`

दुई हिमताल फुट्दा थामे क्षेत्रमा बाढी आएको निष्कर्ष, बाढीको जोखिम कायमै

सोलुखुम्बु, १ भदौः सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभएको छ । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्र्दै उहाँले उहाँले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभयो ।

“आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो”, उहाँले भन्नुभयो, “निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ ।”

जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । “थामेभन्दा माथिपट्टि पाँचवटा हिमताल रहेछन्, शुक्रबार दुईवटा विस्फोटपछि बाढी आएको पुष्टि भयो”, प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, “बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुईवटा जोखिम रहेको जानकारी प्राप्त भएको छ ।” खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

जल तथा मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ । विभागका अनुसार थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो । सो दिनयता तापक्रम नौ दशमव सात डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ । शुक्रबार भने तापक्रम बढेर १५ दशमलव नौ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको विभागको बुझाइ छ ।

जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ ।”

बाढीपीडितलाई राहत

बाढीपीडित खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामेवासीलाई सङ्घ र स्थानीय सरकारले नगदसहित राहत प्रदान गरेका छन् । आज बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुग्नुभएका रक्षामन्त्री राई नेतृत्वको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार नगद रु १५ हजार र तीन–तीन थान त्रिपाल वितरण गरिएको हो । स्थानीय सरकारका तर्फबाट १५ परिवारलाई रु ५० हजारका दरले वितरण गरिएको छ । पूर्ण क्षतिग्रस्त २० घरपरिवारमध्ये सबै घरका बासिन्दा त्यहाँ नरहेको बताइएको छ । प्रजिअ पाण्डेले लत्ताकपडाका लागि प्रदेश सरकार र खाद्यान्नका लागि खाद्य व्यवस्था विभागलाई पत्राचार गरिएको बताउनुभयो ।

नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा आज प्रभावित स्थानबाट सातजनाको सकुशल उद्धार गरेको जनाएको छ । प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाइएको छ । बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावरहाउस, खानेपानी लाइन, बाटो, विद्यालय मर्मत तथा घरमा भएका सामग्री सुरक्षित स्थानमा स्थानान्तरण जारी रहेको सेनाले जनाएको छ ।

बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ । साथै बाढी भोटेकोशी हुँदै दूधकोशीमा मिसिँदा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको जनाइएको छ । बाढीले पक्की मोटरेबल पुलको एकतर्फको भाग कटान भएको छ । जसका कारण सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल टुटेको स्थानीयले बताएका छन् ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवातजावत टुटेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । आवतजावत विच्छेद भएपछि माथिल्लो खुम्बुको जनजीवन प्रभावित बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खुम्बु यतिबेला अस्तव्यस्त छ, बत्ती नहुँदा सञ्चार सेवा अवरुद्ध भएको छ भने हिमताल फुट्ने खतरा उत्तिकै छ ।”

मधेश आन्दोलनका बन्दीको रिहाइका लागि भएको सम्झौता कार्यान्वयन गर्न सरकारसँग जसपा नेपालको माग

काठमाडौँ, १ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न चरणमा भएका मधेस आन्दोलनका क्रममा आन्दोलनकारी माथि लगाइएका मुद्दाहरू खारेज गर्न माग गरेको छ । जसपा नेपालको साउन २७ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज गर्न सरकारसँग भएका सम्झौताअनुरूप बन्दीको रिहाइ गर्न माग गर्ने निर्णय गरेको हो ।

आज बैठकका ६७ बुँदे निर्णय सार्वजनिक गर्दै जसपाले मधेस आन्दोलनका बन्दीको रिहाइका साथै रोक्का गरिएका जग्गा, धन–सम्पत्ति फुकुवा गर्न माग गरेको छ । “आफ्नो पहिचानका लागि आन्दोलनमा लागेका आदिवासी जनजाति, लिम्बूवान्, किरात आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दाहरू सरकारले फिर्ता लिई समस्याको न्यायोचित समाधान गरिनुपर्दछ,’ जसपाले भनेको छ ।

अध्यक्ष उपेन्द्र यादवले बैठकले बन्दीहरूको रिहाइ, मुद्दा खारेजीका साथै सहिद परिवारहरूको भरण–पोषण, शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गरिनुपर्ने माग गर्नुहुँदै उहाँले सङ्घीय निजामती ऐन संसद्बाट पारित गरी कर्मचारी समायोजनसम्बन्धी बाँकी कार्यहरू सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराउनुभयो । 

अध्यक्ष यादवले प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउनुपर्ने र आवश्यक ऐन निर्माण गरी संविधानको अनुसूची ६ र ७ मा भएका व्यवस्थानुसार प्रदेशहरूलाई अधिकार र स्रोतसाधन प्रदान गर्न पनि माग गर्नुभयो । 

संविधानमा व्यवस्था भएबमोजिम विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र कायम गरी त्यसको क्षेत्राधिकार निर्धारण गर्न, जिल्ला समन्वय समिति आवश्यक नरहेको र त्यसको भूमिका पनि आवश्यक नदेखिएकाले हटाउनु उचित हुने जसपाको ठहर छ । स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहनेगरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्न, संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख÷राष्ट्रपतीय प्रणाली व्यवस्था गर्न पनि जसपाको माग छ ।

यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधनका लागि संविधानविज्ञ सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गरिनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय÷जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहित राज्य संरचना र राज्य शक्तिको बाँडफाँडलगायत प्रावधानहरू संशोधन गर्न पनि जसपा नेपालले माग गरेको छ । मिटरब्याजपीडितको समस्या समाधान गर्न तथा प्रदेशमा औद्योगिक करिडोर घोषणा गर्न, पर्यटन तथा उद्योग, कलकारखाना सञ्चालनका लागि लगानीकर्तालाई प्रोत्साहन गर्न आवश्यक कानुनी, विधि र प्रक्रिया छिटोछरितो र सहज तुल्याउन अनुरोध गरेको छ । यसैगरी, उच्च शिक्षालाई रोजगारमुखी बनाउन, आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउन, कृषिको आधुनिकीकरणलगायत विषयमा पनि जसपाले ध्यानाकर्षण गराएको छ ।

पण्डितले समाज र राष्ट्रलाई दिएको योगदानको मूल्याङ्कन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १ भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ ।

गणेश पण्डित स्मृति केन्द्रले आज आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ वामचिन्तक गणेश पण्डितको स्मृति ग्रन्थ विमोचन समारोहमा उहाँले पण्डितको मूल्याङ्कन पनि समाज र राष्ट्रलाई दिएको योगदानका आधारमा गर्नुपर्ने धारणा राख्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले अनेकौँ अवसरलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित पण्डितले पञ्चायती कालरात्रिको अवधिमा अनेक यातना र जेलनेल भोग्नुपर्दा समेत राजनीतिमा निरन्तर लाग्नुभएको बताउनुभयो । “अप्ठ्यारो परिस्थितिमा समेत निर्भयका साथ देश र जनताका पक्षमा निरन्तर क्रियाशील भइरहने उहाँको क्रान्तिकारी स्वभावबाट खुला लोकतान्त्रिक परिवेशमा राजनीतिमा आबद्ध भएका नेता तथा कार्यकर्ताले गहन शिक्षा लिनुपर्दछ,” उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले विसं २०१७ देखि २०४६ सम्म पञ्चायती शासनको कहालिलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी राजनीतिमा होमिएको स्मरण गर्नुभयो । जनस्तरबाट स्थापित नेता पण्डितको स्मृति ग्रन्थ प्रकाशन गरेर केन्द्रले राष्ट्र र जनताका लागि पण्डितले दिएको योगदानलाई जनसमक्ष ल्याउने र उहाँको स्मृतिलाई चिरस्थायी बनाउने काम गरेकामा प्रशंसा गर्नुभयो ।

विसं २००३ साउन ३० गते नुवाकोटको शिखरबँेसीमा जन्मनुभएका गणेश पण्डितको पछिल्ला समयमा धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा लाग्नुभएको थियो । उहाँको २०७५ साल फागुन २९ गते निधन भएको थियो । विद्यार्थी आन्दोलनमा लागेबापत पण्डितलाई पञ्चायती सरकारले उपत्यका प्रवेश निषेध गरेपछि उहाँ आफ्नो गृह जिल्ला नुवाकोटमा शिक्षण पेसामा आबद्ध हुनुभयो । सुरूमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)मा आबद्ध भई वामपन्थी राजनीतिमा होमिनुभएका पण्डित २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनतर्फबाट सक्रिय हुनुभएको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो ।

उहाँ २०४७ सालमा तत्कालीन नेकपा (माक्र्सवादी) हुँदै नेकपा (एमाले)मा समाहित हुनुभएको थियो । पण्डित विसं २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटबाट निर्वाचित हुनुभएको थियो । स्मृति ग्रन्थमा पण्डितले देश र जनताका पक्षमा गरेका कामको चर्चा गरिएको छ ।

अफ्रिकामा जनवरीदेखी १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण पुष्टि

एकै हप्तामा १ हजार २०० जनामा एमपक्स सङ्क्रमण प्रमाणित भएसँगै सन् २०२४ को जनवरीदेखी अफ्रिकामा कुल १८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण फेला परेको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले शनिबार जनाएको छ ।

स्वास्थ्य विभागको तथ्याङ्कअनुसार भाइरसको तीनवटा भेरियन्ट छन् जसमध्ये एउटा अधिक घातक , अधिक सङ्क्रमक ‘क्लेड –१ बी’ हो । पछिल्लो समय बढिरहेको एमपक्स सङ्क्रमणलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी) ले विज्ञप्तिमार्फत जनाएको छ ।

सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश कङ्गोमा सन् २०२३ सेप्टेम्बरमा पहिलो पटक भाइरसको नयाँ ‘क्लेड–१ बी’ भेरियन्ट पत्ता लागेको थियो जहाँ १ हप्तामा एक हजार पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा २४ जनाको मृत्यु भएको थियो ।

लगभग दश करोड मानिस बसोबास गर्ने डीआरसीका सबै प्रान्तमा सङ्क्रमणका घटनाहरू दर्ता भएका छन् ।यसै गरी छिमेकी बुरुन्डीमा एमपक्सको १७३ केश रिपोर्ट गरिएको छ । अफ्रिका बाहिर स्विडेन र पाकिस्तानमा पनि यस हप्ता एमपक्स सङ्क्रमण फेला परेको छ ।

यसै सन्दर्भमा डब्ल्यूएचओको आपतकालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।एमपक्स एउटा भाइरल रोग हो जुन जनावरबाट मानिसमा फैलिन सक्छ, भने शारीरिक सम्पर्कको माध्यमबाट मानिसमा फैलिन सक्छ । यसका लक्षणहरूमा ज्वरो, मांसपेशी दुख्ने र छालामा ठुला फोका जस्ता घाउहरू आउने हुन्छ ।

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

थाइल्यान्डका राजाद्वारा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई शनिबार आममाफी दिइएको छ । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुनुहुन्छ ।

थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

राजा वजिरालोङकोर्नले उहाँको सजाय कटौती गरी एक वर्षमा सिमित गरिदिनुभएको थियो भने उमेर र खराब स्वास्थ्यको कारण उहाँलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल)मा रिहा गरिएको थियो ।
थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुई पटक प्रधानमन्त्री भइसकेका थाक्सिन पनि रहेको बताउनुभयो ।

“शाही घोषणाबाट माफी पाउने हजारौँ थाइमध्ये पूर्वप्रधानमन्त्री सिनावात्रा एक व्यक्ति रहनुभएको छ,” उहाँले आफ्नो व्यक्तिगत फेसबुक अकाउन्टमा लेख्नुभएको छ ।
“उहाँलाई जेलमुक्त गरिएको कागजात आवश्यक कानुनी प्रक्रियापछि छिट्टै प्राप्त गर्नुहुनेछ,” सन्देशमा लेखिएको छ ।

शनिबार प्रकाशित शाही राजपत्रमा भनिएको छ, “राजाले ती माफी पाएका सबैजनालाई आफूलाई सुधार्ने र देशलाई फाइदा पुर्‍याउने अवसर दिनुभएको छ । राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा आफ्नो ७२ औं जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीहरूलाई माफी दिइएको हो ।
यसअघिको शाही आदेश अनुसार पूर्वप्रधानमन्त्री सिनावात्रा ३१ अगस्टमा रिहा हुनुपर्ने थियो ।

थाई संसद्ले शुक्रबार थाक्सिनकी ३७ वर्षीया छोरी पाएटोङ्तार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । उहाँ राज्यको सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुहुन्छ र आफ्ना बुबा र फुपु यिङलकपछि यो पद सम्हाल्ने सिनावात्रा परिवारका तेस्रो सदस्य हुनुहुन्छ ।राज्यको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पाएटोङ्तार्नलाई सर्वोच्च पदमा पदोन्नति गरिएको हो ।

शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

“शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन ।”

अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे ।

उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐननियमलाई आपसी संवादबाट समायानुकूूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।

“राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए”, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले भने, “वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गरिदिए पुुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनुु भनेको जागिरे हुनुु होइन, एक प्रकारको जागरण हो ।”

तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो,सतर्कता अपनाउन आग्रह

दमौली (तनहुँ), १ भदौ : तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै यहाँ एक सय आठजनामा सङ्क्रमण देखिएको र कुल सङ्क्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिनुभयो । यस्तै व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

डेङ्गी सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ । आँबुखैरेनी गाउँपालिका–३ का विभिन्न टोलमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । यहाँ आँबुखैरेनी अस्पतालले लक्षित वर्गलाई डेङ्गी सङ्क्रमणमा निःशुल्क उपचार गर्ने निर्णय गरेकाले समयमै स्वास्थ्य परीक्षण गराउन पनि उहाँले आग्रह गर्नुभयो । “गरिब तथा आर्थिक रूपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा व्यहोरिने निर्णय भएको छ”, अध्यक्ष चुमानले भन्नुभयो ।

बाढीपीडितको सहयोगमा कमी हुन नदिन अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, १ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बाढीमा परेकाहरूको उद्धार र राहतमा कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज अपराह्न सामाजिक सञ्जालमार्फत सो क्षेत्रमा हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाल सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन आग्रह गर्दै विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन पुनः अपिल गर्दछु ।”

उहाँले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयामिक जोखिममा पर्दै गएको जानकारी गराउँदै हिमाल पग्लिने क्रम जारी रहेकामा चिन्ता प्रकट गर्नुभएको छ । उहाँले नेपालजस्ता देशहरूले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको पनि बताउनुभयो ।

“हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन् । बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “मैले संयुक्त राष्ट्रसङ्घको महासभादेखि कोप–२८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ । नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ ।”

अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा पुरस्कृत

काठमाडौँ, १ भदौ : मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार जित्नुभएको हो ।

अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा जित्नुभएको पुरस्कारले नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा प्रदान गर्ने निर्देशक भामले बताउनुभयो । उहाँले भन्नुभयो, “यस महोत्सवको महत्वपूर्ण पुरस्कारमध्येको एक नेपाली कलाकारले पाउनुले विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिन्छ ।” उहाँले यो सफलता नेपालका चलचित्रकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल तथा ऊर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको बताउनुभयो । 

नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेत्री ल्हामोसँगै सोनम तोप्द्न, तेञ्जिङ डल्हाल, कार्म शाक्यलगायत कलाकारले अभिनय गर्नुभएको छ । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथालाई निर्देशक भामले लेखक अविनाश विक्रम शाहसँग मिलेर लेख्नुभएको हो । यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ । 

डोल्पाको चार हजार दुई सयदेखि छ हजारसम्मको उचाइमा छायाङ्कन गरिएको उक्त चलचित्रले गत साउन २३ देखि आजसम्म चल्ने महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा प्रतिष्पर्धा गरिरहेको छ । 

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाडौँ, १ भदौ : सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ ।

त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पु¥याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिनुभयो ।

बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताउनुभयो ।  बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ । बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पु¥याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ ।

राष्ट्रियसभा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिनुभयो ।     उहाँले भन्नुभयो, “त्यो सगरमाथा आरोहण गर्ने बाटोभन्दा केही टाढाको दूरीमा छ । प्रभावित क्षेत्रको विद्युत् गृहमा क्षति पुगेकाले अहिले बिजुली नहुँदा दूरसञ्चार सेवा प्रवाहमा असर परेको छ ।”

थामे खोलामा आएको बाढीले खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी

सोलुखुम्बु, १ भदौ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । 

उक्त बाढी भोटेकोसी हँुदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पु¥याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।”

खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उहाँको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित

खोटाङ, १ भदौ : पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।

पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५÷१५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताउनुभयो । उहाँको खेतको सिरानदेखि पहिरो गएको छ । 

“पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ”, उहाँले भन्नुभयो, “६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।” 

पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ । पहिराका कारण उहाँको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ । 

आर्थिक वर्ष २०८०÷८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।  पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका–२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको थियो । 

यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो ।  यस वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन् ।

सुक्खा पहिरोले अरनिको राजमार्ग बिहानदेखि अवरुद्ध

काभ्रेपलाञ्चोक, १ भदौ : सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको उहाँले बताउनुभयो । 

सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । 

सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का

काठमाडौँ, १ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै मन्त्री खड्काले मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको कूल विद्युत् उत्पादन क्षमता तीन हजार २०० मेगावाट पुगेको र गत आर्थिक वर्षमा मात्र करिब चार सय ६३ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको जानकारी दिनुभयो । मन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नेतर्फ सम्बद्ध निकायले थप प्रभावकारी रुपमा काम गर्न जरुरी देखिएको बताउनुभयो ।

मन्त्री खड्काले सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्तमात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।

  “प्राधिकरणले पछिल्लो समयमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा राम्रो प्रगति हासिल गर्दै आए पनि आम उपभोक्तालाई नियमित र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्न एवं जनतालाई विनाझन्झट छिटोछरितो रुपमा सेवा दिनेतर्फ प्राधिकरणले जिम्मेवार भई काम गर्नुपर्ने देखिएको छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले मुलकभित्र औद्योगिक करिडोर निर्माणगरी यस क्षेत्रका उद्योगी, व्यवसायीले मागेजतिको क्षमतामा विद्युत् शक्ति दिन, दुरदराजका सबै घरमा २०८२ साल भित्र विद्युत् सेवा पु¥याउन, स्वदेशमा खपत हुन नसकेको अतिरिक्त ऊर्जालाई छिमेकी मुलुकमा निर्यात गर्न आवश्यक पूर्वाधार निर्माणका साथै अधिकतम ऊर्जा खपत तथा व्यापार अनुकूल हुनेगरी नीतिगत, संरचनागत र कानुनी व्यवस्था मिलाउन मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुने विश्वास व्यक्त गर्नुभएको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि आगामी वर्षलाई थप उपलब्धिमूलक वर्षका रुपमा बनाउन थप समर्पण र उपलब्धिका लागि प्राधिकरणको सिङ्गो टोली लाग्ने मन्त्री खड्काको विश्वास छ । आगामी दिनमा प्राधिकरणले ऊर्जा मिश्रणको नीतिलाई आत्मासात् गर्दै सोही अनुकूलको आयोजना निर्माण गर्न र विशेषगरी ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पहलकदमी लिने उहाँले उल्लेख गर्नुभयो । मन्त्री खड्काले प्राधिकरणले मुलुकभर सस्तो र भरपर्दो विद्युत् सेवामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दै प्राधिकरणले लिएको लक्ष्य हासिल गर्न सरकारकोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

हमासद्वारा प्रस्तावित नयाँ सर्त अस्वीकार

हमासले दोहामा भएको वार्तामा इजरायलको प्रस्ताव अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो ।

इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्णयुद्धविरामका साथै कुनै पनि अवरोधबिना कैदीहरुको फिर्ताको माग गरेको थियो । 

इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले शुक्रबार आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग छुट्टै कुरा गर्र्दै अक्टोबर ७ देखि गाजामा बन्धक बनाइएकाहरुको रिहाइका लागि वार्ता महत्वपूर्ण हुनेमा जोड दिएका थिए । 

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामवादी आन्दोलनका क्रममा भएको आक्रमणमा हमास लडाकूहरूले २५१ जनालाई कब्जामा लिएका थिए । यसमध्ये १११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका सेनाले बताएको छ । इजरायलको सेनाले गाजामा कम्तीमा ४० हजार पाँच जना मानिस मारेको जनाइएको छ । जसमा सैनिक र नागरिक कति मारिए भन्ने खुलाइएको छैन । 

ग्रेट वालमा ड्रोन डेलिभरी सेवा सुरु

बेइजिङले ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सवारी (यूएभी) सुरु गरेको छ । मानवरहित हवाई वाहन सामान्यतया ड्रोन भनेर चिनिन्छ । यो चालक दल वा यात्रुहरू बिनाको विमान हो । यसले पर्यटकहरूलाई ग्रीष्मकालीन राहत सामग्री र आपतकालीन सामग्रीहरू मिनेटमै प्राप्त गर्न सहयोग गर्दछ ।

यस क्षेत्रमा मुख्यतया बाहिरी पदयात्रा, ग्रेट वाल अध्ययन जस्ता गतिविधिहरू आयोजना हुने गर्दछ । यहाँ व्यावसायिक सुविधाको अभावले आगन्तुकहरूलाई पिउने पानी जस्ता आपूर्तिहरू पुनःपूर्ति गर्न गाह्रो हुन्छ ।

आपूर्तिको डेलिभरीलाई सम्बोधन गर्न बादलिङ ग्रेट वाल रमणीय क्षेत्रले यूएभी डेलिभरी मार्ग सुरु गर्न डेलिभरी प्लेटफर्मसँग साझेदारी गरेको छ । ग्रेट वालको सबैभन्दा लोकप्रिय खण्डमध्ये, बादलिङ रमणीय क्षेत्र पहिलो पटक सन् १९५८ मा पर्यटकहरूका लागि खोलिएको थियो ।

ग्रेट वालको कुल लम्बाइ बीस हजार किलोमिटरभन्दा बढी छ । यसले उत्तरमा बेइजिङ, हेबेई र भित्री मङ्गोलिया र उत्तरपश्चिममा गान्सु र सिनजियाङलगायत १५ प्रान्तीय–स्तरका क्षेत्रहरू फैलिएको छ ।हालैका वर्षहरूमा बेइजिङले न्यून उचाइको अर्थतन्त्रको प्रयोगका लागि निरन्तर नयाँ परिदृश्यहरू विस्तार गर्दै आएको छ । त्यस्तै ड्रोन डेलिभरी सेवाको अतिरिक्त, पर्यटकहरूले पाइलट प्रशिक्षणमा ट्रायल क्लास लिन सक्छन् ।

अजरबैजान भ्रमणको तयारीमा राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अजरबैजानको दुईदिने भ्रमण गर्नुहुने क्रेमलिनले जनाएको छ ।भ्रमणका क्रममा रूस–अजरबैजान सम्बन्धको थप विकासका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याहरू छलफल गरिने क्रेमलिनले शुक्रबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

सन् २०१८ देखी राष्ट्रपति पुटिनको अजबैजानको यो पहिलो भ्रमण हुनेछ । रूसले अजरबैजान र अर्मेनिया बीचको शान्ति निर्माताको रूपमा आफूलाई पुनः स्थापित गर्ने उदेश्यका साथ यो भ्रमण हुन लागेको हो ।

ककेसस क्षेत्रमा रूसको प्रभाव हालैका वर्षहरूमा घटेको छ । ककेसस क्षेत्र ’ब्ल्याल सी’ र क्यास्पियन सागरको बिचमा अवस्थित एक पहाडीस्थल हो । यो क्षेत्रमा अजरबैजानसहित ६ वटा राष्ट्र रहेका छन् ।

मस्कोले सन् २०२२ मा युक्रेनमा आफ्नो आक्रमण सुरु गरेदेखि युरोपेली देशहरूले तेल र ग्यासको लागि अजरबैजानलाई विकल्पको रूपमा हेरेका छन् ।

उज्यालो पर्खिरहेको पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोर

ढोरपाटन (बागलुङ), १ भदौः पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर विद्युत् नपुग्दा अन्धकारमा बस्न बाध्य छन् ।

जिल्लाकै सबैभन्दा दुर्गमा मानिने यो ठाउँ नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रसमेत पर्छ । विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो, टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो ।

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा बने यहाँ बसोबास गर्नेको सङ्ख्या दुई सय बढी घरपरिवार हुन्छन् । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरु सबै अहिले पनि अन्धकारमा बस्ने गरेका छन् । उनीहरुले उज्यालो खोजी रहेका छन् । ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले निकै आकर्षक भए पनि विद्युत्लगायतका सुविधा नपुग्दा ओझेलमै छ ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कममात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताउनुभयो । गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाउनुभयो । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको हुँदा अहिले धेरैजसो स्थायी रुपमा बसोबास गर्न थालेको भन्दै राज्यको नजर नपुग्दा बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उहाँको भनाइ छ ।

विकले भन्नुभयो, “यो अलि बढी चिसो ठाउँ हो, यहाँ बसोबास गर्ने थालेको पुर्खादेखि रैछ, तर यतिका समयसम्म पनि बिजुली आएको छैन, हामीहरु पनि यही देशका नागरिक हौँ, राज्यको नजर पुग्न सकेन, देश विदेशमा घटना हुन्छ, टेलिभिजन हेर्न रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने ?, चार्ज गर्न पाइँदैन, एउटा मोबाइल चार्ज गर्न, दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो ।”

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो पार्न निकै अप्ठ्यारो हुने बताउनुभयो । पहिलेपहिले बजारबाट मट्टीतेल लिएर टुकी बाल्ने गरेको स्मरण गर्दै अहिले जताततै बिजुली पुगेपछि पाइन छोडेको उहाँको भनाइ छ ।

नेताहरुलाई धेरै पटक बिजुलीको सुविधा ल्याई दिन माग गरेको भन्दै गत वर्ष केही ठाउँमा विद्युत् खम्बा गाडे पनि अहिले त्यो काम अलपत्र जस्तै भएको घर्ती बताउनुहुन्छ ।

“निसेलढोरको जनता त धेरैतिरबाट मारमा छौँ, वनमा गएर घाँस दाउर ल्याउन पनि सिकार आरक्षले दिँदैन, रातमा बाल्ने सल्लाको दियालो काट्न पनि दिदैन, त्यतिमात्रै होइन खोलाको माछा मारेर खान पनि दिँदैन”, घर्तीले भन्नुभयो, “अहिलेसम्म जसोतसो बसिरहेका छौँ, पछिपछि त यहाँबाट पनि हटाउँछन् कि क्या हो, आफ्नो सुख, दुःख गरेर खान पनि मुस्किल छ, कहिले कहीँ बाहिरबाट मान्छे आइर बास बस्न खोज्छन्, अँध्यारोमा कसरी बस्नु हुन्छ भनेर जान्छन्, बिजुली आए पनि यो ठाउँको मुहार थोरै भए पनि फेरिने थियो ।”

निसीखोला गाउँपालिका–५ का अध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताउनुभयो । ढोरपाटन नगरपालिका–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्ने उहाँले बताउनुभयो । गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकेको भन्दै यस वर्ष विद्युत् जसरी पनि बाल्ने लक्ष्य लिएको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।

यहाँका नागरिकलाई विद्युत्को पहुँचमा ल्याउनका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० विनियोजन गरेका हुँदा बर्खा सकिएलगत्तै काम सुरु गर्ने उहाँले बताउनुभयो । लाइन निसेलढोर नजिकै रहेको आर्मी क्याम्पसम्म पु¥याइने अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

जुम्लामा तीन हजार नौ सय हेक्टरमा स्याउ खेती,१६ हजार घरधुरी स्याउ खेतीमा संलग्न

जुम्ला-यहाँको तीन हजार नौ सय हेक्टर जमिन स्याउ खेतीका योग्य छ । जसमध्ये करिब दुई हजार आठ सय हेक्टरमा मात्र स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।

जिल्लाका आठ स्थानीय तहका १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन् । यो वर्ष पन्ध्र हजार मेट्रिकटन स्याउ उत्पादन हुने कार्यालयले अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा २० प्रतिशतले कम हो ।

जिल्लाभर स्याउनको यकिन तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख देवकोटाले जानकारी दिनुभयो । करिब यहाँको अनुमानित ११ हजार मेट्रिकटन स्याउ बाहिरी जिल्लामा जाने गरेको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।

स्याउ निर्यातबाट मात्र जिल्लामा यो वर्ष ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादनले जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।

जिल्लाको प्राङ्गारिक स्याउ बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्याउ प्याकेजिङ स्टेण्डर कार्टुन रङ्गिन कलरका १० केजी क्षमताका १० हजार कार्टुन यहाँका स्याउ किसान, कृषि उद्यामी र स्याउ व्यापारीलाई कार्यालयले प्रति कार्टुनको रु ७० ले बिक्री वितरण गरिरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा उच्च घनत्व स्याउको जातअन्तर्गत फुजी, गाला, गोल्डन, डैली सियस, रैडडैली सियस, किंगरेडडेली सियस, फुजीकिकु, ग्रिनस्मीथ र रेडचिफ जातका स्याउ पाइने गरेको परियोजना कार्यान्वयन एकाइ, जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत शाहीको भनाइ छ ।

बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोनबाट ५० प्रतिशत अनुदान सहयोग र कर्णाली प्रदेश सरकारबाट ७० प्रतिशत अनुदान सहयोगमा स्याउका विरुवा वितरण हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, जुम्लाले जनाएको छ ।

यो याममा स्याउ परिपक्का नहुँदै बजारमा देखिन थालेछि स्याउको मूल्यमा ह्रास आउने देखिन्छ । स्याउ बगैँचाबाट प्रति केजीको रु ६५ ले व्यापारीलाई स्याउ बिक्री गरेको तिला गाउँपालिका किसान बताउँछन् । जिल्लामा स्याउको मूल्य एकरुपता नहुँदा किसान मारमा पर्ने गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन भन्नुभयो ।

नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि स्थापित कम्युनिष्ट पार्टी अहिले विभिन्न रूपमा विभाजित भएकाले विगतका कमजोरीलाई सच्याएर एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

सो कार्यक्रममार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू विशेश्वर यादव, धनेश्वर यादव, कुलदीप यादवलगायत नेताहरू नेकपा (एस) मा प्रवेश गर्नुभयो । विशेश्वर यादव जसपा धनुषा क्षेत्र नम्बर २ (क) का पार्टी इन्चार्ज हुनुहुन्छ भने धनेश्वर यादव धनुषा कमलानगर नगरपालिका–३ का पूर्व वडाध्यक्ष हुनुहुन्छ । अध्यक्ष नेपाल, पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा, सोमप्रसाद पाण्डे, केदार सञ्जलले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।

चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप

चितवन-जिल्लाका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।

पशु सेवा कार्यालय र स्थानीय पालिकाहरूको सहकार्यमा लम्पी स्किनविरुद्ध खोप लगाइएको हो । सेवा कार्यालयका अधिकृत भीम भट्टले भरतपुर महानगरपालिकाका दुई हजार आठ सय गाईभैँसीमा लम्पी स्किनविरुद्ध खोप लगाइएको बताउनुभयो । उहाँकानुसार खैरहनी नगरपालिकामा दुई हजार, राप्ती नगरपालिकामा एक हजार नौ सय ३६, रत्ननगर नगरपालिकामा एक हजार पाँच सयवटा गाईभैँसीमा खोप लगाइएको छ ।

साउन २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको खोप अभियानमा माडी नगरपालिकाका एक हजार दुई सय ७६, इच्छाकामना गाउँपालिकाका सात सय ६७ गाईभैँसीमा खोप लगाइएको छ । खोप लगाइएकामध्ये गाई र साँढे सात हजार तीन सय २४, बाच्छा र बाच्छी एक हजार सात सय ३४, भैँसी र राँगा सात सय ७७ र पाडापाडी चार सय ४४ वटा रहेका छन् । बागमती प्रदेशभरि यो अभियान सञ्चालन गरिएको हो ।

यहाँस्थित कालिका नगरपालिकामा भने वैशाखमा खोप अभियान सञ्चालन भइसकेको छ । अधिकृत भट्टले भन्नुभयो, “कालिका नगरपालिकाले आफ्नै खर्च र कार्यालयको सहयोगमा खोप लगाइसकेको छ ।”

गर्मी समयमा लामखुट्टे, झिँगाको टोकाइलगायत कारणले यो रोगको प्रकोप देखिने गर्दछ । गाईभैँसीमा रोग लागेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको कडा गोलो गिर्खा देखिने, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्नेलगायत समस्या देखिने गर्छन् ।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट रोग अन्यमा सर्ने गरेकाले खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु चिकित्सकको सुझाव छ ।

बाँकेमा उद्धार गरियो रातो ‘कोरल रेड कुक्री’ प्रजातिको सर्प

जानकी (बाँके), ३१ साउनः बाँकेमा नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका–८ पेरानीस्थित एक विद्यालयको कक्षाकोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार गरेको हो ।

निकुञ्जका रेन्जर यामबहादुर रावतकानुसार यस प्रजातिको सर्प भारत र नेपालका केही स्थानमा मात्र पाइने गरेको छ । दुर्लभ नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । “नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको सर्प पाइएको छ । बाँकेमा दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र रातो सर्प पाइएको थियो”, उहाँले भन्नुभयो । 

झट्ट हेर्दा यस सर्पको टाउको र घाँटी छुट्टिएको स्पष्ट देखिँदैन । यो अन्य सर्पभन्दा कमै मात्रामा पाइने मन्द विषालु सर्पको प्रजातिमा पर्दछ । उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जङ्गल क्षेत्रभित्र लगेर व्यवस्थापन गर्दै आएको रेन्जर राउतले बताउनुभयो ।

भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न कमिटी गठन

भक्तपुर, ३२ साउनः भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज छानबिन समिति गठन गरेको छ । हिजो दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आउनुभएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी सहायक प्र्मुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।  समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला हुनुहुनुन्छ । 

यसअघि आजै गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न प्रहरीले पनि छानबिन समिति गठन गरिसकेको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनाएर आजदेखि काम सुरु गरेको प्रहरीले जानकारी दिएको छ । 

युवा सङ्घले बुझायो ज्ञापनपत्र

सोही दुर्घटनाका सम्बन्धमा राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी भक्तपुरले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष रबिन थापाको नेतृत्वको युवा सङ्घको टोलीले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै हिजो गठ्ठाघरमा भएको दुर्घटनामा चालकलाई कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यबस्था गरिदिन माग गरेको छ । 

साथै सङ्घका अध्यक्ष थापाले ज्ञापनपत्रमार्फत प्रजिअ श्रेष्ठलाई दुर्घटना न्यूनीकरणका दीर्घकालीन उपाय अवलम्बन गर्न, सडक मर्मत गर्न, सडक बत्ती नियमित बल्ने व्यबस्था गर्न, ट्राफिक लाइटको नियमित बल्ने व्यवस्था गर्न लगायतको माग गरेको छ । 

त्यस अवसरमा प्रजिअ श्रेष्ठले घटनाबारे युवाहरुले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले भीडलाई थप आक्रोशित बनाएको भन्दै युवाले यस्ता घटनालाई रोक्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले दुर्घटनामा गल्ती गर्ने जोसुकै भए पनि कारबाहीको दायरमा ल्याइने बताउनुभयो । 

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने ,महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह

कञ्चनपुर, ३२ साउन : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले आज जारी गर्नुभएको सार्वजनिक सूचनाअनुसार परियोनाको बाँधको सिल्ट सफाइ गर्नका लागि बाँधका ढोका खोलिने भएका हुन् । भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते साँझसम्म बाँध सफा गर्न ढोका खोल्न लागेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जनाउनुभयो ।बाँध खोलिएपछि महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन भनिएको छ ।

उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकार सधै तयारः मन्त्री भण्डारी

काठमाडौँ, ३२ साउनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग, व्यवसायीहरुका समस्या समाधानका लागि सरकार सधै तयार रहेको बताउनुभएको छ । आज नेपाल सिमेन्ट उत्पादन सङ्घको नवनिर्वाचित कार्यकारिणी समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रियामा मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायीहरुले गरेका लगानीहरु कुनै हालतमा खेर जान नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा ठूला उद्योग व्यवसाय सञ्चालन होउन भन्ने सरकारको उद्देश्य छ, उद्योग क्षेत्रको लगानी खेर जान नदिने सरकारको दायित्व हो, हामी तपाईंको लगानी, पुँजी र इच्छाशक्तिलाई सम्मान गर्दै कुनै पनि हालतमा खेर जान दिने छैनौँ ।”

उद्योगी व्यवसायीहरुले गरेका लगानीमा सरकार सधै सकारात्मक हुने तथा उद्योगमा भएका समस्या र क्षतीका विषयमा सरकार गम्भीर भएर सम्बोधन गर्ने मन्त्री भण्डारीको भनाइ थियो । 

“नेपालमा उत्पादन भएका वस्तुभाउहरुले अब बजार पाउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले उद्योगहरुलाई सहुलियत प्रदान गर्ने छ, उद्योगसम्मको पहुँचमार्ग सरकारले बनाउने छ ।” 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले उद्योग क्षेत्रमा देखिएका समस्याका कारण उद्योग क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विभिन्न कारणले हाम्रा उद्योगहरु धरासायी बन्ने अवस्थामा पुगेका छन्, सरकारले हामीलाई सहयोग नगरे, मुलुकको उद्योग व्यवसाय नै धरासायी बन्ने अवस्था आएको छ ।”

नेपाल सिमेन्ट उत्पादन सङ्घका नवनिर्वाचित अध्यक्ष रघुनन्दन मारुले सरकारले सहयोग गरेको खण्डमा उद्योगहरु थप बिस्तार तथा विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता उत्पादन र रोजगारी हो, सरकारले हामीलाई सहयोग गरोस् हामी लगानी बढाउन तयार छौँ ।”

विकासका कामलाई उच्च प्राथमिकता दिन ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ, ३२ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकासका कामलाई उच्च प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक र वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विकासे मन्त्रालय भएकाले सोहीअनुसार क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “मुलुकको आर्थिक विकास ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रबाट सम्भव छ, यस क्षेत्रको विकास आफ्नो प्रमुख दायित्व र कर्तव्य सम्झेर काम गर्नुहोस्, कानुनी समस्या समाधान गर्न उच्च तहमा मन्त्रालयले काम गर्नेछ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले दायित्व निर्वाह गर्ने क्रममा देखिएका समस्या मात्र नराखी समस्या समाधानको बाटोसमेत खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री खड्काले काम गर्ने सिलसिलामा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । “जनतालाई दुःख नहुनेगरी चाँडो काम गर्ने वातावरण निर्माण गर्न कर्मचारीलाई निर्देशन दिन चाहन्छु । जल तथा ऊर्जा आयोगलाई पनि शक्तिशाली बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । स्रोत र साधनको उच्चतम प्रयोग गरी विपद् आउँदा क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले मन्त्रालयसँग सम्बन्धित काममा अन्य मन्त्रालय र निकायसँग समन्वय गर्नुपर्ने विषयमा निरन्तर छलफल गरेर यस क्षेत्रको समस्या समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यले विपद्मा हुने क्षतिलाई न्यूनीकरणका लागि आपत्कालीन बजेटको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले जलस्रोत ऐन संसद्मा प्रवेश गरेकाले चाँडो पास गरे काम गर्न सहज हुने धारणा राख्नुभयो ।

ऊर्जासचिव गोपालप्रसाद सिग्देलले ऊर्जा क्षेत्रको समग्र विकासका लागि कार्यसम्पादन सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले भेरी–बबई डाइभर्सन आयोजना र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई तदारुकता साथ अगाडि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन रहेकाले यसमा मन्त्रालयले विशेष ध्यान दिने उल्लेख गर्नुभयो ।

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिको सहभागीता रहेको उक्त बैठकमा मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, नेपाल विद्युत् प्राधिकरण र विभिन्न आयोजनाले आ–आफ्नो कार्यालयको कार्यप्रगतिबारे जानकारी दिएका थिए ।

पौडी प्रतियोगिता भदौको पहिलो सातादेखि,सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क सहभागिता

काठमाडौं, ३२ साउनः तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको आयोजना आगामी भदौमा हुने भएको छ । टुसाल मल्टिभेन्यु प्रालिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ७ गतेदेखि सुरु हुने जानकारी दिइयो । उक्त प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रवीनमान सिंह बस्नेतले बताउनुभयो ।

प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गल्र्स र सिनियर ब्वाइज र सिनियर गल्र्स गरी चारवटा विधामा प्रतिस्पर्धा गराइनेछ ।

विजयी खेलाडीलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरिने छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले निःशुल्क सहभागिता गर्ने बताइएको छ । प्रतियोगिताको प्राविधिक र निर्णायकको जिविष्णु खड्कालगायत ११ जनाको टोलीले जिम्मा लिनेछन् । 

थामेमा भीषण बाढी आएपछि दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

खोटाङ, ३२ साउन : जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

“दूधकोशीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ”, जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गर्नुभएको सूचनामा भनिएको छ, “दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।”

बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

बाढीले खोटाङ र ओखलढुङ्गाको कोशी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन् । दूधकोशीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोलुखुम्बुमा आएको बाढी खोटाङ आसपासमा आइपुग्न केही घण्टा लाग्ने अनुमान छ । थामेखोलाको बाढी थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झरेपछि जिल्ला विपद् व्यवस्थापन समिति खोटाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोली सम्भावित बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

सोलुखुम्बुमा हिम ताल फुटेर वा हिमपहिराको कारणले बाढी आएको भन्ने यकिन भएको छैन । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।

थामे खोला र भोटेकोशीको बाढी पहिरोपीडितलाई तत्काल उद्धार गर्न निर्देशन

विराटनगर, ३२ साउनः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा थामे खोला र भोटेकोशीको बाढी र पहिरोपीडित भएकाहरुलाई तत्काल उद्धार गर्न सुरक्षा निकायलाई आज निर्देशन दिनुभएको छ ।

उहाँले बाढी र पहिरोमा परेकालाई तत्काल उद्धार एवं राहत वितरण गर्न निर्देशनसँगै सो स्थानमा उद्धार टोली पुगिसकेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा आज दिउँसो बाढी र पहिरो आएपछि मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । सो क्षेत्रमा तत्काल भएको क्षतिको विवरण आइनसकेको बताइएको छ ।

सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने वनमन्त्री ठकुरीको प्रतिबद्धता

काठमाडौँ, ३२ साउनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने प्रतिबद्धता दो¥याउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथै फाउन्डेसनले आयोजना गरेको जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउने अभियान घोषणा कार्यक्रममा उक्त प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, “हामीले यसअघि नै आफ्नो मन्त्रालयलाई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेका छौँ, अब सबै मन्त्रालयमा यो अभियान पु¥याउनेछौँ, यसमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।” उहाँले सिंहदरबारभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रतिबन्धमा कडाइ गरिने उल्लेख गर्नुभयो ।

मन्त्री ठकुरीले वातावरणीय प्रदूषण र जलवायु प्रदूषण अहिले मुख्य समस्याका रुपमा रहेको उल्लेख गर्नुभयो । नेपालले अहिले वन क्षेत्र बढाएर करिब ४५ प्रतिशत पु¥याएको तथा स्वच्छ ऊर्जाको खपतका साथै बायोग्यास प्लान्टमा ध्यान दिइएको पनि उहाँले बताउनुभयो । हिमाली क्षेत्रमा तापक्रम वृद्धि हँुदै गइरहेकाले यसको बढी असर पनि त्यस क्षेत्रमा पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

वनमन्त्री शाहीले नेपालले जलवायु परिवर्तनलाई मुख्य प्राथमिकतामा राखेर नीतिगत सुधारको थालनी गरेको पनि जानकारी दिनुभयो ।

 सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय सङ्कटले पर्वावरण मात्रै नभई जीवनलाई नै खतरामा पु¥याएको उल्लेख गर्नुभयो । “महिला र वातावरणमाथि पनि विभेद छ, यसलाई कसरी न्याय दिलाउने त्यसतर्फ ध्यान दिन जरुरी छ । हाम्रो अभ्यासलाई पनि हामी आफैँले चुनौती दिनुपर्छ”, उहाँले भन्नुभयो । 

उहाँले वातावरणीय न्याय दिलाउने कार्यमा सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी भएको खाँचो औँल्याउनुभयो । वातावरण र विकासलाई सन्तुलन कायम गर्नेतर्फ पनि ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो ।

यसअघि समूहगत छलफल सत्रमा वन तथा वातावरण राज्यमन्त्री रुपा बिकले वातावरणलाई प्रदूषित तुल्याउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले तीज पर्वलाई कसरी हरितमैत्री बनाउनेभन्नेबारे सरोकारवालासँगको छलफल सान्दर्भिक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको बढी असर महिलामा देखिएको उल्लेख गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तल्लो तहसम्म सचेतना अभियान चलाउन जरुरी भएको बताउनुभयो । 

पूर्वमन्त्री डा विमला राई पौडेलले जलवायु परिवर्तनको असरसँग जुध्न सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । “नयाँ लुगा किन्नु भनेको नयाँ रूख ढाल्नु हो, पुरानो लुगा फाल्नु भनेको प्रकृतिलाई बोझ गराउनु हो”, उहाँले भन्नुभयो, संस्कृतिको जगेर्ना गर्दै चाडपर्वका नाममा हुने विकृतिलाई निरुत्साहित गरौँ ।”

मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको जोखिमको प्रभाव हरेक क्षेत्रमा परेको बताउँदै मानिसका हरेक क्रियाकलापलाई वातावरणमैत्री बनाउन जरुरी रहेको औँल्याउनुभयो ।

संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड) का सदस्य बन्दना राणाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरण विनाश र जलवायु परिवर्तनको असर हरेक क्षेत्रलाई रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनको असरबाट जोगाउन सबैलाई जनचेतना जगाई सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य जरुरी भएको बताउनुभयो । अभियन्ता दीक्षा बरालले वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे सम्बन्धी जनचेतना अभिवृद्धि जरुरी भएको उल्लेख गर्नुभयो ।

गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर हुनु आवश्यक छः डा कोइराला

विराटनगर, ३२ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्न सके समस्या पहिचानका लागि बिरामीले अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभएको छ ।

नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बुढीगङ्गा गाउँपालिका–७ स्थित डङ्ग्राहामा आज निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै नेता डा कोइरालाले जनताले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेकाले प्रतिष्ठानले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले गाउँघर मै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले पनि जनताको चाहनालाई बुझेर गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ, यसले सामान्य बिरामीको तत्कालै उपचार हुन्छ भने जटिल र दीर्घरोगका बिरामीलाई तत्कालै अस्पताल जान सहयोग पुग्छ । त्यसैले यस्ता कार्यक्रम आवश्यक छन् ।”

प्रतिष्ठानले शिविरमा मिर्गाैला, मुटु, मधुमेहलगायत रोगको परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरेको थियो । यस्तै इको, इसिजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याव सेवा प्रदान गरी जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा थप उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले शिविरमा पाँच सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको र नेता डा कोइराला पनि आफैँ बिरामीको परीक्षण गर्न खटिएको बताउनुभयो ।

उद्योगमन्त्रीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

काठमाडौँ, ३२ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायतबीच रहीआएको आपसी सम्बन्ध, नेपालको आर्थिक विकास, सुशासन एवं मानवीय सहायतालगायत विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा भेटमा मन्त्री भण्डारीले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएको बताउँदै यस अभियानमा नेपाललाई सघाउन आग्रह गर्नुभयो । औद्योगिक विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नका लागि पनि नेपाललाई सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधिलगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि सरकारको प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । उहाँले जडिबुटी, पश्मिना, चिया, तयारी पोसाक, गलैँचालगायत प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

राजदूत फेनले मन्त्री भण्डारीलाई पुनःनियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गर्नुभयो ।

बेलायतको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको र नेपालसँग थप साझेदारीका कार्यक्रममा अगाडि बढाउँदै लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ऊर्जामन्त्री खड्काको निर्देशनमा सङ्खुवासभा भोटखोलाका चार लघु जलविद्युत् आयोजना मर्मत

खाँदबारी (सङ्खुवासभा), ३२ साउन : सङ्खुवासभाको भोटखोला गाउँपालिकाभित्र सञ्चालनमा रहेका लघु जलविद्युत् केन्द्र धमाधम मर्मत हुन थालेका छन् ।अविरल वर्षासँगै आएको बाढी र अन्य कारणबाट क्षति पुगेका जलविद्युत् केन्द्रको मर्मतका लागि ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको टोली भोटखोला पुगेर लघु जलविद्युत् केन्द्र मर्मत थालेको हो ।

भोटखोलामा हाल १५ लघु जलविद्युत् केन्द्र सञ्चालनमा रहेका छन् । गाउँपालिकाका स्थानीय समाजसेवी डुक्पा थिकेपा भोटेले भोटखोलामा बिग्रेका ११ लघु जलविद्युत् केन्द्रमध्ये हालसम्म छ वटाको परीक्षण गर्दा चार वटा मर्मतमा आइसकेको र बाँकीलाई पनि मर्मत गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

जलविद्युत् केन्द्रमा भोटखोला–४ मा रहेको बाङ्गखोला लघु जलविद्युत्, खावुखोला लघु जलविद्युत्, रुकुमा लघु जलविद्युत् र चेपुवा लघु जलविद्युत् केन्द्र मर्मत भएका छन् । माङ्गमुगखोला जलविद्युत् आयोजनाको मुहानमा ठूलो पहिरो गएकाले तत्काल सञ्चालनमा समस्या भएको वैकल्पिक ऊर्जा केन्द्रका इञ्जिनियर विनोद भट्टराईले बताउनुभयो ।

मान्दोखोला लघु जलविद्युत् आयोजना पनि तत्काल मर्मत गर्न समस्या रहेको उहाँले जानकारी दिनुभयो । गत असार ५ गते आएको पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने एकुवाखोला माथिको पक्की पुल बगाएपछि डेढ महिनादेखि कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक अवरुद्ध हुँदा सदरमुकामसँग उत्तरी क्षेत्रको यातायात सम्पर्क टुटेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंह र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

महेन्द्रनगर (धनुषा), ३२ साउन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता करारपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उहाँले कार्यसम्पादन सम्झौताका लागि भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जर्नादनसिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, अर्थमन्त्री सुनिलकुमार यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसँग करार सम्झौता गर्नुभयो ।

प्रादेशिक राजधानी जनकपुरधाम बाहिर रहेकाले श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायसँग भने आज कार्यसम्पादन सम्झौता करार हुन सकेन । सम्झौतामा मन्त्रालयका नीतिगत विषयलाई वार्षिक कार्यक्रमसँग आबद्ध गरेर कार्यसम्पादन सूचक र मुख्य नतिजा क्षेत्र सूचक खुल्ने गरी मन्त्रालयका संयन्त्रमार्फत भदौ १५ गतेभित्र विवरण तयारी तथा स्वीकृत गर्नुपर्ने विषय उल्लेख छ । यस्तै, कार्यसम्पादन विवरणमा मन्त्रालयका कार्यक्रम, क्रियाकलापको सूची र कार्यान्वयनको समय सीमा उल्लेख रहनेछ ।

कार्यसम्पादन सम्झौतासम्बन्धी करारपछि मुख्यमन्त्री सिंहले कार्यसम्पादन सम्झौताका कारण मन्त्रालयका काममा प्रगति, पारदर्शिता र समयबद्धता कायम हुने बताउनुभयो । उहाँले सम्झौता कार्यान्वयनबाट मासिक, चौमासिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन हुने भन्नुहुँदै त्यसबाट मन्त्रालयमा काम भएको वा नभएको, नभएमा त्यसका कारण तथा जिम्मेवार व्यक्तिको पहिचान गर्न सकिने उल्लेख गर्नुभयो । मुख्यमन्त्री सिंहले भन्नुभयो, “यसबाट कर्मचारीको जिम्मेवारीसँगै पुरस्कृत तथा कारबाही हुने आधार तय हुनेछ ।”

प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्यालले भदौ १५ गतेभित्र कार्यसम्पादनका मुख्य सूचक तथा मुख्य नतिजा क्षेत्र निर्धारणसहितको विवरण तयार तथा स्वीकृत भएपछि सम्झौताको प्रक्रिया पूरा भएको मानिने बताउनुभयो । कार्यसम्पादन सम्झौताबाट कुनै महिना काम नहुने र कुनै महिनामा धेरै काम हुने प्रवृत्ति निरुत्साहित भई भदौदेखि असारसम्म समानुपातिक हिसाबले काम व्यवस्थित हुने उहाँको भनाइ थियो ।

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

मकवानपुर, ३२ साउनः बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

काठमाडौँ, ३२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस पिन्जले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ । जर्मनी नेपालको एक ठूलो र पुरानो विकास र व्यापारको साझेदार मुलुक हो ।

प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गर्नुभयो ।भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

मङ्कीपक्सको प्रकोपसँग लड्न निगरानी बढाउन डब्लुएचओको आह्वान

पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङक्रमणका घटना पुष्टि भइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशहरूलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गर्नुभएको छ

उहाँले सामाजिक सञ्जाल एक्समार्फत मङ्कीपक्स भाइरसको सङ्क्रमणसँग लड्नका लागि विश्वव्यापी निगरानी, डाटा साझेदारी र सहकार्य बढाउनुपर्ने कुरामा जोड दिनुभयो 

अल जजिराले पछिल्लो समय स्विडेनमा पुष्टि भएको मङ्कीपक्सको पहिलो केसबाट यो नजिकको सम्पर्कबाट फैलिने अधिक खतरनाक संस्करण भएको बताएको छ । योसँगै स्विडेन सरकारले बिहीबार अफ्रिकाबाहिर यो भेरिएन्टको पहिलो केस पहिचान भएको जनाएको छ । 

स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री ज्याकब फोर्समेडले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “स्विडेनमा हामीसँग अधिक गम्भीर प्रकारको क्लेड १ नामको एमपक्स (मङ्कीपक्स) पुष्टि भएको छ ।”

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । 

हाल साउदी अरेबियाबाट फर्केका एक व्यक्तिमा भाइरसको पुष्टि भएपछि पाकिस्तानमा पनि पहिलो मङ्कीपक्सको घटना पुष्टि गरेको एआरवाई न्यूजले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।    एआरवाई न्यूजका अनुसार पेशावरको खैबर मेडिकल विश्वविद्यालयले सङक्रमणको पुष्टि गरेको हो ।

अर्घाखाँचीमा आठ हजार चार ४४ हेक्टरमा सिँचाइ सुविधा

अर्घाखाँची, ३२ साउनः जिल्लामा खेतीयोग्य जमिनमध्ये आठ हजार चार सय ४४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । कूल ४५ हजार सात सय १२ खेतीयोग्य जमिनमध्ये २८ हजार छ सय नौ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ ।

खेतीयोग्य जमिनमध्ये तीन हजार ८१ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको र पाँच हजार तीन सय ६३ हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर भेषराज भुसालले बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ मा गरेका सेवा प्रवाह तथा विकास निर्माणको समीक्षा कार्यक्रममा गत आवमा प्राप्त भएको बजेट रु २१ करोड ४७ लाख ५४ हजारमध्ये १८ करोड ९१ लाख ५१ हजार अर्थात ८८ दशमलव ०८ प्रतिशत खर्च अर्थात् र ९९ दशमलव ४८ प्रतिशत भौतिक प्रगति भएको डिभिजन कार्यालयका लेखापाल शिवहरि खनालले बताउनुभयो ।

एक सय तीन योजनामध्ये एक वर्षमा ९४ वटा योजना सम्पन्न भएका छन् । चार वटा योजना क्रमागत बहुवर्षीय र पाँच वटा योजना कार्यान्वयनमा जान सकेका छैनन् । सञ्चित कोषमा रकमको कमी हुँदा काम सम्पन्न भएका नौ वटा योजनाको रु एक लाख ४७ हजार १७ हजार भुक्तानी हुन नसकेको इञ्जिनियर भुसालले बताउनुभयो ।

आव २०८०÷८१ मा यस कार्यालयबाट विभिन्न सिँचाइ योजनाका आठ वटा बाँध निर्माण, १९ दशमलव ६२ किमी पक्की कुलो, तीन वटा पोखरी, १५ हेक्टरमा थप सिँचाइ सुविधा र एक सय ७१ हेक्टरमा सिँचाइ सुदृढीकरण भएको छ । दुई दशमलव ३८ किमी तटबन्ध, एक दशमलव पाँच हेक्टर जमिन उकास, ४८ घर सुरक्षित र एक सय ६५ हेक्टर जमिन सुरक्षित भएको डिभिजन प्रमुख भुसालले जानकारी दिनुभयो ।

सिँचाइ विना खेती हुन नसक्ने भएकाले सिँचाइ योजना निर्माणमा सबै सरकार लाग्नुपर्ने जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । उहाँले सिँचाइ कुलो निर्माण भएपछि युवा आर्थिक स्वरोजगार भएको बताउनुभयो । सबैभन्दा उत्तम पेसाका रुपमा रहेको कृषि पेसालाई सबैले सम्मान गर्नुपर्ने उहाँको भनाइ छ ।

कृषिजन्य वस्तुको उत्पादनविना आर्थिक समृद्धि नहुने भएकाले उत्पादनका लागि सिँचाइ पहिलो आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँले गाउँमा खेतीपाती गर्ने कृषकलाई सम्मान गर्नुपर्ने बताउँदै कृषि पेसालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गरेको काम प्रशंसायोग्य रहेको शितगङ्गा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलको भनाइ छ । नगरपालिकाले समन्वय गरेर काम अगाडि बढाएको बताउँदै कुलो बनेपछि बाँझो रहेको जमिनमा खेती हुन सुरु भएको उहाँले बताउनुभयो ।

गृहमन्त्री लेखकद्वारा पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

काभ्रेपलाञ्चोक, ३२ साउनः गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आज अनुगमन निरीक्षण गर्नुभएको छ । भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको भौतिक संरचना निर्माणको अवस्था अनुगमन गरी उहाँले यसको प्रगतिबारे जानकारी लिनुभएको हो ।

गृहमन्त्री लेखकलाई रु १० अर्ब ५२ करोडको लागतमा निर्माणाधीन प्रतिष्ठानको संरचना निर्माणबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी गराउनुभयो । यस्तै, लेखकलाई भारतीय निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माणको प्राविधिक पक्षबारे जानकारी गराएका थिए । लेखकले आयोजनाको अनुगमनका क्रममा गुणस्तरीय तरिकाले निर्धारित समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गर्नुभएको छ ।

गृहमन्त्री लेखकले निर्माणाधीन प्रतिष्ठानको निर्माणका क्रममा केही समस्या आए तत्काल आफूलाई जानकारी गराउनसमेत आग्रह गर्नुभयो । “प्रतिष्ठानको निर्माण कार्य समयमै सक्नुहोला, यसबीचमा केही समस्या आए तत्काल मलाई भन्नुस् समाधान गरिहाल्छौँ”, उहाँले भन्नुभयो । भारतको सहयोगमा उक्त प्रतिष्ठान निर्माण भएकामा लेखकले राजदूतमार्फत भारतीय सरकारसँग खुसी व्यक्त गर्नुभएको छ ।

अनुगमनका क्रममा राजदूत श्रीवास्तवले निर्माणको काम समयमै सक्नेगरी जनशक्ति परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार हाल दैनिक आठ सय जनशक्ति परिचालन गरिएकामा निर्माण कार्य समयमा सक्न थप जनशक्ति थप्ने तयारी गरिएको छ । करिब ८० प्रतिशत भौतिक निर्माणको काम सकिएको उहाँको भनाइ थियो ।

अनुगमनमा पूर्वसांसद एवं नेपाली कांगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, पनौतीका नगरप्रमुख रामशरण भण्डारी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी)का निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी, बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रज्वल महर्जनलगायतको सहभागिता थियो ।

विसं २०७९ असारमा निर्माण सुरु भएको आयोजना भारतीय निर्माण कम्पनीसँग आगामी २०८२ असारमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । करिब आठ सय ६० रोपनी क्षेत्रफलमा निर्माणाधीन प्रतिष्ठानमा प्रशासनिक भवन, शैक्षिक भवन, खेलकुद भवन तथा मैदान, स्विमिङ पुल, अडिटोरियम हल, हेलिप्याडलगायतका एक सय छवटा भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् ।

बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शुक्रबार खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगाएको छ ।

सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ ।

वर्षातविना नै कोशीमा आएको बाढीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ ।