`

पोखरा विमानस्थल सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको स्वागत

गण्डकी, २ भदौ : पोखरा पर्यटन परिषद्ले नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिनेलगायत निर्णय गरेका स्वागत गरेको छ ।

परिषद्द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मन्त्रिपरिषद्को निणर्यको स्वागत गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा दुुई वर्षसम्म गरेको मागको सुनुवाइ भएकामा खुसी व्यक्त गर्नुुभयो । “मन्त्रिपरिषद्ले गरेका निर्णय छिटोभन्दा छिटो कार्यान्वयनका लागि सरकारसँग माग गर्दछौँ”, उहाँले भन्नुभयो, “यो निर्णयले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनेमा हामी निश्चिन्त छौँ ।”

पोखराबाट उडान भर्ने हवाई कम्पनीहरूले पाउने उक्त सुविधाबाट यात्रुुहरूलाई सुलभ दरमा यात्रा गर्ने मौका मिल्ने र यसले विमानस्थलको आकर्षण बढाउने उहाँले बताउनुुभयो । अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय उडान भएमा पोखराका उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवेशको ढोका खुल्ने विश्वास वक्त गर्नुभयो । परिषद्को वर्तमान कार्यसमितिले यस सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सम्बद्ध निकायसँग पटकपटक छलफल तथा ज्ञापनपत्र बुझाएको उहाँले स्मरण गर्नुभयो ।

परिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग पहल, भारतीय टुर अपरेटर, फिल्म स्टार, राजनीतिज्ञ तथा पत्रकारसँग पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा र प्रसारप्रसार गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सदस्यका रूपमा पोखरा मुग्लिन सडकको स्तरोन्नतिको ढिलाइ सम्बन्धमा सरोकार भएकासँग छलफल एवं अवलोकन भ्रमण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

परिषद्का्े आयोजनामा ‘पहिला घरदेश अनि परदेश’ साङ्गीतिक कार्यक्रम, गल्फ एण्ड वियोन्ड कार्यक्रम, पाटा एडभान्चर मार्टमा सहकार्य, पर्यटन ऐनलाई व्यवसायमैत्री बनाउन र यातायात क्षेत्रमा सेवा प्रदायकको सुविधाका लागि सरकारले दिनुपर्ने सहुलियतका विषयमा ऐेनमा नै सुधार गर्न पहल गरिएको पनि जनाइएको छ ।

परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

जनतामा जानुको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौँ, २ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन ।” उहाँले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाउनुभयो । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो ।

पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनुभयो । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताउनुभयो । नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारकाविरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गर्नुभयो । उहाँले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “रामवृक्ष यादव मधेसी जनताको आन्दोलनको बीचबाट जन्मिएको लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेसमा जनयुद्धको आधार तयार पार्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो ।”

तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव २०५१ सालमा सहिद हुनुभएको थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार इजरायल आउनुुभएको छ । मध्यस्थहरूले गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउन खोजिरहेका समय शनिबार हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए ।

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहको आक्रमणपछि गाजा युद्ध सुरु भएयता मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले आगामी दिनमा कायरोमा युद्धविराम वार्ता सुरु हुनुअघि इजरायली नेताहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताले १० महिनाभन्दा लामो युद्ध अन्त्यका लागि वार्ता अघि बढिरहेको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताका लागि ‘हामी पहिलेभन्दा धेरै नजिक छौं’ भन्नुभएको छ ।

यद्यपि, हमासका राजनीतिक ब्युरो सदस्य सामी अबु जुहरीले दोहामा दुई दिनसम्म चलेको वार्तापछि प्रगतिको सङ्केत ‘भ्रम’ भएको एएफपीसँग बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी कुनै सम्झौता वा वास्तविक वार्ताको सामना गरिरहेको नभई अमेरिकी निर्देशनबारे छलफल गरिरहेका छौं ।”

महिनौंसम्म चलेको युद्धविराम वार्ताको क्रममा विगतमा देखिएका आशासमेत मरेका छन् ।जुलाईको अन्त्यतिर हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहलगायत इरान समर्थित लडाकू नेताहरूको एकपछि अर्को गर्दै भएको हत्या र घेराबन्दीमा परेको गाजा पट्टीमा पोलियोको प्रकोपसँगै मानवीय सङ्कट गहिरिँदै गएपछि यो खतरा बढेको छ ।

मध्यस्थकर्ताहरूले युद्धरत पक्षहरूबीचको बाँकी खाडल कम गर्न प्रस्तावहरू अघि सारेको घोषणा गरेपछि हमासले इजरायलबाट आएको ‘नयाँ शर्त’ अस्वीकार गरेको र मे महिनाको अन्त्यमा बाइडेनले अघि सारेको योजना कार्यान्वयन गर्न आह्वान गरेको थियो ।ब्लिन्केन शनिबार राति तेल अभिभ प्रस्थान गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमासमाथि ‘भारी दबाब’ सिर्जना गर्न आह्वान गरेको थियो ।प्यालेस्टिनी समूहका साथै केही विश्लेषक र इजरायली प्रदर्शनकारीले नेतन्याहूले आफ्नो कट्टर दक्षिणपन्थी सत्तारूढ गठबन्धनको रक्षाका लागि सम्झौता गरेको आरोप लगाएका छन् ।

“हामीसँग बन्धकहरूलाई रिहा गर्न, युद्ध अन्त्य गर्न त्यति इच्छुक नरहेका एक जना प्रधानमन्त्री हुनुहुन्छ किनभने उहाँको आफ्नै स्वार्थ छ,” गाजामा रहेका बन्दीहरूलाई घर फर्काउने सम्झौताको माग गर्दै तेल अभिभमा हजारौँले र्‍याली निकालिरहेका बेला ५३ वर्षीय प्रदर्शनकारी योसीले भन्नुभयो ।

राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ

युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैलदेखि हवाई आक्रमणको साइरन बजेको थियो । “प्रत्येक आक्रममणको बीचमा छ दिनको स्पष्ट अन्तरालमा अगस्टमा राजधानीमा यो तेस्रो ब्यालिस्टिक मिसाइल आक्रमण हो”, किएभ सहर सैन्य प्रशासनले बिहानैको बमबारीपछि टेलिग्राममा पोस्ट गरेको छ ।

मिसाइल आक्रमणका साथ ड्रोनहरू किएभतर्फ गएको देखिएको थियो । “दुश्मका सबै ड्रोन सहरभन्दा धेरै टाढा नष्ट गरिएको छ”, पोस्टमा भनिएको छ ।
आक्रमणबाट कुनै क्षति वा हताहतको सूचना प्राप्त नभएको उल्लेख गर्दै प्रशासनले भनेको छ, “सम्भवतः केएन–२३ प्रकारको उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको प्रयोग गरिएको थियो ।”

संयुक्त राज्य अमेरिका र सोलले उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई गोला–बारुद र मिसाइलहरू उपलब्ध गराएको आरोप लगाएका छन् । 

किएभले बारम्बार पश्चिमका आफ्ना सहयोगीहरूसँग थप वायु–रक्षा प्रणाली उपलब्ध गराउन आह्वान गरेको छ ।     गता साता किएभ नजिकै रातभर भएको रुसी मिसाइल आक्रमणमा ३५ वर्षीय एक व्यक्ति र उनका चार वर्षीय छोराको मृत्यु भएको थियो । आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए । 

रुसी भूभागमा युक्रेनको हालैको अग्रतालाई मस्कोले ‘कडा प्रतिक्रिया’ दिने वाचा गरेपछि चिन्ता अझ बढेको छ । युक्रेनमाथि रुसी आक्रमणको साढे दुई वर्षपछि किएभका सैनिकहरूले गत साता कुर्स्क क्षेत्रमा ठूलो जवाफी आक्रमण गर्दा एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।    दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै पनि विदेशी सेनाको सबैभन्दा ठूलो आक्रमणमा रुसको एक हजार एक सय वर्गकिलोमटरभन्दा बढी क्षेत्र कब्जा गरेको युक्रेनको दाबी छ । 

रेश्मा भन्दै आए प्रकाश ओझा र सुपर सुरेश

काठमाडौँ । गायक प्रकाश ओशा र सुपर सुरेशको स्वरमा नयाँ गीत ‘रेश्मा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको दरबारमार्गस्थित अर्गानिक लाउन्चमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । गीतमा सुपर सुरेशकै शब्द तथा संगीत छ भने एरेन्ज निरज श्रेष्ठले गरेका छन् ।

गीतको भिडिओमा गायक सुपर सुरेशसँगै लोसिना लामिछानेको अभिनय रहेको छ । सुरेश पाण्डेयको कोरियोग्राफी रहेको भिडिओलाई प्रकाश ओझाले नै निर्देशन गरेका हुन् । भिडिओ सार्वजनिक कार्यक्रममा गायक ओझा भने उपस्थित हुन सकेनन् । गायक ओझाका ‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बाउ भात खान आउ’ लगायतका गीत हिट छन् ।

कार्यक्रममा गायक सुरेशले पछिल्लो समयका दर्शक तथा स्रोताको माग अनुरुपकै गीत ल्याएको भन्दै माया पाउनेमा आशावादी देखिए । उनले गीतमा ४ लाख लगानी गरेको खुलाए । साथै लगानी जतिभएपनि त्यसबाट ठुलो आम्दानीको अपेक्षा नराखेको बताए । बागबजारमा रहेको सुटमालाले सपोर्ट गरेको यस गीतको सार्वजनिक कार्यक्रममा अतिथिहरु सुटमालाका सन्चालक राज कार्की, चलचित्र पत्रकार गोपिकृष्ण चापागाईँ, पुन्य गौतम लगायतको उपस्थिती थियो । कार्यक्रम श्यामहरी शिवभक्तीले सन्चालन गरेका थिए ।

गोसाइँकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौँ, २ भदौ : पवित्र धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुने भएको छ । ग्रामीण र दुर्गम क्षेत्रमा लगातार विद्युत् सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक गोसाइँकुण्डमा बिजुली पुर्‍याएपछि स्थानीयका अलावा तीर्थयात्रीलाई राहत पुगेको हो ।

प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार साँझदेखि ग्रिडको विद्युत् पुर्‍याइएको जनाएको छ । बिजुली बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको जानकारी दिनुभयो । “प्राधिकरणमा जागिर सुरु गर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारीमा विद्युत् पु¥याएको थिएँ”, उहाँले भन्नुभयो, “अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याइरहेका छौँ ।”

रसुवाको सदरमुकामबाट गोसाइँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा दुई सय खम्बा राखिएका छन् । खम्बा ट्रान्सफर्मरलगायतका उपकरण मानिस र खच्चडले ढुवानी गरिएको थियो ।

गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने प्राधिकरणले जनाएको छ । बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले जानकारी दिनुभयो । उहाँले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिनायक र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताउनुभयो ।

जोलाङपाटी र लौरीबिनामा केही होटल सञ्चालनमा छन् । मेलाका यात्रुहरुलाई लक्षितगरी त्यस क्षेत्रमा छाप्राहरु बनाइएका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्‍याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब रु तीन करोड रहेको छ ।

घर माथिबाट आएको पहिरोले पुरिएर एक जनाको मृत्यु

रोल्पा, २ भदौ-रोल्पा नगरपालिका-२ मुलपानीस्थित बेथेल मण्डली आइतबार बिहान माथिबाट आएको पहिरोले पुरिँदा मण्डलीमा सुतिरहेकी सोही नगरपालिका-१० धाङ्सी बस्ने ७० वर्षीया धनजिता बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ ।

साथै पहिरोले पुरिँदा घाइते भएका मण्डलीमा सुतिरहेका सोही नगरपालिका-४ खाद्य टोल बस्ने सुनछहरी गाउँपालिका-३ बाहिरी गाम घर भएकी १८ वर्षीया नौमा घर्तिमगर र २८ वर्षीय सागर बुढा मगरलाई उपचारको लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्दार कार्य तथा अनुसन्धान गरिरहेको छ ।

हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं, २ भदौ- काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थाई नरेशद्वारा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन

थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गर्नुभएको छ । सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उहाँका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो ।

राजाको अनुमोदनसँगै अब पेन्टोगटार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नुहुनेछ । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ । 

अल जजिराका अनुुसार हालै थाई संसद्ले पेन्टोगटार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो । 

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उहाँको स्थान पेन्टोगटार्नले लिनुभएको हो । उङ इङ उपनामले प्रसिद्ध पेन्टोगटार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुनुहुन्छ । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उहाँ परिवारको तेस्रो सदस्य हुनुहुन्छ ।    संसद्ले २७ वर्षीया पेन्टोगटार्नलाई उहाँको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ ।

मालपोत कार्यालय सञ्चालनमा आएपछि गाउँमै सिंहदरबार आएको सर्वसाधारणको अनुभूति

महोत्तरी, २ भदौः आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा नै सिंहदरबारबाट प्रवाह हुने सेवा प्राप्त गरेको अनुभूत गरेका हुन् ।

“गाउँमै सिंहदरबार आएजस्तो भएको छ, जग्गा किनबेच, ऋण लिँदा गर्नपर्ने दृष्टिबन्धक र रोक्कासहितका काम अब घरकै खाना खाएर गर्न भ्याउने भइएको छ”, गौशाला–४ रजखोरका रिझन साह भन्नुहुन्छ, “यसले निकै राहत भएको छ ।” गौशालामा २०७८ साल वैशाखमा स्थापना भएको मालपोत कार्यालयले तीन वर्षपछि बल्ल गत सोमबारदेखि सेवा दिन थालेको हो ।

मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशाला नगरपालिकाका सुदुर दक्षिणपश्चिमी बस्ती फुलकाहा, मनरवा सोनमा गाउँपालिकाका मगरथाना, खैरबनी, सम्सी गाउँपालिकाका पर्सादेवाड, रघुनाथपुर र औरही नगरपालिकाका अगलेसरा, टिमकिया बस्तीका सर्वसाधारण लाभान्वित भएका छन् ।

भर्खरै सेवा सञ्चालन गरेको मालपोत कार्यालयले जनताका काम पनि शीघ्र सम्पादन गर्दा सर्वसाधारण मक्ख छन् । कर्मचारीले कानुनी अड्चन देखाउँदै ‘भोलि आउनू’ प्रवृत्ति परित्याग गर्दा आफूहरूलाई वास्तवमा नै गाउँमा सिंहदरबार आएको अनुभव भएको सोनमाको मगरथानाका रामविवेक राय बताउनुहुन्छ ।

विसं २०७८ वैशाख १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले गौशालामा मालपोत तथा नापी कार्यालय उद्घाटन गर्नुभए पनि कार्यालयसम्बन्धी कागजात जलेश्वरका लेखापढी व्यवसायीले ल्याउन नदिएपछि सेवा सञ्चालन हुनसकेको थिएन । गौशालाका उद्यमी, व्यापारी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले साउन २१ गते राति प्रहरी प्रशासनको सहयोगमा कार्यालयसम्बद्ध कागजात र अभिलेख जलेश्वर कार्यालयबाट ल्याइएपछि यहाँ सेवा सञ्चालनको वातावरण बनेको हो ।

गौशालामा कार्यालयसम्बद्ध मठस्रेस्तासहितका कागजात र अभिलेख ल्याइएको एक साताभित्रै मालपोत कार्यालयले सेवा दिन थालेको हो । “हामीलाई कार्यालयमा कागजात व्यवस्थित गर्न एक साता लाग्यो, अब सेवा दिन थालियो”, कार्यालयका प्रमुख दीपेन्द्रकुमार झा भन्नुहुन्छ, “टाढाका सेवाग्राही काम गरेरै फर्कन सकुन् भन्ने ध्येयले काम गरेका छौँ ।” गौशालामा मालपोत कार्यालयसँगै नापी कार्यालयले पनि सेवा प्रवाह थालेको छ ।

फिल्म ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू

काठमाडौं । आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू भएको छ । यही क्रममा फिल्मको मध्यपूर्व र मलेशिया अधिकार महंगो मूल्यमा बिक्री भएको छ ।निर्माण पक्षका अनुसार साथीभाइ इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले कति मूल्यमा फिल्म बिक्री भएको हो भन्ने खुलाएको छैन । पछिल्लोपटक सार्वजनिक फिल्मको शीर्ष गीतले फिल्मीवृत्तमा राम्रो हाइप बनाएको छ। फिल्मको पोस्टर, टिजरले पनि दर्शकमाझ कौतुहलता जगाएकोले महंगो रकममा फिल्म किनेको साथीभाइ इन्टरटेनमेन्टले जनाएको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।
फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा। कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

पर्वतका नौवटा सामुदायिक वनमा पोखरी निर्माण

पर्वत २ भदौः वन्यजन्तुको सुविधा तथा डढेलो नियन्त्रणमा उपयोगी हुने ठानेर पर्वतका नौ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा नौवटा पोखरी निर्माण गरेको हो । बाह्रैमास पानी टिक्ने स्थानमा पोखरी निर्माण गरेर पानी सङ्कलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रु १० लाखको लागतमा १० वटा पोखरी निर्माण गर्ने लक्ष्य रहेको भए पनि नौवटा मात्रै पोखरी निर्माण गर्न सकिएको उहाँले बताउनुभयो । नौवटा पोखरी निर्माण गर्दा रु आठ लाख ३९ हजार दुई सय १३ खर्च भएको उहाँले बताउनुभयो ।

फलेवास नगरपालिका–३ को देउपुजा सामुदायिक वन, मोदी गाउँपालिका–४ को लोहोसे चिसाखर्क सामुदायिक वन, बराहताल थान सामुदायिक वन, कुश्मा नगरपालिका–१४ को गिदाउरे सालघारी सामुदायिक वन, जलजला गाउँपालिका–४ को टाँडी बिसौना सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । त्यसैगरी जलजला–८ को लस्ती वेर्नेटा सामुदायिक वन, फलेवास नगरपालिका–७ को कालोवन बाटुलेचौर सामुदायिक वन र कुश्मा नगरपालिका–३ को सल्लेरी सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको उक्त कार्यालयले जनाएको छ ।

पोखरी जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको तापक्रम र डढेलो निभाउन उपयोगी हुने सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष जीवन उचै ठकुरीले बताउनुभयो । “पोखरीको पानीले मूलहरू ‘रिचार्ज’ हुन्छन् त्यसले मूल संरक्षणमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “मानवीय व्यवहारकै कारण पानीका मुहान सुक्दै गइरहेका बेला वन क्षेत्रमा बनाइएका पोखरीले मानव र वन्यजन्तुको द्वन्द्व पनि घटाउने छ ।”

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध

ढोरपाटन (बागलुङ), २ भदौ : भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ ।

चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र

फिक्कल (इलाम), २ भदौः चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो ।

चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्र सडक पुर्याउने उद्देश्यले थालेको पहिलो चरणको योजना पूरा गरेको हो । सबै वडामा कालोपत्र सडक पुुर्याउने पहिलो चरणको योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो ।

