`

विद्यालय जाने क्रममा पहिराले पुरिएर शिक्षिका सावित्रादेवीको मृत्यु

खोटाङ, ३१ साउन : रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो ।

विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । “घटना भएको ठाउँमा निरन्तर पहिरो झरिरहन्थ्यो । उहाँ (शिक्षिका सावित्रादेवी नेवार) त्यही सडक भएर विद्यालय आवतजावत गर्नुहुन्थ्यो ।

आज उहाँ विद्यालय जाँदै गर्दा सडकमाथिबाट झरेको पहिराले पुरिनुभएको रहेछ”, उहाँले भन्नुभयो, “घटना भए लगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटाइयो । तर, उहाँलाई जीवितै उद्धार गर्ने प्रयास सफ भएन । डेढ घण्टापछि पहिरो पन्छाएर उहाँको मृत शरीर फेला पा¥यौँ ।”

पहिरामा शिक्षिका सावित्रादेवीभन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिराले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

विद्यालय जाँदै गर्नुभएकी शिक्षिका सावित्रादेवीको पहिराले परिएर मृत्यु भएपछि पठनपाठन अवरुद्ध भएको छ । पहिराले पुरिएर ज्यान गुमाउनुभएकी शिक्षिका सावित्रादेवीको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

विसं २०५७ देखि त्यस विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकास हुने तयारीमा हुनुहुन्थ्यो । एक छोराकी आमा शिक्षिका सावित्रादेवी आफ्नै घरमा नातिनीसँग बसेर उक्त विद्यालयमा शिक्षण गर्दै आउनुभएको थियो ।

लाडीडाँडाका अकलबहादुर मगरसँग प्रेम विवाह गर्नुभएकी शिक्षिका साबित्रादेवीको छोरा रविन मगर चार महिनाअघि शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नाम निकालेर शिक्षण पेसामै आबद्ध हुनुहुन्छ । शिक्षिका सावित्रादेवीको श्रीमान् अकलबहादुरको भने निजामती सेवाअन्तर्गत नायब सुब्बा पदबाट अनिवार्य अवकाश हुनुभएको केही वर्षपछि क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

बिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह

काठमाडौँ, ३१ साउन : गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले आज शिष्टाचार भेटघाट गर्नुभएको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखक र राजदूत अन्सारी द्विपक्षीय हित र चासोबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गर्नुभयो ।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिनुभयो । 

त्यसैगरी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

जनताका नाममा कार्यक्रम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३१ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा कार्यक्रमहरु तय गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजको बैठकमा मन्त्री, सचिवलगायतलाई निर्देशन दिँदै उहाँले प्रधानमन्त्रीलगायतका नामको साटो जनताका नाममा कार्यक्रम बनाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

“कार्यक्रमहरु प्रधानमन्त्रीलगायतका ठूला नाममा राख्ने काम भयो, यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन् । यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु । नयाँपन दिने गरी काम गर्नुहोस्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन पनि दिनुभयो । उहाँले पुँजीगत खर्च बेरुजु नहुने गरी शतप्रतिशत खर्च गर्न, दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन आवश्यक प्रस्ताव ल्याउन पनि निर्देशन दिनुभएको थियो । 

बैठकमा उहाँले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने,  बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र  कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत निर्देशन दिनुभयो । “गरिबलाई कानुन देखाएर मात्रै हुँदैन, उनीहरुलाई केन्द्रमा राखेर विकासका कार्यक्रम तय गर्न सकियो भने मात्रै अर्थपूर्ण रहन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

यसअघि आजको बैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका मन्त्रीलगायतलाई निर्देशन दिँदै एक सय दिनभित्र उपलब्धिपूर्ण काम गर्ने गरी कार्यक्रम निर्माण र कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको सहभागिता थियो । 

दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा चासो

काठमाडौँ, ३१ साउन : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा आज छलफल भएको छ ।

मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायत विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो । सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“दशरथ रङ्गशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ, कति बजेट लाग्छ, प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,” सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भन्नुभयो, “समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्न आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनुहुँदैन ।”

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्नेगरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ३१ साउन : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि होली सी/भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्ती उल्लेख छ । 

उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबीच कूटनीतिकसम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्नुभएको थियो । “नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा बृहत मानव कल्याणका मान्यतामा अटल विश्वास राख्ने मुलुक हुन्,” उहाँले भन्नुभयो, “शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्‍याउन नेपालले सरोकारवालासँग हातेमालो गर्दै आएको छ ।”

राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताउनुभयो । “मलाई नेपालको वातावरण असाध्यै मन पर्छ,” उहाँले भन्नुभयो, “नेपालको हिमाल तथा पर्वत शृङ्खला विश्वका थुप्रै पर्यटकलाई आकर्षणको केन्द्र हुन् ।”

जापान : ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य

जापानले एक हप्ता देखि लागु गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानविय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।

करीव १२५ मिलियन मानिसहरूको बसोबास रहेको जापानमा शक्तिशाली भूकम्प र यसले विपत्ती आउन सक्ने भनि जारी सतर्कताले हजारौँ मानिसहरूलार्ई आवश्यक वस्तुहरू भण्डारण गर्न तथा विशेष व्यवस्था गर्न प्ररित गरेको थियो ।

हाल भूकम्पीय गतिविधि र प्रभावको कुनै शङ्कास्पद अवस्था देखा नपरेकाले भुकम्पीय चेतावनी साँझ पाँच बजेबाट लागु हुने गरी अन्त्य भएको विपद् व्यवस्थापन मन्त्री योसिफुमी मात्सुमुराले बताउनुभयो ।

जापानको मौसम निकायले गत बिहीबार, ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि ठूलो भूकम्पको सम्भावना ‘सामान्य भन्दा बढी’ भएको जनाएको थियो ।त्यो एक विशेष प्रकारको सम्भावित कम्पन थियो जसलाई ‘सबडक्सन मेगाथ्रस्ट’ भूकम्प भनिन्छ, जसले ठुलो सुनामी निम्त्याउन सक्छ । यो भूकम्पको सम्भावना प्रशान्त महासागर क्षेत्रमा रहेका दुई टेक्टोनिक प्लेटहरू बिचको ‘नानकाई थ्रोग’सँग सम्बन्धित छ । यो करीब ८०० किलोमिटर लामो सामुद्रिक च्यानल र जापानको प्रशान्त तटसँग समानान्तर रूपमा चल्छ ।

सन् १७०७ मा, नानकाई गर्तका सबै खण्डहरू एकैचोटि फुट्दा भूकम्प निम्त्याएको भूकम्प दोस्रो–शक्तिशाली रहेको थियो ।
उक्त भूकम्पले माउन्ट फुजीको अन्तिम विस्फोट पनि निम्त्याएको थियो ।

जापानी सरकारले यसअघि नै नानकाई गर्तमा ८.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने सम्भावना रहेको बताएको थियो ।
विज्ञहरूले यस्तो खराब अवस्थामा तीनलाख जनजीवन गुम्न सक्ने अनुमान गरेका थिए भने केही ईन्जिनियरहरूले क्षति १३ ट्रिलियन सम्म पुग्न सक्ने जनाएका थिए ।

यद्यपि, विज्ञहरूले जोखिम अझै कम रहेको बताएका छन् भने कृषि तथा मत्स्यपालन मन्त्रालयले शनिबार मानिसहरूलाई अत्यधिक भण्डारण गरिएका सामानहरूबाट टाढा रहन आग्रह गरेको छ । सुपरमार्केटहरूले बोतलको पानी लगायत खरिदमा सिमितता कायम गरे पछि शौचालय र संरक्षित खानाजस्ता आपतकालीन वस्तुहरूको माग अनलाइनमा बढेकोे छ ।

भूकम्पको चेतावनीले प्रधानमन्त्री फुमियो किशिदाको गत हप्तामा हुने मध्य एसियाको चार दिने भ्रमण रद्द गर्नसमेत बाध्य पारेको थियो । केही बुलेट ट्रेनहरूले सावधानीका रूपमा आफ्नो गति घटाएका थिए भने आणविक संयन्त्रलाई अधिकारीहरूले प्रकोप तयारी जाँच गर्न निर्देशन दिएका थिए ।

स्वतन्त्रता दिवसमा मोदीद्वारा साझा नागरिक संहितामा पुनः जोड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रिय साझा नागरिक संहिता कानूनका साथ अघि बढ्न खोजेको बताउनुभएको छ । भारतका एक अर्ब ४० करोड मानिस सामान्य फौजदारी कानूनको अधीनमा छन् । तर विवाह, सम्बन्धविच्छेद र उत्तराधिकार जस्ता व्यक्तिगत मामिलामा नियमहरू फरकफरक हुन्छन् । प्रस्तावित नागरिक संहिताले सबै धार्मिक समुदायका कानूनहरूलाई मानकीकरण गर्नेछ ।

प्रधानमन्त्री मोदीले वार्षिक स्वतन्त्रता दिवसको सम्बोधनमा विभिन्न कानूनले मुलुकलाई विभाजन गरेको बताउनुभयो । “धर्मका आधारमा मुलुकलाई विभाजन गर्ने, असमानताको कारण बन्ने ती कानूनहरूको आधुनिक समाजमा कुनै स्थान हुनुहुन्न”, उहाँले भन्नुभयो, “त्यसैले म भन्छु ः मुलुकमा एउटा धर्मनिरपेक्ष नागरिक संहिता हुनुपर्छ भन्ने समयको माग हो ।”

मोदीले जुनमा कार्यालयमा लगातार तेस्रोपटक जित हासिल गर्नुभएको छ । तर उहाँको भारतीय जनता पार्टी (भाजपा) लाई एक दशकमा पहिलो पटक पूर्ण बहुमत हासिल नभएपछि उहाँ गठबन्धन सरकार बनाउन बाध्य हुनुभएको छ । 

“हामी बसेको नागरिक संहिता वास्तवमा एक प्रकारको साम्प्रदायिक नागरिक संहिता हो, विभेदको संहिता हो”, प्रधानमन्त्री मोदीले उक्त मुद्दामा बहस गर्न आह्वान गर्दै भन्नुभयो । 

“सबैले आ–आफ्नो धारणा राख्नुपर्छ”, हजारौँ विद्यार्थी, सैनिक र विदेशी प्रतिष्ठित दर्शकलाई उहाँले भन्नुभयो ।   मोदीले बेलायतबाट भारतको स्वतन्त्रताको सम्झनामा १७औँ शताब्दीको भव्य लालकिल्लाबाट सम्बोधन गर्नुभयो । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले पदभार ग्रहण गरेदेखि नै लालकिल्लाबाट सम्बोधन गर्ने वार्षिक परम्परा बनेको छ । 

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौँ, ३१ साउन : विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिनुभएको हो ।

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनुभएको छ । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई दुई सय पाँच मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको थियो ।

नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

काठमाडौँ, ३१ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सिंहदरबारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयकातर्फबाट प्रस्तुती दिँदै उहाँले क्यान विभाजनसम्बन्धी विधेयक आर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिनुभयो । 

“मन्त्रालयले क्यानलाई अलग बनाउने कानुनका मस्यौदा अगाडि बढाएको हो । क्यान विभाजनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो,” सचिव पाण्डेले भन्नुभयो । 

क्यानलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विसं २०७६ फागुन ११ गते राष्ट्रियसभामा दर्ता गराउनुभएको थियो । विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक विसं २०७९ असोज १ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो ।

मन्त्रालयले संस्कृति नीति तयार गरेको जानकारी दिँदै सचिव पाण्डेयले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएको बताउनुभयो । अघिल्लो आर्थिक वर्ष १० लाख १४ हजार आठ सय ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटकको औसत बसाई १३ दिन रहेकामा १३ दशमलव ५ पुर्‍याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

माओवादी भदौभर पार्टी कमिटी बैठकमा केन्द्रित हुने

काठमाडौँ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकले आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले आगामी भदौ महिनाभित्र प्रदेश, जनवर्गीय सङ्गठन, मोर्चा, सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको हो ।

    बैठकले सबै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच संयुक्त परामर्श बैठक राख्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै पदाधिकारी सबै प्रदेशका बैठकमा सहभागी हुने निर्णय भएको उहाँको भनाइ छ । “बैठकमा जनताका पीरमर्का बुझ्ने काम हुनेछ । पार्टीका अवधारणा जनतासम्म लैजाने र जनताका विषय पार्टीसम्म ल्याउने बारेमा बृहङ्गम छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

 आगामी भदौ ५–६ बागमती, भदौ ७–८ विशेष र सम्पर्क समन्वय, भदौ ९–१० गण्डकी, भदौ १२–१३ सुदूरपश्चिम, भदौ १४–१५ कर्णाली, भदौ १६–१७ लुम्बिनी प्रदेश, भदौ १८ गते तीनवटा केन्द्रीय आयोग, भदौ २२–२३ मधेस, भदौ २४–२५ कोशी प्रदेश तथा सल्लाहकार, भदौ २७–२८ जबस, मोर्चा र भदौ २९–३० ज्येष्ठ कम्युनिष्ट मञ्च र आयोगको परामर्श बैठक बस्ने माओवादीले जनाएको छ ।

कांग्रेस एक हप्ताभित्र प्रदेश सरकारमा सहभागी हुन्छः नेता डा कोइराला

मोरङ, ३१ साउनः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

नेता कोइरलाले भन्नुभयो, “हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो ।” उहाँले विगत एक वर्षदेखि आफूले एमाले र कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेका यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताउनुभयो ।

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राख्नुभयो । उहाँले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसङ्गमा उहाँले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू हुने जानकारी दिँदै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने धारणा राख्नुभयो ।

बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म १७५ जनाको मृत्यु

काठमाडौँ, ३१ साउनः अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ७५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २४ जना घाइते भएका छन् । 

बाढीपहिराबाट काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीनजना, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १३ जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुईजना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चििम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन् ।”

बाढीका कारण दुई सय ८६ वटा घर, एक सय पाँच वटा गोठ, ४९ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिरोमा परी आजसम्म आठ सय २० वटा पशु चौपायको मृत्यु भएको प्रहरीले जनाएको छ ।    उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार सय ७२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

भ्रष्टाचार मुद्दामा फैसला नभएसम्म निलम्बन हुने कि नहुने भन्नेमा व्यापक छलफल आवश्यक : अध्यक्ष दाहाल

काठमाडौँ, ३१ साउन : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको मुद्दामा अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारेमा व्यापक छलफलको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा अध्यक्ष दाहालले यस सम्बन्धमा विगतमा देखिएका समस्या नदोहोरिने गरी ऐन संशोधन गर्नु उचित हुने धारणा राख्नुभयो । 

“आयोगले मुद्दा दर्ता गराउने वित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ ।”

अदालतले फैसला नगरेसम्म सो मुद्दा टुङ्गिएको नमानिने उल्लेख गर्दै अध्यक्ष दाहालले अदालतमा मुद्दा दायर हुने वित्तिकै पदाधिकारी निलम्बित हुने तर फैसलाले निर्दोष ठह¥याएको अवस्थालाई कसरी सम्बोधन गर्नेबारे गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो । “त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ । व्यक्ति निलम्बित भयो तर, अदालतको फैसलामा विलम्ब भयो र व्यक्ति अवकाशमा गएको अवस्थामा समाधान के त ? यस्तो अवस्थालाई ऐनमार्फत् नै सम्बोधन गर्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो । 

भ्रष्टाचारका विषय कति समयभित्र अनुसन्धान गर्ने भन्ने हदम्याद राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो । भ्रष्टाचार निवारणसम्बन्धी बनेको ऐन समय अनुकुल बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेस गर्दाको अवस्था राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको उल्लेख गर्दै उहाँले बदलिँदो अवस्थाअनुसार ऐन संशोधन आवश्यक रहेको बताउनुभयो ।

“२०५९ सालमा यो ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेस गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । शासन व्यवस्था नै परिवर्तन भएको छ, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाअनुसार पनि ऐन संशोधन आवश्यक छ”, समितिका सदस्यसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो ।

निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिकको रुख काटेपछि…

नवलपुर (नवलपरासी), ३१ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ ।

कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१ र बुलिङटार गाउँपालिका–६ मा रहेका खयरका रुख काटिएका हुन् । खयरको रुख कटानीबाट गाउँको एउटा डाँडो नै रित्तिएको स्थानीयको भनाइ छ । निजी वनको रुख कटान गर्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानको रुख काट्ने व्यक्तिलाई पक्राउ गरी डिभिजन वन कार्यालय कावासोतीमा बुझाइएको प्रमुख जिल्ल अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

“दुई पालिकाको दुई वडामा पर्ने सामुदायिक वन र सार्वजनिक स्थानमा रहेका खयरका रुख कटानी भएको सूचना पाएपछि ठेकेदारसहितका केही व्यक्तिलाई पक्राउ गरेका छौँ” उहाँले भन्नुभयो, “पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ ।”

डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर घटनाको बारेमा अध्ययन गरिरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजन वन अधिकृत वसन्त केशव अधिकारीले घटनामा संलग्न ६ जना पक्राउ परेका जानकारी दिनुभयो । “अवैध रुपमा रुख कटानी गरेको उजुरीको आधारमा ठेकेदारसहित ६ जनालाई पक्राउ गरिएको छ” उहाँले भन्नुभयो, “घटनामा संलग्न दुई जना फरार छन्, उनीहरुको खोजीकार्य जारी छ ।” ठेकेदारले अवैध रुपमा रुख कटानी गरे पनि बिक्री गर्न नपाएको उहाँको भनाइ छ ।

बुलिङटार गाउँपालिकाका पूर्व अध्यक्ष शशिकिरण बस्ताकोटीले काटिएका खयरका रुखमध्ये आधाभन्दा बढी बिक्री भइसकेको बताउनुभयो । “करिडोरसँगै पर्ने स्थानको सामुदायिक वनबाट काटिएका खयरको रुखमध्ये ६ ट्रक बिक्री भइसकेको छ”, उहाँले भन्नुभयो, “कटानी भएको ठाउँमा अब साढे दुई ट्रक जति काठ बाँकी छ ।”

सभामुख समक्ष दुई संसदीय समितिका सभापतिको शपथ

काठमाडौँ, ३१ साउन : सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिनुभयो ।

समिति सभापतिमा निर्वाचित भइसकेपछि कार्यभार सम्हाल्नुअघि सभामुखसँग शपथ लिनुपर्ने प्रावधान छ । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गर्नुभयो । न्यौपाने नेपाली कांग्रेस र गैरे नेकपा (एमाले) सँग आबद्ध हुनुहुन्छ ।

शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँहरूले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रमुख सचेतक र मुख्य सचेतकलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको निर्देशनः अख्तियारमा बयान दिनुपर्ला भनेर काम गर्न नडराऔँ

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्खे खालका ठोस योजना ल्याउन निर्देश गरेका छन् ।

मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे बिहीबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले विकास खर्च शतप्रतिशत गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने धारणा राखे । “हामी जागिर खाइरहेका छैनौँ । देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततीका लागि काम गरिरहेका छौँ । यो सेवाको तुलना पारिश्रमिकसँग हुनसक्दैन”, प्रधानमन्त्री ओलीले भने, “हाम्रो लक्ष्य निर्धारण काल्पनिक नभइ  वस्तुगत हुनुपर्छ । पूरा गर्न कठिन हुन्छ भनी कमजोर लक्ष्य राख्न हुन्न ।”

उनले अबका तीन महिनामा इतिहासका विगतमा भन्दा बढी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समय आएको बताए । “धेरै काम गर्दा समस्या आउँछन्, अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन”, उनले भने ।

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यवासायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोगमा ध्यान दिन निर्देशन दिए ।

उनले एउटा मन्त्रालयबाट अर्काे मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवको ध्यानाकर्षण गराए ।

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

जुम्ला,३१ साउन : जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् ।

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताउनुभयो । दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०,कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन् । गत आवमा रु २४ लाख राजस्व सङ्कलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

प्रशस्त आम्दानी भएपछि भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

टक्सार (भोजपुर), ३१ साउन : जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी रु १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गर्नुभएको बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको राससलाई बताउनुभयो ।

किसान सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडाँैसमम बिक्री हुन थालेपछि उहाँ उत्साहित हुनुभएको छ । सबै खर्च कटाएर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उहाँले बताउनुभयो । उहाँले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पाल्नुभएको छ । स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ ।

खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुरपालन मात्र होइन, फलफूलखेती पनि गर्नुभएको छ । उहाँका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट रु पाँच लाख आम्दानी गर्ने लक्ष्य उहाँले सुनाउनुभयो । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गर्नुभएको छ । उहाँले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थाल्नुभएको हो ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

राँझा (बाँके), ३१ साउनः नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् ।

ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य पूर्ण केसीले बताउनुभयो ।

विसं २०३० मा दुई सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ । पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन हुने गरेका छन् । औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ ।

वार्तामा सहभागी हुँदै इजरायली जासूस प्रमुखहरू

इजरायलका जासूस प्रमुखहरू बिहीबार दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएको छन् । “प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ,” एक विज्ञप्तिमा भनिएको छ ।

इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले एएफपीलाई बताउनुभयो ।

प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन ।हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भन्नुभयो, “मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।”

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या ह्वात्तै बढ्यो

भद्रपुर (झापा), ३१ साउनः जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले रु १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ । यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च रु तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ ।

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण,चार महिनामा पाँच सय ८२ जना सङ्क्रमित

मोरङ, ३१ साउनः कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको छ ।

यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् ।मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनुभयो ।

ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

म्याग्दी, ३१ साउन : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरुको श्रमदानमा रु. २५ लाख लागतमा उक्त पुल निर्माण भएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर लामो उक्त पुलबाट छेन्तुङ, गुर्जाघाट, पाखाथरका बासिन्दाका साथै पर्यटकहरुलाई सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर थापाले जानकारी दिनुभयो ।

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

काठमाडौँ, ३१ साउनः नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ । पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

“शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्”, पाकिस्तानी राजदूतले भन्नुभयो ।

पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उहाँले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका खातिर पाकिस्तानले योगदान गरिरहेको बताउनुभयो ।

“नेपाल पाकिस्तानको निकटको मित्र हो, सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास, सम्मान, हार्दिकता र समझदार हाम्रो सम्बन्धको विशेषता बनेको छ”, पाकिस्तान र नेपालबीच भौगोलिक एवं सांंस्कृतिक समानता रहेका बताउँदै उहाँले भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा र के टु, लुम्बिनी र तक्षशिला केही नमूना हुन् ।”

पाकिस्तान र नेपालले क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझेदारका रूपमा काम गर्दै आएका तथा त्यो साझेदारी संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा अझ विशेष रहेको उहाँले बताउनुभयो ।

व्यापार, हवाई सेवा, संस्कृति, पर्यटन, कृषिलगायत क्षेत्रमा दुई देशबीच साझेदारीका सम्झौता भएका स्मरण गर्दैै द्विपक्षीय संयन्त्रमार्फत जलवायु परिवर्तन, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा मानव संशाधन विकासलाई अझ विस्तार गर्नेतर्फ दुवै मुलुक क्रियाशील रहेका बताउनुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दुवै देशले आपसी सम्बन्धलाई उच्च महत्व दिएका बताउँदै पाकिस्तानसँगको मुलुकको जनस्तरको सम्बन्धलाई अझ सब बनाउन सङ्गठन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिबारे जानकारी दिँदै कोरोना महामारीका बेला पाकिस्तान सरकारले रु चार करोड ३० लाख बराबरका औषधि तथा उपकरण सहयोग गरेको बताउनुभयो ।

समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो । त्यस अवसरमा पाकिस्तानले सामाजिक–आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, ३१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानूमान छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।

पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकाको उद्धार

गण्डकी – पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकालाई बुधबार उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकालाई उद्धार गरेको हो ।

पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ ।

‘नाडा अटो शो २०२४’ भदौ ११ देखि, सुस्ताएको अटो क्षेत्र चलायमान हुने विश्वास

पाटन (ललितपुर) – आगामी भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना गरिने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालले ललितपुरमा पत्रकार सम्मेलन गरी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘अटो शो’ गर्न लागिएको जानकारी दिएको छ ।

दुई दशक अघिदेखि सोलाई निरन्तरता दिँदै आएको नेपालको अटोमोबाइल एशोसिएशनले यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो शो २०२४ गर्न लागिएको नाडा अटो शो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी गराउनुभयो ।

बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्राण्ड, १९ वटा दुई पाङ्ग्रे ब्राण्डहरू र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शनीमा रहनेछन् ।

“३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टमा विशेषज्ञह रहनेछन्, ७ वित्तीय संस्थाहरूले विशेष रूपले अनुकूल वित्तीय समाधान प्रदान गर्नेछन् । प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले एक सय ३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्”, उहाँले भन्नुभयो ।

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी

त्रिशूली (नुवाकोट – नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ ।विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ । आज कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले यहाँ निर्माणकार्यको अनुगमन गरेसँगै अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको हो ।

महानिर्देशक आचार्यले महिलाको लागि एक र पुरुषका लागि चार वटा ब्लकसहित संरचना निर्माणको काम पूरा भएकाले अब चाँडै कैदीबन्दी स्थानान्तरण गरिने बताउनुभयो । “कारागार निर्माणको पहिलो चरणमा जग्गाको चारकिल्ला निर्धारण गरेर दोस्रो चरणमा एक हजार तीन सय ७० जना कैदीबन्दी अट्ने क्षमताको पाँच वटा ब्लक निर्माण गरिएको छ”, महानिर्देशक जयनारायण आचार्यले भन्नुभयो, “तयार भएका भवनमा कैदीबन्दी राख्न कारागार, शौचालय, स्नानकक्ष, खेल मैदानसहित आधुनिक एवं सुविधा सम्पन्न संरचना निर्माण गरिएका छन् ।”

कूल सात हजार कैदीबन्दी अट्ने क्षमताको भौतिक संरचना निर्माणसहित शिक्षालय, पुस्तकालय, अस्पताल, सीप विकास तथा प्रवर्द्धन केन्द्र, योग तथा ध्यान केन्द्रसहित आधुनिक सुधार गृहको रूपमा नुवाकोटमा केन्द्रय कारागार भइरहेको छ । अब निर्माणको काम तेस्रो चरणमा प्रवेश गर्न लागेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

निर्माणको काम लक्ष्यभन्दा निकै ढिलो

यसअघि तेस्रो चरणको कामका लागि ठेक्का निकालेर सम्झौता प्रक्रियामा पुगे पनि स्थगित गरिएको थियो तर सरकारको निर्णयअनुसार नुवाकोटमा करिब सात हजार कैदीबन्दी अट्ने संरचना निर्माण गर्ने लक्ष्यअनुसार नै काम अघि बढाइने महानिर्देशक आचार्यले विश्वास दिलाउनुभयो ।

केन्द्रीय कारागार निर्माणको ‘गुरू योजना’ मा समावेश भएकामध्ये निर्माण गर्न बाँकी भौतिक संरचना तेस्रो चरणको कार्यक्रममा समावेश हुने अनुगमन पश्चात नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार पाँच चरणमा १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर सरकारले निर्णय गरेको १० वर्ष पूरा हुँदा बल्ल भौतिक संरचना निर्माणअन्तर्गत करिब १९ प्रतिशत काम भएको छ । यहाँ अझै पाँच हजारभन्दा बढी कैदीबन्दी राख्ने संरचनासहित अस्पताल, शिक्षालयसहितको संरचना निर्माण गर्न बाँकी छ ।

विसंं २०७० चैत २० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले काठमाडाँैमा रहेको केन्द्रीय कारागार नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सङ्घीय संरचनानुसार नुवाकोटमा निर्माण भइरहेको कारागारलाई केन्द्रीय कारागार, सातवटै प्रदेशमा प्रादेशिक कारागार र सबै जिल्लामा एक÷एक जिल्ला आधुनिक कारागार बनाउने सरकारको लक्ष्य छ ।

सुनका गहना किन्ने बहानामा चोरी, चोरीका सुन किन्नेसहित दुई पक्राउ

काठमाडौँ – काठमाडौँको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन व्यवसाय गर्दै आएका चित्र रञ्जन हजारालाई पक्राउगरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

काठमाडौँको न्यूरोडमा यही साउन २५ गते नारायण ज्वेलर्सबाट तीन महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरार भएकी थिइन् । उक्त विषयमा अनुसन्धान गर्दा चोरीमा संलग्न लिना नकर्मीलाई यही साउन २९ गते ललितपुरको पुलचोकबाट पक्राउ परिएको थियो । थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्यूरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक हजारालाई पनि पक्राउ गरिएको आचार्यले बताउनुभयो । दुवैै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौँमा पठाइएको छ ।

नकर्मीले पहिले पनि चोरी गरेको अन्दाजी १७ ग्रामको सुनको सिक्री सोही ज्वेलर्सलाई बिक्री गरेको खुल्न आएको छ । त्यस्तै उनको साथबाट आधिकारिकता पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट फर्किएर गाउँमै पुष्प व्यवसाय र तरकारीखेतीमा व्यस्त प्रेम, गर्छन् मनग्य आम्दानी

वेदकोट (कञ्चनपुर) – कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया पुष्प व्यवसाय र तरकारीखेतीमा व्यस्त हुनुहुन्छ । केही वर्षअघिसम्म भारतका होटलमा काम गर्ने उहाँ स्वदेश फर्किएर गाउँमै कृषिकर्ममा व्यस्त हुनुभएको हो ।

सुन्दरनगरमा रोकायाले १० कट्ठा जमिनमा सयपत्री फूलको खेती गर्नुभएको छ । उहाँले फूलसँगै तरकारीखेती पनि गरिरहनुभएको छ । यही कृषिकर्मबाट घरखर्च जोहो गर्दै आएको उहाँले बताउनुभयो । “विदेशमा १२ घण्टासम्म काम गर्नुपर्ने, त्यसमा पनि मालिकको किचकिच खेप्नुपथ्र्यो । अर्काको काम गर्नुभन्दा त स्वदेशमै केही काम गर्ने भनेर घर फर्किए, कृषि गर्न थाले । त्यसपछि फेरि विदेशिने सोच आएको छैन”, रोकायाले भन्नुभयो ।

सुरूआतमा उहाँले रु पाँच लाखमा बङ्गुरपालन गर्नुभएको थियो तर बजार नपाउँदा व्यवसाय छोड्नुप¥यो । त्यसपछि उहाँले पुष्पखेती सुरू गर्नुभयो, यसबाट भने जीविकोपार्जन चलिरहेको रोकायाले सुनाउनुभयो । “बङ्गुरपालन गर्दा निकै घाटा लाग्यो तर निराश भइन बरू पुष्पखेती गर्ने सोच बनाए”, उहाँले भन्नुभयो, “अनलाइनमा युट्युब हेरेर पुष्पखेतीसम्बन्धी सीप सिकेँ । प्रविधिबाट सिकेको सीप नै पुष्पखेती विस्तारमा उपयोग गरिहेको छु ।”

रोकाया थप चार कट्ठा जमिनमा पुष्पखेती विस्तार गर्ने योजनामा हुनुुहुन्छ । सुरूआतमा भारतको कलकत्ताबाट फूलको बीउ मगाएर आफैँले बेर्ना उत्पादन गरेको उहाँले स्मरण गर्नुभयो । “सुरूमा भारतबाट बीउ मगाए तर अहिले आफैँले बेर्ना उत्पादन गरिरहेको छु । फूल र माला बेचेर खर्च टाएर एक वर्षमा रु एक लाखभन्दा बढी आम्दानी हुन्छ । परिवारको गुजारा चलाउन यसले निकै सहयोग पुगेको छ”, रोकायाले भन्नुभयो ।

हाल उहाँले बारीमा उत्पादन गरेको सयपत्री फूलका बेर्ना खेतमा सारिसक्नुभएको छ । असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ । खेतमा सारेको अढाइ तीन महिनाभित्र फूल बिक्रीका लागि तयार हुने गरेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “फूल र माला उनेर बिक्री हुने गरेको छ । विशेषगरी दसैँ, तिहारमा प्रति किलोग्राम माला रु दुई सय ५० र रु एक सयमा फूल बिक्री हुने गरेको छ । त्यसबाहेकको समयमा प्रतिकिलो माला रु पाँच सय र फूल रु दुई सयमा बेच्ने गर्छु । गतवर्ष उत्पादित फूल र माला दोधारा–चाँदनी क्षेत्रमै बिक्री गरेर रु एक लाख १५ हजार आम्दानी गरेको थिए ।”

रोकायाले यससँगसँगै उहाँले बोडी, फर्सी, लौकीलगायत तरकारीखेती पनि खेती गर्नुहुन्छ । यसमा श्रीमतीलगायत परिवारको सहयोग गरिरहेका छन् । सामान्य अवस्थामा परिवारका सदस्य र आवश्यक परेका बेला मजदुर लगाएर पनि काम गराइरहेको रोकायाले बताउनुभयो । यसैबाट आर्जेको रकमले घरखर्च र दुई सन्तानको पठनपाठन खर्च जोहो भइरहेको उहाँले सुनाउनुभयो । “पहिले भारतमा निकै मेहनत गर्दा हाम्रो आर्थिक अवस्थामा कहिल्यै सुधार भएन । अहिले आफ्नै देशमा परिवारसँगै बसेर आम्दानीसँगै आत्मसन्तुष्टि पनि प्राप्त गरिरहेको छु । तरकारी र फूलखेतीबाट लगानी कटाएर वार्षिक रु तीन लाखसम्म बचाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

जनतासँग प्रत्यक्ष रुपमा जोडिने स्थानीय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे

गण्डकी (कास्की) – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतासँग प्रत्यक्ष रुपमा जोडिने स्थानीय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल नगरपालिका सङ्घद्वारा आयोजित ‘नगर सुशासन, वित्तिय अनुशासन र दिगो विकास’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

“संवैधानिक रुपमा कार्यसम्पादन गर्दा उत्साह बढ्नुका साथै गल्ती कमजोरीबाट बच्न सकिन्छ”, उहाँले भन्नुभयो, “जनताका अपेक्षाअनुसारका विकास निर्माण कार्यलाई अघि बढाउँदै सुशासन कायम गर्न स्थानीय सरकार र सरोकारवालाबीच दोहोरो संवाद हुन आवश्यक छ ।”

जनताका आवश्यकतालाई दृष्टिगत गर्दै योजना निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले तीनवटै तहबीचको सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो ।

महालेखा परीक्षक तोयम रायले कर्मचारीले कानुनसम्वत् कार्यसम्पादनमा चुक्न नहुने बताउँदै आवश्यकताअनुसार स्थानीय र प्रदेशस्तरमा तालिम दिन आफूहरू तयार रहेको बताउनुभयो ।

नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमनिधि ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेश, महालेखा परीक्षक कार्यालय र खरिद तथा अनुगमन कार्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका नगरप्रमुख, उपप्रमुख र प्रमुख कार्यकारी अधिकृतसहित ७५ जनाको सहभागिता थियो ।

निषेधित प्लास्टिक झोला उत्पादन गर्नेलाई छ हजारसम्म जरिवानाको व्यवस्था

तनहुँ, – तनहुँको व्यास नगरपालिकाले निषेधित प्लास्टिकजन्य झोलालगायत सामग्री प्रयोग गर्ने उपभोक्तादेखि बिक्रेता र उत्पादकसम्मलाई जरिवानाको व्यवस्था गरेको छ । वातावरणमैत्री नगरपालिका निर्माणका लागि दीर्घकालीन सोचका साथ प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

यहाँ प्रयोगकर्ताको सामान जफत गरी रु एक सय, बिक्रेतालाई रु पाँच सयदेखि एक हजारसम्म र उत्पादकलाई रु दुई हजारदेखि छ हजारसम्म जरिवानाको व्यवस्था गरेको उहाँले बताउनुभयो । यहाँ कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको छ भने नकुहिने फोहरलाई पुनःप्रयोगमा ल्याई बिक्री वितरण गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो । “विगत लामो समयदेखि समाधान हुन नसकेको फोहरको समस्याको स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरण कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “कुहिने र नकुहिने वस्तु वर्गीकरण गरी व्यवस्थापन गर्दै आएका छौँ । पुनः प्रयोगमा आउने सामग्री छुट्याइ बिक्रीमा पठाइने गरिएको छ । सिसाजन्य सामग्री अलग्गै सङ्कलन गरी कार्यालय परिसरबाट बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”

नगरपालिकाले विसं २०८१ जेठ १ गतेदेखि प्लास्टिकका झोला, प्लेट, कपलगायतका हानिकारक प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निषेधित गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । वातावरणलाई स्वच्छ र सफा राख्न बनेको व्यासनगर प्लास्टिकजन्य वस्तुको प्रतिबन्ध गर्नेसम्बन्धी ऐन २०८१ र सोको कार्यविधि अनुरूप प्लास्टिकजन्य सामाग्री प्रयोगमा निषेध गरिएको उहाँको भनाइ छ ।

प्लास्टिक झोलाको सट्टामा वातावरणमैत्री कपडा, जुट वा कागजका झोला र कागजका कप, प्लेट वा दुनाटपरी वा जैविक पदार्थबाट बनेका वस्तु मात्र प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ । “व्यासनगर क्षेत्रभित्र निषेधित प्लास्टिक उत्पादन, बिक्री वितरण वा प्रयोग गर्न प्रतिबन्ध गरिएको छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “यदि ऐन नियमविपरीत गरेको पाइएमा जरिवानाको भागिदार बन्नुपर्नेछ ।”
फोहर व्यवस्थापनका लागि नगरपालिकाले जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ ।

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

काठमाडौँ, ३१ साउनः नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

“शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्”, पाकिस्तानी राजदूतले भन्नुभयो ।

पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उहाँले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका खातिर पाकिस्तानले योगदान गरिरहेको बताउनुभयो ।

“नेपाल पाकिस्तानको निकटको मित्र हो, सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास, सम्मान, हार्दिकता र समझदार हाम्रो सम्बन्धको विशेषता बनेको छ”, पाकिस्तान र नेपालबीच भौगोलिक एवं सांंस्कृतिक समानता रहेका बताउँदै उहाँले भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा र के टु, लुम्बिनी र तक्षशिला केही नमूना हुन् ।”

पाकिस्तान र नेपालले क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझेदारका रूपमा काम गर्दै आएका तथा त्यो साझेदारी संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा अझ विशेष रहेको उहाँले बताउनुभयो ।

व्यापार, हवाई सेवा, संस्कृति, पर्यटन, कृषिलगायत क्षेत्रमा दुई देशबीच साझेदारीका सम्झौता भएका स्मरण गर्दैै द्विपक्षीय संयन्त्रमार्फत जलवायु परिवर्तन, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा मानव संशाधन विकासलाई अझ विस्तार गर्नेतर्फ दुवै मुलुक क्रियाशील रहेका बताउनुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दुवै देशले आपसी सम्बन्धलाई उच्च महत्व दिएका बताउँदै पाकिस्तानसँगको मुलुकको जनस्तरको सम्बन्धलाई अझ सब बनाउन सङ्गठन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिबारे जानकारी दिँदै कोरोना महामारीका बेला पाकिस्तान सरकारले रु चार करोड ३० लाख बराबरका औषधि तथा उपकरण सहयोग गरेको बताउनुभयो ।

समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

त्यस अवसरमा पाकिस्तानले सामाजिक–आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।

सभ्यता आदानप्रदान, आपसी सिकाइबारे छलफल गर्न विश्व युवाहरू बेइजिङमा भेला

विभिन्न सभ्यताबीच आदानप्रदान र आपसी सिकाइबारे छलफल गर्न स्वदेश तथा विदेशका झन्डै दुई सय युवा यहाँ भेला भएका छन् ।

युवाहरूलाई सांस्कृतिक विविधता, सभ्यताको आदानप्रदान र आपसी सिकाइ, सांस्कृतिक सम्पदा र नवप्रवर्तनका साथै मानवताको साझा भविष्य भएको समुदायको निर्माणबारे संवादमा संलग्न हुने अवसर प्रदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

इजिप्टका मोहम्मद जिहादले संवादको माध्यमबाट विविध संस्कृतिहरू जीवन्त रूपमा फस्टाउन सुनिश्चित गर्न सक्रिय प्रयासहरूका लागि वकालत गर्नुभएको छ ।

कार्यक्रम चाइना इन्टरनेशनल युथ एक्सचेन्ज सेन्टर र अखिल चाइना युथ फेडरेशनको सहयोगमा आयोजना गरिएको थियो ।

ताप्लेजुङमा पहिराले दुई घर र पुल बगायो,ओहोरदोहोरमा समस्या

ताप्लेजुङ, ३० साउन : गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिनुभयो । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आउनुभएको घर पहिराले बगाएको हो ।

उहाँकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उहाँकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन ।

घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ”, वडाध्यक्ष शेर्पाले भन्नुभयो । पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।

भारतको ७८औँ स्वतन्त्रता दिवस समारोहमा छ हजार विशेष अतिथिहरूलाई आमन्त्रित

प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ ।

यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ रहेको छ । बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा यस उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने उल्लेख गरेको छ ।

समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब छ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा विभिन्न राज्य÷केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ ।

योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौँ, ३० साउनः चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो । आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारीगरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्दगरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

उहाँले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा उक्त रकम सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने बताउनुभयो । आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमका लागि कक्षा १२ को नतिजा प्रकाशन नभए पनि फाराम भराएको थियो ।

यसअघि फाराम भरेका तर पछि कक्षा १२ को नतिजामा योग्यता नपुगेका परीक्षार्थीको फाराम शुल्क फिर्ता गरिने प्रचलन थिएन तर शिक्षामन्त्री भट्टराईको निर्देशनपछि आयोगले विद्यार्थीको शुल्क फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । आयोगले चिकित्सा शिक्षा स्नातक तहतर्फका विभिन्न विषयमा गत जेठमा आवेदन दिएका उम्मेदवारको यही भदौ १ देखि भदौ ५ गतेसम्म परीक्षा सञ्चालन गर्दैछ ।

सर्वोच्चको फैसला : ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’

काठमाडौँ, ३० साउनः सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानुन बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “हालसम्म क्रसर उद्योग सञ्चालन तथा व्यवस्थापन गर्नका निम्ति कुनै कानुनी व्यवस्था भएको नदेखिँदा ढुङ्गा, गिटी, बालुवा उत्खननगरी कसर उद्योग सुव्यवस्थित रुपमा र वातावरणमैत्री रुपमा सञ्चालन हुने सुनिश्चितताको लागि ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउनु भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौँका नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।”

अदालतले तथ्य, कानुनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्नेगरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७९ जेठ ६ मा पारित ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९ उक्त मापदण्डको दफा ४(१.०) र दफा ११(१) को हदसम्म उत्प्रेषणको आदेशले बदर गरेको छ ।

अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ लाई बदरगरी २०७७ लाई कायम गरेको छ । उक्त ऐनमा क्रसर उद्योग सञ्चालन गर्दा दूरीसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको छ । जसमा क्रसर उद्योग सञ्चालन गर्दा राजमार्गको राइट अफ वेबाट ५०० मि दूरी, खोला वा नदी किनारबाट ५०० मि, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किमी दूरी कायम गरिएको छ ।

त्यस्तै, पक्की पुलबाट ५०० मि, अन्तर्राष्ट्रिय सीमाबाट दुई किमी, वन, निकुञ्ज तथा आरक्षबाट दुई किमी, घनाबस्तीबाट दुई किमी, हाइटेन्सन लाइनबाट २०० मि, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट ५०० मि र चुरे पहाडको फेदीबाट एक हजार ५०० मि दूरी कायम गरिएको छ ।

वातावरण कानुन समाज नेपालका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, नुवाकोटका राजु फुयाँल र धनुषाका राकेशकुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र खानी तथा भूगर्भ विभागलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त फैसला गरेको हो

दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

काठमाडौँ, ३० साउनः कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुङ्गो लगाएको हो । कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थपकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो ।

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्नेसमेत गर्दछ । कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो । यसैअनुसार बजेटको खाका बनाउनुपर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ । आउँदै गरेको १०औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ । जसलेगर्दा कार्यविधि पनि तय गरिएको मन्त्रालयले बताएको छ ।

टिआरसी विधेयकले दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास

काठमाडौँ, ३० साउनः विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । आज प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँहरूले ढिलै भए पनि विधेयक पारित भएकाले सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।

सत्तापक्षको मुख्य सचेतकसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले मेलमिलापको बाटो तय गरेर दिगो शान्ति स्थापनाको उद्देश्य पूरा गर्ने सामथ्र्य बोकेको विधेयक पीडितमैत्री रहेको बताउनुभयो । “यो वियेधक देशभित्र रहेका पीडित र विभिन्न राजनीतिक दलका पार्टीलाई ध्यान दिएर तथा उहाँहरूसँग व्यापक छलफल गरेर ल्याएको हुनाले उहाँहरूले खुला दिलले विधेयकको स्वागत गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विधेयकले पीडितलाई न्यायको पहुँच पु¥याउने र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सफल हुनेछ ।”

अर्का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले टिआरसी विधेयक विश्वको अनुकरणीय र उच्चस्तरको विधेयक रहेको बताउनुभयो । “विश्वमा कतै नभएको काम नेपालमा भएको छ, यसको गर्व गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यो विधेयकको मेरो दिलले खुलेर प्रशंसा गर्छु ।”

यसैगरी प्रतिनिधिसभा सदस्य हितराज पाण्डेले समाजमा शान्ति स्थापना गर्नका लागि तथा वेपत्ता भएको योद्धालाई सार्वजनीकरण गर्नका लागि ढोका खुलेको प्रतिक्रिया दिनुभयो । “यो विधेयक पारित हुँदा द्वन्द्व प्रभावित हामीहरू सबैजना खुसी छौँ । देश नै खुसी छ । हामी सबैले शान्ति प्रक्रियाका काम अगाडि बढाउन खोजिरहेका छौँ । सबै कामको महत्त्वपूर्ण विधेयक आज प्रतिनिधिसभाबाट पारित भएको छ”, उहाँले भन्नुभयो, “केही प्रक्रिया त बाँकी नै छ । जेहोस् १८ वर्षसम्म अड्किएर बसेको थियो । पीडितलाई न्याय दिने विषयमा जोड गरेको छ विधेयकले ।”

प्रतिनिधिसभा सदस्य मनिष झाले पनि टिआरसी विधेयक पारित हुँदा देश अगाडि बढ्दै गरेको सन्देश दिएको प्रतिक्रिया दिननुभयो । “विधेयक सम्झौता र उदारता तथा कठोरता पनि छ, तर भ्रष्ट जहिले पनि भ्रष्ट हो यो हदम्याद हुनुहुँदैन”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अब पीडितले उचित न्याय पाउनुपर्नेमा जोड दिनुभयो । “अहिलेसम्म पीडक जोगाएर पीडितलाई १८ वर्षसम्म रुवाएर बसियो तर आज राम्रो भयो । अब पीडितले न्याय पाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई आज प्रतिनिधिसभाको बैठकले बहुमतबाट पारित गरेको हो । आज प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने विधेयकको विपक्षमा मत दिनुभएको थियो भने अरु सांसदले विधेयक पारितको पक्षमा मत दिनुभएसँगै विधेयक पारित भएको हो ।