ्चालकका तर्फबाट सङ्घका अध्यक्ष कार्की, उपाध्यक्ष प्रतापजङ्ग पाण्डे, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा सहभागी थिए ।

पाकिस्तानको इन्टरनेट सेवामा आएको समस्याको अधिकारकर्मी र व्यापारीद्वारा आलोचना

पाकिस्तान सरकारले आफूप्रतिको असहमति दमन गर्न नयाँ नियन्त्रणको परीक्षण गर्दा इन्टरनेट सेवा र सामाजिक सञ्जालको गति सुस्त भएको र यसले देशको आर्थिक सुधार जोखिममा परेको देशका अधिकारकर्मी र व्यापारीहरुले जनाएका छन् ।

जुलाईदेखि इन्टरनेटको गति सामान्य भन्दा ४० प्रतिशत सुस्त भएको एक आईटी एसोसिएसनले जनाएको छ ।

डिजिटल अधिकार विज्ञहरुले राज्यले ’फायरवाल’को परीक्षण गरिरहेकाले इन्टरनेटको गति सुस्त भएको आशङ्का व्यक्त गरेका छन् । फायरवाल यस्तो सुरक्षा प्रणाली हो जसले ’नेटवर्क ट्राफिक’लाई निगरानी गर्दछ र यो ‘अनलाइन स्पेस’ नियन्त्रण गर्न पनि प्रयोग गर्न सकिन्छ ।

“राज्यले राजनीतिक असहमतिप्रति निगरानी बढाउने र त्यस्ता असहमतीमाथि प्रतिबन्ध लगाउने उद्देश्यले फायरवाल र सामग्री फिल्टरिंगजस्ता प्रणालीको परिक्षण गर्दा इन्टरनेटको गति सुस्त भएको हो”, डिजिटल अधिकार विशेषज्ञ र कार्यकर्ता उसामा खिलजीले बताउनुभयो ।

‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ क्षमताको कारण देशको लाखौँ मानिसले प्रयोग गर्ने सामाजिक सञ्जाल व्हाट्सएपमा बढी सम्स्या आएको अधिकारीहरुले बताएका छन् ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ ले प्रयोगकर्ताहरूलाई कुनै तेस्रो–पक्षद्वारा पहुँच नगरी सुरक्षित रूपमा जानकारी साझा गर्न सक्षम बनाउँछ ।

विश्लेषकका अनुसार सेना समर्थित सरकार र सेवानिवृत्त जनरलद्वारा सञ्चालित दूरसञ्चार प्राधिकरणले हप्तौँसम्म इन्टरनेट सुविधामा आएको समस्याबारे कुनै जानकारी गराएको थिएन ।

अन्ततः रक्षामन्त्रीले ख्वाजा मुहम्मद आसिफले यस विषयमा बोल्दै देश एउटा परिवर्तनबाट गुज्रिरहेका र त्यसको समाधानपछि यी सबै सुविधाहरू उपलब्ध हुने जानकारी गराउनुभयो । “तर राज्य र व्यक्तिहरू विरुद्ध धम्की दिने र मानहानिकारक सामग्री रोक्न केही नियन्त्रणहरू हुनेछन्”, उहाँले भन्नुभयो ।

यस सन्दर्भमा आलोचना बढ्दै जादाँ सूचना प्रविधिमन्त्री साजा फातिमा ख्वाजाले आइतबाट इन्टरनेटको गति सुस्त हुनुमा सरकारको कुनै संलग्नता नरहेको बताउनुभयो ।

“देशको ठुलो जनसङ्ख्याले ’भिपिएन’हरू प्रयोग गर्न थालेका छन् । भिपिएनको प्रयोगले प्रत्यक्ष रुपमा इन्टरनेटमा दबाब सिर्जना गर्दछ र यसको गतिलाई सुस्त बनाउछ”, उहाँले एक पत्रकार सम्मेलनमार्फत बताउनुभयो ।

पाकिस्तानको दूरसञ्चार प्राधिकरणले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्विकार गरेको छ ।

‘नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्छ’ – मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), २ भदौ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज नेपाल फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक कार्यशालामा उहाँले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतार चढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री सिंहले दुई देशबीचको जनस्तरमा कायम सामाजिक÷सांस्कृतिक सम्बन्धलाई सीमा र राजनीतिक कारणले नछेक्ने भन्नुहुँदै यसलाई थप सुदृढ तथा सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले नेपाल-भारतबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउनुभयो ।

दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग रु चार लाख १२ हजार बराबरको घुस र रु दुई लाख ५० हजार बराबरको दुई वटा चेक (रु पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आज रु नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छः मन्त्री अधिकारी

काठमाडौँ, २ भदौः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले यसका लागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि जानकारी दिनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलका क्रममा मन्त्री अधिकारीले किसानसँग उधारोमा दूध लिने डेरी तथा उद्योगीले उक्त रकम अन्यत्र लगाउने गरेको बताउनुभयो ।

आफू दूग्ध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको बताउदै मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी)मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास लागि रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले दुधको उत्पादन बढदै जाँदा यस्को व्यवस्थापन कसरी गर्ने भन्नेमा अध्ययन गर्न बोर्डलाई निर्देशन दिनुभयो । बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले दुधको मूल्य समयोजन बैज्ञानिक रहेकोे जनाउँदै दुग्ध किसानको रकम भुक्तानीमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता (एआई) को विकास गरिरहेको घोषणा गरेको छ ।

यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग लिन आग्रह गरिरहेको न्यु योर्क टाइम्सले जनाएको छ ।

मेटाले सेलिब्रेटीका आवाज रेकर्ड गर्न र फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएपलगायत आफ्नो प्लेटफर्ममार्फत यी आवाजहरु प्रयोग गर्न सक्ने प्रयोगकर्ताको अधिकार सुनिश्चित गर्न काम गरिरहेको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि ह्यारिसको अभियान जारी, समर्थन बढ्ने क्रममा निरन्तरता

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्नुहुनेभएको छ ।

विजयका लागि महत्वपूर्ण मानिएका राज्यमा आफ्नो अभियानलाई फैलाउन राज्यका विभिन्न स्थानमा पुग्ने क्रममा उहाँको चुनावी दौडाहाले दिन प्रतिदिन समर्थन बटुल्ने क्रम पनि जारी रहेको देखिन्छ ।

गाजामा इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनले छायाँमा पारेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उहाँको चर्चा दिन प्रतिदिन चुलिन थालेको छ ।

राष्ट्रपति जो बाइडेनले करिब एक महिना पहिले निर्वाचनबाट आफ्नो उम्मेदवारीलाई फिर्ता गर्दै आफ्ना सहयोगी ह्यारिसलाई समर्थन गर्नुभएको थियो । अभियानमा उत्साहको लहर चलाउँदै उपराष्ट्रपति ह्यारिसले आफ्ना चिरपरिचित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो चुनावी नारा लिएर आइतबार पेन्सिलभेनिया राज्यका विभिन्न स्थानको ¥यालीलाई सम्बोधन गर्नुहुनेछ ।

त्यसपछि ५९ वर्षीय ह्यारिस डेमोक्र्याट्स प्रशंसकको स्वागतका लागि सिकागो पुग्नुहुनेछ । उहाँको अभियानले सिकागोको चुनावमा ट्रम्पको अग्रताको सम्भावनालाई क्षीण बनाएपछि गत हप्ता ट्रम्पले त्यहाँ माहोल फेरि आफ्नो पकडमा आउने आशा व्यक्त गर्नुभएको थियो ।

गाजामा हमासविरुद्ध इजरायलको युद्धलाई बाइडेन–ह्यारिस प्रशासनले समर्थन गरेको भन्दै यसको विरोधमा आइतबारदेखि हरेक दिन हजारौँ प्रदर्शनकारी सिकागो उत्रिने अपेक्षा ट्रम्पले गर्नुभएको छ ।

प्रदर्शन आइतबारदेखि सुरु भएर बिहीबार पनि जारी रहने अपेक्षा गरिएको छ । यो समयमा डेमोक्र्याटिक पार्टीको विशेषगरी सोमबार र बुधबार मुख्य सभा हुने बताइएको छ ।

डेमोक्रयाटिक पार्टीका लागि पनि चार दिने प्रचारप्रसार ट्रम्पको हत्याको प्रयास र ८१ वर्षीय बाइडेनको आश्चर्यजनक बहिर्गमनसहित स्मृतिमा सबैभन्दा उथलपुथलपूर्ण चुनावी चक्रको कडीमा ताजा हुनेछ ।

अमेरिकी इतिहासका सबैभन्दा वृद्ध राष्ट्रपति पदका उम्मेदवार बाइडेनले केही गर्न नसक्ने उहाँको तुलनामा आफू अझै उर्जावान् रहेको भन्दै आफ्नो अभियानलाई अघि बढाएका रिपब्लिकन उम्मेदवार तथा पूर्वउपराष्ट्रपति ट्रम्प एकाएक झमेलामा फस्नुभएको छ । बाइडेनको उम्मेदवारीबाट फिर्ता हुने निर्णयसँगै उपराष्ट्रपति ह्यारिसलाई दिएको समर्थनले ट्रम्पको दावी अनुसार उहाँ नै वृद्ध उम्मेदवार बन्नुभएको छ ।

रिपब्लिकनहरूले यस मुद्दामा अडिग रहन आग्रह गरे तापनि ट्रम्पले ह्यारिसको व्यक्तिगत अपमान र आलोचना गर्नुभएको छ । पेन्सिलभेनियामा शनिबार एक ¥यालीका लागि जाँदै गर्दा पूर्व राष्ट्रपति ट्रम्पले आफू ह्यारिसभन्दा ‘धेरै राम्रो देखिने’ भन्दै उहाँलाई ’पागल’ को संज्ञा दिनुभएको थियो ।

पेन्सिलभेनिया, अमेरिकाको ग्रामिण क्षेत्रमा सम्भवतः सबै प्रतिस्पर्धा हुने राज्यमध्ये सबैभन्दा मूल्यवान मानिएको छ ।

यसले सन् २०२४ को चुनावी दौडलाई परिभाषित गर्न सक्छ र उम्मेदवारहरूले त्यस क्षेत्रको बारम्बार भ्रमण गरिरहेका छन् ।

नयाँ डेमोक्रयाटिक मानक वाहक ह्यारिसले आइतबार टिम वाल्जसँग केही महत्त्वपूर्ण प्रचारबारे निर्णय गर्नुभएको छ । पिट्सबर्गबाट बस यात्रा सुरु गर्नु अघि पश्चिमी पेन्सिलभेनियामा गरिब श्रमिक वर्गका मतदाताहरूलाई आकर्षित गर्न धेरै अभियान स्टेसन बनाई कार्यक्रमको घोषणा गर्नुभएको छ ।

–सिकागो सम्मेलनमा सबैको ध्यान–

सोमबार ह्यारिसको कथा अमेरिकी जनतासामु बताउने ठूलो अवसरका रूपमा लिइएको सिकागो सम्मेलनमा सबैका आँखा केन्द्रित छन् । बाइडेनको उपराष्ट्रपतिबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका उहाँलाई डेमोक्र्याटिक पार्टीको कमजोर अभियानलाई छिट्टै व्यापक समर्थन जुटाउन सफल भएका कारण उहाँ चिन्ने मौका मिलेको छ ।

ह्यारिसले बिहीबार अन्तिम दिन सम्बोधन गर्ने कार्यक्रम छ, तर सीएनएनका अनुसार बाइडेनले सोमबार सम्बोधन गर्दा उहाँ पनि बाइडेनसँग मञ्चमा देखा पर्नुहुनेछ ।

गत जुनमा ट्रम्पविरुद्ध भएको विवादास्पद बहसपछि डेमोक्रयाटहरूले बाइडेनलाई फिर्ता गरेपछि वृद्ध राष्ट्रपति अझै निराश हुनुहुन्छ । तर, बाइडेनले ट्रम्पले उत्पन्न गरेको लोकतन्त्रमा खतराको बारेमा ध्यान केन्द्रित गर्ने आफ्नो विरासतलाई बलियो बनाउन चाहेको स्पष्ट देखिन्छ ।

कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र र ’ह्वाइट हाउसको शालीनता र गरिमा पुनस्र्थापित गर्न’ आफ्नै लाइनको व्यक्तिलाई नेतृत्वमा लान चाहनु बाइडेनका लागि अनौठो तर्क भने होइन ।

बाइडेनले ‘उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा वकालत गर्नुहुनेछ’ र ‘सबै अमेरिकीका लागि चुनावको दाउलाई उजागर गर्नुहुनेछ,” डेमोक्र्याटिक पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडेन पनि सोमबार मञ्चमा आउनुहुनेछ भने पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन र बाराक ओबामा पनि यस हप्ता पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनका साथ अभियानमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

बुधबार ह्यारिसका तर्फबाट उपराष्ट्रपतिपदका उम्मेदवार वाल्जले मिनेसोटा राज्यका गभर्नरका रुपमा ट्रम्प र उहाँका प्रतिद्वन्द्वी भान्सको आलोचना गर्नुभएको थियो ।

अधिवेशनको बीचमा ह्यारिस र वाल्जले विस्कन्सिनको मिल्वौकीमा चुनाव प्रचार गर्ने छन् र त्यसपछि सिकागो फर्कनेछन् । सिकागोमा ह्यारिसका पति डग एमहोफले पनि ह्यारिसको अभियानलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कोरियामा एकै हप्तामा कोभिड–१९ सङ्क्रमणमा दोब्बर वृद्धि

दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ ।

यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो ।

समुदायभित्र कोभिड–१९ सङ्क्रमणको सङ्ख्या मूल्याङ्कन गर्न गत वर्षको अप्रिलदेखि केडिसिएले यो प्रविधी प्रयोग गर्दै आएको हो । यो प्रविधिलाई ’वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी’ भनिन्छ ।

यो तथ्याङ्क देशभरका ८४ वटा फोहोर पानी प्रशोधन गर्ने उद्योगबाट सङ्कलन गरिएको नमुनामा आधारित छ ।

“यो परिक्षणको उद्देश्य फोहोर पानीमा कोभिड–१९ विषाणुहरु अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्नु हो जुन हाल बढ्दै गएको छ”, केडिसिएका एक अधिकारीले भन्नुभयो ।

यसैबीच, दक्षिण कोरियामा भर्खरै अस्पतालमा भर्ना भएका कोभिड–१९ बिरामीहरूको सङ्ख्या अगस्टको दोस्रो हप्तामा १ हजार ३५९ पुगेको छ जुन एकहप्ता अघि ८ सय ७८ थियो ।

राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षा क्षेत्रको विकास गर्न सक्छ: महासचिव पोखरेल

काठमाडौँ, २ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको आर्थिक अवस्थामाथि उकास्नका लागि अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक तथा मौलिक संस्कृतिमाथि तीव्र आक्रमण, कमजोर आर्थिक अवस्थालगायत कारणले देश कमजोर अवस्थामा रहेकाले त्यसबाट मुक्त गराउनु अहिलेको मुख्य कार्यभार भएको धारणा राख्नुभयो ।

महासचिव पोखरेलले सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधानको आवश्यकता औँल्याउनुहुँदै त्यसको समाधान शिक्षक सङ्गठनले मात्र गर्न सक्ने जिकिर गर्नुभयो । राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने उहाँको भनाइ थियो । “हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकले भूमिका खेलेका थिए, आज समाज बन्दै गरेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव छ”, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले समाजको सचेत वर्ग सार्वजनिक शिक्षाबाट बाहिरिएका कारण नेपालको सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएको बताउनुभयो । “घरमा राम्रो पढ्ने वातावरण र अवस्था नभएका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । उनीहरूको पढाइको स्तर सुधार गर्न निक्कै कठिन भए पनि सुधार नगरी नहुने अवस्था छ । यसमा सबैले सकारात्मक पहलकदमी लिनुपर्ने आवश्यकता छ । शिक्षक सङ्गठनहरूले यसतर्फ विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले देशमा देखिएका समस्या समाधान र राजनीतिक स्थायित्वका लागि एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको दोहोर्‍याउनुभयो । राजनीतिक परिवर्तनको समयमा धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भन्नुहुँदै उहाँले देश बनाउन भने बलिया राजनीतिक दल आवश्यक रहेकामा जोड दिनुभयो । देश विकासका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने महासचिव पोखरेलको भनाइ छ । “नेपालमा बलियो राजनीतिक शक्ति नबन्दासम्म विकास हुन सक्दैन । देश र समुदायको हितका लागि बलिया सङ्गठन आवश्यक पर्ने हुँदा यही सोचका साथ नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता छ । यही कुरालाई ध्यानमा राखेर हाल देशका बलिया राजनीतिक दल एक ठाउँमा मिलेर सरकार बनाएका छौँ”, उहाँले अगाडि भन्नुभयो,“देश विशिष्ट अवस्थामा रहेको हुँदा लोकतन्त्र र स्थायित्वका आधार निर्माणका गर्न एमाले–कांग्रेस एकठाउँमा उभिएका छौँ, त्यो आधार निर्माण हुनेबित्तिकै दुई ठूला राजनीतिक दल स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा उत्रिन्छौँ ।”

प्रधानमन्त्री ओलीले लिए हिमताल विस्फोट र क्षतिबारे जानकारी

काठमाडौँ, २ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिनुभएको छ ।

घटनास्थलमा पुगेर फर्किनुभएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो । त्यहाँको अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पालगायत उपस्थित हुनुहुन्थ्यो ।

स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ । क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनःनिर्माणको योजना बनाइ कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।

विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो । दिउँसोको समयमा घटना भएको र पूर्वसूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।

टान निर्वाचन : पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ, २ भदौ : पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।

टानको आगामी भदौ १७ गते हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गर्नुभयो ।

यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गर्नुभयो ।

अध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्नेगरी ‘बृहद् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समय स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने बताउनुभयो । उहाँले पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसाययिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उम्मेदवारी घोषणासभामा टानका अध्यक्ष नीलहरि बाँस्तोलाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सबै हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबिबिएस’ अध्ययनको बाटो खुल्यो

काठमाडौँ, २ भदौः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ । सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ ।

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गर्नुभएको थियो । मन्त्रालयले पाँच करोड विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन ।

मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले पाँच वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए तर मन्त्रालयगत बजेट प्राप्त नहुँदा अघि बढ्न नसकेको कार्यक्रम यसपालि अघि बढेको हो । चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने मन्त्रालयले तयारी थालेको छ ।

“देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,” मन्त्री पौडेलले भन्नुभयो, “प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौँ ।”

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र तीन सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ । यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।

सोलुको थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन सञ्चार मन्त्री गुरुङको निर्देशन

काठमाडौँ, २ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको हो । गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पु¥याएको छ । बाढीले विद्युत् गृहमा क्षति पु¥याएपछि सो गाउँमा विद्युत्, टेलिफोनलगायत सेवा अवरुद्ध छ ।

बाढीका कारण खुम्बु बिजुली कम्पनीको हेडवक्र्समा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई फोन गरी वैकल्पिक ऊर्जामार्फत तत्काल सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

ललितपुरको छम्पीमा भैरवको ख्वापाःसहितको आर्ट भिलेज

काठमाडौँ, २ भदौः ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृती)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने र उक्त ख्वापाः विश्वकै ठूलो हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनको दाबी छ ।

ख्वापाःलाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडीपट्टी ख्वापाः र भवनमा कला सङ्ग्रहालय स्थापना हुनेछ । कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ ।

“भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ”, प्रवक्ता महर्जनले भने, “भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन् ।” मुखाकृतिको ४२ फिटको उचाईमा भएको भैरवको आँखा (भैरवदृष्टि) बाट काठमाडौँ उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवालेकन गर्न सकिने जनाइएको छ ।

ख्वापाः परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभा कक्ष निर्माण गरिनेछ । परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, बृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्याङ्कवेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकूद, स्वीमिङपुल लगायतको समेत सुविधा हुने बताइएको छ ।

परियोजनालाई कला नगरीका रुपमा विकास र प्रवद्र्धधन गर्ने उद्देश्य लिइएको छ । महर्जनका अनुसार त्यहाँ निर्माण हुने हरेक पूर्वाधारमा कला देख्न पाइनेछ । वरिष्ठ कलाकार स्व. राजकुमार शाक्यको नेतृत्वमा ख्वापाः निर्माण सुरु भएको थियो । हाल शाक्यका दुई छोरा स्वरुप र सौरभ शाक्य नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ ।

प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा विसं २०७४ मा जग्गा एकीकरण÷सङ्कलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् रुपमा शिलान्यास गरिएको थियो । तर संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्व समेतको संलग्नतामा परियोजना सुरु गरिएको शाक्यको भनाइ छ । कम्पनीका सञ्चालकमा अध्यक्ष राजेन्द्र शाक्यसहित राजेश अवाले, रुपक मान महर्जन, जीवन रत्न शाक्य, मदन मान महर्जन, उर्मिला शाक्य र सानुछोरी शाक्य हुनुहुन्छ ।

परियोजना नेपाली कलासंस्कृतिकको जगेर्ना, परम्परागत सीप, कौशलको उजागर, प्रचारप्रसार तथा पर्यटन प्रबद्र्धनका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले बताउनुभयो ।

कलाग्राम ललितपुरको एकान्तकुनाबाट भैँसेपाटी–बुङ्गमति हुँदै १० दशमलव पाँच किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ । हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ । ललितपुरबाट हेटौँडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटरको दूरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश दुबै सरकारबाट समेत बजेट विनियोजन भइसकेको जनाइएको छ ।

परियोजनाअन्तर्गत नेपाली वास्तुकला शैलीमा आवास भवन निर्माण गरिनेछ । आवास क्षेत्रलाई व्यापारिक, पुरातन शैलीको घरबास र निजी निवास निर्माण गरिनेछन् । व्यापारिक क्षेत्रमा कम्पनीको नियमअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न सकिनेछ । परम्परागत घरबास कार्यक्रमलाई पर्यटन प्रवद्र्धन हुने गरी सञ्चालन गरिनेछ ।

साथै परम्परागत कला, सीप र प्रविधिसहितको कलाग्राम स्थापना गरिनेछ । कलाग्राममा नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना, हस्तकला उत्पादन र प्रदर्शन तथा आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्य लिइएको छ । कलाग्राममा हस्तकलाका परम्परागत हस्तकलाका आठ विधिहरु सुनचाँदीका गरगहना, थं ज्याः (तामा पित्तल र काँसका भाँडाकुँडा तथा मूर्तिहरु), थ्व ज्याः, मा ज्याः (तामा पित्तलका पत्रका भाँडकुँडा तथा मूर्तिहरु), काष्ठकला, प्रस्तर कला, पौवा कला, चा ज्याः (माटाका भाँडाकुँडा) र नः ज्याः (विभिन्न हातहतियार तथा आवश्यक घर घरानामा उपयोग हुने फलामका सरसामान)लाई प्राथमिकता दिइ तालिम केन्द्र सञ्चालन पनि गर्ने योजना छ । भविष्यमा नेपाल भरका अन्य हस्तकलाका विधा पनि समावेश गर्ने लक्ष्य छ ।

कम्पनीका अनुसार परियोजनालाई प्राकृतिक रुपमा समेत उपयोगी बनाउन ग्राममा वनस्पति उद्यान केन्द्र पनि बनाइनेछ । केन्द्रमा लोपोन्मुख र बहुउपयोगी वनस्पति संरक्षण र सम्बर्द्धनको उद्देश्य लिइएको छ ।

दिगो विकासका लागि प्राकृतिक सम्पदाको महत्वबारे जनचेतना फैलाई प्रकृतिमैत्री विकास, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जा प्रयोगमा जोड, थोपा सिँचाइ प्रणाली, वृक्षारोपण, माटो परीक्षण, बागवानी व्यवस्थापन जस्ता विषयमा परामर्श सेवा प्रदान गरिनेछ । वातावरणसम्बन्धी अगुवाद्वारा कार्यशाला तथा सेमिनार सञ्चालन गरिनेछ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीका लागि जीवन्त प्रयोगशाला (लाइभ ल्याबोरेटोरी) केन्द्रका रुपमा उद्यानको विकास गरिनेछ ।

आगन्तुकलाई ‘जङ्गल पथ’बाट जङ्गल परिक्रमा गराउने व्यवस्था गरिनेछ । परिक्रमाका क्रममा वन्यजन्तु, पशुपंछी तथा वनस्पतीको विविधता अवलोकन गर्ने अवसर मिल्ने छ । यस क्षेत्रमा पदयात्रा, साइक्लिङ, क्याम्पिङ र क्याम्पफायरका लागि स्थान पहिचान र विकास गरिने जनाइएको छ ।

अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई सपथ

काठमाडौँ, २ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा मनोनित केन्द्रीय सदस्यलाई सपथ गराउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय सदस्यद्वय मञ्जुशर्मा चालिसे (बागलुङ) र कुन्दन कुसवाह (रौतहट)लाई सपथ गराउनुभएको थियो ।

अध्यक्ष ओलीले पार्टीको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनित केन्द्रीय सदस्यलाई सपथ गराउनुभएको हो ।

गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १६ जना केन्द्रीय सदस्यलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो । मनोनित गरिएका दुई जना केन्द्रीय सदस्य सपथ छुटेकाले आज गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो । बाँकी सदस्यलाई गत साउन २० गते सपथ गराइएको थियो ।

राष्ट्रियसभा बैठकः सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, २ भदौ : प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष दाहाल प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्नुहुँदै विधेयमा संशोधन राख्न चाहनुहुने सदस्यलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम १०६ बमोजिम सभाअन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गर्नुभयो ।

यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू पदमबहादुर परियार, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणि कोइराला, किरणबाबु श्रेष्ठ र मायाप्रसाद शर्माले भाग लिनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ६ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

बारामा एक हजार तीन सय ४३ साना उद्योग दर्ता

बारा, २ भदौ : घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०÷८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

रु दुई अर्ब २२ करोड १७ लाख ८८ हजार छ सय २७ कूल पुँजीको लागतमा सञ्चालित सो उद्योगको रु तीन अर्ब ४६ करोड तीन लाख ५५ हजार वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलुतर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन् । यसमध्ये वाणिज्यतर्फ दुई सय २९ र साना उद्योगतर्फ एक सय ६० गरी तीन सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ । बाराका घरलु तथा साना उद्योग कार्यालयले ती उद्योगहरूबाट जम्मा रु ९६ लाख ४५ हजार दुई सय ५० राजस्व सङ्कलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल एक हजार पाँच सय ४१ जनाले रोजगारी पाएका छन् ।

पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, २ भदौः खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।

“विभिन्न ठाउँमा खानेपानीका पाइप फुटेर पानी चुहावट भइरहेको जनगुनासो छ”, उहाँले भन्नुभयो, “चुहावट नियन्त्रण गरी जनतालाई पानी वितरण गरौँ ।” मन्त्री यादवले खानेपानीका पाइप फुट्दा त्यसमा दिसा मिँसिदा फोहरपानी पनि आपूर्ति भइरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन निर्देशन दिनुभयो ।

खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताउनुहुँदै मन्त्री यादवले भन्नुभयो, “शुद्ध खानेपानी वितरणका लागि चाहिने बजेटको जोहो गर्ने जिम्मा म लिन्छु । पानीको चुहावट रोक्नुस् । काठमाडौँका जनतालाई वर्षभरी शुद्ध पानी खुवाउनुस् ।”

उहाँले महाँकाल चौरमा निर्माणाधीन नयाँ पोखरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । मन्त्रीयादवले आयोजना कार्यान्वयन निर्देशनालयद्वारा विस्तार भइरहेको मेलम्चीको पानीवितरण गर्न थप पाइपलाइन लेइङ र गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्र समेत निरीक्षण गर्नुभएको थियो ।

शिक्षाको गुणस्तर सुधारमा गम्भीर भएर लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे

दमौली (तनहुँ), २ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती समारोहको आज उद्घाटन गर्नुहुँदै उहाँले विकासको मेरुदण्डका रूपमा रहेको शिक्षाको गुणस्तर नसुध्रिएसम्म देश विकास हुन नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “शिक्षा क्षेत्रमा कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने सवालमा प्रदेश सरकार कार्ययोजनासहित अगाडि बढेको छ । नीति तथा कार्यक्रममा पनि बिग स्कूल, लिड स्कूल र रेसिडेन्टल स्कूलको अवधारणा ल्याएको छ । अब त्यसलाई कार्यान्वयन गरेर अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरिरहेकाले सोअनुसार प्रतिफल प्राप्तिका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले नगर क्षेत्रका विद्यालयको गुणस्तर सुधारका लागि पहल भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले विद्यालयले निर्माण गरेको स्वर्ण स्तम्भको अनावरणसमेत गर्नुभएको थियो ।