चुलाचुली गाउँपालिकाले छवटै वडा जोड्ने सडक कालोपत्र गर्ने योजना कार्यान्वयन गरेको हो । चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडकका १५ किलोमिटर सात सय मिटर सडक कालोपत्र भएको छ । पहिलो चरणमा उक्त दूरीमा कालोपत्र गरिएको हो ।

गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र पाँच किलोमिटर तीन सय मिटर सडक कालोपत्र गरिएको छ । दुई किलोमिटर एक सय मिटर सडक गाउँपालिकाको आफ्नै स्रोतबाट कालोपत्र गरिएको हो । तीन किलोमिटर दुई सय मिटर सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले जानकारी दिनुभयो ।

वडा नं १ स्थित चुलाचुली मार्गको आठ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोडको लगानीमा कालोपत्र सम्पन्न गरिएको छ । सोही सडकको अर्को सात सय ५० मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३८ हजारको लगानीमा कालोपत्र गरिएको छ ।

त्यस्तै वडा नं २ स्थित हिमाली मार्गको एक किलोमिटर तीन सय मिटर सडक कोशी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा रु ९९ लाख ९५ हजार सात सय ८२ लगानीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले बताउनुभयो । सो सडकको चार किलोमिटर एक सय मिटर सडक पटकपटक गरी अघिल्लो आर्थिक वर्षमा कालोपत्र गरिएको थियो ।

वडा नं ५ स्थित चुलाचुली मार्गको एक किलोमिटर दुई सय १५ मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३६ हजार दुई सय ३६ को लगानीमा कालोपत्र गरिएको छ । सो सडकको अर्को एक किलोमिटर दुई सय मिटर सडक अघिल्लो आव २०७९÷८० मा कालोपत्र गरिएको थियो ।

त्यसैगरी वडा नं ६ स्थित चुलाचुली मार्गको एक किलोमिटर तीन सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्र अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहाले जानकारी दिनुभयो । इन्जिनयर दाहालका अनुसार कालोपत्रका लागि ड्रेन, सबबेस र बेस हाल्ने काम सकिएको छ । वडा नं ३ र ४ कार्यालय जोड्ने सडक अघिल्लो वर्षहरूमा कालोपत्रे गरिएको थियो । वडा नं ३ मा आव २०७९÷८० मा चुलाचुली मार्गको एक किलोमिटर सात सय मिटर र वडा ४ मा सोही मार्गको पटकपटक गरी आव २०७९÷८० सम्ममा तीन किलोमिटर चार सय मिटर सडक कालोपत्र गरिएको थियो ।

पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो भेगमा निर्माणाधीन मदन भण्डारी लोकमार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्र गर्न प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो । “वडा कार्यालय पुग्ने वडाका सडकलाई कालोपत्र गर्न कतिपय सडक सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएका छन्भने कतिपय सडक गाउँपालिकाले आफैं बजेट विनियोजन गरेर पिच गरिएको छ,’ अध्यक्ष केरुङले रासससँग भन्नुभयो, “आगामी दिनमा पनि सडक कालोपत्र गर्नेछौँ ।”

वैदेशिक राेजगारीमा गएकाे युवाकाे कथामा आधारित प्याकुली नामक म्युजिकल फिल्म सार्वजनिक

काठमाडौं : वैदेशिक राेजगारीमा गएकाे युवाकाे कथामा आधारित प्याकुली नामक म्युजिकल फिल्म सार्वजनिक भएकाे छ । काठमाडौंकाे सिटिसी मलस्थित वन सिनेमा हलमा शनिबार आयाेजित समाराेहमा म्युजिकल गीति फिल्म युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे । नीतिन चन्दले निर्देशन गरेकाे गीतकाे भिडियाेमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जाेशी, बाल कलाकार राेनिश खड्का, अर्जुनकाजी श्रेष्ठकाे अभिनय रहेकाे छ । आरआर (रामहरि) खड्काकाे शब्दमा रहेकाे गीतमा बाबुल गिरीकाे संगीत र स्वर रहेकाे छ ।

शिशिर गरूङले निर्माण गरेकाे भिडियाेलाई दिनेश पराजुलीले खिचेका हुन् । लाइक माइण्डस् नेपालले सम्पादन गरेकाे भिडियाेकाे कलर ग्राफिक्समा राकेश दाहालले याेगदान दिएका छन् । क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन् । समाजकाे कथालाई आफै भाेगेर शब्दमा उतारेका आरआर खड्काले म्युजिक भिडियाेका मुख्य चरित्र निभाएका छन् । `गाउँ समाजमा घटिरहेकाे घटनालाई शब्दमा उतारेका छौं । अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन् । कही सत्य घटना पनि हाेलान । तर अरूका कुरा सुनेर कुनै कदम नचाल्नुस् । श्रम गर्ने परिवारले कागले कान लग्याे भनेर पछि लाग्ने भन्दा पनि कान छाम्ने गरौं । याे गीतकाे यही सन्देश हाे,´ उनले भने ।

खड्काले याे घरघरकाे कथा भएकाे बताए । `अधिकांश मान्छे विदेशमा छ । श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बाेल्नै अफ्ठेराे छ । मैलै गाउँमै भाेगेकाे कथा हाे । समाजप्रति दायित्व लागेर याे निर्माण गरेका हौं । मनाेरञ्जनमात्र हाेइन सन्देश पनि दिउ भन्ने मुख्य ध्येय हाे,´ उनले स्पष्ट पारे ।

गीतकाे भिडियाेमा अभिनय गरेकी तलिशा गुरूङले नेपाली समाजकाे कथालाई प्रस्तुत गर्ने पात्रकाे रूपमा काम गर्न पाउँदा खुसी लागेकाे बताइन् । `प्याकुली एक वर्षपछि रिलिज भयाे । राम्राे भिडियाे आएकाे छ । भिडियाे हेर्दा म नै हाेइन जस्ताे लाग्याे । गाउँकाे गृहणी जस्ताे महसुस भयाे । अब मूल्यांकन गर्ने स्राेत दर्शककाे कुरा हाे । वास्तविकता भन्दा कुरा सुनेकाे भरमा सम्बन्धहरू ब्रिगिरहेकाे हुन्छ । याे घरघरकाे कथा हाे,´ उनले भनिन् ।

कलाकार महेश खड्काले प्याकुलीमा जाेडिन पाउँदा आफ्नाे कामलाई फरक पाएकाे बताए । दु:ख पाएकाे युवाकाे क्यारेक्टरमा प्रस्तुत गर्न पाउँदा खुसी लागेकाे उनकाे भनाइ छ । गायक बाबुल गिरीले याे अहिलेसम्मकै फरक खालकाे उत्कृष्ट गीत भएकाे बताए । समाजकाे कथामा चित्रण गरिएकाे गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेकाे उनकाे भनाइ छ। कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेकाे भन्दा फरक परिवेशमा बनेकाे गीत उत्कृष्ट भएकाे बताइन् । `गीत आफैमा राम्राे बनेकाे छ । प्रशंसा गर्नै पर्दैन । मिठाे बनेकाे छ । साथीहरूसहित हामी सबै राेइरहनुभएकाे थियाै । बाकसमा लास आउने तथा अन्य दृश्यले दशैकाे माहाेल फिल भयाे । चलिरहेकाे भन्दा अलि फरक गीत बनेकाे छ । मन छाेयाे । दशर्कले पनि स्वत: मन पराउनु हुनेछ । यस्ताे राम्राे गीत बनिरहाेस्,´ उनले भनिन् ।

गीत सार्वजनिक समाराेहमा दिपाश्री निरौला, शिवहरि पौडेल,गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवालगायत कला क्षेत्रका निर्माता निर्देशककाे उल्लेख्य उपस्थिति थियाे ।

पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध

काँक्रेविहार (सुर्खेत), २ भदौः पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बताउनुभयो । केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध प्रहरी पमुख पाण्डेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ । पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ ।

गएरातिको हावाहुरीले झापामा ठूलो क्षति ,विजुलीका पोल ढले ,घरको छाना उडायो

झापा, २ भदाै: गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताउनुभयो ।

उहाँका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति भएको उहाँले जानकारी दिनुभयो । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उहाँको भनाइ छ । हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।

पहिरो गएपछि गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध,एक घर बगायो

गुल्मी, २ भदौः गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ । सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

बाढीले घर बगायो
त्यसैगरी अबिरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
हावाहुरीसहित आएको वर्षाका कारण मकैवालीमा समेत पूर्ण रुपमा क्षति पुर्याएको छ ।

वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आउने तीन दर्जनभन्दा बढी सडकहरु समेत अबरुद्ध बनेको जनाइएको छ । वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्त भइ सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।

ढोरपाटन शिकार आरक्षमा पर्यटक आगमन दोब्बरले बढ्यो

म्याग्दी, २ भदौ : पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताउनुभयो ।

“आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,” उहाँले भन्नुभयो, “२०७९/०८० मा पर्यटक प्रवेश शूल्कबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व संकलन भएकोमा २०८०/०८१ मा रु १९ लाख ३३ हजार सात सय पुगेको छ ।”

आर्थिक वर्ष २०७९/८० मा सात हजार छ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०/८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका एक सय दुई र १५ हजार चार सय ६७ जना नेपाली ढोरपाटन आएका थिए । आर्थिक वर्ष २०७८/७९ मा नौ हजार नौ सय १९, २०७७/०७८ मा छ हजार सात सय तीन र २०७६/०७७ मा तीन सय २० जनाले ढोरपाटन घुमेका थिए ।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शूल्क तिर्नुपर्छ ।

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताउनुभयो । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ ।

सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०/०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट रु. चार करोड २६ लाख ८८ हजार ७०० राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोवल सफारी काठमाडौँका सिकार गाईड मानबहादुर पुनले बताउनुभयो । बसन्त र सरद याममा सिकारी आउँछन् ।

यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

विसं २०६७/६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा एक हजार दुई सय ९० नाउर भेटिएका थिए । एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।

तनहुँका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच

दमौली (तनहुँ), २ भदौः जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो ।

उक्त कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिनुभयो । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार नौ सय ९४ घरमा निजी धारा जडान भएका छन् । उहाँले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार सात सय ८० जना लाभान्वित भएका जानकारी दिनुभयो ।

उक्त आर्थिक वर्षमा सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि रु दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि रु २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि रु एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुनःस्थापनाका लागि रु दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो ।

कार्यालयले कार्यान्वयन गर्ने योजना सङ्ख्याको तुलनामा जनशक्तिको अभाव हुँदा समस्या भइरहेको इन्जिनियर लोहनीले बताउनुभयो । अठारजनाको दरबन्दी रहेकामा हाल १२ जना कार्यरत छन् ।

उक्तआर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे–७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका–२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका–११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताउनुभयो ।

ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनलाई सास्ती

ढोरपाटन (बागलुङ), २ भदौ (रासस) : हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् ।

एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ । विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्छ । ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन सडक’ पर्छ । रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खले पनि स्तरोन्नती नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो ।

बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ । जनैपूर्णिमाका बेला एकै दिन दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारी साधानको पनि चाप निकै हुन्छ । मनोकांक्षा पूरा हुने जनविश्वासले ढोरपाटन आउने भक्तजन सडकका कारण सास्ती खेप्न बाध्य छन् । सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको छ । सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ ।

त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नती हुन सकेको छैन । तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको दुरावस्था छ ।

मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरि ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पु¥याएको छ । ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रुपमा सवारी साधान ओहोरदोहोर गर्छन् । जनैपूर्णिमामा ढोरपाटन जाने भक्तजनको सहजताका लागि अप्ठ्यारो ठाउँमा सडक मर्मत सम्भारको काम गरिरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । यो सिजनमा भक्तजनसहित बुकी चढ्न हजारौँ पर्यटक आउने हुँदा सडकको दुरावस्थाका कारण दुःख पाउने गरेको उहाँको भनाइ छ ।

उपप्रमुख कायतले भन्नुभयो – “यो सडक संघीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने रैछ, धेरै पटक बन्द हुँदा खुलाउने काम भने गर्दै आएका छौँ, अहिले पनि मेसिन लगाएर सडक संचालन हुने गराएका छौँ, तर निर्माण कम्पनीले काम पोहोर सालनै सक्नु पर्ने हो तर कत्ति पनि काम गर्न सकेको छैन, यसले पर्यटकलाई सास्ती बनाएको छ, जनैपूर्णिमामा ढोरपाटन आउने भक्तजनलाई सहजताको लागि ठाउँ ठाउँमा सडक मर्मत गरेका छौँ, केही अप्ठ्यारो नपरो भनेर ठाउँ–ठाउँमा मेसिन ‘स्ट्याण्ड बाई’ राखेका छौँ ।”

सडकको धेरै ठाउँमा खाल्डाखुल्डी र बीचमा ठूला–ठूला ढुङ्गा हुँदा गाडी बिग्रिएर पर्यटक बीच बाटोमा अलपत्र पर्ने गरेका छन् । बिग्रिएको गाडी बनाउनका लागि नजिकमा ग्यारेजसमेत नहुँदा पर्यटक निरास बनेर फर्किने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय गुनबहादुर विक बताउनुहुन्छ । उहाँले बर्खाले गर्दा धेरै ठाउँमा सडक बिग्रिएको हुँदा यात्रा गर्न किनै कठिन हुने बताउनुभयो । यति बेला धेरै भक्तजनहरु पैदल यात्रा गरेरै ढोरपाटन जाने गरेको उहाँको भनाइ छ ।

“धेरै वर्ष भयो यो बाटो बिग्रिएको, अहिलेसम्म मर्मत भएको छैन, हिउँदमा यस्तैमा पनि गाडीहरु चल्छन्, बर्खामा धेरै गाडी ठाउँ–ठाउँमा बिग्रिन्छन्, ढोरपाटन धेरै सुन्दर छ, त्यही देखेर मान्छेहरु घुम्न आउँछन् तर बाटो देखे भने अर्को पटक आउन धेरै सोच्छन्” उहाँले भन्नुभयो – “ढोरपाटन पुग्ने बाटोमा राम्रो होटलहरु पनि छैनन्, गाडी बिग्रिएर बीच बाटोमा पर्यटक रोकिए भने बास पाउन पनि गाह्रो हुन्छ, सरकारले यो बाटोलाई गम्भीर रुपमा लिएर स्तरोन्नती नगरे धेरैले दुःख पाउँछन् ।”

तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकको बागलुङ खण्ड वि.सं. २०७१ सालमा ट्रयाक खुलेको थियो । बडिगाडको गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि तीन वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो ।

वेब सिरिज ‘जस्ट लभ’ निर्माण

काठमाडौं।सहरिया परिवेशलाई समेटेर वेब सिरिज ‘जस्ट लभ’ निर्माण भएको छ ।योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गरेका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियोमा अभिनय गरेकी छन् ।

निर्माण पक्षले सिरिजका तीनवटा पोस्टरसमेत सार्वजनिक गरेको छ । सिरिजमा मुनाल शिशिर कोइरालाको डेब्यू निर्देशन छ । निर्देशक कोइरालाले थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । मेघा सिरिजको रुपमा निर्माण भएको ‘जस्ट लभ’मा कथा, पटकथा, संवाद र गीतसमेत कोइरालाकै छ ।

सिरिजमा समीप निरौला, मुस्कान लामा, किरण नेपाली, गौरव हमाल, सुबास शाह, बालदीप राई, रेस्मा केसी, सरु ढुंगेल, बिनिता दाहाल, पार्वती श्रेष्ठ, तृष्णा खड्का, नवीन सिंह, विशाल डंगोल, प्रिया गहतराज र मुनाल शिशिर कोइरालाको अभिनय छ । किरणले पोई पर्यो काले, हात्तीछाप, दुई नम्बरीलगायतका फिल्म निर्माण गरेका छन् । उनले पोई पर्यो काले, दिलमाया, नम्बरी सुन फिल्ममा पनि अभिनय गरेका छन् ।
हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा दीपकराज विश्वकर्माको संगीत, मुनाल शिशिर कोइरालाको गीत, सुजन श्रेष्ठको छायांकन, सुबास शाहको सम्पादन, विष्णु खड्काको कलर, सन्दीप चौधरीको टाइटल र एनिमेसन, प्रिया नगरकोटी पाण्डेको मेकअप छ ।

अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जानको लागि तयार

काठमाडौं । स्टार अभिनेता अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जानको लागि तयार छ । वर्कसपसँगै लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो फिल्मको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनिले आवेदन आह्वान गरेको छ ।

कुनैपनि सुन्दर सांगीतिक धुनबीना हरेक प्रकारका प्रेमकथा अपुरो हुने भन्दै निर्माण कम्पनि अनन्या फिल्मस्ुले यो फिल्मको थीममा रहेर संगीत तयार गर्न चाहनेहरूको लागि अबसर प्रदान गर्दै सार्वजनिक आह्वान गरेको हो ।

इच्छुक जो कसैले पनि ुजेरी अन टपुको प्रेमिल पृष्ठभुमीमा रहेर संगीत तयार गरि यहि भदौ मसान्तसम्म अनन्या फिल्मस्ुको आधिकारिक इ(मेल बलबलथबाष्mिकज्ञ२नmबष्।िअयm मा पठाउन सकिने निर्माता सरोज न्यौपानेले बताए । न्यौपानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रतिभावान जो कसैसँग पनि सहकार्यको लागि तयार रहेको उल्लेख गरेका छन् । यो फिल्ममा कालिप्रसाद बाँस्कोटा, रिकेश गुरुङ र जोहन चाम्लिङ राई सांगीतिक डिपार्टमेन्टमा छन् ।

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ प्रमुख अभिनयमा रहनेछन् । यो फिल्मको निर्माणमा न्यौपानेसँग दीपक भण्डारीले सहकार्य गरेका छन् । ुजेरी अन टपुलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण अधिकार लिएको छ ।

धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियानमा सात हजार बिरुवा वितरण

धरान (सुनसरी- नेपाली कांग्रेसले ‘ग्रिन एन्ड क्लिन’ धरान अभियान लिएर गरेको घरदैलो कार्यक्रममा सात हजारभन्दा बढी बिरुवा वितरण गरेको छ ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १ सुनसरीले साउन १० गतेदेखि ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर धरान उपमहानगरपालिका–१९ बाट सुरु गरेको ‘ग्रिन एन्ड क्लिन’ अभियान कार्यक्रम धरान उपमहानगरपालिका–१ मा पुगेर समापन गरेको छ ।

अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्ता, एभोगाडो, धूपी, पारिजात, कफीलगायत विभिन्न सात हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको संयोजक एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण गरिएको छ ।” 

अभियानले जनतासँग साक्षात्कार गराउनाका साथ पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाएको भन्दै घरघरमा हरियाली प्रवर्द्धन, सरसफाइ र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि भएको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियानले धरानमा सुन्दर, स्वच्छ र हराभरा सहरमा परिणत गर्नेमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।” 

समापन कार्यक्रमका अवसरमा अभियानको उच्च प्रशंसा गर्दै ग्रिन एन्ड क्लिन धरान अभियान उन्नत र परिष्कृत भर्सन भएको भन्दै यस अभियानले सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले बताउनुभयो । घरघरमा आएर जीवनपयोगी र वातावरण मैत्री बिरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाइसमेत गरेको भन्दै वडावासीले यो अभियान रचनात्मक र महत्त्वपूर्ण भएको बताएका छन् । 

अभियानका क्रममा निरन्तर उत्साहपूर्वक सक्रियताका साथ खट्ने, जिम्मेवारी बहन गर्ने, सहयोगी एवम् सहकार्य गर्ने वडा र व्यक्तिहरू तथा मिडियाकर्मीहरूलाई उहाँहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।  

कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एन्ड क्लिन धरान’ अभियान सम्पन्न गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताउनुभयो । 

अभियान समापनमा प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, ललिता अधिकारीलगायत नेपाली कांग्रेस पार्टी र भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाका नेता तथा कार्यकर्ता र वडावासीहरुको सहभागिता रहेको थियो ।

लाटोकोसेरो संरक्षणका लागि कास्की र स्याङ्जामा एक सय गुँड बनाइँदै

गण्डकी- लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यका साथ कास्की र स्याङ्जामा एक सयवटा गुँड बनाइने भएका छन् ।प्रकृतिका साथीहरू संस्थाको सक्रियतामा स्याङ्जामा १० र कास्कीमा ९० वटा गुुँड बनाउन लागिएको निर्देशक राजुु आचार्यले जानकारी दिनुभयो ।

“विगतमा पोखरा र आसपासका क्षेत्रमा रहेका पुराना घरहरूमा लाटोकोसेरोका गुँडहरू पाइन्थ तर हाल बासस्थानको समस्या परेको छ”, उहाँले भन्नुभयो, “बासस्थानलाई सहज बनाउने उद्देश्यका साथ लाटोकोसेरोहरू रहेका स्थान पहिचान गरी गुँड बनाउने तयारी गरेका हौँ ।” गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणका लागि संरक्षणदूत छनोट गरिसकिएको र उनीहरूसँगको समन्वयमा आगामी तीन साताभित्र गुँडहरू राख्ने तयारी गरिएको निर्देशक आचार्यले बताउनुभयो ।

यहाँ पहिलोपटक छजना संरक्षणदूत छनोट गरी संरक्षण अभियान अघि बढाइएको छ । उनीहरूले बुढा रूखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणका लागि कृत्रिम गुँड वितरण, चोरी–सिकारी नियन्त्रणका साथै सरोकार भएकाहरूको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्नेछन् ।

लाटोकोसेरो संरक्षणदूतका रूपमा केशव सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुङ्गाना, ज्योति शर्मा र दीपा गुरुङले एक वर्षसम्म स्वयंसेवकका रूपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जनाइएको छ । यसअघि उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिमसमेत सम्पन्न भइसकेको छ ।

संस्थाका निर्देशक एवं संरक्षणविद् राजु आचार्यले हालै हरित क्षेत्रको ओस्कार मानिने ‘ह्विट्ली’ संरक्षण पुरस्कार प्राप्त गर्नुुभएकामा सोही पुरस्कारको रकमबाट लाटोकोसेरो संरक्षण अभियानसँगै गुँड निर्माणलगायत कार्यक्रम गर्न थालिएको संरक्षणदूत बालकुमार गुरुङले जानकारी दिनुुभयो । उहाँका अनुसार गुँड राख्नका लागि स्थान पहिचानको काम सुरू भइसकेको छ ।

तनहुँमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै, १४ बालबालिकाले गुमाए ज्यान

डुम्रे (तनहुँ- तनहुँमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो समय चितुवाले मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ यता चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

गत असार १२ मा म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगर, विसं २०७९ कात्तिक ४ मा बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङ, विसं २०७९ भदौमा व्यास नगरपालिका–११का डिल्लीमाया गुरुङ र शङ्कर गुरुङका छोरा शङ्करको मृत्यु भएको थियो । उक्त घटनामा गुरुङ दम्पती घाइते भएका थिए । 

विसं २०७९ कात्तिक १५ मा व्यास नगरपालिका–१२ छिर्कनका चित्रबहादुर कुँवर थापाका नाति सात वर्षीय अभिनव कुँवर, विसं २०७९ जेठ २९ मा बन्दीपुर गाउँपालिका–१ का भीमलाल गरौजा, विसं २०७८ असोज २५ मा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

डिभिजन वन कार्यालयको तथ्याङ्कानुसार चितुवाको आक्रमणबाट विसं २०७७ साउन २१ मा शुक्लागण्डकी नगरपािलका–२ का नारन राना, विसं २०७६ माघ १३ मा बन्दीपुर गाउँपालिका–४ का ११ वर्षीय इसाक परियार विसं २०७६ पुस २१ मा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिंजाली, विसं २०७६ पुस १३ मा शुक्लागण्डकी नगरपालिका–३ का १९ महिने बालक रविन नेपालीको मृत्यु भइसकेको छ ।

विसं २०७६ कात्तिक ११ भानु नगरपालिका–२ का ऋतिक रोका, विसं २०७६ जेठ २४ मा आठ वर्षीया बालिका पुष्पा अधिकारी र विसं २०७५ मङ्सिर १५ मा १० वर्षीय बालक अमृत गुरुङको चितुवाले ज्यान लियो । चितुवाको आक्रमणबाट विसं २०७६ असोज २१ मा सोही पालिका वडा नं–१ का कुशल बानियाँको पनि मृत्यु भएको थियो ।

विसं २०७५ कात्तिक २९ मा भानु–४ का चार वर्षीया बालिका रञ्जिता लम्साल र विसं २०७४ फागुन १ मा भानु नगरपालिका–२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । साथै विसं २०७९ असार १ मा बन्दीपुर गाउँपालिका–१ प्युघरका प्रेमबहादुर बगाले मगरका पाँच वर्षीय छोरा सुप्रिम थापाको चिुतवाको आक्रमणबाट घाइते भए ।

सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले भन्नुभयो, “करिब आठ वर्षमा चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै चितुवासँगै भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।”

उहाँले विसं २०८० जेठ ४ मा व्यास नगरपालिका–८ का गोरे विक भालुको आक्रमणमा परी घाइते बनाएको बताउनुभयो । उहाँका अनुसार तीनवटा भालु र दुई बाँदरको आक्रमणबाट मानिस घाइते भएका डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै चितुवाकै आक्रमणबाट १७ जना घाइते भएका तथ्याङ्कमा छ ।

विश्वकर्माका अनुससार बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुको आक्रमण बढेको हो । उहाँले भन्नुभयो, “मुख्यगरी वन्यजन्तुको आहार वनजङ्गलमा पर्याप्त नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जाँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेको हो ।”

द्वन्द्व कम गर्न डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकारवालासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा रोपण गर्न प्रोत्साहन गरिरहेको उहाँले बताउनुभयो । चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई जथाभावी नछाड्न र घर वरपर सरसफाइलाई ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ ।

विगतमा चितुवाको आक्रमण बढेपछि कार्यालयले क्यामरा ट्रयापिङ गरी अनुगमन गरिएको थियो । जसमा चितुवाबाहेक अन्य वन्यजन्तु नै देखिएका थिएनन् ।

मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्न वन्यजन्तुको आहार, बासस्थानमा खलबल्याउन नहुने उहाँको भनाइ छ । साथै मृग, चित्तल, वनकुखुरा, फलफूल मानिसले सिकार पनि गर्न नहुने उहाँले बताउनुभयो । जङ्गलमा आहार कम भएपछि उनीहरु बस्ती पस्न बाध्य भएको हुनसक्ने उहाँको बुझाइ छ ।

फर्जी उपभोक्ता समिति खडा गरेर रकम हिनामिनाको आरोप

बोदेबरसाइन (सप्तरी)- बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरोप लगाइएको छ ।बोदेबरसाइन नगरपालिका–९ देउरीमा आर्थिक वर्ष २०७७/७८ मा मधेस प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार कार्यालय सिरहा, सम्पर्क कार्यालय राजविराजले रु २५ लाखको लागतमा देउरीबाट लबटोलियासम्मको बाटो ग्राभेल गरिएको थियो । नगरपालिकाले पनि उपभोक्ता समिति बनाएर सोही आवमा रु ४४ लाख खर्च भएको देखाएको आरोप लगाइएको हो ।

नगरपालिकाले सडक बोर्ड नेपालबाट विनियोजन रु ४४ लाखको लागतमा देउरी जनकल्याण प्रावि लबटोलिया, स्वर्ण नदी हुँदै सिमराहा डिहबार थानसम्म सडक स्तरोन्नतिका नाममा कामै नगरी अनियमितता गरेको उपभोक्ता समितिकै अध्यक्षले आरोप लगाएका हुन् ।

नगरपालिकाले सडक स्तरोन्नतिका लागि गठन गरिएको भनिएको उपभोक्ता समितिका अध्यक्ष राकेश साहले आफ्नो नाममा फर्जी उपभोक्ता समिति खडा गरेर कामै नगरी रकम हिनामिना गरेको आरोप लगाउनुभयो । उहाँले आफ्नो नाममा फर्जी उपभोक्ता समिति गठन गरी अनियमितता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरीसमेत दिनुभएको छ । उजुरीमा समिति सदस्य भनिएका योगेन्द्रप्रसाद साह तेली र सदस्य ललितादेवी साहले समेत हस्ताक्षर गर्नुभएको छ ।

“म अध्यक्ष रहेको उपभोक्ता समिति खडा गरी फर्जी काम र फर्जी कागजात बनाई बैंक खातासमेत खोलेर रकम हिनामिना भएको मैले सूचना पाएको छु । रकम हिनामिना भएको विषयमा २०८१ जेठ ३० गते स्थानीय राजनीतिक दलका अगुवाहरूले सङ्घर्ष समिति बनाई सङ्घर्ष सुरू गरेपछि मात्र मैले जानकारी पाएको हुँ”, निवेदनमा भनिएको छ, “म अध्यक्ष रहेको ‘देउरी स्वर्ण नदी हुँदै सिमराहा डिहबार थानसम्मको सडक स्तरोन्नति उपभोक्ता समिति’ खडा गरी रु ४१ लाख ८४ हजार दुई सय ३५ हिनामिना भएको जानकारीमा आएको छ ।”

उहाँहरूले वडाध्यक्ष, योजना शाखाका कर्मचारी र प्राविधिकसमेतको मिलेमतोमा अनियमितता भएको दाबी गर्नुभएको छ । “म गरिब परिवारमा जन्मेकाले धेरै पढेलेखेको छैन । मेरो यही सोझोपनको फाइदा उठाई अरूले नै रकम हिनामिना गरेको पाइएकाले यस विषयमा अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुहुन यो निवेदन पेश गरेको छु”, अध्यक्ष साहसहितले दिएको निवेदनमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले उजुरी दर्ता भएको जनाएको छ । कार्यालयको उजुरी शाखाका नायबसुब्बा प्रकाश देवकोटाले साउन २३ गते दुवै कार्यालयलाई आवश्यक कागजात पठाउन पत्राचार गरिएको जानकारी दिनुभयो । “योजनासँग सम्बन्धित सबै कागजात, भुक्तानीसम्बन्धी कागजात, लेखापरीक्षण प्रतिवेदनसहित विभिन्न कागजात माग गरेका छौँ तर अहिलेसम्म कागजात प्राप्त भएको छैन”, उहाँले भन्नुभयो।सडक बोर्डबाट रु २८ लाख र नगरपालिकाको पुँजीगततर्फ रु १५ लाख ९३ हजार गरी रु ४३ लाख ९३ हजार खर्च भएको नगरपालिकाले देखाएको छ ।

प्रधानमन्त्री मोदी र युनुसबीचको फोनवार्ता, हिन्दू तथा अल्पसङ्ख्यकको सुरक्षाप्रति प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दू अल्पसङ्ख्यक समुदायहरूमाथि आक्रमणका समाचारहरू आइरहेका बेला दुई नेताबीच भएको यो पहिलो कुराकानी हो ।

यो कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान परिस्थितिको बारेमा कुरा गर्यौं।”भारतका प्रधानमन्त्री मोदीले फोनवार्तामा आफूले भारतको बङ्लादेशलाई हेर्ने अडान पूर्ववत रहेको र बङ्गलादेशको परिवर्तित राजनीतिक सन्दर्भमा लोकतन्त्र, स्थिर र शान्तिपूर्णको बङ्गलादेशको लागि कुरा राखेको बताउनुभएको छ ।

उहाँले एक्समा लेख्नुभएको छ, “मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बङ्गलादेशका लागि भारतको समर्थन दोहो¥याएँ । उहाँ (मोहम्मद युनुस) ले बङ्गलादेशका हिन्दू र सबै अल्पसङ्ख्यकको सुरक्षाको आश्वासन दिनुभएको छ ।”

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको मुद्दालाई उठाएर सुरू भएको विद्यार्थी आन्दोलनमा व्यापक जनसहभागिता देखिएपछि हेलिकप्टरमा आफ्ना निकट सहयोगी लिएर तत्कालिन प्रधानमन्त्री शेख हसिना भारतको नयाँदिल्ली पुग्नुभएको थियो ।

बागलुङको बडिगाडका पहिरो प्रभावित परिवारलाई माओवादी केन्द्रको आर्थिक सहयोग

गण्डकी,- बागलुङको बडिगाड गाउँपालिका–९ र १० का पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बागलुङ र उक्त दलसम्बद्ध जनसङ्गठनहरूको पहलमा सङ्कलित रु दुई लाख १६ हजार शनिबार पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सचिव एवं बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको उपस्थितिमा पहिरो प्रभावितलाई राहत रकम वितरण गरिएको हो ।

पहिरोमा परी मृत्यु भएका ११ जनाका परिवार र बेपत्ताका एक परिवारलाई जनही रु १३ हजार, सख्त घाइते दुईजनाका परिवारलाई जनही रु १० हजार र घर पूर्ण रूपमा क्षति भएका चार परिवारलाई जनही रु १० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको उक्त दलका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिनुभयो ।

पहिरो प्रभावितको राहतका लागि माओवादी केन्द्रको जिल्ला समन्वय समिति, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय कर्मचारी सङ्गठनलगायतले राहत रकम सङ्कलन गरेका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङले पहिरो प्रभावित परिवारका लागि गत साउन २५ देखि २९ गतेसम्म बागलुङ बजारका व्यवसायीबाट रु ५० हजार राहत रकम सङ्कलन गरेको सङ्गठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

गत साउन २२ गते राति परेको अविरल वर्षापछिको पहिरोमा परी बडिगाड–९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ । पहिरामा चार घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र ६२ परिवार पहिरोबाट प्रभावित भएका छन् । विस्थापित परिवारले गाउँको विद्यालय भवन र छिमेकीकोमा आश्रय लिइरहेको जनाइएको छ । राहत वितरणका क्रममा प्रतिनिधिसभा सदस्य पौडेलले बाढी प्रभावित परिवारको राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत रहेकी बिनादेवीलाई स्वदेश ल्याउन पहल गर्ने महामन्त्री शर्माको प्रतिबद्धता

झापा- वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान जानुभएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा हुनुहुन्छ ।

राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उहाँ डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताउनुभयो ।

“आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भन्नुभयो, “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उहाँले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल गर्नुभएको छ ।

विपन्न परिवारकी विनादेवी कवर २०७५ सालमा भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान पुग्नुभएको थियो । दुई वर्षअघि मधुमेह र उच्च रक्तचापका कारण पक्षाघातले थलिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म उहाँ अचेत अवस्थामै रहनुभएको ओमानस्थित नेपाली दूताबासका कर्मचारीहरूले जानकारी दिएका छन् ।

ओमानस्थित नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको उपचार भइरहे पनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिनुभयो । रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भन्नुभयो, “दूतावासका कन्सुलर गोविन्द्रप्रसाद आचार्यसँग भिडियोकलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।”

बिनादेवीलाई स्वदेश ल्याउनका लागि नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का सांसद् विश्वप्रकाश शर्माले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महामन्त्री शर्माले बिनादेवीको मेचीनगरस्थित घर पुगेर परिवारका सदस्यलाई भेट्नुभएको छ ।

महामन्त्री शर्माले ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग फोनमा कुराकानी गरेर बिनादेवीलाई स्वदेश ल्याउन आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ । शर्माले बिनादेवीका छोरा सञ्जयलाई ओमान पठाउने र आमाको अवस्था हेरेर स्वदेश ल्याउने उपायका विषयमा पहल भइरहेको बताउनुभयो ।

बिनादेवीका छोरा सञ्जयलाई ओमान जाने, आउने र बस्ने खर्चको व्यवस्थापन गरिने महामन्त्री शर्माले बताउनुभएको छ । बिनादेवीका दुई छोरा, एक छोरी र पति छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज चिया बगानमा मजदुरी गर्दै आउनुभएको छभने कान्छा छोरा सुरज काठमाडौँमा मजदुरी गर्नुहुन्छ । छोरी अनिता कवरको विवाह भइसकेको छ । बिनादेवीका पति चिनीलालसमेत ज्याला मजदुरी गर्नुहुन्छ ।

प्रसारणलाइन विस्तारमा अवरोध हुँदा हरिपुर्वा क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य

बरहथवा (सर्लाही), १ भदौः प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ । निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले गुनासो गर्नुभयो ।

प्राधिकरणले सबस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रूट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकाले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ ।

स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रूट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन् । गाउँलाई क्षति नपुग्ने गरी विद्युत्को तार विस्तार गर्न स्थानीयको माग छ । सोही माग राखेर स्थानीयले पोल गाड्न नदिँदा यहाँ समस्या भएको हो ।

हरिपुर्वा सबस्टेशनका प्रमुख जगदीश यादवले स्थानीयको मागलाई मध्यनजर गरी प्रसारण केन्द्रसम्म विद्युत् लैजान विभिन्न चार रूट प्रयोग गर्दा पनि स्थानीयले अवरोध गरेका बताउनुभयो । “हामीले स्थानीयको सहजताका लागि नै विद्युतीय प्रसारणलाइन विस्तार गर्न खोजेका हौँ तर यहाँ विभिन्न स्वार्थका कारण स्थानीयले नै अवरोध गरिरहेका छन्, जसले गर्दा सबस्टेशन सञ्चालनमा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

हरिपुर्वा, ईश्वरपुर नगरपालिका तथा पर्सा र ब्रह्मपुरी गाउँपालिकामा सेवा पुर्याउने उद्देश्यसहित दुई वर्षअघि नै सबस्टेशन निर्माण भएको थियो तर हालसम्म सञ्चालन हुनसकेको छैन । प्रयोग नहुँदा सबस्टेशनमा प्रयोग भएका उपकरण तथा निर्माण भएको भौतिक संरचना जीर्ण हुँदै गएको छ । यसरी निर्माण सम्पन्न संरचना अलपत्र पर्दा दोहोरो घाटा भएको छ ।

एकातिर लगानी खेर गइरहेको छभने अर्कातर्फ स्थानीयले गुणस्तरहीन सेवा प्रयोग गरिरहनुपरेको छ । पछिल्लो समय राजनीतिक खिचातानीको सिकार भएका कारण सबस्टेशन सञ्चालन चुनौतीपूर्ण बनेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहको भनाइ छ । सबस्टेशन सञ्चालन गरी गुणस्तरीय विद्युत् सेवा प्रवाहका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

हरिपुर्वा नगरपालिका–१ र ५ का स्थानीयले ३३ केभिए प्रसारण लाइनका लागि एक किलोमिटर विद्युत् पोल गाड्न अवरोध गरेपछि सबस्टेशन अलपत्र बनेको नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेशकुमार यादवले बताउनुभयो । उक्त सबस्टेशन निर्माणका लागि रु १९ करोड ६० लाख लागतमा आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले सबस्टेशनका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न गरिसकेको छ ।

हरिपुर्वा क्षेत्रमा लामो दूरी पार गराएर मलङ्गवा वितरण केन्द्रबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यसरी आपूर्ति गर्दा अत्यधिक लोड हुने गरेको प्राधिकरण प्रमुख यादवले जानकारी दिनुभयो । “लामो दूरी कम्जोर लाइन संरचनालगायत कारण स्थानीयले उखरमाउलो गर्मीमा पङ्खा प्रयोेग गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “पटकपटक लाइन गइरहने समस्या झेल्दै आउनु परिरहेको छ ।”

जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन मिस्त्रीलाई तालिम

जुम्ला, १ भदौः जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन निर्माण मिस्त्रीलाई सीपमूलक तालिम दिइएको छ ।सिंजा गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा स्थानीय नौजना मिस्त्रीलाई भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि पाँचदिने तालिम दिइएको पेस नेपालका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिनुभयो ।

सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गत कात्तिकमा गएको भूकम्पबाट सिंजा क्षेत्रमा आंशिक क्षति भएपछि दक्ष मिस्त्री उत्पादनका लागि तालिम दिइएको बताउनुभयो । अब पालिकामा निर्माण हुने संरचना भूकम्प प्रतिरोधी बनाउन सहज हुने उहाँले भन्नुभयो ।

विधिको शासन कायम गर्न कांग्रेस–एमाले मिले : नेता आचार्य

जनकपरधाम, १ भदौः नेपाली कांग्रेसका नेता महेश आचार्यले राजनीतिक स्थिरता तथा विधिको शासन कायम गर्नका लागि कांग्रेस पार्टीले एमालेको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज धनुषाद्वारा आज जनकपुरधाममा आयोजित ‘मधेसमा प्रजातान्त्रिक मूल्यमान्यताको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले लोकतन्त्रको संस्थागत विकास तथा संरक्षणका लागि कांग्रेस पार्टी सदैव लागिरहेको दाबी गर्नुभयो ।

पूर्वमन्त्री आचार्यले विधिको शासन कायम नभए लोकतन्त्रको दिगो विकास तथा जनताको अधिकार कुण्ठित हुने र विद्रोह हुनेभएकाले कांगे्रससहित मुलुकका सम्पूर्ण राजनीतिक पार्टीहरू जनता तथा देशको विकासका लागि गुट तथा उपगुट र भेदभाव गर्नेलगायत कार्यबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो । 

पटक–पटकको  मधेस आन्दोलनबाट मधेसमा नेता तथा राजनीतिक दल धेरै उत्पादन भए पनि मधेस तथा मधेसी जनताले केही उपलब्धि प्राप्त गर्न नसकेको विश्लेषण गर्दै उहाँले मधेसमा व्याप्त भ्रष्टाचार, अनियमितता, अशिक्षा, बेरोजगारी, चुरेदोहन, गिट्टी बालुवाको तस्करी, लुटपाट तथा असुरक्षालाई प्रदेश तथा सङ्घ सरकारले रोक्नुपर्ने आवश्यकता छ भन्नुभयो ।

उहाँले कांग्रेस पार्टी धेरै पुरानो तथा जनताको अधिकारका लागि लड्दै आएकाले यसले प्रजातन्त्र तथा लोकतन्त्रप्रति गरेको सङ्कल्प तथा विचारलाई पूरा गराउन मधेसका जनतालाई आग्रहसमेत गर्नुृभयो ।

सांसद एवं पूर्वमन्त्री रामकृष्ण यादवले मधेस प्रदेशमा सरकारी काममा व्यापक भ्रष्टाचार तथा अनियमितता रहेकाले लोकतन्त्रप्रति जनताको विश्वासमा कमी आएको उल्लेख गर्नुभयो । हुलाकी सडकको निर्माण मापदण्ड विपरीत काम गरेर भ्रष्टाचर भएको तथा कमला नदीको पुल निमार्णमा भएको ढिलासुस्तीका बारेमा गुनासो गर्दै उहाँले मधेस प्रदेशमा सुशासन अत्यन्त आवश्यक भएको जिकिर गर्नुभयो ।

राससका पूर्वअध्यक्ष तथा प्रजातान्तिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रको संस्थागत विकास तथा सुशासन कायम गराउनका लागि आफ्नो यो संस्था गठन भएको उल्लेख गर्दै मधेस प्रदेशको संस्कार तथा संस्कृतिको संरक्षण आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । 

लेबनानमा इजरायली आक्रमणमा परी १० सिरियालीको मृत्यु

दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो हो ।

अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताहरूले इजरायल र प्यालेस्टिनी हमास लडाकूहरूबीच गाजा युद्धविराममा पुग्ने प्रयास गरिरहेका छन् । वार्ताले युद्ध रोक्नका लागि मद्दत गर्ने विश्वास कूटनीतिज्ञहरूले लिएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ । अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिकहरू रहेका छन् ।

लेबनानको सरकारी राष्ट्रिय सञ्चारमाध्यमले पनि लिवियाली अधिकारीलाई उद्धत गर्दै मृत्यु हुनेमा सिरियाली शरणार्थी र कामदार रहेको उल्लेख गरेको छ ।

इजरायली सेनाले आफ्नो टेलिग्राम च्यानलमार्फत दिएको जानकारी अनुसार लेबनानको हेजबुल्लाहको हतियार भण्डारण केन्द्रमा रातभर आक्रमण गरिएको र उक्त क्षेत्र इजरायलबाट करिब १२ किलोमिटर टाढा रहेको नाबातिह क्षेत्रमा रहेको छ ।

वादी अल–काफुरमा भएको मृत्युपछि हेज्बुल्लाहले उत्तरी इजरायलको आयलेट हा-शहरका समुदायमाथि कात्युशा रकेट प्रहार गरेको र करिब ५५ वटा रकेटको आक्रमणमा कोही पनि हताहत नभएको तर त्यसका कारण कतिपय स्थानमा आगलागी भएको इजरायली सेनाले जनाएको छ ।

श्रीलङ्काले सन् २०२५ सम्ममा ३० लाख विदेशी पर्यटक भित्राउने

श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु गर्ने श्रीलङ्का पर्यटन प्रवद्र्धन विभागका प्रबन्ध निर्देशक नलिन परेराले बताउनुभयो ।

पहिलो चरणमा चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतलाई लक्षित गरी अभियान सञ्चालन गरेको परेराले जानकारी दिनुभयो । परेराका अनुसार, दोस्रो चरणमा रूस, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, पोल्याण्ड, इटाली, स्क्यान्डिनेभिया क्षेत्रलाई लक्षित गरिने छ ।

यी अभियानका कारण अर्को वर्ष पर्यटक आगमनमा सात लाखले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

श्रीलङ्कामा अगस्ट १२ सम्ममा १२ लाखभन्दा बढी पर्यटक आइपुगेका छन् भने आगामी गरी अक्टोबरदेखि डिसेम्बरसम्म थप ११ लाख पर्यटक आउने अपेक्षा गरिएको छ । साथै, श्रीलङ्काले सन् २०२४ मा २३ लाख पर्यटक भित्रिने पूर्वानुमान गरेको छ ।

श्रीलङ्कामा पर्यटन क्षेत्र वैदेशिक राजस्व प्राप्त गर्नेमध्ये एक प्रमुख माध्यम हो । यहाँ पर्यटनबाट सन् २०२४ को पहिलो सात महिनामा एक अर्ब ८८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ । अघिल्लो बर्षको तुलनामा चालु बर्षमा पर्यटनबाट हुने आम्दानी ७३.३ प्रतिशतले बढेको श्रीलङ्काको केन्द्रीय बैङ्कले आफ्नो पछिल्लो साप्ताहिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

मिथिलामा बढ्यो राखीको चहलपहल

महोत्तरी, १ भदौः साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् ।

‘आबन हे सखी, आयल साउनक पूर्णिमा,
भैयाके अबैय याद हे,
भैया नई ऐलौं, निष्ठुर भेला,
निरस भगेल हमर पावन हे !’

(यता आउ हे सखी, अब साउनको पूर्णिमा आउँदैछ, त्यसैले दाजुभाइको सम्झना आइरहेछ । तर दाजुभाइ भने आउने सोधखबर गर्दैनन्, पर्व मेरा लागि निरस हुने भयो) मिथिलामा अहिले सुनिने धेरैजसो गीत राखी केन्द्रित छन् ।

‘आयल साउनक सुदिन यौ भैया,
राखीमें जरुर अबै यौ,
राखीक पावेन अलै यौं भैया,
कोनाक गेली बिसैर यौ !’

(साउनको त्यो सुदिन पनि नजिकियो, दाजु राखीमा अवश्य आउनु होला है, राखी पर्व आइसक्यो, तपाईँले कसरी बिर्सन सक्नुभएको ?) । कुनै गीतमा पर्व नजिकिएसँगै दाजुभाइ सम्पर्कमा नआएका दिदीबहिनीको विरह छ भने कतिमा अब दाजुभाइ चाँडै भेट हुने अभिलाषा व्यक्त गरिएको छ ।

‘आयल राखीक त्यौहार,
भाइ हमर लाओत बहार,
बध्बै भाइके प्रेमक डोरा स,
होतै सुखक इजहार …!’

(राखी पर्व आयो, अब मेरो भाइले खुसी दिनेछ, भाइलाई प्रेमको डोराले बाँध्ने छु, यसले सुखानुभूति मिल्नेछ) ।

साउन शुक्लपक्ष, जसलाई राखीपक्ष पनि भनिन्छ । मिथिलामा अहिले यस्तै गीत सुनिन्छन्, गुञ्जिन्छन् । जसमा दाजुभाइको सौर्य बखान गरिएको हुन्छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षावन्धन (राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेलीबीच एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै अहिले राखीको तयारीबारे हुने गर्छ । मिथिलामा यसपालि पर्सि सोमबार राखी पर्व मनाउने तयारी छ ।

मधेसको मिथिला क्षेत्र सांस्कृतिक चाडपर्वको उर्वर थलो हो । मैथिल (मिथिलाका बासिन्दा) सांस्कृतिक चाडपर्व धेरैजसो विद्यापति र मिथिला पञ्चाङ्गको आधारमा मनाउँछन् । यी दुवै पञ्चाङ्गको सुरु महिना साउन हो ।

वर्षको पहिलो महिना साउन लागेदेखि नै विभिन्न चाडपर्व मनाउँदै आएका मैथिल अहिले साउनको अन्त्यतिर राखी पर्वको तयारीमा छन् । साउनमै शिवभक्तिको साउनेमेला, लगपाँच र मधुश्रावणीजस्ता पर्व मैथिलले मनाइसकेका छन् । अहिले झुला पर्व जारी छ । यो राखी पूर्णिमाकै दिन राति समापन गरिने परम्परा छ ।

सौरमासले साउन सकिए पनि चन्द्रमास गणनाले आउने सोमबारसम्म साउन नै रहन्छ । यहाँ जुडशीतल, विश्वकर्मापूजा र तिलासक्रायतलगायत केही पर्वबाहेक धेरैजसो चन्द्रमास तालिकामै मनाइने गरिन्छ । यसपालिको राखी पर्वको दिन साउन (चन्द्रमासअनुसार)को अन्तिम दिन परेको हुँदा साउने सोमबारीको समापन पनि त्यसै दिन गरिने छ ।

मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै राखीको चहलपहल बढ्न थाल्छ । चिया पसल, पान पसलदेखि ठुल्ठूला व्यापारिक प्रतिष्ठान र चोकचोकमा राखी गीत गुञ्जँदाछन् । सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने यो पर्वको चहलपहल देखिँदो छ । पर्वको तयारीले अहिले मिथिला क्षेत्र राखीमय बनेको छ ।

अहिले पर्व आउन दुई दिनमात्र बाँकी छँदा मिथिलानी (मिथिलाका नारी) आफ्ना दाजुभाइसँग पर्वविशेषको भेटघाटको टुङ्गो गर्न मोबाइल र फोनको कुराकानीमा व्यस्त देखिन्छन् । “पावैन त आब आयबगेल, मद्रासमें रहल भाइके खबर कैली, ओ अईबेर आओत” (पर्व त अब आई नै हाल्यो, मद्रासमा रहेको भाइलाई खबर गरेँ, ऊ यसपालि आउँछ रे) महोत्तरीको भङ्गाहा–५ राजपुरकी हरिप्रिया महतो खुसी हुँदै भन्नुहुन्छ, “आब भाइके पहनाववाला राखी आ मरमिठाइ जुटेवाक तयारीमे लागल छी” (अब भाइलाई बाँधिने राखी र उसलाई ख्वाइने मरमिठाइको जोरजाममा लागेकी छु) ।

मिथिलामा विवाहित चेलीले आफ्नो अनुकूलताअनुसार घरमै दाजुभाइ बोलाएर वा माइत गएर राखी मनाउन सक्ने चलन छ । त्यसैगरी अविवाहित चेलीबेटी पनि दाजुभाइलाई राखीको निम्ता दिँदै इच्छित दक्षिणा पाउनपर्ने ठट्टा मिसाउँदै भेटिन्छन् । पर्वका लागि अहिले सिङ्गो मिथिला क्षेत्र नै उमङ्गित देखिदो छ ।

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका जानकार बताउँछन् । पर्वले दिदीबहिनीप्रतिको चाहना र प्रेम गाढा बनाउने बर्दिबास–२ का बासिन्दा महेशकुमार झा बताउनुहुन्छ । साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरहरूले पर्वविशेषमा रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी यस्तै कथावस्तुका सिनेमा चलाउँदैछन् । चोकचोक र हाटबजारमा गुञ्जेका राखी पर्वका गीतमा बटुवा पनि झुम्ने गरेका देखिदो छ ।

दिदीबहिनी अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई खुवाइने मिष्टान्न परिकारबारे योजना बुन्दैछन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सदको चाँजो र उनीहरूलाई दिइने दक्षिणाको जोरजाममा लागेका छन् । घरबाट काम विशेषले टाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले दिदीबहिनीलाई फुरुङ्ग बनाएको छ । “भैया दिल्ली स पावैनलेल ऐवाक निश्चित भेल” (दाजु राखी पर्वका लागि दिल्लीबाट आउने कुरा निश्चित भयो) गौशाला–४ की पवित्री सदा भन्नुहुन्छ, “अईबेर खुसी स राखी पावैन मनायब” (यसपालि हाँसीखुसी पर्व मनाइन्छ) ।

पर्वमा राखीको कारोबार गर्ने व्यापारीहरू उत्तिकै व्यस्त देखिएका छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको ब्यापारी बताउँछन् । पर्व अब केही दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न खालका राखीको माग र आपूर्तिका कामले फुर्सद नभएको बर्दिबासचोकका शृङ्गार महलका व्यापारी श्यामकुमार महतो बताउनुहुन्छ ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने चलन बसेको मैथिल जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे/भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरू र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको बर्दिबास जनता बहुमुखी क्याम्सका प्राचार्य तेजबहादुर खड्का बताउनुहुन्छ ।

पर्वमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको मैथिल बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन यहाँ अझै देखिन्छ ।

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधीदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभइ इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकाहरूलाई राखी बाँधीदिन पर्वको तयारीमा लागेका छन् ।

पछिल्ला दिनहरूमा पर्व हिन्दू धर्मावलम्बीको मानिदै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरूले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने गरेबाट यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको छ । यसले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव वृद्धिमा सहयोग पुग्ने महोत्तरीकै सम्सी–६ का इस्लाम धर्मावलम्बी सामाजिक कार्यकर्ता इम्तियाज अहमद बताउनुहुन्छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), १ भदौः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास भएको बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा उहाँले प्रतियोगिता आयोजनासँगै प्रदेशको देश तथा विदेशबाट मूल्याङ्कन हुने प्रष्ट पार्नुभयो ।

अहिले नै खेलकुद प्रतियोगिताका लागि दिनगन्ती सुरु हुने बेला नभएको उल्लेख गर्दै उहाँले त्यसअनुसार अहिलेको व्यवस्थापन कमजोर भयो भन्न नहुने धारणा राख्नुभयो । मुख्यमन्त्री कँडेलका अनुसार निर्धारित समयानुसार आगामी मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ ।

प्राप्त बजेटबाट दक्षतापूर्वक काम देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले ठाउँठाउँ पुगेर विभिन्न माग नराख्न पनि ध्यानाकर्षण गराउनुभयो । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराउँदै उहाँले कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई ध्यान दिएर खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम् प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्ने दायित्त्व पूरा गरिने उहाँको भनाइ छ । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेटलगायत व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले निर्धारित खेलमध्ये थप खेल समावेश गर्न आफ्नातर्फबाट गर्नुपर्ने काम आन्तरिक रूपमा बढाइरहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको उल्लेख गर्दै उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र कर्णालीले दुई अङ्कको पदक लिनुपर्ने चुनौती देखिएको बताउनुभयो ।

मन्त्री भण्डारीले यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षणसहितका आवश्यक व्यवस्थापनका लागि तयारी भइरहेको बताउनुभयो । उहाँले व्यवस्थापनको पक्षमा कुनै पनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिनुभयो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन

लुम्बिनी, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनुभएको छ ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले यसअघि नै मुख्यमन्त्री बन्नुभएका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि रिक्त रहेको दलको नेता पदमा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो ।

दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गत साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।

यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ । चौधरी यसअघि पनि प्रमुख सचेतक नै रहनुभएको थियो ।

एमाले संसदीय दलको आजको बैठकमा नेता गिरीको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुपन्देही बाहिर भएकाले बैठकमा सहभागी नभएको गिरीको सचिवालयले जनाएको छ । एमाले दलको बैठकमा एमाले प्रदेश कमिटी इन्चार्ज एमाले सचिव पद्मा अर्याल सहभागी रहनुभएको थियो ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ गते विश्वासको मत लिने हुनुभएको छ । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ ।

हेटौँडामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

मकवानपुर, १ भदौः मकवानपुरको हेटौँडा उपमहनगरपालिका–९ धापमा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको एजेण्डा के ?

काठमाडौँ । पराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही भदौ २ गतेदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् ।


उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ । 


भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ । दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।


परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।