`

छ महिनामा जग्गा दर्तासम्बन्धी समस्या समाधान हुन्छः मन्त्री अधिकारी

झापा, २७ साउनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समास्या समाधान गर्ने काम द्रतगति अगाडि बढाइएको बताउनुभएको छ ।

गौराहद नगरपालिका–५ मा आज आयोजित जग्गा दर्तासम्बन्धी आदेश २०८१ कार्यान्वयनसम्बन्धी सरोकारवाला निकायसँगको अन्तरक्रियामा उहाँले छ महिनाभित्रमा जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“लामो समयदेखि भोगचलन गरिरहेको तर धनीपूर्जा नहुने सबैलाई जग्गाको मालिक बनाउने अभियानमा सरकार छ”, उहाँले भन्नुभयो । उहाँले मन्त्रालयले उच्चस्तरीय अधिकारीहरु संलग्न रहेको आयोग गठन गरी कर्मचारीहरु काममा खटाइसकेको जानकारी दिँदै काम गर्दै जाँदा आउने कानूनी जटिलतालाई स्थानीय सरकार, सरोकारवाला पक्ष र राजनीतिक दलहरुले संयुक्त रुपमा समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

गौरादह नगरपालिका ४ र ५ का जमिन दर्ता प्रक्रियालाई अगाडि बढाउने पहिलो निर्णय नै मन्त्रिपरिषद्बाट भइसकेको उहाँले बताउनुभयो ।

त्यसअवसरमा संविधानसभा सदस्य दीपक कार्कीले अघिल्लोपटक गठित भूमि आयोगले समेत कानुनी जटिलताकै कारण काम गर्न नसकेको मन्त्रीलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले ६० वर्षदेखि जग्गा समस्याको समाधानको पर्खाइमा रहेका महारानीझोडाबासीले यसपटक भने सफलता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले महारानीझोडा क्षेत्रको समस्या समाधानका लागि सरकारले समिति गठन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

एक वर्षमा सङ्घीय प्रणाली अनुकुल ऐन बनाउने सञ्चारमन्त्रीको प्रतिबद्धता

काठमाडाँै, २७ साउनः सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र मन्त्रालयअन्तर्गतका सबै ऐन सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकुल हुने गरी संशोधन गर्ने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज)को २५औँ स्थापना दिवसका अवसरमा उहाँले पञ्चायतकालमा बनेका सञ्चार ऐनबाट लोकतन्त्रको सुदृढ हुन नसक्ने धारणा राख्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) राजा महेन्द्रको पालामा बनेको ऐनले चलेको छ । गोरखापत्र, नेपाल टेलिभिजन, हुलाकलगायतका संस्थानहरु पुरानै ऐनबाटै चलेको उल्लेख गर्दै उहाँले आफूले एक वर्षमा ऐनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मिडिया विधेयक छिटोभन्दा छिटो संसद्बाट पारित गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले लोकतन्त्र स्थापनामा गरेको योगदानको चर्चा गर्दै मन्त्री गुरुङले सङ्घीय संरचनाको लाभ कति उठायौँ भन्नेमा समीक्षा जरुरी रहेको बताउनुभयो । सङ्घीय संरचना हटाउनेभन्दा पनि अझै बलियो कसरी बनाउने भन्नेतर्फ अबको आदिवासी जनजाति आन्दोलन केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।

त्यस अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजिक सञ्जाल, वास्तविक पत्रकार र सञ्चारमाध्यमको परिभाषा पहिलाउनुपर्ने आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले पत्रकार दक्ष बनाउने जिम्मेवारी सरकारको पनि भएको बताउनुभयो । फोनिजका अध्यक्ष गजुरधन राईले समावेशी मिडियाको मुद्धामा फोनिज सधै एकजुट हुने प्रतिबद्धता जनाउनुभयो ।

त्यसअवसरमा फोनिज राष्ट्रिय पत्रकारिता सम्मानबाट विजयरत्न तुलाधर (अनलाइन)र पुष्पहरि क्याम्पा राई (नेपाल टेलिभिजन) सम्मानित हुनुभयो । साथै फोनिज मातृ भाषा पत्रकारिता सम्मानबाट थारु भाषामा पत्रकारिता गर्दै आउनुभएकी लौवा अग्रासन सम्मानित हुनुभयो ।

त्यस्तै, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार। २०८१ बाट सटेन्द्र जबेगु (अनलाइन), विष्णु तामाङ (छापा), खिमा गुरुङ (रेडियो) पुरस्कृत हुनुभयो । पहिलो पटक दिइएको फोनिज मलेसिया सम्मान रेखीराम रानामगर र पुनम महतो चौधरीले प्राप्त गर्नुभयो ।

अर्थमन्त्री पौडेल र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ, २७ साउनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबीच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्याङ्कनको महत्वपूर्ण आधार हुने भन्नुहुँदै सिङ्गो टिमलाई परिचालन गरेर सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्न सचिव र महालेखा नियन्त्रक खरो रूपमा उत्रिने विश्वास व्यक्त गर्नुभयो ।

अर्थसचिव डा घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित क्रियाकलाप कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको हो ।

सभापति देउवासँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, के के भयो कुराकानी ?

काठमाडौँ, २७ साउनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।

भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ ।

सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी भोलि साउन २८ गते काठमाडौँबाट प्रस्थान गर्नुहुने तालिका छ ।

मुग्लिन–पोखरा सडक पूर्वीखण्डः एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

दमौली (तनहुँ), २७ साउन : निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फि रूपमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको हो ।

पूर्वीखण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म एकतर्फि रूपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको जानकारी दिनुभयो । वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ । उहाँले भन्नुभयो, “अन्य काम भइरहे पनि वर्षाका कारण हाल कालोपत्र गरेका छैनौँ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।”

पूर्वीखण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइ हुँदा कालोपत्र काम अगाडि बढ्न सकेको छैन ।

पाण्डेकानुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उहाँले जानकारी दिभयो ।

आर्थिक वर्ष २०८०÷८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इञ्जिनियरिङको काम गरिएको छ । उक्त अवधिमा केही घरटहरा हटाउन ढिलाइ हुँदा र पहिराजन्य समस्या काममा अवरोध पुगेको आयोजनाले जनाएको छ ।

गत आवमा आयोजनाका लागि पुँजीगततर्फ रु दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ । यस खण्डको गत वैशाख २ गते म्याद सकिएपछि पुनः एक सय ५५ दिन थप गरिएको छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । यहाँ चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेन सडक विस्तारको काम सुरू भएको हो । पूर्वीखण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा राजश्व सङ्कलन सम्बन्धी अध्यादेश पेस

सुदूरपश्चिम, २७ साउनः सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व सङ्कलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ । आज प्रारम्भ भएको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश पेस गर्नुभएको हो ।

मन्त्री थापाले बजेट पारित नभएको, राजश्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएकोे अवस्थामा राजश्व सङ्कलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताउनुभयो । अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महशुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज सङ्कलनका लागि बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य जुनाकुमारी दानीले वर्षासँगै बाजुराको हिमाली गाउँपालिका—३को गोरुखर्कमा यही साउन २६गते गएको पहिरोमा परी भएको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पहिरोमा परी प्रेमकला बुढा, हङ्स बुढा, ललिता बुढा र अनौति रोकाया घाइते हुनुभएको, ४१ पशु चौपाया मरेको र पहिरोका कारण ३० परिवार समस्यामा परेको उल्लेख गर्नुहुँदै घाइतेको उपचारको व्यवस्था गरी प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो । उहाँले वर्षासँगैको पहिरोका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडकमा आवागमन चाँडो सञ्चालनको माग गर्नुभयो ।

आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशसभा नियमावली बमोजिम विधायन तथा प्रदेश मामिला समिति सदस्यमा रमेशसिंह धामी र लक्ष्मी बिक, सार्वजनिक लेखा समिति सदस्यमा दीर्घबहादुर सोडारी, गीतादेवी माल, र अक्कलबहादुर रावल, सामाजिक विकास समिति सदस्यमा माया पन्त, ओम विक्रम भाट र झपटबहादुर साउँदलाई मनोनयन गरिएको जानकारी गराउनुभयो । बैठकको प्रारम्भमा सभामुख भण्डारीले पाँचौँ अधिवेशन आह्वानसम्बन्धी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्नुभयो ।

माओवादी बैठकः स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

उहाँहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

“आजको आवश्यकताअनुसार पार्टीमा नयाँ पद्धति र प्रणाली विकास गरी पार्टीभित्रको मूल्याङ्कनको पद्धतिलाई व्यवस्थित बनाउनुपर्छ”, स्थायी समिति सदस्यको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।

आजको बैठकमा १४ सदस्यले धारणा राख्नुभएको थियो । बैठकमा कमला रोका, पम्फा भसाल, उर्मिला अर्याल, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णाकुमारी सुवेदी, कालीबहादुर मल्ल, महेश्वर गहतराज, प्रह्लाद बुढाथोकी, हकीकुल्ला खाँ, जयपुरी घर्ती र जोखमबहादुर महरलाले धारणा राख्नुभएको थियो । बैठक भोलि पनि चल्नेछ ।

कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल

काठमाडौँ, २७ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राख्नुभएको थियो ।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्रा डा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राख्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन २८ गते सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कैलालीमा चौधरीको घरमा चट्याङ पर्दा १३ दिने पुण्य तिथिमा खाना बनाउदै गरेका दश जना घाइते

कैलाली, २७ साउन : कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् ।घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

उहाँकानुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो ।    घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ । पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न लागेको हो । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने तयारी छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान, कार्यक्षमताका आधारमा छनोट गरिने जनाइएको छ ।

पदाधिकारीको छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने पार्टीले केही नेताहरूलाई व्यवस्थापन गर्न विभागमा समेट्ने र जिम्मेवारी दिने तयारी गरेको छ ।

खोटाङमा भीरबाट लडेर र माछापोखरीमा डुबेर दुईको मृत्यु

खोटाङ, २७ साउनः खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो ।

मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गए राति तथा देविप्रसादको करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । 

माइती गाउँ सोही गाउँपालिका–६ दिप्सुङमै घर बनाएर बस्दै आएकी मनकुमारीको स्थानीय बिर्तापाखा भीरबाट लडेर तथा देवीप्रसादको आफ्नै घर नजिकैको माछापोखरीमा डुबेर मृत्यु भएको जनाइएको छ । 

मनकुमारी सुङ्देलस्थित आफ्नै घर छिमेकको बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन् ।  

देवीप्रसाद भने बिहान करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब एक सय ५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ । मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ । 

घटना शङ्कास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिनुभयो । “घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उहाँले भन्नुभयो, “आपसमा झगडा गरेको नभइ दुवै जना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ । घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”

सुङ्देलमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकमध्ये देवीप्रसादको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।


आइतबार मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै मन्त्री  पौडेलले यथाशिघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताएका हुन् । मन्त्री पौडेलले वाग्मती बाहेकका अन्य ६ प्रदेशमा सहिद गङ्गालाल हृदय केन्द्रको समन्वयमा मुटु रोग उपचारको सेवा विस्तार, सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने बताए ।


उनले वैदेशिक रोजगारीमा जाने र गएका नेपाली नागरिकको मृत्युदर घटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाइने योजना रहेको बताए ।


मन्त्री पौडेलले बीमा सेवा सुधार गर्नका लागि आवश्यक रणनीतिले ल्याइने बताए । उनले भने, “स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरी फराकिलो बनाउने, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आबद्धतालाई द्रुत गतिमा बढाउन र स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ।”


उनले नसर्ने रोगको भार बढेको उल्लेख गर्दै मन्त्रालयमा नसर्ने रोग र मानसिक स्वास्थ्य हेर्ने छुट्टै इकाइ स्थापना गरिने बताए । उनले आयुर्वेद र वैकल्पिक चिकित्सा, उपचारात्मक सेवा विस्तार र विकास, औषधि, गुणस्तर र नियमन, पोषण, स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐनको तर्जुमा गरिनेलगायतका विषयमा आफ्ना कार्ययोजनाहरु प्रस्तुत गरे ।


“स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफलपछि मैले प्राथमिकता छुट्याएको हुँ । यी विषयलाई कार्यान्वयनको प्रतिबद्धता जनाउँछु”, मन्त्री पौडेलले भने । 

बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म ८१ लाख सङ्कलन

जलेश्वर, (महोत्तरी) २७ साउन : विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म रु ८१ लाख सङ्कलन भएको छ ।
महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमले सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म रु ८१ लाख दुई हजार २३ नगद दान प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँकानुसार महायज्ञमा अहिलेसम्म छ सय ५३ जनाले दान गरेकामा एक जनाले भने रु एक लाख दुई हजार गोप्य दान गरेका छन् । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि रु डेढ करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ । जुन लक्ष्य महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको संयोजक गौतमले बताउनुभयो ।

यसैबीच हाम्रो माया घर निर्माणका लागि महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ११ हजार इँटा सहयोग गर्नुभएको छ भने बर्दिवास नगरपालिका– १४ बस्ने चन्देश्वर साहले एक सय पाँच बोरा सिमेन्ट सहयोग गर्नुभएको छ ।

भरतपुर महानगरपालिका पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

चितवन, २७ साउन : भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिपोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।

महानगरपालिकाभित्र रहेका ३१ हजार आठ सय ११ परिवारका १७ हजार ९४ बालबालिकामध्ये १२ हजार नौ सय ९८ बालबालिकाले पूर्णखोप पाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका ती बालबालिकाले पूर्णखोप पाएको र चार हजार तीन सय ३१ बालबालिका खोप लगाउने चरणमा नै रहेको महानगर जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।

उहाँकानुसार घरधुरी सर्वेक्षणका क्रममा छ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र दुई सय २९ बालबालिकाले आंशिक खोप लगाएको पाइएको थियो । ती बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराएर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको हो ।

समन्वय प्रमुख अधिकारीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गर्नुभएको हो । उहाँले सबैको प्रयासले महानगरलाई पूर्णखोप दिगोपन सुनिश्चित पालिका घोषणा गर्न सफल भएको बताउनुभयो । “पूर्णखोपयुक्त पालिका घोषणा गर्न सबैको उत्तिकै जिम्मेवारी रहेको छ । घोषणापछि पुनः यसलाई कायम राख्नका लागि सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

महानगर प्रमुख रेनु दाहालले बालबालिकालाई पूर्णखोप दिएर स्वस्थ राख्ने पालिकाको जिम्मेवारी रहेको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नका लागि आफ्ना बालबालिकालाई खोप अनिवार्य लगाउन आग्रह गर्नुभयो । दाहालले भन्नुभयो, “महानगरले स्वास्थ्यका क्षेत्रमा एक वडा एक स्वास्थ्य कार्यालय अवधारणाअनुसार आवश्यक कार्य अघि बढाएको छ । आधारभूत स्वास्थ्य सेवा सबैको घरदैलोमा पु¥याउन मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीले बालबालिका स्वस्थ रहेमा भविष्य उज्ज्वल हुने बताउनुभयो । उहाँले अभियानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारी, भरतपुर महानगरपालिकाको सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेल लगायतले धारणा राख्नुभएको थियो ।महानगरपािलकालाई यसअघि विसं २०७४ मा पनि पूर्णखोप घोषणा गरिएको थियो ।

बङ्गलादेशमा नयाँ प्रधान न्यायाधीशद्वारा सपथ ग्रहण, पुराना गार्ड हटाइयो

बङ्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधान न्यायाधीशको राजिनामापछि नियुक्त भएका नवनियुक्त प्रधानन्याधीश सैयद रेफात अहमदले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेको अघिल्लो सत्तासँग जोडिएको ठानिएको पुरानो पहरेदारलाई प्रतिस्थापन गर्ने नयाँ नियुक्तिको यो पछिल्लो शृंखला हो ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उच्च अदालतका वरिष्ठतम न्यायाधीश अहमदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपतिका प्रेस सचिव शिप्लु जमानले जानकारी दिनुभयो ।

जमानले भन्नुभयो, “उहाँ बङ्गलादेशको २५ औं प्रधान न्यायाधीश बन्नुभएको छ ।”अहमदले ढाका विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको टफ्ट्स विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो ।

ढाकाको सडकमा प्रदर्शनकारीको सहभागिता बढेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकप्टरबाट छिमेकी मुलुक भारत तर्फ भाग्नुभएको थियो । हसिनाको सरकारमाथि १५ वर्षको शासनकालमा उहाँका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

‘छिटो चुनाव नगरिए बङ्लादेशमा अस्तव्यतता छाउने’

बङ्गलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार नयाँ दिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बङ्गलादेशमा अन्तिरिम अधिकारीहरूले ‘भीडको शासन’ गर्न दिएको आरोप लगाउँनुभएको छ । उहाँले निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री पदबाट राजीनामा दिई ७६ वर्षीया शेख हसिना गत सोमबार मित्र राष्ट्र भारततर्फ जानुभएको थियो । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उहाँका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

उहाँ भारत आएपछि सेनाले उहाँको राजिनामाको घोषणा गरेको थियो र त्यसपछि विद्यार्थीको मागमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम प्रशासनको नेतृत्व सुम्पिएको छ ।

अमेरिकामा बस्दै आएका हसिनाका छोरा तथा पूर्व सरकारका सल्लाहकार ५३ वर्षीय सजीब वाजेद जोयले अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘पूर्णतया शक्तिहीन’ सरकारको संज्ञा दिनुभएको छ ।

उहाँले एएफपीलाई वासिङ्टनबाट दिएको अन्तर्वातामा भन्नुभएको छ, “अहिले बङ्गलादेशमा भीडको शासन छ । प्रदर्शनकारीको मागमा प्रधान न्यायाधीश, केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ ।”

उहाँले भन्नुभयो, “यदि भोलि भीडले ‘हामी अन्तरिम सरकारमा रहेका व्यक्तिलाई परिवर्तन गर्न चाहन्छौं’ भन्यो भने उनीहरूलाई परिवर्तन गर्नुपर्छ ।”

युनुसले ‘केही महिनाभित्रै चुनाव होस् भन्ने चाहेको’ बताउँदै आउनुभएको छ तर वाजेदले चुनावमा ढिलाई भए अराजकता बढ्ने चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “ जनताको वैधानिकता र साँचो अधिकार भएको वैध सरकारमा फर्कन निर्वाचन गराउनु उनीहरूको हितमा छ । अन्यथा, यो केवल अराजकतामा परिणत हुनेछ ।”

हसिनाले जनवरीमा भएको चुनावमा विजय हासिल गर्नुभएको थियो तर विपक्षी नेताहरूलाई जेलमा थुनेर हुने चुनाव स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक प्रतिद्वन्द्वीहरूले निर्वाचन बहिष्कार गरेका थिए ।

हसिना भागेपछि लाखौँको सङ्ख्यामा रहेका उहाँको अवामी लिगका सदस्यहरू लुकेर बसेका छन् । उनीहरूमाथि प्रतिशोधपूर्ण आक्रमण भएको छ र पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

तर वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्रको राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दावी गर्नुभयो ।

“हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उहाँले भन्नुभयो, “अवामी लिगबिना बङ्गलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।”

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्व विपक्षी समूहहरूले वर्षौंको दमनबाट ट्टेको सङ्गठनको पुनर्निर्माण गरिरहेका छन् । बीएनपीले सोमबारदेखि ढाकामा शान्तिपूर्ण जन ¥याली आयोजना गरिरहेको छ ।वाजेदले बिएनपी र आवामी लिग मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा कोइराला

काठमाडौँ, २७ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रहको आज विमोचन गर्नुहुँदै उहाँले मुलुकमा राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

संविधान संशोधन गर्दा संविधानको मर्मलाई भने बिर्सन नहुने डा कोइरालाको भनाइ थियो । “निर्वाचन प्रणाली परिवर्तन गर्दा संविधानले व्याख्या गरेजस्तो सबै जातजातिको प्रतिनिधित्व हुनुपर्छ, संविधानमा भएको आरक्षणको सिटलाई सुनिश्चित गराउनुपर्छ तर एक पार्टीको बहुमत कसरी आउँछ भन्ने कुरालाई ख्याल गरेर संशोधन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सांसद डा कोइरालाले अहिलेको अवस्थामा सबै दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी उहाँले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण ध्यान केन्द्रीत गर्न सरकारलाई आग्रह गर्नुभयो । बङ्गलादेशको घटनाले आमनेपालीलाई चिन्तित बनाएको उल्लेख गर्नुहुँदै डा कोइरालाले नेपालमा पनि जनआक्रोस बढ्न नदिन जनभावनाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि कांग्रेस–एमाले गठबन्धन निर्माण भएको छ । अब पनि जनआकाङ्क्षाअनुसार काम गर्न सकिएन भने निराशा र जनआक्रोस बढ्नसक्छ । यसर्थ अहिलेको सरकारले प्राप्त अवसर र विश्वास गुम्न दिनुहुँदैन”, उहाँले भन्नुभयो । नयाँ कृति प्रकाशन गरेकामा प्रा डा कोइरालालाई उहाँले बधाई तथा शुभकामना समेत दिनुभयो ।

 पुस्तकका लेखक प्रा डा कोइरालाले जीवनमा भोगेका भोगाइ र गरेका कामलाई पुस्तकमार्फत आम पाठकमाझ प्रस्तुत गरेको बताउनुभयो । उहाँले अर्को वर्ष थप दुई पुस्तक प्रकाशनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।  दुई पुस्तकमाथि चर्चा गर्नुहुँदै प्राध्यापक पुरुषोत्तम दाहाल र कलानिधी दाहालले प्रा डा कोइरालाको कृतिभित्र जीवनको यात्रा सुरूदेखि हालसम्मको अवस्थालाई चित्रण गरिएको बताउनुभयो । प्रा डा कोइराला आफ्नो काममा निरन्तर लाग्ने व्यक्ति भएको उहाँहरूको भनाइ थियो ।

 प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमल्सिना, त्रिभुवन विश्वविद्यालय रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवाली, प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, त्रिचन्द्र क्याम्पसकी प्राध्यापक उषा अधिकारीलगायतले प्रा डा कोइरालाको कृतिले नेपाली भाषा र साहित्यको क्षेत्रमा नयाँ इँटा थपिएको बताउनुभएको थियो । उहाँहरूले मानिस मरेर गए पनि सिर्जना कहिल्यै नमर्ने भएकाले अझ थप कृति ल्याउन शुभकामना दिनुभएको थियो । 

युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धनः सञ्चारमन्त्री गुरुङ

कीर्तिपुर (काठमाडौँ), २७ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

राजधानीको मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीद्वारा यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले युवाको सीप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने र विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन, परीषालगायत काम क्यालेण्डरअनुसार तोकिएको समयमा हुने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकास र गुणस्तर वृद्धि गर्न राजनीतिक स्थिरता आवश्यक पर्दछ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले संसद्मा पहिलो र दोस्रो ठूला दल मिलेर बनेको गठबन्धनले राजनीतिक स्थिरताका साथै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले रोजेको विषय वा क्षेत्रमा पूर्ण मेहनत र लगाबका साथ अध्ययन गरे असफल हुनु नपर्ने बताउनुभयो । विद्यार्थीलाई विज्ञान तथा प्राविधिक वा व्यवस्थापन वा कुनै पनि विषयमा विज्ञता हासिल गर्नेतर्फ लाग्न उहाँले आह्वान गर्नुभयो ।

“यसका लागि मेहनत र लगाब चाहिन्छ । मेहनत ग¥यो भने सफलता प्राप्त गर्न सम्भव छ । दुवैखुट्टा नभएकाले पनि सगरमाथा चढेकाको उहाहरण छन्”, मन्त्री गुरुङले भन्नुभयो । विद्यार्थीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्नेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो ।

बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले आफ्नो लक्ष्यप्राप्तिका लागि दृढ भएर लाग्न सबै विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री गुरुङले एसइईमा उत्तीर्ण विद्यार्थीलाई समान्न पत्र प्रदान गर्नुभएको थियो । विद्यालयबाट एसइईमा सहभागी ५७ जना नै उत्तीर्ण भएका थिए । ए प्लस हासिल गर्ने विद्यार्थी १३ जना रहेका विद्यालयले जनाएको छ ।

मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो : गृहमन्त्री लेखक

काठमाडौँ, २७ साउन : गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले भन्नुभयो, “अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको छ । त्यो पूर्वतयारीको नतिजा हो । हामीले गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेका छन् । केहीमा कमजोरी होला, तर प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम गरिरहेका छौँ ।”

बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले भन्नुभयो, “नेपालमा मनसुन अझै डेढ महिनाभन्दा बढी समय रहन्छ, देशका अधिकांश भागमा सरदरभन्दा बढी पानी परेर जमिन गलेका कारण विपद्का घटना हुनसक्ने भएकाले चनाखो हुँदै थप कदम चाल्ने काम भइरहेको छ ।”

गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब रु पाँच करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिनुभयो । “थप रु १७ करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकका अनुसार २०८१ जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य तथा विपद्का एक हजार दुई सय १२ घट्ना घटेकामा पहिरो, बाढी र चटयाङमा परी एक सय ७० जनाको मृत्यु भएको थियो । ती घट्नामा परेर ४४ जना बेपत्ता भएका छन् भने एक सय ९७ जना घाइते भएका थिए ।

गृहमन्त्री लेखकका अनुसार हालसम्म पहिरोमा परेर मात्र एक सय नौ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३९ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट ३५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । चट्याङमा परेर २४ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्धारमा खटिएको जानकारी दिनुभयो । आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृहकार्य गरी पूर्वतयारी गरिरहेको उहाँले बताउनुभयो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, व्यवस्थापनमा भइ गरेका क्रियाकलापरुको निरन्तर अनुगमन र पृष्ठपोषण गर्नुका साथै समितिको छलफलको क्रममा रहेका अन्य विषयगत कानुन निर्माणमा विपद् जोखिम न्यूनीकरणको आयाम समावेश गर्न अपेक्षा गरिएको गृहमन्त्री लेखकको भनाइ थियो ।
बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेस भइसकेको र प्राप्त भएका सुझावअनुसार मन्त्रालयले काम कारवाही थाल्ने बताउनुभयो । गत असार २८ गते नारायणगढ–मुग्लिङ खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए ।

गृहमन्त्री लेखकले भन्नुभयो, “सिमलताल दुर्घटनाका सम्बन्धमा गृहमन्त्रीस्तरको निर्णयबाट सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन भई यसले प्रतिवदेन पेस गरेको छ । प्रतिवदेनले यस प्रकारका घटना आगामी दिनमा हुन नदिन र सम्बन्धित निकायले गर्नुपर्ने सुझाव पेस गरेको छ ।”

बैठकमा सांसदहरुले गृहमन्त्री लेखकलाई सडक असुरक्षित भएका, विकासको ढाँचा परिवर्तन गर्नुपर्ने, विपद्बाट पीडितलाई राहतमा ढिलाइ नगर्न, क्षति न्यूनीकरणमा र उद्धार तथा राहतमा ध्यान दिन, पूर्वतयारीलाई प्राथमिकता दिन, चाडपर्वका बेला यातायात सेवा व्यवस्थित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

गोदार (धनुषा), २७ साउन : हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सुत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिरहा नगरपालिकाका इन्जिनियर एवं संघर्ष समितिका संयोजक प्रविनकुमार यादवले जानकारी दिनुभयो । माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उहाँले बताउनुभयो । 

ज्ञापन पत्र बुझाउनुअघि धनुषा र सिरहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित बृहत् ¥याली निकालिएको थियो । ज्ञापनपत्रमा सङ्घीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ ।

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन् । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् । विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनेछन् ।

पहिरोले अवरुद्ध कान्तिलोपकथमा साना सवारीसाधन सञ्चालन

मकवानपुर, २७ साउनः पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ओम पण्डितले बताउनुभयो ।

यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका–८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–कुलेखानी सडक सञ्चालनमा छभने पूर्व–पश्चिम राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा रहेका उहाँले जानकारी दिनुभयो ।

देशका सबै प्रदेशमा सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन, २७ साउनः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताउनुभयो । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उहाँले जानकारी दिनुभयो । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो ।

कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ ।

कार्यकारी निर्देशक डा पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ ।

युक्रेनको आक्रमणबाट हुनसक्ने ठूलो क्षति रोक्न रूसले ‘नयाँ अभियान’ सुरू गर्ने

मस्कोले युक्रेनसँग जोडिएका तीन वटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबारदेखि नयाँ अभियान सुरु गरेको छ ।स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्रेनी सेनाले मङ्गलबार बिहान रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो ।

उक्त रूसले ट्याङ्क, रकेट लञ्चर र एभिएसन युनिटलगायत थप सैनिक र उपकरणहरू तैनाथ गरेको छभने उक्त क्षेत्रमा सम्भावित आक्रमणबाट नागरिकहरूको हताहत हुनसक्ने भन्दै झण्डै ७५ हजार व्यक्तिलाई अन्य सुरक्षितस्थलमा सारिएको छ ।

नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र शत्रुका विध्वंसकारी समूहहरूद्वारा गरिएका आतङ्कवादी कार्यहरूको खतरालाई रोक्न भन्दै रूसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले शुक्रबार अबेर बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गर्न लागेको जनाएको छ ।

रूसी कानुनअनुसार सुरक्षा बल र सेनालाई ‘प्रतिआतङ्कवाद’ अभियानका क्रममा आपतकालीन अधिकार दिइएको छ ।

यस आपतकालीन अधिकारको प्रावधान अनुसार आवागमनमा प्रतिबन्ध लगाउन सकिने र फोन कलहरू निगरानी गर्न सकिने बताइएको छ । अभियानअन्तर्गत आक्रमण हुनसक्ने क्षेत्रहरूलाई प्रवेश निषेध क्षेत्र (नो–गो जोन) घोषणा गरी सुरक्षा जाँच केन्द्रहरू सञ्चालन गरिएको छ र प्रमुख पूर्वाधारस्थलहरूमा सुरक्षा कडा पारिएको छ ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले ‘रूसका धेरै क्षेत्रहरूमा स्थितिलाई अस्थिर पार्ने अभूतपूर्व प्रयास’ गरेको बताएको छ ।

रूसले युक्रेनको आक्रमणलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै किएभका सेनाले सर्वसाधारणलाई घाइते बनाएको र आवासीय भवनहरू ध्वस्त पारेको बताएको छ ।

युक्रेनी नेताहरू यस अभियानको बारेमा मौन रहेका छन् र किएभको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले योजनाहरूको बारेमा पूर्व जानकारी नदिएको बताएको छ ।

तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको सुरुमा रूसले युक्रेनविरुद्ध सन् २०२२ को फेब्रुअरीदेखि सुरु गरेको आक्रमणको परिणाम ‘महसुस’ गर्नुपर्ने बताउनुभएको थियो ।

रूसको रक्षा मन्त्रालयले शनिबार कुस्र्क क्षेत्रमा रहेको युक्रेनी चौकीमा ट्यांक चालक दलले गोली चलाएको र रातभर हवाई आक्रमण गरेको फुटेज सार्वजनिक गरेको छ । रूसले उक्त क्षेत्रमा युक्रेनी सेनाले रातिको समयमा आक्रमण गर्ने प्रयासमा प्रयोग भएका २६ वटा ड्रोन खसालेको पनि जनाएको छ ।

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

म्याग्दी, २७ साउनः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ ।

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताउनुभयो । “सात–आठ सय मिटरमाथिको भिरपाखो हँुदै सडकमा पहिरो खस्न थालेको छ”, उहाँले भन्नुभयो “पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन । ”

पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ । मुस्ताङ, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ ।

दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभिरको पहिरोमा पुुरिएको थियो । यद्यपि त्यसका चालकले भागर ज्यान जोगाएका थिए ।

यसैबीच, महभिर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको जोखिम भएकाले त्यताबाट यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् ।

तनहुँका मिर्गौलापीडित नेपालीलाई साढे तीन लाख सहयोग

दमौली (तनहुँ), २७ साउन : ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई रु तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ ।

ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गर्नुभएको थियो । त्यसक्रममा एक सय तीन जना व्यक्तिले सहयोग गरेका थिए ।

“निजको अवस्थाबारे जानकारी पाएपछि मैले रु सात हजार पाँच सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालबाट सहयोगका अभियान सुरु गरेको थिएँ । यो त्यसैको परिणाम हो”, अभियान जारी रहने जानकारी दिँदै उहाँले भन्नुभयो । चिकित्सकहरूले नेपालीलाई दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैबीच, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडितका लागि गाउँपालिकातर्फ पनि सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै पर्वत फर्सेकी सावित्री

पर्वत, २७ साउन : जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उहाँ बताउनुहुन्छ । “च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन”, उहाँले भन्नुभयो । गोब्रे च्याउ प्रतिकेजी रु पाँच सय र कन्ये रु दुई सयमा बिक्री हुँदै आएको छ ।

कच्चा पदार्थसहितका साम्रगी तयार गर्नुभएकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आउनुभएको छ । “हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु”, खत्रीले भन्नुभयो । श्रीमान्को सहयोगमा उत्पादित सागसब्जी बजार पु¥याउने गरेको उहाँले सुनाउनुभयो ।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ”, उहाँले भन्नुभयो ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग आज बिहानदेखि सञ्चालनमा

जुम्ला, २७ साउनः पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।

जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताउनुभयो । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।

गोरखा धार्चेका पहिरोपीडित ५५ परिवारलाई खाद्यान्न वितरण

गोरखा, २७ साउन : धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो ।

लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ । पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ ।रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीनजनासहित पाँचजनाको मत्यु भएको थियो ।

चीनले सुरुङमा आपतकालीन उद्धारका लागि मानवरहित प्रणाली विकास

स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङहरूका लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशन (सीएएसआईसी) ले जनाएको छ ।

आपतकालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाइहरूको सामना गर्छ । यसमा खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ ।

शोधकर्ताहरूले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौतिहरू पार गरेको बताएका छन् । यस अन्र्तगत सुरुङमा स्वतन्त्ररूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराई वा उचाईमा अग्नि नियन्त्रण सुविधा रहेका छन् ।

यस प्रणालीले सुरुङमा स्वतन्त्ररूपमा आवागमन गर्ने, अवरोध जोगाउने र आगो निभाउने ग्रेनेडहरू प्रयोग गर्ने सम्बन्धमा सफल परीक्षण गरिसकेको र यो प्रविधि एक्सप्रेस मार्गहरूमा आगलागि नियन्त्रणसहित आपतकालीन उद्धार कार्यका लागि उपयोगी रहेको दावी गरिएको छ ।

बाढीका कारण २५ दिनदेखि अवरुद्ध पश्चिम चीनको रेलमार्ग पुनः सञ्चालनमा

बाढीका कारण उत्पन्न भौगर्भिक प्रकोपका कारण २५ दिनदेखि अवरुद्ध पश्चिम चीनको प्रमुख (बाओजी–छेन्दु) रेलमार्ग शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।गत जुलाई १६ र १७ मा आएको बर्षापछिको बाढी र डुबानका कारण सान्सी प्रान्तको बाओजी शहरलाई सिचुआन प्रान्तको राजधानी छेन्दुसँग जोड्ने रेलमार्गका विभिन्न खण्डमा ७० भन्दा बढी स्थानमा अवरोध आएको थियो ।

जुलाई १७ मा आएको बाढीले रेलमार्गको एक खण्ड आन्हे पुल भत्काएको थियो । विपत्ति पछि उक्त रेलमार्गमा रेल यातायात सेवाहरू अवरूद्ध भएका थिए वा अन्य मार्गहरूमा डाइभर्ट गरिएको थियो ।

चाइना रेलवे सियान ब्यूरो ग्रुप कम्पनी लिमिटेडले उक्त खण्डको अवरूद्ध रेलमार्गस्थलको अस्थायी मर्मतपछि शनिबारदेखि सेवालाई पुनः सञ्चालनमा ल्याएको छ । यो रेलमार्ग सन् १९५८ मा सञ्चालनमा ल्याइएको थियो र यो देशको पहिलो विद्युतीय रेलमार्ग बनेको छ ।

उपराष्ट्रपति कमला ह्यारिस तीन प्रमुख राज्यमा ट्रम्पभन्दा अगाडि’

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने शनिबार सार्वजनिक पछिल्लो सर्वेक्षणले देखाएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति जो बाइडेनको प्रतिस्पर्धाबाट बाहिरिने निर्णय र ह्यारिसको अभियानमा देखिएको व्यापक सहभागिताले क्षीण बनाएको देखिएको छ । न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा ह्यारिसले मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा समान ५० देखि ४६ प्रतिशतको अन्तरले ट्रम्पलाई पछाडि पारेको देखाएको छ ।

अमेरिकी ‘इलेक्टोरल कलेज भोटिङ’ प्रणालीअन्तर्गत मध्यपश्चिमका यी तीन राज्यलाई कुनै पनि दलको जितका लागि महत्वपूर्ण मानिएको छ ।
यो सर्वेक्षण नतिजा ती राज्यहरूमा यस पहिलेका सर्वेक्षणबाट देखिएको नतिजा विपरित छ । अघिल्ला सर्भेक्षणहरूले लगभग एक वर्षसम्म ट्रम्पलाई डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनसँग समान वा थोरै अग्रता गरेको देखाएका थिए । बाइडेनले गत महिना (जुलाइमा) राष्ट्रपतिको दौडबाट बाहिरिँदै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्नुभएको थियो ।

नोभेम्बर ५ मा हुने निर्वाचनअघिको करिब तीन महिनामा धेरै कुरा परिवर्तन हुन सक्छ । सर्वेक्षणले मतदाताहरूले अझै पनि अर्थव्यवस्था र आप्रवासनका प्रमुख मुद्दाहरूमा ट्रम्पलाई प्राथमिकता दिएको देखाएको छ, यद्यपि ह्यारिसलाई गर्भपतनको मुद्दामा कसलाई विश्वास छ भनेर सोध्दा डेमोक्र्याटहरूले ह्यारिसको उम्मेदवारीलाई स्वागत गर्ने उत्साहको वृद्धिलाई हृदयदेखि नै लिएका छन् भने ८१ वर्षीय बाइडेनले राजीनामा दिएपछि धेरैले राहतको महशुस व्यक्त गरेका छन् ।

मिनेसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो चुनावी जोडीको रूपमा मङ्गलबार घोषणा गरेपछि पनि डेमोक्र्याटहरू बढी उत्साहित भएको देखिन्छ ।गत जुलाई १३ मा ट्रम्पको हत्या प्रयास र गत महिना रिपब्लिकनको सफल राष्ट्रिय सम्मेलनपछि पनि ह्यारिस र वाल्जको पक्षमा समर्थन वृद्धिले ट्रम्पलाई झकझकाएको छ ।

तर पेन्सिलभेनियामा एक महिनामै दर्ता भएका मतदातामा १० अङ्कको वृद्धि भएको टाइम्स÷सिएनाको सर्वेक्षणले देखाएको छ ।मतदाताले ह्यारिसलाई ट्रम्पभन्दा बढी बुद्धिमान र कुशल शासन गर्ने स्वभावको नेताका रूपमा हेरेको बताएका छन् ।

ट्रम्पका प्रतिद्वन्द्वी जेडी भान्स र अन्य रिपब्लिकनहरूले ह्यारिसलाई कमजोर पार्ने उद्देश्यले विभिन्न रणनीतिक आक्रमणको प्रयास गरेका बताइएको छ ।तर नयाँ सर्वेक्षणलवाल्जसँग मिलेर यस हप्ता स्विंग राज्यहरूमा तीव्र गतिमा प्रचार गरिरहेका े डेमोक्र्याटहरूले युवा र अधिक सशक्त ह्यारिसलाई दृढतापूर्वक समर्थन गरेको देखाउँछ ।

डेमोक्र्याटहरूमध्ये मे महिनायता मध्यपूर्वका तीन राज्यमा उम्मेदवारको छनोटमा मतदाताको सन्तुष्टि २७ अङ्कले बढेको सर्वेक्षणले देखाएको छ ।तीन महिनाअघि रिपब्लिकनहरूले उच्च स्तरको सन्तुष्टि व्यक्त गरेका थिए ।यो पछिल्लो सर्वेषण प्रत्येक राज्यमा कम्तीमा ६०० मतदाताको सहभागितामा अगस्ट ५ देखि ९ सम्म गरिएको थियो ।

इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा साल्पासिलिछोमा आवागमन कष्टकर

भोजपुर, २७ साउनः इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताउनुभयो । बढीबाट रु पाँच करोड बराबरको क्षति भएको उहाँको अनुमान छ ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उहाँले बताउनुभयो । बाटो बनाउन रु १० करोड लाग्ने उहाँको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उहाँले बताउनुभयो ।

बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु.एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको छ ।

बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित,११ जनाको मृत्यु

ढोरपाटन (बागलुङ), २७ साउन : बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।

हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ ।

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो रासस प्रतिनिधिसँग पोख्नुभयो । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उहाँले बताउनुभयो ।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उहाँले बताउनुभयो । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उहाँले बताउनुभयो ।

बागलुङमा पर्यटक बढेपछि थपिँदै सुविधासम्पन्न होटल

गलकोट (बागलुङ), २७ साउनः शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाउनुभएको छ । उहाँले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।

सानो घरमा चार कोठाबाट व्यवसाय थाल्नुभएका उहाँले व्यवसाय बढाउनुभएको छ । उहाँको होटलमा २४ कोठा छन् भने लगानी बढेर रु दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटल सञ्चालन गर्न थालेका छन् ।

बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् ।

जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउनुहुन्छ ।¬¬ उहाँले जिल्लामा तारेहोटल आवश्यक भएको बताउनुभयो । विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आउनुभएका अर्जुन चोखालले होटल व्यवसायमा रु चार करोड लगानी गरिसक्नुभएको छ ।

कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।

सिरहा धनुषा जोड्ने कमला नदीमाथि पुल निर्माणको माग गर्दै इन्जिनियर नै प्रदर्शनमा

गोलबजार (सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार प्रदर्शन भयो । कमला पुल निर्माण सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन भएको यो पहिलो पटक होइन । यहाँ पटकपटक यस्तै आन्दोलन तथा प्रदर्शन भइरहेका छन् ।

यसपटक प्रदर्शनमा सहभागीहरूले पटकपटक गरिएका प्रदर्शन र विरोध सुनिदिने राज्यको निकायमा कोही छ र ? भनि आफैँसँग प्रतिप्रश्न गरिरहेका थिए । “भासिएको कमला पुल राष्ट्रिय गौरवको आयोजना किन राज्यले अड्काएर राखेको ? यो कस्तो नीति हो, एउटा पुलको केही भाग बनाउन पनि बर्सौ लाग्ने ?”, सिरहाका ललित यादवले प्रश्न गर्दै भन्नुभयो,“१४ वर्षमा एउटा पुल बनाई जनतालाई हस्तान्तरण गर्न नसक्ने कुरै भएन । यहाँ इच्छाशक्तिको कमी वा नेतृत्वको नियतमा खोट भएकाले हामी प्रदर्शन गर्न बाध्य छौँ तर सुनिदिने कसले ?”

भासिएको पुल निर्माणका लागि स्थानीयले सुरूदेखि नै विभिन्न माध्यमबाट ध्यानाकर्षण गराइरहेका छन् । “पुल नहुँदा हामीले वर्षौँदेखि सास्ती खेप्दै आएका छौँ, सरकारले आफैँ सोच्नुपथ्र्याे तर हामीले आन्दोलन गर्दा पनि सुनुवाइ भएको छैन, यो दुर्भाग्य हो”, सङ्घर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले भन्नुभयो । पटकपटक माग सुनुवाइ नभएपछि अब निर्णायक सङ्घर्षमा उत्रिनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । “बिहीबार जिल्लामा प्रदर्शन ग¥यौँ, अब आइतबार सिरहाको बसबिट्टाबाट धनुषाको जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुससहित सरोकारवाला निकायलाई झकझक्याउन जाँदैछौँ”, संयोजक यादवले भन्नुभयो,“हाम्रो आवाज कसले सुन्ने हो ? नजिकको सरकार त प्रदेश नै हो, त्यसैले त्यहाँ ध्यानाकर्षण गर्छौं । त्यसपछि थप रणनीति बनाउँछौँ ।”

कमला नदीमा बनेको पुल उद्घाटनका लागि ठिक्क पारेका बेला बाढीले विसं २०७८ असार १७ गते पुलको पाया भासिएको थियो । तीन वर्ष बितिसक्दा पनि त्यसको पुनःनिर्माण हुनसकेको छैन ।
यहाँ चार सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी रु २४ करोड ९१ लाखमा विसं २०६८ मङ्सिरमा पुलको शिलान्यास भएको थियो । विसं २०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक सङ्घर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ भित्र काम सक्नेगरी जिम्मा लगाएको थियो । पटकपटक म्याद थपेर अन्तिम चरणमा पुगेको बेला पुल भासिएपछि हालसम्म निर्माण हुनसकेको छैन ।

यसपटक पुल निर्माणका लागि सिरहाका सरकारी निकायमा कार्यरत इन्जिनियरहरूले नै सङ्घर्ष सुरू गरेका छन् । यहाँका इन्जिनियरहरूले नेपाल इन्जिनियरिङ एशोसिएनको चुनाव पनि बहिष्कार गर्दै दबाब बढाउने निर्णय गरेका छन् । हुलाकी सडकखण्डमा सप्तरी, सिरहा र धनुषातर्फ सडक कालोपत्र भई सञ्चालनमा रहे पनि कमला पुल बन्न नसक्दा समस्या भइरहेको छ ।

बागलुङको दरम र गौदीखोलामा तीन महिना असला माछा मार्न प्रतिबन्ध

गलकोट (बागलुङ- गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ । यसका लागि नगरपालिकाले माछाले अण्डा पार्ने समय अर्थात् भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको हो । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ ।

नगरपालिकाले कानुन बनाएर गत वर्षदेखि असला माछा संरक्षण सुरु गरेको थियो । जुनसुकै समयमा जथाभावी माछा मार्ने प्रवृत्तिले माछा लोप हुने अवस्था आएपछि तीन महिनाका लागि सो कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० बनाइ दुवै खोलामा माछा मार्न रोक लगाएको प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । “गत वर्ष पनि अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछाको पर्याप्त पाउन थालेको पाइएको थियो । यस वर्ष पनि तीन महिनाका लागि माछा मार्न रोक लगाइएको हो”, उहाँले भन्नुभयो । रोक लगाएको अवधिमा माछा मारेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ ।

नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले असला माछालाई यहाँको  ब्राण्ड बनाउनका लागि संरक्षण गरिएको बताउनुभयो । उहाँले माछा मार्न पनि निश्चित व्यक्तिलाई मात्रै अनुमति दिने तयारी भइरहेको जानकारी दिनुभयो । अनुमतिप्राप्त व्यक्तिले मात्र माछा मार्दा रोजगारी सृजना हुने र नगरपालिकालाई राजस्व प्राप्त हुने उहाँले बताउनुभयो । 

यहाँ आउन अधिकांक पर्यटकले असला माछा खोज्ने गरेको होटल व्यवसायी कौशिला घर्तीले बताउनुभयो । यहाँ आउनेहरू अधिकांशका पहिलो रोजाइको परिकार नै असला माछाको हुने गरेको उहाँको अनुभव छ । “यहाँका असला माछा कोसेलीका रुपमा विदेशसम्म लैजाने गरिएको छ”, घर्तीले भन्नुभयो “माछा प्रतिकेजी रु एक हजार छ सयसम्म बिक्री हुन्छ ।”

लिम्चुङबुङमा बाह्य मदिरा तथा पेयपदार्थ बिक्रीमा प्रतिबन्ध, स्थानीय उत्पादनलाई प्रोत्साहन

गाईघाट (उदयपुर)- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले बाह्य सुर्ती, मदिराजन्य उत्पादनलगायत पेयपदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै स्थानीय उत्पादन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

पालिकाका अध्यक्ष मेजरकुमार राईले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने हेतुले गत असारमा गाउँकार्यपालिका बैठकले मदिरा, अन्य पेयपदार्थलगायत चुरोट, बिँडी, खैनी तथा गुट्का बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिनुभयो । 

बाह्य उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएसँगै स्थानीयस्तरमा उत्पादन हुने घरेलु कोदो, मकै, जुनेलो, फाफर, चिउरी तथा सुन्तलाबाट उत्पादन गरिएका मदिराजन्य पदार्थको कारोबारमा सघाउ पुग्ने उहाँले बताउनुभयो । 

पालिकाका उपाध्यक्ष पुष्पलाल राईले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न हाल पालिका क्षेत्रमा अन्य क्षेत्रमा उत्पादित मदिरा तथा पेयपदार्थलाई बिक्री वितरणमा रोक लगाएको बताउनुभयो । कार्यपालिका बैठकले निर्णय गरेपछि हाल ऐन बनाएर कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । 

उपाध्यक्ष राईले भन्नुभयो, “बाह्य आयातीत मदिराजन्य, पेयपदार्थ र धुम्रपानजन्य वस्तु खरिद बिक्री गर्दा स्थानीयलाई आर्थिक तथा स्वास्थ्य नोक्सानी हुने र पालिकालाई कुनै आम्दानी नहुने भएकाले यस्थो निर्णय गरेका हौँ । यसले स्थानीयस्तरमा उत्पादित मदिराजन्य पदार्थ र अन्न तथा फलफूलको बिक्री भई पैसा पालिकाभन्दा बाहिर नजाने र आम्दानी हुने अवस्था छ ।”

जनताको स्वास्थ्यलाई असर नहुने गरी आवश्यक मापदण्डको पालना गरेर अग्र्यानिक उत्पादनमा जोड दिन नगरले आवश्यक पहल गरिरहेको पालिकाका अध्यक्ष राईले बताउनुभयो । यस गाउँपालिकामा किराती राई समुदायको सङ्ख्या बढी छ । यस समुदायले हरेक पितृ पूजामा मदिराको प्रयोग गर्ने भएकाले यस निर्णयले उनीहरूको संस्कृति संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ । 

“हाम्रो समुदायको हरेक कर्ममा मदिरा चाहिन्छ, त्यसैले बाह्य मदिराको प्रभाव बढ्दै गएको थियो । स्थानीय उत्पादन बढाउन र संस्कृति संरक्षणका लागि पनि यस्तो निर्णय गरिएको हो । राम्रो प्रभाव देखिँदैछ”, अध्यक्ष राईले भन्नुभयो । यहाँ सुर्ती, चुरोट जस्ता हानिकारक वस्तुहरू पनि खरिद–बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइएको छ । यस्तो कार्यले पालिकाभित्र लागुऔषध तथा दुव्र्यसनमा कमी, वातावरण प्रदूषण न्यूनीकरण हुनेजस्ता समस्या समाधानमा योगदान पुग्ने पालिकाको विश्वास छ । 

गाउँपालिकाका कार्यकारी अधिकृत योगेन्द्र गुरुङ स्थानीय ऐन कार्यान्वयनमा आइसकेकाले अब यस्ता कार्यको नियमन तथा व्यवस्थापनलाई व्यवस्थित गर्दै लगिने बताउनुहुन्छ । यसअघि खरिद गरिएका बाह्य मदिरा र पेयपदार्थ बिक्री तथा व्यवस्थापनका लागि एक महिनाको समय प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, २७ साउन: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।