विपद्मा परी एक सय ८२ जनाको मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी आज दिउँसोसम्म एक सय ८२ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ८२ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँकानुसार बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी दुई सय ३३ जना घाइते भएका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी एक सय १३ जनाको उद्धार गरिएको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरामा परी कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५० जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।”

बाढीका कारण आजसम्म तीन सय ८४ घर डुबानमा परेका, तीन सय २१ घर, एक सय ११ गोठ, ५१ पुल, चार विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरामा परी सोही अवधिमा आठ सय ३८ पशुचौपाया मरेका छन् । यस्तै चार हजार सात सय ८७ परिवार विस्थापित भएका प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।

भौतिकमन्त्री दाहालद्वारा उपलब्धि सार्वजनिक

काठमाडौँ, २ भदौः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा जिम्मेवारी सम्हालेको एक महिनामा पूरा गरेको कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले एक महिनामा भए गरेका कामको प्रगति र आगामी दिनको कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

भौतिकमन्त्री दाहालले पूर्वाधार निर्माणलाई गति दिन र नागरिकलाई सेवा प्रवाहमा सहजताको अनुभूति दिलाउन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिइएको र त्यसको नियमित अनुगमनसमेत भइरहेको बताउनुभयो । वस्तुनिष्ठ योजनासहित नतिजामुखी भएर काम गर्न लागिपरेको पनि उहाँको भनाइ छ ।

वर्षात् अवधिभर राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिएको र अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढिमा दुई घण्टाभित्र अवरोध हटाई सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । सो कार्यका लागि एक सय ३५ वटा यान्त्रिक उपकरण विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका छन् भने एक सय २९ वटा यान्त्रिक उपकरण आवश्यकताअनुसार तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, वर्षात्का कारण अवरुद्ध हुने सडक यातायातको प्रत्यक्ष जानकारी मन्त्रीको कार्यकक्ष मै हुनेगरी ‘रोड क्लोजर अपडेटको सिस्टम’ जडान गरिएको जनाइएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय यातायात नीति, २०८१ मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको छ । निर्माणाधिन बाहेकका प्रमुख राजमार्गमा प्रथम चरणको पटके मर्मत सम्पन्न गरी छ हजार किलोमिटर सडक लम्बाइमा खाल्डाखुल्डीरहित बनाइने लक्ष्यअनुसार पटके मर्मतका लागि सबै सडक डिभिजन कार्यालयबाट बोलपत्र आह्वानको सूचना प्रकाशन भइसकेको र पहिलो चरणको पटके मर्मत दसैँ अगावै सक्ने लक्ष्य राखिएको मन्त्रालयका सचिव केशककुमार शर्माले जानकारी दिनुभयो ।

सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने प्रयोजनका लागि गत साउन ३० गते राष्ट्रिय परिचयपत्र तथा तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, बर्दिवास–निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी तीन वटा रेलपुलमध्ये दुई वटा रेलपुल (मराहा र बर्दिवास सम्पन्न भएको जनाइएको छ ।
भौतिक मन्त्रालयले चालु आर्थिक वर्षका लागि पाएको वार्षिक बजेटमध्ये गत साउन मसान्तसम्ममा रु छ अब १८ करोड खर्च भई चार दशमलव ११ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाइएको छ । आयोजनाको काम गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने सुनिश्चतताका लागि निर्माणाधीन सडक तथा पुलको स्थलगत अवस्था अनुगमन गरी आवश्यक निर्देशन दिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । गत साउन १८ गते सूर्यविनायक–धुलिखेल सडकको स्थलगत अनुगमन गरी निर्माण अवस्था अवलोकन गर्नुका साथै आयोजनाका चुनौतिबारे स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरेको जनाइएको छ ।

अरनिको राजमार्गको धुलिखेल खाबा खण्डमा सडक निर्माण सञ्चालन हुन नसकी सो सडकबाट दैनिक गुड्ने सयौँ सवारी साधन र तिनमा सवार यात्रुले सास्ती खेप्नुपरेको गुनासो आएको सन्दर्भमा उक्त सडक खण्डको निर्माण व्यवसायीलाई सो सडक तत्काल सहज बनाउन र तीन महिनभित्र निर्माण सम्पल गर्न निर्देशन दिइएको मन्त्रालयको कार्यप्रगतिमा उल्लेख छ ।

त्यसैगरी, अरनिको राजमार्गको बाह्रबीबसे नजिक खागदल खोलाको पूल वर्षाले बगाएकाले सवारी ताथा मानिस आवागमनमा समस्या भएकोमा उक्त अवरुद्ध सड़क डाइभर्सन गरी तत्काल सञ्चालन गर्न र सो स्थानमा तत्कालका लागि बेलिब्रिज जडान गर्न निर्देशन दिइएको मन्त्रालयको भनाइ छ । उक्त स्थानमा अहिले डाइभर्सनमार्फत सडक सञ्चालन भइरहेको र बेलिब्रिज जडानका लागि गत साउन २५ गते ठेक्का लगाइ बेलिब्रिज जडान सुरु भइसकेको जनाइएको छ ।

मन्त्रालयअन्तर्गतको सडक बोर्ड नेपालमा रिक्त रहेको तीन जना बोर्ड सदस्यको पदपूर्ति गरी बोर्डलाई पूर्णता दिइएको पनि कार्यप्रगतिमा उल्लेख छ । त्यस्तै, मन्त्रालय मातहतका रुग्ण ठेक्काको अध्ययन गरी एक महिनाभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न सहसचिव अर्जुनप्रसाद अर्यालको संयोजकत्वमा समित गठन गरिएको जनाइएको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ मा बजेट अभावमा भुक्तानी हुन नसकेको रु आठ अर्ब ६६ करोड रकमको विवरण सङ्कलन गरी बजेट व्यवस्थापनको लागि पहल गरिएको जनाइएको छ । यस अवधिमा सडक विभागको पूँजीगत खर्च रु चार अर्ब ३० करोड रहेको छ ।

नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङमा गत साउन महिनामा मात्र एक सय ८८ मिटर क्रङ्क्रिट लाइनिङ सम्पन्न गरी जम्मा दुई हजार चार सय २६ मिटर लाइनिङ सम्पन्न भएको जनाइएको छ । त्यस्तै, सिद्धबाबा सुरुङको एक सय ४४ मिटर सुरुङ खन्ने काम सकिएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे खण्डको ठेक्का सम्झौता सम्पन्न भएकोमा हाल निर्माण व्यवसायी आयोजना निर्माण क्षेत्रमा परिचालन हुनेक्रममा रहेको जनाइएको छ ।

हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको माडी बगाइदेखि अमुवा हुँदै ठोरी सडकको विकल्पमा बगाइदेखि कुसुमखोला हुँदै ठोरी र रिउ राप्ती खण्डमा कसरी पुलदेखि ध्रुवाघाट देउराली बनकट्टासम्मको विकल्पमा रिउ खोलादेखि ध्रुवाघाट राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडक खण्डको रेखाङ्कन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको जनाइएको छ ।

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण समयमा हुन नसकेको विद्यमान अवस्थामा राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी सवारी चालक अनुमतिपत्रको विद्युतीयप्रति हेर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन निर्देशन दिइएको, क्युआर कोडसहितको सवारीचालक अनुमतिपत्र छपाईका लागि खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको, सवारी दर्ता प्रणालीलाई डिजिटलाइज्ड गर्दै लगिएकोलगायतका विषय समीक्षा प्रतिवेदनमा राखिएका छन् ।

जलस्रोत विधेयकमाथि समितिमा छलफल सुरु

काठमाडौँ, २ भदौः सङ्घीय संसद्को पूर्वाधार विकास समितिमा ‘जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ माथिको छलफल सुरु भएको छ ।

समितिको आजको बैठकमा विधेयकमाथि संशोधन राख्नुभएका सांसदसँग छलफल सुरु गरिएको सभापति दीपकहादुर सिंहले जानकारी दिनुभयो ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले गत जेठ ३१ गते सो विधेयक सङ्घीय संसद्मा दर्ता गराउनुभएको थियो । प्रतिनिधिसभामा गत असार १७ गते सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

विधेयकमाथि सांसदले कूल एक सय ५७ वटा संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ । विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई क्रमैसँग छलफल गरी टुङ्गोमा पु¥याउने लक्ष्यका साथ समितिले छलफल थालेको हो ।

नेपालको संविधानको धारा ५१ बमोजिम प्राकृतिक स्रोत एवम् साधनको संरक्षण, समृद्धि र उपयोगसम्बन्धी नीतिको कार्यान्वयनका लागि कानुनी तथा संस्थागत व्यवस्था गर्ने सो विधेयकको उद्देश्य छ ।

यस्तै, सतह तथा भूमिगत जलस्रोतको उपयोग, विकास तथा संरक्षण गर्न, एकीकृत जलस्रोत विकासको सिद्धान्तलाई कार्यान्वयन गर्न, जलस्रोतको संरक्षण, गणुस्तर नियन्त्रण तथा प्रदूषण नियमनलाई प्रभावकारी बनाउने उद्देश्य छ । यस्तै, जलस्रोतसम्बन्धी सूचना तथा तथ्याङ्कलाई आधुनिक, व्यवस्थित तथा वैज्ञानिक बनाउने विधेयकको उद्देश्य छ । जलस्रोतको बहुउद्देश्यीय उपयोगलाइ दिगो, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य राखेर विधेयक पेस गरिएको हो ।

नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

भक्तपुर, २ भदौ : भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयोे ।

पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा आह्वान गर्नुभएको थियो । लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जङ्गलमा खोजी गर्ने क्रममा आज हलहले खोप (खोल्ची) क्षेत्रमा उनीहरू फेला परेका थिए ।

हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिनुभयो ।