मुलुकमा राजनीतिक स्थिरताका लागि गठबन्धन सरकार : उपमहासचिव ज्ञवाली

समाचार

लुम्बिनी, १६ माघ : नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरताका लागि अहिलेको सरकार बनेको बताउनुभएको छ । उहाँले राजनीतिक स्थिरतासहित विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन एमाले र नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनेको बताउनुभयो ।
नेता ज्ञवालीले प्रेस चौतारी, रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बर्तमान गठबन्धन सरकार बनेपछि अस्थिरताका सदाबहार खेलाडीलाई छटपटी भएको र जनताले त्यस्ता शक्तिका कुनै पनि प्रयासलाई साथ नदिने बताउनुभयो । उहाँले वर्तमान गठबन्धन सरकार गठन भएपछि केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताउनुभयो । “यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, रोकिएका विकासका काम अघि बढेका छन्”, उहाँले भन्नुभयो, “राजस्व बढेको छ, आयात, निर्यात बढेको छ, अर्थतन्त्र चलायमान भएको छ, निजी क्षेत्रमा उत्साह र भरोसा बढेको छ ।”
नेता ज्ञवालीले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयकले सबैलाई मर्यादामा राख्ने बताउनुभयो । उहाँले यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र गलत सूचनाबाट सबैलाई जोगाउन विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । “सत्य सूचनालाई रक्षा गरिएन भने गलत सूचनाले दिग्भ्रमित पार्छ”, उहाँले भन्नुभयो, “अराजकतालाई निरूत्साहित पार्नु जरूरी छ ।”
देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको नेता ज्ञवालीको भनाइ छ । उहाँले राष्ट्रपति र उपराष्ट्रपति मुलुकको अभिभावक र संविधानको संरक्षक रहेको बताउनुभयो । उहाँहरू पूर्वराष्ट्रप्रमुख र उपप्रमुख मुलुकको अभिभावकको भूमिकाको जिम्मेवारीमा रहनुभएको व्यक्ति पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित नभएको र एमालेले यस विषयमा कुनै छलफल खुला नगरेकोसमेत स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट