`

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, ३२ साउन- पर्सा, पटर्वासुगौली गाउँपालिका-४ अकवा गाउँबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम, चरेश १ सय ९२ किलोग्राम र गाँजाको धुलो २ सय ६७ किलोग्राम सहित कालिकामाई गाउँपालिका-१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त गाउँमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले गाउँको विभिन्न स्थानबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ११ किलोग्राम सहित धादिङ रोराङ गाउँपालिका-९ बस्ने ३६ वर्षीय उत्तम ठकुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९३३७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्रक चालक ठकुरीलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-११ बाट अवैध लागूऔषध चरेश ३८ ग्राम ८ सय ७० मिलिग्राम सहित काठमाडौं त्रिपुरेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका-६ घर भएका २३ वर्षीय रोशन कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट थापाथलीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

चितवन, इच्छाकामना गाउँपालिका-५ भक्टेश्वरा बस्ने ५८ वर्षीया धन माया गुरुङलाई अवैध लागूऔषध गाँजा १३ किलो ९ सय ८६ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, कमल गाउँपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम, गाँजा १ सय ग्राम र नगद १२ हजार ६ सय रूपैयाँ सहित सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल गुरूङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने २४ वर्षीय महेन्द्र शाही र सोही नगरपालिका-२ बस्ने २४ वर्षीय जगत शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, कानेपोखरी गाउँपालिका-३ स्थित कानेपोखरी-रंगेली सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भस्कर कुमार शर्मा र २५ वर्षीय सौरव कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एल ९३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

काठमाडौँ, ३२ साउन : राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ ।

कोषका संरक्षक रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वनमन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिनुभएको हो ।राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्नसक्ने व्यवस्था रहेको छ ।

मुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, ३२ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको

नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘काठमाडौँ सहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ बिषयक अन्तरक्रियामा उहाँले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यको सुरुआत गरेको समेत बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनको बहस बहसका लागि आग्रह गर्नुभयो । “शासकीय स्वरूप र निर्वाचन प्रणालीमा देखापरेका समस्या तथा संविधानमा कतिपय कुरा मिलाउनुपर्ने छन् ।

यसबीचमा संविधानको व्यवहारिक अभ्यासका क्रममा देखापरेका सङ्गति नमिलेका कुराहरू सच्च्याउने अवसर पनि छ”, उहाँले भन्नुभयो, “विज्ञहरूले यति बेला मन खुलाएर कहाँ कहाँ सच्च्याउनुपर्ने हो । त्यस विषयमा सुझाव दिन जरूरी छ । त्यसैले म देश विकासका लागि राजनीतिक प्रणालीमा के के गर्न आवश्यक छ, त्यसमा पनि सुझावका लागि आग्रह गर्दछु ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ, ललितपुर र भक्तपुरको एकीकृत विकासका लागि भू–उपयोग नीति आवश्यक रहेको धारणा राख्नुभयो । “काठमाडौँमा बस्ती बसाउन कहाँ, खेतीपाती गर्ने कहाँ ? बजार बसाउन कहाँ ? भनेर भूउपयोग नीति प्रभावकारी ढङ्गबाट लागू गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “अहिलेको जस्तो जसले, जसरी, जे गरे पनि छुट पाउने अववस्था रहनुहुँदैन । त्यसैले भूउपभोग नीति कार्यान्वयन हुनुपर्छ ।”कार्यक्रममा एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले अव्यवस्थित बसोबास व्यवस्थित गर्न पनि भूउपभोग नीति आवश्यक रहेकामा जोड दिनुभयो ।

एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि

काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि बस्ने भएको छ ।

पार्टी महासचिव घनश्याम भुसालले भदौ ९, १० र ११ गते बिहान काठमाडौँमा बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँले बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचना निर्माणलगायत विविध विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

‘जवानीले पोल्यो’ भन्दै आए सञ्चिता र पुष्कर

काठमाडौं । गायिका शान्तीश्री परियारको स्वरमा रहेको गीत ‘जवानीले पोल्यो’को भिडियो सार्वजनिक भएको छ । गीतमा तुला आर लामिछानेको शब्द, पवन परियारको संगीत र एरेन्ज, सागर बाजुरालीको रेकर्ड छ । तुला आर लामिछानेले नै निर्माण गरेको भिडियोमा सञ्चिता बोलखे र पुष्कर राउत फिचर्ड छन् । जवानी र मायाको कुरा गरिएको गीतमा सचितालाई निकै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ ।

सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कमल भक्तको सहायक कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, उमेश थापा मगरको सहायक सम्पादन, प्रविण ढकालको कलर, प्रिया नगरकोटी पाण्डेको हेयर र मेकअप र दिव्यराज सुवेदीको छायांकन छ । भिडियो टीआर सिरिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गाजा युद्धमा घाइते भएका ४१ प्यालेस्टिनीलाई उपचारका लागि मलेसिया लगिँदै

गाजा युद्धमा घाइते भएका ४१ जना प्यालेस्टिनी नागरिकलाई शुक्रबार उपचारका लागि मलेसिया लगिएको अधिकारीहरूले बताएका छन् । आठ महिनादेखि ६२ वर्ष उमेर समूहका प्यालेस्टिनीलाई मलेसियाली वायु सेनाको दुईवटा यातायात विमानमा इजिप्टको राजधानी कायरोबाट उपचारका लागि बहुसंख्यक मुस्लिम राष्ट्रमा लगिएको हो ।

“हामीले यो मिसन विशुद्ध रूपमा मानवीय दृष्टीकोणबाट प्यालेस्टाइनका जनतासँग हाम्रो एकता देखाउनका लागि गरेका हौँ”, मलेसियाका रक्षामन्त्री मोहम्मद खालिद नोर्डिनले भन्नुभयो ।

घाइतेहरुको स्थिति १९ घण्टासम्मको उडानको लागि ठीक छ वा छैन भन्ने मूल्याङ्कनपछि मात्र उनीहरुलाई उपचारका लागि लगिएको नोर्डिनले बताउनुभयो ।
घाइतेहरूका साथमा परिवारका ८६ जना सदस्य वा नजिकका आफन्तहरू थिए।

इजरायली आधिकारिक तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणबाट गाजा युद्ध सुरु भएको थियो जसको परिणामस्वरूप १ हजार १९८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश आम नागरिक थिए ।

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन गर्नुभयो ।

सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले माछापालन, दूध उत्पादन, सुन्तला, काजुु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिनुुभयो ।

“म कृषि विज्ञ होइन । किसानको छोरा हुँ । सानो हुँदा खेती गरिन्थ्यो, ठूलो भएपछि भ्याइएन तर मेरो रगतमा किसानको जिन छ । म बोट बिरुवालाई माया गर्छु । मलाई बोट बिरुवाले माया गर्छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले बोट बिरुवालाई माया गरेका उनीहरु खुुसी भएर धेरै फल दिन्छन् ।”

उहाँले पशुुपन्क्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुुदानको निरन्तरताभन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुुझाव दिनुुभयो ।

भोटे कोशीमा अचानक बहाव बढेपछि थामे गाउँमा क्षति

विराटनगर, ३२ साउनः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित रहेको भोटे कोशीमा अचानक बहाव बढेपछि यहाँ क्षेति भएको छ ।आज दिउँसो भोटेकोशीको बहाव बढेर थामे क्षेत्रमा रहेका तीनवटा घर बगाएको छ भने एक होस्टेल र चार/पाँचवटा घर जोखिममा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको वरिष्ठ प्रहरी उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

हुम्लाको सिमीकोटमा आजदेखि एफटिटिएच प्रविधिमार्फत एनटी फाइबर सेवा सुरू

काठमाडौँ, ३२ साउनः हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो सेवा शुभारम्भ गर्नुभएको थियो । योसँगै नेपालका ७७ वटा जिल्लामा एफटिटिएचमार्फत इन्टरनेट सेवाको पहुँच पुगेको छ । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशका १० दुर्गम जिल्लामध्ये हुम्लामा मात्रै एफटिटिएच सेवा सञ्चालन हुन बाँकी थियो । 

त्यस अवसरमा मन्त्री गुरुङले एफटिटिएचमार्फत इन्टरनेटको प्रारम्भसँगै देशलाई डिजिटलाइज बनाउने सरकारको उद्देश्यमा सघाउ पुगेको बताउनुभयो । उहाँले आफू मन्त्री भएपछि सय दिनभित्र सम्पन्न गर्नुपर्ने कार्यसूचीअन्तर्गत हुम्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्ने कार्य पूरा भएको जानकारी गराउनुभयो । “मन्त्रालयको कार्यसूचीअनुसार हुम्लामा एफटिटिएच पुर्याउने लक्ष्य पूरा भएको छ । जनस्तरबाट बोल्दाबोल्दै फोन नसुनिने गुनासो आएपछि टावर राखेर सञ्चार अवरोध हटाउन मन्त्रालयले कार्ययोजना अघि सार्न थालेको हो । अब नेपालका ७७ जिल्लामा एफटिटिएचको पहुँच पुगेको छ”, मन्त्री गुरुङले भन्नुभयो ।  

मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको सबैभन्दा दुर्गम जिल्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह हुनुले डिजिटल विकासको राम्रो सङ्केत गरेको बताउनुभयो । उहाँले यसको पहुँचलाई चुस्त र सहज बनाउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई सुझावसमेत दिनुभएको थियो । 

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले थुप्रै चुनौतीको सामना गर्दै हुम्ला जस्तो भौगोलिक रूपले दुर्गम क्षेत्रमा टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्न सक्नु सरकारको महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत टेलिकमका कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेश साह, प्रादेशिक कार्यालय सुर्खेत प्रमुख सुस्मा गौतमलगायतले हुम्लामा इन्टरनेटको अवस्था र प्रगतिबारे जानकारी दिनुभएको थियो । एफटिटिएच पहुँच पुगेसँगै हुम्लावासीले खुसी व्यक्त गरेको समेत उहाँहरुले वेभ कन्फ्रेन्समा बताउनुभयो ।

जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता

काठमाडौँ, ३२ साउनः वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले आज काठमाडौँ आयोजित एक कार्यक्रमकाबीच कार्बन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामुहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग कम गर्ने, सामानको पुनःपयोग गर्ने, वातावरण जोगाउन जनचेतना लगाउनेलगायत छन् ।

वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नयाँ अभियानको थालनी गरिएको हो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने जानकारी दिनुभयो । “हरित तीजका लागि महिलाले परिवर्तनको नेतृत्व गरिरहेका छन्”, उहाँले भन्नुभयो,“ साथसाथैले नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिङ द चेन्ज’ कार्यक्रम सुरु गरेको हो ।”

पचास जना अभियन्ताहरुमा भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, सृच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहनुभएको छ ।

त्यस्तै कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, बिमला तुम्खेवा, विनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत हुनुहुन्छ । अभियन्ताहरु राजनीति, शिक्षा, स्वास्थ्य, कानुन, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

साथसाथैले विगत तीन वर्षदेखि वातावरण एवं जलवायु न्यायका लागि क्रियाशील रही जलवायु परिवर्तन्को असर र त्यसका न्यूनीकरणका लागि विभिन्न प्रदेशमा पुगी रचनात्मक काम गर्दै आइरहेको छ ।

संस्थाले वर्षभरी नै विभिन्न सांस्कृतिक पर्वलाई वातावरणीय दृष्टिले हरितमैत्री बनाउन विभिन्न कार्यक्रमहरु तय गरेको छ । त्यसमा यस्ता पर्वलाई हरितमैत्री बनाउन सामानको पुनःप्रयोग गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, चाडपर्वलाई वातावरणमैत्री बनाउनेलगायत छन् ।

अभियान घोषणा कार्यक्रममा अभिनेत्री रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायु परिवर्तनको जोखिम नियन्त्रण गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिलाई बचाउनुपर्छ भनेको आमालाई बचाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । यो कार्यक्रमलाई दूरदराजमा लैजानुपर्छ ।”

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि बोलेर मात्रै नभई कार्यान्वयन तहमा जानुपर्ने खाँचो रहेको उल्लेख गर्दै आफ्नो गाउँपालिकाले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा असर परेको, हिमाली पर्यटन, पर्वतारोहण र पदयात्रामा प्रभाव पारेको भन्दै यसको जोखिम न्यूनीकरणमा सबै सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वमा फजुल खर्च घटाएर पुराना कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै त्यसलाई वातावरणमैत्री बनाइनुपर्ने बताउनुभयो ।

अभियन्ता भूमिका श्रेष्ठले चाडपर्वलाई तडकभडक नभई क्षमता अनुसार मनाइनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि सहभागी गराइएकोमा खुशी व्यक्त गर्नुभयो । अभियन्ता सविना काफ्लेले वातावरणलाई ख्याल राखेर चाडपर्व मनाईनुपर्ने धारणा राख्नुभयो ।

अभियन्ता यमुना घले र कृष्णा कार्कीले जलवायु र वातावरणमैत्री अभियानलाई सशक्त र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याउनुभयो ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ३२ साउन – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने सुर्खेत चिङगाड गाउँपालिका-५ घर भएका ३२ वर्षीय सुरेश राना र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय राजेश बिष्ट रहेका छन् ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

सुरेशले ८ जना पीडितहरूबाट १५ लाख ९३ हजार ५ सय रूपैयाँ र राजेशले १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।नीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन्।

मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेका पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की छन्। लिङ्देन भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ।

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

काँक्रेविहार (सुर्खेत), ३२ साउनः भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ ।

बाटोमा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधान तथा सदरमुकाम मुसिकोट आउने साना–ठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका छन् ।

यसैबीच, रुकुमपश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी मुसिकोट खण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरलले जानकारी दिनुभयो ।

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित

बरहथवा (सर्लाही) – सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल जिल्लामा एक शिक्षक बराबर एक सय १७ जना विद्यार्थी छन् ।

शिक्षक दरबन्दी पर्याप्त नभएका कारण कक्षा ५ सम्मका विद्यार्थीलाई दुई जना मात्रै शिक्षकले पढाउनुपरेको गोडैता नगरपालिका–२ जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले गुनासो गर्नुभयो । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार शिक्षकको दरबन्दी न्यूनतम आवश्यकताको पनि आधाभन्दा कम छ ।

जिल्लामा चार सय ४७ वटा सामुदायिक, एक सय ९८ वटा संस्थागत र ७२ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिनुभयो । शिक्षा समन्वयको तथ्याङ्कअनुसार प्राथमिकदेखि उच्च माध्यामिक तहसम्म एक हजार सात सय १० वटा स्वीकृत शिक्षकको दरबन्दी र छ सय ९३ वटा अनुदान राहत शिक्षक गरी कूल दुई हजार तीन सय ८८ वटा मात्र दरबन्दी कायम छ ।

विद्यार्थी र विद्यालयको अनुपातमा कम्तीमा जिल्लामा दुवै प्रक्रियाबाट न्यूनतम पाँच हजार तीन सय २७ वटा शिक्षक दरबन्दी आवश्यक रहेको कार्यालय प्रमुख खरेलले बताउनुभयो । शिक्षक दरबन्दी अभावका कारण जिल्लामा अधिकांश विद्यालय सङ्कटमा परेका उहाँको भनाइ छ । “आन्तरिक स्रोत जुटाउन सक्ने केही पालिकाले शिक्षक राखेका छन्, उनीहरुको अवस्था राम्रो छ । बाँकीको अवस्था नाजुक छ ।”

शिक्षक पर्याप्त नभएका कारण पठनपाठन प्रभावित भएको हरिपुर्वा नगरपालिकास्थित केशवर गरिब जनता माध्यमिक विद्यालयका छात्र राम विश्वास रायले गुनासो गर्नुभयो । “विद्यालयमा सधँै शिक्षकको अभाव छ । किताब पढ्नै नपाइ परीक्षा दिनुपरिरहेको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा प्राविधिक धारतर्फ भने शिक्षक दरबन्दी न्यूनतम आवश्यकताअनुसार नै रहेको उहाँले बताउनुभयो । पशु विज्ञान, बाली विज्ञान, कम्प्युटर, सिभिल इञ्जिनियरिङ गरेर जिल्लामा नौ वटा प्राविधिक धारतर्फ विद्यालय छन् । त्यसका लागि न्यूनतम आवश्यकताअनुसार ७३ वटा शिक्षक दरबन्दी छन् ।

त्यस्तै सुस्त श्रवणका लागि लक्षित विद्यालय पाँच, बौद्धिक अपाङ्गता भएकाका लक्षित तीन र न्यून दृष्टियुक्तका लागि एक विद्यालय सञ्चालन भइरहेका हुन् । १० वटा माध्यमिक विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेको शिक्षा समन्वय कार्यालय मलङ्गवाका प्राविधिक सहायक सुनीलप्रसाद कुशवाहले जानकारी दिनुभयो ।

विसं २०५८ मा कायम भएको स्वीकृत शिक्षक दरबन्दी र विसं २०६७ मा कायम राहत अनुदान शिक्षक दरबन्दीकै भरमा विद्यालयमा पठनपाठन गराउनु परिरहेको बागमती नगरपालिका–२, घरहरामा रहेको जनबाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाको भनाइ छ । त्यसयता विद्यालयको स्तरोन्तति तथा विद्यार्थीको अनुपातमा भएको वृद्धिका कारण थोरै दरबन्दीमा पठनपाठन सकसपूर्ण भएको उहाँले बताउनुभयो ।

तीन वटै सरकार शिक्षा क्षेत्रमा भएको समस्या समाधानम उदासिन देखिएको शिक्षासेवी तथा नागरिक समाजका अगुवा उग्रकान्त मिश्रले टिप्पणी गर्नुभयो । नागरिकबाट बालबालिकाले न्यूनतम मात्रामा शिक्षक नपाउनु विडम्बना भएको उहाँको भनाइ छ ।

जिल्लामा सबै तहका गरी एक लाख ३४ हजार सात सय ९९ छात्रा र एक लाख ४२ हजार पाँच सय ६१ जना छात्र गरी कूल दुई लाख ७७ हजार तीन सय ६० जना छात्रछात्रा अध्यनरत छन् । तराईका जिल्लामा प्रावि तहमा प्रतिशिक्षक ५० जना र मावि तहमा प्रतिशिक्षक अधिकतम ४० जना विद्यार्थी रहने सङ्घीय शिक्षा ऐनमा उल्लेख छ ।

अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था

नवलपरासी, ३२ साउनः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ ।

नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिनुभयो । जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।

यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई रु आठ हजार छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

दमौली (तनहुँ), ३२ साउन : जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यो वर्ष परीक्षणका रुपमा रोपिएका बिरुवाबाट अपेक्षाअनुसार उत्पादन भएमा भविष्यमा त्यसलाई विस्तार गरिनेछ । हाल दुवुङकोटको एक सय रोपनी जग्गामध्ये १२ रोपनीमा हाल बिरुवा लगाइएको हो ।

स्थानीयवासीलाई रोजगारीसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परीक्षणका रुपमा चियाखेती गरिएको उहाँले बताउनुभयो । चिया बगानका माध्यमबाट दुवुङकोटलाई पर्यटकीयस्थलका रुपमा पनि विकास गर्न सकिने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

ऋषिङ गाउँपालिका–३ का वडाध्यक्ष भीमबहादुर थापा दुवुङकोटमा ‘भ्यूटावर’ पनि रहेकाले यो ठाउँ आन्तरिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुहुन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि विकास शाखाको संयुक्त कार्यक्रमबमोजिम आँबुखैरेनीको बतासे डाँडामा चिया बगान बनाउने प्रयास भएको कृषि विकास शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको हावापानी चिया बगानका लागि उपयुक्त भएकाले परीक्षणको रुपमा पहिलोपटक चियाका बिरुवा रोपिएको हो ।”

म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण

म्याग्दी, ३२ साउनः आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् ।

झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले रु २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएका बताउनुभयो ।

मालिका गाउँपालिका–६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका–५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका–७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि–४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर्माण भएको हो ।

यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दीखोलामा निर्माणाधीन ४६ मिटर लामो पुलको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिका–८ को लामो खोसेरा खोलाको ३२ मिटर लामो पुलको ६५ प्रतिशत र मालिका–४ मा ७० मिटर लामो कुमालघारे खोला पुलको ३० प्रतिशत निर्माण सकिएको छ ।

धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना,१७ जना घाइते

डोटी, ३२ साउनः दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

दुई करोड ७१ लाखमा बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

बागलुङ (बागलुङ), ३२ साउनः तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताउनुभयो । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकरी दिनुभयो ।

चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । “ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उहाँले भन्नुभयो ।

गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जको सडक २४सै घण्टा खुला राख्ने

रसुवा – पवित्रतीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ । निकुञ्जले एक विज्ञप्ति जारी गर्दै भदौ ४ गतेसम्मका लागि सडक २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो ।

गोसाईंकुण्ड मेला अवधिभर यात्रुको सहजताका लागि सवारीसाधन खुला गरिएको र रातको समयमा मालवाहक सवारीसाधनलाई रोक लगाइएको निकुञ्ज कार्यालयले स्पष्ट पारेको छ ।

रसुवागढी जाने प्रमुख सडक भएका कारण चिनियाँ सामग्री बोकी आएका मालवाहक कन्टेनर डिब्बा भने राति ११ बजेसम्म मात्र गुड्न पाउने निकुञ्जले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव कायम, ४ प्रदेशमा भारी बर्षा

काठमाडौँ, ३२ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

युक्रेनलाई ५१ डलर चन्दा दिएको देशद्रोहको अभियोगमा अमेरिकी–रुसी दोहोरो नागरिकलाई १२ वर्षको जेल सजाय

अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई फेब्रअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ ।

पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जलस गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन् ।

रुसको सङ्घीय सुरक्षा सेवाले भनको छ, “उनले युक्रेनी सङ्गठनको हितमा सक्रियरूपमा पैसा सङ्कलन गरिन्, जुन पछि युक्रेनी सशस्त्र बलका लागि रणनीतिक चिकित्सा आपूर्ति, उपकरण, हतियार र गोलाबारुद किन्न प्रयोग गरियो ।”

अधिकार समूह द फर्स्ट डिपार्टमेन्टले उक्त आरोप अमेरिकी परोपकारी संस्थाका लागि दिइएको ५१ डलर चन्दासँग सम्बन्धित भएको बताएको छ । मुद्दाको परीक्षण मस्कोबाट करिब एक हजार चार सय १६ किलोमिटर पूर्व येकातेरिनबर्गमा भएको थियो ।

खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभले बताउनुभयो । “खवानाले चन्दा दिएको कुरालाई आंशिक रूपमा स्वीकार गरेकी छन् तर चन्दा प्राप्त हुने अधिक संभावना भएका सङ्गठनहरूलाई चन्दा दिने आफ्नो मनसायलाई स्वीकार गरिनन्”, मुसाइलोभले भन्नुभयो, “आफूले दिएको चन्दाको प्रयोग रुसीविरोधी कार्यका लागि गरिनेछ भन्ने उनले सोचेकी थिइनन् ।”

सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीहरूलाई अपराधीकरण गर्ने कानून पारित गरेको छ । त्यसयता रुसले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न निशाना बनाएको भन्दै चिन्ता बढेको छ ।

अफगानिस्तानमा तालिबान सरकारद्वारा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध : राष्ट्रसङ्घ

तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ । अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो ।

सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो ।

तालिवान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन भने महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत देखाएको छैन ।

तालिबान सरकारले सत्ता कब्जा गरेदेखि कम्तिमा १४ लाख केटीहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ । यो सङख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी हो ।

“यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन् । यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्दछ”, युनेस्कोले भनेको छ ।

तालिबान सरकारले यो टिप्पणीको कुनै जवाफ दिएको छैन ।युनेस्कोका अधिकारीहरूले अफगानिस्तानमा शिक्षाको क्षेत्रमा दुई दशकको स्थिर प्रगति “लगभग समाप्त” भएको चेतावनी दिएका छन् । “सम्पूर्ण पुस्ताको भविष्य अहिले खतरामा छ”, अधिकारीहरूले भने ।

तालिवानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसङ्घले जनाएको छ । तालिबानले बुधबार बगराम एयर बेसमा आफ्नो शासनको तीन वर्ष मनायो ।

दशकौँको द्वन्द्व र अस्थिरताले लाखौँ अफगानीलाई भोकमरीको सङ्घारमा धकेलेको छ र देशमा बेरोजगारी दर उच्च छ ।

अमेरिकी उपराष्ट्रपति पदका उमेदवारहरू अक्टोबरको बहसका लागि सहमत

ह्वाइट हाउसका प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पको दौडमा रहेका साथीहरूले कम्तीमा एउटा उपराष्ट्रपति बहसमा सामना गर्न अक्टोबर १ मा हुने निर्णायक बहसका लागि सिबिएस न्युजको निमन्त्रणालाई स्वीकार गर्नुभएको छ ।

डेमोक्रेटिक मिनेसोटाका गभर्नर टिम वाल्ज र आहायोका रिपब्लिकन सिनेटर जेडी भान्सलाई सेप्टेम्बर र अक्टोबरमा चार सम्भावित बहसको प्रस्ताव गरिएको सिबिएसले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ ।

“अक्टोबर १ मा भेटौँला, जेडी”, ह्यारिस अभियानले आधिकारिक रूपमा मिति स्वीकार गरेको पुष्टि गर्नुअघि वाल्जले जवाफ दिनुभयो ।

भान्सले बिहीबार आफूले अक्टोबर १ को निमन्त्रणलाई स्वीकार गरेको बताउनुभयो । साथै उहाँले ‘अमेरिकी जनता सकेसम्म धेरै बहसका लागि योग्य छन’ भन्ने तर्क दिँदै सेप्टेम्बर १८ मा सिएनएनद्वारा प्रस्तावित पहिलेको बहसको सुझाव दिनुभएको थियो ।

यसमा भेटघाट हुन्छ कि हुँदैन भन्ने केही सन्देह थियो । बुधबार फक्स न्युजसँगको अन्तरवार्तामा भान्सले अक्टोबरका लागि तयार रहेको पुष्टि गर्नुभयो तर उहाँले जुन २७ मा ट्रम्प र राष्ट्रपति बाइडेनको जस्तो ‘उनीहरूका वास्तवमा दर्शकहरू नभएको फर्जी बहस’ नगर्ने बताउनुभयो ।

ह्यारिस र ट्रम्प सेप्टेम्बर १० मा एबिसी न्युजले आयोजना गर्ने आ–आफ्नो बहसका लागि तयार हुनुहुन्छ ।

युद्धका कारण गाजा सीमाक्षेत्रबाट विस्थापित अधिकांश इजरायली आफ्नो घर फिर्ता : इजरायली अधिकारी

हमासको अक्टोबर ७ को आक्रमणपछि गाजापट्टी नजिकै आफ्नो घरबाट विस्थापित भएका लगभग सबै इजरायली घर फर्किसकेको इजरायली अधिकारीहरूले बिहीबार बताएका छन् ।

घातक आक्रमणबाट प्रभावित सीमावर्ती समुदायको पुनर्निर्माण र पुनःस्थापनाको जिम्मा दिइएको सरकारी एजेन्सीका अनुसार ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको दक्षिणी इजरायली क्षेत्रको ८० प्रतिशतभन्दा बढी मानिस जुलाईसम्म आफ्नो घर फर्केका छन् ।

इजरायली अधिकारीहरूले गाजा सीमा क्षेत्रबाट निकालिएका मानिसहरूलाई राज्यको खर्चमा होटलमा आवासको व्यवस्था गरेका थिए । यो व्यवस्थाको अवधि बिहीबारबाट समाप्त हुनेछ ।

हमासको आक्रमणबाट क्षतिग्रस्त भएका १० किबुट्ज समुदायका बासिन्दाहरूलाई कम्तीमा अर्को एक वर्षका लागि देशका विभिन्न स्थानमा अस्थायी आवास दिइने इजरायलको तेकुमा प्राधिकरणले विज्ञप्तिमा जनाएको छ ।

प्यालेस्टिनी क्षेत्रबाट रकेट हमलाको खतराका कारण गाजा सीमा नजिकै रहेका अन्य समुदायलाई असुरक्षित घोषणा गरिएको छ ।

इजरायली रक्षा मन्त्रालयले गाजा सीमामा सुरक्षा सुधार गर्न मङ्गलबार एउटा पाइलट परियोजनाको घोषणा गरेको थियो । परियोजनामा बाड़, ड्रोन, कमान्ड सेन्टर र विशेष सञ्चार पूर्वाधार लगानीलाई प्रोत्साहित गरिएको छ ।

इजरायली आधिकारिक तथ्याङ्कका अनुसार गाजामा चलिरहेको युद्धलाई उत्प्रेरित गर्ने हमासको आक्रमणमा एक हजार एक सय ९८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश आम नागरिक रहेका थिए ।

इजरायली प्रतिशोधात्मक सैन्य आक्रमणले गाजामा ४० हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्धले यस क्षेत्रमा इरान समर्थित हमास सहयोगीहरूलाई सामेल गरेको छ । यसम शक्तिशाली लेबनानी समूह हेजबुल्लाह पनि समावेश रहेको छ । इजरायल–लेबनानको दुवै पक्षका दशौँ हजार बासिन्दा हिंसाबाट विस्थापित भएका छन् ।

युक्रेन र रुस दुवैद्वारा कुर्स्क क्षेत्रमा प्रगति गरेको दाबी

युक्रेनले बिहीबार रुसमा आफ्नो सीमापार आक्रमणमा नयाँ प्रगति गरेको दाबी गरेको छ । उसले एक हजार वर्गकिलोमिटरभन्दा धेरै क्षेत्र कब्जा गरेको बताएको छ । यो दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै विदेशी सेनाले गरेको सबैभन्दा ठूलो आक्रमण हो ।

रुसले उसले कुर्स्क क्षेत्रमा युक्रेनी सेनाबाट पहिलो गाउँ पुनः कब्जा गरेको बताएको छ । साथै उसले छिमेकी बेलगोरोड क्षेत्रमा ‘अतिरिक्त सेना’ पठाउने घोषणा गरेको छ ।

युक्रेनले अब दर्जनौँ बस्ती र सीमाबाट आठ किलोमिटर टाढाको सुद्जा सहरलाई नियन्त्रण गरेको बताएको छ । शीर्ष सैन्य कमान्डर अलेक्जेन्डर सिर्स्कीले भन्नुभयो, “हामीले एक हजार एक सय ५० वर्गकिलोमिटर क्षेत्र र ८२ बस्ती नियन्त्रणमा लिएका छौँ ।”

दुई वर्षभन्दा धेरै समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनी सेनाका लागि धेरै महिनाको असफलतालाई तोड्दै सिर्स्कीका सैनिकहरूले अगस्ट ६ मा आक्रमण सुरु गरेका थिए ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई उहाँले आफ्नो सेनाले ‘कानून र व्यवस्था कायम गर्न तथा नियन्त्रित क्षेत्रहरूमा जनसङ्ख्याको प्राथमिक आवश्यकताहरू पूरा गर्न’ प्रशासनिक कार्यालय स्थापना गरेको जानकारी गराउनुभयो ।

जेलेन्स्कीले ‘रुसी सेनाबाट सुद्जा सहरको मुक्ति पूरा भएको’ घोषणा गर्नुभयो ।

एक लाख २० हजार रुसी विस्थापित

कुर्स्कमा सीमावर्ती क्षेत्रबाट करिब पाँच सय विस्थापितलाई रुसी रेडक्रसले खाना र कपडा वितरण गरिरहेको एएफपीका संवाददाताहरूले देखेको बताएका छन् ।

रुसले एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ ।

पूर्ण विनाश

युक्रेनी आक्रमणले रुसी सैनिकहरूलाई आश्चर्यचकित बनाएको छ र हजारौँको सङ्ख्यामा त्यहाँबाट मानिसहरूलाई हटाउनुपरेको छ । रुसी अधिकारीहरूका अनुसार लडाइँमा कम्तीमा १२ सर्वसाधारणको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन् ।

मस्कोले सुदृढीकरणमा तीव्रता ल्यायो र बिहीबार कुर्स्क क्षेत्रको पहिलो गाउँलाई पुनः कब्जा गरेको घोषणा गर्यो । “सेनाले दुश्मको विनाश पूरा गरेको छ र क्रुपेट्सको बस्तीमा नियन्त्रण प्ुनःस्थापित गरेको छ”, मन्त्रालयले भनेको छ ।

रुसी सेनाले छिमेकी क्षेत्रहरू विशेषगरी बेलगोरोडमा आक्रमणलाई रोक्ने उपायको पनि घोषणा गरेको छ । बेलगोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभसहितको अधिकारीहरूको बैठकमा मन्त्री आन्द्रेई बेलोसोभले रुसी सेनाले बेलगोरोड क्षेत्रलाई युक्रेनी आक्रमणबाट बचाउन ‘ठोस कारवाही’ को तयारी गरेको जानकारी दिनुभयो ।

१७ लाख १० हजारको इलेक्ट्रिक चुरोट बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाईछिपाई लैजाने क्रममा रहेको चार सय ५० थान भेप आ बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिनुभयो ।

“भारततर्फ लैजानका लागि बाटोमा रोकिराखेको टाँगाबाट सो भेप बरामद भएको हो”, उहाँले भन्नुभयो, “बरामद भएको भेप आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ ।”

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते रु पाँच करोड मूल्य पर्ने ७६ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोडस्थित रामप्रसाद बैरेको पक्की घरमा भाडामा दिएको कोठाबाट ७६ कार्टुन अर्थात १५ हजार दुई सय थान इलेक्ट्रिक भेप बरामद थियो । एक कार्टुनमा दुई सय थान भेप भेट्टिएको थियो ।

निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया प्रस्थान

काठमाडौँ, ३१ साउन : अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि–१ रयाङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न आज दक्षिण कोरियाको मुजु प्रस्थान गर्नुभएको छ ।

यही अगष्ट १७ देखि २० तारिखसम्म हुने उक्त प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

उक्त प्रतियोगितापछि अशोकले दक्षिण कोरियामै हुने १४ औँ आईओएफटीसी तेक्वान्दो प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । अगष्ट २४ तारिखमा सिओलमा हुने आईओएफटीसीमा पनि अशोकले ग्योरोगी र पुम्सेमै निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

काठमाडौँ, ३१ साउनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गर्नुभएको थियो । उक्त रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो ।

कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन् ।

कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । यससँगै देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले गत आइतबार सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख गर्नुभएको थियो । “आमनागरिकले सहज तरिकाले क्यान्सर उपचार सेवा पाउने गरी यसको विस्तार गर्ने हाम्रो नीति हो, यसै अनुरुप विस्तारलाई प्राथमिकतामा राखेर काम गरेका हौँ । सङ्घीय अस्पतालको सेवा विस्तारसँगै अब आम नागरिकको क्यान्सर उपचार सेवा पहुँच सहज हुने विश्वास लिएको छु”, मन्त्री पौडेलले भन्नुभयो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले अब बिरामीले सङ्घीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने बताउनुभयो । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा थप सहायता पाउने उहाँको भनाइ छ । स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्ति पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अहिले सङ्घ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । कार्यविधि स्वीकृत भएसँगै ती अस्पतालले तत्काल सेवा उपलब्ध गराउन प्रक्रिया थाल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सुन जस्तो देखिने पहेलोँ धातुसहित दुई जना पक्राउ

काठमाडौँ, ३१ साउनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेलोँ धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीया नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एयर अरेबियाको उडानमार्फत बहराईनबाट दुबई हुँदै काठमाडौँ आएकी जानुकाबाट नारायणले अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा उक्त धातु (सुन) सहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।”

आज बिहान करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरुलाई क्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गलमा पठाइएको प्रवक्ता कार्कीले जानकरी दिनुभयो ।

मुख्यमन्त्री सिंहसँग स्वीस नियोगका अधिकारीको छलफल

जनकपुर, ३१ साउन : मधेस प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्वीस नियोगका अधिकारीले सरकारका अल्पकालिन तथा दीर्घकालिन आयोजनाबारे छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भएको छलफलमा मधेस प्रदेश सरकारका विकास तथा सहयोगका लागि स्वीस नियोग (एसडिसी) नेपालले विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारीका विषयलाई जोड दिइएको थियो ।

भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवं प्रभावकारी बनाइने बताउनुभयो ।

नियोगका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरलगायतका अधिकारीसँगको भेटमा मुख्यमन्त्री सिंहले मधेशमा सिँचाइलगायत बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने तथा नहर निर्माण योजना कार्यान्वयन गरिने बताउनुभयो । उहाँले आँप र केरालगायत खेतीको प्रवर्द्धन तथा उत्पादनका लागि प्रविधि हस्तान्तरण तथा उपयोगका लागि नियोगका अधिकारीलाई आग्रह गर्नुभयो ।

नियोगका डेपुटी चिफ अफ मिसन मेयरले एसडिसीमार्फत स्वीट्जरल्यान्डले नेपाललाई सङ्घीय लोकतान्त्रिक राज्यका रूपमा विकसित गर्न, समतामूलक सामाजिक तथा आर्थिक विकास प्रवर्द्धन गर्न र नयाँ सङ्घीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारी प्रयोग गर्न सक्षम बनाउन सहयोग गरिरहेको बताउनुभयो ।

रेडपाण्डा संरक्षणका लागि ‘रेडपाण्डा म्याराथन’ आयोजना गरिने

ताप्लेजुङ, ३१ साउन : रेडपाण्डा संरक्षणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा ‘रेडपाण्डा म्याराथन’ सञ्चालन गरिनेभएको छ । रेडपाण्डाको संरक्षणको क्षेत्रमा काम गर्दै आएको हिमाली संरक्षण मञ्चले आगामी असोज ५ गते रेडपाण्डा संरक्षणको सन्देशसहित म्याराथन गर्ने भएको हो ।

असोज ५ अर्थात् रेडपाण्डा दिवसको अवसरमा हुने म्याराथनमा रेडपाण्डा नेटवर्क साथै फुङलिङ नगरपालिकाको सहयोग सहयोग रहने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । हरेक वर्षको सेप्टेम्बर २१ का दिन रेडपाण्डा संरक्षण दिवस मनाउने गरिएको छ ।

रेडपाण्डाको मुख्य बास स्थान मानिने पाथीभरा क्षेत्रमा नै म्याराथनको तयारी भएको छ । उक्त कार्यक्रमको पूर्वतयारी सुरु गरिएको संयोजक राईले बताउनुभयो । रेडपाण्डा संरक्षणका लागि म्याराथनका कार्यक्रम गर्न यो वर्ष रेडपाण्डा नेटवर्कले रु १० लाख सहयोग गर्नेछ भने फुङलिङ नगरपालिकाले रु पाँच लाख छुट्याएको छ ।

रेडपाण्डाको प्राकृतिक बासस्थानको संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्ने अभियानकै रूपमा म्याराथनको आयोजना गर्ने तयारी भएको बताइएको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्यादबारे व्यापक छलफल आवश्यकः अध्यक्ष दाहाल

काठमाडौँ, ३१ साउनः प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण कानुनी वा प्राविधिक विषय मात्र नभई सामाजिक साँस्कृतिक चेतनासँग पनि सम्बन्धित रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले भन्नुभयो, “भ्रष्टाचारले संस्कृति र सभ्यताको स्तर कहाँ छ भन्ने पनि देखाउँछ । सिङ्गो समाजको सांस्कृतिक चेतना अभिवृद्धिको विषय पनि यसमा जोड्नुपर्छ ।”

प्रस्तुत विधेयक संवेदनशील र महत्वपूर्ण रहेको उल्लेख गर्दै समिति सदस्य दाहालले पर्याप्त छलफल गरेर मात्रै अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचारसम्बन्धी घटनाको अनुसन्धान गरी मुद्दा दायर गर्ने हदम्याद राख्नेबारेमा गम्भीर छलफल हुनुपर्ने उहाँको भनाइ थियो । 

“हदम्याद समय कति राख्ने वा नराख्ने ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्बन हुने कुरा ठीक छ कि छैन ? अदालतले कसुरदार हो भनेर अन्तिम फैसला नगरेसम्म मुद्दा टुङ्गिएको हुँदैन”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने व्यवस्था गर्ने कि ? निलम्बित हुने हो भने क्षतिपूर्तिको व्यवस्था गर्ने की ?”

ऐन तर्जुमा बखतको राजनीतिक परिस्थिति र अहिले संशोधन गर्दाको परिस्थितिमा गुणात्मक फेरबदल आएको भन्दै उहाँले २०८१ सम्म आइपुग्दा सूचना प्रविधिमा निकै ठूलो क्रान्ति आएकाले पनि ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्नुभयो । “सूचना प्रविधिमा भएको क्रान्ति तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून प्रभावकारी बनाउन पनि संशोधन आवश्यक छ । यसलाई गम्भीरताका साथ छलफल गरेर सामूहिक निष्कर्षमा पु¥याउन जरुरी छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

क्षेत्राधिकारभित्र निजी क्षेत्रलाई किन राख्ने ?

नेपाली कांग्रेसका महामन्त्री एवं समिति सदस्य गगनकुमार थापाले मेडिकल कलेज, बैङ्क तथा वित्तीय संस्थालाई पनि अख्तियारको क्षेत्राधिकारभित्र ल्याउन किन आवश्यक प¥यो भनी प्रश्न गर्नुभयो । निजी क्षेत्रलाई नियमन गर्नका लागि क्षेत्रगतरुपमा नियामकको व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले अख्तियार दुरुपायोग अनुसन्धान आयोगले भ्रष्टाचारका घटनाको अनुसन्धान गरेर टुङ्ग्याउनेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

“सार्वजनिक संस्थाको परिभाषालाई विस्तार गरेर मेडिकल कलेजलगायत बैंक वित्तीय संस्था यो परिभाषाभित्र राख्न किन चाहेको हो ? ती संस्थालाई नियमन गर्ने नियमनकारी निकाय छँदैछन् । गैरसरकारी संस्था अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन्”, उहाँले भन्नुभयो, “सामाजिक संस्था आआफ्नो कानुनअनुसार चल्छन् तर यहाँभित्र कुनै अनियमितता भ्रष्टाचार हुन्छ केही कुरा हुन्छ भने नियमन गर्ने सम्पूर्ण जिम्मेवारी अख्तियारलाई दिने हो ?”

सांसद थापाले मुलुकको सुशासन क्षेत्रमा क्रियाशील राष्ट्रिय सतर्कता केन्द्रलाई पनि बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । अख्तियारबाट कमजोर अनुसन्धान भएकै कारण अदालतमा दायर गरेको मुद्दामा विपक्षीका पक्षमा फैसला आउने गरेको देखिएको उल्लेख गर्दै उहाँले आयोगले गहन ढङ्गबाट अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

अख्तियारले मुद्दा दायर गरेपछि सम्बन्धित पदाधिकारी निलम्बन हुने वा नहुने विषय पेचिलो बन्दै गइरहेको उल्लेख गर्दै उहाँले शीघ्र अनुसन्धान सम्पन्न गरेर मुद्दा दायर गर्नुपर्ने बताउनुभयो । “निलम्बन हुने तर बिलम्ब गर्न नपाउने व्यवस्था हुनुपर्छ, कति समयमा मुद्दा टुङ्गिने हो ? त्यो पनि प्रष्ट हुनुपर्छ”, सांसद थापाले भन्नुभयो । भ्रष्टाचारका विषयको अनुसन्धानको हदम्याद राख्ने कि नराख्ने भन्नेमा व्यापक छलफल भइरहेको उल्लेख गर्दै उहाँले हदम्याद राख्नु उचित नहुनेमा जोड दिनुभयो ।

विधेयकमाथिको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धानमा हदम्याद राख्ने कि नराख्ने भन्ने संसद्को क्षेत्राधिकारभित्र रहेको बताउनुभयो ।उहाँले आयोगमा प्राप्त हुने भ्रष्टाचारसम्बन्धी उजुरीको छानबिनमा कुनै आग्रह पूर्वाग्रह नहुने स्पष्ट पार्नुभयो ।

नागरिकको गुनासो सम्बोधन गर्न ‘हेलो सिएम’ को शुभारम्भ

मोरङ, ३१ साउन : कोशी प्रदेश सरकारले आजदेखि जनताको गुनासो सुन्न र सम्बोधन गर्नका लागि ‘हेलो सिएम’ गुनासो व्यवस्थापन प्रणालीको सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सिम’ एवं गुनासो व्यवस्थापन प्रणाली एवं कक्षको डिजिटल माध्यमबाट शुभारम्भ गर्नुभयो ।

हाललाई बिहान १० देखि ५ बजेसम्म सरकारी तथा सार्वजनिक निकायबाट भएक काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष एवं सरल तरिकाले गुनासो गर्न सकिने र प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको प्रत्याभूति गर्नु मुख्य उद्देश्य रहेको छ ।

प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारद्वारा निर्देशिका बनाइ पोर्टल सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री कार्कीले पोर्टलबाट शासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन पोर्टलको माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सुशासनबाट जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा तीब्रगतिमा प्रभावकारी तुल्याउन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले यो सेवाले सुशासन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अलग कक्ष निर्माण गरी कर्मचारीको व्यवस्थापन गरेर ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको छ ।

कोशी प्रदेश सरकारसँग भएका गुनासो वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न वा https://hellocm.koshi.gov.np मा आफ्नो गुनासा राख्न सकिनेछ । आगामी केही दिनपछि २४ घण्टा यो सेवा सञ्चालन गरिनेछ ।

आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल मिलेको छैन : मुख्यमन्त्री कार्की

विराटनगर, ३१ साउन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गइरहेको बताउनुभएको छ ।

कोशी प्रदेश योजना आयोगले पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसकेको बताउँदै अबका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारको सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सांसद सबैको हातहातमा पुर्‍याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारी र सांसदहरूले राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनको लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजना मात्र अगाडि सार्नुपर्ने उहाँको भनाइ छ । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।

आर्थिक वर्ष २०८५/८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर सात दशमलव ५५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० मा दुई दशमलव ३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक वर्ष २०८०/८१ मा तीन दशमलव ५१ प्रतिशत रहेको थियो ।

प्रदेश योजना आयोगले आज सार्वजनिक गरेको दोस्रो आवधिक योजनाअनुसार आव २०८५/८६ मा प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन एक हजार छ सय ४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आव २०७९/८० मा एक हजार २९९ अमेरिकी डलर थियो भने आव २०८०/८१ मा एक हजार तीन सय ३६ अमेरिकी डलर थियो ।

त्यसैगरी आव २०८५/८६ सम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशमा झार्ने लक्ष्य रहेको छ । आव २०७९/८० मा कोशी प्रदेशमा १७ दशमलव ५० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आर्थिक वर्षमा यसमा शून्य दशमवल ३० प्रतिशत घटेर १७ दशमलव २० प्रतिशत पुगेको छ ।

यसैगरी अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आव २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । आव २०८५/८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ वर्षको अनुमान गरिएको छ । मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) ७० मा झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) २० मा झार्ने अनुमान गरिएको छ ।

त्यसैगरी आव २०८५/८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्‍याउने, लैङ्गिक विकासको सूचाङ्क शून्य दशमलव ९२ पुर्‍याउने र मानव विकासको सूचाङ्क शून्य दशमलव ६२ पुर्‍याउने सरकारको लक्ष्य छ ।

आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्‍याउने अनुमान गरिएको छ भने विद्युत् उत्पादन दुई हजार २०० मेगावट अनुमान गरिएको छ । आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्यअनुसार कुल ग्राहस्थ उत्पादन (उपभोक्ता मूल्यमा) एक हजार तीन सय १७ दशमलव ९५ अर्बमा पुर्‍याउने, कृषि क्षेत्रको वार्षिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने, उद्योग क्षेत्रको वार्षिक वृद्धिदर १० दशमलव ५६ प्रतिशत पुर्‍याउयने लक्ष्य राखिएको छ ।

आव २०८५/८६ सम्ममा सेवा क्षेत्रको वार्षिक वृद्धिदर सात दशमलव ४१ प्रतिशत, प्रतिव्यक्ति कूल ग्राहस्थ (उत्पादन उपभोक्ता मूल्यमा) एक हजार छ सय ४५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य अनुमान गरिएको छ ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी पञ्च वर्षीय आवधिक योजनाको मुख्य मुख्य आयोजना प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच : ‘सशासित, खुसी, आर्थिक रुपले गतिशील र सम्मुन्नत प्रदेश’ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आवधिक योजनाको मुख्य उद्देश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गरिने लक्ष्य लिइएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायत सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्यायसहित नागरिकमा खुसी वृद्धि गर्ने, प्रदेशका भौतिक तथा सामाजिक पूर्वाधारको उच्चतम उपयोग गरी समृद्धि हासिल गर्ने र प्रदेशमा सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सेवा प्रवाह नागरिकमैत्री बनाइ प्रत्येक नागरिकमा शान्ति, सुरक्षा तथा सुशासनको अनुभूति गर्न सक्ने वातावरण तयार गर्ने योजनाको लक्ष्य रहेको उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

विद्यालय जाने क्रममा पहिराले पुरिएर शिक्षिका सावित्रादेवीको मृत्यु

खोटाङ, ३१ साउन : रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो ।

विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । “घटना भएको ठाउँमा निरन्तर पहिरो झरिरहन्थ्यो । उहाँ (शिक्षिका सावित्रादेवी नेवार) त्यही सडक भएर विद्यालय आवतजावत गर्नुहुन्थ्यो ।

आज उहाँ विद्यालय जाँदै गर्दा सडकमाथिबाट झरेको पहिराले पुरिनुभएको रहेछ”, उहाँले भन्नुभयो, “घटना भए लगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटाइयो । तर, उहाँलाई जीवितै उद्धार गर्ने प्रयास सफ भएन । डेढ घण्टापछि पहिरो पन्छाएर उहाँको मृत शरीर फेला पा¥यौँ ।”

पहिरामा शिक्षिका सावित्रादेवीभन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिराले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

विद्यालय जाँदै गर्नुभएकी शिक्षिका सावित्रादेवीको पहिराले परिएर मृत्यु भएपछि पठनपाठन अवरुद्ध भएको छ । पहिराले पुरिएर ज्यान गुमाउनुभएकी शिक्षिका सावित्रादेवीको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

विसं २०५७ देखि त्यस विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकास हुने तयारीमा हुनुहुन्थ्यो । एक छोराकी आमा शिक्षिका सावित्रादेवी आफ्नै घरमा नातिनीसँग बसेर उक्त विद्यालयमा शिक्षण गर्दै आउनुभएको थियो ।

लाडीडाँडाका अकलबहादुर मगरसँग प्रेम विवाह गर्नुभएकी शिक्षिका साबित्रादेवीको छोरा रविन मगर चार महिनाअघि शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नाम निकालेर शिक्षण पेसामै आबद्ध हुनुहुन्छ । शिक्षिका सावित्रादेवीको श्रीमान् अकलबहादुरको भने निजामती सेवाअन्तर्गत नायब सुब्बा पदबाट अनिवार्य अवकाश हुनुभएको केही वर्षपछि क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

बिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह

काठमाडौँ, ३१ साउन : गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले आज शिष्टाचार भेटघाट गर्नुभएको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखक र राजदूत अन्सारी द्विपक्षीय हित र चासोबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गर्नुभयो ।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिनुभयो । 

त्यसैगरी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

जनताका नाममा कार्यक्रम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३१ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा कार्यक्रमहरु तय गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजको बैठकमा मन्त्री, सचिवलगायतलाई निर्देशन दिँदै उहाँले प्रधानमन्त्रीलगायतका नामको साटो जनताका नाममा कार्यक्रम बनाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

“कार्यक्रमहरु प्रधानमन्त्रीलगायतका ठूला नाममा राख्ने काम भयो, यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन् । यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु । नयाँपन दिने गरी काम गर्नुहोस्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन पनि दिनुभयो । उहाँले पुँजीगत खर्च बेरुजु नहुने गरी शतप्रतिशत खर्च गर्न, दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन आवश्यक प्रस्ताव ल्याउन पनि निर्देशन दिनुभएको थियो । 

बैठकमा उहाँले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने,  बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र  कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत निर्देशन दिनुभयो । “गरिबलाई कानुन देखाएर मात्रै हुँदैन, उनीहरुलाई केन्द्रमा राखेर विकासका कार्यक्रम तय गर्न सकियो भने मात्रै अर्थपूर्ण रहन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

यसअघि आजको बैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका मन्त्रीलगायतलाई निर्देशन दिँदै एक सय दिनभित्र उपलब्धिपूर्ण काम गर्ने गरी कार्यक्रम निर्माण र कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको सहभागिता थियो । 

दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा चासो

काठमाडौँ, ३१ साउन : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा आज छलफल भएको छ ।

मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायत विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो । सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“दशरथ रङ्गशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ, कति बजेट लाग्छ, प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,” सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भन्नुभयो, “समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्न आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनुहुँदैन ।”

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्नेगरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ३१ साउन : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि होली सी/भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्ती उल्लेख छ । 

उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबीच कूटनीतिकसम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्नुभएको थियो । “नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा बृहत मानव कल्याणका मान्यतामा अटल विश्वास राख्ने मुलुक हुन्,” उहाँले भन्नुभयो, “शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्‍याउन नेपालले सरोकारवालासँग हातेमालो गर्दै आएको छ ।”

राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताउनुभयो । “मलाई नेपालको वातावरण असाध्यै मन पर्छ,” उहाँले भन्नुभयो, “नेपालको हिमाल तथा पर्वत शृङ्खला विश्वका थुप्रै पर्यटकलाई आकर्षणको केन्द्र हुन् ।”