`

अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव

काठमाडौँ, ३० साउनः हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ ।विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो ।

अस्पतालको वार्षिकोत्सवका अवसरमा अस्पतालमा उपचारारत बिरामीलाई फलफूल वितरण गर्नुका साथै निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) उपलब्ध गराएको थियो ।

त्यस अवसरमा मङ्गलबार अस्पतालमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य नगरपालिकाको प्रमुख प्राथमिकता रहेको जानकारी गराउँदै नगरक्षेत्रका ४२ हजार नागरिकलाई स्वास्थ्य बिमामा समेटेको जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालबाट उपलब्ध सेवाका बारेमा जानकारी दिँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा कार्यक्रममा अस्पताललाई सूचीकृृत गराउन सकेका छौँ । अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्र्नी र नशाको शल्यक्रिया निःशुल्क उपलब्ध गराउनेगरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।”

निर्देशक भण्डारीका अनुसार एक सय शय्या रहेको उक्त अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सक सेवारत छन् । अस्पताल सञ्चालक समिति सदस्य डा प्रमोदकुमार श्रेष्ठले यस अस्पताललाई अर्थोपेडिक उपचारसम्बन्धी शिक्षण संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष साम्देन लामा, गोकर्णेशवर नगरपालिका–६ का वडाध्यक्ष नवराज लामा, वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदी, कर्मचारी युनियनका अध्यक्ष आलोक झाले अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाउनुभएको थियो ।

अरुणमा जलसतह बढेपछि तल्लो तटका बासिन्दालाई सर्तकता अपनाउन आग्रह

खाँदबारी (सङ्खुवासभा), ३० साउनः रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।

साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भन्सार छलेर गैरकानुनी रूपमा भित्र्याइएका आठ लाख ५८ हजारका सामान बरामद

वीरगञ्ज (पर्सा), २९ साउनः जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका रु आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

जङ्गली हात्तीको आक्रमणबाट दुई वटा घरमा क्षति

इनरुवा (सुनसरी) – इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिनगरमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति पु¥याएका छन् । मंगलबार जङगलबाट आएको हात्तीको हुलले आक्रमण गर्दा दुई वटा घरमा क्षति पुगेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ ।

स्थानीय अमृतबहादुर मगर र उहाँका छिमेकीको घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । हात्तीले अमृतबहादुरको घरमा राखेको १० बोरा धान र एक बोरा चामल नष्ट गरेको छ ।

जनताले अनुभव गर्नेगरी काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्ने र अनुभव गर्नेगरी आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा उहाँले मन्त्रालयका सचिवहरूलाई प्रदेशको आम्दानी बढ्ने र नागरिकले देखिनेगरी काम गर्न निर्देशन गर्नुभएको हो ।

प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामलाई जनतासमक्ष बढीभन्दा बढी पुर्‍याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अब आलोचना कम हुनेगरी काम गर्नुहोस् ।” मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेका अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन गर्नेगरी आयोजना गर्ने कार्यक्रममा प्रगतिका विषय सचिवले सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेसागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकासँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नुभएको हो । त्यस्तै ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद गर्ने मुख्यमन्त्रीको तयारी छ ।

मयूर करीको भिडियोपछि भारतीय युट्युबर पक्राउ

देशको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ ।

उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि’ भएपछि पक्राउ गरी जेल पठाइएको प्रहरीले बताएको छ ।

भारतमा रङ्गीन पक्षी मयूरहरू कडा वन्यजन्तु कानूनअन्तर्गत संरक्षित छन् । दक्षिणी राज्य तेलङ्गानाका प्रहरी उपरीक्षक अखिल महाजनले भन्नुभयो, “उनी अहिले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत १४ दिनको हिरासतमा छन् र उनी जेलमा रहने वा जमानत पाउँछन् भन्ने अदालतले फैसला गर्नेछ ।”

कुमारले भिडियोका लागि कसरी र कहाँबाट मयूर प्राप्त गर्न सफल भए भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् । उक्त भिडियो पछि हटाइएको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार भिडियोमा उनले मयुरको मासु पकाइरहेको र यो ‘कथित रूपमा धेरै दर्शक आकर्षित गर्नका लागि स्टन्ट गरिएको थियो ।’ “यद्यपि प्रतिक्रिया उनको अपेक्षाभन्दा धेरै टाढा थियो”, अखबारले भनेको छ, “सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भिडियोको निन्दा गर्दै कुमारमाथि अवैध वन्यजन्तुको उपभोगलाई बढावा दिएको र राष्ट्रिय प्रतीकको अनादर गरेको आरोप लगाएका छन् ।”

भालेमा आफ्नो चम्किलो नीलो रङ र शानदार प्वाँखले चिनिने भारतीय मयूरले भारतमा विशेष प्रतीकात्मक महत्त्व राख्दछ ।रत्नजडित मयूर चित्रण गरिएकाले भारतको मुगल शासक वंशको सिंहासनलाई मयूर सिंहासन पनि भनिन्थ्यो । मयूर कुनै समय उत्तरी भारतीय मैदानहरूमा ठूलो सङ्ख्यामा रहेका थिए ।

पछिल्ला केही दशकमा तीव्र सहरीकरण र बासस्थानको क्षतिले जङ्गलमा मयूरको सङख्या धेरै घटेको छ । वन्यजन्तु कानूनहरूअन्तर्गत कडा सजाय र जरिवानाको साथमा यिनीहरूलाई शिकार वा हानि हुनबाट जोगाइएको छ ।

यमनमा दुई जहाज नजिकै विस्फोट भएको सूचना प्राप्त : सुरक्षा एजेन्सीहरू

यमनको तट नजिकै मङ्गलबार दुई जहाजमा विस्फोटको खबर प्राप्त भएको तर कुनै पनि घटनामा क्षति वा चोटपटक नदेखिएको सामुद्रिक सुरक्षा एजेन्सीहरूले बताएका छन् ।

राजधानी सानालगायत धेरै क्षेत्रमा नियन्त्रण गर्ने हुथी विद्रोहीहरूका कारण यमनको लाल सागर र अदनको खाडी जहाजहरूका लािग खतरनाक बनेको छ । उनीहरूले युद्धग्रस्त गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन आक्रमण सुरु गरेका छन् ।

विद्रोहीहरूको कब्जामा रहेको बन्दरगाह सहर होडेडाबाट ६३ सामुद्रिक माइल दक्षिणपश्चिममा रहेको एउटा जहाजले मङ्गलबार बिहानै दुई विस्फोट भएको जानकारी दिएको छ ।

युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटिओ) ले भनेको छ, “नजिकै एउटा सानो जहाजलाई शङ्कास्पद तरिकाले काम गरिरहेको र जहाजतर्फ बत्तीहरू चम्किरहेको देखियो ।”

बेलायती नौसेनाद्वारा सञ्चालित उक्त एजेन्सीका अनुसार जहाजमाथि ‘एउटा चालकरहित युएसभीले आक्रमण गरिएको थियो र त्यसलाई सफलतापूर्वक निष्क्रिय बनाइएको थियो ।’ “जहाज र चालक दल सुरक्षित रहेको बताइएको छ र जहाज आफ्नो बन्दरगाहतिर बढिरहेको छ”, एजेन्सीले भनेको छ ।

सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले जहाज हुथी लक्ष्यको प्रोफाइलसँग फिट देखिएको बताएको छ । पश्चिमी नौसैनिक गठबन्धनद्वारा सञ्चालित संयुक्त सामुद्रिक सूचना केन्द्र (जेएमआइसी) ले जहाजको पहिचान लाइबेरिया–ध्वजाङ्कित कच्चा तेल ट्याङ्कर डेल्टा अटलान्टिकका रूपमा गरिएको बताएको छ ।

युकेमटिओले होडेडाबाट ९७ सामुद्रिक माइल उत्तरपश्चिममा रहेको अर्को जहाजले पनि ‘जहाज वरपर विस्फोट’ भएको सूचना दिएको छ । जेएमआइसीले जहाजको पहिचान पनामा–ध्वजाङ्कित कच्चा तेल ट्याङ्कर अन फिनिक्सका रूपमा गरेको छ ।

हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकहरूलाई आग्रह

अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उहाँले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भन्नुभयो ।

दुई करोड ६२ लाख लागतमा तनहुँको आबुुखैरेनी पक्की पुल निर्माण

तनहुँ, ३० साउनः जिल्लाको आबुुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ । जिल्ला पूूर्वाधार विकास कार्यालयका अनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा उक्त कार्यालयका पदाधिकारीले मङ्गलबार सम्मान गर्नुभयो ।

पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनस्थित भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो ।

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

गुल्मी, ३० साउनः रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकारी दिनुभयो ।

मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताउनुभयो । वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो ।

विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन् ।

एक सर्वेक्षणअनुसार रेसुङ्गामा दुई सय ६३ र मदानेमा २ सय ८६ प्रजातिका चरा फेला परेका हुन । मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार छ सय ९० मिटर र रेसुङ्गा वन क्षेत्र पाँच सय ७५ देखि दुई हजार तीन सय ४५ मिटर उचाइसम्म रहेकोे छ । वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार दुई सय ८१ हेक्टर र मदाने १३ हजार सात सय ४३ हेक्टर क्षेत्रफल छ ।

रेसुङ्गा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि सङ्कटापन्न अवस्थामा रहेका चराको बासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनी बताउनुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वनको संरक्षणमा टेवा पुर्याएको छ ।

खाँदबारी रमितेका आठ घर पहिराको उच्च जोखिममा

खाँदबारी (सङ्खुवासभा)-सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन् । गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन् । पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुङ्गा रहेकाले पहिरासँगै ढुङ्गा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । पहिराका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उहाँले स्थानीय सरकारले ढुङ्गा हटाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पु¥याइएको छ । गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन् ।

गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र खाँदबारी–४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेको छ ।

पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुङ्गा फुटाउने आश्वासन दिनुभयो । केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ । गतवर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयासस्वरूप तारजाली लगाइएको थियो ।

हुम्लाको राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध

सिमकोट, (हुम्ला- हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरूछ छ । यति लामो सयमसम्म सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन् । यहाँको ठानाकोटमा रहेको नेपाल टेलिकमको टावरमा समस्या हुँदा सेवा अवरुद्ध भएको र विशेषगरी खार्पुनाथ गाउँपालिकाका चार वडाका सेवाग्राही मर्कामा परेका स्थानीय टेक बुढाले जानकारी दिनुभयो । महिना दिनदेखि टेलिफोन सेवाले नहुँदा यहाँका नागरिकले जिल्ला बाहिर र सदरमुकामलगायत छिमेकी गाउँपालिकामा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

टावर मर्मतका लागि नेपाल टेलिकम कार्यालय हुम्लालाई वडाध्यक्ष च्यागा बोहराले ध्यानाकर्षण गराउनुभएको थियो । टेलिकमले हप्ता दिनभित्र मर्मतका लागि कर्मचारी पठाउने प्रतिबद्धता जनाए पनि हालसम्म काम नभएको जनाइएको छ ।

नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिञ्जिन लामाले कर्मचारी अभाव र भएका कर्मचारी विदामा रहेकाले मर्मत गर्न नसकिएको जवाफ दिनुभयो । अब केही दिनमै टावर मर्मत गरिने उहाँले बताउनुभयो ।

यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही पनि टेलिफोन सेवाबाट वञ्चित छन् । यहाँ सोलारका भरमा सेवा सञ्चालन हुने गरेको छ तर सोलार पू्राना भएका समस्या हुने गरेको स्थानीयले बताएका छन् । टावर रहेको स्थानसम्म विद्युत् पुगेको भए पनि टावरमा विद्युत् जडानका गरिएको छैन । 

प्रविधिमैत्री अवधारणामा अघि बढाउँदै मुख्यमन्त्री सिंह

गोदार (धनुषा-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशभर प्रविधिमैत्री अवधारणा लागु गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । उहाँले दूरसञ्चार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरूसँग सो विषयमा छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले विशेषगरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेका नेटवर्कको समस्या निराकरण गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो । उहाँले प्राधिकरणको सेवा राम्रो र स्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खासगरी मधेस प्रदेश महोत्तरीदेखि पर्सासम्मको महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने जङ्गलमा नेटवर्कको निकै समस्या रहेको जानकारी गराउँदै सो समस्यालाई समाधान गर्न सुझाव दिनुभयो । 

“जङ्गलको सो क्षेत्रमा नेटवर्क नहुँदा दैनिकजसो सयौँ सर्वसाधारणले समस्या भोगिरहेका छन् । त्यस क्षेत्रमा दुर्घटना हुँदा, गाडी बिग्रिँदा वा यात्राका क्रममा कुनै आकस्मिक समस्या पर्दा सर्वसाधारणलाई नेटवर्क नहुँदा ठूलो समस्या हुने गरेको छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो । उहाँले प्रदेशको सबै जिल्ला, नगरपालिका र गाउँपालिकामा इन्टरनेटको सेवासुविधा चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रविधिमैत्री सरकारको अवधारणा बनाउनुभएका मुख्यमन्त्री सिंह प्रदेशको सार्वजनिक सेवा प्रभावकारी, उत्तरदायी, पारदर्शी र तथ्यपरक बनाउन अग्रसर देखिनुभएको छ । प्रदेशवासीको घरघरमा इन्टरनेट र सहज नेटवर्कको सुविधा पुगेमात्रै सरकारको प्रविधिमैत्री योजना सफल हुनेहुँदा उहाँले अहिले चौतर्फी रूपमा सम्बन्धित निकायसँग सेवा विस्तारका लागि समन्वय गरिरहनुभएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।

‘बाढी प्रभावित सिन्धुपाल्चोकको समस्या समाधान गर्ने प्रतिबद्धता’

सिन्धुपाल्चोक, २९ साउन : भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले सिन्धुपाल्चोकमा भएका विपद् तथा विकासका कामको अवस्थाको अवलोकन गर्नुभएको छ । सो टोलीले आज जिल्लाको मेलम्ची, हेलम्बू, खाडीचौर, जुरे, बाह्रविसे, सुनकोशी, खागदल, ब्वाँसेरीलगायत स्थानमा विपद्बाट भएको क्षतिको निरीक्षण गरेको छ ।

विपद्ले पु¥याएको क्षतिको निरीक्षण, विकास आयोजनाको अनुगमन तथा विकास आयोजनाको आवश्यकताबारे मन्त्री दाहालले जानकारी लिनुभएको हो । अनुगमनको क्रममा खाडीचौरमा वर्षौदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल र बाह्रबिसे–त्रिपुरासुन्दरी जोड्ने सुनकोशी नदी पुलको अवलोकन गर्दै उहाँले तत्काल बाँकी काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

सडक विभागका महानिर्देशकसहित निरीक्षण टोलीले उक्त पुलको बाँकी काम तत्काल सम्पन्न गर्नेगरी आवश्यक प्रक्रिया सुरु गरिने बताएको छ । गत असारमा गएको बाढीले बगाएको खागदल खोलाको अवस्था पनि उक्त टोलीले निरीक्षण गरेको छ । नेपाल–चीनबीचको मुख्य व्यापारिक नाकासम्म उक्त अरनिको राजमार्गमा दुई साताभित्रै वेलिब्रिज निर्माण सम्पन्न हुनेगरी काम अगाडि बढाउन मन्त्री दाहालले निर्देशन दिनुभयो ।

बाह्रविसे–पिस्कर सडक, बाह्रविसे–बुधेपा–घोर्थली सडक स्तरोन्नति, बाह्रविसे वडा नंम्वर ६ र ७ जोड्ने ब्वाँसेरी मोटरेबल पुल, जुरे क्षेत्रको सडकको दिगो समाधानलगायत विषयमा स्थानीय, जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वले मन्त्री तथा सडक विभाग समक्ष ध्यानाकर्षण गराएका थिए । उक्त स्थानका अवस्थाको जानकारी लिँदै मन्त्री दाहालले सिन्धुपाल्चोकका विकास आयोजनाका समस्या तत्काल समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैबीच बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले आज छापभन्ज्याङ–ठाँटीपोखरी–ढाँडखोला–फट्केश्वर सडक कालोपत्रेको शिलान्यास गर्नुभएको छ । सो अवसरमा मन्त्री मास्केले राजनीतिक आस्थाहरू फरक भए पनि सबै मिलेर सहकार्य गर्दै विकास गर्ने कुरामा हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । भूकम्प र बाढीले थलथलाएको सिन्धुपाल्चोकलाई अब सबै पार्टी मिलेर यहाँको समस्या समाधानमा लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वभौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले समयमै काम सम्पन्न गर्न र गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले पधेरेचौरदेखि फट्केस्वर सडकमा एक हप्ताभित्र टेण्डर आह्वान गरेर कालोपत्रेका लागी प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । पूर्वसांसद सुवास कर्मचार्यले यस भेगबाट काठमाडौँ राजधानी जानलाई सबैभन्दा छोटो र पक्की भएकाले यो सडकको महत्त्व रहेको बताउनुभयो ।

मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ठेक्का प्रक्रियामा जाँदा समयमै काम सम्पन्न नहुने, म्याद थप्दै काम गर्दै गर्नुपर्ने बाध्यताले गुणस्तरीय काम नहुने भन्दै यस्ता समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले सहज रुपमा काम सम्पन्न गर्ने वातावरण मिलाउन सबै स्थानीयलाई आग्रह गर्नुभयो ।
११ करोडमा ठेक्का लागेको सो सडक विसं २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्ने पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरतकुमार यादवले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा : अध्यादेश स्वीकृत

सुदूरपश्चिम, २९ साउनः प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ स्वीकृत भएको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा नियमावलीबमोजिम उक्त अध्यादेश पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रदेशसभाबाट बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१÷८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन कार्य अध्यादेश जारी भएसँगै सञ्चालन भइसकेको छ ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई स्वीकृत गरेको छ ।

विधायन तथा प्रदेश मामिला समितिका सभापतिका दिवानसिंह विष्टले समितिमा दफावार छलफल भई तयार भएको ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन ३० गते अपराह्न बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम नियुक्त मुख्यमन्त्री शाहले सोही धाराको उपधारा(४)बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित नेकपा (एमाले)र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

ललितपुरका प्रमुख महर्जन समिति सदस्यमा मनोनित

काठमाडौँ, २९ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको सङ्घ, प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गर्नुभएको छ ।

महर्जनलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) ‘ग’ बमोजिम विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानुन तर्जुमाका लागि तीन वटै तहसँग परामर्श र समन्वय गर्नेछ । ऐनले हालसम्म पूर्णता नपाएको र लामो समयदेखि बैठक बस्न सकेको छैन । महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी भदौ ६ गते बस्नेगरी तोकिएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय सङ्घको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको बताउनुभयो ।

मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्रीहरु सदस्य रहने र अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख वा अध्यक्षलाई सदस्यमा मनोनित गर्ने सकिने व्यवस्था छ ।

‘एसियन कोअपरेसन डायलग’ मा सहभागी हुन प्रधानमन्त्रीलाई कतारको निमन्त्रणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ ।

प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटगरी निमन्त्रणा हस्तान्तरण गरेका हुन्  । उक्त एसिडीमा नेपालससिहत ३५ मुलुक आबद्ध छन् ।

मञ्चको १९औँ मन्त्रिस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि एसिडीको सदस्य भएको हो ।

सो अवसरमा दुई देशका आपसीहित र सम्बन्धबारे छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सूर्यविनायक नगरपालिका र डोलेश्वरको अवलोकन

भक्तपुर, २९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै विकासमा लाग्न आग्रह गर्नुभएको छ ।

आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर यहाँका विकासको गतिविधिबारे जानकारी लिनुहुँदै उहाँले भौतिक विकाससँगै मानसिक विकासमा पनि लाग्न सुझाव दिनुभयो । “संविधानले स्थानीय पालिकालाई धेरै अधिकार र जनतासँग जोडिएर काम गर्ने अवसर दिएको छ । जनतासँग सरोकार रहेका र आफ्ना गाउँघरका समस्या स्थानीयस्तरमै समाधान गर्ने अवसर दिएकाले यसको सदुपयोग हुन आवश्यक छ । भौतिकसँग मानसिक विकासमा पनि स्थानीय तहले जोड म आग्रह गर्न चाहन्छु ।”

पूर्वराष्ट्रपति भण्डारीले नगरपालिकामा उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समिति जनताको न्यायको क्षेत्र भएको बताउनुभयो । उहाँले सबै जनता अड्डा अदालत धाउन सक्दैनन् भन्ने ध्येयले स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्न संविधानमा यस्तो व्यवस्था राखिएको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले जनतासँग सुमधुर सम्बन्ध बनाएर कसरी जनतालाई सुख, शान्ति र समृद्धि दिन सकिन्छ भनेर जनप्रतिनिधिले बढीभन्दा बढी काम गर्नुपर्ने सुझाव दिनुभयो । “पालिकाले भौतिक विकास मात्रै नभई मानसिक विकास र सीपयुक्त जनशक्ति उत्पादनका लागि शिक्षा, स्वास्थ्यका साथै दिगो विकासको लक्ष्य हासिल गर्नेगरी अगाडि बढ्नुपर्छ । स्थानीय स्रोत र साधनको उचित प्रयोग एवं संरक्षण गर्दै यहाँका सम्पदाको संरक्षणमा पनि चासो दिनुपर्ने आवश्यकता देखेको छु”, उहाँले भन्नुभयो।

नगरपालिकाको कर्यकक्षमा भएको कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले नगरपालिकाको समग्र विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई यहाँको विकास, शिक्षा, स्वास्थ्य एवं सम्पदाको अवस्थामा जानकारी दिनुभयो ।

नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिकाको स्थापनाकालदेखि हालसम्म भएको प्रगति र नगरपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभयो । नगरपालिकामा प्रमुख थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, नगरकार्यपालिकाका सदस्य र कर्मचारीलगायतले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा डालेश्वरको दर्शन

पूर्वराष्ट्रपति भण्डारीले आजै भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गर्नुभएको छ ।

डोलेश्वर मन्दिर पुग्नु भएका उहाँले डोलेश्वर पूजा, दर्शन, आरती गर्नुका साथै मन्दिरको अवलोकन गर्नुभएको थियो । मन्दिरमा उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरका अध्यक्ष वचन देउजा, नगरप्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रवक्ता रवीन्द्र सापकोटा, वडाध्यक्षहरु डोलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायतले स्वागत गर्नुभएको थियो ।

सिङ्गो कार्यालय एउटै कोठामा, बजेट तीन वर्षदेखि फ्रिज

बरहथवा (सर्लाही), २९ साउनः जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताउनुभयो ।

जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान केन्द्रमा रूपान्तरण भएको थियो । पुराना भवन प्रयोगको अवस्थामा नरहेपछि कार्यालय एउटा कोठामा खुम्चिएको हो । “पहिलो बनेको भवन अत्यन्त जीर्ण अवस्थामा छ”, उहाँले भन्नुभयो, “भवनको भित्ता सबै उप्किएको छ । छतबाट वर्षातमा पानी सबैभित्र पस्छ ।”

भवन निर्माणका यस कार्यालयले चार वर्ष पहिले रु पाँच लाखमा परियोजना विस्तृत विवरण (डिपिआर) तयार गरी प्रदेश मन्त्रालयमा बुझाएको छ । डिपिआर स्वीकृत भएकाले भवन निर्माणका लागि विनियोजित बजेट बर्सेनि फिर्ता भइरहेको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार गत तीन वर्षदेखि यस कार्यालय निर्माणका लागि बजेट रु तीन करोड ८५ लाख फ्रिज भइसकेको छ ।

कार्यालय भवन निर्माणका लागि आव २०७७÷७८ मा रु ५० लाख, आव २०७८÷७९ मा रु दुई करोड र आव २०७९÷८० मा रु एक करोड ३५ लाख बजेट डिपिआर स्वीकृत नभएकै कारण फिर्ता भएको छ । “हामी पटक–पटक प्रदेशस्थित मन्त्रालयमा पुग्यौँ”, उहाँले भन्नुभयो, “डिपिआर स्वीकृत गरिपाउँ भनेर अनुरोध गरेका छौँ । तर काम भएको छैन ।” कार्यालय व्यवस्थापन हुन नसक्दा कृषि कार्यक्रमका लागि आएका अधिकांश बजेट यसै फ्रिज हुने गरेको उहाँले बताउनुभयो । कार्यालयमा नौ जना प्राविधिकसहित १५ जनाको दरबन्दी भए पनि हाल प्रमुखसहित तीन जना प्राविधिक, सहयोगी, ड्राइभर, कम्प्युटर अपरेटर गरी सात जना कर्मचारी छन् ।

गत आर्थिक वर्ष कृषि सिँचाइका लागि विनियोजित रु चार करोड १० लाख बजेट आधा मात्रै खर्च भएको कृषि अधिकृत सीताराम यादवले बताउनुभयो । कृषि बजार तथा कृषि सडक निर्माणका लागि विनियोजित बजेट फिर्ता गएको उहाँको भनाइ छ ।

मिडिया काउन्सिल विधेयकका विषयमा सरोकारवालासँग राय लिनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ, २९ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिलको पदाधिकारी छनोट समिति र अध्यक्षलाई भ्रष्टाचार लागेको खण्डमा पदपूर्ति गर्ने प्रक्रियाबारे सरोकारवालासँगको राय सुझावका आधारमा अघि बढ्ने बताउनुभएको छ ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको आजको बैठकमा दफावार छलफलका क्रममा समिति सदस्यहरूले राख्नुभएको जिज्ञासामा उहाँले काउन्सिल विधेयकको समितिको छनोट र अध्यक्षलाई भ्रष्टाचार लागेमा पदपूर्ति गर्न सकिने वा नसकिने भन्ने विषय निकै पेचिलो भएकाले सरोकारवालाबाट राय लिन उचित हुने बताउनुभयो ।

छनोट समितिमा मन्त्रालयको सचिव राख्दैमा प्रेस स्वतन्त्रता र स्वायत्ततामा असर नहुने धारणा राख्दै मन्त्री गुरुङले भन्नुभयो, “सिफारिस समितिमा मन्त्रालयका सचिव रहँदा प्रश्न उठाउनुपर्ने कुनै कुरा छैन । पत्रकारलाई सकभर स्वायत्त र स्वतन्त्र बनाउन हामी सबै प्रतिबद्ध छौँं ।”

मन्त्रालयका सचिव राधिका अर्यालले अध्यक्षलाई भ्रष्टाचार अभियोगको मुद्दा लागेमा तीन महिनाभित्र पदपूर्ति गर्ने विषय केकति व्यावहारिक र कानुन सम्मत हुन्छ भन्ने विषय सबैपक्षबीच गहन छलफलपछि निष्कर्षमा पु¥याउनु उचित हुने धारणा राख्नुभयो । “कार्यवाहक अध्यक्ष राख्दा कार्यालयको दैनिक कार्यसम्पादन जिम्मेवारीपूर्ण गरिएको हालसम्मका कतिपय अभ्यासबाट देखिएन”, उहाँले भन्नुभयो ।

समिति सभापति जयन्तीदेवी राईले मिडिया काउन्सिल विधेयकमा धेरै विषयमा सहमति जुटिसकेकाले केही दिनमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा समिति सदस्यहरू कृष्णबहादुर रोकाय, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैरे, डा वेदुराम भुसाल, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, गङ्गाकुमारी बेलबासे, गोपीबहादुर सार्की अछामीलगायतले विधेयकका विभिन्न दफामा रहेका प्रावधानबारे स्पष्टताका लागि जिज्ञासा राख्नुभएको थियो ।

५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित

काठमाडौँ, २९ साउनः स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ ।

विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालनगरी नियमित बिरामीको खोजी र बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने÷गराउने कार्य गरिरहेको जानकारी दिएको छ ।

“प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयमा सफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ भने द्रूत प्रतिकार्य टोली परिचालन भएको नियमित केस अनुसन्धान भइरहेको छ”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रभावित क्षेत्रमा थप बिरामीको सक्रिय खोजी भइरहेको छ, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी हुनु तथा विभिन्न विज्ञ टिमको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउन सम्बन्धित सङ्घसंस्था तयार सरोकारवाला निकायले आआफ्नो जिम्मेवारी प्रभावकारी रुपले पूरा गर्ने निर्णय गरिएको छ ।”

आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी सबै सरोकारवालामार्फत प्रतिकार्य प्रभावकारी बनाउने निर्णय भएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षाका सामग्री तयारगरी प्रसारण गरिएको तथा झाडापखाला तथा हैजाका बिरामीको एक सय ४४ सरकारी तथा निजी अस्पतालबाट निगमित रूपमा निगरानी भइरहेको छ ।

जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा झाडापखलाका बिरामी देखापरेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्कगरी जानकारी गराउने सकिने विभागले उल्लेख गरेको छ ।

जनचेतना तथा सरसफाइसम्बन्धी क्रियाकलापमा बिरामी देखिएका स्थानमा खानेपानीको नमुना जाँच कार्य भइरहेको, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन (बैठक, छलफल, स्वास्थ्य सामग्री वितरण, रेडियो–टेलिभिजन, टेलिकम, फेसबुक र इन्स्टाग्राम आदिबाट सूचना÷जानकारी प्रदान) गरिएको महाशाखाको भनाइ छ ।

‘जनताले खोजेको अरु केही होइन, दिगो विकास हो’ : नेता शाही

काठमाडौँ, २९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाहीले पछिल्लो समयमा नेपाली युवामा वैदेशिक पलायन हुने क्रम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभामा आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्नुहुँदै सांसद शाहीले भन्नुभयो, “नेपाली युवा विदेश पलायन हुने विषयलाई नेपालका राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्छ तर राजनीतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दै आएका छन् । मैले गरेका सबै काम ठीक छन्, अरुले गरेका काम सबै गलत छन् भन्ने नेताहरुको आरोपप्रत्यारोप गलत छ ।”
आफ्नो पार्टी आवश्यकताको र प्राप्त अधिकारको रक्षा गर्दै थप अग्रगमनतर्फ लैजानका लागि संविधान संशोधन गर्न जरूरी रहेको नेता शाहीको भनाइ थियो । उहाँले पछिल्लो राजनीतिक परिवर्तनलाई असफल गर्नका लागि केही शक्ति लागि परेको भन्दै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय दल र दलका नेताको ध्यान संविधानअनुसार कानुन बनाउने, जनताका न्यूनतम आवश्यकता पूरा गर्नेभन्दा पनि सत्तामा कसरी पुग्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएको शाहीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामी जनप्रतिनिधिले जनतालाई विकास, समृद्धि, सुशासन र सामाजिक न्याय दिने हो । यी सबै पूरा गर्नका लागि सङ्घीयतालाई राम्रोसँग कार्यान्वयन र स्थानीय सरकारलाई बलियो बनाउनुपछै तर सङ्घीय कानुन अहिलेसम्म पनि बन्न सकेका छैनन् ।”

नेता शाहीले जनताले अरू केही नभएर दिगो विकास चाहेको भन्नुहुँदै सरकार विकाससँगै आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । “विदेशिएका युवालाई स्वदेशमै बस्ने वातावरण बनाउने र रोजगरी सिर्जना गर्नेतर्फ लागौँ । यसका लागि आवश्यक बजेट व्यवस्थापन, कृषिमा, उद्योग र पर्यटनमा लगानी गरौँ, हरेक क्षेत्रमा लगानी गरेपछि मात्रै देश बन्छ, नेताहरुप्रति युवाको विश्वास बढ्दै जान्छ”, उहाँले भन्नुभयो । नेता शाहीले विद्युत् महसुल तिर्ने वा नर्तिने भन्ने विषयमा पर्याप्त छलफल गर्नुपर्ने र संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो ।

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैनः प्रधानमन्त्री

काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नरहेको बताउनुभएको छ । आज महान्ययाधिवक्ताको कार्यालय अवालोकनपछि उहाँले सरकारबाट देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक कुनै काम नहुने भएकाले त्यसप्रकारको आन्दोलन सम्भव नभएको बताउनुभयो ।

सरकारी वकिलहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने बाटोमा अग्रसर भएको उल्लेख गर्नुभयो । “नेपाली समाज कानुनअनुसार चल्छ । यहाँ सामाजिक विशृङ्खलताका कुनै आन्दोलनको गुञ्जायस छैन”, उहाँल भन्नुभयो, “कसैले रिस शान्त पार्नका लागि सामाजिक सञ्जालमा गाली गर्न सक्छ तर त्योभन्दा बढी केही हुँदैन ।” प्रधानमन्त्रीले संविधानमा न्यायसम्बन्धी  उल्लेखनीय व्यवस्था गरेको बताउनुभयो । 

आफू फोटो टाँस्न मात्रै प्रधानमन्त्री नभएको उल्लेख गर्दै उहाँले यस कार्यकालमा पनि विगतमा झैँ समाजका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने गरी गर्ने प्रतिबद्धता जनाउनुभयो । न्याय क्षेत्रको प्रभावकारी विकासका लागि राज्यको स्रोत साधनले भ्याएसम्म पूर्वाधार विकासलाई निरन्तरता दिइने उहाँको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुङ्गोमा पु¥याउनका लागि भएको राजनीतिक सहमति शान्ति प्रक्रियाको अन्तिम किस्ता भएको बताउनुभयो । यसबारे राष्ट्रसङ्घका नेपालस्थित प्रतिनिधि र विभिन्न राजदूतहरुको चासो रहेको उल्लेख गर्दै उहाँले पीडितकेन्द्रित विषयलाई ध्यानमा राखेर ती कानुन संसदको यही अधिवेशनबाट पारित हुने बताउनुभयो ।

आफूहरुले शान्ति प्रक्रियाका धेरै कुरामा विदेशीको नक्कल नगरेको र विगतमा आफू प्रधानमन्त्री हुँदा वार्ताका माध्यमबाट विप्लव र सिके राउत समूहलाई मूल प्रवाहमा ल्याएको उहाँले स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतको आदेशको सम्मान गर्र्दै कर्मचारीको तलव समायोजनका  विषयमा छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले मुद्धाको छिटो र प्रभावकारी अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशाला आफूहरुसँग हुनुपर्ने र  लयर्स एकेडेमी स्थापनालगायतका कानुन छिटो पारित आवश्यक रहेको सुझाव प्रधानमन्त्रीलाई दिनुभएको थियो ।

विश्वव्यापी तेल माग वृद्धि सुस्त :आइइए

चीनमा कमजोर निर्माण र औद्योगिक गतिविधिका कारण वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी तेलको मागमा सुस्त वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले मङ्गलबार बताएको छ ।

“सन् २०२४ र २०२५ दुवैमा एक एमबिडी (मिलियन ब्यारेल प्रतिदिन) भन्दा कम माग बढ्नेछ”, आइइएले आफ्नो मासिक तेल प्रतिवेदनमा भनेको छ ।

उक्त वृद्धि दर गत वर्षको दुई दशमलव एक एमबिडीको तुलनामा अत्यन्त सुस्त हो र महामारीपूर्व विस्तारको तुलनामा सुस्त हो । सन् २०२४ मा विश्वव्यापी खपत एक सय तीन दशमलव शून्य छ एमबिडी हुने एजेन्सीले अपेक्षा गरेको छ । यो गत वर्ष एक सय दुई दशमलव शून्य नौ एमबिडी र सन् २०१९ मा एक सय दशमलव छ एमबिडी थियो ।

समग्र मागमा गिरावट हुने युरोप एक मात्र महादेश हुनेछ भने अमेरिकामा सामान्य वृद्धि हुनेछ । आइइएका अनुसार चीनलगायत एसिया–प्रशान्त क्षेत्रमा मागको तीव्र विस्तार जारी रहने छ ।

यद्यपि मुख्यतया निर्माण उद्योगहरूले प्रयोग गर्ने डिजेल र नेफ्थाको कमजोर मागका कारण चिनियाँ तेलको माग जुनमा लगातार तेस्रो महिनाका लागि घटेको छ । प्राकृतिक ग्यास वा ब्याट्रीमा चल्ने ट्रकको बढ्दो सङ्ख्याले पनि चीनमा डिजेलको माग घटिरहेको आइइएले जनाएको छ ।

“निर्माण र उत्पादनमा आएको सुस्तता, वैकल्पिक इन्धनद्वारा सञ्चालित सवारी साधनहरूको द्रुत विस्तार र मजबुत पोस्ट–ओपनिङ बेसलाइनको तुलनामा चीनको तेलको मागमा वृद्धि उल्टिएको छ”, ऊर्जा नीतिमा तेल खपत गर्ने मुलुकहरूलाई सल्लाह दिने आइइएले भनेको छ ।

एजेन्सीले चाइना प्यासेन्जर कार एसोसिएसनबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै विद्युतीय कारको बिक्री पनि बलियो रहेको बताएको छ । जुलाईमा विद्युतीय कारको बिक्री ५० प्रतिशतभन्दा बढी रहेको थियो ।

सरकारले युवा पलायन रोक्न आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ: नेता डा कोइराला

काठमाडौँ, २९ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरूरी रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आज आयोजना गरेको ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा उहाँले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । “युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे सरकारले आवश्यक कार्ययोजना बनाउन जरूरी छ”, नेता कोइरालाले भन्नुभयो, “नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्छ । युवा पलायन रोक्न राज्यले उनीहरूलाई कसरी ‘इन्गेज’ गराउने हो त्यसतर्फ ध्यान दिइनुपर्छ । स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवारी अभिभावको पनि हो ।”

प्रतिनिधिसभा सदस्य डा कोइरालाले व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अवलम्बन गर्दै स्वरोजगार र उद्यमशीलताको विकासका लागि युवालाई प्रोत्साहित गरिनुपर्ने खाँचो औँल्याउनुभयो । देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले पनि उद्यमशील मानसिकतासहित स्वदेशमै केही गर्ने सोच निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेता डा कोइरालाले ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसँग जोडिएर आएका प्रश्नलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारी सिर्जनाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले युवापलायन रोक्न युवा उद्यमशीलता विकास, स्वरोजगारीमा प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) का नेता डा दीपकप्रकाश भट्टले समग्र राष्ट्रिय विकास नीति निर्माणका लागि युवापुस्ताले राज्यलाई घचघच्याउन जरूरी रहेको धारणा राख्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव (विक्की) ले युवापुस्ताको समस्यालाई सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थिले युवाको मागलाई सरकार र राजनीतिक दलसमक्ष पु¥याउन पुलको रुपमा काम गर्ने उद्देश्यले संस्थाले विभिन्न युवा अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगद्वारा स्थानीय तहमा उपनिर्वाचनको तयारी

काठमाडौँ, २९ साउनः निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनको तयारी सुरु गरेको छ । नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको छ ।

आयोगले आज एक सूचना जारी गर्दै उपनिर्वाचनका लागि मतदाता नामावालीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ ।

आयोगका प्रवक्ता रघुराम विष्टले गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जानकारी दिनुभयो ।

“निर्वाचनका लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता स्थगित गर्नुपर्ने कानूनी व्यवस्था छ”, सूचनामा भनिएको छ, “उपनिर्वाचनको मिति घोषणा गर्नुपूर्व मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न सबैमा आग्रह गर्दछ ।”

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फारामभरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

एएफसी च्यालेन्जः पहिलो हाफ बराबरीमा

काठमाडौँ, २९ साउनः एएफसी च्यालेन्ज लिगअन्तर्गतको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरे । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए ।

नेपालको चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो ।

विद्युत् पूर्वाधार निर्माणमा सफलता : सबस्टेसन क्षमता १३ हजार एमभिए पुग्यो

काठमाडौँ, २९ साउनः विद्युत् पूर्वाधार निर्माणमा पछिल्ला दिनमा उल्लेख्य प्रगति भएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ छ हजार पाँच सय सात सर्किट किलोमिटर पुगेको छ ।

कूल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार एक सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी पाँच सय १४ सर्किट किमी छ । कूल ४०० केभी प्रसारण लाइन छ सय ४४ सर्किट किमी छ । आव २०७२/७३ सम्ममा दुई हजार नौ सय ११ सर्किट किमी मात्र प्रसारण लाइन थियो ।

आव २०७३/७४ मा तीन हजार तीन सय ६४, आव २०७४/७५ मा तीन हजार पाँच सय ३८, २०७५/७६ मा तीन हजार नौ सय ९० र आव २०७६/७७ मा चार हजार दुई सय ६९ सर्किट किमी प्रसारण लाइन थियो । त्यस्तै, २०७७/७८ मा चार हजार आठ सय ७४, २०७८/७९ मा पाँच हजार तीन सय २९ र २०७९/८० मा पाँच हजार सात सय ४२ सर्किट किमी प्रसारण लाइन थियो ।

ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभिए (मेगा भोल्ट एम्पियर) पुगेको छ । आव २०७२/७३ मा दुई हजार दुई सय २३ एमभिए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन रहेका छन् । प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायबाट सहुलितपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताउनुभयो । “स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेजस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

सो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारण लाइन निर्माण सम्पन्नगरी सञ्चालनमा ल्याइएको छ । यस्तै, १३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।

कार्यकारी निर्देशक घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म चार सय केभी प्रसारण लाइन र देशका प्रमुख लोडसेन्टरहरु भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायबाट लगानी सुनिश्चितगरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । देशका प्रमुख सहरलाई ११ वटा क्लस्टरमा विभाजनगरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयारगरी क्रमिक रुपमा कार्यान्वयनमा लगिएको उहाँले उल्लेख गर्नुभयो ।

भारतसँगको विद्युत् व्यापारका लागि करिब दुई हजार पाँच सय मेगावाट विद्युत् प्रवाह गर्नसक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । यता नेपाल–भारतबीचको विद्युत् आयात निर्यातका लागि आठ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्नसक्ने प्रसारण लाइन क्षमता रहेकामा हाल करिब दुई हजार मेगावाट पुगेको छ ।

इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन् । साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बङ्गलादेशबीचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणिसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

यसरी, सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्नसक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ ।

विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फ पनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पु¥याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल दुई लाख ९ हजार सर्किट किमी पुगेको छ ।

आव २०७२/७३ सम्ममा वितरण लाइन एक लाख २१ हजार सर्किट किमीमात्र थियो । त्यतिबेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कूल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन एक लाख ५० हजार सर्किट किमी रहेको छ ।

वितरणतर्फको सबस्टेसनको क्षमता दुई हजार पाँच सय एमभिए पुगेको छ । वितरण सबस्टेसनको सङ्ख्या एक सय ९६ वटा छ । आठ वर्षअघि सबस्टेसनको सङ्ख्या ८० वटा मात्र थियो । क्षमता छ सय ४० एमभिए मात्र थियो ।

स्थानीय तहमा महिला सहभागितालाई वृद्धि गर्नुपर्छः पूर्वमन्त्री गुरुङ

पाटन (ललितपुर), २९ साउनः नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहमा महिला सहभागितालाई वृद्धि हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

‘एनसी वुमन लिडरसिप फोरम’ द्वारा आज ललितपुरमा आयोजित निर्वाचन प्रणालीमा महिलाको समान सहभागिताः वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक वाग्मती प्रदेशस्तरीय एकदिने प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री गुरुङले सङ्घीय तहमा मात्रै महिलाको प्रतिनिधित्व हुँदा त्यसले साथर्कता पाउन नसकेको भन्दै स्थानीय तहको नेतृत्वमा निर्वाचित हुने महिलाको सङ्ख्या वृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

“महिलालाई राजनीतिमा स्थापित गर्दै निर्वाचन प्रणालीमा महिलाको समान सहभागिताका लागि पाँच ‘स’ अर्थात् समानता, सहभागिता, समाजिक सुरक्षा, सामाजिक न्याय र सशक्तीकरण आवश्यक छ, स्थानीय तहमा महिलाको प्रतिनिधित्व नहुँदासम्म सङ्घीय तहमा मात्रै भएर केही पनि हुँदैन, आन्दोलनमा महिलाको नेतृत्व आवश्यकता हुने र आन्दोलनपछि महिलालाई विर्सने पद्धतिले पछाडि पारिरहेको छ, हामी अब निगाहको राजनीतिबाट मुक्त हुनुपर्छ, महिलाले नै महिला नेतृत्वलाई स्वीकार गर्ने वातावरण बन्नुपर्छ”, पूर्वमन्त्री गुरुङले भन्नुभयो ।

उहाँले संविधान, निर्वाचन ऐन र पार्टीको विधानमा उल्लेख भएका उपलब्धिलाई कार्यान्वयन गराउन महिला एकजुट भएर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“हामीले लैङ्गिक कारणले सृजित विभेद अन्त्यका लागि आवाज उठाउनुपर्छ, स्रोतको अवसर र पहुँचमा ध्यान दिनुपर्छ, बहिस्करणमा पारिएको पक्षलाई मूलधारमा ल्याउन ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । यसका लागि पार्टीभित्र, संवैधानिक निकाय, राजनीतिक तहमा छुट्टाछुट्टै तरिकाले दबाब दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

न्यायिक क्षेत्रमा, संवैधानिक आयोगहरु, सामाजिक सङ्घसंस्थाहरु, निजामती कर्मचारी प्रशासन क्षेत्रभित्र पनि महिलाको प्रतिनिधित्वको अवस्थालाई पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले नेपाली कांग्रेसभित्र चार तहमा संसदीय बोर्ड रहेको र त्यहाँ पनि महिलाको सहभागिता बढाउन आवश्यक छ भन्नुभयो । उहाँले महिला मन्त्रालय, महिला आयोगलगायत महिलाका लागि कानुन बनेपछि महिला केन्द्रित बजेट र कार्यक्रम बन्न सकेको अवस्था नरहेको धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोलाले पार्टीले पाँच लाख क्रियाशील सदस्यता थप्ने नीति लिएको जानकारी गराउँदै त्यसमा महिलाको सङ्ख्या वृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो ।

“पार्टीको १३औँ महाधिवेशनमा १४ प्रतिशत र १४औँ महाधिवेशनमा २५ प्रतिशत क्रियाशील सदस्य हुनुहुन्थ्यो, अब पाँच लाख नयाँ क्रियाशील बढाउने लक्ष्य हुँदा हामीले ५० प्रतिशतको हाराहारीमा क्रियाशील सदस्यता लिने महिला पु¥याउन लाग्नु आवश्यक छ, महिलालाई नेतृत्वमा पु¥याउन सबै एकजुट हुनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले महिला सक्रिय भएको स्थानमा राजनीतिक सफलता हासिल हुने भन्दै आगामी दिनमा ५० प्रतिशत सुनिश्चितता लागि एकजुट भएर लाग्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसले विधान संशोधन गरेर १५औँ महाधिवेशनमा उपसभापतिलगायतका पदाधिकारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले आसन, भाषण र शासनमा महिलाको उपस्थिति बढाउन आवश्यक रहेको बताउनुभयो । ललितपुर महानगर पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसको महासमिति सदस्य गीता सत्यालले महिलाको राजनीतिकस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नसक्ने महिला नेतृत्व निर्णायक तहमा स्थापित गर्न यो प्रशिक्षण महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले संविधानमा राज्यको हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भनिए पनि प्रतिनिधिसभा र प्रदेशसभामा नौ प्रतिशत महिलाले मात्रै प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने अवसर पाएको भन्दै यसमा राजनीतिक दल चुकेको धारणा राख्नुभयो । उहाँले देशका ७५३ स्थानीय तहमध्ये २५ जना मात्रै प्रमुख निर्वाचित हुन सफल भएको भन्दै आगामी दिनमा स्थानीय तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने बताउनुभयो ।

जसपा नेपालका केन्द्रीय सदस्यलाई सङ्घीय प्रणालीबारे प्रशिक्षण

काठमाडौँ, २९ साउनः जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी केन्द्रीय समिति बैठकमा सङ्घीय प्रणालीको अभ्यास र महत्वबारे नेताहरुलाई प्रशिक्षण दिइएको छ ।

ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा गत आइतबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले सङ्घीय प्रणालीको अभ्यास, आवश्यकता, महत्व र यसको कार्यान्वयनको चरणलगायतका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिनुभएको जसपा नेपालले जनाएको छ ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले बैठकमा प्रस्तुत गर्नुभएको राजनीति प्रतिवेदनमाथि छलफल सुरु भएको थियो । देशैभरिबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको रायसुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको छ ।

अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमा सङ्घीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषय उल्लेख छन् । साथै सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावसमेत छ ।

जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक बुधबार सम्पन्न हुनेछ । यसअघि सोमबार राजनीति विष्लेषक विजयकान्त लालकर्ण, सञ्चारकर्मी प्रनव खरेल, अभिवक्ता शङ्कर लिम्बू र अर्थविद् डा उमाशङ्कर साहले परराष्ट्र मामिला, सामाजिक लोकतन्त्र, सङ्घीयताको कानुनी पक्ष, सङ्घीयताभित्रको आर्थिक लगायतका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिनुभएको थियो ।

माओवादी स्थायी समिति बैठकः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्न प्रचण्डको विकल्प तत्काल नखोजौं

काठमाडौँ । पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा (माओवादी केन्द्र) को गतिविधिलाई  प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ ।

माओवादी केन्द्रको स्थायी समितिको मंगलबारको बैठकमा आफ्ना धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमै एकताबद्ध आग्रह गरेका हुन् ।

उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्नका लागि पनि पार्टी अध्यक्ष प्रचण्डले नै खास पहल लिनुपर्ने र उनको नेतृत्वको विकल्प तत्काल खोज्न नहुने धारणा राखेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाका अनुसार पार्टी नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधनका उठाएको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्नेमा विकल्प खोज्ने विषय उठाउनु गलत हुने बताएका थिए ।

बैठकमा खासगरी, उच्चस्तरीय जनवादको अभ्यास भएको र सोही आधारमा उच्चस्तरको केन्द्रीकरण पैदा भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाएर लानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

यस्तै विचारको विकासमा जोड दिनुपर्ने, नवप्रवर्तनमा जोड दिनुपर्ने एवं आन्तरिक एकतालाई जोड दिँदै अगाडि बढ्नुपर्नेमा नेताहरूको साझा मत रहेको थियो । त्यस्तै पार्टी कार्यकर्ताको व्यवस्थापन, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेलगायत विषयमा खास नीति तथा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने स्थायी समिति सदस्यको धारणा थियो ।

अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणा समेटेर एउटा प्रस्ताव तयार पार्ने र केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी गरेका  थिए । केन्द्रीय समितिको बैठकलगत्तै स्पष्ट कार्ययोजनाका साथ माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्ने तयारी गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा ११ जना स्थायी समिति सदस्यले धारणा राखेका थिए । स्थायी समिति सदस्यको धारणा राख्नेक्रम सकिएपछि आवश्यक तयारी गरेर बिहीबार अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची तय भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव हरिबोल गजुरेल नेताहरू कुवेर ओली, सत्य पहाडी, खगराज भट्ट, डिलाराम आचार्य, विश्वनाथ साह, श्रीराम ढकाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, नन्दकुमार प्रसाईंले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले अगाल्नुपर्ने नीति तथा कार्यक्रम, साङ्गठनिक विषयमा आफ्नो धारणा राखेका थिए ।

बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा आगो लगाइएको ‘सेतु भवन’ निर्जन अवस्थामा

बङ्गलादेशको सडक यातायात तथा पुल व्यवस्था मन्त्रालयका अधिकारीहरूले देशमा हालै विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनको क्रममा गम्भीर क्षति बेहोरेको सेतु भवनमा प्रवेश गर्न डराएको बताएका छन् ।

विरोध प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले मन्त्रालयको भवनमा आगो लगाएर सरकारी सम्पत्ति र यसको परिसरभित्र पार्क गरिएका सवारी साधनहरू तोडफोड गरेका थिए ।

आगलागीमा मन्त्रालयको प्रयोजनमा रहेको अनुमानित ६५ करोड मूल्यका सवारी साधनहरू जलाइएको अधिकारीहरुले बताएका छन् ।

यस घटनाले सेतु भवन भवनलाई जलेको र निर्जन संरचना बनाएको छ । भवनको क्षतिग्रस्त अवस्थाका कारण भवनभित्र प्रवेश गर्न डराएको र अस्थायी रुपमा बाहिरैबाट आफ्नो कर्तव्य पालन गरिरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

सरकारको आरक्षण प्रणालीको विरोधमा सुरु भएको प्रदर्शन ठुलो आन्दोलनमा परिणत भएको थियो जसले राजधानीमा रहेको सरकारी संस्थाहरूको सुरक्षा र स्थिरताको बारेमा गम्भीर चिन्ता खडा गर्यो ।

बङ्गलादेशको प्रमुख पत्रिका प्रोथोमआलोले “जुलाई १८ मा सयौँ उग्रवादिहरुले सेतु भवनमा आक्रमण गरी नराम्ररी तोडफोड गरेर आगो लगाएका छन् र भवनबाट सरकारी सम्पत्ति लुटेका छन्” भनी जुलाई २७ मा जानकारी गराएको थियो ।

प्रदर्शनकारीले सवारीसाधनहरू तोडफोड गरी आगो लगाएको र कर्मचारीलाई समेत कुटपिट गरेको दैनिक पत्रिका प्रोथोमआलोले जनाएको थियो ।

उग्र विरोध प्रदर्शनको फलस्वरुप प्रधानमन्त्री शेख हरसिनाले पदबाट राजीनामा दिनुभएको हो । हाल नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार शपथ लिएको छ ।

सुरक्षा परिषद् सुधारका लागि राष्ट्रसङ्घका प्रमुखको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् (यूएनएससी)मा अफ्रिकाको स्थायी सदस्यताको लागि आह्वान गर्दै सुरक्षा परिषद्लाई विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

सोमबार आयोजित सुरक्षा परिषद् उच्चस्तरीय बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखले परिषद्को संरचना परिवर्तनशील विश्वसँग तालमेल राख्न असफल भएको भन्दै यसको सुधार आवश्यक रहेको बताउनुभएको हो ।

“विश्वको प्रमुख शान्ति र सुरक्षा निकायमा एक अर्बभन्दा बढी जनसङ्ख्या भएको महाद्वीपका लागि स्थायी आवाजको अभाव छ भन्ने कुरा हामी अस्वीकार गर्न सक्दैनौँ साथै हामी महाद्वीप र विश्वभर शान्ति र सुरक्षाको प्रश्नमा अफ्रिकाको दृष्टिकोणलाई कम महत्व दिइएको कुरा पनि अस्वीकार गर्न सक्दैनौँ”, गुटेरेसले भन्नुभयो ।

पन्ध्र सदस्यीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–चीन, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका र बेलायत–प्रत्येकसँग मतदानमा भिटो गर्ने क्षमता छ । बाँकी १० अस्थायी सदस्यता क्षेत्रीय रूपमा वितरण गरिएका छन् ।
दशमध्ये तीन अफ्रिकी राज्यहरूका लागि, ल्याटिन अमेरिका र क्यारिबियनका लागि दुई, एसिया–प्यासिफिकका लागि दुई, पश्चिमी युरोप र अन्य राज्यहरूका लागि दुई र पूर्वी युरोपका लागि एक सदस्यता वितरण गरिएको छ ।

यूएनएससीले गत मे महिनामा अफ्रिकी राष्ट्रहरूले विश्वव्यापी सुरक्षा र विकाससँग सम्बन्धित मुद्दाहरूको सामना गर्न ठूलो भूमिका निर्वाह गर्ने जनाएको थियो ।

यसैबीच, संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले बहसमा संयुक्त राष्ट्रले विश्वलाई जस्तो छ त्यस्तै प्रतिबिम्बित गर्नुपर्ने बताउनुभयो । “सुरक्षा परिषद्मा अफ्रिकालाई कम प्रतिनिधित्व गरिएको छ भन्ने तथ्यले समानता र समावेशीकरणका दुवै सिद्धान्तको अपमान गर्दछ”, उहाँले भन्नुभयो ।

“यो राज्यहरूबीच सार्वभौम समानताको सिद्धान्तको विपरित छ र लगभग ८० वर्ष पहिलेको भन्दा तत्कालिन समाजलाई प्रतिबिम्बित गर्न यस संस्थालाई तत्काल सुधार गर्न आवश्यक छ”, फ्रान्सिसले बताउनुभयो ।

रुसका ३० वटा ड्रोन खसालेको युक्रेनको भनाइ

रुसले मङ्गलबार राति युक्रेनमा ३८ वटा शाहेद प्रकारका ड्रोन प्रक्षेपण गरेको र तीमध्ये ३० वटालाई वायु सुरक्षाले रोकेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ ।

दक्षिणी, उत्तरी र मध्य युक्रेनको आठ क्षेत्रमा ती ड्रोनलाई ध्वस्त पारिएको विज्ञप्तिमा उल्लेख छ ।रूसी सेनाले भोरोनेज क्षेत्रबाट युक्रेनमा दुईवटा इस्कन्डर–एम÷केएन–२३ ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको वायुसेनाले जनाएको छ ।

रुसको उक्त आक्रमणबाट ग्यास पाइपलाइन र अस्पताललगायतका पूर्वाधारमा क्षति पुगेको छ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा भएको आक्रमणमा एक जना घाइते भएको सुमी क्षेत्रीय सैन्य प्रशासनले एक विज्ञप्तिमा जनाएको छ ।

ढाकाका सडकमा ट्राफिक व्यवस्थापन गर्दै विद्यार्थीहरू

ढाकाका सडकहरूमा अनौठो दृश्य देखिएको छ । दर्जनौँ विद्यार्थीले बङ्गलादेशको राजधानीमा यातायात व्यवस्थापनको जिम्मेबारी सम्हालेका छन् ।ढाकाका सडकहरूमा हिंसात्मक विद्रोह हुँदा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो र नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

मूल रूपमा संशोधित आरक्षण प्रणालीको मागबाट विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थानका हजारौँ विद्यार्थी हसिनाको नेतृत्वमा रहेको अघिल्लो अवामी लिग सरकारबाट परिवर्तनको माग गर्दै सडकहरूमा उत्रिएका थिए ।

हिंसात्मक विरोध प्रदर्शन महिनौँसम्म चलेको थियो र पछिल्ला केही सातामा स्थानीय सञ्चार माध्यमहरूमा धेरैको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएसँगै चर्को ट्राफिक जाम देखिएको बङ्गलादेशको संसद्बाहिर ट्राफिक व्यवस्थापन गर्न विद्यार्थीहरू अघि सरेका छन् ।

इन्जिनियरिङ, चिकित्सा र अन्य क्षेत्रलगायत विविध पृष्ठभूमिका विद्यार्थीहरूले ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवा गरिरहेका छन् ।

बङ्गलादेशको संसद् भवन नजिकै ट्राफिक व्यवस्थापन गर्ने स्वयंसेवक विद्यार्थी बशिरले विश्वविद्यालय र विद्यालय अहिले बन्द भएकाले विद्यार्थीहरू ट्राफिक व्यवस्थापनका लागि अघि बढेको बताउनुभयो ।

“हामी ५० भन्दा बढी विद्यार्थीले ट्राफिक व्यवस्थापन गरिरहेका छौँ, प्रहरी पनि आएर व्यवस्थापन गर्छ किनकी हामी पनि पढाइका लागि फर्कनुपर्छ, अहिले विद्यालय र कलेज बन्द छन् तर प्रहरी चाँडै आउनेछ”, उहाँले भन्नुभयो ।

बशिरले बङ्गलादेशमा निर्वाचन हुनुपर्ने बताउँदै भन्नुभयो, “अहिले मुलुक सञ्चालनका लागि हामी मात्र उपलब्ध छौँ, आन्दोलन बिल्कुल सही थियो, निर्वाचन हुनुपर्छ ।”

अधिकारीहरूले आफ्नो माग सम्बोधन गर्ने मात्र नभई बङ्गलादेशलाई लोकतान्त्रिक मुलुक बनाउने दिशामा पनि काम गर्नुपर्ने विद्यार्थीहरूले अपेक्षा गरेका छन् ।

बढ्दो विरोध प्रदर्शनका बीच आफ्नो राजीनामा बुझाएपछि शेख हसिनाले अगस्ट ५ मा बङ्गलादेश छाड्नुभएको थियो । सुरुमा सरकारी सेवामा आरक्षण प्रणालीविरुद्ध विद्यार्थीहरूले गरेको विरोध प्रदर्शन पछि व्यापक सरकार विरोधी प्रदर्शनमा रूपान्तरण भएको थियो ।

सन् १९७१ को युद्धका दिग्गजहरूका सन्तानलगायत विशिष्ट समूहहरूका लागि निजामती सेवाका जागिरहरूलाई आरक्षित गर्ने कोटा प्रणालीमा सुधारको मागका कारण जुलाईको प्रारम्भमा विरोध प्रदर्शन सुरु भएको थियो ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मुहम्मद युनुसले हसिनाले राजीनामा दिएको तीन दिनपछि अगस्ट ८ मा बङ्गलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा सपथ लिनुभयो ।

कोशी प्रदेशमा उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

विराटनगर, २९ साउनः कोशी प्रदेशमा पाँच स्थानीय तहमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु हुने भएको छ ।

प्रदेश प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा रु तीन करोड ७५ लाख लगानीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नामक संस्थाबीच त्रिपक्षीय सम्झौता भएको छ । प्रत्येक पालिकामा प्रदेश सरकारले रु ४० लाख, पालिकाले रु २० लाख र दायित्वले रु १५ लाख खर्च बेहोर्ने सम्झौता भएको छ ।

त्यस अवसरमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशीलता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले रोजगार वृद्धि गर्न र बजारीकरणका लागि प्रदेश सरकार लागि परेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दाबी गर्नुभयो ।

सो कार्यक्रमबाट दुई सय व्यक्तिलाई उद्यमशीलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब एक लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा पुकार मल्लले जानकारी दिनुभयो । कृषि मन्त्रालयका सचिव डा लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालयले लाग्ने बताउनुभयो ।

सङ्घीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ

काठमाडौँ, २९ साउन : सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो । हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिनुभयो ।

प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

चर्च ब्वाइज युनाइटेड र पारोबीच खेल सुरू

काठमाडौँ, २९ साउनः सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल सुरू भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले साँझ ६ बजेदेखि सुरू भएको हो ।

अनन्त तामाङको कप्तानीको चर्च ब्वाइज युनाइटेड टोली सदस्यमा टोलीमा कप्तान अनन्तसँगै गोलकिपर दीप कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, लकेन लिम्बू, आयुष घलान, ओमोलाजा करिम, पिटर बन्दा, मोसेस न्याबा र एरिक विष्ट रहेका छन् ।

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने मन्त्री पौडेलको घोषणा

काठमाडौँ, २९ साउन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गर्नुभएको छ ।
विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताउनुभएको हो ।

“मानव अङ्गदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, मन्त्री पौडेलले भन्नुभयो, “तत्काल कोशी प्रदेशबाट यो काम थालिने छ ।”

उहाँले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताउनुभयो । “‘यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन”, मन्त्री पौडेलले भन्नुभयो, “त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौँ ।”

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र स्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिनुभयो । “मैले यो कुरा स्टन्ट गर्न भनेको होइन”, मन्त्री पौडेलले भन्नुभयो, “यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौँ ।”

मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री पौडेलले मानव अङ्गदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा अङ्गदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अङ्गदान गर्ने घोषणा गर्नुभयो ।