`

चर्च ब्वाइज युनाइटेड र पारोबीच खेल सुरू

काठमाडौँ, २९ साउनः सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल सुरू भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले साँझ ६ बजेदेखि सुरू भएको हो ।

अनन्त तामाङको कप्तानीको चर्च ब्वाइज युनाइटेड टोली सदस्यमा टोलीमा कप्तान अनन्तसँगै गोलकिपर दीप कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, लकेन लिम्बू, आयुष घलान, ओमोलाजा करिम, पिटर बन्दा, मोसेस न्याबा र एरिक विष्ट रहेका छन् ।

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने मन्त्री पौडेलको घोषणा

काठमाडौँ, २९ साउन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गर्नुभएको छ ।
विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताउनुभएको हो ।

“मानव अङ्गदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, मन्त्री पौडेलले भन्नुभयो, “तत्काल कोशी प्रदेशबाट यो काम थालिने छ ।”

उहाँले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताउनुभयो । “‘यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन”, मन्त्री पौडेलले भन्नुभयो, “त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौँ ।”

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र स्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिनुभयो । “मैले यो कुरा स्टन्ट गर्न भनेको होइन”, मन्त्री पौडेलले भन्नुभयो, “यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौँ ।”

मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री पौडेलले मानव अङ्गदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा अङ्गदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अङ्गदान गर्ने घोषणा गर्नुभयो ।

अमेरिकामा नेपाली समुदायबीच सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता

न्यूयोर्क (अमेरिका): इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन हुनेभएको छ । यही अगष्ट ३० देखि आगामी सेप्टेम्बर १५ सम्म अमेरिकाका दुई राज्यमा प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ ।फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको तथा नेपाली भाषी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो ।

फुटबल प्रतियोगिता अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन र भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजना हुनेछ । अध्यक्ष अधिकारीले नेपाली समुदायका बीच आपसी सद्भाव अभिवृद्धि गर्ने, युवामा खेल तथा स्वच्छ प्रतिष्पर्धाको भावना विकास गर्ने, सामाजिक तथा खेल अनुशासनका माध्यमबाट आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निर्माण गर्नुका साथै भावी पुस्तालाई खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने उद्देश्य लिइएको बताउनुभयो ।

तियोगितामा पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । पुरुष फुटबल युथका विजेताले १५ हजार अमेरिकी डलर, रनिङ गोल्डकप (१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

फाउण्डेसनका अनुसार पुरुष फुटबल सिनियर युथतर्फ (३० वर्षदेखि माथि)का विजेताले १० हजार अमेरिकी डलर, रनिङ गोल्ड कप र उपविजेताले छ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी पुरुष फुटबल भेट्रान्सतर्फ (४० वर्षदेखि माथिका) विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले छ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । महिलातर्फ विजेताले आठ हजार अमेरिकी डलर, रनिङ गोल्डकप र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यी तीनवटै वर्गका प्रतियोगिताका विजेताले १० तोला सुनसहितको रनिङ गोल्डकप पनि जित्नेछन् । रनिङ गोल्डकपको पूर्ण स्वामित्वका लागि तीनपटक लगातार खेल जित्नुपर्ने नियम छ ।

फाउण्डेशनको सहकार्यमा पिस जोन क्लबले १६ वर्षमुनिका खेलाडीका लागि पनि फुटबल आयोजना पनि सोही स्थान र मितिमा हुने जनाएको छ ।

फाउण्डेसनका अनुसार भलिबलतर्फ पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले आठ हजार डलर, महिलातर्फ विजेता टिमले आठ हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेसनले विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।

काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मलेखु ।  पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराइएको हो ।

पोखराको मणिपाल अस्पतालबाट दमका बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए ।

फरार प्रतिवादीबाट एक वर्षमा छ करोडभन्दा बढी राजस्व

इनरुवा (सुनसरी), २९ साउनः गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष छ महिना छ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिनुभयो ।

दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

त्रिवेणी (नवलपरासी), २९ साउनः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताउनुभयो ।

मोरङको बेलबारीमा हात्ती मृत फेला

बेलबारी (मोरङ) । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृत भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मंगलबार विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिए । छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए ।

सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

टीकापुर (कैलाली), २९ साउनः कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ ।

टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका छन् । टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूयाङ्कन लागू गरेको हो । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरिने शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्याकङ्नका आधारमा उहाँहरूको नतिजा आउनेछ”, उहाँ भन्नुहुन्छ, “साना नानीबाबुको केही समयको परीक्षाले मूल्याकङ्न हुँदैन भनी निरन्तर मूल्याकङ्न थालेका हौँ ।”

जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्याङ्कनलाई कडाइका साथ लागू गर्ने र अन्य कक्षाको लागि प्रश्नपत्र निर्माण गर्न थालेको छ । “हामीले पनि कक्षा ३ सम्म प्रश्नपत्र बनाउन छाडेका छौँ”, शिक्षा अधिकृत सङ्ग्रामसिंह धामी उहाँ भन्नुहुन्छ, “शैक्षिक सुधार, गुणस्तर वृद्धिमा ध्यान दिइरहेका छौँ । साना बालबालिकाको मूल्याकङ्नका आधारमा परीक्षा हुनेछ ।”

शिक्षा अधिकृत धामी कुनै विद्यालयले विद्यार्थीको क्षमता बढाउन प्रश्नपत्रको आधारमा परीक्षा लिए पनि त्यसलाई नतिजाको आधार नबनाइने बताउनुहुन्छ । “परीक्षा अन्य प्रयोजनका लागि विद्यालयले लिन सक्नेछन्”, उहाँले भन्नुभयो, “परीक्षा त मासिक, साप्ताहिक परीक्षण हुनेछ तर कक्षामा लिइएको परीक्षा नतिजामा समावेश हुनेछैन ।”

जानकी गाउँपालिकाले पनि यसै वर्षदेखि निरतनर मूल्याङ्कन शतप्रतिशत लागू गर्ने र अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा पनि कक्षा १ देखि ३ मा प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडी बताउनुहुन्छ । “विद्यालयलाई निरन्तर विद्यार्थी मूल्याकङ्नका लागि पुस्तिका उपलब्ध गराएका छौँ, पुस्तिकामा भएको मापदण्डअनुसार मूल्याङ्कन हुनेछ”, उहाँ भन्नुहुन्छ, “त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुन्छ । कतिपय विद्यालयले विद्यार्थी ब्यस्त राख्न परीक्षा गरेको देखिन्छ तर यो आन्तरिक प्रयास मात्र हो ।”

टीकापुर, जोशीपुर र जानकीले जस्तै लम्कीचुहा नगरपालिकाले पनि यस वर्षबाट कडाइका साथ निरन्तर मूल्याङ्कनलाई जोड दिएको छ । गत वर्षबाट लागू गर्ने प्रयास गरे पनि सफल नभएको र यस वर्षबाट भने लागू गरिसकेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताउनुभयो । “राष्ट्रिय पाठ्यक्रम प्रारुपमा भएको व्यवस्थाअनुसार हामीले गत वर्ष पूर्ण रूपमा सबै विद्यालयमा लागू गर्न सकेका थिएनौँ, यस वर्ष सबैमा लागू भएको छ”, न्यौपानेले भन्नुभयो, “ अब कक्षा ४ माथिको मात्र परीक्षा हुन्छ । निरन्तर मूल्याकङ्नले शिक्षकलाई पनि जिम्मेवार बनाउँछ ।”

बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थाले

मध्यविन्दु (नवलपरासी), २९ साउनः बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताउनुभयो । आव २०७९÷८० मा भन्दा २०८०÷८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ । “आव २०८०÷८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन् । अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ पुगेको छ”, उहाँले भन्नुभयो, “आव २०७९÷८० मा दर्ता भएका बाख्रा फार्म दुई सय ५६ थियो ।”

फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने सङ्ख्या अझ उल्लेख्य रहेको पाइएको छ । जिल्लामा आव २०७९÷८० मा एक लाख ४३ हजार नौ सय ९० वटा बाख्रा रहेकामा गत आवमा सो सङ्ख्या २३ हजार सात सय ८९ ले थप भई एक लाख ६७ हजार सात सय ७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।

“पछिल्लो तीन वर्षमा जिल्लामा ४५ हजार दुई सय २२ बाख्रा थप भएका छन्”, प्रमुख गुरागाईँले भन्नुभयो, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।”

बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९÷८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताउनुभयो । जिल्लामा उत्पादन भएको खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ ।

“गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन्”, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट गत आवमा एक सय ५० मेट्रिक टन खसीबोका काठमाडौँ, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रापाल्नेको सङ्ख्या भने बढ्दै गएको छ । पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाईँले बताउनुभयो ।

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

स्वर्गद्वारी (प्युठान), २९ साउनः पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।

जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो , “मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ । ”

विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाउनुभयो । उहाँले संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किनुभएको हो । हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बुन्नुभएको थियो ।

जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएकामा टमाटरबाट एक याममा करिब रु तीन लाख बराबर बिक्री गर्नुभएको हो । श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाउनुभएको छ भने स्थानीय चार महिलालाई रोजगारी प्रदान गर्नुभएको छ ।

जिसी कृषि फार्मका रूपमा रु ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल रु आठ लाखको लगानी रहेको छ । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उहाँ बताउनुहुन्छ ।

जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ । “गत वर्ष सबै खर्च कटाएर वार्षिक रु छ लाख नाफा भएको छ”, जिसीले भन्नुभयो, “काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।” विसं २०७९ मा साढे चार लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ । जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गर्नुभएको छ । उहाँले वार्षिक आगामी वर्ष रु सात लाख बचत हुनेगरी उत्पादनमा लाग्नुभएको छ ।

जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यस वर्ष टनेलका लागि रु दुई लाख ७० हजार अनुदान पाउनुभएको थियो । जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन ।

प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उहाँको भनाइ छ ।

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, २९ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी विभागले आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।

नयाँ सुविधाका साथ प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न काम गर्दै ह्वाट्स

ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ । ह्वाट्सएपले एन्ड्रोइड अपडेटका लागि नवीनतम ह्वाट्सएप बिटा (संस्करण २.२४.१७.१०) मा नयाँ विकास समावेश गरेको छ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको प्रोफाइलमा आफूलाई परिचय गराउन नयाँ अनुभव प्रदान गर्दछ ।

यस अपडेटले प्रयोगकर्ताहरूलाई एपभित्र आफूलाई अभिव्यक्त गर्ने नयाँ तरिकाको परिचय दिन्छ । साथै, सूचनाहरूले प्रयोगकर्ताहरूलाई उनीहरूको प्राथमिकताअनुसार उन्नत अवतार सुविधाहरू सक्रिय गर्न प्रेरित गर्दछ । यसका साथै ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई स्टिकरहरूमा उनीहरूको अवतारहरू प्रयोग गर्न सक्ने व्यक्तिहरूलाई निर्दिष्ट गर्न अनुमति दिएर प्रयोगकर्ताको गोपनीयता बढाउने सुविधा विकास गरिरहेको छ ।

उसले यस्तो सुविधाको पनि परीक्षण गरिरहेको जसले कुन व्यक्तिले तपाईंको च्याट जानकारी स्क्रिनमा प्रोफाइल, तस्वीरमा स्वाइप गरेको जानकारी दिन्छ । 

पुटिनद्वारा रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश

राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई ‘हटाउन’ आफ्नो सेनालाई आदेश दिनुभएको छ । अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले उक्त आदेश दिनुभएको हो ।

किएभले गत मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो । 

“द्वन्द्व सिर्जना गर्नु, मानिसहरूलाई त्रास देखाउनु, रुसी समाजको एकतालाई नष्ट गर्नु दुश्मनको स्पष्ट लक्ष्य हो”, पुटिनले सरकारी अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भन्नुभयो, “निस्सन्देह, रक्षा मन्त्रालयको मुख्य काम भनेको दुश्मनलाई हाम्रो क्षेत्रबाट लखेट्नु हो ।”

क्षेत्रीय गभर्नर एलेक्सी स्मिरनोभले पुटिनसँगको बैठकमा लडाइँ सुरु भएपछि करिब एक लाख २१ हजार मानिस कुर्स्क क्षेत्रबाट भागेको, कम्तीमा १२ जना मारिएको र एक सय २१ भन्दा बढी घाइते भएको जानकारी दिनुभयो ।

कुर्स्कका अधिकारीहरूले १४ हजार बासिन्दा भएको बेलोभ्स्की जिल्लालाई समावेश गर्न आफ्नो निकासी क्षेत्र फराकिलो बनाउँदै गरेको घोषणा गरेका छन् । छिमेककी बेल्गोरोड क्षेत्रले पनि आफ्नो सीमावर्ती जिल्ला क्रास्नोयारुज्स्कीलाई खाली गरिरहेको बताएको छ । 

युक्रेनले यस क्षेत्रमा कम्तीमा १२ किलोमिटरभित्र पसेर ४० किलोमिटर लामो नयाँ मोर्चाका साथ २८ वटा सहर र गाउँ कब्जा गरेको स्मिरनोभले बताउनुभयो । 

यो अभियान रुसी सेनालाई तन्काउन र अग्रपङ्क्तिमा महिनौँको सुस्त रुसी प्रगतिपछि देशलाई अस्थिर बनाउनका लागि भएको युक्रेनका एक शीर्ष अधिकारीले सप्ताहन्तमा बताएका थिए । 

पुटिनले ‘दुःखमा परेका सबैलाई सर्वसम्मत समर्थन’ देखाएर जवाफ दिने भन्दै त्यहाँ लड्नका लागि भर्ती हुने पुरुषहरूको सङख्या बढेको दाबी गर्नुभयो । “दुश्मनले उचित जवाफ पाउनेछ”, उहाँले भन्नुभयो । 

अधिकतम क्षति

आक्रमणले क्रेमलिनलाई अनपेक्षित आश्चर्यचकित बनाएको देखिन्छ । यसलाई समाप्त गर्न रुसी सेनाले रिजर्भ सेना, ट्याङ्क, उड्डयन, तोपखाना र ड्रोनहरू तैनाथ गरेको छ । यद्यपि युक्रेनले रुसका भूभागमा ३० किलोमिटरसम्म प्रवेश गरेको क्रेमलिनले आइतबार स्वीकार गरेको छ । 

केही सेना रुस–युक्रेन सीमाबाट २५ किलोमिटर र ३० किलोमिटर टाढा रहेको टोल्पिनो र ओब्श्ची कोलोदेज गाउँ नजिकै रहेको बताइएको छ । 

“यसको उद्देश्य दुश्मनको स्थिति विस्तार गर्नु, अधिकतम क्षति पुर्याउनु र रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने अवस्थालाई अस्थिर बनाउनु हो”, युक्रेनका एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने । अभियानमा हजारौँ युक्रनी सैनिक सहभागी भएको उनले बताए ।    रुसी रक्षा मन्त्रालयले सोमबार उसको वायु रक्षा प्रणालीले कुर्स्क क्षेत्रमा ११ ड्रोनसहित १८ युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ ।

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर (झापा), २९ साउन : झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।

आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ ।

गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताउनुभयो । “आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि पाँच वर्षमा रु दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ । दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ ।

दलहरू जनचाहना विपरीत चल्नुहुँदैनः अध्यक्ष लिङ्देन

लेखनाथ (कास्की)- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू नेपाली जनताको चाहना विपरीत चल्न नहुने बताउनुभएको छ । केदारेश्वर महादेवमणि सेवा आश्रम पोखराद्वारा मन्दिर परिसरमा आयोजित बोलबम पदयात्रापछिको धार्मिकसभालाई सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक दर्शनभन्दा देश र धर्म ठूलो भएकाले दलहरूले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने माग उठिरहेका बेला ठूला राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

यसअघि पोखरा–१ स्थित सेती नदी किनार गाईघाटबाट सुरू भएको बोलबम पैदलयात्रा बगर, नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक, सिमलचौर, रत्नचोक हुँदै केदारेश्वर महादेवमणि मन्दिर परिसरमा पुगेर धार्मिकसभामा परिणत भएको थियो ।

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

म्याग्दी, २९ साउनः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।

बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो । उहाँका अनुसार रु २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनःनिर्माण भएको हो ।

“मन्दिर पुुनःनिर्माणका लागि रु १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ”, अध्यक्ष गिरीले भन्नुभयो, “रु चार लाख ७४ हजार सात सय सात चन्दा सहयोग, रु एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौँ ।” रु दुई लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप रु एक लाख ६७ हजार तीन सय ३९ भुुक्तानी गर्न बाँकी छ ।

अन्नपूूर्ण गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१÷८२ मा रु पाँच लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मूर्ति राख्न बाँकी छ । मन्दिरभित्र हिन्दू धर्मावलम्बीहरूका भगवान् रामको मूर्ति राखिसकिएको छ । घेराबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताउनुभयो । 

हिन्दुु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूूर्ण गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताउनुभयो । 

हात्ती दिवसमा सौराहाका हात्तीलाई वनभोज खुवाइयो

भरतपुर (चितवन) २८ साउन : १३औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ ।आज चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीहरूलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार बनाइएको थियो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजीस्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षणसम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले जानकारी दिनुभयो ।

बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजीस्तरमा पालेका र निकुञ्जका हात्तीलाई एकै ठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन गराइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो । उहाँले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसँग पैदलयात्र सुरु गरिएको भन्दै अझै केही समय हात्ती सफारीको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताउनुभयो । उहाँले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौति थपिएको भन्दै हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्ननमा परेको सकारात्मक प्रभावलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा सात वटा र सौराहामा निजीस्तरमा पालेका ४५ वटा हात्ती छन् । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाउँदै आइएको छ ।

सिमलताल घटनाका पीडित परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न प्रशासनको अनुरोध

वीरगञ्ज (पर्सा),२८ साउन : चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको छ ।

विसं २०८१ असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पार्न नसकेको यकिन भएमा विपद्बाट पीडित व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेअनुसार आवश्यक प्रक्रियाअघि बढाएको कार्यालयले जनाएको छ ।
एञ्जल बसमा पर्सा जिल्लाका चार पालिकाका १० जना परेका थिए । जसमा वीरगञ्ज महानगरपालिका, बहुदरमाई, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिका रहेका छन् ।

एञ्जल बसमा पर्सा जिल्लाबाट सुजितकुमार साह, ओमहरि यादव, रैफुल आलम, जवाहीर महतो, हरिन्द्र पण्डित, हृदयनारायण राउत, भगवती देवी, चन्द्रप्रभाकुमारी चौधरी, सलिम मियाँ, सैनफ खातुनसहित १० जना रहेका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले मृतक तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम लिन चारवटै पालिकालाई आवश्यक कागजातसहित सिफारिस गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।

कार्यालयले राहतका लागि मृतक तथा बेपत्ता व्यक्तिको परिवारका तर्फबाट निवेदन, सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस आवश्यक पर्ने जनाएको छ । यस्तै गरी मृतकको नागरिकता र मृत्यु दर्ताको प्रमाणपत्रको छायाँप्रति, मृतकसँगको नाता प्रमाणित र नाम थर फरक परेकामा सो को किटानी वडा सिफारिसको कागजात आवश्यक पर्नेछ ।

यस्तै, राहत बुझ्ने मृतकको नजिकका हकदारको नागरिकताको प्रतिलिपि, निजको चेकबुक, स्थायी लेखा नम्बरको प्रतिलिपि र घटनास्थल प्रहरी सर्जमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन पनि चाहिने छ । नजिकको हकदार भन्नाले क्रमशः मृतकको पति वा पत्नी, छोरा वा छोरी, बुवा वा आमा, दाई वा भाईलाई जनाउने पनि कार्यालयले स्पष्ट पारेको छ ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बसमा चालकसहित १७ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए । सो बस गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै भेलबाढीले बगाएर त्रिशूलीमा हराइरहेको छ । हराइरहेका केही व्यक्तिको शव भेटिए पनि अधिकांशको अझै बेपत्ता छन् ।

कांग्रेस केन्द्रीय समितिको अर्काे बैठक भदौ ७ गते

काठमाडौँ, २८ साउनः यही साउन २३ गतेदेखि प्रारम्भ भएकोे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ ।

मङ्गलबारदेखि सङ्घीय संसद्का बैठक नियमित भएका र आगामी साता विभिन्न चाडपर्व भएकाले कांग्रेसले अर्काे बैठक आगामी भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, डा गोपाल दहित, मधु आचार्य, उमेशजङ्ग रायमाझी, अर्जुनजङ्गबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रङ्गमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुँगटाले आआफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकले पूर्वपार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता कोइरालाको जन्म विसं १९९६ साउन २८ गते भएको थियो ।

सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका अतुलनीय र अविस्मरणीय छ । 

साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ, २८ साउनः साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिनुभयो ।

सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका  कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उहाँले बताउनुभयो । दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो । 

साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ । ठूलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयमसेवकको सङ्ख्या पनि बढाइएको विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड रहेको जनाइएको छ । 

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने चलन छ । बोलबम मधेसी समुदायले बढी मान्ने भए पनि पछिल्लो समय अन्य समुदायका भक्तजनहरु पनि सहभागी हुने गर्दछन् ।

आज विहान दुई दिने नेपाल भ्रमणमा नेपालमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभयो । कोषका प्रवक्ता अधिकारीले सचिव मिस्री पशुपतिनाथ मन्दिर पुग्नु भइ दर्शन गर्नुभएको जानकारी दिनुभयो । 

उहाँका अनुसार भारतीय विदेश सचिव मिस्रीलाई पशुपति विकास कोषका पदाधिकारीहरुले आज स्वागत गर्नुका साथै भगवान पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्रामसहित पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाबारे लिखित पुस्तक उपहार दिनुभएको थियो ।  

वाग्मती नदी किनारामा रहेको पवित्र तीर्थस्थलमध्येको एक भगवान पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको भारतीय विदेश सचिव मिस्रीले बताउनुभएको थियो । उहाँले भन्नुभयो, “यो पवित्र स्थल सांस्कृतिक एवं आध्यात्मिक हिसाबले नेपाल र भारतबीचको मित्रवत सम्बन्धको कडी पनि हो । 

भारतीय विदेश सचिव मिस्री आज साँझ स्वदेश फर्किसक्नुभएको छ । आइतबार विहान यहाँ आइपुग्नुभएका उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गर्नुभएको थियो । 

सरकारका काममा सुधारका सङ्केत देखिन थाल्यो : महासचिव पोखरेल

काठमाडौँ, २८ साउन : नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले सरकारका काममा सुधारका सङ्केत देखिन थालेको बताउनुभएको छ । ललितपुर, च्यालसस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताउनुभयो ।

“अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ । प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ”, उहाँले भन्नुभयो, “आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन । यसलाई सुधार गर्दै लैजानुपर्दछ ।”

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उहाँले देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राख्नुभयो ।

महासचिव पोखरेलले राजनीकि स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्दा दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस र एमाले मिलेको स्पष्ट पार्नुभयो । मुलुक लगातार आर्थिक सङ्कटमा आउन थालेपछि एमालेका अध्यक्ष शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दाबी गर्नुभयो ।

मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी छः मन्त्री भण्डारी

काठमाडौँ, २८ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको बताउनुभएको छ ।

नेपाल–चीन हिमालय मैत्री समाजले आज नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष प्रवेशको अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले नेपालको विकास र समृद्धिका लागि लगानी आवश्यकता भएको र त्यसका लागि चीन सरकारबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 

“मुलुकमा विकासका लागि लगानीको आवश्यक छ, मित्रराष्ट्र चीनसँग साथ सहयोगका लागि पटकपटक सन्धि सम्झौतामा पनि भएका छन्”, मन्त्री भण्डारीले भन्नुभयो, “चीनका राष्ट्रपतिको पछिल्लो नेपाल भ्रमणका अवसरमा भएका सहमति कार्यान्वयन गर्न जरुरी छ ।”  न्त्री भण्डारीले नेपाल–चीन सम्बन्धका आयाम र महत्व परिवर्तित सन्दर्भमा अझै धेरै बढेर गएको बताउनुभयो ।       

“मुलुकमा देखिएका निराशालाई चिर्ने उद्देश्यले राष्ट्रिय समस्यालाई सम्बोधनगरी आशाको किरण जगाउन वर्तमान सरकार निर्माण भएको हो, उद्योग, पर्यटन, सूचना प्रविधि, देशको विकास र रोजगारीलाई मुख्य केन्द्रित भएर सरकारले काम गरिरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन, परस्परिक सहयोगका आधारमा एक छिमेकीले अर्को छिमेकीलाई सहयोग गर्नुपर्छ ।”

नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीनको विकासबाट विशेष गरी नेपालसहित विश्वका अन्य मुलुकलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । 

उहाँले संस्थागत क्षमता अभिवृद्धि चीनको मुख्य कार्य भएको बताउँदै यही सिद्धान्तलाई चीन सरकारले अवलम्बन गर्दै आएको बताउनुभयो । राजदूत सङले समाजवादी अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै नागरिकको गुणस्तरीय जीवन जिउने अधिकारलाई सुनिश्चित गर्न चीन सरकार लागिरहेको बताउनुभयो । 

समाजका संरक्षक तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी दिनमा नेपालको सर्वभौमसत्ता, ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्पमा दुई देशको सहयोगबाट कसरी राम्रो गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी गराउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध आजसम्म दुई पनि गुनासोरहित रहेको र १३औँ शताब्दीदेखि नै चीनको सार्वभौमसत्ता रक्षाका लागि नेपालले सहयोग गरेको स्मरण गर्नुभयो ।

चीनका लागि नेपालका पूर्वराजदूतहरु महेन्द्रबहादुर पाण्डे, टङ्क कार्की, विष्णुहरि नपालले मित्रराष्ट्र चीन आर्थिक विकासमा निकै अघि बढिसकेको हुनाले नेपाललाई आर्थिक विकासमा सहयोग जरुरी भएको भनाइ राख्नुभएको थियो । कार्यक्रममा सहभागीले मित्रराष्ट्र चीनको नमुना विकासको अनुसरण गरेर नेपालको पनि विकास गर्नुपर्ने र त्यसका लागि चीन सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

बाढीपहिरो लगायतका विपद्मा परी एक सय ७३ को मृत्यु

काठमाडौँ, २८ साउन : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी आज साउन २८ गते दिउँसोसम्म एक सय ७३ जनाको मृत्यु भएको छ ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ७३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २३ जना घाइते भएका छन् ।

यसैगरी बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी एक सय १३ जनाको उद्धार गरिएको छ ।

कार्कीले भन्नुभयो, “बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।”

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ७५ वटा घर, एक सय चार वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिराबाट आठ सय १२ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार तीन सय २२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मधेस प्रदेशसभाबाट १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित

महेन्द्रनगर (धनुषा), २८ साउन : मधेस प्रदेशसभा दोस्रो कार्यकालको करिब १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित भएको छ ।

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१, केही ऐन संशोधन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालिका संरक्षण गर्न बनेको विधेयक पारित भएको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिन ठाकुरले जानकारी दिनुभयो । 

दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएपछि जम्मा १२ वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् । बाँकी पाँच वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा रहेको निमित्त सचिव ठाकुरले बताउनुभयो ।

रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

काठमाडौँ, २८ साउन : रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताउनुभएको छ । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उहाँले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री राईले भन्नुभयो, “नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ । उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नुस् ।”

रक्षा सचिव रामेश्वर दङ्गालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

सो अवसरमा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्नेतर्फ आफ्नो निरन्तर पहल रहने बताउनुभयो । उहाँले भन्नुभयो, “सेनाको कार्यजिम्मेवारी क्षमता थप अभिवृद्धि गर्न मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभारी छौँ ।”    त्यसअवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृत सहभागी हुनुहुन्थ्यो । 

कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः नेता डा कोइराला

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिने बताउनुभएको छ ।
आज यहाँ तिलगङ्गामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ फर नेशन नेपालद्वारा आयोजित ‘रोल अफ युथ इन द प्रोसेस अफ बिल्डिङ’ विषयक कार्यक्रममा नेता डा कोइरालाले युवाको आकर्षण विदेश भइरहेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले हाम्रो खेतलाई कृषिमा प्रयोग गर्न सके धेरै युवालाई त्यसले रोजगारी दिन सक्छ, नेपालीले पुग्ने खाद्यान्न त्यही उत्पादन हुन्छ तर हामी हाम्रो घरको युवा विदेशिएकोमा खुसी छौँ । यो राम्रो होइन”, उहाँले भन्नुभयो । युवालाई शिक्षा र रोजगारीका लागि सरकार र सम्बन्धित निकाय गम्भीर नभए आउँदो समय थप अनुत्पादक हुने डा कोइरालाको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले संसारभर परिवर्तनका कारक युवा नै भएकाले नेपालमा पनि युवा परिचालनको उचित नीति आवश्यक रहेको धारणा राख्नुभयो । “जसरी युवाले देश छाडिरहेका छन्, त्यसलाई नियम कानुनले भन्दा पनि अवसर सिर्जना गरेर रोक्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष डा केसीले भन्नुभयो । उहाँले प्रवासमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुलाई मात्र सफलता मान्न नसकिने उल्लेख गर्नुहुँदै युवालाई नेपाल फर्किने वातावरण बनाउन आग्रह गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य याङ्किला शेर्पाले अवसरको खोजीमा बसाइँसराइ गर्ने प्रवृति रहेकाले अवसर सिर्जनामा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “ युवाहरू अवसर खोज्न गाउँबाट सहर र सहरबाट प्रवासतिर गइरहेका छन् । आफ्नै ठाउँमा अवसर सिर्जना गरेर यो समस्या समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

भारतीय प्रोफेसर डा दुर्गसिंह चौहान, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक (आइजी) सनतकुमार बस्नेत, चलचित्र निर्देशक तथा कलाकार आकाश अधिकारी, पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईलगायतले देशमा युवाको आवश्यकता र उनीहरू विदेशिनुको बाध्यताका विषयमा चर्चा गर्नुभयो ।

जसपा नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्दै

काठमाडौँ, २८ साउन : जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गर्ने जनाएको हो ।

सङ्घ र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले सिँगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध सङ्गठन निर्माणमा होमिन लगाउने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिइएको जनाएको छ ।

  यस्तै, ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आइतबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन आज दुई सय १५ जना केन्द्रीय सदस्यलाई सङ्गठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।

  केन्द्रीय सदस्यलाई प्रशिक्षण दिनुहुँदै अध्यक्ष यादवले आगामी चार महिनासम्म सङ्गठन निर्माण, विस्तार, शुद्धिकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । ‘जनतासँग जसपा नेपाल,  आधारभूत सङ्गठन निर्माण’ नाम दिइएको अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आह्वान गर्नुभयो ।

  सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हकअधिकारको पैरबी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको उहाँको भनाइ थियो । “यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौँ”, अध्यक्ष यादवले भन्नुभयो ।

देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

भारतीय सचिव मिस्री उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

काठमाडौँ ।  भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार काठमाडौँबाट स्वदेश फर्किएका छन् ।

परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार यहाँ आएका उनलाई सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले बिदाई गरिन् । भ्रमणका क्रममा सचिव मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध बिषयमा छलफल गरेका थिए ।

यसैगरी उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसैगरी विदेश सचिव मिस्रीले भ्रमणका क्रममा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध बिषयमा छलफल गरेका थिए ।

परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिस्रीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । सो अवसरमा दुवै पक्षले नेपाल–भारत सम्बन्धलगायतका समग्र पक्षको समीक्षा गरेका थिए ।

दुई पक्षबीच ऊर्जा, भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषि, पर्यटन, व्यापार तथा पारवहनलगायत विषयमा सहकार्य बढाउने तथा जनता–जनता सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल भएको थियो ।  

साथै दुवै पक्षबीच नियमित द्विपक्षीय संयन्त्रमार्फत अगाडि बढ्ने विषयमा सहमति भएको छ । सचिव लम्सालले उनको सम्मानमा आज दिवाभोजको आयोजना गरेका थिए । 

ठूलीभेरी र सानीभेरी नदिमा पानीको बहाव उच्च, तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

त्रिवेणी (रुकुम पश्चिम), २८ साउन : लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीको सतह बढेको छ । ठूलीभेरी र सानीभेरी नदीको सहत बढेसँगै तटीय क्षेत्र आसपासमा बसोबास गर्ने व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटीयक्षेत्र आसपासका बस्ती उच्च जोखिममा परेको बताएको छ ।

पछिल्लो केही दिनयता निरन्तर वर्षाका कारण सानीभेरी नदीको बहाव बढेकाले नदी क्षेत्र आसपासमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव बढेकाले नदी आसपासका स्थानीयलाई माछा मार्ने, काठ सङ्कलन गर्नेजस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ । 

त्यस्तै आठबिसकोट नगरप्रमुख रवि केसीले पनि नदीमा पानीको बहाव बढेकाले आसपासमा रहेका बस्ती तथा स्थानीयलाई सतर्कता रहन आग्रह गरिएको बताउनुभयो । अविरल वर्षाका कारण बाढी मापन केन्द्र गज रिडरमा ठूलीभेरी तथा सानीभेरी नदीमा सतह बढेको देखिएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

नदीको तटीय क्षेत्र आसपासका बस्ती विपत्को उच्च जोखिममा रहेकाले सो क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । शनिबारदेखि रुकुमपश्चिममा लगातार पानी परिरहेकाले जिल्लावासीलाई बाढी र पहिराबाट हुनसक्ने क्षतिबाट बच्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । 

पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको छः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।

पार्टीभित्र पुस्तान्तरणको विषयमा बहस सुरु भएको सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासमा उनले भने, “केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।”

पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा सोमबार पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक राजनीतिक विषयमा धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सोमबारको बैठकमा धारणा राख्ने नेताहरुले सदन र सडकलाई थप प्रभावकारी बनाउने एवं स्पष्ट कार्यनीति, कार्ययोजनासहित जनतामा जानुपर्नेमा जोड दिएका थिए । पार्टी सङ्गठनलाई चुस्त दुरुस्त बनाउनुपर्ने, जनताका एजेण्डालाई थप प्रष्टतासहित उठाउनुपर्नेमा जरुरी रहेकामा नेताहरुको जोड थियो ।

राजनीतिक परिवर्तनपछि आर्थिक विकास हुन नसकेको, आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसकेको सन्दर्भलाई जोड दिएर खास अर्थमा पार्टीले पहल गर्नुपर्नेमा नेताहरुको जोड थियो ।

संविधानप्रदत्त समाजवादलाई नेपाली विशेषतामा लागू गर्दै समाजवादी प्रतिस्पर्धामा जानुपर्ने नेताहरुको धारणा रहेको थियो ।

स्थायी समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने र थप कार्ययोजना पारित गर्ने तयारीमा माओवादी रहेको छ । पार्टीभित्र पुस्तान्तरणका विषयमा छलफल भएको उल्लेख  गर्दै प्रवक्ता सापकोटाले बेठकको अन्त्यसम्म एउटा निष्कर्ष आउने बताए ।

“अहिल्यै यसो भयो भनेर मैले निष्कर्ष सुनाउन मिल्दैन । थप छलफल र बहसका आधारमा निष्कर्ष आउँछ”, उनले भने । आजको बैठकमा नेताहरु दिनानाथ शर्मा, अञ्जना विसङ्खे, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा र पेशल खतिवडाले आफ्नो धारणा राखेका थिए ।

रास्वपा संसदीय दलको बैठक मङ्गलबार

काठमाडौँ, २८ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि बिहान १०:३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिनुभएको हो । “बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुनेछ”, प्रवक्ता झाले भन्नुभयो, “यस्तै, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल गर्नेछौँ ।” बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उहाँले बताउनुभयो ।

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

काठमाडौँ, २८ साउन : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिनुभएको छ ।
मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षरोपण सञ्चालन गर्न निर्देशन जारी गरिएको मन्त्री शाहीले बताउनुभयो ।

वृक्षरोपण कार्यलाई प्रभावकारी बनाउन सबै निकायलाई आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री शाहीले पछिल्लो दुई सय वर्षमा मिथेन, नाइट्रसअक्साइड, कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जनका कारण वायुमण्डलमा परेका नकारात्मक प्रभाव न्यूनीकरणका लागि सबैले भूमिका खेल्न जरूरी रहेको बताउनुभयो । “जलवायु परिर्वतनले हिमालयलगायत मानव जीवन, सामाजिक, आर्थिक विकास, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, खडेरीजस्ता प्राकृतिक विपत्तिको जोखिममा बढ्न थालेको छ । त्यसैले यसको न्यूनीकरणको लागि बृहत् वृक्षरोपण गरी हरियाली बढाउन जरुरी छ”, निर्देशनमा उल्लेख छ ।

जलवायु परिवर्तनको सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्र्सजन हुने ६० प्रतिशत कार्बन डाइअक्साइड वन जङ्गलले सोक्ने गरेकाले सबैले यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ । “प्रत्येक घर, कार्यालय अगाडि कम्तीमा एउटा मात्र रुख रोप्न सके पनि वातावरणीय लाभका साथै हामीलाई धेरै फाइदा हुन्छ । सडकको दायाँबायाँ किनारमा पनि वृक्षरोपण गर्दा हरियालीले गाउँ सहरको शोभा पनि बढाउँछ”, मन्त्री ठकुरीले आज जारी गर्नुभएको निर्देशनमा उल्लेख ।

मुलुकको आर्थिक आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड: मुख्यमन्त्री कार्की

धरान (सुनसरी) २८ साउन: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । धरान उपमहानगरपालिका–१३ स्थित देवीमार्गदेखि वडा नं २० चिण्डेडाँडा जोड्ने सर्दु खोलाको आज पुल उद्घाटन गर्दै उहाँले प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले धरानमा भारतीय पर्यटक बढाउन सकिने प्रशस्त सम्भावना भएको उल्लेख गर्दै पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिने बताउनुभयो । “धरान बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले महत्वपूर्ण छ, यहाँ भारतीय पर्यटक बढाउन सकिने सम्भावना छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ र रमेशकुमार बस्नेत तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाहलगायतको उपस्थिति थियो ।

मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्न आयोगको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेको छ ।

निर्वाचनको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।

न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश

काठमाडौँ, २७ साउनः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को अहम् र महत्वपूर्ण भूमिका भएकोे बताउनुभएको छ ।

 नेपाल कानुन व्यवसायी परिषद्को ३१औँ वार्षिकोत्सवको अवसरमा आज उहाँले परिषद्ले कानुनी शिक्षामा सुधार, क्षमता अभिवृद्धि र व्यावसायिक विकास, आचरण र अनुशासनको अनुगमनलगायत न्याय क्षेत्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने धारणा व्यक्त गर्नुभयो ।

“कानुन व्यवसायीहरु अदालत र समाजबीचको सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण कडीका रुपमा रहने भएकाले कानुन व्यवसायी परिषद् त्यसको एउटा सम्बन्ध सेतु बन्न सक्दछ”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “न्यायपालिकाका काम कारबाहीबारे यथार्थ अवस्था आमनागरिकको तहसम्म सम्प्रेषित गर्ने र नागरिकका अपेक्षा एवं न्याय क्षेत्रमा गर्नुपर्ने सुधारका पक्षका बारेमा संवाद गर्ने केन्द्रको रुपमा परिषद्लाई स्थापित गर्न सकिन्छ ।”

 न्यायपालिकाप्रति विश्वस्त वातावरणको निर्माण गर्दै सेवाग्राहीको अपेक्षा अनुरुपको कार्यसम्पादन र सेवाप्रवाहमार्फत आमनागरिकको भरोसाको केन्द्रका रुपमा स्थापित गरी सूचना प्रविधिको माध्यमबाट न्यायिक काम कारवाहीलाई व्यवस्थित, पारदर्शी एवं अनुमानयोग्य बनाउन सकिने उहाँको भनाइ थियो । 

सर्वोच्च अदालतमार्फत गत आर्थिक वर्षमा भएका मुद्दा फछ्र्योट अहिलेसम्मकै ऐतिहासिक उपलब्धि भएको र पुराना बक्यौता मुद्दाको न्यूनीकरण सारभूत रुपमा हुन सकेको उहाँको भनाइ थियो । “सबै तहका अदालतले मुद्दा फछ्र्योट र बक्यौता न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्, न्यायपालिकाले गरेका सुधारका प्रयास र प्राप्त उपलब्धिबारे यहाँहरु सबै जानकार नै हुनुहुन्छ”, उहाँले थप्नुभयो, “न्याय क्षेत्रका सरोकारवालाहरु सबै निकायको सहयोग र सहकार्यबाट नै यस किसिमको महत्वपूर्ण उपलब्धि हासिल हुन सकेको हो ।”

 निर्वतमान महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले कानुन व्यवसायलाई मर्यादित र व्यावसायिक बनाउन परीक्षा प्रणालीमा सुधार गरिनुका साथै विधागत तालिम पनि सञ्चालन गर्ने अभ्यास गरिनु महत्वपूर्ण काम भएको बताउनुभयो ।

 नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरले कानुन व्यवसायीलाई मर्यादित र व्यावसायिक बनाउन आचारसंहिता बनाउने र कडाइका साथ कार्यान्वयन गरेको सुनाउनुभयो ।

 कार्यक्रममा परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले परिषद्ले गरेका गतिविधिबारे जानकारी गराउँदै परीक्षा प्रणालीमा सुधार र लयर्स एकेडेमी सुरु गरेपछि विधागत रुपमा तालिम सञ्चालन गर्नु सकारात्मक भएको जानकारी गराउनुभयो ।

 कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले ‘नेपाल बार काउन्सिल जर्नल २०२३’ को सार्वजनिक गर्नुभएको थियो भने कानुन व्यवसायमा ५० वर्ष निरन्तर काम गर्ने  पाँच जना वरिष्ठ अधिवक्ताहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ अविधक्तामा कमलराज जोशी, किशोरकुमार अधिकारी, अमरबहादुर पाण्डे, नारायणप्रसाद खत्री र रामकृष्ण गौतम रहनुभएको थियो ।

कार्यक्रममा आव २०८०/८१ मा उत्कृष्ट पुस्तकका लेखक अधिवक्ता उपप्राध्यापक डा नेवल चौधरीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । काउन्सिलको ३१औँ बार काउन्सिल परीक्षामा उत्कृष्ट अङ्क ल्याउन १० जनालाई प्रधानन्यायाधीश श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

पर्यटनमन्त्रीद्वारा हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनासँग छलफल

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिग्देलसँग छलफल गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासका विषयमा विचार विमर्श भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाली सेनाले भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्नेलगायत विषयमा पर्यटनमन्त्रीलाई सुझाव दिएको छ ।

एक महिनाभित्र एउटा विमान र एउटा हेलिकप्टर दुर्घटना भएपछि पर्यटनमन्त्रीले हवाई सुरक्षाबारे रक्षामन्त्री, प्रधानसेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरी राय सुझाव लिएका हुन् ।

नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका थिए । हालै भएका हवाई दुर्घटनाको छानबिन समिति गठन भएको भए पनि अध्ययन प्रतिवेदन भने आउन बाँकी रहेको छ ।

अनुभव आदानप्रदान गर्ने क्रममा नेपाली सेनाका अधिकारीहरुले हवाई सुरक्षाका लागि सम्पूर्ण प्रणाली र नियम कानुनको कमी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएको थियो ।

नेपाली सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइसीएओ) को गाइडलाइन फलो गर्न नपरेको प्रष्ट पारेको छ ।

त्यसैगरी धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नगारिक उड्डयन प्राधिकरण (क्यान), अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा सुझाव दिइएको मन्त्रालयले जनाएको छ ।

पानीको सतह बढेपछि कैलालीका नदीमा डल्फिन देखिन थाले

घोडाघोडी (कैलाली), २७ साउनः कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन्् । जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदि तटिय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठकानुसार उक्त पालिकामा पर्ने मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँ वयस्क, माउ डल्फिनसँगै बच्चा पनि देखिन थालेका छन् । श्रेष्ठले भन्नुभयो,“भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्छन् । यसरी तीन महिनाभन्दा बढि समयसम्म डल्फिन यहाँ बस्ने गर्छन् । मनसुन बाहिरिएसँगै डल्फिन पनि कर्णाली नदीमा नै फर्कने गरेका छन् ।”

यी नदी क्षेत्रमा डल्फिनको मुख्य आहारा माछा, घोँगीका साथै लेऊ प्रशस्त पाइने भएकाले पनि हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका जानकारहरू बताउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र धेरै दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने गरेका संरक्षणकर्मी श्रेष्ठ बताउनुहुन्छ । यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको जानकारहरू बताउँछन् ।

डल्फिन देखिन थालेसँगै पर्यटकहरू अवलोकनका लागि दिनहुँजसो यस क्षेत्रमा पुग्न थालेका छन् । संरक्षणकर्मी भोजराज ढुुङ्गाना हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै पर्यटकको चहलपहल बढ्ने गरेको बताउनुहुन्छ । उहाँकानुसार डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिकसमेत यहाँ आउने गरेका छन् । 

पर्यापर्यटनका दृष्टिकोणले महत्वपुर्ण मानिएको यस क्षेत्रमा डल्फिन संरक्षणका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम ताल, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका छन् । साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले समेत संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवसमेत आयोजना भइसकेको छ । 

डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन, अनुसन्धानलाई जोड्न सकेमा पर्यापर्यटनका लागि अझ राम्रो हुने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुर बताउनुहुन्छ । यसका लागि डिभिजन वन कार्यालयले पनि संरक्षणका कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पनि यस क्षेत्रमा विकासका लागि कार्यक्रम गर्ने जनाएको छ । अवलोकन गर्न आउने पर्यटकका लागि आवासीय घर, होमस्टे सञ्चालनका लागि आवश्यक काम गर्ने तयारी भएको इकाइका निमित्त प्रमुख डबल बोहराले जानकारी दिनुभयो ।

कर्णालीमा विसं २०५४ मा पहिलोपटक डल्फिन देखिएको थियो । स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलोपटक डल्फिन देखेपछि उहाँले नै यसको प्रचारप्रसार गर्नुभएको थियो । डल्फिन संरक्षक श्रेष्ठले आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि प्रचारप्रसार तथा संरक्षणका लागि जुटेको स्मरण गर्नुभयो । “सुरूमा डल्फिन देखिएपछि प्रचारप्रसार र संरक्षणका लागि पहल गरियो तर चुनौती धेरै थिए । विस्तारै यसको महत्वका बारेमा जानकारी दिएपछि स्थानीय नै संरक्षण अभियानमा जुटे । अहिले सबैजसो संरक्षणमा जागरुक भएका छन्”, उहाँले भन्नुभयो ।  

प्रायः मनसुनको समयमा मात्रै देखिने डल्फिन गएको डिसेम्बर २२ मा पनि यहाँ देखिएका थिए । रानी जमरा कुलरीया सिँचाइ आयोजनाको पानी पथरैया नदिमा मिसाउँदा हिउँदमै डल्फिन देखिएको सचिव श्रेष्ठले बताउनुभयो । “हिउँदमा हुने पानीमा थप चार फिट पानी बढाउन सके डल्फिन हेर्न वर्षायाम पर्खिनु पर्दैन भन्ने पुष्टि भइसकेको छ । योजनावद्ध रूपमा केही काम गर्न सके यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने सम्भावना छ”, श्रेष्ठले भन्नुभयो । यसका लागि डल्फिन संरक्षण गर्ने भन्दै सरकारले बनाएको कार्ययोजना कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । 

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौं, २७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

शिष्टाचार भेटका लागि यहाँ आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गण्डकीमा शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु पुष्टि

गण्डकी, २७ साउनः गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिनुभयो । सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका ४८ वर्षीय एक पुरुषको यही साउन १० गते निधन भएको उहाँले बताउनुभयो ।

तनहुँपछि कास्की डेङ्गुबाट बढी प्रभावित छ । निर्देशनालयको तथ्याङ्कअनुसार कास्कीमा चार सय ८० जना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गु सङ्क्रमित भेटिएका थिए । यस्तै, गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी शर्माले बताउनुभयो ।

असारयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । अङ्ग्रेजी जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै चार सय ७४ जनामा डेङ्गुको सङ्क्रम पुष्टि भएको निर्देशनालयले जनाएको छ । गत जनवरीमा ७० जनामा डेङ्गुको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको सङ्ख्या थपिँदै आएको हो ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने बताउनुभयो । उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रुपमा फेलिएको बताउनुभयो । “समयमा नियन्त्रण गर्न नसके डेङ्गुले भयावह रूप लिन सक्छ”, उहाँले भन्नुभयो, “डेङ्गुलाई सामान्य रूपले नसोचौँ, यसले ज्यानैसमेत लिएका घटना हामीकहाँ छन्् ।”

डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो । उहाँले समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

गत वर्ष कास्कीमा मात्र तीन हजार ६९ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ जना थिए । सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरू गरेका छन्। पोखरा महानगरपालिकाभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य संस्था र निकायले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन सबैलाई आग्रहसमेत गरेका छन् ।

महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेङ्गुको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्न आग्रह गरिएको छ । डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने स्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताउनुभयो । “डेङ्गु नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उहाँले भन्नुभयो,“डेङ्गुको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरू गर्न सबैमा हाम्रो आग्रह छ ।”

डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा वर्षा जारी रहने

काठमाडौँ, २७ साउनः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ ।

माहाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिनुभयो । “यतिबेला मनसुन धेरै सक्रिय नभएकाले भारी वर्षाको सम्भावना छैन, तर बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाबाट भने सतर्कता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।