`

सभ्यता आदानप्रदान, आपसी सिकाइबारे छलफल गर्न विश्व युवाहरू बेइजिङमा भेला

विभिन्न सभ्यताबीच आदानप्रदान र आपसी सिकाइबारे छलफल गर्न स्वदेश तथा विदेशका झन्डै दुई सय युवा यहाँ भेला भएका छन् ।

युवाहरूलाई सांस्कृतिक विविधता, सभ्यताको आदानप्रदान र आपसी सिकाइ, सांस्कृतिक सम्पदा र नवप्रवर्तनका साथै मानवताको साझा भविष्य भएको समुदायको निर्माणबारे संवादमा संलग्न हुने अवसर प्रदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय भेला आयोजना गरिएको थियो ।

इजिप्टका मोहम्मद जिहादले संवादको माध्यमबाट विविध संस्कृतिहरू जीवन्त रूपमा फस्टाउन सुनिश्चित गर्न सक्रिय प्रयासहरूका लागि वकालत गर्नुभएको छ ।

कार्यक्रम चाइना इन्टरनेशनल युथ एक्सचेन्ज सेन्टर र अखिल चाइना युथ फेडरेशनको सहयोगमा आयोजना गरिएको थियो ।

ताप्लेजुङमा पहिराले दुई घर र पुल बगायो,ओहोरदोहोरमा समस्या

ताप्लेजुङ, ३० साउन : गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिनुभयो । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आउनुभएको घर पहिराले बगाएको हो ।

उहाँकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उहाँकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन ।

घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ”, वडाध्यक्ष शेर्पाले भन्नुभयो । पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।

भारतको ७८औँ स्वतन्त्रता दिवस समारोहमा छ हजार विशेष अतिथिहरूलाई आमन्त्रित

प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ ।

यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ रहेको छ । बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा यस उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने उल्लेख गरेको छ ।

समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब छ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा विभिन्न राज्य÷केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ ।

योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौँ, ३० साउनः चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो । आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारीगरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्दगरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

उहाँले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा उक्त रकम सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने बताउनुभयो । आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमका लागि कक्षा १२ को नतिजा प्रकाशन नभए पनि फाराम भराएको थियो ।

यसअघि फाराम भरेका तर पछि कक्षा १२ को नतिजामा योग्यता नपुगेका परीक्षार्थीको फाराम शुल्क फिर्ता गरिने प्रचलन थिएन तर शिक्षामन्त्री भट्टराईको निर्देशनपछि आयोगले विद्यार्थीको शुल्क फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । आयोगले चिकित्सा शिक्षा स्नातक तहतर्फका विभिन्न विषयमा गत जेठमा आवेदन दिएका उम्मेदवारको यही भदौ १ देखि भदौ ५ गतेसम्म परीक्षा सञ्चालन गर्दैछ ।

सर्वोच्चको फैसला : ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’

काठमाडौँ, ३० साउनः सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानुन बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “हालसम्म क्रसर उद्योग सञ्चालन तथा व्यवस्थापन गर्नका निम्ति कुनै कानुनी व्यवस्था भएको नदेखिँदा ढुङ्गा, गिटी, बालुवा उत्खननगरी कसर उद्योग सुव्यवस्थित रुपमा र वातावरणमैत्री रुपमा सञ्चालन हुने सुनिश्चितताको लागि ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउनु भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौँका नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।”

अदालतले तथ्य, कानुनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्नेगरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७९ जेठ ६ मा पारित ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९ उक्त मापदण्डको दफा ४(१.०) र दफा ११(१) को हदसम्म उत्प्रेषणको आदेशले बदर गरेको छ ।

अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ लाई बदरगरी २०७७ लाई कायम गरेको छ । उक्त ऐनमा क्रसर उद्योग सञ्चालन गर्दा दूरीसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको छ । जसमा क्रसर उद्योग सञ्चालन गर्दा राजमार्गको राइट अफ वेबाट ५०० मि दूरी, खोला वा नदी किनारबाट ५०० मि, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किमी दूरी कायम गरिएको छ ।

त्यस्तै, पक्की पुलबाट ५०० मि, अन्तर्राष्ट्रिय सीमाबाट दुई किमी, वन, निकुञ्ज तथा आरक्षबाट दुई किमी, घनाबस्तीबाट दुई किमी, हाइटेन्सन लाइनबाट २०० मि, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट ५०० मि र चुरे पहाडको फेदीबाट एक हजार ५०० मि दूरी कायम गरिएको छ ।

वातावरण कानुन समाज नेपालका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, नुवाकोटका राजु फुयाँल र धनुषाका राकेशकुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र खानी तथा भूगर्भ विभागलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त फैसला गरेको हो

दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

काठमाडौँ, ३० साउनः कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुङ्गो लगाएको हो । कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थपकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो ।

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्नेसमेत गर्दछ । कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो । यसैअनुसार बजेटको खाका बनाउनुपर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ । आउँदै गरेको १०औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ । जसलेगर्दा कार्यविधि पनि तय गरिएको मन्त्रालयले बताएको छ ।

टिआरसी विधेयकले दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास

काठमाडौँ, ३० साउनः विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । आज प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँहरूले ढिलै भए पनि विधेयक पारित भएकाले सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।

सत्तापक्षको मुख्य सचेतकसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले मेलमिलापको बाटो तय गरेर दिगो शान्ति स्थापनाको उद्देश्य पूरा गर्ने सामथ्र्य बोकेको विधेयक पीडितमैत्री रहेको बताउनुभयो । “यो वियेधक देशभित्र रहेका पीडित र विभिन्न राजनीतिक दलका पार्टीलाई ध्यान दिएर तथा उहाँहरूसँग व्यापक छलफल गरेर ल्याएको हुनाले उहाँहरूले खुला दिलले विधेयकको स्वागत गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विधेयकले पीडितलाई न्यायको पहुँच पु¥याउने र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सफल हुनेछ ।”

अर्का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले टिआरसी विधेयक विश्वको अनुकरणीय र उच्चस्तरको विधेयक रहेको बताउनुभयो । “विश्वमा कतै नभएको काम नेपालमा भएको छ, यसको गर्व गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यो विधेयकको मेरो दिलले खुलेर प्रशंसा गर्छु ।”

यसैगरी प्रतिनिधिसभा सदस्य हितराज पाण्डेले समाजमा शान्ति स्थापना गर्नका लागि तथा वेपत्ता भएको योद्धालाई सार्वजनीकरण गर्नका लागि ढोका खुलेको प्रतिक्रिया दिनुभयो । “यो विधेयक पारित हुँदा द्वन्द्व प्रभावित हामीहरू सबैजना खुसी छौँ । देश नै खुसी छ । हामी सबैले शान्ति प्रक्रियाका काम अगाडि बढाउन खोजिरहेका छौँ । सबै कामको महत्त्वपूर्ण विधेयक आज प्रतिनिधिसभाबाट पारित भएको छ”, उहाँले भन्नुभयो, “केही प्रक्रिया त बाँकी नै छ । जेहोस् १८ वर्षसम्म अड्किएर बसेको थियो । पीडितलाई न्याय दिने विषयमा जोड गरेको छ विधेयकले ।”

प्रतिनिधिसभा सदस्य मनिष झाले पनि टिआरसी विधेयक पारित हुँदा देश अगाडि बढ्दै गरेको सन्देश दिएको प्रतिक्रिया दिननुभयो । “विधेयक सम्झौता र उदारता तथा कठोरता पनि छ, तर भ्रष्ट जहिले पनि भ्रष्ट हो यो हदम्याद हुनुहुँदैन”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अब पीडितले उचित न्याय पाउनुपर्नेमा जोड दिनुभयो । “अहिलेसम्म पीडक जोगाएर पीडितलाई १८ वर्षसम्म रुवाएर बसियो तर आज राम्रो भयो । अब पीडितले न्याय पाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई आज प्रतिनिधिसभाको बैठकले बहुमतबाट पारित गरेको हो । आज प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने विधेयकको विपक्षमा मत दिनुभएको थियो भने अरु सांसदले विधेयक पारितको पक्षमा मत दिनुभएसँगै विधेयक पारित भएको हो ।

गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुका स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

रसुवा, ३० साउनः जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न जाने भक्तजनको स्वास्थ्यलाई ख्याल गरी अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हिमालय उद्धार सङ्घले जनाएको छ ।

सदरमुकाम धुन्चेस्थित शिवमन्दिर चोकमा सञ्चालन हुने शिविरमा तीर्थयात्रुको प्राथमिक तहको स्वास्थ्य परीक्षण गरी गोसाइँकुण्ड जाने बाटोअन्तर्गत मिनी गोसाइँकुण्ड, चोलाङपाटी, लौरिविनायक र गोसाइँकुण्डमा आवश्यकताअनुसार स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

स्थानीय जिल्ला रेडक्रस र आयुर्वेदिक संस्थाले मिनी गोसाइँकुण्ड, नेपाली सेनाले चोलाङपाटी, गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक र हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा अक्सिजनसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष डिएमले बताउनुभयो । भक्तजनलाई स्वास्थ्य सेवा प्रदान गर्न भनी हिमालय उद्धार सङ्घका सात सदस्यीय चिकित्सकको समूह लौरिविनायक पुगिसकेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा साढे तीन करोडभन्दा बढी देवीदेवताको गोसाइँकुण्डस्थित नीलकण्ठ दहमा बास हुने भएकाले एक साथ सबैको दर्शन मिल्ने जनविश्वाससहित तीर्थस्नान एवं पूजाआजाका लागि जोखिम मोलेर त्यसतर्फ भक्तजन जाने गरेको भन्ने शास्त्रीय मान्यत रहिआएको छ ।

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै, सङ्ख्या दुई सय ६४ पुग्यो

कञ्चनपुर, ३० साउन : सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कञ्चनपुरमा ३९, दार्चुलामा २०, बाजुरामा १७, बैतडीमा आठ, डडेल्धुरामा नौ र बझाङमा पाँच जनामा डेङ्गुको सङ्क्रमण देखिएको सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनवरीमा १३, फेवु्रअरिमा २४, मार्चमा ३८, अप्रिलमा ३४, मेमा २५, जुनमा ५२, जुलाईमा ५४ र अगष्टको हालसम्ममा २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट भने हालसम्म सुदूरपश्चिमका कुनै पनि जिल्लामा कसैको मृत्यु भने नभएको उहाँको भनाइ छ । एडिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्दछ ।

“जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा तराई क्षेत्रमा मात्रै पाइने लामखुट्टे पहाडी र उच्च हिमाली जिल्लामा पनि पाइन थालेपछि डेङ्गु लगायतका किटजन्य रोगको सङ्क्रमण बढ्न थालेको छ”, उहाँले भन्नुभयो, “डेङ्गु चुनौतीका रुपमा देखापर्न थालेको छ, पछिल्लो तथ्याङ्क असार महिनाबाट डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएर साउन, भदौ, असोज महिनासम्म उच्च हुने गरेका छन् ।”

क्रमशः चिसो बढ्दै गएपछि डेङ्गुका बिरामीको सङ्ख्यामा पनि कमी हुँदै जाने गरेको देखिएको उहाँले उल्लेख गर्नुभयो । डेङ्गुबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने, घरवरिपरि पानी जन्म नदिने, गमला, प्लेट, फुलदानी, कुलर आदिको पानी हप्तामा एक पटक फेर्नुपर्ने हुन्छ ।

यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ । डेङ्गु सार्ने लामखुट्टेले विशेषगरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने जोशीले बताउनुभयो ।

डेङ्गुको सङ्क्रमण भएमा एक्कासी ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र वान्ता हुने, दैनिक खानपान वा अन्य काम कुरामा रुची नलाग्ने हुन्छ । यी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि जानुपर्दछ । डेङ्गुको सङ्क्रमण रोकथामका लागि प्रदेशका विभिन्न जिल्लाका पालिकामा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएका छन् ।

बाढी, पहिरोलगायतका विपद्मा परी आजसम्म १७४ को मृत्यु

काठमाडौँ, ३० साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्परी आज दिउँसोसम्म एक सय ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय ७४ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीपहिरोले काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जनागरी जम्मा दुई सय २४ जना घाइते भएका छन् । 

बाढीपहिरोबाट कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा एक सय १३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जनागरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।”

बाढीका कारण हालसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका प्रहरीले जनाएको छ । दुई सय ८६ वटा घर, एक सय चार वटा गोठ, ४८ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीपहिरोले आठ सय १६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्घटनाबाट चार हजार चार सय तीन घर परिवार विस्थापित भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिम, ३० साउन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णायार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्तावको पक्षमा ३६ मत परेको र यो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

आजको बैठकमा प्रदेशसभा ४५ सदस्य सहभागी रहेकोमा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ र तटस्थमा एक मत परेको थियो । स्वतन्त्र सदस्य डा तारा जोशीले तटस्थमा मत दिनुभएको थियो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको प्रस्तावको पक्षमा र नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मत दिनुभएको थियो ।

विपक्षी दल नेकपा (माओवादी केन्द्र) का छ सदस्य र राप्रपाका एक सदस्य आजको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो । यसअघि विश्वासको प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्रीले प्रदेशको समृद्धि र विकासका लागि अब धेरै पर्खिने समय नभएको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिका दल र प्रदेशसभा सदस्यलाई सहकार्यका लागि आह्वान गर्नुभयो ।

मुख्यमन्त्रीले भन्नुभयो, “दलगत सोचभन्दा माथि उठेर राजनीतिक स्थायित्व र समृद्धिका लागि विश्वासको मतका लागि आग्रह गर्दछु ।” प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता मानबहादुर धामीले प्रतिपक्षमा बसेर रचनात्मक काम गर्ने बताउनुभयो ।

धामीले मुख्यमन्त्री शाहकै नेतृत्वको यसअघिको सरकारले विकासका योजना समानुपातिक रुपमा सञ्चालन नभएको भन्दै अबको कार्यकालमा प्रदेशमा समानुपातिक रुपमा विकासका योजना सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, नेकपा (एकीकृत समाजावदी) का प्रकाश रावल र स्वतन्त्र सदस्य डा तारा जोशीले बोल्नुभएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित एमाले, नागरिक उन्मुक्ति पार्टीका सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यही साउन २० गते नियुक्त हुनुभएको थियो । सोही धाराको उपधारा (४) बमोजिम मुख्यमन्त्रीले आज विश्वासको मत लिनुभएको हो । शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि विसं २०७९ माघ २७ गते माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समेत समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका शाहले गत चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रको सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ३० साउन- वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदन्छु भन्दै रविले १ जना पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भए पश्‍चात पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न उद्योगमन्त्रीको निर्देशन

काठमाडौँ, ३० साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई निर्देशन दिनुभएको छ ।

खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त हुनुभएका प्रकाशप्रसाद पोखरेललाई आज नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रममा मन्त्री भण्डारीले यसअघि निमित्तको भूमिकामा रहेका अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न निर्देशन दिनुभएको होे ।

यसैगरी मन्त्री भण्डारीले खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड गरी दुवै संस्थानले सन्तोषजनक परिणाम दिन नसकिरहेकाले वर्तमान चुनौतीलाई अवसरमा बदलेर परिणाममुखी काम गरेर देखाउन र संस्थाको गरिमा जोगाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

“अनुकूलतामा जोकोहीले काम गरे पनि प्रतिकूलतामा काम गरेर उत्कृष्ट परिणाम दिनसक्नुपर्छ”, मन्त्री भण्डरारीले भन्नुभयो, “तपाईहरू दुवै जनाले यी संस्थालाई उकास्न, संस्थाको गरिमा जोगाउन मजबुत तवरको भूमिका निर्वाह गर्नुपर्छ, मेरो शुभकामना छ ।”

मन्त्री भण्डारीले अहिले काम गर्न नसक्ने छुट कसैलाई नभएको बताउँदै खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा नियुक्त हुनुभएका दुवै जनाको परीक्षणकाल आजदेखि सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब तपाईहरूको पहिलो तीन महिनाको काम हेरिन्छ, त्यो अवधिमा सक्नुभएन भने तपाई आफैँले पुनःविचार गर्नुपर्ने हुन्छ ।”

“सरकारले तपाईहरुलाई जसरी विश्वास गरेको छ । त्यसअनुरुप काम गर्न सक्नुपर्छ अहिले तपाई हामी सबै परीक्षणमा छौँ । क्रमशः छ महिना गर्दै थप समय परीक्षण गरिनेछ । आफू मातहतका संरचनामाथि प्रश्न उठ्ने काम नगर्नु होला,” मन्त्री भण्डारीले भन्नुभयो ।

नवनियुक्त दुवै जनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुसुदन बुर्लाकोटीले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । नवनियुक्त दुवै जनालाई मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।

सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा, के छ विधेयकमा ?

काठमाडौँ, ३० साउन : प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएसँगै न्यायको लामो प्रतिक्षामा रहेका द्वन्द्वपीडितहरूमा न्याय पाउने आशा पलाएको छ प्रतिनिधिसभा बैठकले आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित भएसँगै सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा पलाएको हो ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयक पेस गर्नुभएको थियोे । समितिको यही साउन २४ गतेको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच यही साउन १७ गते समझदारी भएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा सहमति भएको थियो ।

 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा निकै महत्त्वका साथ हेरिएको सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउन बनेको कार्यदलले नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएको सुरक्षाकर्मीका परिवार र बहिगर्मित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको थियो । यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुन अनुरुपको दण्डमा सजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको थियो ।

विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका अवस्थामा आज सदनबाट उक्त विधेयक पारित भएपछि बाँकी काम अघि बढ्ने भएको छ ।

 विसं २०६३ मङ्सिर ५ गते भएको शान्ति सम्झौतामा राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोग, सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत सङ्क्रमणकालीन न्यायका विषयलाई सम्बोधन प्रतिबद्धता व्यक्त गरिएको थियो ।

 सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहजीकरण गर्न बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनगरी काम गरिरहेको छ । आयोगका पदाधिकारी भने सिफारिस गर्न बाँकी छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा के छ ?

 बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक(तेस्रो संशोधन), २०८१ मा दुई आयोगका सिफारिस गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको समय नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था गरिएको छ ।

 आयोगमा अभ्यास तथा सदस्यको पदमा नियुक्ति भएपछि आयोगले सशस्त्र द्वन्द्वका क्रममा जबर्जस्ती करण वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजकोतर्फबाट उजुरी दिन छुट भएको भए आयोगमा उजुरी दिन एकपटकका लािग तीन महिनाको म्याद दिइ सार्वजनिक सूचना प्रकाशन गरी आयोगले उजुरी माग गर्ने उल्लेख छ ।

 त्यस्तै, ऐनमा जुनसुकै कुरा लेखिएको भए पनि मानव अधिकार उल्लङ्घनका घटनाको कारबाही वा मुद्दा जुनसुकै चरणमा रहेको भए पनि पीडितको स्वतन्त्र सहमतिमा मेलमिलाप गराउने सकिने व्यवस्था रहेको छ ।

 आयोगले परिपूरणका लागि गरेको सिफारिसमा चित्त नबुझेमा पीडितले त्यसको आधार र कारण खोली निवेदन दिनुपर्ने र मनासिव देखिएमा विशेष अदालतमा निवेदन दिनसक्ने व्यवस्था रहेको छ ।

 पुनरावलोकन सुन्ने प्रयोजनका लागि सर्वोच्च अदालतमा सङ्क्रमणकालीन न्यायसम्बन्धी संयुक्त इजलास रहने र त्यसका लागि प्रधानन्यायाधीशले आवश्यकताअनुसार सर्वोच्च अदालतका न्यायाधीशको सूची तयारगरी सोमध्येबाट इजलास तोक्ने व्यवस्था विधेयकमा छ ।

 मेलमिलाप हुन नसकेको वा क्षमादानको सिफारिसमा नपरेको मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न व्यक्तिका सम्बन्धमा नेपाल सरकार वादी हुने मुद्दाको हकमा महान्यायाधिवक्तासमक्ष लेखी पठाउनुपर्नेछ । साथै, पीडकलाई कानुनबमोजिम कारबाहीका लागि महान्यायाधिवक्तासमक्ष सिफारिस गर्न बाधा नपर्ने उल्लेख छ ।

 घटना हुँदाको परिस्थिति, कारण तथा सङ्क्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिइ जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटनाबाहेकका मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनामा तत्काल प्रचलित कानुनबमोजिम सजायमा २५ प्रतिशत सजायको माग दाबी लिनसक्ने व्यवस्था छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिउपर मुद्दा दायर भई थुना वा न्यायिक हिरासतमा रहेमा त्यस्तो थुना वा न्यायिक हिरासतमा रहुञ्जेल निज पदबाट स्वतः निलम्बन भएको मानिने व्यवस्था छ ।

 आयोगको कार्यविधिमा आयोगबाट शान्ति प्रक्रियाको काम सम्पन्न हुन नसकेमा नेपाल सरकारले कार्य प्रगतिका आधारमा काम सम्पन्न गर्न लाग्ने समयको आँकलन गरी आयोगको कार्यावधि थप्न गर्नसक्ने व्यवस्था समेत गरेको छ । साथै, आयोगले तोकिएको समयभन्दाअगावै शान्ति प्रक्रियाको काम सम्पन्न भएको घोषणा गरेमा सोही मितिदेखि आयोगको कार्याविधि समाप्त भएको मानिने व्यस्था गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा सिधुवा–शुक्रबारे सडक उद्घाटन

विराटनगर, ३० साउन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नवनिर्मित सिधुवा–शुक्रबारे सडक आज उद्घाटन गर्नुभएको छ । कोशी प्रदेश सरकारको महत्त्वपूर्ण योजनाका रूपमा रहेको सो सडक रु ८९ करोड ९० लाख लागतमा निर्माण गरिएको हो । सडकको लम्बाई १७ किमी रहेको छ ।

प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेका बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुग्ने प्रदेश सरकारको दाबी छ । यो सडक निर्माणले तेह्रथुमको कृषि एवं पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भएर तेह्रथुमको सदरमुकामसम्म पुर्‍याउने लक्ष्यका साथ निर्माण गरिएको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक निर्माणले स्थानीयस्तरमा बजार प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि एवं पर्यटन प्रवर्द्धनमा सडकले सहयोग पुर्‍याउने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्नेछ ।” उहाँले प्रदेश संरचना नयाँ भए पनि यो सडकले प्रदेशको समृद्धिका लागि सहयोग गर्ने बताउनुभयो । “नयाँ संरचना हो, हामी यस्तै राम्रा र देखाउन लायक काम गर्नेछौँ”, उहाँले भन्नुभयो, “आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरू घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिनेछौँ ।”    मुख्यमन्त्री कार्कीले आज नै तेह्रथुमको छथहर जोरपाटीको खेलकुदलगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

‘जहाँको दूध बिक्री नै हुँदैन’

मिमबहादुर रावल /मान्म (कालीकोट), ३० साउनः कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ ।

यस गाउँपालिकामा तीन हजार नौ सय १० घरपरिवारको सङ्ख्या रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागको कृषि गणना २०७८ अनुसार गाउँपालिकामा पशुपालन गर्ने तीन हजार सात सय ९५ घरपरिवार रहेका छन् । गाउँपालिकाभित्र गाई, गोरुको सङ्ख्या चार हजार चार सय ३६ र राँगा, भैँसीको सङ्ख्या चार हजार दुई सय १० रहेको छ ।

नरहरिनाथ गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाउँमा प्रत्येक घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने चलन परापूर्वकालदेखिको चलन हो । गाउँपालिकाको प्रायः सबै घरपरिवारमा दुग्धजन्य पशुपालन हुने गरेको भए पनि यहाँ दूध दहीको बिक्री भने नभएको नरहरिनाथ गाउँपालिका–९ लालुका ७० वर्षीया पदमसिंह रावलले बताउनुभयो । “विगतका दूध बिक्री गरेमा देवता रिसाउँछन् भन्ने आम मान्यताका कारणले दूध र दही बिक्री गर्ने चलन थिएन्,” उहाँले भन्नुभयो, “अहिले गाउँमा बजार बने पनि कसैले दूध दही हुन्छ बिक्री गर्न लैजाँदैनन् ।” स्थानीय किसानहरु गाईभैँसीको दूधबाट घ्यू बनाएर बिक्रीका लागि टाढाटाढाको बजारमा पुग्ने गर्दछन् । अहिले गाउँगाउँमा नै यातायातको सुविधा पुगेपछि घ्यू बिक्री गर्न समस्या नभएको स्थानीयवासी कटबहादुर विष्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतमा घ्यू जम्मा गरेर कैलाली, नेपालगञ्ज र सुर्खेतका बजारमा लिएर बिक्री गर्ने र त्यसबाट आएको पैसाले लत्ताकपडा किनेर ल्याउने गरिन्थ्यो ।”

गाईभैँसीको घ्यू बेचेर राम्रो आम्दानी लिने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका ७२ वर्षीया गज सार्कीले बताउनुभयो । पहिले आफूले १० वटासम्म भैँसी पालेको र ती भैँसीबाट वर्षमा एक क्विन्टलसम्म घ्यू बनाएर नेपालगञ्ज, बर्दिया र कैलालीको बजारमा बेच्न लिएर गएको उहाँ सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले त एउटा भैँसी पालेको छु । छोराछोरी रोजगारीका लागि बाहिर गएका छन् । घरमा नै दूध दही खान ठिक्क हुन्छ । घ्यू बनाउने चलन नै हरायो ।”

पशुपालनतर्फ घट्दो आकर्षण

प्रायः यहाँका सबै घरमा चारवटाभन्दा बढी गाईभैँसी पाल्ने गरेकामा अहिले धेरैले पाल्न छाडेका छन् । गाउँपालिकामा भैँसी पाल्ने चलन अहिले लोप हुँदै गएको छ । चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका युवा रोजगारीका लागि अन्य पेसा व्यवसाय तथा विदेश जाने गरेका कारणले गाईभैँसी पाल्ने चलन कम हुँदै गएको हो । नरहरिनाथ गाउँपालिका–५ रुप्साका पर्से सहकारी भन्नुहुन्छ, “अहिले त मानिसहरुले आम्दानीका अन्य स्रोत खोज्न थाले । त्यसैबाट आफ्नो रोजीरोटी खोज्छन् ।” दिन प्रतिदिन वनजङ्गल मासिँदै गएपछि भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा र युवाहरु रोजगारीका देश तथा विदेश गएका कारणले अहिले गाईभैँसी एकदुईवटा मात्र पाल्ने गरिएको उहाँको भनाइ छ ।

नयाँ पुस्ताका युवाहरुको विदेश पलायन तथा अन्य पेसा व्यवसाय जस्ता कारणले व्यावसायिक र बजारीकरण समस्याका कारणले पनि गाईभैँसी पाल्ने पेसा लोप हुँदै गएको छ । नरहरिनाथ गाउँपालिका–७ माल्कोटका केशे बोहरा भन्नुहुन्छ, “पशु चौपायाहरुमा विभिन्न रोगको सङ्क्रमण हुँदा समेत किसानले सेवा पाउँदैन् । पशु बीमाको व्यवस्था नहुँदा पनि किसान मर्कामा परेका छन् ।” पशुपालनको पेसा धेरै दुःख हुने भएका कारणले धेरैले आफूसँग भएका गाईभैँसी बेच्ने गरेको उहाँको भनाइ छ ।

किसानलाई गोठालो भत्ता दिन सुरु

किसानलाई पशुपालनमा आकर्षित गराउन गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिएको हो । पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिनुभयो । गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्दछन् । उहाँका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्नका लागि गोठालो भत्तास्वरुप आर्थिक वर्ष २०८०÷८१ मा रु १० लाख गाई भैंसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो ।

गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ । सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रात्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष शाहले भन्नुभयो, “गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेसामा आकर्षण गर्न कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । गाउँमा गोठालोभन्दा हेपाहाका रुपमा लिइन्छ । यस कार्यक्रमले गोठालो शब्दको सम्मान गर्नेछ ।”

दुग्ध सङ्कलन केन्द्र स्थापना गरिने

किसानलाई आफूले उत्पादन गरिएको दूध बिक्री गर्न सहज बनाउन गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको छ । गाउँपालिकामा उत्पादन हुने दूधलाई बाहिर निर्यात गर्नका लागि गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको उपाध्यक्ष शाहले जानकारी दिनुभयो । “दूध सङ्कलन गरेर जिल्लाका अन्य बजार तथा जुम्ला र सुर्खेतसम्म निर्यात गर्ने लक्ष्य राखेका छौँ,” उहाँले भन्नुभयो, “यसका लागि गाउँमै दूध सङ्कलन केन्द्र स्थापना गर्दैछौँ ।” पहिलो चरणमा दूध बिक्रीका लागि जुम्लाको हिमा गाउँपालिकासँग सम्झौता भएको उपाध्यक्ष शाहले बताउनुभयो ।

नरहरिनाथ गाउँपालिका दूध सङ्कलन केन्द्र नहुँदा पनि यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थको उचित बिक्री गर्नका लागि समस्या भएको गाउँपालिकाले जनाएको छ । दूध प्रशोधन र बजारीकरणका लाग निजी तथा सहकारी क्षेत्रसँगको साझेदारीमा दूध तथा दुग्धजन्य वस्तु उत्पादन उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले लक्ष्य राखेको उपाध्यक्ष शाहले बताउनुभयो ।

भैँसीपालन बढाउन पकेट क्षेत्र घोषणा

नरहरिनाथ गाउँपालिकाले गाई, भैँसीपालनलाई बढाउनका लागि भैँसी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालि–४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र बनाउन लागेको हो । नरहरिनाथ गाउँपालिका जिल्लामै पशुपालनको प्रशस्त सम्भावना रहेको ठाउँ मानिन्छ । पशुपालन व्यवसायलाई थप गुणस्तरीय र उत्पादनमुखी बनाउनका लागि वडा नं ४ र ५ को रुप्सा गाउँलाई भँैसी पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शाहले जानकारी दिनुभयो । “ग्रामीण भेगका पशुपालक कृषकहरुको आयस्तर वृद्धि गर्न सीपमूलक पशुपालनसम्बन्धी तालिमको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ,” उहाँले भन्नुभयो । रैथाने पशुको नश्लको संरक्षण गर्न स्थानीय जातको भाले पशुको व्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गरिने उहाँको भनाइ छ । साथै उन्नत जातको भाले पशुको विर्य ल्याएर कृत्रिम गर्भाधानको कार्यलाई प्राथमिकता राखिएको पालिकाले जनाएको छ ।

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह

काभ्रेपलाञ्चोक, ३० साउन : नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनहुन्छ ।

पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गर्नुभएको हो । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताउनुभयो । “राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ”, उहाँले भन्नुभयो ।

बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् । राजदूतसँगको भेटपछि केही आशा पलाएको उहाँले सुनाउनुभयो ।

नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिनुभएको थियो । बोलखे परिवारले पनि सुभाषको खोजविनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ ।


देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै

दमौली (तनहुँ), ३० साउन : तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ ।

दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निःशुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ । अन्यको हकमा भने दाहसंस्कार शुल्क रु चार हजार पाँच सय निर्धारण गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । उहाँकानुसार देवघाटमा मासिक करिब १७ वटा बेवारिसे शवको दाहसंस्कार हुने गरेको छ ।

तनहुँ, चितवन र नवलपुरबाट विपन्न व्यक्तिको दाहसंस्कार निःशुल्क गरिदिन सिफारिस आउने गरेको बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर अस्पतालबाट बेवारिसे शव दाहसंस्कारका लागि यहाँ ल्याउने गरिएको छ । त्यस्ता शव दाहसंस्कारको सम्पूर्ण व्यवस्थापन समितिले गरिरहेको छ । यस्तै तीनवटै जिल्लाबाट विपन्नका लागि निःशुल्क दाहसंस्कार गर्न सिफारिससमेत आउने गरेका छन् ।”

देवघाटमा दैनिक सरदर सात वटा शवको दाहसंस्कार हुँदै आएको छ । समितिले दाहसंस्कारका लागि वनसँग दाउरा खरिद गर्ने गरेको छ ।

यसैगरी समितिले देवघाट आश्रमका ज्येष्ठ नागरिकको मासिक रूपमा स्वास्थ्य परीक्षण गराउन थालेको छ । समितिद्वारा सञ्चालित आश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या नआओस् भनेर मासिक रूपमा परीक्षणको व्यवस्था मिलाएको कार्यकारी निर्देशक बरालले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको समितिका लागि चालु आर्थिक वर्षमा रु ८७ लाख बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ रु ५० लाख र चालुतर्फ रु ३७ लाख बजेट छ । समितिले पार्किङ, डुङ्गा सञ्चालन र व्यापारिक सटरबाट आन्तरिक आम्दानी गर्दै आएको छ ।

हामीकहाँ अझै पनि विभेदको ठूलो खाड़ल छ

नारायण गाउले ।

के जातीय विभेद र छुवाछूतको जड़ वेदमैँ छ ? के त्यहाँ ब्राह्मण मुखबाट र शूद्र पाउबाट पैदा हुन्छन् भनिएको छ ? वेद हिन्दु धर्मको सर्वोच्च शास्त्र हो, त्यसैलाई पुनर्लेखन गर्न त सकिन्न, त्यसैले के छुवाछूत वेद रहुञ्जेल रहन्छ त ?
यस विषयमा चासो नहुनेहरूका लागि यो लेख समयको बर्बादी मात्रै हुनेछ । चासो हुनेहरूका लागि लामो समयदेखि चर्चामा रहेका यिनै प्रश्नमाथि सङ्क्षिप्त प्रकाश पार्ने कोसिस हुनेछ ।

हो, वेदमा ब्राह्मण मुखबाट र शूद्र पाउबाट पैदा भएको भनेर लेखिएको छ । ऋग्वेददेखि यजुर्वेदसम्म पाइने अनि दैनिक कर्मकाण्डमा प्रयोग हुने वेदको ऋचामा स्पष्ट रूपमा यो उल्लेख छ । तर त्यहाँ छुवाछूतको न गन्ध छ न जड़ नै !
हिन्दु धर्म या धार्मिक समुदायभित्र विभेद छैन, छुवाछूत छैन भन्ने दाबी गर्न यो लेख लेखिएको होइन । त्यहाँ छोइने गरी विभेद छ, विभेदका अनेक स्वरूप र तह छन्, छुवाछूत छ, विकृति छन् !

तर यसको जड़का रूपमा प्रायः संस्कृत नपढेका लेखकले उद्धरण गर्ने वेदको त्यो ऋचासँग छुवाछूतको कुनै सम्बन्ध छैन । उल्टो त्यसले विभेद र छुवाछूतको विरोधमा बलियो आधार दिएको छ । वेदको जुन ऋचा, मन्त्र या श्लोकले छुवाछूतलाई अधार्मिक, असत्य र अन्यायपूर्ण साबित गर्न सक्छ, जसलाई आधार बनाएर धार्मिक समुदायभित्र रहेको अस्पृश्यतालाई ‘च्यालेन्ज’ गर्न सकिन्छ, त्यही श्लोकलाई छुवाछूतको मूल भनेर गरिँदै आएको तर्कबारे पुनर्विचार गर्नु यो लेखको उद्देश्य रहेको छ ।
हिन्दू धर्म एउटा ईश्वर, एउटा विचार या एउटा केन्द्र भएको धर्म नभएकाले शास्त्र र साहित्य धेरै छन् । त्यसभित्र तहगत रूपमा वेद सबैभन्दा माथि र अन्तिम प्रमाण मानिन्छ । यद्यपि गीतासम्म आउँदा भगवान् कृष्णले ‘निस्त्रैगुण्यो भवार्जुन !’ भन्दै वेदबाट पनि माथि उठेर योगी बन्ने सुझाव अर्जुनलाई दिनुभएको छ । ‘समत्वम् योग उच्यते’ भनेर भेदरहित समत्व नै योग भएको स्पष्ट रूपमा त्यहाँ उल्लेख नै छ ।
हाम्रो प्रसङ्ग भने वेदको हो ! पहिले त्यही श्लोक हेरौँ । वेदमा श्लोकलाई मन्त्र या ऋचा भनिन्छ । त्यसको समूहलाई सूक्त भनिन्छ ।

त्यो ऋचा यस प्रकार छ:
“ब्राह्मण: अस्य मुखम् आसीत् बाहू राजन्य: कृत:
ऊरू तदस्य यद्वैश्य: पद्भ्याम् शूद्र: अजायत !
परमात्माको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, घुँडाबाट वैश्य र पाउबाट शूद्र पैदा भए भन्ने यो श्लोकको शाब्दिक अर्थ हो । झट्ट हेर्दा विभेद जस्तो देखियो नै ! तर यसलाई बुझ्न यो ऋचाको प्रसङ्ग अर्थात् सिङ्गो सूक्त (मन्त्रसमूह) बुझ्नपर्छ । वेदमा ऋषिहरूको पूर्ण वाक्यका रूपमा सूक्तलाई लिइएकाले एउटामात्रै श्लोकको अर्थले वाक्य पूरा हुँदैन ।
यो वेदको “पुरुषसूक्त”भित्र रहेको श्लोक हो । त्यो सूक्तमा यो सृष्टि र ईश्वरबारे प्रश्नर-उत्तर रहेको छ । यो सारा ब्रह्माण्डको सृष्टि ईश्वर अर्थात् विराट् पुरुषबाट भएको र यो सिङ्गो सृष्टि उसैको विस्तार भएको वर्णन त्यो सूक्तमा छ ।
“सहस्र शीर्षा पुरुष: सहस्राक्ष: सहस्रपात्…” यो उक्त सूत्रको पहिलो श्लोक हो । जसले त्यो ईश्वरको स्वरूपबारे वर्णन गरेको छ । हजारौँ शीर, हजारौँ आँखा र पाउ भएको विराट् पुरुषबाटै यो दृश्य-अदृश्य ब्रह्माण्ड जन्मिएको हो ! यहाँ जन्मको अर्थ सृष्टि भन्ने देखिन्छ । उक्त सूत्रमा मान्छे (चारै वर्ण) भगवान्बाटै जन्मिएको भनिसकेपछि चन्द्रमा मनबाट, नाभिबाट अन्तरिक्ष, सूर्य आँखाबाट, कानबाट वायु र मुखबाट अग्नि र पाउबाट भूमि (पृथिवी) जन्मिएको भन्ने थप श्लोक छन् । अर्थात् त्यो ऋचा एक्लो होइन । शरीरका अन्य अङ्गबाट के के उत्पत्ति भए भन्ने लामो प्रसङ्ग छ । तर ती सबै ऋचाको तात्त्विक अर्थ यो सबै ब्रह्म तत्त्वको विस्तार (आजको बिग ब्याङ् थ्योरी जस्तै) हो भन्ने हो । त्यो वैदिक विराट् पुरुष या आदिपुरुष नै पछि शिव र विष्णुका नाममा प्रचलित भई सम्प्रदायमा बाँडिएको हो ।
ब्राह्मण-क्षत्रीय-वैश्य र शूद्रको वर्ण-व्यवस्था वैदिक समाजमा पनि थियो भन्ने जानकारी यहाँबाट हुन्छ । तर यो व्यवस्था त्यतिन्जेल कर्ममा आधारित थियो भन्ने सङ्केत मिल्छ । जसमा छुवाछूतको गन्ध मिसिएको थिएन ।
अब मुखबाट ब्राह्मण जन्मिएकोले पूज्य र शूद्र पाउबाट जन्मिएकोले हेय भएको भन्ने तर्कलाई हेरौँ । एक त यो सिङ्गो सृष्टि भगवान् कै अङ्ग भन्ने अर्थमा आएको हो । दोस्रो, भूमि पनि पाउबाट पैदा भएको भनिएको छ जुन पूज्य छ । फेरि यो पाउ त्यो विराट् पुरुषको हो, ईश्वरको हो, मान्छेको होइन । त्यो आदिपुरुषको कुनै अङ्ग विशेष बढ़ी महत्त्वको भएको र कुनै अङ्ग कम महत्त्वको भएको कल्पना, सङ्केत या धारणा कतै भेटिन्न । खासमा यो श्लोक र प्रसङ्ग नै कुनै पनि प्राणी या वस्तु ईश्वरभन्दा भिन्न छैनन् भन्ने देखाउन प्रयोग भएको छ नकि तिनको मान्यताक्रम देखाउन ।
हाम्रा हरेक पूजामा यही पुरुषसूक्तको प्रयोग हुन्छ । र, भगवान्को पहिलो पूजा पाउकै हुन्छ । मुख, घुँडाको पूजा त कुनै कुनै पूजामा प्रसङ्गवश हुन्छ, तर हरेक पूजामा पाउ (पाद्य), र हात (अर्घ्य) को अनिवार्य पूजा हुन्छ । भगवान्लाई ढोग्ने पनि पाउमैँ हो, मुखमा होइन । मुख त भगवान्कै पनि बरु कतै चोखो मानिन्न । गाईको मुख जुठो मानिन्छ । अब भगवान्को पाउ अस्पृश्य भन्न त मिलेन । रामायणमा भरतले मुख पुछ्ने रूमाल होइन,पाउको खडाउ मागेर त्यसको पूजा गरेको वर्णन नै छ । पूजापछि भगवान्को पाउ धोएको जल (चरणामृत ) पिउने गरिन्छ ।

मान्छे जुन वर्णको भए पनि सबै भगवान्का अङ्गबाट पैदा भएको त्यसको अर्थ हो । यो त समताका लागि दिनुपर्ने दृष्टान्त पो हो । स्मरण रहोस् पूजा गर्नुभयो भने आज पनि पूजन हुने भगवान् को पाउ नै हो भने त्यो अस्पृश्य कसरी हुन्छ ? काखीको फोहोरबाट जन्मिएको भनिने गणेश अस्पृश्य छन् ?

भगवान्को लिङ्ग त पूज्य छ, रौँदेखि गुदद्वारसम्म खसेका शक्तिपीठ त पूज्य छन् भने सदैव पूजा हुने पाउबाट जन्मेको भनिएको शूद्र कसरी अस्पृश्य हुन्छ ? भगवान् अस्पृश्य छैनन् भने भगवान्कै अंश शूद्र कसरी अस्पृश्य हुन्छ ? त्यही पाउबाट उत्पन्न भएको भूमि अस्पृश्य छैन भने मान्छे कसरी हुन्छ ? भूमिसँगै जन्मिएकाले बरु शूद्र भूमिमाथि झन् बढ़ी उत्तराधिकारी भएन र ?

जसले शूद्रलाई अस्पृश्य मानेर विभेद गरिरहेका छन् तिनले कानुनी अपराधमात्रै होइन भगवान्कै अंशलाई विभेद गरेर अधार्मिक, अमानवीय र अशास्त्रीय कामसमेत गरेका छन् । दैनिक पढ्ने यो मन्त्रले नै सबैलाई दाजुभाइ भनेको छ, परमात्माको अंश भनेको छ भने त्यही अंशलाई अपमान गर्नु त परमात्माको अपमान हो नि ! तपाईंले मन्त्र पढेको, वेद पढेको के काम ?

अनि समताको लक्ष्य हासिल गर्न हतियार बन्न सक्ने यही मन्त्रको असंलग्न अर्थ लगाएर उल्टो विभेदको स्रोतका रूपमा व्याख्या गर्ने हो भने त धार्मिक समुदायबाट कसरी विभेद हटाउन सकिएला ? किनकि कानुन जेजस्तो बनाए पनि कुरानमा लेखेको कुरा मुस्लिमलाई, बाइबलमा लेखेको कुरा क्रिश्चियनलाई र वेदमा लेखेको कुरा हिन्दुलाई अन्तिम सत्य लाग्नु स्वाभाविक हो !

भएको ठाउँबाट विभेद हटाउने हो । नभएको ठाउँमा समेत हो भनेर थप्ने होइन । धर्मशास्त्रभित्र विभेद र छुवाछूत छैन भन्ने दाबी पनि गलत हो । त्यो आकाशबाट टपक्क टप्किएको होइन । हाम्रै रचना हो, सिर्जना हो । वेदपछिका स्मृतिग्रन्थ र अन्य पौराणिक ग्रन्थसम्म आइपुग्दा विभेदका बाछिटा प्रशस्तै पाइन्छन् । विभेदको मुख्य केन्द्र हाम्रो संस्कार पनि हो । जातीय विभेद मात्रै होइन, विभिन्न तह र स्वरूपमा एउटै जात या लिङ्गभित्र पनि अनेक विभेद अद्यापि विद्यमान् छन् । विभेद र छुवाछूत कति जेलिएको र गहिरो छ भने यो दलित-दलित या दलित-गैरदलितबीच मात्रै नभई ब्राह्मण-ब्राह्मणबीच पनि विद्यमान् छ !

तर, हिन्दू धर्मभित्र शास्त्रका रूपमा वेद अन्तिम मानिए पनि भिन्न समास गर्दै वेदभन्दा पर वेदान्त रहेको मानिन्छ । कर्मकाण्ड, भजनकीर्तन, शरीर र पूजाआजा वेदका कुरा भए, त्यसभन्दा पर वेदान्त अर्थात् दर्शनशास्त्र (विचार) छ । हिन्दू दर्शनशास्त्र विश्वकै गहिरो दर्शनशास्त्र पनि मानिन्छ । त्यसमा भने कुनै पनि विभेदलाई निषेध गर्दै समताको सम्बर्धन गरिएको छ । जीवनका चार आश्रम (खण्ड) मध्ये पछिल्लो खण्ड सन्यास हो र त्यहाँ वेदको नभई वेदान्तको चर्चा हुन्छ । उदाहरणका लागि गीता एउटा दार्शनिक ग्रन्थ हो । गीताजस्ता ग्रन्थ या शास्त्रमा वैचारिक बहस भएकाले विभेदको पूर्णतः निषेध गरेर समतासम्म पुऱ्याउने प्रयास भएको देखिन्छ । शास्त्रको प्रामाणिकता र कथाहरू छुट्याउन र सुधारको आन्दोलन शुरू गर्न पनि केही दलितले आफै शास्त्र पढ्नु जरूरी छ ।

निष्कर्षमा हामीकहाँ अझै पनि विभेदको ठूलो खाड़ल छ । विभेदको मूल जड़ हाम्रै धार्मिक संस्कार र कतिपय ग्रन्थ हुन् । तर हाम्रै कति धेरै ग्रन्थहरूले विश्वबन्धुत्व अर्थात् विश्वभरका मानवलाई दाजुभाइ मान्न पनि सिकाएका छन् । समताको स्थितिमा पुग्न सुझाएका छन् । कुनै पनि छुवाछूत या अपमानविरुद्ध हाम्रा शास्त्रमा सयौं निर्देश, शिक्षा र सूत्र छन् । महिलाप्रति विभेदका उदाहरण पनि हाम्रा केही शास्त्र र कथाहरूमा भेट्न सकिन्छ भने हाम्रै शास्त्रहरू हुन् जसले पुंलिङ्गी ईश्वर मात्रै नमानेर देवीका रूपमा समान शक्तिशाली ईश्वरीय रूपको कल्पना गरेको छ । कन्यादेखि नारी शक्तिसम्मलाई पूज्य मानेको छ । अझ तेस्रो लिङ्गको पनि प्रतिनिधित्व हुने गरी अर्द्धनारीश्वरको कल्पना भएको छ ।
धर्म नमान्नेहरूले मानवता र कानुनी आधारमा विभेदविरुद्ध लड्न सकिन्छ भने धर्म मान्नेहरूले पनि त्यहाँबाटै रिफरेन्स लिएर यो अमानवीय विभेदविरुद्ध लड्न सकिने अवस्था छ । हाम्रो धार्मिक प्रमाण वेद हो र वेदले नै सबैलाई ईश्वरीय अंश मानेको छ ।
जसरी लड़े पनि हाम्रो गन्तव्य समता नै हो । हामी सबै बन्धु हौँ, ईश्वरका सन्तान हौँ, दाजुभाइ हौँ ! ऋग्वेद नै भन्छ:
“सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् !”
हामी सँगै हिडौँ, हाम्रो बोली एउटै होस् र हाम्रो मन एक होस् !
अझ गीतामा भगवान् वचन नै छ:
यो मां पश्यति सर्वत्र सर्वञ्च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति !
अर्थात्, जसले (सर्वभूतेषु) सबै प्राणीमा मलाई देख्छ र ममा सबै देख्छ (विभेद दृष्टि राख्दैन) ऊ र ईश्वरबीच कुनै दूरी छैन ।
चण्डीको मन्त्र पनि यही छ:
या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः !
सबै प्राणीमा ‘चेतना’रूपमा रहेकी देवीलाई नमस्कार छ !
यति पढ्नुभएकोमा ईश्वरकै अंश तपाईंलाई पनि नमस्कार छ !

सशस्त्र प्रहरीद्वारा महिला भलिबल खेलाडीलाई सम्मान

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ ।

बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई सम्मान प्रदान गरे ।

सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेर देश र सङ्गठनको छवि उच्च राख्न खेलेको योगदानको कदर स्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको बताए ।

यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा लिग सम्पन्न भएको थियो । उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको समेत जानकारी दिइयो ।

ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले आजै दर्ज्यानी चिह्न प्रदान गरे ।

यसअघि २२औँ सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।

वातावरण सन्तुलनसहितको दिगो विकासका लागि छुट्टै ऐन आवश्यक

काठमाडौँ, ३० साउन : वातावरण सन्तुलनसहितको दिगो विकासका लागि छुट्टै ऐन आवश्यक भएकामा सरोकार भएकाहरूले जोड दिएका छन् । विश्व वन्यजन्तु कोषसँगको सहकार्य र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समन्यमा असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘रेखाङ्कित पूर्वाधारको विकासमा प्राकृतिक सम्पदाको सुरक्षा’ विषयक नीतिगत कार्यशालामा विज्ञ तथा सरोकार भएकाहरूले यस्तो बताएका हुन् ।

वातावरण इञ्जिनियर डा अल्का सापकोटाले रेखिय पूर्वाधार विकासमा जैविक विविधताको संरक्षण र वन्यजन्तु सुरक्षाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय असल अभ्यासबारे उल्लेख गर्नुभएको थियो ।

कानुनका जानकार डा अर्जुन खड्काले नेपालमा ‘रेखाङ्कित पूर्वाधार विकासको सन्दर्भमा वन्यजन्तु तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी कानुनी पक्ष’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले दिगो विकासका ऐन जरूरी रहेको बताउनुभएको थियो ।

वनविज्ञ धनन्जय पौडेलले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना तर्जुमा एवं कार्यान्वयनमा रेखिय पूर्वाधारको विकासमा प्राकृतिक सम्पदाको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने विषयमा जोड दिनुभयो । विश्व वन्यजन्तु कोषका नीतिविज्ञ एकराज सिग्देलले वन्यजन्तु र जैविक विविधताको क्षेत्रमा नेपालले समयसापेक्ष रूपमा ऐन र कानुन परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो ।

नीतिविज्ञ कमल सुवेदीले वातावरण संरक्षण नियमावली र राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना निर्माण गर्दा रेखिय पूर्वाधारको विषय समेटनुपर्ने बताउनुभयो । उहाँले विश्वव्यापी रूपमा जैविक विविधता, जलवायु परिर्वतनको मुद्दा पेचिलो भएको समयमा नेपालले वातावरण संरक्षणको क्षेत्रमा आवश्यक नीतिगत सुधार गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
आर्थिक वर्ष २०७९÷८० मा नेपालका संरक्षित क्षेत्रमा मात्रै विभिन्न कारणले पाँच सय ५८ वन्यजन्तुको मृत्यु भएकामा सडक दुर्घटना र नहरमा डुबेर मृत्यु हुनेको संख्या एक सय ८५ रहेको जानकारी दिइयो । पछिल्लो छ वर्षमा सडक दुर्घटनाका कारण सात सय ७६ वन्यजन्तुको मृत्यु भएको जनाइएको छ ।

विश्व वन्यजन्तु कोषका जैविक विविधता सल्लाहकार डा शान्तराज ज्ञवालीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र वन्यजन्तुमैत्री पूर्वाधारको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले समृद्धिका लागि पूर्वाधार विकास आवश्यक भएको तर प्राकृतिक स्रोतको विनाश बढेको समयमा भौतिक पूर्वाधार निर्माण गर्दा मानव सभ्यताको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयका कानुन शाखा प्रमुख महेन्द्र साखीले वातावरण संरक्षणको सवालमा सर्वोच्च अदालतले दिएका आदेशको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा हाइड्रोपावरको विकास र प्रसारण सञ्जाल निर्माण गर्दा वातावरण पक्षमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक केदार सिलवालले देशीय एवं अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गर्दा वातावरण संरक्षणमा जोड दिने किसिमका कानुन आवश्यक रहेको धारणा राख्नुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत सुरक्षा खड्काले जैविक विविधता र जलवायु परिर्वतनको विषय अन्तरसम्बन्धित भएकाले अब बन्ने कानुनमा त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वातावरण एवं पूर्वाधारसँग सम्बन्धित मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिहरूले नेपालमा विकास ऐन, वातावरण सुरक्षा ऐन आवश्यक भएको र वातावरण प्रभाव मूल्याङ्कन प्रक्रिया र पद्धतिलाई सरलीकृत गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।

बङ्गलादेश : अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति

बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ ।

बङ्गलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको विधायकका रूपमा पदभार ग्रहण गर्नुभएको थियो ।

विद्यार्थीहरूको नेतृत्वमा भएको राष्ट्रिय विद्रोहको नाटकीय निष्कर्षका रूपमा हसिनाले अचानक राजीनामा दिँदै हेलिकप्टरमार्फत भारत भागेसँगै संसद् भङ्ग भएपछि शकिबले सांसद पद गुमाउनुभएको थियो ।

ती विद्यार्थीहरूमध्येका एक अहिले अन्तरिम सरकारमा वास्तविक खेलमन्त्री रहनुभएका २६ वर्षीय आसिफ महमुदले हसिना र अवामी लिगसँगको सम्बन्धका बावजुद शकिबलाई टोलीमा रहन अनुमति दिनुभएको छ ।

“हामीले खेलकुद सल्लाहकारसमक्ष टोलीलाई प्रस्तुत गर्यौँ”, बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का निर्देशक इफ्तिखर अहमदले भन्नुभयो, “उहाँले शकिबलाई समावेश गरेकामा विरोध गर्नुभएन, उहाँले योग्यताका आधारमा टोली गठन हुनुपर्ने बताउनुभयो ।”

हसिनालाई सत्ताबाट हटाउने र्यालीहरू आयोजना गर्ने स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख सदस्यमध्ये महमुद एक हुनुहुन्थ्यो । उहाँ र साथी विद्यार्थी नेता नाहिद इस्लाम दुवै नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हसिना भागेपछि पदभार ग्रहण गर्ने सल्लाहकार मन्त्रिपरिषदका सदस्य हुनुहुन्छ ।

लाहोरको गद्दाफी क्रिकेट रङ्गशालामा बुधबार ३७ वर्षीय शकिबलाई प्रशिक्षण गर्दै गरेको देखिएको थियो । हसिनाको राजीनामापछि उहाँ देखिनुभएको थिएन । उहाँ क्यानाडाबाट सिधै पाकिस्तानमा बङ्गलादेशी टोलीमा सामेल हुनुभयो । क्यानाडामा उहाँले टि–२० प्रतियोगिता खेल्दै हुनुहुन्थ्यो ।

घर आउनुपर्थ्यो

शकिब सामान्यता फेसबुक प्रयोगकर्ता हुनुहुन्छ । तर उहाँले विरोध प्रदर्शनहरूमा घातक प्रहरी कारवाही सुरु भएको दुई दिनअघि जुलाई १४ पछि कुनै सार्वजनिक पोस्ट गर्नुभएको छैन ।

“एक विधायकको हैसियतमा शकिब सामूहिक हत्याको जिम्मेबारीबाट बच्न सक्नुहुन्न”, हसिनाको पदभार ग्रहण गर्नुअघि सेवा गर्नुभएका बिसिबीका पूर्वसदस्य रफिकुल इस्लामले भन्नुभयो, “विद्यार्थी मारिने क्रममा उहाँले कहिल्यै विरोध गर्नुभएन, यीमध्ये धेरै विद्यार्थीले उहाँलाई आइकन ठान्थे, उहाँले पहिला घर आउनुपर्थ्यो र किन मौन बसेको भन्नेबारे स्पष्टीकरण दिनुपर्थ्यो ।”

रफिकुल मङ्गलबार बङ्गलादेशको मुख्य क्रिकेट स्थल शेर–ए–बाङ्गला राष्ट्रिय रङ्गशालामा बिसिबीको मुख्यालयबाहिर विरोध प्रदर्शनमा सहभागी हुनुभयो ।

उहाँ र अन्य खेल प्रशासकहरूले हसिनाको वफादार भएको आरोप लागेका क्रिकेट बोर्डका सदस्यहरूलाई हटाउन माग गर्नुभयो । समूहले सोमबार विज्ञप्तिमा भनेको छ, “कुव्यवस्थापन, निरङ्कुश व्यवहार र बेलगाम भ्रष्टाचारले बङ्गलादेश क्रिकेट पछि परेको छ ।”

खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

बरहथवा (सर्लाही), ३० साउन : सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् ।

आज वडा नं १ हथिऔलस्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो । घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा पस्नुभएको थियो । सोही क्रममा साहको दुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।

दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन् । अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

बेपत्ताको खोजी कार्य जारिरहेको छ भने मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी

काठमाडौँ, ३० साउन : सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ ।

सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । उहाँको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहनुभएको छ ।

यस्तै राज्यका निर्देशक सिद्धान्त समितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहनुभएको छ ।

समितिका सभापतिको निर्वाचनका लागि यही साउन ३१ गते बिहीबारको मिति निर्धारण भएअनुसार उहाँहरूको आज उम्मेदवारी दर्ता भएको हो ।

भोलि साउन ३१ गते बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो । यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति यही साउन १६ गते गठन भएको हो ।

संसद्मा प्रधानमन्त्री ओलीको सम्बोधनः शान्ति पक्षधरका लागि खुसीको विषय

काठमाडौँ, ३० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले ३० साउन, २०८१ मा प्रतिनिधिसभाको बैठकमा सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा गर्नुभएको सम्बोधनको पूर्णपाठ:

सम्माननीय सभामुख महोदय,

आज थोरै समयमा केही विषयहरुमा आफ्नो खुसी पनि व्यक्त गर्ने र केही विषय प्रष्ट पार्ने हिसाबले म यहाँ उभिएको छुु ।

सभामुुख महोदय,

म खुसी के व्यक्त गर्न चाहिरहेको छुु भने, हाम्रो देशमा द्वन्द्व थियो, द्वन्द्वलाई हामीले शान्ति प्रक्रियामा परिणत गर्‍यौँ र शान्ति प्रक्रिया अगाडि बढ्यो । हामीले भन्दै आएका छौँ–यो शान्ति प्रक्रिया मौलिक (होमग्रोन) हो । हामी आफैँले यस प्रक्रियालाई आफ्नै हिसाबले प्रारम्भ गरेका हौँ । यो हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको छ । त्यही कारण हुनसक्छ, यो सफलतापूर्वक अगाडि बढेको छ ।

शान्ति प्रक्रियाका अन्य तमाम कुराहरु कहिले अलि तीव्र बेगमा र कहिले अलिक धिमा गतिमा अघि बढेको भए पनि हामीले सकारात्मक ढङ्गले समाधानमा पुुर्‍ याएका छौँ। समाधान हुुँदै आएका छन् । र, दुनियाँका लागि एउटा नमुनाका लागि शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रिया, फेरि द्वन्द्व नहोस् भन्ने प्रक्रियालाई हामीले अगाडि बढाएका छौँ । द्वन्द्वलाई मूल प्रवाहीकरण (मेनस्ट्रिम) मात्रै होइन, त्यसबाट अलगथलग भएर द्वन्द्वका नीति र अभ्यासहरु जारी राखिरहेका समूह वा पृथकतावादीको सोच बोकेका समूहजस्ता अनेक समूहलाई हामीले शान्ति र लोकतन्त्रको राष्ट्रिय राजनीतिको मूलधारमा ल्याइसकेका छौँ । एउटा चिज त्यही पनि बाँकी थियो–‘टिआरसी’ भन्ने । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी विषय । यी विषयहरु टुङ्गो लगाउनुपर्ने थियो । यी विषयहरु एउटै शब्दभित्र टिआरसी अथवा सत्यनिरुपण तथा मेलमिलापभित्र समेटिने विषय हुन् । यस सम्बन्धमा हामीले अलिक ढिलै गरेर २०६३ सालको सुरुमा यद्यपि १२ बुुँदेदेखि गन्ने हो भने २०५२ सालदेखि नै हामीले शान्ति प्रक्रियालाई अगाडि बढाएका हौँ । तर पनि त्यसको हामीले युद्धविराम गरेर शान्ति प्रक्रिया अगाडि बढाएको २०६३ को सुरुदेखि । त्यसयता १८ वर्ष बितिसकेको छ । ती १८ वर्षहरुमा हामीले द्वन्द्व व्यवस्थापनका सन्दर्भमा, शान्ति प्रक्रिया अगाडि बढाउने सन्दर्भमा थुप्रै उपलब्धिहरु हासिल गरेका छौँ । तर पनि सत्यनिरुपण तथा मेलमिलाप जस्ता विषय टुङ्गो लागेको थिएन । यस सम्बन्धमा हामीले २०७१ सालमा ऐन बनायौँ । त्यसको कार्यान्वयन गर्न खोज्यौँ । कतिपय ऐनका कमजोरीले होला, कतिपय व्यावहारिक कमजोरीले होला तर बढी ऐनका कमजोरीले हुुन सक्छ । त्यसकारण हामीले ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढायौँ। त्यससम्बन्धमा काफी ‘प्रोग्रेस’ भएर पनि केही बुँदाहरु, केही विषयहरु अल्झिएका थिए । ती विषयहरु जेलिएका थिए, तिनको गाँठो फुकाउने भन्छ नी, त्यो गाँठो फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट त्यससम्बन्धी सर्वसम्मतिका साथ प्रतिवेदन आइसकेको हामी सबैलाई थाहा छ । हिजो संसद्मा त्यो पेस भइसकेको छ । आज त्यससम्बन्धमा बहस गर्ने र त्यसलाई पारित गर्ने, त्यो काम पनि हुनेछ । हामीले पीडितमैत्री भएर यी प्रतिवेदन ल्याएका छौँ । पीडित पक्षलाई कुनै करकापमा नपरिकन सहमतिका साथ यस दस्तावेजलाई अगाडि बढाएका छौँ, यसलाई कानुनका रुपमा अगाडि बढाएका छौँ । प्रतिनिधिसभाले आज पास गर्ला । केही दिनभित्र राष्ट्रियसभाले पनि पास गर्नेछ । यो हामी सबैका लागि, शान्तिका पक्षधर हामी सबै छौँ र हामी सबै शान्तिका पक्षधरहरुका लागि यो खुसीको विषय छ । र, यो ऐन बनिसकेपछि हामी यसमा यसअन्तर्गत आयोगहरु निर्माण गर्नेछौँ र आयोगलाई काम गर्न एकत यस कानुनले अनुुकूलता प्रदान गरेको छ । अर्को कुरा, सरकारकोतर्फबाट म भन्न चाहन्छुु, सहमतिका साथ ती आयोग बन्ने छन्, प्रभावकारी खालको आयोग बन्ने छ । त्यसलाई सरकारका तर्फबाट पूराका पूरा सहयोग हुन्छ र मैले विश्वास लिएको छुु, सबै राजनीतिक दलहरुको तर्फबाट पनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका लागि साथ रहनेछ । यी दुुईवटै प्रश्नमा सही निष्कर्षका साथ छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दुनियाँलाई दिन हामी सफल हुनेछौँ । यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको भनेर भनेको हुँ ।

मैले सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दा यो प्रक्रिया छिटो टुुङ्गोमा पुुग्छ भनेको थिएँ । मलाई सन् २०२४ सम्म यो प्रक्रिया पुुग्ला जस्तो लागेको थिएन । त्यसबेला हामीले यसलाई छिट्टै समाधान गर्न सक्छौँ भन्ने ठानेका थियौँ । मैले संयुक्त राष्ट्रसङ्घको महासभामा भन्दा यो हाम्रो आफ्नै ‘होमग्रोन’ हो भनेर भनेको थिएँ । हाम्रो आफ्नै उपजका रुपमा यसलाई हामीले अगाडि बढाएका छौँ, सफलताका साथ अगाडि बढाएका छौँ र निष्कर्षमा पनि पुर्‍याउँछौँ भन्ने विश्वका अगाडि पनि बोलेको थिएँ । अब त्यो दिन साकार पार्ने सन्दर्भमा हामीले सहमतिका साथ एउटा कानुनको निर्माण, समितिबाट सहमतिका साथ आइसकेपछि जहाँ सबै पक्षको प्रतिनिधित्व छ, त्यहाँ सहमतिका साथ आइसकेपछि अब यहाँ विचारहरु तत्सम्बन्धमा छलफलमा सहभागी हुनुुहुनेछ र राख्नुहुनेछ । अरु स्वतन्त्र माननीय सांसदज्यूूहरुले पनि राख्नुहुनेछ । हामी यस सन्दर्भमा एउटा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ । केही देशहरुमा मात्रै यति राम्ररी शान्ति प्रक्रिया सफल भएको होला । हामीले त्यसरी शान्ति प्रक्रिया सफल गरेका छौँ । केही देशहरुमा सुन्दर ढङ्गले भएको छ, केही देशहरुमा लम्बिरहेको छ । जहाँ राम्रा कुराहरु भएका छन्, राम्रो छिटो र सही ढङ्गले समस्याको समाधान भएको छ, त्यो हाम्रा निम्ति पनि अनुशरणीय हुन सक्छन् । हाम्रो राम्रो व्यवहारले दुनियाँमा द्वन्द्वको अन्त्य गर्न, शान्ति स्थापना गर्न र शान्तिलाई दीगो ढङ्गले कायम राख्न हाम्रा सफलताहरु उपयोगी हुनेछन् भन्ने कुनै दुविधा हुन जरुरी छैन ।

हामी लोकतान्त्रिक प्रणालीमा छौँ । लोकतन्त्र मुुख्य कुरा हो । समाजको व्यवस्थापन राज्यको सञ्चालन, राज्यको परिचालन, राज्य शक्तिको परिचालन, राज्यको कोषको परिचालन वा राज्य व्यवस्थाका सम्पूर्ण अवयवहरुको परिचालन हामीले लोकतान्त्रिक बाटोबाट गरेका छौँ । यस लोकतान्त्रिक बाटोमा कुनै दुविधा हामी कसैलाई छैन भन्ने मलाई लाग्छ । लोकतन्त्र एउटा प्रतिस्पर्धात्मक प्रणाली हो । लोकतन्त्रमा प्रतिस्पर्धा अस्वस्थ होइन, स्वस्थ प्रतिस्पर्धा हुन्छ । अस्वस्थ प्रतिस्पर्धालाई लोकतन्त्र भनिदैँन । मैले सदैव स्वस्थ प्रतिस्पर्धामा जोड दिने गरेको छुु । प्रतिस्पर्धी व्यवस्था, बहुुदलीय व्यवस्था हाम्रो रोजाइ हो । हामीले छानेर, खुुसीले रोजेर प्रतिस्पर्धात्मक प्रणाली अपनाएका छौँ । करकाप होइन, हामीले लडेर, सङ्घर्ष गरेर, बलिदान लिएर यो प्रणाली ल्याएका छौँ । यो समाजलाई सुव्यवस्थित गर्ने, राज्य सञ्चालन लोकतान्त्रिक ढङ्गले गर्ने, समाज सञ्चालन लोकतान्त्रिक ढङ्गले हुने र समाज लोकतन्त्रलाई एउटा आफ्नो जीवनपद्धति मानेर सरकार र समाज चल्ने प्रणाली, त्यसलाई व्यावहारिक रुपमा हामी सही र सफलतातर्फको यात्राका निम्ति प्रयोग गरिरहेका छौँ । म भन्न चाहन्छुु–सरकार लोकतान्त्रिक प्रणाली, लोकतन्त्रका मूूल्यमान्यताहरु देश र जनतालाई सर्वोपरी राखेर, देश र जनताका हितप्रति समर्पित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवनपद्धतिका रुपमा अवलम्बन गरेर, सुशासनका निम्ति भ्रष्टाचार अन्त्य गर्ने, नियन्त्रण गर्ने, त्यो आजै अन्त्य भई नहाल्ला तर अन्त्य गर्ने दिशामा हामी नियन्त्रण गर्दै जाने प्रतिबद्धतामा कुनै कमी रहने छैन । म फेरि पनि भन्न चाहन्छुु । लोकतन्त्रको प्रणाली र यस प्रणालीको रक्षाका निम्ति कुनै प्रकारको कमी रहँदैन । लोकतन्त्र के हो र लोकतान्त्रिक प्रणालीलाई कसरी परिभाषित गर्ने र कसरी कार्यान्वयन गर्ने भन्ने व्यवस्था गर्न बनेको संविधान, त्यो संविधानको रक्षा र परिपालनामा सरकारको तर्फबाट कुनै कमी रहँदैन । त्यो पनि म स्पष्ट गर्न चाहन्छुु । मैले सोचेको र ठानेको छु, मैले विश्वास लिएको छु,–हामी कसैको पनि त्यसमा मतान्तर छैन । लोकतान्त्रिक प्रणालीमा कसैको पनि मतान्तर अवश्य छैन । त्यसको रक्षाको सम्बन्धमा मतान्तर अवश्य छैन । लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा स्थापित गर्ने, अपनाउने र सफलतापूर्वक अगाडि बढाउने कुरामा कसैको फरक विचार छैन र फरक व्यवहार हुँदैन भन्ने मैले विश्वास लिएको छु । त्यसरी हामी अगाडि बढ्ने छौँ ।

अहिले केहीकेही प्रवृत्तिहरु लोकतन्त्रका विरुद्धमा देखापर्न खोजेका छन् । हामीले रोजेर ल्याएर स्थापित गरेको, सङ्घर्ष गरेर, बलिदान दिएर छानेको यस प्रणालीविरुद्ध गन्तव्य के हो भन्ने कुरा स्पष्ट नगरिकन केही प्रवृत्तिहरु, कहाँ पुुग्ने भन्ने कुरा थाहा छैन, के बनाउने भन्ने कुरा थाहा छैन त्यसैले भड्काउने हिसाबले लागेका छन् । तर प्रणालीभन्दा बाहिरका प्रवृत्तिहरु सामाजिक मर्यादा, सभ्यता र शिष्टताका सीमाहरुलाई, सामाजिक बन्धनहरु, जो अदृश्य हुने गर्छन् । सामाजिक बन्धन, नैतिकताका बन्धन, इमानका बन्धन यस्ता कुराहरुको वास्ता नगरेर चल्ने खालका केही प्रवृत्तिहरु प्रकट भएका छन् । यसप्रति हामी सजग रहनुुपर्छ भन्नुको अर्थ यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने रु यसका निम्ति विभिन्न ढङ्गले समाजलाई भड्काउन खोजिएको छ । केही कमीकमजोरीहरु होलान्, केही वाञ्छित उपलब्धिहरु हासिल नभएका होलान् । ती विषयलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीकैविरुद्ध जाने खालका अभिव्यक्तिहरु प्रकट भएको देखिन्छ । त्यससन्दर्भमा म भन्न चाहन्छुु–सिङ्गै सदनलाई म आस्वस्त पार्न चाहन्छुु र देशलाई नै म भन्न चाहन्छुु, सरकार यस मामलामा सजग छ । हामी लोकतन्त्रका लागि लडेका हौँ, लोकतन्त्रका लागि बलिदान दिएका हौँ । बलिदान ख्यालख्याल कुुरा होइन । सङ्घर्ष, त्याग ख्यालख्याल कुुरा होइन, कठीन कुरा हो । हामी कठीन बाटो हिँडेर, कठीन सङ्घर्ष गरेर यो प्रणाली स्थापना गरेका हौँ । धेरै जनताको रगत बगेको छ, एकदुुई जनाको होइन । धेरै जनताको रगत बगेको छ । मानिसका आयुका आयु गएका छन् ।

म यहाँ स्मरण गर्न चाहन्छु, कोही नेताहरु निर्वासनमा बस्नुुपर्‍यो, निर्वासनमा मर्नुप र्‍यो र निर्वासनमै देशका बारेमा सङ्घर्ष, चिन्तन, प्रयास गर्दागर्दै निधन भएर शवसमेत आफ्नो देशभित्र ल्याउन दिइएन, देशभक्तहरुलाई । ती दिन हामीले बेहोरेका छौँ । निर्वाचित प्रधानमन्त्री अकारण जेल गएर बस्नु परेका दिनहरु हामीले याद गरेका छौँ । निर्वाचित सरकार बलजफ्ती अपदस्त गरिएका दिनहरु हामीले देखेका छौँ । पुग्यो कहाँ त, अलिक समय निरङ्कुशतामा पुुग्यो, फेरि पुग्छ कहाँ, फर्किन्छ कहाँ त भन्दा लोकतन्त्रमै फर्किने हो । त्यत्रो बलिदान भयो, त्यत्रा जनताले दुःख पाए, त्यत्रा मान्छे मारिए, त्यत्रो दुःखकष्ट भयो, धेरै अङ्गभङ्ग भयो, धेरै मारिए, धेरै परिवार छिन्नभिन्न भए । त्यो सबैको एकछिनको नतिजा त अधिनायकवादले जितेको जस्तो देखियो होला । तर, यो दीर्घकालीन हुुँदैन, टिकाउ हुँदैन, दीगो हुँदैन । दीगो भनेको लोकतन्त्र मात्रै हो । टिकाउ भनेको लोकतन्त्र मात्रै हो । तसर्थ यो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र यसलाई व्यवस्थित गर्नका निम्ति नेपाली जनताले सबै क्षेत्रको प्रतिनिधित्व गरेर बनाएको, सबै क्षेत्रको प्रतिनिधित्व, यति धेरै समावेशी भएको संविधान हामीले बनायौँ । यो समावेशीतालाई ध्यानमा राखेर हामीले ६०१ जनाको संविधानसभा बनाएका थियौँ । एउटा संविधानसभा चार वर्षको कार्यकालमा असफल भएपछि विभिन्न जटिलताकाबीचबाट फेरि हामीले अत्यन्तै सावधानिका साथ अर्को संविधानसभाको निर्वाचन गरायौँ, अर्को संविधानसभा गठन गर्‍यौँ र अर्को संविधानसभाले संविधान बनाएरै छोड्यो ।

संविधान संशोधनका कुराहरु कहिले कहिले उठ्छन् । अहिलेको सरकार र सत्तापक्षले पनि संविधान संशोधन जरुरी छ भनेको छ । म ‘एस्योर’ गर्न चाहन्छुु, ढुुक्क पार्न चाहन्छुु साथीहरुलाई यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ रु जुन प्रतिज्ञा गरेर, जुन सपथ लिएर जेका लागि सङ्घर्ष गरेर, जेका लागि जे जस्ता दुुःखकष्ट भोगेर हामी यस परिणाममा आएका छौँ, जनप्रतिनिधि भएका छौँ, जनप्रतिनिधि हुँदा हामीले जुन सपथ ग्रहण गरेका छौँ । त्यसको खिलापमा जान सकिन्नँ । वाचाबन्धन सानो कुरा होइन । हामीले त्यहाँ लिखित ‘सिग्नेचर’ पनि गरेका छौँ । यो हस्ताक्षरको बन्धन, लिखतको बन्धन, यी साना कुरा होइनन् । अनि लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ रु तानाशाहीमाथि हामी विश्वास गर्दथ्यौँ भने राणाशासनका विरुद्ध कसरी लड्न सक्थ्यौँ, तानाशाहीले जित्छ, तानशाही ठीक छ भन्ने विश्वास लिएर त्यसकैविरुद्ध कसरी लड्न सकिन्छ रु अधिनायकवाद ठीक छ, अधिनायकवादले नै जित्छ भनेर त्यसकैविरुद्धमा कसरी लड्न सकिन्छ रु हामी त अधिनायकवादका विरुद्ध लडेर आएका हौँ । हाम्रो अधिनायकवादी, तानाशाहीमाथि विश्वास हुँदैन । त्यसकारण हामी त्यसका विरुद्ध लडेका हौँ । हाम्रो विश्वास ‘डेमोक्रेसी’ माथि छ, त्यसकारण डेमोक्रेसीका लागि लडेका हौँ । लोकतन्त्रका लागि लडेका, त्यसमाथि विश्वास भएर हो । विश्वास नभइकन ज्यान दिन सकिँदैन, विश्वास नभइकन टाउको थाप्न सकिँदैन, विश्वास नभइ छाती थाप्न सकिँदैन, विश्वास नभइ गर्धन थाप्न सकिँदैन । यसमा हामी विश्वासका साथ उभिएका हौँ । तसर्थ, म फेरि पनि भन्न चाहन्छुु–संविधान असंशोधनीय दस्तावेज होइन, संशोधनीय दस्तावेज हो । संशोधन लोकतन्त्रका मूल्यमान्यतालाई अझ बढी सुदृढ गर्न, अझ बढी व्यावहारिक बनाउन, अझ बढी उजिल्याउन र त्यसलाई प्रभावकारी बनाउनका लागि समयानुकूल गर्न, सुशासन र विकासका कामहरुलाई जनतालाई दिनका लागि हो । जनतालाई ‘डेलिभरी’ उपलब्ध गराउने सन्दर्भमा जुन कुरा र कामले बढी उपयोगी बनाउन सकिन्छ, ती धाराहरु, उपधाराहरु केही फेरबदल गर्न नसकिने कुरा होइन । अर्को कुरा संविधान संशोधन गर्न सकिन्छ भन्ने कुरा हामीलाई जे मन लागेको छ, त्यही गर्छौं भन्ने कुरा होइन । संविधान चाहिएको देशका लागि हो, संविधान चाहिएको जनताका लागि हो । संविधान चाहिएको सुशासन र विकासका लागि हो । संविधान चाहिएको जनतालाई कसरी उनको जीवनमा परिवर्तन अझ बढी ल्याउन सकिन्छ, त्यसका लागि हो । त्यसकारण त्यसविपरीतको संविधान संशोधन कसरी हुनसक्छ रु हामी त्यसका लागि तयार छौँ र रु म त तयार छैन । देशका विरुद्ध, जनताका विरुद्ध, विकासका विरुद्ध, सुशासनका विरुद्ध, समावेशीता मास्नेगरी हामीले अहिले गरेका आधारभूत प्रस्तावनाहरु, संविधानका आधारभूत मूूल्यमान्यताहरुमा परिवर्तन हुन सक्दैन । सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र मास्नेगरी हामी जान सक्दैनौँ । यहाँनिर लोकतन्त्र भन्ने शब्द छ । हो, यो शब्द अत्यन्त महत्वपूूर्ण छ । लोकतन्त्रका अवयवहरु हुन्–सङ्घीयता र गणतन्त्र । लोकतन्त्रलाई यथार्थमा लोकतन्त्र बनाउन ती कुराहरु आवश्यक छन् भनेर संविधानले व्यवस्था गरेको हो । त्यस कुरामा हामी अडिग छौँ भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। जहाँनिर विकासका लागि बाधा हुन्छ, जहाँ जनतालाई ‘डेलिभरी’ गर्न बाधा हुन्छ वा समयानुकूल ढङ्गले अनुभवका आधारमा केही कुराहरुमा परिमार्जन गर्नुपर्छ भने त्यो परामर्शका साथ, छलफलका साथ, सहमतिका साथ गरिनेछ । दुई तिहाइ त यसै पनि चाहिन्छ–संविधान संशोधन गर्न । तर जसोतसो दुई तिहाइ पुर्‍याउने भन्ने होइन । संविधानको सर्वस्वीकार्यताका पक्षहरुलाई ध्यानमा राखेर, संविधानलाई स्वीकार्यता र अस्वीकार्यताको रेखामा विभाजन गर्नेगरी नभई, सर्वस्वीकार्यता बनाउने प्रयासअन्तर्गत संविधान संशोधन हुनसक्छ र समयानुकूल गर्नुपर्छ भनिएको हो । यसका लागि राजनीतिक दलहरुका बीचमा, जनस्तरमा, संविधानविद्हरुका बीचमा छलफल गर्न जरुरी छ । यसमा हामी विभिन्न आफ्ना अनुभवहरु हेर्छौं र त्यस्ता अनुभवहरुका ठाउँमा त्यस्ता देशहरुले कस्तो गरेका छन् त, त्यो कुरालाई पनि हेर्छौं तर अरु कहीँको नक्कल होइन । हाम्रो आवश्यकताअनुसार हामी गर्छौं । संविधान निर्माण हामीले गरेका हौँ । संविधान बडो कठीन स्थितिमा निर्माण गरेका हौँ । त्यो कुरा हामी सम्झिरहेका छौँ । र, त्यसै गरेर संविधान निर्माण गर्दा संविधानप्रति कसैकसैलाई माया लागेको, कसैलाई माया नलागेको छँदैछैन, यसमा कुनै भ्रम राख्नुपर्ने आवश्यकता नै छैन । हामी सबै मिलेर संविधान बनाएका हौँ फेरि पनि सबै मिलेर संविधान कार्यान्वयन गर्छौं र त्यसलाई परिमार्जन गर्छौं ।

अहिले समाजमा एक प्रकारको सामाजिक मूल्यमान्यताको बर्खिलाप हुनेगरी केही यस्ता ‘टेन’हरु चलेका छन् । ती टेनहरुलाई रोक्नुपर्दछ । हामी यस गरिमामय संसद्का माननीय सदस्य, सांसदज्यूूहरुले देशलाई लिड (नेतृत्व) गर्नुपर्दछ कि बोल्ने कसरी, सामाजिक मूल्यमान्यता कायम गर्ने कसरी यस सम्बन्धमा हामीले समाजलाई ‘गाइड’ गर्नुुपर्दछ । अनि हामी गाइड नगर्ने र हामीले फरक ढङ्गले बोल्ने हो भने अरुलाई हामीले कुनै आलोचना गर्ने ठाउँ रहँदैन र सुझाव दिने पनि ठाउँ रहँदैन । त्यसकारण हामीले आफूलाई सभ्यता, शिष्टता र मर्यादाका सन्दर्भमा पनि आफूलाई नमुनाका रुपमा पनि प्रस्तुत गर्न सक्नुपर्दछ । यसरी हामी एउटा पारदर्शी, समावेशी, सुदृढ, सामाजिक न्याय र समानतासहितको अनुशासित, सुशासनयुक्त र समृद्ध समाज निर्माण गर्न सक्छौँ । मैले विश्वास लिएको छु–यसै बाटोबाट हामी नेपाललाई समृद्ध बनाउन सक्छौँ । तमाम नेपाली जनतालाई सुखी बनाउन सक्छौँ । समृद्धिका ‘प्यारामिट’हरु, सुखका प्यारामिटरहरु यी सबै हामी पूरा गर्न सक्छौँ । यस उद्देश्यका लागि यसै सन्दर्भमा आज जुन विधेयक यहाँ प्रस्तुत हुँदैछ र हामी पारित गर्दैछौँ । केही दिनभित्र यसलाई सम्पूर्ण रुपमा पारित गरेर अगाडि बढ्नेछौँ । यसमा हामी सबैको सहमति रहनेछ, त्यो मैले विश्वास गरेको छु, रहोस् भन्ने चाहना गरेको छुु । सकारात्मक हिसाबले देशलाई अगाडि बढाउने सन्दर्भमा यो पनि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा हुनेछ भन्ने मैले विश्वास लिएको छु। अब धेरै समय टाढा जाँदैन, १० दिनको आसपासमा हामी यसलाई पारित नै गरिसक्छौँ । अरु ऐनलाई पनि क्रमशः छिटो पारित गर्ने दिशामा सरकारले सोचिरहेको कुरा म गरिमामय सदनसमक्ष निवेदन गर्न चाहन्छु ।

सभामुख महोदय, यहाँले समय दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु । सबै माननीयज्यूहरुमा शुभकामना । धन्यवाद !

नेपालको शान्ति प्रक्रिया विश्वकै ‘रोल मोडल’

काठमाडौँ, ३० साउन : सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उहाँहरूले मौलिकतामा आधारित रहेर शान्ति प्रक्रिया निष्कर्ष पुग्ने क्रममा रहेको बताउनुभयो ।

सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन दलहरूबीच अभूतपूर्व एकता भएको उल्लेख गर्दै नेताहरूले मुलुक र जनताका लागि राजनीतिक दल एकताबद्ध हुन सक्छन् भनेर पुष्टि भएको टिप्पणी गर्नुभयो । उहाँहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) सदनबाट पारित भएपछि विश्वसामु नेपालको प्रतिष्ठा उँचो हुने बताउनुभयो । विधेयकले द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको यात्रा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । “सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन हामीले उदाहारणीय नमूना प्रस्तुत गरेका छाँै, सबै राजनीतिक दल र सांसद बधाईका पात्र हौँ”, उहाँले भन्नुभयो, “टिआरसीले दलहरूलाई पुनःएकताबद्ध बनाएको छ, राष्ट्रिय सहमतिको संस्कार सुदृढ गर्ने अवसर दिएको छ ।”

मौलिकतामा आधारित रहेर नेपालका राजनीतिक दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन विधेयक कार्यान्वयनमा इमान्दारिता देखाउन आवश्यक रहेको बताउनुभयो । “द्वन्द्वकाल समाप्त भएको दुई दशक पुग्न लागि सक्यो, पीडितलाई सबैले भावनात्मक रुपमा सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खानले प्रस्तुत विधेयक प्रमुख तीन दलको मात्र नभएर सिङ्गो संसद्को स्वामित्वमा पुगेको बताउनुभयो । उहाँले पीडितलाई न्याय दिन राजनीतिक शक्ति एकमत हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको शान्ति प्रक्रिया उदाहरणीय बन्न सफल भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय समुदायसँगै सरोकारवाला सबै पक्षले शान्ति प्रक्रियालाई चासोका साथ हेरिरहेको उल्लेख गर्नुहुँदै सांसद खानले पीडितका समस्या समाधानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई ख्याल गरी पीडितको सहमतिमा न्याय निरुपण, परिपूरण तथा पीडितलाई न्याय प्राप्तिका लागि पुनःउजुरी गर्न पाउने अधिकारलाई विधेयकमा राखिनु सराहनीय रहेको उल्लेख गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले प्रस्तुत विधेयक स्वागतयोग्य र सराहनीय भएको बताउनुभयो । उहाँले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपरण तथा मेलमिलाप गरेर मात्रै शान्ति प्रक्रियाले पूर्णता पाउने बताउनुभयो । चौधरीले टीकापुर घटना, थारुहट, मधेस र दलित आन्दोलनमा जनताले दिएका बलिदान र योगदानको पनि सरकारले कदर गर्नुपर्ने उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबाट पीडकले दण्ड सजाय तथा पीडितले क्षतिपूर्ति, परिपूरण र भरणपोषणसहित सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो । “यसले विश्व समुदायमा विशेष सन्देश दिँदैछ, यो खुसीको क्षण हो”, उहाँले भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शान्ति प्रक्रिया जस्तो गम्भीर विषयलाई संसद्मा पर्याप्त छलफल गरेर मात्रै टुङ्गोमा पु¥याउन सुझाव दिनुभयो । राष्ट्रिय जनमोर्चा पार्टीका नेता चित्रबहादुर केसीले प्रस्तुत विधेयकले द्वन्द्वकालका दोषीलाई बचाउन केन्द्रित रहेको बताउनुभयो । “विधेयकमा मुद्दा चलाउने या नचलाउने अधिकार महान्याधिवक्तालाई दिइएको छ । जुन गलत छ”, उहाँले भन्नुभयो, “विधेयकमा पीडितले न्याय नपाए अदालत जान पाउने भनिएको छ । यो निकै हास्यास्पद छ ।”

आम जनता पार्टीका सांसद प्रभु साहले विधेयकको स्वागत गर्दै इमान्दारिताका साथ कार्यान्वयनका लागि शुभेच्छा प्रकट गर्नुभयो । उहाँले शान्ति प्रक्रियाको मुल सार जनताको मुद्धा र समग्र राजनीतिक मुद्धाप्रति राजनीतिक दल नै इमान्दार हुन नसकेको गुनासो गर्नुभयो । सांसद साहले भन्नुभयो, “हामी यदि आफूलाई शान्तिका पक्षधर ठान्छौँ भने समाजको विभेदहरू हटाउन इमान्दार हुनुपर्छ । समानता र न्यायसम्बन्धी जनताका मुद्धामा हामी कति इमान्दारितासहित अघि बढ्यौँ ?”

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले शान्ति सम्झौतापछिका १८ वर्षको अवधिमा आएको विधेयकलाई स्वागत गर्नुहुँदै विधेयक निर्माणका लागि योगदान पु¥याउने सबै राजनीतिक नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्नुभयो । राजनीतिक व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्व र जनताबीचको दूरी र असन्तुष्टि बढ्दै गएको सांसद सिंहको भनाइ छ ।

अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले ढिलै भए पनि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट पारित हुनु खुसीको विषय भएको उल्लेख गर्नुहुँदै जनताका मुद्दामा पनि गम्भीर भएर काम गर्न आह्वान गर्नुभयो ।

राज्यका सबै संरचनामा दलितको समान सहभागिता हुनुपर्ने माग

काठमाडौँ, ३० साउनः विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् ।

उहाँले आज दिउँसो प्रदर्शनस्थल माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गर्नुभयो । सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई मङ्गलबार प्रहरीले पक्राउ गरी आज रिहा गरेको थियो । उहाँले आठ दिनदेखि हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गर्दै आउनुभएको छ । आफ्ना माग पूरा नभएसम्म प्रदर्शनी जारी राख्ने संयोजक सुनारले बताउनुभयो ।

पक्राउको विरोधमा राष्ट्रिय दलित आयोगलगायत दलित समुदायका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी सुनारका जायज माग पूरा गर्नुपर्ने माग गर्दै आएका छन् ।

गाजाको ८४ प्रतिशत भुभागमा इजरायलद्वारा वस्ती खाली गर्ने आदेश

गाजाको करिव ८४ प्रतिशत भूभागमा वस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्रसङघीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ । दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गरेको छ ।

राष्ट्रसङ्घघीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समार्फत शरणार्थीहरू जीवन रक्षाका लागि सबै कुरा छोडेर भाग्दा भाग्दा थकित भएको तथा जानका लागि सुरक्षित ठाउँ नभएको जनाएको छ ।

गाजा युद्ध सुरु भएदेखि नै इजरायली सेनाले गाजाबासीलाई सैन्य कारबाहीको तयारीका लागि घर छोड्न माग गर्दै आएको छ । विस्थापित व्यक्तिहरू युएनआरडब्लुए आश्रयमा शरण लिन, आफन्तसँग वा सडक र विद्यालयहरूमा बस्न बाध्य भएका छन् ।

हमासद्वारा सञ्चालित गाजाका सरकारी सञ्चारमाध्यमको तथ्याङअनुसार वर्तमान द्वन्द्वका कारण गाजा क्षेत्रको कूल २३ लाख जनसङख्यामध्ये २० लाख मानिस विस्थापित भएका छन् ।

रूसद्वारा बेलगोरोड क्षेत्रमा सङ्कटकाल घोषणा

रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ । अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको यस क्षेत्रका सङ्कटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिनुभएको हो ।

उहाँका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथैै नागरिकको मृत्यु तथा घाइते भएका छन् ।

जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा सङ्कटकालिन अवस्था घोषणा गरिएको छ, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उहाँले भन्नुभयो ।

क्षेत्रीय सरकारले सङ्घीय स्तरमा सङ्कटको घोषणाका लागि अनुरोध गर्न सङ्घीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताउनुभयो ।

तोडफोडको आशङ्कामा जर्मन सेनाको अड्डामा तालाबन्दी

अधिकारीहरूले संदिग्ध तोडफोडको अनुसन्धान गरिरहेकाले जर्मन सैन्य अड्डालाई बुधबार सिल गरिएको रक्षा मन्त्रालयले बताएको छ । पानी आपूर्तिमा छेडछाड भएको हुनसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता कर्नल अर्ने कोलाट्जले बर्लिनमा पत्रकारहरूसँग भन्नुभयो, “घुसपैठको प्रयास र तोडफोडको आशङ्कामा कोलोन–वाहन अड्डालाई बन्द गरिएको छ ।”

डेर स्पिगल पत्रिकाले प्रहरी र जर्मन सेनाको काउन्टर–इन्टेलिजेन्स सेवाले स्पष्ट घुसपैठको अनुसन्धान गरिरहेको बताएको छ । पत्रिकाले स्रोतलाई उद्धृत गर्दै बारमा प्वाल फेला परेको बताएको छ ।

बुन्डेसवेहर अड्डामा पानीको आपूर्ति ‘दूषित हुनसक्ने’ चिन्ताका बीच सैनिक र सर्वसाधारणलाई धाराको पानी नपिउन सल्लाह दिइएको पत्रिकाले बताएको छ ।

कोलोन–बोन विमानस्थलनजिकै अवस्थित कोलोन–वाहन अड्डामा जर्मन सशस्त्र बलका धेरै सैन्य र नागरिक सुविधाका साथै चान्सलर ओलाफ सोल्स र उहाँका मन्त्रीहरूले सरकारी भ्रमणका लागि प्रयोग गर्ने विमानहरू छन् ।

स्पिगलका अनुसार करिब चार हजार तीन सय सैनिक र एक हजार दुई सय नागरिक साइटमा काम गर्दछन् ।

यो अड्डा युक्रेनका लागि सैन्य सहायताका लागि महत्त्वपूर्ण केन्द्र पनि हो । स्पिगलले जर्मनीमा प्रशिक्षण प्राप्त गरेपछि युक्रेनी सैनिकहरू त्यहाँबाट पोल्यान्ड हुँदै नियमितरूपमा घर उड्ने बताएको छ ।

तालिबान सत्तारोहणका तीन बर्ष

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ ।

नेताहरूको भाषण सुन्न र सैन्य परेड हेर्नका लागि काबुलबाट करिब ४० किलोमिटर टाढा रहेको बेसमा विदेशी कूटनीतिज्ञसहित सयौँ व्यक्ति भेला भएका थिए ।

सन् २०२१ को अगष्ट १५ मा अमेरिका समर्थित सरकार ढलेपछि र यसका नेताहरू निर्वासनमा भागेपछि तालिवान सेनाले राजधानी काबुल कब्जा गरेको थियो । यो वर्षगाँठ अफगान क्यालेन्डरमा एक दिन अघि नै मनाइन्छ ।

दुई दशकदेखि अफगानिस्तानमा अमेरिकी नेतृत्वको अभियानको केन्द्रको रूपमा रहेको अफगानिस्तानको सबैभन्दा ठूलो हवाई अड्डामा भएको कार्यक्रममा वरिष्ठ तालिवान अधिकारीहरू हेलिकप्टरमा पुगेका थिए ।

आफ्नो २० वर्षे विद्रोह अन्त्य गरेको तीन वर्षमा तालिबान सरकारले इस्लामको कडा व्याख्यामा आधारित कानुनहरू लागू गर्दै देशमाथि आफ्नो पकड बलियो बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ भनिने नीतिको मार झेलिरहेका महिलामाथिको प्रतिबन्धका कारण सरकार अन्य कुनै पनि राज्यबाट मान्यता प्राप्त गर्न सकेको छैन ।

समारोहको केही दिन अघि, तालिवान कार्यकर्ताहरू काबुल वरिपरि वार्षिकोत्सवको मितिको साथ ‘बधाइ’ लेखिएको ब्यानर र साइनबोर्डहरू टाँस्न व्यस्त थिए ।

पूर्व अमेरिकी बगराम एयर बेसमा गरिएको सभालाई सम्बोधन गर्दै तालिबानका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले इस्लामिक शासन कायम राख्नु र राष्ट्रियताको सुरक्षा गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।

–इस्लामिक कानुन मुख्य प्राथमिकतामा –

उहाँले भन्नुभयो, “इस्लामिक शासन कायम राख्ने, सम्पत्तिको रक्षा गर्ने, जनताको जीवन रक्षा गर्ने र हाम्रो राष्ट्रको सम्मान गर्ने जिम्मेवारी तालिबान सरकारको हो ।”

अखुन्दले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै ‘यस मितिमा अल्लाहले मुजाहिद राष्ट्र अफगानिस्तानलाई एक अन्तर्राष्ट्रिय घमण्डी र कब्जा गर्ने शक्तिमाथि निर्णायक विजय प्रदान गर्नुभयो’ भन्नुभएको थियो ।

राजधानी र तालिबानको आध्यात्मिक अखडा कान्दाहारमा ‘विजयको दिन’को पूर्वसन्ध्यामा थप सुरक्षा व्यवस्था गरिएको छ ।

तालिवान आन्दोलनको उद्गमस्थल र धार्मिक आदेशमार्फत शासन गर्ने नेता हिबतुल्लाह अखुन्दजादाको घर रहेको दक्षिणी शहर कान्दाहारमा पनि ठूलो सुरक्षा र सजावट गरिएको छ ।

–बढ्दो मानवीय सङ्कट –

तालिवान अधिकारीहरूको लागि सुरक्षा एक प्रमुख प्राथमिकता रहेको छ र धेरै अफगानी नागरिकले लगातार २० वर्षको द्वन्द्वको अन्त्यमा राहत व्यक्त गरे तापनि अर्थव्यवस्था सङ्कटमा छ र समाजले बढ्दो मानवीय सङ्कटको सामना गरिरहेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी समूहको संयुक्त वक्तव्यमा दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको भन्दै सहायता कोषको खाडल बढ्दै गएको चेतावनी दिइएको छ ।

ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सार्वजनिक जीवनबाट वञ्चित र माध्यमिक तथा उच्च शिक्षाबाट प्रतिबन्धित महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिबान सरकारलाई दबाब दिन आग्रह गरेको छ ।

“तालिबानले कब्जा गरेको तेस्रो वर्षगाँठ अफगानिस्तानको मानव अधिकार सङ्कटको गम्भीर सम्झना हो, तर यो कार्यको आह्वान पनि हुनुपर्छ,” एचआरडब्ल्यूका लागि अफगानिस्तानका अनुसन्धाता फेरेस्ता अब्बासीले भन्नुभयो ।

बङ्गलादेश : बेपत्ता वकिलको रिहाइ र अनुभव

आँखामा पट्टी बाँधेर, हतकडी लगाएर गोप्य जेलमा राखिएका बङ्गलादेशी वकिल अहमद बिन कासेमले आठ बर्षपछि जेलबाट बाहिर ल्याइएको महशुस गर्नुभयो । उँहाले बङ्लादेशमा भएको परिवर्तनबारे कुनै जानकारी पाउनुभएको थिएन । त्यसैले उहाँले आफूलाई हत्या गर्न बाहिर निकालिएको बुझ्नुभएको थियो । यद्यपि, उहाँले जेलबाट निस्किएपछि आठ वर्षमा पहिलोपटक स्वच्छ हावाको सम्पर्कमा आएको महशुस गर्नुभयो अनि लामो सास फेर्नुभयो ।

उहाँको कल्पना विपरीत उहाँको आँखा खोलिदिइयो, हतकडी पनि खोलिदिइयो र ढाकाको बाहिरी इलाकासम्म कारमा ल्याई हिलो खाल्डोमा फ्याँकियो । आफ्नो रिहाईलाई प्रेरित गरेको राष्ट्रिय स्थितिबारे उहाँलाई अझै पनि कुनै ज्ञान थिएन ।

“आठ वर्षमा पहिलोपटक मैले ताजा हावा पाएँ,” ४० वर्षीय कासेमले एएफपीलाई बताउनुभयो । “मैले सोचेँको थिए कि उनीहरुले मलाई मार्न लगिरहेका छन् ।”

कासेमको अपहरण र बेपत्ताका लागि जिम्मेवार प्रधानमन्त्री शेख हसिना वाजेद उहाँको रिहाइको केही घन्टाअघि राजीनामा दिएर देशबाट भाग्नु भएको थियो ।

अगस्ट ५ मा हसिना मित्रराष्ट्र भारततर्फ पलायन भएसँगै उहाँको १५ वर्षको शासनकालको अन्त्य भयो । यो अवधि उहाँको राजनीतिक विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्याका लागि जिम्मेवार थियो ।

कासेमलाई सेनाको गुप्तचरद्वारा सञ्चालित ऐनाघर (हाउस अफ मिरर) मा नजरबन्दमा राखिएको थियो । त्यहाँ बन्दीहरूले आफूबाहेक अरू कसैलाई कहिल्यै देख्न सक्दैनथे ।

कासेमलाई आठ वर्षसम्म झ्यालविहीन एकान्त कारावासमा बन्दी बनाएर राखिएको थियो र उहाँको जेलरलाई बाहिरी संसारबाट समाचार प्रसारण नगर्न कडा निर्देशन दिइएको थियो ।

हिरासत केन्द्रमा गार्डहरूले कैदीलाई नजिकैका मस्जिदहरूबाट प्रार्थनाको लागि इस्लामिक आह्वान सुन्न नदिन दिनभरी सङ्गीत बजाउँने गरेका थिए । यसले गर्दा मुस्लिम समुदायका कासेमले आफ्नो प्रार्थनाको समय थाहा पाउन सक्नुभएको थिएन । उहाँ आफू अपहरण भएदेखि कति समय बित्यो भन्नेमा पनि अनविज्ञ हुनुहुन्थ्यो ।

जब सङ्गीत बन्द हुन्थ्यो तब अन्य बन्दीहरूको पीडादायी आवाजहरू सुन्ने गरेको उहाँले बताउनुभयो । “बिस्तारै, बिस्तारै, मैले म एक्लो छैन भन्ने महसुस गर्न थालेँ”, उहाँले भन्नुभयो, “मैले मानिसहरू रोइरहेको, यातना दिइरहेका र चिच्याएको आवाज सुन्थेँ ।

ह्युमन राइट्स वाचले गत वर्ष सन् २००९ मा सत्तामा आएपछि हसिनाको सुरक्षा बलले ‘६०० भन्दा बढी जबरजस्ती बेपत्ता’ पारिएको बताएको थियो ।

सन् २०२२ मा ह्विसलब्लोअरको प्रतिवेदन विदेशमा प्रकाशित नभएसम्म ऐनाघर जनताका लागि अज्ञात थियो ।

हसिना सरकारले यसरी जबरजस्ती बेपत्ता पारिएको कुरा अस्वीकार गरेको छ र केही व्यक्तिहरू गैरकानुनी मार्गबाट युरोप पुग्ने प्रयास गर्दा भूमध्यसागरमा डुबेर बेपत्ता भएका दाबी गरेको छ ।

कासेम आफ्नो अपहरणको कारणबारे जानकार हुनुहुन्छ । उहाँका बुबा मिर कासेम अली बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ सदस्य हुनुहन्थ्यो । सन् १९७१ मा पाकिस्तानविरुद्ध स्वतन्त्रता युद्धको क्रममा स्वतन्त्रता समर्थक बङ्गलादेशीलाई यातना दिने अर्धसैनिक समूह चलाएको आरोपमा अलीमाथि मुद्दा लगाइएको थियो ।

उहाँ र अन्य व्यक्तीलाई युद्ध अपराध न्यायाधिकरणले द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले अभियोग लगाएको थियो । तर यो व्यापक रूपमा हसिनाका लागि राजनीतिक विरोधीहरूलाई उन्मूलन गर्ने माध्यमको रूपमा हेरिएको थियो ।

कासेमले उक्त समयमा आफ्नो बुबाको तर्फबाट प्रतिरक्षाका लागि मुद्दा लडिरहनुभएको थियो ।

न्यायाधीकरणमा प्रक्रियागत त्रुटि र न्यायिक पक्षपातका बारेमा उहाँको नियमित जानकारी अधिकार समूह र संयुक्त राष्ट्रका विज्ञहरूले प्रतिध्वनित गरेसँगै उहाँ तत्कालिन सरकारको निशानामा पर्नुभएको थियो ।

एक रात सादा लुगा लगाएका मानिसहरू उहाँको घरमा प्रवेश गरे र उहाँलाई लतार्दै सिँढीबाट तल झारेर कारमा हाले ।

“मेरो बुबाको मृत्युदण्ड हुनुभन्दा केहीदिन अघि तिनीहरूले मलाई बेपत्ता पार्नेछन् भनेर मैले सपनामा पनि सोच्न सकिनँ,” कासेमले भन्नुभयो ।

मैले तिनीहरूलाई भन्ने गरेको थिए,“म विरूद्ध मुद्दा चलाउन म त्यहाँ हुनु आवश्यक छ । म मेरो परिवारसँग हुन आवश्यक छ ।”

कासेमका बुबालाई उहाँलाई बेपत्ता पारिएको चार हप्तापछि फाँसी दिइएको थियो । कासेमलाई यो कुरा थप तीन वर्ष बित्दासम्म थाहा थिएन ।

जेलबाट बाहिर निकालेपछि कासेम आफ्नो घर जाने बाटो खोज्ने प्रयासमा रातभरी भौतारिनुभएको थियो । संयोगले, उहाँ एक परोपकारी संस्थाद्वारा सञ्चालित मेडिकल क्लिनिकमा पुग्नुभयो जसका लागि उहाँका बुबा एकपटक ‘ट्रस्टी’ रहनुभएको थियो ।

उहाँलाई त्यहाँको एक कर्मचारी सदस्यद्वारा पहिचान गरियो र परिवारसँग सम्पर्कमा ल्याइयो । यतिवेलासम्ममा बङ्गलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शनको परिणामस्वरूप आफ्नो रिहाइ भएको कासेमले थाहा पाउनुभएको थियो ।

“यो सबै केही किशोरकिशोरीहरूले सम्भव बनाएका हुन्”, उहाँले भन्नुभयो । “म साँच्चै आशावादी छु कि यो बङ्गलादेशको लागि भविष्यका लागि नयाँ दिशा फेला पार्ने अवसर हुनेछ ।”

उहाँकी श्रीमती तहमिना अख्तरले कासेमको मुद्दाको विषयमा भएको प्रचारले आफ्ना बच्चाहरूले विद्यालयमा बहिष्कार हुनुपरेको महसुस गरेको बताउनुभयो ।

कासेमलाई अपहरण गरेको समयमा उहाँका दुई छोरीहरू तीन र चार वर्षका थिए । ठूली छोरीले आफ्नो बुबाको अपहरण भएको प्रत्यक्ष देखेकी थिइन् उनी अझै पनि विद्यालय बाहिर तैनाथ निजी सुरक्षा गार्डजस्ता केही अधिकारीहरूसँग डराउँछिन् ।

कासेमको कान्छी छोरीलाई आफ्नो बाबुको कुनै स्मरण छैन ।

“यो हाम्रो लागि आठ वर्ष जस्तो भएन, आठ जीवनकाल जस्तो भयो,” कासेमकी आमा आयशा खातुनले बताउनुभयो ।

जसपा नेपालले चार महिने सङ्गठन विस्तार जनअभियान सञ्चालन गर्ने

काठमाडौँ, ३० साउन: जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यही साउन २७ गतेदेखि सुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै सङ्गठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो । बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनीतिक, साङ्गठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ । बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा सङ्गठन निर्माण एवं जनअभियानका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ ।

यही भाद्र ९ गते काठमाडौँमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नुहुनेछ । प्रथमचरणमा जनअभियान चार महिनाको लागि मङ्सिर मसान्तसम्मको लागि तोकिएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चार महिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको थियो ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टी पंक्तिलाई सङ्गठन निर्माणमा होमिन निर्देशन दिनुभयो । उहाँले जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्नेगरी जनतामाझ पुग्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, ३० साउन : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष डा विजयकुमार दत्तले राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।

आयोगले पीडितलाई न्याय दिलाउन वार्षिक रुपमा प्राप्त भएका उजुरीहरूको आवश्यक छानबिन तथा तकहितका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाएको छ । त्यस अवधिमा ५८ वटा उजुरी तथा गुनासा प्राप्त प्रतिवेदनमा उल्लेख छ ।

मधेसी समुदायको हकहितको संरक्षण, प्रवर्द्धन र मधेसी समुदायको सशक्तिकरणका लागि स्थापित आयोगलाई मधेसी समुदायका अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी सङ्कलन गरी आयोगको ऐनअनुसार छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने कानुनी जिम्मेवारी छ ।

आयोगद्वारा सिफारिस भएका मुख्य विषयमा पहिचानभित्रको पहिचान, बैंकिङ लगानी विपन्नमैत्री, निजामती सेवामा प्राविधिकीकरण, सखडेश्वरी भगवतीलाई विश्व सम्पदामा सूचीकृत गर्न, धार्मिक द्वन्द्वको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन र मुलुकभित्र विभिन्न धार्मिक कार्यका लागि आउने रकम एकद्वार प्रणालीबाट भ्यिाउन गरिएको पहललगायत छन् । सीमा व्यवस्थापन, पर्यावरण न्याय, मूर्त तथा अमूर्त प्राकृतिक सम्पदा, निरपेक्ष गरिबीको रेखामुनी रहेकाको वास्तविक पहिचान, सामाजिक सुरक्षा भत्ता, प्राकृतिक पर्यटन, मातृभाषा दशक, लोकनायकलाई सुचीकृत गर्न, नैतिक शिक्षाको उपयोग, शिक्षामा एकद्वार प्रणाली, चुरे संरक्षण, जनककालीन दरबार, हुलाकी राजमार्ग निर्माणलगायत रहेका छन् ।

आविष्कार केन्द्रले निर्माण गर्यो २२ महिनाको अवधिमा डेढ दर्जन कृषि औजार

राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखानाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको २२ महिनाको अवधिमा डेढ दर्जन साना–ठूला कृषि औजारको अनुसन्धान तथा विकास गरेको जनाएको छ ।

केन्द्रले पराल काट्ने मेसिन, धान काट्ने मेसिन (रिपर) , दाना बनाउने मेसिन, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने (चाप कटर) , साना ट्याक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्नेलगायत कृषि औजार तयार पारिसकेको छ । केन्द्रले यसका लागि करिव रु दुई करोड खर्च भएको जनाएको छ । तस्बिर : हिमाल लम्साल / रासस

पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडक खुल्यो

चितवन, ३० साउनः पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियोभने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।

साँपले डस्दा छ वर्षीया छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

घोराही (दाङ), ३० साउनः साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव

काठमाडौँ, ३० साउनः हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ ।विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो ।

अस्पतालको वार्षिकोत्सवका अवसरमा अस्पतालमा उपचारारत बिरामीलाई फलफूल वितरण गर्नुका साथै निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) उपलब्ध गराएको थियो ।

त्यस अवसरमा मङ्गलबार अस्पतालमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य नगरपालिकाको प्रमुख प्राथमिकता रहेको जानकारी गराउँदै नगरक्षेत्रका ४२ हजार नागरिकलाई स्वास्थ्य बिमामा समेटेको जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालबाट उपलब्ध सेवाका बारेमा जानकारी दिँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा कार्यक्रममा अस्पताललाई सूचीकृृत गराउन सकेका छौँ । अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्र्नी र नशाको शल्यक्रिया निःशुल्क उपलब्ध गराउनेगरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।”

निर्देशक भण्डारीका अनुसार एक सय शय्या रहेको उक्त अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सक सेवारत छन् । अस्पताल सञ्चालक समिति सदस्य डा प्रमोदकुमार श्रेष्ठले यस अस्पताललाई अर्थोपेडिक उपचारसम्बन्धी शिक्षण संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष साम्देन लामा, गोकर्णेशवर नगरपालिका–६ का वडाध्यक्ष नवराज लामा, वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदी, कर्मचारी युनियनका अध्यक्ष आलोक झाले अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाउनुभएको थियो ।

अरुणमा जलसतह बढेपछि तल्लो तटका बासिन्दालाई सर्तकता अपनाउन आग्रह

खाँदबारी (सङ्खुवासभा), ३० साउनः रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।

साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भन्सार छलेर गैरकानुनी रूपमा भित्र्याइएका आठ लाख ५८ हजारका सामान बरामद

वीरगञ्ज (पर्सा), २९ साउनः जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका रु आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो ।